Category: राजनीति

  • अध्यादेशविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै

    अध्यादेशविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै

    काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरुद्ध परेका तीनवटा अलग अलग रिटमाथि आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । सरकारले अध्यादेश फिर्ता लिन र पूरानै कानुन जीवित गराउन अर्को अध्यादेश जारी गरि नसकेको अवस्थामा संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,कन्चनकृष्ण न्यौपाने र ओमप्रकाश अर्यालले दर्ता गरेका अलग अलग रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा एकैपटक सुनुवाई हुन लागेको हो । इजलासमा सर्बोच्चका बरिष्ठ न्यायाधीशहरु क्रमशः दिपक कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।

    इजलासमा बहसपछि आजै आदेश आउन सक्ने सम्भावना छ । रिटमा राष्ट्रपति,प्रधानमन्त्री सहित संवैधानिक परिषदका सदस्यहरुलाई समेत विपक्षी बनाइएको छ ।

  • अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

    अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

    काठमाडौं । नेकपामा केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षबीचको विवाद पार्टी बिभाजनको दिशामा अघि बढिरहेका बेला म्याग्दी पुगेका अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको कार्यक्रममा संयोजक ऐन महर पक्षधर विद्यार्थीले अवरोध गरेका छन् ।

    अखिलका स्थानीय नेता याम पौडेलको निधनमा श्रद्धान्जली दिन गएका तामाङले आज विहान बेनीस्थित याक होटलमा कार्यक्रम आयोजना गर्न लागेका थिए ।

    स्थानीय कार्यकर्ताले संगठनको झण्डा प्रयोग गरेर गुटको कार्यक्रम गर्न लागेको भन्दै अवरोध गरेका छन् ।

    अनेरास्ववियूका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले स्थानीय कमिटीलाई जानकारी नदिई गुटको भेला गर्न खोजेपछि विद्यार्थीले विरोध गरेको बताए । अवरोध र होहल्लापछि प्रहरीले तामाङलाई त्यहाँबाट सुरक्षा दिएर बाहिर लगेको थियो ।

    तामाङ पक्षले भने जिल्लाका पार्टी नेताहरु सहित पत्रकार सम्मेलन गर्न लागेका बेला अर्को पक्षले अवरोध गरेको जनाएको छ । जिल्ला कमिटीले विहिवारै पौडेलको निधनमा श्रद्धान्जली सभा आयोजना गरेको थियो ।

    जिल्ला अध्यक्ष विश्वकर्माले भने संगठनको सहसंयोजक आउँदा कमिटीलाई जानकारी नदिई पूर्व माओवादी पक्षको भेला गर्नु शोभनीय नभएको बताए ।

    तामाङले भने विवाद भए पनि अवरोध चाहिँ नभएको बताएका छन् ।

  • प्रचण्ड-माधव पक्षले जिल्ला अध्यक्ष र सचिवलाई पेरिसडाँडा बोलायो

    प्रचण्ड-माधव पक्षले जिल्ला अध्यक्ष र सचिवलाई पेरिसडाँडा बोलायो

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ । पहिलो दिन आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको हो ।

    यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।

    पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ । अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने ती नेताले बताए ।

    प्रचण्ड-माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने भएको छ । काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ ।

    पार्टीमा पछिल्ला दिनमा बढ्दै गएको ध्रुवीकरण र संकट समाधानका गर्न आगामी दिनका लागि रणनीति तय गर्न भेलाको आयोजना गरिएको आफूहरूलाई जानकारी प्राप्त भएको जिल्लाबाट आएका एक नेताले नेपाल प्रेसलाई बताए।

    संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो।

  • सांसद रेशम चौधरीलाई जन्मकैद नै हुनुपर्ने उच्च अदालतको फैसला

    सांसद रेशम चौधरीलाई जन्मकैद नै हुनुपर्ने उच्च अदालतको फैसला

    रासस । उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो ।

    अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो ।

    एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो ।

    उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै जन्मकैदको फैसला सुनाएको हो ।

    उच्च अदालतले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत सात जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही पाँच वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ ।’

    मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर पुगेका थिए । उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिए । चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गराइएको थियो ।

  • कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

    कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।

    बिहान ११ बजेपछि बानेश्वरस्थित संसद भवनमा रहेको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    यसअघि बुधबार सभापति निवास बुढानीलकन्ठमा पदाधिकारी बैठक पनि बसेको थियो ।

  • दुवै अध्यक्षका ‘लिखत’ फिर्ता गराउन दोस्रो तहका नेता सक्रिय

    दुवै अध्यक्षका ‘लिखत’ फिर्ता गराउन दोस्रो तहका नेता सक्रिय

    काठमाडौं । बुधवारको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षलाई अध्यादेश र संसद्को विशेष अधिवेशन माग गर्ने निवेदन फिर्ता गराउन सफल भएका नेकपाका दोस्रो तहका नेताहरु पुस ५ को अर्को बैठकअघि नै दुवै अध्यक्षका अभियोग र प्रतिअभियोगपत्र फिर्ता गराउन सक्रिय भएका छन् ।

    उनीहरुको यो सक्रियतालाई उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा (बादल) र महासचिव विष्णु पौडेलले पनि साथ दिएका छन् ।

    प्रचण्डको ‘अभियोगपत्र’ फिर्ता नभएसम्म त्यसमाथि छलफल हुने कुनै पनि बैठकमा आफू सहभागी नहुने अडानमा प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपी शर्मा ओली यथावत् छन् ।

    ओलीले प्रचण्डसँगका भेटमा उक्त अभियोगपत्र फिर्ता लिएर साझा प्रस्तावका साथ बैठकमा जान आग्रह गरिरहेका छन् । तर प्रचण्ड–माधव नेपाल पक्ष भने पार्टीको बैठकमै छलफल हुनुपर्ने अडानमा छ ।

    ओली यसबीचमा स्थायी कमिटीका दुई बैठकमा सहभागी भएका छन् तर अर्कै कार्यसूची भएका बेला मात्र । मंसिर २८ गतेको बैठकमा कमानसिंह लामाको निधनमा शोक प्रस्ताव मात्र पारित गरिने भएपछि सहभागी ओली पुस १ गते अध्यादेश र संसद् अधिवेशनको निवेदन पत्र फिर्ता गर्ने निर्णय गर्न सहभागी भएका थिए । त्यो पनि चार नेताको प्रयास सफल भएपछि ।

    दोस्रो तहका नेताहरु सुवास नेम्वाङ,घनश्याम भुसाल,शंकर पोखरेल र योगेश भट्टराईले दुवै अध्यक्षका एक अर्काप्रति आरोप लगाइएका लिखत फिर्ता गरेर पार्टीमा नयाँ ढंगले सहमति कायम गर्न सक्रिय भएका छन् । पछिल्लो समय उपाध्यक्ष बामदेव गौतम पनि पार्टी फुट्न नदिन दुवै अध्यक्षका अभियोगपत्र र प्रतिअभियोगपत्र स्थायी कमिटीबाटै फिर्ता होस् भन्ने पक्षमा उभिएका छन् ।

    गौतम निकट स्रोतले भन्यो–हामी सचिवालयका सदस्यहरु दुवै अध्यक्षका लिखतका एक एक पक्षमा उभिएका छौं । तर पार्टी एकता जोगाउनका लागि ती अभियोगहरु फिर्ता गराउन स्थायी कमिटीका बहुमत सदस्यहरु उभिए भने फुट टर्न सक्छ भन्ने उहाँको धारणा छ । कतिपय नेताहरुले उहाँलाई दुई अध्यक्षबीच समझदारी गराउन अग्रसर हुन आग्रह पनि गरिरहेका छन् ।

    दुई अध्यक्षबीच दुईबुँदे सहमति कायम गराउन खटिएका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई संकटबाट जोगाउन दुवै अध्यक्षका लिखित प्रस्ताव फिर्ता गराउने प्रयास भइरहेको बताए । बुधवारै बालुवाटारको छलफलमा यसबारेमा कुरा भए पनि ठोस सहमति नभएको उनले जानकारी दिए । यद्यपि प्रयास त्यसै दिशामा रहेको उनको भनाइ छ ।

