Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • उम्मेदवार आव्हान गर्दै उपनिर्वाचनमा होमियो रास्वपाः सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

    उम्मेदवार आव्हान गर्दै उपनिर्वाचनमा होमियो रास्वपाः सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

    काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ ।

    पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ ।

    केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो । प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

    जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

    पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवारहरु तय गर्ने छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।

    आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । बाँकी कार्यतालीका यसप्रकार छः

    प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८:०० बजेसम्म

    प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५:०० बजे सम्म

    उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५:०० बजे सम्म

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते

    मतदान/निर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७:०० बजे सम्म

    नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १:०० बजे

    उम्मेदवारीका लागि आवेदन दिन चाहेनले अनलाइन फाराम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फराम भर्न सक्नेछन् । निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्छन् ।

    उम्मेदवारी आवेदन दिने लिंक

    https://docs.google.com/forms/d/1nww_YmgB-9-65EcZtvxSkf2Tt8F2SSyUJgr3FrZpV00/edit?ts=672c575d

  • उपनिर्वाचनमा भाग लिने रास्वपाको तयारी, गणेश पराजुलीलाई संयोजनको जिम्मेवारी

    उपनिर्वाचनमा भाग लिने रास्वपाको तयारी, गणेश पराजुलीलाई संयोजनको जिम्मेवारी

    काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमान्ड गर्नेछन् ।

    उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपाले उपनिर्वाचनमा भाग लिने वा नलिनेमा अन्योल थियो, तर पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने रणनीति बनाएको छ ।

    यस उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाएको छ । समितिको संयोजकमा पराजुली तोकिएका छन् । सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयत्र प्रमुख नै चुनावी कमान्डर रहनेछन् ।

    केन्द्रीय संयोजक पराजुलीले उपनिर्वाचनका लागि छिट्टै उम्मेदवार आह्वान गरिने बताए । आजै बेलुका बैठक बसेर सबै कुरा टुंग्याएपछि भोलिदेखि उम्मेदवार आह्वान हुनसक्ने उनको भनाइ छ ।

    रास्वपामा उम्मेदवार छनोट प्राइमरी इलेक्सनबाट गर्नुपर्ने प्रावधान रहेको छ । एकभन्दा बढी आकांक्षी भएको खण्डमा सम्बन्धित स्थानका पार्टी सदस्यहरुले भोट दिएर उम्मेदवार छान्न पाउँछन् । यद्यपि सकेसम्म सर्वसम्मत उम्मेदवार खडा गर्ने पार्टीको रणनीति छ ।

    देशका ७५३ वटा स्थानीय तहमध्ये २२ सय वडामा रास्वपाका संयन्त्र बनेका छन् । अन्य वडामा संयन्त्र बनाउने क्रम जारी छ । पार्टीको उपस्थिति नै नरहेका कतिपय वडामा रास्वपाले उम्मेदवार नउठाउन पनि सक्ने पराजुली बताउँछन् ।

    ‘४१ पदमा निर्वाचन हुन लागेकोमा २ वटा जिससका छन्, जसमा हामी प्रतिस्पर्धा गर्दैनौं । ३९ वटा स्थानमा उम्मेदवारी दिन हामीले आफ्नो संयन्त्रसँग संवाद गरिरहेका छौं । आज बेलुकाको जुम मिटिङबाट सबै फाइनल हुन्छ’, उनले नेपाल प्रेससँग भने ।

    देशको प्रमुख राजनीतिक दल भएको हिसाबले कुनै पनि मोर्चामा पछि नहट्ने पराजुली बताउँछन् ।

    ‘यो उपनिर्वाचनमा हामी आफ्नो सशक्त उपस्थिति देखाउने छौं । साथै अहिले जारी रहेको आन्दोलन पनि रोकिँदैन । आन्दोलनको स्वरुप चाहिँ फेरिन सक्छ’, पराजुलीले थपे ।

    रास्वपाले जनपक्षीय एजेन्डाहरुलाई जनतामाझ पुर्‍याएर भोट अपिल गर्ने पराजुली बताउँछन् ।

    यसअघि रास्वपाले उपनिर्वाचनमा भाग लिनेबारे तीन वटा मोडालिटी बनाएको थियो । ठाउँ हेरेर पार्टीले आफ्नै उम्मेदवार उठाउने, पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने तीन विकल्पमा रास्वपाले काम गरिरहेको छ ।

  • रास्वपाको दाबी- सरकारले प्रतिशोध राखेर अनावश्यक बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शन बिथोल्न खोज्दैछ

    रास्वपाको दाबी- सरकारले प्रतिशोध राखेर अनावश्यक बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शन बिथोल्न खोज्दैछ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो पोखरामा पार्टीले गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएको छ।

    रास्वपाका प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र सहकारी पीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा हिजो भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी बिथोल्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन्।

    रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई पक्राउ गरेको थियो।

    विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानूनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन्।

    रास्वपाले आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर निन्दा गरेको छ।

    रास्वपाले आज अपराह्न ४ बजे मानवअधिकार चोक, पोखरा लगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् राखेको पनि उनले बताए।

  • आन्दोलन चर्काउन आह्वान गर्दै सोविताले भनिन्– यो तानाशाही सरकार ढाल्नैपर्छ (भिडिओ)

    आन्दोलन चर्काउन आह्वान गर्दै सोविताले भनिन्– यो तानाशाही सरकार ढाल्नैपर्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिनको म्याद थप भएपछि आक्रोशित भइन् ।

    पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नैपर्छ । तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस् । यो सरकारको विरोध गर्नैपर्छ ।’

    सांसद गौतमले जिल्लाजिल्लाबाट सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन जे शक्ति छ, त्यो लिएर आउन आग्रह गरिन् ।

     

