Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    बैठक  आज बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

    बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ ।

  • राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउँदै गयो : रास्पाका प्रमुख सचेतक परियार  (भिडिओ)

    राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउँदै गयो : रास्पाका प्रमुख सचेतक परियार (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानको रक्षा कसले गर्छ भन्दै संसदमा प्रश्न गरेका छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उनले सरकारले नै संविधानको भावना विपरीत सरकारले काम गर्दै जाने हो भने कसले संविधानको रक्षा गर्ने भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने, ‘सम्माननीय सभामुख महोदय, यदि संविधानको भावना विपरित यसरी सरकारले काम गर्दै जाने हो भने संविधानको रक्षा कसले गर्छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र सभामुख ज्यूलाई पनि अनुरोध गर्न चाहँन्छु कि, नेपाल राज्यको समावेशितामा कहाँ पुगेको छ ? तत् तत् संघ संस्थामा जातीय, भाषिक, लैंगिक, समावेशिता हुनु पर्छ कि पर्दैन भनेर नेपाल सरकारलाई रुलिङ गरिदिन सम्माननीय सभामुखलाई आग्रह गर्दछु ।’

    प्रमुख सचेतक परियारले पछिल्लो समय मन्त्रिपरिषद् बिस्तारमा समावेशि सिद्धान्त अनुसार नभएकोतर्फ इंगित गर्दै अहिले राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउदैँ गएको बताए ।

    उनले थप्दै भने, ‘सम्माननीय सभामुख महोदय, लामो राजनीतिक संघर्ष र सामाजिक आन्दोलनबाट हामीले राजनीतिक व्यवस्था परिवर्तन गर्यौ । संविधानमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशिता र संघीयताको मुख्य ४ खम्बाको रुपमा लिइन्छ । तर आज हाम्रा सबै कर्म र राज्यले गर्ने कर्ममा समावेशिता हराउदैँ गएको छ ।’

  • उपसभामुख प्रकरण: ९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    उपसभामुख प्रकरण: ९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    काठमाडौं । उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले मुख खोलेका छन् । दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन् ।

    ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।
    रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ ।

    गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनी बताउँछन् ।

    ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन् । उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ ।

    उनी लेख्छन्, ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ, तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

    यो विषय आफूले अहिलेसम्म गुपचुप राख्नुको कारण भने ढकालले खोलेका छैनन् ।

    हेर्नुस स्टाटस

  • रास्वपाद्वारा संसदमा विपद् व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    रास्वपाद्वारा संसदमा विपद् व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौं । विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमा छलफलका लागि प्रतिनिधिसभामा प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको हो ।

    राज्यमाथि रहेको नागरिकको जीवनको सुरक्षा गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने, मौलिक हक अधिकार सुनिश्चित गर्नुपर्ने, राज्यसँग प्राप्त स्रोतसाधनको जानकारी राख्न र प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

    यस्तै आकस्मिक स्वास्थ्य संकटको अवस्था हुनसक्ने, तीन तहको सरकारबीच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने, विपद्को विषयमा प्रतिक्रियात्मकमात्र नभई संसदले पूर्वसक्रियता देखाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरिएको प्रस्तावक रास्वपाका सांसद डा.तोसिमा कार्कीले जानकारी दिइन् ।

    संकल्प प्रस्तावको समर्थकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डांगी, सांसदहरु गणेश पराजुली, असीम शाह, विराजभक्त श्रेष्ठ, विन्दवासिनी कंशाकार, डा.चन्दा कार्की रहेका छन् ।

    यस्ताे छ संकल्प प्रस्ताव

  • उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको आरोप (भिडिओ)

    उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको आरोप (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखको संसदमा प्रतिरक्षा गरेकी छन् । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन् ।

    आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए । उनले उपसभामुख मानव तस्करीमा संलग्न रहेको आरोपसमेत लगाएका छन् । रास्वपा सांसद श्रेष्ठले भने पद्दति बसाउने भएर सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।

    उनको भनाइ :

    ‘यो आरोपमा मेरो घोर आपत्ति छ । पहिले बुझौं । पद्धति बनाउने हो भने यही सदनबाट, सडकबाट एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुत्ला जलाएको आमसभा गरेको, यही सदनका मान्छेहरूले होइन ? यदि आचरणको कुरा गर्ने हो भने सबैको लेटरप्याडबाट के के निस्केको छ हेरौं । र साँच्चै पद्दति बनाउँ । तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल गर्यो । मानवतस्करीजस्तो ठूलो आरोप तपाईंहरूले यस्तो सजिलोसँग डिक्लेयर गर्नुभयो । डिक्लेयर गर्नु न त भुटानी शरणार्थी प्रकरण कसले गरेको हो ? त्यो आँट छ ? एउटा महिला जसले यस्तो कठिन समयबाट यो ठाउँमा आउनुभएको छ । उहाँलाई हेप्न नखोज्नुहोला । एक वर्ष अगाडिदेखि पत्र हातमा राखेर बसिरहनुभएको रहेछ, कुन बेला ठोकौं भनेर । ल्याङल्याङ मिडिया ट्रायल गरेर चरित्रहत्या गर्न खोज्ने ? साँच्चै छानबिन गर्ने भए पार्टी तयार छ । संवैधानिक परिषदमा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र एक प्रधानन्यायाधीश छन् । त्यहाँ बहुमत पुर्‍याउनु परेको होला । माग्नुस् न हो माग्नुस् । दिउँला । तर, नैतिकरूपमा चरित्रहत्या नगर्नुस । भएभरको जायजेथा अनाथआश्रममा दिने महिलाको चरित्रहत्या गर्न पाइँदैन ।

