Category: नागरिक उन्मुक्ति पार्टी

  • प्रज्ञा भवनमा नाउपा र जनमतका कार्यकर्ता विलखबन्द, पैसा नतिर्दा हल पनि बन्द

    प्रज्ञा भवनमा नाउपा र जनमतका कार्यकर्ता विलखबन्द, पैसा नतिर्दा हल पनि बन्द

    काठमाडौं । रेशम चौधरी पक्राउसँगै आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता कार्यक्रम विथोलिएको छ । कार्यक्रमस्थल प्रज्ञा भवनबाटै प्रहरीले रेशमलाई उठाएपछि दुवै पार्टीपंक्तिमा आश्चर्य र अन्योल छायो ।

    कार्यक्रमको सबै तयारी पूरा भइसकेको थियो । रेशम पनि प्रज्ञा भवनमा आइसकेका थिए । तर, अचानक कार्यक्रम भाँडिएपछि नेता–कार्यकर्ताहरु बिलखबन्दमा परेका छन् । जनमतका अध्यक्ष सिके राउतले पक्राउको भत्र्सना गरेका छन् ।

    एकता कार्यक्रम रद्द भए पनि दिउँसोसम्म प्रज्ञा भवनमा दुवै पार्टीका कार्यकर्ताहरुको भिड थियो । उनीहरु भवन परिसरमै समूह-समूह भएर अनौपचारिक कुराकानी गरिरहेका थिए । आआफ्नै अनुमान र अड्कलवाजीहरु भइरहेका छन् ।

    बुझिएअनुसार कार्यक्रमका लागि बुक गरिएको हलको पैसा तिरिएको छैन । ६ घण्टाका लागि डेढ लाखमा हल बुक गरिएको स्रोतले बतायो । तर, पैसा नतिरेका कारण हल खोलिएन, जसले गर्दा कार्यकर्ताहरु बाहिरै बस्न वाध्य भए ।

  • रञ्जिताले भनिन्- रेशमजी छिट्टै छुट्नुहुन्छ

    रञ्जिताले भनिन्- रेशमजी छिट्टै छुट्नुहुन्छ

    कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी छिट्टै रिहा हुने बताएकी छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा रेश छिट्टै रिहा हुने लेखेकी हुन् ।

    ‘रेशमजी छिट्टै छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु । जय नागरिक,’ रञ्जिताले लेखेकी छन् ।

    जनमत पार्टीसँग पार्टी एकता घोषणा तयारी भइरहँदा चौधरीलाई बुधबार प्रज्ञा भवन परिसरबाट पक्राउ गरी प्रहरीले डिल्ली बजार कारागारको जिम्मा लगाइएको छ ।

  • नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

    नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।

    संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने नेपाल प्रेसलाई बताए ।

  • आममाफी पाएका रेशम चौधरी किन पक्राउ परे ?

    आममाफी पाएका रेशम चौधरी किन पक्राउ परे ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ ।

    चौधरीलाई यसअघि २० वर्षको जेल सजाय तोकिएको भए पनि राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।

    प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेश दिएको छ ।

    कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरी स्रोतले बतायो ।

    सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी विश्व राज अधिकारीले जानकरी दिए ।

    कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेर अदालतले पेश गरेपछि थाहा हुने जनाइएको छ ।

    टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफी विरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।

    २०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

  • रेशमको पक्राउले नाउपा-जनमतबीचको एकता घोषणा कार्यक्रम भाँडियो

    रेशमको पक्राउले नाउपा-जनमतबीचको एकता घोषणा कार्यक्रम भाँडियो

    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता नहुने भएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि आजको घोषणा भाँडिएको हो ।

    जनमतका अध्यक्ष सीके राउतले पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर डिल्ली बजार कारागार पठाएको बताए ।

    उनले भने, ‘यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’

  • रेशम चौधरी पक्राउ

    रेशम चौधरी पक्राउ

    काठमाडौं । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।

    उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको नेपाल प्रेसलाई बताए ।

    २०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।

    ५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।

  • एकता नहुँदै नाउपा र जनमतबीच किचलो, नाम घोषणामा मिलेन कुरो

    एकता नहुँदै नाउपा र जनमतबीच किचलो, नाम घोषणामा मिलेन कुरो

    कैलाली । उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित आज पार्टी एकता गर्ने तयारी गरिएको छ । तर, सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नामका विषयमा विवाद हुँदा तोकिएको समयमा एकता घोषणा नहुने निश्चित जस्तै बनेको छ ।

    आज ११ बजे प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने तयारी गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसम्मको तयारी भएको थियो । तर, अहिले दुई दलबिच सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्य समितिका विषयमा कुरो बाझिएको छ ।

    एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५–२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

    २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबिच छलफलमा सहमति भएको थियो । अहिले नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको छैन ।

    नाउपाले सबै विषय टुङ्गो लगाएर मात्रै एकता गर्ने जनाएको छ भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सहअध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको छ ।

    यसअघि नै नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सिके रावत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने सहमति भइसकेको थियो ।

    जनमतका प्रवक्ता शरदसिंह यादवले एकतामा संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा हुने बताए ।

    ‘आज संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गर्ने गरी तयारी गरिरहेका छौँ केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयका नामहरू पछि टुङ्गाउँछौँ’, उनले भने ।

    यता नाउपाले भने केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयको सबै नामहरू टुङ्गिएपछि मात्रै एकता गर्ने जनाएको छ ।

    ‘थारु समुदायलाई धोका दिन चाहन्न , कुनै पनि विषय उधारो राखेर एकता गर्दैनौँ’, नाउपाका संरक्षक रेशम चौधरीले भने, ‘हामी एकताको पक्षमा छौँ तर, सबै विषय टुङ्गो लगाएर मात्रै एकता हुन्छ ।’

    नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराइसकेका छन् । अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यसमा सहमत छिन् । तर, अहिले केही विवाद एकताका अधिकांश विषय टुङ्गो लागिसकेको छ पार्टीको नाम नागरिक जनमत राख्न दुवै पार्टी सहमत छन् ।

    नेता–कार्यकर्ताहरूले ’जय नागरिक’ भनेर सम्बोधन गर्न र चुनाव चिन्ह ढकिया राख्ने विषयमा सहमति भइसकेको छ । तर, मुख्य विषयमा कुरा नमिल्दा एकतामै धक्का लाग्ने सङ्केत देखिएको छ ।

  • जनमत र नाउपाबीच वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने तयारी

    जनमत र नाउपाबीच वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने तयारी

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

    राउतको सचिवालयले भनेको छ, ‘धेरै पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

    उनले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत÷नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख छ ।

    ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्’ राउतको सचिवालयले भनेका छ ।

    उनले तोकिएको समयमा एकता हुने दाबी गरेका छन् । उनले भनेका छन्, ‘हामी आत्तिएका छैनौँ । तपाईँहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै ।’

    पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने दुई पार्टीबीच सहमति भइसकेको छ । भने अध्यक्ष राउत, संरक्षकमा रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने सहमति भएको छ। संयुक्त पार्टीको चुनाव चिन्ह ढकिया रहनेछ ।

    पार्टी एकता निश्चित भएपछि दुवैतर्फबाट कार्यदल बनाएर काम भइरहेको छ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ ।

    तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो । जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।

  • जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

    जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

    कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ । दुवै दलले बनाएको कार्यदलले निर्णायक छलफल जारी राखेका छन् । आइतबार बर्दियामा कार्यदलले संयुक्त रूपमा एकताको सबै प्रक्रिया पुरा गर्ने गरी छलफलमामा सहमति जुटाएका छन् ।

    एकताको लागि बनाइएको ९ बुँदे समझदारीमा करिब सहमति भइसकेको कार्यदलका सदस्य रामलाल डगौराले जानकारी दिए ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी एकतापछिको नयाँ दलको पनि पहिलो वरीयतासहित संरक्षक रहने गरी कार्यदलले सहमति गरेको छ ।दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष जनमत पार्टीका अध्यक्ष सीके राउत रहनेछन् ।तेस्रो वरीयतामा संघीय परिषद् अध्यक्षमा वा सह अध्यक्ष रहनेगर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई राख्ने कार्यदलमा छलफल भएको छ । रन्जिता भने आफ्नो वरियतामा सन्तुष्ट नभएको चर्चा चलिरहेको छ ।

    कार्यदलले चुनाव चिह्न ढकिया र पार्टीको नाम नागरिक जनमत रहने करिब टुङ्गो लगाइएको छ । कलेजी रङ्गमा ढकिया राख्नेगर पार्टीको झन्डामा कार्यदलले सहमति जुटाएको छ ।

    शनिवार राति सिके रावत र रेशम चौधरीको निर्णायक छलफलपछि दुवै पार्टीले बनाएको कार्यदलले आइतबार अधिकांश विषय टुङ्गो लगाएको हो । चितवनदेखि झापा सम्मको भूगोलको नेतृत्व सिके रावतले गर्ने र चितवनदेखि कञ्चनपुरसम्मको भूगोलको नेतृत्व रेशम चौधरीले गर्ने पनि सहमति गरिएको छ ।

    कार्यदलले आफ्नो जिम्मेवारीमा आएको विषय टुङ्गो लगाएपछि विधान प्रतिस्थापन समितिले बाकी काम टुङ्गो लगाउने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीले दामोदर पण्डितको नेतृत्वमा गीता चौधरी र सरोज बुढाथोकी रहनेगरी विधान प्रतिस्थापन समिति गठन गरिसकेको छ । जनमत पार्टीले भने अहिलेसम्म गठन गरेको छैन । दुवै दलले बनाएको विधान प्रतिस्थापन समितिले दुवै दलको विधानलाई संयोजन गरेर नयाँ विधान बनाउने छन् र निर्वाचन आयोगमा दर्ताको तयारी गर्ने छन् ।