    उनले थपिन्, ‘तपाईंहरुले जे शक्ति छ, त्यो लिएर आउनुस्, जे सक्नुहुन्छ, त्यो गर्नुस् । यो सरकारलाई भन्न चाहन्छु, यो आन्दोलनमा घटेको एउटा पनि घटनाको जिम्मा रास्वपाले लिँदैन । कसरी सक्नुहुन्छ हरेक जिल्लाबाट जागेर आउनुस्, अब अति भयो । यो एउटा पार्टीको आन्दोलन होइन । अहिलेको सरकारले नयाँ पुस्तालाई थुन्न खोजेको हो । त्यसका विरुद्ध हामी उठ्नुपर्छ ।’

    उनले आन्दोलनको तयारीबारे पार्टीले थप रणनीति बनाउने भन्दै नेता कार्यकर्ता र समर्थकलाई पनि आआफ्नो ठाउँबाट आआफ्नो तयारीमा लाग्न आग्रह गरिन् ।

    उनले अब यो आन्दोलन नरोकिने चेतावनी दिँदै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुर्दावादको नाराबाजीसमेत गरिन् । यो तानाशाही सरकार ढल्नैपर्ने भन्दै उनले आक्रोश पोखिन् ।

  • रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

    रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

    पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

    रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

  • रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा (भिडिओ)

    रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा (भिडिओ)

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरेको प्रदर्शनबाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    निषेधित क्षेत्र तोडेको, अराजक गतिविधि गरेको भन्दै प्रदर्शनबाट ६ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

    ४ पुरुष र २ महिलालाई नियन्त्रण लिइ प्रहरीको मातहतमा राखिएको पाण्डेले बताए । सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

  • अदालतमा रवि लामिछाने, बाहिर प्रहरी र रास्वपा नेता-कार्यकर्ताको घम्साघम्सी (भिडिओ)

    अदालतमा रवि लामिछाने, बाहिर प्रहरी र रास्वपा नेता-कार्यकर्ताको घम्साघम्सी (भिडिओ)

    काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

    रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस हानेको छ।

     

    सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

    कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ।

    यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन्।

  • रवि लामिछानेलाई बुटवल ल्याउने तयारी, रुपन्देही प्रहरीले कसरी बढाउँछ अनुसन्धान ?

    रवि लामिछानेलाई बुटवल ल्याउने तयारी, रुपन्देही प्रहरीले कसरी बढाउँछ अनुसन्धान ?

    रुपन्देही । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएपनि प्रहरीले कसरी ल्याउने भन्ने विषयमा अझै निचोडमा पुगेको छैन ।

    कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।

    पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएकोले मङ्गलवार अदालत पेश गरेर ल्याउने तयारीमा प्रहरी छ तर रुपन्देहीमा छठमा भिडभाड हुने भएकाले पोखरामै म्याद थप भए २२ गते पछि पनि ल्याउन सकिने गरी रुपन्देही प्रहरीको तयारी छ ।

    रास्वपाले भने प्रहरीले मङ्गलवार नै लामिछानेलाई रुपन्देही लैजान सक्ने भएकाले सोही अनुसार रुपन्देहीमा वकिलहरूको तयारी गरिसकेका छन् । रुपन्देहीमा उनको तर्फबाट अधिवक्ता गोविन्द मरासिनीसहितका ३ वकिललाई जिम्मेवारी दिने गरी तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।

    प्रहरीले रुपन्देही जिल्ला अदालतबाट कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ । तर अदालतबाट प्रहरीलाई पुगेको गोप्य पत्र सार्वजनिक भएको भन्दै रुपन्देही प्रहरी असन्तुष्ट छ ।

    जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले भने आफूहरूले पक्राउ परेकाबाहेकको नाम पक्राउ अनुमतिको पत्र कसैलाई जानकारी नदिएको प्रष्ट पारेका छन् । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो ।

    बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेको भने यसअघि नै बुटवल ल्याएर बयान सकेर कास्की नै लगिएको छ ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

    २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन् । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ ।

    उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

    संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए ।

    प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् । केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

    सहकारी ऐन–२०७४ को दफा १२२ अनुसार ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा’ र कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा’ कानुनी कारबाही हुने व्यवस्था छ ।कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ ।

    त्यही पत्र अनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रुपन्देही ल्याएर अनुसन्धान गर्न पनि सकिने उनले बताए । मङ्गलवार अदालत खुलेपछि कहिले ल्याउने भन्ने टुंगो लाग्ने उनले बताए ।

    रास्वपाले भने मङ्गलवार लामिछानेलाई पोखरा अदालत पेश गर्ने र त्यहाँबाट म्याद थप नपाएपछि सिधै बुटवल ल्याउने र बयान सकिएकाले अदालतबाट धरौटीमा रिहा गरे रुपन्देही प्रहरीको पत्रका आधारमा अदालत परिसरबाटै पक्राउ गरेर यता ल्याउसक्ने आंकलन गरेको छ ।

  • जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले

    जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई जस्तै आरोप लागेका कांग्रेस एमालेका नेताहरुलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् ।

    बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको दाबी गरे ।

    उनले भने, ‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टी भइसकेको छ । त्यसको प्रतिवाद गरेका छौं । उहाँलाई जस्तै आरोप लागेको कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ । तर, उहाँहरुलाई सत्ताले बचाइराखेको छ । जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’

    रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू सजिलै हिँडिरहेका भन्दै सत्ताको आडमा उन्मुक्ति दिन खोजे अस्वीकार्य हुने बताए ।

     

  • रवि लामिछानेको हिप्नोटिजमको शिकार चितवन भयो : एमाले महासचिव पोखरेल (भिडिओ)

    रवि लामिछानेको हिप्नोटिजमको शिकार चितवन भयो : एमाले महासचिव पोखरेल (भिडिओ)

    चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको बताएका छन् ।

    https://youtu.be/qr7XYWfMsCs

    नेकपा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका हुन् ।

    ‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्‍यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्‍यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौं र काम गर्ने मौका दियौं । दुईदुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ ।’

    उनले संगठित रुपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखाएर सहकारी आन्दोलनलाई बिथोल्ने काम पनि रवि लामिछानेले नै गरेको दाबी गरे ।

    उनले थपे, ‘जसले सहकारीको मान्यता भत्काएर नयाँ विचलनको यात्रा सुरु भयो । सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भयो । त्यो विचलनको आन्दोलनले आमसहकारी आन्दोलनलाई कमजोर बनाउने माध्यम गोर्खा मिडिया बन्यो ।’

