Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए प्रतिनिधिसभा सदस्यको शपथ (तस्बिरहरु)

    रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए प्रतिनिधिसभा सदस्यको शपथ (तस्बिरहरु)

    काठमाडौं । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्यले थपथ लिएका छन् ।

    संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

     

  • रवि र स्वर्णिमले सांसदकाे शपथ लिने

    रवि र स्वर्णिमले सांसदकाे शपथ लिने

    काठमाडौं । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ ।

    चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११:३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।

    निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।

    गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपति उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवकाे भने आज शपथ नहुने भएकाे छ ।

  • दुई पूर्वप्रहरीलाई राजनीतिमा धक्का, दुवै चुनावमा जनताले पत्याएनन्

    दुई पूर्वप्रहरीलाई राजनीतिमा धक्का, दुवै चुनावमा जनताले पत्याएनन्

    काठमाडौ । नेपाल प्रहरीमा आईजीपीसम्म बनेका सर्वेन्द्र खनालको ब्याच आम चर्चाको हिसाबले उल्लेख्य थियो । उनका ब्याजी रमेश खरेल र पुस्कर कार्की पनि सेलिब्रेटी छविका प्रहरी अधिकृत थिए । आईजीपी बन्न उनीहरूबीच अन्तिम समयमसम्म रस्साकस्सी देखिएको थियो ।

    सरकारले खनाललाई आईजीपी बनाएपछि खरेलले आफूमाथि अन्याय भएको भन्दै डीआईजीबाटै राजीनामा दिए । खरेल, खनालको नेतृत्व स्वीकारेर बस्न तयार भएनन् । त्यसपछि उनले भ्रष्टाचारविरोधी अभियान सुरु गरेर राजनीतिमा प्रवेश गर्ने तयारी गरे । पछि नेपाल सुशासन पार्टी स्थापना गरे ।

    यता करिब २ वर्ष प्रहरी नेतृत्व गरेर अवकाश पाएका खनाल लगत्तै राजनीतिमा आउने चर्चा चलेपनि उनको औपचारिक प्रवेश भने गत प्रतिनिधिसभा निर्वाचनको केही महिना अघि मात्र भएको थियो । तत्कालीन संसदको दोस्रो ठुलो दल नेकपा एमालेले उनलाई टिकट नै दियो । त्यो पनि राजधानी काठमाडौंकै निर्वाचन क्षेत्रमा ।

    उता खरेल पनि काठमाडौंबाटै उम्मेदवार बन्ने तयारी गर्दै थिए । अन्तत उनीहरु दुवैले राजनीतिमा पहिलो परीक्षा दिए । तर दुवैलाई काठमाडौंका जनताले पत्याएनन् । वैकल्पिक राजनीतिको एजेन्डा बनाएका खरेलले पाचौं भए । उनी उठेको काठमाडौं १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी भए ।

    हारलगत्तै खरेलले रवि लामिछानेले आफूलाई धोका दिएको आरोप लगाएका थिए । सो पार्टीले आफ्नोविरुद्ध पुकार बमलाई उम्मेदवार बनाउनुले आफू हारेको उनको विश्लेषण थियो । अहिले खरेल आफैं रविको पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

    काठमाडौं क्षेत्र–१ मा सिंहले ७ हजार १ सय ४३ मतसहित विजयी भए। राप्रपाका रविन्द्र मिश्रले ७ हजार १८, रास्वपाका पुकार बमले ४ हजार १ सय १५ पाएका थिए । प्रकाशमानभन्दा करिब ३ हजार मतले पछाडि परे खरेल ।

    उता सर्वेन्द्रले पनि असफलता नै हात पारे । उनी उठेको काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल १४ हजार २ सय २१ मतसहित विजयी भए । सर्वेन्द्रले ८ हजार ९ सय १७ मत ल्याएका थिए ।

    तीन स्थानमा उपनिर्वाचन हुने भएपछि सर्वेन्द्र र रमेश दुवैलाई यो संसद प्रवेश गर्ने अर्को मौका आयो । रमेशले आफ्नो पार्टीलाई रास्वपामा गाभ्ने निर्णय गर्दै सोही पार्टीबाट बारा–२ को उम्मेदवार बने ।

    हालका राष्ट्रपति रामचन्द्र पौडेलले गत निर्वाचन जितेको तनहुँ–२ मा एमालले सर्वेन्द्रलाई फेरि टिकट दियो । तनहुँ सर्वेन्द्रको गृह जिल्ला भएका कारण प्रहरीमा रहँदा उनको असल छविका कारण जित्न सक्ने एमालेको विश्वास थियो ।

    तर यी दुवै पूर्वप्रहरी जर्साब लगातार दोस्रोपटक जनताबाट अस्वीकृत भएका छन् । बारामा रमेशले केवल २ हजार ८ सय २९ मत पाए भने निर्वाचित भएका जनता समाजवादी पार्टीका उपेन्द्र यादबलाई २८ हजार ४ सय १५ ल्याएका थिए । गत निर्वाचनमा नेपाल सुशासन पार्टीले एक सय ५० मत मात्र प्राप्त गरेको निर्वाचन क्षेत्रमा गएर रमेशले आफ्नो परिक्षा दिने निर्णय गरेका थिए ।

    तर रवि क्रेजको असर त्यहाँ देखिएन । संसदको दोस्रो ठुलो पार्टी र गृह जिल्ला भएकाले जनताले आफुलाई पत्याउँछन् भनेर तनहुँ पुगेका सर्वेन्द्रले पनि रमेशकै नियति ब्यहोरे । चुनावी नतिजाबारे सर्वेन्द्रले सार्वजनिकरुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    रमेशले चाहीँ भनेका छन्, ‘निर्वाचनको परिणाम जस्तोसुकै आएको भएता पनि म इमान्दारीतापूर्वक नेपाल आमा र नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको सेवामा लागि नै रहनेछु ।’

  • रवि लामिछाने भन्छन्- सरकारमा गइहाल्ने अवस्था छैन, ४ वर्ष पर्खिन सक्छौं

    रवि लामिछाने भन्छन्- सरकारमा गइहाल्ने अवस्था छैन, ४ वर्ष पर्खिन सक्छौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका छन् । चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय प्रकट गरे ।

    लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाएका थिए । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति-कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

    ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, लामिछानेले भने ।

    उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको स्पष्ट पारे ।

    उनले थपे, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन ।’

    त्यसो भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले जवाफ दिए, ‘यो विकल्प ठीक छ ।’

    उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताए । आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए ।

    ‘दुवै लोगो लगाएर जाउँ कि जस्तो भएको छ, तर अहिले हास्यास्पद देखिएला कि ?’ लामिछानेले भने ।

    बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा पनि उनलाई सोधिएको थियो । लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गरे ।

    ‘मधेशको राजनीति अन्यत्र फरक छ । यो बुझेर पनि हामीले एउटा प्रयास गरेका थियौं । कम्तीमा हामीले आफ्नो उपस्थिति जनाएका छौं । अब हामीले मधेशमा धेरै काम गर्न बाँकी छ ।’

    लामिछानेले रमेश खरेलजस्ता व्यक्तिको प्रवेशलाई नै आफूहरूले जितका रूपमा लिएको उल्लेख गरे ।

  • विरोधी पनि पगाल्ने रविको सीप, अब पनि लेख्लान् समर्थकले ‘रिप’ ?