  • उपसभामुखमाथि छानबिन गर्न रामहरि खतिवडाको माग (भिडिओ)

    उपसभामुखमाथि छानबिन गर्न रामहरि खतिवडाको माग (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखको इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् ।

    उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए ।

    उनले भने, ‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो। छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनुपरेको थियो।’

    उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए।

    उनले रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ। संसद चुप लागेर बस्नु हुँदैन। उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ।’

  • रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

    रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभ्यास गर्न खोजेको विपक्षी दलहरूको मोर्चामा आफूहरू सहभागी नहुने जनाएको छ ।

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जनाए ।

    ओली कांग्रेससँग मिलेर प्रतिपक्षमा हुत्तिएपछि रास्वपा माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा छ । शुक्रबार पनि तीन दलबीच छलफल भएको थियो ।

    त्यसबारे उनले भने, ‘यो गठबन्धन लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो । विपक्षी मोर्चा बनाउँदैनौं ।’

  • उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो- पदीय लेनदेन मिलाउन अनर्गल प्रचार

    उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो- पदीय लेनदेन मिलाउन अनर्गल प्रचार

    काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।

    ‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, कावा प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

    रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै झाले यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

    रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ ।

    उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ ।

    धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको विज्ञप्तिमा लेखिएको छ ।

    उपसभामुखको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उनलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको पार्टीको भनाइ छ ।

  • रास्वपाको संसदीय दलको बैठक बस्दै

    रास्वपाको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । आज बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल हुनेछ ।

    त्यस्तै प्रतिपक्षी भूमिकाको प्रभावकारीतालगायत विविध विषयमा छलफल गरिने रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन् । प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदैछन् ।

  • सरकार गठन गर्दा संविधान मिचेको विपक्षी तीन दलको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने

    सरकार गठन गर्दा संविधान मिचेको विपक्षी तीन दलको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार बनाउन संविधान मिचेर बनाएको निष्कर्ष निकालेको छ ।

    माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकार संविधानको कमजोर जगमा उभिएर बनेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ।’

    उनले थप कुरा आइतबारको प्रतिनिधि सभाको बैठकमा राख्ने बताए।

    उनले थपे, ‘जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’

    यस्तै, बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा साझा धारणा बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

    उनले भने, ‘प्रधानमन्त्रीले पर्सी विश्वासको मत लिँदै हुनुहुन्छ। हामी प्रतिपक्षमा भएकाहरू विश्वासको मतको सवालमा साझा धारणा बनाएर जाने विषयमा छलफल भयो।’

    उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने माग गरे।

    उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाइसकेको अवस्था छ । उहाँहरूको साझा धारणा अहिलेसम्म आएको छैन। के शर्तमा मिल्नुभयो पनि आएको छैन। प्रधानमन्त्रीले के बापत सदनमा विश्वासको मत माग्नुहुन्छ ।’

  • उपसभामुखको प्रष्टीकरणः करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम

    उपसभामुखको प्रष्टीकरणः करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूबाट कुनै अनैतिक कार्य नभएको उनको दाबी छ ।

    सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।

    एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिनक कार्य मबाट भएको छैन र हुने छैन ।’

    आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रण आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तरवार्तँका लागि मिति लिइदिनु अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ ।

    ‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।

    उक्त सम्मेलनमा सहभागी भसकेपछि पनि आफू अन्य कार्यक्रमको सिलसिलामा अमेरिकालगायत अन्य मुलुकको यात्रा गरिरहेको उनले बताएकी छन् ।

    हेर्नुस् उपसभामुख रानाले निकालेको विज्ञप्ति

  • मुकुल ढकालको आरोपबारे स्वर्णिमको टिप्पणी- सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

    मुकुल ढकालको आरोपबारे स्वर्णिमको टिप्पणी- सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’ बताए ।

    पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

    हिजो एक कार्यक्रमपछि डा. वाग्लेलाई एक सञ्चारकर्मीले प्रश्न राखे, ‘के यो आरोप सही हो ?’

    सिधै नकार्दै वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’

    यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा… (जवाफ दिएर साध्य हुन्छ) ?’

    पत्रकारले पिछा छोडेनन् ।

    सोधियो, ‘हिजोसम्म महामन्त्री भएको व्यक्तिलाई आज गँजेडी भन्ने ?’

