Category: माओवादी केन्द्र

  • माधवसँगको छलफलपछि प्रचण्ड भन्छन्- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ

    माधवसँगको छलफलपछि प्रचण्ड भन्छन्- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ

    काठमाडौं । कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा सघाउन तयार भएका छन् ।

    एमसीसीका सन्दर्भमा कतिपय अस्पष्ट विषय संसदमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउने ढंगले छलफल भएको नेताहरुले बताएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताए ।

    पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने- समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।

  • सहिदहरु परिवर्तनकारी आन्दोलनका इतिहास हुन् : शिक्षामन्त्री पौडेल

    सहिदहरु परिवर्तनकारी आन्दोलनका इतिहास हुन् : शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरु परिवर्तनकारी आन्दोलनको ईतिहास भएको बताएका छन् ।

    शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।

    उनले जनयुद्धले स्थापित गरेका मुद्धाहरु कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गरे ।

    ‘सहिदहरु आस्थाका धरोहर हुन्’, उनले भने ‘राजनैतिक पार्टी, विचार वा सिद्धान्तले सहिदहरुलाई विभक्त गर्न मिल्दैन । जुनसुकै आन्दोलमा सहिद भएपनि सहिदहरुले देशकै लागि जीवन समर्पित गरेका हुन् ।’

    नेता पौडेलले जनयुद्धमा सहिद भएकाहरुलाई आतकंकारी आन्दोलनको रुपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको आरोप लगाए । सहिद र सहिद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक सघींय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाई थियो ।

    फरक प्रसंगमा उनले देशको सार्वभौम अधिकार देशले नै निणर्य गर्नुपर्ने भन्दै यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने धारणा व्यक्त गरे ।

  • प्रचण्डको चिन्ता- जसलाई प्रतिगमनकारी भनेर गठबन्धन बनायौं,उही शक्तिमा फर्किने खतरा आयो

    प्रचण्डको चिन्ता- जसलाई प्रतिगमनकारी भनेर गठबन्धन बनायौं,उही शक्तिमा फर्किने खतरा आयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको बताएका छन् ।

    माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो,अहिले उही शक्ति (एमाले) हाबी हुने खतरा देखिएको बताए ।

    प्रचण्डले भने,’एमसीसीको समस्या समाधान होस,गठनबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं । नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौ,जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौ,जसको भण्डफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ ।’

    अहिलेको सत्ता गठबन्धन राष्ट्रियता,संविधान र लोकतन्त्र बचाउन बनेको भन्दै त्यसबेला एमसीसी कहिँ कतै नरहेको प्रचण्डले बताए । गठबन्धन र सरकार बनिसकेपछि पनि साझा कार्यक्रममा कहिँ कतै एमसीसीको चर्चा नगरिएको उनको भनाइ छ ।

  • युक्रेनमा रहेका नेपालीहरुको नि:शुल्क उद्धार गर्न अखिल क्रान्तिकारीको माग

    युक्रेनमा रहेका नेपालीहरुको नि:शुल्क उद्धार गर्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं । माओवादी(केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले युद्ध ग्रस्त युक्रेनबाट नेपाली नागरिकको अबिलम्ब उद्धारको गर्न माग गरेको छ ।

    शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ती जारी गर्दै सरकारसँग युक्रेनमा रहेका नागरिक माथी सुरक्षा चुनौति बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन माग गरेको हो ।

    विदेशी भुमिमा रहेका आफ्ना नागरिकमाथी युद्ध , प्राकृतिक विपत्ति महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ(धनको रक्षा गर्ने कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार कार्य गर्न भन्दै विज्ञप्तीमा संकटमा परेका नागरिकका लागी राज्यले सुरक्षित रहनुस भन्दै केबल विज्ञप्ती निकाल्नु पर्याप्त नहुने भन्दै बिज्ञप्तिमा ‘कुटनितिक पहल गर्न र आर्थिक लगायत प्रबन्ध गरि अफ्ठेरोमा परेका नेपाली विद्यार्थी
    र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ’भनिएको छ ।

  • प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

    प्रचण्ड भेट्न खुमलटार पुगे बामदेव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष र राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा विवाद बढ्दै गएका बेला गौतमले उनकै निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

    नेता गौतम र प्रचण्डबीच झण्डै एकवर्षपछि भेटघाट भएको हो ।

    संसदमा एमसीसी सम्झौता टेबल भएपनि दलहरु विभाजित हुँदा छलफल अगाडि बढ्न सकेको छैन् । माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिएको छ ।

  • माओवादी केन्द्रले तोक्यो रामेछापका जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी

    माओवादी केन्द्रले तोक्यो रामेछापका जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी

    रामेछाप । नेकपा माओवादी केन्द्रको रामेछाप जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान र सचिवमा तारानारायण श्रेष्ठ तोकिएका छन् । वागमती प्रदेश कमिटीको बैठकले रामेछापमा नयाँ नेतृत्व मनोनयन गरेको हो ।

    जिल्ला अध्यक्ष मोक्तान तत्कालीन नेकपामा पनि अध्यक्ष थिए । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठ मन्थली नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

    प्रदेश कमिटी बैठकले प्रदेशसभा क्षेत्र नम्बर १ को इन्चार्जमा प्रेम कार्की र संयोजकमा रविन्द्र पौडेलले जिम्मेवारी दिएको छ भने क्षेत्र नम्बर २ को इन्चार्ज सुनिता गौतम र संयोजकमा यशु चौलागाईलाई जिम्मा दिएको छ ।