    विरोधी पनि पगाल्ने रविको सीप, अब पनि लेख्लान् समर्थकले ‘रिप’ ?

    काठमाडौं । महात्मा गान्धीको एउटा चर्चित भनाई  छ- यदि तपाईंलाई कसैले एउटा गालामा थप्पड हान्यो भने अर्को गाला थापिदिनू । यद्यपि, यो भनाइलाई व्यवहारमा उतार्ने मानिसहरू समाजमा कमै पाइन्छन् । राजनीतिमा त झन् दुर्लभ नै हुन्छ ।

    नेपाली राजनीतिको कुरा गर्ने हो भने विभिन्न पार्टीका नेताहरू सदैव एक-अर्कालाई गालीगलौज गर्न र धारेहात लगाउनमै तल्लीन देखिन्छन् । आलोचना सुन्ने र पचाउने क्षमता निकै कम नेताहरूमा छ । आफ्नो आलोचनाको ढाकछोप गर्ने मात्र होइन, आलोचकहरूलाई नै विभिन्न लाञ्छना लगाएर आफू ओभानो बन्न खोज्ने प्रवृत्ति हाबी छ । यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अलिकति फरक देखाउन खोजेका छन् ।

    चितवन २ को उपनिर्वाचन अगाडि एक किशोरी सामाजिक सञ्जालमा भाइरल भइन् । उनले एउटा युट्यूव च्यानललाई रवि लामिछानेको विरोध गर्दै अन्तर्वार्ता दिएकी थिइन् । कांग्रेसलाई समर्थन गर्ने ती किशोरीले रविलाई ‘टुरिस्ट उम्मेदवार’ को संज्ञा दिएपछि रविका समर्थक आगो भएका थिए । किशोरीमाथि ‘रिप’ को वर्षा भएको थियो ।

    क्रिश्चियन समाजमा मृत्यु भएको मान्छेलाई श्रद्धाञ्जलीका लागि प्रयोग गरिने छोटकरी शब्द RIP (Rest in peace), आजकाल नेपालीहरूले सामाजिक सञ्जालमा अत्यधिक प्रयोग गर्छन् । तर, कसैलाई श्रद्धाञ्जली दिनभन्दा पनि गाली गर्नका लागि यो शब्दको दुरुपयोग हुने गरेको छ । जिउँदो मान्छेलाई ‘रिप’ लेखेर आफ्नो तुष मेट्ने प्रवृत्ति निकै झांगिएको छ । यी किशोरीमाथि पनि चौतर्फीरूपमा ‘रिप’ को वर्षा भएपछि रवि लामिछानेले सार्वजनिकरूपमा नै माफी मागेका थिए ।

    चितवनमा आयोजिन चुनावी सभामा उनले समर्थकहरूले गरेको गालीका निम्ति किशोरीसँग क्षमायाचना गरेका थिए । उनले आफ्ना कसैलाई पनि अमर्यादित गाली नगर्न समर्थकहरूलाई आग्रह पनि गरे । त्यसपछि सामामाजिक सञ्जालमा ‘रिप’ को साटो ‘गुड लक रवि दाइ’ ट्रेन्ड हुन थाल्यो । विपक्षी नेताहरूका भाषण र जुनसुकै समाचारमा पनि गुड लक रविदाइ लेख्ने होड नै चल्यो । अन्ततः रविले चुनाव पनि जिते । त्यो पनि कीर्तिमानी मत ल्याएर ।

    चुनावपछि रविले आफ्ना समर्थकहरूको गाली पाएकी किशोरीलाई सम्झिए । उनले हिजो किशोरीको घरमै पुगेर उनीसमक्ष क्षमायाचना गरेका छन् । रविले घुँडा नै टेकेर किशोरीसँग माफी मागेका थिए ।
    ‘तपाईंमाथि भएको गालीगलौजले म एकदमै दुखी छु, तपाईंकाे गल्ती केही पनि थिएन,’ रविले भने ।

    किशोरीका बुबाआमा भन्दै थिए, ‘हामीलाई नसोधी यसले अन्तर्वार्ता दिइछे । त्यस्तो भन्नु हुँदैनथ्यो ।’

    तर, रविले भने, ‘उनले केही पनि गल्ती बोलेकी छैनन् । आफूलाई लागेको कुरा बोल्ने हो । अझै बोल । गालीगलौज आयो भनेर हतोत्साही हुनु पर्दैन ।’

    निसन्देह रविको यो व्यवहारले किशोरी सहजै पग्लिइन् । त्यो उनको अनुहार र हाउभाउबाटै देखिन्थ्यो । आफ्नो छोरीको उमेरकी चेलीसँग रविले जसरी झुकेर माफी मागे, त्यो नेपाली राजनीतिमा यसअघि नदेखिएको दृष्य पनि हो । जनताले नेताहरूबाट चाहेको संस्कार पनि यस्तै नै हो । कसैलाई त यो पनि स्टन्ट लाग्न सक्ला । तर, स्टन्ट नै मान्ने हो भने पनि यसले समाजलाई सकारात्मक सन्देश नै दिनेछ ।

    महात्मा गान्धीको ‘थप्पडवाला’ भनाइको स्पिरिटलाई रविले व्यवहारमा अँगालेका छन् । सम्भवत अब उनका समर्थक/कार्यकर्ताले कसैलाई रिप लेख्नुअघि १० पटक सोच्नेछन् । किनकी उनीहरूले लेख्ने रिपले उनीहरूका लिडरलाई कसैसामु फेरि घुँडा टेकाउन सक्छ ।

  • चितवन र तनहुँमा जनलहर ल्याएको रास्वपा बारामा किन बन्यो कमजोर ?

