Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • सभामुखलाई भेटेर रास्वपा सांसदहरुले गरे रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह

    सभामुखलाई भेटेर रास्वपा सांसदहरुले गरे रवि लामिछानेलाई निलम्बन नगर्न आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांदसहरुले सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न आग्रह गरेका छन्।

    सभामुखको कार्यकक्षमा पुगेर रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन्।

    रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो। तर, रास्वपाका नेताहरुले मुद्दा पर्दैमा सांसद पद निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्।

    रास्वपा नेताहरुसँगको भेटमा सभामुखले कानूनी प्रक्रिया हेरेर निर्णय लिने जवाफ दिएका छन्। प्रहरीको पत्रको बिषयमा सभामुख घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफलसँग छुट्टै छलफल पनि गरेका छन्।

  • रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक

    रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए।

    बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

    रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।

    संसद सचिवालयले त्यसबारे निर्णय गरेको छैन। अहिले सभामुख भेट्न दुई सांसद पुगेका छन्।

  • रविलाई निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसद पुगे सभामुखको कार्यकक्षमा

    रविलाई निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसद पुगे सभामुखको कार्यकक्षमा

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका छन्।

    रास्वपा सांसद्वय सोविता गौतम र गणेश पराजुली केही बेरअघि सभामुखको कार्यकक्षमा पुगेका हुन्। रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो।

    यो पत्रको बिषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेलगत्तै रास्वपा सांसदहरु पुगेका हुन्।

  • हामीमाथि मिडिया ट्रायल भयो, ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछुः निकिता पौडेल

    हामीमाथि मिडिया ट्रायल भयो, ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछुः निकिता पौडेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाएकी छन् ।

    प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् ।

    उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’

    आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् ।

    ‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।’

    हेर्नुस उनको स्टाटस

  • रविलाई थुनछेक बहसका लागि पाँचै जिल्ला घुमाइने, अझै कम्तीमा तीन महिना नछुट्ने दाबी

    रविलाई थुनछेक बहसका लागि पाँचै जिल्ला घुमाइने, अझै कम्तीमा तीन महिना नछुट्ने दाबी

    काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीकाे अनियमिततासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिललाई बुझाएको छ । अब सरकारी वकिलले जिल्ला अदालत कास्कीमा अभियोजन गरेपश्चात अदालतले धरौटी वा साधारण तारेखमा छोड्ने आशा उनका समर्थकले गरिरहेका छन् । तर, रवि हिरासतमुक्त हुने कुरा त्यति सहज छैन ।

    कास्कीबाहेक थप ४ जिल्लामा रविविरुद्ध अनुसन्धान भइरहेकाले एउटा अदालतले छाेड्दैमा रवि हिरासतमुक्त हुननसक्ने भएका हुन् । पाँचै जिल्लाले अदालतबाट पक्राउ अनुमति लिई बयानका लागि सरकारी वकिलमा पेश गरिसकेका छन् ।

    यसमध्ये कास्की प्रहरीसँग उपलब्ध अनुसन्धान अवधि करिब करिब सकिन लाग्दा सोमबार सरकारी वकिलसमक्ष मुद्दा पेश भएको हाे । अब सरकारी वकिलले प्रहरीद्वारा पेश भएको मिसिल अध्ययन गर्छ । केही नपुगेका कागजात भए, झिकाउन सक्छ र जिल्ला अदालतमा पेश गर्छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार प्रहरीले पठाएको प्रतिवेदन दर्तामात्रै भएको छ, अध्ययन शुरु भएको छैन । त्यसैले फेरि म्याद थप गरेर उनीहरुलाई हिरासतमै राख्नुपर्ने स्थिति रहेको उनले बताइन् ।

    प्रहरीबाट प्राप्त फाइलहरु आउने क्रममै रहेको भन्दै उनले अध्ययन कार्य शुरु नभएको बताइन् ।

    ‘हामी अहिले नियमित काममै व्यस्त छौं, दुई-चार दिनमा अध्ययन गरेर मुद्दा चल्ने, नचल्ने कुराको निचोडमा पुग्छौं’, उनले भनिन् ।

    अर्थात् सरकारी वकिलले चाहँदा रविको मुद्दा चल्ने वा नचल्नेमध्ये दुबै हुनसक्ने काफ्लेले बताइन् । मुद्दा चल्ने स्थिति भएमा अभियोग पत्र बनाउनुपर्छ । यी सबै काम गर्न हाल उपलब्ध म्याद पर्याप्त नभएको उनले बताइन् ।

    ‘म्याद त थप्नैपर्छ, अहिलेको म्यादले पुग्ने स्थिति छैन’, उनले भनिन् । धेरै मान्छे जोडिएको मुद्दा भएका कारण हतारमा अनुसन्धान गर्दा त्रुटि हुनसक्ने भन्दै उनले अझै केही समय लाग्ने बताइन् ।

    सरकारी वकिलले यदि मुद्दा चल्ने ठहर गरेमा मात्रै जिल्ला अदालतमा पेश हुन्छ । र, थुनछेक बहस शुरु हुन्छ, तर अदालतमा पेश गर्न नै समय लाग्ने न्यायाधिवक्ता काफ्लेको भनाइ छ ।

    यदि कास्की अदालतले उनलाई धरौटीमा रिहा गरे उनलाई त्यहीबाट रुपन्देहीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिनेछ । अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने भैरहवामा थुनछेक बहस हुँदा उनलाई उपस्थित गराउनुपर्ने प्रहरी स्रोतले जनायो ।

    ‘मुद्दाको शीर्षक र कसुर एउटै भए पनि घटनास्थल र कसुरका प्रकार फरक छन्, त्यसैले जहाँ-जहाँ मुद्दा दर्ता भएको छ, त्यहाँ-त्यहाँ पुर्‍याउनुपर्छ’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको स्रोतले बतायो ।

    कास्कीमा झैं रुपन्देही प्रहरीले रवि, छविसहितका प्रतिवादीको फाइल सरकारी वकिलमा बुझाउँछ । कास्कीकै प्रक्रिया झैं त्यहाँ पनि सबै प्रक्रिया पूरा गरी अदालतमा पेश गरिन्छ । थुनछेक बहसपछि हुने आदेशबमोजिम उनी साधारण तारेखदेखि धरौटीसम्ममा छुट्न वा पुर्पक्षका लागि थुनामा पठाइन सक्छन् ।

    रुपन्देहीको प्रक्रिया सकिएपछि उनीहरुलाई फेरि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धानका निम्ति उपस्थित गराइनेछ । त्यहाँबाट काठमाडौं र काठमाडौंको प्रक्रिया टुंगिएपछि पर्साको हिरासतमा जानुपर्नेछ ।

    ‘छिटो गर्दा पनि अझै तीन महिना उहाँहरुले हिरासतमै बस्नुपर्ने देखिन्छ’, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक न्यायाधिवक्ता भन्छन्, ‘एउटै जिल्लामा मुद्दा भएको भए सम्बन्धित जिल्ला अदालतबाट एकमुष्ट आदेश आउन सक्थ्यो, तर घटनास्थल फरक फरक जिल्लामा र मुद्दा पनि फरक फरक जिल्लामा भएका कारण उहाँलाई बाहिर राख्न सकिने अवस्था छैन ।’

