काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्री चार महिनामै बहिगर्मनको मुखमा पुगेका छन् । गठबन्धन परिवर्तनसँगै उनीहरु सरकारबाट बाहिरिने लगभग निश्चित भइसकेको छ ।
रास्वपाबाट सभापति रवि लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सरकारमा छन् । एमालेले प्रचण्डको साथ छाडेर कांग्रेससँग हात मिलाएपछि माओवादीसँगै रास्वपा प्रतिपक्षमा धकेलिने भएको हो ।
रास्वपाका मन्त्रीहरुले राजीनामा दिइसकेका भने छैनन् । केही दिनअघि चारैजना मन्त्रीले प्रधानमन्त्रीसँग संयुक्त भेट गरेका थिए । उक्त भेटमा प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संसद फेस गर्ने जानकारी गराए र रास्वपालाई पनि राजीनामा दिन हतार नगर्न सुझाव दिए । प्रधानमन्त्रीको आग्रहलाई स्वीकार गर्दै रास्वपा मन्त्रीहरु रोकिएका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई चाँडो विश्वासको मत माग्ने प्रक्रियामा जान सुझाव दिएर फर्किएका थिए ।
राजीनामा नदिए पनि चारै जना मन्त्रीले सरकारी क्वाटर छोडेका छन् । गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ । मन्त्री पद खुस्केर पनि क्वाटर र सुविधाहरु त्याग्न ढिलासुस्ती गर्ने परम्परालाई रास्वपा मन्त्रीहरुले चिरेका हुन् ।
श्रममन्त्री अर्यालले सरकारमा नरहने निश्चित भइसकेपछि सरकारी क्वाटर प्रयोग गर्न छोडेको बताए । उनले मन्त्रीको हिसाबले जिम्मेवारी भने निभाइरहेको जानकारी दिए ।
‘हामी काम गर्न गएका थियौं, सुविधा उपभोग गर्नलाई होइन’, उनले भने, ‘मन्त्री पदमा हुञ्जेल काम गरिन्छ, काम गर्नलाई क्वाटरले रोक्दैन ।’
मन्त्री अर्याल आज दिनभरि वैदेशिक रोजगार विभागमा व्यस्त थिए । श्रमिकमाथि ठगीका विषयमा छलफल गर्न उनी त्यहाँ पुगेका हुन् ।
खेलकुदमन्त्री श्रेष्ठले भने मन्त्रालयका अत्यावश्यक काममात्रै गरिरहेका छन् । नेपालमा गठबन्धन फेरिँदा मन्त्री श्रेष्ठ कोरियामा थिए । उनी नेपाल नफर्किँदै भूतपूर्व हुनसक्ने खतरा बढेको थियो, तर प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएपछि श्रेष्ठ मन्त्रीकै हैसियतमा फर्किए । उनी शुक्रबार फर्किने कार्यक्रम भए पनि भ्रमण छोट्याएर बुधबार आएका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले सबै प्रक्रिया मिलाएर विधिवत रुपमा क्वाटरबाट बाहिरिएको बताए ।
उनले भने, ‘सरकारमा हुँदाको राजनीति र संसदीय राजनीति फरक हुन्छ । सरकारमा हामी सुशासनका लागि गएको हो । अब गठबन्धन फेरबदल भइसकेपछि हामी सरकारमा रहिराख्ने स्थिति रहेन । क्वाटरमा दुई-चार दिन बसाइ लम्ब्याएर के नै हुने हो र ?’
मन्त्री श्रेष्ठ गत शुक्रबारदेखि मन्त्रालय पनि गएका छैनन् । कोरिया जानुभन्दा अगाडि थालेका केही कामलाई के गर्ने भनेर छलफल गरिरहेको उनले बताए ।
गृहमन्त्री लामिछाने भने मन्त्रालयको काममा व्यस्त नै छन् । देशभर बाढी र पहिरोको प्रकोप सुरु भएपछि शनिबार गृहमन्त्रीले आपतकालीन बैठक राखेका थिए । यस्तै उनले हिजो प्रधानमन्त्रीलाई प्राकृतिक प्रकोपबारे बिफ्रिङ गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाहीका विषयमा आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । हिजो बसेको सचिवालय बैठकमा अनुशासन समितिका संयोजक डा. भरत देवकोटाले प्रतिवेदन बुझाएका हुन् ।
गत मंगलबार बसेको रास्वपा केन्द्रीय समिति वैठकले अनुशासन उल्लंघनको आरोपमा महामन्त्री डा. ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय लिएको थियो । त्यसअघि नै अनुशासन समितिले उनलाई ७ दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको म्याद समाप्त भइसकेको छ भने निलम्बनको म्याद भोलि समाप्त हुँदैछ ।
महामन्त्री ढकालले अनुशासन समितिलाई स्पष्टीकरण बुझाएनन् । उनले केन्द्रीय समिति बैठकमै एउटा प्रस्ताव पेश गरेका थिए, जसमा आफूमाथि सोधिएको स्पष्टीकरणको सन्दर्भ पनि उल्लेख थियो । तर, पार्टीले उक्त प्रस्तावलाई छलफलमै लगेन । पछि महामन्त्री ढकालले त्यही प्रस्ताव पार्टी कार्यालयमा दर्ता गराएका छन् र अनुशासन समितिलाई बोधार्थ पठाएका छन् । समितिले यसलाई स्पष्टीकरणको जवाफका रूपमा स्वीकार गरेको छ ।
रास्वपा विधानअनुसार अनुशासन समितिले गर्ने कारबाही सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ । जस्ताको तस्तै अनुमोदन गर्ने वा त्यसलाई तोडमोड गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई हुन्छ । समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन । संयोजक देवकोटाले नेपाल प्रेससँग कुरा गर्दै केन्द्रीय कमिटी बैठकपछि मात्रै कारबाहीबारे सार्वजनिक जानकारी गराइने बताए ।
रास्वपाभित्र धेरै नेताहरू ढकालमाथि कडा कारबाहीको पक्षमा छन् । उनलाई साधारण सदस्यबाट समेत हटाउनुपर्ने कतिपयको माग छ । सभापति लामिछाने सतर्कता अपनाइरहेका छन् । बाहिर उत्पन्न हुन सक्ने प्रतिक्रियालाई समेत हेर्नुपर्ने उनको मनसाय छ ।
भोलिको केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा नै महामन्त्रीमाथि कारबाही हो । भोलिको बैठकमा महामन्त्री ढकाल सम्भवत अनुपस्थित रहनेछन् । उनले आफूमाथि गरिएको निलम्बन नै अवैधानिक रहेको दाबी गर्दै आएका छन् ।
ढकालनिकट स्रोतले भन्यो, ‘केन्द्रीय समितिले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानसमेत राम्ररी नहेरीकन निर्णय लिएको छ । स्पष्टीकरणका लागि दिइएको म्याद नसकिँदै कुनै कारबाही गर्न मिल्दैन ।’
महामन्त्री ढकालले चाहेमा अहिले पनि महामन्त्रीको कुर्सीमा बसेर कार्यसम्पादन गर्न कसैले रोकटोक गर्न नसक्ने पनि स्रोतको दाबी छ ।
‘उहाँको निलम्बन अवैध छ र उहाँ अहिले पनि महामन्त्री नै हो । चाहेमा महामन्त्रीको रूपमा अझै कार्यसम्पादन गर्न सक्नुहुन्छ । केन्द्रीय समिति बैठकमा जाँदा महामन्त्रीकै हैसियतमा बस्न पाउनुपर्ने हुन्छ । तर, उहाँ बबण्डर गर्ने पक्षमा हुनुहुन्न । त्यसैले बैठकमा नजाने सम्भावना छ,’ स्रोतले भन्यो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफ्नो समर्थन रहने बताए ।
उनले भने, ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ ।’
जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गर्ने उनले बताए । जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे ।
आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।
उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्यो धर्म निरपेक्षमता खतरामा पर्यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ।’
उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोई ?’
उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘जसलाई जे मन लाग्यो त्यही गरेको छ । त्यही भएर संविधान संशोधन गरौँ । यो संविधान गीता होइन । यो संविधान कुरान होइन यो संविधान बाइबल होइन । यो संविधान देशको हितमा छ भने संशोधन गरेर अगाडि बढौँ छैन भने धाराहरु कटौँती गरौँ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो चर्चित समीक्षा प्रतिवेदनको पूर्णपाठ हिजो आफैंले सार्वजनिक गरेका छन् । ३२ पेज लामो प्रतिवेदन पार्टीको आन्तरिक राजनीतिमा केन्द्रित छ ।
प्रतिवेदनमा डा. ढकालले पार्टीभित्रका थुप्रै कमीकमजोरीहरू औंल्याएका छन् । यही तरिकाले पार्टी उँभो नलाग्ने प्रतिवेदनको निष्कर्ष छ । साथै, प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि समेत प्रश्नहरू उठाइएका छन् । ढकालले आफूले भेटेका कार्यकर्ताहरूको हवाला दिएर यी प्रश्नहरू गरेका छन् ।
सभापतिमाथि उठाइएका १० सवाल
-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सीके राउत जस्तो ब्याकमा किन नबसेको ?
-जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ?
-सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।
-सभापतिको सचिवालयमा मृदुभाषी भएनन । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीतिक सम्भव छैन ।
-किन ग्यालेक्सीको टिम (पार्टीमा) धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?
-सरकारमा गएपछि सोचे अनुरुप फाइल किन खोलिएन ?
-निर्मलता पन्तलाई न्याय कहिले मिल्छ ?
-ब्लु बस र रोजगारको कुरा कता पुग्यो ?
-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ
-सीधाकुरा जनतासँग कार्यक्रममा बोलेको कुरा जनताले सम्झिराखेका छन् । तर, सभापतिले बिर्सिएजस्तो छ । पार्टीको मेरुदण्ड नै त्यही कार्यक्रम थियो । पार्टीमा सीधा कुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीयस्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिएर अरु राजनीति गर्न थाले ।
यतिमात्र नभएर मुकुलले सभापतिमाथि धेरै बोलेको आरोप पनि लगाएका छन् ।
‘पार्टीका केन्द्रीय नेताहरू, विशेषतः सभापतिले बोलीमा लगाम लगाउनुपर्ने र काम भइसकेपछि मात्र बोल्ने बानी विकास गर्नुपर्ने सुझावहरू प्राप्त भएका छन् । जीबी राईका सन्दर्भमा बोलिएका बोली, आज पार्टीका लागि सबैभन्दा ठूलो चुनौती भएको छ । तयारी र गुदीविना आश्वासनका पुलिन्दामात्र बाँड्दा ताली त पाइयो होला, तर यसले पार्टीलाई क्षति मात्र गर्यो । आउने चुनावसम्म पार्टीका नेताको बोलीका क्लीप्सहरू जताततै बजाइरहे हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनुपर्छ । बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानीबाहेक केही गरेन । जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको छ ।
काठमाडौं । पछिल्ला केही दिनहरूमा रास्वपा महामन्त्री डा. मुकुल ढकालका अभिव्यक्ति र रवैया पार्टीका धेरै नेता-कार्यकर्ताका निम्ति विस्मयपूर्ण छ । उपसभापति डा. स्वर्णिम वाग्लेले हिजो बैठकपछि पत्रकारहरूसँग भने, ‘उहाँले असामान्य, असहज र अप्राकृतिक व्यवहार देखाउनुभयो, मैले चिनेको डा. मुकुल ढकाल यस्तो होइन ।’
पार्टीको बैठक लाइभ गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै विरोधस्वरूप ढकाल दिनभरि मुखमा मास्क र कालो टेप लगाएर बसेका थिए । आफूले बनाएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा उनी चुइँक्क एक शब्द बोलेनन् । धेरैजसो केन्द्रीय सदस्यहरूले प्रतिवेदनको भन्दा पनि महामन्त्रीको कार्यशैलीको आलोचना गरे । साँझतिर आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन ढकाललाई सबैको दबाब पर्यो । तर, उनी फन्किएर हिँडिदिए । बाहिर पत्रकारसँग कडा स्टेटमेन्ट दिए, ‘ममाथि बैठकमा ह्यारेसमेन्ट भयो ।’
महामन्त्री ढकाल सीधै पार्टी सभापति रवि लामिछानेविरुद्ध खनिए । रविका विरोधीहरूले जस्ता शब्दहरूले उनलाई प्रहार गर्दै आएका छन्, ती शब्दहरू हिजो रास्वपा महामन्त्रीले प्रयोग गरे । रविलाई असक्षम करार गरिदिए । सभापतिले आफ्नो असक्षमता ढाकछोप गर्न महामन्त्रीमाथि दोष थोपर्न खोजेको आरोप लगाए । यस्तो आक्रामक प्रस्तुतिपछि पार्टीले मध्यरातसम्म बैठक लम्ब्याएर मुकुललाई पदबाट निलम्बन गरिदिएको छ ।
०००
रास्वपामा अस्ति भर्खरसम्म सभापति रवि लामिछानेका ‘दाहिने हात’ मानिन्थे मुकुल । रास्कोट अस्पताल निर्माण अभियानदेखि (यो अभियानका मुख्य पहलकर्ता उनी आफैँ हुन्) रविसँग जोडिएका उनी पार्टी निर्माणमा ‘डे वान’ देखि नै संलग्न थिए । तर, रविको ओझेलमा परेर उनलाई आफ्नो पृथक् पहिचान बनाउन मुस्किल भइरहेको थियो । रास्वपामा महामन्त्री एउटा शक्तिशाली पद भए पनि पार्टीबाहिर धेरैले उनलाई रविका एक सहयोगीका रूपमा मात्र चिन्थे ।
रविले पनि मुकुललाई अथाह विश्वास र संरक्षण समेत गर्दै आए । राजनीतिक अनुभवहीनताका बाबजुद सुरुमै प्रवक्ता र त्यसपछि महामन्त्रीजस्तो प्रभावशाली पद दिन तयार भए । महामन्त्रीमाथि प्रश्न उठ्दा जवाफ रविले दिन्थे । मुकुलमाथि प्रहार हुँदा रविले छाती थाप्थे । पार्टीभित्रका आलोचकको शब्दमा भन्ने हो भने रविले मुकुललाई ‘टाउकोमै टेकाएर राखेका’ थिए ।
मुकुलले हिजोका दिनसम्म रविलाई आदर्श पात्र मानेर निरन्तर टेवा दिए । तर, रवि उनले सोचेजस्तो सफल हुन सकेनन् । निरन्तर विभिन्न विवादमा परिरहे । रविको व्यक्तिगत लोकप्रियताको जगमा खडा भएको पार्टी उनको क्रेज घटेसँगै अधोगतिमा लाग्न थाल्यो । मुकुल विरक्त बन्दै गए । यही विरक्ति भावले उनलाई पछिल्लो समय मानसिकरुपमा खलबलाएको हुन सक्छ ।
त्यसो त मुकुलले पनि सभापतिप्रतिको बफादारी सम्भव भएसम्म निभाउँदै आएका हुन् । पार्टीप्रति उनको निष्ठा र समर्पणमा प्रश्न उठाउने ठाउँ छैन । पार्टी सञ्चालनमा उनको कठोर मिहिनेतलाई पनि सायदै कसैले नकार्न सक्छन् । रास्वपाको बीजारोपण पाँचजनाको कोर टीमबाट भएको थियो, जसमा थिए- रवि, डीपी अर्याल, विपीन आचार्य, दीपक बोहरा र डा. मुकुल ढकाल । यो कोर टीमबीच छुट्टै आत्मीयता, विश्वास र पारिवारिक वातावरण अहिलेसम्म कायम छ ।
