Category: माओवादी केन्द्र

  • प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ: वर्षमान पुन

    प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ: वर्षमान पुन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन्। सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा उनले आपत्ति  जनाए।

    प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उनको भनाइ थियो ।

    सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसकेको टिप्पणी गरे । उनले नेपाल भूकम्पको उच्च जोखिमका रहेको उल्लेख गर्दै सम्भावित विपत्को पूर्वतयारीमा यथेष्ट ध्यान दिएर काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

    साथै रुकुपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहतको व्यवस्था गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरे ।

    भारतको जम्मु कस्मिर क्षेत्रमा पर्यटकप्रति लक्षित गरी भएको हिंसात्मक आक्रमणको सांसद पुनले भत्र्सना गरे । उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो संसद्बाट पारित गर्न माग गरे । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सङ्घीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित लामो समयदेखि रोकिएका विधेयक पारित गर्नुपर्नेमा सांसद पुनले जोड दिए ।

  • गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ

    गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका प्रचण्डले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री एकैपटक भएको स्मरण गरे ।

    पाण्डे कांग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गत चुनावमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । .

    प्रचण्डले भने, गोरखाबाट निर्वाचित भएका उहाँ मुख्यमन्त्री र म प्रधानमन्त्री सँगै बन्यौं । यहाँ फेरि केही काम बढाउने तयारी गर्दागर्दा हामी दुईटा पार्टी दुईतिर भयौं । त्यसको समीक्षा त म अहिले गर्दिनँ । राजनीति हो के-के हुँदै जान्छ अहिले भन्न सकिँदैन । भोलि अर्कै हुन पनि सक्छ ।’

    उनले गोरखाको विकासका लागि मुख्यमन्त्री पाण्डेसँग आफ्नो कुराकानी भइरहेको बताए ।

    उनले थपे, गोरखाको विकासको निम्ति सरकारमा सँगै भएपनि नभएपनि हामीले कसैलाई भेदभाव नगरी निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भन्नेमा तयार छौं । उहाँ र मैले गरेको चुनावी प्रतिवद्धता पूरा गर्न हामी तयार छौं ।

    उनले प्रचण्डले जनताको भावना अनुसार गोरखामा काम गरेन भन्यो भने आफूलाई अन्याय हुने भन्दै कामको फेहरिस्त सुनाए ।

  • माओवादी महासचिव भन्छन्- ओली सरकार अहिले फेरिन्न, अस्थिरतातर्फ धकेल्नु हुन्न (भिडि‌ओ)

    माओवादी महासचिव भन्छन्- ओली सरकार अहिले फेरिन्न, अस्थिरतातर्फ धकेल्नु हुन्न (भिडि‌ओ)

    सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिलेको राजनीतिक परिवेशमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको सम्भावना नदेखिएको बताएका छन्।

    शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले बाहिरी चर्चा र अड्कलहरू चले पनि वस्तुगतरूपमा हेर्दा सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार चाँडै नै ढल्ने बताइरहँदा महासचिव गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    उनले भने, ‘छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई निरन्तरता दिनु नै उपयुक्त उपाय हो।’

    देशमा देखिएको शिक्षक, कर्मचारी र चिकित्सकहरूको आन्दोलन लगायत समस्याहरूको समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै गुरुङले सहमति नहुँदासम्म सरकार फेरबदलको औचित्य नरहेको बताए।

    उनले सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू र केही व्यक्तिको अनुमान विपरीत मध्यावधि निर्वाचनको समेत सम्भावना नभएको बताए।

    साथै, केही अराजक तत्त्व र भ्रष्ट सहकारी माफियाको स्वार्थका कारण देशमा अराजकता बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, सबै असन्तुष्ट पक्ष र दलहरूबीच संवादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राखे।

    गुरुङका अनुसार माओवादी केन्द्रभित्र पनि सरकार परिवर्तनबारे कुनै आधिकारिक छलफल भएको छैन् ।

    त्यस्तै, पछिल्लो समय राजावादी समूहद्वारा काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनप्रति टिप्पणी गर्दै उनले त्यसलाई सामन्ती प्रवृत्तिको परिणाम भनेका छन्।

    गणतन्त्रको महत्त्व जनतामा बुझाउनुपर्ने आवश्यकतामा समेत उनले जोड दिएका छन्।

    राजा फर्किनेबारे उठेका केही विचारप्रति प्रष्ट प्रतिक्रिया दिँदै उनले त्यसलाई न केवल असान्दर्भिक, अव्यवहारिक समेत रहेको बताए।

  • बारपाकबाट प्रचण्डले भने- विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ

    बारपाकबाट प्रचण्डले भने- विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको कुरालाई ख्याल राख्दै अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।

    ०७२ सालमा गएको भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक पुगेका प्रचण्डले विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको बताए।

    बारपाक पुगेका प्रचण्डको भनाइ जस्ताको त्यस्तै-

    एक दशकअघि आजकै दिन गएको महाविनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाकमा म हिजोदेखि जनतासँग छु। त्यो भीषण विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प साँच्चै अद्वितीय छ।

    पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा अनेकौँ चुनौतीहरू सामना गरिरहेको अनुभव गरिरहेको छु।

    दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले बारपाकसहित भूकम्पबाट अति प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःसंरचनामा केन्द्रित प्रयास गरेँ। स्थानीय जनताको सहयोग र साथका कारण धेरै कामहरू अघि बढे।

    तेस्रो कार्यकालमा पनि प्रकोप व्यवस्थापनका क्षेत्रमा उल्लेख्य पहलकदमी भएको विदितै छ। जनताबाट प्राप्त विश्वास, सुझाव र प्रेरणाले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।

    हामीले विगतमा एकताबद्ध भएर विपत्तिको सामना गर्न सकेका थियौँ, अब पनि साझा उद्देश्यका साथ विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ भन्ने दृढ विश्वास लिएको छु।

    नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको मुलुक हो। अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक छ।

  • प्रचण्डको ब्रिफिङ- नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ

    प्रचण्डको ब्रिफिङ- नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु धेरै नभएको निष्कर्ष छ ।

    आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली सरकार सत्तारुढ दलभित्रकै अन्तर्विरोधको कारणले ढल्ने परिस्थितिमा पुगिसकेको ब्रिफिङ गरे ।

    बैठकमा सहभागी सांसदले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’

    उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए ।

    ती नेताले थपे, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । कांग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’

    शिक्षा विधेयक र समग्र राष्ट्रिय राजनीतिको विषयमा प्रतिपक्ष दलहरूसँग एक पटक बस्ने र त्यसपछि कांग्रेससँग छलफल गरेर एउटा समझदारी गरेर अघि बढ्ने संकेत अध्यक्षले गरेको सुनाए ।

    ती नेता थप्छन्, ‘ओलीजीको सरकार लम्बियो भने अलोकतान्त्रिक, स्वेच्छाचारी कदम बढ्ने हुँदा प्रतिगामी शक्तिहरूलाई फाइदा पुग्न सक्छ । उहाँ यो संविधान नै खारेज भएपनि होस् भन्ने तहसम्ममा पनि जान सक्नुहुन्छ । त्यसैले हामीले कांग्रेससँग खुला छलफल गरेर अरू प्रतिपक्ष दलहरूलाई पनि विश्वासमा लिएर साझा धारणा बनाएर जानुपर्छ ।’

    ती नेताले राजनीतिक सम्भावनाको खेल भएको भन्दै बजेटअघि नै सरकार ढाल्ने परिस्थिति परिपक्व बन्दै गएको सुनाए ।

    कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएपछि सरकारको आयुबारे विभिन्न टिका टिप्पणी भइरहेको छ। हिजो कांग्रेसका कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै सभापति देउवा फर्केपछि नयाँ ढंगले अघि बढ्ने संकेत गरेका थिए ।

  • माओवादीको जागरण अभियान दुई महिनापछि वैशाख १७ मा कञ्चनपुर पुगेर टुंग्याइँदै

    माओवादीको जागरण अभियान दुई महिनापछि वैशाख १७ मा कञ्चनपुर पुगेर टुंग्याइँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान वैशाख १७ गते टुंग्याउने भएको छ ।

    झापाको कचनकवलबाट फागुन १२ गते सुरु भएको अभियान कञ्चनपुर पुगेर दुई महिनापछि टुंग्याउन लागेको हो ।

    झापादेखि सुरु भएको अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर टुंग्याउने सचिव हितराज पाण्डेले बताए। उनका अनुसार अभियान अब तीन जिल्लामा मात्रै बाँकी छ ।