    वाग्लेले भने, ‘प्रमाण छ त उहाँसित ? आरोप त जसलाई जे पनि लगाउन सकिन्छ नि ।’

    ढकाललाई धम्की दिएको आरोपबारे वाग्लेले जवाफ दिए, ‘त्यो गलत हो ।’

  • विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ, उपसभापति अर्याल भन्छन्- सत्यतथ्य बुझ्दैछौं

    विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ, उपसभापति अर्याल भन्छन्- सत्यतथ्य बुझ्दैछौं

    काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिकरूपमा छानबिन थालेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेका छन् ।

    उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

    रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको आरोपसमेत लागेको छ । तर, पार्टीका नेताहरू यो स्वीकार्दैनन् ।

    उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अर्यालले भने, ‘नेपालको क्याबिनेटबाटै निर्णय भएर मन्त्रीहरू बाहिर जाँदा पनि सँगै जाने मान्छेहरूलाई भिसाको इन्टरभ्यूका लागि सिफारिस लेख्ने चलन रहेछ । उहाँले लेख्नु सही थियो वा थिएन भन्ने आफ्ना ठाउँमा छ, तर यो त्यति ठूलो विषय होइन ।’

    आफूले उपसभामुख रानासँग सोधपुछ र छलफल पनि गरिरहेको उनले जानकारी दिए ।

    ‘उहाँले गलत नियतले पत्र नलेखेको बताउनुभएको छ । एउटै प्रोग्राममा जाने भएकाले आफूलाई पनि सहयोग हुन्छ भनेर अन्तरवार्ताका लागि डेट दिन लेखिदिनुभएको रहेछ । डेट लिन एकदमै गाह्रो हुन्छ नि अमेरिकी दूतावासमा । तर, उहाँले सिफारिस गरेका मान्छेहरुले अन्तरवार्ता दिन पाएनन् भन्ने बुझेको छु’, अर्यालले भने ।

    यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।

    ‘आर्थिक लेनदेनका कुराहरू अहिलेसम्म केही पनि भेटिएको छैन । पार्टीको तर्फबाट अध्ययन त गरिहाल्छौं । तर, अहिलेसम्म कुनै पनि लेनदेनको जानकारी छैन,’ अर्यालले भने ।

  • उपसभामुखको विवादित पत्रबारे रास्वपा प्रमुख सचेतकले सभामुखसँग राखे जिज्ञासा

    उपसभामुखको विवादित पत्रबारे रास्वपा प्रमुख सचेतकले सभामुखसँग राखे जिज्ञासा

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई अनधिकृतरूपमा लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा चर्चा सुरू भएको छ । सञ्चारमाध्यमहरूमा आएका रिपोर्टलाई आफूहरूले अध्ययन गरिरहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    यो विषयमा यसअघि पार्टीलाई कुनै औपचारिक जानकारी नरहेको उनको भनाइ छ । समाचारमा आएपछि आजै आफूले सभामुख देवराज घिमिरेसँग कुराकानी गरेको उनले बताए ।

    यो पनि पढ्नुहोस् : अमेरिकी दूतावासलाई लेखेको ‘अशोभनीय’ पत्रले उपसभामुख विवादमा, पदीय दुरुपयोगको आरोप

    ‘मैले सभामुखज्यूसँग जिज्ञासा राखेको थिएँ । उहाँले आफूलाई यस विषयमा केही थाहा नभएको बताउनु भयो । हामी थप बुझ्ने काम गरिरहेका छौं,’ उनले भने ।

    उपसभामुख राना रास्वपाबाट निर्वाचित भएकी हुन् । उनले उपसभामुख बनेसँगै पार्टीको सदस्यता त्यागिसकेकी छन् । तर, मातृ पार्टी भएको हुनाले उनी विवादमा मुछिँदा रास्वपामाथि पनि नैतिक दबाब परेको छ ।

  • सिमलताल पुगेर रविले लिए खोज तथा उद्धारबारे जानकारी

    सिमलताल पुगेर रविले लिए खोज तथा उद्धारबारे जानकारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवंम  निवर्तमान गृहमन्त्री रवि लामिछाने दुईवटा बस दुर्घटना भएको स्थान नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पुगेका छन् ।

    आज उनी त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ । उनले घटनास्थलकाे अवलाेकन पनि गरेका थिए ।

    उनी गृहमन्त्री हुँदा घटनाप्रति जिम्मेवार नभएको भन्दै आलोचना भएको थियो । गत शुक्रबार लेदोसहितको पहिरोले दुई बसलाई बगाएको थियो ।

    काठमाडौँबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए।

    गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए । बसमा सवार ५८ जना बेपत्ता भएका थिए । हालसम्म ११ जनाको शव भेटिएको छ भने ४७ जना बेपत्ता छन् । 

  • नवगठित सरकारप्रति रास्वपा सांसदहरु आक्रामक, कांग्रेस-एमालेको सम्झौता सार्वजनिक गर्न माग (भिडिओ)

    नवगठित सरकारप्रति रास्वपा सांसदहरु आक्रामक, कांग्रेस-एमालेको सम्झौता सार्वजनिक गर्न माग (भिडिओ)

    काठमाडौं । नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारमाथि रास्वपाले प्रश्नै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सोविता गौतमले दुई ठूला दल मिलेर गरेको सम्झौता सार्वजनिक गर्न माग गरिन् ।

    उनले भने, ‘दुई ठूला दल मिल्ने सामान्य विषय होइन, यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी होस्, सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? अहिलेको मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व देखिएको छैन । दलितको प्रतिनिधित्व शून्य छ । यो सरकारले स्वार्थको द्पन्द्वलाई कसरी हेरेको छ? कतिको संवेदनशील भएको छ ?’