अहिले मुकुलले देखाएको व्यवहार र प्रस्तुति थुप्रैका लागि आश्चर्यजनक भए पनि काेर टीमका लागि भने नौलो होइन । आफूहरूले मुकुललाई यस्तै रुपमा झेल्दै आएको पार्टीका एक पदाधिकारी बताउँछन् ।
‘उहाँको शैली पहिल्यैबाट अपरिपक्व र अराजनीतिक हो । आफूले जे भन्यो त्यही हुनुपर्छ, जसरी भन्यो त्यसरी हुनुपर्छ भन्ने मनोमालिन्यता एवं अधिनायकवादी चरित्र उहाँमा छ । अरूका कुरा सुन्ने र सबैलाई समेट्न सक्ने फराकिलो छाती कहिल्यै देखाउनु सक्नुभएन । तर, उहाँका सबल पक्षहरूलाई हेरेर अवगुणहरूलाई नजरअन्दाज गर्ने प्रयास गरियो,’ ती पदाधिकारीले भने ।
रविले काखी च्यापेको भएर पनि मुकुलविरुद्ध खुलेर उत्रिने हिम्मत कसैले गरेनन् । यो बीचमा रवि र मुकुलको सम्बन्ध चिसिएको, दूरी बढेको भेउ कसैले कहिल्यै पाएनन् । मुकुलले आफूप्रति यति धेरै आगो बोकेर बसेका छन् भन्ने सायद रविलाई पनि लागेको थिएन कि ?
पार्टी स्रोतका अनुसार मुकुल अलिकति बाउँठिन थालेको चाहिँ गत वर्ष जेठबाट हो । उनले ‘नयाँ युगको संकल्प’ नाममा एउटा राजनीतिक दस्ताबेज तयार गरेर पार्टीबाट पारित गराउन खोजेका थिए । तर, रास्वपाको सचिवालयले यो दस्ताबेज केन्द्रीय समितिमा छलफल लैजानु नै उपयुक्त नहुने भनेर सीधै खारेज गरिदियो । मुकुलले पार्टीभित्र खेपेको यो पहिलो झट्का थियो, किनकि यसअघि उनका कुनै पनि प्रस्ताव र प्रतिवेदन हुबहुजस्तै पारित हुने गरेका थिए । यद्यपि, त्यसबेला मुकुलले यसलाई ठूलो मुद्दा बनाएनन् ।
रास्वपा गत फागुनमा प्रचण्ड सरकारमा सहभागी भयो । पार्टी सरकारमा जाने कुरामा मुकुलको कुनै असहमति थिएन । चारजना मन्त्री चयनको प्रक्रियामा उनी आफैँ संलग्न थिए । तर, बिस्तारै मन्त्रीहरूको कार्यसम्पादनप्रति उनी असन्तुष्ट बन्न थाले । रास्वपाले सरकारमा गएर पफर्ममेन्स देखाउन नसकेको गुनासो गरे ।
मुकुलले पनि सभापतिप्रतिको बफादारी सम्भव भएसम्म निभाउँदै आएका हुन् । पार्टीप्रति उनको निष्ठा र समर्पणमा प्रश्न उठाउने ठाउँ छैन । पार्टी सञ्चालनमा उनको कठोर मिहिनेतलाई पनि सायदै कसैले नकार्न सक्छन् ।
खासमा मुकुल पार्टीका चार मन्त्रीहरूको लगाम आफ्नो हातमा राख्न चाहन्थे । उनीहरुलाई समन्वय मात्र नभएर कमाण्ड नै गर्न खोजेका थिए । व्यवहारिकरुपमा त्यो सम्भव भएन । पार्टीका मन्त्रीहरूले साप्ताहिकरुपमा आफूलाई ब्रिफिङ गर्नुपर्ने नियम उनले बनाए पनि मन्त्रीहरूले पालना गरेनन् । मन्त्रालयका दैनन्दिन कुराहरूमा पनि सचिवालयमार्फत हस्तक्षेप गर्न थालेपछि झिँजो मान्दै मन्त्रीहरूले महामन्त्रीलाई भाउ दिन छोडे । यो मुकुललाई सैह्य भएन । त्यसपछि उनले मन्त्रीहरूले काम गर्न नसकेको सार्वजनिक टिप्पणी गर्न थालेका हुन् ।
गत वैशाखमा भयो- उपचुनाव । रास्वपाको क्रेज खस्किएको छ वा छैन भनेर जाँच्ने लिट्मस टेस्ट पनि थियो यो । चुनावमा रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो भए । खासमा रास्वपाले उम्मेदवार चयनमा नै ब्लन्डर गरेको थियो । पार्टीमा योग्य उम्मेदवार हुँदाहुँदै ‘जसरी पनि चुनाव जित्ने’ भनेर पार्टीको एजेन्डा भन्दा विपरीत विचार बोकेका व्यक्तिलाई खडा गरियो । उनले जमानत पनि जोगाउन सकेनन् ।
यही उपचुनावदेखि पार्टीमा मुकुलको फरक रवैया प्रकटरुपमा देखिन थालेको एक केन्द्रीय सदस्य बताउँछन् । पार्टीको उम्मेदवार चयनमा मुकुल आफैँ प्रमुख भूमिकामा थिए । तर, के कति कारणले हो उनी चुनावमा निष्क्रिय बनिदिए । इलाममा पार्टीको स्थिति कमजोर रहेको अनुमान उनले गरिसकेका थिए । चुनावी अभियानमा इलाम एक पटक पुगे, तर कुनै पनि सभामा भाग लिएनन् । उनलाई वक्ताको सूचीमा राखिँदा पनि बोल्न अस्वीकार गरेका थिए ।
चुनावी हारपछि उनले यसको कारकतत्व मन्त्रीहरूलाई ठहर्याए । नेपाल प्रेससँगको अन्तरवार्तामा उनले भनेका थिए, ‘सरकारमा गएर पनि पर्फमेन्स देखाउन सकिएन, त्यसैले जनताले हाम्रो घण्टी बजाइदिए ।’ मुकुलले आफ्नै पार्टीप्रति आलोचनात्मक दृष्टिकोण राखेर दिएको सम्भवतः यो पहिलो अन्तरवार्ता थियो ।
चुनावी नतिजाबारे छलफल गर्न बसेको रास्वपा बैठकले समीक्षा प्रतिवेदन लेख्न महामन्त्रीलाई जिम्मेवारी दियो । महामन्त्री ढकालले प्रतिवेदन लेख्नुअघि देश दौडाहा गर्ने प्रस्ताव राखे । पार्टीले यसलाई स्वीकार गर्यो । ग्रासरुटमै गएर आफ्ना कार्यकर्ता र जनताको भावना बुझेर आउँछु भन्दा पार्टीले नकार्ने कुरा पनि थिएन ।
एक महिना लगाएर ३८ जिल्ला पुगेका मुकुलले सोचेजस्तो माहोल पाएनन् । पार्टी कार्यकर्ताहरूले आफूलाई जुनरुपमा स्वागत गर्छन् भन्ने ठानेका थिए, त्यो अपेक्षा पूरा भएन । कतिपय जिल्लामा उनले आलोचना र विरोधको सामना पनि गर्नुपर्यो । उनी निराशाको भारी बोकेर फर्किए । यो निराशा उनको प्रतिवेदनमा छचल्किएको छ ।
२०८१ असार १९ मा महामन्त्री ढकालको प्रतिवेदनमा छलफलका लागि बसेको केन्द्रीय समिति बैठक ।
महामन्त्री डा. ढकालले प्रतिवेदन पार्टीमा बुझाउनुअघि यसका केही अंशहरु नियतवश मिडियामा चुहावट गरेका थिए । हुन त पारदर्शीताको वकालत गर्ने पार्टीले आफ्नो समीक्षा प्रतिवेदन मिडियामा आउँदा आपत्ति मान्नुपर्ने विषय थिएन । त्यसमाथि सभापतिले नै प्रतिवेदन हुबहु सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसकेका छन् । तर, महामन्त्रीले नै अर्को चुनावमा पार्टीले राष्ट्रिय मान्यता पाउन कठिन रहेको निष्कर्ष निकाल्दै मिडियाबाजी गर्दा त्यसले पार्टी पङ्तिमा फैलिने निराशा र जनमानसमा पर्ने प्रभावको पाटो पनि छ । साथै, महामन्त्री ढकालको यो निष्कर्ष दुराशयपूर्ण र अतिरञ्जित रहेको विश्लेषण पनि नेताहरूले गरिरहेका छन् ।