  • संविधान संशोधनलाई गठबन्धनको राजनीतिक एजेण्डा बनाइन हुँदैन: मनिष झा

    संविधान संशोधनलाई गठबन्धनको राजनीतिक एजेण्डा बनाइन हुँदैन: मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संविधान संशोधन गठबन्धनको राजनीतिक एजेण्डा मात्रै हुन नहुने बताएका छन्।

    संविधान संशोधनबारे अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अग्रगामी सोचका साथमा संविधान संशोधनका लागि आफूहरु पनि तयार रहेको बताए।

    उनले भने, हामीले पत्रकार महासंघको निर्वाचन हेर्यौँ, पत्रकारहरु पनि राजनीतिक दलको झण्डाभित्र, दलीयकरण यति धेरै भइसकेको छ। राजनीतिकरण राम्रो हो। संविधान बनाउँदै गर्दा हामीले त्यो उदारता र त्यागलाई पनि सम्झिनुपर्छ। सम्माननिय पदमा भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरामा हामी तयार छौं, अरु पनि तयार हो त ?

    पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउने तयारी गरेकोप्रति लक्षित गर्दै यसबारेमा सोच्नुपर्ने बताए।

  • डिन र क्याम्पस प्रमुख नियुक्तीमा सत्तारुढ दलले राजनीतिक हस्तक्षेप बढाएको भन्दै रास्वपाको विरोध

    डिन र क्याम्पस प्रमुख नियुक्तीमा सत्तारुढ दलले राजनीतिक हस्तक्षेप बढाएको भन्दै रास्वपाको विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा नभई सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्नुको सट्टा अवरोध सिर्जना गरी पुनः कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभिष्ट पुरा गर्ने प्रयास गरेको बताएका छन्।

    शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु शैक्षिक संस्थाहरू विरुद्धको अक्षम्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि  योग्यता र क्षमताभन्दा दलगत भागबन्डाको आधारमा विश्वविद्यालय चलाउँदा देशको शिक्षा क्षेत्रको साख निरन्तर खस्कँदो छ । योग्यतालाई बेवास्ता गर्दै राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई प्राथमिकता दिँदा नेपालको शैक्षिक क्षेत्र राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको छ ।  जसले उत्कृष्ट परिणाम दिन सक्ने योग्य व्यक्तिहरूलाई ओझेलमा पार्नुका साथै विश्वविद्यालयप्रति आम जनमानसमा आशा र विश्वास निरन्तर घटिरहेको छ । विश्वविद्यालयहरू आफ्नो न्यूनतम कार्यसम्पादनमा समेत चुकिरहेका छन् ।’

    त्रिभुवन  विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका नियुक्तिका सन्दर्भमा केही राजनीतिक दल, तिनका भ्रातृ संगठन र  गलत तत्त्वहरूबाट दलीय हस्तक्षेपको हर्कत गरेकोप्रति आपत्ति जनाए।  विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएका थिए तर अहिले जसरी अवरोध सिर्जना गरी पुनः कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभिष्ट पुरा गर्ने प्रयास गर्दैछन्, हामी यसको घोर भर्त्सना गर्दछौँ ।’

    अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा पूर्ण समर्थन रहेको बताए। ‘सरकार र सत्तारुढ दलबाट नै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहनेछ । उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प छैन: विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य छैन । अतः हामी सम्पूर्ण विद्यार्थी, प्राध्यापक, नागरिक समाज र सरोकारवालाहरूलाई नेपालको शैक्षिक क्षेत्रमा दलीय राजनीतिकरण विरुद्ध एकजुट भई आआफ्नो ठाउँबाट योगदान दिन हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

  • काठमाडौंबाट पोखरा उडे रवि, निकिता पनि एउटै जहाजमा

    काठमाडौंबाट पोखरा उडे रवि, निकिता पनि एउटै जहाजमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् ।

    रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा छन् ।

    रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् ।

    रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

  • रवि लामिछानेलाई सिमरा पुर्‍याइयो, विमानस्थल बाहिर समर्थकको नाराजुलुस (भिडिओ)

    रवि लामिछानेलाई सिमरा पुर्‍याइयो, विमानस्थल बाहिर समर्थकको नाराजुलुस (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लैजाने क्रममा सिमरा पुर्‍याइएको छ । पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो ।

    रविलाई लगिएको बुद्ध एयरको जहाज ४ः१३ बजे अवतरण भएको थियो । रविलाई पुर्‍याउनुअगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । विमानस्थलको गेटबाहिर समर्थकको प्रदर्शनका कारण रविलाई निकाल्न प्रहरीलाई सकस परेकाे थियाे ।

  • रवि लामिछानेको स्वास्थोपचार गरी कागजात पेश गर्न अदालतको आदेश

    रवि लामिछानेको स्वास्थोपचार गरी कागजात पेश गर्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचारका लागि आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको आज ४ दिन म्याद थप गर्ने क्रममा सो आदेश दिएका हुन् ।

    लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको हकमा पनि सोही आदेश दिइएको छ ।

    अदालतले भनेको छ, ‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’

    अदालतले लामिछाने र जोशीसँगै लिला पछाई, रामबहादुर खना, र कृष्णबहादुर गुरुङलाई पनि एउटै कसुरमा थप चार दिन थुनामा राख्ने गरी अनुमति दिएको छ ।

    प्रहरीले उनीहरु तीनैजनामाथि सहकारी ठगी गरी सम्पत्ति सुद्धीकरण गरेको सम्बन्धी कसुरमा अनुसन्धान नसकिएकाले म्याद थपका लागि आदेश मागेको थियो ।

    पक्राउ परेका कसूरबाट आर्जित सम्पत्तिको मुल्यांकन गरी विगो कायम गर्न बाँकी रहेको, प्रतिवादीहरुको कारोवार रहेको घर–जग्गा खरिद विक्रीको लिखित सम्बन्धित कागज प्रमाण प्राप्त भइनसकेको प्रतविादीहरु संलग्न रहेको म्वद्ध कसूरको वर्गीकरण गरी अनुसन्धान प्रतिवेदन तयार हुँदै रहेको प्रहरीको दावी छ । सोही आधारमा अदालतले आज २३ गतेबाट लागू हुने गरी पाँचै जनाको ४ दिन म्इाद थपेको हो ।

  • रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग

    रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले गुहार्यो मानवअधिकार आयोग

    काठमाडौं । सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

    लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रि समूदायसमक्ष अपिलसमेत गरेको छ ।

    रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा निवेदन दिएका हुन् । निवेदनमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग राखिएको छ ।

    राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानित आयोगबाट सक्रिय कदम चाल्न रास्वपाले आग्रह गरेको छ ।

    ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

    रास्वपाले राज्य संयन्त्रद्वारा नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको गुनासो गरेको छ । अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको पार्टीको आरोप छ ।

    ‘लोकप्रिय नेता सांसद रवि लामिछानेको मानहानी, गोपनीयताको हननका साथै चरित्र हत्या गर्ने कार्य भइरहेको छ । यसरी न्यायिक प्रक्रियालाई प्रभाविक पार्न राज्यसंयन्त्र एक सार्वजनिक व्यक्तित्व विरुद्ध नियोजित रुपमा परिचालन गरिएको प्रष्ट छ,’ पत्रमा भनिएको छ ।
    चितवनबाट अमानवीय ढंगले पोखरा स्थानान्तरा गरिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।