    उनले नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र रजगजबारे सरकारको धारणा के छ ? त्यसबारे प्रष्ट पार्न माग गरिन् ।

    उनले थपिन्, ‘भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानकिनमा पनि नाम आएका मन्त्रीबाट हामीले सुशासनको अपेक्षा कसरी गर्ने ? मैले भनेका छु हामी सुशासनको मुद्दामा सरकारलाई सहयोग गर्न चाहन्छौं । तर, प्रारम्भ मै मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।’

    उनले सुशासनको मुद्दामा आफ्नो पार्टी पहिलाजस्तो नै खरो उत्रिने बताइन् ।

    त्यस्तै, सांसद तोषिमा कार्कीले दुई ठूला दल मिलेर गठित सरकारमा महिलाको समावेशिता यथेष्ठ नभएको भन्दै आलोचना गरेकी छन् भने दलित समुदायको प्रतिनिधित्व नभएकोप्रति प्रश्न गरेकी छन् । ‘दुई ठूला दलको सरकारमा समावेशिता, सहभागीताको कुरा नारा मात्रै हो ? नत्र खोइ सहभागिता ?’, भन्दै कार्कीले प्रश्न गरेकी छन् ।

     

  • ओलीलाई बधाई दिँदै रवि लामिछानेले भने- भ्रष्टाचारका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं

    ओलीलाई बधाई दिँदै रवि लामिछानेले भने- भ्रष्टाचारका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    निवर्तमान उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली नेतृत्वको सरकारलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं ।’

  • मुकुल ढकाल रास्वपामा अटाउने सम्भावना समाप्त, साधारण सदस्यता पनि खारेज गरिने

    मुकुल ढकाल रास्वपामा अटाउने सम्भावना समाप्त, साधारण सदस्यता पनि खारेज गरिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेसँगै निवर्तमान महामन्त्री डा. मुकुल ढकालले तल्लो स्तरमा ओर्लेर पार्टी नेतृत्वविरुद्ध विषवमन गरिरहेका छन् ।

    तीन दिनअघि पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति र हिजो एक टेलिभिजन अन्तरवार्तामा बोलेका कुराहरूले उनी रास्वपामा रहने सम्भावना समाप्त भएको स्रोतको भनाइ छ ।

    महामन्त्री र प्रवक्ताबाट निष्कासित भएपछि ढकालले पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न लाञ्छना लगाएका थिए ।

    उनले रवि विरुद्ध सहकारी ठगीदेखि दोहोरो नागरिकता-पासपोर्ट प्रकरणमा समेत पार्टीले छानबिन गर्नुपर्ने माग राखे । तर, उनको सो अभिव्यक्तिलाई पार्टीभित्र र बाहिर पनि गम्भीर रूपमा नलिइएपछि ढकाल अझै एक कदम अगाडि बढेका छन् । यस पटक उनले ‘राष्ट्रियता’ लाई औजार बनाउन खोजेका छन् ।

    टिकाराम यात्रीलाई दिएको अन्तरवार्तामा उनले अपत्यारिलो दाबी गर्दै भने, ‘रवि लामिछानेले प्रधानमन्त्री बन्नका लागि मलाई भारतसँग कुरा गर्न पठाउनुभएको थियो । तर, मैले कुरा गर्न चाहिनँ ।’

    रविले आफूलाई प्रधानमन्त्री बनाइदिएमा भारतले जे भने पनि मान्छु भनेको दाबी समेत मुकुलको छ । यति मात्र नभएर उनले पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेमाथि झन् कडा आक्षेप लगाएका छन् । वाग्लेले नेपाललाई भारतको राज्य बनाउनुपर्ने कुरा गरेको उनको भनाइ छ ।

    ढकालले केही हावादारी गफ पनि दिए । भारतसँग आफ्नो निकै घनिष्ठता भएको जसरी उनले भने, ‘भारतीय विदेशमन्त्रीलाई नेपाली क्रिकेट खेलाडीहरूसँग भेटाइदिने प्रबन्ध मैले नै मिलाएको हुँ । मेरै पहलमा नेपाली क्रिकेट टिम भारतमा अभ्यासका लागि गएको हो ।’

    भारतको कुन तहमा को-कोसँग तपाईँको सम्पर्क र सम्बन्ध छ भन्ने प्रश्नको भने उनले जवाफ दिएनन् । ‘यो अहिले खुलासा गर्न मिल्दैन’ भन्दै टारे ।

    आफूले बोलेका कुराहरूको प्रुफ माग्दा हरेक पटक उनले भने, ‘म लाई डिटेक्टर (झूट पत्ता लगाउने मेसिन) फेस गर्न तयार छु ।’

    ढकालले आज फेसबुक स्टाटस लेख्दै उपसभापति वाग्लेमाथि अर्को आरोप लगाएका छन् । वाग्लेको सचिवालयले फोन गरेर आफूलाई कुट्ने धम्की दिएको उनको दाबी छ ।

    निवर्तमान महामन्त्रीले यसरी संवेदनशील विषयहरूमा अन्टसन्ट बोल्दै जाँदा रास्वपा नेतृत्व अवाक् बनिरहेको छ । यसअघि केन्द्रीय समिति बैठकले उनीप्रति सदाशयता देखाउँदै साधारण सदस्यता कायम राख्ने निर्णय गरेको थियो । साथै, ढकाललाई कारबाही चित्त नबुझे पुनरावेदनका लागि ३५ दिन म्याद दिने निर्णय पनि गरेको छ । तर, पछिल्ला अभिव्यक्तिहरूले अब उनी रास्वपामा अटाउने कुनै सम्भावना नरहेको एक पदाधिकारीले बताए ।

    उनले भने, ‘हामीले ३५ दिन म्याद दिएको हो । उहाँले गल्ती रियलाइजेसन गरेर आउनुहुन्छ कि भन्ने झिनो आशा थियो । तर, झनै उग्र र अनियन्त्रित हुनुभयो । अब ३५ दिन पर्खिन सक्ने अवस्था पनि रहेन ।’

