Category: राजनीति

  • सुसनका परिवारले भेटे प्रधानमन्त्री

    सुसनका परिवारले भेटे प्रधानमन्त्री

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवंगत नेता कमानसिंह लामासँगको आर्थिक लेनदनको भिडियो बाहिरीएपछि विवादमा तानिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

    याम्बालिङ हाइड्रोपावर प्रोजेक्टकी अध्यक्षसमेत रहेकी कर्मचार्य र लामाबीचको आर्थिक लेनदेनको विवादमा नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठ समेत मुछिएका छन्। बाहिरिएको भिडियो क्लिपमा श्रेष्ठले दुईजनाबीचको लेनदेन विवादमा मध्यस्थता गरेको जस्तो देखिन्छ । कमानसिंहले भने आफ्नो मृत्युअघि फेसबुक स्टाटसमा नारायणकाजीलाई समेत दोषी देखाएका छन्।

    श्रेष्ठकी मुख्य सहयोगी समेत रहेकी कर्मचार्यका कारण नारायणकाजी समेत विवादमा तानिएपछि उनको परिवारले आइतबार बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।

    कर्मचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले करिब डेढ घण्टाको भेटघाटमा प्रधानमन्त्रीले आफ्नो कुरा ध्यानपूवर्क सुनेको र नानाथरिको लाञ्छनाका पछाडि नलाग्न आग्रह गरेको बताएका छन् ।

    ‘म, मेरो श्रीमती (सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्रीलाई भेटेर सबै यथार्थ राख्यौँ,’ उनले फेसवुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यस बारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो।’

    राजभण्डारीले समय र साथका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले कुनै प्रमाण विना सत्य तथ्य नबुझी अरुको चरित्र हत्या गर्न खोज्ने काम गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

  • कर्णाली: कहिले गर्ने संघीयताको अनुभव ?

    कर्णाली: कहिले गर्ने संघीयताको अनुभव ?

    सुर्खेत । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै मुलुकमा केन्द्र, प्रदेश र स्थानीय सरकार छन्। स्थानीय तहको निर्वाचनसँगै अब ‘जनताको घर-आँगनमै सिंहदरबारको सेवा’ भनेर खुवै चर्चा परिचर्चा गरियो।

    यो चर्चासँगै काठमाडौंसम्म धाउनुपर्ने जनताको पीडा भुल्याउन संघीयताको मल्हमले कति काम गर्‍यो त्यसको समीक्षा त हुँदै जाला। तर, देशकै पिछडिएको क्षेत्र कर्णालीका नेता तथा कार्यकर्ताहरूलाई काठमाडौं नै प्यारो छ।

    सार्वजनिक अभिव्यक्ति दिँदा कर्णालीको विकासमा लागि संघीयताको आवश्‍यकताको रटान दिन नथाक्ने यहाँका अगुवा भनिएकाहरूले त्यही कर्णालीवासीको नाममा सिंहदरबारको चौ घेराबाट फाइदा लिइरहेका छन्।

    कर्णालीका दूरदराजमा काठमाडौंको सिंहदारसम्मको पहुँच अझै छैन। प्रदेश संरचना बनेपछि कर्णालीका ७९ वटै तहमा रहेका प्रत्येक वडामा प्रदेश सरकार पुग्दा सीमित व्यक्ति त खुसी नै छन्। तर, नेता-कार्यकर्ता भने संघीय राजधानी काठमाडौंकै रमझममा रमाएका छन्।

    काठमाडौंमा प्रमुख दलका नेता र पहुँचवाला कार्यकर्ताहरूका गगनचुम्बी घर ठडिएका छन्। आफ्नो सहरमा सुविधाभोगी जीवन जिउने उनीहरूले कर्णालीका बासिन्दालाई भोट बैंकको रूपमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ।

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाल यही तरिकाले संघीयताको अभ्यास गरिए नेपालमा संघीयता खतरामा पर्ने बताउँछन्। उनका अनुसार संघीयता लागू भएपनि कार्यान्वयन गति भने सुस्त छ।

