Category: माओवादी केन्द्र

  • तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूको जुहारी जारी छ । गठबन्धनमा रहेकामध्ये नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू चुनावी तालमेलको पक्षमा उभिँदै आएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र भने चुनावी तालमेलबारे दुई थरी धारणा रहेको छ ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू चुनावी तालमेलका पक्षमा छन् । नेता डा. शेखर कोइराला र उनीनिकट अन्य नेताहरू भने तालमेलको विपक्षमा छन् । तालमेलबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । कांग्रेसले शर्तसहित चुनावी तालमेलको पक्षमा निर्णय लिने सम्भावना रहेको छ । कांग्रेस चुनावी तालमेलबारे निर्णय लिने चरणमा पुगिसक्दा गठबन्धनको मुख्य घटक नेकपा एकीकृत समाजवादी भने ढुक्क छैन ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    गठबन्धनमा चुनावी तालमेल निश्चित नभएपछि अध्यक्ष नेपालले एमालेको तागतसँग आफूलाई तुलना गर्दै आएका छन् । यद्यपि आफ्नो पार्टी नयाँ भएकाले एक्लै चुनाव लडेर ‘उपलब्धी’ जोगाउने सम्भावना नेपालले देखेका छैनन् । अर्कोतिर चुनावी तालमेलबारे कांग्रेस र माओवादी नेताहरूको ‘दन्तबझान’ ले नेपाललाई दिक्क बनाएको छ ।

    निकटस्थहरूसँग नेपालले कांग्रेस र माओवादीको गतिविधिका कारण एमालेले नै लाभ लिने अवस्था बन्न खोजेको बताउने गरेका छन् । कांग्रेसका केही पदाधिकारीको अभिव्यक्तिले त गठबन्धनलाई झन् समस्यामा पार्ने माधवको निष्कर्ष छन् । अर्कोतिर कांग्रेसको व्यवहारका कारण माओवादीपनि बिच्कने खतरा उनले देखेका छन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ‘कांग्रेसका नेताहरू गठबन्धन विरुद्ध बोलिरहेका छन् । गठबन्धन हुँदा कांग्रेसको पनि भोट बढ्ने होनि तर उनीहरू पपुलर कुरा गर्छन् । कांग्रेसलाई चुनाव हार्ने डर छैन’, नेपालले निकटस्थहरूसँग भन्ने गरेका छन् । अर्कोतिर गठबन्धनकै पक्षमा रहेपनि माओवादीको भर लागेको छैन नेपाललाई । ‘अब कांग्रेसले यस्तै गरिरह्यो भने प्रचण्डले फेरि केपी ओलीसँग हात मिलाउन सक्छन् । प्रचण्डको भर भएन, कांग्रेसलाई डर भएन’, नेपालको धारणा छन् ।

    नेपालनिकट नेताहरू नयाँ पार्टी निर्माणको चरण सुरू हुनासाथ निर्वाचनमा होमिन परेकाले केही कठिनाइ पर्नु स्वभाविक हुने बताउँछन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ती नेताका अनुसार चुनावी तालमेल हुनासाथ अधिकांश स्थानीय तहमा एमालेमा प्रभाव भएकै नेताहरू समाजवादीबाट चुनाव लड्न ईच्छुक छन् । यहीकारण अध्यक्ष नेपालले कांग्रेस र माओवादीको भर खोजिरहेका हुन् ।

    ‘देउवाजीलाई प्रधानमन्त्री बनाउन र प्रचण्डलाई राजनीतिक रूपमा जोगाउन सबैभन्दा बढी त्याग र राजनीतिक जोखिम कमरेड माधव नेपालले उठाउनुभएको छ । त्यसैले यो गठबन्धन जोगाउनुपर्छ भन्नेमा उहाँको प्रयास छ’, नेपालनिकट एक नेता भन्छन् ।

  • नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।

    जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए ।

    उनले भने, ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’

    कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।

    ‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’

    राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।

    उनले भने, ‘यदि राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौं । र, एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्छौं ।’

  • चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं

    चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं

    चितवन । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको विषय निर्णायक चरणमा प्रवेश गर्दा चितवनका कांग्रेसीहरूले भने केन्द्रबाट लादिने तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् । भरतपुर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल कांग्रेससँगको तालमेलबाट भरतपुरमा मेयर बनेकी थिइन् । संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई मैदान छाडेको थियो ।

    यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय चितवनका कांग्रेस नेताहरूले गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले बुधबार गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।

    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अञ्जनी श्रेष्ठ, दिनेश कोइराला, शान्ति परियार, पूर्व जिल्ला सभापतिहरू जितनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, तोपमान गुरुङ, पूर्व सांसद सावित्री बोगटी, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी , जिल्ला पदाधिकारीहरू लगायतको उपस्थिति थियो । भेलामा बोल्ने सबैजसो नेताहरूले चितवनमा स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने धारणा राखेका थिए ।

    माओवादी अध्यक्ष प्रचण्ड विहीबार बिहानै चितवन पुगेर जिल्लाका नेताहरूले भन्दैमा नहुने र केन्द्रबाटै तालमेलको निर्णय हुने बताएका छन् । यसै सन्दर्भमा चितवनका कांग्रेस नेताहरूलाई हामीले चुनावी तालमेलबारे तपाईको धारणा के हो भनी सोधेका छौं । प्रस्तुत छ उनीहरूको धारणा, जस्ताको तस्तै –

    दिनेश कोइराला, केन्द्रीय सदस्य

    चितवनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ । अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेरै टिकट खोसेर कांग्रेसले माओवादीलाई सहयोग गरेको हो । त्यतिबेला हामीले स्थानीय निर्वाचनमा माओवादी जितायौं तर संसदीय निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गर्‍यो । अघिल्लोपटक नै माओवादी गद्दारी गरेर गठबन्धनको माहोल बिगारिसकेको छ । अहिले यदि गठबन्धन गर्नै पर्ने आवश्यकता हो भने माओवादीले निशर्त हामीलाई सहयोग गर्नुपर्छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसलाई निशर्त समर्थन गरेपछि मात्रै माओवादीसँग सहकार्यको वातावरण बन्छ । म माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्छु, आफ्नो पद जोगाउन धेरै धम्कीको भाषा नबोल्नुहोला । माओवादीलाई चुनाव जिताइदिनुपर्ने बाध्यता कांग्रेसका मतदातालाई छैन । यदि तालमेल गर्ने नै हो भने हैसियतका आधारमा गरौं । चितवनका कांग्रेस नेतालाई छलेर केन्द्रीय नेतृत्वसँग मात्रै कुरा मिलाउँछु भनेर माओवादीले सोचेको छ भने हामीलाई स्वीकार्य हुँदैन । त्यसको परिणाम राम्रो आउँदैन ।

    राजेश्वर खनाल, चितवन सभापति

    स्थानीय सरकार निर्माणमा पार्टीको स्थानीय समिति नै निर्णायक हुनुपर्छ भन्ने चितवन कांग्रेसको पहिलो धारणा हो । चितवनको धरातलीय यथार्थ, मतदाताको मनोभावना बुझेर निर्णय लिन चितवन कांग्रेस सक्षम छ । हामीले जिल्लाका सबै सिनियर नेताहरूसँग छलफल गरेका छौं । चितवनमा कांग्रेसको ग्राउण्ड बलियो भएकाले पार्टी र मतदातालाई धक्का पुग्ने कुनैपनि निर्णय केन्द्रले लिनुहुँदैन भन्ने सबैको धारणा छ । निर्वाचनमा एक्लै जानुपर्छ र गठबन्धनबाट कांग्रेसलाई कुनै फाइदा छैन । कांग्रेसजस्तो पार्टीका लागि चितवन जस्तो जिल्लामा चुनाव हार्ने वा जित्नेभन्दा जनतामा जाने कुरा महत्वपूर्ण हो । विगतमा गठबन्धन गर्दापनि कांग्रेसका लागि लाभदायी हुन सकेन । यदि राष्ट्रिय राजनीतिका कारण गठबन्धन गर्नु नै पर्ने हो भनेपनि स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको स्थानीय संयन्त्रबाटै टुंगो लगाउन पाउनुपर्छ । केन्द्रबाट लादिएको निर्णयले परिणाम दिएन भने त्यसको जवाफदेहिता चितवन कांग्रेसले लिदैन । जहाँसम्म भरतपुर महानगरपालिकाको विषय छ, भरतपुरमा कांग्रेस पहिलो शक्ति हो । भरतपुरको मेयर छाडेर अरु विषयमा छलफल गर्नै सकिँदैन ।

