Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैछन् : रवि लामिछाने (भिडिओ)

    राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैछन् : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए ।

    उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस् ।’

    उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए ।

    उनले भने, ‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’

    रविले थपे, ‘हामीले हरेक काण्डमा बोलेका छौं। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ? त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौं ।’

  • संविधान दिवसमा भएको कैद मिनाहाबारे रास्वपाले सरकारसँग जवाफ माग्ने, यस्ता छन् अन्य निर्णय

    संविधान दिवसमा भएको कैद मिनाहाबारे रास्वपाले सरकारसँग जवाफ माग्ने, यस्ता छन् अन्य निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय बालाजुमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यस सम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

    बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान र कानुनको संरक्षण र पालना गर्ने विषयमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

    ‘विशेष अवस्थामा कैद माफी दिन सकिने प्रावधानको गलत प्रयोग गर्दै सरकारले संविधान दिवसका दिन थुप्रै कैदीको कैद मिनाहाका लागि सिफारिस गरेको तथा कानुनका बर्खिलाप हुने गरी जघन्य अपराधमा मुछिएका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको विषयमा बैठकले भर्त्सना गरेको छ’, उनले भने ।

    राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा भीमबहादुर खवाससमेतका चार सय ९७, हर्कबहादुर लिम्बुसमेतका एक सय ७० र ज्येष्ठ नागरिक समदिन मियाँसमेतका तीन गरी कूल छ सय ७० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए ।

    गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले ती कैदीको कैद कट्टा गरी सजाय माफी गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले कारागारमा बस्दा आचरण सुध्रिएका, ५० प्रतिशत कैद भुक्तान गरेका र निश्चित उमेर कटेका कैदीको कैद मिनाहा गर्ने व्यवस्था छ ।

    बैठकले सरकारले प्रारम्भमा भ्रष्टाचारको नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सकारात्मक सुरुआतको सङ्केत गरेपनि पछिल्ला गतिविधिले संशय पैदा गरेको निष्कर्ष निकालेको छ ।

    ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको अनुसन्धान र अभियोजनप्रति जनस्तरमा प्रश्न उठ्न थालेको छ, घटनामा संलग्नप्रति सरकारले नरम नीति लिएको विषयले त्यसको पुष्टि गरेको छ’, प्रवक्ता ढकालले भने ।

    रास्वपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको घटनाको छानबिन गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच यही असोज ५ गते उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएकामा सरकारले समिति गठन नगरेर सहमति उल्लङ्घन गरेको ठहर गरेको छ ।

    ‘भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नुपर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप प्रत्यारोपमा उत्रिदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ’, उनले भने, ‘बैठकले सो सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै तत्काल उच्चस्तरीय समिति गठन गरी कार्यादेश तोक्न माग गरेको छ ।’

    पछिल्ला दिनमा उपचारका क्रममा लापरबाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्दै बैठकले चिकित्सकमाथि आक्रमण गर्ने कानुनअनुसार तत्काल कारबाही गर्न पनि माग गरेको छ । सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असहमति रहेको जनाउँदै बैठकले उक्त असहमतिलाई संसदीय प्रक्रियामा दर्ता गराउने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

    बैठकले मुलुकका विभिन्न स्थानमा धार्मिक, जातीय तथा साम्प्रदायिक सुसम्बन्ध खलल पुर्‍याउन स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकाल्दै सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसङ्ख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल गरेको छ । रास्वपाले जुनसुकै धर्मावलम्बी तथा समुदायलाई लक्षित गरी जुनसकै आवरणमा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

    नेपालीका ठूला चाडपर्व नजिकिएको समयमा बजार थप अनियन्त्रित भएको ठहर गर्दै बैठकले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न र देशभरका उपभोक्तालाई राहत दिन सहुलियतपूर्ण बजार सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बैठकले पार्टीका तर्फबाट निर्वाचित भएको सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रका मतदातासँग सार्वजनिक सुनुवाई कार्यक्रम गर्न निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

  • गृहमन्त्रीलाई रविको प्रश्न- सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ? (भिडिओ)

    गृहमन्त्रीलाई रविको प्रश्न- सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए ।

    उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । उनले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरे ।

    सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताए ।

    यस्तो छ लामिछानेको भनाइः

    जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फम्र्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन ।

    सलाईको काँटी जतिपनि पड्किएन । किनभने जतिपनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्युले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्यो ।

    अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको छ । जतिपनि सत्तारुढ दलका मानिसहरुको नाम आएको छ, ति नामहरुमा गहिरोसँग अनुसन्धान नै भएन । सिआईबीको क्षमतामा मलाई अहिलेपनि प्रश्न छैन । मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि प्रभावमा पारे कि भन्ने लागेको छ । कयौँ अनुसन्धान अपुरो भयो । अपुरो अनुसन्धान भएपछि अदालतले गर्ने आदेश आलोचित हुन्छ ।’

     

     

  • रास्वपाले भन्यो- शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन

    रास्वपाले भन्यो- शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।

    विधेयकको विरुद्धमा शिक्षकहरु आन्दोलित भएपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयको गुणस्तर उकास्न आवश्यक भएको बताएका छन् ।

    ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निश्चय नै शिक्षक जस्तो मर्यादित र अति सम्मानित पेशालाई सरकारबाट कहिल्यै उचित व्यवहार भएन । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्योलमा राखिँदै आएको पाइन्छ । रास्वपाले शिक्षकको तलब सुविधा सबैभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटक पटक आवाज उठाउँदै आएको छ ।’

    विद्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उनले शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने पार्टीको नीति रहेको बताए ।

    ‘शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदाहुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं’, रास्वपाले भनेको छ ।

  • संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी- जनताले धोका पाएको महसुस गरेका छन्

    संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी- जनताले धोका पाएको महसुस गरेका छन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन् ।

    उनले भनेका छन्, ‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर, मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ ।’

    उनले अहिले आफू विगत ३ दशकको राजनीतिक उतार चढावमा सबैभन्दा पीडा भोगेको रोल्पा रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्तावेज हो । हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’

    संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बन्नुपर्ने बताएका छन् ।

  • ढाकाकुमारलाई रास्वपाको चुनौती- पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्छौँं

    ढाकाकुमारलाई रास्वपाको चुनौती- पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्छौँं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मन्त्री बनाउन ३ करोड रूपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाए ।

    विज्ञप्तिमा भनिएको छ, ‘विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने समेत उल्लेख गरेका छन् ।

  • हरि ढकालको टिप्पणी- एउटा स्टेडियम बनाउन नसक्ने, मुख्यमन्त्री सुत्न त्यत्रो दरबार (भिडिओ)

    हरि ढकालको टिप्पणी- एउटा स्टेडियम बनाउन नसक्ने, मुख्यमन्त्री सुत्न त्यत्रो दरबार (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम एक हप्ताभित्र दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कसको कारणले दिने भनिएको पैसा रोकिएको भन्दै उनले प्रश्न गरे ।

    उनले आक्रोश पोख्दै भने, ‘यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने ? मुख्यमन्त्री काठमाडौं आएको बेलामा सुत्नको लागि त्यो महल हेरौं त दरबार हेरौं त ।’

    क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाई पनि लाज लाग्ने टिप्पणी गरे ।

  • विद्यालयमा राजनीति बन्द गर्न रास्वपा डोटीको ध्यानाकर्षण

    विद्यालयमा राजनीति बन्द गर्न रास्वपा डोटीको ध्यानाकर्षण

    डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले राजनीतिक दलका भ्रातृ संगठनहरुलाई विद्यालयमा संगठन निर्माण गर्ने काम बन्द गर्न माग गरेको छ ।

    रास्वपा डोटीले शुक्रबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई विद्यालयमा राजनीति बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

    ‘राजनीतिक दल र तिनका विद्यार्थी संगठनहरुले विद्यालयमा राजनीतिक गतिविधि गर्ने, झण्डा प्रदर्शन गर्ने, विद्यार्थीहरुको राजनीतिक संगठन निर्माण गर्ने क्रियाकलापले कानूनी शासनको धज्जी उडाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    ध्यानाकर्षणपत्रमा यस्ता राजनीतिक संगठन निर्माण भएका विद्यालयका शिक्षकहरुलाई कारबाही गर्न माग गरिएको छ ।

  • रास्वपा सांसद शाहको टिप्पणी- प्रधानमन्त्री गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ (भिडिओ)

    रास्वपा सांसद शाहको टिप्पणी- प्रधानमन्त्री गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद असीम शाहले प्रधानमन्त्री प्रचण्डको नक्कली भुटानी शरणार्थी प्रकरणमा आउने भनिएको फिल्म टालटुले भएको टिप्पणी गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर कांग्रेसलाई साइजमा राखेको टिप्पणी गरे।

    उनले भने, ‘शरणार्थीमार्फत कांग्रेसलाई, ललिता निवासमार्फत समाजवादीलाई, गौर हत्याकाण्डमार्फत जसपालाई साइजमा राख्नुभयो। अहिले गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ। आफ्नो कुर्सी बलियो बनाउन राजनीतिक दाउपेच नगरेर कामले मात्रै जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वकाल लम्ब्याउन सकिँदैनथ्यो होला।’

    उनले सुन प्रकरणमा जोडिएका कृष्णबहादुर महरालाई लक्षित गर्दै प्रधानमन्त्री आफ्नो एसम्यानलाई जोगाउन लागेको आरोप लगाए।

    उनको प्रश्न जस्ताको तस्तै :

    सम्माननीय प्रधानमन्त्री ज्यू,

    यो सदनमा केही समय अगाडी भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर हो पुरा फिल्म गज्जब आउँछ भन्नु भो तर जे आयो सारै टालटुले र सजिलै बुझ्न सकिने खालको आयो।

    नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली कांग्रेसलाई साइजमा राख्नु भो, ललिता निवासमार्फत समाजवादीलाई साइजमा राख्नु भो, गौर हत्याकाण्डमार्फत जसपालाई, अनि अब गिरीबन्धुमार्फत नेकपा एमाले लाई साइजमा राखन ट्राई गर्दै हुनु हुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच न गरेर काम ले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?

