Category: माओवादी केन्द्र

  • एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

    एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

    काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

    संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

    उनीहरूले यसअघि ४ गते पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए । त्यस दिन प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । विप्लव नेतृत्वको नेकपालगायतका साना वाम दलले पनि एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

    संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थानवरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    तस्बिरहरु :गाैरव पाैडेल

     

  • सत्तागठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र उपेन्द्रको बेग्लै बैठक

    सत्तागठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र उपेन्द्रको बेग्लै बैठक

    काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताको बैठक बसेको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवबीच बैठक बसेको हो ।

    बैठकमा तीन दलका अरु नेताहरु पनि सहभागी भएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बैठक जारी छ ।

    १० बजे सत्तागठबन्धनको बैठक डाकिएको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

    सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

    पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

  • माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा बसे ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । छलफलपछि सुरूमै श्रेष्ठ निस्किए ।

    त्यसपछि निस्किएका एकीकृत समाजवादीका अध्यक्ष नेपाललले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनले भने- ‘के बोल्नु, धेरै बोलेरै बिग्रिएको छ ।’

    नेपालपछि निस्किए माओवादी अध्यक्ष प्रचण्ड । उनले आफूहरूको जोड गठबन्धन जोगाउनमै रहेको बताए ।

    ‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

  • गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

    गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । बैठकमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

    एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन् । माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन् ।

    नेपाली कांग्रेस यसलाई अगाडि बढाउनुपर्ने अडानमा छ । यसले गठबन्धनबीच नै फाटो ल्याउने आशंका गरिएका बेला प्रचण्डले विहीबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

    गठबन्धनको बैठक दिउँसो ५ बजे बालुवाटारमा बस्दैछ ।

  • प्रचण्ड निवासमा कलाकार, सन्दीप भन्छन् : पार्टी प्रवेश गर्न लागेको हैन

    प्रचण्ड निवासमा कलाकार, सन्दीप भन्छन् : पार्टी प्रवेश गर्न लागेको हैन

    काठमाडौं । एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दौडधुपमा व्यस्त माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बिहीवार कलाकारलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कलाकार खुमलटार पुगेका थिए ।

    गायक राजेशपायल राई, चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए । अध्यक्ष प्रचण्डले कलाकारसँग एक्लाएक्लै भेट गरेको उनकी स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

    आफूहरु प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेको अभिनेता समेत रहेका क्षेत्रीले जानकारी दिए । ‘पार्टी प्रवेश गर्न हैन, सीता दाहालको अवस्था बुझ्न हामी गएका हौं । त्यही क्रममा अध्यक्षज्यूसँग पनि क्याजुअल भेटघाट भएको हो’ उनले भने ।

    प्रचण्डसँगको भेटमा कलाकारहरुले खुलेर आफ्नो कुराहरु राखेको जानकारी स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छिन् । प्रचण्डले बेला-बेलामा आफू निकट कलाकर्मीसँग खुलमटारमा भेटघाट गर्ने गरेका छन् ।

  • प्रचण्ड-माधवको दोहोरो भूमिका : आफैं सरकारमा, आफैं आन्दोलनमा

    प्रचण्ड-माधवको दोहोरो भूमिका : आफैं सरकारमा, आफैं आन्दोलनमा

    काठमाडौं । परम्परागत कम्युनिष्ट पार्टीहरुले प्राय: दोहोर्‍याइरहने शब्दावली हो- संघर्षका सबै मोर्चा उपयोग गर्ने । संघर्षका सबै मोर्चा भन्नाले सडकदेखि संसदसम्मलाई बुझिन्छ र यो मुलतः सरकारमा नरहेको अवस्थामा लागू हुन्छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी हाल गठबन्धन सरकारमा छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ । तर, आफैं सम्मिलित सरकारले अनुमोदनका लागि पेश गरेको सम्झौताविरुद्ध यी दुई दलले सडकमा कार्यकर्ता उरालेका छन् ।

    अमेरिकी सहायता परियोजना (एमसीसी) लाई लिएर माओवादी र एकीकृत समाजवादी दोहोरो भूमिका अहिले छताछुल्ल बनेको छ । यी दुई दलले बुधबार कार्यव्यवस्था परामर्श समितिमा सरकारले अघि बढाउन खोजेको एमसीसीविरुद्ध फरक मत राखे । सत्ताका सहयात्रीमै बेमेल हुँदा संसदमा आज एमसीसी टेबुल हुन सकेन ।

    अर्कोतर्फ गठबन्धन के हुन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ ।

    माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ बुधबार बानेश्वरमा भएको एमसीसीविरुद्धको सडक प्रर्दशनमै सहभागी भए । आफ्नै सरकारविरुद्ध पार्टीको भातृ संगठनको आन्दोलनमा जाँदा उनीमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी अनुमोदन गर्ने वाचा गर्दै अमेरिकालाई पत्र लेखे । तर, उक्त प्रतिवद्धताको जवाफदेहिता अहिले उनी बोक्न चाहँदैनन् । बरु कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतारेका छन् भने एमसीसी टेबुल गरिएमा सरकारबाटै हट्ने भनेर पार्टीबाट आधिकारिक निर्णय गराएका छन् ।

    माओवादी केन्द्रका भातृ संगठन अखिल (क्रान्तिकारी) र वाईसीएल तथा एकीकृत समाजवादीका भातृ संगठनहरु अनेरास्ववियू र युवासंघको प्रदर्शनका कारण बुधबार बानेश्वर वरपरको अवस्था तनावग्रसत बनेको थियो ।

    वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले दोहोरो भूमिका खेलेको आरोप अस्वीकार गर्छन् । गठबन्धन एमसीसी पास गर्न सर्तमा नबनेको र संसोधनबिना एमसीसी पास गर्नुहुँदैन भन्ने माओवादीको पहिलेदेखिकै अडान रहेको उनको भनाइ छ ।

    ‘यो गठबन्धन र सरकार एमसीसी पारित गर्ने सर्तमा बनेको होइन,’ उनको भनाइ छ, ‘हाम्रो पार्टीले पटक–पटक एमसीसी संशोधनबिना स्वीकार गरिन्न भनेर भनेको छ । अहिले त्यही भनेर आफ्ना भावना राख्दा कसरी दोहोरो हुन्छ ?’

    जबरजस्ती एमसीसी टेबुल गरिए सरकारमा नबस्ने निर्णय पार्टीको संसदीय दलको बैठकले पनि गरेको उनले बताए ।

    ‘हामी बस्दैनौं भन्ने कुरामा प्रष्ट छौं,’ सापकोटाले भने ।

    अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली देशको राष्ट्रियतासँग जोडिएको विषयमा विरोध गर्दा सरकारमा रहने–नरहने कुरा गौण हुने बताउँछन् । सरकार आफूहरुका लागि प्राथमिकताको विषय नभएको र आवश्यक पर्दा बाहिरिन बेर नलगाउने उनको भनाइ छ ।

    समाजवादीपछि माओवादीका संगठन सडकमा

    सरकारमा रहँदा–रहँदै एकीकृत समाजवादीका भ्रातृसंगठन सुरुमा एमसीसीविरुद्ध सडकमा आए । फागुन १ गते सबै भ्रातृ संगठनले एमसीसीविरुद्ध एकीकृत प्रदर्शन गरेका थिए । त्यतिबेला माओवादी भने सडकमा आइसकेको थिएन । माओवादी नेताहरु व्यक्तिगतरुपमा एमसीसीको विरोध गरिरहेका थिए ।

    तर, कांग्रेसले मंगलबार संसदीय दलको बैठक राखेर एमसीसी संसदमा टेबुल गराइछाड्नेतर्फ अग्रसरता देखाएपछि बुधबार बिहानैदेखि माओवादीका भातृ संगठन पनि विरोधमा उत्रिएका हुन् ।

    अब दुवै सत्तारुढ दलका भातृ संगठन सडकमा आइसकेका छन् । सत्ता गठबन्धकै अर्को दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीविरुद्ध सडकमा गइसकेको छ ।

    नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका पार्टीले गरेको एमसीसीविरुद्धको प्रर्दशनमा जनमोर्चा सहभागि भएको थियो ।

  • एमसीसीविरोधी प्रदर्शनमा सडकमा निस्किए नारायणकाजी

    एमसीसीविरोधी प्रदर्शनमा सडकमा निस्किए नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

    संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता र भ्रातृ संगठनको एमसीसीविरुद्धको प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।

    माओवादी संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

    माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

  • पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा, एमसीसी अघि बढाइए आजै सरकार छाड्ने

    पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा, एमसीसी अघि बढाइए आजै सरकार छाड्ने

    काठमाडौं । सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलबाट गराएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् ।

    पार्टीको निर्णय सुनाउन र सहमतिबिना एमसीसी अघि नबढाउन आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न गएका हुन् ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले एमसीसीलाई आजको कार्यसूचीमा राख्न दबाब दिएको छ भने प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए । माओवादीका मन्त्रीहरुलाई पनि आवश्यक परे आजै राजLनामा दिनुपर्ने बताइएको छ ।

    एमसीसीको सन्दर्भमा माओवादी रिजिड बनेको र माधव नेपाल लचिलो बनेको ब्रिफिङ कानूनमन्त्री दिलेन्द्र बडूले कांग्रेस नेताहरुलाई गरेका छन् ।

