Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • भैरहवा कारागारबाट रवि लामिछानेको १० प्रष्टीकरण: म सहकारीको सदस्य नै होइन

    भैरहवा कारागारबाट रवि लामिछानेको १० प्रष्टीकरण: म सहकारीको सदस्य नै होइन

    काठमाडौं । भैरहवा कारागारबाट रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सोधिने केही प्रश्नहरुको जवाफ दिएका छन्।

    उनले आफू कुनै सहकारीको सदस्य नरहेको र जीवी राईमार्फत सञ्चालित गोर्खा मिडिया प्रालिमा आफू समाचार र कार्यक्रमको क्षेत्राधिकारमा सीमित रहेको स्पष्ट पारेका छन्।

    यस्तो छ रविले अपिलमार्फत गरेको प्रश्नाेत्तर
    १ आफू एमडी र सेयरधनी भएको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने कुरा थाहा छैन भन्न मिल्छ?

    मैले थाहा छैन भनेको होइन, यो त मिडियाले भनेका हुन्। मैले त जीवी राईले कहाँबाट ल्याए त्यो चाहिँ थाहा छैन भनेको हुँ। गोर्खा मिडियाको आधिकारिक रेकर्डमा त्यहाँ आएको पैसा जीवी राईले दिएको सर्टट्रम लोन भनिएको छ। आधिकारिक अडिट रिपोर्टमा पनि त्यही उल्लेख छ।

    २) कम्पनीको जिम्मेवार व्यक्ति भएपछि कम्पनीमा आएको पैसाको जिम्मा लिनुपर्दैन?
    लिनुपर्छ। त्यसैले संसदीय छानबिन समितिले भनेअनुसार कम्पनीमा आइसकेपछि सो पैसाको खर्च र परिचालनमा जिम्मेवार र जवाफदेही हुँ
    भनेकै छु। सहकारीमा भएका कारोबार र क्रियाकलापमा म कसरी जिम्मेवार हुने?

    ३) सहकारीबाट सोझै पैसा आएको छ रे, होइन?
    कुनै पनि सहकारीबाट मेरो खातामा एक पैसा पनि आएको छैन। म कुनै
    सहकारीको सदस्य, सेयरधनी, ऋणी, कर्मचारी केही पनि होइन।

    ४) कम्पनीको एमडी सेयरधनी हुनुअघि नै कम्पनीमा तपाईँसहित तीनजनाको नाममा खाता खुलेको छ रे, हो?
    जीवी राई र छविलाल जोशीले गरेको सम्झौता बमोजिम म न्यूज–२४ छोडी उनीहरूसँग सहकार्यमा आउँछु भन्ने सुनिश्चितताका लागि गोर्खा मिडियाको खाता खोलिएको हो, अन्य खाता होइन। सम्झौताअघि कुनै किसिमको कारोबार भएको छैन। सहकारीसँग त मेरो कुनै हिसाब–किताब र लेनदेन छँदैछैन।

    ५) कम्पनी छोडिसकेपछि पनि सही गरेका चेकहरू छन् रे त !
    सही गरेका सबै चेकहरू सही गरेकै दिनमा साटिँदैनन्। कतिपय चेकमा दुई÷चार महिना पछाडिको मिति राखेर दिइन्छ। मेरै दुई महिनाको तलब बाँकी थियो। कम्पनी छोड्ने बेलामा चेक लिएको थिएँ, पछि खातामा पैसा भएको जानकारी पाएपछि भुक्तानी लिएँ। निजी क्षेत्रमा यो प्रचलित अभ्यास हो।

    ६) तपाईँकै हस्ताक्षर भएका चेकमार्फत सहकारीमा भुक्तानी भएको रहेछ नि?
    मसँग भएको लिखित सम्झौताअनुसार कुनै पनि आर्थिक मामलामा मेरो हस्तक्षेप हुन सक्दैनथ्यो। मेरो क्षेत्राधिकार समाचार र कार्यक्रममा मात्र सीमित थियो।
    छविलाल जोशी देशबाहिर र जीवी राई निरन्तर यात्रामा रहनेभएकाले हस्ताक्षर नगर्ने विकल्प मसँग थिएन। कार्य सहजताका लागि खाली चेकमा समेत हस्ताक्षर गरिन्थ्यो। सम्पूर्ण लगानी ल्याउने मान्छेलाई कुन चेक कसलाई किन दिएको भनेर प्रश्न सोध्ने मेरो नैतिक हैसियत थिएन। कुनै विवाद वा उजुरी नभएका कारण सोध्नुपर्ने आवश्यकता पनि भएन।

    ७) सहकारीले निजी क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने कुरा तपाईँ जतिको मान्छेलाई थाहा हुनुपर्दैन?
    मेरो कार्यकालमा बोर्ड बैठकबाट कुनै पनि सहकारीसँग ऋण लिने निर्णय वा सम्झौता भएको छैन। कुनै पनि सहकारीले बक्यौता वा किस्ता तिर्न सूचना र जानकारी पनि दिएको छैन। कम्पनीमा पैसा ल्याउने र बिल–बिजकबमोजिम तिर्ने सम्पूर्ण कार्य जीवी राईको प्रत्यक्ष निगरानीमा उनका विश्वास पात्रहरूबाट मात्रै हुन्थ्यो। म कार्य सहजताका लागि हस्ताक्षरकर्ता मात्रै थिएँ, लगानीकर्ता होइन।

    ८) तपाईँको नाममा गाडी छन् रे, सहकारीको सिस्टममा तपाईंको नाममा लोन छ रे नि !
    मैले कहिँ पनि ऋण लिएको छैन। मेरो नाममा कुनै सवारी साधन पनि छैन। मैले लिएको भनिएका ऋणहरु सहकारीले आफैले मेरो नाम राखी खडा गरेका हुन्। मलगायत सयौं मान्छेको नाममा यस्ता फर्जी खाता खोलिएका रहेछन्।
    जीसीएस सिस्टम भनेको उनीहरूको आफ्नै सिस्टम हो। अर्को पक्षको उपस्थिति, संलग्नता र हस्ताक्षर बिना आफैले एक पक्षीय रुपमा जो कोहीको नाम इन्ट्री गर्न सकिने सिस्टममा जसले जे इन्ट्री गरे पनि हुन्छ। आफ्नो डायरीमा आफै लेखेर आफैले राख्ने कुरा जस्तै हो। मेरो उपस्थिति कतै छैन। कतै मेरो निवेदन छैन, हस्ताक्षर छैन। सब फर्जी हुन्।