  • बालुवाटारमा कांग्रेस नेताहरूको छलफल चलिरहँदा अर्थमन्त्रीसहित प्रचण्डको इण्ट्री

    बालुवाटारमा कांग्रेस नेताहरूको छलफल चलिरहँदा अर्थमन्त्रीसहित प्रचण्डको इण्ट्री

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आन्तरिक छलफलमा रहेकै बेला प्रचण्ड बालुवाटार पुगेका हुन् ।

    बालुवाटार जानुअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए ।

    प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूसँग गठबन्धन जोगिने गरी एमसीसीबारे मध्यमार्गी उपाय खोज्न प्रचण्ड बालुवाटार पुगेको बताइन्छ । प्रचण्डसँगै अर्थमन्त्री जनार्दश शर्मा पनि बालुवाटार पुगेका छन् ।

  • सदन बहिष्कार गरेर एमसीसी पारित गर्न खोजे विरोधमा उत्रिन्छु : श्रेष्ठ

    सदन बहिष्कार गरेर एमसीसी पारित गर्न खोजे विरोधमा उत्रिन्छु : श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले संसद बहिष्कार गरेर एमसीसी पास गर्न सहयोग पुर्‍याउने भन्ने खबर गलत भएको बताएका छन् ।

    शुक्रबार एकीकृत समाजवादीले आयोजना गरेको खबरदारी सभामा श्रेष्ठले आफ्नो पार्टीले एमसीसीका विपक्षमा मतदान गरेर विफल पार्ने दाबी गरे ।

    ‘केही सञ्चारमाध्यममार्फत हाम्रो पार्टी एमसीसीमाथि मतदानका बेला संसद बहिष्कार गरेर पारित गर्न सहयोग गर्ने कुरा आएको छ । यसको खण्डन गर्न चाहान्छु । संसद बैठक बहिष्कार गर्ने वा अनुपस्थित हुने गर्दैन । विपक्षमा मतदान गर्छ र असफल पार्छ ’, उनले भने ।
    श्रेष्ठले पार्टी र कुनै सांसदले अनुपस्थित भएर एमसीसी पारित गर्न सहयोग गरे आफू विरोधमा उत्रिने बताए । उनले भने , ‘जुन पार्टी वा नेताले संसदमा अनुपस्थित भएर एमसीसी पारित गर्न सहयोग गर्छ, म त्यसको विरोधमा उत्रिने छु ।’

    आजै सामाजिक सञ्जालमार्फत सत्तारुढ गठबन्धनभित्र सहमतिको सम्भावना बढ्दै गएको भनिएपनि माओवादी नेता श्रेष्ठले यथास्थितिमा माओवादी एमसीसीको पक्षमा नउभिने प्रष्ट्याएका थिए ।

  • सिंहदरबारमा प्रचण्ड-माधव भेट

    सिंहदरबारमा प्रचण्ड-माधव भेट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

    दुई नेताबीच सिंहदरबारमा अहिले भेटघाट जारी छ ।

    एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णयसँगै प्रचण्डले दौडधुप बढाएका छन् । माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।

  • माओवादीले संसद बहिष्कार गर्दैन, विपक्षमा मतदान गर्छ : नारायणकाजी

    माओवादीले संसद बहिष्कार गर्दैन, विपक्षमा मतदान गर्छ : नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताको विपक्षमा माओवादीले मत दिने बताएका छन् । सत्तारुढ गठबन्धनभित्र सहमतिको सम्भावना बढ्दै गएको भनिएपनि माओवादी नेता श्रेष्ठले यथास्थितिमा माओवादी एमसीसीको पक्षमा नउभिने प्रष्ट पारेका हुन् ।

    सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले एमसीसी निर्णयार्थ पेस हुन संसदमा माओवादी अनुपस्थित हुने प्रचार गलत रहेको दाबी गरेका हुन् ।

    ‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ- एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने’, श्रेष्ठले भनेका छन् ।

    श्रेष्ठले माओवादीविरुद्ध भ्रामक प्रचार अभियान चलाइएको आरोपसमेत लगाएका छन् ।

  • गठबन्धन जोगाउन माओवादीले अन्तिम प्रयास गर्ने, एमसीसीमा अडान यथावत्

    गठबन्धन जोगाउन माओवादीले अन्तिम प्रयास गर्ने, एमसीसीमा अडान यथावत्

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीबारे पार्टीको धारणा यथावत राख्दै सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने भएको छ ।

    अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने समझदारी बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्ड माधव नेपालसँग छलफल गरेर थप रणनीति बनाउने तयारीमा छन् । पार्टी कार्यक्रममा धनगढी पुगेका माधव नेपाल प्रचण्डको टेलिफोनपछि काठमाडौं फर्किएका छन् ।

    संसद बैठकमा एमसीसी टेबलसँगै नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छ । एमसीसीको विपक्षमा उभिएका कारण सत्ता गठबन्धनका घटकहरू माओवादी र नेकपा एसलाई सरकार छाड्न दबाब परेको छ ।

  • सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

    सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ ।

    एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

    नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
    सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । दुईजनाको छलफलपछि संसद बैठक स्थगित गरिएको हो ।
  • सरकारमा बस्ने-नबस्ने निर्णय लिन माओवादी नेताहरू खुमलटारमा, माधवसँग पनि छलफल गर्ने

    सरकारमा बस्ने-नबस्ने निर्णय लिन माओवादी नेताहरू खुमलटारमा, माधवसँग पनि छलफल गर्ने

    काठमाडौं । एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्न लागेपछि रणनीति बनाउन नेकपा माओवादी केन्द्रका नेता रणनीति बनाउन छलफलमा जुटेका छन् ।

    ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा शीर्ष नेताहरू बैठक बसिरहेका छन् । छलफल सरकारमा बस्ने वा नबस्नेबारे निर्णयमा केन्द्रित रहेको बताइएको छ ।

