Category: नागरिक उन्मुक्ति पार्टी

  • सर्वोच्चको पूर्णपाठले उब्जाएको प्रश्न- बदर होला त रेशमको माफी मिनाहा ?

    सर्वोच्चको पूर्णपाठले उब्जाएको प्रश्न- बदर होला त रेशमको माफी मिनाहा ?

    कैलाली । सर्वोच्च अदालतले टिकापुर घटनाबारे गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएसँगै तिनै तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई गरिएको माफी मिनाहाका विषयमा थप टिप्पणी सुरु भएको छ ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद चौधरीलाई सर्वोच्च अदालतले जेठ २ गते कैलाली जिल्ला अदालतले २०७५ फागुन ११ गते र उच्च अदालतले २०७७ पुस २ गरेको फैसलालाई सदर गरेको थियो ।

    सर्वोच्च अदालतले दोषी ठहर गर्दे जन्म कैदको सजाय पाएका चौधरी फैसला भएको १३ दिन पछि अर्थात् १५ फागुनमा राष्ट्रपतिबाट सजाय मिनाह पाउँदै रिहा भए । उनी रिहा भएको करिब डेढ महिनापछि आएको सर्वोच्चको फैसलाले राष्ट्रपतिको निर्णय माथि नै प्रश्न उठाएको छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १५९ को उपदफा ४ को खण्ड (घ) मा क्रूर तथा अमानवीय तरिकाले नियन्त्रणमा लिई ज्यान मारेको कसूरमा भएको सजायलाई आम माफी दिन नमिल्ने उल्लेख गरिएको छ । सर्वोच्च अदालतको पूर्णपाठले पनि उक्त घटनालाई चीरकालसम्म चहराइरहने जघन्य फौजदारी कसूरका रूपमा व्याख्या गरेको छ ।

    पूर्णपाठमा भनिएको छ, ‘मिसिलबाट प्रस्तुत वारदात पीडित र प्रभावित पक्षका लागि मात्र नभई समग्र नेपाली समाजलाई चीरकालसम्म चहराइरहने एउटा बिर्सनलायक, तर कहिल्यै बिर्सन नसकिने जघन्य फौजदारी कसूरका रूपमा घटित भएको देखिएको छ ।’

    भिडमा सी आकारको उपस्थितिबाट आक्रमण गर्दा सुरक्षाकर्मी भाग्न उम्कन सक्ने अवस्था नरहने एवम् अघिल्लो पङ्क्तिमा महिला बालबालिका राख्दा सुरक्षाकर्मीले बल प्रयोग गर्न असुविधा हुने रणनीति र युद्ध कौशलको प्रयोग गरी आक्रमण गरेको भन्दै सर्वोच्चले उक्त घटनालाई योजनाबद्ध आक्रमण बताएको छ । त्यसमा रेशम चौधरी मुख्य योजनाकार रहेको सर्वोच्चको ठहर छ ।

    सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भीख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत-विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अत्यन्त अमानवीय, क्रूर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसूर शंकारहित तवरले पुष्टि हुन आयो ।’

    उच्च अदालतले टीकापुर घटनलाई क्रूर तथा अमानवीयरूपले हत्या गरिएको ठहर गरिसकेको थियो । ऐनमा ‘क्रूर र अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको व्यक्तिले माफी मिनाहा पाउने छैन’ भन्ने व्यवस्था छ । तर, सत्ता र शक्तिको आडमा सर्वोच्च अदालतको पूर्ण पाठ आउनु भन्दा अघि नै रेसमलाई रिहा गरियो । सर्वोच्चको पूर्णपाठमा पनि त्यो प्रक्रियामाथि गम्भीर प्रश्न उठाइएको छ।

    त्यसमा भनिएको छ, ‘यस प्रकार फौजदारी कानून उल्लंघनको विषयलाई राजनैतिक सहमति, वा राजनैतिक स्वार्थ वा राजनैतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानूनबमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनैतिक सौदाबाजीको रणनीतिअन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्य मान्यता र कानूनी व्यवस्था समेतको उल्लंघन र उपहास हुने गरि माफी मिनाह दिने समेतका कार्य गर्नु मुलुकको संविधान,कानुन र न्यायका मान्य सिद्धान्त समेतको हाकाहाकी विपरीत हुने देखिन्छ ।’

    फौजदारी कसूरलाई राजनैतिक आवरणमा उन्मुक्ति दिन नसकिने सर्वोच्चले व्याख्या गरेको छ ।

    ‘फौजदारी कसुरलाई राजनैतिक आवरणमा उन्मुक्ति दिनु फौजदारी कानुनको पालनामा हुनुपर्ने समानता र तटस्थताको सिद्धान्त समेतको विपरीत हुन्छ । एउटै कसूरमा कसैलाई कारबाही र सजाय गर्ने कसैलाई उन्मुक्ति दिँदा समाजमा व्याप्त ठुलालाई चैन सामालाई ऐन भन्ने भनाई चरितार्थ हुन्छ’, पूर्णपाठमा उल्लेख छ ।

    सर्वोच्चले जारी गरेको पूर्णपाठपछि उनलाई गरिएको माफी मिनाहा बदर हुन सक्ने संविधानविद्हरूको तर्क छ ।

    राष्ट्रपतिबाट कैद माफीसँगै चौधरी रिहा भएपछि मृतक केशव बोहराकी श्रीमती शारदा कडायतले त्यसविरुद्ध १६ जेठमा रिट निवेदन दायर गरेकी थिइन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलाको पूर्ण पाठ नआउँदै रेशम चौधरीको कैद मिनाहा गरिएको भन्दै रिटमा उल्लेख गरिएको छ, ‘कैदमुक्त गर्ने कार्य उत्प्रेषणको आदेशबाट बदर गरी विपक्षी रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालत समेतका फैसलाहरूबमोजिम कैदमै राखी संविधानवाद्, कानूनी शासन, मानव अधिकारको संरक्षण, दण्डहीनताको अन्त्य गर्नू भनी विपक्षीहरूका नाममा परमादेश, प्रतिषेधलगायत जो चाहिने आज्ञा/आदेश वा पुर्जी जारी गरी हक प्रचलन गरिपाऊँ।’

    रिट निवेदनमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कारागार व्यवस्था विभाग र रेशम चौधरीलाई विपक्षी बनाइएको छ ।

    टीकापुर घटनाबारे सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठ आइसकेपछि रेशम चौधरीको कैद मिनाहालाई अदालतले उल्टाउन सक्ने आधार रहेको संविधानविद् विपिन अधिकारी बताउँछन् ।

    ‘आम माफीविरुद्धको मु्द्दा पनि सर्वोच्चमा छ । त्यसको फैसलामा अहिलेको फैसलाले सैद्धान्तिक धरातल दिन्छ’ उनले भने ‘मैले त प्रस्ट देखेको छु रेशम चौधरीको माफी मिनाह बदर हुन्छ ।’

    शारदा कडायतले १६ गते दिएको रिटमा सुनुवाइ हुँदा बुधबार जारी भएको पूर्णपाठको सिद्धान्तले पूर्वाधारको काम गर्ने र रेशम चौधरीको माफी मिनाह बदर हुन सक्ने अधिकारीको बुझाइ छ ।

    अहिले रेशम चौधरी वैदेशिक भ्रमणमा छन् । सर्वोच्चको पूर्णपाठ आएलगत्तै चौधरीले पुन: लाल आयोग सार्वजनिक गर्न माग गरेका छन् ।

    ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिवेदन सार्वजनिक नगरे हामी सडक, सदन, सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सबै कुरा मैले बोल्नै पर्छ भन्ने छैन, अन्तरङ्ग सबै कुराले हामीमाथिको व्यवहार पुष्टि गर्छ । हामीले सबै कुरा सह्यौँ, सहिराखेका छौँ तर कहिलेसम्म सहने ?’