    माओवादीले भने एमसीसी जबर्जस्तL अघि बढाइए गठबन्धन टुट्ने प्रष्ट सन्देश दिएको छ । त्यही सन्देश दिन प्रचण्ड बालुवाटार गएका हुन् ।

  • कांग्रेसप्रति लक्षित गर्दै माओवादीले भन्यो- कुनै घटकले एमसीसी अघि बढाए गठबन्धन तोडियो भन्ने हुन्छ

    कांग्रेसप्रति लक्षित गर्दै माओवादीले भन्यो- कुनै घटकले एमसीसी अघि बढाए गठबन्धन तोडियो भन्ने हुन्छ

    काठमाडौं । बहुचर्चित तथा विवादित बनेको अमेरिकी सहायता परियोजना (एमसीसी) पेस गर्ने विषयमा सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रले आज आधिकारिक धारणा बनाएको छ ।

    माओवादी संसदीय दलको भर्खरै सकिएको बैठकले एमसीसी सम्झौतामा रहेका असमान र राष्ट्रिय हितविपरीतका स्वार्थ परिमार्जन नगरी यथास्थितिमा अगाडि बढाउन र पारित गर्न नसकिने प्रष्ट्याएको छ ।

    प्रमुख सचेतक देव गुरुङले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘जबरजस्ती लिएर आए माओवादीले त्यसको विपक्षमा मतदान गर्छ ।’

    एमसीसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने माओवादीको भनाइ छ । कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने बैठकले निर्णय गरेको छ ।

    सरकारमा रहेका पाँचवटै दलबीच सहमति नभइ एमसीसी अगाडि बढाइए आफूहरू सरकारबाट बाहिरिने माओवादीको भनाइ छ ।

    ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’

    सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई आफूहरूले नाफाघाटाको रूपमा नहेर्ने बैठकमा प्रष्ट्याएका थिए ।

    त्यस्तै सदन सुचारु नभइ कुनै एजेण्डा अघि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सदन अवरोध नगर्न आग्रह गर्ने पनि निर्णय भएको गुरुङले बताए ।

  • एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय (भिडिओ)

    एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ ।

    संसदीय दलको भर्खरै बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

    ‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले सञ्चारकर्मीसँग भने ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएकोबारे पत्रकारको जिज्ञासामा गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’

    गुरुङले थपे, ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’

  • एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक जारी (तस्बिरहरू)

    एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक जारी (तस्बिरहरू)

    काठमाडौं। एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

    आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो ।

    माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

    संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

    संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

    तस्बिरहरू : उमेश कार्की ।

  • कार्चेनलाई मन्त्री बनाइएको विरुद्ध परेको रिटमा अदालतको कारण देखाऊ आदेश

    कार्चेनलाई मन्त्री बनाइएको विरुद्ध परेको रिटमा अदालतको कारण देखाऊ आदेश

    सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा उर्फ कार्चेन लामाविरुद्धको रिटमा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

    फौजदारी कसुरमा सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै वीरेन्द्रनगर-३ कि विनिता बोगटीले सोमबार दायर गरेको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

    अन्तरिम आदेश माग गरिएकाले यहीँ फागनु १० गते छलफलका लागि बोलाउन आदेश भएको उप-रजिष्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए ।

    मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कानून संकायकी विद्यार्थी बोगटीले दायर गरेको रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरिनु कानुनी राज्यको उपहास भएको उल्लेख छ ।

  • माओवादीका दुई गाउँ कमिटी नै एमालेमा समाहित भएपछि रुपन्देहीको राजनीतिमा तरंग

    माओवादीका दुई गाउँ कमिटी नै एमालेमा समाहित भएपछि रुपन्देहीको राजनीतिमा तरंग

    रुपन्देही । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा छापामार रहेका रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुल र नेपाली कांग्रेसका संघीय सांसद प्रमोद यादवका सहोदर भाइ, जसपाका नेता तथा रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव पार्टी पालिकाको नेतृत्वसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीति तातेको छ ।

    तुलनात्मक हिसाबले एमालेको संगठन कमजोर रहेका ती पालिकामा कार्यकाल सकिन ३ महिना बाँकी रहँदा ती नेताहरुले किन एमाले रोजे ? भन्ने विषयले चर्चा पाएको छ । पालिकामा माओवादी तथा जसपाका प्रभावशाली मानिएका ती नेताहरु सोमबार रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिका प्रमुख, उपप्रमुख तथा त्यहाँ रहेका माओवादी र जसपाका गाउँ कमिटीसहित ठूलो संख्यामा एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजननीति तरंगित भएको हो ।

    १६ गाउँपालिका रहेको रुपन्देहीका ८ वटा ठूला पालिकामा गत स्थानीय तहको निर्वाचनमा जित निकालेको एमालेले कांग्रेस माओवादी तालमेलबाट माओवादीले जितेको ओमसतियाको नेतृत्व र फोरमबाट निर्वाचित हाल जसपामा रहेको रोहिणीको नेतृत्व भित्राएर दक्षिणी क्षेत्रमा आफ्नो प्रभाव देखाउन खोजेको छ ।

    रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरे । यादव नेपाली कांग्रेसका नेता एवम्ं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन् । भने केवट सशस्त्र युद्धका लडाकु हुन् ।

    तत्कालीन मधेसी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका यादव र नेकपा माओवादी केन्द्रबाट निर्वाचित केवटलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मालगायतका नेताले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।

    गएको स्थानीय तहमा तुलनात्मक रुपमा कमजोर रहेका पालिकाहरु यसपटक कब्जा गर्ने रणनीति अन्तरगत सोमबार रुपन्देहीका दुईवटा पालिकाका प्रमुख र उपप्रमुखलाई एमालेमा प्रवेश गराएको दावी नेताहरुको छ ।

    सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गराउन राजधानी काठमाडौंमा तातेको राजनीति छाडेर एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही आएका थिए ।

    दुवै अध्यक्षहरु स्थानीयस्तरमा जनमतको हिसावले बलियो मानिन्छन् । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एमालेले रुपन्देहीका सबै पालिकामा विजय हासिल गर्ने योजना अनुरुप जनप्रतिनिधिहरुलाई एमालेमा प्रवेश गराउने अभियानमा रहेको बताए ।

    ‘एमाले देशैभरी बलियो शक्तिको रुपमा आएको छ रुपन्देहीमा हामी अब पहिलो शक्ति बनेरै छोड्छौं अझै धेरै मतदाताहरु एमाले प्रवेश गर्दै हुनुहुन्छ, उनले भने ।

    एमाले उपाध्यक्ष बिष्णु पौडेलले सत्ता गठबन्धनले जतिसुकै जालझेल गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने बताए ।
    अब कसैको जालझेल र षडयन्त्रबाट एमालेको विजययात्रा रोकिदैन अव फेरी पनि एमाले आयो आयो’, उनले भने ।

    एमाले सचिव छविलाल विश्वकर्माले तराईमा एमालेको जनलहर उर्लिएको ओमसतिया र रोहिणीको अवस्थाले प्रष्ट हुने बताउँदै दक्षिणी क्षेत्रमा एमालेविरुद्ध चलाइएको भ्रमबाट सबै मुक्त हुन थालेको बताए ।

    रुपन्देहीलाई एमालेको लालकिल्ला बनाउँछौं– हिरा केवट

    ओमसतिया गाउँपालिकाको नेतृत्व र माओवादी पार्टी नेतृत्व लिएर एमाले प्रवेश गरेका हिरा केवटले माओवाी र गठबन्धनबाट देश नचल्ने भएकाले एमाले रोजेको बताए । उनले भने, ‘ओमसतिया, रोहिणी र क्षेत्र नम्बर १ लाई एमालेको लालकिल्ला बनाउँछौं । यो क्षेत्रलाई एमालेमय बनाउँछौं । जीवन रहँदासम्म कम्युनिष्ट पार्टीको झण्डामुनि रहनेछु । गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न सकेन ।’

    एमालेलाई मधेसविरोधी भन्ने भ्रम तोड्छु– यादव

    तराईमा एमालेलाई मधेसविरोधी भनेर धेरै समय प्रचार गरिएको बताउँदै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले सरकारमा रहँदा तराईमा एमालेले गरेको विकास र प्राथमिकताले धेरैलाई प्रभावित बनाएको बताए ।

    उनले भने, ‘पार्टीबाट असहयोग भएका कारण जसपा परित्याग गरेको हुँ । पार्टीबाटै भ्रष्टाचार भनियो । तर म भन्न चाहन्छु, भ्रष्टाचारी प्रमाणित गर्नुहोस्, राजनीति छोड्छु । समग्र रोहिणीको विकासमा एमाले नेतृत्वको सरकारले सहयोग गरेको छ । एमालेलाई मधेसविरोधी भनिन्छ तर एमाले मधेसविरोधी भएको भए क्षेत्र नम्बर १, रुपन्देहीबाट जनताले कसरी एमालेलाई जिताए ? अब एमालेको लालकिल्ला बनाउने हो ।’

  • एमसीसी खारेजी माग्दै माओवादी र नेकपा एसको संयुक्त प्रदर्शन

    एमसीसी खारेजी माग्दै माओवादी र नेकपा एसको संयुक्त प्रदर्शन

    विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दै सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त विरोध गरेको छ ।