    ढकालको अभिव्यक्तिलाई लिएर कानूनी प्रक्रियामा जाने भनेर पनि पार्टीभित्र अनौपचारिक छलफल भइरहेको बुझिएको छ । रास्वपाका नेताहरूले ढकाललाई कुनै न कुनै शक्तिले उकासिरहेको हुन सक्ने अनुमान पनि लगाउन थालेका छन् ।

    ‘अहिलेका अभिव्यक्तिहरू हेर्दा कि त उहाँ मानसिकरुपमा स्वस्थ अवस्थामा हुनुहुन्न, वा उहाँलाई कसैले रास्वपाविरुद्ध प्रयोग गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

  • जाँदाजाँदै रविले भने- मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् (भिडिओ)

    जाँदाजाँदै रविले भने- मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट ममाथि अनुसन्धान थाल्नुस् (भिडिओ)

    काठमाडौं । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन् ।

    मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न प्रश्न उठिरहेको बताए ।

    उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने गहन अनुसन्धान गर्नुस् ।’

    उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए ।

  • मुकुलको दाबी- स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु

    मुकुलको दाबी- स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो, डीएसपीसँग सुरक्षा मागेको छु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् ।

    केही बेरअघि स्टाटस लेख्दै उनले आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेको तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको बताएका छन् ।

    उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

  • संसदमा गृहमन्त्री लामिछाने र कांग्रेस सांसद खतिवडाको नोकझोक (भिडिओ)

    संसदमा गृहमन्त्री लामिछाने र कांग्रेस सांसद खतिवडाको नोकझोक (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्रीलार्ई विश्वासको मत माग्न डाकिएको संसद वैठकमा आज गृहमन्त्री रवि लामिछाने र कांग्रेस सांसद रामहरी खतिवडाबीच तीव्र नोकझोक भएको छ । लामिछानेले बोल्दै गर्दै खतिवडाले नियमापत्तिसमेत गरे ।

    आफ्नो सम्बोधनको क्रममा लामिछानेले खतिवडाको नाम नलिइकन उनको आलोचना गरेका थिए । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पूर्जि जारी भएपछि खतिवडा कांग्रेस सांसदहरुको दलबल लिएर उनीप्रति एैक्यवद्धता जनाउन पुगेका थिए ।

    उक्त घटना सम्झिँदै गृहमन्त्रीले यस्तो भनेका थिए, ‘कसैको त नाम पनि लिनु हुँदैन, लोकतन्त्र खतरामा परिहाल्छ, प्रेस स्वतन्त्रता खतरामा परिहाल्छ । कति ठाउँबाट विज्ञप्ति आए ? कतिले विज्ञप्ति चढाउन गए ? राजाका पालामा दाम चढाएजस्तो विज्ञप्तिमाथि विज्ञप्ति चढाउन जानुभएको होइन ? सुशासन समितिको सभापति (खतिवडा) सिंगो पार्टीका सांसद बोकेर पक्राउ पूर्जि जारी भएको अभियुक्तलाई भेटेर म तपाईंको साथमा छु भन्नुभयो । अनि सुशासनको अपेक्षा गर्ने ? यति बोलेका कारण मैले कतिवटा सम्पादकीय भोग्नुपर्ने हो ? अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत पुग्छ । मलाई ठग प्रमाणित गर्न कुनै आपत्ति हुँदैन होला । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाट गर्नुस, शुभकामना छ ।’

    आफ्नो सम्बोधनको उत्तरार्द्धमा गृहमन्त्रीले आफ्नो पार्टीकी शिक्षामन्त्री सुमना श्रेष्ठको मन्त्रालयबाट हासिल भएका उपलब्धिको चर्चा गर्न खोजेका थिए । यत्तिकैमा रामहरी खतिवडा उठेर नियमापत्ति गरे ।

    उनले भने, ‘आज प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा गृहमन्त्रीको हैसियतले बोलाइएको हो कि रास्वपा नेताको हैसियतले ? कुनै एउटा भाषण गृहमन्त्रीका गर्नुभएको हो कि रास्वपा नेताको हैसियतमा हो त्यो जानकारी पाऊँ ।’

    उपसभामुख इन्दिरा रानाले गोलमटोल जवाफ दिइन् ।

    उनले भनिन्, ‘माननीय रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको नेताको हैसियतले यहाँ समय नदिएको हुनाले म चुप लागेर बसेको हो । नत्र म जहिले पनि टाइम काट्ने मान्छे हुँ । माननियज्यूलाई पनि आफ्नो भनाइ संक्षिप्तमा राख्न अनुरोध गर्छु ।’

    जवाफमा लामिछानेले कटाक्ष गर्दै भने, ‘सरकार बन्न पाएको छैन, उताबाट सुरु गर्न थालिसक्नुभो । वाह, मर्निङ सोज द डे । तपाईंहरुको बिहानीका लागि शुभकामना ।’

    आफूले संसदको कार्यविधिअनुसारै बोलेको बताए । त्यसपछि उनले आफ्नो भनाइ अन्त्य गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा जाहेर गरेर हिँडे ।

  • गृहमन्त्रीको दाबी- बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो (भिडिओ)

    गृहमन्त्रीको दाबी- बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् । सुशासनका काममा आफूलाई सहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद समेत दिए ।