    पत्रमा भनिएको छ, ‘मिति २०८१ मंसिर १९ गते दिनभर चितवनस्थित जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइएको थियो । उहाँलाई मिति २०८१ मंसिर २० गतेबिहान ११।०० बजे हवाईजहाजबाट कास्कीस्थित जिल्ला प्रहरी कार्यालय लागिने बताइएको थियो । तर मिति २०८१ मंसिर १९ गते नै सुतिरहेको बेलामा अचानक राति ११।०० बजे उठाई सभापति लामिछानेलाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको थियो । उक्त घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन् । सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजन तथा गैरन्यायिक चाल हो । राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।’

    यसैगरि, लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पत्रमा उल्लेख छ ।

  • रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

    रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

    उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा  आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरु समेत सहभागी हुने कार्यक्रम छ । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनको भनाइ छ ।

    यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

    उनले पार्टीको केन्द्रीय सङ्गठन विभाग, प्रदेश सङ्गठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको बताए । रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।

     

  • रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति, हिरासतबाट डायरी गायब पारिएको आरोप

    रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति, हिरासतबाट डायरी गायब पारिएको आरोप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ ।

    प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

    यो घटना सरकारको प्रत्यक्ष्ग निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । रवि लामिछाने कसुरदार नभई एक आरोपित भएको भन्दै सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरेको छ ।’

    जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ ।

    ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं । अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट सुक्ष्म रुपमा नियालीरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको थप स्पष्ट बनाएको रास्वपाको ठहर छ ।

    ‘सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ । तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

     

  • पत्रकार कुटिएको घटनामा रास्वपाले भन्यो- कार्यक्रम विथोल्न हिजो जस्तै घुसपैठ भएको हुनसक्छ

    पत्रकार कुटिएको घटनामा रास्वपाले भन्यो- कार्यक्रम विथोल्न हिजो जस्तै घुसपैठ भएको हुनसक्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरुबाट सञ्चारकर्मीहरुमाथि कुटपीट भएको भनी आशंकासहित प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुप्रति सम्मान राख्ने भन्दै सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरुबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ । त्यस्ता व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही गरिनुपर्छ । र, यस प्रक्रियामा आवश्यक सहयोग गर्न रास्वपा सदैव तयार रहेको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं ।’

    शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न गराउन सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरुमा आग्रह गरेको छ । उनले सभापति रवि लामिछानेलाई हिरासत बाहिर राखी कानूनी प्रक्रिया अगाडि बढाउन र राजनीतिक प्रतिशोध बन्द गर्न माग गर्दै प्रदर्शन गर्दै आइरहेको उल्लेख गरेका छन् ।

  • निर्वाचन आयोगको एउटा बाध्यकारी निर्णय, जसले बढायाे महिला जनप्रतिनिधि

    निर्वाचन आयोगको एउटा बाध्यकारी निर्णय, जसले बढायाे महिला जनप्रतिनिधि

    काठमाडौं । निर्वाचन आयोगको एउटा निर्णयले ४४ स्थानमा भएको स्थानीय तहको उपनिर्वाचनमा १५ प्रतिशत महिला निर्वाचित हुन सफल भएका छन् । मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा आयोगको विवरणअनुसार १५ प्रतिशत अर्थात ७ स्थानमा महिलाले जित हासिल गरेका हुन् । त्यसमा जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसबाट टीकाकुमारी भुल निर्विरोध निर्वाचित भइन् । बाँकी ६ जना उपनिर्वाचनमा प्रतिस्पर्धा नै गरेर निर्वाचित भए ।

    निर्वाचन आयोगले बाध्यकारी निर्णय नगरेको भए महिलाको सहभागिता १५ प्रतिशत नपुग्ने थियो । उक्त बाध्यकारी निर्णयको कारण एक नगरपालिकामा उपप्रमुख र ३ गाउँपालिकामा उपाध्यक्ष गरेर ४ जना महिला जनप्रतिनिधि बढेको छ । आयोगको बाध्यकारी निर्णयले गर्दा महिला-महिलाबीच मात्रै प्रतिस्पर्धा हुन सक्यो र चारै जना महिला निर्वाचित भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार त्योबाहेक २ जना वडा अध्यक्ष भने सम्बन्धित राजनीतिक दलले नै महिला उम्मेदवार बनाएका कारण निर्वाचित भए ।

    माओवादी केन्द्रका ३ महिला निर्वाचित

    नेकपा माओवादी केन्द्रले ४४ स्थानमा उपनिर्वाचन भएकोमा ३९ स्थानमा उम्मेदवारी दिँदा १५ प्रतिशत अर्थात ६ जना महिलालाई टिकट दिएको थियो । उसले निर्वाचन आयोगले महिला नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी भएका ४ स्थानसँगै थप २ वडा अध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । माओवादी केन्द्रले ३९ स्थानमध्ये ९ उम्मेदवारले जित हासिल गर्दा ३३ प्रतिशत अर्थात ३ जना महिला पनि निर्वाचित भए ।

    उपनिर्वाचनबाट मेयर र उपमेयर एकएक र २ गाउँपालिका उपाध्यक्षमध्ये ३ पदमा महिला निर्वाचित भएका छन् । आयोगको बाध्यकारी निर्णयका कारण जाजरकोटको नलगाढ नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने निर्वाचित भइन् । यहाँ यसअघि कांग्रेसबाट महिला नै निर्वाचित भएकी थिइन् ।

    त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा देवकी तिमिल्सिना निर्वाचित भएकी छन् । यसअघि उक्त गाउँपालिकामा माओवादीकै पुरुष उम्मेदवार उपाध्यक्ष निर्वाचित भएका थिए । उपनिर्वाचनबाट महिलाले उपाध्यक्ष बन्ने अवसर पाएकी छन् ।

    यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पनि नरपुरा बुढा निर्वाचित भएकी छन् । यसअघि पनि यहाँ माओवादीबाटै महिला निर्वाचित भएकी थिइन् । यीबाहेक बाध्यकारी व्यवस्था नभएका अन्य पनि पालिका तथा वडामा माओवादी केन्द्रबाट महिला निर्वाचित हुन सकेनन् । ६ महिला उम्मेदवारमध्ये ३ जनामात्रै निर्वाचित भएका छन् ।

    एक पालिका उपाध्यक्ष र २ वडाध्यक्षका महिला उम्मेदवार पराजित भए । पालिकाबाहेक माओवादीबाट उम्मेदवार बनेका महिला महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा आइतीकुमारी यादव र कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नै शोभा शाही पराजित भए ।

    एमालेबाट पनि ३ महिला निर्वाचित

    नेकपा एमालेले ४४ स्थानमध्ये ३८ स्थानमा उम्मेदवारी दिएको थियो । जसमा १८ प्रतिशत अर्थात ७ स्थानमा महिला उम्मेदवार थिए । एमालेले बाध्यकारी बनाइएका ४ पालिकामा बाहेक ३ वडाध्यक्षमा पनि महिला उम्मेदवार उठाएको थियो । एमालेले एक गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वडाध्यक्षमा जित हासिल गरेको छ ।