    सबै प्रकारको सामना गर्ने भन्दै चौधरीले लेखेका छन्, ‘हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन । हामीले हामीभित्रका गद्दार चिनेका छौं तर मुख खोलेका छैनौँ, यसको मतलब यो होइन कि हामी अन्जान छौँ । समय आए सबै प्रकारको सामना गरिन्छ ।’

  • प्रधानमन्त्रीले मलाई ६ महिने मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो तर, मैले अस्वीकार गरें: रेशम चौधरी

    प्रधानमन्त्रीले मलाई ६ महिने मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो तर, मैले अस्वीकार गरें: रेशम चौधरी

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई ६ महिना भए पनि मन्त्री बन्न प्रस्ताव गरेको तथ्य बाहिर आएको छ ।

    चौधरीले आज आफू रिहा हुँदा प्रधानमन्त्री प्रचण्डले ६ महिनाको लागि मन्त्री बन्न प्रस्ताव गरेको बताएका हुन् । नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला अधिवेशनमा प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी आफ्नी पत्नीलाई हटाएर आफूलाई मन्त्री बन्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको तरआफूले अस्वीकार गरेको चौधरी बताए ।

    ‘म रिहा भएको बखत प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको थियो- रेशमजी एउटा अध्याय समाप्त भयो, रञ्जिताजीलाई विश्राम दिएर ६ महिने मन्त्री बन्दिनुहोस्’, चौधरीले भने, ‘मैले रञ्जिताको दुःख देखें, यसको अधिकार रञ्जिताजी हुनुपर्छ भने उहाँलाई नै मन्त्री बनाउनुपर्छ ।’

  • रेशम चौधरीले भने- टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन्

    रेशम चौधरीले भने- टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन्

    कैलाली । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका छन् ।

    सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि जेलमा रहेका अरू बन्दी नछुटुन् र आफू पनि समाप्त होस भन्ने चाहना राखेको बताएका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरा धेरै थारु अगुवाहरू जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिले पनि जेलमा रहेका अरू बन्दी कुनै पनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो ।’

    टिकापुरमा द्वन्द्व गराउने पनि उनीहरुनै रहेको चौधरीको आरोप छ । उनले राजबन्दीको नाममा फाइदा लिने र अहिले भाग नपाएर विरोध गर्ने गरेको टिप्पणी गरे ।

    ‘हिजो टिकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजबन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभाबी भुक्ने पनि यिनै हुन्’ उनले लेखेका छन् ।

    चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको उल्लेख गरेका छन् ।

  • सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, को-को बन्दै छन् मन्त्री ?

    सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, को-को बन्दै छन् मन्त्री ?

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।

    भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामीले पुरानै नाम सदर गरेका छौँ आज सात बजे शपथ छ’ उनले नेपाल प्रेसलाई प्रतिक्रिया दिए ।

    यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।

    कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ ।

    कांग्रेसले पनि आजै नाम टुंगो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । ‘आजै सरकार विस्तार हुन सक्छ । अहिले म छलफलमा छु’, मुख्यमन्त्री शाहले बताए ।

  • सुदूरपश्चिम : फुक्यो सरकार विस्तारको गाँठो, बालुवाटारमा यस्तो भयो सहमति

    सुदूरपश्चिम : फुक्यो सरकार विस्तारको गाँठो, बालुवाटारमा यस्तो भयो सहमति

    कैलाली । सुदूरपश्चिम सरकार विस्तार बिहीबार हुने भएको छ । आज बालुवाटारमा शीर्ष नेताहरूबीच सहमति जुटेसँगै प्रदेश सरकारको गाँठो फुकेको हो ।

    नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको नागरिक उन्मुक्ति अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् ।

    खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ ।

    बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

    यसअघि नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गर्दै आएको थियो । आजको सहमतिअनुसार प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउने भएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्रालय कांग्रेसले पाउने छ । कृषिमन्त्रालयमा ७ महिनादेखि मन्त्री छैनन् भने कानून मन्त्रालयमा मन्त्री पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

    नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो । उन्मुक्तिले २ मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो । अब भने सहमति भएको छ यो सहमतिसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाउने भएको छ ।

  • नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

    नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिना बढि समयदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । पुस २७ देखि माघ २६ सम्म मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले २ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसपछि माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दा पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भने नियुक्त हुन सकेका छैनन्

    यहाँ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एसको गठबन्धन सरकार छ । अहिले नागरिक उन्मुक्तिबाहेक अन्य तीन दल सरकारमा छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नाउपाका लागि मुख्यमन्त्री कमलबहादुर शाहले छुट्याएर राखेका छन् । तर, पार्टीभित्रैको किचलोका कारण नागरिक उन्मुक्ति संसदीय दलका नेताले दिएका नामहरूलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गरेनन् ।

    सोमबार अपराह्न २ बजेपछि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त गर्न मुख्यमन्त्री शाहलाई दबाब दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो लेटर प्याडमा रामेश्वर चौधरीलाई कृषि मन्त्रालयमा र कैलाश चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीलाई पत्र दिएका थिए । सोमबार मुख्यमन्त्री कार्यालयमै शपथ ग्रहणको तयारी सहित पुगेका दुबै जनालाई मुख्यमन्त्री शाहले मंगलबार ४ बजे आउनु भन्दै फिर्ता पठाएका थिए ।

    ‘हामीलाई भोलि साँझ ४ बजे आउनुहोस् भनेर मुख्यमन्त्रीले बोलाउनुभएको छ । भोलि ४ बजे शपथ ग्रहण हुन्छ’ मुख्यमन्त्री कार्यालयबाट निस्किँदै गर्दा संसदीय दलका नेता घनश्याम चौधरीले पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए ।

    मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिको आन्तरिक विवाद सुल्झिसकेपछि मात्रै शपथ ग्रहण गराउने पक्षमा थिए । भोलिपल्ट ४ बजे पनि मुख्यमन्त्रीले शपथ ग्रहण गर्न बोलाएनन् । त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भागबन्डामा कुरा नमिलेको हुँदा तत्काल सरकारमा सहभागी नहुने भन्दै मुख्यमन्त्रीलाई पत्र पठाइन् । आफ्नै अध्यक्षको पत्रपछि शपथ ग्रहणका लागि मुख्यमन्त्रीले बोलाउने भन्दै कुरिरहेका नागरिक उन्मुक्तिका नेताहरू अन्तिम समयमा घर फर्किए ।

    के हो नागरिक उन्मुक्तिको विवाद ?

    नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद छन् । गठबन्धनमा अहिले दुई मन्त्रालय, एक राज्य मन्त्री , एक विषयगत समितिको सभापति र उपसभामुखसम्म पाउनुपर्ने उनीहरूको माग छ । यहाँ उपसभामुख एमालेको छ ।

    असार २१ गते नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई भेट्न र सरकारमा सहभागी हुने वातावरण सृजना गर्न भन्दै मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बर्दिया पुगेका थिए । त्यहाँ भएको छलफलमा मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन तयार भएको प्रवक्ता दामोदर पण्डितले बताए ।

    अहिले सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्रालय खाली छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँगै मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि खाली छ । नाउपा ती दुई मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने अडानमा छ । यता मुख्यमन्त्री शाह भने आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसलाई नै राखेर नागरिक उन्मुक्तिलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमात्रै दिन तयार छन् ।

    सोमबार त्यही एक मन्त्रालयमा पनि शपथ ग्रहणका लागि तयार भएका रामेश्वर चौधरीलाई मुख्यमन्त्रीले शपथ नगराएपछि पार्टीभित्रको किचलो बाहिर आएको हो । संसदीय दलले मन्त्रीमा सिफारिस गरेका रामेश्वर चौधरी पार्टीका केन्द्रीय सहसचिव हुन् । नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी पनि प्रदेश सभा सदस्य छन् ।

    वैशाख २८ भन्दा पहिले रामेश्वर चौधरी संसदीय दलका नेता थिए भने लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमति पछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरी नियुक्त भए ।

    मन्त्री बनाउने भन्दै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरेको तीन महिनासम्म पनि मन्त्री नियुक्त नगरेको भन्दै केन्द्रीय नेतृत्व प्रति पनि यहाँका सांसदहरू असन्तुष्ट थिए । यस क्रममा सोमबार एक मन्त्री र एक राज्य मन्त्रीका लागि समेत मुख्यमन्त्रीलाई नाम पठाउँदा पनि केन्द्रले रोकेको उनीहरुको भनाइ छ ।

    यसअघि नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा लक्ष्मण किशोर चौधरीलाई मन्त्री नियुक्त गर्नु पर्ने भन्दै लिखित निर्णय नै गरेको थियो । सोमबार रामेश्वरलाई मात्रै मन्त्री नियुक्त गर्ने तयारीले पार्टी भित्र विवाद बढेको हो । कैलाश चौधरीलाई राज्य मन्त्रीको तयारी छ । त्यसमा भने त्यति विवाद देखिएको छैन ।

    ‘सुदूरपश्चिम प्रदेशसभामा सबै भन्दा सिनियर पदाधिकारी लक्ष्मण किशोर हुनुहुन्छ उहाँलाई बाहिर राख्ने कुराले पार्टीमा विवाद हो’ एक पदाधिकारीले भने । प्रदेशमा २ मन्त्रालय दिने सहमति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भइसकेको उनले दाबी गरे । तर, प्रदेशमा एक मन्त्रालयमा मात्रै मनाउन खोजेपछि केन्द्रीय अध्यक्षले पत्र लेख्नुपरेको उनले बताए । अहिले केन्द्रमा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ सरकामा छिन् । तर, प्रदेशमा भने सरकारमा सहभागी नहुने भन्दै उनैले मुख्यमन्त्रीलाई जानकारी पत्र पठाएपछि नागरिक उन्मुक्तिमा थप विवाद बढेको छ । अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी काठमाडौं छन् । उनले शीर्ष नेताहरूसँग निर्णायक संवाद गरेर सरकारमा सहभागिता हुने वा नहुने भन्ने बिषय टुंग्याउने पार्टीका सांसदहरूको बुझाइ छ ।

    शक्तिशालीबाट ‘शक्तिहीन’

    पुस २७ देखि सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा सबैभन्दा धेरै नागरिक उन्मुक्ति पार्टीको चर्चा र खोजी थियो । कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँगको गठबन्धनअनुसार केन्द्रदेखँ प्रदेशसम्मका सरकार बनिरहेका थिए । सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी दुई पार्टीमात्रै मिलेर सरकार बन्ने अवस्था थिएन । केन्द्रमा भएको सहमतिअनुसार प्रदेशमा पनि नागरिक उन्मुक्तिले उक्त सरकारलाई समर्थन गर्नु पर्ने अवस्था आयो । नागरिक उन्मुक्तिले समर्थन नगर्दासम्म एमालेको सरकार गठन नै हुने थिएन । नागरिक उन्मुक्तिका ७ मध्ये ३ जनालाई रोजेको मन्त्रालय २ जनालाई विषयगत समितिको सभापति र थप १ जनालाई व्यवस्थापन गर्ने भद्र सहमति थियो ।

    उता कांग्रेस एक्लैले पनि नागरिक उन्मुक्तिको साथ पाउँदा सरकार बनाउन सक्ने अङ्कगणित पुग्ने हुँदा नाउपाका ७ सांसद तानातानको अवस्थामा थिए । कांग्रेसले नागरिक उन्मुक्तिका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने तीन मन्त्रालय दिने र २ सभापति दिनेसम्मका प्रस्ताव गरेका थिए । यता नागरिक उन्मुक्ति रेशम चौधरीको रिहाइ नहुँदासम्म सरकारमा सहभागी नहुने एकसूत्रीय माग लिएर बस्यो । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनेको एक महिनासम्म रेशम चौधरीको रिहाइको पहल नभएको भन्दै विश्वासको मत दिने दिन नाउपाका सातैजना सांसद काठमाडौंमै बसे । एमाले सरकार ढल्यो ।

    सोही दिन संविधानको धारा १६८ को ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बने । केन्द्रमा माओवादी एमालेसँगै रहँदा पनि सुदूरपश्चिम प्रदेशमा भने नागरिक उन्मुक्ति पार्टीकै कारण शाह मुख्यमन्त्री भएका थिए । उनी मुख्यमन्त्री भएकै भोलिपल्ट रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे अर्को दिन रेशमको घरमा । नागरिक उन्मुक्तिको त्यो शक्ति ६ महिना पछि कम भएको नागरिक उन्मुक्तिकै सांसदहरूलाई आभास भएको छ । हिजो रोजेको मन्त्रालय दिन तयार रहेका मुख्यमन्त्री शाह अहिले रहेको मन्त्रालयमा पनि शपथ गराउन तयार देखिएनन् ।

    केन्द्रमा माओवादी पनि कांग्रेस नेतृत्वको गठबन्धनमा फेरि सामेल भएपछि प्रदेशमा नागरिक उन्मुक्तिको शक्ति क्षयीकरण भएको छ । ४ सांसद रहेको नेकपा एसले आर्थिक मामिलाजस्तो बलियो मन्त्रालय पाएको छ । तर, ७ सांसद रहेको र हिजो सरकार बनाउन निर्णायक भूमिका खेलेको भन्दै नागरिक उन्मुक्तिका सांसद र नेता अहिले एक मन्त्रालय र एक राज्यमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दा पनि मुख्यमन्त्री शाहले त्यसलाई कार्यान्वयन नगरेको भनेर चिढिएका छन् । मुख्यमन्त्रीले बुधबार सञ्चारकर्मीहरूलाई नागरिक उन्मुक्तिभित्रैका कारणले आफूले शपथ गराउन नसकेको प्रतिक्रिया दिएका थिए ।

    ‘केन्द्रमा अझै सहमति र छलफल चलिरहेको छ फेरि उहाँहरूको पार्टी भित्र पनि केही कुराहरू आएको छ त्यसैले अझै केही दिन सरकार विस्तार नहोला’ मुख्यमन्त्री शाहले बुधबार भनेका थिए ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई रञ्जिताको पत्र- अन्तिममा रोकियो नाउपाका मन्त्रीको शपथ