    संसद बैठकमा बोल्दै लामिछानेले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो । आफूहरू सन्तुष्ट नभए पनि तीन-चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।

    गृहमन्त्री लामिछानेले भने, ‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा, बालमन्दीरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको जग्गाको अनुसन्धान सुरु भएको छ, पतञ्जलीको जग्गाको काम भएको छ, यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु ।’

    उनले थपे, ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’
    प्रधानमन्त्री प्रचण्डको लामिछानेले तारिफ गरे ।

    उनले भने, ‘उहाँको राजनीतिक इतिहासमा प्रश्नहरु छन् । उहाँको भविष्य उहाँले चिन्ता गर्ने हो । तर वर्तमानमा आफ्नो राजनीतिक र सुशासनको प्रतिवद्धतामा कायम रहनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।’

    कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाईं ईंगित गर्दै उनले केहीको नामै लिँदा पनि लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरामा पर्ने भन्दै कटाक्ष गरे । सुशासन समितिको सभापति नै उनलाई भेट्न गएर ढाढस दिएको भन्दै आलोचना गरे ।

    ‘कति ठाउँबाट विज्ञप्ति आए ? कतिले विज्ञप्ति चढाउन गए ? राजाका पालामा दाम चढाएजस्तो विज्ञप्तिमाथि विज्ञप्ति चढाउन जानुभएको होइन ? सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर पक्राउ पूर्जि जारी भएको अभियुक्तलाई भेटेर म तपाईंको साथमा छु भन्नुहुन्छ । अनि सुशासनको अपेक्षा गर्ने ? यति बोलेका कारण मैले कतिवटा सम्पादकीय भोग्नुपर्ने हो ? अब त संसदीय समितिमा मलाई ठग प्रमाणित गर्न कुनै आपत्ति हुँदैन होला । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाट गर्नुस, शुभकामना छ’, उनले भने ।

  • कांग्रेस-एमालेलाई रविको प्रश्न : अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ? (भिडिओ)

    कांग्रेस-एमालेलाई रविको प्रश्न : अनुसन्धानको सुई कसैको घरको ढोकामा पुग्नासाथ संविधानको चिन्ता ? (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले रातारात कांग्रेस र एमाले मिल्दा आशंका व्यक्त भएको बताए ।

    उनले भने, ‘राष्ट्रिय सहमति भनिएको छ, त्यो पनि एउटा व्यापारीको घरमा गरिएको छ, आजसम्म देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिँदा राष्ट्रिय शब्दको मानमर्दन भएको छ । तर, यो कुनै राष्ट्रिय सहमति हुन सक्दैन । हामीलाई आशंका छ, एकाएक रातारात संविधानको चिन्ता, कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढक्कढक्याउन पुग्यो त्यतिखेर तपाईंहरूलाई संविधानको याद आयो ? संविधानमा संशोधन गर्नुपर्ने धेरै कुराहरू छन् ।’

    उनले संविधान जोगाउन नाममा कसलाई जोगाउन खोजिएको ? भन्दै प्रश्न गरे ।

  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

    आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

    यस्तै आज नै पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधन गर्ने तय भएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

    नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

  • सुमनाको प्रष्टीकरण- मेरा श्रीमान पोल्याण्डका नागरिक हुन्, तर मसँग नेपालको मात्र नागरिकता छ

    सुमनाको प्रष्टीकरण- मेरा श्रीमान पोल्याण्डका नागरिक हुन्, तर मसँग नेपालको मात्र नागरिकता छ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको स्पष्ट पारेकी छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोष्ट गर्दै राष्ट्रिय सर्तकता केन्द्रबाट अत्यन्तै जरुरी पत्र भन्दै आफुलाई आएको भन्दै स्पष्ट पारेकी हुन् ।

    उनले भनेकी छन्, ‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन । लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन ।’ शिक्षामन्त्री श्रेष्ठले आफ्ना विरुद्धमा उजुरी परेपछि मात्रै पीआर तथा ग्रिन कार्ड लिने प्रक्रियाका बारेमा बुझेको बताएकी छन् ।

    उनले थप भनेकी छन्, ‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ । त्यसका विषयमा बुझ्न मलाई १० देखि १५ घण्टा समय लाग्यो ।’

    शिक्षामन्त्री श्रेष्ठले कुनै विदेशीसँग बिहे गरेपछि पीआर पाउँछ भन्न नमिल्ने बताउँदै विदेशीसँग बिहे गर्दैमा पीआर लिनुपर्छ भन्ने पनि नभएको बताइन् । पीआर लिएको भए प्रमाण दिन सकिने तर, नलिएको कसरी प्रमाण दिने भन्दै उनले उजुरीकर्तालाई नै प्रश्न गरेकी छन् ।

    नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेरको थियो । मन्त्री श्रेष्ठका श्रीमान् पोल्याण्डका नागरिक हुन् । तर, उनले पोल्यण्डका नागरिकसँग बिहे गरेको भए पनि त्यहाँको पीआर नल्याएको प्रष्ट पारेकी छन् ।

     

  • रवि लामिछानेको क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, म अझै महामन्त्री हुँः डा. मुकुल ढकाल (भिडिओ)

    रवि लामिछानेको क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, म अझै महामन्त्री हुँः डा. मुकुल ढकाल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा. ढकालले सभापति रवि लामिछानेविरुद्ध आगो ओकलेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए ।

    सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे ।

    ‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो ।’

    उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

    ढकालले आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे । चाहेमा कुर्सीमा गएर बस्न सक्ने तर लफडा गर्ने पक्षमा नरहेको उनले बताए ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन,’ उनले भने, ‘मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’

    सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नपाउने ढकालले बताए ।

    उपसभापतिबाट निलम्बनको पत्र थमाइएकोमा पनि उनको असन्तुष्टि छ । सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनले तर्क गरे ।

    ‘राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाउनु गलत छ । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ,’ उनले भने ।

  • रास्वपालक्षित विश्वप्रकाशको टिप्पणी- सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

    रास्वपालक्षित विश्वप्रकाशको टिप्पणी- सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने टिप्पणी गरेका छन्।

    रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई एकमतले पार्टीको साधारण सदस्यमात्रै रहने गरी अनुशासनको कारबाही गरेपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन । प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रूपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी ।’

    प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेर नै कांग्रेस अहिलेसम्म जीवन्त रहेको उनको भनाइ छ ।

  • कांग्रेस-एमालेलाई रास्वपाको जवाफ- तपाईंहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन (भिडिओ)

    कांग्रेस-एमालेलाई रास्वपाको जवाफ- तपाईंहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद हरि ढकालले देशमा तीन दशकदेखि राजनीतिक बितण्डा मच्चाउनेहरुले आफूहरुलाई संस्कार नसिकाउन सचेत गराएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा उनले रास्वपाको तर्फबाट तीन दशकदेखि राजनीतिक बितण्डा देखाएकाहरुले हामीलाई संस्कार नसिकाउन आग्रह गरे ।

    उनले कांग्रेस-एमालेलाई लक्षित गर्दै भने, ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरु पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौं ।’

    सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।

    उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’

  • नयाँ महामन्त्री बनाउन रास्वपाले ३५ दिन पर्खिने, अहिले कार्यवाहकलाई नै निरन्तरता

    नयाँ महामन्त्री बनाउन रास्वपाले ३५ दिन पर्खिने, अहिले कार्यवाहकलाई नै निरन्तरता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै नयाँ महामन्त्री चयन नगर्ने भएको छ । आज महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय मात्रै भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    महामन्त्री बर्खास्त लगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए । रास्वपाको विधानमा कारबाहीमा पुनरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ ।

    कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय लिएको झाले बताए ।

    ‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उनले भने ।

    रास्वपा केन्द्रीय सदस्य सोभिता गौतमले न्याय निरूपण गर्ने सवालमा विधानलाई र नेपालको कानूनलाई अनुसरण गरेर अघि बढ्ने निर्णय गरिएको बताइन् ।

    महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्नेछन ।

  • कारबाहीबारे मुकुलको टिप्पणी- रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन

    कारबाहीबारे मुकुलको टिप्पणी- रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लव’ बाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । पार्टी निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गरेका हुन् ।

    ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।।।। ’

    ढकालले भोलि आफ्नो धारणा विस्तृत रूपमा सार्वजनिक गर्ने नेपाल प्रेससँग बताए ।

  • रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने (भिडिओ)

    रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, साधारण सदस्यमात्र रहने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

    पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

    ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।

  • मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

    मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

    आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

    यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

    अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।

  • मुकुल ढकालमाथिको कारबाहीबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक जारी

    मुकुल ढकालमाथिको कारबाहीबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको हो ।

    अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालकाे विषयमा पार्टीको अनुशासन आयोगले बुझाएकाे प्रतिवेदनमाथि छलफल भइरहेकाे रास्वपाले जनाएको छ । प्रतिवेदन अनुसार  थप निर्णय लिने तयारी भइरहेकाे  एक केन्द्रीय सदस्यले बताए ।

    महामन्त्री ढकालमाथि आजै कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने स्रोतहरु बताउँछन् ।

    डा.ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

    बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारिसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

    ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो ।

    ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकाललाई कारबाही गर्नेबारे छलफल

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकाललाई कारबाही गर्नेबारे छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान बस्दैछ ।बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो ।

    आजको बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ ।

    महामन्त्री ढकालमाथि आजै कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने स्रोतहरु बताउँछन् ।

    डा.ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

    आज बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

    ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो ।

    ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

    अहिले महामन्त्रीका लागि चार जना नेताहरुले आकांक्षा देखाएको स्रोतले जानकारी दियो ।

  • रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ?

    रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा पर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने स्रोतहरु बताउँछन् ।

    रास्वपामा सभापतिपछिको शक्तिशाली पद हो महामन्त्री । पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँट र संगठनात्मक कामहरुमा महामन्त्रीको अहम् भूमिका हुन्छ । डा. ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

    भोलि बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

    ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो । ढकालको पद पुनःस्थापन नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

    अहिले महामन्त्रीका लागि चार जना नेताहरुले आकांक्षा देखाएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार सबैभन्दा कडा लविङ सन्तोष परियारले गरिरहेका छन् । उनी रास्वपाका समानुपातिक सांसद र प्रमुख सचेतक हुन् । महामन्त्री पाएमा प्रमुख सचेतक त्याग्न उनी तयार रहेको बुझिएको छ । दलित समुदायको भएकाले समावेशीताको सन्देश दिनलाई पनि आफू महामन्त्री बन्नुपर्नेमा उनको जोड छ ।