    भारतीय नेतृत्वले अन्तरिक्ष यानलाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व कसरी आफ्ना एस म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोच्नमा तल्लीन हुनु अत्यन्तै दुखद छ ।

    यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?

    छिमेकीले चन्द्रमामा यान पठाउँदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ, देश भित्रका विश्व विद्यालयहरू रित्तिँदै छन्, व्यवसायीहरू निराश छन्, खेलाड़ीहरु पलायन हुँदै छन्, युवा पुस्ता मा देश छोड्ने लहर चलेको छ ।

    प्रधानमन्त्री ज्यू, चन्द्र यान अहिले माग्दिन, तर एसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिबद्धताको कार्यान्वयन कहिले हुन्छ ? भ्रष्टाचार मा पनि आफ्नो र अरूको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन चाही कहिले आउँछ यो देशमा ?

  • रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने

    रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो ।

    तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिन लागेको एक सांसदले बताए ।

    जनमतको आग्रहमा रास्वपाले उम्मेदवारी फिर्ता लिने भएको हो। योसँगै १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाएको छ।

     

  • ललिता निवास प्रकरणबारे रविको टिप्पणी- नम्बरी जग्गा किन्नेलाई नेल, निर्णयकर्तालाई जोगाउन जालझेल (भिडिओ)

    ललिता निवास प्रकरणबारे रविको टिप्पणी- नम्बरी जग्गा किन्नेलाई नेल, निर्णयकर्तालाई जोगाउन जालझेल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद कसको कारणले बन्द भयो ? भन्दै प्रश्न गरेका छन् ।

    करिब एक महिनापछि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यतिका दिन यो संसद किन बन्द भयो ? कसले गर्यो ? जनताको आवाज राख्ने थलो किन बन्दभयो ? यो गम्भिर प्रश्न खडा भएको छ ।’

    उनले भने, ‘सँगैको दुईवटा राष्ट्रहरु उन्नतिको चरम शिखरमा पुगेका छन् । हामी भन्दा पनि लाज लाग्छ हामी पुलिको सरुवामा आँखा लगाएर बसेका छौं । योभन्दा लज्जास्पद बिषय एउटा आर्थिक अवस्था टाँट पल्टिन लागेको मुलुकलाई के हुन्छ ?’

    उनले सरकारले आफ्नो ठोकासम्म नआइपुग्दासम्म मात्रै सुशासनको कुरा गरेको टिप्पणी गरे। भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेको प्रहरीको सरुवा गरेकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा नम्बरी जग्गा लिएका मालपोलमा गएका कागजपत्र हेरेर पैसा दिएका मानिस र कर्मचारीहरु थुनिए । तर, निर्णयर्तालाई सुन पानी छर्कियो । यही हो सरकारको सुशासन ।’

    उनले सुन प्रकरणमा पनि आफ्नो व्यक्तिको नाम आएपछि सुस्ताएको आरोप लगाए ।

     

  • रास्वपा मुख्यालयमा पुग्यो अमेरिकी राजदूतको टोली

    रास्वपा मुख्यालयमा पुग्यो अमेरिकी राजदूतको टोली

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेटवार्ता भएको छ।

    बुधवार सभापति लामिछाने भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेर भेट गरेका हुन्।

    भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागी थिए।

    भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाएको छ। भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराए।

  • रवि लामिछानेको टिप्पणी- शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै हो (भिडिओ)

    रवि लामिछानेको टिप्पणी- शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै हो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका छन् । सर्वदलीय बैठकपछि उनले अब भोलिको बैठकमा आफूहरु नजाने संकेत गरे ।

    उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’

    आज समितिको विषयलाई टुंग्याएर संसद चलाउने तयारी थियो । तर, प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई देखाएर बैठक सारेपछि रविले असन्तुष्टि जनाएका हुन् ।

     

  • संसद चलाउन सहजीकरण गर्न आग्रह गर्दै रविले भेटे राष्ट्रपतिलाई

    संसद चलाउन सहजीकरण गर्न आग्रह गर्दै रविले भेटे राष्ट्रपतिलाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर संसदको गतिरोधको अन्त्यका लागि सहजीकरण गर्न आग्रह गरेका छन् ।

    आज साँझ राष्ट्रपति निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

    उनले अबिलम्ब सदन सूचारू गरी जन सरोकारका मुद्दाहरूमा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बोधन गर्ने कार्यलाई अगाडि बढाउने कार्यमा सहजीकरणका लागि अनुरोध गरेका थिए । भेटमा लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा विशेष ध्यानाकर्षण समेत गराएका थिए ।

  • उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ (भिडिओ)

    उच्चस्तरीय छानबिनको पक्षमा हो रास्वपा ? रवि लामिछानेले दिए यस्तो जवाफ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।

    सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रधानमन्त्रीले डाकेको बैठकमा कुनै सहमति नभएपछि उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हाम्रो लाइन समिति बन्न सक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । संसदमा प्रश्न गर्न पाउनुपर्‍यो । संसद खुल्यो भने हामीले गृहमन्त्रीलाई प्रश्न गर्न पाउँछौं, यो अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे । त्यो हामीले पाउनुपर्‍यो । तर, संसद चाहिँ अवरोध हुन भएन भन्ने हाम्रो लाइन हो । जे छलफल गर्नुपर्छ संसदमा गर्नुपर्‍यो । के कुरा भन्नुपर्छ, सदनमा भनौं भन्ने हाम्रो लाइन हो ।’

    आज प्रधानमन्त्रीले राखेको बैठकमा कुनै सहमति नभएपछि भोलि फेरि बस्ने सहमति भएको छ ।

    भोलिसम्ममा सदन खुलाउन सरकार लचक भएर आउने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । दलहरुबीच कुरा नमिलेपछि आज बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

  • माधव-बाबुरामलाई उन्मुक्ति दिएपछि रविको आशंका- गृहमन्त्रीज्यू ! ठूलै गडबड छ

    माधव-बाबुरामलाई उन्मुक्ति दिएपछि रविको आशंका- गृहमन्त्रीज्यू ! ठूलै गडबड छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् ।

    सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

    सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ… ठूलै गडबड छ ।’

    उनले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गरेका छन् । त्यसो त सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेको सोही अनुसार सीआईबीलाई सरकारले दबाब दिएको आरोप छ ।

  • रविको दाबी- चर्चाका तीन प्रकरणको निष्पक्ष छानबिन गरे औंलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन्

    रविको दाबी- चर्चाका तीन प्रकरणको निष्पक्ष छानबिन गरे औंलामा गन्न सक्ने नेतामात्रै बाँकी रहन्छन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए ।

    उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरुलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौं । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ ।’

    उनले अहिले कारवाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताए । उनले इमानदारपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे ।

    उनले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्ने बताए । जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट बिदा हुन आग्रह गरे ।

     

  • सदनमा सभामुखले पक्षपातपूर्ण व्यवहार देखाएको रविको आरोप (भिडिओ)

    सदनमा सभामुखले पक्षपातपूर्ण व्यवहार देखाएको रविको आरोप (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार देखाएको आरोप लगाएका छन् ।

    सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखले आफू अनुकूल सदन सञ्चालन गरेको आरोप लगाएका हुन् ।

    ‘सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न पाइन्न’, रविको टिप्पणी छ ।

    नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनले बताए । लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरूले बोल्न खोज्दा अन्तै मोडिएको जिकिर गरे ।

    बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदलाई बोल्न नदिएको भान भएको रविको दाबी छ ।

  • सांसदको स्वार्थमा सदन अवरुद्ध गर्न मिल्दैन: रास्वपा उपाध्यक्ष अर्याल

    सांसदको स्वार्थमा सदन अवरुद्ध गर्न मिल्दैन: रास्वपा उपाध्यक्ष अर्याल

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय उपाध्यक्ष डीपी अर्यालले सांसदको निहित स्वार्थमा सदन अवरुद्ध गर्न नमिल्ने बताएका छन् ।

    रास्वपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको पत्रकार सम्मलेनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्यालले सदनलाई बन्धक बनाएर सेवा, सुविधा लिनु जायज नहुने बताए ।

    ‘जे जे विषयवस्तु छन्, सदनमै छलफल गरौं । करिब तीन करोड नेपालीका प्रतिनिधि हामी सांसदको निहित स्वार्थमा सदन अवरुद्ध गर्न मिल्दैन’, उनले भने, ‘सदनलाई बन्धक बनाएर सेवा, सुविधा लिनु जायज हुँदैन ।’

    संसद अवरुद्ध नगर्न र सबै एजेन्डामा संसदमै छलफल गर्न उपाध्यक्ष अर्यालले आग्रह गरे । सांसदहरुलाई बोलाएर दिनभर पर्खाउने र शीर्ष नेताहरुको छलफलमा निष्कर्ष ननिस्केको भन्दै सदन स्थगित गरिनु दुर्भाग्य भएको उनले बताए ।

    २०८४ सालको निर्वाचनबाट एकल बहुमतसहितको सरकार बनाएर जनताका समस्या समाधान गर्दै मुलुकको कायापलट गर्ने उपाध्यक्ष अर्यालले दाबी गरे ।

    ‘अहिलेको प्रदेश संरचना कामकाजी भएको छैन । त्यसको मोडेलमा परिमार्जन जरुरी छ । आगामी आमनिर्वाचनअघि नै प्रदेश संरचनाको नयाँ मोडल तयार गरी जनतामा जाने योजना छ’, उनले भने, ‘अरु दलका राम्रा कुरा सिक्ने र नराम्रा पक्ष त्याग्दै वडादेखि केन्द्रसम्मै पार्टी संगठन बनाउने अभियानमा छौं ।’

    उपाध्यक्ष अर्याल शुक्रबार र शनिबार हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन पोखरा आएका छन् । प्रशिक्षणमा प्रदेश कमिटी सदस्य, विभागका सदस्य, पालिका पदाधिकारी, जिल्ला प्रदाधिकारी गरी २५० जना सहभागी रहेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।

  • संसद नचलेको दिन रास्वपाका सांसदहरूले सुविधा नलिने (भिडिओ)