    वैशाख १५ गते भित्रै एकता घोषणा गर्नेगरी दुवै दलले निर्वाचन आयोगमा संयोजन गरिरहेका छन् । महाधिवेशनमार्फत अध्यक्ष निर्वाचित भएका रेशम चौधरीलाई आयोगले अध्यक्ष स्वीकार गरेको थिएन । एकता पछि पहिलो वरीयतामा रहनेगरी संरक्षक हुने व्यवस्थामामा आयोगले कस्तो कदम चाल्छ त्यो भने अनिश्चित छ ।

    दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौँ ठूलो दल बन्नेछ । अहिले संसदमा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ पार्टीको रूपमा छन् । अहिले प्रतिनिधि सभा तर्फ जनमत पार्टीका ६ र नाउपाका ४ सांसद छन् ।

  • मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    काठमाडौं । मधेस केन्द्रित दलहरुले भोलि संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् । भोलि थापागाउँस्थित काठमाडौं ब्यांक्वेटबाट मोर्चा घोषणा गर्न लागिएको हो ।

    मोर्चामा सात दल सहभागी हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

    मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहनेछन् ।

    मोर्चाको नाम मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राख्ने तयारी छ । मधेशी दलहरुले यसअघि नै मोर्चा घोषणा गर्नको लागि कार्यदल बनाएर दस्तावेज तयारीमा जुटेका थिए ।

  • सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने

    सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने

    काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।

    कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’

    एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।

    यो पनि पढ्नुहोस्- नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए। उनले थपे, ‘पार्टीको नाम नागरिक जनमत राख्ने भन्ने कुरा भइरहेको छ। यसले दुवै पक्षलाई समेट्छ छलफलको चरणमा छौँ। चुनाव चिन्ह ढकिया रहन्छ। त्यो डाक्टरसाव (सिके राउत) ले पनि सार्वजनिक रूपमै स्वीकारिनसक्नुभएको छ।’

    उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए।

    जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान। डा। शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।

    त्यसो त जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन गरिसकेका छन्। उनले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताएका थिए।

    चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण सुनाएका थिए। उनले भनेका थिए, ‘अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ। हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ।’

  • नाउपाको बैठकमा मानुषी- सिके राउत र रेशम चौधरीसँगै मिसिँदैछन् बाबुराम ?

    नाउपाको बैठकमा मानुषी- सिके राउत र रेशम चौधरीसँगै मिसिँदैछन् बाबुराम ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय लियो । नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

    जनमतले यसअघि नै कार्यदल बनाएर प्रक्रिया सुरु गरिसकेको छ । दुवै पार्टी एकताको लागि तयार भएपछि हिजो केन्द्रीय समितिको बैठकको समापनमा जनमतका अध्यक्ष डा. सिके राउत पुगेर सम्बोधन गरे ।

    दुई पार्टीबीच एकता निश्चित भएर राउत बैठकमा पुग्दै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्षमा मानुषी यमी भट्टराई नाउपाको बैठकमा देखिइन् ।

    मानुषी नाउपाको बैठकमा पुगेपछि बाबुराम पनि सिके र रेशमको एकता प्रक्रियामा मिसने चर्चा चल्यो । तर, त्यो चर्चालाई सत्यता नभएको मानुषीले बताएकी छन् ।

    उनले बैठकमा अध्यक्ष भट्टराईलाई बोलाइएको भएपनि अध्यक्ष र महासचिव दुवै जना जनकपुर पुगेकाले आफू गएको फेशबुकमार्फत् जानकारी गराएकी छन् ।

    उपाध्यक्ष मानुषी नाउपाको बैठकमा किन गइन्, हामीले नेसपा कार्यालयका प्रमुख रोशन पोखरेललाई सोध्यौं ।

    त्यसबारे उनले भने, ’एकताबारे त्यस्तो कुनै तयारी छैन । नयाँ पार्टीहरूले वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले नयाँ पार्टीहरूबीच शुभकामना आदान प्रदान हुनु र बैठकमा आमन्त्रित गर्नु स्वभाविक हुन्छ । त्यो पार्टी एकतासँग कुनै सम्बन्धित होइन ।’

    उनले तत्काल पार्टी एकताको सम्भावना नभए पनि मुद्दामा एकैठाउँमा रहेर काम गर्न सकिने बताए ।

    उनले भने, ‘सामान्य कुराकानी त हुने भइहाल्यो तर उहाँहरूले आफैँले आफूलाई वैकल्पिक भन्नुभएको छैन । हामी नयाँ वैकल्पिक शक्ति बन्नुपर्छ भन्ने अभियानमा छौँ । हाम्रो पार्टीको मान्यता उहाँहरू एकताबद्ध भएर जाँदा हुन्छ भन्ने मान्यता हो, हिजो त्यही अनुसार पार्टी उपाध्यक्षले गएर शुभकामना दिनुभएको हो ।’

    उनले नेसपाले अब तत्काल कुनै पार्टीसँग एकता गर्ने भन्ने कुरामा कुनै छलफल नै नगरेको बताए ।

    पोखरेलले थपे, ‘महाधिवेशनपछि नयाँ पार्टीहरूसँग संवाद गर्दै जाने भनेका छौँ । अस्ति हामीले गरेको कार्यक्रममा पनि नयाँ पार्टीहरूलाई बोलायौँ । हामीले अब मुलुकको आवश्यकता अनुरूपको कार्यदिशा, कार्यक्रम कसरी लैजाने जनताको इच्छा चाहना कस्तो छ ? भन्ने विषयमा चाहिँ सँगै बसेर छलफल बहस गर्दै जाऔँ भन्ने हाम्रो कुरा हो ।’

  • नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन गरेका छन्। दुई पार्टीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको बेलामा रेशम चौधरी संरक्षक रहेको नाउपाको बैठकमा शनिवार पुगेर सम्बोधन गरेका हुन्।

    नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ रहेकी छन्। दुवै पक्षबीच पार्टी एकता गर्ने सहमति गरेपछि जनमतका अध्यक्ष राउतले नाउपाको बैठकमा पुगेर सम्बोधन गरे।

    उनको भनाइ जस्ताको त्यस्तै,

    हामी निर्वाचित भएर आएपछि रेशमजी त्यतिबेला जेलमा हुनुहुन्थ्यो। हामी पटक पटक भेट्न पनि गयौँ, बाहिर निकाल्न कसरी सकिन्छ भनेर हामीले कुराकानी गर्‍यौँ। हामी निर्वाचित भएपछि आएपछि माननीय रञ्जिताजी यही हुनुहुन्छ। गठबन्धनको बैठकमा उहाँहरूले चार सीट छ भन्न हामी हाम्रो १० सीट छ भन्थ्यौँ। उहाँलाई छुटाउनको लागि जहिल्यै पनि आवाज उठाउँथ्यौँ।

    तपाईँहरूले टीआरसी विधेयक ल्याउन हुने उहाँलाई किन छुटाउन नहुने भन्दै हामी झगडा गर्थ्यौँ। पछि उहाँ निस्किनुभयो। उहाँ जेलमा हुँदा पनि हामीबीच संवाद हुन्थ्यो। म खुलेर भन्छु, त्यतिबेला पनि हामी मिलेर जाऔँ भन्ने कुरा गर्थ्यौँ। हामीलाई थाहा छ हामी एक्लै हिँड्न गर्न सक्दैनौँ। हामी मिलेर गयौँ भने मात्रै हामीले हाम्रो माग पूरा गराउन सक्छौं। त्यसबेला म कहिलेकाहीँ मात्रै काठमाडौं आउने गर्थे। त्यतिबेला नै एक हुने प्रयास सफल भएन।

    हामीले त मिलेर जाऔँ भनेर प्रस्ताव गरेका हौँ। हामीले त्यसबेला त्रृटि गर्‍यौँ। हामी त्यतिबेलै मिलेर गएको भए हाम्रो प्रत्यक्षमा १५ समानुपातिकमा १५ गरी ३० सीट त्यसैपनि हुन्थ्यो। त्यसो गर्न सकेको भए अझै जनलहर पैदा हुन सक्थ्यो। त्यसबेला त जनताले कस्तो हुन्छ ? यो राष्ट्रिय पार्टी बन्छ कि बन्दैन केही थाहा नहुँदा पनि भोट दिएको हो नि। यहाँ ३२ सीटले देश चलाइरहेको बेलामा एउटा थारु, मधेसी, दलितको छोराले एउटा इतिहास लेख्नसक्ने अवसर आउनसक्थ्यो।

    हामीबाट त्यतिबेला त्यो भूल भयो त्यो स्विकार्छौँ। त्यही गल्तीलाई सच्याउनको लागि हामी अहिले यहाँ उपस्थित भएका छौँ। हामीले व्यक्तिगत आकांक्षा राखेर भएन नि। हामीले जनताको अधिकारलाई प्राथमिकतामा राख्नुपर्‍यो। त्यसैले अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ।

    हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ। हामी मिल्नलाग्दा देश नै हल्लिएको छ। हामीलाई मिल्न नदिनको लागि अनेक षड्यन्त्र हुनसक्छ। भइराखेका छन् पर्दापछाडि। हामी सचेत भएर अघि बढ्नुपर्छ। हामी राष्ट्रिय शक्तिको रूपमा सम्पूर्ण दलित, उत्पीडित, थारु, मधेसी सबै वर्गको हक अधिकारको लागि सबैजना लागौँ।