    जितनारायण श्रेष्ठ, चितवन निवर्तमान सभापति

    चितवन भनेको कांग्रेसको बलियो संगठन भएको जिल्ला हो । पटक-पटक अरु पार्टीलाई भोट हाल्नुपर्ने बाध्यता चितवनका कांग्रेसीलाई छैन । चुनावी तालमेलको कुरा गर्ने हो भने त्यो न्यायोचित हुनुपर्छ । पटक-पटक माओवादीलाई भोट हाल्नुपर्ने हो भने त्यो कसरी तालमेल भयो र ? विगतमा भरतपुर महानगरमा कांग्रेसले माओवादीलाई मेयर दिएकै हो । यसपटक माओवादीले भरतपुरको मेयरमा दाबी गर्न जरुरी छैन । यदि चुनावी तालमेल चाहेकै हो भने ग्राउण्डको तागतका आधारमा हुनुपर्‍यो । आजपनि चितवनमा कांग्रेस सबैभन्दा बलियो शक्ति हो । त्यसैले कांग्रेसको तागतलाई कमजोर पार्ने गरी हुने तालमेल हामीलाई स्वीकार्य छैन । गठबन्धन गर्ने हो भने न्यायोचित हुनुपर्‍यो । कांग्रेसका मतदाता धेरै भएका स्थानीय तहको नेतृत्व कांग्रेसले नै पाउने गरी हो भने तालमेलबारे सोच्नुपर्छ । अन्यथा हामीले सधैँ त्याग गर्नुपर्ने तालमेलको औचित्य छैन । कांग्रेसको केन्द्रीय नेतृत्वले स्थानीय नेता कार्यकर्ताको भावना बुझ्नुपर्छ, अन्यथा परिणामको भागीदार आफै बन्नुपर्छ ।

    रामकृष्ण घिमिरे, चितवन पूर्वसभापति

    चितवनमा हामीले अघिल्लो स्थानीय निर्वाचनमा माओवादीलाई भरतपुर महानगरको मेयर दियौं । हामीले मेयरमा माओवादीलाई भोट हाल्दा कतिपय वडामा भने माओवादीले एमालेसँग तालमेल गर्‍यो । माओवादी गठबन्धनमा इमान्दार देखिएको थिएन । अर्कोतिर संघीय निर्वाचनमा पनि कांग्रेसले क्षेत्र नम्बर ३ छाड्यो । यहाँका मतदाताले बारम्बार अरु पार्टीलाई मत दिनु परेकाले आक्रोश बढेको छ । धरातलमा उठेका विषयहरू सम्बोधन नगरी चुनावी तालमेल गर्दा प्रत्युत्पादक हुनसक्छ । हामीले ठाउँपनि छाड्ने जिताउन पनि नसक्ने हुनसक्छ । भरतपुरमा कांग्रेस पहिलो शक्ति हो भने एमाले दोस्रो र माओवादी तेस्रो शक्ति हो । चुनावी तालमेल जरुरी छ तर भरतपुरमा मेयर कांग्रेसले पाउनुपर्छ । चुनावी तालमेल राजनीतिक आवश्यकताको विषय हो तर त्यो स्वभाविक हुनुपर्छ ।

  • माओवादीबाट जितेका वडाध्यक्षसहित थुलुङ दुधकोशीका ६२ जना एमाले प्रवेश (तस्बिरहरू)

    माओवादीबाट जितेका वडाध्यक्षसहित थुलुङ दुधकोशीका ६२ जना एमाले प्रवेश (तस्बिरहरू)

    काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश गरेका छन् ।

    माओवादीबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राई, वडा सदस्य रसाइली, सदस्य सोमकुमार तामाङसहितकाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

    बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले उनीहरूलाई स्वागत गरे ।

    एमाले प्रवेश गरेकाहरू अधिकांश माओवादी त्यागेर आएकाहरू छन् ।

    एमाले प्रवेश गरेकाहरूको सूची यसप्रकार छ :

  • माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

    माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

    दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन ।

    कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।

    सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।

  • चितवन पुगेर प्रचण्डले भने: यहाँका नेताले भनेर हुँदैन, चुनावमा माथिबाटै कांग्रेससँग गठबन्धन हुन्छ

    चितवन पुगेर प्रचण्डले भने: यहाँका नेताले भनेर हुँदैन, चुनावमा माथिबाटै कांग्रेससँग गठबन्धन हुन्छ

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।

    स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनले बताए ।

    ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’

    प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् ।

  • माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

    माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् ।

    त्यस्तै प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष चयन गरेको छ । जसमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहेका छन् ।

    त्यस्तै सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् ।

    अधिवेशनले कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् ।

  • माओवादी गण्डकीको पदाधिकारी निर्वाचन आज, सबै पदमा उम्मेदवारी दर्ता

    माओवादी गण्डकीको पदाधिकारी निर्वाचन आज, सबै पदमा उम्मेदवारी दर्ता

    पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ ।

    सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो । तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो ।

    कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि नवलपुरबाट मित्रशरण शर्मा, पर्वतका गुणखर बस्याल, गोरखाका लोकप्रसाद बन्जारा, बागलुङका ज्ञानमान गैह्रे, कास्कीका गंगा पोखरेल र केशव पौडेल तथा तनहुँकी गीता शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

    यस्तै, एक जना सचिवका लागि दुई जनाको मनोनयन छ । गोरखाका जगन्नाथ खनाल र विष्णु भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।

    तीन सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिए भने कोषाध्यक्षमा तीन जनाको दावेदारी परेको छ । सहसचिवमा कास्कीका जीवन खाती, राजकुमार दुलाल, लमजुङका मेखबहादुर भण्डारी, स्याङजाका कल्पना अर्याल, तनहुँका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विकले उम्मेदवारी दिएका छन् ।

    कोषाध्यक्षमा कास्कीका मेखबहादुर विक र भीमबहादुर विक तथा स्याङजाका तारा भुसालको उम्मेदवारी परेको छ ।

  • रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूले स्थानीयदेखि संसदको निर्वाचनसम्मै चुनावी तालमेल हुने दाबी गरेका छन् ।
    रिपोर्टस क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गठबन्धन आफूहरूको बाध्यता भएको जिकिर गरे ।

    नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताए । नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न नहुने उनको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्नेमा रावलको जोड छ ।

    नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वाभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रूपमा छलफल चलिरहेको उनको भनाइ छ ।

    त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने दाबी गरे ।

    स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रूपले गरिरहेको पनि सुवेदीले बताए ।

  • मधेस प्रदेशको माओवादी प्रशिक्षण मात्रिका यादवले गरे बहिष्कार, प्रचण्ड भन्छन्-उहाँ आउनुपर्थ्यो

    मधेस प्रदेशको माओवादी प्रशिक्षण मात्रिका यादवले गरे बहिष्कार, प्रचण्ड भन्छन्-उहाँ आउनुपर्थ्यो

    जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा बढेको असन्तुष्टि सतहमै देखिएको छ ।

    जनकपुरधाममा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा मधेसका प्रभावशाली नेता एवं स्थायी समिति सदस्य मात्रिका यादव उपस्थित भएनन् ।

    नेता यादव कार्यक्रममा नआउँदा दु:ख लागेको प्रचण्डले बताए । उनले भने, ‘असन्तुष्ट रहेपनि उहाँ कार्यक्रममा आउनुपर्थ्यो । तर, आउनु भएन । यो दु:खको कुरा हो ।’

    मधेस प्रदेशभित्र युद्ध लडेका र पूर्वजनमोर्चाका नेता-कार्यकर्ताबीच माओवादीमा दुई गुट छ । भूमिगतकालदेखिका माओवादीको नेतृत्व यादवले गर्दै आएका छन् । गिरिराजमणी पोखरेल र विश्वनाथ शाहले पूर्वजनमोर्चा धारको लिड गर्छन् । गुटबन्दीकै कारण माओवादी अहिलेसम्म प्रदेश कमिटी समेत बनाउन सकेका छैन ।

    अध्यक्ष प्रचण्डले असन्तुष्टि र गुट-उपगुट त्यागेर स्थानीय तह निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको विषय टुंगो नलागेको र गठबन्धन नभए पनि चुनाव जित्नेगरी लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

  • जनकपुरमा प्रचण्डले भने- एमालेका कारण मधेसका जनताले न्याय पाउन सकेनन्

    जनकपुरमा प्रचण्डले भने- एमालेका कारण मधेसका जनताले न्याय पाउन सकेनन्

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका कारण मधेसका जनताले न्याय पाउन नसकेको भन्दै फेरि पनि केपी ओली मधेसमा आफ्नो प्रभाव विस्तारमा लागेको टिप्पणी गरेका छन् ।

    मधेस प्रदेशको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको कारण नागरिकता विधेयक अड्किएको आरोपसमेत लगाए । एमालेले बिनाकारण संसद चल्न नदिएको भन्दै प्रचण्डले ओली अझै प्रतिगमनकै बाटोमा रहेको बताए ।

    प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ । तर, एमालेले त्यसलाई असफल बनायो । एमालेले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ ।’

    अध्यक्ष प्रचण्डले अबको दुई महिना आक्रमक ढंगले लागेर चुनाव जित्नपर्ने भन्दै जाली फटाहा र विरोधीलाई तह लगाउनेगरी ब्याटलमा उत्रिन युवाहरूलाई निर्देशनसमेत दिए ।

  • प्रचण्डको प्रशिक्षण सुन्न दुई हजारसम्म शुल्क, टेन्टभित्र कार्यक्रम

    प्रचण्डको प्रशिक्षण सुन्न दुई हजारसम्म शुल्क, टेन्टभित्र कार्यक्रम

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम ‘महंगो’ तर लथालिंग देखिएको छ । अध्यक्ष प्रचण्डबाट प्रशिक्षण लिन कार्यकर्ताले २ सय देखि २ हजार शुल्क तिरेका छन् ।

