Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रास्वपाले विपिन आचार्यलाई रुपन्देही-३ को उपनिर्वाचनको कमाण्डर तोक्यो, उम्मेदवारका लागि आवेदन आह्वान

    रास्वपाले विपिन आचार्यलाई रुपन्देही-३ को उपनिर्वाचनको कमाण्डर तोक्यो, उम्मेदवारका लागि आवेदन आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्नको लागि कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ।

    पार्टी सचिवालय बैठकले कार्यविधि अनुसार पार्टीले केही दिनभित्र उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने निर्णय गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

    उनका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ।

    बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ।

  • रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ (भिडिओ)

    रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ (भिडिओ)

    काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।

    मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।

    उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’

    रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’

  • सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले (भिडिओ)

    सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति स्वणिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्याइएको बताएका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग गएको नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको कुरा उठाएको बताए।

    ‘रास्वपा सक्षम अनुसन्धान गर्ने निकाय होइन, हामी राजनीतिक दल हौँ, त्यो निकाय राज्यसँगै छन् छानबिन गर भनेर उहाँले आह्वान गर्नुभएको हो,’ उनले भने, ‘उहाँले बोल्नै नबोलेको कुरा प्रधानमन्त्रीसँग गएको मान्छे फर्किएनन् भन्यो भनेर यत्रो बबन्डर मच्चाइयो। उहाँले बोलेको खास भाषा हेरेको भए त्यो छर्लङ्ग छ। आज पनि उहाँले दुई चोटि दोहोर्‍याइसक्नुभयो।’

    उनले प्रधानमन्त्री गएको कार्यक्रम ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौँ नेपालीका बारेमा गौतमले कुरा उठाएको बताए।

    उनले भने, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन। यसमा स्पष्ट हुन आवश्यक छ।’

    दश वर्षअघि इथियोपिया भएको तेस्रो सम्मेलनको नेतृत्व आफूले गरेर गएको पनि स्मरण गरे। उनले ठाउँ हेरेर मान्छेहरूले ओइरो लाग्ने गरेको बताए।

    स्पेन युरोप छिर्ने द्वारको रूपमा मानव तस्करहरूले प्रयोग गरिरहेकाले त्यसबारे छानबिन गर्नको लागि यो विषय उठाएको बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले गरेको आन्दोलन स्थापित हुँदै गएको जिकिर गरे।

  • रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको हो कि होइन ? (भिडिओ)

    रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको हो कि होइन ? (भिडिओ)

    काठमाडौं । रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएको विषय उठाइरहेको बेलामा गृहमन्त्री रमेश लेखकले पार्टी सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको विषय सम्झाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?’

    यदि भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन आग्रह गरे ।

    उनले थपे, ‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन। अनि भिजिट भिसा दूरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइनँ । तर साथीहरु अलि गर्न नहुनेतिर जानुभएको छ ।’

  • रास्वपालाई गृहमन्त्रीको जवाफ- अनुमानमा नबाेल्नू, स्पेनबाट को फर्किएनन् प्रमाण दिनू (भिडिओ)

    रास्वपालाई गृहमन्त्रीको जवाफ- अनुमानमा नबाेल्नू, स्पेनबाट को फर्किएनन् प्रमाण दिनू (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादीत ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’

    यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे ।

    उनले भने, ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनुहोला ।’

  • सोवितालाई सुनिताको जवाफ- तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौं (भिडिओ)

    सोवितालाई सुनिताको जवाफ- तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौं (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको जवाफ फर्काएकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ । तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्‍यो भने हामी तयार छौँ । तर हेक्का पुर्‍याएर बोल्नुस् ।’

    उनले आफ्नो कुरा राखेर रास्वपा सांसद बाहिरिएको भन्दै आपत्ति जनाइन् ।

  • सोविताको प्रश्न- मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने ?

    सोविताको प्रश्न- मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने ?

    काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्‍याइन् ।

    ‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्,‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’

    उनले भिजिट भिसा प्रकरणमा आफूहरूले आन्दोलन जारी राखेको पनि बताइन् ।

  • सोविता गौतमको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग, माओवादीले जनायो आपत्ति

    सोविता गौतमको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग, माओवादीले जनायो आपत्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीको भ्रमणबारे दिएको अभिव्यक्तिप्रति नेकपा एमालेको आपत्ति जनाएको छ । प्रमुख सचेतक महेश बर्तौलाले बोल्दै प्रधानमन्त्री लक्षित कपोकल्पित र भ्रामक आरोप लगाएको बताए ।

    उनले सांसद गौमतको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे। प्रधानमन्त्रीको साथमा गएर को नफर्केको प्रमाण पेस गर्न संसद मार्फत् नै जानकारी गराउन चुनौती दिए ।

    बर्तौलाले यो अभिव्यक्ति दिएपछि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्ने भन्दै माओवादीले आपत्ति जनायो। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बोल्दै प्रश्न उठेपछि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

    सदनमा उठेको विषयमा सांसदहरुले नै जवाफ दिएर सदनलाई हेपेको आरोप लगाए ।

     

  • साेविताको आरोपमाथि संसदमै आपत्ति, को-को थिए प्रधानमन्त्रीको भ्रमण दलमा ?