  • जनमत र नाउपाबीच पार्टी एकताको अन्तिम गृहकार्य- सिके राउत अध्यक्ष, रेशम चौधरी संरक्षक

    जनमत र नाउपाबीच पार्टी एकताको अन्तिम गृहकार्य- सिके राउत अध्यक्ष, रेशम चौधरी संरक्षक

    काठमाडौं । डा. सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन्।

    अहिले दुवै पार्टी एकताको लागि आन्तरिक तयारीमा केन्द्रित छन्। जनमतसँग एकताबारे निर्णय लिनको लागि नाउपाको केन्द्रीय समितिको बैठक हिजोदेखि जारी छ।

    बैठकले जनमतसँग एकता गर्ने निर्णय र तयारीको लागि कार्यदल बनाउने जनाइएको छ। नाउपासँग एकता गर्ने मोटामोटी सहमति भइसकेको जनमतका प्रवक्ता डा। शरद यादवले बताए।

    उनले भने, ‘हामी पार्टी एकता गर्न दुवैतिर सहमत भइसकेका छौं। उहाँ ९नाउपा०हरुले आज सकिने बैठकबाट कार्यदल बनाएपछि अन्तिम रुप दिइन्छ।’उनले दुई पार्टी सहमति भइसकेकाले अब चाँडै एकता प्रक्रियामा आउने बताए।

    पार्टी एकतापछि जनमत पार्टीका अध्यक्ष राउतलाई अध्यक्ष मान्न नाउपा सहमत भइसकेको जनमतका एक नेताले बताए।
    ती नेताले भने, ‘उहाँहरु बैठकमा छलफल भइरहेको होला। तर डाक्टर सावलाई अध्यक्ष बनाउने कुरामा रेशमजीहरु पनि सहमत हुनुहुन्छ। उहाँलाई संरक्षक र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने कुरामा सहमति भइसकेको छ। अब औपचारिक रुपमा कार्यदलले सबै टुंग्याउँछ।’

    जनमतले यसअघि नै नाउपासँग एकताको लागि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाइसकेको छ। कार्यदलमा प्रवक्ता यादव र सचिव बालगोविन्द चौधरी सदस्य छन्।

    यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ।

    तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो। जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।

  • नाउपा बैठक- जनमतसँग एकता गर्ने औपचारिक निर्णय हुँदै

    नाउपा बैठक- जनमतसँग एकता गर्ने औपचारिक निर्णय हुँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरू भएको छ । बैठकमा पार्टीका संरक्षक रेशम चौधरी पनि उपस्थित छन् ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक डाकिएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरूलाई औपचारिक जानकारी गराउँदै सुझाव लिइने वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

    बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए । केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको पण्डितले प्रष्ट्याए ।

    बैठकमा सवै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, संस्थापक केन्द्रीय सदस्य उपस्थित छ्न् ।

  • ओरालो यात्रामा नाउपा: संकटमा एकता, अवसरमा छिन्नभिन्न

    ओरालो यात्रामा नाउपा: संकटमा एकता, अवसरमा छिन्नभिन्न

    कैलाली । दल दर्ताको एक महिनामै स्थानीय तहको निर्वाचनमा र त्यसको केही महिनापछि भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कैलालीमा पहिलो दल बनेको  नागरिक उन्मुक्ति पार्टी अहिले ओरालो यात्रा छ ।

    कैलालीमा १३ स्थानीय तह मध्ये चारको प्रमुख र तीन उपप्रमुखमा नाउपाका उम्मेदवार विजयी भएका थिए । कैलालीमा प्रतिनिधि सभा तर्फ ५ मा ३ र प्रदेश सभा तर्फ १० मा ५ प्रत्यक्ष निर्वाचन भएको नाउपाले बर्दियामा पनि प्रतिनिधि सभामा प्रत्यक्षमा १ र प्रदेश सभामा दुई उम्मेदवार जिताएको थियो ।

    कैलाली र बर्दियामा २्२ जना र मधेशमा १ जना समानुपातिक सांसद छन् नाउपाको । सङ्घ र प्रदेशमा १६ सांसद र स्थानीय तहमा ९८ जनप्रतिनिधि सहित बलियो अवस्थामा उभिएको नाउपाले स्थापनाको चार वर्षमा भने आफ्नो साख बचाउन नसकेको विश्लेषण हुने गरेको छ ।

    शनिवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापना दिवस हो । २०७८ फागुन १३ गते निर्वाचन आयोगबाट नाउपाले दल दर्ताको प्रमाण पत्र बुझेको थियो । रेशम चौधरी नै अध्यक्ष रहनेगरि पार्टी स्थापनाको तयारी गरिए पनि टिकापुर घटनाको दोषि ठहर भएर कारागार चलान भएको हुँदा उनकी श्रीमती रञ्जिता चौधरी अध्यक्ष रहनेगरि पार्टी स्थापना भएको थियो ।

    रेशम- रञ्जिता कै समन्वयमा र सहकार्यमा गठन भएको पार्टी ती दुबै जनाको विवाद र विमतिमा सङ्कटमा परेको हो । दम्पती विवादले प्रदेश र सघंमा कसैले मन्त्री पाए भने कोही मन्त्री बन्न पाएनन् । सुदूरपश्चिममा दम्पती विवादले नागरिक उन्मुक्ति पार्टीले पाएको मुख्यमन्त्रीको अवसर गुमायो ।

    ‘तीनै तहको निर्वाचनसम्म रेशम कारागारमै थिए भने रन्जिता मोर्चामा थिइन् । रेशमले कारागारबाटै निर्देशन दिन्थे ,रन्जिता सोही अनुसार रणनीति बनाउथिइन् । रेशमको आम माफी भएपछि शक्ति सङ्घर्ष चुलियो । पहिलो महाधिवेशनले त्यसलाई अझै बढवा दियो ’ नाउपाका एक नेताले भने, ‘बूढाबूढीको विवादले पार्टी धराशायी बन्यो ।’

    २०८० जेठ १४ गते गणतन्त्र दिवसको अवसर पाएर रेशमले आम माफी पाएका थिए । त्यस अघिसम्म फोनमार्फत नेता कार्यकर्तासँग सम्पर्क रहेका रेशम त्यसपछि प्रत्यक्ष भेटघाटमा जुटे । संरक्षकको रुपमा रेशमलाई र अध्यक्षको रुपमा रन्जितालाई स्वीकार गरिरहेका केही कार्यकर्ताहरूले रेशमलाई नै कार्यकारी अध्यक्षको रुपमा देख्न चाहे । त्यहीबाट रेशम रन्जिताको शक्ति सङ्घर्ष सुरु भयो र पार्टीको तल्लो तहसम्म प्रभाव देखियो ।

    पार्टी विवादले मुख्यमन्त्री गुम्यो

    तत्कालीन एमाले, माओवादी र नेकपा एकीकृतसहितको सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति थियो । तर, त्यसका लागि सबै सांसद एक ठाउँमा उभिनुपर्ने सर्त पनि थियो ।

    सुदूरपश्चिममा नाउपाका सात सांसद मध्ये ५ जना रेशम पक्षमा उभिएका थिए भने २ जना रन्जिता पक्षमा थिए । रेशम आफ्नो पक्षमा उभिएका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिए ,कांग्रेससहितको सहकार्यमा । रन्जिता आफ्नो पक्षमा रहेका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिइन् ।

    दुवैले दाबी पेश गरे ,कांग्रेससहितको समर्थनमा नाउपा कै लक्ष्मण किशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरी । मुख्यमन्त्रीमा एउटै दलबाट दुई जनाको दाबी परेको र दुवैले आफूसँग सबै सांसद रहेको दाबी गरेपछि दुवैको उम्मेदवारी खारेज भएको थियो ।

    त्यो बेला नाउपा एक ठाउँमा उभिएको भए नाउपाकै मुख्यमन्त्री निश्चित थियो । पार्टी भित्रको किचलोले नाउपाले पाउँदै गरेको मुख्यमन्त्री गुमायो ।

    त्यो बेलासम्म नाउपामा गुटको चरम किचलो सुरु भइरहेको थियो । एक पक्षले अर्को पक्षलाई कारबाही गरिरहेको थियो । प्रदेशमा मात्रै होइन केन्द्रमा पनि यसको प्रभाव परिरहेको थियो । रन्जिताले प्रदेशमा संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाउँदा केन्द्रमा रेशम पक्षमा तीन सांसदले रन्जितालाई दलको नेताबाट हटाएका थिए ।

    महाधिवेशनपछि थप किचलो

    अघिल्लो वर्ष सम्पन्न भएको नाउपाको पहिलो महाधिवेशनले पार्टीलाई अझै बलियो र सुदृढ बनाउने अपेक्षा गरिएको थियो । तर, त्यसो भएन । महाधिवेशनमा नाउपाको केन्द्रीय अध्यक्षमै विवाद भयो । संरक्षक रेशम चौधरी नै अध्यक्ष हुने चाहना राखेपछि रन्जिता श्रेष्ठले महाधिवेशन स्थल नै छोडिन् ।

    जन्मकैदको फैसला भएर आम माफी पाएका चौधरीलाई अध्यक्षमा आयोगले वैधता दिने सम्भावना क्षीण थियो । त्यस्तो बेला आफै अध्यक्षमा अघि सरेपछि पार्टी भित्र थप विवाद भएको केहीको बुझाइ छ । अन्ततः निर्वाचन चौधरीलाई वैधता दिएन ।

    अहिले उनी मात्रै वैधानिक होइनन् कि महाधिवेशनबाट गठन गरिएको कमिटी नै अवैध हो भन्ने विवाद कायमै छ । दुबै समूहले आफू अनुकूल व्याख्या गर्दै आइरहेका छन् । उक्त विवादपछि अहिलेसम्म पनि केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिहरू सक्रिय भएका छैनन् ।