    ९) सहकारीबाट पैसा ल्याउने र टिभी खोल्ने सम्पूर्ण योजना तपाईंको र जीवी राईको हो रे भनेर छविलाल जोशीको बयान भन्दै मिडियामा आयो, के हो?
    न यो कुरा सत्य हो, न छविलालले बयानमा यस्तो भनेका नै छन्। यो मिडियामा मात्रै आएको कुरा हो।

    ०) तपाईँ जतिको मान्छेलाई लगानीको स्रोत के हो भन्ने कुरा थाहा हुनुपर्दैन?
    जीवी राईले हेटाैंडामा रहेको जग्गा बेचेर टिभीमा लगानी गरेको भन्ने कुरा कम्पनीको आधाकारिक जानकारीमा उल्लेख थियो। पछि अनुसन्धान गर्दा पो उनले विभिन्न सहकारीबाट रकम अपचलन गरी ल्याएका रहेछन् भन्ने थाहा भयो।

    हिजो कुनै गुनासो नआउँदा, उजुरी नपर्दा सहकारीहरूका खाता मैले कसरी हेर्ने? जीवीको व्यक्तिगत खाता कसरी हेर्ने? यो त अनुसन्धान पछि न थाहा भयो। अनि, राज्य लागेर गरेको अनुसन्धानबाट सहकारीमा मेरो संलग्नता भेटियो त? म कुनै सहकारीको सदस्य रहेछु त? ऋण लिन दिएको रहेछु त मैले कुनै निवेदन? कतै रहेछ त मेरो हस्ताक्षर? त्यसैले यो राजनीतिक प्रतिशोध हो, सिंगो राज्य मिलेर ममाथि गरेको संगठित अपराध हो।

  • रवि लामिछानेको भावुक अपिल- देशप्रेमीहरूलाई पन्छ्याइँदैछ (पूर्णपाठ)

    रवि लामिछानेको भावुक अपिल- देशप्रेमीहरूलाई पन्छ्याइँदैछ (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा भनेका छन्।

    उनले स्पष्ट रूपमा लेखेका छन्,’मलाई जनताबाट पाएको समर्थन, साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको छ।’ लामिछानेका अनुसार केही गुटले विगत तीन वर्षदेखि योजनाबद्ध रूपमा आफ्ना चरित्र हत्या अभियान सञ्चालन गर्दै आएका छन्। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेयता देशका मुख्य मुद्दाहरू उठाउँदै आएको बताए।

    लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन्। उनले लेखेका छन्, ‘यो वैयक्तिक जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गरेर मेरो सामाजिक छवि बिगार्ने प्रयास हो।’

    उनले सो अपिलमार्फत जनतालाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी वहन गर्न तयार छु। अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो।’

    अपिलको अन्त्यमा उनले थपेका छन्, ‘यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो। तर म टुक्रिन तयार छु, झुक्न सक्दिन।’

  • रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

    रास्वपा महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएकाे छ ।

    तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई  महामन्त्रीकाे जिम्मेवारी दिएकाे हाे । उनी यसअघि कार्यवाहक महामन्त्री थिए ।  रास्वपाले  कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएकाे हाे ।

    मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।

    त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

     

  • रास्वपाको विवरण अद्यावधिक गर्न आयोगको आलटाल, शाखा अधिकृतको पत्र बोकेर महामन्त्री दाबी गर्दै ढकाल

    रास्वपाको विवरण अद्यावधिक गर्न आयोगको आलटाल, शाखा अधिकृतको पत्र बोकेर महामन्त्री दाबी गर्दै ढकाल

    काठमाडौं । करिब एक वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकाल फेरि सो पदमा फर्कने महत्वाकांक्षी प्रयासमा जुटेका छन् । निर्वाचन आयोगका एक शाखा अधिकृतको पत्र बोकेर उनले आफू महामन्त्री पदमा बहालै रहेको दाबी गर्न थालेका हुन् ।

    रास्वपाले ढकाललाई गत वर्ष असार २५ गते अनुशासनको कारवाही गर्दै महामन्त्रीसहित पार्टीको सबै जिम्मेवारीबाट हटाएको थियो । केन्द्रीय समितिले गरेको सो निर्णयका सम्वन्धमा त्यतिबेलै निर्वाचन आयोगमा लिखित जानकारी गराइसकिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । उनले गत वर्ष साउन १७ गते आफूहरुले आयोगमा दर्ता गरेको निवेदनसमेत सार्वजनिक गरेका छन् । रास्वपाले दिएको नयाँ विवरणमा महामन्त्री पद रिक्त रहेको छ ।

    हेर्नुस् आयोगले दर्ता गरेको निवेदन

    निर्वाचन आयोगले त्यतिबेलै निवेदन दर्ता गरेको भए पनि अहिलेसम्म विवरण अद्यावधिक नभएको बुझिएको छ । अद्यावधिक नगर्नुको कारण थाहा नभएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    ‘हामीले गत वर्ष साउनमा नै सबै कागजातसहित आयोगमा निवेदन दिइसकेका हौं । आयोगले निवेदन दर्ता भएको जानकारी पनि हामीलाई त्यसबेलै गराएको हो । निवेदन दर्तापछि विवरण अद्यावधिक गर्ने काम आयोगका हो । आयोगले हामीलाई यस विषयमा केही पनि अपडेट गराएको छैन’, उनले नेपाल प्रेससँग भने ।

    आफूहरुलाई हेरफेर भएको विवरण अनुसार काम गर्न भनिएको छर आयोगले पनि त्यही नयाँ विवरण अनुसार काम गर्ने सूचना दिएको झाको भनाइ छ ।

    ‘पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्यावधिक गरिएन भन्ने जवाफ आयोगले नै दिनुपर्छ’, उनी भन्छन् ।

    निस्काशित महामन्त्री ढकालले सूचनाको हक प्रयोग गरी निर्वाचन आयोगलाई गत असार ४ गते निवेदन लेख्दै रास्वपाको विवरण अद्यावधिक भए–नभएको विवरण माग गरेका थिए । त्यसको जवाफमा आयोगकी शाखा अधिकृत उषा गजमेरले पछिल्लोपटक २०८० चैत २० मा पार्टीको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको लिखित जानकारी गराएकी छन् ।