    प्रदेशदेखि पालिकास्तरसम्मका नेता र जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई लिएर काठमाडौंबाट आएका हुन् । मध्यान्ह १२ बजेबाट सुरू हुने भनिएको कार्यक्रम २ घण्टा ढिलो गरी सुरू भएको थियो ।

    प्रशिक्षणमा सहभागी हुने नेता/कार्यकर्ताबाट व्यवस्थापन शुल्क भन्दै २ सय र जनप्रतिनिधिलाई २ हजार रूपैयाँ उठाइएको छ । उक्त शुल्क तिर्नेहरूले मात्रै प्रवेश कार्ड प्राप्त गर्छन् । प्रवेश कार्डबिना भित्र छिर्न पाइँदैन । प्रशिक्षणमा करिब २ हजारभन्दा बढी नेता/जनप्रतिनिधि सशुल्क सहभागी भएका छन् ।

    कार्यक्रमस्थल भने सानो टेण्टभित्र राखिएको छ । भित्र बस्ने ठाउँ साँघुरो छ । स्थान अभावले धेरै नेता चर्को घाममै उभिन बाध्य छन् । केही भुइँमै बसेका छन् । कार्यक्रमस्थलमा खानेपानीको समेत व्यवस्था छैन ।

    फितलो व्यवस्थापनका कारण चर्को घाममा उभिनुपर्दा बेहोस हुने अवस्था देखिएको प्रशिक्षणमा सहभागी एक नेताले गुनासो गरे ।

  • घर कुरुवा आफ्नै ‘जेलमेट’ कुटाएर जिल्ला इञ्चार्ज काठमाडौं हिँडेपछि माओवादीमा खैलाबैला

    घर कुरुवा आफ्नै ‘जेलमेट’ कुटाएर जिल्ला इञ्चार्ज काठमाडौं हिँडेपछि माओवादीमा खैलाबैला

    झापा । आफ्नो घर स्याहार्न राखिएका जेल जीवनका सहकर्मी दम्पत्तीलाई मरणासन्न हुनेगरि कुटपिट गराएर पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईँ सुटुक्क काठमाडौंतिर लागेपछि झापा माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ ।

    घटना सोमबार बिहानको हो। माओवादी केन्द्रको झापा जिल्ला इन्चार्ज तथा सांसद धर्मशिला चापागाईँको अर्जुनधारा नगरपालिका वडा न. १, साधुटार–सिस्नेस्थित घरमा काम गर्न राखिएका एक दम्पती मरणासन्न अवस्थामा पुग्ने गरी कुटिए ।

    कुटपिट गर्ने व्यक्ति थिए, सांसद चापागाईँका सौतेनी भाइ बुहारी र सौतेनी बहिनी । अनि कुटाई खाने दम्पती हुन्, धर्मशिलासँगै जेल जीवन बिताएका माओवादी कार्यकर्ता चन्द्र सापकोटा र जमुना सापकोटा ।

    अहिले धर्मशिलाको आदेशमा उनकै सौतेनी बुहारी र बहिनीबाट कुटाई खाएर घाइते भई बिर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचाररत जमुनाले नै धर्मशिलाको प्रहरीको कुटाइबाट थिलथिलो भएको शरीरको जेलमा स्याहार गरेकी थिइन् ।

    पारिवारिक स्रोतका अनुसार जमुना र चन्द्रसँग धर्मशिलाका जेल जीवनका ती सूचना र जानकारी छन् जसलाई उनी सधैँ लुकाउन चाहन्छिन्। त्यसैले आफ्ना ती पुराना सहकर्मी आफ्नो छेउछाउ रहेको उनलाई निको लाग्दैन ।

    तर, साइनोले भान्जा र भान्जे बुहारी समेत पर्ने भएकाले धर्मशिलाकी आमाले चन्द्र दम्पतिको दुख देख्न नसकेर उनीहरूलाई साथ दिने निर्णय गरिन्। भएको जग्गा जमिन जोतभोग गर्न दिइन् ।

    आमाको सो कदम ठिक नलागेको भए पनि सिधै विरोध गर्ने कुनै तर्क धर्मशिलासंग थिएन। त्यसैले आफ्नो मृत्यु पछि मात्र छोरीहरूले भोग गर्न पाउने सर्तमा धर्मशिला र अन्य चार बहिनी छोरीको नाममा अंश पास गरिदिएको जग्गामध्ये आफ्नो नाममा रहेको जग्गाको भोग धर्मशिलाले खोसिन्। र, तिनै सौतेनी बुहारीलाई भोग गर्न दिइन् ।

    यसरी लाक्षणिक रूपमा चन्द्रको परिवारलाई लखेट्ने प्रयास सफल नभएपछि उनी ४ दिन अगाडी सिस्ने गएर सौतेनी बुहारी र बैनीलाई ‘चन्द्रको परिबार कुटेर लखेट्नु, परेको म बेहोर्छु’ भन्ने आदेश दिएर फर्किएको स्थानीयवासीको भनाई छ ।

    उनीहरूको त्यो भनाइलाई प्रमाणित गर्ने भिडियो र अडियो अहिले त्यो भेगमा सबैको मोबाइलमा व्याप्त छ। चन्द्र र जमुनालाई हातपात गर्दै गर्दा र त्यसपछि समेत पीडकहरूले ‘दिदीले भकुर्नु म त्यसपछि हेरौला भन्नुभएको छ’ भनेको स्थानीयवासी बताउँछन् ।

    आफ्नै घरमा काम गर्न राखिएका पुर्वसहकर्मीलाई हातपात गर्न लगाएर आफू पानी माथि ओभानो बन्न धर्मशीला भने छोरी लिएर काठमाडौँतर्फ लागेकी छिन्। पार्टीले स्थानीय स्तरमा नै खट्न निर्देशन दिएको भए पनि उनी भने बिना कुनै काम काठमाडौँ गएको झापा माओवादीका एक जिम्मेवार नेता बताउँछन् ।

    आफ्नो नेताले चुनाएको मुखमा यस्तो उपद्रो गरेको भन्दै माओवादीका स्थानीय नेता÷कार्यकर्ता भने उनीसँग रुष्ट बनेका छन् ।

    एक स्थानीय नेताले भने, ’हामीलाई गाह्रो छ, उहाँ अरूको कुरा सुन्नु नै हुन्न। सम्हाल्नु पर्ने बेला सबै लथालिङ्ग पारिदिनु भो ।’

    धर्मशिलाले चुनाएको मुखमा यसरी आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै एमाले, कांग्रेस लगायत दलका स्थानीय नेता भने मक्ख छन् । उता धर्मशिलाले भने स्थानीय प्रहरीलाई घटना अघि नबढाउन र सामसुम पार्न दबाब दिएको बताइन्छ ।

    शनिश्चरे प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रवि राईले भने सांसद चापागाईँले घटनाको बारेमा राम्रोसँग छानबिन गर्न भनेको बताए ।

    उनले बुधवार दुवै पक्षलाई बोलाएर छलफल गर्ने र दुवै पक्ष पारिवारिक नातेदार भएकाले उपचार खर्च दिलाएर मिलाउने प्रयास भइरहेको बताए । घटनाबारे जानकारी लिन पटक पटक फोन गर्दा सांसद चापागाईँ भने सम्पर्कमा आउन चाहिनन् ।

  • मन्त्रिमण्डल पुनर्गठन हुने प्रचण्डको संकेत, केही मन्त्री फेरिने (भिडिओ)

    मन्त्रिमण्डल पुनर्गठन हुने प्रचण्डको संकेत, केही मन्त्री फेरिने (भिडिओ)

    जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनमा मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

    धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा गठबन्धनको नेतृत्व तहमा छलफल भएको बताए ।

    हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममै मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने प्रचण्डले बताए ।

    ‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ’, प्रचण्डले भने ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।

    ‘पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ’, प्रचण्डले भने ।

    उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको बताए । एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।

    ‘माओवादी केन्द्रले चुनाव नजित्ने भएकाले गठबन्धन गरेको पनि होइन । हामी आफ्नै खुट्टामा उभिएर , आफ्नै तागतमा चुनाव लड्न सक्षम छौं । गठबन्धन संविधानको रक्षाको उद्देश्यले बनाएको हो, चुनावका लागि बनाएको पनि होइन । यद्यपि चुनावमा गठबन्धन गर्न हामी सकरात्मक छौ’, उनले भने ।

  • द्वन्द्वकालीन योद्धाका विषयमा प्रधानमन्त्रीसमक्ष प्रचण्डको पाँच बुँदे ध्यानाकर्षण

    द्वन्द्वकालीन योद्धाका विषयमा प्रधानमन्त्रीसमक्ष प्रचण्डको पाँच बुँदे ध्यानाकर्षण

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्बाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपांग योद्दाहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।

    उनका अनुसार प्रचण्डले देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्ने लगायतका विषय छन् ।

  • माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

    माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

    दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

    सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।

    उनले लेखेका छन्– आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।

    उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।

    उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् ।

    डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित गरेकी थिइन् ।

    माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।

  • माओवादी सांसद विष्टको राजीनामा स्वीकृत

    माओवादी सांसद विष्टको राजीनामा स्वीकृत

    सुर्खेत । माओवादी केन्द्रका सांसद ठम्मर विष्टको राजीनामा स्वीकृत भएको छ ।

    माओवादी प्रमुख सचेतकसमेत रहेका विष्टले फागुन २७ गते पार्टी तथा प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

    चैत ४ गते प्रदेश सभामा सनाखत गराइएका उनको राजीनामा स्वीकृत गरिएको सभामुख राजबहादुर शाहीले प्रदेशसभा बैठकमा जानकारी गराएका छन् ।

    उनको राजीनामासँगै कर्णालीमा नेकपा माओवादीमा ११ जना सांसद छन् । विष्ट हिजो मात्रै एमालेमा प्रवेश गरेका थिए ।

  • माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    माधवलाई प्रचण्डको प्रस्ताव- कांग्रेसलाई नकुरौं, तालमेलको तयारी गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव गरेका छन् ।

    प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।

    प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

    आजमात्रै साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

    ‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो हामी छलफल गरौं भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ’, कार्यकर्तासँग नेपालले भनेका छन् । उनले कांग्रेसभित्र पनि चुनावी तालमेलकै पक्षधर बलियो रहेको बताए ।

    ‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ’, नेपालले भने । उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए ।

    कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

  • रुपन्देही माओवादीका नेतासहित ३८ जना राप्रपा प्रवेश

    रुपन्देही माओवादीका नेतासहित ३८ जना राप्रपा प्रवेश

    रुपन्देही । रुपन्देहीमा नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्यसहित ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्णबहादुर विक, ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना राप्रपामा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले संयुक्त रुपमा पार्टीको सदस्यतासहित स्वागत गरेका थिए ।

  • आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् ।

    आइतबार पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफनै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् ।

    उनले पछिल्लो समयमा माओवादी प्रवेश गर्ने लहर देखेर माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसकेको बताए ।

    उनले भने,‘हामी शान्ति प्रकृया गरेर २०६४मा आउँदा पनि कसैले माओवादीले जित्छ भन्न सकेको थिएन । पुराना भनेको ठूला राजनीतिक दलले त ५ सिट आउँछ होला भनेर हेप्थे । तर जनताले हामीलाई बहुमत दिएर देखाइदिए । प्रत्यक्ष निर्वाचनमा त हामी बहुमत हो । २०७४को परिमाण पनि हामी अगाडि छ । अहिले हामी निर्वाचनमा जादैछौ । देशभरीको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना तिर अगाडि बढिसकेको छौं ।’

    माओवादीले नै देश बचाउने माओवादी नै रहेको भन्ने जनतालाई महसुस भइरहेको उनले दावी गरे ।

    अध्यक्ष प्रचण्डले भने,‘कार्यक्रममा हामीले जुन उभार देखेका छौं अब माओवादी नै रहेछ देश बचाउने संविधान बचाउने पनि शान्ति प्रकृया पुरा गर्ने पनि हामी । बीचमा हामीले गल्ती गरेछौं भनेर रियलाइजेसन भएको छ जनतालाई । अबको चुनावमा हामी वैशाखी टेकेर होइन हामी आफै आफनै बलमा चुनाव लड्ने तयारी गर्दैछौं । र फेरि एकचोटी माओवादी आउँनै पर्छ । देशैभरी माओवादी सकारात्मक बनेको छ । अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनपर्छ ।’

    उनले चुनावमा एमालेसँग गठबन्धन गर्ने बारेमा आफनो भनाइ राखे । राजनीतिमा असम्भवन भन्ने केही नहुने बताउँदै एमालेसँग गठबन्धन बनाउन सकिने प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने,‘ राजनीतिक र अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही कुरा हुदैन भन्ने पटक पटक भनेको छु । केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताब मैले नै राखेको हु । शेरबहादुर जीलाई मैले नै दुई पटकको प्रस्ताब मैले नै राखेको हुन । राजनितिमा असम्भव भन्ने त केही पनि हुदो रहेनछ नि ।’

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको समेत बताए ।

  • पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको  वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

    आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

    उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

    अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुदैछ ।’

    उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउने क्रममा रहेको बताए । उनले भने,‘हामी कसैको बैशाखी टेक्ने हैन, अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनुपर्छ ।’

  • वाइसिएललाई प्रचण्डको निर्देशन- २०६४ को चुनावमा जस्तै गर्नुपर्छ, लड्नलाई सहयोग चाहिए भन्नुस् (भिडिओ)

    वाइसिएललाई प्रचण्डको निर्देशन- २०६४ को चुनावमा जस्तै गर्नुपर्छ, लड्नलाई सहयोग चाहिए भन्नुस् (भिडिओ)

    सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा २०६४ सालको जस्तैगरि परिचालित हुन वाइसिएल कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    सिन्धुली जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालको चुनाव वाइसिएलको भरमा जितेको भन्दै त्यस बेला वाइसिएल आयो भनेपछि जाली फटाहाहरू भाग्ने गरेको स्मरण गरे ।

    प्रचण्डले भने– २०६४ को चुनावमा वाइसिएल आयो भनेपछि विरोधीहरूको सातो जान्थ्यो । जनताले आफ्ना छोराछोरी जसरी माया गर्थे र ढुक्कले माओवादीलाई भोट दिन्थे । अहिले त वाइसिएल पनि खै के हो मुर्झायो । तर अब यो दुई महिना गाउँ गाउँमा भोलेन्टियर खटाउनुस् । गुण्डागर्दी पनि अरूले पो गर्न थाले । अब वाइसिएलले तीनलाई ठेगान लाउनुस् । लड्नका लागि आवश्यक पर्‍यो भने केन्द्रमा भन्नुस्, सहयोग हुन्छ ।

    आउने चुनाव माओवादीका लागि जीवन मरणको सवाल भएको भन्दै प्रचण्डले युद्धकालमा जस्तै दुई महिना खटिन कार्यकर्तालाई निर्देशन दिए ।

  • प्रचण्डको प्रश्न- जसले परिवर्तन ल्यायो उसले हार्ने र परिवर्तन विरोधीले जित्ने पनि चुनाव हुन्छ ? (भिडिओ)

    प्रचण्डको प्रश्न- जसले परिवर्तन ल्यायो उसले हार्ने र परिवर्तन विरोधीले जित्ने पनि चुनाव हुन्छ ? (भिडिओ)

    सिन्धुली । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने केपी ओली प्रवृत्ति अहिले पनि कायमै रहेको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलहरूले रिल्याक्स गर्ने स्थिति नरहेको बताएका छन् ।

    सिन्धुलीमा शनिवार माओवादी पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेलाई केन्द्रदेखि प्रदेशका सरकारबाट हटाउनु ठुलो सफलता भए पनि प्रतिगमन फर्किने खतरा कायमै रहेको बताए ।

    प्रचण्डले भने–लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने प्रवृत्ति अहिले पनि कायम छ । अझै पनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल पहिलो संसद् विघटन बदर भएपछि रिल्याक्स मुडमा बसियो,दोस्रो पटक फेरि विघटन आयो । जितियो भनेर रिल्याक्स गरियो भने फेरि कुनै पनि बेला प्रतिगमन फर्किन सक्छ ।

    आफूले पटक पटक बुढानिलण्ठ गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर गठबन्धन बनाएको स्मरण गर्दै प्रचण्डले अबको चुनाव माओवादीले आफ्नो बलमा जित्न ध्यान दिनुपर्ने बताए । उनले अबको २ महिना युद्धकालीन शैलीमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले जसरी पनि चुनाव जित्नुपर्ने बताए ।

    उनले भने– जसले परिवर्तन ल्याएको त्यसले हार्ने, अनि जो परिवर्तन विरोधी हो त्यसले जित्ने पनि चुनाव हुन्छ रु गुण्डागर्दी धाँधली र षडयन्त्र गरेर जित्न खोज्नेलाई परास्त गर्नु छ । भिलेन राम्रो भएन भने हिरो पनि राम्रो हुँदैन । अहिले केपी ओली जस्तो गतिलो भिलेनका कारण हामी जनतामा जान पाएका छौँ,नकारात्मक रूपमा भने पनि ओलीलाई धन्यवाद भन्ने गरेको छु ।

    आफूले देशको रक्षाका लागि पटक पटक लचिलो बनेको भन्दै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु ऐतिहासिक भूल भएको बताए ।

    उनले माओवादीका लागि यो निर्वाचन हारजितको मात्र कुरा नभएर जनयुद्धका उपलब्धि जोगाउने लडाइँ समेत भएको बताए । उनले माओवादीले हारेमा जनयुद्धका उपलब्धि हार्ने दाबी गरे ।

  • प्रचण्डलाई आफ्नै वडामा आपत्, टोलटोलबाट कांग्रेसीले भने- रुखबाहेक अन्त भोट हाल्दैनौं

    प्रचण्डलाई आफ्नै वडामा आपत्, टोलटोलबाट कांग्रेसीले भने- रुखबाहेक अन्त भोट हाल्दैनौं