    समस्या कहाँ हो ? यस्तो छ दाबी
    चार वर्षसम्मको उतरचडावले अहिले पार्टी नेतृत्व गरिरहेकाहरू नै पूर्ण सन्तुष्ट छैनन् ।कारागारभित्रै पार्टीको परिकल्पना गरिएको र त्यहि अनुसार अघि हिँड्दासम्म पार्टी सही स्थानमा रहेको तर, पार्टी भित्र स्वार्थ समूहहरू सक्रिय भएपछि समस्या सुरु भएको संरक्षक तथा पहिलो महाधिवेशनबाट अध्यक्ष भएका रेशम चौधरीको बुझाइ छ ।

    ‘परिकल्पनाकार र जन्मदाताको लक्ष्य बुझ्न नसक्नु विडम्बनाको विषय यो । पार्टीको नीति र सिद्धान्त बुझ्न नसक्नु विडम्बना हो ’ उनी भन्छन्, ‘हाम्रो पार्टीका केही साथी अन्य दलबाट सञ्चालित छन् । तिनलाई कारबाही गर्न सकिरहेका छैनौँ । ’

    केही नेता कार्यकर्ताहरू अवसरमा पार्टीको नीतिभन्दा बाहिर गएको, आर्थिक प्रलोभनमा परेको जस्ता विषयहरूले पनि केही समस्या पैदा भएको उनको बुझाइ छ ।

    आफ्नो निर्देशनलाई स्वीकार गरेर अगाडि बढ्दै गएको भए पार्टीमा अझै ऊर्जा थपिँदै जाने अवस्था हुने उनको भनाइ छ । पार्टी र आफ्नो भूमिकाकै कारण टिकापुरमा विमान उडाएको, टिकापुरलाई गुलाबको सहर बनाउन लागिरहेको र उद्योगी व्यवसायीहरूलाई भित्राउन पहल गरिरहेको उनी बताउँछन् ।

    पार्टीलाई अझै बलियो र सुदृढ बनाउन सेके रावतको जनतम पार्टीसँग एकता गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि माग मुद्दा सम्बोधन गराउन आफूहरू सफल भएको बताउँछिन् ।

    ‘टिकापुर घटनाका नाममा बन्दी बनाइएकाहरूलाई रिहा गराउने हाम्रो पहिलो एजेन्डा थियो, हामी त्यसमा सफल भयौँ ’ उनी भन्छिन् ‘अझै पनि धेरैलाई झुट्टा मुद्दा लगाइएको छ त्यसको खारेजी गर्ने र घर आउन नसकेकाहरूलाई घरसम्म ल्याउने हाम्रो लक्ष्य छ ।’

    पार्टी भित्रको किचलाका विषयमा उनी पार्टीभित्र वैचारिक बहस हुने कुरा सामान्य रहेको बताउँछिन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष र संरक्षकको टसलले पार्टीभित्र समस्या देखिएको बताउँदै सरकारमा सहभागी भएपछि पार्टीको विचार र सिद्धान्तमा कुनै फरक नपरेको बताउँछन् ।

    ‘कार्यकर्ताहरूमा अहिले पनि उस्तै ऊर्जा र उत्साह छ । नेतृत्वमै बरु केही समस्या आएको हो ’ उनी भन्छन्, हाम्रा ‘कमिटीहरूका नियमित बैठक बसेका छैनन् । त्यसले पनि सङ्गठन केही सुस्त देखिएको होला । ’

    पार्टी भित्रको किचलो र विवाद शनिवार स्थापना दिवससम्म पनि देखिएको छ । संरक्षक रेशम चौधरीले टिकापुरको पार्टी कार्यालयमा १ बजे स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएका छन् भने अध्यक्ष रन्जिता श्रेष्ठले काठमाडौँमा ४ बजे महराजगञ्जस्थित पार्टी कार्यालयमा स्थापना दिवसको अवसरमा भेटघाट कार्यक्रम राखिएको बताउँछिन् ।

  • मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित ८ दलको बैठकमा समान मुद्दाहरुलाई मोर्चाले संसद र सरकारसँग साझा ढंगले उठाउने विषयमा छलफल भएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चाको आगामी रणनीतिबारे छलफल भएको नागरिक उन्मुक्तिका संयोजक रेशम चौधरीले बताए ।

    उनले भने, ‘यो मोर्चाको विषयमा विभिन्न प्रश्न उठिरहेका छन्, यो समान मुद्दाहरुलाई एकै ठाउँबाट उठाउन बनाइएको हो । यो कसैको विरुद्धको बैठक होइन । सरकारविरुद्ध पनि होइन । हामी सरकारमै छौं । उठाउनैपर्ने भए सरकारमै उठाइहाल्छौं ।’

    नेता चौधरीले मोर्चालाई आजको बैठकमा आफ्नो पार्टीको तर्फबाट केही एजेण्डा उठाउन सुझाव दिएको बताए ।

    उनले भने, ‘हिजो टीकापुर घटनाको विषयमा बैठकमा राख्यो । अहिले पनि ५८ जनामाथि झूटा मुद्दा लगाइएको छ । ५८ जनामछि हामी २८ जना जेलमा बस्यौं, ३० जना अझै फरारको सूचीमा हुनुहुन्छ । ३०० जनाको नाम र ठेगाना मिलेन भनेर तामेलीमा छ । नाम र ठेगाना मिल्यो भने अझै जुनसुकै बेला पक्राउ गर्न सक्छन् ।’

    नेता चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, सरकारले ल्याएको अध्यादेशबारे धारणा, मोर्चाको नामको विषयमा पनि छलफल भएको बताए ।

    सरकारले अघि बढाएको संविधान संशोधनको मुद्दा, थ्रेसहोल्ड, समाजिक सञ्जालसम्बन्धी अध्यादेशलगायतको विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

    उनले केही कांग्रेस र एमालेका सांसदरुले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भनेर राखेको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

    नेता चौधरीले भने, ‘यो कुरा संसदमा बोल्नुभएको छ । लुम्बिनी प्रदेशमा पनि कुरा आएको छ, तर त्यो त्यति सहज छैन । सम्भव छैन । यो विनानिर्देशन उठाइएको छैन । यस विषयमा सचेत रहनुपर्छ ।’

  • मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठके आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।

  • संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप गठित कार्यदलको पहिलो बैठक जारी छ ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बैठक चलिरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्नेछ । सरकारले संविधान संशोधनको एजेण्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जसपाबाट रेणु यादव, लोसपाबाट जीतेन्द्र सोनल र सुरेन्द्र झा, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट वृषेशचन्द लाललगायत सहभागी छन् ।

  • विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

    विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

    काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तापक्षका दुई नेताहरू पनि उपस्थित भए । विपक्षी मोर्चाको रणनीति बनाउन बोलाइएको बैठकमा सत्तापक्षको सहभागिता आफैंमा अनौठो थियो ।

    सरकारमा समेत सहभागी रहेका दुई दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा पुगेका हुन् । उनीहरूको उपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।

    लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरदसिंह भण्डारी श्रममन्त्री छन् । सो पार्टीका महासचिव सुरेन्द्र झाले कम्युनिकेसन ग्यापका कारण अध्यक्ष ठाकुर विपक्षी दलको बैठकमा पुगेको बताए ।

    उनले भने, ‘प्रचण्डजीको सचिवालयले भोलि केही नेताहरूलाई भेट्ने कुरा भएको छ । सम्भव भए आउनुस् भन्नुभएको थियो । उहाँलाई विपक्षी दलको बैठक भन्ने थाहा थिएन । सूचनाको ग्याप भयो । त्यही कारणले आजको बैठकमा पुग्नुभएको हो ।’

    उनले सत्ता गठबन्धनमा कुनै असन्तुष्टि नरहेको बताए ।

    झाले थपे, ‘नेताजस्तो मान्छे बैठकमा पुगेपछि उसै हिँड्ने कुरा भएन । प्राकृतिक प्रकोपको विषयमा तपाईंहरूले उठाउनुभएको कुरामा समर्थन छ । तर, राजनीतिकरूपमा हामी अझै पीडित छौं भन्ने कुरा राखेर फर्किनुभयो । सरकारसँग कुनै असन्तुष्टिको कारणले जानुभएको होइन ।’

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पनि आफूलाई बोलाइएकाले गएको संक्षिप्त प्रतिक्रिया दिइन् ।

    उनले भनिन्, ‘मलाई छलफल छ, आउनुस् भन्नुभएको थियो । त्यसैले गएकी हुँ ।’

    आफू बैठक सकिने बेलामा पुगेको र छलफलका विषयवस्तु खासै थाहा नपाएको उनले दावी गरिन् ।

    तर, स्रोतका अनुसार सत्तापक्षका यी दुवै नेता दल विभाजनसम्बन्धी अध्यादेशको चासोका कारण विपक्षी मोर्चाको बैठकमा भाग लिन पुगेका हुन् । सरकारले साना दलहरूलाई विभाजन गर्न सहज तुल्याउने गरी अध्यादेशमा नयाँ व्यवस्था गर्न लागेको आशंका विपक्षी दलहरूलाई छ । यही विषयमा छलफल गर्न भनेर प्रचण्डले सत्ता पक्षका नेताहरूलाई पनि खबर गरेको बुझिएको छ ।
    यदि यस्तो अध्यादेश ल्याउन खोजिएमा संगठित प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको थियो । महन्थ र रञ्जिताले पनि यसमा समर्थन जनाएको स्रोतले दाबी गर्‍यो ।