    घनश्याम भुसाल, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमलगायतका नेतासँग पनि यसबारेमा छलफल गरिरहेको निकट स्रोतको दावी छ । हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेता पनि दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर नयाँ समझदारी हुनुपर्ने पक्षमा क्रियाशील छन् ।

    सहमति जुटाउन क्रियाशील एक नेताले भने–पार्टी कुनै पनि अवस्थामा फुट्न दिंदैनौं । त्यही भएर हामीले अनेक आरोप खेपेर भने पनि दुवै अध्यक्षका लिखित प्रस्ताव भने पनि आरोप प्रत्यारोप भने पनि ती लिखत फिर्ता गराउने र भदौ २६ को अवस्थामा फर्काएर एकता जोगाउने प्रयास गरेका छौं । दुवै अध्यक्षको साझा प्रस्ताव लैजान सकियो भने ठूलो सफलता हुन्छ ।

    स्थायी कमिटीले नै दुवै अध्यक्षका प्रस्तावलाई स्थगन गरेर कार्य विभाजन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा समझदारी गरेर पार्टी फुटबाट जोगाउन सक्ने माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले बताए । भदौ २६ को निर्णय केपी ओलीले नै उल्लंघन गरेकाले ओलीबाटै सच्चिनुपर्ने उनको भनाइ छ ।

    सहमतिको प्रयासमा नेताहरु लागे पनि नेकपाका दुवै पक्ष एक अर्काको रणनीतिप्रति सशंकित छन् । ओली पक्षलाई प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको आशंका छ । त्यस्तै अर्को पक्षलाई प्रधानमन्त्रीले अर्को कुनै कदम चाल्ने र पार्टी विभाजन हुने आशंका छ । दुवै पक्षबीच विश्वासको चरम संकट छ ।

  • मन्त्रिपरिषद् बैठक सम्पन्न, अध्यादेश फिर्ताबारे छलफल भएन

    मन्त्रिपरिषद् बैठक सम्पन्न, अध्यादेश फिर्ताबारे छलफल भएन

    काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गरेर त्यसलाई प्रतिस्थापन गर्न अर्को अध्यादेश जारी गर्नका लागि बसेको भनिएको मन्त्रिपरिषद् बैठकमा सो सम्बन्धी प्रस्तावमा छलफल नै नभई बैठक सम्पन्न भएको छ ।

    बिहीवार साँझ पौने ८ बजे सम्पन्न भएको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले बताए ।

    अध्यादेश जारी गर्ने प्रस्ताव पनि यसअघि मन्त्रिपरिषद् बैठकमा छलफल नभई प्रधानमन्त्रीले मुख्य सचिवलाई निर्णय लेख्न लगाएर राष्ट्रपतिसमक्ष पठाइएकोले फिर्ता सम्बन्धी निर्णय पनि सोही प्रक्रियाबाट हुने स्रोतले जनाएको छ ।

    नेकपा स्थायी कमिटी बैठकबाटै अध्यादेश फिर्ता लिने निर्णय भइसकेकाले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर सो निर्णय हुनसक्ने ती मन्त्रीले बताए ।

    मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मुख्य सचिव बसेर माइन्युट लेखेपछि हुने विषय भएकाले यसमा छलफल नभएको हुनसक्ने उनको भनाइ छ ।

  • ७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन

    ७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन

    काठमाडौं । मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाउन नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशन ७६ वटा जिल्ला समितिहरुले अवज्ञा गरेका छन् ।

    गत कात्तिक २८ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ तथा नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यहरुको सूची केन्द्रीय कार्यालयमा बुझाउने अवधि मंसिर मसान्तलाई कायम गर्ने निर्णय गरेको थियो ।

    केन्द्रीय समितिको निर्णयकै आधारमा कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला समितिलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र अनिावार्य रुपमा नयाँ एवं नवीकरणको सूची पठाउन निर्देश गरेका थिए ।

    सो निर्णयको पालना कांग्रेसको अर्घाखाँची जिल्ला समितिले मात्रै गरेको छ । अन्य सबै जिल्लाले न सूची पठाएका छन् न त विलम्व हुनुको कारणबारे केन्द्रीय कार्यालयलाई जानकारी नै दिएका छन् ।

    यसबारेमा जिज्ञासा राख्दा कांग्रेस मुख्य सचिव पौडेलले कति जिल्लाको क्रियाशील आयो भन्ने आफूलाई यकिन नभएको बताए । ‘म अहिले रामचन्द्र दाइकोमा बैठकमा छु । कति जिल्लाको क्रियाशील आयो ठ्याक्कै भन्न सक्दिनँ । यसबारे भोलि जानकारी दिउँला’, पौडेलले नेपाल प्रेससंग भने ।

    कांग्रेस केन्द्रीय कार्यालय सम्बद्ध स्रोतले अर्घाखाँचीबाहेक अरु जिल्लाको सदस्यता सूची प्राप्त नभएको पुष्टि गर्याे ।
    फागुन ७ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित छ । यद्यपि महाधिवेशनको बाँकी प्रक्रिया अगाडि बढाउनका लागि पनि क्रियाशील सदस्यताको टुंगो लाग्न जरुरी छ ।

    ७७ मध्ये ७६ जिल्लाले कांग्रेसको निर्णय अवज्ञा गरेपछि क्रियाशील सदस्यताको अन्तिम निधो लाग्न अझै थप समय लाग्ने निश्चित छ । कांग्रेस नेता एवं संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ भने जिल्ला समितिहरुले पार्टीको निर्देशन नमानेको रुपमा बुझ्न नहुने बताउँछन् । ‘पार्टीको निर्णय नमानेको होइन नभ्याएको हो ।’

    ‘कोभिड र २९ गतेको आन्दोलनका कारण जिल्ला समितिले पठाउन नभ्याएका हुन्’, श्रेष्ठले नेपाल प्रेससँग भने ।
    उनले केन्द्रीय समितिको आगामी बैठकले जिल्ला समितिहरुलाई नयाँ म्याद दिने बताए ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रियाशील सदस्यता टुंग्याउन भएको ढिलाइले महाधिवेशनलाई अनिश्चयको भुमरीमा होम्न सक्ने बताउँछन् । ‘क्रियाशील सदस्यता नै कांग्रेस महाधिवेशनको आधार हो । यसैमा ढिलो गराएपछि महाधिवेशन कसरी निश्चित हुन्छ ? ’ पौडेलले प्रश्न गरे ।

    उनले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई अलमलमा पार्ने प्रयास गरेको बताए । ‘बैठकमा महाधिवेशन गर्न तयार देखिने तर भित्री रुपमा महाधिवेशनका लागि आवश्यक कुनै पनि काम हुन नदिने ।महाधिवेशन अल्मलाउने काम भइरहेको छ ।’ पौडेलले नेपाल प्रेससँग भने ।

    कांग्रेसले यही साता केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यताको म्याद थप्ने र महाधिवेशन कार्यतालिका संशोधन गरी महाधिवेशन सार्ने तयारी गरिरहेको छ ।

    पूर्वाग्रह त्याग्ने हो भने काम गर्न सकिन्छ : अर्घाखाँची सभापति मुस्कान

    नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले तोकिएको अवधिभित्र क्रियाशील टुंग्याउने एकमात्रै जिल्ला समिति हुन पाएकोमा खुसी व्यक्त गरे ।

    पार्टीको विधान, केन्द्रीय समितिको निर्देशन र कार्यकर्ताको भावना अनुसार काम गरेकोले बेलैमा क्रियाशील सदस्यको सूची बुझाउन सफल भएको मुस्कानको अनुभव छ ।

    ‘पूर्वाग्रह नराखी , तेरोमेरो नभनी काम गर्ने हो भने क्रियाशील सदस्यता कुनै विवादको विषय होइन । हामीले सबै तहमा छलफल गरेर सर्वसम्मत रुपमा पठाएका हौं’, मुस्कानले नेपाल प्रेससंग भने ।

     

  • नेताका दुई रुपः ट्वीटरमा किसानको पक्ष,फोनमा मिल मालिकको बचाउ (भिडियो)