    ‘सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    तर, अन्तिम टुंगो भने नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँगको छलफलपछि लाग्ने बताइएको छ । यसका लागि माओवादी नेताहरूले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् ।

    पार्टीको पूर्वनिर्धारित कार्यक्रममा धनगढी पुगेका नेपाल प्रचण्डको टेलिफोनपछि फर्किसकेका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि प्रचण्डले माधवसहित संयुक्त रणनीति बनाउन लागेको स्रोतले बतायो ।

    संसद बैठकमा एमसीसी टेबलसँगै नेपाली कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छ । एमसीसीको विपक्षमा उभिएका कारण सत्ता गठबन्धनका घटकहरू माओवादी र नेकपा एसलाई सरकार छाड्न दबाब परेको छ ।

  • प्रधानमन्त्री निस्किएलगत्तै ओली भेट्न पुगे प्रचण्ड

    प्रधानमन्त्री निस्किएलगत्तै ओली भेट्न पुगे प्रचण्ड

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् ।

    एमसीसीबारे छलफल गर्न विहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

    एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

  • युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेका दलकै भ्रातृ संगठनले आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् ।

    सत्तारुढ गठबन्धना आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् ।

    एमसीसीलाई आज संसद बैठकमा छलफलका लागि पेस गरिने भएपछि उनीहरूले कडा प्रदशनको तयारी थालेका छन् ।

    संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले बिहान फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।

    खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।

    ‘आन्दोलन शान्तिपूर्ण गर्नुपर्‍यो, क्षति धेरै भयो,’ गृहमन्त्री खाणको आग्रह उद्धृत गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले नेपाल प्रेससँग भनिन्, ‘तपाईंहरूले पनि दुःख पाउनुभयो, प्रहरीले पनि दुःख पायो ।’

    सिंहले आफूहले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।

    गृहमन्त्री खाणले नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष पराजुलीलाई आन्दोलन शान्तिपूर्ण बनाउन र गठबन्धनलाई असर नपरोस् भनेर सचेत हुन विशेष आग्रह गरेका थिए । पराजुली फिल्डमा देखिएपछि प्रहरी अफिसरहरू दबाबमा पर्ने गरेकाले पनि गृहमन्त्रीले उनलाई सचेत गराएका हुन् ।

    जवाफमा उनले गठबन्धनलाई असर पर्न नदिन आफूहरू सचेत रहेको बताएका थिए । गठबन्धन कुनै हालतमा तोडिन हुँदैन भन्नेमा आफूहरू पनि रहेको उनले बताए ।

    ‘आन्दोलन नै त नगर्नुहोस् भन्दिनँ तर गठबन्धनाई समेत असर पार्ने गरी गर्नु भएन,’ गृहमन्त्री खाणले पराजुलीलाई भनेका थिए ।

    माओवादीका वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीनिकट युवासंघ नेपाल र अनेरास्ववियूले संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गर्दै आएका छन् ।

    खाणको आग्रह बाबजुद सत्तारुढ दुई दलका भ्रातृ संगठनले आजको प्रदर्शन सुरू गरिसकेका छन् । आजको प्रदर्शनमा माओवादीका सबै जनवर्गीय संगठनहरुको सहभागिता हुने बताइएको छ ।

    त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।

  • गठबन्धन जोगाउन प्रचण्डको दौडधुप, सिंहदरबारमा तीन दलको छलफलपछि बालुवाटारमा

    गठबन्धन जोगाउन प्रचण्डको दौडधुप, सिंहदरबारमा तीन दलको छलफलपछि बालुवाटारमा

    काठमाडौं । एमसीसी अनुमोदनको सकस झेलिरहेका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा नेकपा एस र जसपाका नेताहरूसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित जसपा नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।

    नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । बाबुराम भट्टराई पक्ष भने पारित गर्नुपर्ने पक्षमा छ ।

    सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले एमालेसँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।

  • संसदमा एमसीसीमाथिको छलफल छल्न खोज्दै अर्थमन्त्री शर्मा

    संसदमा एमसीसीमाथिको छलफल छल्न खोज्दै अर्थमन्त्री शर्मा

    काठमाडौं । एमसीसी टेबल हुने दिन स्वास्थ्य अवस्था ठिक नभएको भन्दै संसद नगएका अर्थमन्त्री जनार्दन शर्मा आज पनि नजाने भएका छन् । माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहँदा अर्थमन्त्री शर्मा आजको छलफलमा पनि अनुपस्थित हुने भएका हुन् ।

    संसदमा एमसीसीको प्रक्रिया छल्न खोजिरहेका शर्माले हिजो फेसबुक स्ट्याटस लेख्दै पर्वतको एक कार्यक्रममा सहभागी हुने बताएका छन् । संसदको सम्भावित कार्यसूचीमा भने अर्थमन्त्री शर्माले नै आजको बैठकमा एमसीसीमाथि छलफलको प्रस्ताव पेस गर्ने उल्लेख छ ।

    यसअघि अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने कार्यसूची थियो । शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

    एमसीसीमाथि छलफल गर्न आज १ बजे संसद बैठक बस्दैछ ।

  • काउण्टर दबाब- कसले ल्यायो एमाले नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव ?

    काउण्टर दबाब- कसले ल्यायो एमाले नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव ?