    चितवन र तनहुँमा जनलहर ल्याएको रास्वपा बारामा किन बन्यो कमजोर ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन र तनहुँमा भएको उपनिर्वाचनमा एकलौटी ढंगले भोट बटुल्दा बारामा भने बलियो चुनौती दिन सकेन । जबकि बारा २ मा पनि रास्वपाले रमेश खरेल जस्ता लोकप्रिय र सशक्त उम्मेदवार उठाएको थियो ।

    यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुँदा खरेल चौंथो स्थानमा रहे । उनलाई २ हजार ८२९ मतमात्र आएको छ । गत मंसिर ४ गते भएको चुनावमा रास्वपाले यस क्षेत्रमा उम्मेदवारी दिएको थिएन । समानुपातिकतर्फ पार्टीलाई एक हजार ४५५ मत आएको थियो । पार्टीले समानुपातिकमा पाएको मतको दुई गुणा अहिले खरेलले ल्याएका छन् । उनले सान्त्वना लिनसक्ने ठाउँ यही हो ।

    मधेस बहुल क्षेत्रमा मतदाताहरुले मधेसी उम्मेदवार नै रोज्ने प्रवृत्ति पछिल्ला चुनावहरुमा बढिरहेको छ । विश्लेषकहरुको नजरमा खरेल पछाडि पर्नुको सबैभन्दा पहिलो र प्रमुख कारण यही हो । बारा २ मा गैरमधेसी मतदाता अत्यन्तै न्यून (पाँच हजार हाराहारी) छन् । त्यसैले यो क्षेत्रमा चुनाव जित्नु खरेलका लागि फलामको च्यूरा चपाउनुसरह थियो ।

    रास्वपा र खरेल स्वयंका लागि यो परिणाम अनपेक्षित होइन । तर, योभन्दा धेरै बढी मतको आशा पार्टीले राखेको थियो । खरेलको व्यक्तित्वका कारण उनले मुख्य प्रतिस्पर्धीहरुलाई चुनौती दिनसक्ने आँकलन पार्टी बाहिर पनि गरिएको थियो । उनलाई ‘एसपी खरेल’ का रुपमा ब्रान्डिङ गर्न खोजिएको थियो । तर, मधेसी जनताको आकर्षण उनीतिर देखिएन । अर्कोतर्फ पहाडी समुदायको थोरै भोट पनि तितरबितर भएर बाँडियो ।

    एमालेले प्रभावशाली नेता पुरुषोत्तम पौडेललाई उठाउनु पनि खरेलका लागि प्रतिकूल बन्यो । यदि एमालेको उम्मेदवार कमजोर भएका भए उनको भोट बढ्न सक्थ्यो । आमजनता पार्टीबाट उठेका अरुणकुमार ज्ञवालीले पनि खरेलकै हाराहारी भोट ल्याए । अघिल्लो चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएर ७ हजार ६९८ भोट ल्याएका ज्ञवालीले उपचुनावमा २ हजार ७३८ भोट ल्याएका छन् । अन्य उम्मेदवारहरुको भोट १२० भन्दा कम छ ।

    खरेल निर्वाचनको मुखैमा उपचुनाव लड्ने हेतु रास्वपा प्रवेश गरेका हुन् । यसअघि उनी आमनिर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार बनेका थिए । त्यसबेला आफैंले गठन गरेको सुशासन पार्टीबाट उम्मेदवारी दिएका खरेल ३ हजार १२१ भोट ल्याएर पाँचौं बनेका थिए । यसरी उनले ६ महिनाभित्रै दुईपटक हार खेप्नुपरेको छ ।

    खरेल स्वयं भने बारा २ को निर्वाचन परिणाम सकारात्मक रुपमा लिन्छन् । ‘जनताले आफ्नो मत अभिव्यक्त गरेका छन् । फ्रि एन्ड फेयर चुनाव भयो । मैले सकारात्मक रुपमा लिएको छु । अरु के कस्ता हतकण्डा अपनाइएका थिए भन्ने त यहाँहरुलाई थाहा नै छ नि’, खरेलले भने ।

    अरु क्षेत्रमा रास्वपाको उभार आउँदा बारामा कमजोर हुनुको कारणबारे प्रश्न गर्दा उनले जवाफ दिए, ‘यो कुरा मैले बुझेको छैन । तपाईंहरुले नै पत्ता लगाउनुहोला । मैलै भन्दा पूर्वाग्रही हुन सक्छ ।’

    प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने बारामा आफ्नो पार्टीको मेहनत नपुगेको बताउँछन् । ‘हामीले त्यहाँ जति मेहनत गर्‍यौं, त्यो पर्याप्त भएन भन्ने मेरो बुझाइ हो’, उनले भने ।

    चितवन र तनहुँमा गरेको मेहनत बारामा किन नगरेको त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसो होइन, हामीले मेहनत त तीन वटै क्षेत्रमा उत्तिकै गरेका हौं । तर, बारामा चाहिँ अलि बढी गर्नुपर्ने थियो भन्ने महसुस भएको छ ।’

    परियारले बाराको भूगोल र बस्ती चितवन र तनहुँको भन्दा फरक रहेको बताए । त्यसको मेसो नपाउँदा पार्टी चुकेको उनको बुझाइ छ ।

    ‘तर, जति जनमत हामीलाई बारामा आएको छ, त्यो हाम्रो लागि धेरै ठूलो कुरा हो । अब हाम्रो पार्टीले बारालगायत मधेसमा निकै काम गर्नेछ’, उनले थपे ।

    केन्द्रीय राजनीति र भूराजनीतिले समेत बारामा प्रभाव पारेको परियारले विश्लेषण गरेका छन् । ‘जसरी पनि उपेन्द्र यादवलाई जिताउनैपर्छ भन्ने हिसाबले सत्ता गठबन्धनले सबै शक्ति लगायो’, उनले भने ।

  • तनहुँमा स्वर्णिम जितका ४ फ्याक्टर

    तनहुँमा स्वर्णिम जितका ४ फ्याक्टर

    पोखरा । अर्थविद् डा. स्वर्णिम वाग्लेले चैत १५ गते अपेक्षितरूपमा कांग्रेस परित्याग गरे । तीन पुस्तादेखिको आफ्नो पार्टी परित्यागको बदला उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवारी प्राप्ति भयो । वाग्लले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिब १५ हजार बढी मत ल्याए ।

    स्वर्णिमको जितमा ४ फ्याक्टरले काम गरेको विश्लेषण हुन थालेको छ ।

    गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले स्नातक तहको अध्ययन बीएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए । विद्यालय स्तरको पढाइ काठमाडौंको बूढानीलकन्ठ स्कूलबाट पूरा गरेका थिए ।

    जोशी फ्याक्टर

    गत मंसिरमा भएको निर्वाचनमा ६ हजार ८ सय ८६ मत ल्याएको गोविन्दराज जोशी समूहले उपनिर्वाचनमा उम्मेदवार उठाएसँगै कांग्रेसमा फर्काउन निकै कोसिस भयो । कांग्रेसले कारबाही फिर्ताको निर्णय गरेरै जोशी समूहलाई फर्काउन खोज्यो । महामन्त्रीदेखि सभापति नै जोशी समूहलाई मिलाउन लागि परे । आफूहरूलाई सम्मानसहित पद दिए कांग्रेसमा फर्किन लचिलो भएको यो समूहसँग अन्तिम समयमा कुरा भाँडियो र जोशी समूहले कांग्रेसलाई समर्थन नगर्ने जनायो ।

