Category: नागरिक उन्मुक्ति पार्टी

  • पार्टी विवादबारे रेशमको स्पष्टोक्ति: रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

    पार्टी विवादबारे रेशमको स्पष्टोक्ति: रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफ्नो र रन्जिताको अडानलाई पनि प्रस्ट पारेका छन् ।

    ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

    जुनसुकै गठबन्धनकापछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशम लेख्छन्, ‘सन्दर्भ: घर झगडा हुँदै होइन,विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ ?’

    उनले यी उदाहरणहरूलाई देखाउँदै कुनैपनि गठबन्धनका पछाडि नलाग्न आग्रह गरेका छन् ।

    रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको बताएका छन् ।

    आफू र श्रीमती रन्जिताको विषयमा उनी लेख्छन्,‘ म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । ’

    उनले टिकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर रिहा नगरेको बताएका छन् ।

    ‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो’ उनले रन्जितालाई भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    उनले केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही हुने भन्दै कारबाही भोग्न पनि तयार हुनु पर्ने उल्लेख गरेका छन् ।

    अन्तिममा रेशम लेख्छन्,‘ मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ,त्यस कारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो,हार होइन।’

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता रन्जिता श्रेष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन लिइसकेकी छन् भने रेशम चौधरी तत्काल विश्वासको मत दिन नहुने पक्षमा छन् । यसैबीच संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले पनि सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

  • नाउपामा श्रीमान-श्रीमतीकाे ‘टसल’ : सरकारलाई विश्वासकाे मत दिन र नदिन दुईथरि ह्वीप

    नाउपामा श्रीमान-श्रीमतीकाे ‘टसल’ : सरकारलाई विश्वासकाे मत दिन र नदिन दुईथरि ह्वीप

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । अहिले सम्म माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने निर्णय गरेका छन् ।

    कांग्रेस, जनमत लगायतले भने विश्वासको मत नदिने निर्णय गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने अहिलेसम्म पनि विश्वासको मत दिने र नदिने भन्ने विषयमा मत बाझिएको देखिन्छ ।

    सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

    आज ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले एक विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नदिने प्रष्ट पारेका हुन् ।

    तर, यता संसदीय दलले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ ।’

    नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबीच असमझदारी बढ्दै जाँदा त्यसको प्रभाव प्रदेश सरकार देखी प्रधानमन्त्रीको विश्वासको मत सम्म परेको छ ।

    रेशम चौधरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैनन् । उनी पुरानै गठबन्धनको पक्षमा छन् । यता रन्जिता चौधरी भने नयाँ गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरिसकेको बताउँछिन् ।

    प्रदेशमा पनि रेशम-रञ्जिताको असमझदारीले सरकार जोगिने कि नजोगिने अन्योलमा परेको छ ।

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिताको निर्देशन थियो । तर, संरक्षक रेशमले भने धनगढीमै बसेर सरकार विस्तारको गृहकार्य गरे ।

    मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वका सरकारमा सहभागी भएका मन्त्रीहरूले पार्टीसँग कुनै सल्लाह नगरेको र पार्टीको नीति विपरीत सरकारमा सहभागी भएको भन्दै रञ्जिताले तत्काल मन्त्रीबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन फिर्ता दिन निर्देशन दिइन् ।

    तर, रेशमले आफ्नो निवास बर्दियामा ४ मन्त्रीलाई बोलाउँदै तत्काल सरकारको समर्थन फिर्ता नहुने र मन्त्रीबाट पनि हट्न नहुने भन्दै राम्रो काम गर्न निर्देशन दिए ।

    काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान पछि उनीहरूबीच थप असमझदारी बढेको देखियो । अध्यक्ष रञ्जिताले सोमबार काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरिन् ।

    स्वास्थ्यमा समस्या आएपछि त्यो बैठक बस्न सकेन । यता टिकापुरमा ज्येष्ठ सदस्य पण्डितको उपस्थितिमा बैठक बस्यो त्यो बैठकमा अध्यक्ष रन्जिता उपस्थित भइनन् । तर, २१ मध्ये १६ सदस्य बैठकमा उपस्थित भएको दाबी गरिएको छ ।

    उक्त बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गर्दा त्यसको भोली पल्टै अध्यक्ष रन्जिताले काठमाडौँमा प्रचण्ड सरकारलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिन् ।

     

  • सुल्झिँदै नाउपाको विवाद: सुदूरपश्चिममा सात सांसद मध्ये पाँच मन्त्री नियुक्त

    सुल्झिँदै नाउपाको विवाद: सुदूरपश्चिममा सात सांसद मध्ये पाँच मन्त्री नियुक्त

    कैलाली । पछिल्लो केहीदिनदेखि नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद मत्थर हुँदै गएको नागरिक उन्मुक्ति पार्टीका नेताहरूले दाबी गरेका छन् । सोमबार नाउपाका नेता लक्ष्मणकिशोर चौधरीले विना विभागीय मन्त्रीमा शपथग्रहण गरेपछि पार्टीभित्रको विवाद मत्थर भएको नेताहरूको दाबी छ ।

    सोमबार शपथ ग्रहण गरेका चौधरीले पनि पार्टीभित्र विवाद नरहेको बताएका छन् । उनले पत्रकारहरूसँग बाहिर आएको जस्तो पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद नभएको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीमा सतहमा देखिएको जस्तो विवाद होइन । कुनै पनि पार्टीका सामान्य विचार विमर्श आउँछ ती समस्याहरू राजनैतिक रुपमलेनै समाधान गर्ने प्रयास गर्‍यौँ त्यसै अनुरूप हामी उहाँ छौँ । ’

    पत्रकारहरूले संरक्षक र अध्यक्षबीचको विवादको विषयमा प्रश्न गर्दा उनले भने, ‘उहाँहरूबीच व्यक्तिगत केही विवाद भएको होला तर, पार्टीमा कुनै विवाद छैन । ’

    यता नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले पनि पार्टीभित्रको आन्तरिक विवाद मिलिसकेको दाबी गरेका छन् ।
    ‘हाम्रो पार्टी एकताबद्ध छ , एक छ यो रेशम र रन्जिताको कुरा पनि होइन ’ उनले भने, ‘ यो पार्टीको कुरा हो हामी एक छौँ ।’ उनले पार्टी अध्यक्षसँगको छलफलपछि मन्त्रीहरूलाई सरकारमा पठाएको दाबी गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीबीचको विवाद सुल्झिएको भन्दै मुख्यमन्त्री कमल बहादुर शाहले पनि चाँडै विश्वासको मत लिने बताएका छन् । उनले स्वतन्त्र सांसद खिमादेबी विष्ट र स्वतन्त्र सांसद डा.तारा जोशीसँग पनि छलफल भइरहेको बताए ।

    ‘माननीय सांसद ज्यूहरूसँग पनि छलफल भइरहेको छ उहाँहरू प्रति हामी विश्वस्त छौँ त्यस कारणले छिटो भन्दा छिटो विश्वासको मत लिन्छौँ ’ उनले भने। चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

    उनले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रीमण्डलको विस्तार गरेर जिम्मेवारी दिने काम गर्छौ मुख्यमन्त्री शाहले भने ।

    के थियो नाउपाको विवाद ?

    पछिल्लो केहीदिन यता नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीको विवादले चर्चा पायो ।उनीहरू दम्पती हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउनेदेखि केन्द्रमा सत्ता पक्षमा बस्ने या विपक्षमा बस्ने सम्ममा पनि दुवैबीच विवाद भयो । जसका कारण अध्यक्ष र संरक्षकबाटै निकटका नेता कार्यकर्ताहरूलाई फरक फरक निर्देशन दिइयो ।

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिताको निर्देशन थियो । तर, संरक्षक रेशमले भने धनगढीमै बसेर सरकार विस्तारको गृहकार्य गरे । मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वका सरकारमा सहभागी भएका मन्त्रीहरूले पार्टीसँग कुनै सल्लाह नगरेको र पार्टीको नीति विपरीत सरकारमा सहभागी भएको भन्दै रन्जिताले तत्काल मन्त्रीबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन फिर्ता दिन निर्देशन दिइन्।

    तर, रेशमले आफ्नो निवास बर्दियामा ४ मन्त्रीलाई बोलाउँदै तत्काल सरकारको समर्थन फिर्ता नहुने र मन्त्रीबाट पनि हट्न नहुने भन्दै राम्रो काम गर्न निर्देशन दिए । यसैबीच अध्यक्ष रन्जिताले सोमबार काठमाडौँमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरे पनि त्यो बैठक हुन सकेन । पछि कैलालीमै बैठक बस्ने भनिएको थियो । अध्यक्ष रन्जिताको स्वास्थ्य अवस्थामा समस्या आएपछि बैठक स्थगित गरिएको नाउपा नेताहरूले बताए । यो अवधिसम्म पार्टी भित्रको विवाद सुल्झिँदै गएको नाउपा नेताहरूको दाबी छ ।

    ‘उहाँहरूबीचको विवाद हो, सतहमा देखिने गरी सुरु भएको एक साता भइसक्यो अहिले बिस्तारै मत्थर भइरहेको छ ’ नाउपाका एक सांसदले भने, ‘अहिले फरक फरक निर्देशन आउने कुरा कम भएको छ । ’

    रन्जिता श्रेष्ठ निकट मानिएका लक्ष्मण किशोर चौधरीले शपथ ग्रहण गरेपछि नाउपाभित्रको विवाद सुल्झिँदै गएको उनको दाबी छ ।