    “अहिले पनि हरेक राजनीतिक दलका नेता तथा कार्यकर्तामा केन्द्रप्रति नै माया बढेको छ। संविधानले प्रष्टरूपमा अधिकारको किटान गरेपनि कार्यान्वयन गर्नेहरू नै अहिले केन्द्रीय नेताप्रति बफादार देखिन्छन्”, ढकाल भन्छन्, “उनीहरुलाई यहाँको संरचनाको चिन्ता नभएको मैले महसुस गरेको छु।”

    प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्यहरूबाहेक अन्यले संघीयताको अभ्यास प्रदेशबाटै गर्नुपर्नेमा काठमाडौंमा नै भरिने प्रचलन ठिक नभएको नेकपाका नेता टेकेन्द्रकुमार बस्नेत बताउँछन्।

    “नेताहरूलाई संघीयता कार्यान्वयन भएको यति वर्ष भइसक्दा पनि काठमाडौं मोहले नछोडनु संघीयतको मर्मविपरीत हो जस्तो लाग्छ “, “उनी भन्छन्, “आफ्नै प्रदेश बनाउने हो भने यहिँ घर निर्माण गर्ने, यहाँको विकास निर्माणबारे बहस गर्ने, जनताको काममा साथ दिने काम गर्नुपर्छ। आम नागरिकले संघीयता भन्दै नाक फुल्याउने तर नेता कार्यकर्ता भने काठमाडौंमा नै घर किन्न पाए पुग्ने आचरणका भइदिनाले संघीयता नेताहरूबाटै खतरामा पर्ने भय मैले देखेको छु।”

    पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी काठमाडौं जानै नहुने भन्ने होइन, जाने तर काम सकिएपछि कार्यक्षेत्रमा फर्कनुपर्ने हो त्यसो नभई विभिन्न बहानामा काठमाडौंमा नै बसिरहने मानसिकता हावी भएको टिप्पणी गर्छन्।

    उनी भन्छन्, “यसरी संघीयतालाई काठमाडौंबाटै चलाउँदा आम नागरिकमा नेताहरूप्रति नकारात्मक धारणाको विकास हुन्छ। काठमाडौंबाटै पालिका चलाउने वा प्रदेश चलाउने काम राम्रो भएन।

    उनले अहिलेको दुइ तिहाईको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आलोचना गर्दै थानीले भने, “अहिले जनतामा ठूला माछा छाड्ने र साना माछा मात्र समातिन्छन् भन्‍ने सन्देश गएको छ। यसबाट सरकारले पाठ सिक्नुपर्छ।”

  • कांग्रेस नेता विष्टले नेकपालाई गरे मुसासँग तुलना

    कांग्रेस नेता विष्टले नेकपालाई गरे मुसासँग तुलना

    सुर्खेत। मुसाले कुराउनी खायो, बिल्ला (विरालो) कि थाहा पाई।
    मुसा त संसारै देख्याँ यसा मुसा काई नाई ।।

    यो भनाइ नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टको हो ।

    सोमबार सरकारविरुद्ध नेपाली कांग्रेसले वीरेन्द्रनगर-६ मा रहेको पिपल चौतारामा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    देउडा गीतबाटै उनले नेपालका कम्युनिष्ट पार्टीलाई मुसासँग तुलना गरेर आलोचना गरे।

    कांग्रेसले चुनाव मात्र हारेको बताउँदै उनले देश नहारोस भन्ने चाहेको बताए ।

    कांग्रेस लोकतन्त्रको पहरेदार भएको बताउँदै उनले लोकतन्त्रलाई जोगाई राख्न जीवन रहुञ्जेल शीरमा कफन बाँध्न र जनताको पक्षमा लडन आफू पछि नपर्ने बताए ।

    केन्द्रीय सदस्य एवम पूर्व मन्त्री शीवराज जोशीले सरकारले भ्रष्टाचार बढाएको आरोप लगाए । ‘एकपछि अर्को काण्ड सार्वजनिक भए,’उनले भने, ‘नेकपाका उच्चस्तरीय नेताहरुनै भ्रष्टाचारका काण्डमा मुछिए ।’

    दुई तिहाई सरकारले एक पूलको समेत उदघाटन् गर्न नदिएर प्रतिपक्षीलाई देख्न नचाहेको उनको आरोप थियो।