    आयोगले विवरण अद्यावधिक गर्न बाँकी रहेको पत्र हात पारेपछि उत्साहित बन्दै ढकालले आफू महामन्त्रीमा कायम रहेको दावी गर्न थालेका हुन् । उनले पार्टीको वैठक डाक्नका लागि छलफल गर्नुपर्यो भन्दै कार्यावाहक सभापति डोलप्रसाद अर्यालसहितका केही नेताहरुलाई ह्वाट्सएपमार्फत पत्र पठाएका छन् । पत्रमा पार्टीको विधानअनुसार महामन्त्रीले वैठक डाक्नुपर्ने भएकाले यसका लागि छलफल गर्न उनको माग छ ।

    रास्वपाका एक पदाधिकारीले ढकालको माग हास्यास्पद रहेको बताए ।

    ती नेताले भने, ‘निर्वाचन आयोगको एकजना शाखा अधिकृतलाई प्रभावमा पारेर पत्र लेख्न लगाउँदैमा रास्वपा कब्जा गर्ने दिवा स्वप्न नदेख्दा हुन्छ । यो पार्टी त्यति कमजोर धरातलमा उभिएको छैन ।’

    ढकालको पत्रबारे पार्टीमा कुनै छलफल नभएको र नहुने पनि ती पदाधिकारीको भनाइ छ ।

    निर्वाचन आयोग स्रोतले रास्वपाको विषयमा अहिले उच्च तहमा कुनै छलफल वा निर्णय नभएको बतायो ।

    ‘आरटीआइ अन्तरगत निवेदन आएपछि शाखा अधिकृतले जवाफ दिनुभयो होला । यो विषयमा अहिले केही पनि भएको छैन,’ आयोगका एक पदाधिकारीले भने ।

     

  • रास्वपालाई एमालेको जवाफ- माओवादीसँगको सहमतिअनुसार सदन चल्छ, दलैपिच्छे सम्झौता गर्दैनौँ (भिडिओ)

    रास्वपालाई एमालेको जवाफ- माओवादीसँगको सहमतिअनुसार सदन चल्छ, दलैपिच्छे सम्झौता गर्दैनौँ (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे। माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताए।

    उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो।’

    रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप लगाए। रास्वपा सांसदहरूको गतिविधिलाई केटाकेटीको संज्ञा दिँदै यस्तै प्रवृत्ति देखाइरहे रास्वपा स्वयमलाई निल्ने जिकिर गरे।

  • रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध

    रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध

    काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरेका हुन्।

    सभामुखले बैठक सुरु गर्नासाथ उठेर विरोध जनाइरहेका छन् ।

    विरोधमा रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएर सदन पुगेका छन्।

    आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ।

  • नीलो रिबन र कालो लुगा लगाएर सदन पुगे रास्वपाका सांसद (भिडिओ)

    नीलो रिबन र कालो लुगा लगाएर सदन पुगे रास्वपाका सांसद (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसदहरू आज पनि नीलो रिबन र कालो ड्रेस लगाएर संसद् भवन पुगेका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै आफूहरूले आज पनि कालो पोशाक र नीलो रिबन लगाएर आएको प्रवक्ता मनिष झाले बताए ।

    मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भन्दै विरोधमा नीलो रिबन लगाएर गएको हो । अस्ति पनि नीलो रिबन लगाएर रास्वपा सांसदहरू सदन पुग्दा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आपत्ति जनाउँदै बैठकबाट निष्कासन गर्नसमेत माग गरेका थिए ।

    उनले भने, ‘हामी २२ दिनदेखि आन्दोलनरत छौँ । मानव तस्करीको विरोधस्वरुप निलो रिबन र कालो ड्रेस लगाएर आएका हौँ ।’

    आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । सभामुखले आज सदन अवरोध नगर्न गरेको आग्रह रास्वपाले अस्वीकार गरिसकेको छ ।

    रास्वपाको वेल घेराउ र नाराबाजी बाबजुद सभामुखले सदनको कारबाही अघि बढाइरहेका छन् ।

    नीलो रङदेखि चिढिएकाहरूलाई आजको कालो र नीलो रङ सन्देश भएको रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठले बताए । उनले भनेका छन्, ‘यो केवल रङ होइन, नागरिकको आवाज हो । मानव तस्करविरुद्धको आन्दोलन जारी छ ।’

  • कांग्रेस-एमालेमा कुलिङ पिरियडबारे कुरा नमिलेपछि निलो रिबन देखाएर निजामती विधेयक रोकियो : रास्वपा (भिडिओ)

    कांग्रेस-एमालेमा कुलिङ पिरियडबारे कुरा नमिलेपछि निलो रिबन देखाएर निजामती विधेयक रोकियो : रास्वपा (भिडिओ)

    काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले निजामती विधेयकमा सत्तारुढ दलमा नै एकमत नभएपछि निलो रिबनलाई देखाएर रोकिएको दाबी गरेका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बहानाको रूपमा मात्रै निलो रिबन देखाएर मंगलबार सदन स्थगित गरेर पछि नराखेको बताए।

    उनले भने, राज्यव्यवस्था समितिका सभापतिले नै संसद्को रोष्ट्रममा आएर बोलिसक्नुभयो। उहाँहरूबिच मतभेद भएर त्यो रोकियो, एउटा पार्टीले कुलिङ पिरियड मान्छु भन्यो, अर्कोले मान्दिनँ भन्यो, कर्मचारीले घरदैलो गरेर देउसी भैलो खेले थर्काए, अहिले रिबनको बहानामा रोक्नुभयो। त्यसैले उहाँको नियतमा प्रश्न छ।

    उनले संघीय निजामती विधेयक निर्माणमा आफ्नो पार्टीको भूमिका रहेका भन्दै आफूहरू बाधक नभएको बताए।

  • वैकल्पिक शक्ति तथा स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउन रास्वपाले नेतृत्व लिने, बनायाे संवाद कार्यदल

    वैकल्पिक शक्ति तथा स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउन रास्वपाले नेतृत्व लिने, बनायाे संवाद कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास गर्ने भएको छ ।

    आज बसेको सचिवालय बैठकले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने निर्णय भएको प्रवक्ता मनिष झाले बताए ।

    उनले भने, ‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने ।’

  • सुमनामाथि गृहमन्त्रीविरुद्ध नक्कली पीडित खडा गरेको आरोप लागेपछि छानबिन गर्न रास्वपाले बनायो समिति

