Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • पारिवारिक शोकमा छिन् सुमना, चोखिएर शपथ खान आउने

    पारिवारिक शोकमा छिन् सुमना, चोखिएर शपथ खान आउने

    काठमाडौं । पारिवारिक शोकमा रहेका बेला रास्वपा नेतृ सुमना श्रेष्ठ मन्त्री नियुक्त भएकी छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ ।

    तीन दिनअघि हजुरआमाको देहान्त भएकाले सुमना घरमै शोकमा थिइन् । थिइन् । अहिले मन्त्री बनिहाल्ने उनको चेष्टा थिएन । तर, पार्टीले जिम्मेवारी दिएपछि उनले स्वीकार गरेकी छन् । हजुरआमाको काममा रहेकाले उनी पुरोहितबाट विधिपूर्वक चोखिएर आज शपथ ग्रहणमा सहभागी हुने रास्वपा स्रोतले बतायो ।

    रास्वपाको अध्ययनशील र ऊर्जाशील नेतृ सुमना संसदभित्र निकै प्रभावशाली भूमिका निभाइरहेकी छन् । उनी पहिलोपटक मन्त्री बन्दा समर्थकहरूमा खुशी छाएको छ । उनीबाट धेरै आशा राखिएको छ । शिक्षा, विज्ञान प्रविधि उनको चासोको मन्त्रालय पनि हो ।

  • रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

    रास्वपाका चार मन्त्रीको टुंगो: गृहमा रवि, शिक्षामा सुमना

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
    आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो ।

    जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

  • रास्वपा महामन्त्री भन्छन्- कांग्रेसकाे ‘ललिपप’मा फस्दैनाै, यही गठबन्धनमा सम्मानजनक स्थान खोज्छौं

    रास्वपा महामन्त्री भन्छन्- कांग्रेसकाे ‘ललिपप’मा फस्दैनाै, यही गठबन्धनमा सम्मानजनक स्थान खोज्छौं

    काठमाडौं । सत्ता गुमाएको कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफर रास्वपा सभापति रवि लामिछाने स्वीकार नगर्ने भएका छन् । पार्टीको कोर टीमसँग छलफलपछि उनी कांग्रेसको ललिपपमा नलोभिने भएका हुन् ।

    कांग्रेसले नयाँ गठबन्धन नथिग्रिदै तोड्ने ध्येयले रविलाई प्रस्ताव गरेको थियो । रास्वपा महामन्त्री डा. मुकुल ढकालले नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसबाट प्रस्ताव आएको स्वीकार गरे ।

    उनले भने, ‘हिजो नयाँ गठबन्धन बनेलगत्तै कांग्रेसले विभिन्न सुत्रमार्फत प्रधानमन्त्रीको प्रस्ताव पठाइरहेको छ । तर, कांग्रेसको शीर्ष तहसँग प्रत्यक्ष संवाद भएको छैन ।’

    उनले कांग्रेसका प्रस्तावमा रास्वपा नलोभिने बताए ।

    ‘हामी राजनीतिक इमानदारितामा विश्वास गर्छाैं । यो गठबन्धन निर्माणमा हाम्रो पनि भूमिका छ । अर्काे अफर आउनासाथ बहकिएर त्यतै कुदिहाल्ने चरित्र हाम्रो छैन ।’

    उनले यो गठवन्धनलाई नै बलियो बनाएर लैजाने पक्षमा रास्वपा रहेको तर पार्टीको हैसियत अनुसार सम्मााजनक स्थान पाउनुपर्नेमा जोड दिए । अरू दलहरू पनि एकपटक गरेको सहमतिबाट पछि हट्नु नहुने उनको भनाइ छ ।

    कांग्रेसले अघिल्लोपटक एमाले–माओवादी गठबन्धन बन्दा पनि यसैगरी खेल्न खोजेको थियो । त्यसबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको थियो । प्रचण्डले बालकोट पुगेर प्रधानमन्त्री बनेपछि राप्रपालाई रोक्न कांग्रेसले अनौपचारिक प्रस्ताव गरेको थियो र त्यो कुरा लिङदेनले पनि स्वीकार गरेका थिए ।

    यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि बढाएका भने छैनन् । संविधान बमोजिम पनि अब प्रचण्ड सरकार ढलेमा धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्छन् ।

    यद्यपी कांग्रेसले एमाले र माओवादीबाहेकको सरकार गठनको पहल भने भित्रभित्रै थालेको छ । भूराजनीतिक शक्तिको समेत यसमा प्रयोग भएको छ । त्यो अवस्थामा रविसँग आलोपालोको समेत सहमति हुनसक्ने र माधव नेपाललाई समेत प्रचण्डसँग जान नदिने प्रयास भने भइरहेको छ ।

     

  • नवगठबन्धन बैठकमा स्वर्णिम पनि मिसिए

    नवगठबन्धन बैठकमा स्वर्णिम पनि मिसिए

    काठमाडौं । शक्ति बाँडफाँटमा सहमति जुटाउन नवगठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेको छ । बालुवाटारमा जारी बैठकले संघदेखि प्रदेशसम्मको भागबन्डाको सहमति प्याकेजमै जुटाउने तयारीमा नेताहरू लागेका छन् ।

    एमालेका एक पदाधिकारीका अनुसार प्रदेशसम्मको बाँडफाँट प्याकेजमै मिलाउने गरी छलफल भइरहेको छ ।

    बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन् । वाग्ले पहिलो पटक गठबन्धनको छलफलमा पुगेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । आजै साँझ एमाले, माओवादी र रास्वपाका एकएकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

  • सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

    सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

    काठमाडौं । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ ।

    कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

    माओवादी सचिव दिनानाथ शर्माकाअनुसार गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

    नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विनाविभागीय मन्त्रीको शपथको तयारी छ ।

  • सरकार पुनर्गठन : पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

    सरकार पुनर्गठन : पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

    काठमाडौं । सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । नयाँ मन्त्रीको शपथबारे जानकारी गराउन र समय मिलाउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

    नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सार्ने भएको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।

    रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बन्ने सम्भावना बलियो छ । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए । उनलाई सभापति रवि लामिछानेले तयारी अवस्थामा रहन भन्दै फोन गरेका छन् । रवि आफैँ पनि सरकारमा जाने तयारीमा छन् । तर, पहिलो चरणमा उनले डीपीलाई पठाउन लागेका हुन् ।

    आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

  • रास्वपा बैठक सकियो, निर्णय लिने अधिकार सभापतिलाई

    रास्वपा बैठक सकियो, निर्णय लिने अधिकार सभापतिलाई

    काठमाडौं । रास्वपाको सचिवालय बैठक सकिएको छ । राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी कार्य तथा नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको रास्वपाका उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए ।

    बैठकले नयाँ राजनीतिक घटनाका बारेमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको उनले बताए । आइतबार लामिछानेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए ।

  • अशिम शाहको प्रश्न- स्मार्ट लाइसेन्सको नाममा कसले ‘स्मार्ट चलखेल’ गर्दैछ ? (भिडिओ)

    अशिम शाहको प्रश्न- स्मार्ट लाइसेन्सको नाममा कसले ‘स्मार्ट चलखेल’ गर्दैछ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले स्मार्ट लाइसेन्सको नाममा भएको चलखेलप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै १ लाख नक्कली लाइसेन्स विभागले बाँडेकोबारे सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेको बताए ।

    उनको भनाइ जस्तोको तस्तै

    यो स्मार्ट लाइसेन्समा स्मार्ट के छ मैले बुझेको छैन तर १ लाख नक्कली लाइसेन्स विभागले बाडेको छ जसको अनुसन्धान सीआईबी र अख्तियारले गरिरहेको छ ।

    मैले सवारी लाइसेन्स प्रिन्ट गर्ने झन्झटबाट सरकार मुक्त होस् भनेर सदनमा पटक पटक भन्दै आएको छु। तर यसलाई कमाऊने धन्दा बनाएकाले किन सुन्थे जनतालाई स्मार्टको नाममा मूर्ख बनाउन पाएकै छ ।

    १२ लाख कार्ड आपूर्तिका लागि जर्मन कम्पनीसँग करिब २० करोड रुपैयाँमा सम्झौतामा भएकोमा १ वर्ष पछि मात्र ६ लाख कार्ड आयो, त्यो पनि स्पेसिफिकेसन विपरीत भएकोले प्रिन्ट गर्न नमिल्ने भनेर कार्ड छाप्न सम्झौता गरेको मद्रास सेक्युरीटीजले भनेछ। चिप हालेर छाप्न मिल्ने बनाउँने नै भए ४० हजÞार डलर थपनू परने कुरा आएको छ ।

    स्मार्ट लाइसेन्सका नाममा कार्ड एउटा देशबाट ल्याउने, छाप्न अर्को देश पठाउने, यो कस्तो खेल हुँदैछ? खेल भित्र पनि छाप्न नमिल्ने चिप हालेर कार्ड ल्याउने यो कस्को स्मार्ट चलखेल ?

    जनताले कहिलेसम्म स्मार्ट लाइसेन्सका नाममा दुख पाईराख्न पर्ने हो ? लाइसेन्स छाप्न नमिल्ने चिप वाला कार्ड भित्र्याउने अनि लाइसेन्स वितरणमा तिव्रता आउँछ भनेर सस्तो भाषण दिन चाहिँ हतार गर्ने ?

    सरकार स्मार्ट लाइसेन्स चाइएन जनता आफैं स्मार्ट छन् सब बुझेका छन् छपाई पछाडिको पैसाको खेल बरू खुरुखुरु नेपालमा प्रिन्ट गरेर भएनि लाइसेन्स प्राप्तिको लागि हुने सबैको समयको बर्बादी रोकौँ ।

     

     

  • विवादित मन्त्रीलाई रविको प्रश्न- आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ? (भिडिओ)

    विवादित मन्त्रीलाई रविको प्रश्न- आरोप लागेपछि संसदमा उभिएर जवाफ दिन केले रोक्यो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागिसकेपछि मन्त्रीहरूलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोक्यो ? भन्दै प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखबाट रुलिङ भइसके पनि सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए ।

    उनले भने, ‘संसदलाई आरोप प्रत्यारोपको क्षेत्र किन बनाइँदैछ ? सभामुखले रुलिङ भइसकेका विषयमा विवादित केही मन्त्रीहरूलाई आफूलाई लागेको आरोपका विषयमा सदनमा उभिएर जवाफ दिन रोकेको छ चाहिँ के ले ? किन पटक-पटक मागिराख्नुपर्ने ? यदि कुनै अप्ठ्यारो छैन । आफूमाथि उठेका आरोपका जवाफ दिनसक्ने यथेष्ट आधारहरू छन् । ती आरोप या निराधार हो भने संसद्‍मा उभिएर भन्ने केले रोक्यो ?’

    उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण जनाए ।

  • रास्वपाद्वारा ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयकको माग (भिडिओ)

    रास्वपाद्वारा ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयकको माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन माग गरेका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको ? भन्दै प्रश्न गरे ।

    परियारले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महंगो छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर कलेजमा न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । ख्वप कलेजमा पढ्नेको संख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेयक किन ल्याउनु हुन्न ? तत्काल विधेयक ल्याइयोस् ।’

  • सदनमा रविको चेतावनी- किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने क्षमता राख्छन् (भिडिओ)

    सदनमा रविको चेतावनी- किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने क्षमता राख्छन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै दूध र मह किसानको समस्या समाधान गर्न माग गरे।

    उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन्। अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन् किसानको आन्दोलनलाई नजरअन्दाज ग¥यो भने किसानहरूले सरकार ढाल्ने क्षमता राख्छन्। होसियार रहनु होला।’

    उनले मिटरब्याजी पीडितसँग वार्ताको लागि सरकारसँग माग गरे।

    उनले भने, ‘२३ दिन लगाएर काठमाडौं आएका छन्। सिंहदरबारले वार्ताका लागि ढोका खोलेस् नथुनोस्। मिटरब्याजको समस्या समाधान गर्‍यौँ भनेर छाती फुलाएको सरकारले कुन छाती राखेर वार्ता गर्छ।’

    भूमिहीन किसानहरूलाई चुनावी फण्डा नबनाउन र भरतपुरको फोहोर व्यवस्थाबारे भरतपुर ३ को नगर वनको विकल्प खोज्न समेत माग गरे।

  • सरकारलाई रास्वपाको चेतावनी- प्रतिपक्षलाई नसुन्दै गए संसद् अवरुद्ध हुन्छ (भिडिओ)

    सरकारलाई रास्वपाको चेतावनी- प्रतिपक्षलाई नसुन्दै गए संसद् अवरुद्ध हुन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए ।

    उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’

    उनले जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद् मात्रै होइन सडक पनि अवरुद्ध पार्ने चेतावनी दिए।

  • बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसदको सट्टा विज्ञ पठाउन रास्वपाको माग

    बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसदको सट्टा विज्ञ पठाउन रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बाँदर नियन्त्रणसम्बन्धी अध्ययन भ्रमणमा सांसद पठाउने निर्णयको विरोध गरेको छ ।

    रास्वपाको आज बसेको सचिवालय बैठकले बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न संसदीय समितिले सांसदहरू भारत भ्रमण पठाउन गरेको निर्णयमा आपत्ति जनाउँदै विज्ञ पठाउन अनुरोध गरेको हो । बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रणको अध्ययन सम्बन्धित पीडित किसान र विज्ञबाट मात्र सम्भव हुने रास्वपा प्रवक्ता एवं महामन्त्री मुकुल ढकाल बताउँछन् ।

    केही दिनअघिमात्र प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर आतंक नियन्त्रको उपाय खोजीका लागि सांसदहरू भारतको हिमाचल प्रदेशमा अवलोकन भ्रमणमा जाने निर्णय गरेको थियो ।

    समिति सभापति आरजु राणाले पुस २६ गतेको बैठकमा आफूले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र रेस्पोन्स राम्रो आएको बताएकी थिइन् । केही दिनअघिमात्र सांसद, केही कर्मचारी र पशु चिकित्सक सम्मिलित टोली लिएर अवलोकनमा जाने निर्णय भएको छ । हिमाचलमा बाँदर बन्ध्याकरण गरी प्रभावकारी नियन्त्रण भएको पाइएकाले त्यहाँको अवस्था अध्ययनका लागि सांसदहरूको टोली जान लागेको हो ।

    बाँदर आतंक नियन्त्रण संघर्ष समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटा पीडित किसानलाई पनि भ्रमण दलमा सामेल गराउन ध्यानाकर्षण पत्र बुझाएका थिए ।

  • रास्वपा कर्णालीको वडासम्मका कमिटी विघटन, केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर

    रास्वपा कर्णालीको वडासम्मका कमिटी विघटन, केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा केही सदस्यको मनोनयनसँगै जिम्मेवारी हेरफेर गरेको छ ।

    आइतबार बसेको सचिवालय बैठकले पवन देवकोटालाई केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतारालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य, भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई मानव अधिकार विभागको सदस्य र दीपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी दिएको हो ।

    कर्णाली प्रदेशमा वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

    अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकता साथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय भएको उनले बताए ।

  • रवि लामिछानेको आरोप- भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछ (भिडिओ)

    रवि लामिछानेको आरोप- भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए ।

    थापाले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो ? भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताए ।

  • सहकारीको समस्या सुल्झाउन सरकारलाई रास्वपाको सुझाव- रकम अपचलन गर्ने सञ्चालकहरूको सम्पत्ति जफत गरौँ

    सहकारीको समस्या सुल्झाउन सरकारलाई रास्वपाको सुझाव- रकम अपचलन गर्ने सञ्चालकहरूको सम्पत्ति जफत गरौँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघु वित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

    रास्वपा सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको २० पन्ने प्रतिवेदन बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई बुझाएका हुन्।

    सहकारीमा देखिएका समस्या समाधान गर्नको सरकारले तत्काल हस्तक्षेप गर्न सुझाव दिएको छ।

    सुझाव पत्रमा भनिएको छ, ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिको काम तत्काल बन्द गर्ने । सहकारी कर्जा असुली न्यायाधिकरणको गठन गर्ने । कर्जा सूचना केन्द्रको व्यवस्था गर्ने । बचतकर्ताको बचत सुरक्षण गर्नका लागि सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने । ४० करोडभन्दा माथि कारोबार गर्ने सहकारीलाई ३ वर्ष राष्ट्र बैँकको नियमन र सुपरिवेक्षणमा राख्ने । तरलता अभाव भएका सहकारीहरूलाई धितो राखी करण दिने ।’