समीक्षा यात्रामा जाँदा पार्टी कार्यालयमा सभापतिको हातबाट दही खाएर धूमधामले बिदाई भएका महामन्त्री ढकालले प्रतिवेदन भने गृह मन्त्रालयमा गएर बुझाउनुपर्यो । गृहमन्त्री तथा पार्टी सभापतिसँग वान टु वाट बैठकमा उनले डेढ घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए ।
जे होस, यो प्रतिवेदनले महामन्त्री ढकाललाई एकाएक चर्चा र विवादमा ल्याइदिएको छ । यसअघि पार्टीभित्र सर्वेसर्वाजस्तै भए पनि पार्टीबाहिर उनी खासै परिचित हुन सकेका थिएनन् । अहिले उनी मिडियाका लागि हट केक बनेका छन् । तर, उनको राजनीतिक यात्रा भने संकटको भुमरीमा फसेको छ । सामाजिक सञ्जालमा एउटा तप्काकाे वाहवाहीले उनको हौसला बढाएको देखिन्छ । तर, दीर्घकालीन हिसाबले हेर्दा उनले निकै क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।
मुख्य त मुकुलमाथि के प्रश्न उठ्छ भने यदि पार्टी तीव्र रूपले अधोगतिमा गएको हो भने त्यसको एक प्रमुख हिस्सेदार उनी स्वयम् हो कि होइनन् ? यदि गणेश कार्कीले यस्तो प्रतिवेदन लेखेर मिडियाबाजी गरेको भए अस्वाभाविक नहुन सक्थ्यो, जसले निरन्तर पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् । तर, मुकुल त रास्वपाका असन्तुष्ट वा विद्रोही नेता होइनन् । हिजोका दिनसम्म पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँडसम्ममा उनी पूर्णरुपमा हाबी थिए । रास्वपाका मुख्य संस्थापन भनेकै मुकुल हुन् । यदि उनले प्रतिवेदनमा यथार्थ चित्रण नै गरेका हुन् भने त्यसकाे मुख्य जिम्मेवारी आफैंले लिन तयार हुनुपर्छ, अरुमाथि दोष थोपर्दै हिँड्न सुहाउँदैन । पार्टीभित्र छलफल नगरी आफूखुसी प्रतिवेदनबारे बोल्दै हिँड्नु पनि ठीक भएन ।
एक महिना लगाएर ३८ जिल्ला पुगेका मुकुलले सोचेजस्तो माहोल पाएनन् । पार्टी कार्यकर्ताहरूले आफूलाई जुनरुपमा स्वागत गर्छन् भन्ने ठानेका थिए, त्यो अपेक्षा पूरा भएन । कतिपय जिल्लामा उनले आलोचना र विरोधको सामना पनि गर्नुपर्यो । उनी निराशाको भारी बोकेर फर्किए । यो निराशा उनको प्रतिवेदनमा छचल्किएको छ ।
रास्वपाभित्र मुकुलले कसैको मन जित्न सकेका रहेनछन् भन्ने पनि देखियो । ५२ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा ५१ जनाले उनीमाथि कारबाहीको निर्णयमा हस्ताक्षर गरेका छन् । एकाधबाहेक कसैले पनि उनको बचाउ गर्न खोजेनन् । यतिबेला मिडिया र सामाजिक सञ्जालमा पाइरहेको क्षणिक चर्चा र सहानुभूतिबाट आत्ममुग्ध नभईकन मुकुलले आफ्नै राजनीतिको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने भएकाे छ । यदि राजनीतिमा लामो रेसको घोडा हुन चाहन्छन् भने आफूलाई पदीय मर्यादा र अनुशासनको एउटा सिमानाभित्र कैद गर्नैपर्छ ।
रास्वपाले अहिले मुकुललाई ७ दिनको लागि निलम्बन गरेको छ । मुख्य कारबाही भने हुनै बाँकी छ । अनुशासन आयोगले ७ दिने स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको निर्णय लिइयो । यो हतारो पार्टीले नगरेको भए पनि हुन्थ्यो । हुन त रविले सकेसम्म प्रक्रियासम्मतरुपमा नै जान जोडबल गरेका थिए । तर, सिंगो केन्द्रीय समिति नै उनलाई अब एक छिन पनि महामन्त्री मान्न नसक्ने स्थितिमा देखियो ।
०००
अन्त्यमा, मुकुलको कोणबाट पनि सोचौँ । उमेरले युवा नै छन् । केही गर्छु भन्ने हुटहुटी बोकेर राजनीतिमा आएका हुन् । शैलीमा प्रश्न उठाउने धेरै ठाउँ भए पनि उनको नियतमा सायद खोट छैन ।
क्यान्सरजस्तो घातक रोगलाई जितेर आएका मुकुलले जीवनमा गर्न बाँकी धेरै छ । एकदमै अनुभवहीनताको स्थितिबाट महामन्त्रीजस्तो चुनौतीपूर्ण पद सम्हाले । प्रवक्ता र महामन्त्री भएर उनले राजनीति सुरु गरेका हुन् । त्यसैले कमीकमजोरीहरू भए होलान् । छोटो समयमा धेरै कुरा सिकिसकेका छन् । आफूलाई परिपक्व एवं परिष्कृत गरेर लैजान धेरै समय उनीसँग छ । केही हदसम्म बौद्धिक पनि छन् । कुनै पनि विषयवस्तुलाई गहिराइमा गएर बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्छन् ।
मुकुलले हिजोका दिनसम्म रविलाई आदर्श पात्र मानेर निरन्तर टेवा दिए । तर, रवि उनले सोचेजस्तो सफल हुन सकेका छैनन् । निरन्तर विभिन्न विवादमा परिरहे । रविको व्यक्तिगत लोकप्रियताको जगमा खडा भएको पार्टी उनको क्रेज घटेसँगै अधोगतिमा लाग्न थाल्यो । मुकुल विरक्त बन्दै गए । यही विरक्ति भावले मुकुललाई पछिल्लो समय मानसिकरुपमा खल्बलाएको हुन सक्छ ।
हिजो उनले भनेका छन्, ‘मैले रवि लामिछानेले देश बनाउँछ भनेर साथ दिएको हुँ । उहाँलाई नेता होइन, राजनेता बनाउन खोजेको थिएँ । तर जानेर–नजानेर उहाँ विभिन्न चंगुलमा फस्नुभयो ।’
मुकुलले अब के गर्छन् भन्ने जिज्ञासा धेरैलाई छ । अहिलेसम्म उनले रास्वपा त्याग्ने मनस्थिति बनाएको बुझिँदैन । अर्को पार्टी प्रवेश गर्ने कुनै योजना सुनाएका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति उनको व्यक्तिगत अनुराग प्रकट हुँदै आएको छ । भोली बालेनले पार्टी खोले भने त्यसमा मिसिने एउटा सम्भावना रह्यो । तर, कुनै पनि पार्टीमा लागेर उनले यो स्पेस पाउन कठिन छ, जुन रास्वपामा पाइरहेका थिए ।
अझै पनि समय घर्किसकेको भने छैन । मुकुलले आफ्ना कमिकमजोरीहरुको रियलाइजेसन गरेर अनुशासन आयोगलाई चित्तबुझ्दो स्पष्टीकरण बुझाए भने सायद पार्टीले पनि कठोर कारबाहीको निर्णय नलिन सक्छ । होइन, मेरो गोरुको बाह्रै टक्का जस्तो प्रवृत्ति देखाए भने रास्वपामा टिक्न उनलाई कठिन हुने छ ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ ।
सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको स्रोतले बतायो । अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । हेर्दाहेर्दैमा रहेको सुनुवाईमा बिहीबार जवाफी बहस सकिएको हो ।
सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो । असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । तर, स्थगितमा परेपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो ।
काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।
प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ ।
आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।
बैठकमा सहभागी रास्वपाका एक नेताले तत्काल मन्त्रीहरुको राजीनामा आउने सम्भावना नरहेको बताए ।
रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका छन् ।
एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट नबाहिरिने सम्भावना बढेको उनले बताए ।
भेटमा रवि लामिछाने,स्वर्णिम वाग्ले,डिपी अर्याल,सन्तोष परियारलगायत नेता सहभागी छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा।मुकुल ढकाललाई निलम्बन गर्ने निर्णयमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् ।
बुधवार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बनको निर्णय गरेको थियो ।
बैठकमा एक जनाबाहेक सबै केन्द्रीय सदस्य र पदाधिकारीले ढकालको गतिविधि पार्टी हितविपरिति रहेको भन्दै उनलाई कारवाहीको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमा बताएका थिए ।
५२ जना उपस्थित बैठकमा ढकालमाथि कारवाहीको विपक्षमा उभिने एकमात्र केन्द्रीय सदस्य निशा डाँगी थिइन् । उनले बैठकमा यसरी कारवाही गर्दै जाँदा पार्टी कहाँ पुग्ला भन्दै ढकालमाथि यस्तो व्यवहार नगर्न सुझाव दिएकी थिइन् ।
यसैबीच डाँगीले आफूले प्रतिवेदनका धेरै कुरा ठिक छन् भनेर बैठकमा राखे पनि कारवाही गर्न हुन्न भनेर लिखित असहमति नराखेको बताएकी छन् । नेपाल प्रेससँग कुरा गर्दै सांसद डाँगीले आफूले निर्णयमा सही गरेको र फरक मत नराखेको बताइन् ।
बैठकमा अर्का केन्द्रीय सदस्य तथा सांसद असिम शाहले पनि मुकुलमाथि कारवाहीको सन्दर्भमा उनलाई सहयोग र सुधारको आवश्यकता रहेको बताएका थिए । उनको स्वास्थ्यको विशिष्ठ प्रकारको समस्या दर्शाउँदै शाहले प्रतिवेदनमा भन्दा पनि ढकालको प्रक्रियामा मात्र असहमति जनाएका थिए ।
ढकालले बैठकमा आफ्नो कुरा राख्नुको साटो टेप टाँसेपछि वातावरण बिग्रिएको उनको भनाइ थियो । यद्यपी निलम्बन कारवाही गर्ने पक्षमा उनी पनि नरहेको बताइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका ४ जना मन्त्री छन् । मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्ताेष परियार पनि बालुवाटार पुगेका छन् ।
सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन् । साथै सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् ।
सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेकाे छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे हाे। साथै महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेकाे छ ।
उनीमाथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् ।
बिहान ८ बजेदेखि बसेकाे वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएकाे हाे ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन हुबहु सार्वजनिक गर्ने भएको छ । आज जारी केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
बैठककै बीचमा बाहिर निस्किएका सहप्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेको उल्लेख गरे । बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको उनले बताए ।
उनले भने, ‘बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिज्यूले नै बैठकमा राख्नुभएको थियो । तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गर्नुभयो । हामीले प्रतिवेदन हेर्न नपाएको हुँदा पहिले यसबारे छलफल गरौं भन्ने कुरा भएको छ ।’
बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको उनले बताए । महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेको उनले उल्लेख गरे ।
महामन्त्रीलाई हटाउने तयारी गरिएको भनेर आएको समाचार उनले खण्डन गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले केन्द्रीय कार्यालय बालाजुमा जारी छ । बैठकमा रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ। त्यसमाथि अहिले छलफल भइरहेको छ ।
तर, पार्टी सभापति रवि लामिछानेले बैठकमा आफ्नो लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति दिएको बताएका थिए । पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएपनि आज सभापतिले रोकेको आरोप लगाएका थिए । तर, प्रतिवेदनमाथि छलफल सकिएपछि यो प्रस्तामाथि छलफल हुने जनाइएको छ ।
उनले आफ्नो प्रतिवेदन सार्वजनिक गर्न र बैठक लाइभ गर्नुपर्ने माग राख्दै आज कालो टेप मुखमा बाँधेर पुगेका थिए । सभापतिले रोकेको भनिएको प्रस्तावमा सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘गुप्तबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौँ भन्नुहुन्छ भने पनि म तयार छु । तर, त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने , के नगर्ने ? यसको विधि के ? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बसौं । पार्टीका लागि एक पटक घोत्लिएर सँगै बसौं । सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं ।’
बौद्धिक नागरिक समाजको सहयोग खुलेर नै लिएर पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने भनेका छन् ।
प्रस्तावमा उल्लेख छ, ‘आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’
काठमाडौं । रास्वपा महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनमाथि पार्टीका नेताहरूले लगाएको आरोपमाथि आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस् ।’
देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको उल्लेख गरेका छन् ।
प्रस्तावमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो। म जान पाइन, एक जना नारी जाने ? मेरो साटो भनेर रडाको मच्याउँदा पनि , सायद मुकुल ढकालसँग जोडिएको विषय हो , कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’
पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।
काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति लामिछानेले रोकेको आरोप महामन्त्री ढकालले लगाएका छन् । तर रास्वपा एक नेताले भने बाहिर आएको हल्ला गलत रहेको बताए ।
उनले भने- मुकुल ढकालले केहीबेर अघिमात्रै सबै मिडिया कसरी हल्लाइदिन्छु भनेर चुनौती दिएका थिए । नभन्दै त्यसैगरी एकतर्फी समाचार आयो ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको बताएका छन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे ।
महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरे ।
प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिए।
उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’
हिजो गृहमन्त्रीले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए।
उनले गिरीबन्धुसहित सबै भ्रष्टाचारको फाइल सरकारले खोल्ने जिकिर गरे।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसिरहेको छ । महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथिको छलफल आजको बैठकको मुख्य एजेण्डा छ ।
वनस्थलीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ । यसअघि पार्टी कार्यालयअगाडि नियमित सुरक्षा हुने गरेकोमा आज बैठक बसिरहेको पाँचौ तलामै प्रहरीहरू पुगेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको रहेको रास्वपामा महामन्त्रीले बुझाएको प्रतिवेदनले तरंग ल्याएको छ ।
ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका छन् । उनले निकालेको निचोड पार्टीका निम्ति सुखद छैन । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ । आन्तरिक कुरा मिडियावाजी गरेको भनेर ढकाललाई स्पष्टीकरणसमेत सोधिएको थियो ।
आजको बैठकमा प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।
बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् ।
बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन् ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे छ ।
साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी थियो । ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।
सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइको मिति आजलाई तोकिएकोमा आज पनि मुद्दा हेर्दाहेर्दैमा परेको छ । मुद्दाको सुनुवाइ अब भोलि हुनेछ ।
सर्वोच्च स्रोतका अनुसार अब एकजनाको मात्र बहस बाँकी छ ।
रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।
सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे ।
उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’
दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला ? यति पनि बुझ्न सकिँदैन र ? जनताले राम्रोसँग बुझेका छन् ।’
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज अन्तिम बहस हुँदैछ ।
सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यो दिन बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अब विपक्षी रविका तर्फबाट मात्र बहस बाँकी छ ।
रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।
सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् ।
उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्र्तवार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् ।
‘टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरी अर्को एउटा समुह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरु राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरु राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर’, उनले भनिन्, ‘शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरुको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलिय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’
मन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । ले एसईईमा विद्यार्थी अनुत्तिर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन् ।
‘एसईईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महशुस गर्नुपर्छ । र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? दश वर्ष अगाडी त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि ईसीडिमा थियो’, उनले भनिन्, ‘त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरु फेल भएको भन्दापनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ ।’
उनले अर्को वर्ष गर्नुपर्ने सुधारका कामहरु के–के हुन् ? भन्ने विषयमा ध्यान दिनुपर्ने बताइन् ।
‘कार्यविधिहरु छन् । त्यसको कार्यान्वयमा हामी हरेक तहबाट के गर्न सक्छौँ ? सरकारलाई कुरेर मात्रै हुँदैन । सबै जनाको दायित्व हो । स्कुलमा फोन गरेर हुन्छ, निर्वाचन क्षेत्रको अनुगमन गरेर हुन्छ, त्यसमा शिक्षकहरुलाई कक्षकोठामै राख्नुप¥यो । संरचनागत सुधारका काम गर्नुपर्छ । शिक्षामा सदैव गुणस्तरका लागि खबरदारी गर्नुपर्छ’, मन्त्री श्रेष्ठले भनिन् ।
मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरुको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन् ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अदालनमा विचाराधीन मुद्दाको विषयमा आफू नबोल्ने बताएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राखेका थिए ।
पौडेलले गृहमन्त्रीलाई सोधे, ‘गृहमन्त्री रवि लामिछानेको पासपोर्टबारेमा महान्यायाधीवक्ताले गरेको निर्णयका सम्बन्धमा सरकारको के धारणा छ? साथै पछिल्लोपल्ट सहकारी प्रकरणमा सोही कार्यालयले क्लिन चिट दिने संवैधानिक र कानुनी प्रावधान कहाँ के कस्तो छ ? सरकारले यसलाई नजिर मानेको हो । होइन भने महान्यायाधिवक्तालाई पदीय आचारण विपरीत कार्य गरेको अभियोगमा कारबाही किन नगर्ने ?’