    हरेक निर्वाचनमा राम्रै प्रभाव जनाउने जोशी समूहले त्यसपछि भने कसरीलाई समर्थन गर्छ भन्ने सबैको चासोको विषय बनेको थियो । पछि रास्वपाका सभापति रवि लामिछाने र गोविन्दराज जोशी, उनका छोरा दीपकराज जोशीबीचको भेटघाटबाट रास्वपालाई समर्थन गर्ने सहमति जुट्यो । जोशी समूहको सहकार्य नै स्वर्णिमको जितको उपयोगी पाटो बन्यो ।

    कमजोर एमाले फ्याक्टर

    गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका एमालेका सर्वेन्द्र खनाल तनहुँको उम्मेदवार बन्दा पार्टीका धेरै सदस्यले असन्तुष्ट बनेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग समधुर सम्बन्ध बनाएर ६ महिनामा दुईपल्ट टिकट पाएका खनाललाई तनहुँ १ का एमालेले नै अस्वीकार गरे । धेरैले स्वर्णिम वाग्लेले कांग्रेसको भोट काट्ने अपेक्षा गरेका थिए । तर, स्वर्णिमले कांग्रेसको भन्दा धेरै भोट एमालेको काटे । मंसिर ४ को निर्वाचनमा एमालेले पाएको मतको आधाभन्दा पनि कम मतमा सर्वेन्द्र खुम्चिए । यसै पनि तनहुँमा फितलो संगठन भएको एमाले पंक्ति चुनावमा कमजोर रुपमा परिचालित भयो ।

    गत मंसिरका एमाले उम्मेदवार एकबहादुर रानाले करिब २० हजार मत ल्याएका थिए । उक्त क्षेत्रमा एमालेको सांगठनिक मत नै १६ हजार भन्दा बढी थियो । यसपल्ट एमालेको भोट आधा हुनु रास्वापाका स्वर्णिम वाग्लेको लोकप्रियतामात्रै होइन, खनालको अलोकप्रियता पनि उत्तिकै देखिन्छ । एकबहादुरले भन्दा खनालले साढे ११ हजार कम मत पाए ।

    रविको आकर्षण फ्याक्टर/नयाँ पुस्ता

    निर्वाचनको केही दिनअघि मात्र तनहुँका जनतासँग नजिक भएका स्वर्णिम फराकिलो मतले विजयी हुँदा यसको श्रेय रास्वपाका रवि लामिछानेलाई नै जान्छ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने गत मंसिरको निर्वाचनमा पाएको मतभन्दा धेरै मत ल्याएर विजयी भए । उनले आफूले मात्र जितेनन्, तनहुँमा स्वर्णिमलाई पनि जिताए ।

    रविकै आकर्षणका कारण कांग्रेसको गढ अनुभवी र इतिहास बोकेका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समेत हराउन रविको आकर्षणसँगै युवापुस्ताको साथको पनि महत्वपूर्ण भूमिका रह्यो । वाग्लेलाई नचिने पनि धेरैजसो मतदाताले रवि लामिछानेप्रति आकर्षित भएर भोट हाले ।

    वाग्लेको चुनावी सभामा अधिकांश युवा वर्गको साथ थियो । पुराना दलबाट वाक्क भएर नयाँ दलका उम्मेदवार, रास्वपाका उम्मेदवारलाई युवा पुस्ताले रुचाएको देखिन्थ्यो । तनहुँको १ मा नयाँ मतदाता अर्थात युवाको अधिकांश भोट डा. स्वर्णिमलाई गएको देखिन्छ ।

    माओवादी फ्याक्टर

    सत्ता गठबन्धनका दलहरूको साझा उम्मेदवारका रुपमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बनेका थिए । यसअघि पनि सोही गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले २५ हजार बढी मत पाउँदा भट्टराईलाई मात्र २० हजार मत आयो । त्यसको एउटा कारण सत्ता साझेदार दल माओवादी केन्द्रका कार्यकर्ता निरुत्साहित हुनु पनि हो । माओवादी केन्द्रले तनहुँ १ मा कांग्रेसलाई सघाएबापत गण्डकी प्रदेश सरकारको नेतृत्व पहिला आफूले गर्नुपर्ने माग राखेको थियो । तर, सरकारको नेतृत्व जसैगरे पनि आफूले गर्नुपर्ने अडान कांग्रेसले राखेपछि माओवादी केन्द्र असन्तुष्टि बनेको थियो । जसको कारण माओवादीको भोट कांग्रेसका उम्मेदवार नगएको देख्न सकिन्छ ।

    माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको वडामै रास्वपाका उम्मेदवारले कांग्रेसका उम्मेदवारको भन्दा दोब्बरभन्दा धेरै मत ल्याए । चुमानको वडा आँबुखैरेनी गाउँपालिका २ मा १ हजार ३९२ मत खसेको थियो । जसमा रास्वपाका स्वर्णिमले ८८१ मत पाउँदा कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत पाएका छन् ।

  • उपनिर्वाचनमा ठूला दलको कन्तबिजोक : घण्टीलाई एमालेको मत, कांग्रेसले पाएन गठबन्धनको भोट

    उपनिर्वाचनमा ठूला दलको कन्तबिजोक : घण्टीलाई एमालेको मत, कांग्रेसले पाएन गठबन्धनको भोट

    काठमाडौं । तीन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये चितवन २ र तनहुँ १ को अन्तिम मतपरिणाम आइसकेको छ । बारा २ मा मतगणना जारी छ ।

    चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ मा रास्वपाकै स्वर्णिम वाग्ले विजयी भए । उनीहरु नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराएर जीत निकाल्न सफल भए ।

    चितवन २ लामिछाने नै गत मंसिर ४ गतेको निर्वाचनमा विजयी भएको क्षेत्र हो । उनले गत मंसिरको भन्दा धेरै मत ल्याएर दोस्रो पटक जीत निकाले । लामिछानेले ५४ हजार १७५ मत ल्याएर जिते ।

    मंसिरको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए । उनले यस पटक पहिलेको भन्दा ४ हजार ८७५ मत बढी ल्याए । मंसिरको निर्वाचनमा रास्वपाले समानुपातिकर्फ भने ३५ हजार ९४५ मत ल्याएको थियो । लामिछानेको लोकप्रियताकै कारणले प्रत्यक्षमा धेरै मत आएको छ ।

    तर, कांग्रेसले आफ्नो मतको रक्षा गर्दा एमालेले भने मंसिरमा आएको आफ्नै मतसमेत जोगाउन सकेन । कांग्रेसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित साना दलको पनि साथ थियो । कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले मंसिरको निर्वाचनमा १४ हजार ९८३ मत ल्याएका थिए ।

    तर, अहिले उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ११४ मतमात्रै ल्याए । प्रत्यक्षतर्फ कांग्रेसले गत निर्वाचनभन्दा यस पटक ३ हजार ८६९ मत कम पायो ।