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आसन्न तीनवटै तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुनुपर्ने पक्षमा छन् ।

    प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसलाई चुनावी तालमेलको पक्षमा उभिन प्रचण्डले दवाव बढाउँदै लगेका छन् । ‘कांग्रेस तालमेलका लागि तयार नभए एमालेसँग संवाद गर्ने’ अभिव्यक्तिमार्फत उनले कांग्रेसलाई मनोवैज्ञानिक दवाव बढाएकै छन् ।

    अघिल्लो संसदीय निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारका रुपमा नेकपा एमालेको साथ लिएर चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले सोही क्षेत्रबाट संघीय निर्वाचन लड्न प्रचण्डले कम्मर कसेका छन् तर चुनावी तालमेल नभएमा प्रचण्डलाई निर्वाचन जित्न निकै कठिन हुने देखिन्छ ।

    प्रचण्डको वडामा कांग्रेसको बाहुल्य

    प्रचण्ड चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ का मतदाता हुन् र सो वडामा नेपाली कांग्रेसले अध्यक्षसहित सबै सदस्य जितेको थियो । अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयर माओवादीले र उपमेयर कांग्रेसले लिएपनि वडा तहमा चुनावी तालमेल भएको थिएन । यहीकारण प्रचण्डको वडामा कांग्रेस उम्मेदवार ओमप्रकाश पोखरेल १ हजार ५ सय ५२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रचण्डको वडामा माओवादी उम्मेदवार खिमलाल भट्टले १ हजार १ सय १६ मत ल्याएपनि ४ सय ३६ मतले पराजित भएका थिए । तेस्रो बनेका एमाले उम्मेदवार हरिकृष्ण गुरुङले माओवादी उम्मेदवारभन्दा ११ मत कम अर्थात १ हजार १ सय ५ मत ल्याएका थिए ।

    अघिल्लो निर्वाचनको परिणाम हेर्दा प्रचण्डको वडामा कांग्रेस सबैभन्दा बलियो शक्तिका रुपमा रहेको छ । आफ्नै वडामा दोस्रो हैसियतामा रहेका प्रचण्ड चुनावी तालमेलमार्फत संसदीय निर्वाचन जित्न चाहन्छन् तर त्यसका लागि कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु तयार छैनन् ।

    तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

    कांग्रेस कार्यकर्ताले भने– रुखबाहेक अन्त भोट दिदैंनौ

    कांग्रेस यतिबेला घरघर जाऔं कांग्रेस जिताऔं अभियानमा सक्रिय रहेको छ । अभियान अन्तर्गत प्रचण्डको वडामै कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिएको छ । भरतपुर महानगर १४ का कांग्रेस वडा सभापति राजेन्द्र साँखीका अनुसार वडाभित्र २५ वटासम्म टोल समिति बनाउने कांग्रेसको योजना छ । हालसम्म शिवनगर, शिवकाली र नमस्ते टोलमा कांग्रेसले समिति बनाएको छ । अभियान लिएर टोल–टोल पुगेका कांग्रेस नेताहरुलाई मतदाताले ‘फेरी पनि हसियाँ हथौडामै हाल्दिनुपर्ने होकि रुखमै भोट हाल्न पाइन्छ ?’ भनी प्रश्न गरेका छन् ।

    कांग्रेसका वडा सभापति साँखी शुभचिन्तकहरुले कांग्रेसलाई निरन्तर प्रश्नको घेरामा राखेको बताउँछन् । ‘हामी टोलमा जुनसुकै कार्यक्रम लिएर गएपनि वडाबासीको एउटै प्रश्न छ, रुखमा भोट हाल्न दिन्छौ कि दिदैनौ ? यसको अर्थ कांग्रेसको ग्राउण्ड चुनावी तालमेलको पक्षमा छैन भन्ने नै हो’, साँखीले नेपाल प्रेससँग भने ।

    सो वडाका कांग्रेस कार्यकर्ताहरुले गत स्थानीय निर्वाचनमा भरतरपुरको मेयरका लागि माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौडामा भोट हाल्न बाध्य भएका थिए ।

    त्यस्तै संसदीय निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गर्दा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई समर्थन जनाएको थियो । सोही कारण कांग्रेस कार्यकर्ताहरु संघीय निर्वाचनमा आयातकार भित्रको हलोमा भोट हाल्न बाध्य भए । यसपटक भने रुख बाहेक अन्यत्र भोट नहाल्ने कांग्रेस कार्यकर्ताहरुको अडान छ ।

    ‘राष्ट्रिय राजनीतिमा चुनावी तालमेलको आवश्यकता हुनसक्छ तर यसपटक चितवन क्षेत्र नम्बर ३ का जनताले रुखमै भोट हाल्न पाउनुपर्छ भन्ने सबैजसोको भनाई छ ।

    यसबारे नेतृत्वले सोचोस्’, सभापति साँखी बताउँछन् । चितवनमा हालै सम्पन्न कांग्रेस जिल्ला अधिवेशनका दौरान सबैजसो उम्मेदवारले चुनावी तालमेलका नाममा रुखबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताएका थिए ।

    तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

    के प्रचण्डलाई जिताउन देउवा तयार छन् ?

    हालै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध अभिव्यक्ति नदिन पार्टीका नेताहरुलाई निर्देशन दिएका थिए ।

    सत्ता गठबन्धनमा समस्या आउन नदिन र पुनः वाम गठबन्धन हुन नदिन माओवादीसँग सहकार्य गरेरै जाने देउवाको नीति छ । आफ्ना निकटस्थहरुसँग देउवाले गठबन्धन जोगाएर लैजानुपर्ने बाध्यता रहेको बताउने गरेका छन् ।

    ‘गठबन्धनलाई चुनावसम्म नजोगाउने हो भने फेरी वामगठबन्धन बन्ने र कांग्रेस हार्ने डर सभापतिजीलाई छ । गठबन्धन गरेरै भएपनि एकपटक कांग्रेसलाई पहिलो बनाउने चाहनाका कारण कुनै न कुनै प्रकारको तालमेलका लागि उहाँ तयार हुनुुहुन्छ’, सभापति देउवा निकट एक नेताको भनाई छ ।

    तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

    चितवनमा चुनावी तालमेलविरुद्ध कांग्रेस कार्यकर्ताको बढ्दो आक्रोश समाधानका लागि उपायहरुको खोजी पनि जारी छ ।

    गठबन्धन पक्षधर कांग्रेस-माओवादी नेताहरुले स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर कांग्रेसलाई दिएर संघीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा प्रचण्डलाई कांग्रेसले सघाउनेबारे छलफल भइरहेको बताउँछन् ।

    ‘भरतपुरको मेयरमा कांग्रेसलाई जिताएर कांग्रेस कार्यकर्तालाई सफ्ट बनाएपछि संसदीय चुनावसम्म आफ्नो लागि माहोल बनाउन सकिन्छ भन्ने प्रचण्डको बुझाई छ’, स्थानीय माओवादी नेताको भनाई छ ।

  • प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    प्रचण्डको शंका चिर्दै प्रधानमन्त्रीले भने- हल्लाको पछाडि नलाग्नुस्

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

    आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

    बालुवाटारमा भएको छलफलका दौरान माओवादी अध्यक्ष प्रचण्डले नै निर्वाचन नहुने हल्ला चलेको सन्दर्भ झिकेका थिए । ‘चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ । किन हो प्रधानमन्त्रीज्यू’ ? प्रचण्डको प्रश्न थियो ।

    जवाफमा प्रधानमन्त्री देउवाले चुनावको अघिल्लो दिनसम्म हल्ला चलिरहने बताए । ‘यस्तै हो चुनावको अघिल्लो दिनसम्म चुनाव हुदैन भन्ने हल्ला चलिरहन्छ’, देउवाको जवाफ थियो ।

    सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइन्छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठनबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताएका थिए । उनले आगामि साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने जनाएका छन् ।

    ‘प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर चुनावी तालमेलबारे छिट्टै निधो दिन्छु भन्नुभएको छ’, बालुवाटार स्रोतले नेपाल प्रेससँग भन्यो ।

    आजको बैठकमा निर्वाचन आचारसंहिता लागु हुनुपुर्व नै राजदूत र अन्य नियुक्तिहरु गर्ने विषयमा पनि छलफल भएको बताइन्छ ।

    ‘राजदूत नियुक्ति र निर्वाचन आचारसंहिताले प्रभावित हुनसक्ने अन्य कामहरु जतिसक्दो चाँडो गर्नेबारे शीर्ष तहमा छलफल भएको हो’, प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

  • नेकपाको लेवीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे दाबी

    नेकपाको लेवीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे दाबी

    जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)र नेकपा (एकीकृत समाजवादी)ले दावी गरेपछि विवाद भएको हो ।

    बैंकमा नेकपाको नाममा करिब १९ लाख रकम जम्मा भएको बताएको छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतार हतार पार्टीको खाताबाट एकमुष्ठ १० लाख रकम झिकेका थिए । माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेको रकम माओवादी केन्द्र र नेकपा एसले पाउनुपर्नेमा एमाले विवाद गरेको बताए । पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैकमा रहेको उनले बताए ।

    यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभासदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ । फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।

    मधेश प्रदेश सभामा जसपाका ३८ जना सांसद रहेका छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिदै आएको थियो । प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात नौ हजार १५३ रुपैयाँ कम गरिर सांसदहरूले तलब पाउँदै आएको थियो ।

    त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार पाँच सय ३० रहेकोमा १५ प्रतिशत लेवी नौ हजार आठ सय २९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।

    त्यसैगरी, नेपाली कांग्रेसले आफ्ना सांसदहरूबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रुपमा पैसा लिँदै आएको छ ।

  • नारायणकाजी साथमा राखेर प्रचण्डले भने: हाम्रो विवाद मिलिसक्यो, घाउ नकोट्याउनुस्(भिडिओ)

    नारायणकाजी साथमा राखेर प्रचण्डले भने: हाम्रो विवाद मिलिसक्यो, घाउ नकोट्याउनुस्(भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको दाबी गरेका छन् । आफूहरु एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको उनले बताए ।

    बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डलाई पत्रकारले सोधेका थिए, ‘आफूसँगै हिँडिरहेका नेता–कार्यकर्तालाई असन्तुष्ट भए छोडेर गए हुन्छ भन्नेसम्मको शब्द प्रयोग गर्नुभयो । सबैले छोड्दै गएर अझै कति एक्लै बन्न चाहनुहुन्छ ? कम्युनिष्ट पार्टीभित्र कतिवटा झुपडी बनाउने लक्ष्य हो ?’ प्रचण्डले जवाफ दिए, ‘मैले मात्र बनाएर (झुपडी) भएको होइन । (नारायणकाजी श्रेष्ठसँग) अहिले सँगै आएका छौं। देशभरि सँगै हिँडेको देख्नुभएको छ । तपाईंहरुले घाउ कोट्याउन खोजेको हो ? अलिकिति चर्काइदिउँ भन्न खोजेको हो ? तपाईंको प्रश्न पुरानो भइसक्यो । हामी त एक भएर, एक ढिक्का भएर हिँडिरहेका छौं । यो प्रश्न पहिल्यै सोधेको भए हुन्थ्यो । अब अर्थ छैन ।’

    पत्रकार सम्मेलनमा असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

  • कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड (भिडिओ)

    कांग्रेसका केही नेता अतिवादी देखिए, एमालेसँग तालमेल असम्भव छैन: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् । उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।

    बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

    उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

    उनले प्रधानमन्त्री देउवाल यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।

    गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि बताए ।

    उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।

    ‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भने । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।

    ‘आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो साथै निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखौं ।’

     

  • आधार इलाकामै अस्तित्व जोगाउन माओवादीलाई सकस, लुम्बिनीका सबै केन्द्रीय नेतालाई जिल्लामा खटाइयो

    आधार इलाकामै अस्तित्व जोगाउन माओवादीलाई सकस, लुम्बिनीका सबै केन्द्रीय नेतालाई जिल्लामा खटाइयो

    रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको लुम्बिनीमा चुनावी कार्यक्रम तय गरेर शीर्ष नेताहरुलाई जिल्ला पठाएको छ । नेता वर्षमान पुन बिरामी परेदेखि लुम्बिनी क्षेत्रमा विशेष कार्यक्रम कम हुँदै आएकोमा अहिले उनी फर्किएपछि पुनः सुचारु भएको हो ।

    चार महिनाअघि प्रदेश अधिवेशन भए पनि पदाधिकारी छनौट गर्न नसकेको माओवादीले बुधबार त्यो विवाद पनि टुंगो लगाएको हो । प्रदेशको पहिलो बैठक आयोजना गरेर माओवादी केन्द्रले नेता सुदर्शन बराललाई अध्यक्षसहित पदाधिकारीको टुंगो लगाउँदै लुम्बिनीका १२ जिल्लामा केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएर चुनावी कार्यक्रम तय गरेको नेता जगप्रसाद शर्माले जानकारी दिएका छन् ।

    माओवादीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि विशेष प्रशिक्षण अभियान सञ्चालन गर्न सबै जिल्लामा एक–एक जना वरिष्ठ केन्द्रीय सदस्यको नेतृत्वमा जिम्मेवारी दिँदै ‘जसको नीति उसको नेतृत्वः स्थानीय चुनावमा माओवादी बर्चश्व’ भन्ने नाराका साथ चुनाव केन्द्रीत हुने रणनीति तय गरेको हो ।

    सबै जिल्लाका स्थानीय तहसम्म चैत ५ गतेदेखि चैत १५ गतेसम्म विशेष प्रशिक्षण गरिने माओवादीले जनाएको छ । प्रशिक्षणका क्रममा चुनावी अवस्थाको आंकलन गरी नेताहरुले प्रदेश र केन्द्रीय कार्यालयमा रिपोर्ट पनि पेश गर्नेछन् । जसका आधारमा थप चुनावी रणनीति तय गरिने केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।

    त्यस्तै चैत १५ गतेदेखि घरदैलो र जनभेटघाट सुरु गरिने सो पार्टीले जनाएको छ । चैत १५ देखि वैशाख २५ सम्म टोल भेला र टोल सभा, वडा भेला र वडा सभा तथा पालिका भेला र पालिका सभा गरेर वैशाख २५ देखि बुथकेन्द्रित विशेष अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।

    माओवादीले रोल्पामा दिपेन्द्र पुन, प्युठानमा जोगबहादुर महरा, रुकुमपूर्वमा कमला रोका, अर्घाखाँचीमा डिलाराम आचार्य, कपिलवस्तुमा जयपुरी घर्ती, नवलपरासीमा बामदेव क्षेत्री, पाल्पामा जगप्रसाद शर्मा, गुल्मीमा गणेशमान पुन, दाङमा रेखा शर्मा, बर्दियामा ओनसरी घर्ती र बाँकेमा पूर्णा सुवेदीलाई प्रशिक्षकको रुपमा खटाएको छ ।

    लुम्बिनी माओवादीका शीर्ष नेता वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा, चक्रपाणि शर्मा बलदेव, डिलाराम आचार्य, कुलप्रसाद केसी सोनाम, जयपुरी घर्ती, हकिउल्लाह खाँलगायतका शीर्ष नेताहरुको प्रदेश भएकाले उनीहरुको विशेष प्रभाव रहेको छ ।

    माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको क्षेत्र रुकुम, रोल्पालगायतका युद्धकालका विशेष क्षेत्र यही प्रदेशमा भएकाले आधार इलाका मान्दै आएको छ । तर पछिल्लो समय यहाँबाट त्यो समयमा विशेष प्रभाव पार्ने नेताहरु बाहिरिएकाले पार्टी कमजोर बनेको छ ।

    तत्कालीन समयमा माओवादीमा विशेष प्रभाव राख्ने नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, माधव शर्मा एमएस, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्का, अनुप बराललगायतका प्रभावशाली नेताहरु अहिले एमालेको विशेष जिम्मेवारीमा रहेका छन् भने नेता मोहन वैद्य किरणले अलग्गै पार्टी क्रान्तिकारी माओवादी बनाएर बसेका छन् ।

    सोही समयमा प्रभावशाली नेता नेत्रविक्रम चन्द विप्लव अलग्गै पार्टी बनाएर ठूलो शक्ति यही प्रदेशबाट परिचालन गरिरहेका छन् । त्यसैगरी नेता बाबुराम भट्टराई समूहमा रहेका नेता कार्यकर्ताहरु जसपामा रहेकाले माओवादीको आधार इलाका मानिएको मुख्य प्रदेशमा पार्टी कमजोर बनेको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर केही स्थानमा सुरक्षित भएको माओवादी आउने निर्वाचनमा पनि सत्तारुढ दलहरुसँग नै गठबन्धन गरेर अगाडि जाने रणनीतिमा छ ।

    १०९ स्थानीय तहमध्ये गत स्थानीय तहको निर्वाचनमा कसले कहाँ जिते ?