    साेविताको आरोपमाथि संसदमै आपत्ति, को-को थिए प्रधानमन्त्रीको भ्रमण दलमा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमको अभिव्यक्तिप्रति सत्तारूढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेलले आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले कुनै व्यक्ति विशेष आरोप नलगाएको भएपनि प्रधानमन्त्री गएकै कार्यक्रममा सहभागी भएकाहरू नफर्किनु गम्भीर विषय भएको बताइन् ।

    उनले भनिन्, ‘स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन् यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो ।’

    उनले आफूहरूले भिजिट भिसा प्रकरणमा उठाएको मुद्दाबाट पछि नहटेको बताइन्। सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रियता नेपालको छवि जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने र अनुउपयुक्त पात्रको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै आपत्ति जनाइन् ।

    उनले थपिन्, ‘आफू मातहतकै आफूभन्दा अनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ। हाम्रो हिजो पनि र आज पनि एउटै छ । नागरिक बेचिनु कसैको गलत कार्यका कारण देशको छवि घट्नु, सामान्य विषय होइन, उच्चस्तरीय छानबिन आयोग जसरी पनि बन्नुपर्छ। हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ ।’

    त्यसप्रति आपत्ति जनाउँदै सांसद पौडेलले आरोप पुष्टि गर्न चुनौती दिँदै जे मन लाग्यो त्यही बोल्दै नहिँड्न चेतावनी दिए ।

    उनले भने, ‘प्रधानमन्त्री अहिले स्पेन भ्रमण जाँदा भिजिट भिसामा मान्छेहरूले लगेर केही छाडेको भन्ने आशङ्का जस्तो विषय एक जना माननीयले राख्नुभयो । यो विषय उहाँले किन राख्नुभयो ? केका आधारमा राख्नुभयो ? उहाँले राखेको विषय उहाँले पुष्टि गर्न पर्छ कि पर्दैन ? यस्ता विषय जतिखेर जुन कुरा मन लाग्यो, जसलाई आरोप लगाउन मन लाग्यो त्यो कुरा राख्ने र सदन बहिस्कार गरेर हिँड्ने ?’

    प्रधानमन्त्रीको भ्रमण दलमा को-को सहभागी थिए, हेर्नुस् ।

  • सत्तापक्षलाई रास्वपाको प्रश्न- अमरेशकुमारलाई औंला उठाउनुभयो, दुई थान मन्त्री लिएको दलका नेतालाई के गर्नुहुन्छ ? (भिडिओ)

    सत्तापक्षलाई रास्वपाको प्रश्न- अमरेशकुमारलाई औंला उठाउनुभयो, दुई थान मन्त्री लिएको दलका नेतालाई के गर्नुहुन्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जसपा नेता अशोक यादवको अभिव्यक्तबारे सरकारको धारणा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा प्रवक्ता मनिष झाले नेता यादवको अभिव्यक्तिबारे सरकारको धारणा मागेका हुन् ।

    उनले भने, ‘अमरेशकुमार सिंहले एउटा विषयमा बोल्दा सत्तापक्षका सांसदहरूले औँला उठाउनुभयो। र सच्याउनुपर्छ भन्नुभयो । गठबन्धनमा दुई थान मन्त्री लिइराख्नुभएको दलको एउटा नेताले भिडिओमार्फत यो देशबाट मधेस छुट्टिन्छ अभिव्यक्ति दिनुभयो । त्यसबारेमा के गर्नुहुन्छ ?’

    उनले भिडिओ वक्तव्य जारी गर्दै मधेस नेपालबाट अलग भएरै छोड्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

     

  • डिपीले सुनाए रविको सन्देश- भ्रष्टाचार अन्त्य गर्न खोज्दा कारागार पुगेँ, त्यसको हिसाबकिताब समयले गर्छ (भिडिओ)

    डिपीले सुनाए रविको सन्देश- भ्रष्टाचार अन्त्य गर्न खोज्दा कारागार पुगेँ, त्यसको हिसाबकिताब समयले गर्छ (भिडिओ)

    काठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्।

    पार्टीको नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए।

    उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाउनुभएको छ। उहाँले आफूले कुनै गलत काम गर्दा पनि कारागारमा बस्नुपरेको सन्देश पठाउनुभएको छ। यो देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि राजनीतिमा आए, म राजनीतिमा आएको कसैलाई पच्न सकेन त्यसैले म कारागारमा छु, त्यसको हिसाबकिताब समयमा गर्नेछु।’

