काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न नौलो र जटिल अभ्यास गरिरहेको छ । आलोचकहरुले भने फरक गर्ने नाममा उम्मेदवार छनोटलाई बढी नाटकीय बनाइएको भन्दै टिकाटिप्पणी गर्न थालेका छन् ।
रास्वपाले उम्मेदवार बन्न इच्छुकहरूका दरखास्त आह्वान गरेको थियो, जसमा नौ जना (मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थबेन्द्र उपाध्याय, ज्ञानु पौडेल, रचना क्षेत्री, सुलभ खरेल, पुनम कुमारी अग्रवाल र जितबहादुर गुप्ता) ले आवेदन दिए । आवेदन दिने सबै रुपन्देही ३ कै स्थानीय हुन् । उनीहरूमध्ये एकजना उत्कृष्ट छनोट गर्न आन्तरिकरूपमा विभिन्न प्रक्रियाहरू भइरहेका छन् । सबै प्रक्रियाहरूको भिडिओ खिचेर फेसबुक र युट्यूवमा समेत हालिन्छ ।
आाकांक्षीहरुबीच ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छान्ने रास्वपाको विधानमा भएको पुरानै व्यवस्था हो । तर, अहिलेसम्म व्यवहारिकरूपमा यसको प्रयोग हुन सकेको थिएन । उम्मेदवारीका लागि दरखास्त माग गरिए पनि ‘सहमति’ का नाममा माथिबाटै मिलाएर टिकट दिने गरिएको थियो । अहिलेको उपनिर्वाचनमा भने नेतृत्वले कसैलाई टिका लगाउन चाहेन, जसले गर्दा प्राइमरी इलेक्सनको प्रक्रियामा गएको छ ।
यो समग्र प्रक्रियाको नेतृत्व रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी इन्चार्ज विपीन आचार्यले गरिरहेका छन् । रास्वपाले उनलाई उपनिर्वाचनको कमाण्डर बनाएर सबै जिम्मेवारी सुम्पिएको हो । आचार्यले प्रजातान्त्रिक अभ्यासमार्फत उम्मेदवार छनोटमा जोड दिएका छन् ।
तर, यसक्रममा अपनाइएका तौरतरिकाहरु भने ‘राजनीतिक’ प्रकृतिका छैनन् । यस्तो महसुस हुन्छ कि यहाँ कुनै दलले उम्मेदवार छानिरहेको होइन, एउटा आइएनजीओले कर्मचारी भर्ति गरिरहेको छ ।
रास्वपाको विधानअनुसार उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक इलेक्सनमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भाग लिन सक्छन् । यस्तै, पार्टीका केन्द्रीय सदस्यहरुलाई पनि मतदानको अधिकार हुन्छ । तर, प्राइमरी इलेक्सनबाटै उम्मेदवार तय हुने भन्ने होइन । पहिलेको व्यवस्थामा संसोधन गरेर ५० प्रतिशत अंकभार मात्रै प्रारम्भिक निर्वाचनको नतिजाले प्राप्त गर्ने प्रावधान राखिएको छ ।

बाँकी ५० प्रतिशतमध्ये लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक आवद्धता) लाई २० प्रतिशत र समावेशीतालाई ५ प्रतिशत भाराङ्क दिने व्यवस्था संसोधित कार्यविधिमा गरिएको हो ।
रास्वपाको लिडरसीप एकेडेमी सञ्चालनमा आइसकेको छैन । त्यतिञ्जेलसम्मका लागि लिडरसिप एकेडेमीको काम पार्टीकै सचिवालयले गर्ने भनिएको छ । यसको अर्थ उम्मेदवारको २५ प्रतिशत मूल्यांकन सिधै सचिवालयको हातमा आएको छ ।
उम्मेदवारीको दौडमा रहेकाहरूलाई सुरूमा एकै ठाउँमा राखेर कोही एकजनाको नाममा सहमति जुटाउने प्रयास गरियो । सहमहामन्त्री आचार्यले नै यसको समन्वय गरेका थिए । तर कुनै पनि उम्मेदवार पछि हट्न नचाहेपछि अन्य प्रक्रियाहरु अगाडि बढेका हुन् । अहिले दोस्रो चरणमा ‘क्यान्डिडेट बेन्च’ सञ्चालन भइरहेको छ, जसमा चार नेताहरु बसेर उम्मेदवारको पालैपालो अन्तर्वार्ता लिइरहेका छन् ।
क्यान्डिडेट डेस्कको पनि भिडिओ फेसबुकमा हेर्न सकिन्छ । यसो हेर्दा टिभी रियालिटी शोको अडिसनजस्तो लाग्छ । आकांक्षीहरुलाई नेताहरुले नाम सोधेर सुरुवात गर्छन् ।