    नेताका दुई रुपः ट्वीटरमा किसानको पक्ष,फोनमा मिल मालिकको बचाउ (भिडियो)

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् ।

    संघीय संसद् प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन आएको बताएका हुन् ।

    सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैद्व चरित्र देखाउने प्रवृतिले समस्या भएको समेत बताए ।

    उनले भने- ‘यहाँ द्वैद्व चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई । यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जव ठेगान लगाउन थाल्यो फोन आउँछ । होइन त्यसलाई त रोक्नुपर्‍यो नी । उद्योगी त तिर्छु भनेको छ नी चार दिन रोकिदिनु प¥यो भन्ने । यी खालका जो आउँछन् अव यो हामीले भन्न खोजेको गर्न खोजेको के हो अव अलिकति सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । मैले ट्विटर हेरे निकै नेताहरुको किसानले न्याय पाउनुपर्छ भनेर लेखेका छन् अनि तिनै नेताले फोन गर्छन र उद्योगीलाई गिरफ्तार गर्न हुन्न भन्छन् । यो खालको क्यारेक्टरले पनि समस्या हल गर्नमा बाधक बन्यो ।’

    उद्योगीहरु जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएको उनले बताए । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टले प्रष्ट पारे । तर उद्योग मन्त्रालयसँग ऐन नहुँदा कानूनी दायरमा ल्याउन कठिन भएको पनि मन्त्री भट्टले बताए ।

    उनले भने ‘उद्योग मन्त्रालयले उद्योगको संरक्षण र त्यसको विकास गर्नमा पहल गर्ने की नगर्ने प्रश्न पनि आउँछ । त्यसको अर्थ उद्योगीले अन्याय गर्छ भने त्यसलाई छोड्ने प्रश्न पनि हुँदैन । उसले कानून मिच्छ, अन्याय गर्छ, कसैलाई उत्पिडन गर्छ भने त्यसलाई कानूनी दायरामा ल्याउने पहल गर्ने समन्वय गरीदिने काम गर्छ । हामीसँग उद्योग मन्त्रालयमा यस्तो ऐन छैन जो हामी आफै प्रत्यक्ष गएर कारबाही गर्ने कुनै कानून छैन ।’

    उपभोक्ता हित संरक्षण सम्बन्धी कानुनबाट कारबाही गर्न नमिल्ने पनि प्रष्ट पारे । मन्त्री भट्टले माइतिघर मण्डलामा आन्दोलनमा आउने किसानहरुलाई आफुले विचौलिया नभनेको पनि स्पष्ट पारेका छन् ।

  • ओली र प्रचण्ड भेटपछि संवैधानिक परिषद् बैठक स्थगित

    ओली र प्रचण्ड भेटपछि संवैधानिक परिषद् बैठक स्थगित

    काठमाडौं । संवैधानिक परिषद्को आजको बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलपछि बैठक स्थगित गरिएको हो ।

    दुई अध्यक्षबीचको सहमति अनुसार अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै संवैधानिक परिषद्को बैठक आह्वान गरिएको थियो ।

    अध्यादेश फिर्ता नगरी परिषद् बैठक बोलाइएपछि नेकपा अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसंग छलफल गर्न बालुवाटार पुगेका थिए ।

    दुवै अध्यक्षको छलफलपछि बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

    आज बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने निश्चित थियो भने सभामुख अग्नि सापकोटाले बैठकबारे जानकारी नभएको बताएका थिए ।

  • संवैधानिक परिषद् बैठकः सभामुखलाई थाहा छैन, देउवा नजाने

    संवैधानिक परिषद् बैठकः सभामुखलाई थाहा छैन, देउवा नजाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश फिर्ता नलिइकन प्रधानमन्त्री ओलीले परिषद् बैठक बोलाएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अध्यादेश फिर्ता लिने सहमति बनेको थियो ।
    अध्यादेश फिर्ता लिनका लागि आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएपनि प्रधानमन्त्री ओलीले त्यसअघि नै संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

    यसैबीच, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् बैठकबारे थाहा नभएको जनाएका छन् । सभामुखका सञ्चार विज्ञ श्रीधर न्यापानेले बैठकबारे हालसम्म जानकारी नआएको बताएका छन् ।

    प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि परिषद् बैठकमा सहभागि नहुने भएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता नभएसम्म परिषद् बैठकमा देउवा नजाने जानकारी दिए ।

     

  • कांग्रेसका इञ्जिनियर चुनावी मैदानमाः देउवाका थानी, पौडेलका थापा

    कांग्रेसका इञ्जिनियर चुनावी मैदानमाः देउवाका थानी, पौडेलका थापा

    काठमाडौं । नेपाली कांग्रेसनिकट इञ्जिनियरहरुलाई यतिबेला चुनावको रन्को छ । कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल ९सिडेन० को नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन हुँदैछ ।

    सिडेनको नयाँ नेतृत्व लिनका लागि दुई प्यानल चुनावी मैदानमा छन् । जसलाई कांग्रेसका दुई गुटको प्रष्ट समर्थन रहेको छ ।

    सभापति शेरबहादुर देउवा समूहको उम्मेदवारका रुपमा ई।उमेश थानी अध्यक्षको प्रत्याशी बनेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट ध्रुव थापा अध्यक्षको उम्मेदवार रहेका छन् ।

    अध्यक्षका दुवै प्रत्याशीले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका हुन् । थानीको प्यानलबाट उपाध्यक्षमा सूर्यबहादुर पाण्डे, महासचिवमा प्रेमचन्द्र राय, उप महासचिवमा विरेन्द्र खड्का र कौशल कार्की कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।

    त्यस्तै थापा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा मन्दीप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल उम्मेदवार बनेका छन् । देशभरका ३ हजार ६ सय २३ जना लोकतन्त्रवादी इञ्जिनियरहरु अधिवेशनको मतदाता रहेका छन् ।

    आफूनिकट प्यानललाई जिताउन कांग्रेस नेताहरुले भेटघाट तीव्र पारेका छन् । नयाँ नेतृत्व चयनका लागि बागमती प्रदेश बाहेकका प्रदेशहरुको प्रदेश राजधानी र बागमती प्रदेशको हकमा काठमाडौंमा मतदान केन्द्र तोकिएको छ ।

    नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आ–आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

    अध्यक्षका उम्मेदवार थानीले इञ्जिनियरिङ शिक्षाको गुणस्तर बृद्धि, विगतका सकरात्मक कामहरुको निरन्तरता, कार्यालयर्ला प्रविधिमैत्री बनाउने, सदस्यहरुलाई तालिम र रोजगारीको अवसर लगायतका १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    अर्का प्रत्याशी थापाले भिडियो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    नेपाल इञ्जिनियर एसोसियसनको पूर्व अध्यक्षसमेत रहेका थापाले इञ्जिनियरहरुको हकहितको रक्षा, इञ्जिनियरहरुको पेशागत सुरक्षा र क्षमता अभिवृद्धि तथा सिडेनको संस्थागत सुधारको प्रतिबद्धता जनाएका छन् ।

  • अध्यादेश खारेज गर्न अर्को अध्यादेश, मन्त्रिपरिषद् बैठक बस्दै

    अध्यादेश खारेज गर्न अर्को अध्यादेश, मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गर्नका लागि फेरि अर्को अध्यादेश ल्याउनुपर्ने कानुनी प्रावधान छ । जसका लागि आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

    बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले राष्ट्रपतिबाट जारी भइसकेको उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

    पुरानै कानुन ब्युँताउनका लागि अर्को अध्यादेश ल्याउन मन्त्रीपरिषद् बैठक बस्नुपर्ने संवैधानिक प्राबधान छ ।

    प्रधानमन्त्री ओलीले बिहानैदेखि नेकपा नेताहरु ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेताहरुसँग परामर्श गरिरहेका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले आजै अर्का अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेर मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

  • हिन्दूराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपाले संघर्ष गर्ने

    हिन्दूराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपाले संघर्ष गर्ने

    काठमाडौं । राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दुराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित देशव्यापी संघर्ष गर्ने घोषणा गरेको छ।

    कमल थापाको अध्यक्षतामा बसेको  पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसहितको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुसको दोस्रो सातादेखि पहिलो चरणको संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो।

    भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासिनता देखाएको त्यसको विरुद्धमा जनप्रदर्शन गर्न लागिएको राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ।

    बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ।

    त्यस्तै पुस १२ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाउने, १२(२१ गते सम्म जिल्ला सदरमुकाम र ठूला सहरहरुमा मोटरसाईकल र्‍याली गर्ने बताइएको छ।

  • श्रीलंकाबाट बाहिरियो एमसीसी, नेपालमा विवाद कायमै

    श्रीलंकाबाट बाहिरियो एमसीसी, नेपालमा विवाद कायमै

    एजेन्सी । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको छ ।

    यो परियोजनाका लागि एमसीसीले नेपाललाई पनि प्रस्ताव गरेको छ र नेपालमा सत्तारुढ दलभित्रै परियोजना स्वीकार गर्ने नगर्नेबारे विवाद भइरहेका बेला श्रीलंकामा लगानी गर्न एमसीसी पछि हटेको हो ।

    श्रीलंकाली पत्रिका डेली मिररका अनुसार डिसेम्बर १५ मा बसेको एमसीसी बोर्ड बैठकमा भएको मतदानमा श्रीलंकामा आफ्नो परियोजना बन्द गर्ने पक्षमा धेरै मत खसेको थियो । यसै पनि श्रीलंकामा एमसीसीको इकाईले काम गर्न सकेको थिएन । एमसीसीले यसबारेमा औपचारिक घोषणा भने गरिसकेको छैन ।

    पछिल्लो यहापालना सरकारको मन्त्रिपरिषदले सन् २०१९ को राष्ट्रपति निर्वाचन अगाडि एमसीसी परियोजना पारित गरेको थियो । तर निर्वाचनपछि गोताबाया राजापाक्षेको नेतृत्वमा बनेको नयाँ सरकारले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।

    एमसीसी एउटा अनुदान परियोजना हो र उसले मुख्यतः २ क्षेत्रलाई समेट्नेछ– एक सडक र अर्को भूमि परियोजना । ३ सय ५० मिलियन डलरको सडक आयोजनाले पश्चिम र मध्य क्षेत्रका दुई प्रदेश सावारागामुआ र उभाका ग्रामिण सडकको क्षमता बिकासका लागि सहयोग गर्नेछ ।

    एमसीसीका स्थानीय समर्थकका अनुसार यसले भौतिक सडकमार्गको स्तरोन्नत्ति गर्नेछ, यातायात प्रणाली आधुनिक बनाउनेछ र नीति नियमक संस्थालाई सुधार गर्नेछ ।

    ६७ मिलियन डलरको भूमि परियोजनाले २० वर्षभित्र ३० प्रतिशतसम्म आर्थिक दरको सुधारका लागि काम गर्नेछ । यसले स्थानीय तथ्यांकसहित भूमि आधिकारबारे जानकारी उपलब्ध गराउन श्रीकंका सरकारलाई सहयोग गर्नेछ । परियोजनाले सुरुमा मध्य, उत्तर–पश्चिमी, उत्तर–मध्य र पूर्वी प्रदेशका जिल्लाहरुलाई केन्द्रित गरी काम गर्नेछ ।

    तर श्रीलंकाको वर्तमान सरकारका केहि घटकहरुले यो परियोजनाको समर्थन गरिरहेका छन् र उनीहरु यसलाई अगाडि बढाउन चाहन्छन् । उनीहरुको तर्कअनुसार एमसीसीको परियोजनाले श्रीलंकाको सम्प्रभुतामा प्रभाव पार्नेछ ।

  • नेकपा विवाद– ओली र प्रचण्डबीच आज पुनः वार्ता हुँदै

    नेकपा विवाद– ओली र प्रचण्डबीच आज पुनः वार्ता हुँदै

    काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष पुनः छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले आज हुने छलफलमा सहमती हुन बाँकी विषयलाई टुंगोमा पुर्‍याउने अपेक्षा गरिएको छ । वालुवाटार श्रोतका अनुसार प्रचन्डले आज अपराह्न प्रधानमन्त्रीसँग भेट्नेछन् । दुवै अध्यक्षको संवादपछि मात्रै संवैधानिक परिषद बैठकको टुंगो लाग्ने बताइएको छ ।

    मंगलबार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक गरेका थिए । परिषदको अघिल्लो बैठकमा कुनै निर्णय नभएको प्रष्टोक्ति प्रधानमन्त्रीले दिइसकेका छन् ।

    नेकपाको स्थायी समिति बैठकले पनि संवैधानिक परिषदको नियुक्तिमा पार्टीभित्र सहमतिका आधारमा हुनुपर्ने निर्णय गरेको थियो ।

    विवादको विषय बनेको प्रचन्डको ओलीमाथिको आरोपपत्र र त्यसमा ओलीको प्रत्युत्तरबारे आजको वार्तामा छलफल हुने छ । स्थायी समितिको बैठकमा दुवै अध्यक्षको आरोप–प्रत्यारोप खारेज गरी साझा सहमतिको प्रतिबेदन पेश हुनुपर्ने अडान ओलीपक्षको छ भने प्रचन्ड–माधव नेपाल पक्षले प्रचन्डको प्रस्तावमा छलफल हुनुपर्ने माग गरिरहेको छ ।

  • दुवै पक्ष एक कदम पछाडि, हटाउने र नछाड्ने दाउपेच यथावत

    दुवै पक्ष एक कदम पछाडि, हटाउने र नछाड्ने दाउपेच यथावत

    काठमाडौं । नेकपा मंसिर ३० गते बिहानको अवस्थामा फर्कियो कि भदौ २६ मा ? पुस १ गते अपरान्ह ४ बजे चारजना नेतालाई साक्षी राखेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अचानक सहमति भएको खबर बाहिरिएपछि पार्टी वृत्तमा यो प्रश्न सर्वाधिक उठ्यो ।

    दुई अध्यक्षबीच एक्ला-एक्लै भएको वार्ता असफल भएपछि स्थायी कमिटी बैठकमा ओली नजाने र अर्को पक्षले बहुमतबाट एकलौटी निर्णय लिने खालको अवस्था आयो । यसबीचमै सक्रिय भए महासचिव विष्णु पौडेल सहित नेताहरु घनश्याम भुसाल,सुवास नेम्वाङ,शंकर पोखरेल र योगेश भट्टराई ।

    त्यसबीचमा भीम रावल र पम्फा भुसाल संसद्को विशेष अधिवेशन माग गर्न सांसद्हरुको हस्ताक्षर सहित शीतलनिवास पुगिसकेका थिए । एकातिर अध्यादेश,अर्कोतिर काउन्टर हस्ताक्षर सहितको निवेदन शीतलनिवासमा । यसले नेकपाको विभाजन निम्त्याइसकेको थियो ।

    दोस्रो तहका विशेषगरी पूर्व एमाले खेमाका नेताहरुको पहल अध्यादेश र संसद् अधिवेशनको निवेदन फिर्ता गराउन केन्द्रित भयो । ती नेताहरुले ओली र प्रचण्डलाई अलग अलग भेटेर एक कदम पछि हट्न विभिन्न उपाय सुझाए ।

    अन्ततःचार बजे दुवै अध्यक्ष आ आफ्नो कदमबाट पछि हट्न सहमत भए । चार जना दोस्रो तहका नेताहरुसहितको छलफलमा अब पार्टीलाई विभाजनबाट जोगाउन पुनः भदौ २६ कै सहमतिमा फर्किने प्रस्ताव पनि आएको थियो ।

    प्रचण्डको अभियोगपत्र र ओलीको प्रत्युत्तरपत्र दुवै फिर्ता लिएर अबको बैठकमा दुवै अध्यक्षको साझा प्रस्ताव लैजाने प्रस्ताव आए पनि त्यसमा सहमति बनिनसकेको नेताहरुले बताएका छन् । तर बुधवारको एक एक कदम पछि हट्ने कुराले पार्टीमा सहमतिको आधार बनेको दुई अध्यक्षबीचको वार्तामा रहेका नेता सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