    सुमनामाथि गृहमन्त्रीविरुद्ध नक्कली पीडित खडा गरेको आरोप लागेपछि छानबिन गर्न रास्वपाले बनायो समिति

    काठमाडौं । रास्वपाले पार्टीका सांसद सुमना श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

    आज बसेको सचिवालय बैठकले प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको प्रवक्ता मनिष झाले बताए। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्वएसएसपी लव विष्ट सदस्य रहेका छन्।

    बैठकपछि प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न प्रा।डा। चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।’

    श्रेष्ठमाथि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली पीडित खडा गरेर उजुरी गर्न लगाएको आरोप लागेको छ। गृहमन्त्री लेखकले आफूविरुद्ध कृते उजुरीको प्रयास भएको भन्दै संलग्नलाई कारबाही गर्ने संसदको रोष्ट्रमबाटै चेतावनी दिएका थिए।

    बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको उनले बताए।

    उनले भने, ‘उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।’

  • स्याङ्जामा नेतामाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय : रास्वपा

    स्याङ्जामा नेतामाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय : रास्वपा

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जामा दुई केन्द्रीय नेतामाथि सोमबार दिउँसो भएकाे आक्रमणकाे निन्दा गरेकाे छ ।

    रास्वपाले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेको छ।

    ‘देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्न गरिएको अभियानप्रति देखिएको डरकै कारण यस्तो आपराधिक हमला गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘रास्वपा यस्ता हिंसात्मक कार्यको कडा शब्दमा विरोध गर्दछ।’

    रास्वपाले दोषीलाई तत्काल पक्राउ गरी कानूनअनुसारको कडा कारबाहीको माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झा अनुसार, “यस प्रकारको आक्रमणले हाम्रो सुशासन र लुटतन्त्रविरुद्धको अभियानलाई कतैबाट विचलित पार्दैन। यस अभियानमा हामी अझ सशक्त भएर अघि बढ्नेछौं।”

    आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन रोक्न तथा सम्भावित प्राकृतिक विपद् नियन्त्रणको माग राख्दै आवाज रास्वपा का दुई केन्द्रीय नेतामाथि आक्रमण भएको  थियाे ।

    रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि वालिङ नगरपालिका वडा नं. १० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेकाे हाे।

    वडाध्यक्ष खनालले बाटोमै रोकेर दुर्व्यवहार गर्दै उनीहरूलाई रड प्रहार गरेका थिए। आक्रमणमा परेका दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

    उनले लगाएको हेलमेट फुटेको छ भने उनलाई बचाउने क्रममा दाहिने हातमा गम्भीर चोट लागेको, फ्याक्चरसमेत भएको र पोखरास्थित अस्पतालमा सिटि स्क्यानका लागि लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको छ।

    रास्वपाले घाइते नेताहरूको उपचारका लागि आवश्यक सबै जिम्मेवारी लिने जनाएको छ।

  • ‘नीलो रिबन’ लगाएर सदन जाँदा कांग्रेसले निकाल्न भनेपछि रास्वपाका सांसद आक्रोशित

    ‘नीलो रिबन’ लगाएर सदन जाँदा कांग्रेसले निकाल्न भनेपछि रास्वपाका सांसद आक्रोशित

    काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी भएको भन्दै विरोधमा रास्वपाका सांसदहरुले ‘निलो रिबन’ भिरेर संसद पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय मर्यादाको विषय उठाउँदै सदनबाट निष्कासन गर्नुपर्ने कुरा उठाएपछि रास्वपा सांसदहरुले आक्रोशित भएका छन् ।

    मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘नीलो रिबन’ को प्रतीकले जनाउने भन्दै रास्वपाका सबै सांसदहरुले नीलो रिबन लगाएर सदनमा पुगेका थिए । उनीहरुले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

    उनीहरुले सदनमा वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् । यही क्रममा रास्वपाका सांसदहरुले अभद्र व्यवहार देखाएको भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाउँदै नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था रहेको स्मरण गराए ।

    उनले भनेका थिए, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्टमात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

    घिमिरेले यसो भन्दा रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका थिए । निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न माग गरेपछि उनीहरु आक्रोशित भएका छन् ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भनेका छन्, ‘सदनमा रातो मफलर लगाउन पाउने, तर नीलो नलगाऊ भन्ने कुन नियमावलीले भन्छ ?’

    उनले मात्रै होइन, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरुलाई माइक भाँच्न, कुर्सी फोड्न, मान्छे कुट्न नआउने भन्दै उल्टै कांग्रेसलाई कटाक्ष गरेका छन् ।

    उनले भनेका छन्, ‘तर आमनागरिकको आवाज बोल्न आउँछ । विश्वास छ, हामीले गर्ने शान्तिपूर्ण विरोधले नागरिकको पीडा बोल्नेछ र यही विद्रोहले अपराधी र भ्रष्टाचारीहरूको मन पोल्नेछ ।’

    सांसद सोविता गौतमले पनि सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको मागसहित निरन्तर संसदमा आन्दोलनरत रहेको बताइन् ।

    उनले भनिन्, ‘विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस्, तर नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन ।’

    कांग्रेस विपक्षीमा हुँदा उपसभापति घनराज गुरुङले प्रधानमन्त्री केपी ओलीलाई कुट्न सदनमै झम्टिएका थिए । सांसद गौतमले प्रधानमन्त्री ओलीलाई कुट्न आएकै घटना आर्काइभमा हेर्न सुझाइन् ।

    पोशाकको विषयमा कांग्रेसले कुरा उठाएपछि सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताए ।

  • कांग्रेसलाई रास्वपाको चुनौती- यो छानबिनको मुद्दा नै होइन, हामी सधैँ मान्छे बेचिरहन चाहन्छौँ भनोस्

    कांग्रेसलाई रास्वपाको चुनौती- यो छानबिनको मुद्दा नै होइन, हामी सधैँ मान्छे बेचिरहन चाहन्छौँ भनोस्

    काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।

    प्रतिनिधिसभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान सुनाए ।

    उनले सदनमा एक जना उभिएपनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए ।

    उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन ? एकजना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नुभएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो ? अरूको लागि होइन भन्नुपर्‍यो ।’

    उनले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिए ।

    उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ । हामी मान्छे बेचिरहन चाहन्छौँ सधैँ भन्नुपर्‍यो । त्यसैले विधेयकहरूको महत्त्व बुझेर राजनीतिक समर्थन गर्छौँ ।’

    उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहोर्‍याए ।

  • सरकारलाई रास्वपाको प्रश्न- मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो ? (भिडिओ)

    सरकारलाई रास्वपाको प्रश्न- मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो ? (भिडिओ)

    काठमाडौं । रास्वपाले भिजिट भिसाको आवरणमा मानव तस्करी हुँदा समेत सरकार मौन बनेको आरोप लगाएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै चन्दा भण्डारी कार्कीले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएकाले छानबिन हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘यसको जालो च्यात्नको लागि हामीले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्न माग गरेका हौँ । यस्तो माग गर्दा पनि सरकारले आक्रोशित हुँदै रोष्ट्रमबाट धम्काउनेको उद्देश्य के हो ?’