    त्यतिमात्रै नभएर लामिछानेले महिलाहरुलाई सम्मान नगरेकाले चितवनका महिलाहरुलाई स्टन्टबाजीको पछि नलाग्नसमेत महासचिव पोखरेलले सुझाए । उनले नेपाली समाज सामाजिक सम्बन्धमा अडेको समाज भएको उल्लेख गर्दै रवि लामिछानेले कहिल्यै नारीप्रति सम्मान नगरेकोसमेत आरोप लगाए ।

    ‘नारीप्रति अनास्था र अविश्वास प्रकट गर्दै हिँड्ने व्यक्तिलाई नेपाली समाजको नयाँ आन्दोलनका रुपमा बुझ्ने जुन प्रकारको प्रवृत्ति चितवनबाट अगाडि बढ्न खोज्यो, अब चितवनका जनताले समीक्षा गर्नुपर्दछ’, उनले भने, ‘भन्न सक्नुपर्दछ नेपाली परम्पराविरुद्धका अभियान नेपाली संस्कारलाई कमजोर बनाउने अभियान हो ।

  • सन्तोष परियारको चेतावनी- हिजो राजाको शासनमा ढुंगा हानेका हात हुन्

    सन्तोष परियारको चेतावनी- हिजो राजाको शासनमा ढुंगा हानेका हात हुन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारलाई धेरै धाकधम्की नदेखाउन चेतावनी दिए ।

    उनले भने, ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन् ।’

    उनले आफ्नो संघर्षको कार्यक्रम जारी राख्ने भन्दै लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए । उनले यो संघर्ष कुनै व्यक्ति र पार्टीको मात्रै नभएको जिकिर गरे ।

  • सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू

    सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले आन्दोनलाई कमजोर बनाउन सरकारले तर्साउन र धम्क्याउन सक्ने भन्दै त्यसको प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन् ।

    रास्वपाकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठले बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै विरोधका कार्यक्रम जारी राख्ने बताइन् ।

    उनले भनिन्, ‘हामीलाई अब दबाउन, थर्काउन खोज्छन्, हामीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसका लागि देश परिवर्तन गर्न हिँडेका हामीले दु:ख दिनेहरूको प्रतिकार गर्ने आँट गर्नुपर्छ ।’

    उनले रास्वपालाई तर्साउने र धम्क्याउने नछाड्ने र छानीछानी प्रतिशोध साँध्ने काम हुने भएकाले प्रतिरोधका लागि तयार रहन आग्रह गरिन् ।

  • सरकारलाई रास्वपाको चुनौती- ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिनसक्छौं

    सरकारलाई रास्वपाको चुनौती- ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिनसक्छौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्ने दाबी गरेका छन्।

    बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले बुझाएको प्रतिवेदन सरकारले बेवास्ता गरेपछि सडकमा आएको बताए।

    उनले भने, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ। सदनमा कुरा उठायौँ। सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’

    उनले आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने र प्रमाण नष्ट गर्न नसक्ने भएकाले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर पनि अनुसन्धान गर्न माग गरेको बताए।

    उनले अगाडि भने, ‘विधिको शासन कायम हुनुहुन्छ, नेपालको कानूनले प्रमाण नष्ट गर्ने, भागेर नजाने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर भनेकै छ। यो संविधानमा लेखिएको कुरा हो। यो रवि लामिछाने एउटा नजिर हुनसक्छ। हामी रवि लामिछाने एउटा व्यक्तिको पछि लागेका छैनौं। यो त एउटा अभियान हो। आफैँमा आन्दोलन हो। यो जनताको आशा हो।’

  • बालुवाटारमा रास्वपाको आन्दोलन (तस्बिरहरू)

    बालुवाटारमा रास्वपाको आन्दोलन (तस्बिरहरू)

    काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरिरहेको छ ।

    प्रधानमन्त्री निवास नजिकै रास्वपाका नेता-कार्यकर्ता भेला भए आन्दोलन गर्न थालेका हुन् । रविलाई राजनीतिक प्रतिशोध साँध्न सरकारले पक्राउ गरेको उनीहरूको जिकिर छ ।

    निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

    रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन् ।

    तस्बिरहरू: उमेश कार्की ।

  • बालुवाटार प्रदर्शनमा पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ

    बालुवाटार प्रदर्शनमा पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ

    काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका सांसद अशोक चौधरी पक्राउ परेका छन्।

    सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ गरेर सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ।

    शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै तत्काल छाड्न रास्वपाले माग गरेको छ।

  • विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे

    विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको हारगुहार गरेको दाबी गरेका छन् ।

    ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति/राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो लौ न’भनेर हारगुहार गर्दा हुन् ?’ रिजालले फेसबुकमा लेखेका छन् ।


    राजनीतिमा धैर्य र इमान चाहिने भन्दै उनले थपेका छन्, ‘यति हेक्का राखे हुन्छ- राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

  • बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

    बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

    काठमाडौं । पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध आन्दोलनको क्रममा बालुवाटारबाट रास्वपाका केही कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । आन्दोलनको सुरसारकै क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लागि रास्वपाले जनाएको छ ।

    रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन् ।

  • रास्वपा उपसभापति डिपी अर्याल किन पुगे गृहमन्त्री कहाँ ?