    गत निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ११ हजार ९१४ मत ल्याएको थियो । त्यसैले अहिले कांग्रेसको आफ्नो भोट नघटे पनि सत्ता गठबन्धन दलबाट मत नआएको देखिन्छ ।

    उपनिर्वाचनमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । गत निर्वाचनमा कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए । उपनिर्वाचनमा एमालेको प्रत्यक्षतर्फ ३ हजार ७३१ मत घटेको देखिन्छ ।

    गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले १६ हजार ७८४ मत ल्याएको थियो । समानुपातिक मतलाई आधार मान्दा पनि अहिले एमालेको ५ हजार ८४८ मत रविलाई गएको देखिन्छ ।

    यस्तै तनहुँमा पनि कांग्रेस र एमालेले आफ्नो मत जोगाउन नसकेको प्रस्ट देखिन्छ । रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका थिए । गत निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए ।

    त्यसवेला समानुपातिकतर्फ रास्वपा १२ हजार ७७३ मत ल्याएर तेस्रो बनेको थियो । तर, अहिले भारी मतान्तरसहित रास्वपाले जीत निकाल्यो ।

    रास्वपाले जित्दा ठूला दललाई झड्का लागेको छ । सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याए । गत निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । उनले २५ हजार ३१८ मत ल्याएको भए पनि अहिले त्यो सबै भोट कांग्रेसको पोल्टामा जान सकेन ।

    गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत ल्याएको थियो । कांग्रेसले आफ्नो भोट जोगाए पनि माओवादी, नेकपा एससहित कुनै दलको भोट यहाँ पनि गठबन्धन उम्मेदवारले पाएको देखिएन ।

    कांग्रेसले केही हदसम्म आफ्नो मत जोगाए पनि एमालेको भोट रास्वपाका उम्मेदवार वाग्लेलाई गएको देखिन्छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाए ।

    मंसिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९४३ मत ल्याएका थिए । तर, अहिले एमालेको ठूलो मत रास्वपालाई गएको देखिन्छ ।

    समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ मत ल्याएको थियो । तर, अहिले एमालेका उम्मेदवार खनालले एमालेको आधी भोटमात्रै पाए ।

  • रास्वपाका सांसद ढाकाकुमार पदमुक्त (भिडिओ)

    रास्वपाका सांसद ढाकाकुमार पदमुक्त (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै श्रेष्ठ पदमुक्त भएका हुन् ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिलको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

    पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।

    सभामुख घिमिरेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा जानकारी गराउँछु ।’

    श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ ।

  • रवि लामिछानेले भने- हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए (भिडिओ)

    रवि लामिछानेले भने- हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताएका छन् ।

    चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि उनले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताए ।

    उनले भने, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें- यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

    निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उनले माफी मागे । उनले अब चितवनको विकासमा लाग्ने प्रण गरे ।

  • तोसिमाको प्रश्न- हाम्रा मागको सम्बोधन खोई ? सांसदहरूका सवाल वेबसाइटमा राखियोस् (भिडिओ)

    तोसिमाको प्रश्न- हाम्रा मागको सम्बोधन खोई ? सांसदहरूका सवाल वेबसाइटमा राखियोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाईटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।

    संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाईटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहो¥याइन् । उनले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु-भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् ।

    सांसद कार्कीले भनिन्, ‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ-७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य विमा कहिले आउँछ ? नख्खु-भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन । यो सदन हामी सांसदहरुको भन्दा पनि सार्वभौम नेपाली जनताको बढि हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के-के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन ? आम नागरिकले हेर्ने गरी वेबसाईटमा राख्ने व्यवस्था मिलाइयोस् ।’

    सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाइन् ।

  • चितवन २ मा भोटको सुनामीसहित रविले बनाए यी तीन कीर्तिमान

    चितवन २ मा भोटको सुनामीसहित रविले बनाए यी तीन कीर्तिमान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ महिनाभित्र दोस्रोपटक जनअनुमोदित भएका छन् । चितवनमा भएको उपचुनावमा उनले आज हासिल गरेको जित नेपालको चुनावी इतिहासमै कीर्तिमानी रहेको छ ।

    सर्वोच्च अदालतको फैसलाबाट सांसद पद गुमाएपछि रवि दोस्रोपटक यस क्षेत्रमा उम्मेदवार बनेका थिए । मंसिर ४ को चुनावमा देशभरमै ठूलो अन्तरालको जित हात पारेका रविले उपचुनावमा के गर्लान् भन्ने सर्वत्र चासो थियो । विपक्षीहरुले अहिलेको माहोल पहिलेजस्तो नभएको दाबी गरिरहेका थिए ।

    तर, भोटको सुनामीसहित रविले पहिलेभन्दा पनि ठूलो जित हात पारेका छन् । मुलतः वर्तमान संसदीय चुनावका सबै ठूला रेकर्डहरु उनले आफ्नो नाममा पारे । यो ६ महिनामा उनको लोकप्रियता खस्किनुको साटो झनै चुलिएको देखियो, जबकी यसबीचमा उनलाई अनेकन विवादमा मुछ्ने प्रयास भएको थियो ।

    रविले यसपालिको चुनावमा कायम गरेका मुख्य तीन रेकर्ड यस्ता छन्ः

    १. सबैभन्दा धेरै मतान्तर

    रवि लामिछानेले निकटतम प्रतिस्पर्धी जितनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतान्तरका साथ हराए । लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा श्रेष्ठ ११२१४ भोटमा रोकिएका छन् ।

    गत चुनावमा सर्वाधिक मतान्तरले जितेका लामिछानेले यो चुनावमा आफ्नै रेकर्ड तोडेका हुन् । मंसिर ४ मा रविले ४९ हजार ३ सय भोट ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५४ मत ल्याएका थिए । प्रमुख प्रतिस्पर्धी श्रेष्ठसँग उनको मतान्तर ३४ हजार ३१२ थियो ।

    लामिछानेले कायम गरेको मतान्तर सम्भवतः नेपालको चुनावी इतिहासमै सबैभन्दा ठूलो हो । १० वटा दलको समर्थन प्राप्त कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई समेत उनले निरिह बनाइदिए ।

    २. सबैभन्दा धेरै मत पाउने उम्मेदवार

    मंसिर ४ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा ५२ हजार ३९१ भोट ल्याउँदै सर्वाधिक मतको रेकर्ड राखेका थिए । अहिलेको उपचुनावमा लामिछानेले ओलीले बनाएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । उनले ५४ हजार १७५ मत पाए ।