    उनले आफूहरूले गृहमन्त्री संलग्न रहेको नभने पनि भूमिका शंकास्पद भएकाले प्रश्न उठेकाले बताइन् । उनले गृहमन्त्री मातहतबाटै अनुसन्धान हुनुपर्ने भएकाले उनैमाथि छानबिन हुँदा निष्कर्ष नहुने भन्दै विगतमा उहाँले नै उठाएको मागअनुसार राजीनामा दिनुपर्ने बताइन् ।

  • ‘नीलाे रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

    ‘नीलाे रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गरेका छन् ।

    भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

    आज पनि प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’

    मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता मनिष झाले बताए ।

     

  • रास्वपा सांसद सोविता गौतम भन्छिन्- सरकारले कुनै वार्ता गर्न चाहेन, छानबिन समिति बनाए समाधान निस्किन्छ

    रास्वपा सांसद सोविता गौतम भन्छिन्- सरकारले कुनै वार्ता गर्न चाहेन, छानबिन समिति बनाए समाधान निस्किन्छ

    काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले सरकारले आफूहरुको कुरा सुन्नै नचाहेको कारणले सदनमा आफूहरु वेल घेराउ र नाराबाजी गर्न बाध्य भएको बताएकी छन् ।

    संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले वार्ताको लागि कुनै प्रयास नै नगरेको बताइन् ।

    उनले भनिन्, ‘हामीले गृहमन्त्रीमाथि आक्षेपमात्रै लगाएका छैनौं । यति ठूलो विषय उठिसकेपछि विगतमा जस्तै फासफुस एउटा समिति बनाएर उम्किने कुरा हामीलाई स्वीकार्य हुँदैन । यो कुनै व्यक्ति र मन्त्रालयसँग सम्बन्धित विषय होइन ।’

    उनले सरकारले छानबिन समिति बनाउने भनेर आएपछि धेरै कुरा सम्बोधन हुने बताइन् । टाइमलाइनसहित छानबिन समिति बनाउन सरकार तयार भए आफूहरु सहमत हुने सांसद गौतमले बताइन् ।

  • सदनमा रास्वपा : कांग्रेस-एमाले बोल्दा नाराबाजी, माओवादीलाई मौन समर्थन

    सदनमा रास्वपा : कांग्रेस-एमाले बोल्दा नाराबाजी, माओवादीलाई मौन समर्थन

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित रास्वपाका सांसदले आज पनि वेल घेराउ र नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसद भने बैठक बहिष्कार गरेर निस्किए ।

    प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेतले बोल्ने क्रममा भने रास्वपाका सांसद नाराबाजी रोकेर मौन बसे । माओवादीले दुई बुँदे सहमति गरेर सदन खुलाएपनि रास्वपाले त्यसमा असहमति राख्दै विरोधलाई जारी राखेको हो ।

    माओवादीले धोका दिएको निष्कर्ष निकालेको रास्वपाले सदनमा माओवादीका सांसद बस्नेतले बोल्ने बेलामा भने मौन बसेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    उनका अनुसार रास्वपाका सांसदहरूले आज हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, फासफुस सम्झौता चाहिँदैनलगायतको नारा लगाएका छन् ।

    रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको थियो । तर, त्यसमा सत्तापक्ष सहमत छैन । बस्नेतले आफूहरूसँग भएको सहमति अनुसार ३० दिन नलगाई तत्काल छानबिन समिति गठन गर्न माग गरे ।

    रास्वपाले छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने आफूहरूसँग भनेको भन्दै सरकारलाई त्यतातर्फ ध्यानाकर्षण गराए । बस्नेत बोल्नुअघि कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट पदम गिरीले बोलेका थिए । तर, उनीहरूले बोल्दा नाराबाजी गरिरहे ।

  • रास्वपाको प्रश्न- नागरिक तस्कर गर्ने राज्यलाई जबाफदेही कसले बनाउने ? (भिडिओ)

    रास्वपाको प्रश्न- नागरिक तस्कर गर्ने राज्यलाई जबाफदेही कसले बनाउने ? (भिडिओ)

    काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि ? भन्दै प्रश्न गरे । उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहोर्‍याए ।

    सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए । गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भएको आरोप लगाउँदै आफूहरू कराइरहँदा पनि बल प्रयोग गरेर सदन नचलाउन चेतावनी दिए ।

  • सदनको दृष्य- बोलेपछि रास्वपा वेल घेराउमा, राप्रपाद्वारा बहिष्कार

    सदनको दृष्य- बोलेपछि रास्वपा वेल घेराउमा, राप्रपाद्वारा बहिष्कार

    काठमाडौं । रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।

    हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन ।

    आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।

  • रास्वपालाई सभामुखले भने- अब संसद रोक्ने अवस्था छैन

    रास्वपालाई सभामुखले भने- अब संसद रोक्ने अवस्था छैन

    काठमाडौं । सभामुखले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

    भेटमा सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए । विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए ।

    आफूले संवैधानिक सीमाहरूलाई ख्याल गरेर अगाडि बढेको उल्लेख गर्दै उनले भने, ‘संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’

    यता, रास्वपाले आफूहरूले जनताका वास्तविक समस्या उठाएको भए पनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको बताएको छ ।

    रावस्पाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई भनेको छ ।

    एक घण्टा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति र प्रमुख सचेतक परियारले भने, ‘विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’

  • योगेशको टिप्पणी- नेतृत्वबिनाको रास्वपा बादलभित्रको कागजस्तो (भिडिओ)