    सातमध्ये पाँच मन्त्री

    सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् । सात जना मध्ये पाँच जन प्रदेश सरकारको मन्त्रीमा नियुक्त भइसकेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई पटक सरकार विस्तार गरे । दुवै पटकमा नागरिक उन्मुक्तिका मात्रै सांसदलाई सरकारमा ल्याइएको छ ।

    अल्पमतमा पर्नुभन्दा पहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी थिए । उनी अहिले पनि कायम छन् । राज्यमन्त्री रहेका कैलाश चौधरीको ठाउँमा नाउपाकै इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको थियो ।

    त्यस्तै आर्थिक मामिला मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरी र विना विभागीय मन्त्रीमा खुसीराम चौधरी नियुक्त गरिएको छ । सोमबार अर्का विना विभागीय मन्त्रीमा लक्ष्मण किशोर चौधरी नियुक्त हुँदा सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सात मध्ये पाँचले मन्त्रीको जिम्मेवारी पाएका हुन् । अब कैलाश चौधरी र टिका थापा मात्रै मन्त्री छैनन् ।

    राप्रपा र स्वतन्त्र निर्णायक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले चाँडै विश्वासको मत लिने बताएपछि अझै सम्म पनि उनीसँग बहुमत पुगेको छैन । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकारलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र नागरिक उन्मुक्तिका ७ सांसद मिल्दा पनि सरकारसँग बहुमत पुग्दैन । यस्तो बेला राप्रपाको एक र स्वतन्त्र एक सांसदको मत पनि सरकारलाई आवश्यक पर्छ ।

    यस अघि नै राप्रपा सांसद खिमादेबी विष्ट र स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री दिएर भए पनि सरकारमा सहभागी गराउन मुख्यमन्त्री शाहले प्रस्ताव गरेका थिए । राप्रपा सांसदले केन्द्रमा निर्णय गरेपछि मात्रै प्रदेशमा समर्थन गर्ने वा नगर्ने भन्ने सक्ने बताएपछि सरकारलाई सङ्कट परेको हो । यता स्वतन्त्र सांसद जोशीले पनि सरकार निर्माण हुन नसक्ने अवस्थामा मात्रै समर्थन गर्ने बताएपछि सरकालाई थप सङ्कट परेको हो ।

    उनीहरू दुवै मध्ये एकले समर्थन गर्दा र अर्कोले नगर्दा पनि सरकारलाई बहुमत पुराउन समस्या हुने देखिन्छ । यस्तो अवस्थामा राप्रपा र स्वतन्त्र निर्णायक शक्तिका रूपमा उभिएका छन् ।

  • अध्यक्ष बिनाको बैठकमा नाउपाले गर्‍यो केन्द्रमा सरकारमा सहभागी नहुने निर्णय

    अध्यक्ष बिनाको बैठकमा नाउपाले गर्‍यो केन्द्रमा सरकारमा सहभागी नहुने निर्णय

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

    आज कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले तत्काल सरकारमा सहभागी नहुने तर दलहरूसँग छलफल र संवाद गर्ने निर्णय गरिएको संस्थापक केन्द्रीय सदस्य पूर्ण बुढाले जानकारी दिए ।

    उनले भौगोलिक संस्कृति पहिचान सहितको संघीयता कार्यान्वयन गर्ने खप्तड थरुहट प्रदेश घोषणा गर्ने र लुम्बिनी वा सुदूरपश्चिम प्रदेश मध्य एक ठाउँमा थारु मुख्यमन्त्री बटम लाइन राखेको छ ।

    त्यसका लागि दामोदर पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरिएको केन्द्रीय सदस्य बुढाले जानकारी दिए ।

    आजको बैठक ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा बैठक बसेको थियो । आज अध्यक्ष रन्जिता श्रेष्ठ बैठकमा उपस्थित थिइनन्

  • सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका एक मन्त्री थप

    सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका एक मन्त्री थप

    कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरिएको हो । उनले केहीबेरअघि मात्र पद तथा गोपनीयताको शपथ गरे ।

    चौधरीले थारु भाषामा शपथ लिएका थिए ।

  • लुम्बिनीमा मन्त्री थपेर सरकार जोगाउन रेशम चौधरी र मुख्यमन्त्रीबीच सहमति

    लुम्बिनीमा मन्त्री थपेर सरकार जोगाउन रेशम चौधरी र मुख्यमन्त्रीबीच सहमति

    रुपन्देही । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको लुम्बिनी प्रदेश सरकारलाई टिकाउन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले साना दललाई थप प्रलोभनमा पारेका छन् ।

    सुदूरपश्चिममा संकटमा परेको काँग्रेस नेतृत्वको सरकारमा मन्त्री थपेर विवादमा आएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लुम्बिनीमा पनि मन्त्री थप्नका लागि मुख्यमन्त्री चौधरीसँग सहमति गरेका हुन् ।

    नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिममा थपिएका मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिए पनि रेशमले शनिवार बर्दियामा ती सबै मन्त्रीहरूलाई राखेर राम्रोसँग काम गर्न निर्देशन दिएर लुम्बिनीको विषयमा तयारी गर्न बुटवलमा रहेका मुख्यमन्त्री चौधरीलाई भेट्न आएका थिए ।

    शनिवार राती बुटवलको पौवा होटलमा बसेको बैठकमा रेशम चौधरी र मुख्यमन्त्री डिल्ली चौधरीबीच मन्त्री थप्ने सहमति भएको हो तर आइतबार नै शपथका लागि प्रदेश प्रमुख अमिक शेरचन काठमाडौं भएकाले तत्कालका लागि रोकिएको स्रोतले जनाएको छ ।

    ‘आइतबार नै शपथ गराउने गरी अगाडि बढेको हो तर प्रदेश प्रमुख यहाँ नभएपछि रोकियो, हेरौँ समय लम्बिएपछि कसरी अगाडि बढ्ने हो’ स्रोतले भन्यो ।

    मन्त्री थप्ने विषयमा सहमति भएको नाउपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री धर्मलाल चौधरीले पुष्टि गरे ।

    ‘हिजो राती हाम्रो पार्टीका संरक्षक रेशम चौधरी र मुख्यमन्त्री डिल्ली चौधरीसँग बुटवलमा हामीलाई थप मन्त्री दिने सहमति भएको हो तर प्रदेश प्रमुख नभएकाले रोकियो, हामीले २ जना मागे पनि तत्काल १ जना मन्त्री बनाएर अगाडि जाने कुरा भएको हो’ उनले भने ।

    नाउपाबाट सांसद राजकुमार चौधरी र नरमाया ढकालमध्येबाट मन्त्री हुनेछन् । तर राजकुमारलाई रेशमलाई पठाउन चाहेका छन् ।

    प्रदेश प्रमुख विशेष काम लिएर काठमाडौं गएको र सोमबार बिहान ८ बजेको टिकट रहेको उनको सचिवालयले जनाएको छ ।
    लुम्बिनीमा माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अल्पमतमा छन् ।

    नयाँ गठबन्धनमा तराई केन्द्रित दलहरू खुलेर नआएकाले पनि मुख्यमन्त्रीले उनीहरूको समर्थन लिने प्रयासमा छन् । तर १ निलम्बनसहित ४ सांसद रहेको राप्रपाले साथ नदिएसम्म मुख्यमन्त्री चौधरीले बहुमत पुर्‍याउनसक्ने अवस्था छैन । तर राप्रपाले केन्द्रीय अवस्थालाई हेरेर मात्र निर्णय लिने जनाएको छ ।

    राप्रपा संसदीय दलका नेता आशिष चौधरीले आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेकाले केन्द्रबाटै तत्काल कतै गठबन्धनमा नजाने खालको आशय आएकाले तत्काल केही नहुने जनाएका छन् । उनले अहिले संघमा नयाँ गठबन्धनमा रहेको जसपालाई पनि आकर्षक मन्त्रालय दिएर आफूतिर तान्ने प्रयासमा छन् ।

    ३ सांसद रहेको जसपाले केन्द्रमा गरिएको सहमति विपरीत मुख्यमन्त्री चौधरीलाई साथ दिए नयाँ गठबन्धनले पनि यहाँ बहुमत पुर्‍याउनसक्ने अवस्था छैन । तर जसपा प्रदेश अध्यक्ष अशोक यादव केन्द्रीय सहमति विपरीत यहाँ फरक पार्टीसँग गठबन्धन नहुने जनाएका छन् ।

    लोसपा प्रदेश अध्यक्ष तथा गृहमन्त्री सन्तोष पाण्डेयले संघीय गठबन्धनलाई आधार मानेर प्रदेशमा पनि उही बन्ने भए संघीयता किन आवश्यक भन्दै प्रदेशमा अलग्गै बन्न पनि सक्ने बताएका छन् ।

    वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीलाई यहाँ रहेका १० दलमध्ये एमाले र राप्रपाबाहेक ८ दलले समर्थन गरेका थिए । माओवादीबाहेक अरूले भने समर्थन फिर्ता लिएका छैनन् ।

    मुख्यमन्त्री चौधरीको पक्षमा कांग्रेसका २७, नाउपाका ४, लोसपाका ३, जनमतका ३, जनमोर्चाका १ गरी ३८ सांसदहरूको अहिले पनि समर्थन रहेको छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