    तर, रविको यो मत २०७४ को चुनावमा ओलीले पाएको मतभन्दा भने थोरै हो । २०७४ को चुनावमा ओलीले ५७ हजार १३९ मत पाएका थिए । त्यो चुनावमा सबैभन्दा धेरै मत ओलीकै आएको थियो ।
    ओलीको मत पनि नेपालको चुनावी इतिहासमा सबैभन्दा धेरै भने होइन । २०३८ साल वैशाखमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैया दाहालले ६५ हजार बढी मत कटाएकी थिइन् । २०३८ जेठ २ गतेको गोरखापत्रको समाचारमा उल्लेख गरिएको मतसंख्याअनुसार नानीमैया दाहालको मत ६५ हजार ७७७ मत आएको थियो । त्यस्तै राष्ट्रिय पञ्चायतको चुनावमा हेमबहादुर मल्लले ९३ हजार २७० भोट ल्याएका थिए ।

    ३. सबैभन्दा ठूलो अनुपात

    आम निर्वाचन २०७९ र यस उपनिर्वाचनमा खसेको मतमध्ये सबैभन्दा ठूलो अनुपातमा रविलाई मत सोहोरिएको छ । उनले ६९ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । यस आम निर्वाचनमा यो कुनै पनि उम्मेदवारले पाएको सबैभन्दा धेरै प्रतिशत मत हो ।

    नेपालको चुनावी इतिहासमा सर्वाधिक मत प्रतिशत भने डा. बाबुराम भट्टराईको नाममा छ । २०६४ सालको संविधानसभा चुनावमा उनले खसेको मतको ८३ प्रतिशत कटाएका थिए । उक्त चुनावमा भट्टराईले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ४३ मत ल्यएका थिए ।

  • रवि लामिछानेले लिए निर्वाचिन भएको प्रमाणपत्र

    रवि लामिछानेले लिए निर्वाचिन भएको प्रमाणपत्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएका छन् ।

    चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए ।

    उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

    एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मत प्राप्त गरेका थिए ।

  • रास्वपा सांसद ढाका आजबाट पदमुक्त, सभामुखले सदनलाई जानकारी गराउने

    रास्वपा सांसद ढाका आजबाट पदमुक्त, सभामुखले सदनलाई जानकारी गराउने

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन् ।

    केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सोही अनुसार सांसद सचिवालयमा प्राप्त सूचना आज समामुख देवराज घिमिरले संसदलाई जानकारी गराउन लागेका हुन् ।

    श्रेष्ठ रास्वपामा समानुुपातिक कोटामा आएका सांसद हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ । आज सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्तको प्रक्रिया थाल्छ ।

  • सर्वाधिक मतसहित रवि लामिछानेको शानदार विजय

    सर्वाधिक मतसहित रवि लामिछानेको शानदार विजय

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

    एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने ।

    मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।

    जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

    नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।

    उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् ।

  • रविलाई बधाई दिँदै एमालेका उम्मेदवार न्यौपानले भने- चितवनको विकासमा साथ छु

    रविलाई बधाई दिँदै एमालेका उम्मेदवार न्यौपानले भने- चितवनको विकासमा साथ छु

    काठमाडौं । चितवन २ को मतगणना नसकिँदै रास्वपाका उम्मेदवार रवि लामिछानेलाई प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले बधाई दिएका छन्। मत गणना बाँकी हुँदै लामिछाने भारी मतान्तरले विजयी हुने निश्चित भएपछि प्रतिस्पर्धी न्यौपानेले बधाई दिएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा जितहार स्वभाविक हो, चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने छु।’
    चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने बताएका छन्। पछिल्लो अपडेट अनुसार लामिछानेले ५० हजार २९ मत ल्याएर जिन निश्चित गरेका छन्।

    उनका प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठ ९ हजार १६५ र एमालेका रामप्रसाद न्यौपाने ८ हजार ८७७ मत ल्याएका छन्।

     

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

    सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थनबारे पूर्नविचार गर्ने बताए।

    उनले भने, ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किसकेपछि छलफल गर्छौँ। पछिल्लो सयम कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’

    स्थिरता नै कायम होस् भन्ने चाहेर नै सरकारलाई दिएको समर्थन कायम राखेको उल्लेख गर्दै आफूहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने प्रष्ट पारे।

    उनले भने, ‘समर्थनको नाममा सरकारले जे पनि गर्दा हुन्छ भन्ने छैन। हामीले नोटिसमा राखेको छौं। निर्वाचनकै बेलामा यसलाई जिताइदिन्छौं मन्त्री बनाइदिन्छौं भन्नु लोकतन्त्रको भद्दा मजाक हुन्। मैले यो सरकारका नेतृत्वबाट यस्तो अपेक्षा गरेको चिज होइन।’जनताले आफूहरुलाई जुन एजेण्डाको लागि मत दिएका छ त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाइएको उनको भनाइ छ।

    ‘हामीले भ्रष्टाचारका जुनसुकै कालखण्डको छानविन हुनुपर्छ भनेर राखेका थियौं। तर, कसका लागि हो? कसलाई बचाउन हो?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले त्यसलाई निकालेको छ। मैले त्यसलाई चुनाव अघि नै आपत्ति जनाइसकेको थिए। अब छलफल गछौं। समर्थनको औचित्य पुष्टि हुने सकेको छैन। त्यसैले छलफल गरेर चाँडै निर्णय लिन्छौं।’

  • तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : स्वर्णिम वाग्ले

    तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : स्वर्णिम वाग्ले

    तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

    आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे ।

    तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’

    मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।

     

  • रविले कटाए ५० हजार मत, मंसिरको भन्दा ठूलो जित निश्चित

    रविले कटाए ५० हजार मत, मंसिरको भन्दा ठूलो जित निश्चित

    काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ५० हजार मत कटाएका छन् । उनले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

    उनले मंसिर ४ को भन्दा बढी मत पाएका हुन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ ।

    यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत प्राप्त गरेका छन् । गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

    जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

  • रविलाई बधाई दिँदै जितनारायणले भने- ठूला दलमाथि सच्चिनुपर्ने कि सक्किनुपर्ने चुनौती देखियो (भिडिओ)

    रविलाई बधाई दिँदै जितनारायणले भने- ठूला दलमाथि सच्चिनुपर्ने कि सक्किनुपर्ने चुनौती देखियो (भिडिओ)

    काठमाडौं । चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई जितका लागि बधाई दिएपछि श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले जनताले परिवर्तन खोजिसकेको बताए । अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको बताए ।

    उनले भने,‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं । व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’

    उनले  उपनिर्वाचनबाट जे परिणाम आएको छ  त्यसलाई सहर्ष स्वीकार गरेको  बताए ।

    उनले भनेका छन्’सबैठाउँको मतपरिणाम हेर्दा सबैले परिवर्तनको आभास खोजेका छन् । आम जनता राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भन्दा पनि परिवर्तन खोजेका छन् । ठूला दललाई कि त सच्चिनुपर्छ कि त सक्किनुपर्छ भनेर चुनौति दिएको छ । ’