    योगेशको टिप्पणी- नेतृत्वबिनाको रास्वपा बादलभित्रको कागजस्तो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन् ।

    आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उदेश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे ।

    पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको आरोप छ । भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको मागबमोजिम छानबिनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक पछाडि हटेको बताए ।

    उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुनर्विचार हुने उनको जिकिर थियो ।

  • ‘जेलमा भएका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अरुमाथि नैतिक प्रश्न उठाउन मिल्दैन’ (भिडिओ)

    ‘जेलमा भएका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अरुमाथि नैतिक प्रश्न उठाउन मिल्दैन’ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपालाई पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।

    आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

     

    उनले भने, ‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरूले पाँच वटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’

    उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुरु गर्नुपर्ने धारणा राखे ।

  • रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

    रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

    काठमाडौं । संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ ।

    सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

    घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।

  • सदनको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छलफल

    सदनको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छलफल

    काठमाडौं । सभामुख देवराज घिमिरले सदनको अवरोध खुलाउने विषयमा रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा-छुट्टै छलफल गरेका छन् ।

    माओवादीले सत्ता पक्षसँग २ बुँदे सहमति गरे पनि रास्वपा-राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमै छन् ।

    अर्यालसँग सभामुख घिमिरेसँग संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता बताउँदै अवरोधको स्वरुप बदल्न र सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।

    अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएको सभामुखको सचिवालयले जनाएको छ ।

    गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएको भन्दै आज बिहान प्रमुख दलका सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

    सभामुखले अध्यक्ष लिङ्देनसँग पनि टेलिफोन गर्दै संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

  • भिजिट भिसा प्रकरण : रास्वपालाई मनाउने प्रचण्डको प्रयास जारी

    भिजिट भिसा प्रकरण : रास्वपालाई मनाउने प्रचण्डको प्रयास जारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलसँग छलफल गर्दैछन् । भिजिट भिसा प्रकरणमा एउटै धारणा बनाएर सहमतिको प्रयास गर्ने प्रयासमा प्रचण्ड लागेका छन् ।

    सहमतिको खोजी गर्दै आफूहरू अहिले विभिन्न कोणबाट छलफलमा केन्द्रित रहेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनका अनुसार छलफल सकारात्मक भएपनि निचोड निस्किएको छैन ।

    हिजो माओवादी केन्द्रले अघि सारेको दुई बुँदे प्रस्तावमा कांग्रेस र एमालेले समर्थन जनाइसकेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकमाथि छानबिनबाटै ब्याक भएर सदन खुलाउन तयार भएको छ ।

    तर, रास्वपाले भने गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छानबिन गर्नुपर्ने अडान कायमै राखेकाले एउटै धारणा बन्न सकेको छैन । आज विपक्षीको समाधान धारणा बनाउन प्रतिनिधि सभाको बैठक बस्नुअघि विपक्षी छलफलमा छन् ।

  • माओवादीको ‘दुई बुँदे ड्राफ्ट’ बारे रास्वपा- हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकैठाउँ छौँ

    माओवादीको ‘दुई बुँदे ड्राफ्ट’ बारे रास्वपा- हामीले चित्त नबुझाएपछि ५ बुँदे प्रस्ताव बनायौँ, विपक्षी एकैठाउँ छौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाबाट आफूहरू ब्याक नहुने स्पष्ट पारेको छ ।

    सत्तारुढ दलसँग सहमतिको लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले दुई बुँदे ड्राफ्ट तयार पारेको चर्चाबीच रास्वपाले आफ्नो अडान दोहोर्‍याएको हो । माओवादीले यसअघि नै अख्तियारले गरेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र भिजिट भिसा अध्यागमनहरूमा देखिएको विभिन्न समस्याको सन्दर्भमा संरचनात्मक सुधारको निम्ति काम गर्ने प्रस्ताव अघि सारेको थियो ।

    जसमा सत्तापक्ष पनि तयार भइसकेको हिजो एमालेका सचिव योगेश भट्टराईले बताएका थिए । तर, रास्वपाको प्रस्तावमा छलफल नै नहुने उनको भनाइ थियो । सत्तापक्षले भने प्रश्न उठिसकेपछि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान अझै कायमै राखेको छ ।

    तर, रास्वपाले गृहमन्त्रीको राजीनामा नै बटमलाइन बनाइसकेपछि कुरा मिल्न सकेको थिएन । माओवादीको दुई बुँदे ड्राफ्टमा चित्त नबुझेपछि आफूहरूले पाँच बुँदे प्रस्ताव अघि सारेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘माओवादीको दुई बुँदे प्रस्ताव अहिलेको होइन, हामीले पाँच बुँदे प्रस्ताव गर्नुअघि कै हो। त्यसमा हामीले चित्त नबुझाएपछि हामीले नयाँ प्रस्ताव तयार पारेका हौँ। अहिले छलफल त्यसैमा केन्द्रित छ ।’

    उनले हिजो बसेको विपक्षी दलको बैठकले पाँच बुँदे प्रस्तावमा सबै दलले साथ दिइसकेको जिकिर गरे । उनले आज ३ बजे सदन बस्नुअघि थप छलफलको लागि विपक्षी दलको बैठक बस्ने पनि बताए ।

    माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड मुस्ताङबाट फर्केपछि विपक्षी दलको बैठक बस्ने तयारी छ । विपक्षीलाई मनाउन कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निरन्तर छलफल चलिरहेको छ ।

    रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीको अडान कायमै रहेको बताएका छन् ।

    उनले फेसबुकमा पार्टीको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘छिटो संसद् खुलोस् भन्ने चाहन्छ तर यसका लागि भिजिट भिसा काण्ड बारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिई छानबिनलाई सघाउनुपर्ने कुरामा स्पष्ट छ । पछिल्लो घटनामा भिजिट भिसामा जाने १ लाख ४० हजार युवाहरूमध्ये अधिकांशसँग रकम असुल भएको तथ्यहरू बाहिर आइरहँदा र भिजिट भिसा काण्डको भ्रष्टाचार रकम बाँडफाँटको लागि सफ्टवेयर नै बनाएर राखिएको विषय गम्भीर छ ।’

    गृहमन्त्रीले भिजिट भिसा काण्डमा अख्तियारले छानबिन सुरू गरेपश्चात् नजानिँदो हिसाबले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय सरुवा गर्ने, भिजिट भिसा काण्ड अनुसन्धान गर्ने डिआइजीलाई अख्तियारबाट सरुवा गर्ने र दबाब बढेपछि त्यही रात फिर्ता गर्ने लगायतका कामहरू शंकास्पद भएको उनको जिकिर छ ।