    समस्याग्रस्त सहकारीहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन, सम्पत्ति बिक्री गरी सहकारी सदस्यहरूको बचत रकम फिर्ता र रकम अपचलन गर्ने संचालकहरुको सम्पत्ति रोक्का र जफतको प्रक्रिया सुरु गर्न सुझाव दिएको छ। अप्ठ्यारोमा परेका लघुवित्तका ऋणीहरूको तुरुन्तै पहिचान गरी कर्जा पुनःतालिकीकरण तथा पुनः संरचनाको व्यवस्था गर्न माग गरेको छ।

    यस्तै, सहकारी ऐनमा मुद्दाको उजुरी, मुद्दा दर्ता प्रक्रिया लगायतका उल्फन हटाउने, नियमनकारी काम क–कसले गर्ने हो, स्पष्ट रूपमा व्यवस्था गर्नुपर्ने बताएका छ।

    प्रतिवेदनमा भनिएको छ, ‘सहकारी ऐनका प्रावधान तीनै तहका कालूनमा एकै किसिमको रहने व्यवस्था गर्ने । जफत कार्य गर्ने संचालक/पदाधिकारी तथा खराब ऋणीहरुलाई जबाफदेही बनाउने कानूनी व्यवस्था गर्ने तथा कर्जा नतिर्न उक्साउने कार्यलाई बैंकिङ्ग कसुर मानी दण्डनीय बनाउने ।’

    संसारभरको अभ्यासमा बचत, ऋणजस्ता वित्तीय संस्थाले गर्ने काम सहकारीले हुबहु गर्ने चलन नभएको उल्लेख गर्दै नेपालमा सञ्चालनमा रहेका सहकारी संस्थाहरूमध्ये करिब ४० प्रतिशत बचत तथा ऋण सहकारी संस्था रहेका उल्लेख प्रतिवेदनमा छ।

    ‘अधिकांश बहुउद्देश्यीय तथा वस्तुणात सहकारी संस्थाहरूले पनि बचत तथा ऋणकै काम गरिरहेका छन्‌ । यी सहकारीहरूले कुनै नियमन बिना बैंक सरह वित्तीय संस्थाको जस्तो सबै काम गर्ने र सर्वसाधारणको पैसा चलाउने गरिरहेका छन्‌ । सीमित व्यक्तिहरूले हालीमुहाली गर्दै घरजग्जा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरी छिटो पैसा कमाउने धन्दामा लाउँदा बचतकर्ताको रकम जोखिमयुक्त भएको पाइन्छ’, प्रतिवेदनमा उल्लेख छ।

    जगेडा कोषमा रकम जम्मा जारी संस्था बलियो बनाउनुको सट्टा ४० प्रतिशतभन्दा बढी सहकारी संस्थाहरूले कूल सम्पत्तिको आधारमा ४ भन्दा कम जगेडा कोष राखेको उल्लेख छ।

    प्रतिवेदनमा भनिएको छ, ‘यसरी केही व्यक्तिको लगानी इव्दा संस्था र बचतकर्ता सबैको पैसा डुबेको अवस्था छ । उदाहरण: सुमेरु, देउराली, ईमेज, शिवशिखर, सूर्यदर्शन सहकारी, आदि । यसरी सहकारी सञ्चालकहरूले सहकारीको मर्म र नियम विपरीत बचतकर्ताको रकम अपचलन गरी व्यक्तिगत लाभ लिने प्रवृत्तिले गर्दा सम्पूर्ण वित्तीय क्षेत्रलाई नै समस्यामा पारेको र यी संस्थाहरूप्रति जनताको विश्वास गुमेको देखिन्छ ।’

  • लघुवित्त र सहकारी पीडितबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र

    लघुवित्त र सहकारी पीडितबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। रास्वपा सहभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको प्रतिवेदन बालुवाटारमा पुगेर बुझाएको हो।

    रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

    उनले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।

    सहकारीको कारणले सर्वसाधारणको करोडौं रकम फसेपछि रास्वपाले समाधानको उपाय पहिल्याउन सरकारलाई दबाब बढाएको हो। यद्यपी, पछिल्लो सयम रास्वपा सभापति लामिछानेमाथि पनि विभिन्न सहकारीको रकम अबचलन गरेको आरोप लागेको छ। तर, उनले आफूले कुनै सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै आइरहेका छन्।

  • त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल पदबाट हटाउनुपर्छः रास्वपा सांसद श्रेष्ठ (भिडिओ)

    त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल पदबाट हटाउनुपर्छः रास्वपा सांसद श्रेष्ठ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।

    सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् ।

    उनले निमित्त उपकुलपति भुसालले भागबण्डा गर्ने हिसावले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन् । लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।

    उनले भनिन् ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानूनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबहाकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहीँ कानूनसम्मत भएन । अहिलेको टियुको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसावले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन । उसलाई अहिले नै हटाउनु पनि प¥यो । त्यस्तो मान्छे पछि टियुको सर्टलिष्ट क्यान्डिेटबाट पनि हटनुप¥यो क्या ।’

     

    सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानून सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

  • संसदमा रविको प्रस्ताव- दलित बस्तीमा एउटा सर्वदलीय बैठक गरौँ (भिडिओ)

    संसदमा रविको प्रस्ताव- दलित बस्तीमा एउटा सर्वदलीय बैठक गरौँ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित बस्तीमा एउटा सर्वदलीय बैठक राख्न प्रस्ताव गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै भ्रष्टाचारका फाइल खुल्दा वा कुनै नियुक्तिहरूको भागबन्डाको लागि गरिने सर्वदलीय बैठक नभई कुनै खुमलटार, बालकोट र बालुवाटारमा नभई दलीय मुसहर बस्तीमा बस्न प्रस्ताव गरे।