    बूढीगंगा गाउँ कमिटीको आयोजनामा एमसीसी खारेजीको मागसहित माओवादी र नेकपा एसका कार्यकर्ताले विरोध जनाएका हुन् । उनीहरूले ‘विदेशी दलाल होसियार, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ जस्ता नारा लगाएका छन् ।

    नेकपा एसका मोरङ सचिव राजन केसी र माओवादी बूढीगंगाका इन्चार्ज ईश्वरी आचार्यको नेतृत्वमा विरोध गरिएको गाउँ कमिटी उपाध्यक्ष रोहित दाहालले बताए ।

  • माओवादी आन्दोलनको उपलब्धी, लुम्बिनीमा हालीमुहाली

    माओवादी आन्दोलनको उपलब्धी, लुम्बिनीमा हालीमुहाली

    रुपन्देही । लुम्बिनी प्रदेश माओवादी आन्दोलनको जग बसेको ठाउँ हो । २७ वर्षअगाडि २०५२ साल फागुन १ गते यहीँबाट माओवादी आन्दोलनको सुरुवात भएको थियो ।

    विगतका वर्षहरुमा फागुन १ गते माओवादीले विशेष कार्यक्रम गरेर मनाउने गरे पनि केही वर्षयता भने सामान्य औपचारिकतामा सीमित हुन थालेको छ ।

    रोल्पा, रुकुम, दाङ, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्ला हुँदै आन्दोलनको सुरुवात गरेको माओवादीले अहिले यहाँका मुख्य शक्तिमा कब्जा जमाएको छ ।

    लुम्बिनीमा तेस्रो दल भएपनि प्रदेशमा रहेका मुख्य शक्ति केन्द्रमा उसकै नेतृत्व रहेको छ । नेकपा विभाजनसँगै एमाले र माओवादी अलग अलग बनेपछि माओवादीलाई यस्तो नेतृत्व गर्ने अवसर आएको हो ।

    सत्ता परिवर्तनको खेलसँगै लुम्बिनी प्रदेशको मुख्य शक्ति केन्द्र सबै माओवादी केन्द्रमा पुग्ने भएको छ ।

    लुम्बिनीमा प्रदेशका प्रमुख पद प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख माओवादीको नेतृत्व रहेको छ । अहिले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती र मुख्यमन्त्री कुलप्रसाद केसी तीनै माओवादी केन्द्रबाट आएका नेताहरु हुन् । केसी यसअघि नेकपाको सरकारमा शक्तिशाली मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा तीन वर्षभन्दा बढी बसिसकेका थिए ।

    प्रादेशिक संरचनाका तीन मुख्य शक्ति केन्द्रमै माओवादीको नेतृत्व पुगेपछि सरकारले गति लिन नसकेको आलोचकहरुको तर्क रहेको छ ।

    एमाले सरकार विस्थापन गर्दै साउन २८ मा माओवादी नेतृत्वको सरकार आएपछि गठबन्धनमा रहेको मुख्य शक्ति केन्द्र तथा संघीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमै यो विषयमा छलफल थालेका थिए ।

    शक्ति सन्तुलन नमिलेकै कारण सरकारका कामहरु प्रभावकारी नभएको तर्क गठबन्धनमै सहभागी कांग्रेस नेताहरुले गरिसकेका छन् ।

    ‘विगतमा माओवादीका नेताहरुबाट धोका खाएको बिर्सेको त होइन तर अहिले अवस्था नै त्यस्तै आइलाग्यो, यहाँको प्रदेश प्रमुख कंग्रेसको कोटामा परेको थियो, माओवादीले गण्डकीका लागि सिफारिस गरिनुभएका अमिक शेरचन त्यहाँ दोहोरिन नपाउने कानुनले रोकेपछि बाध्य भएर यहाँ पठाइएको हो’, ती नेताले भने ।

    उनले अगाडि भने, ‘कतै शक्ति सन्तुलन नमिलेर अफ्ठेरो पर्ने हो की भनेर हामीले त्यो बेलामै छलफल गरेका थियौंं, अहिले त्यो अवस्था देखियो तर कानुन विपरीत एमालेले चलाइरहेको सत्ताबाट हटाउन आन्तरिक सहमति भएकै थियो, सहमतिमा आधा आधा समय नेतृत्वको सहमति यही आधारमा भएको हो, माओवादीबाट त्यसखालको अफ्ठेरो नआउला भनेर मुख्यमन्त्री पनि बाँकी कार्यकाल आधाआधा गर्नेगरी छलफल भएको हो’, उनले भने ।

    एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र प्रदेशसभा सचिव सबै माओवादीको भएका कारण नेतृत्वमा दम्भ पलाएको र गतिबिहीन अवस्थामा प्रदेश रहेको बताए ।

    उनले एउटै पार्टीको व्यक्तिलाई यसरी शक्तिको जिम्मेवारी दिइँदा शक्ति सन्तुलन नमिल्ने धारणा पार्टीले पहिले नै राखेको भएपनि सुनुवाई नभएको, प्रदेशका विकास खर्च, प्रदेश सरकारका काम, प्रदेशसभा, विभिन्न नियुक्ति सबैमा विवादित रहेर अहिलेको नेतृत्व नै असफल रहेको आरोप लगाए ।

    संविधान सभाका सदस्य तथा विश्लेषक विनोद पहाडीले बाहिरी रुपमा सबै शक्ति माओवादीको हातमा पुगेको देखिएपनि आन्तरिक सहमतिमै काम भएको दावी गर्छन् । एमाले र माओवादी मिलेर नेकपा भएकै अवस्थामा करिब दुई तिहाईमा रहेको प्रदेश सभामा यसअघि पनि पहिलेको शक्तिलाई हेरेर पद बाँडफाँड गरिएको थियो ।

    ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८१ सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका ४ र जनमोर्चा तथा स्वतन्त्र एक एक गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३६ जना मात्र छन् ।

    अधिवक्ता तथा विश्लेषक पदम कार्कीले प्रदेश सभामा माओवादीको एकल बहुमत नभएकाले माओवादीले एकलौटी गर्नथालेमा, मनमौजी गर्नथालेमा प्रदेश सभामा रोक्नसकिने बताए ।

    उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका, प्रदेश प्रमुख सबै एउटै पार्टीको हुँदा चेक एण्ड ब्यालेन्स नहुनसक्छ, कतिपय कानुन मनमौजीरुपमा अगाडि बढ्नसक्छन् तर माओवादीले संसदबाट पारित गर्न आफैमा बहुमत नभएकाले गठबन्धनमा रहेका दलहरु क्रियाशील हुनुपर्छ ।’

    विश्लेषक ऋषि आजाद शक्ति सन्तुलन नभएका कारण सरकार कम जवाफदेही बन्न नसकेको बताउँछन् । उनले आगामी दिनमा दलहरुले यस विषयमा ध्यान दिनुपर्ने बताए ।

    ‘शक्ति सन्तुलनका लागि संविधानले नै व्यवस्था गरेको छ, तर अहिले यहाँको राजनीति नै यस्तो भयो कि बुझ्नै नसकिने, त्यसैले तीनै शक्ति एउटै पार्टीमा रहेमा सबै चनाखो हुनुपर्दछ’ उनी भन्छन् ।

    अहिले माओवादी आन्दोलन गरेका नेताहरुले अगल अगल पार्टी बनाएका छन् । यसका संस्थापक मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँतीले अहिले अलग अलग पार्टी बनाएर नेतृत्व गरेर बसेका छन् ।

    विप्लव निकट पत्रकार तथा नेता प्रकाश डुम्रेले देश माओवादी एजेण्डामा भएपनि पनि माओवादी आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्छन् ।

    माओवादी एजेण्डामा समकालीन राजनीति, सरकार र सत्ता सञ्चालन गरेपनि माओवादी भने नेपाली राजनीतिमा अहिले सबैभन्दा धेरै आरोप र दोषको केन्द्रमा रहेको र यसो हुनुमा कतिपय कोणले माओवादीसमेत चुकेको उनको विश्लेषण छ ।

  • माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस (तस्बिरहरु)

    माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी २७ औं जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् ।

    नेता तथा कार्यकर्ताले सहिदको फोटोमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बोल्दै नेताहरुले जनयुद्धको प्रशंसा गर्दै सहिदप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनीहरुले घाइते तथा सहिद परिवारप्रति सम्मान पनि व्यक्त गरे ।

    कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति छ ।

    हेर्नुहोस् तस्बिरहरु

     

     

  • जनयुद्ध दिवसमा प्रचण्डको अपिल- छरिएका माओवादीहरु एक होऔं (भिडिओसहित)

    जनयुद्ध दिवसमा प्रचण्डको अपिल- छरिएका माओवादीहरु एक होऔं (भिडिओसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच एकताको अपिल गरेका हुन् ।

    ‘देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘२७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु ।’

    उनले शुभकामना दिँदै सहिदहरुप्रति श्रद्धान्जली र जनयुद्धका क्रममा बेपत्ता पारिएका, घाइते र सहिदप्रतिप्रति सम्मान व्यक्त गरेका छन् ।

    शुभकामना सन्देशको पूर्णपाठ यस्तो छ

    २७ औं जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान् जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । महान् जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका योद्धाहरु, घाइते योद्धाहरु र उहाँहरुका परिवारजनप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

    नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ । नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।

    देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु ।

    यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु । छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु ।

    परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।
    अन्त्यमा, २७ औं जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गर्दछु ।

    १ फागुन, २०७८

    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    अध्यक्ष

    भिडिओ

  • युद्धमा दुई छोरा गुमाएकी ७३ वर्षीया तुल्साको प्रश्न- लुछाचुँडी कसका लागि ?