    एमालेबाट उम्मेदवारी दिएका ७ महिलामध्ये ४२ प्रतिशत अर्थात दुई गाउँपालिका उपप्रमुख र एक वडाध्यक्ष गरेर ३ जना महिला निर्वाचित भएका छन् । २ पालिका र २ वडाध्यक्ष गरेर ४ महिला उम्मेदवार पराजित भए ।

    एमालेबाट बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा शेर्पा निर्वाचित भए । स्वामीकार्तिकमा यसअघि कांग्रेसबाट महिला नै निर्वाचित भएकी थिइन् । गौरीशंकरमा भने कांग्रेसका पुरुष उम्मेदवार निर्वाचित भएका थिए ।

    यस्तै एमालेबाट ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा कुमारी सावादेन निर्वाचित भएकी छन् । यसअघि यहाँ कांग्रेसका पुरुष उम्मेदवार निर्वाचित भएका थिए ।

    एमालेका महिला उम्मेदवारमध्ये रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा जिउतीदेवी यादव र गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा दुर्गामाया थापा पराजित भए ।

    कांग्रेसबाट जिसस उपप्रमुखमा मात्रै महिला निर्वाचित

    कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र बाँकी १६ वडाध्यक्ष गरेर १७ स्थानमा जित हासिल गर्दा एक स्थानमा पनि महिला निर्वाचित हुन सकेनन् । निर्वाचन आयोगले बाध्यकारी व्यवस्था गरेका ४ स्थानमा कांग्रेसले महिला उम्मेदवार उठाए पनि पराजय भोग्नुप¥यो । बाँकी कुनै पनि ठाउँमा कांग्रेसले महिला उम्मेदवार उठाएन ।

    काग्रेसले ४४ स्थानमध्ये ४२ स्थानमा आफ्नो उम्मेदवार उठाएकोमा ६ जना महिलालाई टिकट दिएको थियो । बाध्यकारी बनाइएका ४ पालिका र एक जिल्ला समन्वय समितिमा बाहेक सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसले भुलियादेवी थरुनीलाई उम्मेदवार बनाएको थियो ।

    जिल्ला समन्वय समिति कैलालीको उपप्रमुखमा कांग्रेसबाट टीकाकुमारी भुल निर्विरोध निर्वाचित भइन्, तर ४ पालिका र एक वडा गरेर ४ स्थानमा प्रतिस्पर्धामा रहेका पाँचै महिला पराजित हुन पुगे ।

    स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४४ स्थानका लागि भएको उपनिर्वाचनमध्ये २६ स्थानमा उम्मेदवारी दिएको थियो । जसमा ५ स्थानमा मात्रै महिलालाई टिकट दिएको थियो । जसमा महिला नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी बनाइएको ३ पालिकामा र बाँकी २ वडामा महिलालाई उम्मेदवार बनाइएको थियो । महिला उम्मेदवार रहेका ५ स्थानमध्ये रास्वपाले काठमाडौं महानगरपालिका- १६ मा रोजिना श्रेष्ठ मात्रै वडाध्यक्षमा निर्वाचित भइन् ।

    महिला उम्मेदवार रहेका ३ पालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ६ मा जानकीकुमारी खड्का पराजित भइन् ।

    आयोगले कानूनभन्दा माथि टेकेर स्थानीय तहको पालिकामा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमा पुरुष कायम रहेको अवस्थामा अनिवार्य महिलाले उम्मेदवारी दिनुपर्ने र पुरुषले उम्मेदवारी दिएको अवस्थामा उम्मेदवारी नै रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर महिलाको संख्या सुनिश्चित गरेपछि ७ जना महिला निर्वाचित भएका छन् ।

    निर्वाचन आयोगका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४४ वटै स्थानका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट ४०७ जनाको उम्मेदवारी परेको थियो । जसमा १५ प्रतिशत अर्थात ६४ जना महिला रहेका थिए ।

  • रास्वपाको प्रदर्शनमा प्रहरीद्वारा पानीको फाेहोरा र अश्रुग्यास प्रहार (भिडिओ)

    रास्वपाको प्रदर्शनमा प्रहरीद्वारा पानीको फाेहोरा र अश्रुग्यास प्रहार (भिडिओ)

    काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

    चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय भिडन्त भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

     

    प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो ।

  • रास्वपाबाट काठमाडौं- १६ मा निर्वाचित रोजिनाले लिइन् शपथ (तस्विरहरु)

    रास्वपाबाट काठमाडौं- १६ मा निर्वाचित रोजिनाले लिइन् शपथ (तस्विरहरु)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंं महानगरपालिका- १६ मा निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले शपथ ग्रहण गरेकी छन् ।

    उनलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ कार्यक्रममा उपमेयर सुनिता डंगोललगायत सहभागी थिए ।

    श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमालेलाई पन्छाएर १,५८४ मत ल्याएकी थिइन् । दोस्रो भएका कांग्रेसका देवेन्द्र पाठकले १,३०४ मत ल्याउँदा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत पाएका थिए ।

  • रवि लामिछानेको बयान ४ बजेसम्म मात्रै हुने

    रवि लामिछानेको बयान ४ बजेसम्म मात्रै हुने

    चितवन । बुद्ध एयरको जहाजबाट आज बिहान साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि चितवन ल्याइएका रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय चितवनमा चलिरहेको छ ।

    चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज ४ बजे अर्थात् कार्यालय समयसम्म मात्रै बयान लिइनेछ । आज बयान नसकिए भोलि पनि गरिने जनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।

    असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।

    सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज बयानको लागि चितवन ल्याइएको हो । काठमाडौँमा बयानको क्रममा उपस्थित उनलाई पक्राउ गरिएको जिल्ला पोखरा नलगी सिधै चितवन ल्याइएको हो ।

  • काठमाडौं–१६ ले जोगायो रास्वपाको साख

    काठमाडौं–१६ ले जोगायो रास्वपाको साख

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहमा आफ्नो पहिलो उपस्थिति दर्ता गराउँदै काठमाडौं १६ को वडाध्यक्ष जितेको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ सो पार्टीकी पहिलो स्थानीय जनप्रतिनिधि बनिन् ।

    काठमाडौंको मुटुमा पर्ने वडाको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषयका रुपमा लिएका थिए । यो कांग्रेसका हस्ति नेता प्रकाशमान सिंहको वडा हो । २०७४ र २०७९ सालको स्थानीय चुनावमा कांग्रेसका मुकुन्द रिजालले लगातार जित हासिल गरेका थिए ।

    २०७९ सालमा रिजालले ४ हजार १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत ल्याएर दोस्रो स्थानमा रहे ।

    रिजालको गत वर्ष भदौमा असामयिक निधन भएपछि यो वडामा उपनिर्वाचन गर्नुपरेको हो । उपनिर्वाचनमा कांग्रेसले आफ्नो वर्चश्व जोगाउन सकेन । रास्वपाकी रोजिनाले बाजी मारेकी छन् । उनी २ हजार ९ सय २ मत ल्याएर विजयी भइन् ।