    ‘दल विभाजनसम्बन्धी अध्यादेश आएमा मिलेर प्रतिवाद गर्ने कुरा भएको छ, सत्ता पक्षमा रहेका साना दलका नेताहरूलाई यही विषयमा छलफल गर्न बोलाइएको हो,’ स्रोतले भन्यो ।

    एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारमा सहभागी दल विपक्षी दलको बैठकमा जानुअघि सोच्नुपर्ने बताए ।

    उनले भने, ‘उहाँ के कारणले बैठकमा जानुभयो भन्ने आउला । तर, सरकारमा सहभागी दलको नेता विपक्षी दलको बैठकमा जानुअघि विचार पुर्‍याउनुपर्छ ।’

    रास्वपा संसदीय दलका उपनेता विराजभक्त महर्जन भने सत्तापक्षका नेताहरु पनि विपक्षी बैठकमा आउनु सकारात्मक भएको बताउँछन् ।

    उनले भने, ‘यो अभ्यास राम्रो हो । सत्ता पक्षले बोलाएको बैठकमा हामी जान्छौं भने हाम्रो बैठकमा उहाँहरु आउँदा अन्यथा हुँदैन ।’

  • रेशम-रन्जिता मिलन : कारबाही फुकुवा, संयुक्त बैठक आह्वान

    रेशम-रन्जिता मिलन : कारबाही फुकुवा, संयुक्त बैठक आह्वान

    कैलाली । संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि सुरु भएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबिचको विवाद मिलेर जाने भद्र सहमतिमा टुंगिएको छ ।

    पछिल्लो केही दिनदेखि भएको निरन्तर छलफल र संवादमा उनीहरूले आगामी दिनमा एक भएर जाने भन्दै समझदारी गरेका छन् । सरकारमा सहभागी हुने, मन्त्री पठाउने लगायतका विषयमा दम्पतीबिच विवाद भए पनि टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट उनीहरूको तिक्तता छरपस्ट भएको थियो ।

    रेशम चौधरी पहिलो महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि शक्ति सङ्घर्ष चुलिएको थियो । त्यसपछि सङ्घदेखि प्रदेशसम्म एक समूहले अर्को समूहलाई कारबाही गर्नेसम्मका गतिविधि भए ।

    पार्टी अध्यक्ष र पार्टी संरक्षक तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षबिच तिक्तता र विवाद बढ्दै जाँदा पार्टीका गतिविधि रोकिएको र पार्टी कमजोर भएको भन्दै फेरि दुवै मिलेर अगाडि बढ्ने सहमति भएको रेशम चौधरीले बताए ।

    ‘सरकारमा सहभागी हुने वा नहुने भन्ने सामान्य विषयमा हामीबिच मतभेद भएको हो तर त्यसपछि स्वार्थ समूहले हामीलाई अझै टाढा बनाउने गरी भूमिका खेलिरहे अब फेरि पार्टी बलियो बनाउने गरी हामी एक भएका छौँ’ उनले भने, ‘अब कहिल्यै यस्तो विवाद नआउने गरी हामीबिच समझदारी भएको छ ।’

    पार्टीलाई अझै बलियो बनाउने उद्देश्यले दुवै जनाबाट भएका कमिकमजोरीहरुलाई औँल्याउँदै, दुवैले आत्मालोचना गर्दै आगामी दिनमा यस्तो परिस्थिति आउन नदिने भन्दै समझदारी गरिएको उनले बताए ।

    ‘राजबन्दीका कारण स्थापना भएको पार्टीमा त्योसँग सम्बन्ध नै नराख्नेहरूले गलत भूमिका खेलेका विषयमा पनि समीक्षा भएको छ । पार्टी भित्र गलत हस्तक्षेप भयो । पार्टीमा वितण्डा मच्चियो ’ उनले भने ‘सबै छलफल गरेर पार्टी शुद्धीकरण गर्दै लैजाने विषयमा हामी दुवै एकमत भएका छौँ ।’

    टिकापुर महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले भने वैधानिकता दिएको छैन । उक्त महाधिवेशनका सदस्यहरूले वैधानिकताको माग गर्दै अदालतमा रिट दायर गरेका छन् ।

    रेशम रन्जिताबिच अदालतमा मुद्दा जारी रहँदासम्म अध्यक्षको हैसियत रन्जिता श्रेष्ठले नै गर्ने समझदारी भएको छ । टिकापुर महाधिवेशन स्वीकार गर्ने, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति स्वीकार गर्ने, संस्थापक केन्द्रीय सदस्यहरूलाई पनि सँगै लैजाने विषयमा सहमति भएको छ ।

    दुवै जना बिच पार्टीलाई गतिशील बनाउने गरी छलफल भएको रन्जिता श्रेष्ठले पनि बताइन् ।

    ‘पार्टी निर्माणमा उहाँको निकै ठूलो भूमिका छ । त्यो हामीले भुल्न हुँदैन । पार्टीलाई गतिशील बनाउन मैले भूमिका खेले । हामी दुवैको भूमिकालाई अन्य नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले साथ दिएर आज हामी यो स्थानमा पुगेका हौँ’ रन्जिता श्रेष्ठले भनिन्, ‘आगामी दिनमा मिलेर जाने समझदारी भएको छ ।’

    रेशम र रन्जिताबिच समझदारी भए लगत्तै यस अघि कारबाही गरिएका दुई प्रदेश सभा सदस्यसहित पाँच जनको कारबाही फुकुवा गरिएको छ । बागमती अध्यक्ष दीप तामाङ, गण्डकी अध्यक्ष राजन गुरुङ, केन्द्रीय सदस्य नवीन थापा, सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी र प्रदेश सभा सदस्य इन्दिरा गिरीको रन्जिताले विज्ञप्ति जारी गरेर कारबाही फुकुवा गरेको जानकारी गराएकी छन् ।

    रेशम निकट रहेको उनीहरू सबैलाई फरक फरक मितिमा रन्जिताले नै कारबाही गरेकी थिइन् । रेशम रन्जिता मिलन पनि कारबाहीमा परेकाहरूको कारबाही मात्रै फुकुवा भएन पहिलो पटक दुवैको हस्ताक्षरमा पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक आह्वान गरिएको छ ।

    यही १८ र १९ असोजमा काठमाडौँमा बस्ने गरी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी पठाइएको पत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिन बैठक डाकिएको उल्लेख छ ।

    ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी हामी एक हौँ र एक रहनेछौँ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा यही १८ र १९ असोजमा काठमाडौँमा बस्ने हुँदा अनिवार्य उपस्थितिका लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ ।

    रेशम रन्जिता विवादले दुई कित्तामा उभिएका नेता कार्यकर्ता पनि अहिले दुईको मिलनले उत्साहित देखिएका छन् । ‘रेशमजीले जेलमा हुँदा पार्टी जन्माउनुभयो, रञ्जिताजीले काखमा लिएर हुर्काउनुभयो’, नाउपाका उपाध्यक्ष दामोदर पण्डित भन्छन्, ‘अब पनि त्यसरी नै एक भएर पार्टीलाई अगाडि लैजाने सहमति भएको छ । हामी उत्साहित छौँ ।’

    ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसामा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । घटनाका मुख्य दोषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त छन् ।

    कारागारमा हुँदा स्थापना गरिएको नाउपाले प्रतिनिधिसभामा चार सिट जितेको छ भने सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशसभामा पनि प्रतिनिधित्व छ । सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेसमा एक सांसद नाउपाका छन् ।

    पति पत्नीको विवादले उग्र रूप लिएपछि संसद् र सरकार दुबैमा दुवैनिकटका नेता कार्यकर्ताहरू दुवै तिर विभाजित भएका थिए । पति पत्नीको सहज मिलनपछि बस्ने पहिलो केन्द्रीय सदस्यको बैठकले नेता कार्याकर्ताहरुलाई पनि एकताबद्ध बनाउने तयारी गरिएको छ ।

  • सुदूरपश्चिममा शक्ति सङ्घर्ष : माओवादी विभाजित, नाउपा एकीकृत

    सुदूरपश्चिममा शक्ति सङ्घर्ष : माओवादी विभाजित, नाउपा एकीकृत

    कैलाली । बुधवार करिब चार महिनापछि नागरिक उन्मुक्ति पार्टीका सबै सांसद सत्ता पक्षको बेन्चमा बसे । त्यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा २ सांसद सत्ता पक्षको बेन्चमा बस्दा ५ सांसद प्रतिपक्षको बेन्चमा बसिरहेका देखिन्थे ।

    सोडारी नेतृत्वको सरकारमा रन्जिता पक्षमा कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका थिए । त्यसबाहेक घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रतिपक्षमा बस्दै आइरहेका थिए ।

    नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। सोही अनुसार चैत्र २२ गते विश्वासको मत लिन मुख्यमन्त्री कमलबहादुर शाहले तयारी गरेका थिए । तर, उनलाई नाउपाका रेशम पक्षमा ५ सांसदले समर्थन गर्दा रन्जिता पक्षका २ सांसदले समर्थन गरेनन् । नाउपा विभाजित हुँदा राजीनामा दिएका शाह दोस्रो पटक मुख्यमन्त्री भएर विश्वासको मत लिँदा भने नाउपाका सबै सांसदहरू सँगै उभिए ।

    जेठ ३ गते तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदा नाउपाका २ जनाले पक्षमा मतदान गरेका थिए भने ५ जनाले संसद् बहिस्कार गरेर निस्किएका थिए ।

    शाह नेतृत्वको सरकारमाको अन्तिम समयबाट विभाजित देखिएको नाउपा शाह नेतृत्वको सरकारले विश्वासको मत पाउँदा भने एकीकृत देखिएको छ । बुधवार यहाँका ७ जना सांसद सत्ता पक्षमा मात्रै बसेनन् उनीहरूले पक्षमा मतदान समेत गरे ।

    अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबिच शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ दुवै पक्षमा दलका नेता फरक फरक थिए। रन्जिता पक्षले कैलाश चौधरीलाई र रेशम पक्षले घनश्याम चौधरीलाई दलको नेता बनाएका थिए ।

    असार २९ मा खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरीको पनि हस्ताक्षरसहित खुसीराम चौधरी दलको नेता बनेका थिए भने त्यसको केही दिनपछि लक्ष्मण किशोर चौधरीले घनश्याम चौधरीलाई समर्थन गर्दा घनश्याम दलको नेता चयन भएका थिए ।

    विगत चार महिनादेखि देखिएको शक्ति सङ्घर्ष अहिले मत्थर भएको देखिएको छ ।

    ‘सामान्य केही बुझाइहरू फरक भएको थिए त्यस्तो ठूलो विवाद केही थिएन अहिले हामी एकै ठाउँमा छौँ ‘ नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने ‘सबै मिलेर अगाडि बढ्छौँ ।’

    मुख्यमन्त्री शाहले विश्वासको मत लिँदा विभाजित भएको नाउपा एक ठाउँमा आउँदा माओवादी भने प्रस्ट दुई धारमा विभाजित भएको देखियो ।

    मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् ।

    माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । बहुमत सांसदहरूले दलको नेताबाट हटाएपछि तत्कालीन दलका नेता खगराज भट्ट रुष्ट बनेका थिए । उनी निरन्तर संसद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ असार १२ गते पत्र नै लेखेर सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । अध्यक्ष र महासचिवको सर्कुलरपछि पनि दलको नेता हेरफेर नभएपछि माओवादीका थप विवाद बढेको हो ।

    दलको नेता परिवर्तनको गृहकार्य नहुँदै फेरि सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता मानबहादुर धामीले गीता माललाई प्रमुख सचेतक नियुक्त गरेपछि माओवादीमा थप विवाद चुलिएको हो ।

    ‘दलको नेता परिवर्तनको बहस भइरहेका बेला उहाँले फेरि एकलौटी प्रमुख सचेतक नियुक्त गर्नुभयो कुनै छलफल गर्नु भएन’ माओवादी एक सांसदले भने ।

    सुदूरपश्चिममा माओवादीमा सभामुख बाहेक १० सांसद छन् । १० सांसद मध्ये धामीको पक्षमा ५सांसद छन् भने भट्टको पक्षमा ५ सांसद छन् ।

    धामीसहित अक्कल रावल, ओम क्रिम भाट,गीता माल र लक्ष्मी विक एउटा समूह बन्दा भट्टसहित झपट साउद, रमेश धामी, शिव सिंह ओली र जानकी कुवर अर्को समूहमा विभाजित भएका छन् ।

    अहिले माओवादी प्रमुख प्रतिपक्षी दल भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई पनि सवारी सुविधा रहेको छ ।

    अहिले दुवै सुविधा एउटै समूहका नेताले लिन लागेको भन्दै पनि विरोध भइरहेको छ । यता मानबहादुर धामीले भने आफूलाई बहुमत सांसदहरूले दलको नेता बनाएको भन्दै बहुमतबाट मात्रै हट्ने तर, राजीनामा नदिने बताउँदै आइरहेका छन् ।

    दुई समूहमा विभाजित भएको माओवादीमा थप शक्ति सङ्घर्ष उत्पन्न हुँदै गइरहेको छ।

    माओवादीका उपनेता अक्कल रावलले माओवादी सांसदहरू बाहिर भएको हुँदा संसद्मा नआएको बताए । उनले ह्विप जारी नगरिएको हुँदा पनि आफ्ना सांसदहरू नआएको उनको तर्क थियो ।

    ‘उहाँहरू यहाँ हुनुहुन्थेन हामीले सल्लाहमै विपक्षमा मतदान गर्ने तर, ह्विप जारी नगर्ने कुरा गरेका हौँ’ उनले भने, ‘ह्विप लगाएको भए अनिवार्य उपस्थित हुनुपर्ने थियो ह्विप लगाएनौँ त्यसैले पनि नआउनु भएको होला ।’

  • लुम्बिनी नाउपामा पनि विवाद, सरकारमा जाने अघिल्लो दिन दलको नेताबाट हटाइए रन्जितानिकट धर्म

    लुम्बिनी नाउपामा पनि विवाद, सरकारमा जाने अघिल्लो दिन दलको नेताबाट हटाइए रन्जितानिकट धर्म

    रुपन्देही । केन्द्रमा विवादित रहेको नागरिक उन्मुक्ति पार्टी लुम्बिनीमा पनि उस्तै गरी विवादमा तानिएको छ । अध्यक्ष रन्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवादले केन्द्रमा जस्तै लुम्बिनीमा पनि दलको नेता फेरेको छ ।

    बुधबार सरकारमा जाने तयारी गरेका रन्जिता समूहका धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ ।

    लुम्बिनीमा ४ सांसद रहेको नाउपामा अहिले दुई जना रन्जिता र दुई जना रेशम समूहमा देखिएका छन् । रन्जिता समूहमा रहेका धर्मबहादुर चौधरी एमालेकांग्रेस गठबन्धनको सरकारमा जाने तयारीमा थिए । बुधबार बिस्तार हुन लागेको मन्त्रीपरिषदमा उनले जाने जनाउ दिइसकेका थिए ।

    नयाँ जिम्मेवारी पाएका दलका नेता राजकुमार चौधरीले प्रदेश सभा सचिवालयलाई आफ्नो पार्टीको निर्णयबारे जानकारी दिएको जनाएका छन् । नाउपाले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि फेरेको हो ।

    यसअघि प्रमुख सचेतक रहेका राजकुमार चौधरी दलको नेता बनेपछि सो स्थानमा नरमाया ढकाललाई सचेतकमा निर्मलादेवी थारुलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

    यता दलको नेताबाट हटाइएका धर्मबहादुर चौधरीले यो विषयमा कुनै सत्यता नभएको दावी गरेका छन् । उनले आफू र नरमाया ढकाल त्यो बैठकमै नगएको र निर्मलादेवी चौधरीलाई जबरजस्ती हस्ताक्षर गराइएकोले यो निर्णय बुधबार नै अवैध हुनेगरी प्रदेश सभामा निवेदन दिने उनले दाबी गरे ।

    ‘यसमा कुनै वैधानिकता छैन, बहुमत हामीतिरै छ, निर्मलादेवीलाई झुक्काएर हस्ताक्षर गराइएको छ, यो विषयमा उहाँले भोलि नै विज्ञप्ति निकाल्नुहुन्छ’ चौधरीले नेपाल प्रेससँग भने ।

     

     

  • अस्वस्थ प्रदेश सांसद चौधरी भेट्न भक्तपुर पुगे प्रदेश प्रमुख मियाँ

    अस्वस्थ प्रदेश सांसद चौधरी भेट्न भक्तपुर पुगे प्रदेश प्रमुख मियाँ

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    मिर्गौलामा समस्या बल्झिएपछि सांसद चौधरी लामो समयदेखि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । आज प्रदेश प्रमुख मियाँले उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री भइसकेका छन् । पार्टी केन्द्रीय उपाध्यक्ष रहेका उनी नाउपा संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।

    प्रदेश प्रमुखसँगको भेटका उनले उपचारमा आर्थिक समस्या उत्पन्न हुन थालेको सुनाएका छन् । प्रदेश प्रमुख मियाँले उपचारमा समस्या आउन नदिने भन्दै सांसद चौधरीलाई उपचारमा केन्द्रित हुन आग्रह गरे ।

    चौधरीले एक दशक पहिले मिर्गौला प्रत्यारोपण गरेका थिए ।

  • रेशम-रन्जिता घर कलह क्लाइमेक्समा, केन्द्रदेखि प्रदेशसम्म दलको नेतामाथि ‘कू’

    रेशम-रन्जिता घर कलह क्लाइमेक्समा, केन्द्रदेखि प्रदेशसम्म दलको नेतामाथि ‘कू’

    कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबीच शक्ति सङ्घर्ष चुलिँदा त्यसको बाछिटा प्रदेशहरूमा पनि पुगेको छ ।

    असार १६ गते अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रतिनिधि सभा संसदीय दलको नेताबाट बहुमत सांसदहरूले हटाएका थिए । केन्द्रमा नाउपाका चार सांसद छन् । रन्जितालाई दलको नेताबाट हटाउने निर्णयमा रन्जिता बाहेकका अन्य तीन सांसद गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

    गङ्गा सुरुबाटै रेशम पक्षमा थिए भने अरुण रन्जिता पक्षमा थिए । लालवीर रेशमका बुवा तथा रन्जिताका ससुरा हुन् । प्रचण्डलाई अघिल्लो पटक विश्वासको मत लिँदा लालवीर र अरुण रन्जिताको पक्षमा उभिएर विश्वासको मत दिएका थिए भने गङ्गा विश्वासको मत दिने बेला सांसदमै उपस्थित भएनन् ।

    रन्जिता दलको नेता हुँदा उनी प्रमुख सचेतक थिए । तर, असार १६ पछि बहुमत सांसदहरूले रन्जितालाई हटाउँदै प्रमुख सचेतक रहेका गगांलाई दलको नेता बनाए भने लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

    यता केन्द्रमा रन्जितालाई दलको नेताबाट हटाए लगत्तै सुदूरपश्चिम प्रदेशमा रन्जिता निकटका सांसदहरूले रेशम निकटका संसदीय दलका नेतालाई बहुमतबाटै हटाए । यहाँ ७ सांसद छन् । पूर्व मुख्यमन्त्री कमल बहादुर शाहको सरकार रहँदा सम्म सुदूरपश्चिममा रेशम पक्षमा पाँच जना र रन्जिता पक्षमा दुई जना सांसद रहेका थिए ।