    युद्धमा दुई छोरा गुमाएकी ७३ वर्षीया तुल्साको प्रश्न- लुछाचुँडी कसका लागि ?

    रुपन्देही । सशस्त्र युद्धमा धेरै सर्वसाधारणले ज्यान गुमाए । कति बेपत्ता भए । कति अंगभंग भए । सरकार तथा विद्रोही पक्षबाट भएका यस्ता घटना भएको वर्षौ हुँदा पनि परिवारमा त्यो घाउ पुरिएको छैन । गाउँ गाउँमा यस्ता घटनाका उदाहरण अहिले पनि ताजै छन् ।

    यही आन्दोलनको पीडा सहेर बसेकी छन् रुपन्देहीको सैनामैना नगरपालिका-९ बाँसगढीकी ७३ वर्षीया तुल्सा पाण्डेले । बाँसगढी चोकदेखि करिब ५ सय मिटर पश्चिममा सहिद गेट बनाइएको छ । चाइनिज इँट्टाले बनाइएको गेटको माथिल्लो भागमा दुईजनाको सालिक राखिएको छ । त्यो सालिक उनै तुल्साका दुई भाइ छोराहरुको स्मृतिमा बनाइएको हो ।

    सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्षबाट मारिएका र बेपत्ता पारिएका दुई छोराहरुकै सम्झनामा तुल्साले यो गेट बनाएकी हुन् । छोराहरुको स्मृतिमा बनाइएको सहिद गेटदेखि १ सय मिटर दक्षिणतर्फ रहेको कच्चीघरमा तुल्सा कान्छी छोरी विष्णु खत्रीसंग दिन बिताएकी छन् ।

    नेकपा माओवादीले गरेको सशस्त्र युद्धको क्रममा मृत्यु भएका र बेपत्ता पारिएका सयौं युवाहरुको तस्बिरको बीचमा तुल्साका आंखाले आफ्ना दुई छोराहरुको तस्बिर आइरहन्छ ।

    प्रत्येक पटक घरभित्र र बाहिर गर्दा दलानमा टांगिएको छोराहरुको तस्बिरमा उनको ध्यान जान्छ । २०४४ सालमा पति झविन्द्रलाल पाण्डेको मृत्यु भएपछि तुल्सा चारजना छोरी र दुई छोरा लिएर गुल्मीको सिमिचौरबाट बांसगढीमा बसाई सरेकी हुन् । श्रीमानले ४० सालतिरै त्यो स्थानमा १ विगाह आठ नम्बरी जग्गा किने पनि मृत्युपछि मात्र यता आएकी हुन् । दुवै छोराहरु नभएपनि सबै जग्गा तुल्साले चारजना छोरीहरुलाई बराबर बनाइदिएकी छन् ।

    श्रीमान बिते पनि तुल्साले छोराछोरीको पालनपोषणमा कुनै कमी राखिनन् । छोरीहरुको विहेबारी गर्दै घरजममा पठाउंदै थिइन्, छोराहरु पढ्दै थिए । २०६० सालमा उनको परिवारमा कहिल्यै नमेटिने घटना आइलायो ।

    तुल्साका कान्छा छोरा युवराजले भर्खर एसएलसी परीक्षा दिएका थिए । १७ वर्षीय युवराज विद्यालय पढ्दा नै माओवादीमा लागेका थिए । एसएलसी परीक्षा दिएपछि उनी भूमिगत भए ।

    युवराज माओवादी सेनामा लागेको थाहा पाएपछि सुरक्षाकर्मीहरु दैनिक घर वरिपरि आउने र उनका दाजु दुर्गालाई केरकार गर्न थाले । घरमा अपरिचित व्यक्ति आएको थाहा पाउनेबित्तिकै खानतलासीको लागि प्रहरी घरमा आईपुग्थे । भूमिगत भएपछिको पांचवर्षमा युवराज मुस्किल ६/७ पटक घरमा आएको तुल्सा सम्झना गर्छिन् । आमालाई भेट्न घरमा आएपनि राती घर बस्दैनथे, गाउंमा साथीहरुको घरमा गएर सुत्थे, भोलिपल्ट बिहानै गइहाल्थे । भाइ माओवादी युद्धमा लागे पनि दाइ दुर्गा भने सुरुमा लागेका थिएनन् ।

    तर सुरक्षाकर्मीले गर्ने केरकार र खानतलासीबाट वाक्क बनेका दुर्गा ५८ सालतिर भारत गए । घरमा धेरै मेहनतको काम नगरेका दुर्गाले मुग्लानमा अरुको खटनपटनमा रहेर काम गर्न सकेनन्, भारत गएको ७/८ महिनामै घर फर्किए । केही महिना गाउँमा नदेखिएका दुर्गा घर आएपछि सुरक्षाकर्मीले माओवादीमा लागेको भनेर दैनिक सताउन थाल्यो ।

    ०५९ सालमा माओवादी सेनामा लागेका दुर्गा एकवर्षमै २०६० साल फागुन १७ गते २५ वर्षको उमेरमा मारिए । ‘कान्छो भूमिगत भएपछि घर छैन तिमि पनि गयौ भने हामी कसरी बस्ने भनेर धेरै सम्झायौं तर हाम्रो बिन्ति नसुनी गयो, सधैलाई जानलाई रहेछ’ माइली दिदी कमला श्रेष्ठले सम्झना गर्छिन् ।

    फागुन १७ गते सांझ दुर्गा बांसगढी सेरुवास्थित साथीको घरमा क्यारेमबोर्ड खेलिरहेका थिए । दुर्गा गाउँमा आएको सुरक्षाकर्मीले दिउँसो नै थाहा पाएका थिए । राति ९ बजेतिर क्यारेमबोर्ड खेल्दै गरेका दुर्गासहितका चारजनालाई घेरा हाली गोली हानिएको थियो ।

    घटनास्थल घरदेखि ५ सय मिटर नजिकै रहे पनि तुल्सा र दिदीहरुले दुर्गाको हत्या भएको भोलिपल्ट बिहान मात्र थाहा पाए । दुर्गाको हत्या हुँदा कान्छो छोरा युवराज सुरक्षाकर्मीको हिरासतबाट बेपत्ता भइसकेका थिए । गुल्मीको वामी टक्सारमा भएको लडाइँमा गोली लागेर गम्भीर घाइते भएका युवराज उपचारको लागि भारत गएका थिए । उपचार गरी नेपाल फर्किएका युवराज २०६० साल असोज १९ गते लुम्बिनी सुन्डिहवाबाट गिरफ्तारमा परेका हुन् ।

    नेपाल प्रहरीले गिरफ्तार गरेको थाहा पाएपछि तुल्सा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा छोरा खोज्दै पुगिन् । प्रहरी हिरासतमा रहेका छोरा भेट्न केही खानेकुरा, कपडा र पैसा लिएर पुगेकी तुल्सालाई जिल्ला प्रहरी कार्यालयको गेटबाटै भित्र जान दिइएन ।

    वर्षौदेखि भेट नभएको छोरा भेट्न गएकी तुल्सा दिनभरी प्रहरी कार्यालय बाहिर बसेर सांझ निराश बन्दै घर फर्किइन्, त्यसपछि पनि छोरो खोज्दै उनी दर्जनौ पटक जिल्ला प्रहरी कार्यालय भैरहवा र रामनगरस्थित नेपाली सेनाको व्यारेकको गेटमा पुगिन्, तर छोरालाई भेट्न त परैको कुरा अवस्था बुझ्न समेत पाइनन् ।

    १०/१२ वर्षसम्म छोरा टुप्लुक्क घर आइपुग्छ कि भन्दै हरेक सांझ घरको आंगनबाट बाटो हेर्ने तुल्सालाई अब भने छोरा फर्किन्छ भन्ने आशा नै हराइसकेको छ । तर वास्तविक अवस्था नै थाहा नदिँदा मनमा थप पीडा हुने उनले बताइन् ।

    माओवादी युद्धमा लागेका कारण दुईवटै छोरा गुमाएकी तुल्सा अहिलेको राजनीतिप्रति सन्तुष्ट छैनन् । दुर्गा र युवराजजस्तै हज्जारौ युवाको बलिदानीले कतिलाई सत्तामा पुर्‍यायो । तर तुल्साजस्तै परिवारलाई भने सडकमा पुर्‍याएको छ । उनीहरुका सुन्दर सपना त्यही युद्धमा उजाडिएको छ । ‘सोझा र गरिबका छोराहरुलाई लड्न लगाएको आफूहरु अहिले मिल्नलाई रहेछ, कुर्सीका लागि लडेजस्तो गर्नेहरु स्वार्थ मिल्नेबित्तिकै मिलिहाल्छन् हामीले भने जिवनभरीको पीडा भोग्नुपरेको छ’ तुल्साको गुनासो छ ।

    दुवै छोराहरु माओवादी युद्धमा रहँदा तुल्साको घरमा नेता कार्यकर्ता आउजाउ गरिरहन्थे । तर एउटा छोराको मृत्यु र अर्को बेपत्ता भएपछि भने तुल्साको घरमा उनी हरुको आउजाउ हराएको छ ।