    नेम्वाङले भने–यसबीचमा थपिएका जटिलता समाधान गरियो । अब मूल समस्यामा केन्द्रित भएर अगाडि बढिन्छ । अब पाँच गते स्थायी कमिटी बैठकअघिको अवधिमा हामी त्यसैमा केन्द्रित भएर छलफल गर्छौं । दुई अध्यक्षबीच एक तहको हार्दिकता र विश्वास बनेको छ । अब अभियोगपत्र र प्रत्युत्तरपत्र फिर्ता लिएर समाधानमा जान सकिन्छ ।

    दुवै पक्ष अहिले पनि एकअर्काको रणनीतिक चाल बुझिरहेका छन् । अध्यादेश र विशेष अधिवेशनको निवेदन फिर्ता एक प्रकारले अस्थायी युद्धविराम मात्र हो ।

    दुई अध्यक्षबीच आरोपपत्रहरु पनि फिर्ता लिएर भदौ २६ मा फर्किने सहमति भएको भनिए पनि प्रचण्ड पक्षले त्यसमा सहमति भइनसकेको जनाएको छ । प्रचण्डको सचिवालयले दुई बुँदामा मात्र सहमति भएको प्रष्ट पारेको छ ।

    स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा अध्यादेश र संसद् अधिवेशन बोलाउने पत्र फिर्ता लिने मात्र जानकारी दिइएको बताइन् । उनले पार्टी बैठकमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव यथावत रहेको भन्दै पार्टीमा त्यसबारेमा छलफल हुने दावी गरिन् ।

    दाउपेच कि एक कदम ब्याक ?

    बुधवार नेकपाका दुई अध्यक्षबीच भएको सहमति दुवै पक्ष एक कदम पछि हटेको रुपमा मात्र बुझ्नुपर्ने नेताहरु बताउँछन् । संवैधानिक परिषद बैठकमा सभामुखलाई जानबाट रोकेर आफूमाथि प्रचण्डले एक्सन लिएको बुझेपछि प्रधानमन्त्रीले अध्यादेश जारी गरेर काउन्टर दिए ।

    तर अध्यादेशको प्रतिकाउन्टरमा प्रचण्ड माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउने अस्त्र तयार पारेपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको थियो । बुधवारको दुई बुँदे सहमतिले नयाँ विवादकोमात्र हल गरेको तर पूरानो मूल एजेण्डा यथावत रहेको स्थायी कमिटी सदस्य भीम रावलले नेपाल प्रेसलाई बताए ।

    संसद् अधिवेशन बोलाउनासाथ प्रचण्ड पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर तयार पारेको प्रधानमन्त्रीले बुझिसकेका थिए । बुधवार हस्ताक्षर नै बोकेर शीतलनिवास गए नेताहरु । शीतलनिवासमा विशेष अधिवेशन माग गर्ने निवेदन दर्ता नभए पनि संविधान बमोजिम रोक्न मिल्दैनथियो ।

    अझै पनि नेकपा विभाजनको आधार भत्किएको छैन । यसबीचमा आजकै जसरी दोस्रो तहका यिनै नेताले ओली,प्रचण्ड र माधव नेपालबीच कुनै समझदारी गराउन सके भने पार्टी एकता जोगिने ठाउँ छ । नत्र ओलीलाई कम्तीमा एउटा पदबाट हटाउने प्रचण्ड माधव पक्षको बटमलाइन र दुवै पद नछाड्ने ओलीको अडान कायम रहदासम्म विवाद हल हुने देखिन्न ।

    यसबीचमा प्रधानमन्त्रीले आफूमाथि प्रचण्ड नेतृत्वको समीकरणले घेराबन्दी गरेर अप्ठेरो पारेपछि एउटा न एउटा नयाँ विवाद सिर्जना गरेर केही समयलाई मूल समस्याको विषयान्तर गर्दै आएका छन् । वैशाखको अध्यादेश होस वा समाजवादी पार्टी फुटाउने प्रयास ।

    त्यसयता पनि स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिने भएपछि आफूलाई हटाउने भारतले पार्टीभित्र चलखेल गरेको अभिव्यक्ति दिएपछि लामो समय बैठकनै बस्न सकेन । त्यसपछि अयोध्याकाण्ड थपियो । विषयान्तर गरेर समय लिएकै कारण भदौ २६ मा ओलीको अनुकूल हुने निर्णय स्थायी कमिटीले गरेको थियो ।

    तर त्यसपछि फेरि मन्त्रिपरिषद पुनर्गठन लगायत महत्वपूर्ण नियुक्तिहरुमा प्रचण्डले समीकरण बनाएर बार्गेनिङ गरेको आरोप ओलीले बुधवार चार नेताहरुकै बीचमा लगाएका छन् । मन्त्रिपरिषद पुनर्गठनपछि उत्पन्न विवाद अभियोगपत्र हुँदै वार कि पारको अवस्थामा आएपछि ओलीले पुनः अध्यादेशको अस्त्र प्रहार गरेका हुन् ।

    अब पनि मूल विवाद विषयान्तर हुने अवस्था कति रहन्छ ? संवैधानिक परिषदको बैठक विहीवार बोलाइएको छ । अध्यादेश फिर्ता भयो भने पनि नियुक्तिमा पार्टीभित्र छलफल नभई प्रचण्डले सभामुखलाई बैठकमा जान दिने सम्भावना छैन ।

    दुवै पक्ष अहिले पनि एक अर्काको रणनीतिक चाल बुझिरहेका छन् । अध्यादेश र विशेष अधिवेशनको निवेदन फिर्ता एक प्रकारले अस्थायी युद्धविराम मात्र हो । संसद्को नियमित अधिवेशनमा प्रचण्ड पक्षले आफूविरुद्ध कुनै पनि कदम चाल्न सक्ने भय ओलीमा छ । प्रचण्ड पक्षमा पनि ओलीले त्यो अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सुविधा नपाए पनि संसद विघटन गरिदिने भय यथावत छ ।

    ओली पक्षको बुझाइ के छ भने,प्रचण्ड पक्ष पार्टीभित्रको अहिलेको विवाद संसद् अधिवेशनसम्म लम्ब्याउन चाहन्छ । संसद् अधिवेशन चलिसकेपछि अध्यादेश ल्याउन र संसद् विघटन गर्न पनि ओलीले सक्दैनन् र एक पद छाड्न नमाने प्रधानमन्त्रीबाट हटाउन संसद् प्रयोग गर्ने रणनीति हुनसक्छ ।

    ओली र प्रचण्ड माधव पक्षबीच अहिले पनि कुनै कुरा मिलेको छैन । दुवै पक्षले आफ्नो पायक पर्ने थलोबाट अर्कोलाई कमजोर बनाउने दाउ हेरिरहेका छन् । प्रचण्ड पक्षले ८३ जना सांसदको हस्ताक्षर छ भनेर संसदीय दलमा पनि आफूहरु बहुमतमा रहेको देखाउन खोजेको छ ।

    त्यो बहुमतको हस्ताक्षर दलभित्रै प्रयोग गर्ने कि संसदमा ? अथवा अध्यक्ष पदबाट हटाउने ? जे गरे पनि त्यो पार्टी विभाजनको बीजारोपण हो । पार्टी विभाजनको अवस्थामा ओलीसँग राजनीतिक दल सम्बन्धी अर्को अध्यादेश ल्याएर एमाले ब्युँताउनेदेखि संसद विघटन गरेर नयाँ चुनावको घोषणा गर्नेसम्मका अदालतले निरुपण गर्नुपर्नेसम्मका विकल्प छन् ।

    नेकपाको विवाद संलिएकाे होइन, लम्बिएको मात्र हो । जे पाउन र जे नगुमाउनका लागि विवाद भएको हो त्यो यथावस्थामा छ ।

  • स्थायी कमिटीमा ओलीले भने–अब बामदेवलाई प्रधानमन्त्री बनाउँ

    स्थायी कमिटीमा ओलीले भने–अब बामदेवलाई प्रधानमन्त्री बनाउँ

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् ।

    बुधवारको स्थायी कमिटी बैठकमै ओलीले अबको प्रधानमन्त्री बामदेवलाई बनाउने प्रस्ताव राखेका हुन् ।