    त्यस्तै बैठकबाट पाँच वटा निर्णय गरेर सदनमा आउन प्रस्ताव गरे।

    लामिछानेका प्रस्ताव यस्ता छन्

    पहिलो, आर्थिक शिथिलता र आम नैराश्यता युवा पलायनका लागि युवा केन्द्रित पोजेक्ट होप नामक अभियान सुरु गरौँ जसमा मौद्रिक र वित्तीय नीतिका आधारमा समझदारी कायम गरौँ, कर्जाको स्वरूप र विस्तारबारे, करका दर र कर छली रोक्नबारे, आन्तरिक र बाह्य लगानी प्रवर्द्धन गर्नेबारे, नयाँ संरचनात्मक सुधारहरूबारे, साझा मत बनाउन सकिन्छ कि सकिँदैन सर्वदलीय बैठक गरौँ। सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र रकम फिर्ता गर्न सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्तै सुरु गर्न सक्छौँ कि सक्दैनौँ त्यही बैठकबाट पारित गरेर सदनमा लिएर आऔँ।

    दोस्रो, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि ०४८ पछिको सबै जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गरौँ।

    तेस्रो, रुग्ण भौतिक आयोजनाको व्यवस्थापन गरौँ

    चौथो, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका संकट समाधान गरौँ

    पाँचौँ, परराष्ट्र मामिला सम्बन्धी सत्ता टिकाउन कुनै शक्ति राष्ट्रको सद्भाव खोज्ने दौड छाडौँ।

  • रवि लामिछानेको प्रश्न- नागरिकता कीर्ते गर्ने, सहकारी ठगलाई कारबाही गर्न नयाँ दलले रोक्यो ? (भिडिओ)

    रवि लामिछानेको प्रश्न- नागरिकता कीर्ते गर्ने, सहकारी ठगलाई कारबाही गर्न नयाँ दलले रोक्यो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।

    त्यसबारे उनको भनाइः

    वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्तावसहित आएको छु । यदि धोचपेच र ज्ञान बाँड्ने थलो बनाउने हो भने एकपटक सुरुआत आफ्नै दलबाट सुरु गर्दा पनि राम्रो हुन्छ होला । आफ्नै दलतिर फर्केर हेर्दा पनि हुन्छ होला । नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो ।

    पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्। त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ?

    सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?

  • रविलाई जबरजस्ती सहकारीमा मुछ्न खोजिएको उजुरी प्रहरीले फर्काइदियो

    रविलाई जबरजस्ती सहकारीमा मुछ्न खोजिएको उजुरी प्रहरीले फर्काइदियो

    पोखरा । पोखराको सूर्य दर्शन सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत मुछेर दिन खोजिएको उजुरी प्रहरीले फर्काइदिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रित नपुगेको भनेर उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

    रविलाई समेत प्रतिवादी बनाइए पनि उजुरीमा उनी सूर्य दर्शन सहकारीमा आबद्ध रहेको कुनै पनि तथ्य प्रमाण पेश गरिएको थिएन । सहकारीको सदस्यसमेत नरहेको व्यक्तिलाई ठगीमा जबरजस्ती मुछ्न खोजिएपछि दर्ता गर्न नसकिएको प्रहरी स्रोतको दाबी छ ।

    सूर्य दर्शन सहकारीका सञ्चालक जीवी राई हुन्, जो अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने प्रहरी स्रोत बताउँछ ।

    ‘रविजी पनि ठगीमा संलग्न रहनुभएको ठोस तथ्य–प्रमाण पेश भएको भए पक्कै पनि दर्ता हुन्थ्यो । तर, त्यस्तो केही पनि थिएन,’ स्रोतले भन्यो ।

    लामिछानेविरुद्ध उजुरी दिन बचतकर्ताहरू गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । तर, जिप्रका उजुरी दर्ता गर्न मानेन ।

    जिप्रका कास्कीका प्रहरी प्रमुख एसी मोहन थापाले उजुरी रितपूर्वक नआएकाले दर्ता नगरिएको बताए ।

    ‘उजुरी लिन नमानेको भन्ने होइन । उजुरी नै रितपूर्वक आएको छैन । तथ्य-प्रमाणबिना दर्ता गर्ने कुरा भएन । प्रक्रिया पुर्‍याउन भनेका थियौँ,’ एसपी थापाले भने ।

    अनुसन्धानका क्रममा संलग्न देखिए कारबाहीको दायरामा ल्याउन सकिने एसपी थापाको भनाइ छ ।

    उनले थपे, ‘अनुसन्धान हुँदै छ । अनुसन्धानमा क्रममा संलग्न देखिए उजुरी दर्ता पनि हुन्छ । कारबाही पनि अघि बढ्छ ।’

    सूर्य दर्शनका पीडितहरूले संघर्ष समिति समेत बनाएका छन् । सोही संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले दुई-तीन पटक जाँदा प्रहरीले लिन नमानेको बताए ।

    ‘हामी माघ ९ गते उजुरी दिन गएका थियौँ । त्यसपछि पनि दुई दिन गयौँ । ऐनका कुरा, विवरणका कुरा भएन भनेर फर्काइदिनुभयो,’ उनले भने, ‘पोखरा महानगरले बनाएको प्रतिवेदनअनुसार हामी गएका हौँ । कि यदि प्रतिवेदन नै ठिक छैन भन्नुपर्‍यो ।’