    उनले रवि लामिछाने कुनै व्यक्ति र पार्टीको नेता मात्रै होइन यो एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

  • रुपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

    रुपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

    रास्वपाले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक डाकेको हो ।

    रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बस्ने भनिएको उक्त बैठकभोलि बिहान साढे ११ बजे, पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बोलाइएको हो।

    पार्टीले सबै सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।

    बैठकको कार्यसूचीमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रूपन्देही ३ उपनिर्वाचन र विविध विषयहरूरहेका छन्।

    रूपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति घोषणाको चर्चा भइरहेका बेला रास्वपाले सचिवालय बैठक आह्वान गर्नुले राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

  • निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना (भिडिओ)

    निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना (भिडिओ)

    काठमाडौं । रास्वपाकी सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीबारे राज्यव्यवस्था समितिका सांसदहरूले थाहा थिएन भन्न नमिल्ने तर्क गरेकी छन् ।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय व्यवस्थामाथि नै प्रकार भयो भन्ने पुष्टि गर्ने आधार आफूले नभेटेको बताइन् ।

    उनले भनिन्, ‘कुलिङ पिरियडमा बाहेक शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ । त्यो मूल विधेयकमा छ, जब मूल विधेयकमा बाहेक शब्द हटाइन्न, त्यति बेलासम्म त त्यो कायम रहन्छ । त्यस कारणले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किनको लागि सार्वभौमतामाथि आक्रमण भयो भनियो। त्यो मलाई गलत लाग्छ ।’

    उनले यसमा भएको गल्तीलाई स्विकारेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ ।

     

  • रास्वपा सांसदले आकस्मिक समयको दुरुपयोग गरेको कांग्रेसको आरोप, बोल्नबाट वञ्चित गर्न माग

    रास्वपा सांसदले आकस्मिक समयको दुरुपयोग गरेको कांग्रेसको आरोप, बोल्नबाट वञ्चित गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी रास्वपालाई लक्षित गर्दै संसदको आकस्मिक समयको दुरुपयोग गर्ने काम भइरहेको आरोप लगाएका छन् । आजको संसद बैठकमा बोल्दै उनले जथाभावी अव्यिक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्ने माग गरे ।

    रास्वपा र राप्रपा मागका विषयमा सरकारले समिति बनाइसकेको अवस्थामा संसद अवरोधको औचित्य नरहेको घिमिरेको भनाइ छ ।

    उनको भनाइ यस्तो थियोः

    अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

    भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

  • डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की (भिडिओ)

    डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।

    संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाले ।

    उनको भनाइ यस्तो थियो-

    सभामुख महोदय,

    हामीले कस्तो समाज निर्माण गरेछौं ? काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिँदै हिँड्नुपर्छ । ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं । संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोशिस गरियो । राजनीतिलाई पेशा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेशा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् ।

    २०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन् । अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । हो म गर्वका साथ भन्छु । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं । हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेश गर्न चुनौती दिन्छु । होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु ।

    अर्यालले बोल्दाबोल्दै रामहरि खतिवडा उठेर नियमापत्ति गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । अर्यालले बोलिसकेपछि खतिवडालाई समय दिए ।

    खतिवडाले पनि आक्रामकरूपमा जवाफ फर्काए ।

    उनको अभिव्यक्ति यस्तो थियोः

    चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ । हामीले कसैको पनि नाम लिएका थिएनौं । हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं । यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस् ।

    त्यसपछि सभामुखले दुवैलाई सम्बोधन गर्न खोजे । खासगरी खतिवडालाई जिम्मेवारीसाथ बोल्न सुझाव दिए ।

    उनले भनेः

    माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ । गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् । यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु । जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ ।

  • रवि लामिछानेको पक्षमा बाबुरामले गरे हस्ताक्षर

    रवि लामिछानेको पक्षमा बाबुरामले गरे हस्ताक्षर

    काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाको हस्ताक्षर अभियानमा साथ दिएका छन् ।

    सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।

    पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेको रास्वपा नेता दीपक बोहोराले बताए ।

  • गृहमन्त्रीलाई रास्वपाको प्रश्न -मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ? (भिडिओ)

    गृहमन्त्रीलाई रास्वपाको प्रश्न -मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ? (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गरिएको मानव तस्करी राष्ट्र जनताको आत्मसम्मानमाथि गरिएको चीरहरण भएको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाललाई मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालेको बताए।

    उनले भने,’तपाईँकै सचिवालयका सदस्य यो अपराध कर्ममा जोडिँदै गर्दा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैनरु मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश बनाइएको छ। त्यो अनुसन्धान गर्न कि आफू र आफ्नालाई फुत्काउनको लागि हो ?’