    स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको पालो आएको बताए ।

    ओलीको भनाई उधृत गर्दै ती सदस्यले भने–बैठकको यो अघिल्लो लहरमा बसेका हामी पाँचजना छौं । पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं । अब बाँकी बामदेवजी हो,अब उहाँलाई बनाउँ । चुनावबाट ल्याएर गर्ने कि अघिनै अर्कोतिरबाट ल्याउने हो छलफल गरौं ।

    पहिलो लहरमा ओली,प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल र बामदेव बसेका थिए ।

    यसअघि बैशाखमा आफूविरुद्ध प्रचण्ड माधव नेपाल पक्षले समिकरण बनाएपछि पनि ओलीले सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

  • प्रचण्डको सचिवालयले भन्यो–दुई अध्यक्षबीच दुई बुँदे सहमतिमात्र

    प्रचण्डको सचिवालयले भन्यो–दुई अध्यक्षबीच दुई बुँदे सहमतिमात्र

    काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच अध्यादेश र संसद् अधिवेशन माग गर्ने हस्ताक्षर सहितको निवेदन फिर्ता गर्ने सहमतिबाहेक अरु सहमति नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

    कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयबाट स्वकीय सचिव गंगा दाहालले अध्यादेश र संसद अधिवेश बोलाउने पत्र फिर्ता गर्ने बाहेक अरु कुनै सहमति नभएको दावी गरेकी छन् ।

    प्रधानमन्त्री निकट स्रोतले भने दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप पनि फिर्ता गरेर बैठकमा संयुक्त प्रस्ताव लैजाने समझदारी भएको दावी गरेको छ ।

    पार्टीलाई बिभाजनबाट रोक्न भदौ २६ मै फर्किने गरि समझदारी भएर स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको स्रोतको दावी छ ।

  • अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि

    अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अध्यादेश गरिएपनि सरकारको ‘निकम्मानपन’ फिर्ता नहुने टिप्पणी गरेका छन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयबीच अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै उपसभापति निधिले सरकारको असफलता जनतामाझ छताछुल्ल भइसकेको बताए ।

    ‘अध्यादेश ल्याउन सरकारको ठूलो गल्ती थियो । अब फिर्ता गर्छ भनेपनि सरकारकै असफलता हो । यो सरकार निकम्मा रहेछ भनेर जनताले त थाहा पाएनि ।’, निधिले नेपाल प्रेससंग भने ।

    उनले नेकपाको विवादबारे कांग्रेस निरपेक्ष रहने तर संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार कुनै हालतमा नसहने बताए ।

  • संसद बोलाउन कांग्रेसले समावेदन नगर्ने

    संसद बोलाउन कांग्रेसले समावेदन नगर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक बोलाउन समावेदन नगर्ने भएको छ । संसद अधिवेशन अन्त्य भएको ५ महिना पुगिसक्दा सरकारसंग अधिवेशन बोलाउन माग गरेपनि कांग्रेस आफैंले भने समावेदन नगर्ने भएको हो ।

    कांग्रेसको बुधबारको शीर्ष बैठकमा सरकारद्वारा जारी अध्यादेश र संसदको अधिवेशन सुचारु गर्नेबारे छलफल भएको थियो । अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओली सहमत भएका कारण कांग्रेस पदाधिकारीको बैठक संसद बैठकबारे केन्द्रीत भएको थियो । बैठकमा संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष समावेदन गर्नेबारे बैठकमा विषय प्रवेश भएपनि नेताहरु तत्काल समावेदन गर्न नहुने निष्कर्षमा पुगेका हुन् ।

    संविधानको धारा ९३ दफा ३ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन बाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ’ भनी उल्लेख छ ।

    अधिवेशन बोलाउन संविधानको धारा ९३ अनुसार समावेदन गर्दा संसद बैठक बस्न सम्भव हुने भएपनि जुन विषयमा छलफल गर्न माग गरिएको हो सो लगत्तै अधिवेशन अर्को ६ महिनाका लागि अन्त्य गर्ने अवसर सरकारले पाउने भन्दै कांग्रेस समावेदनमा नजाने निष्कर्षमा पुगेको हो ।

    ‘हामीले प्रतिपक्षी दलसंग मिलेर बैठक बोलाउन माग गरेर समावेदन गरेर बैठक आह्वान भएपनि त्यस्तो बैठक जे प्रयोजनका लागि बोलाइएको हो त्यो प्रयोजन सकिएपछि संसदको अधिवेशन स्वतः अन्त्य हुने भएकाले सरकारलाई त्यस्तो सुविधा दिन हामी तयार छैनौं । यसैपनि अबको २ साताभित्र अधिवेशन आह्वान गर्नैपर्ने संवैधानिक व्यवस्था छँदैछ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

    यसैबीच कांग्रेसले अध्यादेशबाट देश चलाउने सरकारको प्रयासलाई अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक कदमको रुपमा व्याख्या गरेको छ । पदाधिकारी बैठकले अध्यादेश र त्यसबाट सिर्जित कुनैपनि निर्णय नमान्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकार र नेकपाको कदमले लोकतन्त्र र संविधानको खिल्ली उडाएको बताए । शीर्ष बैठकमा सहभागि नेता केसीले सरकारको कदमविरुद्ध कांग्रेसले देशव्यापी आन्दोलनको तयारी गरेको जानकारी दिए । ‘सरकारका कदमविरुद्ध दोस्रो चरणको आन्दोलन गर्नेबारे आजको बैठकमा छलफल भएको छ । सरकार सच्चिएन भने आन्दोलन निश्चित छ’, केसीले नेपाल प्रेससंग भने ।

     

     

  • भीम रावलले भनेः पार्टीको निर्णय आयो, अब शीतलनिवास छाड्यौं

    भीम रावलले भनेः पार्टीको निर्णय आयो, अब शीतलनिवास छाड्यौं

    काठमाडौं । संसदको विशेष अधिवेशन माग गर्दै सांसदहरुको हस्ताक्षर बोकेर दिनभर राष्ट्रपति भवन शीतलनिवासमा धर्ना कसेका नेकपा नेता भीम रावल र पम्फा भुसाल साँझ ६ बजेपछि मात्र बाहिरिएका छन् ।

    अपरान्ह १२ बजेर ४८ मिनेटमा विशेष अधिवेशन माग गर्ने निवेदन बोकेर शीतलनिवास पुगेका नेताहरु स्थायी कमिटी बैठकको औपचारिक निर्णय नआएसम्म पर्खेरै बसेका थिए । बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि आफूहरु फर्किन लागेको रावलले नेपाल प्रेसलाई बताए ।

    नेता रावलले भने– प्रधानमन्त्रीज्यूले औपचारिक रुपमा अध्यादेश फिर्ता लिने,संवैधानिक अंगका नियुक्तिहरु पार्टीमा छलफल गरी प्रक्रियाबाट जाने र पार्टीका सबै कमिटीका बैठक र छलफलहरु नियमित रुपमा हुने भनेपछि हामी फर्किएका हौं ।

    आफूहरुसँग ८३ जना सांसदको हस्ताक्षर रहेको रावलले दावी गरे । अध्यक्ष प्रचण्ड,माधव नेपाल सहितको हस्ताक्षरमा केही मन्त्रीको भने समावेश नरहेको उनले बताए ।

    नेता रावलले दुवै अध्यक्षका प्रस्ताव फिर्ता भएर भदौ २६ को अवस्थामा फर्किनेबारे भने पार्टीमा छलफल हुन बाँकी रहेकाले आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

  • नेकपा बैठक सकियो, दुई अध्यक्षको सहमति अनुमोदन

    नेकपा बैठक सकियो, दुई अध्यक्षको सहमति अनुमोदन

    काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिलाई अनुमोदन गरेको छ । बुधवार साँझ सम्पन्न बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र संसदको अधिवेशन माग गरेर पेश गर्न लागिएको आवेदन दुवै फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंगलबारको संवैधानिक परिषद बैठकमा संवैधानिक अंगहरुमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको जानकारी गराएको समेत प्रवक्ता श्रेष्ठले बताए । स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने भएपछि ५ गतेलाई निर्धारित केन्द्रीय कमिटी बैठक पुस १० गतेलाई सारिएको छ ।

     