    नेकपा एमाले- ४३

    – त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
    – बर्दघाट नगरपालिका, नवलपरासी
    – बुटवल उपमहानगरपालिका, रूपन्देही
    – सिद्दार्थनगर नगरपालिका, रूपन्देही
    – तिलोत्तमा नगरपालिका, रूपन्देही
    – सैनामैना नगरपालिका, रूपन्देही
    – कञ्चन गाउँपालिका, रूपन्देही
    – शुद्धोदन गाउँपालिका, रूपन्देही
    – सियारी गाउँपालिका, रूपन्देही
    – विजयनगर गाउँपालिका, कपिलवस्तु
    – शिवराज नगरपालिका, कपिलवस्तु
    – तानसेन नगरपालिका, पाल्पा
    – तिनाउ गाउँपालिका, पाल्पा
    – निस्दी गाउँपालिका, पाल्पा
    – पूर्वखोला गाउँपालिका, पाल्पा
    – रिब्दीकोट गाउँपालिका, पाल्पा
    – रम्भा गाउँपालिका, पाल्पा
    – मुसीकोट नगरपालिका, गुल्मी
    – रेसुङ्गा नगरपालिका, गुल्मी
    – मालिका गाउँपालिका, गुल्मी
    – इस्मा गाउँपालिका, गुल्मी
    – मदाने गाउँपालिका, गुल्मी
    – रुरु गाउँपालिका, गुल्मी
    – छत्रकोट गाउँपालिका, गुल्मी
    – मालारानी गाउँपालिका, अर्घाखाँची
    – माण्डवी गाउँपालिका, प्यूठान
    – सरूमारानी गाउँपालिका, प्यूठान
    – स्वर्गद्वारी नगरपालिका, प्यूठान
    – त्रिवेणी गाउँपालिका, रोल्पा
    – रून्टीगढी गाउँपालिका, रोल्पा
    – घोराही उपमहानगरपालिका, दाङ
    – तुलसीपुर उपमहानगरपालिका, दाङ
    – लमही नगरपालिका, दाङ
    – गढवा गाउँपालिका, दाङ
    – दंगीशरण गाउँपालिका, दाङ
    – बबई गाउँपालिका, दाङ
    – कोहलपुर नगरपालिका, बाँके
    – बैजनाथ गाउँपालिका, बाँके
    – जानकी गाउँपालिका, बाँके
    – खजुरा गाउँपालिका, बाँके
    – ठाकुरबाबा नगरपालिका, बर्दिया
    – बढैया ताल गाउँपालिका, बर्दिया
    – बाँसगढी नगरपालिका, बर्दिया

    नेपाली कांग्रेस- ३३

    – प्रतापपुर गाउँपालिका, नवलपरासी
    – सुनवल नगरपालिका, नवलपरासी
    – रामग्राम नगरपालिका, नवलपरासी
    – मायादेवी गाउँपालिका, रूपन्देही
    – देवदह नगरपालिका, रूपन्देही
    – बुद्धभूमि नगरपालिका, कपिलवस्तु
    – वाणगंगा नगरपालिका, कपिलवस्तु
    – कपिलवस्तु नगरपालिका, कपिलवस्तु
    – महाराजगञ्ज नगरपालिका, कपिलवस्तु
    – यशोधरा गाउँपालिका, कपिलवस्तु
    – रामपुर नगरपालिका, पाल्पा
    – माथागढी गाउँपालिका, पाल्पा
    – रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    – बगनाशकाली गाउँपालिका, पाल्पा
    – गुल्मी दरबार गाउँपालिका, गुल्मी
    – चन्द्रकोट गाउँपालिका, गुल्मी
    – सत्यवती गाउँपालिका, गुल्मी
    – कालीगण्डकी गाउँपालिका, गुल्मी
    – सन्धिखर्क नगरपालिका, अर्घाखाँची
    – छत्रदेव गाउँपालिका, अर्घाखाँची
    – शीतगंगा नगरपालिका, अर्घाखाँची
    – पाणिनी गाउँपालिका, अर्घाखाँची
    – ऐरावती गाउँपालिका, प्यूठान
    – नौबहिनी गाउँपालिका, प्यूठान
    – गौमुखी गाउँपालिका, प्यूठान
    – लुंग्री गाउँपालिका, रोल्पा
    – शान्तिनगर गाउँपालिका, दाङ
    – राजपुर गाउँपालिका, दाङ
    – राप्ती गाउँपालिका, दाङ
    – डुडुवा गाउँपालिका, बाँके
    – राप्तीसोनारी गाउँपालिका, बाँके
    – गेरूवा गाउँपालिका, बर्दिया
    – गुलरिया नगरपालिका, बर्दिया

    माओवादी केन्द्र- १९

    – पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
    – धुर्कोट गाउँपालिका, गुल्मी
    – भूमिकास्थान नगरपालिका, अर्घाखाँची
    – भूमे गाउँपालिका, रुकुम
    – सिस्ने गाउँपालिका, रुकुम
    – पुथा उत्तरगंगा गाउँपालिका, रुकुम
    – थवाङ गाउँपालिका, रोल्पा
    – सुनछहरी गाउँपालिका, रोल्पा
    – सुकीदह गाउँपालिका, रोल्पा
    – रोल्पा नगरपालिका, रोल्पा
    – दुईखोली गाउँपालिका, रोल्पा
    – माडी गाउँपालिका, रोल्पा
    – सुवर्णावती गाउँपालिका, रोल्पा
    – बंगलाचुली गाउँपालिका, दाङ
    – बार बर्दिया नगरपालिका, बर्दिया
    – मधुवन नगरपालिका, बर्दिया
    – राजापुर गाउँपालिका, बर्दिया
    – ओमसतिया गाउँपालिका, रूपन्देही हाल एमालेमा प्रवेश
    – प्यूठान नगरपालिका, प्यूठान

    जनता समाजवादी- ६

    – गैडहवा गाउँपालिका, रूपन्देही
    – रोहिणी गाउँपालिका, रुपन्देही हाल एमाले प्रवेश
    – मर्चवारी गाउँपालिका, रूपन्देही
    – कोटहीमाई गाउँपालिका, रूपन्देही
    – मायादेवी गाउँपालिका, कपिलवस्तु
    – नैनापुर गाउँपालिका, बाँके

    फोरम लोकतान्त्रिक- २

    – सरावल गाउँपालिका, नवलपरासी
    – सम्मरीमाई गाउँपालिका, रूपन्देही

    स्वतन्त्र (राजपा)- २

    – शुद्धोदन गाउँपालिका, कपिलवस्तु
    – लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही

    राप्रपा- १

    – नेपालगञ्ज उपमहानगरपालिका, बाँके

    राष्ट्रिय जनमोर्चा- २

    – मल्लरानी गाउँपालिका, प्यूठान
    – झिमरूक गाउँपालिका, प्यूठान

    स्वतन्त्र- १

    – कृष्णनगर गाउँपालिका, कपिलवस्तु (हाल कांग्रेस प्रवेश)

  • प्रचण्डको खुलासा- एमसीसी रोक्न ओलीलाई प्रधानमन्त्री अफर लिएर जाँदा अपमान गरे

    प्रचण्डको खुलासा- एमसीसी रोक्न ओलीलाई प्रधानमन्त्री अफर लिएर जाँदा अपमान गरे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री दिएर भने पनि एमसीसी रोक्न आफूले खोजेको खुलासा गरेका छन् ।

    काठमाडौंको प्रज्ञा भवनमा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसीको सकसबारे कार्यकर्तालाई बुझाउँदै प्रचण्डले एमसीसी अनुमोदन हुन नदिने सबै प्रयास असफल भएपछि गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीको बाटो लिएको बताएका हुन् ।

    प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षण भेलाका एक सहभागीले भने, ‘केपीलाई प्रधानमन्त्री दिएर पनि एमसीसी रोक्न सकिन्छ कि भनेर गएका हौं । तर, पूरै अपमान गरेपछि सर्प पनि मर्ने, लाठी पनि नभाँचिने लाइनमा गइयो ।’

    आफूहरु ओलीसँग कुरा गर्न जाँदा सभामुखले राजीनामा दिनुपर्ने, नेकपा एसका १४ सांसदको पदमुक्तिको सूचना टाँस्नुपर्ने र नेकपाकालमा आफूहरूले ओलीमाथि लगाएको १९ बुँदे अभियोगपत्र फिर्ता लिनुपर्ने शर्त राखेपछि बेकार आइएछ भनेर हिँडेको प्रचण्डले बताए ।

  • संसद विघटन ओलीको मात्र होइन अन्तर्राष्ट्रिय डिजाइन थियो : प्रचण्ड

    संसद विघटन ओलीको मात्र होइन अन्तर्राष्ट्रिय डिजाइन थियो : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क लाग्ने गरेको सुनाएका छन् ।

    माओवादीको गैर भौगोलिक प्रादेशिक कमिटीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले संसद विघटनसम्म पुग्दा ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको बताए ।

    अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन ओलीको एकल निर्णय नभएर देशभित्रका प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरुको समेत डिजाइनमा भएको बताए ।

    आफ्नो नेतृत्वमा भएको देशब्यापी प्रतिगमन विरोधी आन्दोलनको बलमा अदालतबाट संसद पुनस्र्थापना गराउनु सफलता भएको बताए ।

    एमसीसी अनुमोदन नहुँदा प्रतिगामी ओली फेरि शक्तिमा आउने,कांग्रेस एमाले गठबन्धन हुने र आफूहरुमाथि झन् ठूलो संकट आउने भएकाले व्याख्यात्मक घोषणाबाट बाटोमा गएको प्रचण्डको भनाइ थियो ।

  • अधिवेशन सकिएको चार महिनापछि माओ‌वादीको लुम्बिनी समितिका पदाधिकारी चुनिए

    अधिवेशन सकिएको चार महिनापछि माओ‌वादीको लुम्बिनी समितिका पदाधिकारी चुनिए

    रूपन्देही । अधिवेशन सकिएको करिब ४ महिनापछि नेकपा माओवादीको लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगिएको छ ।

    प्रदेश समितिको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा पदाधिकारी चयन गरेको हो । बराललाई यसअघि नै अध्यक्ष बनाउने सहमति भएको थियो । उपाध्यक्षमा दुर्गा थारु, लुमाकान्त न्यौपाने र बहादुर खत्री चयन भएका छन् भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती विक, काशिराम यादव र कोषाध्यक्षमा निर्दोष वली आएका छन् ।