    उनले थपेका छन्, ‘गृहमन्त्रीको सचिवालयसमेत संलग्न भएका लगायत यससँग सम्बन्धित अनुसन्धानमूलक समाचारहरू प्रकाशनमा आएका छन् । यति विघ्न शंकास्पद गतिविधिहरू हुँदै गर्दा गृहमन्त्रीलाई जोगाउने जुन षड्यन्त्र भइराखेको छ आम नागरिकलाई सह्य छैन । तसर्थ यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको अडान कायमै छ ।’

    संसद्मा प्रतिपक्षी दलहरू समेत आफूहरूले उठाएको कुरामा समर्थन जनाइसकेको भन्दै उच्चस्तरीय छानबिन गर्ने र गृहमन्त्रीले निष्पक्ष छानबिनलाई सघाउन पदबाट राजीनामा दिने अडान यथावत् रहेको बताएका छन् ।

  • रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले थापे काँध

    रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले थापे काँध

    काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ । सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन् ।

    सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताए ।

    बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीबाट प्रभु साहलगायत सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी थिएन ।

    विपक्षी दलले आफ्नो अडान नछाडेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । अहिले सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

  • सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

    सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

    काठमाडौं । भिजिट भिसा प्रकरणबारे थप छलफल गर्नको लागि विपक्षी दलहरू छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ।

    बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी छन्।

    रास्वपाले सहमतिको लागि सत्तापक्षसँग पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सोमबार गृहमन्त्री रमेश लेखकको राजीनामाबाट केही लचक भएर रास्वपाले प्रस्ताव अघि सारेको थियो।

    माओवादी र रास्वपासँग पछिल्लो समय कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेर निरन्तर संवादमा छन्। तर रास्वपाको यो प्रस्ताव अनुसार छानबिन समिति बनाउन सत्तापक्ष तयार नहुँदा सहमति बन्न सकेको छैन। आजको बैठकले यो पाँच बुँदे प्रस्तावबारे साझा धारणा बनाउने जनाइएको छ।

  • भिजिट भिसाबारे रास्वपा- सङ्गठित अपराधको यति धेरै सूचना हुँदा चुप बस्न सक्दैनौँ

    भिजिट भिसाबारे रास्वपा- सङ्गठित अपराधको यति धेरै सूचना हुँदा चुप बस्न सक्दैनौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफूहरूले लिएर अडान यसै नछाड्ने प्रष्ट पारेको छ।

    रास्वपाका प्रवक्ता मनिष झाले राजनीतिक संरक्षण बेगैर १८ वर्षदेखि गम्भीर सङ्गठित अपराध सम्भव नहुने भएकाले आफूहरूले छानबिनको कुरालाई प्राथमिकता दिएको बताए।

    रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस एमाले त्यो प्रस्ताव स्वीकार्न तयार छैन।

    उनले भनेका छन्, ‘सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौ, बस्दैनौँ।’

    उनले कांग्रेस र एमालेलाई विगत सम्झाउँदै सदन अवरोध गर्न आफूहरूले प्रतिस्पर्धा गर्न नचाहेको समेत बताए। रास्वपाले विगतका सबै गृहमन्त्रीको कार्यकालको समेत छानबिनको प्रस्ताव अघि सारेको छ।

    प्रवक्ता झाको भनाइ जस्तो त्यस्तै-

    गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले सङ्घीय सदनको ५८ वटा बैठक अवरोध गरेको थियो। कम्युनिस्ट दुई तिहाइ ढलेपछि एमालेले ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको थियो।

    नेपाली काँग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडी बढ्न दिएन।

    हामीले यो ज्येष्ठ १३ र १४ गते सदन अवरोध गर्‍यौ, १५ गते बजेट प्रस्तुत गर्दा सहजता सहित सहभागी भयौ।

    जेठ महिनाको २०, २१, २२, २३, २५ र २६ गते अवरोध भएको छ। तर हामी सदन अवरोधमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धामा छैनौ। त्यहाँ सम्म पुग्न खोजेको हैन। हाम्रो समस्या यो प्रकरणसँग हो। र, यसको समाधान नै हाम्रो प्रमुख माग हो। यसमा सत्तापक्षको राजनीतिक व्यवहारमा ३ समस्या रहेको पाएका छौँ।

    १० उहाँहरूलाई यो समस्या नै हैन झैँ लाग्छ। तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ कार्तिक देखि २०८२ वैशाख सम्म गृह मन्त्रालयलाई भिजिट भिसा प्रकरणबारे ९ पटक पत्राचार गर्दा पनि टेरेनन्, अख्तियारले अब छापा मार्दै छ भन्ने थाहा पाए पश्चात् मात्र जागे।

    २० एउटा कर्मचारी समातिएको त हो नि भन्दै यसमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई बचाउन खोज्दै हुनुहुन्छ। राजनीतिक संरक्षण बेगैर १८ वर्षदेखि यस्तो गम्भीर सङ्गठित अपराध सम्भव नै हुँदैन। उहाँहरूले केही लुकाउँदै हुनुहुन्छ।

    ३० दुई तिहाइ र ठुलो पार्टी भन्दै, मानव बेचबिखन जस्तो सङ्गठित अपराधको सदाका लागि समाधानको माग राख्दै सदन अवरोधको कुरामा धरी सत्ता गठबन्धनले यो राजनीतिक पूर्वाग्रह हो भन्दै, पन्छिन खोजेको र हामी देश यसरी नै लुट्दै चलाउँदै गर्छौ भन्ने सन्देश त दिन खोजेको हैन ?