    एमालेले पुरानै उम्मेदवार तुलाधरलाई अघि सारेको थियो । उनले २हजार २ सय २० मत ल्याउँदै दोस्रो स्थानमा उक्लिए । कांग्रेस उम्मेदवार देवेन्द्र पाठक २ हजार २ सय १४ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।

    यस वडामा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत ल्याए । वडामा १० हजार ५ सय ५८ मत खसेको थियो ।

    काठमाडौं १६ को मतपरिणामबाट रास्वपामा उत्साह छाएको छ । अन्यत्र मतपरिणाम सुखद नआउँदा पनि काठमाडौंका मुटुमा हासिल गरेको जितले पार्टीको साख जोगाएको छ । शहरवासी मतदातामा अझै पनि रास्वपाप्रति आशा र आकर्षण कायम रहेको अर्थमा नेताहरुले यसलाई व्याख्या गरेका छन् ।

    रास्वपा उपसभापति डिपी अर्यालले अनेकन प्रतिकुलताका बाबजुद पनि काठमाडौं १६ मा जित हासिल गर्नु पार्टीका लागि ठूलो उपलब्धी रहेको बताए ।

    उनले भने, ‘हामीले मतदातालाई राम्ररी बुझाउन सकेको खण्डमा चुनावमा राम्रो परिणाम ल्याउन सक्छांै भन्ने यो वडाबाट देखिएको छ । अन्यत्र हामीले राम्रो तयारी गर्न सकेनौं ।’

    रास्वपाले किर्तिपुरको मेयरमा भने उम्मेदवारी दिएको थिएन । मेयरमा उठाउन उपयुक्त पात्र नभेटेको भन्दै रास्वपाले तटस्थ बस्ने निर्णय लिएको थियो । काठमाडौं १६ को चुनावी परिणामले किर्तिपुरमा पनि लडेको भए जित्न सकिने आँकलन पार्टीपंतिमा गरिएको छ । उपसभापति अर्यालले भने सोचि विचारी नै उम्मेदवारी नदिएको बताए ।

    ‘हामीले उम्मेदवारी दिन धेरै होमवर्क गरेका हौं । तर, राम्रो उम्मेदवार तयार गर्न नसकेपछि तटस्थ बस्नु नै उचित ठान्यौं । यो निर्णयप्रति हामीलाई कुनै ग्लानी छैन,’ उनले भने ।

    काठमाडौंबाहेक अन्यत्र भएका उपनिर्वाचनमा भने रास्वपाको नतिजा बिर्सिन लायक छ । रास्वपाले २७ स्थानमा उम्मेदवार उठाएकोमा अन्यत्र कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा आउन सकेनन् । यद्यपि, झापाको एउटा वडामा रास्वपाले समर्थन गरेका स्वतन्त्र उम्मेवार विजयी भएका छन् ।

  • काठमाडौँ–१६ अपडेट : मतान्तर बढाउँदै रास्वपाकी रोजिना, करिब आधा मत गन्दा कसको कति ?

    काठमाडौँ–१६ अपडेट : मतान्तर बढाउँदै रास्वपाकी रोजिना, करिब आधा मत गन्दा कसको कति ?

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रता कायम राखेको छ ।

    १० हजार ५५८ मध्ये ४हजार ११० मत गणना हुँदा सम्म रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी छिन् । पछिल्लो परिणाम अनुसार उनले ११८९ ६ मत प्राप्त पाएकी छिन् । उनलाई कांग्रेसले पच्छाइरहेको छ । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ९०१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । यहाँ एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले  ७३५ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले –४१७ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले ३२९ मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

     

  • ‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

    ‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

    रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्।

    पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको थियो ।

    काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । यता उनको समर्थक र कार्यकर्ताहरुले भने माइतीघरको उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

     

  • सरकारी वकिलको कार्यालय काठमाडाैंमा रविको बयान जारी

    सरकारी वकिलको कार्यालय काठमाडाैंमा रविको बयान जारी

    काठमाडौं । काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहेको छ ।

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।

    सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् ।

    कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । उनीविरुद्ध मंसिर २ मा काठमाडौं प्रहरीले पक्राउ अनुमति पाएको थियो ।

    रविअघि गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

  • रविलाई एकल हिरासत कक्षमा राखियो, भोलि नै बयान सक्ने दाबी

    रविलाई एकल हिरासत कक्षमा राखियो, भोलि नै बयान सक्ने दाबी

    काठमाडौं । सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट काठमाडौं झिकाइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई एकल बसाई हुने गरी हिरासतको व्यवस्था मिलाइएको छ ।

    जिल्ला प्रहरी परिसर, भद्रकालीमै रहेको एक हिरासत कक्षामा उनलाई राखिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । सामान्यतया हाइप्रोफाइल थुनुवाले आवासीय सुविधायुक्त कोठा वा अस्पतालमा बस्न रुचि राख्छन् । तर, लामिछानेले त्यस्तो केही माग नगरेको प्रवक्ता अधिकारीले बताए । ‘यहाँ विभिन्न प्रकारका हिरासत कक्ष छन्, उहाँलाई तीनैमध्ये एउटामा राखेका छौं’, उनले भने ।

    रविलाई शुक्रबार बिहानै बयानका निम्ति भद्रकालीमै रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा लगिने छ । ‘हामीले गर्नुपर्ने अलग्गै काम केही छैन, बयानका निम्ति पठाउने हो, काम सकिएपछि पोखरा पठाइदिने हो’, उनले भने ।

    जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधीवक्ता सन्देश श्रेष्ठले रविको बयान लिन भोलि दिनभरिको समय लाग्ने बताए । ‘प्रश्नहरु कति आउँछन्, त्यस आधारमा बयानको समय भन्न सकिन्छ’, उनले भने, ‘हाम्रो प्रयास भोलि नै सक्ने छ ।’

    जिल्ला प्रहरी परिसरको हिरासत व्यवस्थापनमा कार्यरत प्रहरीका अनुसार रविले सादा खाना र तातोपानीको व्यवस्था गर्न माग गरेका छन् । ‘उहाँमात्र नभई कसैलाई पनि बाहिरको खाना दिने गरिदैन’, उनले भने ।

     

  • कीर्तिपुरमा रास्वपाले कसैलाई समर्थन नगर्ने टुंगो, आफूले उम्मेदवारी नदिएका सबै ठाउँमा तटस्थ बस्ने

    कीर्तिपुरमा रास्वपाले कसैलाई समर्थन नगर्ने टुंगो, आफूले उम्मेदवारी नदिएका सबै ठाउँमा तटस्थ बस्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको मेयरको चुनावमा तटस्थ बस्ने भएको छ । मेयरमा उम्मेदवारी नदिएको रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएको थियो ।

    रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको बताए । रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको उनको भनाइ छ ।

    उनले भने, ‘कीर्तिपुरसहित हामीले कुनै पनि ठाउँमा अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने अवस्था भएन । अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने सिफारिस स्थानीय कमिटीहरुबाट प्राप्त भएको छ । सायद त्यही नै हुन्छ होला ।’

    कीर्तिपुरमा एकजना स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न रास्वपाले निकै कसरत गरेको थियो । पराजुलीका अनुसार सबै स्वतन्त्र उम्मेदवारहरुलाई एक ठाउँमा ल्याएर एकजना मात्रै उठाउने पहल गरिए पनि त्यो सफल भएन ।