    कार्यालय सचिवमा रामानन्द यादवलाई जिम्मेवारी दिइएको छ ।

    माओवादी लुम्बिनी प्रदेश कमीटीको अधिवेशन मंसिर २५-२६ मा दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । सम्मेलनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । पदाधिकारी भने टुंगिएको थिएन ।

  • सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    कैलाली । असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

    तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

    प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लविङ गरेको करिव ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन । मुख्यमन्त्री दावी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन् ।

    ‘अहिले सरकार फेरिने वा मन्त्रीपरिषद् हेरफेरको कुरा आएको छैन’ नेकपा एसका नेतृ तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

    अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ । फागुन २५ गते केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, ‘त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ । कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यस कारण काँग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानु¥यो ।’

    माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई वेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ ।

    यसरी पेलियो कांग्रेस

    जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

    एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्विप जारी गर्यो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अलमलमा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

    विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र तत्कालीन जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

    ‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ कांग्रेस नेताहरूले त्यो बेला भनेका थिए ।

    मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको १० महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

    कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्र्रेसकै सांसदहरू बताउँछन् । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् ।

    यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

    देउवाको प्राथमिकतामा पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । विगतमा सरकारका काम कारबाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिकसमेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झण्डै एक महिना संसद् सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

    केन्द्रीय नेतृत्व र गठवन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् । उनले अहिले सरकारबाट कांग्रेस पेलिएको भन्दै यहाँ गठबन्धन नरहेको समेत उल्लेख गरे । सरकारले गरेको कामबाट जनता उत्साहित हुन नसकेको समेत उनको गुनासो छ ।

    ‘सुदूरपश्चिममा गठबन्धन नै छैन । यहाँ दुई दलको मात्रै सरकारको हो,’ उनले भने, ‘जनता खुसी छैनन्, यस्तो सरकारमा सामेल भएर हामी पनि यसको भागिदारी बन्न चाहन्नौँ ।’

    सरकारको नेतृत्व पाए मात्रै गठवन्धमा सहभागी हुने रणनीति रहेको उनले बताए ।

    कांग्रेस आउने प्रचण्डको विश्वास

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

    सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भाग मागेपछि कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागिएको बताएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरा टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको उनको दावी थियो ।

    प्रचण्डले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नरहेको भनेर कुरा उठाइरहेको थियो ।’

    मन्त्रीको संख्या बढाउने ठाउँ नभएकाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

    प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बिचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौँ । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुन्छ । अहिले समाजवादीको मन्त्रीहरू धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ, अलिकति त्याग गर्ने पालो तपाईँको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

    यता नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए । आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने उनले बताएएका छन् ।

    डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

  • प्रचण्डको दाबी- आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो

    प्रचण्डको दाबी- आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो

    कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन आफ्नै तागतमा एक्लै होमिन पनि सक्ने बताएका छन् । पार्टी प्रशिक्षणका लागि सुदूरपश्चिम आएका उनले आज बिहान धनगढीमा पत्रकारहरूसँग पहिलो प्राथमिकता एक्लै निर्वाचनमा जाने रहेको बताए ।

    ‘आफ्नै खुट्टामा उभिएर आफ्नै तागतमा निर्वाचन लड्ने हाम्रो नीति हो । तालमेल हुने अवस्थामा गठबन्धनमा रहेका दलहरूसँगको तालमेललाई प्राथमिकता दिएर जान सक्छौँ ’ उनले भने, ‘तर पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी लड्ने हो नभए सहायकरूपमा अन्य दलहरूसँग तालमेल गर्ने हो । ’

    गठबन्धनका दलहरूबीच अहिले सुमधुर सम्बन्ध रहेको प्रचण्डको भनाइ छ । निर्वाचनभन्दा अघि कुनै पनि अवस्थामा पनि गठबन्धन नधरमराउने उनको भनाइ थियो ।

    ‘अहिले गठबन्धनलाई लिएर अघि लैजाने कुरामा द्विविधा छैन । मूल नेतृत्व यसलाई अगाडि बढाउने कुरामा एकमत छन् ’ उनले भने ‘प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई पनि गठबन्धनलाई असर पर्ने कुरा नबोल्न निर्देशन दिइसक्नु भएको छ । ’

    माओवादी अध्यक्ष दाहालले संसदमा एमाले अवरोधको कुनै अर्थ रहेको टिप्पणी गरे । ‘त्यो विघटन सही थियो र फेरि पनि विघटन गर्नु पर्छ भन्ने बनाउन यस्तो गरिएको हो’ उनले भने ।

    उनले एमालेले उठाएका १४ सांसदको कारबाहीको र सभामुखको भूमिकाको विषय अर्थहीन नरहेको बताए ।

    ‘१४ सांसदको विषय अदालतमा छ । अदालतमा रहेको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु ठीक होइन । सभामुखले १५ दिनभित्र गर्न पाउने काम १३ दिनभित्र गर्नु भएको छ यी दुवै विषय अर्थहीन हुन्’, प्रचण्डको भनाइ थियो ।

    संसद अवरुद्ध भइरहेको अवस्थामा निर्वाचन गौं भन्ने छलफल भएको प्रचण्डले स्वीकारे । अर्लिइलेक्सनको सम्भावना भने नरहेको उनको प्रष्टक्ति थियो ।

    ‘संसद सुचारु हुँदैन भने संघको चुनाव गरौँ भन्नेमा सैद्धान्तिक सहमति भएको हो तर चुनाव सार्ने भ्रम छर्न थालियो । हामी निर्वाचनबाट भाग्न खाजेका होइनौँ ’ उनले भने, ‘ अहिले अर्लिइलेक्सनको सम्भावना छैन । ’

    एमसीसी पारित गरेर संकट टारेको भन्दै प्रचण्डले भने, ‘केही समय अगाडिसम्म एमसीसीको कारणले देशका राजनैतिक दल/समाज विभाजन हुने स्थिति थियो । त्यसलाई १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेपछि अहिले सबै राजनैतिक दलहरू निर्वाचनकेन्द्रित अभियान सुरु गर्न थालेका छन् ।’

    एमसीसीको विषयमा पार्टीभित्र भएका विवादहरू पनि अहिले सकिएको उनको भनाइ थियो । ‘पार्टीभित्र भएका विवाद समाधान गरेर चुनावमा एक भएर जाने कुरामा हामी एक छौँ । एमसीसीका विषयमा मतभेद कायमै छ । तर, पार्टीले गरेको निर्णय कार्यान्वयन हुन्छ । मतभेदलाई निर्वाचनपछि बहस गर्ने भनेका छौँ ’, प्रचण्डले भने ।

    सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउनु पर्ने बताएका प्रचण्डले सरकारको नेतृत्व भने माओवादी केन्द्रले नै गर्ने दाबी गरे ।

  • राजीनामा दिएका सांसद विष्ट अझै आएनन् सनाखत गर्न

    राजीनामा दिएका सांसद विष्ट अझै आएनन् सनाखत गर्न

    सुर्खेत । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्टले सांसद पदबाट राजीनामा दिएको तीन दिन वित्दा पनि प्रदेश सभामा सनाखत गर्न आएका छैनन् ।

    उनले फागुन २७ गते इमेल मार्फत प्रदेश सभामा राजीनामा पेश गरेका थिए । एमसिसि पास गरिएको, गैर सांसदलाई मन्त्री बनाइएको र पार्टीमा राजनीतिक विचलन आएको भन्दै उनले सांसद पद र नेकपा माओवादीबाट राजीनामा दिएका थिए ।

    प्रदेश सभामा दिएको राजीनामा पत्रमा भनिएको छ, ‘यति मात्र नभई हजारौं कार्यकर्ता र जनताको बलीदानी भावनालाई तिलान्जली दिदै पार्टीलाई भद्धा संसदीय भासमा छिराउदै मुखमा क्रान्ति र ब्यबहारमा पतनको दिशातिर उद्धत, सत्ताको लागी जे पनि गर्ने रणनितीले जनयुद्ध, जनआन्दोलन, शहीद, घाइते, बेपत्ता परीवार र आम जनतामा निरासा मात्र होइन परीणामत आम जनतामा कुठराघात समेत गरेको पुष्टि भैसकेको छ यस्ता स्खलनका अनेक श्रृंखला मध्य एमसीसी यसैको निरन्तरताको अर्को श्रृंखला रहेको पुष्टि भैसकेको छ ।’

    उनले पार्टी पुरै दक्षिणपन्थी धारमा चुर्लुम्मै डुवेको बताएका छन् ।

    यता, सभामुख राजबहादुर शाहीले इमेलबाट राजीनामा पत्र प्राप्त भएको बताए । ‘उहाँले इमेलबाट राजीनामा दिनु भएको हो । राजीनामा स्वीकृत गर्न उहाँ आफै प्रदेश सभामा सनाखत गर्न आउनुपर्छ ।’ सभामुख शाहीले भने, ‘उहाँ हालसम्म सनाखत गर्न आउनु भएको छैन ।’