    उनले अख्तियारले छानबिन समिति बनाएपछि गृहमन्त्रीले देखाएको व्यवहार शङ्कास्पद भएको दाबी गरे।

  • रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

    रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध

    काठमाडौं । रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो।

    आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

    रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

  • प्रधानमन्त्री कमजोर छन्, कांग्रेसले भनेकोभन्दा बाहिर गएर कुनै निर्णय गर्न सक्दैनन्: शिशिर खनाल (भिडिओ)

    प्रधानमन्त्री कमजोर छन्, कांग्रेसले भनेकोभन्दा बाहिर गएर कुनै निर्णय गर्न सक्दैनन्: शिशिर खनाल (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीले कांग्रेसले भनेको भन्दा बाहिर गएर कुनै निर्णय गर्न नसक्ने टिप्पणी गरेका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा सरकार जोगाउनको लागि प्रधानमन्त्री धेरै कमजोर बनेको बताए।

    उनले भने, ‘उहाँले बलियो प्रधानमन्त्री हुँदा नेकपाकालमा उहाँले गरेको प्रयास असफल रह्यो। कांग्रेसले चाहेको दिन सरकार ढल्छ भनेर उहाँहरू आफैँ भनिराख्नुभएको छ। कहीँ पनि कांग्रेसले चाहेको निर्णयभन्दाबाहिर गएर कुनै निर्णय गर्न सकेका छैनन्।’

    उनले कांग्रेससँग सहकार्य थालेपछि प्रधानमन्त्रीको दम्भ सकिएको टिप्पणी गरे।

  • भिजिट भिसा प्रकरणकाे छानबिन गर्न बनाएको समिति रास्वपाले गर्‍यो अस्वीकार

    भिजिट भिसा प्रकरणकाे छानबिन गर्न बनाएको समिति रास्वपाले गर्‍यो अस्वीकार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्व–मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा स्वार्थ प्रेरित र कमजोर समिति गठन गरेकाे भन्दै आपत्ति जनाएको छ ।

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्रको निरन्तरतामा सरकारद्वारा गठित समिति रास्वपाले पूर्णरुपमा अस्वीकार गरेको हो ।

    पछिल्लो प्रकरण छानबिनको कार्यादेशसमेत नदिई सरकारको बफादार आदेशपालक र शक्तिका सदावहार समर्थकको नेतृत्व र छानबिन गरिनुपर्ने मन्त्रालयहरुकै उच्चपदस्थ कर्मचारीको संलग्नतामा समिति बनाइनु समस्याको दीर्घकालीन समाधान खोज्ने नभई सम्भावित दोषी उम्क्याउन रहेको रास्वपाको ठहर छ ।

    प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि थिएन, होइन । यो राजनीतिक र प्रशासनिक संरक्षणमा फस्टाएको संगठित अपराधको सञ्जाल थियो, छ । जसमा गृहमन्त्रीकै परोक्ष संलग्नताको आशंका र प्रत्यक्ष संरक्षणको प्रारम्भिक प्रमाण एवं कार्यान्वयन तहका कर्मचारीहरुको सक्रिय सहभागिता प्रष्टै देखिएको छ । सरकारको यो निर्णयले न दोषी पहिचान हुन्छन्, न पीडितले न्याय पाउँछन् । नत पद्दतिमा नै सुधार हुन्छ ।’

    भिजिट भिसा प्रकरणमा ठूला भनिएका नेता र उच्चपदस्थ कर्मचारीसमेत तानिन सक्ने सम्भावनाका कारण स्वार्थवश कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्ने सरकारको उद्देश्यप्रति खबरदारी गर्दै गठित समिति तत्काल खारेज गर्न रास्वपाले माग गरेको छ ।

    ‘हामी वैदेशिक रोजागर ऐन, २०६४ लागू भएयताका सबै गृहमन्त्री र गृहसचिव तथा अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित सम्बद्ध उच्च कर्मचारी उपर छानबिन गर्न सक्ने संसदीय विशेष समिति वा उच्चस्तरीय आयोग गठनको अडानमा यथावत् रहेको स्मरण गराउँदछौं । माग पूरा नभएसम्म हाम्रो विरोध र खबरदारी निरन्तर रहने छ ।’ विज्ञप्तिमा भनिएको छ।

  • गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

    गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

    काठमाडौं । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

    दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए ।

    संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे ।

    यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइएको उनीहरुको भनाइ थियो । वाग्लेले बोलेपछि रास्वपा र शाहीले बोलेपछि राप्रपाका सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् ।

    सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो, तर उनीहरुले अस्वीकार गरेका छन् ।

  • शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)

    शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै सन्देहको घेरामा रहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति अस्वीकार गर्ने बताए।

    उनले यो प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको भएको भन्दै लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको कुरा रहेको बताए।

    उनले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र रहेको बताए।

    उनले भने, उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने ? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ।