निर्णायकको कुर्सीमा छन् सहमहामन्त्री आचार्य, प्रवक्ता मनिष झा तथा केन्द्रीय सदस्यहरु शिशिर खनाल र प्रा.डा. चन्दा कार्की ।
उम्मेदवारीको दौडमा रहेकी केन्द्रीय सदस्य कुसुम महर्जनले भने अन्तरवार्तामा बस्नासाथ असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
उनले कुर्सीमा बस्दै भनिन्, ‘यो त सजाय दिएजस्तो भयो ।’
महर्जनले के कुरालाई ‘सजाय दिएजस्तो’ भनेर टिप्पणी गरेकी हुन् खुलेको छैन । तर, आफूसँग एउटै कमिटी (केन्द्रीय समिति) मा रहेका नेताहरूलाई यसरी अन्तरवार्ता दिनुपर्दा पक्कै उनलाई मजा आइरहेको थिएन ।
उनीसहित केही आकांक्षीहरू यो सबै प्रक्रियाप्रति भित्रभित्रै असन्तुष्ट बनिरहेको पार्टी स्रोतको दाबी छ ।
स्रोतले भन्यो, ‘बाहिर भन्न नसक्नु एउटा कुरा हो, तर उम्मेदवारहरु यसमा खुशी छैनन् । अगाडि राखेर हुर्मत लिन खोजिएको जस्तो उनीहरुले महसुस गरेका छन् ।’
आवरणमा हेर्दा अहिलेको प्रक्रिया अत्यन्तै पारदर्शी र प्रजातान्त्रिक देखिन्छ । तर, यस्तो जटिल प्रक्रियालाई नै स्थापित गरेर लैजान सम्भव छ त भन्ने मुख्य प्रश्न हो । अहिले एउटा क्षेत्रको उपनिर्वाचनमा यो अभ्यास सम्भव होला । भोलि आमनिर्वाचनमा पनि सबैतिर यसैगरी उम्मेदवार छनोट गरिएला त ?
यो प्रक्रियाप्रति असन्तुष्ट एक केन्द्रीय सदस्य भन्छन्, ‘यस्तो प्रहसन आमनिर्वाचनमा दोहोर्याउन सम्भव नै छैन । मानौं रवि लामिछाने वा स्वर्णिम वाग्ले क्षेत्रमा अन्य आकांक्षीहरु पनि अगाडि आए । भने, लामिछाने वा वाग्लेलाई पनि यसैगरि, मझौला नेताहरुले अगाडि राखेर अन्तर्वार्ता लिन सक्लान् ? उनीहरुलाई ‘यो प्रश्नको अंग्रेजीमा जवाफ दिनुस’ भन्न सक्छन् ? यो नौटंकी सिवाय केही होइन ।’
ती केन्द्रीय सदस्यको चर्को असन्तुष्टि चाहिँ सबै दृष्यहरुको भिडिओ बनाएर युट्यूव-फेसबुकमा हालिएकोप्रति रहेछ । अत्यन्त आन्तरिकरूपमा हुनुपर्ने काम-कारबाहीलाई पारदर्शीताका नाममा किन यसरी छताछुल्ल बनाईंदैछ भन्ने बुझ्न नसकेको उनी बताउँछन् ।
उनले थपे, ‘खासमा एउटा उम्मेदवारसँग गरिएको संवाद अर्को उम्मेदवारलाई पनि थाहा हुनु हुँदैन । यहाँ त फेसबुकमै प्रचारप्रसार गरेर आकांक्षीहरुको गोपनियताको हकको उल्लंघन भइरहेको छ ।’

सहमहामन्त्री आचार्यले टिभी रियालिटी शोमा आफ्नो अनुभव अहिले उम्मेदवार छनोटमा प्रयोग गर्न खोजिरहेको ती केन्द्रीय सदस्यको आरोप छ । आचार्यको नोबडी प्रोडक्सनले ‘सारेगामप लिटिल च्याम्प्स’ र ‘को बन्छ करोडपति’ जस्ता रियालिटी शोको उत्पादन गरेको थियो । लिटिल च्याम्प्सको दोस्रो सिजन अहिले प्रशारण भइरहेको छ ।
सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाहरू भने अधिकांश सकारात्मक देखिन्छन् । पुराना दलहरूभन्दा रास्वपाले अलग अभ्यास गरेको भन्दै धेरैले प्रशंसा गरिरहेको पाइन्छ । कतिपयले चाहिँ अनावश्यक नौटंकी गरेको भन्दै आलोचना गरेका छन् ।
यो प्रक्रियाका समर्थक एक केन्द्रीय सदस्यले रास्वपाले अन्य ठूला दलहरूलाई पनि प्रजातान्त्रिक अभ्यासको पाठ सिकाइरहेको टिप्पणी गरे ।
उनले भने, ‘हामीले जे सुरुवात गरेका छौं, त्यो ठूला दलहरुका लागि पनि अनुकरणीय छ । नेतृत्वले टीका लगाएर होइन, आकांक्षीहरूको क्षमता, योग्यता र लोकप्रियताको समुचित मूल्यांकन गरेर उम्मेदवार खडा गर्न खोजिएको हो । आलोचना गर्नुको कुनै तुक छैन ।’