    तर, त्यसपछि रेशम पक्षमा रहेका खुसीराम चौधरी पनि रन्जिता पक्षमा उभिएपछि चार- तीनको अङ्कगणित पुगेको थियो । असार २९ गते लक्ष्मण किशोर चौधरीलाई पनि लिएर रन्जिता पक्षले रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाए । उक्त जिम्मेवारी खुसीराम चौधरीलाई दिइयो ।

    त्यस्तै उपनेतामा रन्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा रन्जिता पक्षकै टिका थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ । २९ गते काठमाडौँमा बसेको बहुमत सांसदहरूको निर्णयले यस्तो निर्णय गरेको हो ।

    उक्त निर्णयमा सात जना मध्ये खुसीराम चौधरी, कैलाश चौधरी, टिका थापा र लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेका छन् भने, घनश्याम चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छैनन् ।

    आफूहरूलाई जानकारी नै नदिएर बैठक बसेर बहुमतले आफूलाई हटाएको घनश्याम चौधरीले बताए । ‘बैठकबारे हामी तीन जनालाई खबर गरिएन । उहाँहरूले बहुमत पुर्‍याउनु भयो र हामीलाई हटाउनुभयो ’ उनले भने ‘मैले पनि आफै हटेको कुरा समाचारबाटै थाहा पाए ।’

    लक्ष्मण किशोर चौधरी लामो समयदेखि काठमाडौँमा उपचाररत छन् । तीन- तीन जना सांसद दुबैतिर हुँदा उनी निर्णायक थिए । लक्ष्मणकिशोर चौधरीकै जन्मदिनको दिन घनश्याम चौधरीलाई दलको नेताबाट हटाउने निर्णय गरिएको थियो । पार्टी बनाउने कुरा दिएर आएको हुँदा आफूले दलको नेता फेर्ने निर्णयमा हस्ताक्षर गरेको उनले बताए ।

    ‘एउटा रेशमको मान्छे अर्को रन्जिताको मान्छे भनेर कुरा हुन थाल्यो अनि हामीले पार्टीको मान्छे कहिले बनाउने त ’ उनले भने, ‘सबैलाई मिलाएर लैजानु पर्छ भनेर हामीले दलको नेता फेरेका हौँ । उहाँले पनि पहिलेको जस्तै गर्नू भयो भने फेरि हामी सोच्न बाध्य हुन्छौँ ।’

    रेशम चौधरी र रन्जिता श्रेष्ठको शक्ति सङ्घर्ष उत्कर्षमा हुँदा सुदूरपश्चिममा दुवैले आफू निकटकालाई दलको नेता बनाएका थिए । घनश्याम चौधरी बहुमत सांसदबाट दलको नेता थिए भने रन्जिता चौधरीले दलको नेता नियुक्त गरेका कैलाश चौधरीसँग त्यो बेला बहुमत थिएन । तर, अहिले रेशमपक्षका घनश्याम भन्दा रन्जिता पक्षका कैलाशसँग बहुमत देखिएको छ । २९ गतेको बैठकले कैलाशलाई उपनेताको जिम्मेवारीमा ल्याउने निर्णय गरेको छ ।

    यसअघि पनि नाउपामा दलको नेता फेरिएका थिए । सबैभन्दा पहिले दलको नेता रहेका रामेश्वर चौधरीलाई मन्त्री बनाउने भन्दै उनलाई हटाउँदै घनश्याम चौधरीलाई उक्त जिम्मेवारी दिइएको थियो । अहिले केन्द्रमा रन्जितालाई हटाएको दुई साता नपुग्दै प्रदेशमा घनश्याम चौधरी पनि हटेका छन् ।

  • सुदूरपश्चिममा फेरिए नाउपा संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतक पनि हेरफेर

    सुदूरपश्चिममा फेरिए नाउपा संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतक पनि हेरफेर

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर भएको छ । यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ ।

    त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो । प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

    सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर रहेको छ ।

    खुशीराम चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेको उक्त निर्णयमा घनश्याम चौधरी, इन्दिरा गिरी र रामेश्वर चौधरीको हस्ताक्षर छैन ।

     

  • प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, विश्वासको मत नदिने

    प्रचण्ड सरकारबाट नाउपाको समर्थन फिर्ता, विश्वासको मत नदिने

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए ।

    ‘हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छौँ समर्थन फिर्ता लिएपछि विश्वासको मत दिने त कुरै भएन’ प्रमुख सचेतक चौधरीले नेपाल प्रेसलाई भने ।

    यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए ।

    केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै छन् । नाउपाले पनि समर्थन फिर्ता लिएसँगै उनको साथमा रहने दलहरूको संख्या थप साँघुरो हुँदै गएको छ । संघीय संसद्मा नाउपाका चार सांसद छन् ।

     

  • मधेश प्रदेशसभामै नाउपाकी सांसद सिंहले ‘जनताले जुत्ता हान्ने’ भनेपछि… (भिडिओ)

    मधेश प्रदेशसभामै नाउपाकी सांसद सिंहले ‘जनताले जुत्ता हान्ने’ भनेपछि… (भिडिओ)

    जनकपुरधाम । मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला चौधरीले राजनीतिक चलखेल र खुट्टा तान्ने प्रवृत्ति रहिरहे सांसदहरुलाई २०८४ को निर्वाचनमा जनताले जुत्ता हान्ने अभिव्यक्ति दिएकी छन् ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

    उनले भनिन्, ‘बजेटमा पनि विभेद छ । सांसदलाई पहिले डेढ करोड, अहिले ५ करोड । यो कसरी सम्भव भयो ? मुख्यमन्त्रीलाई भन्न चाहन्छु, तपाईं अभिभावक हुनुभो । १०७ माननीय र मन्त्रीलाई बराबरी ढंगले लग्नुपर्छ । तर, यसरी चलखेल र खुट्टा तान्ने गर्नु हुँदैन । यदि यस्तै व्यवस्था रह्यो भने तीन वर्षपछि २०८४ को चुनावमा जनताले तपाईंहरुलाई जुत्ताले मार्छन् ।’

    उनले आपत्तिजनक अभिव्यक्ति दिएपछि सदनमा उपस्थित सांसदहरुमा हाँसो उठेको थियो । उनले पैसा र कुर्सीले चलखेल भइरहेको पनि बताइन् । विचौलियाले पनि यहाँ मौकाको फाइदा उठाइरहेको उनको भनाइ थियो ।

    श्रम तथा यातायातमन्त्रीबाट आजै बर्खास्त भएकी चौधरीले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने बताइन् ।

    सभामुख रामचन्द्र मण्डलले सांसद चौधरीले बोलेलगत्तै उनले गलत शब्द चयन गरेकाले रेकर्डबाट हटाउन निर्देशन दिए ।

  • ‘भ्रष्टाचारका घटनामा राजनीतिक दाउपेच हुँदैछन्, २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउँदैछु’

    ‘भ्रष्टाचारका घटनामा राजनीतिक दाउपेच हुँदैछन्, २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउँदैछु’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका घटनासमेत राजनीतिक दाउपेचको शिकार हुने वर्तमान प्रवृत्ति सच्याउन आवश्यक भएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको काम आफूले निरन्तर गरिरहेको बताए ।

    उनले भने, ‘कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुने होइन । पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक छ । मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

    कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको गृहमन्त्री लामिछानेले बताए ।

    उनले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने बताए ।

  • नाउपा संसदीय दलको नेता परिवर्तन : के हुन्छ सरकारको समर्थन ?

    नाउपा संसदीय दलको नेता परिवर्तन : के हुन्छ सरकारको समर्थन ?

    कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलको नेता परिवर्तनसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

    यसअघि नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ संसदीय दलको नेता थिइन् । संसदीय दलमा फरक मत राख्दै आइरहेका रेशम पक्षमा सांसद गङ्गा चौधरीलाई हिजो बहुमत सांसदले दलको नेता चयन गरेका हुन् ।

    नाउपामा चौधरी प्रमुख सचेतकको भूमिकामा थिए । तर, पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उनी गएनन् ।

    आफैले विश्वासको मत नदिएको सरकारबारे चौधरीले कस्तो निर्णय गर्छन् त्यो भने हेर्न बाँकी नै छ । नाउपा केन्द्रमा चार सांसद छन्।

    गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गङ्गा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन। आजै उक्त निर्णय संसद् सचिवालयका दर्ता गर्ने तयारी भइरहेको छ ।

    चार मध्ये तीन सांसदको समर्थनमा दलको नेता बनेका चौधरीले अब पार्टीलाई मिलाएर लैजाने बताएका छन् ।

    ‘पहिले पार्टी अध्यक्ष पनि उहाँ (रन्जिता) हुनुहुन्थ्यो दलको नेता पनि । अब मैले दलको नेताको जिम्मेवारी पाएको छु’ चौधरीले भने, ‘सबैलाई मिलाएर, समेटेर लैजान्छु ।’

    प्रचण्ड सरकार गठनदेखि विश्वासको मतसम्ममा पनि पार्टी भित्र तीव्र विवाद रहेको थियो । रेशम चौधरी निकट रहेका गङ्गा चौधरी तत्काल सरकारलाई समर्थन नगर्ने र सरकारमा सहभागी नहुने बताउँदै आएका थिए भने रन्जिता चौधरीसहित अन्य तीन जनाले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने भन्ने अडानमा थिए ।

    बहुमतका आधारमा रन्जिता कै एजेन्डा अगाडि बढेको थियो । तर, अहिले केही समय अघिसम्म अध्यक्ष रन्जिता श्रेष्ठकै पक्षमा देखिएका लालवीर चौधरी र अरुण चौधरीले पनि गङ्गालाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेपछि संसदीय दलमा रन्जिता अल्पमतमा परेकी छन् ।

    यसअघि आफै मन्त्री बन्ने तयारीमा रहे पनि अब भने रन्जिताको उक्त तयारीमा ब्रेक लाग्न सक्ने देखिएको छ । सरकारलाई दिएको समर्थन यथावत् राख्दै मन्त्री सिफारिस गर्न फेरि बैठक बस्ने चौधरीले जानकारी दिए ।

    ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन तर,मन्त्री सिफारिस गर्ने विषयमा हामी फेरि छलफल र बैठक राख्छौँ’ चौधरीले भने ।

  • रेशम चौधरी भन्छन्- टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला आयो (भिडिओ)

    रेशम चौधरी भन्छन्- टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला आयो (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरूलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गरे । टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको उनको भनाइ छ । कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न उनले आग्रह गरेका छन् । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको चौधरीको भनाइ छ ।

    उनले भने, ‘सबैभन्दा पहिला टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपभार गर्नेले ८ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजीनीति गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरू आएर गरेको महाधिवेशन अवैध ?’