    उनी भन्छन्, ‘स्वतन्त्र उम्मेदवारहरुलाई एक ठाउँमा ल्याउन हामीले पुरा प्रयास लगाएका हौं । तर, त्यो सफल नभएपछि कुनै एक उम्मेदवारलाई समर्थन गर्न हामीले सकेनौं ।’

    रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरुले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुली बताउँछन् ।

    उनले भने, ‘स्थानीय निर्वाचनमा हाम्रो पार्टी जन्मेको नै थिएन । त्यसमा छुटपुट भएका थोरै स्थानमा मात्रै उपचुनाव हुने हो । यो उपचुनावले नै जनमतको परीक्षा हुन्छ भन्ने हामीलाई लाग्दैन । यद्यपि, हामीले आफ्नो उम्मेदवारहरुलाई जिताउनका लागि सबै प्रयास लगाउने छौं ।’

     

  • रविलाई भाेलि पनि काठमाडौं ल्याउने सम्भावना कम, यस्ताे छ कारण

    रविलाई भाेलि पनि काठमाडौं ल्याउने सम्भावना कम, यस्ताे छ कारण

    काठमाडाैं । सहकारी ठगी मुद्दामा अनुसन्धानरत रास्वपा सभापति रवि लामिछानेलाई बुधबार पनि काठमाडौं ल्याइने सम्भावना कम रहेको प्रहरी स्रोतले जनाएको छ ।

    बयानका निम्ति उनलाई काठमाडौं ल्याइने हल्लाले मंगलबार ठूलै रुप लियो । उनको पार्टीका काठमाडौंस्थित कार्यकर्ता न्यायको माग गर्दै सडकमै ओर्लिए । तर, रवि काठमाडौं ल्याइएनन् । कास्की प्रहरी स्रोत भन्छ, ‘काठमाडौंका एसएसपी सा’ब छुट्टीमा हुनुहुन्छ, त्यसैले आज पठाएनौं ।’

    कास्की प्रहरीका एक अधिकृतका अनुसार रविलाई काठमाडौं ल्याउनुपर्ने विषय हो, कमपा– १४ स्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा उनको संलग्नताबारे अनुसन्धान गर्नु । अर्थात्, उनलाई काठमाडौं पठाउने, नपठाउने कुरा त्यहीँको प्रहरी नेतृत्वको अनुकूलता हेरेर गर्ने हो । यसमा कास्की प्रहरीको चाहना निर्णायक हुँदैन । त्यसैले उनी मंगलबार कास्कीबाट काठमाडौं पठाइएनन् ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे आइतबारदेखि नै छुट्टीमा छन् । उनले नेपाल प्रेसलाई बताएअनुसार आमा विरामी भएका कारण उनी अझै दुई दिन कार्यालयमा हाजिर हुँदैनन् ।

    उनको अनुपस्थितिमा जिल्ला प्रहरी काठमाडौंको चार्ज एसपी नवराज अधिकारीले बुझेका छन् । तर, सहकारी ठगी संवेदनशील मुद्दा भएका कारण त्यसको अभियोजनकार्य कार्यालय प्रमुखको अनुपस्थितमा नगर्नु भन्ने संगठनको माथिल्लो निकायको निर्देशन रहेको प्रहरी स्रोत बताउँछ ।

    काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘हाम्रो कार्यालय प्रमुखले भनेपछि मात्रै कास्कीले पठाउने हो ।’

    जिल्ला अदालत कास्कीले रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ, काठमाडौंमा त मुद्दामात्रै दर्ता छ । अदालतमा पेश गरेर अनुसन्धानको म्याद माग भएको छैन । ‘हतार गर्नुपर्ने कारण छैन, कुनै दिन ल्याएर बयान लिँदा हुन्छ’, काठमाडौं प्रहरीका ती अधिकृतले बताए ।

  • रास्वपा नेता कार्यकर्ताबाट अदालतको अवहेलना विरुद्धको मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश

    रास्वपा नेता कार्यकर्ताबाट अदालतको अवहेलना विरुद्धको मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनसँगै सम्बन्धित कागजात र प्रमाण पेश गर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका नेताले कानूनी प्रक्रियामा प्रभाव पर्नेगरी पोखरामा प्रदर्शन गरेका थिए । पार्टी सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाब दिँदै आन्दोलन गरेका थिए ।

    त्यसैविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त निवेदनको मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण र कागजात पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार एवम् प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

    न्यायाधीश विनोद शर्माको एकल इजलासले गत कात्तिक २७ मा रास्वपाका सभापति लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै त्यससम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

  • काठमाडौं १६ मा स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन

    काठमाडौं १६ मा स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन

    काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले समर्थन गरेका छन् ।

    रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान रहेको भन्दै पन्तले श्रेष्ठलाई समर्थन गरेका हुन् ।

    समर्थन पत्रमा भनिएको छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरुको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी श्री रोजिना श्रेष्ठ (चुनाव चिन्ह घण्टी) एक सशक्त उम्मेदवार हुनभएको अनुभूति भयो । स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको वृहत्तर विकासमा समेत योगदान पुर्याउनु भएकी कानूनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएकी एक सफल व्यवसायी एवं महिला नेतृले म लगायत परिवर्तनका पक्षधरहरुको भावना समेटेर काम गर्ने कुरामा म विश्वास्त छु। तसर्थ का.म.पा. वडा नं. १६ मा उहाँलाई समर्थन गर्ने मैले निर्णय लिएको छु ।’

    रास्वपाको प्रतिबद्धता पत्र र मेरो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेको उल्लेख छ।

    पत्रमा भनिएको छ, ‘उहाँलाई विजयी गराएर यस वडामार्फत् महानगरपालिकाको समग्र विकासको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने विश्वासले उहाँलाई समर्थन गरेको छु । साथै स्वतन्त्र उम्मेदवारी मार्फत् वडा नं १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिनुभएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिनुहुन हार्दिक अपील गर्दछु ।’

  • रास्वपाको जिकिर- लीलाबल्लभलाई मुद्दा नचलाउने निर्णयले हामीमाथि प्रतिशोध राखेको पुष्टि गर्‍यो

    रास्वपाको जिकिर- लीलाबल्लभलाई मुद्दा नचलाउने निर्णयले हामीमाथि प्रतिशोध राखेको पुष्टि गर्‍यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको छ ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको बताए ।

    उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा हामीले अब प्रमाणित गर्नै नपर्ने भइसक्यो । त्यसको आधार हामीले दिइराख्नै पर्दैन । लीलाबल्लभ अधिकारीलाई कानूनी कारवाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले प्रमाणित गरिसक्यो । तर, पनि हामी अदालतलाई सम्मान गर्छौँ ।’

    उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको जिकिर गरे ।

  • गोर्खा मिडियाका लागि रविले काटेका चेक नै ‘सहकारी ठगी’ का प्रमाण बन्न सक्छन् ?