    नयाँ गठबन्धनमा रहेको एमालेसँग २९, माओवादीसँग ११, जसपा ३, नेकपा एस १ र १ स्वतन्त्र गरी ४५ सांसद रहेको बताइएको छ । तर मुख्यमन्त्री चौधरीले यो गठबन्धनमा रहेको जसपा र बाहिर रहेको राप्रपासहितलाई जोडेर बहुमत पुराउन जोडबल गरिरहेका छन् ।

  • निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने(भिडिओ)

    निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने(भिडिओ)

    रुपन्देही । निर्वाचन आयोगले पार्टीको महाधिवेशनले गरेको निर्णय विपरीत निर्णय गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जानसक्ने बताएका छन् ।

    शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले आन्तरिक विधानका एकदुईवटा बुँदालाई हेरेर अस्वीकार गर्नु अन्याय भएको उनले बताए ।

    ‘निर्वाचन आयोगको पत्र अझैसम्म बुझेको छैन, आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने हो, अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने निर्णयमा पुग्ने हो’ उनले भने–‘त्यति ठूलो महाधिवेशनले गरेको निर्णयविरुद्ध भएको खेल कहाबाट भएको छ ? आन्तरिक बुँदामा भएका केही कमजोरीलाई हेरेर गरिएको यो निर्णयले घोर अन्याय भएको छ ।’

    देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने बताए ।

  • रेशम-रन्जिताको विवाद सतहमा : रन्जिता नयाँ गठबन्धनमा लचक, रेशम पुरानो गठबन्धनमा साथ दिन इच्छुक

    रेशम-रन्जिताको विवाद सतहमा : रन्जिता नयाँ गठबन्धनमा लचक, रेशम पुरानो गठबन्धनमा साथ दिन इच्छुक

    रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले शुक्रवार राती सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिए पनि सो पार्टीका संरक्षक तथा रन्जिताका श्रीमान् रेशम चौधरी पुरानो गठबन्धनअनुसार नै अगाडि जाने र सुदूरपश्चिम सरकारमा सहभागी पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए ।

    ‘पार्टीमा अन्तरद्वन्द्वलाई बढाउनु हुँदैन, कुनै ठाउँमा उहाँ (पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ) ले मन्त्रीहरू सरकारबाट फिर्ता आउनुपर्छ भन्ने बोल्नुभएको होला । हाम्रो पार्टीमा सरकारमा पठाउँदा र फिर्ता गर्दा केन्द्रीय समितिको निर्णय चाहिन्छ भन्ने छ । केन्द्रीय समितिको बैठकको निर्णय सबैले स्वीकार गर्नुपर्छ’ बुटवलमा शनिवार पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले भने, ‘सुदूरपश्चिम सरकारमा गएका मन्त्रीहरू फिर्ता हुनेछैनन्, केन्द्रीय समितिको बैठकले यो समस्याको समाधान गर्नेछ ।’

    शनिवार सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूलाई बर्दियामा भेटेर बुटवलमा उनले लुम्बिनी प्रदेशका मन्त्री तथा सांसदहरूलाई गोप्य भेला गरेका छन् । लुम्बिनी प्रदेशमा पुरानो गठबन्धनलाई साथ दिने गरी उनले मुख्यमन्त्री डिल्ली चौधरीलाई आफू तथा सांसदहरूलाई राखेर भेट्ने गरी बुटवलमा आएका हुन् ।

    नाउपामा निर्वाचित भएका उनलाई अवैधानिक ठहर गरेर उनकी श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष कायम गरिदिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । यही कारण सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी विषयमा पनि दुई धार देखिएको हो । रेशमको निर्देशन बमोजिम शुक्रवार तीन मन्त्री सरकारमा पठाए पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएपछि उनीहरूको आन्तरिक विवाद सतहमा आएको हो ।

    नेता चौधरीले साना दलमा समस्या रहेकोले अहिले बनेको एमाले–माओवादी गठबन्धनको भविष्यलाई सजिलो नभएको बताए ।

    अहिलेको संरचनाले देशलाई अस्थिरता बढाएको र स्थिर सरकार बनाएर लामो समय सरकार चलाउन पाउनुपर्ने बताउँदै उनले एउटा कार्यकारी पद राष्ट्रपति वा प्रधानमन्त्री छानेर जानुपर्ने बताए ।

    उनले अहिले संघ र प्रदेशमा भएका सांसदहरूको संख्या कटौती गरी जानुपर्ने आफ्नो स्पष्ट धारणा रहेको र त्यसबाट नै समस्या समाधान हुने तर्क गरे ।

  • नाउपाका चार मन्त्रीलाई रेशमको निर्देशन : सरकारको समर्थन जारी छ, राम्रो काम गर्नुहोस्

    नाउपाका चार मन्त्रीलाई रेशमको निर्देशन : सरकारको समर्थन जारी छ, राम्रो काम गर्नुहोस्

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न निर्देशन दिएका छन् ।

    आज आफ्नो बर्दियास्थित घरमा सुदूरपश्चिम प्रदेशका चार मन्त्रीहरूलाई नेता चौधरीले जनतालाई प्रधान मानेर काम गर्न निर्देशन दिएका हुन् ।

    रेशम चौधरी भेट्न सुदूरपश्चिम प्रदेशबाट शुक्रवार मन्त्रीको शपथ खाएका तीन जना र यस अघि नै मन्त्री रहेको एक जना गुलरिया गएका थिए ।

    नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका विभा विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।

    उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिएका हुन् ।

    ‘सरकारमा समर्थन रहन्छ । राम्रो काम गर्नुहोला उहाँले हामीलाई भन्नु भयो’ भेटमा रहेका एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उक्त भेटमा सम्भावित राजनैतिक परिस्थितका विषयमा पनि कुराकानी भएको थियो ।

    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिइसकेकी छन् ।

    समर्थन फिर्ता लिन समेत उनले संसदीय दलको नेतालाई निर्देशन दिइसकेकी छन् । नभए कारबाही गर्न सम्मको चेतावनी दिएकी हुन् ।

    यता समर्थन फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

    ‘आज दलको बैठक बसेको छैन समर्थन फिर्ता गर्ने भन्ने विषयमा त्यही बैठकमा छलफल हुन्छ ’ उनले भने ‘अहिले सम्म हाम्रो समर्थन यो सरकारलाई छ ।’

  • सुदूरपश्चिम सरकारमा सहभागीपछि नाउपाभित्र किचलो, अध्यक्ष श्रेष्ठ भन्छिन्- मन्त्रीहरूलाई कारबाही हुन्छ

    सुदूरपश्चिम सरकारमा सहभागीपछि नाउपाभित्र किचलो, अध्यक्ष श्रेष्ठ भन्छिन्- मन्त्रीहरूलाई कारबाही हुन्छ

    कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी भएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र किचलो सुरु भएको छ । तत्काल सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा केन्द्रमा छलफल चलिरहेकै बेला प्रदेशमा मन्त्रीले शपथ ग्रहण गरेपछि पार्टीभित्र विवाद सुरु भएको हो । अहिले सरकारमा सहभागी भएकाहरूलाई कारबाही गर्नुपर्ने विषय पार्टीभित्र उठेको नाउपा स्रोतले बताएको छ ।

    पार्टीको अध्यक्षमा निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता नदिएपछि अहिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । उनी निकट स्रोतका अनुसार अहिले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने पार्टीको नीति होइन । पार्टीको केन्द्रीय नीतिविपरीत तीन जनाले हिजो कांग्रेस नेतृत्वको सरकारमा शपथ ग्रहण गरेका थिए ।

    मुख्यमन्त्री कमलबहादुर शाहले संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नाउपाकै कैलाश चौधरी रहेका थिए ।

    आफ्नै पार्टीका राज्यमन्त्रीलाई विनाजानकारी हटाएर अर्का सांसदलाई राज्यमन्त्रीको शपथ ग्रहण गराएपछि पार्टीभित्र किचलो सुरु भएको हो ।

    ‘पहिलो कुरा त पार्टी सरकारमा जाने वा नजाने भन्ने कुनै निर्णय नहुँदै प्रदेशमा मन्त्री नियुक्त भएको कुरा गम्भीर हो । यस विषयमा केन्द्रीय अध्यक्ष गम्भीर हुनुभएको छ’, श्रेष्ठ निकट स्रोतले भन्यो, ‘उहाँहरूलाई कारबाही गर्ने तयारी छ ।’

    सरकारमा नियुक्त पार्टीका दुई प्रत्यक्ष निर्वाचित र एक समानुपातिक सांसद हुन् । प्रत्यक्ष निर्वाचितलाई पार्टीको जिम्मेवारीबाट हटाउने र समानुपातिक सांसदलाई सांसद पदबाटै हटाउने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

    पार्टीकी अध्यक्ष श्रेष्ठले पनि सरकारमा सहभागी हुनेहरूलाई कारबाही गरिने बताइन् ।

    ‘कुनै छलफलविना, योजना र निर्देशनविना उहाँहरू सरकारमा सहभागी हुनुभएको हो । यस विषयमा मलाई कुनै जानकारी छैन’, उनले भनिन्, ‘यसरी पार्टीको विधिविपरीत सरकारमा सहभागी हुनेहरूलाई कारबाही हुन्छ ।’

