Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • आचारसंहिताको कारण देखाउँदै रास्वपाले स्थगित गर्‍यो बैठक

    आचारसंहिताको कारण देखाउँदै रास्वपाले स्थगित गर्‍यो बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहान ११ बजेका लागि तय गरेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्नेबारे निर्णय गर्न रास्वपाले बैठक डाकेको थियो ।

    निर्वाचन आचारसंहिताका कारण बैठक स्थगित गरिएको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

    ‘कसलाई मतदान गर्ने भन्ने विषयमा आन्तरिक छलफलबाट निर्णय गर्छौं । अहिलेसम्म कसैलाई मतदान गर्ने भन्ने टुंगिएको छैन’, उनले नेपाल प्रेससँग भने ।

    मौन अवधि सुरू भइसकेको भन्दै बिहीबार निर्वाचन आयोगले बैठक राखेर पक्ष-विपक्षमा नखुल्न दलहरूको ध्यानाकर्षण गराएको थियो ।

    राष्ट्रपति चुनावमा रास्वपा सत्ता गठबन्धनको पक्षमा उभिएको थियो ।

    नयाँ उपराष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य मैदानमा छिन् ।

  • उपराष्ट्रपतिमा रास्वपाको भोट कसलाई ? आज बैठक

    उपराष्ट्रपतिमा रास्वपाको भोट कसलाई ? आज बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक डाकेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक तय गरिएको हो । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो ।

    शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता मुकुल ढकालले बताए । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् ।

    बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

    उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झा उम्मेदवार छन् । तर, झालाई उम्मेदवारी निष्क्रिय गराउन गठबन्धनमा प्रयास जारी छ ।

    एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

  • उपराष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

    उपराष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक बोलाएको हो । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो ।

    बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने प्रवक्ता मुकुल ढकालले बताए ।

    उनले भने, ‘बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रमबारे छलफल हुन्छ ।’

    उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झा उम्मेदवार छन् । तर, झालाई उम्मेदवारी निष्क्रिय गराउने तीव्र प्रयास छ ।

    एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

  • एमाले क्याम्प छोडेर नयाँ गठबन्धनतर्फ किन ढल्कियो रास्वपा ?

    एमाले क्याम्प छोडेर नयाँ गठबन्धनतर्फ किन ढल्कियो रास्वपा ?

    काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी राष्ट्रपतिको चुनावको अघिल्लो सदनसम्म पनि कसलाई भोट हाल्ने भन्ने निर्णय लिएको थिएन । कतिले यसलाई लिएर रास्वपाको निर्णय क्षमतामा प्रश्न उठाए भने कसैले अपरिपक्वताको संज्ञा दिए । तर, खासमा यो रवि लामिछानको बठ्याइँ थियो ।

    नयाँ गठबन्धन समर्थित उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ मैदानमा खडा हुँदा रास्वपाले नेम्वाङलाई समर्थन गर्न सक्ने धेरैले अनुमान गरेका थिए । आमनिर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएदेखि नै एमालेसँग निकट देखिएको थियो रास्वपा । साथै, एमाले अध्यक्ष ओलीले पनि यस पार्टीलाई राम्रैसँग टेवा दिइरहेका थिए । रवि लामिछानेलाई गृहमन्त्री बनाउन ओलीको हात थियो भने अदालतको फैसलाबाट मन्त्री पद गुमाएपछि पनि उनले निरन्तर लामिछानको पक्षमा बोलेका थिए । नयाँ नागरिकता लिएपछि लामिछानेलाई फेरि गृहमा फर्काउन पनि ओलीले प्रयास गरेका हुन्, तर सफल भएनन् ।

    ओलीको यही गुन तिर्नका लागि भए पनि नेम्वाङलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा थिए लामिछाने । तर, उनले यसलाई नैतिकभन्दा पनि राजनीतिक प्रश्नका रूपमा हेरे । रास्वपाको र आफू स्वयम्‌को राजनीतिक भविष्यलाई हेरेर रवि नयाँ गठवन्धनको कित्तामा ढल्किएको स्रोत बताउँछ ।

    सुरुबाटै लामिछानेले पौडेललाई समर्थन गर्ने मन बनाइसकेका थिए । तर, चाँडै निर्णय गर्दा सामाजिक सञ्जालमा सत्ताको ताबेदारी गरेको आरोप लाग्ने, एमालेसँग सम्बन्ध बिग्रिने भय उनलाई थियो । त्यसले अन्तिम क्षणमा निर्णय लिए, ताकि आलोचनाका लागि धेरै समय बाँकी नै नरहोस् । चुनावको एक दिन अगाडि आचारसंहिता लागिसकेपछि पार्टीको वैठक राखेर निर्णय गर्ने तयारी थियो । तर, त्यसलाई अझै पछि सारेर उनले राष्ट्रपतिको मतदान सुरू भइसकेपछि बैठक बोलाए र अनौपचारिक समझदारी गरे ।

    राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्नेमा सबै नेताहरू पहिल्यै जानकार भइसकेकाले धेरै छलफल आवश्यक नै भएन । एक सांसदका अनुसार रवि लामिछानेले विभिन्न राजनीतिक कारणहरू देखाएर रामचन्द्रलाई समर्थन गर्नु उचित हुने बताएका थिए । त्यसमा कसैले पनि विमत्ति नराखेको ती सांसदको दाबी छ ।

    चुनाव अगाडि नै राष्ट्रपतिमा पौडेलको जित निश्चित भइसकेको थियो । त्यसैले हार्ने उम्मेदवारलाई समर्थन गरेर नयाँ गठबन्धनसँग दूरी बढाउनु आफूहरूका लागि फाइदाजनक नहुने तर्क लामिछानेले गरेका थिए । खासगरि, भविष्यमा यही गठबन्धनसँग सहकार्य आवश्यक हुनसक्ने आँकलन गरेर यो निर्णय लिइएको हो ।

    लामिछानेले गृहमन्त्री गुमाएसँगै रास्वपा सरकारबाट हटेको थियो । तर, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । र, फिर्ता लिने मनस्थितिमा पनि छैन । चितवनमा वैशाख १० गते हुने उपचुनावमा रविले फेरि उम्मेदवारी दिँदैछन् । उनी अत्यधिक मतले विजयी भएर फेरि सांसद बन्ने निश्चितजस्तै मानिएको छ । आफू सांसदमा विजयी भइसकेपछि पार्टीलाई फेरि सरकारमा सहभागी गराउने लामिछानेको रणनीति छ ।

    ‘उहाँ फेरि गृहमन्त्रालय नै लिएर सरकारमा जाने योजनामा हुनुहुन्छ,’ पार्टी स्रोतले भन्यो, ‘त्यसको वातावरण बनाउनलाई नै नयाँ गठबन्धनपट्टि ढल्किन चाहनुभएको हो ।’

    तर, पटक-पटक सरकारमा जाने/आउने गर्नु नहुने मत पनि पार्टीभित्र बलियो बनिरहेको छ । केही नेताहरू सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षमा बस्नुपर्ने पक्षमा पनि छन् । तर, रवि र उनीनिकट नेताहरू चाहीँ सरकारमा गएर आफूलाई प्रुफ गर्नुपर्ने, अन्यथा जनताले दिएको म्यान्डेटको अर्थ नहुने बताइरहेका छन् ।

  • रास्वपा प्रमुख सचेतकलाई प्रश्न- रामचन्द्रलाई सघाउँदा एमालेलाई धोका भएन ?

    रास्वपा प्रमुख सचेतकलाई प्रश्न- रामचन्द्रलाई सघाउँदा एमालेलाई धोका भएन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग लिने निर्णय गरेको बताएका छन् । संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकपछि उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग नलिने भन्ने हुँदैन । त्यसमा सबै सांसदहरुको एकमत छ । निर्वाचन आचारसंहितको कारणले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । हामी लोकतन्त्रलाई बलियो बनाउने र व्यवस्थालाई रक्षा गर्नेको पक्षमा उभिएका छौं ।’

    रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्णयपछि राष्ट्रपतिमा सहयोग गरेर उपचुनावमा सहयोग पाउने अपेक्षा राखेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबाहेक छलफल गरेका छैनौं । हामी त्यो उपयुक्त समयमा गर्नेछौं ।’

    हिजो रवि लामिछानेलाई गृहमन्त्री बनाउने विषयमा प्रचण्ड र ओलीबीचको सम्बन्धन बिग्रियो । अहिले गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ? भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा धोका हुँदैन । तथ्यमा हुन्छ । राजनीतिमा एकखालको कारण हुन्छ । त्यो कारण केलाउदै जाँदा पछि फरक भाष्यहरू निर्माण होलान् । तर, अहिले हामीले राष्ट्रपतिको विषयमा कुरा गरेका हौं ।’

  • सत्ता गठबन्धनकै पक्षमा उभियो रास्वपा, राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने निर्णय

    सत्ता गठबन्धनकै पक्षमा उभियो रास्वपा, राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने निर्णय

    काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिएको छ ।

    संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

    मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको एक सांसदले बताए ।

    रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

  • रास्वपाले कसलाई देला भोट ? निर्णय गर्न बैठक बस्दै

    रास्वपाले कसलाई देला भोट ? निर्णय गर्न बैठक बस्दै

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदै छ ।

    रवि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे सो बैठक बस्नेछ ।

    उनले १२ बजे बैठक सकिने बताए ।

    रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।

    आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

  • राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

    राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

    राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

    राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

  • राष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गर्न रास्वपा कार्यालयमा रामचन्द्र पौडेल