    थप प्रमाण जुटाई पुनः उजुरीका लागि प्रहरीमा जाने तयारी रहेको श्रेष्ठले उल्लेख गरे । ‘हामी थप तथ्य, प्रमाण, विवरण सङ्कलन गरेर पुनः उजुरी दिन जाने तयारीमा छौँ,’ उनले भने ।

    सहकारीका बचतकर्ताले रकम फिर्ता नभएको भन्दै उजुरी दिएपछि पोखरा महानगरपालिकाले केही समयअघि समिति गठन गरेको थियो ।

    उक्त समितिले छानबिन गरी प्रहरीलाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय कास्कीले अनुसन्धान गरेर अदालतमा बुझाएको हो ।

    प्रतिवेदनमा नाम उल्लेख भएअनुसार सबैलाई छानबिन गर्नुपर्ने संघर्ष समितिको माग छ ।

    ‘प्रतिवेदनका आधारमा पैसा बाहिर गएको देखिएको छ । पैसा कम्पनी बाहिर लगेको, बाहिर सहकारी गएको देखियो । ४ सय जनाले पैसा लगेको देखिन्छ । सबैलाई कानुनी दायरामा ल्याउनुपर्‍यो,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने ।

  • रवि लामिछाने भन्छन्- दबाब यात्राका लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रङ्ग पोत्न खोज्दैछन् (भिडिओ)

    रवि लामिछाने भन्छन्- दबाब यात्राका लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रङ्ग पोत्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् ।

    रास्वपाको दबाब यात्रा सिन्धुपाल्चोकको मेलम्चीबाट गर्दै जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरे। रास्वपाले आजबाट २१ आयोजनामा दबाब यात्रा गर्दैछ ।

    उद्घाटन कार्यक्रममा उनले भने- हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।

    रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने बताए ।

    उनले भने- यदि हामीले हजारौँ लाखौँ जनतालाई सडकमा उतारेर ठूलो आन्दोलन गरेको भए यसको प्रभावकारिता धेरै हुन्थ्यो होला। तर, हामी त्यस्तो आन्दोलन गर्न चाहेका छैनौँ। जनताले जस्तो दुख कष्ट भोगे त्यसका लागि लाखौँ मान्छेलाई सडकमा ल्याउनु पर्दैन। एउटा गतिलो मान्छेलाई आयोजनामा लिएर गए जान्नेलाई छान्ने नीति बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ।

  • रविले सांसदहरुसँग खाेजे तीन प्रश्नकाे उत्तर (भिडिओ)

    रविले सांसदहरुसँग खाेजे तीन प्रश्नकाे उत्तर (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रित भएको छ ।

    आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले एक हप्ताअघि आगामी अधिवेशनका विषयमा पार्टीका सबै सांसदहरुलाई सोधेको प्रश्नमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    उनका अनुसार सभापति लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईं भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौं कि सक्दैनौं र नागरिक अधिकार र स्थानीय समस्याहरुको केके मुद्दा उठाउनुहुन्छ? भन्ने प्रश्न गरेका थिए ।

    त्यसबारेमा आजको सबैले आआफ्नो कुरा राखेको र सोमबार बैठक बस्नुअघि थप छलफलका लागि बैठक बस्ने उनले बताए ।

    उनले भने, ‘अबको अधिवेशनमा मुख्य कानूनहरु टुंग्याएरै जानुपर्छ भनेर सरकारलाई दबाब दिन काम गछौं । रास्वपाले नागरिकको अधिकार सुनिश्चित गर्ने सवालमा सरकारलदे त्यो विधेयक नल्याएर गैर सरकारी विधेयकमा काम गर्छ ।’

     

     

  • रवि लामिछानेको दाबी – ८४ मा व्यवस्थाका हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्छ

    रवि लामिछानेको दाबी – ८४ मा व्यवस्थाका हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्ने दाबी गरेका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुने उनको भनाइ छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न शुरू हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुन्छ । त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं ।’

    उनले स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न आग्रह गर्दै देश बन्ने उल्लेख गरेका छन् ।

    ‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरेमात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक सञ्जालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’ उनले भनेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपपछि मात्रै बन्छ । चुनाव कहिले ?? ८४ मा ।’

  • रवि लामिछानेको प्रष्टीकरण- म ग्यालेक्सीमा हुँदा बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको छैन

    रवि लामिछानेको प्रष्टीकरण- म ग्यालेक्सीमा हुँदा बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय गरेको छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू ग्यालेक्सी टिभीमा हुँदा सहकारीको पैसा दुरुपयोग गरेको आरोप अस्वीकार गरेका छन् । आफू टीभीमा आवद्ध हुँदा कुनै पनि बोर्ड बैठकले सहकारीबाट पैसा ल्याउने निर्णय नगरेको उनले प्रष्ट्याए ।

    आज आयोजित पत्रकार सम्मेलनमा रविले आफू कार्यरत छँदा बोर्डले गरेका सबै निर्णयहरुको प्रतिलिपि बोकेर आएका थिए । उनले पत्रकारलाई प्रतिलिपी देखाउँदै भने, ‘यी कुनै पनि निर्णयमा सहकारीबाट पैसा लिने कुरा उल्लेख छैन । जब बोर्ड वैठकमा नै छलफलमा आएको छैन भने मैले कसरी थाहा पाउँछु ?’