    यता अर्थमन्त्रीको जिम्मेवारी पाएका नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सबैको सल्लाहपछि मात्रै सरकारमा सहभागी भएको बताएका छन् । यस विषयमा केन्द्रीय अध्यक्षलाई पनि जानकारी गराइएको उनको दाबी छ ।

    स्रोतका अनुसार रेशम चौधरी सुदूरपश्चिम सरकारमा सहभागी हुनुपर्ने जोडमा थिए भने श्रेष्ठ तत्काल सरकारमा सहभागी नहुने जोडमा थिइन् । केन्द्रमा एमाले-माओवादीकै सरकारलाई समर्थन रहने भन्दै प्रदेशमा पनि त्योभन्दा फरक गठबन्धनमा सहभागी हुन नसकिने उनको जिकिर छ ।

    चौधरी भने धनगढीमै बसेर सरकार गठनको गृहकार्यमा सहभागी रहेका थिए ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका ३ मन्त्री थप, राति नै शपथ

    सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका ३ मन्त्री थप, राति नै शपथ

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका छन् । पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाहले केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी र नेकपा एसका मन्त्री हटाएका थिए ।

    वैकल्पिक गठबन्धनको ध्याउन्नमा लागेका उनले नाउपाबाट मन्त्री थपेका हुन् ।

    नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई उनले मन्त्री नियुक्त गरेका हुन् । संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।

    उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।

    यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी थिए । उनलाई यथावत् राखिएको छ भने राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर उक्त स्थानमा नाउपाकै इन्दिरालाई नियुक्त गरिएको छ ।

    माओवादी र नेकपा एसको समर्थनपश्चात मुख्यमन्त्री शाहले अल्पमतकै अवस्थामा सरकार विस्तार गरेका हुन् । उनको साथमा नागरिक उन्मुक्तिको पार्टीमात्रैको समर्थन हुँदा पनि बहुमत पुग्दैन । यहाँ स्वतन्त्र र राप्रपाका एक-एक जना सांसद छन् । उनीहरु दुवैजना शाह नेतृत्वको सरकारमा सहभागी हुँदा मात्रै बहुमत पुग्ने अवस्था देखिन्छ ।

    यसअघि मुख्यमन्त्री शाहले राप्रपा सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा ल्याउने गरी कसरत गरेका थिए । राप्रपाले केन्द्रमा कुनै निर्णय नभएको भन्दै सरकारमा तत्काल सरकारमा नजाने बताएको छ ।

    स्वतन्त्र सांसद जोशी पनि आफूले यस विषयमा कुनै निर्णय नगरेको बताउँछन् ।

    ५२ जना सांसद रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना चाहिन्छ । अहिले कांग्रेस नेतृत्वको सरकारलाई माओवादी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिइसकेको छ ।

  • मुख्यमन्त्रीको बार्गेनिङमा उपेन्द्र यादव, सीके राउत र रेशम चौधरी

    मुख्यमन्त्रीको बार्गेनिङमा उपेन्द्र यादव, सीके राउत र रेशम चौधरी

    जनकपुरधाम । नेपाली काँग्रेस छाडेर नेकपा एमालेसहितका दलसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्ड नयाँ गठबन्धन बनाएपछि साना तीन दल मुख्यमन्त्रीको बार्गेनिङ गरिरहेका छन् ।

    मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच मुख्यमन्त्रीका लागि टसल परेको छ । यो प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री छन् । उनलाई हटाए मात्र नयाँ गठबन्धनमा सहभागी हुने जनमतको मुख्य बदमलाइन छ ।

    जसपा भने मुख्यमन्त्रीलाई बाँकी ४ वर्षको पुरा कार्यकाल सुरक्षित चाहेका छन् । नयाँ गठबन्धन बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवको भूमिका पनि छ । आठ बुदैं सहमतिमा अध्यक्ष यादले पनि हस्ताक्षर गरे । तर प्रदेश सरकार असुरक्षित देखेपछि जसपा पछाडि हटेको छ ।

    सरकारमा जाने/नजाने निर्णय गर्न आज विहान जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । तर बैठक अनिर्णित बन्यो । जसपा प्रवक्ता मनिष सुमनले भने, ‘मधेश सरकार सुरक्षाको ग्यारेन्टी नभएसम्म नयाँ गठबन्धन वा संघ सरकारमा जाँदैनौं ।’

    मधेशमा जनमत र जसपाबीच प्रतिस्पर्धा छ । मुख्यमन्त्री यादवले जसपा अध्यक्षबाट राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गराउन जनमतका तत्कालिन मन्त्री र नेता कार्यकर्तामाथि बल प्रयोग गर्न लगाएका थिए । सोही कारण जनमत सरकार छाड्यो ।

    राजविराज घटनाभन्दा पनि पहिलेदेखि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत एक अर्कालाई हेर्न सक्दैनन् । त्यसैले जनमत मधेशबाट जसरी पनि जसपालाई सत्ताच्यूत पार्न चाहेका छन् ।

    मधेशका मुख्यमन्त्रीलाई नै बार्गेनिङ पोइन्ट बनाएका जनमत पनि अहिलेसम्म सरकारमा जाने/नजाने केहि गर्न गरेका छैन । जनमतका सचिव विपी साहले मधेशको मुख्यमन्त्री दिएपछि मात्र वर्तमान गठबन्धनमा सहभागी हुने बताए ।

    नयाँ गठबन्धनमा नेकपा एस सहभागी भएकाे छ । यद्दपी गठबन्धनमा जनमत वा जसपा सहभागी नभए मधेशमा नयाँ सरकार गठन गर्न सकस पर्नेछ । त्यसैले मधेशमा जनमत वा जसपामध्ये कुनै एक दललाई गठबन्धनमा ल्याएर मुख्यमन्त्री दिने सम्भावना छ ।

    यता, नागरिक उन्मुक्ति पार्टी पनि नयाँ गठबन्धनमा सहभागी हुने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको छ । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीबिना नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन । त्यसैपनि सो पार्टीका अध्यक्ष रेशम चौधरी मुख्यमन्त्रीलाई बटमलाइन बनाएका छन् ।

    नयाँ गठबन्धन बनेलगत्तै मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमती पनि भएको थियो । तर जसपा मधेशमा चार वर्षकै लागि मुख्यमन्त्री सुनिश्चित गराउन खोज्दा गठबन्धनमा कुरा मिलेन ।

    जसपाले आलोपालोमा सहमती नगरे जनमतलाई गठबन्धनमा सहभागी गराउन सक्ने सम्भावना छ । नागरिक उन्मुक्तिले पनि चार वर्षकै लागि मुख्यमन्त्री खोजेको छ ।

     

     

  • प्रतिपक्षी भूमिकामा बस्ने नाउपाको निर्णय (भिडिओ)

    प्रतिपक्षी भूमिकामा बस्ने नाउपाको निर्णय (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए ।

    चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए । उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे ।

    त्यस्तै, चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गरे । टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ ।

  • बालुवाटारबाट निस्किँदै रेशमले भने- सुदूरपश्चिम मुख्यमन्त्रीमा हाम्रो दाबी (भिडिओ)

    बालुवाटारबाट निस्किँदै रेशमले भने- सुदूरपश्चिम मुख्यमन्त्रीमा हाम्रो दाबी (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए ।

    उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’

    उनले तीन प्रदेश र संघमा आफ्नो पार्टीको प्रतिनिधित्व रहेकाले सोहीअनुसारको सहभागिता निश्चित हुनुपर्ने बताए ।

    ‘गठबन्धन भत्किएर नयाँ बनेको साँचो हो, म अहिले नयाँ टीमको बैठकबाट निस्केको देख्नुभयो, हामी तीन प्रदेश र संघमा छौं, सुदूरपश्चिममा त हामी निणाृयक छौं,यही अनुसार अगाडि बढ्न आग्रह गरेर निस्केको छु ।’

    चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री जसरी पनि लिने विषय भएको बताएका छन् ।

    ‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’

  • रेशमलाई नाउपा अध्यक्षको वैधानिकता दिने विषयमा आयोग अझै अनिर्णीत

    रेशमलाई नाउपा अध्यक्षको वैधानिकता दिने विषयमा आयोग अझै अनिर्णीत

    कैलाली । राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले अझै निर्वाचन आयोगबाट अध्यक्षको वैधता पाएका छैनन् ।

    महाधिवेशन सकिएको एक महिना भित्रै उनले पार्टी अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । तर, आयोगले अझै सम्म उनी अध्यक्ष बन्न योग्य रहेको वा नरहेको भन्ने बारे कुनै निर्णय गरेको छैन ।

    पुस २६ गते देखी कैलालीको टिकापुरमा भएको नाउपाको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

    उनी अध्यक्षमा निर्वाचित भए लगत्तै निर्वाचन आयोगमा उनलाई अध्यक्षमा वैधानिकता नदिन भन्दै उजुरी परेको थियो । त्यस पछि लगातार उनका विरुद्धमा दुई उजुरी परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

    राजनीतिक दल सम्बन्धी ऐनमा नैतिक पतन देखिने र फौजदारी अभियोगमा कसुर नभएकोले मात्रै दलको सदस्यता लिन पाउने व्यवस्था छ । तर, रेशम चौधरीलाई कानुनले नै टीकापुर घटनाको दोषी ठहर गरेको छ ।

    उनी विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । दलको सदस्यता नै नपाउने व्यवस्था रहेको तर, चौधरी अध्यक्ष भएको भन्दै उनी विरुद्ध परेको उजुरी माथि पनि आयोगले छानबिन गरिरहेको छ ।