    रास्वपा उपसभापति डिपी अर्याल किन पुगे गृहमन्त्री कहाँ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन्।

    हिजो साँझा गृहमन्त्रीलाई भेटेर आज पार्टीले गर्नलागेको कार्यक्रमबारे जानकारी गराएको उनले बताए।

    उनले भने, ‘हामी आज बालुवाटारमा गर्न लागेको प्रदर्शनको कार्यक्रमबारे जानकारी गराउन भएको हुँ। हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ तपाईंहरुको तयारी के छ भनेर राखेर आएको हुँ।’

    उनले यो बाहेक अरु कुनै कुराकानी नभएको बताए। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ गरेको छ। सभापति लामिछाने पक्राउ गरेपछि रास्वपाले देशभर प्रदर्शन गर्दैछ। रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दैछ।

    रास्वपाले सभापति लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रिहाइ गरेर बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आइरहेको छ।

  • गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह- रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गरियोस्

    गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह- रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गरियोस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा. चन्दा कार्कीले यस्तो अनुरोध गरेकी हुन् ।

    गृहमन्त्री रमेश लेखक सहभाागी बैठकमा उनले भनिन्, ‘रवि लामिछानेज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

    समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो, तर नआएकोमा सांसद कार्कीले समितिको बैठकमार्फत प्रधानमन्त्रीलाई आफूले यसअघि बोलेको कुरा नफेर्न आग्रह गरिन् ।

    उनले भनिन्, ‘समितिको बैठकमा प्रधानमन्त्री आउने कुरा थियो, तर अन्तिम समयमा आउनुभएन । उहाँ आएको भए उहाँको अगाडि राख्ने सोचेकी थिइनँ । नआए पनि यसै समितिमार्फत आग्रह गर्न चाहन्छु, प्रधानमन्त्रीप्रति मेरो मनैदेखि सम्मान छ । मैले मेरो प्रधानमन्त्रीले लिने निर्णयमा ठाडो शीर गरेर सम्मान गर्न चाहन्छु, तर समिति, सडक र सदनको भनाइ र गराईमा सामञ्जस्यता ल्याउन जरुरी छ । सबैको अगाडि प्रस्ट रुपमा यसअघि प्रधानमन्त्रीले रवि लामिछानेको संलग्नता छैन भन्नुभएको थियो । अहिले त्यसको उल्टो कार्य र निर्णय हुँदा चुप बस्नुहुन्छ ?’

    कार्कीले बैठकमा राखेको भनाइ

    राजनीतिक र सामाजिक स्थिति हेर्दा महत्वपूर्ण मोडमा उभिएको छ । गर्नुहुँदैन भन्छौं, तर सबैको नाम कहीँ न कतै जोडिएकै छ भ्रष्टाचारीको । निजी क्षेत्रलाई पनि दायरामा ल्याएको छ । नीतिगत भ्रष्टाचार नै देशको सबैभन्दा ठूलो समस्या हो । यो रोक्ने व्यवस्था राखिन जरुरी छ । राजनीतिक हस्तक्षेपलाई रोक्न जरुरी छ । यसले प्रस्ट रुपमा सार्वजनिक पदमा बस्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउने विषय प्रस्ट हुनुपर्छ । सार्वजनिक पदमा रहेका व्यक्तिलाई अनुसन्धानमा केही कठिन भएको नागरिकको बुझाइ छ । संविधानभित्रै रहेको भनेर अमान्य हुन्छ भनेर सार्वजनिक सरोकारको मुद्दा दायर गरेको अवस्था छ । अख्तियार ऐनमा दफा ३१ (ग)मा महत्वपूर्ण व्यवस्था थपिएको छ । राजनीतीकरण गर्ने विषय रोक्न जरुरी छ भ्रष्टाचारलाई । राजनीतिक संरक्षण बन्द गर्नुपर्छ । आयोगमा धेरै उजुरी पर्छ्योट गर्न जरुरी छ ।

    प्रधानमन्त्री आउने कुरा थियो, रवि लामिछानेको विषयमा चर्चा गरिनँ । किन संसदीय समिति बनेको थियो के कुरा प्रतिवेदनमा ल्यायो ? किन उठाएको भने उहाँ यो समितिको सदस्य पनि हो । उहाँ थुनामा हुनुहुन्छ । यहाँप्रति चिन्ता गर्न पनि जरुरी हो । न्यायपालिकालाई प्रभावित पारेको भन्ने आरोप छ । त्यो होइन, १२ लाख नेपालीले पत्याएको दलको नेतालाई पक्राउ गर्नु र थुनामा राख्नु नागरिकको चासो पनि हो । यो आरोप लगाउनु न्यायोचित होइन । गर्दै आएको, भोग्दै आएको हो । अदालतलाई प्रभावित किन नगरेको हो भने अहिलेसम्म अदालतमा प्रवेश गरिसकेको छैन । प्रहरी प्रशासन कार्यपालिका मातहत छ । गृह मन्त्रालयलाई रविले न्याय पाउनुपर्छ भन्नु कसरी न्यायालय प्रभावित हुन्छ ? आफ्नो बयान र प्रमाण पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । गृहमन्त्रीलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।

    प्रधामन्त्रीलाई समितिमार्फत आग्रह । मनैदेखि सम्मान छ । मैले मेरो प्रधानमन्त्रीले लिने निर्णयमा ठाडो शीर गरेर सम्मान गर्न चाहन्छु, तर समिति, सडक र सदनको भनाइ र गराईमा सामञ्जस्यता ल्याउन जरुरी छ । सबैको अगाडि प्रस्ट रुपमा उहाँको संलग्नता भइरहेको छ भन्नुभएको थियो । अहिले त्यसको उल्टो हुँदा केही नबोल्नु राम्रो होइन ।

    समितिको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सरिता प्रसाईंले भने कार्कीको भनाइको आलोचना गरेकी थिइन् । उनले यसअघि पनि उच्चपदस्थ राजनीतिक व्यक्ति पक्राउ परेको भए पनि यसरी सडकमा आन्दोलनमा कोही नउत्रिएको र राज्यलाई गालीगलौज नगरेको बताइन् ।

    उनले भनिन्, ‘उनले मुख छोडेर हिँडेको पनि देखेका छैनौं । यसअघि पक्राउ पर्दा त कोही-कसैले सडकमा आन्दोलन गरेनन् । सरकारलाई गाली गर्दै हिँडेनन् ।’

  • माइतीघरमा आज पनि रास्वपाको विरोध (६ तस्बिर)

    माइतीघरमा आज पनि रास्वपाको विरोध (६ तस्बिर)

    काठमाडौं । पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरिरहेको हो ।

    यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।

    प्रदर्शनकारीले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ-८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर ।

  • हिरासतभित्र रवि : पुस्तक पढ्दै र डायरी लेख्दै, छिट्टै छुट्नेमा ढुक्क !