  • संसदमा बोल्दै गृहमन्त्री, रास्वपा र राप्रपाका सांसद शान्त

    संसदमा बोल्दै गृहमन्त्री, रास्वपा र राप्रपाका सांसद शान्त

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा भिजिटि भिसा प्रकरणबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ गृहमन्त्री रमेश लेखकले दिएका छन्। अहिले उनी बैठकमा बोलिरहेका छन्।

    बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेर अवरोध जनाएको भए पनि सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि अहिले बसेका छन्।

    हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उनले दुई बुँदे सहमति अनुसार नै सरकारले हिजो गठन गरेको बताए।

  • सरकारले बनाएको छानबिन समिति रास्वपालाई अस्वीकार्य, संसद अवरोधबाट पछि नहट्ने

    सरकारले बनाएको छानबिन समिति रास्वपालाई अस्वीकार्य, संसद अवरोधबाट पछि नहट्ने

    काठमाडौं । भिजिट भिसाको विषयमा छानबिन गर्न हिजो मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिलाई संसदमा आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वीकार नगर्ने भएको छ । आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।

    छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले संसद बैठकमा वेल घेराउ तथा बहिष्कार गर्दै आएको छ । यद्यपि, रास्वपाको अवरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकलाई निरन्तरता दिइरहेका छन् । आज संसद बैठकबाट बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने प्रवक्ता झाले जानकारी दिए ।

    आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रास्वपाले निर्णय लिन बाँकी छ । यस विषयमा छलफलका लागि अहिले पार्टी संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ । वेल घेराउ गर्ने कि बहिष्कार गर्ने वा विरोधका अन्य स्वरूपमा जाने भन्ने छलफलले निर्णय लिने झा बताउँछन् ।

    वैरागी संयोजक बन्न ‘अयोग्य’ ठहर

    हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको छ । सम्बन्धित मन्त्रालयका सहसचिवहरू छानबिन समितिमा सदस्य रहनेछन् ।

    रास्वपाले भने छानबिनमा तानिनुपर्ने गृहमन्त्री आफैँले प्रस्ताव लगेर समिति गठन भएकोप्रति नै आपत्ति जनाएको छ ।

    झा भन्छन्, ‘उहाँ आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा अस्वाभाविक छ । यो केवल उहाँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’

    छानबिनको माग गरिएको रास्वपासित कुनै पनि छलफल नगरीकन एकतर्फी रूपमा बनाइएको समितिले निष्पक्ष कार्यसम्पादन गर्न नसक्ने उनको जिकिर छ । समितिको संयोजक तोकिएका वैरागीको विषयमा पनि उनले प्रश्न उठाए ।

    ‘उहाँ आफैँ बलियो नैतिक पृष्ठभूमि भएको व्यक्ति होइन । त्यसमाथि अहिले कता राजनीतिक नियुक्त पाइन्छ भनेर पर्खेर बस्नुभएको छ । अनि उहाँले सरकारका गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर हामीले विश्वास गरिदिनुपर्ने ?’ झाले भने ।

  • संविधान पुनर्लेखन गर्नुपर्ने रविको नयाँ अडानलाई रास्वपाले अपनत्व लिने

    संविधान पुनर्लेखन गर्नुपर्ने रविको नयाँ अडानलाई रास्वपाले अपनत्व लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट अपिल जारी गर्दै संविधान पुनर्लेखनको नयाँ एजेन्डा अघि सारेका छन् । यो संविधान भ्रष्टहरूको आर्थिक र सामाजिक अपराधको टेको बनेको उनको निष्कर्ष रहेको छ ।

    उनको अपिलमा भनिएको छ, ‘म रहुँला नरहुँला, तर मेरा केही संकल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब सशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।’

    रास्वपाले अहिलेसम्म संविधान सुधार वा परिमार्जनको कुरा गर्दै आए पनि पुनर्लेखन भनेको छैन । पार्टीका आधिकारिक दस्तावेजहरूमा पनि संविधान पुनर्लेखन शब्द कतै प्रयोग भएको पाइँदैन । तर, सभापतिबाटै आएपछि पार्टीले यसलाई अपनत्व लिने भएको छ ।

    राप्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटी संविधान संशोधनले मात्रै सबै विषयवस्तु सम्बोधन नहुनसक्ने भएकाले सभापतिबाट पुनर्लेखनको एजेन्डा प्रस्तुत भएको बताउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘संविधान संसोधनले मात्रै हुने स्थिति नदेखिएकाले एक स्टेप माथि नै जानुपर्छ भन्ने हो । हामीले परिमार्जनको कुरा राख्दै आएका छौं । तर, अब सभापतिज्यूबाट पुनर्लेखनमै जानुपर्ने हुनसक्छ भन्ने आशय प्रस्तुत भइसकेपछि यो पार्टीको छलफलको विषयवस्तु बन्छ । संविधान पुनर्लेखनको एजेन्डालाई रास्वपाले अपनत्व लिन्छ ।’