    दुईवटै छोरा जनयुद्धका कारण गुमाएकी तुल्साले सरकारबाट छोराहरुको जीवन गुमे बापत १०/१० लाख क्षतिपूर्ति पाएकी थिइन् । त्यही रकमको केही हिस्साबाट छोराहरुकै स्मृतिमा सहिद गेट निर्माणसंगै स्थानीय जनचेतना माविमा अक्षयकोष स्थापना गरिदिएकी छन् उनले ।

    नेताहरुले केका लागि हाम्रा छोराहरुलाई युद्धमा पठाए, अहिले केको लागि लडिरहेका छन्, म जस्ता धेरै आमाहरुको आँशुले यिनीहरुको चेत खुलोस्– उनले भनिन् ।

  • प्रचण्ड सचिवालयको आरोप- एमसीसीमा ओली गैरजिम्मेवार बने

    प्रचण्ड सचिवालयको आरोप- एमसीसीमा ओली गैरजिम्मेवार बने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले एमसीसीमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । एमसीसीबारे ओलीलाई प्रचण्डले गरेको टेलिफोनबारे प्रष्ट्याउँदै प्रचण्डको सचिवालयले यस्तो अरोप लगाएको हो ।

    ‘हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीका बीचमा फोन सम्वाद भएको हो,’ प्रचण्डको निजी सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रूपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो।’

    ओलीले दिएको जवाफमा विज्ञप्तिमा भनिएको छ, ‘तर अध्यक्ष ओलीले त्यसलाई गम्भिरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । तर, गैरसांसद संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनुभएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन ।’

    प्रचण्डले गरेको टेलिफोनबारे यसअघि एमालेका प्रचार विभाग उप्रमुख विष्णु रिजालले सार्वजनिक गरेका थिए । एमसीसीमा प्रचण्डले ओलीको सहयोग मागेको रिजालको भनाइ थियो ।

  • माओवादी बैठक फागुन २ को सदन नियालेर मात्र

    माओवादी बैठक फागुन २ को सदन नियालेर मात्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताएका छन् ।

    आज र भोलिका लागि तय गरिएको बैठक माओवादीले स्थगित गरेको छ । कोरोनाको कारण देखाइएकोमा बैठक स्थगित हुनुमा राजनीतिक कारण देखिएको छ ।

    ‘संसद्‍मा एमसीसीबारे त क्लियर हुनुपर्‍यो । नभइकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसीसीबारेको अवस्था के हुन्छ ? त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठीक हुन्छ’ नेता गजुरेलले भने ।

    एमसीसीका कारण माओवादी विवादित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनी लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो । एमसीसी पारित गर्न नहुने पक्षमा माओवादीमा ठूलो पंक्ति नै छ ।

    स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट बैठकका एजेण्डा थिए ।

  • प्रचण्डले एमसीसीबारे एमालेको निर्णय माग्दा ओलीको यस्तो जवाफ

    प्रचण्डले एमसीसीबारे एमालेको निर्णय माग्दा ओलीको यस्तो जवाफ

    काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् ।

    दुई शीर्ष नेताबीच हिजो साँझ भएको फोनवार्तामा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष दुई प्रस्ताव राखेका थिए । एमाले अध्यक्षको सचिवालयका अनुसार ओलीले प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

    प्रचण्डले फोनमा भनेका थिए, एमसीसीमा तपाईंले निर्णय नगरी भएन । जवाफमा ओलीले सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।
    वार्तामा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको सचिवालयले जानकारी दिएको छ ।

    यता, एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले सामाजिक सन्जालमार्फत एमसीसीको सम्बन्धमा विदेशी वा स्वदेशी जसले खोजे पनि आफ्नो पार्टी नेकपा एमालेको धारणा प्रष्ट रहेको बताएका छन् ।

    फेसबुकमा उनले लेखेका छन्, ‘‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४(५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’

  • माओवादी बैठक स्थगनः बहाना कोभिडको, कारण राजनीतिक

    माओवादी बैठक स्थगनः बहाना कोभिडको, कारण राजनीतिक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समिति बैठक हठात् स्थगित गरियो । स्थगित बैठकको अर्को मिति तोकिएको छैन ।

    दुई दिन (२८-२९) लाई बोलाइएको बैठकबाट पदाधिकारी चयन, स्थायी समिति र प्योलिटब्युरोको गठन, नेताहरुको कार्यविभाजन र स्थानीय चुनावका लागि अभियानको घोषणा हुने अपेक्षा थियो । त्यसमाथि अहिलेको ‘हटकेट’ विषय एमसीसीमाथिको छलफल त छँदै थियो ।

    अचानक बैठक स्थगन हुनुका कारणबारे सोध्दा माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडको कारण देखाए ।

    ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’

    ढकालले कोभिडको कारणले बैठक स्थगन गरिएको भने पनि स्थिति भने ठ्याक्कै त्यस्तो होइन । २८–२९ गतेको बैठक तय गर्दा पनि कोभिड छ भन्ने नेताहरुलाई थाहा नै थियो । यो निमित्त कारण मात्रै हो । मुख्य कारण भने पदाधिकारी चयन र स्थायी समिति गठन गर्ने विषयमा सहमति नजुट्नु हो । ‘कोभिड त एउटा बहाना मात्रै हो,’ एक स्थायी समिति सदस्य भन्छन्, ‘पदाधिकारी र स्थायी समितिमा सहमति जुट्न नसक्दा बैठक सारिएको हो ।’

    माओवादीमा मुख्यगरि महासचिवमा धेरैको दावेदारी छ । त्यसमा पनि मुख्य दावेदारी वर्षमान पुन र जनार्दन शर्माको छ । शर्मा र पुनलाई सहमतिमा ल्याउन प्रचण्डले गरेको प्रयास असफल भएपछि बैठक सारिएको अर्का एक स्थायी समिति सदस्य बताउँछन् ।

    ‘अध्यक्षले दुवै जनालाई बोलाएर आपसमा सहमति गरेर आउनुहोस् भन्नुभयो तर उहाँहरु (पुन र शर्मा) बीच सहमति भइसकेको छैन्,’ उनले भने, ‘प्रचण्ड चुनाव गराउने पक्षमा हुनुहुन्न ।’

    स्थायी समिति गठनमा पनि गृहकार्य पुरा भइनसकेको बताइएको छ । एमसीसी र गठबन्धन टुट्ने तनावले प्रचण्ड बालुवाटार दौडधुपमा व्यवस्थत हुनु परेकाले त्यसमा गृहकार्य नपुगेको स्रोतले बतायो । माओवादी भित्रका गुटमै स्थायी समितिमा कसले बढी आफ्ना मान्छे राख्ने भन्नेमा प्रतिष्पर्धा हुँदा प्रचण्डलाई टुंग्याउन गाह्रो भएको छ ।

    माओवादीमा ४५ जना स्थायी समिति रहने व्यवस्था छ । नेकपाकालमा स्थायी समितिमा रहेका एक दर्जनभन्दा बढी नेताहरुलाई नै माओवादीमा स्थायी समिति सदस्य मानिएको थियो । उनीहरु स्वतः सदस्य हुने बलियो सम्भावना रहँदा करिब ३० जना नयाँ अनुहार स्थायी समितिमा थपिने छन् । थपिने सदस्यका लागि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा गुटबीच आफ्ना मान्छे धेरै पार्न प्रतिष्पर्धा चलेको हो ।

    स्थानीय चुनाव आइसकेकाले पार्टीको लथालिङ अवस्थालाई लम्ब्याइ रहनु चिन्ताजनक भएको स्थायी समिति सदस्य गणेश साह बताउँछन् ।

    ‘अहिलेको आवश्यकता चाँडोभन्दा चाँडो चुस्त दुरुस्त समिति बनाएर कार्यविभाजनसहित गाउँ-गाउँमा जाने हो,’ नेपाल प्रेससँग उनले भने, ‘अन्यौल लम्ब्याइरहने हो भने यसले चुनावमा प्रभाव पार्छ ।’

    एमाले र कांग्रेसले चुनावको तयारीमा जुट्न थाल्दा माओवादी भने आन्तरिकरुपमा रुमल्लिएको छ । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको कार्यविभाजन नै हुन बाँकी छ । यस्तोमा कार्यकतालाई उत्साहित पार्ने गरी अघि बढ्नु पर्नेमा बैठक स्थगन गरेको भन्दै केन्द्रीय सदस्यहरु नै निराश बनेका छन् ।

  • माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

    माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको माघ २८-२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताए । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’

    ढकालले कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने बताए । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।

    माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी निर्वाचित गर्न बाँकी छ ।

  • मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिएका हुन्, अब मधेस माओवादीमय हुन्छ : प्रचण्ड (भिडिओ)

    मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिएका हुन्, अब मधेस माओवादीमय हुन्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको भन्दै अब मधेस माओवादीमय बन्ने दाबी गरेका छन् ।

    रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रियालगत्तै भयानक हत्याकाण्डहरू मच्चाइएको बताए ।

    प्रचण्डले गौर हत्याकाण्डको नाम लिएनन् तर रुपन्देही र कपिलवस्तुमा पनि हत्यकाण्ड मच्चाइएको र केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको दाबी गरे ।

    प्रचण्डले भने, ‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो । त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’

    आफूलाई मधेसका मसिहा भन्नेहरू केपी ओलीसँग साँठगाँठ गर्न पुगेको भन्दै अब मधेस प्रदेश र लुम्बिनी माओवादीमय हुने प्रचण्डले बताए ।