  • अचानक मिल्नुअघि यस्तो थियो ओली–प्रचण्ड सवाल जवाफ

    अचानक मिल्नुअघि यस्तो थियो ओली–प्रचण्ड सवाल जवाफ

    काठमाडौं । ‘तपाईंले सरकारलाई सहयोग गर्नुभएन मात्रै होइन, आफ्ना मान्छेलाई भनेकै जसरी सेटल गर्न नसकिएपछि माधव नेपालहरुसँग मोर्चाबन्दी गर्नुभएको हैन ? त्यसपछि घेराबन्दी गर्न थाल्नुभएको होइन ? तपाईंकै तिकडमवाजीले आज यो अध्यादेश ल्याउनुपर्नेसम्मको परिस्थिति सिर्जना भयो ।’

    बुधवार बालुवाटारमा भएको कुराकानीको शुरुमै प्रधानमन्त्री यसरी आक्रामक ढंगमा पेश हुँदा प्रचण्ड भने केही नरम देखिन्थे । पार्टी फुट्ने  चरणमा रहेकोले पुस १ गते साँच्चै नेकपाभित्र प्रसवको दिन बन्यो ।

    दुई अध्यक्षको संवाद जस्ताको त्यस्तै सुनाउँदै नेपाल प्रेससँग एक नेताले भने– अब दुई अध्यक्षबीचमै समझदारी गरेर जाने र संयुक्त प्रस्ताव बैठकमा लैजाने कुरा भयो ।

    ओलीले प्रचण्डसँग गुनासो गरेपछि प्रचण्डले पनि कडिकडाउ नै जवाफ दिएको ती नेताले बताए ।

    ओलीसँग प्रचण्डले आफ्ना कुरा राख्दै भने– तपाईंले जति जे भने पनि अध्यादेश गलत मात्रै हैन, प्रतिगमनकारी पनि छ । तपाईं न पार्टीको लगाममा बस्न चाहनुभयो, न संसदकै । तपाईं यो शैलीले आफैं पतनतिर लाग्दै हुनुहुन्छ । देश, पार्टी र जनता त तपाईंका निम्ति केही भएनन्, तर तपाईंकै भलाइका निम्ति पनि अध्यादेश फिर्ता लिनुस् । अध्यादेश फिर्ताबाहेक अर्को कुनै विधि, वचन र बोली तपाईंबाट सुन्न चाहन्नँ ।

    पार्टीभित्रैबाट आफूलाई अप्ठेरोमा पार्न सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोकिएपछि प्रधानमन्त्रीले एक कदम अघि बढेर अध्यादेश ल्याएका थिए । प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन बाध्य पार्न प्रचण्ड माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन माग गर्दै सांसदको हस्ताक्षर बोकेर शीतलनिवासमा निवेदन लगेका थिए ।

    बुधबार दिउँसो बालुवाटार छलफलमा संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुषाल, शंकर पोखरेलसहित दुई अध्यक्षबीच छलफल चलेको थियो । दुवै अध्यक्षलाई आ आफ्ना आरोप–प्रत्यारोप र अध्यादेश तथा संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर फिर्ता लिई बैठकमा बस्नका लागि घनश्याम भुसाल र सुवास नेम्वाङको विशेष भूमिका थियो ।

    संसद अधिवेशन माग गर्ने समावेदन लिएर शीतलनिवास जानेमा पूर्वमाओवादीको प्रतिनिधि चयनमा प्रचण्डको चातुर्यलाई योजनाबद्ध मानिएको छ । उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि आफूसँगै भएको सन्देश दिन त्यही समूहकी पम्फा भुसाललाई चयन गरेको नेकपा स्रोतले जनाएको छ ।

  • दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन

    दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

    पर्यटन मन्त्रालय अन्र्तगत संस्कृत सम्बद्ध निकाय विकास समितिसँग आज भएको अन्तरक्रियामा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिए ।

    उनले गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रहसमेत गरेको छ ।

    मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना रहेको बताउँदै महिना दिनभित्र सुझाव दिन सबै समितिलाई आग्रह गरे । उनले विकास समितिले मितव्ययिता अपनाउन साथै भेटिपाती पारदर्शी तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न र बेरुजु फस्र्यौट गर्नेतर्फ लाग्न पनि निर्देशन दिएको हो ।

    धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहको समन्वय गरेर बढीभन्दा बढी फाइदा लिन आग्रह गर्दै मन्त्री भट्टराईले धार्मिकस्थललाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नसमेत आग्रह गरे ।

    अन्तक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौं बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति ललितपुर, बृहत्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

  • दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

    दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

    काठमाडौं । दुई अध्यक्षबीच अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन सहितको हस्ताक्षर फिर्ता लिने सहमति भए पनि नेकपाका केही नेता भने राष्ट्रपति भवन शीतल निवासमै छन् ।

    संसदको विशेष अधिवेशन माग गर्दै ८३ जना सांसदको हस्ताक्षर लिएर भीम रावल र पम्फा भुसाल लगायतका नेता अपराह्न शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति कार्यालयका सचिव विदामा रहेकाले निवेदन दर्ता भएको थिएन ।

    दुई अध्यक्ष सहमत भएर स्थायी कमिटी बैठक अघि बढेपनि रावल र भुसाल भने निवेदन लिएर शीतल निवासमै बसेका छन् ।

  • कांग्रेस पदाधिकारी बैठक सकियो, तत्काल संसद अधिवेशन बोलाउन माग

    कांग्रेस पदाधिकारी बैठक सकियो, तत्काल संसद अधिवेशन बोलाउन माग

    काठमाडौं । तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय गर्दै कांग्रेस पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवानिवास बूढालीलकण्ठमा बसेको बैठकले सरकारलाई कुनै पनि अध्यादेश वा त्यसको जगमा कुनै पनि निर्णय गरे अमान्य हुने निर्णय गरेको छ ।

    कांग्रेसले मंसिर २९ गतेको सरकारविरोधी प्रदर्शनमा सहयोग गर्नेप्रति आभार व्यक्त पनि गरेको छ ।

  • आरोप–प्रत्यारोप फिर्ता लिएर भदौ २६ मा फर्कन ओली र प्रचण्ड सहमत

    आरोप–प्रत्यारोप फिर्ता लिएर भदौ २६ मा फर्कन ओली र प्रचण्ड सहमत

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अब भदौ २६ को अवस्थामा फर्किने भएको छ ।

    दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा केही नेताहरु सहितको छलफलपछि अचानक एकले अर्कालाई लगाएका लिखित आरोप–प्रत्यारोप फिर्ता गर्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ ।

    प्रचण्डले ओलीविरुद्ध लिखित प्रस्ताव राखेपछि ओलीले पनि लिखित जवाफ पेश गरेका थिए । दुवै आरोप–प्रत्यारोपमाथि स्थायी कमिटीमा छलफल हुनुपर्ने प्रचण्डको प्रस्तावमा ओली असहमत हुँदै आएका थिए । उनले प्रचण्डको आरोपपत्र फिर्ता नभएसम्म त्यसमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने अडान लिएका थिए ।

    आजै पहिलो चरणको छलफलमा पनि ओलीले प्रचण्डलाई ‘तपाईं लान्छानापत्रमाथि हुने कुनै पनि छलफलमा म सहभागी हुन सक्दिन’ भनेका थिए । त्यसपछि पुनः महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र शंकर पोखरेल तथा घनश्याम भुसाल लगायतका नेताहरुले दुई अध्यक्षबीच वार्ता गराएका थिए ।

    सो वार्तापछि अचानक दुवै अध्यक्ष अध्यादेश र विशेष अधिवेशनका लागि हस्ताक्षर फिर्ता लिन तयार भएका थिए । सोही छलफलपछि दुवै अध्यक्ष एक अर्कामाथिका आरोप फिर्ता लिएर भदौ २६ लाई‘ कट अफ लाइन’ बनाई पार्टीमा नयाँ ढंगले सहमति गर्न अघि बढेको एक नेताले बताए ।

    स्थायी कमिटी बैठकले दुई अध्यक्षबीचको सहमतिलाई अनुमोदन गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसमा माधव नेपाल पक्षको धारणा भने आएको छैन ।