  • काठमाडौंलाई सफा राख्‍न बाहिरबाट आएर बसेकाहरूको साथ आवश्‍यक : मेयर शाक्य

    काठमाडौंलाई सफा राख्‍न बाहिरबाट आएर बसेकाहरूको साथ आवश्‍यक : मेयर शाक्य

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा स्थायीभन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलोमुक्त र हिलोमुक्त बनाउन सबैको साथ सहयोगको आवश्यक रहेको बताएका छन्।

    काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले देशकै साझा महानगरपालिका भएकाले कामको चुनौती पनि उस्तै रहेको बताएका छन्।

    कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

    मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताए । अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने स्थानीय तहको कामकारवाहीमा निर्भर रहेको त्रिपाठीको भनाइ छ।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्यमा स्थानीय तहले गरेको कामले संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताएका छन्। संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएकाले काम पनि असाधारण नै गर्न उनको सुझाव छ।

    २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ।

  • विवेकशील साझा : सोसल मिडिया कि राजनीतिक मञ्‍चमा ?

    विवेकशील साझा : सोसल मिडिया कि राजनीतिक मञ्‍चमा ?

    काठमाडौं। वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित गठन भएका विवेकशील नेपाली दल र साझा पार्टीबीच यसैसाता दोस्रोपटक एकता भयो ।

    भर्चुअल माध्यमबाट गरिएको एकता घोषणाले विवेकशील साझा पार्टीलाई भौतिकरूपमा त सग्लो बनाएको छ । तर,  राजनीतिको वास्तविक मैदानमा चुनौतीका चाङ भने त्यत्तिकै छन्।

    दोस्रोपटकको एकताप्रति दुवै पक्षका केही नेताहरू असन्तुष्ट छन्। अर्कोतिर राजनीतिक वृत्तमा विवेकशील साझा पार्टीको आधार ‘सोसल मिडिया’ मात्रै भन्ने आरोप पनि छ। सो पार्टीका नेता प्रकाशचन्द्र परियार भने पार्टीको पहिचानमाथि गरिएको प्रश्न नै गलत भएको बताउँछन्।

    “हामी फेसबुके पार्टी होइनौँ। कल्याणकारी लोकतन्त्रको नारा बोकेर हामी देशको कुना-कुनासम्म पुगेका छौँ। दूरदराजसम्म हाम्रो संगठन पुगिसकेको छ”, उनले भने। आफ्नो पार्टीको राजनीतिक सम्भावनाबाट अत्तालिएकाहरूले कमजोर आँके पनि अबको मूलधारको राजनीतिलाई नेतृत्व दिन विवेकशील साझा सुगठित भइसकेको परियार दाबी गर्छन्।

    उनले भने, “एकता प्रक्रियाले विवेकशील पार्टीको फराकिलो मार्ग तयार गरिसकेको छ। अबको २ वर्षभित्र हाम्रा एजेण्डाको फैलावट हुनेछ र आगामी निर्वाचनबाट मुख्य राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छौं।”

  • समायोजन नसकिँदा जसपाको राजनीतिक गतिविधि प्रभावित

    समायोजन नसकिँदा जसपाको राजनीतिक गतिविधि प्रभावित

    काठमाडौं। गत वैशाखको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको चर्चासँगै तत्कालीन राजपा र संघीय समाजवादी पार्टीले ‘आकस्मिक एकता’ गरे।

    ‘भवितव्य’टार्न जन्मिएको जनता समाजवादी पार्टी (जसपा) मा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक ट्वीटहरूको चर्चाबाहेक ८ महिनामा कुनै अभियान देखिएको छैन। सरकारले संसदको अधिवेशन स्थगित गरेको र कोरोना महामारीले सडकमै उपस्थिति देखाउनसमेत असहज भएको भन्दै जसपा शान्त देखिएको हो।