  • वाग्लेलाई बधाई दिँदै भट्टराईले भने- मेरो रचनात्मक सहयोग र खबरदारी रहन्छ

    वाग्लेलाई बधाई दिँदै भट्टराईले भने- मेरो रचनात्मक सहयोग र खबरदारी रहन्छ

    पोखरा । तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्।

    दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराईले स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका छन्।

    रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।

    सामाजिक संजालमा वाग्लेलाई बधाई दिदै भट्टराईले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ बताएका थिए ।

  • चितवनमा रविकाे भिमकाय अग्रता, दाेस्राे स्थानका लागि कांग्रेस र एमालेकाे दाैड

    चितवनमा रविकाे भिमकाय अग्रता, दाेस्राे स्थानका लागि कांग्रेस र एमालेकाे दाैड

    चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनी  ३२ हजार  ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।

    भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

  • तनहुँ १ मा रास्वपाका स्वर्णिमको जित सुनिश्चित

    तनहुँ १ मा रास्वपाका स्वर्णिमको जित सुनिश्चित

    पोखरा ।तनहुँ १ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएसँगै वाग्लेको जित सुनिश्चित भएको हो ।

    ५३ हजार १२८ मत गणना हुँदा वाग्लेले २७,९८८ र कांग्रेस गोविन्द भट्टराईले १५,९७९ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईविचको मतान्तर १२ हजार ३ छ । अब १० हजार ६२९ मत गन्न बाँकी छ ।

    एमालेका सर्वेन्द्र खनालले ७,३७९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ६३ हजार ७५७ मत खसेको थियो ।

  • मंसिर ४ मा एमालेले अग्रता लिएको इच्छाकामनामा उपनिर्वाचनमा रविको दबदबा

    मंसिर ४ मा एमालेले अग्रता लिएको इच्छाकामनामा उपनिर्वाचनमा रविको दबदबा

    काठमाडौं । नेकपा एमालेको गढ मानिएको चितवनको इच्छाकामना गाउँपालिकामा रास्वपाका सभापति रवि लामिछानेको दबदबा देखिएको छ ।

    चितवन २ अन्तर्गत इच्छाकामनाको मतगणना सकिँदा लामिछानेले फराकिलो मतान्तरसहित लिड गरेका छन् ।

    इच्छाकामनामा खसेको कुल ९ हजार ४४४ मतमध्ये लामिछानेले ४ हजार ३५८ मत ल्याए । उनलाई एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत ल्याएर पछ्याइरहेका छन् ।

    यस्तै सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ २ हजार २०५ मत ल्याएर तेस्रो स्थानमा छन् ।

  • बारा २ मा उपेन्द्र यादवलाई हर्नले पछ्याउँदा घण्टी चौथो

    बारा २ मा उपेन्द्र यादवलाई हर्नले पछ्याउँदा घण्टी चौथो

    काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार एक हजार ८७२ मत ल्याएर यादवले लिड गरिरहेका छन् ।

    उनलाई जनमतका शिवचन्द्र कुशवाहले एक हजार ६६१ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २११ मात्रै छ ।

    यहाँ एमालेका पुरुषोत्तम पौडेल ७२९ मत ल्याएर तेस्रो छन् । चितवन २ र तनहुँ १ मा अग्रता बनाएको रास्वपाका रमेश खरेल भने यहाँ २६९ मतसहित चौथो स्थानमा छन् ।

  • तनहुँमा स्वर्णिम ८ हजार मतले अगाडि: गन्न बाँकी २४ हजार ९६३ मत, कांग्रेसका भट्टराईले भेट्लान् ?

    तनहुँमा स्वर्णिम ८ हजार मतले अगाडि: गन्न बाँकी २४ हजार ९६३ मत, कांग्रेसका भट्टराईले भेट्लान् ?

    काठमाडौं । तनहुँ-१ रास्वपाका उम्मेदवार स्वर्मिण वाग्ले करिब ८ हजार मतले अगाडि लागेका छन् । पछिल्लो अपडेटअनुसार ३८ हजार ७९४ मत गणना गर्दा वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन् ।

    उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल ६ हजार २३६ मतसहित तेस्रो स्थानमा छन् ।

    त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो । अब बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको २४ हजार ९६३ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

    इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

    काठमाडौं । यसपाली चितवन २ को उपनिर्वाचनमा कसले जित्ला भन्दा पनि रवि लामिछानेको भोट घट्ला कि बढ्ला भन्ने चासो धेरै थियो । उनको जितमा भने कसैलाई शंका थिएन ।

    अन्य दलहरुले चाहीँ चितवनको माहोल पहिलेजस्तै छैन भनिरहेका थिए । उनीहरुको दावी थियो– रविको लोकप्रियता धराशयी भइसकेको छ । यसपाली नतिजा उल्टिन्छ ।

    आज इच्छाकामना गाउँपालिकाबाट सुरु भएको मतगणनाको प्रारम्भिक रुझानले भने त्यस्तो संकेत गर्दैन । यो त्यही गाउँपालिका हो, जहाँ गत मंसिरमा भएको चुनावमा एमालेले प्रभूत्व जमाएको थियो । तर, अहिलेको गणनामा रविले सुरुमै अग्रता कायम गरेका छन् ।

    ग्रामिण इलाकाहरु भएको इच्छाकामनामा ७ वटा वडाहरु छन् ।  तिनीहरुमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले कुल ३ हजार ६ सय २३ भोट ल्याएका थिए । दोस्रो स्थामा रहेको कांग्रेसका उमेश श्रेष्ठ थिए । उनले ल्याएको मत थियो ३ हजार २१६ । रवि दुई हजार ९ सय ७५ मतका साथ तेस्रो स्थानमा थिए ।

    इच्छाकामना गाउँपालिकाबाट बाहिरिनासाथ रविले आफ्नो भोट ह्वात्तै बढाए । शहरी क्षेत्रहरुमा उनको एकलौटी बर्चश्व देखिएको थियो । अन्ततः देशमै सर्वाधिक मतान्तरले उनी विजयी भए ।

    अहिले इच्छाकामनाको रुझान हेर्दा पहिलेभन्दा पनि धेरै मत ल्याउने सम्भावनालाई नकार्न सकिन्न । अहिलेसम्म यस गाउँपालिकाका ६ वटा वडाहरुको गणना सकिएको छ । अघिल्लो निर्वाचनमा रविले १ नम्बर वडाबाट ८७ भोट ल्याएका थिए । तर, अहिले सो वडामा उनलाई ३१९ भोट प्राप्त भएको छ । यसैबाट आँकलन गर्न सकिन्छ, कि रविले कसरी भोट सोहोर्दैछन् ।