  • अध्यादेश र हस्ताक्षर फिर्ता लिन ओली र प्रचण्ड सहमत

    अध्यादेश र हस्ताक्षर फिर्ता लिन ओली र प्रचण्ड सहमत

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ओलीविरुद्धको हस्ताक्षर फिर्ता लिन दुबै अध्यक्ष सहमत भएका छन् ।

    सो सहमतिपछि स्थायी कमिटी बैठक सुचारु भएको हो ।

    अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको पहिलो चरणको छलफल सहमतिमा नपुगेपछि बैठकस्थलतर्फ गएका थिए । त्यहाँ उनले माधव नेपालसहित आफू पक्षधर सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए ।

    छलफल चलिरहेका बेला प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर संसदको विशेष अधिवेशन बोलाउन शीतल निवास पु¥याइएको हस्ताक्षर फिर्ता लिन चेतावनी दिए भने प्रचण्डले अध्यादेश फिर्ता लिनुपर्ने बताए ।

    त्यसपछि महासचिव बिष्णु पौडेलसहित दुई अध्यक्षबीच कुराकानी भयो । सुवास नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसालसहितका नेताहरुको समेत दुई अध्यक्षबीच समझदारी गराउन दौडधूप चल्यो ।

    अन्ततःप्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भए र प्रचण्डले पनि हस्ताक्षर फिर्ता लिने सहमति जनाए । प्रधानमन्त्री निकट स्रोतले भने–परिस्थिति हिजो बिहानको अवस्थामा फर्किएको छ । दुई अध्यक्षबीच नयाँ शीराबाट सहमति हुने सम्भावना पनि छ ।

  • ओली सहभागी भएपछि नेकपा स्थायी कमिटी बैठक सुरु

    ओली सहभागी भएपछि नेकपा स्थायी कमिटी बैठक सुरु

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएपछि नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजे सुरु भएको हो ।

    बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।

    बैठकअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

    लामो समयदेखिको नेकपा विवाद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै बढेको थियो ।

    यसअघि पार्टी कार्यालयमा बसेको बैठकमा ओली सहभागी थिएनन् तर अध्यक्षको हैसियतमा ओलीले बैठकलाई पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

    मंसिर २८ को बैठकमा भने कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्नेमात्र एजेण्डा भएकाले अध्यक्ष ओली सहभागी थिए ।

  • अध्यादेशविरुद्ध सर्वोच्चमा तीनवटा रिट, शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ

    अध्यादेशविरुद्ध सर्वोच्चमा तीनवटा रिट, शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा फरक–फरक तीनवटा रिट दर्ता भएका छन् । तीनवटै रिट सुनुवाइका लागि शुक्रबार संवैधानिक इजलासमा पेश हुने सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

    अध्यादेश खारेजी माग गर्दै अधिवक्ता ओम प्रकाश अर्याल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कन्चनकृष्ण न्यौपानेले अलग अलग रिट दायर गरेका छन् ।

    रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने बताइएको छ ।

  • संसदको विशेष अधिवेशन माग्दै प्रचण्ड–माधव नेपाल पक्ष शीतल निवासमा

    संसदको विशेष अधिवेशन माग्दै प्रचण्ड–माधव नेपाल पक्ष शीतल निवासमा

    काठमाडौं । प्रधानमन्त्रीविरुद्ध संकलित हस्ताक्षरलाई नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रयोग गरेको छ । केही महिनाअघिनै नेकपाका दुवै पक्षले आफ्नो पक्षमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षर गराएका थिए ।

    प्रमुख विपक्षी दलभन्दा एक कदम अघि बढेर नेकपाकै अर्को पक्षले विशेष अधिवेशन बोलाउन माग गरेपछि पार्टी बिभाजनको नजिक पुगेको प्रष्ट भएको छ । विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सूचना बालुवाटारले यसअघिनै पाइसकेको थियो ।

    प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर ‘वार कि पार’को लडाइँ लड्न खोजेको बुझेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने देखेर प्रचण्ड पक्षले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष निवेदन दिन खोजेको हो ।

    राष्ट्रपति कार्यालयका सचिव बिदामा रहेकाले हस्ताक्षर बुझाउन नपाइएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य भिम रावल लगायतका नेता हस्ताक्षर र निवेदन लिएर शीतल निवास पुगे पनि निवेदन दर्ता भएको छैन ।

    संविधानअनुसार प्रतिनिधिसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेर हस्ताक्षर सहितको निवेदन दिएपछि राष्ट्रपतिले संसद अधिवेशन बोलाउनुपर्छ । तर कति दिनभित्र बोलाउने भन्ने छैन ।

    यसैबीच आफू पक्षधर सचिवालय सदस्यहरुसँग अलग्गै छलफल गरेपछि कार्यकारी अध्यक्ष प्रचण्ड पुनः पहिलो अध्यक्ष अ‍ोलीलाई भेट्न गएका छन् । दुई अध्यक्षबीचको भेटमा महासचिव बिष्णु पौडेल पनि सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    ओली फेरि पनि बैठकमा सहभागी नभए आफ्नो अध्यक्षतामा बैठक सन्चालन गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने प्रस्ताव पारित गराउने प्रचण्ड पक्षको तयारी छ ।

  • प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने

    प्रचण्डको ‘लान्छानापत्र’माथिका छलफलमा ओली सहभागी नहुने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको ‘लान्छानापत्र’माथि छलफल गरिने कुनै पनि बैठकमा आफू सहभागी नहुने प्रष्ट पारेका छन् ।

    स्थायी कमिटी बैठकअघि एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री निवास पुगेका प्रचण्डलाई ओलीले यस्तो जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।

    यसअघि पार्टी कार्यालयमा बसेको बैठकमा ओली सहभागी थिएनन् तर अध्यक्षको हैसियतमा ओलीले बैठकलाई पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

    मंसिर २८ को बैठकमा भने कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्नेमात्र एजेण्डा भएकाले अध्यक्ष ओली सहभागी थिए ।

    अध्यादेश प्रकरणपछि थप विवाद चर्किएका बेला प्रचण्ड पक्षले स्थायी कमिटी बैठकबाटै अध्यादेश खारेज गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

    प्रचण्डसँगको करीव एक घण्टाको छलफलमा ओलीले आफूमाथि निकृष्ट ढंगले लगाइएको आरोपपत्र फिर्ता नलिएसम्म छलफल नहुने बताएका थिए ।

    पहिलो अध्यक्ष ओली बैठकमा आउन नमानेपछि बैठकका लागि बालुवाटार पुगेका नेताहरु घाम तापेर बसेका छन् । अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच अलग्गै कोठामा छलफल भएको छ ।

  • कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

    कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

    काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ ।

    सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सभापति देउवाले पूर्व पदाधिकारीहरुसहित शीर्ष नेताको बैठक बोलाएका हुन् ।

    बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सह महामन्त्री डा.प्रकाशशरण महत, पूर्व महामन्त्री प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको उपस्थिति छ ।

    कांग्रेसले यसअघि नै अध्यादेश ल्याइनु अलोकतान्त्रिक कदम रहेको टिप्पणी गरिसकेको छ ।

  • नेकपा स्थायी कमिटीमा अध्यक्ष ओलीको प्रतीक्षा

    नेकपा स्थायी कमिटीमा अध्यक्ष ओलीको प्रतीक्षा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । अध्यक्ष ओली नआएका कारण बैठक सुरु नभएको हो । बैठकमा सहभागी हुन पुगेका स्थायी कमिटी सदस्यहरु अध्यक्ष ओलीको प्रतीक्षामा छन् ।

    स्थायी कमिटी बैठक यसअघि बुधबार दिउँसो एक बजेका लागि तोकिएको थियो ।

    बैठकमा धेरै नेताहरु आइसकेको र प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षा भइरहेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए।

    ‘बैठकमा धेरै साथीहरु आइसक्नु भएको छ,’ उनले नेपाल प्रेससँग भने, ‘अध्यक्ष कमरेड ओली आउनु भएको छैन । उहाँको प्रतीक्षा भइरहेको छ,’ उनले भने ।

    बैठकअघि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

    दुई अध्यक्षबीचको छलफल केही समयअघि सकिएको छ।