    राष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गर्न रास्वपा कार्यालयमा रामचन्द्र पौडेल

    काठमाडौं । आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् ।

    रास्वपा कार्यालय बसुन्धरा पुगेर पौडेलले सभापति रवि लामिछानेसहित नेताहरुसँग आफूलाई सघाउन आग्रह गरेका हुन् ।

    पौडेलसँग नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरु पुगेका छन् । रास्वपाको तर्फबाट छलफलमा सभापति लामिछाने, उपसभापति डीपी अर्याललगायत नेताहरु सहभागी छन् ।

    बिहीबार एमालेका उम्मेदवार सुवास नेम्वाङले पनि रास्वपा नेताहरुलाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए । अहिले पौडेल र नेम्वाङ अन्य दलहरुसँग भोट माग्न दौडधुप गरिरहेका छन् ।

  • राष्ट्रपतिमा नेम्वाङलाई सघाउनेबारे रास्वपाले भन्यो- पुस १० को सहमतिलाई मनन गरेर निर्णय लिन्छौं (भिडिओ)

    राष्ट्रपतिमा नेम्वाङलाई सघाउनेबारे रास्वपाले भन्यो- पुस १० को सहमतिलाई मनन गरेर निर्णय लिन्छौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै रास्वपा सभपति लामिछानेसँग भेट गरेका हुन् ।

    भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताए । उनले यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै रहेको बताए । उनले रास्वपाले भने आन्तरिक छलफलपछि निर्णय गर्नेकुरा राखेको बताए ।

    उनले भने, ‘संविधान सभा अध्यक्षको रुपमा र सभामुखको रुपमा सफल रुपमा भुमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ । राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसावले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकै कम नै पाउँछ यो एउटा मौका हो भन्नेकुरा उहाँले गर्नुभयो । पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ ।’

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।

    उनले भने,‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रिय समिति र संस्दीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’

    महामन्त्री ढकालले पुस १० गतेको सहमति आफूहरुले मनन गरेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर बैठकमा छलफल गरी निर्णय गर्नेकुरामा आफ्नो पार्टी रहेको बताए । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु सांसदहरुलाई भेट्नेक्रममा व्यस्त छन् ।

  • राष्ट्रपतिमा भोट माग्न एमाले नेताहरू रास्वपा कार्यालयमा

    राष्ट्रपतिमा भोट माग्न एमाले नेताहरू रास्वपा कार्यालयमा

    काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुगेका हुन्।

    भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरिरहेका छन्। रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

    यस्तै, एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी छन्। यसअघि एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेको थियो।

  • राष्ट्रपति चुनावमा रास्वपाले ह्विप नलगाउने ! सांसदलाई स्वविवेकमा भोट हाल्न दिनेबारे छलफल

    राष्ट्रपति चुनावमा रास्वपाले ह्विप नलगाउने ! सांसदलाई स्वविवेकमा भोट हाल्न दिनेबारे छलफल

    काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै गर्दा सबै दलहरूले लगभग आफ्नो कित्ता स्पष्ट पारिसकेका छन् । तर, संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने अनिर्णीत देखिएको छ ।

    हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले राष्ट्रपति चुनावलाई लिएर कुनै निर्णय गरेन ।

    बैठकको एजेन्डा चितवन–२ मा हुने उपनिर्वाचन मात्र थियो । यद्यपि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने अनौपचारिक छलफल भएको एक नेताले बताएका छन् । तर, ठोस निष्कर्ष भने निस्किएन ।

    पार्टीगत हिसाबले रास्वपा नेकपा एमालेसँग नजिक छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न निकै जोड बल लगाएका थिए ।

    यसअघि रविलाई गृह दिन पनि ओलीकै भूमिका थियो । त्यसको गुन तिर्नका लागि पनि एमाले उम्मेदवारलाई समर्थन गर्नुपर्ने नैतिक दबाब छ ।

    अर्कोतर्फ यति बेला सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग पनि रास्वपाले दूरी बढाउन चाहेको छैन । सरकारलाई दिएको समर्थन कायम राख्नुको कारण पनि यही नै हो ।

    चितवनमा रविले चुनाव जितेपछि पार्टीलाई सरकारमा फर्किने बाटो बन्द नहोस् भनेर यो रणनीति बनाइएको रास्वपा स्रोतको दाबी छ । यो कोणबाट हेर्दा उसले नयाँ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्नुपर्ने हुन्छ ।

    यही दोहोरो दबाबका कारण रास्वपाले राष्ट्रपति चुनावलाई लिएर पार्टीगत निर्णय नगर्ने सम्भावना बढेको स्रोत बताउँछ ।