    तराई-मधेश जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उनले बताए । अभियानमा जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरेकाले संगठनलाई थप मजबुत बनाएको उनको बुझाइ छ।

    अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरूको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरूलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन्।

  • प्रचण्डको ब्रिफिङ- प्रतिगामीलाई पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा संसदमा सक्रिय भूमिका खेल्ने

    प्रचण्डको ब्रिफिङ- प्रतिगामीलाई पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा संसदमा सक्रिय भूमिका खेल्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा जित भएको बताएका छन् ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन् ।

    अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुवै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,” उनले भने।

    उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।

    काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उँचो बनाएको उनको भनाइ थियो।

    ‘तराई-मधेश जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र यसले संगठनलाई थप मजबुत बनाएको जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । साथै, प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे ।

    संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

    शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।

  • ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी (भिडिओ)

    ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।

    उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

    कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।

  • पूर्वराजाले अघि सारेको ‘पृथ्वीपथ’ प्रचण्डद्वारा अस्वीकार, दिए यस्तो चेतावनी

    पूर्वराजाले अघि सारेको ‘पृथ्वीपथ’ प्रचण्डद्वारा अस्वीकार, दिए यस्तो चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रद्वारा अघि सारिएको ‘पृथ्वीपथ’ को अवधारणालाई खारेज गरिदिएका छन् । केही मान्छेले असम्भव कुरा गरेर हिँडिरहेको भन्दै उनले यो उनीहरुकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी पनि दिए ।

    आज माओवादी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले नयाँ प्रसंग कोट्याएका थिए ।

    एक पत्रकारले सोधे, ‘हामीले माक्र्सपथ, लेनिनपथ, माओपथको धेरै कुरा गर्यौं, अब पृथ्वीपथमा जाउँ भनेर एउटा पक्षबाट कुरा आएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?’

    प्रचण्डले जवाफ दिए, ‘यस्तो असम्भव कुरा केही मान्छेले बोकेर हिँडेका छन् । यो उहाँहरुको लागि नै दुर्भाग्यपूर्ण हुन्छ । यस्तो उल्टोबाटो हिँड्ने कुरा नगर्दा हुन्छ ।’

    उनले थपे, ‘इतिहास धेरै अगाडि बढिसक्यो । लेनिनबाट अगाडि बढेर कहाँ पुगिसक्यो । त्यसो भएको हुनाले अगाडिपट्टि हेर्नुपर्यो, पछाडि फर्किनुभएन ।’

    त्यसो भए पृथ्वीपथ मान्नुहुन्न भन्ने अर्को प्रश्नमा प्रचण्डले तर्किँदै भने, ‘पथ भन्ने कहिल्यै भएकै छैन त कसरी मान्ने ?’

    पूर्वराजा ज्ञानेन्द्र शाहले हालै नयाँ वर्षको सन्देशमा अब देश पृथ्वीपथमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

    माओवादी नेता वर्षामान पुनलाई नि पत्रकारले सोधे, ‘अब नेपाल सुहाउँदो पथ चाहियो भनिरहेका छन्, तपाईं के भन्नुहुन्छ ?’

    पुनले जवाफ दिँदै भने , ‘नेपाल सुहाउँदो पथ छ त– संविधान पथ, लोकतान्त्रिक गणतन्त्र पथ, संघीयता र धर्मनिरपेक्षता पथ । यसैमा छौं हामी । अहिलेको सन्दर्भमा यो उपयुक्त छ । यही सबैको साझा पथ हो । यसमा प्रतिवद्ध रहँदै समाजवादी पथमा जान चाहन्छौं ।’

  • शिक्षकलाई उकास्दै प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस् (भिडिओ)

    शिक्षकलाई उकास्दै प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको बताए ।

    उनले शिक्षकहरुको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री शिक्षकलाई गाली गर्ने, अपमानीत गर्ने र हप्काउनेबाहेक केही नगरेको बताए ।

    उनले भने, ‘लाखौं शिक्षक र विद्यालयहरु अहिले संकटमा छ । शिक्षकहरुको माग सम्बोधन गर्नु त कता हो कता प्रधानमन्त्री उनीहरुलाई नै अपमानीत गर्नमा लागिरहेका छन् ।’

    उनले सरकारले शिक्षकहरुको मागलाई हल्का रुपमा नलिन चेतावनी दिए। उनले यो सरकार आफ्नै बोझा थाम्न नसकेर सिद्धिने दाबी गरे ।

    उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको छ । पटक पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, शिक्षकहरूको अझै धेरै छ ।’

     

  • प्रचण्डको प्रण- माओवादी सिद्धियो भन्दै जहिले अपमान गर्छन्, हामी उठेर आउँछौँ (भिडिओ)

    प्रचण्डको प्रण- माओवादी सिद्धियो भन्दै जहिले अपमान गर्छन्, हामी उठेर आउँछौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरेका छन् ।

    कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो काम गरिदिउन् भन्ने जनताको चाहना भएको बताए । उनी कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्तित देखिए ।

    दाहालले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनमा सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पनि आज सङ्कल्प गर्नुपर्ने दिन हो ।’

    उनले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै काँधमा भएको जिकिर गरे ।

    प्रचण्डले थपे, ‘यो कुनै अहंकारको कुरा होइन, यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो । अहिले हामीले जे गरिरहेका छौँ । प्रतिक्रियावादी र अवसरवादीहरूले हामीलाई जहिले पनि अपमानित गर्ने, सिद्धियो माओवादी भनेर घोषणा गर्छन्, तर हामी उठेर आउँछौँ । जनयुद्धको बेलामा पनि त्यस्तै घोषणा गरेका थिए । तर, हामीले जनयुद्ध सफल बनाएर यहाँसम्म आइपुगेका छौँ ।’

    उनले विगतका कमीकमजोरीलाई सच्याएर जनताको बीचमा जाने संकल्प गर्नु नै सच्चा कम्युनिस्ट भएको जिकिर गरे । उनले माओवादी अरू पार्टीभन्दा फरक रहेको दाबी गरे ।

  • माओवादीबारे घनश्याम- क्रान्ति गर्छ भन्नु नै बेकार

    माओवादीबारे घनश्याम- क्रान्ति गर्छ भन्नु नै बेकार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्र आफ्नो पार्टीसँग सहकार्यमा भएपनि कुनै सिद्धान्त नभएको टिप्पणी गरेका छन् ।

    कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले क्रान्ति गर्ने कुरा बेकारको भएको दाबी गरे ।

    उनले भने, ‘माओवादीले हाम्रो बलमा गणतन्त्र आयो, हामीले ल्याएको हो । त्यसैले यसको भोग पनि हामीले नै गर्नुपर्छ भन्ने उसको तर्क छ । मधेश दर्गुदैछ । आँखा काठमाडौंमा छ, यो तरिकाले हुँदैन । अहिले यो सरकार गएर कांग्रेस आओस् भन्छ, अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेर यो मुलुकको समस्याको समाधान हुन्छ ?’

    उनले आज प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीको हस्तक्षेपले देशको समस्याको समाधान हुने बताएको भएपनि भोलि के भन्छन् भन्ने थाहा नहुने टिप्पणी गरे ।

    उनले मधेशवादीहरु क्षेत्रीय पार्टी भएकाले राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गरे ।

  • नारायणकाजीको प्रस्ताव- कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र एकता प्रयास गरौं

    नारायणकाजीको प्रस्ताव- कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र एकता प्रयास गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी पार्टीहरुबीच सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन्।

    कम्युनिष्ट स्थापना दिवसमा आयोजित विचार गोष्ठीमा बोल्दै वामपन्थी पार्टीहरुको पनि वामपन्थीकण गर्न आवश्यक रहेको बताए।

    उनले भने, ‘कम्युनिष्ट पार्टीहरुसँग जोजोसम्म एकता र धुब्रिकरणको सम्भव छ उनीहरुसँग प्रक्रिया अघि बढाउने र सबै वामपन्थी पार्टीहरुको वामपन्थीकरणको लागि प्रयत्न गर्ने, वामपन्थी पार्टीहरुलाई वामपन्थीकरण गर्न सकिन्छ।’

    उनले अहिलेको सरकार यथास्थितीवादको मुख्य बाहक भएको आरोप लगाए।

    उनले भने, ‘यथास्थितीवाद, सत्ता लोपुपता, भ्रष्टाचार र निरंकुशता, मुख्य पक्ष बनेको छ, त्यो यथास्थितीवादलाई परास्त गर्दै हामीले प्रतिगमन जसको बलमा अगाडि बढेको छ। त्यसलाई चाहिँ परास्त गर्नुपर्छ। अहिले प्रतिगमनकारीहरुले टाउको उठाइरहेका छन्, गणतन्त्रवादीहरु एक हुनुपर्यो भन्ने र यथास्थितीवादमाथिको हाम्रो प्रहार निरंकुश प्रवृत्ति कांग्रेस, एमाले र यथास्थितीवादीमाथि हुनुपर्छ।’

  • माओवादी केन्द्र विराटनगरमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी

    माओवादी केन्द्र विराटनगरमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी

    विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगरको अधिवेशनमा नेतृत्व चयनमा रस्साकस्सी शुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल्ले हिजो उद्घघाटन गरेको अधिवेशनमा महानगर कमिटीको अध्यक्षका लागि चारजना आकाङ्क्षीका रूपमा देखिएका छन् । चार जना आकाङ्क्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ ।

    महानगरको अध्यक्ष बन्न वर्तमान कमिटीका अध्यक्ष नवीन पौडेलसहित उपाध्यक्षहरू दिनेश राजवंशी (देव) र ज्ञानु भट्टराई आकाङ्क्षी छन् । यस्तै वर्तमान सचिव नमिता न्यौपाने समेत अध्यक्षमा मुख्य आकाङ्क्षी हुन् ।

    आकाङ्क्षीका रूपमा वर्तमान उपाध्यक्ष दिनेश राजवंशी र सचिव न्यौपाने लाइन लिन प्रयासरत छन् । उनीहरू नेताहरूकै आड भरोसामा अध्यक्षको लाइनमा उत्रिएका हुन् ।

    राजवंशी शिवकुमार मण्डल लगायतको समर्थनमा अध्यक्षको दाबी गरिरहेका छन् ।

    न्यौपाने भने अध्यक्ष प्रचण्डको ‘मूल लाइन’ को उम्मेदवार बन्न लागेकी हुन् । जिल्ला कमिटीका दोस्रो तहका केही नेताको समर्थन भने भट्टराईलाई पनि रहेको जनाइएको छ ।

    राजवंशी र न्यौपाने भने आ–आफ्नो टिम नै बनाएर अघि बढ्न लागेका हुन् ।

    न्यौपानेको पक्षमा बहुसंख्यक नेताको समर्थन जुटाउन कसरत भइरहेको एक कार्यकर्ताले बताए । तर न्यौपानेले चाहेजस्तो सहज अवस्था भने नरहेको राजवंशी पक्षका नेताको भनाइ छ ।

    वर्तमान कमिटीकै अध्यक्ष पौडेलले आइतबार उद्घाटन सकिएका कारण सोमबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिए । उनले बन्द सत्रको हलको ‘डिमान्ड’ र कार्यकर्ताले महसुस गरेमा आफू दोहोरिन पनि तयार रहेको बताए ।

    ‘स्वाभाविक रूपमा म अहिले अध्यक्ष नै भएको, हलले डिमान्ड गरेमा र कार्यकर्ताले आवश्यकताको महसुस गरेमा अघि आउने हो’ उनले भने ।

    माओवादी केन्द्र विराटनगर महानगर कमिटीका इन्चार्ज भोगेन्द्र यादवले सबैको उद्देश्य सर्वसम्मत नेतृत्व चयन गर्नमा केन्द्रित रहने बताए । त्यसपछि मात्रै निर्वाचनको प्रक्रियामा जाने उनले बताए ।

    ‘हामी सवै जना सर्वसम्मत गर्न लागेका छौँ, भएन भने त निर्वाचन हुन्छ’ उनले भने, ‘अहिले कसैले कसैलाई बोकेको छैन ।’

    स्रोतका अनुसार यादव पनि वर्तमान उपाध्यक्ष राजवंशीकै पक्षमा रहेका छन् । उनले राजवंशीसँगै भट्टराईलाई पनि स्वभाविक दाबेदार रहेको बताउने गरेका छन् । तीन उपाध्यक्ष पद मध्ये सरस्वती ओझा र शारदा मैनालीले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।

    उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीभित्र सबैभन्दा घातक पक्ष नै ‘गुटबन्दी’ भएको बताए । उनले भने ‘अघिल्लो पटक प्रदेश अध्यक्षले आचारसंहिता भनेर सुनाउनु भएको थियो, पार्टी अनुशासन पालन नगर्नेलाई कारबाही गरिन्छ भनेर सुनाउनु भएको थियो, यहाँ पार्टी त्यही रूपले निर्माण हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

    उनले कम्युनिष्ट पार्टीका लागि सबैभन्दा घातक गुटबन्दी हुन्छ, गुटबन्दी गरेर हिँड्ने, पार्टीका निर्णय, नीति, विधि र नेतृत्वभन्दा बाहिर गएर स्वार्थ समूह बनाउने काम गर्‍यो भने त्यो घातक हुने बताएका थिए ।

  • पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन: प्रचण्ड

    पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन: प्रचण्ड

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् । 

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानून र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।

    माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए ।

    अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे ।

  • एमाले र कांग्रेसमा असन्तुष्टि बढ्दो छ : प्रचण्ड

    एमाले र कांग्रेसमा असन्तुष्टि बढ्दो छ : प्रचण्ड

    विराटनगर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेभित्र असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै असन्तुष्टिका कारण सरकार परिवर्तन हुन सक्ने भन्दै परिस्थिति गम्भीर बन्दै गएको उनको दाबी छ ।

    उनले ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने बताए । उनले कांग्रेसलाई समर्थन गर्न सकिने तर भ्रष्टाचारका विषयमा भने कसैको पनि समर्थन नगर्ने बताए ।

    उनले गणतन्त्र खतरामा छैन भन्ने धारणा राखेका छन्। उनले जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा नरहेको स्पष्ट पारे।

    ‘अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्ने सोच्नुपर्ने आवश्यकता छैन। गणतन्त्रको रक्षाका लागि दलहरू एक हुनै पर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक होइन। गणतन्त्रमा हामी एक छौँ र गणतन्त्रकै निम्ति लडेर यहाँसम्म आएका हौँ’, प्रचण्डले भने ।

    उनले वर्तमान गठबन्धनलाई माओवादीको समर्थन नरहेको स्पष्ट पारे। शनिवार बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल केवल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र यसबाट वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको भन्ने चर्चा गलत रहेको बताए।

    ‘वर्तमान गठबन्धनलाई समर्थन गर्ने र त्यसमा जाने कुरा विल्कुल होइन। त्यो भ्रम नपरोस्’, उनले थपे।

    प्रचण्डका अनुसार गणतन्त्र नामले मात्र नभई कामले बच्नुपर्छ। दलहरूले राम्रो काम गर्न सके गणतन्त्र थप संस्थागत हुँदै जाने उनको विश्वास छ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी वा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनको भनाइ छ।

  • सरकार विचौलियाको चङ्गुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड

    सरकार विचौलियाको चङ्गुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड

    रुपन्देही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाको चङ्गुलमा परेको आरोप लगाएका छन्।

    कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै प्रचण्डले सत्ता साझेदार दलका नेताहरु मात्रै होइन सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताए।

    उनले केही विचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको जिकिर गरे। ‘देशमा विकासको गति तीव्र बनाउन विचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ,’ प्रचण्डले भने।

    उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई संरक्षण दिन बनेको आरोप पनि लगाए। प्रचण्डले कुलमान घिसिङ लगायतका योग्य व्यक्तित्वहरूलाई हटाएर सरकार गलत कार्यमा लागेको आरोप लगाए। योग्य कर्मचारीहरू हटाएर भ्रष्टाचारी र आसेपासे नियुक्त गरिएको उनको भनाइ थियो।

    सभामा प्रचण्डले झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गरे। उनले आफू भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गर्दै उक्त मार्ग नागरिकको आर्थिक समृद्धिसँग जोडिएको बताए। प्रचण्डले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएको स्मरण गराउँदै अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौं रुपैयाँको लुटतन्त्र चलाइरहेको आरोप लगाए।

    किसानलाई प्राथमिकतामा नराखी देशको समृद्धि सम्भव नहुने बताउँदै उनले किसान हितमा ठोस काम गर्न सरकारसँग माग गरे।
    भारतसँगको सम्बन्ध सुधार र चीन भ्रमणको क्रममा बन्द रहेका नाका खोल्ने सम्झौता गरेको जानकारी पनि उनले कार्यक्रममा दिए। अन्त्यमा, देशमा स्थायित्व र समृद्धिका लागि राजनीतिक शुद्धता र इमानदारी आवश्यक रहेको उनले स्पष्ट पारे।

    कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्व सांसद इलियास मुसलमानलगायत नेता र कार्यकर्ता प्रवेश गरेका छन् । प्रचण्ड बिहीबार कपिलवस्तुमा आएका हुन् ।

     

  • चितवनबाटै प्रधानमन्त्रीको जवाफ- नलाग्नु पछि सरकार फेरिने हल्लैको

    चितवनबाटै प्रधानमन्त्रीको जवाफ- नलाग्नु पछि सरकार फेरिने हल्लैको

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

    चितवन आइपुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् ।

    ‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ? हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक ठाउँमा आएका हौं’, उनको प्रष्टीकरण थियो ।

    ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै उनले अहिले हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताए । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने जिकिर गरे ।

    चितवनको पर्यटनमा इच्छाकमनाले योगदान दिनसक्ने बताउँदै केन्द्र र प्रदेश सरकारले समेत यहाँको विकासमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

  • द्वन्द्वकालका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

    द्वन्द्वकालका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्।

    नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए।

    ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट गरे।

    उनले भने, ‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौँ ।हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ । हामी सीमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।’

    प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए।

    अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गरे।

  • प्रचण्डलाई कांग्रेसको जवाफ- तपाईँले भनेकै आधारमा सरकार भत्किँदैन (भिडिओ)

    प्रचण्डलाई कांग्रेसको जवाफ- तपाईँले भनेकै आधारमा सरकार भत्किँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने बताएको छ।

    बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताए।

    उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वभाविक हो। उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’

    प्रचण्डले केही दिनयतादेखि कांग्रेसभित्र असन्तुष्टि बढेको भन्दै सरकार ढल्ने दाबी गरेका थिए।

    प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए।

  • भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई, धर्मसंकटमा रेनु

    भरतपुरको विकास आइकन ६ लेन सडक- शिलान्यास र उद्घाटनको संयोग ओलीलाई, धर्मसंकटमा रेनु

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको ६ लेन सडक अहिले यहाँको विकास देखाउने विकास आइकन बनेको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडकको बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ ।

    सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।

    सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । मेडियनमा दुबो लगाउने र आकर्षक फूलहरूका बिरुवा रोपिएको छ । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रसलगायत लाइनिङका काम गरिएको छ ।

    भरतपुरको सहरको विकास आइकन मानिएको सडक निर्माण त लगभग पूरा भइसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अब ट्राफिक लाइटको काम बाँकी छ ।

    तर, योसडक भरतपुरको विकास आइकन मात्रै होइन यहाँको राजनीतिक जसको तानातानमा समेत परेको छ । रमाइलो त के छ भने ६ लेन सडक निर्माण थालनी र नेकपा फुटको थालनी एकै समय भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष मध्ये एक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ माघ १७ मा प्रधानमन्त्रीको हैसियतमा उनले सडक विस्तारको शिलान्यास गरेका थिए ।

    नेकपा फुटको संघारमा रहेको त्यो समयमा तत्कालीन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको पहिलो कार्यकाल चलिरहेको थियो । आफ्नो क्षेत्र भित्र राष्ट्रिय आयोजनामा समेटिएको सडक विस्तारको शिलान्यास समारोहमा मेयर दाहाल उपस्थित भइनन् । शिलान्यासपछि तत्कालीन प्रधानमन्त्री ओलीले नै मञ्चबाट भाषणको क्रममा उपस्थित नागरिकहरूलाई सोध्दै व्यङ्ग्य गरेका थिए, अहिले तपाईँहरूको मेयर कहाँ हुनुहुन्छ थाहा छ ? उहाँ आज पिकनिक खान जानुभएको छ ।

    शिलान्यासमा मेयर अनुपस्थित भए पनि सडक निर्माणको काम अघि बढ्यो । डिभिजन सडक कार्यालयले संघीय बजेटमा सडक निर्माण अघि बढायो । २८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक पटक म्याद थप गर्दै काम सम्पन्न गर्दा सडक विस्तार २०८१ पुसमा सम्पन्न भएको हो । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार २०७९ माघमा सडक विस्तारको काम सकिनुपर्ने थियो ।

    सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    अहिले सडक निर्माणको काम ट्राफिक लाइट जडान बाहेक सम्पन्न भएको छ । संयोग के भयो भने यस सडकको उद्घाटन गर्न पुनः प्रधानमन्त्रीको हैसियतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै आउने भएका छन् । भोलि अर्थात् वैशाख ५ गते यो सडकको उद्घाटन लगायतका केही औपचारिक कार्यक्रमका लागि प्रधानमन्त्री ओली चितवन आउँदैछन् ।

    प्रधानमन्त्री चितवन आउने भएपछि माओवादी विचारधारा राख्ने मानिसहरूले रेनु दाहालको अगुवाइमा सम्पन्न गरेको सडक भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना गरिरहेका छन् । भने एमाले लगायतका अन्य दलहरूले संघीय सरकारको बजेटमा भएको सडक विस्तारलाई एउटा मेयरले गरेको विकास भन्न नहुने तर्क गरिरहेका छन् ।

    अहिले पनि एमाले माओवादीको सम्बन्ध सङ्लिएको संकेत देखिएको छैन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले त चितवन नै आएर नयाँ वर्षसँगै यो सरकार फेरिने समेत दाबी गरेर काठमाडौँ समेत फर्किन भ्याएका छैनन् । यस हिसाबले हेर्दा यो सडक विकास आइकन मात्रै होइन भरतपुरको राजनीतिक प्रतिस्पर्धाको समेत आइकनको रूपमा मानिएको छ ।

    नेकपा एमालेका जिल्ला नेता तथा कार्यकर्ता प्रचारात्मक शैलीका कार्यक्रम गरिरहेका छन् । उनीहरूले उक्त कार्यक्रमको पूर्व सन्ध्यामा आज दिउँसो सोही सडक क्षेत्रमा मोटरसाइकल र्‍यालीको समेत आयोजना गरेका छन् ।

    यही पृष्ठभूमिममा प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगर प्रमुख रेनु दाहाल प्रधानमन्त्री आउने सडक उद्घाटन समारोहमा उपस्थित होलिन्, नहोलिन् भन्ने आशंका पनि छँदैछ । मान्छेहरूले अहिले पनि रेनु दाहाल उक्त कार्यक्रममा सहभागी हुन्नन् भन्ने आँकलन गरिरहेका छन् ।

    मेयर रेनु सडक उद्घाटनमा जान्छिन् ?

    भरतपुरको ६ लेन सडक एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गत भरतपुरमा रहेको सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिएको हो ।

    सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडक क्षेत्रमा पर्ने ६ किलोमिटरको सबै काम डिभिजन सडक कार्यालय भरतपुरमार्फत गरिएको हो । जसमा सडक विस्तार, सडक बत्ती, हरियाली लगायतका काम भएको छ ।

    उनका अनुसार सडकमा ट्राफिक लाइट जडान गर्नका लागि टेण्डर आह्वान गर्न लागिएको जानकारी दिए । ट्राफिक लाइट जडान पनि संघीय बजेटमार्फत हुने जनाउँदै उनले अहिले भने भोलिको उद्घाटनको तयारीमा रहेको नेपाल प्रेसलाई बताए ।
    संघीय सरकारमार्फत भएको काम जुन कार्यालय मातहत भएको हो उसैको आयोजनामा उद्घाटन हुने प्रचलन छ । भोलिको उद्घाटन पनि सडक डिभिजन कार्यालयले नै गर्दै छ ।

    अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री उद्घाटन कार्यक्रममा सहभागी हुने निश्चित भएको प्रमुख सिनियर डिभिजन इन्जिनियर लामिछानेले बताएका छन् ।

    यसैबीच जिल्लाका सबै जनप्रतिनिधिलाई पनि निमन्त्रणा पठाइसकेको उनले जानकारी दिए । हामीले चितवनका निर्वाचित जनप्रतिनिधि, स्थानीय पालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख सबै जनालाई निमन्त्रणा पठाइसकेका छौँ, उनले भने, ‘सबैजनाले सहभागी हुने बताउनुभएको छ ।’

    नेपाल प्रेससँगको कुराकानीले डिभिजन प्रमुख लामिछानेले भरतपुर महानगरपालिकाको मेयरलाई पनि निमन्त्रणा पत्र पठाइसकेको बताएका थिए । तर, बिहान साढे ११ बजेसम्म भने आफूले निमन्त्रणा पत्र नपाएको मेयर दाहालले बताएकी छन् ।

    देशको प्रधानमन्त्री आउने कार्यक्रममा म नजाने कुरै भएन, भरतपुर महानगरका मेयर दाहालले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘मैले निमन्त्रणा पाइसकेको छैन । आधिकारिक निम्ता पाएँ भने कार्यक्रममा सहभागी हुनेछु ।

  • प्रचण्डको ‘ब्ल्यांक चेक’ मा देउवालाई छैन भर- ओलीसँगै सहकार्यको रहर

    प्रचण्डको ‘ब्ल्यांक चेक’ मा देउवालाई छैन भर- ओलीसँगै सहकार्यको रहर

    काठमाडौं । एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति एकपछि अर्को गर्दै कांग्रेसका नेताहरू सार्वजनिक वितृष्णा पोख्न थालेका छन् ।

    उच्चस्तरीय संयन्त्रमै रहेर काम गरेका र सरकारलाई सफल बनाउन सुरूआती दिनमा निकै खटिएका कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा नै आलोचनामा उत्रिएपछि संशय बढेको हो । कांग्रेस नेताहरूले सरकारको विरोध गर्न थालेपछि गठबन्धनको आयुमा नै प्रश्न उठ्न थालेको छ । तर, कांग्रेस-एमाले दुवै दलका नेताहरू गठबन्धन सहमतिअनुसार पूरा कार्यकाल चल्ने दाबी गर्दै आइरहेका छन् ।

    कांग्रेस महामन्त्री थापाले तीन-चार दिनदेखि लगातार सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तारो बनाइरहेका छन् । एक भाषणमा उनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको गम्भीर आरोप लगाए । आज फेरि आफ्नो पार्टीमा ‘बाको शासन नरहेको’ भन्दै ओलीलाई कटाक्ष गरे । संयन्त्रले दिएको सुझाव सरकारले नसुनेको उनको निरन्तर गुनासो छ ।

    महामन्त्री थापाले विगतमा सरकारलाई सफल बनाउन लागिपरेको तर आफूहरू अब ‘राम राम’ भन्ने खालको स्थितिमा पुगिसकेको समेत बताएका छन् ।

    बौद्धिक पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न, तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु भनेर व्यक्तिगतरूपमा जोखिम उठाउन तयार भएको हो । गाली खान तयार भएर शुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति थियो, तर सरकार ट्याक्टरको गतिमा छ ।’

    गगनलगत्तै विश्वप्रकाशले पनि सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाउनुपर्ने ७ कारण बुधबार सार्वजनिक गरे । कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला ओली सरकारप्रति अगाडिदेखि नै रुष्ट सुनिन्छन् । कोइरालाको असन्तुष्टि ओली सरकार गठन भएदेखि नै हो । उनीनिकट अधिकांश नेताले ठूलो दल भएर पनि अहिलेसम्म सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।

    बालुवाटारमा बुधबार बेलुका बसेको उच्चस्तरीय संयन्त्रको बैठक ।

    कोइरालाले शनिबार पनि एक कार्यक्रममा सभापति शेबहादुर देउवाकै अघि कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी गरे ।

    उनले भनेका थिए, ‘कांग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ, किनभने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ ।’

    सरकारको गलत क्रियाकलापलाई गलत भन्न नसके कांग्रेसलाई अफ्ठ्यारोमा पर्ने उनको भनाइ छ । उनी सरकारले संविधान पुनरावलोकन, भ्रष्टाचारविरुद्ध कदम चाल्न नसकेको भन्दै आक्रोशित सुनिँदै आइरहेका छन् । कोइरालाको अभिव्यक्तिपछि देउवाले पनि सांकेतिकरूपमा समर्थन जनाएका थिए, जसले एमालेवृत्तमा तरंग नै ल्याइदियो ।

    प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबारको भेटपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । तर, सरकारविरुद्ध ‘आगो’ ओकलिरहेका महामन्त्री थापा पूर्वनिर्धारित हिजोको बैठकमा सहभागी भएनन् ।

    उनी बाराबाट बैठक सुरु हुनेबेलामा काठमाडौं आइपुगिसकेको भएपनि बालुवाटारतिर फर्किएनन् । बारामा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकारले नगर्नुपर्ने काम धेरै गरिरहेकाले गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका टिप्पणी गरेका थिए । हिजोको बैठकमा महामन्त्री थापामात्रै होइनन् उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी भएनन् ।

    कांग्रेसभित्र असन्तुष्टि चर्किरहेको बेला गृहमन्त्री रमेश लेखकले सरकार सञ्चालनमा कुनै समस्या नभएको र सरकार ढल्ने कुनै सम्भावना नहरेको बताए । उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै असन्तुष्ट नेताहरुलाई भाषण नभइ सरकारको काम तथ्यांकमा हेर्न आग्रह गरे ।

    उनले भने, ‘नेताहरू आ-आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा टिप्पणी मेरो केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ । परिणामले देखाएको छ, राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’

    देउवालाई प्रचण्डको ब्ल्यांक चेक

    कांग्रेसभित्र असन्तुष्टि चर्किरहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नयाँ सरकार बन्ने दाबी गरिदिए । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको सार्वजनिकरूपमै भनिसकेका छन् ।

    कांग्रेसले चाहेमा सरकारबाहिर बसेर वा सहभागी भएर सघाउन तयार रहेको भन्दै प्रचण्डले शेरबहादुर देउवालाई खाली चेक दिएका छन् । अब त्यो खाली चेकमा के कति भर्ने देउवालाई छुट छ ।

    प्रचण्डको अहिको मूल लक्ष्य हो ओली सरकार ढाल्नु । ओलीले आफूसँगको सहमति तोडेर देउवासँग काँध मिलाएयता प्रचण्ड रुष्ट छन् । यद्यपि, कांग्रेससँग सधैँ नरम ।

    आइतबार चितवन पुगेर प्रचण्डले भनेका थिए, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर, परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ, नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’

    प्रचण्डले देउवा तयार भए सरकारबाहिरै बसेर भए पनि समर्थन गर्ने सन्देश बूढानीलकण्ठ पुर्‍याइसकेका छन् । तर, यसअघि नै प्रचण्डबाट पटक-पटक धोका पाइसकेकाले देउवाले विश्वास गर्ने आधार देखेका छैनन् ।

    प्रचण्डको प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत हुने निश्चित छ, किनकी ओलीसँग नेपालको अझै पानी बाराबारको स्थिति छ । त्यसैले प्रचण्डको प्रस्तावमा विश्वास गरे देउवालाई तत्काल प्रधानमन्त्री बन्ने मौका छ । तर, प्रचण्डको विगत हेर्दा र माधवले आलोपालोको अत्तो थापेको सम्झिँदा देउवा ढुक्क बन्न सक्दैनन् ।

    प्रचण्डको प्रस्तावअनुसार देउवालाई प्रधानमन्त्री बन्न रवि लामिछाने नेतृत्वको रास्वपा र राजा ल्याउन आन्दोलनरत राप्रपालाई बाहिर राखेर पनि पर्याप्त संख्या पुग्छ । कांग्रेसका ८८, माओवादीका ३२, नेकपा एसका १० र लोसपाको ४ गर्दा नै १३४ जना सांसद हुन्छन् । देउवाले आँटे त्यसमा जसपाको एउटा फग्लेटो सामेल हुने निश्चित हुन्छ ।

    ७ सांसद रहेका अशोक राई नेतृत्वको जसपा ओलीसँग नजिक रहे पनि उपेन्द्र नेतृत्वको जसपा नेपाल ओली सरकारसँग चर्को असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ । उसले सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म केही पाएको छैन । यो अवस्थामा देउवा प्रधानमन्त्री बन्ने परिस्थिति हुँदा यादवले सहजै स्वीकार्ने छन् । उनीसँग ५ सांसद छन् । जुन देउवालाई प्रधानमन्त्री बन्न पर्याप्त गणित हो । त्यसमा रञ्जिता चौधरी नेतृत्वको नाउपा र सीके राउन नेतृत्वको जनमत पनि जसको सरकार बन्यो उतै जाने जमात हुन् । जनमतसँग ६ र नाउपासँग ४ सांसद छन् । उनीहरूले पनि देउवा प्रधानमन्त्रीको रुपमा अघि बढे सघाउँछन् नै ।

    अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै कांग्रेसलाई सघाउन तयार रहेको बताए पनि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पार्टीभित्र औपचारिक छलफल नभएको दाबी गर्छन् ।

    उनले भने, ‘अध्यक्षले कांग्रेसको हातमा छ, कांग्रेसले निकास दिनुपर्छ भन्नुभएको छ । हाम्रो तहबाट कांग्रेससँग कुनै छलफल भएको छैन । नेतृत्व तहमा भएको कुराकानीबारे जानकारी भएन ।’

    तर, माओवादीका एक पदाधिकारी कांग्रेसभित्रको असन्तुष्टिमा अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति आउनुलाई स्वभाविकरूपमा लिन्छन् ।

    ती नेताले भने, ‘कांग्रेसभित्र पनि अहिले सरकारप्रति असन्तुष्टि छ । त्यही असन्तुष्टिलाई लिएर अध्यक्षले अभिव्यक्ति आएको हो । कांग्रेसका शीर्ष तहसँग नभए पनि दोस्रो तहका नेताहरूसँग त छलफल हुनु स्वभाविक छ । तर यसले आकार लिइसकेको जस्तो बुझेका छैनौं ।’

    उनले संसदीय राजनीतिमा विपक्षीले सत्तापक्षको असन्तुष्टिमा भित्रभित्रै खेज्नु स्वभाविक भएको तर्क गरे । सरकारप्रति कांग्रेसभित्र मात्रै नभइ एमालेमा पनि भित्र उकुसमुकुस रहेको उनले दाबी गरे ।

    यसरी बन्दैछ देउवाको अनुकूल वातावरण

    कांग्रेसमा यो कुरा प्रष्ट हो, अरु नेताहरूले जति धेरै सरकारको विरोध गरेपनि देउवाले नचाहेसम्म केही हुँदैन । आजको मितिमा देउवाले चाहेमा तत्कालै प्रधानमन्त्री बन्न सक्छन, जुन सुविधा र मौका अन्य दल र स्वयं कांग्रेसकै अरु नेतालाई छैन ।

    भूराजनीतिक अनुकूलता पनि देउवालाई छ । ओलीलाई प्रधानमन्त्री बनाएको भारतले पटक्कै रुचाएको छैन भन्ने कुरा एक वर्ष पुग्न लाग्दा पनि भ्रमणको निम्तो नदिनुले प्रष्ट हुन्छ । उनले चीनको भ्रमण गरिसके । दुईपटक मोदीसँग साइडलाइन भेटघाट भएपनि त्यो नेपालकै पहलमा हो ।

    आन्तरिक राजनीतिमा पनि ओलीको लोकिप्रयताको ग्राफ बिस्तारै घट्दै गएको विश्लेषण भइरहेको छ । राजावादी, बालेनवादी, रविवादीदेखि सत्तारुढ कांग्रेसकै एउटा समूह र एमालेबाहेकका सबै कम्युनिष्ट पार्टीहरू उनको विपक्षमा छन् । दुई ठूला दल मिल्दा पनि केही भएन भन्ने भाष्य जबरजस्त स्थापित हुँदैछ ।

    यसरी सबै वातावरण आफू अनुकूल बन्दा पनि देउवालाई डर छ, जुनसुकै बेलामा कम्युनिष्टहरू मिल्न सक्छन् । देउवाले विगतमा कम्युनिष्टहरू मिल्दाको तीतो बिर्सिएका छैनन् । त्यसैले देउवा ०८३ असारसम्म कुर्न तयार रहेको हुनसक्ने विश्लेषण हुने गरेको छ । प्रचण्डसँगको पछिल्लो सहकार्य र उनको उत्ताउलोपनबाट देउवा झस्किएका छन् ।

    ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव लिएर शीतल निवास जानुअघि देउवा र ओली ।

    देउवाको अरु जे-जे कमीकमजोरी भए पनि उनी राजनीतिक इमान अलि बेसी भएका नेताका रूपमा चिनिन्छन् । अन्य दलहरूसँग गरेको समझदारी र सहमतिलाई सहजै तोड्न चाहँदैनन् । त्यसैले पनि उनी एमालेलाई धोका दिएर प्रचण्डको ललिलपपमा नलोभिने विश्लेषण एकथरिको छ । साथै, देउवाकी धर्मपत्नी आरजु राणा वर्तमान सरकारमा महत्वपूर्ण पोर्टफोलियोमा छिन् । त्यसले गर्दा पनि सरकार ढालिहाल्न उनलाई त्यति जाँगर छैन ।

    कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरूले जनाएको असन्तुष्टि सरकारको विकल्प खोज्ने खालको नभएको बताउँछन् ।

    उनले भने, ‘उहाँहरूले सरकारको विकल्प खोज्नेगरी असन्तुष्टि व्यक्त गर्नुभएको होइन । सरकारको कार्यशैली सुधारको लागि हाम्रो गुनासो र सुझाव पनि हो ।’

    उनले प्रचण्डबाट प्रस्ताव आउनुलाई स्वाभाविक रूपमा लिएको बताए ।

    विश्वकर्माले थपे, ‘हामी ०८१ असार १७ गतेको समझदारीमा प्रतिबद्ध छौं । अहिले सरकारको विकल्प खोज्ने पक्षमा छैनौं । सरकारको कार्यशैली थप सुधार आवश्यक छ भन्ने महसुस गरेका हुनाले, अहिले देखिएको समस्या यही सरकारबाटै समाधान सम्भव बनाउने भनेर लागेका छौं ।’

    प्रचण्डको प्रस्ताव औपचारिकरूपमा बूढानीलकण्ठसम्म नआएको उनले बताए ।

    ‘अहिलेसम्म त्यस्तो कुनै औपचारिक प्रस्ताव आएको छैन । हाम्रो सभापतिको जोसँग सहकार्य गर्ने हो त्यसैमा प्रतिबद्ध हुने बानी छ । हिजो प्रचण्डसँग सहकार्य हुँदा ओलीसँग गोप्य कुनै वार्ता सम्झौता गर्नुभएन र अहिले ओलीसँगको सहकार्यमा हुँदा प्रचण्डसँगको सहकार्यको प्रस्तावलाई उहाँले सुन्नुभएको छैन ।’

    यहीबीच प्रधानमन्त्री ओली र देउवाबीच मंगलबार बालुवाटारमा एक घण्टा वार्ता हुँदा एमालेजनले अलिकति सन्तोषको सास फेरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार यो भेट दुई नेताबीचको नियमित हो ।

    उनले भने, ‘सहकार्यको विषयमा बाहिर चलेको हल्लामा कुनै सत्यता छैन । उहाँहरू सहमतिमा प्रतिबद्ध हुनुहुन्छ ।’

    ‘कांग्रेसले चाहेकै दिन सरकारको नेतृत्व लिनसक्छ’

    शेखरनिकट रहेका सांसद सञ्जय गौतमले सरकारबाट सन्तुष्ट हुने अहिलेसम्म कुनै काम नभएको टिप्पणी गरे ।

    उनले भने, ‘हामी टेक्निकल्ली सरकारमा छौं । तर, सरकारमा भएको अनुभूति गर्न पाएका छैनौं । जुन उद्देश्यको लागि यो सरकार गठन भएको हो, त्यो अनुसार काम अघि बढ्न सकेको छैन । संविधान संशोधन, सुशासनलगायतको मुद्दा अहिले जहाँको त्यहीँ छ ।’

    उनले अहिले सरकार बनाउनको लागि मात्रै एमाले र कांग्रेस मिलेको जस्तो देखिएको टिप्पणी गरे ।

    गौतमले थपे, ‘आम जनता पनि यो सरकारप्रति सन्तुष्ट छैनन् । सरकारले त्यो फिल गर्नुपर्‍यो । संयन्त्रले पनि त्यही अनुसारको काम गर्नुपर्‍यो । हामीले सरकारको विरोध गरेको त होइन, तर कार्यशैलीप्रति आम जनताको गुनासो छ, त्यही कुरा हामीले पनि बोलिरहेका छौं । अहिले शीर्ष तहबाट पनि आउन थालेको छ । शेखर दाइले त सुरूदेखि नै भन्दै आउनुभएको कुरा हो ।’

    उनले सरकारको ध्यान मुलुकको स्थिरता कायम कसरी गर्न सकिन्छ, संविधान संशोधन कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

    नेता गौतम ।

    गौतमले थपे, ‘सरकारको नेतृत्व गर्नु र प्रधानमन्त्री बन्नुमात्रै ठूलो कुरा होइन नि । मुलुकलाई स्थिरता दिन्छौं, संविधान संशोधन गर्छौँ भनेपछि दुई तिहाई चाहिन्छ भनेका हौं । मैले सदनमै राष्ट्रिय सरकारको प्रस्ताव पनि राखेको हुँ । तर, यो विषयमा सरकारले पहल त गर्नुपर्‍यो भन्ने हाम्रो माग हो ।’

    एकातिर संविधान संशोधनको काम नै प्रारम्भ नगर्ने अर्कोतिर सुशासनको प्रत्याभूति नै गराउन नसक्ने भएपछि बिस्तारै आक्रोश बढ्दै जाँदा व्यवस्थालाई नै असर गर्ने भएकाले सरकारमा बस्नेहरूले सोच्नुपर्ने उनले बताए ।

    कांग्रेसका अर्का एक नेताले चाहेकै दिन सरकारको नेतृत्व लिने परिस्थिति बन्दै गइरहेको दाबी गरे ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘कांग्रेसले सरकारको नेतृत्व जुनुसुकै बेलामा लिनसक्छ, माओवादीले हामी सरकारमा नगए पनि सहयोग गर्छौ, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाओस् भनिरहेकै छ । आफ्नो नेतृत्वमा सरकार बनाउनु कांग्रेसका लागि ठूलो कुरा होइन ।’

    राजनीतिमा हरेक कुराको सम्भावना हुने तर्क गर्दै ती नेताले थपे, ‘राजनीति सम्भावना खेल हो । हाम्रो पाटोबाट अहिले नेतृत्व लिने त्यो प्रयास भएको छैन । सम्भावनालाई इन्कार गर्न पनि सकिँदैन । हामीले औपचारिक छलफल गरिसकेका छैनौं, तर माओवादीबाट वारम्बार प्रस्ताव आइरहेको कुरा लुकेको छैन ।’

    उनले कांग्रेसले ठूलो दलको भएर अहिलेसम्म नेतृत्व लिन नसकेको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेको सुनाए ।

    ती नेताले थपे, ‘माओवादी त्यो कुरामा क्लियर छ । माओवादी कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्नेमा छ । माओवादीले भनेझैं सरकार बनाउनकै लागि दुई ठूला पार्टीको सहकार्य अप्राकृतिक नै हो । दुईटा ठूला पार्टी मिलेर सरकार बनाउने कुरा त प्राकृतिक हुँदै होइन ।’

    एमाले भन्छ- प्रचण्डको छटपटी र कुण्ठा

    कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढिरहेको बेलामा सोमबार बसेको सचिवालय बैठकमा पनि यसबारे छलफल भएको थियो । तर, प्रधानमन्त्री ओलीले केही नेताहरूले असन्तुष्टि जनाए पनि सभापति देउवा प्रतिबद्ध रहेको ब्रिफिङ गरेका थिए ।

    बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मकरूपमा लिएको निष्कर्ष बैठकले निकालेको सुनाए ।

    बैठकपछि उनले भने, ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकै तहमा संयन्त्र बनाएका छौं । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौं ।’

    उनले कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको आरोप लगाए । प्रचण्डले सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा पोख्नको लागि सरकार परिवर्तनको हल्ला चलाएको जिकिर ज्ञवालीको छ ।

    एमाले उपमहासचिव ज्ञवाली ।

    उनीमात्रै होइन प्रमुख सचेतक महेश बर्तौलाले पनि सरकार परिवर्तनको कुनै सम्भावना नभएको दाबी गरे ।

    उनले भने, ‘हामी भिन्न राजनीतिक दल हौं, फरक राजनीतिक विचार, कार्यक्रम भएको र एकआपसमा प्रतिस्पर्धी दल हौं । हामी एउटा राजनीतिक समझदारीका साथ ५/६ महिनामा सरकार परिवर्तन भइरहने परिस्थितीबाट मुलुकलाई मुक्त बनाउनको लागि मिलेका छौं । सरकारको स्थिरताबाट नै राजनीतिक स्थिरता जन्मिने हो । त्यसैले हामी समझदारी गरेर अघि बढेका हौं ।’

    कांग्रेस र एमालेको बीचमा संस्थागत निर्णयमा कुनै समस्या नआएको बर्तौलाले दाबी गरे ।

    उनले थपे, ‘आजको दिनमा कुनै अन्तरविरोध र मतभेद छैन । काम गर्ने तरिकाबारे कुनै द्वन्द्व पनि छैन । हामी दुई दलबीच भएको समझदारीप्रति कटिबद्ध छौं । तर दलभित्रका केही नेताहरूलाई रुचि, अरुचि हुन्छन् नै । लोकप्रियताको भोकले हामीकहाँ जे पनि बोल्ने प्रवृत्ति विकास भएका छन् । त्यसले पनि केही न केही बोलिराख्ने अहिलेको राजनीतिको समस्या हो ।’

    लोकप्रियताको लागि बोल्ने केही नेताहरूको आधारमा कांग्रेस र एमालेबीच आन्तरिक समझदारी बिग्रेको भन्ने चर्चा चलेको भए पनि त्यस्तो कुनै सम्भावना नरहेको उनले बताए ।

    ‘हामी कुनै समस्या छैन । लोकतन्त्रमा दलहरूले आफ्नो विचार भित्र पनि राख्ने, बाहिर पनि राख्ने प्रवृत्ति विकास भइरहेका छन् । त्यसैले अहिले मासअनुसार नै बोल्ने नेताहरूको प्रवृत्तिमा विकास भएको छ । सत्ता साझेदार दलका कतिपय नेताहरूले पनि पपुलिष्ट बन्नको लागि बोल्ने देख्छौं । सहयात्रामा रहेर जिम्मेवारीमा बसेको मान्छेले पनि यो भएन त्यो भएन भने बोल्दै हिँड्ने कुरा शोभनीय हुँदैन ।’

    उनले कांग्रेस एमालेबीचको मुल नेतृत्वबीच कुनै मनमुटाव, दरार र असन्तुष्टि नभएको भन्दै सात बुँदे सहमति अनुसार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रयत्नमा रहेको बताए ।

  • सरकारको आयुबारे प्रचण्डको प्रष्टीकरण : कांग्रेस-एमालेका नेताहरूबाटै सुनेको हुँ, हामीलाई हतारो छैन

    सरकारको आयुबारे प्रचण्डको प्रष्टीकरण : कांग्रेस-एमालेका नेताहरूबाटै सुनेको हुँ, हामीलाई हतारो छैन

    रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको तर अहिलेको सरकारले नचाहेको बताएका छन् ।

    जागरण अभियानका क्रममा रुपन्देही आएका प्रचण्डले भैरहवामा प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा जनतालाई थप अधिकार दिलाउन यसको अपरिहार्य रहेको बताए ।

    ‘सरकार गठनका बेला जनतालाई झुक्काउन संविधान संशोधनको कुरा ल्याइयो, उनीहरूले गर्दैनन्, स्थिरताका लागि यसको संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ, तर यो संशोधन अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ’ उनले भने, ‘सरकार ढाल्ने कुनै हतारो छैन, रुचि पनि छैन, नेपाली जनताले दुःख त पाएका छन् तर हामीलाई सरकार चाहिएर खबरदारी गरेका होइनौँ, दुई तिहाइको सरकार होइन, षडयन्त्रको सरकार हो, संविधान मिचिएको सरकार हो ।’

    प्रचण्डले केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको बताए ।

    आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति उनको आपत्ति थियो । ‘यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो, ‘नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो’ उनले भने, ‘यो सरकार संवैधानिक थिएन । हामीले सुरुदेखि भनेका हौं, सरकार अपारदर्शी छ, एमाले भित्रैका नेताहरूलाई थाहा नदिई बनाइएको हो अहिलेको गठबन्धन, लोकतान्त्रिक थिएन र छैन, जन्म नै अप्राकृतिक थियो, जनताको भरोसा थिएन र छैन । ’

    उनले झापादेखि रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको पनि बताए । उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको बताए । उनले सरकार असाध्यै अपारदर्शी रहेको भन्दै दलाल र बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको बताए ।

    ‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन’, प्रचण्डले भने, ‘संविधानअनुसार कांग्रेसको नेतृत्वमा बन्नुपर्थ्यो धारा ३ अनुसार तर त्यसो गरिएन त्यही भएर अवैधानिक थियो र हो, शिक्षकका समस्या समाधान गर्नुको साटो उल्टो अपमान गरिएको छ, प्रधानमन्त्री र सभामुखले दिएका अभिव्यक्तिले आन्दोलनरत शिक्षकलाई आक्रोशित बनाएको छ ।’

    राजावादीहरूको सक्रियताप्रति कडा टिप्पणी गर्दै उनले अराजकतावादीहरूको आन्दोलन अब उठ्न नसक्ने बताए । ‘राजावाद: राजावादीको बेलुन चैत १५ मै फुट्यो अब उनीहरू तत्काल उठ्न सक्दैनन् तर हामीले जुनसुकै बेला पनि खबरदारी गर्न जरुरी छ’ उनले भने ।