    परियार एमाले पृष्ठभूमिका हुन् । एमाले छाडेपछि उनी जातीय एजेन्डा बोकेर हिँडे । रास्वपा प्रवेश गर्नुअगाडि दलित अभियन्ताको छवि बनाएका थिए । पार्टी स्रोतहरुका अनुसार उनको कार्यक्षमता राम्राे छ, तर जातीय कुन्ठाले ओतप्रोत छन्।

    ‘यदि आफूलाई महामन्त्रीबाट पन्छाइयो भने जातकै कारणले हो भन्ने निष्कर्ष निकाल्न पनि बेर लगाउँदैनन्,’ एक केन्द्रीय सदस्यले भने ।

    हालका कार्यवाहक प्रवक्ता मनिष झाले पनि महामन्त्रीमा आँखा लगाएका छन् । परियारले जस्तै उनले पनि जातीय समावेशीता हुने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेको स्रोत बताउँछ । झा कांग्रेस पृष्ठभूमिका हुन् । उनी कांग्रेसमा गगन थापा निकट थिए । गत आमनिर्वाचनको मुखमा रास्वपा प्रवेश गरे र समानुपातिक सांसद पड्काए ।

    काठमाडौंका केही निर्वाचन क्षेत्रमा गगन थापा र रास्वपाबीच अघोषित सहकार्य भएको थियो, जुन तथ्य महामन्त्री मुकुल ढकालले नै सार्वजनिक गरेका छन् । गगनको क्षेत्रमा रास्वपाले उम्मेदवारी नै दिएन भने रास्वपालाई दुई स्थानमा जिताउन गगनले भूमिका खेलेको ढकालको दाबी छ । यो सहकार्य गराउन झाले मध्यस्थताको भूमिका खेलेको बताउने गरिन्छ ।

    स्रोतका अनुसार झालाई महामन्त्री बनाइहाल्ने सम्भावना कमजोर छ । बरु महामन्त्री र प्रवक्तालाई अलग गरेर झाले पूर्णकालीन प्रवक्ताको जिम्मेवारी पाउन सक्छन् ।

    सोभिता गौतमको नाम पनि भावी महामन्त्रीको लागि चर्चामा छ । उनी काठमाडौं- २ की निर्वाचित सांसद हुन् । संसद र संसदीय समितिमा उनले प्रखर भूमिका निभाइरहेकी छन् । तार्किक क्षमता, कानूनी जानकार तथा बौद्धिकता उनका सबल पक्ष हुन् । संगठनात्मक जिम्मेवारीमा भने उनको अनुभव खासै छैन ।

    यसअघि रास्वपाको भागमा उपसभामुख परेपछि सोभिताको नाम चर्चामा ल्याइएको थियो । तर, पार्टीले इन्दिरा रानालाई रोजेपछि उनले सहर्ष स्वीकार गरिन् । महामन्त्रीमा पनि उनको कडा दावेदारी भने छैन । यद्यपि, जननिर्वाचित, क्षमतावान र महिला भएकाले केन्द्रीय सदस्यहरु उनको पक्षमा उभिन पनि सक्छन् ।

    महामन्त्रीका अर्का आकांक्षी कविन्द्र बुर्लाकोटी हुन् । हाल कार्यवाहक दिइएपछि उनको महत्वाकांक्षा बढेको छ । तर, उनी महामन्त्रीको जिम्मेवारी थाम्नसक्ने नेता होइनन् भन्ने धेरै केन्द्रीय सदस्यहरुको बुझाइ छ ।

    बुर्लाकोटीले पार्टीमा महत्वपूर्ण भूमिका पाइरहे पनि कार्यसम्पादनमा चुकिरहेका छन् । उनी संगठन विभाग प्रमुख पनि हुन्, तर संगठनमा खासै लोकप्रिय छैनन् । रास्वपाले इलामको उपचुनावमा बुर्लाकोटीलाई कमाण्डर बनाएर पठाएको थियो । त्यहाँ पार्टीका उम्मेदवारको जमानत नै जफत भयो । इलाममा जनजाति उम्मेदवार नै चाहिने भनेर बुर्लाकोटीले जोडबल गरेपछि मिलन लिम्बूलाई भित्र्याएर उम्मेदवार बनाइएको थियो ।

    एक केन्द्रीय सदस्यले भने, ‘उहाँ अर्को मुकुल ढकाल हो । सबैको चित्त बुझाएर जानेभन्दा पनि आफ्नो कुरा लाद्न खोज्ने प्रवृत्ति छ ।’

    रास्वपामा बुर्लाकाेटीबाहेक सुमना श्रेष्ठ र विपीन आचार्य पनि सहमहामन्त्री छन् । पदीय हिसाबले उनीहरूलाइ पनि महामन्त्रीकाे स्वतः दावेदारका रुपमा हेरिएकाे छ । यद्यपि उनीहरु दुवैले आकांक्षा देखाएका छैनन् । हाल शिक्षामन्त्री रहेकी सुमना सरकारबाट हटेसँगै सांसदकै जिम्मेवारीमा केन्द्रित हुन चाहन्छिन् । सांसदका रूपमा उनले प्रभावशाली भूमिका निभाउँदै आएकी थिइन् ।

    केन्द्रीय समितिमा छलफल हुने भए पनि महामन्त्री चयनमा सभापतिकै मत निर्णायक हुने पक्का छ । उनले प्रस्ताव गर्ने नामलाई बैठकले अस्वीकृत गर्ने सम्भावना न्यून रहेको बताइन्छ ।