    संसद नचलेको दिन रास्वपाका सांसदहरूले सुविधा नलिने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने भएको छ ।

    प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।

    उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’

    उनले सरकार र प्रतिपक्षी दलबीचको कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।

     

  • लगातार अवरोधपछि संसद भवन बाहिरै रास्वपाले गर्‍यो सदनको अभ्यास

    लगातार अवरोधपछि संसद भवन बाहिरै रास्वपाले गर्‍यो सदनको अभ्यास

    काठमाडौं । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरोध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी संसद भवन बाहिरै संसदको अभ्यास गरेको छ ।

    एमालेले संसदमा निरन्तर अवरोध गरेपछि सभामुखले शुक्रबारसम्मका लागि संसद स्थगित गरेका हुन् ।

    लामो संघर्षबाट प्राप्त व्यवस्थामा दलहरुले लामो समयदेखि प्रहार गर्दै आइरहेको प्रमख सचेतक सन्तोष परियारले बताए ।

    उनले भने, ‘संसदको तेस्रो दिन पनि संसद चल्न सकेन । हामीले जनताको मुद्दा लिएर आएको थियौं । बाढीपहिरो, लम्पी स्किनको विषयमा राजनीतिक दलहरुको स्वार्थको कारणले आज पनि संसद चलेन। त्यसमा हाम्रो विमति छ । हामीले सभामुखलाई पनि भन्यौैं । उहाँले पनि सदन चलाउने प्रयास गर्नुभयो ।’

    लामो सययदेखि राजनीतिमा रजाइ गर्ने पार्टीीहरुको कारणले संसद चल्न नसकेको आरोप लगाए ।

    उनले भने, ‘जनमतको कदर नगर्ने पार्टीहरुले इतिहासमा मुल्य चुकाउनुपर्छ । हामीले हाम्रो कुुरा संसदमा राख्न पाएनौं । त्यसैले हामीले संसदको अगाडि सभामुखलाई सम्बोधन गरेर आफ्नो कुरा राख्न आएका छौं । ठूला दलको रबैयाले व्यवस्थामाथि नै प्रहार गरिरहेको छ ।’

    सुन प्रकरणमा छानबिन समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा ठूला दलहरुबीच सहमति हुन नसक्दा संसद बन्धक बनिरहेको छ । सभामुखको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरुबीच छलफल हुँदा पनि कुरा मिलेको छैन ।

    सरकारले सिआईबीले छानविन गरिरहेकाले अर्को समिति गठन नगर्ने पक्षमा छ । सिआईबीको अनुसन्धानमा शंका लागे पछि अर्को समिति बनाएर जानसक्ने मंगलबार सदनमा गृहमन्त्रीले बताएका थिए । तर, सरकारमै संलग्न व्यक्तिहरुको तस्करीमा संलग्न भएकाले छानविन समिति गठन गर्नुपर्ने एमालेको अडान छ ।

    यस्तै, सदनबाहिर सभामुखलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले पनि सुन प्रकरणमा ठूला व्यक्तिहरुको संलग्नता भएको दाबी गरे । गृहमन्त्रीले सिआइबीलाई ३५ दिन कुरौं भनेर समय मागेकोमा हेर्न सकिने बताए ।

    तर, सिआइबीको छानबिनमा पनि पूर्ण विश्वस्त हुने ठाउँ नरहेको बताए । सभापति लामिछानेपछि संसदमा झैं अन्य सांसदहरुले पनि धारणा राखेका थिए ।

  • सीडीओको सूचनापछि रास्वपाको निर्देशन- स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिनू

    सीडीओको सूचनापछि रास्वपाको निर्देशन- स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिनू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकका समस्या समाधान र सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

    नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको स्वयंसेवक टीम (आरएटी) हटाउन चितवनका सीडीओले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएलगत्तै रास्वपाले निर्देशन जारी गरेको हो ।

    रास्वपाले हिजोदेखि ५० जनाको टोली उक्त सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो ।

    रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले उक्त टीम बनाएको प्रष्टिकरण दिएका छन् ।

    ‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र RAT जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ । अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार RAT, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ ।’

  • संसदीय समितिमा भागवण्डा मिलाएर संसद खुलाएको रविकाे आरोप (भिडिओ)

    संसदीय समितिमा भागवण्डा मिलाएर संसद खुलाएको रविकाे आरोप (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग माग गरे ।

    उनले भने, ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने ? मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

    तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन नपाइने उनको भनाइ छ । उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोप लगाए ।

     

  • सत्ता र प्रतिपक्षको विवादलक्षित रविको टिप्पणी- संसद चल्दैन, बार्गेनिङ चल्छ

    सत्ता र प्रतिपक्षको विवादलक्षित रविको टिप्पणी- संसद चल्दैन, बार्गेनिङ चल्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा बार्गेनिङ मात्रै चलिरहेको टिप्पणी गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको लडाईको कारणले पटक पटक संसद बैठक बस्दै नबसी स्थगित भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेशबुकमा लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न् । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद..।’