    सुदूरपश्चिमका मुख्यमन्त्रीलाई रञ्जिताको पत्र- अन्तिममा रोकियो नाउपाका मन्त्रीको शपथ

    कैलाली । नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने जानकारी गराएकी छिन् ।

    शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरू दिउँसो नै धनगढी पुगेका थिए । तर, केन्द्रीय अध्यक्षको निर्देशनपछि आज शपथ ग्रहण रोकिएको छ ।

    हिजै नागरिक उन्मुक्ति बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी सिफारिस गरेको थियो । तत्काल उनीहरूको सपथ रोकिएको हो ।

  • सुदूरपश्चिम : नाउपाका दुई मन्त्रीको शपथ भोलि

    सुदूरपश्चिम : नाउपाका दुई मन्त्रीको शपथ भोलि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री कमलबहादुर शाहबीच वार्ता भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्य मन्त्री र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीलगायतका नेताबीच वार्ता भएको हो । छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी थिए ।

    आजको छलफलमा भोलि ४ बजे नयाँ मन्त्रीको शपथ गराउने सहमति भएको नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    उनले भने, `आजको छलफल सकारात्मक भयो मुख्यमन्त्रीज्यूले भोलि ४ बजे सम्म शपथ गराउने भन्नुभएको छ ।´

    नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंग्याएको छ ।

  • सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

    सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री र नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरीलगायतबीच छलफल भएको हो । छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी छन् ।

    नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएकाे छ । उनीहरुलाई कतिबेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।

  • दुई मन्त्री, दुई सभापति र उपसभामुख दिएर नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारमा ल्याउने तयारी

    दुई मन्त्री, दुई सभापति र उपसभामुख दिएर नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम सरकारमा ल्याउने तयारी

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकारका आउने करिब टुङ्गो लागेको छ । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पाटीका संरक्षक रेशम चौधरीबीच भएको छलफलबाट करिब नागरिक उन्मुक्ति पार्टी सरकारमा आउने टुङ्गो लागेको हो ।

    मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा नागरिक उन्मुक्तिका संरक्षक चौधरीसँग वार्ता गर्न कैलालीबाट बर्दिया पुगेका थिए । उनीहरुबीच ठाकुरद्वारामा संवाद भएको हो ।

    उक्त वार्तामा नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद गङ्गा चौधरी पनि थिए । मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन तयार भएको प्रवक्ता पण्डितले जानकारी दिए ।

    अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिन मुख्यमन्त्री तयार रहेपनि मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।

    यस अघि नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो । सुदूर पश्चिममा अहिले चार वटा विषयगत समिति छन् । कुनै पनि समितिमा सभापति चयन भएको छैन ।

    तीमध्ये २ नागरिक उन्मुक्तिलाई दिने र उपसभामुख पनि दिने विषयमा करिब सहमति भएको प्रवक्ता पण्डितले जानकारी दिए । अहिले सुदूरपश्चिम प्रदेशमा उपसभामुख एमालेकी कोइली देवी चौधरी छन् ।

    यता मुख्यमन्त्री शाहले पहिलो चरणमा छलफल टुङ्गिएको र यस बिषयमा शीर्ष नेताहरूबाटै टुङ्गो लगाउने बताए । ‘हामीबीचको छलफल सहमतिमा छ अब केन्द्रीय नेताहरूले यसको टुङ्गो लागाउनु हुन्छ’ उनले नेपाल प्रेसलाई भने ।

    कांग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस सहित माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए पनि मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि नागरिक उन्मुक्ति पार्टी अहिले सम्म सरकारमा सहभागी भएको थिएन । केही दिन भित्रै पार्टी सरकारमा सहभागी हुने प्रवक्ता पण्डितको दाबी छ ।

  • एलिजाले अब सक्रिय राजनीति नगर्ने, हर्क साम्पाङलाई १० वटा साबेल दिँदै समाजसेवामा लाग्ने घोषणा

    एलिजाले अब सक्रिय राजनीति नगर्ने, हर्क साम्पाङलाई १० वटा साबेल दिँदै समाजसेवामा लाग्ने घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् ।

    एलिजा कलाकार पनि हुन् । २०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् ।

    हर्क साम्पाङको श्रम शिविरस्थल पुगेकर उनले केही साबेल पनि सहयोग गरेकी छन् ।

    हर्कको तारिफ गर्दै उनले लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’

    उनले थपेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।’

    गौतम पछिल्लो समय ‘एलिजा फाउण्डेसन’ बाट सामाजिक काममा सक्रिय देखिन्छिन् ।

  • बालकोटमा ओली र रेशम चौधरीबीच भेटवार्ता

    बालकोटमा ओली र रेशम चौधरीबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

    ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो । चार दिनअघिको सो भेटवार्तामा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

    जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए ।

    जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।

    यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।

  • रेशम चौधरीकाे आममाफीविरूद्धकाे रिटमा जारी भएन अन्तरिम आदेश

    रेशम चौधरीकाे आममाफीविरूद्धकाे रिटमा जारी भएन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ ।

    कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।

    उक्त आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।

     

  • कैलाली कारागार पुगेका रेशमलाई बन्दीले भने- तपाईं रिहा हुँदा खुशी छौं, अब हामीलाई पनि छुटाउनु होला

    कैलाली कारागार पुगेका रेशमलाई बन्दीले भने- तपाईं रिहा हुँदा खुशी छौं, अब हामीलाई पनि छुटाउनु होला

    कैलाली । टीकापुर घटनामा पक्राउ परेकाहरूलाई भेट्न रेशम चौधरी कैलाली कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी संघीय दुई सांसद र प्रदेशसभाका एक सांसदसहित कैलाली कारागार पुगेका थिए ।

    उनीहरुबीच करिब १० मिनेट संवाद भएको थियो । कारागारमा रहेका बन्दीहरुले चौधरी छुटेकोमा खुशी हुँदै आफूहरुलाई पनि रिहा गर्न अपिल गरेका थिए ।

    केही समयअघि कारागारमा रहेका सन्तकुमार चौधरी निर्दोष सावित भएर रिहा भएका थिए । नागरिक उन्मुक्ति सरकारमा गएपछि पेशी चाँडो चाँडो आएको र सन्तकुमार चौधरी निर्दोष सावित भएको उनीहरुको भनाइ थियो ।

    उनीहरुले आफूहरुलाई पनि रिहा गर्न अपिल गरेको र रेशमले आफू त्यही काममा लागेको बताएको स्रोतको दाबी छ ।  भेटका क्रममा असोज ३ गते रिहा गराउने गरी आफूले पहल गरिरहेको चौधरीले बताएका थिए । अहिले कारागारमा प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरी छन् ।

    प्रतिनिधिसभा सदस्य अरुण चौधरी र गङ्गा चौधरी तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीसहित रेशम कारागार पुगेका थिए ।

  • रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन (भिडिओ)

    रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्।

    रास्वपा सांसद बिन्दबासिनी कंसाकारको शपथपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र ? उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो। उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन। उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन।

    उनले चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गरे। थारुहरूले गरेको संघर्षले विजय प्राप्त नगरेको उल्लेख गर्दै थारुहरूको पक्षमा रहेको बताए।