    लामिछानेको अपिलमा संविधान पुनर्लेखनका लागि केही विषयवस्तुहरू पनि अघि सारिएको छ ।

    उनले भनेका छन्, ‘सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ । २०४६ सालयताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्छ । संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ । प्रदेशसभा खारेज गरी हारेका नेता र आफन्त होइन, विद्वानहरूको सभा बनाउनुपर्छ । नेताहरूले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ ।

    विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्‍याउनुपर्छ । दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरूपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ । त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ ।’

    महामन्त्री बुर्लाकोटी संविधानले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रको स्पिरिट सही भए पनि यसभित्रका थुप्रै अन्तरवस्तुहरूमा बहस आवश्यक रहेको बताउँछन् । कतिपय विषयमा पार्टीले पनि पोजिसन बनाउन बाँकी रहेको उनको भनाइ छ ।

    सभापति लामिछानेले प्रदेशसभा खारेजी गर्न अघि सारेको प्रस्तावलाई संघीयता खारेजीको अर्थमा पनि कतिपयले बुझिरहेका छन् । तर, महामन्त्री बुर्लाकोटीले यसलाई नकारे ।

    उनले भने, ‘विकेन्द्रीकरण र संघीयता फरक कुरा हुन् । विकेन्द्रीकरणमा जाँदा कुनै पनि बेला संघले अधिकार फिर्ता लिन सक्छ । संघीयतामा चाहिँ संविधानले नै अधिकारको बाँडफाँट गर्ने भएकाले फिर्ता लिन मिल्दैन । हामीले संघीयतामा कुनै प्रश्न उठाएका होइनौं । यसको भद्दा संरचना बदलौं भन्ने मात्र हो ।’

    यसअघि रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीका तर्फबाट समीक्षा यात्रा पश्चात दिएको प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

    तर, उनको प्रतिवेदनलाई रास्वपाले अपनत्व लिएको छैन । प्रदेशसभा खारेज गरे पनि प्रदेश सरकार भने कायम राख्नुपर्ने पार्टीको आधिकारिक धारणा रहँदै आएको छ ।

    बुर्लाकोटी भन्छन्, ‘हामीले संघीयतामै आधारित पुनसंरचनामा जोड दिइरहेका छौं । सभापतिज्यूको आशय पनि त्यही नै हो ।’

  • राप्रपासँग रास्वपाले पनि गर्‍यो आज सदन बहिस्कार

    राप्रपासँग रास्वपाले पनि गर्‍यो आज सदन बहिस्कार

    काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्।

    बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर अवरोध जनाए पनि सभामुखले कार्यसूची अघि बढाएपछि बैठक छाडेर हिँडेका हुन्।

    अहिले बैठक जारी छ।

  • संसदको लफडा छल्दै रास्वपा सांसदहरूको विदेश लर्को

    संसदको लफडा छल्दै रास्वपा सांसदहरूको विदेश लर्को

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार संसद् अवरोध प्रयास गर्दै आएको छ । तर, रास्वपाको विरोधबीच पनि सभामुख देवराज घिमिरेले संसदीय कारबाही अगाडि बढाइरहेका छन् ।

    आज पनि रास्वपा सांसदहरू संसदीय प्रक्रियामा सहभागी छैनन् । बैठक सुरुभएदेखि नै उनीहरू वेल अगाडि आएर बसिरहेका छन् । तर, आज रास्वपा सांसदहरूको उपस्थिति पातलो देखिन्छ । पार्टी कार्यवाहक सभापति डीपी अर्यालसहितका केही प्रभावशाली सांसदहरू उपस्थित छैनन् ।

    रास्वपा स्रोतका अनुसार अहिले पार्टीका कम्तीमा ५ जना सांसद विभिन्न कार्यक्रम बनाएर विदेश सयरमा हिँडेका छन् । पार्टीको सदन प्रतिरोधलाई कमजोर बनाउने गरी एकसाथ विदेश लर्को लागेको भन्दै स्रोतले असन्तुष्टि प्रकट गर्‍यो ।

    कार्यवाहक सभापति अर्याल हिजो बेलुकी कतार लागेका छन् । उनी रास्वपाको प्रवास विभागको कार्यक्रममा भाग लिन गएका हुन् । उनको दुई–तीन दिनको तालीका रहेको स्रोतले बतायो ।

    पार्टीकी प्रत्यक्ष निर्वाचित सांसद डा. तोसिमा कार्की अमेरिका पुगेकी छन् । अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने उनको कार्यक्रम छ । उनले फेसबुकमा जून २१ देखि २९ सम्म विभिन्न सहरमा हुने भेटघाट कार्यक्रमको तालीका सेयर गरेकी थिइन् । आफूलाई पायक पर्ने स्थानमा सहभागी हुन उनले आह्वान गरेकी छन् ।

    पार्टीका अर्का सांसद गणेश पराजुली अष्ट्रेलियामा छन् । उनी पनि रास्वपा निकट प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा गएका हुन् । उनले असार ७ र ८ गते सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

    थप दुई सांसदहरू हरि ढकाल र सोविता गौतम भने छिमेकी देश भारत गएका छन् । उनीहरू हिजो बैंगलोर पुगेको जानकारी फेसबुकबाट दिएका थिए । उनीहरूले आज रास्वपाको कर्नाटक समिति घोषणा गर्ने कार्यक्रम रहेको छ ।

  • सदनमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

    सदनमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

    काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् ।

    रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

    रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।

  • रास्वपालाई बास्कोटाको कटाक्ष- संसदमा पलेंटी कसेर तमासा देखाएर रातभरि कांग्रेस नेताका पिँढी धाउँदैछन्

    रास्वपालाई बास्कोटाको कटाक्ष- संसदमा पलेंटी कसेर तमासा देखाएर रातभरि कांग्रेस नेताका पिँढी धाउँदैछन्

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

    गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएको रास्वपाले कांग्रेसको पिँढी धाएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

    बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भिजिट भिसाको विषयमा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभर कांग्रेस नेताको पिँढीमा ‘देऊ न मलाई बास’ भन्दै मुरलीको धुन किन बजाइरहेका होलान् ?’

    उनले यो प्रकरणमा नयाँ ट्वीस्ट आयो भने नेपाली राजनीतिको आठौँ आश्चर्य नमान्न अनुरोध गरेका छन् ।

  • सुर्खेतमा रास्वपाको जनमत अभियान

    सुर्खेतमा रास्वपाको जनमत अभियान

    सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रो स्थापना दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा विविध कार्यक्रम गरेको छ । वीरेन्द्रनगरमा सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक हस्तक्षेपको विरोधमा रास्वपाले जनमत संकलन अभियान चलाएको हो ।

    मंगलगढी चौकबाट सुरु भएको र्‍याली वीरेन्द्रचौक परिक्रमा गर्दै पुनः मंगलगढीमै कोणसभामा परिणत भएको थियो। चार घण्टा लामो हस्ताक्षर संकलन अभियानमा ६०० भन्दा बढीले हस्ताक्षर गरेको रास्वपा सुर्खेतका सभापति रमेशकुमार सापकोटाले जानकारी दिए ।

    उनले पार्टी अध्यक्षविरुद्धको कारबाहीलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै न्यायको पक्षमा जनतालाई एकजुट हुन आह्वान गरे ।

    कोणसभामा बोल्ने नेताहरूले लामिछानेमाथि भइरहेको व्यवहारलाई अन्यायपूर्ण भन्दै लोकतन्त्र, न्याय र सुशासनका पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए ।

    स्थापना दिवसकै सन्दर्भमा रास्वपाले समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा स्थानीय नेता, बुद्धिजीवी, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।

  • ‘रविजीको सन्देश लिएर देशभर जान्छौँ, हाम्रो आन्दोलन २०८४ मा देशको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन’ (भिडिओ)

    ‘रविजीको सन्देश लिएर देशभर जान्छौँ, हाम्रो आन्दोलन २०८४ मा देशको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन’ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले कारागारबाट दिएको सन्देश लिएर देशव्यापी रूपमा आफूहरू जाने बताएका छन् ।

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिलाई दुःख दिए पनि पार्टीको गतिविधिमा सुस्तता नआएको दाबी गरे ।

    उनले भने, ‘सदनको आन्दोलन विस्तारै अब सडकमा उतारेका छौँ । अब यो आन्दोलन रोकिनेवाला छैन । मैले अस्ति पनि भनेँ हाम्रो सङ्घर्ष अनन्त छ । अनन्तकालीन सङ्घर्षको शंखनाद नै हामीले गरेका हौँ । यसका स्वरूपहरू फरक हुन्छन् । कहिले नीलो रिबन लगाएर उभियौंला, कहिले पलेँटी कसेर बसौँला, कहिले बहिष्कार नै गरौँला ! कहिले सडकमै उत्रिएर यसरी लल्कारौंला ।’

    उपसभापति वाग्लेले जिल्ला जिल्ला, पालिका–पालिका र टोलटोलमा पनि जाने भन्दै आफूहरूको अभियान नरोकिने बताए ।

    उनले भने, ‘यो अभियान २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको मूलधारे राजनीतिको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन । अब हामी उल्लासबाट संघर्षको मोड र मुडमा छौँ । दुःख पर्दाको ऊर्जालाई सशक्त राजनीतिक पुँजी बनाउँछौँ । हामी एक ढिक्का भएर अघि बढे कसैले रोक्न सक्दैन । रवि लामिछानेजीले न्याय पाउन पनि हामी राजनीतिक रूपमा बलियो हुनुपर्नेछ ।’

  • साढे २ घण्टा वेलमा उभिएर बैठकबीचै सदनबाट बाहिरिए रास्वपा सांसद (भिडिओ)