    हिरासतभित्र रवि : पुस्तक पढ्दै र डायरी लेख्दै, छिट्टै छुट्नेमा ढुक्क !

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिसकेपछि उनलाई प्रहरीले दुईपटक म्याद थप गराइसकेको छ ।

    पक्राउपछि रविलाई जिल्ला प्रहरी कार्यालय भवनको माथ्लो तल्लामा रहेको गार्ड सुत्ने कोठामा राख्ने व्यवस्था मिलाइएको थियो । अहिले पनि उनी यही कोठाभित्र छन् । कोठामा खाट र ओढ्ने–ओछ्याउनेबाहेक एउटा टेबल र लुगा झुण्ड्याउने ह्याङ्गर छ । माथिल्लो तल्लामा रविबाहेक अन्य कैदीबन्दी छैनन् ।

    रास्वपा स्रोतका अनुसार रविको हिरासत बसाइ सामान्य छ । रविका वकिलहरूले दाबी गरेजस्तो प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार वा पेलान नभएको स्रोत बताउँछ । भेट्न आउनेहरूले सहजरूपमा भेट्न पाइरहेका छन् ।

    रविको कोठामा रहेको झ्याल वा ढोकाबाट आगन्तुकहरूले रविसँग कुरा गर्ने गर्छन् । उनी सुत्ने ओछ्यान झ्यालमै सटेको हुनाले कुराकानी गर्न कुनै पनि असुविधा छैन ।

    रवि किञ्चित पनि निराश वा हताश मनस्थितिमा नरहेको एक नेताले बताए । अदालतको इजलासमा आवेशपूर्ण अभिव्यक्ति दिए पनि हिरासतभित्र उनी उच्च मनोबलमा रहेको ती नेताको भनाइ छ ।

    रविलाई हिजोमात्र भेटेका एक रास्वपा नेताले भने, ‘उहाँमा पहिलेकै जस्तो ऊर्जा र आत्मविश्वास देखेँ । लवाइ र हेयरस्टाइल पनि उस्तै थियो । अनुहार चम्किलो छ । अदालतले आफूलाई न्याय गर्छ भन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ । ‘चिन्ता नलिनुस, म चाँडै निस्किन्छु’ भन्नुभयो ।’

    रविको दिनचर्या अहिले भेटघाट र लेखपढमा बितिरहेको छ । उनलाई प्रत्येक दिन दुईपटक दुई-दुई घन्टा आगन्तुकहरूले भेट्न पाउँछन् । बिहान ७ देखि ९ र बेलुकी ३ बजेदेखि ५ बजेसम्म भेटघाटका लागि समय छुट्याइएको छ । यो समयमा रविलाई भेट्न आउनेहरूको ताँती लाग्छ । प्राय रास्वपाका नेता कार्यकर्ता हुन्छन् । आउनेहरूलाई प्रहरीले पनि सहजरूपमा नै भेट्न दिइरहेको स्रोतले बतायो । एकजनाले १५-२० मिनेटसम्म भेट्ने गरेका छन् ।

    रविलाई भेट्न आउनेहरूले विभिन्न पुस्तकहरू ल्याइदिएका छन् । ती पुस्तकमध्ये छनोट गरेर पढिरहेका छन् रवि । उनको कोठाभित्र ‘ब्रम्हास्त्र’, ‘सन्त्रासका ६० दिन’, रुदाने लगायतका पुस्तकहरू भेटिन्छन् । पुस्तकसँगै पत्रपत्रिका पनि उपलब्ध छन् । दैनिक केही समय टिभी पनि हेर्न पाइरहेका छन् ।

    रवि लेखनकार्यमा पनि व्यस्त रहेको अर्का रास्वपा नेताले बताए । ती नेताका अनुसार रवि अहिले आफ्नो हिरासत डायरी लेखिरहेका छन् । पछि पुस्तक प्रकाशित गर्ने उनको तयारी छ ।

    हिरासतमा रहेका अन्य कैदी बन्दीहरू पहिलो तल्लामा छन् । हिरासतको साझा शौचालय पहिलो तल्लामा रहेकाले शौचकार्यका लागि रवि तल झर्न सक्छन् । फोन गर्नुपर्‍यो भने प्रहरीलाई गुहार्नुपर्छ । खाना भने रविले प्राय बाहिरबाट मगाउने गरेका छन् । पत्नी निकिता पोखरामा हुँदा उनले नै खाना ल्याइदिने गरेकी थिइन् । हिजो उनी काठमाडौं फर्किएकी छन् ।

    सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने निकिताको तयारी छ । त्यसैका लागि काठमाडौं आएकी हुन् । रिट हालिसकेर उनी फेरि पोखरा फर्किनेछिन् । रास्वपाका सीमित नेताहरू पोखरामा छन् ।

  • कीर्तिपुरबाट रास्वपाको दाबी- प्रधानमन्त्रीले लिएको जग्गा दान होइन, घुस हो

    कीर्तिपुरबाट रास्वपाको दाबी- प्रधानमन्त्रीले लिएको जग्गा दान होइन, घुस हो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा मौन प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको भन्दै आज काठमाडौंको कीर्तिपुरमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनपछि बोल्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा आफैंमा आन्दोलन भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे ।

    उनले प्रधानमन्त्री ओलीले पार्टीको नाममा व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको नभई घुस लिएको दाबी गरे ।

    उनले भने, ‘एमालेले १० रोपनी १४ आना जगा दान लिएको छ, जोसँग सरकारवादी भएर ललिता निवास काण्डमा मुद्दा चलिरहेको छ, ९ अर्ब बिगो भराउनुपर्ने मुद्दा छ । त्यही व्यक्तिसँग १०० करोडको जग्गा दान लिने निर्णय गरेको छ, त्यो दान होइन, घुस हो । एक ठाउँमा सरकारको जग्गा दोहन गर्ने अर्को ठाउँमा दिने, यो चाहिँ संगठित अपराध हो । संगठित ठगी हो । यो एउटा केसमा मात्रै भएको छैन, गिरीबन्धुमा पनि संगठित ठगी भएको छ ।’