  • जेलबाट छुटेपछि रेशमको उद्घोष- अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं

    जेलबाट छुटेपछि रेशमको उद्घोष- अब मिसन २०८४ चलाएर मुलुकको बागडोर सम्हाल्छौं

    काठमाडौं । रेशम चौधरीले आफूहरूले ‘मिसन २०८४’ थाल्ने उद्घोष गरेका छन् । डिल्लीबजार कारागारबाट छुटेपछि नेपाल प्रेसकर्मी भानुभक्त आचार्यलाई अन्तर्वार्ता दिँदै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् ।

    ‘अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उनले भने ।

    रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताए ।

    उनले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताए ।

    ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उनले भने ।

    सिमेन्टका पिलर नहुँदा सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो गरे । उनले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताए । उनले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताए ।

    ‘टीकापुरमा मेरो घर, एफएम, रिसोर्ट जलाइयो । साढे ३ सयजतिको फोटो मसँग छ । उहाँहरू बुद्धिजिवी हुनुन्छ । उहाँहरूलाई कारबाही गरूँ त ? यसको मतलब म रिहा भएपछि तुरुन्त फर्किएर बदला लियौं भन्ने होइन । हाम्रो परिवारमा तीनजना मन्त्री सांसद भयौं । समाज मिलाउने दायित्व हाम्रो हो । जाडोघाम मिलाएर बस्नुपर्छ । त्यो समाज मिलाउन हाम्रो दायित्व हो । टीकापुर बनाउने मेरो सपना हो । टीकापुर बन्नुपर्छ’, उनले भने ।

    रेशमले टीकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्ने आफ्नो अवधारणा सुनाए ।

    ‘टीकापुर जिल्ला बनाइए नेपालको विकासमा एउटा आयाम थपिन्छ । तपाईँ हाम्रो आँगनमा देउसी भैलो खेल्नुहुन्छ भने हामी तपाईँको आँगतमा सखिया नाच्न पाउनुपर्छ । संविधानमा पहिचानका प्रदेश र नाम किन लेखिँदैन । टीकापुरलाई जिल्ला बनाउनुपर्छ ।’

  • राष्ट्रपतिले आममाफी दिएपछि जेलबाट छुट्दै रेशम चौधरी

    राष्ट्रपतिले आममाफी दिएपछि जेलबाट छुट्दै रेशम चौधरी

    काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी आज कारागारमुक्त हुने भएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी आज छुट्न लागेका हुन् ।

    गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुँदैछन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।

    टीकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायधिसद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिइएको हो ।

    २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन ।

    उता उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी काननुतः २०९४ सालसम्म जेल सजायँमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ वर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।

    २०७४ फागुनमा पक्राउ परेका उनी माथि टीकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बिभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । तर, २०७४ सालको आमनिर्वाचनमा कैलाली–१ वाट निर्वाचित चौधरी जेलमुक्त हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता आज बिहान डिल्लीबजार पुग्दैछन् ।

  • मन्त्रिपरिषद् बैठक : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस (भिडिओ)

    मन्त्रिपरिषद् बैठक : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस (भिडिओ)

    काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

    गणतन्त्र दिवसका अवसरमा उनकाे बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनले बताइन् ।

    चाैधरीसँग अन्य केहीकाे बाँकी सजाय र केहीकाे सजाय माफी गर्ने निर्णय भएकाे उनले जानकारी दिइन् ।

    चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

    यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

  • रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता

    रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता

    काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।

    सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो । कार्यालयले सर्वोच्च अदालतको सिद्धान्त विपरीत नहुने गरी पठाउन आग्रह गरिएको छ ।

    २०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।

     

  • रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने सरकारको तयारी, प्रस्ताव शीतल निवासमा

    रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने सरकारको तयारी, प्रस्ताव शीतल निवासमा

    काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा तीन तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने तयारी सुरु गरेको छ । हालै मात्र सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको थियो ।

    टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका प्रमुख योजनाकार चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । उनलाई आममाफी दिने तयारी भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

    ती मन्त्रीले भने, ‘आममाफी गरिपाऊँ भनेर गृह मन्त्रालयमा निवेदन परेको छ । उक्त निवेदनलाई गृह मन्त्रालयले प्रक्रिया अघि बढाएर राष्ट्रपति कार्यालयसम्म पुर्याएको छ ।’

    यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार साँझ शीतल निवासमा भेटेर छलफलसमेत गरेका थिए । राष्ट्रपतिले निर्णय लिन बाँकी छ ।

    संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । त्यसै व्यवस्थामा टेकेर राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आम माफी दिने तयारी सरकारले गरेको हो ।

    तर, सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधिमा जघन्य अपराधमा जेल बसेकालाई आममाफी दिन नमिल्ने स्पष्ट व्यवस्था छ । कार्यविधिको ३ नम्बर बुँदामा सजाय माफी दिन नमिल्ने अपराध शीर्षकहरुको सुची नै छ ।

    जसअनुसार भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, तेजाब वा अन्य प्रज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको, जातीय हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागू औषधको ओसारपसार वा कारोबारका दोषीलाई माफी दिन मिल्दैन ।

    गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको गृह मन्त्रालय एक उच्च अधिकारीले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार प्रक्रिया अघि बढेको हो ।’

    रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमा अध्ययन भइरहेको राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले नेपाल प्रेससँग पुष्टि गरे । सम्भवतः एक दुई दिन भित्रै राष्ट्रपति कार्यालय पुगेको चौधरीको फाइल गृह मन्त्रालयमा फर्किनेछ । फाइल अघि बढेमा गृह मन्त्रालयले आम माफीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ ।

    आममाफीका लागि आफूलाई सजाय गरेको अदालतको फैसलाको प्रतिलिपी निवेदनसाथ पेश गर्नुपर्छ । सरकारले निर्णय गर्नुअघि आममाफी दिनुको प्रमुख आधार र कारण खुलाई राष्ट्रपति कार्यालयमा राय पेश गर्नुपर्ने हुन्छ ।

    कैदीले माफी मिनाहाका लागि सिधै गृह मन्त्रालयमा निवेदन पठाउन पाउने व्यवस्था छ । प्रायजसो राजनीतिक मुद्धासँग जोडिएको मुद्दा चलाएको र अदालतबाट दोषी ठहर भएको भए त्यसको व्यवस्थापनका लागि ‘माफी मिनाहा’ को कानूनी व्यवस्था रहेको छ ।

    कानूनअनुसार गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाएर त्यहाँबाट स्वीकृत भएपछि मात्रै उक्त फाइलमा महान्यायाधीवक्ताको राय लिएर ‘माफी मिनाहा’ को प्रस्ताव मन्त्रिपरिषद पठाउने व्यवस्था छ ।

    सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो । चौधरी २०७४ साल फागुन १५ गतेदेखि थुनामा रहेकाले उनले पाँच वर्षभन्दा बढी समय कारागारमा बिताएका छन् ।

    उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

    सर्वोच्च अदालतले जेठ २ गते मात्रै यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजायलाई सदर गरेको थियो । सर्वोच्च अदालतले सदर गरेको सजायको संक्षिप्त फैसला सार्वजनिक भए पनि पूर्णपाठ भने अहिलेसम्म आइसकेको छैन ।