    कानून बनाउने, कानूनमा संशोधन गर्ने जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्ने ठाउँमा बार्गेनिङ मात्रै चलेको बताए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरुद्व गर्दै आइरहेको छ । अवरोध हटाउन अहिले तीन दलका शीर्ष नेताहरु छलफलमा छन् । तर, प्रधानमन्त्री छानविनको लागि समिति गठन गर्ने पक्षमा छैनन् ।

  • संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

    संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् ।

    सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी गराएको सांसद माधव सापकोटाले जानकारी दिए ।
    उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

    सहमतिअनुसार अर्थ, संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व कांग्रेसले गर्ने भएको छ । लेखा, महिला तथा सामाजिक मामिला र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व एमालेले त्यस्तै पूर्वाधार विकास र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व माओवादी केन्द्रले गर्नेछन् ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेकपा एकीकृत समाजवादीले, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जनता समाजवादी पार्टीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व जनमत पार्टीले गर्ने सहमति बनेको छ।

    सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए ।

    सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने पाएनन् ।

  • रास्वपाले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स किन गर्दैछ फिर्ता ?

    रास्वपाले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स किन गर्दैछ फिर्ता ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरले फिर्ता लिने भएको छ ।

    पुरानो भएर थन्किएको एम्बुलेन्स रास्वपालाई प्रयोग गर्न दिए पनि यसमाथि विभिन्न प्रश्न उठेकाले अस्पतालले फिर्ता मागेको हो ।

    लामिछानेका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले अस्पताललाई सो एम्बुलेन्स फिर्ता गरेर आजै अर्को एम्बुलेन्स भाडामा लिइ सेवालाई निरन्तरता दिइएको बताए ।

    उनले भने, ‘पुरानो भएर नवीकरण समेत नगरी थन्काइएको एम्बुलेन्सलाई हामीले मोबाइल क्लिनिक सञ्चालन गर्न मागेका थियौँ । तर, जति पुरानो भए पनि एम्बुलेन्सलाई यसरी सञ्चालन गर्न नपाइने भनेर सरकारी निकायबाट पत्र आएको जानकारी अस्पतालले गराएको छ । त्यसैले आजै फिर्ता गर्दैछौं ।’

    रास्वपाले सो एम्बुलेन्स नवीकरण गराएर निलो रंग लगाइ ‘मोबाइल क्लिनिक’ का रूपमा दौडाइरहेको थियो । लामिछानेले आफू निर्वाचित भएको १०० दिन पूरा भएको अवसरमा यो सेवा सुरु गरेका हुन् । तर, रंग परिवर्तन गरिएकोमा समेत प्रश्न उठेको थियो ।
    बरालले पुरानै रंगमा अस्पताललाई फिर्ता दिइने बताए ।

    ‘हामीले निलो रंग हटाएर पुरानै रंगमा राख्न दिइसकेका छौँ,’ उनले भने ।

    मोबाइल सेवा भने एक दिन पनि अवरुद्ध हुन नदिएको उनको भनाइ छ । बरालका अनुसार ५ दिनका लागि भनेर एउटा एम्बुलेन्स भाडामा लिएर पठाइएको छ । यो एम्बुलेन्समा भने कुनै पनि छेडखानी गरिएको छैन ।

    पार्टीले दीर्घकालका लागि अर्को गाडी ल्याउने सोच बनाएकाले तत्कालका लागि यो व्यवस्था गरिएको उनले जानकारी दिए ।

    एम्बुलेन्समा एकजना डाक्टर र एकजना नर्स रहन्छन् । रविको सचिवालयले दैनिक सेड्यूल बनाएर मोबाइल क्लिनिकलाई विभिन्न वडाहरूमा पठाउने गरेको छ । यसले ६५ वर्षमाथिका वृद्ध वृद्धालाई निशुल्क सेवा दिन्छ ।

  • रविको प्रश्न- ललिता निवास प्रकरणमा पूर्वप्रमद्वय माधवकुमार र बाबुराममाथि छानबिन गर्नुपर्दैन ?

    रविको प्रश्न- ललिता निवास प्रकरणमा पूर्वप्रमद्वय माधवकुमार र बाबुराममाथि छानबिन गर्नुपर्दैन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

    उनले यस प्रकरणको अनुसन्धान फराकिलो पार्नुपर्ने भन्दै यस्तो बताए ।

    शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताएका हुन् ।

    उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । यहाँले यी विषयहरुमा यतिका दिनसम्म अनुसन्धान हुन नसक्ने गम्भिर विषय भएको बताए । उनले यस प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए ।

    सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।

    उनले भने, ‘निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुहुने प्रधानमन्त्रीद्वयलाई चाहिँ छानबिन गर्नुपर्ने हो कि होइन ? प्रधानमन्त्री भइसकेका मान्छेलाई प्रधानमन्त्री भएका आधारमा छानबिनमै सहभागि नहुनुपर्ने त्यस्तो उन्मुक्तिको पनि काहीँ प्रावधान छ कि ? एकदम स्पष्ट रुपमा मैले यो कुरा राख्न चाहेँ ।’

    उनले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताए ।

    उनले भेपमा सुन तस्करी प्रकरणमा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भएपनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए । प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाई छ ।