    साढे २ घण्टा वेलमा उभिएर बैठकबीचै सदनबाट बाहिरिए रास्वपा सांसद (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित वेल घेराउ गर्दै आएका उनीहरू आज बैठक चल्दाचल्दै बाहिरिएका हुन् ।

    रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहे पनि सभामुखले बजेटमाथिको छलफल अघि बढाएपछि उनीहरु करिब साढे २ घण्टा उभिएका थिए, तर अहिले कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत बोल्न थालेपछि उनीहरु सदनबाट बाहिरिएका छन् ।

    रास्वपाका सांसदहरु बाहिरिएको देखेपछि प्रवक्ता महतले लगातार उभिन गाह्रै हुन्छ भन्दै कटाक्ष गरे । यसअघि विरोध जनाउँदै वेलमा बस्ने गरेको भए पनि आलोचना भएपछि उनीहरु आज उभिएका थिए ।

    सभामुख देवराज घिमिरेले पेलेर सदन अघि बढाएपछि राप्रपाका सांसदहरू यसअघि नै बाहिरिएका थिए ।

  • डीपी अर्याल भन्छन्- रास्वपा नेतृत्वमा आएपछि भ्रष्टाचारीहरूको भागाभाग हुनेछ (भिडिओ)

    डीपी अर्याल भन्छन्- रास्वपा नेतृत्वमा आएपछि भ्रष्टाचारीहरूको भागाभाग हुनेछ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध राखिएको पुष्टि भइसकेको दाबी गरेका छन् ।

    पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य गर्ने अभियान बोकेर हिँडेकै कारणले पार्टी सभापतिमाथि प्रतिशोध राखिएको बताए ।

    उनले यो सरकारले आफूहरूलाई मत दिएको १२ लाख मतदातालाई अपमान गरिरहेको जिकिर गरे ।

    कार्यबाहक सभापति अर्यालले भने, ‘हामी २१ जनालाई होइन, १२ लाख मतदातालाई अपमान गर्ने काम भइरहेको छ । अब जब मतपेटिका सबैमा घण्टीको छाप लाग्नेछ, एक दिन यस्तो दिन आउनेछ, उनीहरूलाई मैले त भन्ने गरेको थिएँ, यो देशमा कुनै बेला धेरै जेलहरू बनाउनुपर्ला, पछिल्लो समय लाग्यो, हामी त खुला बोर्डरमा छौँ। जेल बनाउने पैसा नै बच्ने रहेछ। भ्रष्टाचारीहरू त ओपन बोर्डरबाट भागाभाग गर्ने रहेछन् जब हाम्रो उपस्थिति हुन्छ ।’

    रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको हो भन्ने कुरा अब रास्वपाका नेताहरूले, शुभचिन्तकहरूले भन्नु नपर्ने उनको भनाइ छ ।

  • रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध, सत्तापक्षकै सांसदहरुले गरे होहल्ला

    रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध, सत्तापक्षकै सांसदहरुले गरे होहल्ला

    काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।

    बैठकको सुरुआतमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरू उठाएको यतिठूलो मुद्दा सरकारले नसुनेको भन्दै आक्रोश पोखिन्। जनताले भोगिरहेको यतिठूलो समस्याको मुद्दा आफूहरू त्यसै नछाड्ने अडान सुनाइन्।

    सभामुखले रास्वपा र राप्रपालाई बोल्न दिएर सदन अगाडि बढाउन खोजेपछि सत्तापक्षकै सांसदहरुले होहल्ला गरेका छन्।

  • रास्वपाले थाल्यो रविको पक्षमा हस्ताक्षर अभियान, माइतीघरदेखि संसद्सम्म हिँडेर आए सांसद (तस्बिरहरू/भिडिओ)

    रास्वपाले थाल्यो रविको पक्षमा हस्ताक्षर अभियान, माइतीघरदेखि संसद्सम्म हिँडेर आए सांसद (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । रास्वपाका सांसदहरू माइतीघरबाट हिँडेर संसद् भवनतिर लागेका छन्। माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।

    ‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनको लागि सडक र सदनमा सँगै उत्रिएको प्रवक्ता मनिष झाले बताए। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै निरन्तर सदन पनि अवरोध गर्दै आइरहेको छ।

    पार्टी स्थापना दिवसको अवसर सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान पनि सुरु गरेको छ।

    आजबाट यो मुद्दा जनताको अदालतमा पनि दर्ज भएको नेता दीपक बोहोराले बताए। उनका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले हस्ताक्षर अभियानको सुरु गरेका हुन्।

    रवि यति बेला सहकारी प्रकरणमा भैरहवा कारागारमा छन्। उनले आजै पार्टी स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफू विरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। रास्वपाले पनि सरकारले प्रतिशोध राखेर अनेकौं मुद्दा लगाएर फसाएको आरोप लगाउँदै रविको पक्षमा हस्ताक्षर अभियान थालेको हो।