    ‘सांसदहरूलाई नै स्वविवेकीय निर्णय गर्ने अधिकार प्रदान गर्न सकिने विषयमा सरसल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

    रास्वपा प्रवक्ता डा. मुकुल ढकाल राष्ट्रपति चुनावमा के गर्ने भनेर टुंगोमा नपुगिसकेको बताउँछन् । गोप्य मतदान हुने भएकाले पार्टीले ह्विप लगाउनु कति सान्दर्भिक हुन्छ भन्ने कोणबाट पनि बहस भइरहेको उनको भनाइ छ ।

    ‘गोप्य मतदानको अर्थ राष्ट्रपति चयनबारे पार्टीले निर्णय लिनु हुँदैन भन्ने पो संविधानको मर्म हो कि भनेर हामी संविधानविदहरुसँग छलफल गरिरहेका छौँ,’ उनले भने ।

    तपाईंहरुलाई दुई उम्मेदवारहरुबीच एकजना छान्न अप्ठेरो परेकाले बीचको बाटो खोज्नुभएको त होइन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हामी ढिलो चाँडो एउटा कित्तामा त खुल्नै पर्छ नि ।

    राष्ट्रपति चुनावपछि पनि त्यस्ता धेरै क्षणहरू आउँछन् जहाँ हामीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । राष्ट्रपति चुनावमा चाहिँ हामीले संविधानको भावना र मर्म अनुसार एउटा फरक नजिर बनाउन चाहिरहेका छौँ ।’

  • सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत (भिडिओ)

    सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत (भिडिओ)

    काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

    रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।

  • भारतको ट्रक निर्वाध चल्दा नेपालको ७० हजार ट्रक थन्कियो : सांसद नेपाली (भिडिओ)

    भारतको ट्रक निर्वाध चल्दा नेपालको ७० हजार ट्रक थन्कियो : सांसद नेपाली (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भारतीय गाडीको नेपालमा निर्वाध प्रवेश रोक्न माग गरेका छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद नेपालीले पछिल्लो समय नेपाल भित्रिने भारतीय गाडी संख्या दिनप्रतिदिन बढ्दै गएकाले निर्वाध प्रवेश रोक्न माग गरेका हुन् ।

    भारतीय गाडीले उतैबाट सामान लोड गरेर ल्याउने र नेपालका जुनसुकै स्थानमा निर्वाध रुपमा ढुवानी गर्ने हुँदा नेपालमा रहेका झन्डैै ७० हजार ढुवानी गाडी थन्किने अवस्थामा पुगेको उनले दाबी गरे ।

    यसले गर्दा ४० प्रतिशत गाडी काम नपाएर थन्किएको उनले तथ्यांक प्रस्तुत गरे। भारतीय गाडीलाई ७२ घन्टे पुर्जी जारी गर्दा नेपाली व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।

    नेपालीले भारतीय गाडी भन्सार नाकामा अनलोड हुने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गरेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

    एक वर्षे अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ९३ हजार भारतीय सवारी साधन भित्रिएको तथ्यांक छ । देशभरमा हेर्ने हो भने यो संख्या २ लाख बढी रहेको छ। यसरी हेर्दा एउटा गाडीले ६० हजार मात्रै भाडा लिए पनि झन्डै ४ अर्ब २० करोड बढी रुपैयाँ भारतीय गाडीले भारत पुर्याइरहेका छन् ।

    भारतीय गाडीलाई नियमन गरे रकम विदेशिनबाट जोगिने र यसले व्यापार घाटामा केही कमी हुन जाने दाबी उनले गरे ।

    नेपालमा दर्ता भएका भाडाका सवारी साधनले साढे २ प्रतिशत लाग्ने गरेको छ । भारतीय गाडी निर्वाध सामग्री लिएर भित्रिँदा यसबाट राजस्वमा ठूलो चुहावट भइरहेकाले सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।

  • सांसद असिम शाहको प्रश्न- ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन ? (भिडिओ)

    सांसद असिम शाहको प्रश्न- ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन भन्दै प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले समयमा‌ लाइसेन्स दिन नसकेकोमा आपत्ति जनाए ।

    उनले भने, ‘सरकारले केही समयअघि सञ्चालनमा ल्याएको नागरिक एपबाट लाइसेन्ससम्बन्धी जानकारी हेर्न सकिन्छ । तर, विडम्बना यसै एपलाई ट्राफिक प्रहरीले चिन्दैन । सरकारले समयमा‌ लाइसेन्स दिन पनि सकेको छैन ।’

    लाइसेन्स छपाइको‌ लागि अर्बौं रकम खर्च भइरहेको बेलामा नागरिक एपलाई ट्राफिक प्रहरीसँग समन्वय गर्न सके जनताको सास्ती हटाएर पैसा पनि बचाउन सकिने उनको भनाइ छ ।