    हामी, राष्ट्रिय स्वतन्त्र पार्टी, अहिले सरकारमा छैनौ, सत्तामा कहिले पनि पुगेकै छैनौ। तसर्थ वर्तमान गठबन्धनलाई भन्दा हामीलाई सदन आवश्यक छ, धेरै कुरा भन्नु छ, सुन्नु छ, सिक्नु छ। तर कुन सर्तमा भन्ने हामीले लेखिसक्यौ, बुझाई सक्यौ। हाम्रो ५ बुँदे स्पष्ट छ।

    सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्ष देखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरण बारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौँ, बस्दैनौँ।

  • सदन अनिश्चित- छलफलमा विपक्षी, कांग्रेससँग रास्वपाको बेग्लै बैठक

    सदन अनिश्चित- छलफलमा विपक्षी, कांग्रेससँग रास्वपाको बेग्लै बैठक

    काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग राख्दै विपक्षी दलले अवरोध जारी राखेपछि आज पनि सदन बस्ने नबस्ने टुंगो छैन। आज दिउँसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ।

    त्यसपछि थप रणनीति बनाउनको लागि विपक्षी दलको बैठक अहिले बसिरहेको छ। विपक्षीले गृहमन्त्रीले राजीनामा नदिए छानबिन समितिको प्रतिबद्धतासहित आएर सदनमा बोल्न दिनसक्ने बताएका छन्। तर, सत्तापक्षको अडान छ, ‘न गृहमन्त्रीको राजीनामा आउँछ, न छानबिन समिति बन्छ।’

    दुवै दलले अडान नछाडेपछि कांग्रेसले विपक्षी सबै दलसँग छलफल गर्दैछ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यसअघि पनि रास्वपासँग बेग्लै छलफल गरेको थियो।

    आज पनि विपक्षीको बैठक लगत्तै कांग्रेससँग केहीबेरमै छलफल हुने रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले बताए।

    कांग्रेससँग छलफलमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र सन्तोष परियार जानेछन्। यद्यपि सदन खुलाउन वार्ता सकारात्मक बन्दै गइरहेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन्।

    सदनको अवरोध हटाउन प्रचण्डले शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लै छलफल गरेपनि सहमति जुट्न सकेन।

  • सदन खुलाउन कांग्रेस र रास्वपा नेताहरुबीच भएको छलफलमा पनि मिलेन कुरा

    सदन खुलाउन कांग्रेस र रास्वपा नेताहरुबीच भएको छलफलमा पनि मिलेन कुरा

    काठमाडौं । सदनको जारी अवरोध हटाउन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको छ । संसद् भवनस्थित शंकर हलमा भएको दुई दलका नेताहरूबीचको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।

    छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

    दुई दलबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक घिमिरेले बताए । दुवै तर्फबाट आआफ्नो कुरा राखेको भएपनि कुनै सहमति नबनेको उनले बताए ।

    भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने रास्वपाको अडान छ । त्यसमा माओवादीसहित विपक्षी दलको साथ छ । तर सत्तापक्ष भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र कुनै समिति नबनाउने पक्षमा उभिएपछि सहमति बन्न सकेको छैन ।

     

     

  • रास्वपा सांसद ढकालको दाबी- भिजिट भिसाको सेटिङका लागि पैसा बुझाइएको १२ सय प्रमाण आइपुगेको छ (भिडि‌ओ)

    रास्वपा सांसद ढकालको दाबी- भिजिट भिसाको सेटिङका लागि पैसा बुझाइएको १२ सय प्रमाण आइपुगेको छ (भिडि‌ओ)

    काठमाडौं । रास्वपा सांसद हरि ढकालले भिजिट भिसाको सेटिङमा पैसा बुझाइएको १२ सय प्रमाण आफूकहाँ आइपुगेको दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकांश पैसा नगद नै बुझाएको पाइएको बताए।

    उनले पार्टीका सांसद सोविता गौतम, मनिष झा, शिशिर खनाल र आफूले सामाजिक सञ्जालबाट प्रमाण माग्दा १२ भन्दा बढी पैसा बुझाएका प्रमाणहरू आएको बताए।

    उनले भने, ‘भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ। हामीलाई दलालहरूलाई बुझाएको प्रमाण आएको छ। दलाललाई बुझाउने रकम पनि कुनै क्यासमा, कुनै बैङ्क ट्रान्जेक्सन गरिएको छ। र एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा कारोबार भएको रहेछ। त्यसैले हामीले छानबिन आयोगको माग गरेका हौंं। लाखौँ युवाहरू एजेन्टबाट बुझाएको पैसामार्फत खोज्दा जाँदा त मुख्य ठाउँसम्म त पुगिन्छ होला नि त।’

    उनले भिजिट भिसामा महिलालाई दुबई लगेर कुवेत पुर्‍याइएको सूचना पनि आएको बताए। उनले २०६४ पछि गृहमन्त्री भएका सबैको छानबिन गर्नुपर्ने भन्दै गृहमन्त्रीले छानबिन प्रभावित पार्नसक्ने भएकाले राजीनामा दिनैपर्ने अडान सुनाए।

  • सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त

    सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ ।

    बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए। उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।’

    यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।

  • रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक

    रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

    सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक तीन बजेका लागि बोलाइएको हो ।

    बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता, पार्टीको गतिविधि लगायतका विषयमा छलफल हुने छ ।

    बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।

  • विराजभक्त भन्छन्- जिम्मेवार दलको हिसाबले बजेटमा अवरोध नगर्ने निर्णय लियौं

    विराजभक्त भन्छन्- जिम्मेवार दलको हिसाबले बजेटमा अवरोध नगर्ने निर्णय लियौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बजेट भाषणका लागि डाकिएको संयुक्त सदनको बैठक र त्यसअघि बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने निर्णय लिएको छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्वलाई मनन गर्दै रास्वपाले सो निर्णय लिएको हो ।

    आज साढे एक बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ भने तीन बजे बजेट भाषणका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक डाकिएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्भेक्षण प्रस्तुत गर्दैछन् । त्यसपछि बस्ने संयुक्त बैठकमा उनले बजेट भाषण गर्नेछन् ।

    रास्वपाले पहिलो बैठकको सुरूवातमा पार्टीका तर्फबाट धारणा राख्न पाउनुपर्ने माग सभामुखसँग गरेको छ । त्यसपछि आर्थिक सर्भेक्षण पेश गर्न दिने उसको प्रस्ताव छ ।

    रास्वपाका कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठ संविधानले नै जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था गरेको हुँदा एउटा जिम्मेवार दलको हिसाबले संसद अवरोध नगर्ने निर्णय लिइएको बताउँछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीमाथि अनुसन्धान गर्न छानबिन आयोग गठन गर्ने हाम्रो माग यथावतै छ । आज एक दिनका लागि अवरोध हटाउने निर्णय गरेका छौं । संवैधानिक दायित्वलाई मनन गर्दै सुसंस्कृत तरिकाले प्रस्तुत हुन्छौं ।’