  • नाउपाको अल्टिमेटम- तीन दिनभित्र माग पूरा नभएर सरकारमाथिको समर्थनबारे सोच्न बाध्य हुन्छौं

    नाउपाको अल्टिमेटम- तीन दिनभित्र माग पूरा नभएर सरकारमाथिको समर्थनबारे सोच्न बाध्य हुन्छौं

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई तीनको अल्टिमेटम दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता लक्ष्मण थारुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

    उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन दिनको समय दिएका छौं । तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको समर्थन र सहभागिताबारे सोच्न बाध्य हुनेछौं।’

  • सरकारसँग नाउपाको माग- रेशम चौधरी हत्यारा भए फाँसी देऊ

    सरकारसँग नाउपाको माग- रेशम चौधरी हत्यारा भए फाँसी देऊ

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएको बताएको छ । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो ।

    पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन ? भनेर सरकारलाई प्रश्न गरे ।

    उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन ।’

    उनले यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन मागसमेत गरे ।

  • सर्वोच्चको फैसला स्वीकार्य छ, सहनशीलतासाथ सजाय भुक्तान गरिरहेको छुः रेशम चौधरी

    सर्वोच्चको फैसला स्वीकार्य छ, सहनशीलतासाथ सजाय भुक्तान गरिरहेको छुः रेशम चौधरी

    काठमाडौं । टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले संयमित प्रतिक्रिया दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै फैसलालाई सम्मान र स्वीकार गर्ने बताए ।

    विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

    उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने वा नगर्ने स्पष्ट भनेका छैनन् ।

    सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

    ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन् ।

    चाँडै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने उनले बताएका छन् ।

  • रेशम चौधरीलाई सफाइ नदिएको भन्दै सत्तारुढ नाउपाद्वारा आन्दोलनको घोषणा (भिडिओ)

    रेशम चौधरीलाई सफाइ नदिएको भन्दै सत्तारुढ नाउपाद्वारा आन्दोलनको घोषणा (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए।

    उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताए।

  • टीकापुर हत्याकाण्ड : ७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे (भिडिओ)

    टीकापुर हत्याकाण्ड : ७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे (भिडिओ)

    कैलाली । टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी आज छुटेका छन् ।

    सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन् ।

    २०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

    सीतारामसँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो । उनी ७ वर्ष ६ दिन कारागार बसे । गंगा भने रिहा भएका छैनन् । टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ ।

  • सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान् भेट्न पुगिन् मन्त्री रञ्जिता (भिडिओ)

    सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान् भेट्न पुगिन् मन्त्री रञ्जिता (भिडिओ)

    काठमाडौं । भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता चौधरी सरकारी गाडीमा झण्डा हल्लाएर कैदी भेट्न कारागार पुगेकी छन् । आज जारी सत्तारुढ गठबन्धनको वैठक बीचमै छोडेर उनी डिल्लीबजार सदरखोर हान्निएकी थिइन् ।

    मन्त्री श्रेष्ठका श्रीमान् रेशम चौधरी सो कारागारमा जन्मकैदको सजाय खेपिरहेका छन् । हिजो उनको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रीमान् भेट्न सुरक्षाकर्मीसमेत लिएर कारागार पुगेकी थिइन् ।

    हिजोको फैसलाका विषयमा छलफल गर्न नाउपाका संरक्षक रेशमले श्रीमतीसहित पार्टीका नेताहरूलाई कारागारमै डाकेका थिए ।

  • रेशमले नाउपाका नेतालाई छलफलका लागि जेलमै बोलाए

    रेशमले नाउपाका नेतालाई छलफलका लागि जेलमै बोलाए

    काठमाडौं । सर्वाेच्च अदालतकाे  फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् ।

    केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले बताए ।

    सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए ।

    नाउपा अहिले सरकारकाे एक घटक हाे । रेशमकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता स्वयम् मन्त्री छिन् । फैसलाप्रति उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

    आजकाे वैठकमा नाउपाले सरकार छाड्ने वा नछाड्ने भन्ने पनि छलफल हुनेछ । रेशमलाई जेलबाट निकाल्ने आश्वासनका आधारमा नाउपा सरकारमा सहभागी भएकाे थियाे ।

  • रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

    रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

    काठमाडौं । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ ।

    टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

    त्यसपछि रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदनउपर पटकपटक साधारण तारिख र पेसी सर्दै आएको छ ।

    कानूनमन्त्रालयनिकट स्रोतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको हो । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

    जसमा राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट सरकारवादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्ता सम्झौता बमोजिम दल वा समूहका नेता तथा कार्यकर्ताविरुद्ध चलाइएका जुनसुकै तहको मुद्दा अदालतमा विचाराधीन रहेको भएमा फिर्ता लिन बाधा नपर्ने उल्लेख छ ।

    संशोधित बुँदामा भनिएको छ, ‘कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्‍चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानूनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्‍चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौता बमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन ।’

     

  • नाउपाका प्रमुख सचेतक भन्छन्- मन्त्रालयबारे लिखित सहमति भइसक्यो, जिम्मेवारी हेरफेर हुन्छ (भिडिओ)

    नाउपाका प्रमुख सचेतक भन्छन्- मन्त्रालयबारे लिखित सहमति भइसक्यो, जिम्मेवारी हेरफेर हुन्छ (भिडिओ)

    कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामा टुङ्गो लागिसकेको बताएका छन् ।

    आज प्रदेश सभामा नेपाल प्रेससँग उनले पार्टीले २ मन्त्रालय पाउने र त्यसमा संसदीय दलका नेता रामेश्वर चौधरी र आफूलाई पठाउने निर्णय भइसकेको दाबी गरेका हुन् ।

    पार्टीबाट मन्त्री भएपछि आफूले पाइरहेको प्रमुख सचेतकको जिम्मेवारीबाट हट्ने र संसदीय दलका नेता पनि मन्त्री नभएकालाई बनाउने सहमति भएको उनले बताए । उनले केही दिन भित्रै सरकारले पूर्णता पाउने समेत दाबी गरे ।

    यता संसदीय दलका नेता रामेश्वर चौधरीले भने अहिले त्यस्तो सहमति नभएको दाबी गरेका छन् ।

    ‘हामीलाई एउटा मात्रै मन्त्रालय दिन खोजिएको छ त्यसो हुँदा हामी सरकारमा नजान पनि सक्छौँ’ उनले नेपाल प्रेसलाई भने ‘अहिले हामी मन्त्रालयको बार्गेनिङमा छौँ ।’

    चौधरीले अहिले कति मन्त्रालय पाउने र कुन कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय नभइसकेको हुँदा दलको जिम्मेवारी हेरफेरको विषयमा पनि केही निर्णय नभएको बताए ।

  • सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा बाँड्ने मन्त्री रञ्जिता श्रेष्ठको प्रतिबद्धता (भिडिओ)

    सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा बाँड्ने मन्त्री रञ्जिता श्रेष्ठको प्रतिबद्धता (भिडिओ)

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन् । सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा गरिन् ।

    श्रेष्ठले भनिन्, ‘मेरो पालामा भूमिहीनहरूलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरू लालपूर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ ।’

    मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

  • संसदमा विमला राईको प्रश्न- प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? (भिडिओ)