    त्यस लगत्तै रन्जिता चौधरी र रेशम चौधरीलाई आयोगले योग्यता पुग्छ कि पुग्दैन भनेर प्रश्न सोधेको थियो । उनीहरू दुवै जनाले आयोगले दिएको समय सीमा भित्रै आयोगलाई जवाफ दिएको निर्वाचन आयोग राजनैतिक दल व्यवस्था शाखाका उपसचिव टेकराज भुसालले जानकारी दिए ।

    ‘हामीलाई उजुरी परेपछि हामीले योग्यता पुग्छ कि पुग्दैन भनेर प्रश्न सोधेका थियौँ ’ उनले। भने ‘उहाँहरूको जवाफ आइसकेको छ । ’

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि रेशम चौधरीको विषयमा आयोगले कुनै ठोस निर्णय नगरिसकेको बताए ।

    उनले भने, ‘हामी कहाँ अद्यावधिकका लागि आएपछि हामीले केही प्रश्न सोधका थियौँ उनले भने दुबैबाट जवाफ आइसकेको छ अब त्यो हेरेर निकट भविष्यमै आयोगले यस विषयमा निर्णय गर्छ ।’

  • नाउपाको उपाध्यक्षमा भएन सहमति, निर्वाचन हुँदै

    नाउपाको उपाध्यक्षमा भएन सहमति, निर्वाचन हुँदै

    कैलाली । कैलालीको टिकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन अहिलेसम्म टुङ्गिएको छैन । अध्यक्षसहित २७ पदाधिकारी र २४५ सदस्य निर्विरोध निर्वाचित भएपनि उपाध्यक्ष पदमा भने सहमति नभएपछि निर्वाचन गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए ।

    उनले भने, ‘सबै टुङ्गियो २ उपाध्यक्षका कारण निर्वाचन हुने भयो । हामी मतदानको तयारी गर्दै छौँ ।’ एक प्रदेश एक उपाध्यक्षको व्यवस्था गरेको नाउपाले ५ प्रदेशको उपाध्यक्ष सर्वसम्मत टुङ्गो लगाएको हो । तर, बागमती र लुम्बिनीमा समस्या देखियो ।

    बागमतीको एक पदका तीन जनाको उम्मेदवारी छ भने लुम्बिनी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी नै परेको थिएन । बागमतीमा मतदान गरेर टुङ्गो लगाउने र लुम्बिनीको उपाध्यक्षका लागि फेरी उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिए ।

    त्यस अघि महासचिवमा पनि सहमति भएको थिए । एक पदको महासचिवमा ठाकुर सिंह थारु, गङ्गा चौधरी र धर्म बहादुर चौधरीले पनि दाबी गरे पनि महासचिव पदमा पनि सहमति हुन सकेको थिए । मध्यरातमा विधान संशोधन गरेर एक पदको महासचिवलाई २ पद बनाउने निर्णय गरिएको छ । त्यो सँगै ठाकुरसिंह थारु र गङ्गाप्रसाद चौधरी महासचिवका निर्वाचित भएको घोषणा मध्यरातमा गरियो ।

    महाधिवेशनले अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीसहित सह महासचिव, सचिव र सहसचिव पदमा पनि निर्विरोध भएका थिए । २४५ केन्द्रीय सदस्य तथा सर्वसम्मत भएका २७ पदाधिकारीलाई हिजो राति नै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिसकिएको छ ।

  • नाउपा महाधिवेशन : रेशम चौधरी सहित तीन पदाधिकारी निर्विरोध हुदा अन्यमा क-कसको छ उम्मेदवारी

    नाउपा महाधिवेशन : रेशम चौधरी सहित तीन पदाधिकारी निर्विरोध हुदा अन्यमा क-कसको छ उम्मेदवारी

    कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन टिकापुरमा जारी छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीको निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै, ७ पदको उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । १ जनाको पद रहेको महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । ७ जना सहमहासचिवमा ७ जनाकै उम्मेदवारी छ । सचिवमा ४ जनामा ४ जनाको उम्मेदवारी छ भने सहसचिवका ७ पदमा ६ जनाको उम्मेदवारी छ ।

    कुन पदमा कसको छ उम्मेदवारी ?

     

  • नाउपाको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध

    नाउपाको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध

    कैलाली । नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

    उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

    पण्डित यस अघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए ।

    रेशम चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको घोषणा भइसकेको छ ।

    अन्य पदमा बढी उम्मेदवारी परेका कारण अहिले छलफल गरि सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ

     

  • नाउपाको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    नाउपाको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।

    चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन ।

    महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।

  • नाउपा अध्यक्षका लागि रेशमले दिए उम्मेदवारी, महासचिवमा आधा दर्जनको दाबी

    नाउपा अध्यक्षका लागि रेशमले दिए उम्मेदवारी, महासचिवमा आधा दर्जनको दाबी

    टीकापुर । नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् । अहिले पनि उम्मेदवारी दर्ता जारी छ । स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

    महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् । सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ ।

  • नाउपाको नेतृत्व चयन प्रक्रिया सुरू- निर्वाचन कार्यक्रम सार्वजनिक

    नाउपाको नेतृत्व चयन प्रक्रिया सुरू- निर्वाचन कार्यक्रम सार्वजनिक

    कैलाली । कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ । सर्वसम्मतको प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए ।

    हिजो रातिबाट सुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो । त्यसपछि सहमतिको प्रयास गरिए पनि केही पदमा आकांक्षी बढी देखिएका छन् । निर्वाचन तालिकाअनुसार अहिले मतदाता नामावली प्रकाशित गरिएको छ ।

    छुटेका मतदाताको नामावली उल्लेख गर्ने र उजुरीको समय ११ बजे सम्मलाई तोकिएको थियो । सवा ११ सम्म छानबिन र कारबाही गर्नै र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजेदेखि उम्मेदवारी दर्ता , सवा १२ मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ ।

    उम्मेदवारी फिर्ता लिने र निर्विरोध भए १ बजे घोषणा गर्ने साथै एकभन्दा बढी उम्मेदवारीमा पौने २ बाट मतदानको समय तोकिएको छ ।

  • प्रचण्ड नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

    प्रचण्ड नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

    कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ ।

    कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

    महाधिवेशनमा माधव नेपालबाहेक प्रमुख पार्टीका शीर्ष नेता आएनन् ।आज सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

  • आजबाट टीकापुरमा नाउपाको पहिलो महाधिवेशन

    आजबाट टीकापुरमा नाउपाको पहिलो महाधिवेशन

    टीकापुर । कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन सुरू हुँदैछ । आज, भोलि र पर्सिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने बताउँछन् । नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको हो ।

    पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नाउपालाई हिमाल, पहाड र तराईको साझा पार्टी बनाउने चौधरीको दाबी छ ।

    ‘देशभरबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौं । ५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ । नागरिक उन्मुक्ति पार्टीप्रति निकै राम्रो चर्चा छ उत्साह छ’ उनले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ ।’

    महाधिवेशनको उद्घाटन समारोहका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टीकापुर आइसकेका छन् । बाबुराम भट्टराईलगायतका नेताहरू पनि आउँदै छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने बताइए पनि उनी आउने सम्भावना क्षीण गरेको जनाइएको छ ।

  • राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन

    राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन

    काठमाडौं । राष्ट्रिय सभाको १९ सीटमा गठबन्धनका चार ठूला दलले भागबन्डा गरेपछि साना दलले असन्तुष्टि जनाएका छन् ।

    कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएपछि गठबन्धन आबद्ध साना दल चिढिएका हुन् । तर, गठबन्धनको विकल्प खोजिहाल्ने परिस्थितिमा पनि छैनन् ।

    ठूला दलले मिलेर भाग लिएपछि गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भएको हो ।

    गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताए ।

    सरकारलाई समर्थन गरे पनि कतै भाग नलिएको जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

    जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलको नाममा सहमति बनेको छ। उनी गत प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट पराजित भएकी थिइन् ।

    अध्यक्ष केसीले भने, ‘गठबन्धनमा मनोनीत एउटा हामीलाई दिने भन्ने सहमति भएको छ। हेरौँ अब फागुनसम्ममा के हुन्छ ।’

    तर, गठबन्धनको निर्णयप्रति असन्तुष्ट जनमतले लुम्बिनी र मधेश प्रदेशमा आफ्नो उम्मेदवार उठाउने प्रवक्ता डा. शरद यादवले बताए । उनले भने, ‘हामीले मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ ।’

    पार्टीबाट उम्मेदवार पनि तय गरिसकेका छौँ। गठबन्धनको निर्णयमा केही फेरबदल नभएसम्म हामीले बेलुकासम्ममा उम्मेदवारी दर्ता गराउँछौँ ।

    तर, राष्ट्रियसभामा एक सीट दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले भने गठबन्धनको निर्णयमै चित्त बुझाउने भएको छ ।

    नाउपाका संरक्षक रेशम चौधरी भन्छन्, ‘हामीले एक सीटको दाबी गरेको थियौँ । तर, पाएनौँ । अब गठबन्धनमा भएको निर्णय स्वीकारेर जान्छौँ ।’