    उपचुनावमा इच्छाकामना गाउँपालिकामा कुल ९ हजार ४४४ मत खसेको थियो । त्यसमध्ये ५ वटा वडाको गणना भइसकेको छ भने वडा नम्बर ६ को गणना जारी छ । जसमा रवि निकट प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेभन्दा झण्डै १६ सय मतले अगाडि छन् । रविले ३ हजार ६०२ भोट ल्याउँदा रामप्रसादको २१२३ भोट आएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ १४९४ मतसहित तेस्रो स्थानमा छन् ।

    इच्छाकामनामा रविलाई आएको भोट देखेर प्रतिस्पर्धीहरु आत्तिएका छन् । अन्य पालिकाहरुमा प्रवेशसँगै रविको एकछत्र हुने त्राश बढेको छ ।
    एक स्थानीय पत्रकार भन्छन्, ‘अघिल्लो चुनावभन्दा भोट बढ्ने निश्चित देखियो ।’

    आखिर किन बढ्यो त घन्टीलाई भोट ? ती पत्रकारको भनाइमा रविलाई अन्य राजनीतिक दल र मिडियाले समेत घेराबन्दीमा पारेको भन्दै जनतामा सहानुभूति बढेको छ । ‘चुनावका मुखमा उत्पन्न गरिएका विभिन्न विवादहरुले रविलाई फाइदा भएको देखिन्छ,’ उनी भन्छन्, ‘जनतामा नकारात्मक पब्लिसिटी भयो ।’

  • कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत

    कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत

    पोखरा । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ ।

    केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन् ।

    १६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाए ।

  • तनहुँमा स्वणिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुर नगरपालिकाको मात्रै गन्न बाँकी

    तनहुँमा स्वणिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुर नगरपालिकाको मात्रै गन्न बाँकी

    काठमाडौं । तनहुँ १ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १५ हजार ९५८ मत ल्याएर लिड गरिरहेका छन्।

    उनलाई कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ६ हजार ८३८ रहेको छ।
    यस्तै, एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएर तेस्रो स्थानमा छन्।

    अब बन्दीपुर नगरपालिका र ब्यास  गाउँपालिकाको मात्रै  मत गन्न बाँकी रहेकाे छ ।

  • रवि लामिछानेको फेसबुक स्टाटस सेयर गरेको भन्दै स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण

    रवि लामिछानेको फेसबुक स्टाटस सेयर गरेको भन्दै स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ललाई जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    उनले प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि वैशाख १० गते निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी परेपछि उम्मेदवार वाग्लेलाई समितिले स्पष्टीकरण सोधेको हो ।

    ‘निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नु भएको हो होइन रु’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

  • निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण

    निर्वाचन आयोगले सोध्यो रवि लामिछानेलाई स्पष्टीकरण

    काठमाडौं । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

    नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

    निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

    निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

    उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

  • अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्त बनाएर देश अब युवाले हाँक्छन् : रवि लामिछाने

    अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्त बनाएर देश अब युवाले हाँक्छन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानले देश अब युवाले हाँक्ने बताएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन भनेर उनले प्रश्न गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई यो विन्दूसम्म ल्याउन कैयौंले जीवनको आहुति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा कहिलेकाहीं सोच्छु- ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?’

    व्यवस्था सुध्रिए पनि नागरिकको अवस्था नसुध्रिएको उल्लेख गर्दै रविले अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति गराएर देश अब युवाले हाँक्ने बताए ।

    ‘अहिलेको देश देख्दा लाग्छ, हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीं छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन्’, उनले भनेका छन् ।

  • जनमतको रुझानबारे स्वर्णिमको विश्लेषण- विगतप्रतिको वितृष्णा, भविष्यप्रतिको आशा

    जनमतको रुझानबारे स्वर्णिमको विश्लेषण- विगतप्रतिको वितृष्णा, भविष्यप्रतिको आशा

    काठमाडौं । तनहुँ १ को मतगणनामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिइरहेका छन् । २५ प्रतिशत हाराहारी मतगणना हुँदा नै उनको जित निश्चितजस्तो देखिएको छ ।

    यो निर्वाचनमा रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, अहिलेसम्मको मतगणनामा प्रमुख प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा डा. वाग्ले दोब्बरभन्दा बढी मतले अगाडि छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाल प्रतिस्पर्धामा कमजोर देखिए ।

    अहिलेसम्म २५ प्रतिशतमात्रै मतगणना सकिएको छ । तर, धेरैले डा. वाग्लेलाई बधाई दिन थालिसकेका छन् । उनी आफैं पनि आफ्नो जितमा निश्चिन्त देखिन्छन् ।

    ‘तनहुँ १ मा तपाईंको जित सुनिश्चित मान्न सकिन्छ ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘सकिन्छ ।’

    अहिलेसम्मको मतगणनाको रुझान आशातित नै रहेको डा. वाग्लेले बताए ।

    ‘५० प्रतिशत जति आउँछ होला भन्ने हाम्रो आँकलन थियो, सायद अन्तिम नतिजामा त्यस्तै होला,’ उनले भने ।

    केही वडाहरूमा आफूहरूले अपेक्षा गरेभन्दा पनि राम्रो मत आइरहेको उनले बताए ।

    जनताले मतपत्र मार्फत परिवर्तनको चाहनालाई अभिव्यक्त गरेको बताउँछन् डा. वाग्ले । वर्तमान पार्टीहरू र नेताहरूप्रतिको वितृष्णा पनि निर्वाचनमा पोखिएको उनको विश्लेषण छ ।

    ‘देखिहाल्नुभयो, चार-चार जना प्रधानमन्त्री आएर बोल्नुभएको छ । एउटा पार्टीको त सिंगो केन्द्रीय समिति नै यहीँ थियो । तर पनि जनताले उहाँहरूप्रति विश्वास देखाउनुभएन,’ उनले भने ।

    के यो अरु पार्टीप्रतिको वितृष्णाले मात्रै रास्वपामा मत ओइरिएको हो त ?

    डा. वाग्ले भन्छन्, ‘दुवै हो । यो मतपरिणाम विगतप्रतिको वितृष्णा र भविष्यप्रतिको आशा झल्किएको छ ।’

  • तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई

    तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई

    तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

    अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।

    गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

  • स्वर्णिम र गोविन्दबीच ४ हजारभन्दा बढी मतको फरक, तनहुँ १ मा कसको कति ?

    स्वर्णिम र गोविन्दबीच ४ हजारभन्दा बढी मतको फरक, तनहुँ १ मा कसको कति ?

    तनहुँ । उपनिर्वाचनअन्तर्गत तनहुँमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । हालसम्म ९ वडाको १३७५९ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले निरन्तर लिड गरिरहेका छन् ।

    पछिल्लो मतअनुसार वाग्ले ७६२५ मतका साथ अग्रस्थानमा छन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ३४७१ मतका साथ दोस्रो स्थानमा छन् । वाग्ले र भट्टराईबीच ४१५४ मतको फरक छ ।

    सुरूदेखि नै तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको २२१९ मत छ ।