  • प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

    प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

    प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए । भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको बताइन्छ ।

    पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।

    हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।

  • प्रचण्डलाई शेखरले भने- कम्युनिष्टले कांग्रेसलाई भोट दिँदैनन्, गठबन्धन हुँदैन

    प्रचण्डलाई शेखरले भने- कम्युनिष्टले कांग्रेसलाई भोट दिँदैनन्, गठबन्धन हुँदैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन हितकर नहुने सुझाव दिएका छन् ।

    प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताएका हुन् । समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका विषयमा छलफल भएको थियो ।

    ‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौं । केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’, कोइरालाले प्रचण्डलाई भने ।

    भेटमा प्रचण्डले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने प्रस्ताव गरेका थिए । नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताएका थिए ।

    बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताएका थिए । प्रचण्डले एमसीसीका कारण राजनीति गिजोलिँदै गएको चिन्ता व्यक्त गर्दै संवादबाटै टुंगोमा पुग्ने बताए ।

    कांग्रेस नेता कोइरालाले पछिल्लो समय आफ्नो राजनीतिक भेटघाट तीव्र पारेका छन् । कोइरालाले हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

  • फ्ल्यासब्याकमा स्थानीय चुनाव- माओवादीलाई ‘कम्फरटेबल’ नभएको कांग्रेससँगको त्यो गठबन्धन

    फ्ल्यासब्याकमा स्थानीय चुनाव- माओवादीलाई ‘कम्फरटेबल’ नभएको कांग्रेससँगको त्यो गठबन्धन

    काठमाडौं । पाँच वर्षअघि स्थानीय चुनाव हुँदा नेपाली कांग्रेस र माओवादी केन्द्र सँगै सरकारमा थिए । स्थानीय निर्वाचनमा उनीहरुले तालमेल गरेका थिए ।

    संयोग कस्तो भने दोस्रोपटकको स्थानीय तहको चुनाव घोषणा हुँदा पनि दुवै दल एउटै सरकारमा छन् । गठबन्धनमा सरकार चलाइरहेका कांग्रेस र माओवादी यसपालिको चुनावमा गठबन्धन गरेरै जान्छन् या एक्लाएक्लै लड्छन् भन्ने चाहिँ अझै प्रष्ट भएको छैन ।

    हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह चुनावको मिति घोषणाका लागि गठबन्धनका साझेदारहरुलाई मनाउन गठबन्धन नै गर्ने भनेका थिए । तर, कांग्रेसकै केही नेताहरु गठबन्धन गर्न नहुने पक्षमा रहेकाले यो विषय अझै स्पष्ट हुन सकेको छैन् ।

    यद्यपी माओवादी केन्द्र र नेकपा एसले तालमेलमा जोड दिएका छन् ।

    २०७४ को स्थानीय तहको कांग्रेससँगको तालमेल भने माओवादीलाई त्यति लाभदायक थिएन । कांग्रेस र माओवादीले एक सय सात स्थानीय तहमा तालमेल गरेका थिए । तालमेल गरेका अधिकांश स्थानमा कांग्रेस उम्मेदवारले जित्दा माओवादी उम्मेदवार पराजित भएका थिए भने हारेकै ठाउँमा पनि माओवादीले पाएको मत निकै कम थियो । अर्थात् कांग्रेसबाट सबै मत माओवादीले पाउन सकेको थिएन ।

    चितवनको भरतपुर महानगरमा कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार पार्वती शाह ठकुरीले सहजै जित्दा माओवादीकी रेणु दाहललाई भने मुस्किल परेको थियो । हारिने आशंकाले माओवादीका कार्यकर्ताले मतपत्र नै च्यातिदिएपछि मतपत्र च्यातिएको वडाको पुनः निर्वाचन गराइएको थियो ।

    दोस्रोपटक चुनाव गराउँदा पनि दाहालले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई थोरै मतान्तरले मात्रै पराजित गरेकी थिइन् । त्यहाँको कार्यपालिकाको चुनावमा पनि कांग्रेसले खुलेर मत नदिँदा दाहालले अल्पमतको स्थानीय सरकार चलाउनुपरेको थियो ।

    मननीय कुरा के छ भने दाहालभन्दा कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी ठकुरीले धेरै मत ल्याएकी थिइन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याउँदा ठकुरीले ४७ हजार १ सय ९७ मत पाएकी थिइन् । गठबन्धन गर्दा पनि दाहालले चार हजारभन्दा कम मत पाएकी थिइन् । यसको अर्थ कांग्रेसका सबै मतदाताले माओवादीलाई मत नदिएको हो ।

    त्यस्तै अर्को महानगर पोखरा लेखनाथमा पनि कांग्रेस–माओवादी तालमेल हार्दिक रहेन । माओवादीले कांग्रेसलाई मेयरमा सर्मथन गर्दा पनि कांग्रेसले उपमेयर छाडिदिएन ।

    यी घटनाहरुलाई विश्लेषण गर्दै माओवादी केन्द्रका अध्यक्षले सार्वजनिकरुपमै कांग्रेस कार्यकर्ताले इमान्दारितापूर्व माओवादीलाई मत नदिएको गुनासो गरेका थिए । तालमेल गर्दा पनि कांग्रेसले वाम दललाई मन खोलेर मत नदिने विश्लेषणसहित माओवादीले २०७४ सालकै प्रदेश र संघीय चुनावमा भने एमालेसँग गठबन्धन गरेको थियो ।

    कांग्रेसले जित्दा माओवादी उम्मेवार पराजित

    तालमेल गर्दा पाएको मत दुई चार सय तलमाथि हुनु सामान्य हो । स्थानीय चुनावमा पार्टीभन्दा पनि व्यक्ति वढी रोजिने भएकाले पनि केही मत तलमाथि हुनुुलाई सामान्य मानिएला तर दुई चार हजारकै अन्तर हुनु भनेको तालमेलप्रति इमान्दारिता नभएको हो ।

    तालमेल गरिएका धेरै स्थानमा कांग्रेसभन्दा माओवादीका उम्मेदवारले कम मत पाएका थिए । भरतपुरमा माओवादीले कांग्रेसले भन्दा चार हजार कम मत भएको थियो ।

    बुटवल उपमहानगरमा तालमेल गरेका कांग्रेस र माओवादी दुवैका उम्मेदवार पराजित भए पनि कांग्रेसमा उम्मेवारले धेरै मत ल्याए । कांग्रेसका खेलराज पाण्डेयले माओवादीका जगतबहादुर पोखरेलले ६ हजारभन्दा कम मत प्राप्त गरेका थिए ।

    हेटौंडा महानगरमा पनि त्यस्तै रह्यो । प्रमुखमा कांग्रेसमा आनान्दराम पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गर्दा उपप्रमुखमा माओवादीका बलराम लामाले १७ हजार ११ मत पाएका थिए । यो कांग्रेस उम्मेदवारले पाएको मतभन्दा ५ हजार बढी कम हो ।

    बाराको निजगढ नगरपालिकामा पनि कांग्रेस र माओवादीले तालमेल गरेका थिए । त्यहाँ प्रमुखमा कांग्रेसमा सुरेश कुमार खनाल ७ हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा उप्रमुखमा माओवादीका बेनीबहादुर मुक्तान पराजित भएका थिए र एमालेले उपमेयर जितेको थियो ।

    अझ रोचक परिणाम त म्याग्दीको बेनी नगरपालिकामा देखिएको थियो । बेनीको चुनावमा कांग्रेस र माओवादीको गठबन्धन एकातिर थियो भने अर्कोतिर एमाले र राप्रपाको गठबन्धन थियो ।

    गठबन्धनबाट कांगे्रेसका मेयर हरिकुमार श्रेष्ठ ५६७९ मत प्राप्त गरेर विजयी हुँदा एमालेका प्रमोद श्रेष्ठ ४५ मतले स्तब्ध भए । उपमेयरमा भने कांग्रेस समर्थित माओवादी उम्मेदवार ज्योति लामिछाने पौडेलले कांग्रेसका मेयरको भन्दा करिब १७ सय मत कम पाएर पराजित भइन् ।

    बेनीको उपमेयरमा एमाले समर्थित राप्रपाका सन्जु बरुवाल ३९९५ मतका साथ विजयी भएका थिए ।

    त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुखमा पनि कांग्रेसका मंगलप्रसाद थारु १५ जार ७ सय ३८ मतले विजयी भएका थिए । यहाँ पनि उपप्रमुखमा माओवादीका टोपनारायण बेल्वासे पराजित भए । यहाँ कांग्रेसभन्दा तीन हजार भन्दा बढी मतान्तर भएपछि माओवादीका उम्मेदावार बेल्वासे एमालेसँग पराजित भएका थिए ।

    यी केही उदाहरणमात्र हुन्, २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीले तालमेल गरेर लडेका निर्वाचनमा अधिकांश स्थानमा एमाले नै विजयी भएको थियो भने भने कतिपय ठाउँमा कांग्रेसका उम्मेदवार विजयी भए तर माओवादी उम्मेदवार भने पराजित भए ।

    कांग्रेसका मेयर हारेर माओवादीका उपमेयरले जितेको एउटा नगरपालिका ताप्लेजुङको फुङलिङ हो । पाँच वर्षअघिको स्थानीय चुनावमा कांग्रेस र माओवादीबीच ताप्लेजुङ, तेह्रथुम, दोलखा, गुल्मी, पाल्पालगायतका जिल्लामा गठबन्धन भएको थियो ।

    गुल्मी र पाल्पामा कांग्रेस उम्मेदवार जितेर माओवादी पराजित भएका थिए ।
    काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकाका साथै हेटौंडा र बुटवल उपमहानगरपालिकामा पनि गठबन्धन भएको थियो । तर गठबन्धनबाट माओवादीले फाइदा लिन सकेको थिएन । यसपटक नेकपा एसदेखि राष्ट्रिय जनमोर्चासम्मका वामपन्थी दलसँग कांग्रेसको गठबन्धन हुने भनिएको छ ।

    यो पनि पढ्नुहोस्

    राजधानीको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरमा केशव स्थापित र विद्या सुन्दरको दाबेदारी

    एमालेलाई पहिलो स्थान जोगाउने, कांग्रेसलाई दोस्रोबाट पहिलो बन्ने चुनौती

    कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

    काठमाडौंका ५ उपमेयरले ताके मेयरको कुर्सी, को कति लोकप्रिय ?

    रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब

  • माओवादीले भन्यो- द्वन्द्वकालीन मुद्दा उछालेर सभामुखमाथि आक्रमण गर्नु क्षेत्राधिकारको उल्लंघन

    माओवादीले भन्यो- द्वन्द्वकालीन मुद्दा उछालेर सभामुखमाथि आक्रमण गर्नु क्षेत्राधिकारको उल्लंघन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछालेर सभामुखमाथि आक्रमण गरेको भन्दै यसका पछाडि गम्भीर षडयन्त्र रहेको बताएको छ ।

    कणकमणि दिक्षित लगायतका केही अभियान्ताले हिजो द्वन्द्वकालीन मुद्दाका प्रशंग उठाउँदै सभामुख अग्नि सापकोटालाई कारबाही गर्नुपर्ने माग गरेको भोलिपल्ट माओवादीले यस्तो बताएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समाजिक सञ्जालमा धारणा व्यक्त गर्दै यसभित्र गम्भीर षडयन्त्र भएको बताएका हुन् । ‘जनप्रतिनिधिमुलक संस्थामाथी प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरी आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुँदै शान्ति र संविधानलाई नयाँ उचाईमा कृयाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालिन मुद्दालाई उछालेर सम्माननीय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो,’ मल्लले भनेका छन् ।

    ‘मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्न’ यस्तो मुद्दा उछालिएको मल्लको टिप्णी छ । ‘यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वस्त गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ,’ उनले भनेका छन्।

  • गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश

    गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश

    सुर्खेत । माओवादीका एक पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर नेकपा एमाले प्रवेश गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाका सहयोगी कल्से रावल आज एमाले प्रवेश गरेका हुन् । गैरसांसदलाई मन्त्री बनाएकोमा उनको असन्तुष्टि छ ।

    एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले उनलाईलाई पार्टीमा स्वागत गरे । वोगटीले भने, ‘एकताकै प्रक्रियाको रूपमा उहाँ आउनु भएको छ । पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ ।’

    ‘यत्तिका सांसद हुँदा हुँदै पनि माओवादीले कस्तालाई मन्त्री बनाए भन्ने कुरा थाहै छ ’एमाले रोजेका रावलले भने, ‘इमान्दारीपूर्वक राजनीति गर्ने र देश र जनताको सेवामा समर्पित हुन एमाले रोजेको हो ।’

  • अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

    अहिलेको कानूनअनुसार वैशाख ३० मा चुनाव हुन सक्दैन : माओवादी नेता गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मौजुदा कानूनअनुसार २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।

    मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता गुरुङले वैशाखमा निर्वाचन गर्दा स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था रहेको भन्दै उनले कानून संशोधनको कुरा उठाएका हुन् । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्थाअनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उनो धारणा छ ।

    उनले भने, ‘तीन चरणमा भएको चुनावमध्येमा पहिलो चरणकोलाई कार्याविधि सुरु भएको मानिएको छ । त्यो समयलाई मान्ने हो भने जेठको ५ गते कार्यवधि समाप्त हुन्छ । ऐनअनुसार त चैतको ५ गते अगाडि निर्वाचन गरिसक्नुपर्छ । चैतको ५ गतेभन्दा अगाडी निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था यथावत रहँदासम्म चैतको ५ गतेदेखि जेठको ५ गतेको बिचमा ऐनले परिकल्पना गरेको देखिँदैन ।’

    नेता गुरुङले संविधानले कार्यावधि समाप्त भएपछि ६ महिनाभित्र र ऐनले दुई महिना अगाडि निर्वाचन गर्ने भनेकाले संविधानसँग बाझिएका ऐनहरू खारेज गर्नुपर्ने बताए ।

    ‘ऐन संशोधन गर्न सकिएन भने संविधानको प्रावधानअनुसार संविधान र ऐन बाझिएको अवस्थामा संविधान प्रभावकारी हुन्छ भनेको छ । बाझिएको हदसम्म ऐन निस्क्रिय हुन्छ भन्ने व्याख्या छ’, गुरुङले भने, ‘ऐन र संविधान बाझिएको छ भने हामीले संविधानमै टेक्नुपर्‍यो । संविधानमै टेकेर सरकारका निर्णय गर्दाखेरी वैधानिक रुपमा कम विवादित होला कि ? भन्ने पाँच दलको गठबन्धनले सुझाव त दिएको थियो । सरकारले बैशाख ३० गते गरेको हुनाले पक्कैपनि कानूनीरूपले परिपक्व ढंगले नै गर्‍या हुनुपर्छ भन्ने लाग्छ ।’

    नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

    एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने उनले पुन: दोहोर्‍याए ।

  • प्रचण्डको आरोप- माओवादी सिध्याउन देशी, विदेशी प्रतिक्रियावादी लागि परेका छन्

    प्रचण्डको आरोप- माओवादी सिध्याउन देशी, विदेशी प्रतिक्रियावादी लागि परेका छन्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सखाप पार्न ‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु’ लागेको आरोप लगाएका छन् ।

    मंगलबार विप्लव नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

    ‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ प्रचण्डको भनाइ छ, ‘हामी यति ठूलो परिवर्तनका बाहकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’

    प्रचण्डले विस्तारै देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताए। ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं,’ उनको भनाइ छ, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन।’

  • एमसीसीलाई रणनीतिकरुपमा पन्छाउने असफल प्रचण्ड प्रयास

    एमसीसीलाई रणनीतिकरुपमा पन्छाउने असफल प्रचण्ड प्रयास

    काठमाडौं । अमेरिकी अनुदान साहायता परियोजना (एमसीसी)लाई लेखिएको पत्र सार्वजनिक भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भइरहेको छ, यतिबेला । प्रचण्ड एकप्रकारले दबाबमा छन् ।

    खासगरी अमेरिकासँग अनुमोदनको प्रतिवद्धता जनाउने तर नेपालमा रोक्ने काम गरेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ । धेरैले प्रचण्डले एमसीसीमा दोहोरो नीति लिएको भन्दै आलोचना गरेका हुन् ।

    दोहोरो कुरा किन गरेको ? भन्ने प्रश्न प्रचण्डप्रति तेर्सिएका बेला माओवादी केन्द्रका नेताहरु भने यसमा दोधारे नीति नभइ कूटनीतिरुपमा एमसीसीलाई हल गर्न खोजेको भन्दै प्रतिरक्षा गरिरहेका छन् ।

    माओवादी केन्द्रीय सदस्य एवम वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीशिखा’का अनुसार प्रचण्डले एमसीसीलाई ‘कूटनीतिक र ट्याक्टिकल’रुपमा प्रयोग गर्न खोजेका हुन् ।

    ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘आज र अहिले होइन, एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यहीं रूपमा बुझौं ।’

    प्रचण्डको सचिवालयले त गठबन्धन जोगाउनका लागि त्यतिबेला पत्र लेखिएको समेत बताएको छ ।

    रणनीतिकरुपमा पन्छाउने असफल प्रयास

    दीपशिखाले भनेझैं प्रचण्डले एमसीसीलाई ट्याक्टिकल अर्थात् रणनीतिकरुपमा पन्छाउने नीति लिएको देखिन्छ । राजनीतिक दस्तावेजमा एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने लेखे पनि प्रचण्डको रणनीति त्यसलाई पन्छाउने नै रहेको माओवादीनिकट नेताहरु बताउने गर्छन् ।

    आठौं महाधिवेशनमा जवाफ दिने क्रममा पनि प्रचण्डले ‘एमसीसीलाई रणनीतिकरुपमा प्रयोग गर्नुपर्छ, अहिले धेरै नबोलौं है’ भनेर कार्यकर्ताहरुलाई सम्झाउने प्रयास गरेका थिए । एमसीसी खारेज गर्नुपर्छ भन्ने मत बोक्ने कार्यकर्ताहरुको बाहुल्य भएको महाधिवशेन हलमा प्रचण्डले उनीहरुलाई ‘न खुसी पार्ने, न दुःखी’ बनाउने खालको जवाफ दिएका थिए ।

    ‘मैले जे लेखेको छु, त्यही ठिक हो । तपाईंले जे भन्नु भएको छ, त्यो पनि ठिक हो,’ उनको भनाइ थियो, ‘यसलाई रणनीतिकरुपमा प्रयोग गर्नुपर्छ । योभन्दा धेरै नबोलौं है !’