    संसदमा विमला राईको प्रश्न- प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेकी सांसद डा. विमला राई पौड्यालले प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन् ।

    मंगलबार प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा बुधबारको राष्ट्रियसभा बैठकमा सांसद राईले सरकारलाई प्रश्न गरेकी हुन् । ती युवाहरूले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दा प्रहरीले मुख थुन्दै पक्राउ गरेको थियो ।

    उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि सरकारले ज्यादती गर्नुको कारण खोजिन् ।

    ‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?’, सांसद राईको प्रश्न थियो ।

    त्यसरी मुख थुन्ने प्रहरीमाथि कारबाही भएको छ कि छैन ? भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराएकी छन् ।

  • रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

    रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

    गत संसदीय चुनावमा यस पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली १ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया २ बाट जित हासिल गरेका थिए ।

    नेपाल प्रेससँग कुरा गर्दै रञ्जिताले आफ्नो पार्टीले गठवन्धनमा दुईवटा मन्त्रालयको दावी गर्ने बताइन् । यही मन्त्रालय चाहिन्छ भन्ने नभएको उनको भनाइ छ ।‘हामीले दुईवटा मागेका छौं । छलफल चलिरहेको छ । सायद एक–दुई दिनमा टुंगिन्छ होला,’ श्रेष्ठले भनिन् ।

    प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्तिका लागि एक मन्त्री छुट्याएका छन् । गठवन्धनमा रहेका ११ वटा पार्टीलाई भाग पुर्याउनुपर्ने भएकाले उन्मुक्तिलाई एकभन्दा बढी मन्त्री दिन सम्भव देखिएको पनि छैन ।

    उन्मुक्तिले यसअघि उपराष्ट्रपति पदमा प्रयास गरेको थियो । रञ्जिता आफैं सो पदकी आकांक्षी थिइन् । तर, उनको उमेर नपुगेपछि उम्मेदवारी दिनबाट वञ्चित भइन् । अब उनी मन्त्री बन्न कम्मर कसेकी छन् ।तपाईंलाई उपप्रधानमन्त्री चाहिन्छ कि मन्त्रीमात्रै बन्न पनि तयार हुनुपर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘हामीले उपप्रधानमन्त्री चाहिन्छ भनेका छैनौं ।’

    यसअघि नागरिक उन्मुक्तिले सरकारमा जानका लागि पार्टीका संरक्षण रेशम चौधरीको रिहाइलाई मुख्य शर्त बनाएको थियो । अहिले पनि चौधरी रिहाइ हुने बाटो खुलिसकेको छैन । पहिलेको अडान छोडेर कसरी पार्टी सरकारमा जान तयार भयो त ?

    रञ्जिताले आफ्नो पतिको रिहाइका लागि सकारात्मक कुराकानी भइरहेको बताइन् । आफू मन्त्री बन्ने र पति रिहाइ हुने सँगसँगै हुन सक्ने उनको भनाइ छ । ‘हामी अडानबाट पछि हटेका छैनौं । यसमा गृहकार्य भइरहेको छ । छुट्ने भएकाले नै हामी सरकारमा जान लागेका हौं । सायद एकैचोटिजस्तो हुन्छ होला,’ उनले भनिन् ।

  • विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो, यस्तो छ प्रस्तावित भागबन्डा

    विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो, यस्तो छ प्रस्तावित भागबन्डा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेका छन् । एकदुई दिनभित्रै सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढाएका हुन् । प्रचण्डले यसअघि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।

    २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका बनाएका छन् ।

    सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने प्रचण्डको प्रस्ताव छ । स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय नपाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई दुईदुई मन्त्रालय दिएर मनाउने प्रयास भएको छ ।

    मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले जसपा दुई मन्त्रालयमै सहमत हुने सम्भावना छ । यस्तै कोशी प्रदेशको मुख्यमन्त्री दिएर नेकपा एसलाई पनि दुइटा मन्त्रालयमै मनाउने प्रयास छ ।

    तर, नेकपा एसले गठबन्धनमा हिस्सा हेरेरमात्रै सरकारमा जाने औपचारिक निर्णय गर्ने सम्मानित नेता झलनाथ खनालले बताए ।

    मंगलबार बसेको पार्टीको सचिवालय बैठकपछि उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति कार्यक्रमले जाने, सरकारमा के कति हिस्सेदारी हुन्छ भन्ने विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने छ । मन्त्रीमात्रै बन्नेभन्दा नीति कार्यक्रममा पनि प्रष्टता खोजेका छौं ।’

    यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, रास्वपा अहिल्यै सरकारमा जाने कि पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने विश्वासको मत दिए पनि सरकारमा जानेबारे अहिलेसम्म छलफल नभएको बताउँछन् ।

    उनले भने, ‘हामीले हिजो विश्वासको मत दिएका हौं । आज साथीहरु पनि बाहिरबाहिरै हुनुहुन्छ । सरकारमा जाने वा नजाने भन्ने विषयमा अहिले कुनै छलफल भएको छैन ।’

    सरकारमा जाने सम्भावना कतिको छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले त्यसबारे छलफल गरेका छैनौं । अब पार्टी बैठक बसेपछि के निर्णय हुन्छ, त्यो अहिले थाहा हुने कुरा भएर । तर, हामीले सरकारमा जान धेरै प्राथमिकता राखेका छैनौं ।’

    रास्वपा सरकारमा नगएको अवस्थामा बाँकी तीन मन्त्रालय जसपा, नेकपा एस, कांग्रेस वा जनमतलाई बाँडिनसक्ने बुझिएको छ ।
    जनमतले एक मन्त्रालयमा आफूहरु चित्त बुझाउन नसक्ने यसअघि नै गठबन्धनमा जानकारी गराइसकेको छ । उसलाई ‘पावर शेयरिङ’को आधारमा मधेस प्रदेशको मुख्यमन्त्री दिने गरी मनाउने प्रयास भइरहेको छ ।

    यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एकएक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।

    नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गठबन्धनमा धेरै दल भएकाले सबैलाई मिलाएर अघि बढ्ने गरी छलफल भइरहेको बताए ।

    उनले भने, ‘एकीकृत समाजवादी र जसपालाई दुई-दुई मन्त्रालय दिने कन्फर्म छ । अन्य मधेसवादी पार्टीहरुबाट एक-एक मन्त्रालय दिने मैले बुझेको छु । बाबुरामजीको पार्टीलाई एक र स्वतन्त्र एक जनालाई समेट्दा झण्डै नौ मन्त्रालय पुग्छ ।’

    कांग्रेसले ८ भन्दा धेरै मन्त्रालय पाउने सम्भावना नरहेको नेता खतिवडाले बताए । उनले भने, ‘कांग्रेसबाट प्रत्येक प्रदेशबाट १ जना र एक महिला हुने सम्भावना छ ।’

    उनले आफ्नो पार्टीबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारमा नेतृत्व गर्ने सम्भावना रहेको बताए । ‘उहाँले मन्त्री बन्दिनँ भन्नुभएको छ । अब उपप्रधानमन्त्रीसहित भन्नुभएको हो या के हो ? उहाँलाई थाहा होला’, उनले भने, ‘तर, उहाँले इच्छा गर्नुभयो भने उहाँकै पहिलो सम्भावना देख्छु ।’

    उनले खड्काबाहेक विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नेसक्ने जानकारी दिए ।