सांसद पौडेलको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ‘यो दुवै विषयमा अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दाबारे सदनमा बोल्न उपयुक्त नहोला ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्र उनीमाथि सम्भावित कारबाहीको चर्चा व्यापक भएको छ । शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो ।
आफ्नो समिक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । आयोगका अध्यक्ष यज्ञमणी न्यौपानेले स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।
महामन्त्री डा. ढकालले अहिलेसम्म स्पष्टीकरण पत्र नपढेको बताए । स्पष्टीकरण पत्र आज पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने उनको भनाइ छ ।
‘आयोगले महामन्त्रीलाई स्पष्टीकरण सोध्न मिल्छ कि मिल्दैन भन्ने पनि प्रश्न छ । जे भए पनि मेरो जवाफ केन्द्रीय समिति बैठकमा नै आउँछ’, उनले भने ।
रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा महामन्त्री ढकालमाथि ‘कारबाही’ को निर्णय हुन सक्ने आंकलनहरु पनि भइरहेका छन् । उनलाई पदबाट बर्खास्त गर्नेदेखि निलम्बनमा राख्नेसम्मका विकल्पहरुबारे चर्चा भइरहे पनि मुर्तरुपमा केही आएको छैन । रास्वपामा महामन्त्री नियुक्त गर्ने र हटाउने एकाधिकार विधानले सभापतिलाई दिएको छ ।
सभापति लामिछानेले महामन्त्रीको विषयमा केन्द्रीय समितिले नै निर्णय लिने बताइरहेका छन् । स्रोतका अनुसार समिक्षा प्रतिवेदन बुझाउनुअघि र बुझाइसकेपछि ढकालले अनावश्यक मिडियाबाजी गरेको भन्दै उनी असन्तुष्ट छन् ।
सभापति निकट स्रोतले भन्यो, ‘पछिल्ला अभिव्यक्तिहरु हेर्दा उहाँले आफूमाथि कारबाहीका आधारहरु आफैंले बढाउँदै लानुभएको देखिन्छ । यसपटक सभापतिज्यू उहाँलाई संरक्षण गर्ने पक्षमा हुनुहुन्न ।’
महामन्त्री ढकालले पार्टीको बुधबार बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग अघि सारेका छन् । यो माग पूरा हुने सम्भावना क्षीण रहेको स्रोतको भनाइ छ ।
‘बैठकको गोपनियता कायम राख्नुपर्छ भनेर विगतमा कडिकडाउ गर्ने उहाँ नै हो । अहिले मिडियामा सहानुभूति खोज्नका लागि वैठक लाइभ गर्नुपर्छ भनिरहनुभएको छ । पार्टीका यस्ता आन्तरिक वैठक लाइभ गर्न सम्भव हुँदैन,’ स्रोतले भन्यो ।
रास्वपामा महामन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्टिहरु थिए । अहिले पदाधिकारी र केन्द्रीय समितिका केही सदस्यहरु उनलाई पदबाटै हटाउनुपर्ने पक्षमा रहेका छन् । केहीले चाहीँ अहिले बर्खास्त गर्दा प्रतिवेदनसँग जोडेर गलत सन्देश जाने बताएका छन् ।
डा. ढकाल भने पार्टीमा लोकतान्त्रिक अभ्यास हुनुपर्ने बताउँछन् । पार्टीको विधानमै ‘बहुलवादी लोकतान्त्रिक पार्टी’ लेखिएको हुँदा फरक धारणा र विचार आउनासाथ कारवाहीको कुरा गर्नु विधान विपरित हुने उनको तर्क छ ।
उनी भन्छन्, ‘पार्टीले नै वस्तुस्थितिको निर्मम समीक्षा गर्न भनेर पठाएको हो । आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दा कारबाही भोग्नुपर्छ होला जस्तो लाग्दैन ।’
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरु सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताएका छन् ।
नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले सबै नेताहरुलाई जनजीविकाको सवालमा एकै ठाउँमा उभिन कसैले नरोकेको बताए ।
उनले भने, ‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ । यो नेताहरुलाई देश बनाउन कसले रोक्छ ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो ? बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला ? तर, हामीलाई कसैले रोकेको छैन ।’
राष्ट्रिय मुद्दामा छलफल गर्नको लागि सर्वदलीय बैठक राख्न आग्रह गरेका छन् । उनले नेताहरुले भनेजस्तो लोकतन्त्रमा कुनै खतरा नभएको जिकिर गरे ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले हालै देश दौडाहा गरेर सभापति रवि लामिछानेलाई ‘समीक्षा प्रतिवेदन’ बुझाए । उक्त प्रतिवेदनमै उनले भनेका छन्- ‘सत्य उजागर गरेबापत मेरो महामन्त्री पदको मृत्यु हुन सक्छ वा मलाई घोक्रेठ्याक लगाइन सक्छ ।’
रास्वपाको सचिवालय बैठकले नै निर्णय गरेर महामन्त्री डा. ढकाललाई ‘समीक्षा यात्रा’ मा पठाएको थियो । ग्रासरुटसम्म पुगेर पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको अभिमत बुझेका ढकालले निर्मम विश्लेषण सहितको प्रतिवेदन सभापतिलाई बुझाएका हुन् । प्रतिवेदन सार्वजनिक नहुँदै यसका केही अंशहरु मिडियामा आएपछि पार्टीमा तरंग उब्जेको थियो ।
यो प्रतिवेदनमा रास्वपाले गत चुनावमा हासिल गरेको जनमत धराशायी बनिसकेको तितो निष्कर्ष प्रस्तुत गरिएको छ । डा. ढकालले स्पष्ट शब्दमा भनेका छन् कि रास्वपा अर्को विवेकशील बन्ने बाटोमा छ । आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मे-हम्मे पर्न सक्ने उनले विश्लेषण गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’
प्रतिवेदनको यो निष्कर्षले सामाजिक सञ्जालमा डा. ढकाल पार्टीभित्र भुमरीमा परेका छन् । सामाजिक सञ्जालमा धेरैले उनलाई ‘यथार्थको ऐना देखाउने साहस गरेको’ मा सराहना गरे पनि पार्टीपंतिमा भने तीव्र असन्तुष्टि पाइएको छ । आफ्नो पद संकटमा परेपछि सहानुभूति बटुल्नका लागि स्थितिलाई अतिरञ्जितरुपमा प्रस्तुत गरेको बुझाइमा रास्वपाका प्रायः नेता-कार्यकर्ताहरू छन् । सभापति रवि लामिछाने भने तटस्थ देखिन्छन् । ढकालबाट प्रतिवेदन बुझ्दा उनले कुनै असहज प्रतिक्रिया जनाएनन् ।
उनले पत्रकारसँग भनेका थिए, ‘हामीले निर्मम भएर नै आत्म समीक्षा गर्नुपर्छ । समस्याको पहिचान भएपछि नै उपचार हुने हो । हामी यो प्रतिवेदनलाई छलफलको विषय बनाउने छौँ ।’
महामन्त्री ढकाल आफ्नो प्रतिवेदन आमजनतामाझ सार्वजनिक होस भन्ने चाहेका छन् । उनले प्रतिवेदन हस्तान्तरण गर्दा सभापतिलाई छुट्टै पत्र दिएर यसलाई सार्वजनिक गर्न माग गरेका थिए । सभापतिले सकारात्मक जवाफ दिएको उनको दाबी छ ।
रास्वपाले यो प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ । पार्टी स्रोतका अनुसार यो बैठक महामन्त्री डा. ढकालको राजनीतिक जीवनका लागि महत्त्वपूर्ण हुन सक्नेछ ।
महामन्त्री डा. ढकाल रास्वपाका असन्तुष्ट नेता होइनन् । उनी पार्टी संस्थापनका एक मुख्य व्यक्ति हुन् । आफ्नो विश्वासपात्र भएका कारण नै सभापति लामिछानेले राजनीतिक अनुभव नभएका एक मेडिकल डाक्टरलाई सुरुमै महामन्त्रीजस्तो गह्रुँगो जिम्मेवारी सुम्पेका थिए । आत्मविश्वासी र निर्भीक स्वभावका ढकालले काम गर्दै, सिक्दै अगाडि बढे । छोटो समयमै राष्ट्रिय राजनीतिभित्र परिचित बने ।