    सरकारका काम कारवाहीबारे केही नेताको सार्वजनिक टिप्पणीबाहेक जसपाका राजनीतिक गतिविधि पछिल्लो समय ठप्पप्रायः छन् । हतारमा भएको एकताले पूर्णता नपाउँदा जसपाको सांगठनिक गतिविधि ओझेलमा परेको हो। जसपा केन्द्रीय कार्यकारिणी समितिले कात्तिक २५ सम्म प्रदेश, मंसिर १५ सम्म स्थानीय तह र मंसिर मसान्तसम्म निर्वाचन क्षेत्र , जिल्ला र जनवर्गीय संगठनको समायोजन गरिसक्ने निर्णय गरेको थियो। तर, निर्धारित समय सकिँदा समेत समायोजन प्रक्रिया टुंगिएको छैन।

    जसपाका नेता केशव झा कोरोना महामारीका कारण समायोजनको काममा ढिलो भएको बताउँछन् । “समायोजनको कार्यदलमै रहनुभएका केही नेताहरु कोरोना संक्रमित हुनुभयो । यसले गर्दापनि काममा ढिला भएको छ । मंसिरमा नसकिए पनि पुससम्म समायोजन सकिन्छ र पार्टी सक्रिय हुन्छ”, झाले नेपाल प्रेससँग भने ।

    सरकार र प्रमुख प्रतिपक्ष दुवै दलसँग राजनीतिकरूपमा जसपा असन्तुष्ट छ। “सरकार त सम्पूर्णरूपमा असफल र भ्रष्ट भइसकेको छ तर जनताका एजेण्डामा कांग्रेस पनि जिम्मेवार भएन । संसद बैठक बोलाउन समेत कांग्रेसले सार्थक पहल गरेन”, झा भन्छन्।

    पार्टीभित्र अनौपचारिकरूपमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोले छिट्टै राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।

  • सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री

    सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री

    चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सामेबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्‍याउने बताए।

    उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

    सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं संगठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए।

    गृहमन्त्रीले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र संगठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ।’

    उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ।

    भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए।

  • सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार

    सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी लगायतका दलले राजतन्त्रका पक्षमा प्रदर्शन हुनुमा सरकार नै जिम्मेवार रहेको अरोप लगाएका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले सरकारकै कारण असन्तुष्टि प्रकट भएको बताएका हुन्।

    ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ,’ आफ्ना नेताहरुले राखेको धारणाको सार सुनाउँदै नेता प्रकाशशरण महतले भने,‘राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’

    महतका अनुसार अहिले प्रदर्शन बढ्नुमा सिस्टम वा लोकतन्त्रको खराबी नभइ सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण भएको र सरकार सच्चिए त्यो पनि मत्थर हुँदै जाने धारणा नेताहरुले राखेका थिए।

    बैठकमा कांग्रेस नउप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि लगायतले धारणा राखेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्ना भनाइ नराखी बैठकको बीचमै निस्किएका थिए।

    जनता समाजवादीका नेतालेहरुले पनि सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको र त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको धारणा राखेका थिए। प्रतिगामीहरुले जनताको सरकारप्रतिको असन्तुष्टि उपयोग गर्ने कोशिस गरेको उनीहरुको भनाइ थियो। समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागि थिए।

    बैठकमा राजतन्त्रको पक्षमा भएका आन्दोलनमा आफूहरको नैतिक समर्थन रहेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दिपक बोहराले बताए।

    करिब तीन घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले नेताज्यूहरूलाई स्वागत गर्दै शुरूमै आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाका अनुसार प्रधानमन्त्रीले सर्वदलीय छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।

    उनले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए।

    सबै दलका नेताहरुले धारणा सुनेपछि अन्तिममा पुन बोलेका प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दा गर्दै पनि आलोचना भएको गुनासो गरेका थिए। एक नेताका अनुसार त्ससबाहेक ओलीले खासै बालेनन् ।

    राजतन्त्रका पक्षमा सडकमा भइरहेको आन्दोलनप्रति सरकारले कस्तो व्यवहार देखाउँछ भन्ने बारे पनि खासै खुलेर राधणा रोखनन् ।

    बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु सहभागि थिए ।

    त्यस्तै, प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति गच्छदार, वरिष्ठ नेता पौडेल, नेता निधि, महतलगायत थिए ।

    जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव थिए भने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल थिए ।

    राप्रपाबाट भने अध्यक्ष कमल थापा उपस्थित थिएनन् । पार्टीका तर्फबाट दीपक बोहोरा सहभागी थिए।