    स्वीकार नै गर्नुहुन्न भन्ने बाहुल्यता भएकाले प्रचण्डले एमसीसी स्वीकार गरौं भनेर प्रस्ताव पार्टीमा लान सक्ने अवस्था नै थिएन, छैन । अर्कोतिर उत्तरी छिमेकी चीनले अनुमोदन नगर्न तारान्तार दबाब बढाइहेकै थियो ।

    यस्तोमा प्रचण्डले दोधारे (उनका अनुसार रणनीति) नीति अवलम्बन गरे । एकातिर अमेरिकालाई पत्र लेखेर समय लम्ब्याउने, अर्कोतिर गठबन्धनमा एमसीसी अगाडि बढाउन नदिने । यस्तो गर्दा अमेरिका आफैं एमसीसी फिर्ता लिने अवस्थामा पुग्छ र अप्ठ्यारोबाट जोगिन्छ भन्ने प्रचण्डको बुझाइ हुनसक्छ ।

    तर परिस्थिति प्रचण्डले चाहेजसरी अघि बढेन । सत्ता राजनीतिका चतुर खेलाडी शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धन भित्र दबाब बढाए । प्रचण्डले नमानेपछि एमसीसीलाई लेखेको पत्र नै सार्वजनिक गराइदिए । यसले प्रचण्ड र माओवादीलाई प्रतिरक्षात्मक बनाइदियो ।

    देउवानिकट स्रोत भन्छ– युद्धकालमा माओवादीहरुले भौतिकरुपमा जनकारबाही र भाटे कारबाही गर्थे । यसपटक प्रधानमन्त्रीले मनोवैज्ञानिक भाटे कारबाही गर्नुभयो । जसले प्रचण्डलाई रक्षात्मक बनाइदियो ।

    यसका बाबजुद एमसीसीलाई धकेल्दै लैजाने प्रयत्न प्रचण्डले छाडेका छैनन् । हिजो बालुवाटारमा भएको बैठकमा पनि एमसीसीलाई ‘चुनावपछि विचार गरौं’ भन्ने प्रस्ताव राखेका थिए । योबीचमा उनले सर्वोच्च अदालत प्रयोग गरेर पनि एमसीसी रोक्न खोजको खुलेको छ ।

    कमजोर खण्डन

    प्रधानमन्त्री देउवाले जलवायु सम्मेलन सकेर बेलायतबाट फर्किँदा पहिलोपटक १८ कात्तिकमा एमसीसीलाई केही समय लिएर अनुमोदन गर्ने पत्र आफू र प्रचण्डले लेखेको खुलासा गरेका थिए ।

    ‘एमसीसीको सम्बन्धनमा हाम्रो कोलिसन पार्टनरसँग कुरा भइरहेको छ,’ देउवाले भनेका थिए, ‘पत्रकार सम्मेलन गरेर चाँडै पास गराउने भनेर प्रचण्ड जी र मैले हस्ताक्षर गरेर पठाएका छौं । उनीहरु (अमेरिका)ले एमसीसी अनुमोदन नगरी किन संसद बैठक स्थगित गरेको भनेको छ । हामीले अर्कै कारणले राकिएको हो । यसमा हाम्रो मतभेद छैन ।’

    प्रचण्डले भोलिपल्ट देउवाको भनाइको खण्डन गरे तर निकै कमजोर तरिकाले । प्रचण्डले पत्र लेखेको भन्ने देउवाको भनाइ अस्वीकार त गरेनन् तर ‘अनुमोदन गर्छौं’ भनेर पनि नभनेको बताएका थिए ।

    ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ– प्रचण्ड र मैले चिठी पठाइसकेका छौं, हामीले गर्छौं भनेर,’ प्रचण्डको भनाइ छ, ‘देशैभर साथीहरुमा तरङ्ग पैदा भएको छ । हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाइ यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ, हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान निकाल्छौं भन्ने कुरा भनेर लेखिएको छ । हामीले पास गर्छौं भनेर लेखिएको चिठी होइन ।’

    देउवाको उतिबेलाको भनाइको दह्रोसँग खण्डन गर्न नसकेका प्रचण्डले यतिबेला सार्वजनिक पत्रको पनि खण्डन गर्न सकेनन् । राष्ट्रको सम्पत्ति खर्चेर जनतालाई बुझाउँदै एमसीसी अनुमोदन गर्ने भनेर प्रतिवद्धता जनाएको पत्र सार्वजनिक भएपछि उनी रक्षात्मक बन्न पुगे ।

    पत्रलाई लिएर प्रचण्डको सार्वजनिक आलोचना बढेपछि उनको निजी सचिवालयले गठबन्धन र सरकार जोगाउन यस्तो गरेको प्रष्टीकरण दिएको छ।

    ‘प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो,’ सचिवालयले भनेको छ, ‘र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

    प्रचण्डले पत्र पठाएको विषयमा भएको आलोचनाको प्रतिवाद गर्न माओवादी कार्यकर्ताहरुलाई सकस भइरहेको छ । एमसीसीको खुलेर विरोध गरिरहका उनीहरुसामू प्रचण्डले लेखेको पत्रबारे दिने खास जवाफ भेटिँदैन ।

    ‘यो पत्रमा जेसुकै कुरा लेखिएको भए पनि पार्टीको आधिकारिक निर्णय नभइकन यस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय हुँदैन,’ प्रचण्डनिकट एकजना नेता भन्छन्, ‘यही अवस्थामा एमसीसी पास गर्ने पक्षमा माओवादी केन्द्र पनि छैन ।’

    पत्रमा प्रचण्डले हस्ताक्षर गर्नु आवश्यक नभएको उनको भनाइ छ । ‘पत्रमा हस्ताक्षर नगरेको भए पनि हुन्थ्यो,’ नेपाल प्रेसँग ती नेताले भने, ‘गठबन्धनमा अरु पनि थिए, उहाँले मात्रै किन गर्नुभयो ? त्यो कुरा उहाँले पार्टीमा राख्नुहोला ।’

    प्रचण्डलाई ‘डिमोरलाइज’ गर्ने प्रयास !

    यहीबेला एमसीसीलाई लेखेका पत्र सार्वजनिक हुनु र प्रचण्डलाई मात्रै आलोचनाको तारो बनाउनुको पछाडि उनलाई ‘डिमोरलाइज’ गर्न खोजेको बुझाइ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छ ।

    ‘पत्रबारे त हामीलाई पहिलेदेखि नै थाहा थियो,’ मओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले नेपाल प्रेससँग भने, ‘दुईजना (देउवा र प्रचण्ड)ले मिलेर दिनुभयो, राष्ट्रिय सहमति बनाउनलाई समय चाहियो भने । अहिले पत्र सार्वजनिक गरेर प्रचण्डलाई ‘डिमोरलाइज’ र ‘प्रेसरराइज’ गर्न खोजिएको हो ।’

    एमसीसीको विरुद्धमा रहेको एकीकृत समाजवादीको पनि त्यही बुझाइ छ । ‘पत्र सार्वजनिक गर्नुका धेरै अर्थ लगाउन सकिन्छ,’ एकीकृत समाजवादीका पदाधिकारीसमेत रहेका एकजना नेता भन्छन्, ‘त्यसको एउटा उद्देश्य प्रण्डलाई डिमोरलाइज गर्नु पनि हो ।’

    प्रचण्डको दोहोरो भूमिकाले माओवादी पंक्ति रक्षात्मक बनेको अवश्य हो । सम्भवतः आसन्न बैठकमा यो विषय आलोचना, आत्मालोचनाको परम्परागत कम्युनिस्ट एजेण्डा बन्न सक्छ ।

  • एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गर्न माओवादी सांसदको प्रस्ताव

    एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गर्न माओवादी सांसदको प्रस्ताव

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीको बारेमा गोलमेच सम्मेलन र जनमत संग्रहको प्रस्ताव राखेका छन् ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा माओवादी सांसद किराँतीले एमसीसी राष्ट्रिय स्वाधीनताको विषय बनेकाले यसलाई संसदको सामान्य बहुमतले पास गर्नुभन्दा जनमत संग्रहमा लैजान माग गरेका हुन् ।

    सांसद राईले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने र मुलुकसमेत यसमा विभाजित भएकाले सबै पक्ष सम्मिलित गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

  • एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डको स्पष्टीकरण- कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डको स्पष्टीकरण- कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसीबारे गरिएको पत्राचारलाई राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनीतिक पहल भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।

    एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि यसबारे प्रचण्डको निजी सचिवालयले स्पष्टीकरण दिएको हो ।

    ‘देशमा एकातिर एमसीसी बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म विरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसी बारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन,’ सचिवालयले भनेको छ, ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन् ।’

    एमसीसी परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा माओवादी दृढ रहेको पनि बताइएको छ ।

    ‘हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ । यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पूर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं ।’

  • एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज

    एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज

    काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका युवा नेता एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीले एमसीसी पारित नगर्ने प्रष्ट्याएका छन् ।

    उनले एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी नहुने पनि बताएका छन् ।

    दीपशिखाले समाजिक सञ्जालमा लेखेका छन्, ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन । आज र अहिले होइन, एमसीसी पारित गर्नेसॅग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझौं ।’