    सहकारीबाट पीडित भएकाहरुले नैतिक जिम्मेवारी आफूले लिने उनले बताए । पार्टीले सहकारी पिडितका पक्षमा अन्तिमसम्म लड्ने उनको प्रतिवद्धता छ ।

    ‘यो समस्यालाई गम्भीररुपमा लिएर हाम्रो पार्टीले समाधानका उपायहरुसहित प्रतिवेदन बनाएको छ । तर, मैले बोल्दै नबोलेको कुरालाई हेडलाइन बनाइयो । मैले सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ भनेर कतै भनेको छैन । हेडलाइनका तीरहरुले अब म तर्सिन्न । मलाई प्रमाण चाहिन्छ’, उनले भने ।

    कान्तिपुर दैनिकले सहकारी ठगीमा बारम्बार आफूलाई मुछ्न खोजेको भन्दै उनले आपत्ति जनाए । यदि गल्ती गरेको भए सजाय खेप्न तयार रहेको उनको भनाइ छ ।

    ‘कान्तिपुरले सरासर गलत हेडलाइन राखेको छ । यदि समाचारमा लेखिएजस्तो मेरो खातामा १ करोड ८० लाख जम्मा भएको हो भने त्यही पत्रिकाले लगे हुन्छ । म सजाय खेप्न पनि तयार छु । तर, गलत समाचार सच्याउन कान्तिपुर तयार छ ?’, उनले प्रश्न गरे ।

    आफू सञ्चारमाध्यमको स्वतन्त्रताको पक्षमा रहेको तर सञ्चारमाध्यम पनि प्रश्नभन्दा बाहिर नहुने रविले बताए ।

    ‘बालकृष्ण खाँणको समाचार लेख्दा लेख्दै रोकिएपछि एकजना पत्रकारले राजीनामा दिए । त्यही समाचार अर्को सञ्चारमाध्यममा प्रकाशित भयो’, उनले भने, ‘हामीले चाह्यौं भने यस्ता धेरै विषय बाहिर ल्याउन सक्छौं । तर, हामीलाई जोरी खोज्नु छैन ।’

    गत वर्ष गरेको पत्रकार सम्मेलनमा सञ्चारमाध्यममाथि तीव्र आक्रमण गरेका रवि आज भने शान्त र संयमितरुपमा पेश भएका थिए ।

     

  • ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन (पत्रसहित)

    ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन (पत्रसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ । आज कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार लेखेको थियो ।

    यस विषयमा प्रष्टीकरण दिन आज रविले पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए । उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको हो ।

    पत्रमा लेखिएको छ, ‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

    पत्रकार सम्मेलनमा पूर्वबैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए । उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रष्ट्याए । साहका अनुसार कसैले चेक लिएर बैंक आयो भने त्यो लिएर रसिद दिइन्छ । तर, खातामा पैसा नभएको खण्डमा पैसा जम्मा हुँदैन ।

    उनले भने, ‘रवि लामिछानेको केसमा मात्र होइन, यस्ता केस धेरै हुन्छन् । कसैले क्यास लिएर आए केही प्रश्न सोधिन्छ । चेकमा प्रश्न सोधिँदैन । टेलर काउन्टरमा गएर चेक जम्मा गर्न सकिन्छ । तर, पैसा खातामा नभएमा त्यो जम्मा हुँदैन र सम्वन्धित व्यक्तिको फोनमा घन्टी पनि बज्दैन ।’

    रविले थपे, ‘भोलि मैले १० करोड रुपैयाँको चेक लेखेर कैलाश सिरोहियाको खातामा जम्मा गरिदिएँ तर, मेरो खातामा पैसा छैन भने त्यो सिरोहियाको खातामा जान्छ ? यसैगरि समाचार लेखिन्छ ?’

  • सहकारी प्रकरणमा आफूलाई मुछेर आएको समाचारबारे रविको प्रष्टीकरण ।।लाइभ।।

    सहकारी प्रकरणमा आफूलाई मुछेर आएको समाचारबारे रविको प्रष्टीकरण ।।लाइभ।।

    काठमाडौं । रास्वपा सभापति एवं सांसद रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत आफ्नो प्रष्टीकरण दिएका छन् ।

  • रास्वपाविरुद्ध हर्क साम्पाङको तारनतार स्टाटस, के हो खास ?

    रास्वपाविरुद्ध हर्क साम्पाङको तारनतार स्टाटस, के हो खास ?

    विराटनगर । फेसबुकमा तारनतार स्टाटस लेखेर चर्चामा आएका धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध खनिएका छन् । उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर संकलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रमक भएका छन् ।

    उनका पछिल्ला अधिकांश स्टाटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरिरहेका छन् ।

    हर्कले लेखेका छन्, ‘ रु १० को एजेन्डा लिएर विकासको विरोध गर्ने पार्टीले विकासको नीति के ले को छ ? श्रीलंकाको यात्रामा नेपाललाई लैजानेमात्रै त होला ! कि कसो पो ?’

    उनले केही बेरअघि मात्र लेखेका छन्, ‘रास्वपाको एजेण्डा रु १०/- कस्तो लाग्यो हौ ? विकासको निम्ति लिएको रु १०/- साह्रै ठुलो कर लायो भन्छ तउ ! विकासको लागि अर्थ नीति के रैछ यो पार्टी को ? बोल्ने होइन काम गर्ने गर है !’