    अहिलेको शासन पद्धतिबाट आफूहरू आजित भएको चौधरीको भनाइ छ ।

  • सुदूरपश्चिममा निर्णायक नाउपाका ७ सांसद- ९ महिनामा सबैले चाखे मन्त्रीकाे स्वाद !

    सुदूरपश्चिममा निर्णायक नाउपाका ७ सांसद- ९ महिनामा सबैले चाखे मन्त्रीकाे स्वाद !

    कैलाली । सुदूरपश्चिम प्रदेशमा संसदीय अंकगणितले निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सबै सांसद मन्त्री बनेका छन् । यहाँ सात सांसद छन् । पछिल्लो ९ महिनामा यी सबै सांसदलाई मन्त्री बन्ने अवसर मिल्यो । कोही सात महिना भए कोही महिना दिन ।

    एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर ढलेपछि कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहको नेतृत्वको सरकार गठन भएको थियो । उक्त सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीबाट पहिलो पटक साउन १७, २०८० गते भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रीमा रामेश्वर चौधरी र सोही मन्त्रालयको राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भएका थिए ।

    नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच शक्ति संघर्ष सुरु भएपछि रन्जिता निकट रहेका कैलाशलाई बर्खास्त गरेर मुख्यमन्त्री कमल बहादुर शाहले रेशम निकटकी इन्दिरा गिरीलाई फागुन २५ गते भूमि व्यवस्था कृषि तथा सहरकारी राज्यमन्त्रीमा शपथ गराए ।

    सोही दिन नाउपाका घनश्याम चौधरी आर्थिक मामिला मन्त्रीमा र खुशीराम चौधरीले विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

    केन्द्रमा नयाँ समीकरणको सत्ता गठबन्धनको सरकार तयार भएपनि कांग्रेस नेतृत्वको सरकारले नेकपा एकीकृत समाजवादी र माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेको थियो । ती मन्त्रालयको जिम्मेवारी नाउपाका सांसदले पाए ।

    फागुन २८ गते नाउपाका थप एक सांसद लक्ष्मण किशोर चौधरीले विना विभागीय मन्त्रीमा शपथ लिए । पछि खुसीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय तथा लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

    साउन देखी फागुन सम्म सुदूरपश्चिममा नाउपाका सात मध्ये ६ जना मन्त्री भइसकेका थिए । नाउपाकी सांसद टीका थापा मात्रै सरकारमा सहभागी हुन पाएकी थिइनन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको नेतृत्वको बनेको सरकारमा उनले पनि मन्त्रीको अवसर पाइन् ।

    मंगलबा। थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइन् भने साउन १७, २०८० मा सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहेका कैलाश चौधरीले जेठ ६ गते देखी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइरहेका छन् ।

    अहिले नाउपाको तर्फबाट सुदूरपश्चिम सरकारमा चौधरी र थापा मात्रै सहभागी छन् । पछिल्लो ९ महिनामा यहाँका सबै सांसदहरूले मन्त्रीको अवसर पाए ।

     

  • सुदूरपश्चिममा नाउपाकी टीका मन्त्री बन्दै

    सुदूरपश्चिममा नाउपाकी टीका मन्त्री बन्दै

    कैलाली । सुदूरपश्चिम सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकि टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै छन् । १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ ।

    वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए । सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नाउपका कैलाश चौधरीलाई नियुक्त गरेका थिए । आज फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गर्दै छन् ।

    आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

  • ‘सजाय माफी पाउँदैमा रेशमको नैतिक चरित्र पुनःस्थापित हुन्न, पीडितलाई थप पीडा र दण्डहीनता बढ्छ’

    ‘सजाय माफी पाउँदैमा रेशमको नैतिक चरित्र पुनःस्थापित हुन्न, पीडितलाई थप पीडा र दण्डहीनता बढ्छ’

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी अदालतबाट नैतिक पतन जनिने कसुरमा सजाय पाइसकेको व्यक्ति भन्दै उनी पार्टीको सदस्य हुनसमेत अयोग्य रहेकाले पार्टी अध्यक्ष भनी उनले गरेको दाबी र कथित महाधिवेशन खारेजभागी रहेको जिकिर गरेकी छन् ।

    निर्वाचन आयोगले रेशम चौधरी अध्यक्ष रहेको विवरण अस्वीकार गर्दै नाउपाको अध्यक्ष रञ्जिता चौधरी नै रहेको निर्णय गरेपछि त्यसविरुद्ध रेशमले सर्वोच्चमा दायर गरेको रिटमाथि जवाफ दिने क्रममा रञ्जिताले रेशमले सजायबाट माफी पाए पनि नैतिक चरित्र पुनःस्थापना नहुने जिकिर गरेकी छन् ।

    उनको तर्फबाट संगीत ढुंगानाले वारेस भई दिएको जवाफमा भनिएको छ- अपहरणमा परेका अर्थात आत्मसमर्पण गरेको प्रहरीदेखि अवोध बालकलाई हत्या गरेको कार्य नैतिक पतन नभएको अवस्थामा समेत राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ ले दलको सदस्यताको लागि अयोग्य मान्ने कुरा र पार्टी विधानको आधारमा निर्वाचन आयोगले विपक्षी रेशम चौधरी पार्टी सदस्यसमेत हुन अयोग्य रहेको भनी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नभएको हुँदा विपक्षीको रिट खारेजभागी छ ।

    रञ्जिताको तर्फबाट अदालतमा पेश भएको जवाफमा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको व्यक्तिलाई दलले सदस्य दिन नमिल्ने स्पष्ट व्यवस्था कानूनमा रहेको भन्दै सोहीबमोजिम रेशम चौधरी नाउपाको सदस्य हुन अयोग्य रहेको जिकिर गरिएको छ ।

    रञ्जिताको जवाफमा टीकापुर हत्याको घटनामा संगठित रुपमा योजना बनाउने र वारदातमा आफैं उपस्थित भई प्रहार गर्न गराउनमा संलग्न भएको, ज्यानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई विभत्स हत्या गर्न संलग्न रहेकोलगायतका विषयसमेत उल्लेख गरिएको छ । सो घटनामा रेशम चौधरीको संलग्नताको विषयमा विवाद नरहेको जिकिरसमेत गरिएको छ ।


    जवाफमा भनिएको छ- माफी मिनाहाद्वारा सजायबाट दिइने छुटकाराले माथि उल्लेखित यस्ता collateral consequences of criminal charges बाट भने छुटकारा दिन नमिल्ने अवस्थाको सिर्जना गरेकोमा माफी मिनाहाले कुनै व्यक्तिको नैतिक चरित्रको पुनःस्थापना गर्दछ भन्ने कुतर्क गर्न नमिल्ने हुन्छ । यदि सोविपरीत collateral consequences of criminal charges बाट समेत छुटकारा दिँदै जाने हो भने अपराध पीडित संरक्षण ऐनमा उल्लेख गरिएको पीडितलाई न्यायको अवस्था सिर्जना नभई उल्टो पीडितहरुमाथि थप पीडा सिर्जना हुन्छ । अपराध नियन्त्रण गर्ने राज्यको इच्छाशक्तिलाई कमजोर बनाउँछ र राज्यलाई कमजोर बनाउँछ । -दण्डहीनताको अवस्था सिर्जना हुने र -समग्र न्याय तथा कानून प्रणालीप्रतिको जनआस्थामा नकारात्मक प्रभाव पार्ने काम गर्दछ ।

    टीकापुर महाधिवेशनबाट निर्वाचित रेशम चौधरी अध्यक्षताको कार्य समितिलाई निर्वाचन आयोगले मान्यता नदिएपछि उनी अदालत गएका थिए । अदालतमा सो मुद्दाको अघिल्लो सुनुवाइ वैशाख १४ गते तोकिएको रञ्जिता पक्षका अधिवक्ता संगीत ढुंगानाले बताए । रञ्जिताले निर्वाचन आयोगको निर्णय र राजनीतिक दलसम्बन्धी कानूनलाई नै टेकेर रेशम चौधरी पार्टीको सदस्य हुन अयोग्य रहेको जवाफ दिएको ढुंगानाले बताए ।

  • रञ्जिताको निर्णयमा धक्का- इन्दिरालाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    रञ्जिताको निर्णयमा धक्का- इन्दिरालाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो ।

    स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन् । गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो ।