Category: माओवादी केन्द्र

  • फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

    फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा फेरि मेयरको उम्मेदवार लड्न उनीहरूले निर्वाचन आचारसंहिताअनुसार राजीनामा दिएका हुन् ।

    २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार रेनुले जित हासिल गरेकी थिइन् । उनलाई यसपालि पनि गठबन्धनहरूको समर्थनमा माओवादीले मेयरमा दोहोर्‍याउने तयारी गरेको छ ।

    वीरगञ्जका मेयर सरावगी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । गत फागुनमा उनी एमाले प्रवेश गरे । एमालेले मेयरको टिकट दिने निश्चित भएसँगै उनले पनि पदबाट राजीनामा दिएका हुन् ।

  • फेरि कम्युनिस्टहरुबीच ध्रुवीकरण हुनसक्छ : प्रचण्ड

    फेरि कम्युनिस्टहरुबीच ध्रुवीकरण हुनसक्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउन फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले हिजो विभाजित माओवादीका घटकमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गरेका हुन् ।

    प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइरहेकाले माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताएका हुन् ।

    उनले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकेको तर्क गरे । एमालेभित्र राम्रा कम्युनिस्ट रहे पनि नेतृत्वमा गलत व्यक्ति पर्दा उनीहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए ।

    प्रचण्डले एमालेभित्रका इमानदार कम्युनिष्टहरुले गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

    माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजन गरेरमात्रै आफ्नो प्रतिक्रियावादी सत्ता पुनः प्राप्त हुन सक्छ भन्नेहरु र फेरि निरंकुशता लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ ।

  • सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुली । पाँच दलीय गठबन्धनका अन्य तीन दललाई बाहिर राखेर सिन्धुलीमा प्रमुख दुई दल कांग्रेस र नेकपा माओवादी केन्द्रले ९ वटा स्थानीय तहको भागबण्डा गरेका छन् ।

    माओवादी नेता हरिबोल गजुरेल समेतको उपस्थितिमा भएको दुई दलीय लिखित सहमतिप्रति नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने आपत्ति जनाएका छन ।

    तर, सहमति अनुसार माओवादीले आफूले पाएका पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार समेत तय गरेर एक एकजनाको नाम प्रदेशमा पठाइसकेको छ । सहमति अनुसार जिल्लाका ९ मध्ये ५ पालिकामा कांग्रेस र ४ वटामा माओवादीले प्रमुख पाएका छन् ।

    कांग्रेसले कमलमाई नगरपालिकासहित गोलन्जोर,फिकल,तीनपाटन,घ्याङलेक र गाउँपालिका पाएको छ । त्यस्तै माओवादीले दुधौली नगरपालिकासहिहत मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका पाएको छ । जसले पालिका प्रमुख पाएको छ, उपप्रमुख अर्को दलको हुने भएका छन् ।

    यसअघि एमालेले जितेका पालिका दुई दलले बाँडेका हुन् । सुनकोशी, मरिणा र हरिहरपुरगढी यसअघि माओवादील नै जितेको थियो भने गोलन्जोर, तीनपाटन, घ्याङ्लेक कांग्रेसले जितेको थियो ।

    एमालेले जितेका कमलामाई, दुधौली, फिकल उनीहरूले बाँडेका हुन् ।

  • संविधानसभा सदस्यसहित लोसपा र जसपाका नेता माओवादी प्रवेश

    संविधानसभा सदस्यसहित लोसपा र जसपाका नेता माओवादी प्रवेश

    काठमाडौं । जसपा र लोसपाका केन्द्रीय नेतासहित केही नेता कार्यकर्ताले माओवादी रोजेका छन् ।

    संविधानसभा सदस्य तत्कालीन राजपा नेता सल्मा बेगम मिकरानी, लोसपा केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच उनीसहित जसपा केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर, लोसपा केन्द्रीय सदस्य लालबिहारी राय, तत्कालीन राजपाका केन्द्रीय सदस्य हाजी अब्दुल हाफिज पनि माओवादी प्रवेश गरेका छन् ।

    विभिन्न पार्टी छाडेर पार्टीमा आएकाहरूलाई अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, देवेन्द्र पौडेललगायतले स्वागत गरेका थिए ।

  • भरतपुरमा बयोवृद्ध नेताले बागीको तयारी गरेपछि कांग्रेस सभापतिले गरे यस्तो आग्रह

    भरतपुरमा बयोवृद्ध नेताले बागीको तयारी गरेपछि कांग्रेस सभापतिले गरे यस्तो आग्रह

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसको असन्तुष्टि रोक्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् ।

    जिल्लाको अनेक आग्रहका बाबजुद माओवादीले नै मेयर पाएपछि अब असन्तुष्टिका स्वर मत्थर पार्न सभापति राजेश्वर खनाल आफैं अग्रसर भएका छन् । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता कृष्णलाल सापकोटाले मेयरमा बागी उम्मेदवारी दिन कांग्रेस कार्यकर्ताहरूबीच छलफल चलाइरहेका छन् ।

    चितवन जिल्ला विकास समितिका पूर्वसभापति तथा कांग्रेसका पहिलो पुस्ताका नेता सापकोटाले यसअघि नै भरतपुर माओवादीलाई दिइए कांग्रेस जोगाउन आफू बागी उम्मेदवार उठ्ने बताइसकेका थिए ।

    नेता सापकोटाले उम्मेदारी दिनेगरी छलफल र भेला गर्न थालेपछि चितवन कांग्रेसका सभापति खनालले गठबन्धनको निर्णय पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    नेपाल प्रेससँग कुराकानी गर्दै खनालले भने ‘केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको छु । अहिले व्यस्त भएर हो विज्ञप्ति पनि निकाल्ने तयारीमा छु ।’

    ‘गठबन्धनमा भएको सहमतिलाई र समग्र चुनावी प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु’, उनको भनाइ छ ।

    चितवनमा गठबन्धन दलहरूबीच पालिकाको भागबण्डा पनि लगभग टुंगिएको छ । सहमतिअनुसार भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले पाएको छ ।

    त्यस्तै राप्ती नगरपालिकाको मेयर नेकपा एसले पाउँदा इच्छाकामना गाउँपालिकासहित कालिका,खैरहनी र रत्ननगरको मेयर कांग्रेसले पाउने भएको छ ।

    माओवादी केन्द्रले इच्छाकामना,खैरहनी र कालिका नगरपालिकको उपमेयर पाउँदा नेकपा एसले रत्ननगरको उपमेयर पाउने भएको छ । त्यस्तै कांग्रेसले भरतपुर,माडी र राप्तीको उपमेयर पाउने भएको छ ।

  • लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस्

    लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस्

    काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका शिखर नेता लेलिनको १५२ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । उनले अग्रगमनका लागि भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् ।

    शुभकामना सन्देशमा उनले भनेका छन्– प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपिल गर्दछु ।

    उनले माओवादी युद्ध, जनआन्दोलनलगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्ने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    ‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

  • वैद्य, बाबुराम र विप्लवलाई फर्किन प्रचण्डको आग्रह

    वैद्य, बाबुराम र विप्लवलाई फर्किन प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीबाट फुटेर गएका सम्पूर्ण नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

    कैलालीको मसुरियामा आयोजित ध्रुवीकरण एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफ्नो निर्णय पुनर्विचार गरी एकतामा आउन आग्रह गरे ।

    उनले भने, ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु ।’

    मेरो अपिललाई हल्का ढंगले नलिन पनि उनले अपिल गरे । किनकी यदि उहाँहरूले ढिलो गर्नुभयो भने, उहाँहरू व्यक्तिमात्रै रहनु हुनेछ । उहाँहरूसँग कुनै संस्था रहनेछैन् । त्यो भनेको उहाँहरूको लागि पनि दु:खद स्थिति हो,’ उनले थपे ।

    विगतबाट पाठ सिक्दै २०७९ साललाई माओवादी ध्रुवीकरणको वर्ष पनि बनाउँने प्रचण्डले उद्घोष गरे ।

    उनले भने, ‘७९ लाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउँन र फेरि एकपटक माओवादीको विजयको वर्ष बनाउँन म देशभरका जनता र देशभरिका माओवादीसँग अपिल र आग्रह गर्न चाहन्छु ।’

  • प्रचण्डको दाबी- गिरिजा र मैले हस्ताक्षर गरेपछि नेपालमा ‘नयाँ युग’ सुरू भयो

    प्रचण्डको दाबी- गिरिजा र मैले हस्ताक्षर गरेपछि नेपालमा ‘नयाँ युग’ सुरू भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेढ दशकअघिको स्मरण गर्दै नेपालमा शान्ति प्रक्रियापछि ‘नयाँ युग’ को सुरूवात भएको बताएका छन् । सशस्त्र द्वन्द्वकालमा सेना र माओवादी लडाकुबीच भीडन्त भएको कैलालीको मसुरिया पुगेर उनले यस्तो बताएका हुन् ।

    ‘सात राजनीतिक दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका तर्फबाट मैले त्यसको अध्यक्षको हैसियतले मैले हस्ताक्षर गरेपछि नेपालमा नयाँ युगको सुरूवात भयो ‘गणतन्त्रको युग,’ उनले भने, ‘संघीयताका युग, समावेशी/समानुपातिकताको युग, विकेन्द्रीकरणको यौटा नयाँ प्रकृयाको युग, धर्मनिरपेक्षताको युग, सबै नेपालीलाई आत्मसम्मान र पहिचान दिने यौटा नयाँ युगको सुरूवात भयो ।’

    यो युगको सुरूवात गर्न माओवादीले गरेको ‘जनयुद्ध’ सात दलले गरेको जनआन्दोलनको ठूलो भूमिका रहेको उनले बताए ।

  • भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने

    भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने

    भोजपुर । भागबण्डा सकिएको भोलिपल्टै भोजपुरको पौवादुङमा गाउँपालिकामा गठबन्धन टुटेको छ ।

    सत्तारुढ गठबन्धनको जिल्लास्तरीय संयन्त्रले मंगलबार गरेको सिट बाँडफाँटको निर्णयअनुसार यस गाउँपालिकामा नेकपा माओवादी केन्द्रलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको थियो । तर, वडाअध्यक्ष बाँडफाँटमा कुरा नमिलेपछि एक्लाएक्लै भिड्ने भन्दै दुवै दलले गठबन्धन तोडेका छन् ।

    गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ-आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको जिल्लाको गठबन्धन संयन्त्रलाई जानकारी गराएका छन् ।

    स्रोतका अनुसार ६ वटा वडा रहेको यस पालिकामा माओवादीले ३ वटा वडा दाबी गरेको थियो । गाउँपालिका अध्यक्ष नै माओवादीलाई दिएपछि वडाध्यक्षमा कांग्रेस बढी भाग लिन चाहन्थ्यो ।

    एमाले बलियो रहेको ठूलोदुम्मामा माओवादी र कांग्रेस दुवैले एकले अर्कोलाई छोडाछोड गरे । यहाँ दुवै मिल्दा पनि एमालेलाई जित्न नसकिने उनीहरूको निष्कर्ष छ । यता कांग्रेसले दाबी गरेको तिवारीभञ्ज्याङ र सानोदुङमामा पनि माओवादीले नछाडेपछि खटपट सुरू भएको थियो ।

    २०७४ को चुनावमा पौवादुङमामा नेकपा एमालेबाट किरण राई १२९ मतान्तरले विजयी भएका थिए । किरणले १९६३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नगेन्द्रबहादुर भुजेल ‘शैलेन्द्र’ ले १८३४ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्षमा उठेकी सिसिरा राई १४५२ मत ल्याएर तेस्रो भएकी थिइन् । यहाँ उपाध्यक्ष भने माओवादीकी सम्झना राईले जितेकी थिइन् ।

    यसपटक एमालेबाट अहिलेका अध्यक्ष किरण राई, ज्योत्सना राई, केशर राई, कांग्रेसबाट मनोज कार्की साथै माओवादीबाट नगेन्द्र भुजेल प्रमुख दाबेदारमा छन् ।

  • दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुङ्ग्याएका छन् ।

    ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

    दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।

    दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

    बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

    कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

    ६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ ।

    २०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

  • महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव

    महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव

    काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।

    महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् ।

    ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

    आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए । सर्वोच्चको निर्ण आउँदा आचार्य रक्षामन्त्री थिए । शर्माले नजिर देखाउँदै सामाजिक सञ्जालमार्फत त्यही संकेत गरेका हुन् ।

    सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले हिजो अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश दिएको हो ।

    गभर्नरलाई कारबाही नगर्न सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

  • अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    भोजपुर । भोजपुरका गठबन्धन दलले स्थानीय तहको भागबन्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा ठूला दल कांग्रेस र माओवादीको कुरा बाझियो ।

    बैठकमा टेम्केमैयुङ नेपाली कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने निर्णय भएअनुसार माइन्यूट भएको थियो । तर, माओवादी नेता अजम्बर काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सार्वजनिक गरेको सूचीमा यस गाउँपालिकामा नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष उल्लेख थियो ।

    टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै तीब्र टिक्काटिप्पणी सुरू भएको थियो । दबाबका बीच काङमाङले साँझ ५ बजेर २३ मिनेटमा आफ्नो पोष्ट सच्याएर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस लेखेका छन् ।

    नेपाल प्रेसको सम्पर्कमा आएका माओवादीका केही जिल्ला नेताले पनि टेम्केमैयुङ नेकपा एसलाई नै छुट्याइएको बताएका थिए । तर, यही कुराले गठगठबन्धनमा खटपट आउँन थालेपछि उनले स्टाटस एडिट गरेका छन् । टेम्केमैयुङ अजम्बरको गृहपालिका हो ।

    कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले कांग्रेसले नै अध्यक्ष लिने सहमति बनेको प्रष्ट्याए । ‘कहिलेकाँही बोल्दा त जिब्रो लट्पटिन्छ । अजम्बरजीले लेख्दा मिस्टेक लेख्नुभएछ । सच्याइसक्नुभो । हामीबीच कुनै समस्या छैन । गठबन्धन कार्यान्वयनका लागि सबै अडिग छौं ‘, बान्तवाले भने ।

    भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख-उपप्रमुख उठाएको थिएन ।

    टेम्केमैयुङ घर भएका माओवादी नेता मोहन किराती मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीभित्र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

    ‘कुनै पनि पार्टीको गलत (नाजायज) ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुँचको पूजा गरी दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रवृत्ति,आम शोषित पीडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको विद्रोह हो । मेरो राजीनामा’, मादेनले फेसबुकमा लेखेका छन् ।

    यहाँ यसपटक रामसिंह राईलाई अध्यक्षमा उठाउने गरी जसपा पनि अन्तिम समयसम्म हटेको थिएन । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी रामसिंह नै एमालेविरुद्ध अध्यक्षमा गठबन्धनबाट अघि सारिएको थियो । उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतलाई उठाइएको थियो । तर, एमालेले ध्रुव राई अध्यक्षसहित बहुमत वडा जित्यो ।

  • माओवादी बैठकमा ब्रिफिङ- गठबन्धनमा कांग्रेस घमण्डी, नेकपा एस घाँडो

    माओवादी बैठकमा ब्रिफिङ- गठबन्धनमा कांग्रेस घमण्डी, नेकपा एस घाँडो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको छ ।

    मंगलबार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाएका थिए ।

    उता माओवादीले भने ११ मध्ये ४ वटा उपमहानगरपालिका लिने प्रयास गरिरहेको छ । हाल घोराही र जितपुर सिमरामात्र माओवादीले पाउने प्रस्ताव भएकोमा केन्द्रीय कार्यालयको विस्तारित बैठकमा चारवटा उपमहानगरपालिका बटमलाइन बनाउनुपर्ने विषयमा छलफल भएको हो ।

    पूर्वस्थायी कमिटी सदस्यहरू सम्मिलित बैठकमा प्रचण्डले गठबन्धनमा सहमतिका लागि अहिलेसम्म भएका प्रयासहरुको जानकारी दिएको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले बताए । उनले सबैतिरको ब्रिफिङ लिइएको भन्दै कांग्रेसबाहेक गठबन्धन दल मिलेर जानुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

    माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

    बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।

    माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

    नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए । नेकपा एसलाई छाडेर जान पनि नसकिने र मागेजति दिएर गठबन्धन हुने अवस्था पनि नरहेको ब्रिफिङ बैठकमा भएको थियो ।

    माओवादीका अर्का एक नेताले भने, ‘नेकपा एसका नेता हेर्दा राम्रा छन् । तर, तल जनमत छैन । उहाँहरुले हैसियतभन्दा बढी माग्दा पनि समस्या भएको छ । कांग्रेसको घमण्डको त कुरै नगरौं । यस्तो अवस्थामा देशैभरि तालमेलको सम्भावना त लगभग सकियो । उपहानगरपालिकाकै हकमा पनि कांग्रेसबाहेकको गठबन्धन हुनसक्छ ।’

    माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

    ती नेताले भने, ‘हैसियत अनुसार भागबण्डा नहुने हो भने कांग्रेसबाहेक हामी लडेर धरान, जितपुर सिमरा, जनकपुर र हेटौंडा जित्न सकिन्छ र घोराही पनि सम्भव हुन्छ भन्ने छ । त्यो अवस्थामा एमालेले तीनवटादेखि चारवटासम्म उपमहानगर जित्न सक्छ । घाटा कांग्रेसलाई हुने हो । गठबन्धन मिलाउँदा एमाले एउटामा मात्र सीमित हुन्छ ।’

    नेकपा एसले इटहरी र हेटौंडालाई बटमलाइन बनाएको कारण पनि समस्या आएको नेताहरुले बताएका छन् । यसैबीच सोमबारको गठबन्धन बैठकमा प्रचण्डले देशभरिनै ७५३ पालिकामध्ये कांग्रेसले ४०/४५ प्रतिशत, माओवादीले ३०/३५ प्रतिशत र अरु जसपा तथा नेकपा एसले लिएर चुनाव लड्ने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले मानेको छैन ।

  • एक पूर्णकालीन योद्दाको बकपत्र: जनयुद्धमा छोरो गुमाएँ, प्रचण्डलाई लाउन लगेको माला गेटमा बुझाएँ (भिडिओ)

    एक पूर्णकालीन योद्दाको बकपत्र: जनयुद्धमा छोरो गुमाएँ, प्रचण्डलाई लाउन लगेको माला गेटमा बुझाएँ (भिडिओ)

    काठमाडौं । कमरेड ‘भास्कर’, ‘रन्जन’, ‘अन्जान’ अर्थात् शिव अधिकारी अहिले नयाँ बानेश्वरमा ॐ ओस्कार भोजनालय चलाउँछन् । भोजनालयमा आएका ग्राहकसँग जनयुद्धकै गफ गर्छन् । क्रान्तिका आयामबारे छलफल गर्छन् । परिवर्तनका खातिर रगतले गरिएका दस्तखतहरुको प्रसंग उप्काउँछन् ।

    जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।

    जनयुद्धको आफ्नै कथा भने उप्काउन चाहँदैनन् शिव । कसैले उप्काए भने हप्काउन खोज्छन् । उप्किहाले, आँसु थाम्न सक्दैनन् । रोइहाल्छन् । हामीसँग कुराकानीको सुरुवातमै शिवको जिब्रोेभन्दा पहिला आँखाबाट आँसु फड्कियो । केहीबेर बोल्न सकेनन् ।

    बाबु छोरै होलटाइमर

    २०६० साल, जनयुद्ध चरमोत्कर्षमा थियो । उनका युद्ध कमाण्डर प्रचण्डको भाषामा ‘दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक प्रत्याक्रमणका एक योद्द थिए शिव । त्यसैबेला माओवादीका तर्फबाट बाबुराम भट्टराई र कृष्णबहादुर महरा र सरकारको तर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनीले तेस्रो चरणसम्म वार्ता गरेका थिए । त्यही वार्तापछि शिव २०६० सालमा केन्द्रीय कारागारबाट छुटे ।

    शिव मात्रै छुटेनन्, उनका छोरा रमेश अधिकारी पनि छुटे । जनयुद्धमा बाबु र छोरा दुवै उत्तिकै भिडेका थिए ।

    शिव थानकोटमा आयल निगमको कर्मचारी थिए । साथसाथै माओवादी जनयुद्ध केन्द्रित पोस्टरहरु पनि रातिराति टाँस्दै हिँड्थे । त्यही सूचनाका आधारमा उनलाई अफिसबाटै पक्राउ गरिएको थियो । अनि सूर्यविनायक आर्मी ब्यारेकमा लगिएको थियो । र त्यसपछि केन्द्रीय कारागारमा लगिएको थियो ।

    जनयुद्धमा बगेका आँसु अनि रगतको वहिखाता बोकेर ६० वरिपरि हिँडिरहेका छन् शिव । जनयुद्धका घाइतेहरुसँग सम्पर्कमा छन् । तर जनयुद्धका नाइकेहरु सम्पर्कमा छैनन् । यस्तै छ ॐ भोजनालयमा पाक्ने भोजनसँगै थपिने थरिथरिका ब्यञ्जन जस्तै मसला गफहरु ।

    शिवको छोरा रमेश माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भक्तपुर क्याम्पसमा सचिव थिए । माओवादी आन्दोलन र कार्यक्रमका लागि सामानहरु ल्याउने लाने गर्थे रमेश । शिवलाई पक्राउ गरेको सात दिनपछि रमेशलाई पनि गाउँबाटै पक्राउ गरिएको थियो । र भद्रगोल जेलमा राखिएको थियो ।

    सुरुवातमा प्रहरीले ‘हतियार देखा’ भनेर चरम यातना दिएको थियो शिवलाई । पछि सेनाले चाहिँ ‘तँ इँटा भट्टाहरु बन्द गराउने ?’ भन्दै यातना दिएका थिए । शिव सुनाउँछन्, ‘त्यसबेला मलाई मार्ने लाइनमा थिए उनीहरु । मार्ने भनेर जिल्ला सुरक्षा परिषदमा कागज गराउन जाँदा सुरेन्द्रप्रताप शाहले यस्तो मान्छेलाई मार्नु हुँदैन भनेकाले म बाँचेको थिएँ । हामीजस्तो हजारौं परिवारले यस्तो दुःख भोगेका छन् । संसारभरका क्रान्ति निर्मम छ । सबैले त्याग र बलिदान गर्नुपर्छ ।’

    सुरेन्द्रताप शाह भक्तपुरका राप्रपा नेता र मनोनित जिल्ला विकास समितिका सभापति थिए ।

    शिव २०४२–४३ सालदेखि नै राजनीतिमा सरिक थिए । नेकपा एमालेको गाउँ कमिटी सचिव थिए । तर, एमालेबाट परिवर्तन सम्भव छैन भनेर माओवादीतिर लागे । भन्छन्, ‘लाखौं मान्छे लामबद्ध भएर ज्यानको पर्वाह नगरी क्रान्तिमा होमिन्छ भने म किन नहोमिने भनेर लागेँ ।’

    माओवादीमा लागे पनि शिवलाई सबैले शंकाको दृष्टिले हेर्थे । एमालेको कार्यकर्ता भएकाले सीआईडी हो कि भनेर शंका गर्थे । जेलबाट छुटेपछि पनि उनलाई सबैले शंकालु व्यवहार नै गरे । जनयुद्ध नसकिँदासम्म शिव शंकाकै घेरोभित्र परे ।

    जेलबाट छुटेको छोरो शहीद भयो

    २०६० सालमा बाबुछोरा जेलबाट छुटेपछि फेरि जनयुद्धमा सरिक भए । शिव गाउँगाउँमा जनसरकार बनाउँदै हिँडे । छोरो पनि भूमिगत बनेर हिँड्यो ।

    सेनाले काठमाडौंबाट माओवादीलाई लखेटिरहेको थियो । एक गाउँमा सक्रिय भएर अर्को गाउँमा गएर बास बस्ने पार्टीको नीति थियो । अनि सुरक्षकर्मीलाई बोलाएर कारबाही गर्ने नीति लिएको थियो । तर, शिवका छोरा रमेशहरु दुई दिनसम्म भूमेडाँडामा गएर बसे । पहिलो दिन निरीक्षणका लागि आएका सेनाले दोस्रो दिन आक्रमण गरिहाल्यो । एउटा घरमा बसेका रमेश लगायत छ जनालाई सेनाले भुटिदियो काभ्रेको चिसापानीमा ।

    अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।

    पहिलो गिरफ्तारीबाट छुटेका रमेश दोस्रो आक्रमणमा शहीद भए । शिव पनि ०६१ साल, पुसमा अनामनगरबाट फेरि पक्राउ परे । ्

    पार्टीकै काममा स्पेशल टास्क फोर्सको रुपमा काठमाडौं छिरेका थिए । दिउँसो दुईबजेतिर एकजना मान्छेसँग छलफल गरिसकेपछि बाहिर बाटोमा हिँड्दै गर्दा पक्राउ परे । शिव सुुनाउँछन्, ‘ती मान्छे सरकारी रहेछन् । बाहिर निस्केपछि चारैतिर घेरो हालेर पक्राउ गरे रामकुमार कार्की र मलाई । हुन त त्यसवेला ज्यानलाई माया मारेर काठमाडौं छिरेका थियौं ।’

    त्यसपछि शिव र रामकुमारको अनुहार मुकुण्डो लगाइयो । हातमा हतकडी लगाइयो । उनीहरुलाई कता लगियो, पत्तो पाएनन् ।

    २४ घण्टै उनीहरुको अनुहारमा मुकुण्डो हुन्थ्यो । २४ घण्टै उनीहरुको हातमा हतकडी हुन्थ्यो । दिसा पिसाब पनि सेनाको चाहना अनुसार हुन्थ्यो । त्यहाँ कतिसम्म यातना भयो, शिव सम्झनै चाहँदैनन् ।

    ब्यारेकमा करङ भाँचियो, यातनाको त के कुरा

    शिव सास रोकेर सुनाउँछन्, ‘त्यहाँ यातनाको हिसाब नै छैन । मेरा छातीका दुवै दुधका थुन काटिएका छन् । नांगेझार बनाएका थिए । छातीमा आतंककारी भनेर पोस्टर टाँसिदिए । फाइल बनाए । क्रुरताको चरम सीमा भेगेँ । अहिले मैले बाँचिरहेको जीवन त नाफाको जीवन हो ।’

    शिवको दुईवटा करङ भाँचिएको छ । त्यहाँ अहिले पनि हावा पस्छ । शिवको अनुमान छ, भोलिका दिनमा बन्दुक चलाउन नसकोस् भनेर त्यसो गरिएको होला । करङ भाँचिएको शिवलाई पहिले थाहा थिएन । छाती बेस्सरी दुखेपछि घस्रिएर हिँडेका थिए । पछि अस्पतालमा एक्सरे गर्दा मात्रै थाहा पाएका थिए ।

    ‘सिंगो शरीरमा रोल लगाएको छ । सिंगो शरीर घाइते छ । कहाँ कहाँको घाउ देखाउँ ?,’ शिव दुःखी भएर सुनाउँछन्, ‘जनयुद्धमा जेल परेका सबैको हालत यस्तै छ । जेल परेका कसैले पनि काम गर्न सक्दैनन् । बोल्न चाहिँ सक्लान् । उनीहरु बोलेको पनि कुनै समय हिँडेको थिएँ भन्ने एग्रेसनले मात्रै हो ।’

    अज्ञात ठाउँको नौ महिनासम्मको यातनापछि शिवलाई हनुमानढोका ल्याइयो । अनि उनलाई नख्खु कारागार चलान गरियो । त्यहाँ मात्रिका यादव, कृष्ण केसी, सुरेश आलेमगर लगायतसँग भेट भएको थियो शिवको ।

    ‘ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय मानवअधिकार कानून पालना गर्छु भने । सँगै १२ बुँदे सहमति भयो । त्यसकारण मात्रै मुकुण्डो खोलिएको थियो । तर, ज्ञानेन्द्रले सत्ता हातमा नलिएको भए मारिने थिएँ,’ शिव भन्छन्, ‘प्रचण्डले १२ बुँदे सहमति नगरेको भए मलाई नमारे पनि जन्मकैद तोकिएको मान्छे हो । त्यही १२ बुँदेले हामीजस्तो मान्छेलाई बाँच्ने वातावरण बनाइदिएको छ ।’

    आफूलाई माओवादीको होलटाइमर कार्यकर्ता भएको बताउँछन् शिव । पार्टीले आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता राखेकाले चाँगुनारायणका शिवले नयाँ बानेश्वरमा भोजनालय चलाइरहेका छन् । भन्छन्, ‘तर धेरै मान्छेको अंगभंग भएको छ । धेरैले गोली खाएका छन् । देशैभरि क्षति भएको भएको छ । यदि परिवर्तन भएको भए पीडालाई बिर्सन सकिने अवस्था हुन्थ्यो । तर, पीडाहरु झनै बल्झन्छन् ।’

    शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’

    शिव गएको स्थानीय निर्वाचनमा माओवादीबाट चाँगुनारायण नगरपालिकाको मेयरमा उठे । उनी पराजित भए । तर पनि भन्छन्, ‘मेरो जीवन नै माओवादी पार्टी हो । प्रचण्ड भइन्जेल म कार्यकर्ता हो ।’

    साथै पार्टी र नेतृत्वबारे भन्छन्, ‘पार्टीको नीति संसदीय व्यवस्थामा टेक्ने भन्ने मात्रै थियो । संविधानसभा भनेको कांग्रेसको नारा थियो । पार्टी संविधानसभामा प्रवेश ग¥यो । त्यहाँ प्रवेश गरेपछि आर्थिक रुपमा सबै रुमल्लिए । आर्थिक नभई चुनाव जित्न सकिँदैन । चुनाव नजिति सत्तामा पुग्न सकिँदैन । सत्तामा नपुगी परिवर्तन हुँदैन भन्नेमा पुग्यो । त्यसले पार्टीलाई भ्रष्टिकरणमा लगिदियो । पैसा नभइ चल्न सकिँदैन भनेर लागे सबै ।’

    माला फालेर खुमलटारबाट खुइय गर्दै फर्किए

    गत वैसाख १ गते शिव र उनकी श्रीमती लक्ष्मी अधिकारी पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार गएका थिए । उनीहरुलाई अध्यक्षसँग भेटघाट गर्नु थियो, नयाँ वर्षको शुभकामना पनि दिनु थियो । तर, शिव र लक्ष्मीले अध्यक्षलाई भेट्न पाएनन् । गेटबाटै फर्काइए । अनि श्रीमतीले रुँदै भनिन्, ‘छोरालाई हाँसीहाँसी बिदाइ गरेकी थिएँ । छोरो शहीद भयो । मेरो छोरो शहीद हुनुमा भन्दा अध्यक्षलाई भेट्न नपाउँदा दुःख लाग्यो । अबदेखि कहिले पनि आउन्नँ ।’

    त्यहाँ भएका मानिसहरुले शिव र लक्ष्मीलाई भने, ‘सल्यान, रुकुम, रोल्पा लगायत देशभरिका मान्छे आउँदा त भेट्न पाइँदैन यहाँ । तपाईंहरु के भेट्न पाउनुहुन्थ्यो र !’ मानिसहरुका कुराले शिवको मन झनै अमिलो बन्यो । अनि आफ्नै मनलाई थुमथुमाए, ‘अध्यक्षको पनि पीर मर्का थियो होला । छुट्टी थिएन होला ।’

    अनि श्रीमतीलाई सम्झाए, ‘उहाँ सञ्चो हुनुहुन्न होला । फेरि हामीले भेटेर पनि के हुन्छ र !’

    शिव १ गतेको नमीठो पल सम्झँदै भन्छन्, ‘मेरो व्यक्तिगत स्वार्थ पनि केही थिएन । अब भेट्न पाइएन, सकियो । उहाँलाई भेट्नका लागि त स्पेशल समय लिएर जानुपर्ने रहेछ ।’

    लक्ष्मीले अध्यक्ष प्रचण्डका लागि फूलको माला पनि किनेर लगेकी थिइन् । शिवले त्यो माला श्रीमतीको हातबाट लिए । अनि त्यहाँ भएका मान्छेलाई दिँदै भने, ‘अध्यक्ष ज्यूलाई शुभकामना भनिदिनुस् है !’

    तस्बिर/भिडिओ : नविनमुनी स्थापित

  • माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रुकुम पश्चिमका स्थानीय तहका लागि उम्मेदवार छानेको छ ।

    स्थानीय तह निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिले पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गरेको हो ।

    जसमा चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही तथा मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का उम्मेदवार बन्ने भएका छन् ।

    यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले तथा बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी चयन भएका छन् ।

    सोमबार बसेको बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताए । उनका अनुसार गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परे जोकोहीको उम्मेदवारी पनि फिर्ता हुन सक्नेछ ।

  • माओवादीलाई भरतपुर र रेनु नै नचाहिएको भन्दै प्रचण्डले भने- तलको असन्तुष्टिले फरक पर्दैन(भिडिओ)

    माओवादीलाई भरतपुर र रेनु नै नचाहिएको भन्दै प्रचण्डले भने- तलको असन्तुष्टिले फरक पर्दैन(भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि दलगत असन्तुष्टिले खासै असर नपर्ने बताएका छन् ।

    पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ५ दलबीच तालमेल हुँदा केही असन्तुष्टि देखिएपनि त्यसले परिणाममा असर नपर्ने दाबी गरेका हुन् ।

    ‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । अन्तिममा गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ’, प्रचण्डले भने ।

    उनले माओवादीले भरतपुरमा मात्रै दाबी नगरेको बताए । उनले भरतपुरको सट्टा काठमाडौं वा विराटनगर महानगरको प्रमुख लिन तयार रहेको बताए ।

    ‘माओवादीलाई भरतपुर र रेनु नै चाहिएको होइन । ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिन्छ । त्यसमध्ये भरतपुर नै होइन काठमाडौं वा विराटनगर दिए पनि हुन्छ । तर, भरतपुर माओवादीले जितेको भएर कांग्रेसले पनि हामीलाई भरतपुर नै छाड्न खोजेको छ’, प्रचण्डले भने ।

  • भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुर । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ ।

    यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन ।

    रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको गृहपालिका हो ।

    निर्माण माओवादी प्रदेश १ का सदस्यसमेत हुन् । गोपाल खम्बु नेतृत्वको तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चा हुँदै पछि किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका राई जनमुक्ति सेनाको सेक्सन कमाण्डरसमेत भए । २०६२ मा माओवादीले गठन गरेको जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी पनि उनले लिएका थिए ।

    ७४ को चुनावमा पनि अध्यक्ष उठेका निर्माण ८ मतले एमालेसँग पराजित भएका थिए । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदा निर्माणले २३४८ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्ष उठेका दिनेशकुमार कार्कीले १३२३ मत प्राप्त गरी तेस्रो भएका थिए ।

    यस गाउँपालिकामा माओवादीबाट सम्झना राईले २५३२ मत ल्याएर उपाध्यक्ष जितेकी थिइन् ।

  • माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए ।

    ‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले नेपाल प्रेससँग भने, ‘तर सहमति हुन सकेको छैन । हामीले संसदीय दलको वैठक वैशाख ८ गते बोलाएका छौं । ९ गते हामी टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । ८ गतेसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’

    उनले माओवादी र समाजवादीले बढी नै पालिका माग गरेको कारण समस्या भएको बताए ।

    ‘उहाँहरूले कांग्रेस ६ र आफूहरू ५ पालिकाको नेतृत्व पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो कुरामा कांग्रेस सहमत हुन सक्दैन । यो अडानले सहमति हुने सम्भावना कम भएको छ । यद्यपि प्रयास भने जारी नै छ ।’

    उनले कांग्रेसले जितेको स्थानमा सम्मानजनक स्थान खोज्ने तर माओवादीले जितेको स्थानमा कांग्रेसले भाग नपाउने अवस्था आउनु राम्रो नहुने बताए ।

    ‘आफूले जितेको स्थानमा भागबन्डा नगर्ने तर कांग्रेसले जितेको स्थानमा उहाँहरूलाई भाग दिने भन्ने कुरा अस्वाभाविक नै हो’, रेग्मी भन्छन् ।

    दैलेखका ९० वडामा ७४ चुनवमा माओवादीले एक वडा पनि जितेको थिएन । महाबु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नारायण नपा उपप्रमुख, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष भने नेकपा एसमा प्रवेश गरेका छन् ।

  • प्रचण्डले पत्रकार सम्मेलन गर्दै

    प्रचण्डले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

  • चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    रुपन्देही । आफ्नो आधार इलाकाका रुपमा मान्दै आएका रुकुम, रोल्पा, दाङलगायतका जिल्लामा समेत सत्तागठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता बिच्किएका छन् ।

    स्थानीय तहको निर्वाचनका लागि केन्द्रमा नेताहरू बसेर देशभर वडातहसम्म एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय कार्यान्वयनमा यी क्षेत्रमा समस्या देखिएको हो ।

    पहिलेको रुकुम अहिले पूर्व र पश्चिम गरी दुई जिल्लामा मात्रै होइन दुई प्रदेशमा बाँडिएको छ । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको नेतृत्व गर्छन् भने रुकुमपूर्व र रोल्पाको नेतृत्वमा अर्का प्रभावशाली नेता वर्षमान पुन छन् ।

    त्यसो त पार्टीभित्र पनि उनीहरू दुवैजनाबीच प्रतिस्पर्धा छ । यही टकराबका कारण महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले महासचिव टुंग्याउन सकेको छैन । पूर्वीरुकुम र रोल्पामा पुनसँगै नेता कृष्णबहादुर महरा, ओनसरी घर्तीलगायत शीर्ष नेताहरूको क्षेत्र रहेको छ ।

    तर, यी ठाउँमा कांग्रेसले माओवादीको भन्दा धेरै भाग खोजेको छ । यदि मागेजति सिट नपाए गठबन्धन नगर्ने कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ ।

    रुकुमपश्चिम माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको माओवादीको विरासत बलियो छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ मा माओवादीले जितेको थियो ।

    रुकुमपश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली कांग्रेस हो । ७४ मा माओवादीले ५८ वटा वडा जित्दा कांग्रेसले १३ र एमाले २ वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ । ७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, कांग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।

    स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ-आफ्नो गृहकार्यमा छन् । यहाँ सत्ता गठबन्धन दलहरूको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर, गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

    माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीलाई घाटा हुने बताउँदै आएका छन् । रुकुममा माओवादी र अन्य दलबीच मुसीकोट नगरपालिकामा मात्रै प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

    नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले गठबन्धन बनाएर चुनावमा जाने-नजाने भन्ने कुरा माओवादीमा निर्भर रहने बताउँदै आएका छन् । माओवादीले ०७४ मा जितेको ठाउँमा अहिले नेतृत्व नछाड्ने भन्ने अहंकार देखाए अन्य दलहरूसँग तालमेल गरेर पनि जान सकिने भनाइ ओलीले बताएपछि विवाद अझै बढेको हो ।

    एमालेले पनि काँग्रेससँग तालमेलका लागि प्रस्ताव गरेको र माओवादीले अहंकार देखाए आफूहरु त्यसतर्फ पनि सोच्न बाध्य हुने कांग्रेस नेताहरुले सार्वजनिकरूपमै व्यक्त गरेका छन् ।

    ओलीले ०७४ मा मुसीकोट नगरपालिकामा राम्रो जनमत हुँदाहुँदै पनि आफ्नै आन्तरिक कारणले पराजित भएको बताए । अहिले अन्य दुई पालिकामा पनि काँग्रेसको राम्रो जनमत भएकाले काँग्रेसले विगतको भन्दा फराकिलो जनमत ल्याउन सक्ने उनको आंकलन छ ।

    रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा

    रोल्पा जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रलाई ठेस पुग्नेगरी नेपाली कांग्रेसले आधा हिस्सा मागेको भन्दै माओवादी एक्लै लड्ने पक्षमा पुगिसकेको छ । यहाँ गठबन्धन दलहरू बैठक बस्ने र छलफल गर्ने गरिरहेकै समयमा एकाएक कांग्रेसको विज्ञप्ति आएपछि मनमुटाव सुरू भएको हो ।

    गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास मात्रै जगाएको छैन माओवादीले दबाबका लागि कांग्रेसले चालेको कूटनीतिक चाल भनेर एक्लै अगाडि जानेसम्मको तयारी गरेको छ ।

    गत चैत २० गते माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल बनाइएको छ । चारपटक संयुक्त बैठक बसिसकेको कार्यदलले कुनै ठोस योजना र निर्णय गर्नसकेको छैन । गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले कांग्रेसको विज्ञप्तीले विश्वासको वातावरणमा आशंका ल्याएको बताए । गठबन्धनमा छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने उनको भनाइ छ ।

    के छ माओवादीको आन्तरिक रणनीति ?

    माओवादीले आफ्नो शक्ति जाँच्नका लागि प्रारम्भिक सर्वेक्षण पनि गराएको छ । यो सर्वेक्षणमा सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालिएको सूचना कांग्रेस नेताको कानमा परेपछि नै कांग्रेसले त्यो खालको विज्ञप्ति निकालेको बुझिएको छ । स्थानीय नेताहरू सकेसम्म यो जिल्लामा गठबन्धन नभए नै पार्टीलाई फाइदा हुने माथिल्लो तहका नेताहरूलाई सर्वेक्षणका आधारमा सुनाएका छन् ।

    यहाँ कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत ल्याएको सम्झेर अहिले गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी तयारी गरेको माओवादी बुझाइ छ । यही सूचना पाएका माओवादीका स्थानीय नेताहरू यस्तो अवस्थामा कांग्रेसलाई बोक्न नहुने सुझाव नेताहरूलाई गरेका छन् । माओवादी र कांग्रेसको यही आन्तरिक विवादमा खेलेर नेकपा एमालेले केही पालिकामा जित निकाल्ने रणनीति बनाएको छ । १० पालिका रहेको जिल्लामा गठबन्धनमा नरहेका दलको साथ लिएर आफ्नो उपस्थिति देखाउने रणनीतिमा छ एमाले ।

    कांग्रेसले १० वटा तहमध्ये ५ वटामा अध्यक्ष र बाँकी ५ वटा तहमा उपाध्यक्षसहित ३६ वटा वडामा वडाध्यक्षलाई उम्मेदवार सुनिश्चित गर्न सार्वजनिक माग गरेको हो । कांग्रेसले सबैमा आधा हिस्सा खोजेपछि जिल्लामा ठूलो मानिएको माओवादी केन्द्रका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने १२ वटा वडा अध्यक्ष विजयी भएका थिए । ७२ वटा वडामध्ये माओवादी केन्द्र एक्लैले ४८ वडामा जितेको थियो । रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।

    अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो ।

    माओवादीको आधार इलाका रुकुम पूर्वमा रहेका तीनै पालिका गत स्थानीय तहमा माओवादीले सबै जितेको थियो । तर, यहाँ पनि कांग्रेसले बराबरी भाग खोजेपछि माओवादी असन्तुष्ट भएको हो ।

    दलहरूबीच आ-आफ्नो दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको र तालमेलको सम्भावना पनि क्षीण हुँदै गएको एक नेता बताउँछन् ।

    माओवादीको बलियो क्षेत्र मानिएको यो जिल्लामा नेपाली कांग्रेसले गठबन्धनमा जाँदा समान हैसियत खोजेपछि माओवादी केन्द्रले अस्वीकार गरेपछि यस्तो अवस्था आएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्वसहितको समानजनक भागबन्डा हुनुपर्ने बैठकमा राखिरहेका छन् ।

    यद्यपि दलहरूले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरूले नै निर्णय गर्ने अधिकार भने दिएको र पालिका तथा वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले नेपाल प्रेसलाई बताए ।

    वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए । तीन पालिका रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तीनै पालिका माओवादीले जितेको थियो भने दुई स्थानमा मात्रै कांग्रे प्रतिस्पर्धामा थियो ।

    यस्तो थियो अघिल्लोपटक रोल्पा, रुकुमपूर्वको चुनावी अवस्था

    रोल्पा

    १. त्रिवेणी गाउँपालिका- एमाले (३३३३), माओवादी(३११२), कांग्रेस(९८४)

    २. थवाङ गाउँपालिका- माओवादी (१९९०), कांग्रेस(९६५), एमाले( १२०)

    ३. दुईखोली गाउँपालिका- माओवादी (४६०८), कांग्रेस (१९८९), एमाले (६५९)

    ४. माडी गाउँपालिका- माओवादी (३१८२), कांग्रेस(२६२१)

    ५. रुन्टीगढी गाउँपालिका- एमाले (३४०२), कांग्रेस (३२७९), माओवादी (३१०८)

    ६. लुङग्री गाउँपालिका- कांग्रेस (३१२५), माओवादी (२९१०), राप्रपा (१०११), एमाले (७०९)

    ७. सुकिदह गाउँपालिका- माओवादी (२४१४), एमाले (२२९०), कांग्रेस (२२६१)

    ८. सुनछहरी गाउँपालिका, माओवादी (२५६१), कांग्रेस (११३६), एमाले (९४७)

    ९. सुवार्णवती गाउँपालिका- माओवादी (४१५५), कांग्रेस (३०६०), एमाले (१०१९)

    १०. रोल्पा नगरपालिका- माओवादी (५६३४), कांग्रेस (३८२७), एमाले (४७८)

    रुकूमपूर्व

    १. पुथाउत्तरगंगा गाउँपालिका- माओवादी (२५५१), एमाले (१२३६), कांग्रेस (१११४)

    २. भुमे गाउँपालिका- माओवादी (३४८२), कांग्रेस (१७१४), एमाले (४४२)

    ३. सिस्ने गाउँपालिका- माओवादी (३२९६), कांग्रेस (२४७१), एमाले (४६)

  • बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडी । सत्ता गठबन्धनमा सामेल दलहरुले बैतडीका केही पालिकामा बाँडफाँड टुंग्याएका छन् । पहिलो चरणमा जिल्लाका ३ वटा स्थानीय तहमा भागबण्डा गरिएको हो । बाँकी ६ वटामा पनि सहमतिमा पुग्ने गरी छलफल जारी छ ।

    पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसको भागमा परेको छ । त्यहाँ उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको छ । यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने हालका पालिका अध्यक्ष गोरखबहादुर चन्दलाई दोहोर्याउँदै छ ।

    दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ । कांग्रेसले अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यहाँ उपाध्यक्ष काँग्रेसले लिने भएको छ ।

    अन्य पालिकाको बाँडफाँडका लागि छलफल जारी छ । सिगास र सुर्नया गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरिरहेको छ ।

    माओवादीले पुरचौंडी नगरपालिका दाबी गरेको छ । त्यसबाहेकका दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाको छिनोफानो हुन बाँकी छ । यी नगरपालिकामा कांग्रेसको दाबी छ । काङ्ग्रेसले दाबी गरेको मेलौलीमा माओवादीले पनि दाबी गरेपछि सहमति जुटाउन सकस भएको हो ।

  • अखिल क्रान्तिकारीका पदाधिकारी चयन, दिपेश पुन महासचिव

    अखिल क्रान्तिकारीका पदाधिकारी चयन, दिपेश पुन महासचिव

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ।

    गत असोजमा भएको अखिल क्रान्तिकारीको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

    शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्रयक्सन इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो।

    अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यिय बनेको छ। इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन्।

    महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही चयन भएका छन ।

    अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी यसअघि १ सय ९९ सदस्यिय हुने भनिएपनि आजको बैठकले २ सय ९९ सदस्सिय हुने जना निर्णय गरेको छ।

  • कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गरेका छन् ।

    शनिबारमात्रै कांग्रेसको कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई अलपत्र नपार्ने बताएका छन् ।

    चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादीले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्डसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजेका छन् ।

    माओवादी, एस र जसपा संगठित भाग खोज्दै

    चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।

    कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।

    आइतबारको गठबन्धन बैठकमा यी तीन दलले ३ महानगरपालिकार १० उपमहानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरे । हेटौडा उपमहानरमा माओवादी र नेकपा एस दुवैको दावी रह्यो ।

    त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको पुष्टी हुने एक नेताले बताए । ‘प्रचण्ड, माधव र उपेन्द्रजी चै एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठन्धनमा शक्ति बाँडफाँटमा उहाँहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ’, बैठकमा सहभागि कांग्रेस नेताको भनाई छ ।

    माओवादी अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच ‘कार्यगत एकता’ भएको हो ।

    कांग्रेसले मान्ला त २४ प्रतिशत ?

    गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भयो ।

    बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दावी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिकामा नेतृत्व दावी गरेको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

    त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दावी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी छ ।

    गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दावी गरेका छन् ।

    आइतबारको बैठकका आधारमा काठमाडौं, विराटनगर र ललितपुर महानगर तथा धनगढी उपमहानगरपालिकामा मात्रै तीन दलले दावी गरेनन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

    ‘हामी त गठबन्धनको प्रमुख शक्ति हौं । अन्य दलहरुले आफ्नो दावी राखेका छन् । हाम्रो त सबैमा स्वतः दावी छ नि’, पौडेलले भने ।

    गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको छ ।

    आरजुको क्षेत्रमा तीन दलले गरेनन् दावी

    मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी, समाजवादी र जसपाले दावी गरेनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा पर्ने धनगढीमा चाहिँ अन्य दलहरुले दावी नगर्नुलाई चासोका साथ लिइएको छ ।

  • गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

    गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

    काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ ।

    माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।

  • सभामुखको गुनासो- मलाई काम गर्न सहज वातावरण बनेन (भिडिओ)

    सभामुखको गुनासो- मलाई काम गर्न सहज वातावरण बनेन (भिडिओ)

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न आफूलाई सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।

    आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ को उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको बताए ।

    सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको सापकोटाको भनाइ छ ।

    उचित वातावरण बनाउनका लागि आफूले पहल गरेपनि विभिन्न अप्ठ्यारो रहेको उनले सुनाए ।

    नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा वैशाख ६ सम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरूद्वारा तयार पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरू देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ ।

  • माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी

    माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी

    सिन्धुपाल्चोक। स्थानीय निर्वाचन २०७४ मा माओवादीबाट चौतारा साँगाचोकगढी नगरपालिकामा मेयरका आकांक्षी थिए हालका मेयर अमानसिं तामाङ र हालका वागमती प्रदेश सभा सदस्य युवाराज दुलाल ।

    माओवादीले दुलाललाई मेयरमा उठाउन चाहेको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध भएकाले पनि दुलालले टिकट पाउने लगभग ‘कन्र्फम’ जस्तै थियो त्यतीबेला । टिकटका लागि तामाङ र दुलालबीच पार्टीभित्र लामै रस्साकस्सी भयो ।

    माओवादी अध्यक्ष प्रचण्डले समेत तामाङलाई फोन गरेर सम्झाउन खोजे तर तामाङ अध्यक्षको भनाइमा सहमत हुन सकेनन् । पार्टीले टिकट नदिए ‘विद्रोह’ गर्ने चेतावनी समेत तामाङले दिएका थिए ।

    उमेदवार मनोनयनका दिन बिहान पार्टीको बैठक चल्दै गर्दा ठूलो समुह सहित तामाङका समर्थकहरु बैठकस्थल बाहिर बसेर तामाङलाई टिकट दिन ‘दबाब’ दिएका थिए । सबैको दबाब र विद्रोह हुन सक्ने खतरा पछि दुलाल ‘ब्याक’ भए र चौतारा साँगाचोकगढी नगरपालिकाको टिकट अन्तिम समयमा तामाङले पाए ।

    नगरपालिकाको मेयर भएको ५ वर्ष पुरा हुँदैछ र यो निर्वाचनमा तामाङले पुनः चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरेका छन् । तर माओवादी केन्द्रले यो पटक तामाङलाई टिकट दिने सम्भावना छैन । चौतारा साँगाचोकगढी नगरपालिकाबाट मेयरमा माओवादी केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक इञ्चार्ज समेत रहेका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’लाई अघि सारेको छ ।

    सापकोटा सभामुख अग्निप्रसाद सापकोटाको भाइ समेत हुन् । युद्धकालमा आफ्ना परिवारका सदस्य गुमाएका सापकोटा माओवादीभित्र इमान्दार र शालिन नेताको रुपमा कार्यकर्तामाझ परिचित छन् । माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा हालका मेयर तामाङ,उपमेयर जानुका पराजुली,केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा,जिल्ला संयोजक गोविन्द पराजुली र श्यामसुन्दर श्रेष्ठ सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

    एक्लै भिड्दा पनि जित्ने नगरपालिका

    सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एक्लै निर्वाचनमा उठ्दा समेत माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा चुनाव जित्ने दाबी गर्दै आएको छ ।

    माओवादीको ‘आधार इलाका’को रुपमा चिनिएको कुभिण्डे समेत यही नगरपालिका भित्र रहेको छ । त्यसैले माओवादीले आफ्नो आधार इलाकामा यो पटक पनि विजयी हुन चाहान्छ । तर विजयी हुने चाहानामा हालका मेयर तामाङलाई माओवादी नेताहरुले बाधक देखेका छन् ।

    एक कार्यकाल मेयर भएकाले अब स–सम्मान बिदा हुनु पर्नेमा माओवादीका नेताहरुको भनाइ छ । तर मेयर तामाङ र उनका पक्षधरहरु भने ५ वर्षे कार्यकालमा नगरपालिकाभित्र धेरै विकास निर्माणका कामहरु अघि बढेको र अब एक कार्यकाल आफ्नै नेतृत्वमा त्यसलाई पुरा गर्न पनि तामाङलाई नै उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

    तामाङ पक्षधरबाट टिकटका लागि दबाब सुरु

    उम्मेदवार मनोनयनको मिति नजिकदै गर्दा तामाङ र उनका पक्षधरहरु अघिल्लो वर्षको जस्तै गरेर पार्टीलाई सुरुमा ‘साइलेन्टली’ र त्यसपछि ‘आक्रमक’ दबाब दिने रणनीतिमा छन् । तर माओवादी नेताहरु भने यो पटक जस्तोसुकै दबाब आएपनि तामाङलाई उमेदवार बनाउने पक्षमा छैनन् ।

    मेयर तामाङको छोरा एवम माओवादी जिल्ला नेता उजारसिं तामाङ ‘समर’ले सामजिक सञ्जाल फेसबुकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘बन्धु’ ले बैठकमा भनेको भन्दै स्ट्याटस लेखेका छन्– ‘अमेरिकादेखिको दबाब र प्रचण्ड स्वयम् सुकुटेमा आएर मलाई टिकट दिइसकेको छ,मैले त्यतीकै दाबी गरेको होइन।’

    मेयर तामाङका अर्का छोरा रघुसिं तामाङले पनि सामाजिक सञ्जालमा लेखेका छन् ‘कुरुक्षेत्रको लडाई हुने संकेत’ । मेयर तामाङका दुवै छोराहरुको यो भनाईमा आएका अधिकांश प्रतिक्रियामा हालका मेयरलाई नै यो पटक उमेदवार बनाउनु पर्नेमा आएको छ ।

    अघिल्लो स्थानीय निर्वाचनमा माओवादी उमेदवार तामाङले ७७२९ मत ल्याएर जितेका थिए भने एमाले उमेदवारले ५८०६ मत ल्याएका थिए । कांग्रेसको ४१७६ र राप्रपाको १९२५ मत रहेको थियो । अहिले चौतारा साँगाचोकगढी नगरपालिकामा कुल मतदाता ३८ हजार ६६६ रहेको छ ।

    अन्य उमेदवारको तुलनामा तामाङ नै लोकप्रिय

    सबैसँग मिलनासर र घुलमिल हुने स्वभावाका मेयर तामाङले चालु आर्थिक वर्षमा नगरपालिकाबाट प्रत्यक्ष रुपमा जनतासँग भेट्न् सक्ने लोकप्रिय कार्यक्रम अघि सारेका थिए । नगरबासी कसैको मृत्यु हँुदा किरीया खर्च स्वरुप ५ हजार लिएर मृत्युभएका आफन्तहरुलाई स्वम तामाङ भेट्न पुगेका थिए ।

    अप्रत्यक्ष रुपमा यो मतदाताहरुको ‘साइकोलोजी’ लाई आफ्नो पक्षमा पार्ने लोकप्रिय कार्यक्रम थियो । त्यो बाहेक पनि तामाङले तामाङ समुदाय मात्रै होइन अन्य समुदायलाई पनि आर्कर्षित गर्नका लागि अन्य कार्यक्रमहरु नगरपालिकामा सञ्चालन गरेका थिए । ती सबै कार्यक्रम र योजनाले गर्दा पनि तामाङको पक्षमा धेरै कार्यकर्ता र मतदाता देखिएका छन् ।

    आफन्त नातागोतासहित कम्तीमा २ हजार देखि २५ सय तामाङसँग व्यक्तिगत मत रहेको र ५ वर्षे कार्यकालमा नराम्रो काम नगरेकाले पनि यो पटक तामाङलाई उमेदवार बनाउनुपर्नेमा उनी निकटहरुको जोड रहेको छ ।

    ‘माओवादी केन्द्रले आफ्नो पक्षमा मात्रै निर्णय गर्ने गरेको उनीहरुको आरोप छ । भरतपुरमा पुन? छोरीलाई दो¥याउन हुने अनि सोझो तामाङको छोराले एक पटक फेरी उठ्छु भन्दा उनीहरुलाई किन समस्या भयो त?’ तामाङ निकट माओवादी केन्द्रका एक जिल्ला नेताले प्रश्न गरे । अवसर र निर्णय सबैका लागि बराबरी हुनु पर्छ । सिन्धुपाल्चोकमा पार्टी भित्रको अवसर सबै सापकोटा परिवारमा मात्रै दिनुपर्छ भन्ने छैन,यो पटक उहाँकै पक्षमा निर्णय गरोस नत्र हामी विद्रोह गछौ ती नेताले भने ।

    सिन्धुपाल्चोकमा अधिवेशन र चुनाव आउनासाथ आफूहरुले पदका लागि भिख नै माग्नुपर्ने अवस्थाको अब सधैको लागि अन्त्य हुनु पर्ने तामाङ पक्षधर नेताहरुको भनाई रहेको छ ।

     

  • सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    चौतारा । सत्तारुढ पाँच दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रमा सहमति भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन ।

    केन्द्रमा पाँच दल भने पनि सिन्धुपाल्चोकमा भने सत्तारुढ तीन दलबीच मात्रै चुनाव केन्द्रित बैठकहरू बसेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताहरू बीच चुनावी गठबन्धनलाई कसिलो बनाएर लैजाने विषयमा बैठक बसे पनि तिनै दलका शीर्ष तहका नेताहरुबीच भने बैठक बस्न सकेको छैन ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितका नेताहरू औपचारिक रूपमा एक पटक मात्रै बैठकमा बसेका छन् ।

    शुक्रवार तीनै पार्टीका जिल्ला अध्यक्षसहित बैठक बसेर गठबन्धन गरेर स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय त भएको छ तर शीर्ष नेताहरुबीच सहमति नहुँदासम्म जिल्ला तहका नेताहरूले गरेको निर्णय कार्यान्वयन हुनमा समस्या हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

    तीन दलको बैठक हुँदै गर्दा चौतारामा नै आयोजित कांग्रेसको एक कार्यक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुको भर नहुने भन्दै गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएकाले तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

    ‘अहिले स्थानीय तहमा गठबन्धन गर्‍यो,भोलि संघ र प्रदेशमा एमालेसँग मिल्न सक्छन् ’बस्नेतले भने चितवनमा पनि पहिला हामीसँग गठबन्धन भयो पछि कम्युनिस्टहरू मिले’ ।

    संघ र प्रदेशको चुनावमा माओवादीले कांग्रेसलाई धोका दिएर २३ सिटमा झारेको बताउँदै बस्नेतले कम्युनिस्टको भर नभएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताए ।

    कांग्रेस र माओवादीको आफ्नै दाउ

    कांग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठकमा स्थानीय तह भागबण्डा गरेर जाने तर कसरी भन्ने सवालमा भने दुवै दलका नेताहरूले आफ्ना अडान प्रस्टसँग राखेका छन् । माओवादीले जिल्ला समन्वय समिति सहित ७ स्थानीय तह कम्युनिष्टहरुले पाउनु पर्ने अडान राखेको छ ।

    सात मध्ये एउटा एकीकृत समाजवादीको भागमा परेको छ । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल, भोटेकोसी र लिसंखु पाखर गाउँपालिका आफूले पाउनु पर्ने अडानमा छ ।

    त्यसै गरी समाजवादीलाई मेलम्ची नगरपालिका दिनुपर्ने प्रस्ताव माओवादीले काँग्रेससँगको बैठकमा राखेको छ । तर कांग्रेस यी सबै स्थानीय तह दिन चाहँदैन । झन् समाजवादीको त जिल्लाभर मतदाता नै कम भएकोले कांग्रेस उदार हुन सकेको छैन ।

    कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई भने गठबन्धन नहुँदा आफ्नै नगरपालिकामा समस्या हुने हो कि भन्ने भय छ ।

    ‘जसरी माओवादी चौतारा साँगाचोकगढी नगरपालिका एक्लै भए पनि जित्नेमा विश्वस्त छ,मोहनजी त्यसरी बाह्रबिसे जित्नेमा विश्वस्त छैनन् त्यही भएर मोहनजीलाई पनि समस्या छ’ माओवादीका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई अर्को पनि समस्या देखिएको छ आउने प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन भएन भने अहिले माओवादीले मागेका सबै स्थानीय तह उनकै क्षेत्रमा रहेको छ त्यसले गर्दा पनि बस्नेत समस्यामा देखिएका छन् । क्षेत्र नम्बर १ को बलेफी, जुगल, लिसंखुपाखर र भोटेकोसी माओवादीलाई दिँदा कांग्रेसको भागमा बाह्रबिसे, सुनकोसी र त्रिपुरा सुन्दरी मात्रै पर्छ ।

    दुवै दलका कार्यकर्ता गठबन्धन गर्न नहुने अडानमा

    केन्द्रले कसिलो गठबन्धन बनाउने भनेर जति कडा उर्दी जारी गरे पनि सिन्धुपाल्चोकमा भने माओवादी र कांग्रेसका स्थानीय स्तरका नेताहरू भने गठबन्धन नगरी एक्लै चुनावमा जानु पर्ने अडानमा छन् । शुक्रवार चौतारामा भएको कांग्रेसको कार्यक्रममा समेत धेरै स्थानीय नेताहरूले गठबन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने चर्को धारणा राखेका थिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले त सामाजिक सञ्जालमा हेलम्बुमा कांग्रेस एक्लै काफी भएको र कोहीसँग गठबन्धन गर्नु पर्ने आवश्यकता नै नरहेको भन्दै गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । काँग्रेसका धेरै वडाका सभापतिहरू समेत गठबन्धन नगरी एक्लै मैदानमा जानु पर्ने पक्षमा देखिएका छन् । माओवादीका स्थानीय नेताहरू पनि गठबन्धन गर्न नहुनेमा विभाजित देखिएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेर बाह्रबिसे नगरपालिकामा माओवादीको तर्फबाट मेयरमा प्रत्याशी भएका बुद्धराज बस्नेतले पनि गठबन्धन मन मिल्नेसँग मात्रै हुने बताएका छन् ।

    ‘हामी लामो समयदेखि काँग्रेस भित्र मोहन बस्नेतको ज्यादती सहन नसकेर कम्युनिस्टमा आएका छौ,फेरी मोहन बस्नेतलाई नै बोक्नु पर्ने हो भने कम्युनिस्ट हुनुको के अर्थ भयो र? बुद्धराज बस्नेतले भन्ने गरेका छन् ।

    सबैको आफ्नै दाउ

    तीन दलबीच गठबन्धन गर्ने विषयमा बैठक र छलफल चलिरहे पनि गठबन्धन भित्रका प्रमुख कांग्रेस र माओवादीले गठबन्धनबाहिरका अन्य दलहरूसँग पनि भित्री रूपमा तालमेलका लागि बैठकहरू गरिरहेका छन् ।

    कांग्रेस उच्च स्रोतका अनुसार अन्य स्थानीय तहमा एमाले र कांग्रेस बीच तीव्र प्रतिस्पर्धा भए पनि चौतारा साँगाचोकगढी नगरपालिकामा एमाले र काँग्रेस मिलेर जानु पर्नेमा कांग्रेसका नेताहरूले ‘लबिङ’ सुरु गरेका छन् । ‘चौतारा साँगाचोकगढीमा माओवादीले धेरै स्याङ स्याङ गर्‍यो, उनीहरूको स्याङ स्याङ तोड्न भए पनि यहाँ एमालेसँग तालमेल गर्नुपर्छ जस्तो हामीलाई लागेको छ’,कांग्रेसका एक नेताले भने ।

    तर एमालेका नेताहरूले भने यस विषयमा कुनै जवाफ दिएका छैनन् । एमाले र काँग्रेसका स्थानीय नेताहरू पनि चौतारामा कांग्रेस र एमाले मिलेर जानुपर्नेमा सकारात्मक देखिएका छन् ।

    माओवादी र राप्रपाबिचमा पनि चुनावी सहकार्यको विषयमा छलफल भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा समाजवादीको भन्दा राप्रपाको मत बढी रहेकाले राप्रपालाई उपप्रमुख दिएर भए पनि निर्वाचनमा तालमेल गरेर जान सक्ने गरेर छलफल भइरहेको स्रोतको दाबी छ ।

    त्यस्तै सुनकोसी गाउँपालिकामा पनि कांग्रेसविरुद्ध एमाले र माओवादी गठबन्धन गरेर जानका लागि अधिकांश माओवादीका स्थानीय नेताहरूले दबाब दिएका छन् ।

    निरीह समाजवादी

    एमालेबाट चोइटिएर गएको समाजवादी भने सिन्धुपाल्चोकमा निरीह देखिएको छ । माओवादीले बोके पनि कांग्रेसले खासै भ्यालु दिएको छैन समाजवादीलाई । केन्द्रको गठबन्धनको निर्णय अनुसार एमालेले प्रमुख जितेर समाजवादीमा गएका स्थानीय तहको प्रमुख समाजवादीलाई पाउने सहमति भए पनि सिन्धुपाल्चोकमा त्यो अवस्था छैन ।

    समाजवादीले मेलम्ची नगरपालिकालाई त्यसको आधार मानेको छ । समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल केन्द्रको नीति अनुसार मेलम्चीमा आफूहरूको प्रमुखमा दाबी रहेको बताउँछन् । एमालेबाट उपप्रमुखमा विजयी भएकी भगवती नेपाल समाजवादीमा छिन् ।

    ‘अहिले माओवादीको ‘फेर’ समातेर हिँडेको छ,हामीले पनि खासै ‘भ्यालु’ दिएका छैनौ’ कांग्रेसका एक नेताले भने ‘माओवादीले समाजवादीलाई बोकेर हिँड्छ भने उसैको भाग देओस्, हामी दिँदैनौ’ ती नेताले भने ।

    समाजवादीका नेताहरूले भने आफूहरूले जित्ने भन्दा पनि एमालेका उमेदवारहरुलाई हराउन आफूहरूसँग पर्याप्त मत रहेको बैठकमा जिकिर गर्ने गरेको ती नेताले बताए ।

  • स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    काठमाडौं । प्रदेश १ मा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई चुनावी गठबन्धन जोगाउन मुस्किल हुने सम्भावना बढेको छ ।

    यसको सुरुवात संखुवासभाबाट भएको छ । यहाँ नेपाली कांग्रेसले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको छ । यसको असर प्रदेश १ का अन्य धेरै ठाउँमा पर्ने कांग्रेस नेताहरु बताउँछन् । स्थानीय तह चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमति तल्लो तहसम्म कार्यान्वयन गर्न समस्या भइरहेको छ । गठबन्धनका दलहरुबीच धेरै जिल्लामा सहमति जुट्न सकेको छैन । पछिल्लो समय धेरै ठाउँमा गठबन्धनमा दरार आएका खबरहरु सार्वजनिक भएका छन् ।

    संखुवासभामा लगातार पाँच दिनसम्म चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन सकेन । उल्टै कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गर्‍यो । कांग्रेसको घोषणाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

    अघिल्लो स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो स्वायत्तताको आन्दोलन गरेर एक मत पनि नखसाल्दा जनप्रतिनिधिविहीन सोलुखुम्बुको चर्चित स्थान तिङलामा समेत कांग्रेसले चुनावी गठबन्धन नगर्ने संकेत दिएको छ ।

    पहिले कांग्रेसको गढका रुपमा रहेको हुँदा तिङलामा आफूहरू एक्लैले चुनाव जित्ने कांग्रेस तिङलाका सभापति बालकुमार कार्कीले नेपाल प्रेससँग बताए । उनले भने, ‘हामी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्षम छौं । तिङलामा चुनावी गठबन्धन हुँदैन ।’

    माओवादीले आफ्नो हठ नछाडेकाले तिङ्लामा कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा रहेको कार्की बताउँछन् ।

    ओखलढुंगामा पनि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । तर निष्कर्ष निस्किएको छैन । जसले गठबन्धन तोडिने सम्भावना बढेको छ । ८ स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका ४ गाउँपालिकासहित ६ वटा स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । जिल्लामा ६ वटा स्थानीय तहमा कांग्रेस, एउटामा माओवादी केन्द्र र बाँकी एउटामा सबैलाई मिलाएर जान सकिने कांग्रेसका एक नेता बताउँछन् । कांग्रेसको बढी भाग पाउनुपर्ने दाबीका कारण गठबन्धन हुन नसक्ने अवस्था आएको बताइएको छ ।

    यता उदयपुरमा माओवादी र कांग्रेसको अडानले चुनावी तालमेल हुने सम्भावना क्षीण बनेको माओवादी केन्द्रको जिल्ला सचिवालयका एक नेताले बताए । कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन भइरहेको अवस्थामा जिल्लामा गठबन्धन नहुने उनले बताए ।

    ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै स्थान र त्यसमाथि पनि थपेर स्थानीय तहको नेतृत्व सुम्पिनुपर्ने भए गठबन्धनको के औचित्य भयो ?’, उनले प्रश्न गरे ।

    आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्नुको सट्टा कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटाउने कसरत गरिरहेका कारण संखुवासभामा गठबन्धन नहुने संकेत देखिएको र आफ्नो जिल्लामा पनि यो अवस्था नआउला भन्न सकिने अवस्था नरहेको नेकपा माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए ।

    काग्रेसको अडानकै कारण प्रदेश १ मा गठबन्धन जोखिममा पर्दै गएको माओवादी केन्द्रको प्रदेश कार्यालय सचिव मुक्ति बराल बताउँछन् । उनले भने, ‘माओवादी केन्द्र आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

    पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर कांग्रेस एकलौटी अगाडि बढेमा माओवादी सबै स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको उनले जिकिर गरे ।

    नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा भने जिल्लाको निर्णय मान्य नहुने र सबैतिर गठबन्धन हुने बताउँछन् । उनले भने, ‘संखुवासभामा जिल्ला कार्यसमितिले निर्णय गरेको भए पनि स्थानीय तहमा छलफल जारी रहेकोले चुनावमा गठबन्धन हुन्छ ।’

    संखुवासभाको कारण प्रदेश १ मा गठबन्धन हुने सम्भावना कम भएको अन्य दलको भनाइ छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘हरेक स्थानीय तहमा अनुकूलता हेरेर चुनावी गठबन्धन हुन्छ । संखुवासभाले गरेको निर्णयले केही असर पर्दैन ।’

    जितेका स्थानभन्दा केही बढी स्थानमा कांग्रेसले मात्रै होइन सबैले दावी गर्नु नौलो नभएको भन्दै थापाले त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जीत हासिल गरेका स्थानीय तहसहित अनुकूल हेरेर गठबन्धनमा आफ्नो माग राखिरहेको छ । तर यति हुँदैमा गठबन्धन तोडिने सम्भावना भइहाल्दैन ।’

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।

  • माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संखुवासभाले नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलहले जिल्लाका १० स्थानीय तहमा चुनावी तालमेलको सहमति गर्न सकस भइरहेको आरोप लगाएको छ ।

    माओवादी संखुवासभाका अध्यक्ष टेकमान राई उदयले शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले एकतर्फी रुपमा आफूहरुसँग गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको स्पष्टीकरण दिएका हुन् ।

    कांग्रेसले आफूहरुलाई अति उपेक्षा र अवमूल्यन गरेको आरोपसमेत अध्यक्ष राईले लगाएका छन् । जसले गर्दा जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा सहमति गर्न नसकिएको उनले उल्लेख गरेका छन् ।

    ‘आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्न र अन्य सहयात्री दलहरुको अस्तित्व स्वीकार्दै आवश्यक लचकता अपनाउनुको सट्टा नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेुले एकलौटी रुपमा गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिबाट कोही पनि तरंगित र भ्रमित नहुन हाम्रो पार्टी सबैसँग अनुरोध गर्दछ ।’

    अध्यक्ष राईले माओवादी आफ्नो राजनीतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम रहेको जिकिर गरेका छन् । ‘हाम्रो पार्टी पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयमा दृढ र प्रतिबद्धसमेत छ’, उनले भनेका छन् ।

    माओवादी जिल्ला संयोजक राईले कांग्रेस पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णय उल्लंघन गरेर एकलौटी अगाडि बढे आफ्नो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको जनाएका छन् ।

  • प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    रूपन्देही । प्यूठानको नौबहिनी गाउँपालिकामा पाँचदलीय सत्ता गठवन्धन भत्किएको छ। यहाँ राष्ट्रिय जनमोर्चाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपछि जनमोर्चा एक्लिएको हो ।

    सत्तारुढ तीन ठूला दलले आफूहरुलाई चुनावी गठबन्धनमा सहभागी नगराएको जनमोर्चा प्यूठानका सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले बताए ।

    ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौं भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौं’, पहाडीले भने, ‘पुरानै अनुहार दोहोरिने गरी भागबन्डा गरेको खबर छ । हामीलाई पुनः बैठकमा बोलाएनन् ।’

    नौबहिनी गाउँपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा पनि जनमोर्चाविरुद्ध कांग्रेस र माओवादी मिलेर लडेका थिए । वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई र तीन–तीन वटा वडा कांग्रेस र माओवादीलाई भागबन्डा गरिएको बताइएको छ । फोप्लीको वडामा विवाद रहँदा सहमति भएको छैन ।

    गाउँपालिका अध्यक्षमा बहालवाला अध्यक्ष शिव रिजाल र उपाध्यक्षमा घनबहादुर बुढालाई दोहोर्‍याउने सहमति भएको छ । अध्यक्ष रिजाल कांग्रेस र उपाध्यक्ष बुढा माओवादी केन्द्रका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा नौबहिनीमा कांग्रेस र माओवादीविरुद्ध जनमोर्चा र एमालेले पनि तालमेल गरेका थिए । जनमोर्चाका पहाडी यसअघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

    जनमोर्चाले वडा नम्बर ४ र ६ को अध्यक्ष माग गरेपछि सहमति हुन नसकेको कांग्रेसका जिल्ला सदस्य एवं नौबहिनी गाउँपालिका अध्यक्ष
    शिव रिजालले जानकारी दिए ।

  • प्रचण्ड भन्छन्- संविधान मास्न खोज्ने षड्यन्त्रविरुद्ध एकजुट हौं

    प्रचण्ड भन्छन्- संविधान मास्न खोज्ने षड्यन्त्रविरुद्ध एकजुट हौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

    देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको प्रचण्डको दाबी छ । मधेसी, थारु, आदिवासीलगायत सवै समुदायको पहिचान र अधिकार माओवादी कै कारण भएको पनि उनले जिकिर गरे ।

    कार्यक्रममा मधेस र सुदूरपश्चिम क्षेत्रका विभिन्न दल त्यागेकाहरूलाई स्वागत गरिएको थियो ।

  • सबै जातिको पहिचान सहितको अधिकार माओवादीले स्थापित गरेको हो : प्रचण्ड (भिडिओ)

    सबै जातिको पहिचान सहितको अधिकार माओवादीले स्थापित गरेको हो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान मास्ने र परिवर्तन उल्ट्याउने प्रयास भएको बताए । ‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौ र सफल भयौँ ।’

    माओवादीले नै सबै जातजातिको पहिचान सहितको अधिकार स्थापित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यो अधिकार हरण गर्ने प्रयास भइरहेको पनि बताए ।

    ‘मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित, थारु महिला सबै समुदायको पहिचान र अधिकारको लडाई माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो,’ उनले भने ।

    त्यो परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध देश एकत्रित हुने लागेको पनि अध्यक्ष दाहालले बताए ।

    उनले भने,‘यसलाई उल्ट्याउन खोज्ने तत्त्वका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट प्रक्रियामा मैले महसुस गरेको छु ।’

  • खुमलटारको बैठकमा प्रचण्डले भने- गठबन्धन सहज छैन, कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्छ

    खुमलटारको बैठकमा प्रचण्डले भने- गठबन्धन सहज छैन, कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्छ

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ ।

    केन्द्रीय कार्यालयको विस्तारित सो बैठकमा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू उपस्थित थिए ।

    बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । स्रोतकाअनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

    नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् ।

    ‘अध्यक्ष कमरेडले सकेसम्म बार्गेनिङ गरेर तालमेल गर्ने । सहमति नभएको अवस्थामा कांग्रेससँग स्वस्थ प्रतिस्पर्धा गर्न सकिने उहाँले बताउँनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही स्थानमा गठबन्धनका अन्य दल मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको धारणा रह्यो । सोहीअनुसार छलफल भयो ।’

  • खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल

    खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक, निर्वाचनबारे छलफल

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।

    गठबन्धनका आबद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

  • प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

    प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।

    माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको दाबी गरे ।

    ‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

    प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँ थिए भने एमालेसँग ४० प्रतिशत हैन ६० मै आफूहरू हुने बताए ।

    ‘परार एमालेसँग एकता गर्दा हामी नफुटेका थियौं भने ६०/४० हैन हामी ६० हुन्थ्यौ । समाजवादतिर लान सजिलो हुन्थ्यो ।’

    एमालेका सबै नेता खराब नभएको उनको भनाइ थियो ।

    ‘चाबी नेतृत्वको हातमा हुन्छ त्यहाँ नेतृत्वले यति भ्रमदिएर राखेको छ । इमान्दार व्यक्तिहरूलाई बन्दी बनाइएको छ । तिनीहरूलाई हामीले साथ लिएर नेतृत्व गर्न जरुरी छ ‘, प्रचण्डले भने ।

    जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

    मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’

    प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।