    हर्कले ‘कहानी १० रुपे ! रास्वपाको कहानी १० रुपे !!!’ भन्दै गीतसमेत गाएर भिडिओ राखेका छन् ।

    आफूले लगाएको पार्किङ्ग शुल्कविरुद्ध रास्वपाले विरोध जनाउँदै हस्ताक्षर संकलन अभियान थालेको छ । ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कमो चौतर्फी आलोचना भइरहेको छ । उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गते देखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।

    उपमहानगरपालिकाले धरान १६ को लिङथेप एन्ड को कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी साना र हल्का सवारी साधनको शुल्क उठाउने र मोरङको प्रिन्स निर्माण सेवालाई यात्रु वाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिएको छ । ठेक्कापछि धरानमा स्कुटर, मोटरसाइकललाई १० रूपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रूपैयाँ, सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रो बस, बेलुरो, स्कारपियोलाई ५० रूपैयाँ शुल्क लिइँदै आएको छ ।

    पार्किङ शुल्क असुल गरेता पनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा उल्लेख छ । शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा आएपछि रास्वपाले विरोध जनाउँदै आएको छ । उसले नगरपालिकाको विरुद्धमा हस्ताक्षर संकलन सुरू गरेको छ । हस्ताक्षर संकलनका क्रममा नगर प्रहरीले केही दिन अघि हस्तक्षेप समेत गरेको थियो ।

  • गौशाला २६ को वास्तविक फोटो र नाम ट्वीटरमा राख्ने कार्यकर्तामाथि रास्वपाको कारबाही

    गौशाला २६ को वास्तविक फोटो र नाम ट्वीटरमा राख्ने कार्यकर्तामाथि रास्वपाको कारबाही

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्ने एक कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटा कारबाहीमा परेका हुन् ।

    सामाजिक सञ्जालमा प्रयोगमा संवेदनशील नरहेको भन्दै दिवसलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको पार्टीले जनाएको छ । उनले गौशाला २६ को तस्वीर र नामसहित ट्वीटरमा पोस्ट गरेका थिए । अदालतको फैसलाको आलोचना गर्दै उनले गौशालामाथि कटाक्ष गरेको रास्वपाको सूचनामा उल्लेख छ ।

    गौशाला २६ को तस्बिर उनको इन्स्टा अकाउन्टबाट निकालेर केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि पहिचान खुलाउन नपाइने नियम छ ।

  • रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

    रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ। बिहीबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई राजदूत सोङ्ले भेट गरेका हुन्।

    भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको जनाइएको छ।

    रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका विषयमा कुरा भएको रास्वपाले जनाएको छ।

    सो सडक निर्माणमा ढिलाइ हुनुको कारणबारे छलफल गर्दै थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे छलफल भएको छ। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन्।

  • हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै गम्भीर प्रहार : रवि लामिछाने (भिडिओ)

    हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै गम्भीर प्रहार : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको विषयमा संसदीय समितिमभा उनले टिप्पणी गरेका हुन् । यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको रविको जिकिर छ ।

    मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उनले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताए ।

    यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यता) को आधारमा चयन उनको प्रस्ताव छ ।

    ‘तपाईँहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ-यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?

  • रास्वपाकाे ५६ वडामा वडा अधिवेशन शुरु

    रास्वपाकाे ५६ वडामा वडा अधिवेशन शुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे प्रथम वडा अधिवेशन शुरु भएकाे छ ।  रास्वपाले आज ५६ वडाहरुमा प्रथम वडा अधिवेशन  शुरु गरेकाे हाे ।

    कोशी प्रदेशको १८ वटा, बाग्मति प्रदेशको १० वटा, गण्डकी प्रदेशको १६ वटा, लुम्बीनी प्रदेशको ७ वटा र सुदुरपश्चिम प्रदेशको ५ वटा वडाहरुमा आज अधिवेशन शुरु भएकाे   प्रवक्ता मुकुल ढकालले बताए । वडा अधिवेशनका लागि पार्टीका सदस्य खटाइएका छन् ।

    पार्टी उपसभापति डिपी अर्याल चितवनका वडाहरुको अधिवेशनमा, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बुढानिलकण्ठका वडामा, केन्द्रीय सदस्य सांसद गणेश पराजुली काठमाडाैं अन्य पदाधिकारीहरु विभिन्न वडामा अनुगमनको लागि खटिएका छन्।

    प्रदेश समितिका सदस्यहरुलाई निर्वाचन आयोगले पर्यबेक्षणको लागि विभिन्न वडाहरुमा खटाएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार वडाहरुमा नियमित प्रथम अधिवेशनको कार्यक्रम हुनेछ ।

  • बालकोटमा ओलीसँग झण्डै एक घण्टा रविको भेट, के भयो कुराकानी ?

    बालकोटमा ओलीसँग झण्डै एक घण्टा रविको भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

    उनले भने, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन सामान्य हो । तर, कुनै एजेण्डा होइन।’

    रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ । ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन् ।

  • ओली भेट्न रवि लामिछाने बालकोटमा

    ओली भेट्न रवि लामिछाने बालकोटमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

    दुई नेताबीच ओली निवासमा करिब आधा घण्टादेखि छलफल जारी छ । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।

  • चरित्र हत्या गरेकाे भन्दै कान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा

    चरित्र हत्या गरेकाे भन्दै कान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उनी अदालत गएका हुन् ।

    रविले काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको छ ।

    फिरादपत्रमा रविले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पुर्याउने कुशिष मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख छ ।

    मिति २०८०/०९/०९ देखि २०८०/०९/१३ सम्म कान्तिपुर र इकान्तिपुरले आफूलाई जोडेर प्रकाशित गरेका समाचारहरु झूटो रहेको रविले दाबी गरेका छन् । प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ ।

    रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै समाचारमा आएका सहकारीको आफू सञ्चालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको बताएका छन् ।

    ‘मैले ती सहकारीहरुमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानूनी परामर्शमा छु’, उनले भनेका छन् । आफू लोकतन्त्रको बलियो आधारमध्येको एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने उनको भनाइ छ ।

    रविले स्टाटसमा भनेका छन्, ‘सहकारी पिडितहरुको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन, यो मेरो वचन भो ।’