रास्वपाको नीति निर्माण तथा तलदेखि माथिसम्म जिम्मेवारी बाँडफाँडमा डा. ढकाल हाबी हुने गरेका छन् । लामिछाने गृहमन्त्री भएपछि सरकारको काममा केन्द्रित हुनु परेकाले पार्टीको कमान्ड उनकै हातमा छ । अहिलेसम्म उनको कुनै पनि कुरा सभापतिले नकारेका छैनन् । उनले पार्टीमा अघि सारेका प्रस्तावहरू अपवादबाहेक सबै पारित हुँदै आएका छन् ।
पार्टीका एक केन्द्रीय सदस्यको भनाइमा महामन्त्री डा. ढकालप्रति माथिदेखि तलसम्मका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दो छ । महामन्त्रीको जिम्मेवारी उनले थेग्न नसकेको भन्दै उनलाई जिम्मेवारीबाट हटाउनुपर्ने प्रेसर पदाधिकारी र केन्द्रीय सदस्यबाट सभापतिमा बढिरहेको ती केन्द्रीय सदस्य बताउँछन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘सभापतिज्यूले आजका दिनसम्म महामन्त्रीलाई चाहिनेभन्दा बढी महत्त्व दिनुभयो । थाम्न सक्नेभन्दा ठूलो भारी बोकाउनुभयो । तर, अहिले महामन्त्रीलाई कारबाही गर्न उहाँमाथि चर्को दबाब छ । आफैँ पार्टी चलाउने र आफैँ यस्तो प्रतिवेदन बनाएर निराशा फैलाउन खोजेकोप्रति केन्द्रीय सदस्यदेखि सभापतिसम्म सन्तुष्ट छैनन् ।’
अहिलेसम्म सभापतिले महामन्त्रीलाई निरन्तर संरक्षण गर्दै आएको भए पनि अब भने सोच्न बाध्य भएको ती केन्द्रीय सदस्यले दाबी गरे । महामन्त्रीका सन्दर्भमा पार्टीले नै निर्णय लिने सभापति लामिछानेले बताउन थालेका छन् ।
पार्टीका एक पदाधिकारीले आफ्नो असमर्थता ढाकछोप गर्नलाई महामन्त्रीले निराशाको खेती गरेको टिप्पणी गरे ।
उनी भन्छन्, ‘सभापति सरकारमा गएपछि पार्टी उहाँकै हातमा छ । तर, पार्टी सञ्चालनका लागि आवश्यक नेतृत्वदायी गुणहरू देखाउन सक्नुभएको छैन । बालेनको जस्तो आफूले भनेको जे पनि हुनै पर्छ भन्ने अधिनायकवादी सोच छ । यसले गर्दा पार्टीमा आफूप्रति चरम असन्तुष्टि भएपछि यस्तो प्रतिवेदन ल्याएर आफैँले बहिर्गमनको वातावरण बनाउन खोज्नुभएको हुन सक्छ ।’
आफू देश दौडाहामा जाँदा पार्टी कार्यकर्ताहरूबाट सोचेजस्तो स्वागत नपाएपछि निराश बनेको हुनसक्ने समेत उनले टिप्पणी गरे ।
डा. ढकाल भने आफू कुनै पनि किसिमले बहिर्गमनको सोचमा नरहेको बताउँछन् ।
‘हामीले नै जन्माएको पार्टी हो, छोडेर हिँड्ने कुरै हुँदैन,’ उनले नेपाल प्रेससँग भने, ‘मैले त पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर सोच्ने हो । रोग पत्ता नलगाईकन यसको निवारण हुन सक्दैन । मेरो प्रतिवेदनले रोग पत्ता लगाएर समाधानको उपाय पनि सुझाएको छ । कतिपय ममाथि उठेका प्रश्नहरूको जवाफ पनि छन् । त्यसैले सार्वजनिक होस भन्ने चाहेको छु ।’
रास्वपाका अरू थुप्रै नेताहरूजस्तै डा. ढकालसँग पनि यो पार्टीमा लाग्नुअघि राजनीतिक अनुभव थिएन । उनी मेघा अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जागिर छोडेर रास्वपामा संलग्न भएका हुन् ।
कालिकोटको रास्कोट अस्पताल निर्माणका क्रममा उनी रविसँग निकट बनेका थिए । ढकालकै पहलमा यो अस्पताल निर्माण अघि बढेको थियो । क्यान्सर सर्भाइभर समेत रहेका ढकाललाई निकटस्थहरुले उच्च आत्मबल भएका इमान्दार र जुझारु युवाका रूपमा चिन्ने गर्छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका छन्।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने बताए।
उनले भने, ‘महामन्त्रीले प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर नै उहाँलाई खटाएको हो। उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौँ।’
काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका साउदले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको जिकिर गरे।
उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन्। यसरी नियुक्ति गर्दा खेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन। त्यस कारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ। केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ।’
उनले केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गरेकोप्रति असन्तुष्टि जनाए।
उनले थपे, ‘दलहरूले विज्ञापन निकालेर। यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ। त्यस कारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ। फिर्ता लिनुपर्छ।’
काठमाडौं । महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठूलो तरंग ल्याएको छ। ३८ जिल्लाका नेता कार्यकर्तासँग भेटघाटपछि महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राले रास्वपामा नयाँ तरंग ल्याएको हो।
महामन्त्री ढकालको प्रतिवेदनमा आज पार्टीको वर्तमान जनमतको आधारमा आज नै चुनाव हुने हो भने हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सिट जित्न सक्ने उल्लेख छ।
भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने तर्क गरेका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन्। मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ ।’
तर, महामन्त्री ढकालको यो प्रतिवेदनमा रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले समर्थन जनाएका छन्।
उनले भनेका छन्, ‘फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म । रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु ।’
पार्टीको विधि, चरित्र र बाटोको बारेमा आफूले उठाइरहेको विषयमा महामन्त्री ढकाल पनि आइपुगेको उनको भनाई छ।
उनले भनेका छन्, ‘सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभाबी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचिमिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरु कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।’
पार्टीले आफ्ना गल्ती सुधारेर अघि बढे पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर नसकिने बताए।
‘अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण म छु। नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने’ उनले भनेका छन्, ‘यदि कोही तपाईँ सामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला। पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू सुरुदेखि सुधार गरेर।’
नेता कार्की पार्टी सभापति रवि लामिछानेदेखि शीर्ष नेताहरूको चर्को आलोचक हुन्। उनी पार्टी सरकारमा गएकोप्रति पनि सन्तुष्ट छैनन्।