    यस्तै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल पनि मन्त्रालय भागबन्डाको विषयमा छलफल भइरहेको बताए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका गजुरेलले केही दिनमा सरकारले पूर्णता पाउने बताए ।

    ‘प्रधानमन्त्रीले हिजो विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल सुरु भएको छ । केही दिनमै टुंगिन्छ’, उनले भने, ‘गृह वा अर्थमध्ये एउटा मन्त्रालय माओवादीले नै राख्छ ।’

    सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नजाने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफस्हरु सरकारमा सहभागी नहुने बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘सरकार बनाउन विश्वासको मत दिएर समर्थन गरेका हौं । तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन । हामी जाँदैनौं ।’

    यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धन हुँदा प्रधानमन्त्री प्रचण्डले गृह, अर्थ, परराष्ट्र जस्ता कुनै पनि महत्वपूर्ण मन्त्रालय आफूसँग राख्न सकेका थिएनन् ।

    रास्वपा पनि सरकारमा सहभागी भए एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र योगी मण्डल मात्रै सत्ता बाहिर हुनेछन् ।

  • मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

    मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विरुद्ध मधेसकेन्द्रित साना दलहरूले मोर्चाबन्दी थालेको छ। जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएपछि मधेसमा जसपा एक्लिएको हो ।

    लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले शनिबार संयुक्तरूपमा कार्यगत एकताको हस्ताक्षरसहित एकैठाउँ उभिसकेका छन् ।

    मधेस केन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले टिप्पणी गर्न थालेका छन् । पछिल्लो समय मधेसमा जसपाको भन्दा जनमतको लहर बढ्दै गइरहेको मंसिर ४ को प्रनितिधि र प्रदेशसभाको निर्वाचनले देखाएको छ ।

    उपराष्ट्रपतिको निर्वाचन मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधनलगायतको विषयमा आफूहरुले कार्यगत एकता गर्ने सहमति बनेको जनमत पार्टीका अध्यक्ष राउतले बताए ।

    उनले भने, ‘नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजवन्दीहरूको रिहाई, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न तीन पार्टी सहमत भएको हौं ।’

    १० दलीय सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई उम्मेदवार बनाउने सहमति भएपनि तीन दलको मोर्चाले जनमतकी ममता झालाई पनि प्रतिस्पर्धामा उतारेको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा अहिले सत्तागठबन्धन दुई उम्मेदवार छन् । तर, गठबन्धनमा भएको सहमति अनुसार जसपाका यादवलाई कांग्रेस, माओवादीसहित ठूला दलको पनि समर्थन छ ।

    जसपाले उपराष्ट्रपति पाएपछि मोर्चाबन्दी थालेको तीन दलका नेताहरू मित्रवत् प्रतिस्पर्धा हुने जनमतका अध्यक्ष राउतले बताइसकेका छन् ।

    कार्यगत एकता ?

    तर, लोसपा नेता शरदसिंह भण्डारी जसपाले उपराष्ट्रपति पाएकै कारणले आफूहरूले मोर्चाबन्दी नथालेको बताउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘अहिले माओवादी घटकहरूले जुन सहकार्यको कुरा गरिरहेका छन् । हामीले पनि हिजो मधेस आन्दोलनबाट आएको पार्टीहरूबाट पनि सहकार्य गरौं भनेर थालेका हौं । मधेस कार्यक्षेत्र बनाएका लोसपासहित जनमत र नागरिक उन्मुक्ति पार्टी पनि छ ।’

    उनले लोसपा मधेस र थरुहट आन्दोलन र सीके राउत स्वतन्त्र मधेसी गठबन्धनको नाममाको आन्दोलनबाट आएको उनको भनाई छ ।

    उनले भने, ‘मधेस आन्दोलनको विषयमा हाम्रो सरकारसँग विभिन्न चरणमा सहमति भएका छन् । अहिले पनि कैदीबन्दीदेखि राजनीतिक बन्दीहरूको विषय छन् । कैयौं झुटा मुद्दामा जेलजीवन बिताइरहेका छन् । सबै मागलाई एकमुष्टरूपमा पूरा गर्न सरकारसँग पहल गर्छौँ ।’

    लाखौँ नागरिक अहिले पनि नागरिकताविहीन भएकाले आफूहरूको प्राथमिकता नागरिकता विधेयकमा हुने उनको भनाई छ ।

    ‘अहिले हामीले प्राथमिकताका साथ नागरिकको विषयलाई उठाएका छौं । मधेसका लाखौं नागरिकहरू अहिले पनि नागरिकताविहिन भएर बस्नुपरेको छ’ नेता भण्डारीले भने, ‘पहिलाको सरकार अध्यादेश ल्याएपछि सर्वोच्च अदालतबाट खारेज भइसकेपछि विधेयकको रूपमा आएको थियो । तर, संसदबाट दुई पटक बहुमतले पारित गर्दा समेत राष्ट्रपतिबाट रोकिएको थियो ।’

    उनले अपराध संहितालाई अध्यादेशको रूपमा पेश गरेकोदेखि मधेसका सवै मुद्दालाई साझा विषय बनाएर यसअघि सम्झौता कार्यान्वयनमा पनि दबाब दिने बताए ।

    उनले भने, ‘सरकारसँगको सम्झौता लागू गराउन सँगै हिँड्ने भनेर सहमति गरेका हौं ।’

    तर, तपाईंहरूले मधेसकेन्द्रित सबैभन्दा ठूलो दललाई त एक्ल्याउन खोजेको चर्चा छ नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘तत्काल हामी तीनजनाको विचार मिलेर सरकार थालेका छौं । भोलि विचार मिल्ने धारहरू बढ्दै जान्छ । हामीले कसैलाई एक्लाउन खोजेका छैनौँ । हामी अहिले दशदलीय गठबन्धनमा छौं । उहाँहरू पनि त्यहीभित्रको घटक हुनुहुन्छ ।’

    तर, जसपा सांसद प्रदीप यादव जनमत, लोसपा र नागरिक उन्मुक्तिको मधेसमा भएको मोर्चाले आफूहरूलाई कुनै असर नगर्ने दाबी गर्छन् ।

    उनले भने, ‘उहाँहरूको मोर्चाले हामीलाई कुनै फरक पर्दैन । उहाँहरूलाई गठबन्धनमा बस्नु छ भने गठबन्धनको सहमतिअनुसार अघि बढ्नुहुन्छ । गठबन्धनको सहमतिअनुसार बस्न सक्नुहुन्न भनेर बाहिरिन सक्नुहुन्छ ।’

  • उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जितालाई उमेरको तगारो, यस्तो छ संवैधानिक व्यवस्था

    उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जितालाई उमेरको तगारो, यस्तो छ संवैधानिक व्यवस्था

    काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अयोग्य देखिएकी छन् ।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार ४५ वर्ष उमेर पूरा नगरेको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि अयोग्य ठहरिने भएपछि उनी अयोग्य देखिएकी हुन् ।

    निर्वाचन आयोगको रेकर्ड अनुसार रञ्जिता ३९ वर्षमा मात्रै पुगेकी छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागि हुने क्रममा उनले पेश गरेको नागरिकताका आधारमा उनको उमेर ३९ वर्ष मात्रै रहेको छ ।

    ऐनको दफा १५ मा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।’