    उनले आफ्नो पार्टीको महाधिवेशनपछि गठबन्धनका शीर्ष नेताहरूसँग बस्ने सहमति भएको बताए । उनले भने, ‘हाम्रो महाधिवेशनपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ । त्यहाँ हामीले उठाएको मुद्दालाई सम्बोधन गर्ने आवश्वासन पाएका छौँ ।’

    यस्तै, लोसपाले पनि गठबन्धनको निर्णय स्वीकारेर अघि बढ्ने नेता केशव झाले बताए । उनले भने, हामीले गठबन्धनमा एक सीटको दाबी गरेका थियौँ । तर, नपाएपछि अब हामी यसलाई मानेरै अगाडि बढ्छौँ । हामीले बेग्लै तयारी सोचेका छैनौँ ।

    माघ ११ गते १९ सीटको लागि हुने निर्वाचनको अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।

  • महाधिवेशनको तयारीमा नागरिक उन्मुक्ति: प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढी सहभागी हुने दाबी

    महाधिवेशनको तयारीमा नागरिक उन्मुक्ति: प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढी सहभागी हुने दाबी

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले आगामी पौष २६ २७ र २८ गते हुने प्रथम महाधिवेशनका लागि तीव्र तयारी गरिरहेको जनाएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने बताए ।

    ‘देशभरिबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौँ । ५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ । नागरिक उन्मुक्ति पार्टी प्रति निकै राम्रो चर्चा छ उत्साह छ’ उनले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ ।’

    कार्यक्रममा सहभागी हुनेहरूलाई मासु भात नखुवाएर पहिचानको खाना खुवाउने योजना बनाएको उनले बताए । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए ।

    ‘प्रधानमन्त्रीले उद्घाटन गर्नु हुन्छ । माधव, बाबुराम, डा सिके रावत, उपेन्द्र यादव सबैलाई भेटेरै निम्तो दिएका छौँ उहाँहरू पनि आउँछु हुन्छ’ उनले भने, ‘केपी ओली मिति हेरेर खबर गर्छु भन्नु भएको छ । शेरबहादुर देउवाले मुख्यमन्त्री सहित संघको मन्त्रीलाई पनि आफ्नो शुभकामना सन्देश पठाउँछु भन्नु भएको छ । ’

    सबै दलको प्रमुख नेताहरू आउने बताउँदै उनले भारतबाट भाजपाका प्रतिनिधिहरू पनि महाधिवेशनमा आउने बताए । थाइल्यान्ड केन्याबाट पनि प्रतिनिधिहरू आउने उनले बताए । उनका अनुसार भारतको झारखण्डबाट टिकापुरमा कलाकारहरू आउने छन् ।

    बिभिन्न प्रदेशबाट पहिचान सहितका झाँकी समेत आउने चौधरीले बताए । उनका अनुसार एक लाख भन्दा धेरै नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीको उद्घाटन सभामा उपस्थित हुने छन् ।

    ‘उक्त महाधिवेशनबाट ३९ पदाधिकारी सहित ५०१ सदस्य निर्वाचित हुने छन् । २४६ जना प्रत्यक्ष निर्वाचित हुने छ’ उनले भने ‘२५५ जनालाई मनोनीत गर्ने गरि महाधिवेशन गर्न लागिएको उनले बताए । ’

    चौधरीले आफूहरूले स्थापना गरेको पार्टी छोटो समयमै स्थापित भएको दाबी गरे । २०७८ फागुन ३ गते पार्टीले आधिकारिकता पाएका हो । डेढ महिनामा १०० जना स्थानीय प्रतिनिधि जिताउन सफल भएको बताए । उनले भने,‘ त्यसको केही महिनामै प्रदेश सभामा १२ जना र संघीयमा ४ जना माननीय जित्यौँ । ’

    अहिले नागरिक उन्मुक्तिका प्रदेशमा तीन जना र संघमा एक जना मन्त्री छन् । उनले ती मन्त्रीहरूले पनि देखिने गरि काम गर्न आवश्यक रहेको बताए ।

    उनले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीले एक सिट पाउने र सुदूरपश्चिममा एक सिट दाबी गरिएको बताए। उनी भन्छन्, ‘हामीले सुदूरपश्चिम प्रदेशमा एक सिट दाबी गरेका छौँ २१ गते गठबन्धन दलको बैठक बस्दै छ । जुन कलस्टर हामीलाई पर्छ हामी त्यहि अनुसार नाम सिफारिस गर्छौ ’

  • राष्ट्रियसभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिको यस्तो छ दाबी, अन्य नियुक्तिमा पनि खोज्यो हिस्सा

    राष्ट्रियसभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिको यस्तो छ दाबी, अन्य नियुक्तिमा पनि खोज्यो हिस्सा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ ।

    नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे छलफल गरेका हुन् ।

    माघ ११ गते राष्ट्रियसभाका १९ सीटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी भइरहेका बेला नागरिक उन्मुक्तिले कम्तीमा एक सीट दाबी गरेको हो ।

    नाउपा संरक्षक चौधरीले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचन र लुम्बिनी प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताए ।

    उनले आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको र उक्त मतभार महत्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने बताए ।

    नाउपाको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

    भेटमा लुम्बिनी सरकार विस्तारको अलमल र त्यहाँ उत्पन्न गठबन्धनभित्रकै समस्याबारे समेत छलफल भएको चौधरीले नेपाल प्रेसलाई बताए । नाउपाले सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्तिहरुमा समेत गठबन्धनको आकारअनुसार आफूले पनि प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ ।

    गठबन्धनमा आबद्ध दलमध्ये नाउपासँग संघीय संसदमा ४ सीट रहेको छ ।

  • राजनीतिक दलको महाधिवेशनमा नागरिक उन्मुक्तिको कीर्तिमान, ८ हजार प्रतिनिधि सहभागी हुने

    राजनीतिक दलको महाधिवेशनमा नागरिक उन्मुक्तिको कीर्तिमान, ८ हजार प्रतिनिधि सहभागी हुने

    धनगढी । नेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको छ ।

    पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने पार्टीका संरक्षक तथा संस्थापक नेता रेशमलाल चौधरीले जानकारी दिए ।

    नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने चौधरीले बताए ।

    नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सकेसम्म ७७ वटै जिल्लाको प्रतिनिधि गराउन नेताहरूलाई खटाइएको चौधरीले बताए ।

    हालसम्म महाधिवेशन प्रतिनिधि चयन भएका जिल्लामा अनुगमन टोली खटाएर उनीहरूको पृष्ठभूमिबारे अध्ययन थालिएको बताए । घुसपैठ नहोस् भनेर अनुगमनकर्ता खटाइएको हो ।

    अब पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि कम्तीमा एक पालिकादेखि निर्वाचन क्षेत्रसम्म अनिवार्यरुपमा गएर महाधिवेशन प्रतिनिधि बनाउन १५ दिने सूचना जारी गरिएको चौधरीले बताए ।

    जहाँ पार्टीको संगठन विस्तार भइसकेको छैन,त्यहाँ गएर महाधिवेशन प्रतिनिधि चयन गर्ने जिम्मेवारी उनीहरूलाई छ । अनुगमनकर्ताले नै पर्यवेक्षक पनि छनौट गर्ने तर उनीहरूले मतदानको अधिकार भने पाउने छैनन् ।

    प्रायः राजनीतिक दलले महाधिवेशन प्रतिनिधि कमभन्दा कम चयन गर्छन् । तर नाउपाले भने ८ हजार प्रतिनिधिका बीच टिकापुरमा महाधिवेशन गर्दैछ । उनीहरूको व्यवस्थापन समेत त्यहीँ गरिनेछ ।

    पार्टीको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना रहेको संरक्षक चौधरीले बताए । अहिले पार्टी नेतृत्व भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गरिरहेकी छन् ।

    चौधरीले नाउपालाई हिमाल,पहाड र तराईका जनताको साझा पार्टीका रूपमा विकास गरिने बताए ।

    यी हुन् नागरिक उन्मुक्तिका अनुगमनकर्ता

  • कमलामाईलाई साक्षी राखेर रविले भने- मधेशलाई हृदयभित्र राखेर काम गर्छु

    कमलामाईलाई साक्षी राखेर रविले भने- मधेशलाई हृदयभित्र राखेर काम गर्छु

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।

    केहि दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भए ।

    आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।

    उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’

    उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए ।

    उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’

    उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।

  • सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

    सरकार जनतालाई झुक्क्याउने काममा निरन्तर लागेको छ : रवि लामिछाने (भिडिओ)

    काठमाडाैं । रास्वापका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका हुन् ।

    उनले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरूप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

    यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

    त्यस्तै उनले नेपाल संवतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।

  • रेशम चौधरी भन्छन्- पुराना दलहरूले मलाई जेलभित्रै सडाउन चाहेका छन् (भिडिओ)

    रेशम चौधरी भन्छन्- पुराना दलहरूले मलाई जेलभित्रै सडाउन चाहेका छन् (भिडिओ)

    जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुन: जेल पठाउन षड्यन्त्र गरिरहेको आरोप लगाउका छन् ।

    रिगलको आममाफी बदरसँगै रेशम पनि जेल जानसक्ने चर्चा भइरहँदा उनले टीकापुरमा आफ्नो दोष भगवान्‌ले पनि पुष्टि गर्न नसक्ने जिकिर गरे ।

    केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने- ‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । ईश्वर छन् भने मलाई लाग्छ यो देशमा यो  संसारमा जिसस क्राइस्ट, बुद्ध, ब्रम्हा, विष्णु, महेश, शिव भगवान् कसैले पनि मेरो दोषलाई प्रमाणित गर्न सक्दैनन् ।’

    घटना संलग्नता रहेकाले दोषी ठहर भयो र राजनीति दबाबमा राष्ट्रपतिबाट माफी पाए भन्ने भनिन्छ नी ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए रेशम चौधरी कारागारमा झुण्डिएको हेर्न चाहनुहुन्छ ? के रेशम चौधरीको मृत्यु कारागारमै भइदिए थपडी बजाउन चाहनुहुन्छ ?’