    काठमाडौं । मंगलवार साँझ एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच भेटवार्ता हुनुअघि राजनीतिक वृत्तमा एउटा चर्चा चल्यो- राष्ट्रिय सरकार गठन गरेरमात्र एमसीसी पारित गर्ने नयाँ प्रस्ताव माओवादीबाट आयो ।

    सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीका कारण मुलुकलाई थप ध्रुवीकरण र मुठभेडमा जान नदिन संसदको ठूलो दल नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अनौपचारिकरूपमा अघि बढाएको कुरालाई कसैले औपचारिक पुष्टि गर्न भने चाहेनन् ।

    सत्ता गठबन्धनमै अविश्वास र विमति भएपछि दुवै पक्षबाट एकले अर्कोलाई दबाबमा पार्ने रणनीतिअनुरूप देउवाले ओलीसँग बाक्लो उठबस गरेपछि माओवादीले पनि अर्को प्रस्ताव फालेको हुनसक्ने नेताहरू बताउँछन् । यद्यपि यसबारे छलफल नै भएको छैन र त्यो अहिलेको सन्दर्भमा असम्भव रहेको नेताहरू बताउँछन् ।

    माओवादी केन्द्रले एमालेका दोस्रो तहका नेतामार्फत पठाएको प्रस्तावमा कुनै ‘रेस्पोन्स’ नभएको स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट नेताहरूले केपी ओलीबाहेक एमालेका अरु नेतालाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउन सकिए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका छन् ।

    यो खबर कांग्रेस नेताहरूसम्म पनि पुगिसकेको तर कांग्रेसबाट त्यसलाई ‘आउटराइट’ रिजेक्ट गरिएको नेताहरूले बताएका छन् । एमालेका नेताहरूले पनि यसलाई रेस्पोन्स गरेनन् । प्रचण्डले केपी ओलीले संवादका ढोका बन्द गरेको भन्दै राष्ट्रिय सहमतिका लागि आफू बालकोटमै वार्ता गर्न जान तयार रहेको बताउँदै आएका छन् ।

    माओवादीको प्रस्तावबारे एमालेका एक नेताले भने, ‘उहाँहरूको यो कुरा नयाँ होइन र यसको कुनै अर्थ पनि छैन । केपी ओलीबाहेक अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा नै हानिकारक प्रस्ताव हो । उहाँहरू खासमा एमसीसीको विपक्षमा मतदान गर्ने तर सरकारमै रहने उपायको खोजीमा यस्ताखाले तुरूप फाल्नुहुन्छ ।’

    यो खबर कांग्रेस नेताहरूसम्म पनि पुगिसकेको तर कांग्रेसबाट त्यसलाई ‘आउटराइट’ रिजेक्ट गरिएको नेताहरूले बताएका छन् । एमालेका नेताहरूले पनि यसलाई रेस्पोन्स गरेनन् । प्रचण्डले केपी ओलीले संवादका ढोका बन्द गरेको भन्दै राष्ट्रिय सहमतिका लागि आफू बालकोटमै वार्ता गर्न जान तयार रहेको बताउँदै आएका छन् ।

    केपी ओलीबाहेक ओलीले नै भनेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव तत्कालीन नेकपामा संसद पुनःस्थापनापछि पनि एकपटक बहस भएको थियो । तर, त्यो प्रस्ताव ओलीलाई कमजोर पार्ने र नेकपा कब्जा गर्ने उद्देश्यले आएको भन्दै तत्कालीन नेकपाको केपी ओली पक्षले बेवास्ता गरेको थियो ।

    कांग्रेसमाथि दबाब बढाउन माओवादीले विभिन्न प्रस्ताव विभिन्न ठाउँमा लगेपछि प्रधानमन्त्रीले पनि प्रचण्डलाई दबाबमा राख्न एमालेसँग सघन संवाद र सत्ता सहाकार्यको प्रस्ताव राखेका छन् । तर, एमालेले दुवैतिरका प्रस्तावलाई उत्साहका साथ नहेरेको नेताहरू बताउँछन् ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अप्रासांगिक प्रस्तावहरूको अर्थ नरहेको छोटो प्रतिक्रिया दिए । माओवादी नेताहरू भने यसबारे बोल्न चाहेका छैनन् । तर, एमसीसी जस्तो विषयमा दलहरू पक्ष र विपक्षमा विभाजित हुँदा मुलुक ध्रुवीकरणमा जाने भएकाले राष्ट्रिय सहमति जुटाउनुपर्ने कुरा आफूहरूले सैद्धान्तिकरूपमा उठाएको माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए ।

    कांग्रेससँग एमालेको दूरी बढाउन राष्ट्रिय सरकारको प्रस्ताव आएको हुनसक्ने भन्दै अब एमालेले कांग्रेसलाई झस्काउने गरी कुनै प्रस्तावमा अल्झनमा पर्न नचाहेको नेताहरूको भनाइ छ ।

    शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले विभिन्न विषयमा छलफल भए पनि अहिले कुनै ठोस आकार नबनेको बताए । तीन दिनअघि प्रचण्डले माओवादीका पूर्वस्थायी कमिटीका सदस्यहरू तथा मन्त्रीहरूसँगको छलफलमा कुनै पनि बेला सरकारबाट बाहिरिनुपर्ने भन्दै तयार रहन निर्देशन दिएका थिए ।

    तर, बुधबार बिहान भेट्न गएका मन्त्रीहरूले भने प्रचण्डबाट कुनै थप निर्देशन पाएनन् । प्रधानमन्त्रीले एमालेसँग सघन संवाद अघि बढाएपछि प्रचण्डले पनि आफ्नो रणनीति बढाउन खोजेका छन् । तर, एमालेका विशेषगरी केपी ओलीको कोर टिममा रहेका नेताहरूले माओवादीसँग संगत नहुने बताएका छन् ।

    कांग्रेससँग एमालेको दूरी बढाउन राष्ट्रिय सरकारको प्रस्ताव आएको हुनसक्ने भन्दै अब एमालेले कांग्रेसलाई झस्काउने गरी कुनै प्रस्तावमा अल्झनमा पर्न नचाहेको नेताहरूको भनाइ छ ।

    एमालेका नेताहरूले कम्तीमा आगामी तीनै तहका निर्वाचनमा प्रचण्ड-माधवसँग कुनै सहकार्य र गठबन्धन नहुने बताइसकेका छन् ।

    (तस्बिर: केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड)

  • प्रचण्डले भने- पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ तर हामी विजयी हुनेछौं

    प्रचण्डले भने- पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ तर हामी विजयी हुनेछौं

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताएका छन् ।

    अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ उल्लेख गरेका हुन् ।

    ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, फेसबुकमा प्रचण्डले भनेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

    माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका छन् ।

    प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटघाट बढाइरहेका छन् ।

     

  • कालो बेलुन उडाएर एमसीसीको विरोध (तस्बिर/भिडिओ)

    कालो बेलुन उडाएर एमसीसीको विरोध (तस्बिर/भिडिओ)

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै सत्ताघटक नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले कालो बेलुउन उडाएर विरोध गरेको छ ।

    मंगलबार बानेश्वरको बिजुलीबजार क्षेत्रमा उनीहरूले कालो बेलुन उडाएका हुन् । बेलुनमा ‘नो एमसीसी’,‘रिजेक्ट एमसीसी’ लगायतका नारा लेखिएको छ ।

    अखिल क्रान्तिकारीले एमसीसीविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग नेपाली कांग्रेसले थप सहकार्य नहुने प्रष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । यद्यपि एमसीसी संसदमा टेबल भएको ३ दिन बितिसक्दा माओवादीले सरकारबाट बाहिरिने कदम चालेको छैन ।

    अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीभित्र डा.बाबुराम भट्टराई समर्थनमा भएपनि जसपाले औपचारिक निर्णय गरिसकेको छैन । जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले एमसीसी टेबल हुँदा नै संसदबाट विपक्षमा उभिने घोषणा गरिसकेको छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस महामन्त्री गगन थापा नैतिक र राजनीतिक दुवै हिसाबले सत्तारुढ दलहरूले एमसीसीको विपक्षमा मतदान गर्न नमिल्ने बताउँछन् । एमसीसीमा ‘राष्ट्रघात’ देख्नेहरूले एमसीसी पारित गराउनुपर्छ भन्ने कांग्रेससँग कुम जोड्न जरुरी नरहेको गगनको भनाइ छ ।

    ‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन उहाँहरूलाई लाज हुन्छ कि हुँदैन ?’, थापाको प्रश्न छ । एमसीसी संसदको प्रक्रियाबाट टुंगिने निश्चित भएपनि सत्तारुढ दलहरूबीच साझा दृष्टिकोण नबने गठबन्धन निरन्तर नरहने उनले बताए ।

    ‘एमसीसी सामान्य प्रस्ताव मात्रै होइन राजनीतिक दृष्टिकोण पनि हो । हाम्रो दृष्टिकोण नै फरक भइसकेपछि एकै ठाउँमा उभिने अवस्था बन्दैन । उहाँहरू सरकारमा नरहने मात्रै होइन यो सहकार्य नै अगाडि नबढ्ने अवस्था बन्नसक्छ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसले गठबन्धनको निरन्तरता चाहेपनि गठबन्धनभित्रका दलहरूको व्यवहारमा भर पर्ने थापाको भनाइ छ ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस नेता मीन विश्वकर्मा पनि एमसीसीको विपक्षमा मतदान गर्नु अघि माओवादी-समाजवादीलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

    ‘सरकारले ल्याएको प्रस्तावको पक्षमा नउभिने हो भने उहाँहरूले पहिले सरकार छाड्नुपर्‍यो । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो’, विश्वकर्माले नेपाल प्रेससँग भने । कांग्रेस र प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा दृढ रहेको भन्दै विश्वकर्माले माओवादी र समाजवादीको अन्तिम निर्णय आएपछि आवश्यक कदम लिइने बताए ।

    ‘एमसीसी संसदमा निर्णयार्थ पेश हुने बेला उहाँहरूले लिने निर्णयका आधारमा कांग्रेस अगाडि बढ्छ’, उनले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

    कांग्रेसभित्र एमसीसीको पक्षमा नउभिने दलहरूसँग गठबन्धन गर्न नहुने मत बलियो छ । यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने भन्दै छलफल थालेका छन् ।

    माओवादी अध्यक्ष दाहालले पौडेलसँग सोमबार भएको भेटमा गठबन्धन जोगाउने प्रतिबद्धता गरेका थिए । कांग्रेसका अन्य नेताहरू भने एमसीसीको विपक्षमा मतदान गर्ने दलसँग कांग्रेसले सहकार्य नगर्ने बताउँछन् ।

    ‘यदि एमसीसीको विपक्षमा कसैले मतदान गर्छ भने त्यो सरकारलाई गरेको असहयोग हो । सरकारलाई असहयोग गर्नेहरूसँग मिलेर सरकार चलाउन सकिदैन । त्यसको विकल्पमा जे पर्छ कांग्रेसले व्यहोर्छ’, एक कांग्रेस नेताको भनाइ छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    ‘माओवादी र समाजवादीले यसो गरे के होला, त्यसो गरे के होला भन्ने अनुमान कांग्रेसले गर्दैन । प्रक्रियामा जाँदा जे आवश्यक पर्छ त्यो निर्णय लिन कांग्रेस तयार छ’, महतले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

  • माओवादीले एमसीसीको विपक्षमा भोट हाल्छ, सरकार कहिले छाड्ने छिट्टै निर्णय गर्छौं : देव गुरुङ

    माओवादीले एमसीसीको विपक्षमा भोट हाल्छ, सरकार कहिले छाड्ने छिट्टै निर्णय गर्छौं : देव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।

    सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए ।

    उनले भने, ‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ। सरकारमा नरहने भनेर पाार्टीले नीतिगत निर्णय लिईसकेको छ। अब दिनको मात्रै कुरा हो । नेकपा (माओवादी केन्द्र) मा दोहोरो चरित्र देखाउँदैन् । राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसीसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ ।’

    उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे । आफूहरुले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाए ।

    एमसीसीको बारेमा विगत कालदेखि नै आफूहरुले विरोध जनाएको उनको भनाई छ ।

    उनले आर्थिक सहायता सम्झौता सरकारले टुंगो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रुपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगिकार गर्न सकिने पनि उल्लेख गरे । उनले भने, ‘एमसीसी सम्झौता गर्दा यो सदनमा लगेर कानून बनाउने कुरा भएको थिएन । केपी ओली सरकारको पालामा कानून मन्त्रालयको सिफारिशमा सदनमा लैजाने कुरा भएको हो । हरेक सम्झौता सदनमा लैजानेबित्तिकै अरु पनि लैजानुपर्छ । अरु सम्झौता किन नलैजाने भनेर अरुले भन्न थाले भने के हुन्छ रु सदनले कार्यपालिकाको अधिकार खोसिदिन्छ ।’

    एमसीसी सम्झौतामा एमसीसीको झण्डामा प्लेन वा गाडी आएपनि कुनै चेकजाँच गर्न पनि नपाउने र के सामान ल्यायो ? के लग्यो ? भनेर चेक गर्न नपाउनेखालका प्रावधान हुँदानेपालको सार्वभौम अधिकार पनि खण्डित हुने गुरुङको भनाई छ ।

  • एमालेका स्थानीय जनप्रतिनिधिसहित विभिन्न पार्टीबाट माओवादीमा प्रवेश

    एमालेका स्थानीय जनप्रतिनिधिसहित विभिन्न पार्टीबाट माओवादीमा प्रवेश

    काठमाडौं । नेकपा (एमाले) का स्थानीय जनप्रतिनिधिसहित एमाले र नेपाली कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडाअध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट पनि प्रवेश गरेको बताइएको छ ।

    नव प्रवेशीहरूलाई प्रचण्डले खुमलटारमा एक कार्यक्रमकाबीच स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै भएको बताएका थिए ।

  • दोहोरो चरित्रले कहाँ पुर्‍याउला प्रचण्डलाई ?

    दोहोरो चरित्रले कहाँ पुर्‍याउला प्रचण्डलाई ?

    कैलाली । गत वर्ष माघ २२ संसद् विघटनको विरुद्धमा तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा देशव्यापी आमहडताल घोषणा भएको थियो । विरोध कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले ‘प्रतिगमन मुर्दावाद’ भन्ने नारा लाग्दा चर्को स्वरमा ‘मुर्दावाद’ भने । तर, जब ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लाग्यो, तब प्रचण्ड रहस्यमयी तरिकाले मौन रहे । र हात बाँधेर उभिए । दोस्रोपटक पनि ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लाग्यो । उनी बोलेनन् र कार्यकर्ताहरूलाई प्रतिगमनको विरुद्धमा नारा लगाउन निर्देशन दिए ।

    त्यो दृश्यले एमसीसीबारे प्रचण्ड उदार बनेको प्रष्ट पारेको थियो । तर, उनले सार्वजनिक कार्यक्रममा भने एमसीसीको विरोध गर्दै आइरहेका थिए । भदौ २५ गते प्रचण्डले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा रहेको बताएका थिए ।

    प्रचण्ड निवास ललितपुरको खुमलटारमा झण्डै एक घण्टा भएको भेटमा सुमारले एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन् । सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो । आइतबार प्रचण्डकै सहमतिपछि सरकारले एमसीसी संसदमा टेबल गरेको थियो । भित्र गठबन्धन भित्र सहमति गरेका प्रचण्डले बाहिर भने आफूहरू यसको विरोधमा रहेको बताए ।

    संसदमा एमसीसी टेबल भएलगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।

    उनले भनेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
    माओवादी अध्यक्षले मात्रै एमसीसीको विरोध गरेनन्, पूर्वसभामुख कृष्णबहादुर महाराले समेत विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

    ‘सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्टरुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ । देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबिच राष्ट्रिय सहमति नगरीकन र सत्तारुढ दलभित्रै एकरूपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर आपत्ति छ,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    माओवादीका नेता कार्यकर्ताहरुले विरोध गरे पनि प्रचण्डले भने गठबन्धनको बैठकमा सहमति गरेको बुझिएको छ । माओवादीबाट अर्थमन्त्री रहेका जनार्दन शर्मा एमसीसी टेबल गर्न अस्वीकार गर्दै अनुपस्थित रहेका थिए । माओवादीका सांसदहरूले कार्य व्यवस्था परामर्श समितिमा लिखित विरोध जनाए पनि प्रचण्डले गठबन्धनमा गरेको सहमतिअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राख्दै टेबल गर्न दिएका थिए ।

    सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न दिने सहमति जनाएका प्रचण्ड संसद् बैठकमा चुपचाप बसेर समर्थन जनाइरहेका थिए । हलको बीचको सिट रहोबरमा रहेकी प्रचण्डकी बुहारी बिना मगर भने हात उठाएर नाराबाजी गरिरहेकी थिइन् ।

    अध्यक्ष प्रचण्डले एमसीसीको मौन समर्थन गरेर सत्ता जोगाएको र अन्य तथा तथा कार्यकर्तालाई विरोध गर्न लगाएर जनमत बढाएको समेत आरोप लाग्दै आइरहेको छ । केही दिन पहिले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि कटाक्ष गरेका थिए ।

    सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले एमसीसीलाई धेरै गिजोलिएमा त्यसको परिणाम गम्भीर हुनेतर्फ सबैलाई सचेतसमेत गराएका छन् ।