    ‘उहाँ निर्दोष हो भने उहाँलाई पनि त आफू निर्दोष हुँ भन्ने ग्राउण्ड त अनुसन्धानले नै देला । मोबाइल उहाँको होइन भन्दिएपछि यदी त्यो मोबाइल उहाँको हो रहेछ भने त त्यो मोबाइलमा भएका कुराकानी, सयौँ पटक भएको कम्युनिकेशन, कुराकानीको स्वामित्व त फोन जसको हो उसले त लिनुपर्ला’, लामिछानेले भने, ‘मैले चलाएको मेरो टेलिफोन नम्बर मेरो हो कि होइन भन्ने कुराको अनुसन्धान गर्न पनि यतिधेरै टाउको दुखाउनुपर्छ र ? अनुसन्धान कसले गर्ने ? अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ । सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन । यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ ।’

     

  • रास्वपामा केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री चाहिने

    रास्वपामा केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री चाहिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरेको छ । रास्वपाको संगठात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहने व्यवस्था गर्न लागेको हो ।

    यस्तै, विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनको लागि मास्टर्स डिग्री नभएकाको हकममा सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा मास्टर्स डिग्री नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्ने प्रवक्ता मुकुल ढकालले बताए ।

    उनले भने, ‘समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्यबाहेक अन्य मापदण्ड तोकिएको छैन । त्यस्तै केन्द्रीय समितिअन्तर्गत रहने गरी केन्द्रीय विभागहरू, प्रदेश समितिअन्तर्गत रहने गरी प्रदेश विभागहरू र पालिका समिति अन्तर्गत रहने गरी पालिका विभागहरू हुनेछन् ।’

    पार्टीलाई आवश्यक विज्ञताका लागि ३६ वटा विभागहरूको व्यवस्था गरेको ढकालले जानकारी दिए । अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभागलगायत विभागको व्यवस्था गरिएको उनको भनाइ छ ।

    उनले प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागि स्नातक (डिग्री) वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्ने बताए ।

    पालिका विभाग सदस्यका लागि १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड रास्वपाको छ ।

  • महिलालाई मात्रै सार्वजनिक बसबाट रवि लामिछानेले भोटको राजनीति गरे : शंकर पोखरेल

    महिलालाई मात्रै सार्वजनिक बसबाट रवि लामिछानेले भोटको राजनीति गरे : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोटको राजनीति गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा चितवन २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले सुरू गरेको महिलालक्षित बसप्र५ि उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’

    पञ्चायतकालमा आफू विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको स्मरण गरेका छन् ।

    उनले भनेका छन्, ‘आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ । नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।’

    चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्नेमा सचेत गराएका छन् ।

  • चितवन २ मा रविले सुरू गरे महिलाका लागि नि:शुल्क बस सेवा (भिडिओ)

    चितवन २ मा रविले सुरू गरे महिलाका लागि नि:शुल्क बस सेवा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावबाट आफू निर्वाचित भएको एक सय दिनको अवसरमा चितवन २ लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् ।

    बुधबार चितवनमा आयोजित कार्यक्रमबीच लामिछानेले ‘निर्वाचन क्षेत्र विशेष कार्यक्रम’ को घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सुरू भएको छ । निर्वाचनताका घोषणा गरिएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको उनले बताए ।

    लामिछानेले हरेक चार-चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । त्यस्तै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । लामिछानेले योजनाबद्ध ढंगले आफूले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

    लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमूना विद्यालयका रूपमा विकास गर्ने जानकारी गराए । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकतासम्बन्धी विवादमा कारण सर्वोच्चको फैसलासँगै पदमुक्त भएका थिए । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।

  • रवि लामिछानेको दाबी- रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो (भिडि‌ओ)

    रवि लामिछानेको दाबी- रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो (भिडि‌ओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे ।

    उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरुको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरु पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए । सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुशीको कुरा हुने समेत बताए ।

    नेपाली जनता आफैँले कोरको समृद्धिको खाकालाई सार्थक बनाउन सुशासनको प्रत्याभूति चाहिने उल्लेख गर्दै उनले त्यसमा सरकारले केही गर्नुलाई आफ्नो पार्टीले गलत अर्थमा नलिने पनि पटकपटक दोहोर्याए ।

    ‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढंगले होशियारी देखिएको छ–ठाउँठाउँमा । सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरुमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ । यो आफैंमा एउटा राम्रो संकेत हो । यसलाई मैले गलत अर्थमा लिएको छैन । राम्रो संकेत हो यो । र, मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको बिरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो’, सभापति लामिछानेले भने, ‘सम्भवतः यो आगमनले काँही न काँही सरकारलाई पुराना भ्रष्टाचारका फाईल खोल्न प्रेरणा दिएकै हुनुपर्छ । र, लाएकै हुनुपर्छ कि अहिले फाईल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुुनुपर्छ । त्यसकारणले यो संकेत देखिएकै छ । ठिक छ । हामी खुशी छौं । हामीले निर्वाचनमा जानुअघि उठाएको विषयमा सरकारले आउने निर्वाचन सम्ममानै धेरै सरसफाई गर्न सकेछ भने हाम्रो काम सजिलो नै हुनेछ । किनकी नेपाली जनताले अव जुन किसिमको एउटा समृद्धिको खाका कोरेका छन । र, त्यो समृद्धिको खाका कोर्नु भन्दा अगाडि जुन किसिमको सुशासनको प्रतिवद्धता चाहिन्छ । त्यसको छनक देख्न पाएको हुनाले हामी यसमा खुशी नै छौं । हामीले यसमा दुःख मनाउ गर्ने कुरा छैन ।’

    सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए । उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सभापति लामिछानेले सुदूरपश्चिमका जनताको अवस्थामा परिवर्तन ल्याउने गरी आफ्नो पार्टी अघि बढ्ने आश्वासन समेत दिए ।

     

  • देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौं: रवि लामिछाने (भिडिओ)

    देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौं: रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् ।

    रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले चर्को आलोचना र गालीगलोजका बीचमा पनि आफूहरु प्रतिबद्ध भएर देश निर्माणको अभियानमा लागिरहेको बताए ।

    उनले भने, ‘मलगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं । व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’

    उनले रास्वपाले २०८४ सालपछि आफ्नो नीति कार्यान्वयन गर्न सरकार बनाउनैपर्ने बताए ।

    अध्यक्ष लामिछानेले विदेशमा भएकाहरुलाई पनि अहिलेदेखि नै २०८४ को निर्वाचनमा भोट हाल्न आउन आफ्नो काम गर्ने ठाउँमा अहिलेदेखि नै बिदा भनिराख्न आग्रह गरे ।

  • रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन: रवि लामिछाने (भिडिओ)

    रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन: रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा जोडिने वित्तिकै २०८४को लागि उम्मेदवार बनिनहाल्ने बताएका छन् । रास्वपा सिन्धुली(काठमाडौं सम्पर्क विभागको कार्यक्रममा संम्बोधन गर्दै उनले बताएका हुन् ।

    रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारे ।

    लामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

    उनले भने, ‘ विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिसहो । मानिसहरुले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान् । तरखबरदार हामीलाई जानकारी पाउनेवितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रष्ट निर्देशन छ । पार्टीसँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत छ । पार्टीमा को आउनुहुन्छ को आउनुहुन्छ त्यो भन्न सक्दिन यो एउटा भेल हो । यहाँ धेरै मानिसहरु आउन सक्छन् र खराब पात्रहरु आउन सक्छन् असल पात्रहरु पनि आउन सक्छन् । हामीलाई २०८४ सालसम्म हेर यिनीहरुको यो पनि घटना त्यो पनि घटना त्यहाँ कुटाकुट भयो मारामार भयो भन्ने घटनाहरु ल्याएर उनीहरु उस्तै हुन भन्ने भाष्य सिर्जना गर्न खोजिदैछ । त्यसका लागि चनाखो हुनुपर्नेछ । ’

    लामिछानेले याे देशकाे सुन्दर फाेटाे खिच्ने  सपना साँचेर हिड्का पार्टीबीच एउटा तस्बिर खिच्न छुटेछ भने तछाडमछाड नगर्न अपील गरे ।

  • रवि लामिछानेको प्रश्न- सुन तस्करीमा कर्मचारी सरुवा गर्ने कि जिम्मेवार निकायका प्रमुखलाई बर्खास्त गर्ने ? (भिडिओ)

    रवि लामिछानेको प्रश्न- सुन तस्करीमा कर्मचारी सरुवा गर्ने कि जिम्मेवार निकायका प्रमुखलाई बर्खास्त गर्ने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।

    ‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’

    उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाए ।

    ‘यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ?’ उनलेभने ।

    उनले सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने बताए ।

     

  • सुन तस्करीबारे रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव, गृहमन्त्रीको राजीनामा नमाग्ने

    सुन तस्करीबारे रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव, गृहमन्त्रीको राजीनामा नमाग्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो ।

    रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

    रास्वपका उपसभापति डीपी अर्यालले सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको बताए ।

    ‘हामीले संसद अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै सरकारलाई जिम्मेवार बनाउन चाहेका हौं,’ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीकै विषयलाई लिएर संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने तयारी गरिरहँदा रास्वपाले फरक बाटो अपनाएको हो ।

    रास्वपा महामन्त्री डा. मुकुल ढकालले अहिले आफ्ना सांसदहरूले गृहमन्त्रीको राजीनमा नमाग्ने बताए ।

    ‘हामीले गृहमन्त्रीको राजीनमा माग्दैनौं । तस्करीबारे वृहद अनुसन्धान हुनुपर्छ भन्ने हो । भोलि गृहमन्त्री दोषी देखिएमा अर्कै कुरा हुन्छ,’ उनले भने ।

    एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको प्रस्तावमा उल्लेख छ ।

    ‘यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? यसले नेपालको सुरक्षा प्रणालीलाई कमजोर तुल्याएको छ,’ प्रस्तावमा भनिएको छ ।

    रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेको छ । बरामद भएका सुनको प्रयोग के-कसरी गर्ने सोचेको छ ? भन्ने सरकारबाट स्पष्ट खाका माग गरेको छ ।