    उनले पुराना दलहरु आफूलाई जेल राखिराख्न चाहेको पनि बताए ।

    ‘मधेसका राजवन्दीहरुलाई अझै छाडिएको छैन,’ चौधरीले भने, ‘उनीहरू (पुराना दलहरूले) त रेशम चौधरी जेलभित्रै सडिरहोस् चाहेकै छन् ।’

    उनले साढे ८ वर्ष जेल बस्ने पाँच औंलामा गन्दा आफू पनि पर्ने बताउँछन् । राज्यले सतायो तर त्यसभित्र अधिकार खोज्ने क्रममा जनताले दिएको सहमतिले आफू रिहा भएको उनले भनाई छ ।

    राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएको ५ महिनापछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पुनः जेल जाने चर्चा चल्न थालेको छ ।

  • रेशमको आममाफीविरुद्धको पेसी स्थगित, छाडिएका अन्य ३ को भने सुनुवाइ हुने

    रेशमको आममाफीविरुद्धको पेसी स्थगित, छाडिएका अन्य ३ को भने सुनुवाइ हुने

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    टीकापुर घटनाकै अर्को मुद्दामा भने सुनुवाइ हुने भएको छ । चौधरी रास्ट्रपतिबाट आम माफी पाएर जेठ १५ गते रिहा भएका थिए । १६ गते उक्त कदम बदरको माग सहित रिट दर्ता गरिएको थियो । टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । आज उक्त पेसी स्थगित भएको हो ।

    सोही घटनामा जेल परेर असोज ३ मा माफी मिनाहा पाएका थप तीनजना विरुद्धको रिटमा भने आज सुनुवाइ हुने भएको छ । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चारजनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । तीमध्ये एक नाबालक हुन् ।

    नाबालक बाहेक अन्य तीनजना विरुद्ध पनि रिट परेको थियो । आज रेशम चौधरीको मुद्दामा सुनुवाइ स्थगित भएपनि अन्य तीनजनाको माफी मिनाहा बदरको माग गरी दिएको रिटमा सुनुवाइ हुने अधिवक्ता इन्द्र अर्यालले जानकारी दिए । उक्त पेशी प्रकाशमान सिंह रावलको इजलासमा परेको छ ।

  • नागरिक उन्मुक्तिमा पार्टीको कार्यकारी अधिकार पनि रेशम चौधरीलाई, यी हुन् अन्य निर्णय

    नागरिक उन्मुक्तिमा पार्टीको कार्यकारी अधिकार पनि रेशम चौधरीलाई, यी हुन् अन्य निर्णय

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको कार्यकारी अधिकार लिएका छन् । कैलालीका टीकापुरमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट संरक्षक चौधरीलाई आगामी महाधिवेशन सम्पन्न नहुँदा सम्म पार्टीको कार्यकारी अधिकार समेत दिने निर्णय गरिएको हो ।

    नागरिक उन्मुक्ति पार्टीले आगामी पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा पहिलो महाधिवेशन गर्न लागेको छ । उक्त महाधिवेशनका लागि संरक्षक चौधरीलाई आयोजक समितिको संयोजक तोक्नुका साथै कार्यकारी अधिकार दिने निर्णय गरिएको हो ।

    यस अघि सम्म पार्टीको कार्यकारी अधिकार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीमा रहेको थियो । उनी अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छन् । रेशम पत्नि समेत रहेकी पार्टी अध्यक्ष रन्जितामा रहेको अधिकार केन्द्रीय कमिटी बैठकले रेशमलाई दिने निर्णय गरिएको हो ।

    उक्त निर्णय गर्दा रन्जिता चौधरी बैठकमा थिइनन् । १२ गते देखी कैलालीको टिकापुरमा केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैठक उद्घाटन गर्दै रन्जिता काठमाडौँ फर्किइन् भने उता कैलालीमा अध्यक्षमा हुँदै आइरहेको अधिकार संरक्षकलाई दिने निर्णय गरियो ।

    पार्टी अध्यक्षकै अनुपस्थितिमा कार्यकारी अधिकार संरक्षकलाई दिने विषयले अहिले पार्टी भित्रै पनि विवाद सुरु भएको छ ।

    केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयअनुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, सांस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरी, अतिथि सत्कार समितिमा धर्म बहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डाक्टर सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दामोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

  • रेशमसँगको भेटपछि पनि ढुक्क भइनन् एलिजा, भन्छिन्-केही दिनमै गुड न्युज पाउनुहुन्छ

    रेशमसँगको भेटपछि पनि ढुक्क भइनन् एलिजा, भन्छिन्-केही दिनमै गुड न्युज पाउनुहुन्छ

    कैलाली । असार २१ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेकी कलाकार एलिजा गौतमले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटिन् । करिब २० मिनेटको संवादमा केही सहमति नजुटेको एलिजाले बताएकी छन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका स्वकीय सचिवलाई राजीनामा दिएको उनले बताइन् । त्यसपछि उनी साउन २८ गते एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी थिइन् ।

    एलिजा आगामी निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । तर, कुन दलबाट लड्ने भन्ने विषयमा अझै टुंगो नलागेको उनको भनाइ छ ।

    ‘राजनीति मैले छोडेको छैन । अर्को निर्वाचनमा जसरी पनि उठ्छु’, उनले भनिन्, ‘अहिलेबाटै तयारी गरिरहेको छु गाउँ ठाउँ जिल्लामा खटिरहेको छु’, उनको भनाइ छ ।

    पूर्वी नेपालबाट चुनाव लड्ने तयारीमा रहेको उनले बताइन् ।

    यस बीचमा ‘माननीय रेशमलाल चौधरी ज्यूको सचिवालय’ नामक फेसबुक पेजबाट एलिजाको राजीनामा अस्वीकृत भएको र आगामी १२ र १३ गते हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने भन्दै लेखेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।

    ‘त्यस्तो केही फिक्स भएको छैन । मेरो सहमतिविना त्यस्तो किन आइरहेको छ म आफैँ अचम्म मानिरहेको छु’, उनले भनिन्, ‘मैले कुनै डिसिजन दिएको छैन । केही कुरा एक दुई हप्तामा आउँछ यही पार्टी वा त्यही पार्टी भन्ने छैन । जे होस् केही गुड न्युज आउने सम्भावना छ ।’

    उनले नागरिक उन्मुक्ति पार्टीमा केही विषयमा चित्त नबुझेको र सोही पार्टीमा फर्किने सम्भावना पनि कम रहेको बताइन् ।

    नाउपामा राजीनामा दिएपछि ओलीलाई भेटेर एमाले फर्किन लागेको हो भन्ने विषयमा उनले भनिन्, ‘हेरौं जे पनि हुन सक्छ । केही गुड न्युज आउँछ ।’

    माघ १४ गते एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् ।

    नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डितले भने रेशम चौधरी र एलिजा गौतमबीचको वार्ता मिलेको बताए । उनले आगामी असोज १२ र १३ गते टीकापुरमा हुने केन्द्रीय समिति बैठकमा एलिजा सहभागी हुने समेत दाबी गरे ।

  • टीकापुर घटनाको ८ वर्ष :  बालक टेकबहादुरकाे सालिक राख्दै रेशमदम्पतीले गरे सद्भावकाे आह्वान

    टीकापुर घटनाको ८ वर्ष : बालक टेकबहादुरकाे सालिक राख्दै रेशमदम्पतीले गरे सद्भावकाे आह्वान

    कैलाली । टीकापुर घटनाको ८ वर्षपछि आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताएका छन् ।

    ‘टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्’, उनले भने, ‘हामी चाहन्छौ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ । ’

    २०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।
    आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गरिन् । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त थिए ।

    टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् । रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

    ‘केही राजबन्दी परिवार अझै पनि जेलमै हुनुहुन्छ । हामीले अपेक्षा गरेका छौं अबको असोज ३ गते संविधान दिवसको दिनमा राज्यले उहाँहरूलाई पनि रिहाइ गरिदिनुहुने छ ’ उनले भने ।

     

    के हो टीकापुर घटना ?