    उनले लेखेका थिए, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जबसम्म यो पाखण्डी र दुईजिव्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन । एमसीसी जुन ढङ्गले गिजोलिँदै छ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई सांसदबाट परियोजना पास गराउने आश्वासनसहितको पत्र पठाइएको खुलासा भएपछि भट्टराईले प्रचण्डलाई दोहोरो चरित्रको नेता भनेका थिए ।

    उनले त्यस लगत्तै एमसीसीको विरोध गर्नेहरूले सरकारमा बस्ने हैसियत गुमाइसकेको बताएका थिए ।

    भट्टराईको अभिव्यक्तिको केही दिन पछि माओवादी केन्द्रले संशोधन नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिर जाने निर्णय गरेको थियो । बुधबार माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । आइतबार सरकारले संशोधन नगरी एमसीसी टेबल गर्यो । तर, माओवादी केन्द्रले भने अहिले सरकारबाट फिर्ता नहुने बताएको छ ।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरु गुरुङले आफूहरूको सहमति विना सरकारले एमसीसी टेबल गरेको भन्दै सरकारबाट फिर्ता हुने विषय अहिल्यै निश्चित नभएको बताए ।

    ‘सरकारले प्रेसर गरेको हुँदा सभामुखले एमसीसी टेबल गर्न रुलिङ गरेका हुन्’ गुरुङले भने, ‘अहिलेसम्म हामीले सहमति गरेका छैनौँ । यसमा भोटिङ हुँदा त्यसको विपक्षमा हामी भोट गर्छाै । तर, सरकारबाट फिर्ता हुने भन्ने विषय अहिले आउँदैन ।’

    गुरुङले माओवादी केन्द्र सरकारमा रहने–नरहने भन्ने कुरा निर्णयार्थ प्रस्तुत गर्दा मात्रै थाहा हुने बताए ।

    उनले भने, ‘निर्णयार्थ रूपमा प्रस्तुत गर्ने बेलामा हामी के गर्ने भन्ने कुरा आउँछन् । त्यो बेलामा सरकार छोड्नुपर्ने भन्ने कुरा पनि आउन सक्छ । ’

    माओवादी एमसीसीविरोधी भए पनि सत्तागठबन्धन भत्किने डरले मौन समर्थन गरेको आरोप छ । असोज १३ गते देउवा र प्रचण्डले एमसीसी अनुमोदन गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै पाँच महिनाको समय मागेका थिए ।

    पार्टी र जनमत विपक्षमा हुँदा पनि सत्ता गठबन्धन जोगाउन, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव उल्टिन नदिन, सभामुखलाई महाअभियोग लाग्नबाट जोगाउन, सभामुख फेरिएपछि एकीकृत समाजवादीका १४ सांसदको पद जानबाट रोक्न माओवादी अध्यक्ष दाहालले गठबन्धनको बैठकमा मौन समर्थन गरेको स्रोतको दाबी छ । तर, उनै दाहालले पार्टी एमसीसीको विपक्षमा रहेको र संशोधन विना पारित नगर्न चेतावनी दिँदै जनमत समेत बटुल्ने प्रयास गरिरहेका छन् ।

    अहिले माओवादीले विरोधका बिचमा एमसीसी टेबल गरेको भन्दै यसको विपक्षमा भोट हाल्ने दाबी गरेको छ । संशोधन विना एमसीसी टेबल भए सरकारबाट फिर्ता हुने भन्दै निर्णय नै गरेको माओवादी केन्द्रले संसदमा टेबल गरेको एमसीसीको पक्षमा मत लिएर गठबन्धन बलियो बनाउँला वा विपक्षमा मत दिएर सरकारबाट फिर्ता होला त्यो भने हेर्न बाँकी नै छ ।

    प्रतिनिधि सभाको अर्काे बैठक १२ गते बोलाइएको छ । एमालेको संसद् अवरोध, माओवादीको दोहोरो भूमिका र एकीकृत समाजवादीको टेबल गर्न दिने तर पास गर्न नदिने नीतिले एमसीसी थप गिजोलिएको छ ।

  • प्रचण्डको प्रष्टोक्ति- पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय

    प्रचण्डको प्रष्टोक्ति- पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका विपक्षमा उभिने आफूहरुले पहिले नै प्रष्ट पारिसकेको बताएका छन् । विवाद र आफूहरूको विरोध बीच सरकारले एमसीसी टेबल गरेको प्रचण्डको भनाइ छ।

    ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ,’ सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’

    एमसीसीको विरोधमा उत्रिएकालाई प्रहरी दमन गरेको भन्दै प्रचण्डले विरोध गरेका छन् । उनले भनेका छन्, ‘एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

  • एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू)

    एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू)

    काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । संसद भवनभित्र एमसीसी टेबल भइरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठनले विरोध जारी राखेका छन् ।

    झण्डै ४ घण्टादेखि विरोध जारी छ । आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पेट्रोल छर्केर बीच सडकमा आगो बालेका छन् ।

    पानीको फोहोरा र अश्रुग्याबाट पनि आन्दोलनकारी हटाउन नसकेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइतेसमेत भएका छन् ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

    एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् ।

    बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए ।

    उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

    त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। एमसीसी टेबल गर्न नहुने उनको भनाइ छ ।

    एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।

  • संसद बैठक : एमसीसी कार्यसूचीमा राखिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    संसद बैठक : एमसीसी कार्यसूचीमा राखिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ ।

    बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका छन् । उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

    ‘एमसीसीसम्बन्धी कार्यसूचीका विषयमा हाम्रो धारणा प्रष्ट छ । एमसीसीमा राष्ट्रहित प्रतिकूलका प्रावधान रहेका छन् । त्यसलाई संशोधन नगरिएको स्थितिमा सम्झौताबारे प्रक्रिया अगाडि बढाउन हुँदैन भन्ने हाम्रो धारणा छ’, गुरुङले भने ।

    गुरुङले आर्थिक अनुदानको विषय संसदबाट अनुमोदन हुने परम्परा नरहेको भन्दै एमसीसीबारे राष्ट्रिय सहमति नजुटेसम्म संसदमा टेबल हुन नहुने बताए । सभामुखको रुलिङ पालना गरेपनि एमसीसी टेबल हुने कार्यसूचीमा असहमति रहेको गुरुङको भनाइ छ ।

  • भित्र एमसीसी अघि बढाइँदै, बाहिर प्रहरीसँग ठेलमठेल (तस्बिरहरू)

    भित्र एमसीसी अघि बढाइँदै, बाहिर प्रहरीसँग ठेलमठेल (तस्बिरहरू)

    काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयता परियोजना (एमसीसी) सदनमा टेबल गर्ने सहमति गरेको छ ।

    बानेश्वरमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले पनि माओवादी केन्द्रको सहमतिका बाबजुत एमसीसी अगाडि बढाउने निर्णय गरेको छ ।

    संसद भवनमा एमसीसी टेबल गर्न अगाडि बढाइदै गर्दा बाहिर भने त्यसको विरोमा प्रदर्शन भइरहेको छ । संसद भवनअघि माओवादी केन्द्र, एकीकृत समाजावदी लगायतका भ्रातृ संगठनले विरोध जनाइरहेका छन् ।

    आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा पानीको फोहोरा र लाठीचार्जसमेत गरिएको छ । अहिले बानेश्वरको अवस्था तनावग्रस्त छ ।

    हेर्नुहोस् तस्बिरमा बानेश्वरको विरोधः

    तस्बिरहरू : गौरव पौडेल । 

  • एमसीसी टेबल गर्नेबारे कार्यव्यवस्था बैठकमा माओवादीको असहमति

    एमसीसी टेबल गर्नेबारे कार्यव्यवस्था बैठकमा माओवादीको असहमति

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले असहमति राखेको छ ।

    बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिमा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति राखेका हुन् ।

    एमसीसीका कतिपय बुँदा घातक भएको भन्दै त्यो संशोधन नगरी टेबल गर्न नहुने उनीहरूको मत छ ।

    ‘राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरू परिमार्जन र संशोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं । तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता नभएको, संसद अवरुद्ध नै रहेकोले एमसीसी टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको छ’, असहमति पत्रमा भनिएको छ ।

  • एमसीसी मात्रै सदनमा नलाने सभामुखको अडान

    एमसीसी मात्रै सदनमा नलाने सभामुखको अडान

    काठमाडौं । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेको छ । सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको बेला सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीमौ सदनमा नलग्ने भएका छन् ।

    अहिले बानेश्वरमा प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।

    माओवादीनिकट स्रोतका अनुसार एमसीसीसँगै अन्य महत्वपूर्ण विधेयक पनि संसदमा लैजानुपर्ने सभामुखले अडान राखेका छन् । ‘एमसीसी सदनमा लाने, नलाने विषयमा त्यहाँ पनि लफडा हुन्छ,’ स्रोतले भन्यो, ‘सभामुखले अरु विधेयक नलाने, यो मात्रै किन भन्ने अडान राख्नुहुन्छ ।’

    सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडानमा छन् । नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदीय समितिमा अड्किराखेको भन्दै ती विधेयक पनि एमसीसीसँगै पेस गर्नुपर्ने उनको अडान छ ।

  • सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरूमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।

    सत्ता गठबन्धनको यसअघिका बैठकमा दुवै नेता उपस्थित हुँदै आएका थिए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैँ विरोध रहन्छ’, खनालले नेपाल प्रेससँग भने, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ?’

    माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले आफ्नो विरोध कायमै रहेको उनको भनाइ छ ।

    खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् ।

  • गठबन्धन बैठकमा प्रचण्डको फरक मत- एमसीसी सदनमा होइन समितिमा लैजाऊँ

    गठबन्धन बैठकमा प्रचण्डको फरक मत- एमसीसी सदनमा होइन समितिमा लैजाऊँ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राखेका छन् ।

    आइतबार बिहान बसेको गठबन्धनको बैठकमा प्रचण्डले सदनभन्दा समितिमा लैजान आग्रह गरेको सचिवालयले जनाएको छ ।

    ‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ,’ स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् ।

    गंगाले भनेकी छन्,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।’

    यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।

  • लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार: सभामुख सापकोटा

    लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार: सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

    ‘देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको सम्वर्द्धनका लागि विभिन्न समयमा भएका संघर्षमा जीवन आहुति दिनु भएका सम्पूर्ण सहिदप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ ७२औँ प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमा सापकोटाले भनेका छन् ।

    ‘हामी सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौं । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखा परेका छन् । चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो । लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत हो । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुन्छ ,’ उनको भनाइछ ।

    सापकोटाले लोकतन्त्रको समीक्षा यसको अभ्यासमा आधारित रहने बताएका छन् । ‘जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुन्छ । लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु,’ सापकोटाले उल्लेख गरेका छन् ।

  • माओवादीको बैठक फेरि सर्‍यो

    माओवादीको बैठक फेरि सर्‍यो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक-पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।

    माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० सम्मलाई स्थगन गरिएको जानकारी दिए ।

    स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो । अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।

    माओवादीले केन्द्रीय समितिबाट पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र स्थानीय तहको चुनाव केन्द्रित अभियान घोषणा गर्ने बताइएको थियो ।