    उनले ठूला दलहरुले संगठित ठगी गरेकै कारणले देश अगाडि बढ्न नसकेको जिकिर गरे ।

  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, आन्दोलनको स्वरूपबारे छलफल

    रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, आन्दोलनको स्वरूपबारे छलफल

    काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शुक्रबार बसेको  केन्द्रीय समितिको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको रास्वपाले जनाएको छ।

    शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

    बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ। साथै आन्दोलनको कार्यक्रमको स्वरूप बारे विवरण सार्वजनिक गर्नेछ ।

    सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामछिाने पक्राउ परेयता रास्वपाले पोखरा र काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आइरहेको छ ।

     

  • आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, आगामी स्वरूपबारे भाेलि जानकारी दिइने

    आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, आगामी स्वरूपबारे भाेलि जानकारी दिइने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय गरेकाे छ भने आन्दाेलनकाे स्वरुपबारे छलफल गरिने जनाएकाे छ ।

    आज केन्द्रीय कार्यालयमा अपरान्ह ४:३० बजे देखि बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको भएपनि स्वरुपबारे छलफल गरिने झाले स्पष्ट पारे । आन्दोलनको कार्यक्रमको स्वरूप वारे विवरण भोलि सार्वजनिक गरिने उनले जानकारी दिए ।

    रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र सत्तापक्षले सहकारी पीडितलाई न्याय दिने आवश्यक कदमको सट्टा अन्यतिरै अल्झिएर बसेको अवस्थामा सहकारी पीडितलाई न्याय दिने र रकम फिर्ता गर्न विरोध प्रदर्शनको आगामी कार्यक्रमबारे छलफलमा रहेको उनले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आन्दोलन स्थगनबारे कुनै छलफल वा निर्णय भएको छैन ।’

    सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरेको थियो । विपक्षी दलहरूले रास्वपाको आन्दोलनको विरोध नगरे पनि सत्तारूढ सबै दलहरूले आपत्ति जनाइसकेको छन् । चर्काे आलोचनासँग सभापति लामिछानेको हिरासत बसाइँ लम्बिने भएपछि रास्वपाले आन्दोलनको स्वरूपबारे छलफल थालेको हो ।

  • माइतीघरबाट रास्वपाको उद्घोष- अब ०८४ सम्म सदन र सडक हाम्रो, सरकार भ्रष्टहरूको

    माइतीघरबाट रास्वपाको उद्घोष- अब ०८४ सम्म सदन र सडक हाम्रो, सरकार भ्रष्टहरूको

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई पनि अरुजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजेको बताएका छन् ।

    माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा अरु पार्टीभन्दा फरक भएको दाबी गरे ।

    उनले भने, ‘हाम्रो पार्टी संसदमा आएपछि उनीहरूको निद्रा हराएको छ । हामीले सदनमा सशक्त आवाज उठाएका छौं । अब ०८४ सम्म सदन र सडक हाम्रो हो । सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला ।’

    उनले पार्टी सरकार हुँदा अरुले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणा बेचना झा पक्राउ गरेपछि सरकार ढालेको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको जिकिर गरे ।

    सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

  • ‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

    ‘सत्ताको दुरुपयोग बन्द गर’ भन्दै माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

  • रविको म्याद थपसँगै रास्वपाका प्रदर्शनकारी आक्रोशित, निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास (भिडिओ)

    रविको म्याद थपसँगै रास्वपाका प्रदर्शनकारी आक्रोशित, निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास (भिडिओ)

    काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा तनाव बढेको छ ।

    आज रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनासँगै प्रदर्शनकारी आक्रोशित भए । उनीहरु निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ ।

    प्रदर्शनकारी निषेधित क्षेत्र प्रवेश गर्न रोकिएका छन् । उनीहरु अहिले निषेधित क्षेत्रबाट ५० मिटर जति वर बसेर नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याक्ने गाडी रेडी अवस्थामा राखेको छ ।

  • न्यायाधीशसामु रविले भने- ममाथि राज्य पक्षबाट ह्यारेसमेन्ट भयो

    न्यायाधीशसामु रविले भने- ममाथि राज्य पक्षबाट ह्यारेसमेन्ट भयो

    काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राज्यपक्षले ज्यादतिपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् । आज म्याद थपका लागि अदालत प्रस्तुत गरिँदा न्यायाधिससामु उनले सो गुनासो गरेका हुन् ।

    उनी इजलासमा निकै आक्रोशितरूपमा प्रस्तुत भएको स्रोतले बतायो । ‘माथि’ को निर्देशनमा प्रहरीले आफूलाई राम्रो व्यवहार नगरेको र मानसिक यातना दिएको उनले दाबी गरेका थिए । उनको म्यादसम्बन्धी सुनुवाइ न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको थियो ।

    रविका वकिल वरिष्ठ अधिवक्ता नारायण घिमिरेले सुरूमा रविले केही बोल्न चाहेको बताएका थिए । त्यसपश्चात प्रहरी उपरीक्षकले प्रश्न गरे, ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभएको छ ?’

    प्रहरीको यस्तो प्रश्नले रवि उत्तेजित बनेका थिए ।

    उनले भने, ‘ममाथि तपाईंहरूबाट अन्यायपूर्ण व्यवहार भएको छ । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । मैले सबैतिर बयान दिएको छु । सबै परीक्षामा पास भएको छु । मेरो कतै पनि सहभागिता नरहेको प्रष्ट भइसकेको छ । तर, राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो ।’

    रविले आफ्नो स्वर चर्को हुन गएको र यो आक्रोशको अभिव्यक्ति भएको बताए । उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको उल्लेख गरे ।

    ‘मलाई अदालतले नै हो न्याय दिने,’ उनले भने ।

    अदालतले रविलाई थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

  • रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    पोखरा । सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

    कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो ।

    सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।

    सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

  • रास्वपाबाट अवाञ्छित गतिविधि भइरहेको भन्दै एमालेको विरोध, सांसदहरूको उपस्थिति गैरकानूनी भएको जिकिर

    रास्वपाबाट अवाञ्छित गतिविधि भइरहेको भन्दै एमालेको विरोध, सांसदहरूको उपस्थिति गैरकानूनी भएको जिकिर

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ ।

    पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच रास्वपाका सांसदहरूको उपस्थिति गैरकानूनी भएको एमालेको निचोड छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र सेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँचजना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानूनी कार्य हो ।’

    मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्य दण्डनीय मानेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

    संसदीय समितिले सर्वसम्मतरूपमा औंल्याएका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी प्रधानमन्त्री र सरकारका निकायविरूद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाएर अस्वस्थ वातावरण सिर्जना गरिएको भन्दै उक्त पार्टीले विरोध जनाएको छ ।

  • चितवनका सीडीओ र एसपी सरुवामा रास्वपाको विरोध, ‘असत्य’ को शव बनाएर विसर्जन गरिएको दावी

    चितवनका सीडीओ र एसपी सरुवामा रास्वपाको विरोध, ‘असत्य’ को शव बनाएर विसर्जन गरिएको दावी

    चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालको सरकारले सरुवा गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । सरकार र प्रधानमन्त्रीविरुद्ध ‘उद्दण्ड प्रदर्शन’ गर्न अनुमति दिएको भन्दै उनीहरुलाई सरुवा गरिएपछि रास्वपा असन्तुष्ट बनेको हो ।

    सोमबार रास्वपाले चौबिसकोठीबाट विरोध र्‍याली निकालेको थियो । र्यालीका क्रममा प्रदर्शनकारीले एउटा सांकेतिक शव बनाएर नारायणी नदीमा जलाउने प्रयास गरेका थिए । उक्त सांकेतिक शव प्रधानमन्त्रीकै बनाइएको भनेर समाचारहरु आएकोमा पनि रास्वपाले खण्डन गरेको छ ।

    रास्वपाका चितवन सभापति कृष्णप्रसाद भुषालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एवं सत्यमाथि असत्यको आवी बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिकरुपमा असत्यको पुत्ला भनाई नारायण नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा  चितवन दुख प्रकट गर्दछ ।’

    उक्त प्रदर्शन कुनै व्यक्तिप्रति लक्ष्यित नभएको रास्वपाले बताएको छ । तर, यसै विषयलाई लिएरु सरकारले चितवनका प्रजिअ र प्रहरी प्रमुखलाई समायवधि अगावै सरुवा गरेर आफ्नो गल्ति ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
    रास्वपाको उक्त प्रदर्शनमा इन्सपेक्टरको कमान्डमा सुरक्षार्थ प्रहरी टोली खटिएको थियो ।

    बागमती प्रदेश प्रहरीका एक अधिकारी भन्छन्, ‘सरकारको पुत्ला दहन भनिएको थियो । कार्यक्रम सामान्य नै थियो । तर पछि एकाएक अस्वभाविक दृष्य देखियो ।’

    प्रदर्शनकारीले शवजस्तै पुत्ला बनाएर मलामी शैलीमा नारायणी नदितर्फ लागेका थिए । करिब ३ किलोमिटर दुरीमा रहेको नारायणी नदी किनारमा पुगेपछि शव दाहसंस्कार गरेजसरी प्रदर्शनकारीले जलाउन खोजेका थिए ।

    चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले भने प्रदर्शनकारीले जलाउन नपाएको बताए ।

    ‘प्रदर्शनकारीले फ्याँकेर हिँडेका थिए’, डीएसपी रिजालले भने । सुरक्षाको कमान्ड कन्ट्रोल गर्न नसकेको र कमजोरी गरेको भन्दै प्रहरी र निजामतिका दुवै जिल्ला नेतृत्वलाई त्यसपछि तानिएको हो । यो घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

    अहिले चितवन प्रहरी प्रमुखको जिम्मा एसपी गौतम मिश्रले पाएका छन् । बुधबार रिमाल तानिएकामा मिश्र बिहीबार बिहान चितवन पुगेका छन् । चितवन हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापती रवि लामिछाने निर्वाचित भएको निर्वाचित क्षेत्र रहेको जिल्ला हो ।

    प्रमुख जिल्ला अधिकारी यादव चितवन सरुवा भएर आएको चार महिनामात्रै भएको थियो भने, प्रहरी प्रमुख रिमाल पनि चितवन आएको ७ महिना पुरा नहुँदै सरकारले सरुवा भएका हुन् ।

     

  • रविको बयानमा आलटाल गरिएको भन्दै स्वर्णिमको आक्रोश- के उहाँलाई दालभात खुवाउन ल्याइएको हो ?

    रविको बयानमा आलटाल गरिएको भन्दै स्वर्णिमको आक्रोश- के उहाँलाई दालभात खुवाउन ल्याइएको हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्म हाम्रो दाबी भए पनि शुक्रवार साँझको घटनाले त्यसको पुष्टि गरेको बताए ।

    हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाई छ ।

    उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०-११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४-५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?

    के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उनले आक्रोश पनि पोखे । उनले भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

  • राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

    भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिएका थिए ।

    राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    उनका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

    संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपति विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पाैडेल भेट्नुलाई अर्थपूर्ण मानिएकाे छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेकाे बेला राष्ट्रपति पाैडेलसँग विपक्षी दलहरुले भेटेका हुन् ।

    विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

     

  • ‘सहकारी प्रकरण’ बुझाउँदै रास्वपा नेताहरु पोखरेलीका घर-चोकमा

    ‘सहकारी प्रकरण’ बुझाउँदै रास्वपा नेताहरु पोखरेलीका घर-चोकमा

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश प्रमुख नेताहरू गत शुक्रबारदेखि पोखरामा केन्द्रित छन् । सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा पुर्‍याएपछि ठूलो पार्टी पङ्क्ति उनलाई साथ दिन त्यहाँ पुगेको हुन् ।

    पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले लगायत अधिकांश पदाधिकारी पोखरामै भेटिन्छन् । पार्टी सभापतिले सहकारी ठगी गरेका होइनन् भन्नेमा रास्वपाभित्र गजबकै आत्मविश्वास देखिन्छ । नेतृत्वपङ्क्ति एक ढिक्का भएर लामिछानेको बचाउमा उभिएका छन्, चाहे सामाजिक सञ्जालमा जति आलोचना र ट्रोल खेप्नु किन नपरोस् ।

    रवि पक्राउ परेको भोलिपल्टैदेखि रास्वपाले दिनहुँ पोखरामा जनप्रदर्शन गरिरहेको छ । यो प्रदर्शनमा भाग लिन काठमाडौंदेखि विभिन्न जिल्लाबाट रास्वपाका नेता–कार्यकर्ताहरू ओइरिएका छन् । पार्टीले पोखरामा आउन आह्वान गरे तापनि खाने–बस्ने प्रबन्ध भने गरेको छैन । उनीहरू आफैँले आफ्नो व्यवस्था मिलाएको रास्वपा गण्डकीका सभापति राजन गौतमले बताए ।

    रास्वपाले केही आन्दोलनको प्रचारका लागि युट्यूबरहरु प्रयोग गरेको छ । काठमाडौंबाटै बाक्लो संख्यामा युट्यूबरहरु पोखरा पुगेका छन् । उनीहरूलाई रास्वपाबाटै सबै बन्दोबस्त मिलाइएको दाबी गरिएको छ । हिजो रास्वपाले गरेको पत्रकार सम्मेलनमा मुलधारका पत्रकारलाई उपेक्षा गरेर युट्यूबहरुलाई मात्र बोलाइएको थियो ।

    रास्वपाको प्रदर्शनले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । एकथरिले रविमाथि राजनीतिक षडयन्त्र रचिएकाले सडकमा उत्रिनु स्वभाविक भएको बताएका छन् भने अर्काथरिले अदालतमा गइसकेको विषयलाई सडकबाट दबाब दिन नहुने तर्क गरेका छन् । साथै, आन्दोलनमा कतिपय अशिष्ट नाराबजी र क्रियाकलापहरू पनि देखिन्छन् । ‘सरकारको लास’ बनाएर उफ्रिपाफ्री गरेका भिडिओहरुमा अधिकांश नकारात्मक प्रक्रिया आएका छन् ।

    रास्वपा कोषाध्यक्ष लिमा अधिकारी भने आन्दोलन शान्तिपूर्ण र सभ्यरुपमा भइरहेको दाबी गर्छिन् ।

    उनले भनिन्, ‘आन्दोलन मूलतः शान्तिपूर्ण छ । कहिँकतै अवाञ्छित गतिविधिहरु भएका हुन सक्छन्, तर त्यो पार्टीको नीति अनुसार होइन । कतिपय ठाउँमा घुसपैठ गरेर पनि आन्दोलन भड्काउने प्रयास गरिएको छ ।’

    नेताहरुले निरन्तररुपमा अराजक गतिविधि नगर्न कार्यकर्ताहरुलाई सचेत गराइरहेको उनले बताइन् । ‘अब आन्दोलनमा लाग्ने नारासमेत पार्टीको नेतृत्वले तय गरेको छ, त्योभन्दा बाहेक नाराबजी हुनेछैन ।’

    रास्वपाको आन्दोलनमा पोखरेली जनताभन्दा पनि बाहिरी जिल्लाका मानिसहरुको बढी उपस्थिति देखिन्छ । सहकारी पीडितको आन्दोलन केन्द्रबिन्दु नै पोखरा भएकाले रास्वपाको आन्दोलनमा पोखरेली जनता सकारात्मक नरहेको आलोचकहरुले दाबी गरेका छन् । पोखरामा मात्रै ७ वटा सहकारी संस्थामा जनताको रकम हिनामिना भएको छ ।

    रास्वपा नेताहरू भने यो स्वीकार गर्दैनन् । पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेलाई अन्यायपूर्वक पक्राउ गरिएको विषयमा पोखरेली जनता स्पष्ट रहेको बताए ।

    ‘हामीले यहाँका स्थानीय जनतासँग पनि कुरा गरिरहेका छौँ । हामीसँग भेट हुने सबैले रवि लामिछानेलाई राजनीतिक प्रतिसोध साँधिएको भनेर दुख व्यक्त गर्नुभएको छ । हाम्रो आन्दोलनमा पोखरेली जनताको ठूलो साथ छ,’ उनले भने ।

    रास्वपाले हिजोबाट पोखराका होटल–चोक र घरहरुमा समेत पुगेर जनतालाई सहकारी प्रकरणबारे बुझाउनसमेत सुरु गरेको छ । नेताहरू विभिन्न समूहमा बाँडिएर बिहान–बिहान जनता भेट्न र अन्तरक्रिया गर्न थालेका हुन् । हरेक दिन दिउँसो भने र्‍याली निकाल्ने गरिएको छ, जसमा सबै नेता कार्यकर्ता सहभागी हुन्छन् ।

    रवि लामिछानेलाई भोलि अदालतमा म्याद थपका लागि प्रस्तुत गरिँदैछ । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले थप केही दिन माग्नेछ । प्रहरीले मागेअनुसार अदालतले म्याद थप्ने निश्चित प्राय छ । भोलिको अवस्था हेरेर रास्वपाले आफ्नो रणनीति बनाउने छ । पार्टीका नेताहरुले जिल्ला प्रहरी कार्यालयको हिरासतमा गएर रविलाई नियमित भेटिरहेका छन् ।

  • रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

    काठमाडौं । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

    सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

    सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोहसम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुर गरेका छन् ।

    उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग सफलले गरेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने जाहेरी दर्ता भइनसकेको नेपाल प्रेससँग बताए ।

    उनले जाहेरी पेश भएको भए पनि दर्ता भइनसकेको र कोही कसैलाई पक्राउ तथा नियन्त्रणमा लिन कोहीकसैले जाहेरी दर्ता गर्न जरुरी नभएको भन्दै प्रहरीले कानून उल्लंघन गर्ने जोसुकैलाई जतिबेला पनि नियन्त्रणमा लिनसक्ने बताए ।