    २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेको थिए । त्यही संविधानमा आफूहरूको अधिकार सुनिश्चित गर्न भन्दै आन्दोलनमा रहेको यहाँका थारु समुदायहरू भने आठ वर्ष पहिले आजको दिन कहिल्यै भुल्न सक्दैनन् ।

    यहाँ कैलाली कञ्चनपुरलाई तराईका केही जिल्लामा जोडेर थारुवान्/थारुहट राज्यको माग भइरहेको थियो । यता सुदूरपश्चिम विकास क्षेत्रमा रहेका सबै जिल्लालाई अखण्ड राखेर ‘अखण्ड सुदूरपश्चिम’ को आवाज पनि उठिरहेको थियो । थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान् प्रदेशको बोर्ड टाँस्न खोजेका थिए ।

    त्यही क्रममा बोर्ड टाँस्न खोज्ने र रोक्नेबीच तनाव चुलियो । त्यसपछि २०७२ साल भदौ ७ गते आन्दोलन हिंसामा परिणत भयो । सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरू टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो ।

    तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए ।

    त्यही क्रममा एसएसपी न्यौपानेसहित आठजना र एक दूधे बालकको आन्दोलनकारीले हत्या गरे । घटनाको भोलिपल्ट कर्फ्यू लागेकै बेला थारु समुदायका घरहरू खोजीखोजी आगो लगाइएको थियो ।
    टीकापुरमा भएको घटनाको आज आठ वर्ष पुगेको छ । घटनापछि बिग्रिएको यहाँको सामाजिक सद्भाव बिस्तारै लयमा आइरहेको छ ।

    घटनाको स्मरण गर्ने दिन

    टीकापुरमा प्रत्येक वर्ष भदौ ७ गते थारु समुदायले घटनालाई स्मरण गर्ने गर्छन् । विगतको निरन्तरता दिँदै आज पनि कैलालीको टीकापुरमा थारु कल्याणकारिणी सभा र थरुहट-थारुवान् राष्ट्रिय मोर्चा र नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा भिन्दा भिन्दै कार्यक्रम गरिरहेका छन् ।

    उनीहरूले थारु भूगोलसहितको थरुहट प्रदेशको माग र टीकापुर घटनाका राजबन्दीको रिहाइको माग गर्दै आइरहेका छन् ।

    फरक फरक दलमा रहेका थारु नेताहरूले टीकापुर घटना अधिकारको आन्दोलनमा क्रममा भएको बताउँदै आइरहेका छन् ।

    त्यस्तै, सरकारले टीकापुर घटनापछि तराई-मधेशमा भएका हिंसात्मक आन्दोलनको सत्य तथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । सो आयोगले १४ महिनापछि २०७४ मंसिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले हालसम्म प्रतिवेदन गोप्य राखेको छ । सो आयोगको प्रतिवेदन सार्वजनिक नगरेर राज्यले अन्याय गरेको आन्दोलनकारीहरूको भनाइ छ ।

    को-को छन् कानुनी दायरामा ?

    टीकापुर घटनामा २८ जनामाथि मुद्दा चलाइएको छ । जसमध्ये ३१ जना अझै फरार सूचीमा छन् ।

    घटनापछि २७ जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागाले सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए ।

    त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।

    सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो ।

    यस्तै, संगम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०\२० वर्ष कैद सजाय भएको थियो । हाल रेशम चौधरी राष्ट्रपतिमार्फत कैद माफी पाइ जेलमुक्त भए पनि सोही कसुरमा उस्तै सजाय पाएका अन्य भने जेलमै छन् ।

  • लाल आयोगको प्रतिवेदन गोप्य राख्दा प्रचण्डलाई गाल, तर अदालतको आदेश बनेकाे छ पर्खाल

    लाल आयोगको प्रतिवेदन गोप्य राख्दा प्रचण्डलाई गाल, तर अदालतको आदेश बनेकाे छ पर्खाल

    कैलाली । २०७४ मंसिर २९ गते सरकारलाई बुझाइएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन अझसम्म सार्वजनिक गरिएको छैन । तराई-मधेशमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन ६ वर्षदेखि सरकारले गोप्य राखेको छ ।

    कैलालीको टीकापुर घटनाका सन्दर्भमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुरुबाटै यो प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । तर, अहिलेसम्म सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताउँछन् ।

    १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको तर आफूले सचिव नफेरेको स्पष्ट पारे ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘लाल आयोगको प्रतिवदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ । म त्यस खालका प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा म सुरुदेखि नै छु र यो मेरो पालामा अदालत गएको होइन, अब के गर्ने भन्ने कुरा म ध्यान दिनेछु । सचिव झिकिएको मेरो पालामा होइन ।’

    उनले यसअघि पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताएका थिए । जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका थिए ।

    ‘म आफैं पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेमा पर्छु’, प्रतिनिधिसभा बैठकमा जेठ ४ गते सांसद शिशिर खनालको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए ।

    २०७३ साउन २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका पूर्वनायब महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, पूर्वएआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी सुखचन्द्र झा, वरिष्ठ अधिवक्ता सुजन लोप्चन र अधिवक्ता खुसीप्रसाद थारू सदस्य र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख पदेन सदस्य सचिव रहेको आयोगले १ कात्तिक २०७३ मा काम सुरु गरेको थियो ।

    आयोगले १४ महिनापछि प्रतिवेदन तयार पारेर तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रचण्डमात्रै राजी भएका होइनन् । सत्ता गठबन्धनका अन्य दलहरू पनि एक ठाउँमा आइसकेका थिए । संयुक्त सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय उल्लेख थियो ।

    ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने’ साझा न्यूनतम कार्यक्रमको बुँदा नम्बर २.५ (४) मा भनिएको छ, ‘तराई मधेशमा भएका विभिन्न आन्दोलनका वेला लगाइएका मुद्दाको पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएका व्यक्तिको रिहाइ गर्ने ।’

    लाल आयोगको प्रतिवेदन २९ मङ्सिर २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेका थिए । साझा न्यूनतम कार्यक्रम पनि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताले सार्वजनिक गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका अरू दल पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तयार हुँदा पनि यो प्रतिवेदन किन गोप्य राखिएको छ ? टीकापुर घटनामा दोषी ठहर भएर आम माफी पाएका रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी वर्तमान सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । नागरिक उन्मुक्ति पार्टीकै अध्यक्ष मन्त्री रहेको सरकारका प्रधानमन्त्रीले पटक पटक भन्दा पनि किन प्रतिवेदन सार्वजनिक हुन सकेन ?

    जेठ ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए- ‘तपाईं प्रधानमन्त्री हुँदा थरुहट र मधेश आन्दोलनको छानबिन गर्न आयोग गठन भएको थियो । त्यसपछि तपाईंहरू पटक पटक सरकारमा जानुभयो । नीति तथा कार्यक्रममा पनि प्रतिवेदन सार्वजनिक गर्ने लेखियो । तर, सार्वजनिक गरिएन । सात वर्षपछि यहाँको नेतृत्वमा पुनः सरकार बनेको छ । थरुहट आन्दोलनको जगमा उठेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा छ । रिपोर्ट चाहिँ सरकारले सार्वजनिक गर्छ कि गर्दैन ? कहिलेसम्म गर्छ ?’

    खनालको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले आफू प्रतिवेदन सार्वजनिक गर्न तयार भएको तर, सर्वोच्च अदालतको फैसलाका कारण प्रतिवेदन रोकिएको बताएका थिए ।

    उनले भने, ‘त्यस (प्रतिवेदन)लाई कुन रूपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन सार्वजनिक नगर्नू भनेर फैसला गरेको जानकारी म यहाँ गराउन चाहन्छु ।’

    २०७८ साल चैत २० गते सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लाल आयोगबारे प्रतिवेदन सार्वजनिक गर्न भन्दै सूचना आयोगले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

    देउवा सरकारबाटै गोप्य राख्ने रणनीति

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सूचना आयोगले सरकारलाई निर्देशन दिएको थियो । तर, सरकार भने उक्त प्रतिवेदन गोप्य राख्न अदालत पुगेको थियो ।

    २०७८ चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले ‘सूचना आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने’ निर्णय गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले यस्तो निर्णय गरेको थियो ।

    उक्त मन्त्रिपरिषद् निर्णयमा भनिएको छ, ‘सूचना आयोगबाट ५ फागुन २०७८ मा प्रतिवेदन ६० दिनभित्र उपलब्ध गराउनु भनी जारी भएको आदेश बदर गरी पाउन सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने । सोसम्बन्धी कार्यका लागि नेपाल सरकारका मुख्यसचिवलाई अख्तियारी दिने ।’

    सर्वोच्च अदालतले ‘तीन महिनाभित्र निर्णय गर्नू’ भनी आदेश दिएपछि सूचना आयोगले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । सूचना आयोगको निर्देशनविरुद्ध तत्कालीन देउवा सरकारले अदालत जाने निर्णय गरेको थियो ।

    के छ प्रतिवेदनमा ?

    लाल आयोगको ७०९ पृष्ठ लामो प्रतिवेदनमा टीकापुर घटनामा मुख्य दोष सरकारलाई लगाइएको छ । घटना हुँदा सुरुमा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । पछि एमालेका केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।

    २०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई-मधेश र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्षसहितको प्रतिवेदन छ । अधिकारका लागि भएका शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको प्रसङ्ग पनि प्रतिवेदनमा छ ।

    जिम्मेवारी पूरा नगर्ने, प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने तथा आदेश पालना गर्ने तत्कालीन प्रहरी र स्थानीय प्रशासनका कर्मचारीमाथि अनुसन्धान र कारबाही गर्न पनि सिफारिस गरिएको छ ।

    प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्नुको मुख्य दोष सरकारलाई देखाइएको छ ।

    टीकापुर घटनामा अढाई वर्षीय बालक टेकबहादुर साउदको आन्दोलनकारीको गोलीले नभई प्रहरीको गोलीले मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यस विषयमा केही सञ्चार माध्ययमहरुमा पनि गिरिशचन्द्र लालले प्रतिक्रिया दिँदै आइरहेका छन् ।