    गोर्खा मिडियाका लागि रविले काटेका चेक नै ‘सहकारी ठगी’ का प्रमाण बन्न सक्छन् ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा राखेर प्रहरी अनुसन्धान भइरहेको बेला उनको हस्ताक्षरका केही चेकहरू मिडियामा सार्वजनिक गरिएका छन् । ती चेकहरू नै रविले सहकारी ठगी गरेको बलियो प्रमाण भएको दाबी एउटा कोणबाट गरिएको छ ।

    गोर्खा मिडिया प्रालिमा प्रवन्ध निर्देशकको हैसियतमा रहँदा रविले कार्यालय प्रयोजनका लागि लाखौंका चेक काटेको पहिल्यै सार्वजनिक भइसकेको विषय हो ।

    त्यसमध्ये जीवी राईका सहकारीका नाममा काटिएको पाइएपछि प्रहरीले लामिछानेसँग सोधपुछ गरेको थियो । आफू कुनै पनि सहकारीबाट आफूले रकम नझिकेको दाबी गर्दै आएका रविले के प्रयोजनका लागि सहकारीलाई चेक काटेका थिए भन्ने प्रश्न उब्जिएको छ ।

    रविलाई कात्तिक २७ मा बयानका लागि रुपन्देही ल्याइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिइएको बयानका क्रममा प्रहरीले सुप्रिम सहकारीलाई काटेको चेकबारे सोधपुछ गरेका थिए । आफ्नै हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइएपछि रवि पहिले हड्बडाएको र पछि झोक्राएको कान्तिपुर दैनिकले दावी गरेको छ ।

    स्रोतका अनुसार प्रहरीले चेक देखाएर सोधपुछ गर्दा रविले पुरानो कुरा भएकाले आफूले पनि बुझ्नुपर्ने भने प्रहरीसँग केही समय मागेका थिए । यही विषयमा त्यसदिन उनको बयान लम्बिएपछि जहाजको टिकट क्यान्सिल गरेर अर्को दिन कास्की फिर्ता पठाइएको थियो ।

    प्रहरीलाई रविले आफू प्रवन्ध निर्देशक रहेको बेलामा कहिलेकाहीँ खाली चेकमा हस्ताक्षर गरेर छोड्ने गरेको बताएका थिए ।

    ‘आफू नहुँदा पनि अत्यावश्यक काम नरोकियोस भनेर कहिलेकाहीँ खाली चेकमा हस्ताक्षर गरेर छोड्नुपर्थ्यो । त्यही चेकमा सहकारीको नाम र रकम लेखेर अरुले नै भुक्तानी गरेको हुनुपर्छ,’ रविले प्रहरीलाई बयानमा बनेका छन् ।

    सुप्रिम सहकारीबाट लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई, उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलगायतको नामबाट झन्डै साढे १६ करोड रूपैयाँ गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये लामिछानेको नाममा दुई करोड र जोशीका नाममा साढे दुई करोड रूपैयाँ गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, लामिछानेले आफू सहकारीको सदस्य पनि नभएको, रकम माग पनि नगरेको बताउँदै इन्कारी बयान दिइरहेका छन् । रविले सहकारीबाट आफैंले हस्ताक्षर गरेर रकम निकालेको प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।

    त्यसो भए रविले सहकारीका नाममा किन चेक काटेका थिए त ? के यो चेकले उनलाई अप्ठेरोमा पार्न सक्छ रु रवि निकट कानून व्यवसायीहरु भने यो चेकले कुनै पनि नयाँ तथ्य पुष्टि नहुने दाबी गर्छन् ।

    एक कानून व्यवसायीले भने, ‘उहाँ प्रवन्ध निर्देशकको हैसियतमा चेक काट्नुहुन्थ्यो भन्ने विषय नयाँ होइन । जीवी राईको निर्देशनमा सहकारीको नाममा पनि चेक काट्नु भयो होला । तर, रकम तिरेको प्रमाणले सहकारी ठगी पुष्टि हुँदैन । उहाँले सहकारीबाट रकम निकालेको हस्ताक्षरसहितको कुनै कागज भेटियो भने बल्ल त्यो प्रमाण हुन्छ ।’

    सहकारीलाई चेक काटेको विषयमा उनी भन्छन्, ‘जीवी राईले फलानोको नाममा चेक काटिदिनु भनेपछि हस्ताक्षर गरिदिनुभयो होला । ब्याज तिर्ने प्रयोजन पनि हुन सक्छ । सबै उहाँलाई थाहा हुने कुरा भएन । अध्यक्षले भनेपछि प्रवन्ध निर्देशकले नमान्ने कुरा पनि आउँदैन । आखिर सबै पैसा जीबी राईकै थियाे ।’

    यो विषयमा रवि स्वयम्ले पनि आफ्नो भनाइ बाहिर ल्याएका छन् । पार्टीका नेताहरूमार्फत हिरासतबाटै रविको प्रष्टीकरण सामाजिक सञ्जालमा आएको हो । उनले कम्पनीमा कार्यरत रहँदा आफूले खाली चेकमा हस्ताक्षर गरेर छोड्ने गरेको दोहोर्याएका छन् । साथै, जीवी राईको निर्देशनमा कुनै चेक काटिएको हुन सक्ने उनको स्वीकारोक्ति छ ।

    रविले भनेका छन्, ‘सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन । कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि रु जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ ।’

    रविलाई उद्धृत गरेर पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले लेखेको प्रष्टीकरण यस्तो छः

    केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ। हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो। प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो। अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेररछेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ ।

    जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छरु जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने होरु सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला ! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो। हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन ।

    हिरासत कक्षमा भएको भेटमा रवि लामिछानेले भन्नुभयो-

    ‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो ।’

    दोस्रो कुरा भन्दै उहाँले अगाडि भन्नुभयो-

    ‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला ।
    साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो किरु जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ ।’

    कम्पनीको जिम्मेवारी पूरा गर्दा पनि आफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रवि लामिछानेले भन्नुभयो-

    ‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला पर्‍ यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहित रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन । मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन-कुन चेकले कुन-कुन कानूनको उलंघन भयोरु आज पो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपर्थ्यो र ?’

    निजी क्षेत्रमा भइरहेका अभ्याससहित आफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भन्नुभयो-

    ‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ। ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा लगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकील कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ।’

    रवि लामिछानेले चेतावनीपूर्ण रुपमा अगाडि भन्नु भएको छ-

    ‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहनेरु यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ ।’

    हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिँदै गर्दा यो सन्देश चाहिँ नछुटोस् है भनेर भन्नुभयो-

    ‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायका कयौं सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’

  • रविलाई काठमाडौं ल्याउने तयारी भएपछि माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरु)

    रविलाई काठमाडौं ल्याउने तयारी भएपछि माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपछि रास्वपाका नेताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

    रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्राैलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्।

    उनीहरुले रविलाई रिहा गर्न माग गरेका छन्। पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन तयारी भइरहेको छ।

    यसअघि रविलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो। काठमाडौंपछि बयानका लागि चितवन पनि लैजाने तयारी छ।

  • कास्कीमा मुद्दा दर्ता हुनुअघि नै रविलाई चितवन ल्याउने तयारी

    कास्कीमा मुद्दा दर्ता हुनुअघि नै रविलाई चितवन ल्याउने तयारी

    चितवन । सहकारीको रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीमा मुद्दा दर्ता हुनुअघि नै चितवन प्रहरीले बयानका लागि ल्याउने तयारी गरेको छ ।

    संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुरक जाहेरी लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले चितवनको पनि बयान सकियो भने एकैपटक मुद्दा दर्ता गर्न सहज हुनेगरी गृहकार्य थालेको हो ।

    प्रहरीले जिल्ला अदालत चितवनबाट शुक्रबार लामिछाने लगायत पुरक जाहेरी दर्ता भएका सबैलाई हिरासतमा लिनको लागि नै पक्राउ पुर्जी लिइसकेको छ । साहारा सहकारीबाट रकम गएका पाँच वटा संस्थाका १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो ।

    चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सकेसम्म कास्की अदालतमा मुद्दा दर्ता हुनुअगावै अनुसन्धानको लागि चितवन ल्याउने तयारी गरेपनि कहिले ल्याउने भन्ने टुंगो नलागेको जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘हामीले पनि उता मुद्दा दर्ता हुनुअघि यताको पनि बयान सक्न पाए हुने भनेर तयारी गरिरहेका छौँ, तर कुन दिन ल्याउने भन्ने टुंगो छैन ।’

    सम्पत्ति शुद्धीकरण र संगठित अपराध दुवै जाहेरी लामिछानेमाथि भएकोले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

  • रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।

  • रास्वपाका नेताविरुद्धको अदालती अवहेलना मुद्दा फुयाल र ढकालको इजलासमा

    रास्वपाका नेताविरुद्धको अदालती अवहेलना मुद्दा फुयाल र ढकालको इजलासमा

    काठमाडौं । रास्वपाका पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

    उक्त रिटको पेसी हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

    रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो ।

    अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

    अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

    अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।

  • म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

    म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

    पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइएको हो ।

    रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    रविलाई कार्तिक २ गते रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरिएको थियो ।

  • सडक आन्दोलनका विषयमा रास्वपाभित्र अन्तरविराेध, राेक्नुपर्ने पक्षमा सुमनालगायत यी नेताहरु

    सडक आन्दोलनका विषयमा रास्वपाभित्र अन्तरविराेध, राेक्नुपर्ने पक्षमा सुमनालगायत यी नेताहरु

    काठमाडौं । सभापित रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि बढाएकाे सडक आन्दाेलनलाई निरन्तरता दिने विषयमा पार्टीभित्र अन्तरविराेध देखिएकाे छ । आन्दोलनले पार्टीलाई ब्याकफायर गर्ने भन्दै केही नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

    रास्वपाले दोस्रो चरणको आन्दोलन यही ८ गतेबाट गर्ने घोषणा गरिसकेकाे छ । तर, आन्दोलनको मोडालिटी अहिलेसम्म टुंग्याउन सकेको छैन । हिजो उपसभापति डिपी अर्यालले बालाजुस्थित पार्टी केन्द्रीय कार्यालय आकस्मिक केन्द्रीय समितिको बैठक राखेका थिए ।आकस्मिक बैठकमा सबै केन्द्रीय सदस्यहरू आउन नपाएपछि जुममार्फत् पनि जोडिएको थियो । आन्दोलनको विषयमा निस्कर्षमा पुग्न नसकेपछि आज दिउँसो ३ बजे बैठक बस्नेगरी वैठक स्थगित गरिएको छ।

    वैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले आन्दाेलन स्थगित गर्नुपर्ने धारणा राखिन् । आन्दाेलनले कुनै पनि नतिजा ननिस्किएकाे भन्दै उनले सडकमा आउने भए जनसराेकारका अरु मुद्दा अघि सार्नुपर्नेमा जाेड दिएकी थिइन् ।

    जुमबाट जाेडिएका केन्द्रीय सदस्य गणेश कार्कीले आन्दाेलन गर्ने निर्णय पार्टीकाे निर्णय गलत भएकाे बताए । पार्टीकाे नीति र विचारसँग आन्दाेलनकाे तादाम्यता नमिलेकाे उनकाे विचार छ ।

    केन्द्रीय सदस्य तथा सांसद असिम शाहले पनि आन्दाेलनप्रति असन्तुष्टि जनाएको एक नेताले बताए । न्यायालय प्रभावित पार्दैनौँ भन्ने तर सभापति लामिछानेलाई अदालतमा उपस्थित गराउने दिनमा आन्दोलन गर्दा जनतामा राम्रो सन्देश नजाने उनकाे धारणा छ।

    शाहको भनाइलाई उद्धृत गर्दै ती नेताले भने, ‘हामी न्यायालय प्रभावित पार्दैनौँ पनि भन्छौँ। तर, अदालतबाहिर आन्दोलन गर्छौँ  । यसले जनतामा कस्तो सन्देश जान्छ ? अब सभापतिलाई काठमाडौं ल्याउने कुरा हुँदै छ, हामी काठमाडौं केन्द्रित आन्दोलन गर्ने भन्छौँ । त्यसले काठमाडौंबासीमा कस्तो सन्देश जान्छ ?’

    यसैगरि डा. प्रभात अधिकारी र खुस्बुसरकार श्रेष्ठले पनि आन्दोलनको विपक्षमा धारणा राखे ।

    रास्वपामा उपसभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीनकुमार आचार्यलगायत नेताहरू आन्दोलन चर्काउने पक्षमा छन् । त्यसाे त सभापति रवि लामिछानेले हिरासतबाटै आन्दाेलन चर्काउने सन्देश पठाइरहेकाे स्राेतकाे दावी छ ।

    पार्टीमा आन्दोलनको विषयमा मतभेद भएपछि उपसभापति अर्यालले सभापति लामिछानेसँग परामर्श लिएर थप कार्यक्रमको रणनीति बनाउने तयारी गरेका छन् । आजको बैठकबाट आन्दोलनबारे पार्टीभित्र समान धारणा बनाउने तयारी छ ।

    सहमहामन्त्री सुमना श्रेष्ठले आन्दोलनको विषयमा पार्टीमा छलफल चलिरहेको बताइन् । उनले भनिन्, ‘आन्दोलनको विषयमा हिजोबाट छलफल सुरु भएर स्थगित भएको थियो, आज पनि बस्दैछ। आन्दोलनसहित पार्टीले आजको बैठकले आवश्यक निर्णय गर्छ ।’

    उनका अनुसार बैठक दिउँसो ३ बजे बस्दैछ ।

    उनले सहकारीको मुद्दामा राजनीतिकरण भएको बताइन् । सरकारले सहकारी पीडितसँग गरेको सम्झौता बिर्सिएको कारणले पीडितहरूले आजबाट फेरि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिन बाध्य भएको बताइन् ।

    पार्टीभित्र आन्दोलनको विषयमा मतभेद हुँदैगर्दा गतसाता पार्टीका उपसभापतिद्वय अर्याल र स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई पोखरा हिरासतमा सामूहिक भेट गरेका थिए ।

    भेटमा सभापति लामिछानेले सरकारले आफूमाथि प्रतिशोध राखेको पुष्टि हुँदै गएको भन्दै आन्दोलनबारे जनतालाई बुझाउन निर्देशन दिएका थिए ।

    रास्वपाले सभापति लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धानको माग गर्दै सडकमा उत्रिएपछि आन्दोलन प्रभावकारी बनाउन सकेको छैन ।