  • जनताको घरघरमा आगो लगाएर, मान्छे जलाएर राजतन्त्र फर्कँदैनः प्रचण्ड (भिडिओ)

    जनताको घरघरमा आगो लगाएर, मान्छे जलाएर राजतन्त्र फर्कँदैनः प्रचण्ड (भिडिओ)

    रुपन्देही । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।

    माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले गणतन्त्रवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेकै दिन अराजकतावादीहरुले गरेको वितण्डाले उनीहरु कसको लागि के गरिरहेका छन् भन्ने प्रष्ट भएको जनाएका छन् ।

    ‘नेपाली जनताको अभिमतले नेपालमा गणतन्त्र आएको हो, यो कसैले दान दिएको विषय होइन बलिदानबाट आएको हो तर केही अराजकतावादीहरुले अहिलेको व्यवस्थालाई चुनौती दिँदै आएका छन्, त्यसैको कारण हामीले चलाएको अभियान रोकेर काठमाण्र्डौमा खबरदारी गरेर फर्केका हौं’ उनले भने ‘हामी अभियानमा रहेकैबेला राजावादीले वितण्डा मच्चाए, यो बीचमा हाम्रो अभियान केही ढिलाई भयो तर यसलाई निरन्तरता दिएका छौं, काठमाडाैंमा पनि खबरदारी गरियो, हाम्रो प्रदर्शनलाई विथोल्न राजावादीले अराजकता प्रदर्शन गरेका हुन् । जनताको घरघरमा आगो लगाएर, मान्छेलाई थुनेर आगो लगाएर क्रान्तिको हल्ला गरियो तर त्यो अराजकताले उनीहरुको उद्देश्य प्रष्ट भएको छ ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणतन्त्रको मुख्य हिस्सेदार माओवादी भएकै कारण यसका विरुद्ध हुने षडयन्त्रविरुद्ध सधै खबरदारीमा रहेको र सधै उपेक्षित, उत्पीडित र पछाडि पारिएको समुदायले साथ दिएको बताए ।

  • माओवादीको जागरण अभियान गैँडाकोटबाट पुन: सुरू- पूर्वउपराष्ट्रपति पुन पनि जोडिए

    माओवादीको जागरण अभियान गैँडाकोटबाट पुन: सुरू- पूर्वउपराष्ट्रपति पुन पनि जोडिए

    नवलपुर (नवलपरासी) । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरू भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।

    अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

    पार्टीमा हालै उपाध्यक्षको जिम्मेवारी पाएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि अभियानमा जोडिएका छ्न् ।

    अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट-४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । अभियानका क्रममा दाहालले गैँडाकोट-८ स्थित लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरे ।

    माओवादी नेतृत्वले नगरपालिकाभित्रका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायत भेटघाट गरेको छ ।

    अध्यक्ष दाहालले अभियानअन्तर्गत दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।

    जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

    -रासस

  • कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको जोड, चितवनमा भने- अब त्यही दिशातिर देश जान्छ

    कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको जोड, चितवनमा भने- अब त्यही दिशातिर देश जान्छ

    चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् ।

    आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे ।

    पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ? भनेर सोधेका थिए । जवाफमा उनले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको टिप्पणी गरे ।

    प्रचण्डले भने, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।’

    आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उनले उल्लेख गरे । प्रचण्डले थपे, ‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’

    सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहोर्‍याए ।

    ‘पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् । मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’

  • कसैले चाहँदैमा अर्को जनयुद्ध हुँदैन, बन्दुक उठाउन सजिलाे छैन: प्रचण्ड

    कसैले चाहँदैमा अर्को जनयुद्ध हुँदैन, बन्दुक उठाउन सजिलाे छैन: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया राम्रोसँग टुंगिएन भने समाजमा फेरि द्वन्द्व निम्तिनसक्ने बताएका छन् ।

    संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी काम बहुमतबाट नभई राष्ट्रिय सहमतिबाट टुंग्याउनुपर्ने बताए ।

    उनले भने, ‘त्यसैले संक्रमणकालीन न्यायप्रति संवेदनशील भएर जिम्मेवारीपूर्वक यसलाई टुंगोमा पुर्‍याउन हामी सबैले योगदान गर्नेपर्छ । सबैको योगदानविना यो टुंगिने विषय होइन । त्यसैले फेरि अर्को कसैले चाहँदैमा सजिलै अर्को जनयुद्ध हुन्छ, अर्कोले फेरि साँच्चै लडेर बन्दुक उठाएर देखाउन सक्छ भन्ने चाहिँ मलाई त्यति सजिलो लाग्दैन । दुईचार जना उफ्रेको भरमा जनयुद्ध भएको जस्तो, यो धेरै चिज मिलेर हुने कुरा हो ।’

    प्रचण्डले जनयुद्ध तीनकुनेमा आगलागी र हत्या गरे जस्तो सजिलो नहुने बताए ।

  • ‘१७ हजार प्रचण्डले मार्‍यो भन्छन्, मैले एक जनालाई पिटेको पनि छैन’ (भिडिओ)

    ‘१७ हजार प्रचण्डले मार्‍यो भन्छन्, मैले एक जनालाई पिटेको पनि छैन’ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम हरहालतमा टुंगोमा पुर्‍याइने बताएका छन् ।

    संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पीडित केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने बताए ।

    उनले भने, ‘एक थरी मानिसहरू इतिहासलाई पछाडि धकेल्ने चाहनाका साथ १७ हजारको हत्यारा भनिरहन्छन् । यो त होइन, त्यो युद्धको नियमअनुसार भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहले कति के ग¥यो भन्ने कुरा अध्ययन र अनुसन्धान गर्न सकिन्छ, तर के आरोप सत्य हो त ? १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म हत्याको त कुरै छाडौं, व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनिरहेकै छु, तर यति धेरै गलत आरोप लागिरहेको छ ।’

    उनले माओवादीमात्रै १७ हजारको हत्यारा भए विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको अंग बनेको कुरालाई के भन्छौं भन्दै प्रश्न गरे ।

    प्रचण्डले अहिले सबै नेता र पार्टी उस्तै हुन् भन्ने भाष्य बनाउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

  • चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

    चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

    चोङकिङ । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ ।

    बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी थिए ।

    सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच गहिरोे सम्बन्ध रहेको बताए । “यो पार्टी–पार्टीबीचको मात्र सम्बन्ध होइन, हामीबीच जनस्तरको सम्बन्ध पनि घनिष्ट छ । चीनप्रति सबै नेपालीले गहिरो माया, प्रेम र सम्मान प्रकट गर्दै आएका छन्”, उनले भने ।

    सचिव शर्माले चिनियाँ विद्वानले इतिहासमा नेपालमा बुद्ध जन्मेको विषय बाहिरी विश्वलाई जानकारी गराएर नेपालको महत्त्व बढाएको उल्लेख गर्दै चीन र नेपालको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिकसहित बहुआयामिक रहेको बताए ।

    उनले भने, “यस्ता भेटवार्ताले नेपाल–चीन मित्रतालाई थप गहिरो र घनिष्ट बनाउने छ, यहाँको विकासले हामीलाई प्रभावित गरेको छ । नेपालले चीनसँग सिक्ने विषय धेरै छन् । कतिपय विषयमा नेपालले चीनसँग समझदारी गरेर अगाडि बढ्ने नीति लिएको छ ।”

    भेटवार्तामा चीनको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै दल सहमत भएका छन् ।

    सो अवसरमा चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको बताए ।

    नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसङ्ग उल्लेख गर्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा व्यक्त गरे ।

    जनसङ्ख्याका हिसाबले चोङकिङ विश्वकै सबैभन्दा ठूलो र गतिशील सहर हो । पश्चिम चीनको यो सहरको जनसङ्ख्या तीन करोड छ लाख छ, भने आर्थिक हिसाबले पनि यो सहर महत्त्वपूर्ण रहेको छ । भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका सदस्यहरू र चोङकिङ सहरका अन्य वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो ।

    यसअघि बिहीबार नै माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चोङकिङ कृषि प्रविधि पार्कको भ्रमण गरेको छ । उच्चस्तरीय वैज्ञानिक प्रविधियुक्त सो कृषि पार्कसँग भरतपुर महानगरपालिकाले साझेदारीमार्फत काम गरिरहेको छ । उक्त आधुनिक कृषि अनुसन्धान केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत भ्रमण गरेका थिए ।

  • ग्रामथानका अध्यक्षको मनोमानीमा अदालतको अंकुश- वडाध्यक्षलाई दिइएको कावा जिम्मेवारीमा रोक

    ग्रामथानका अध्यक्षको मनोमानीमा अदालतको अंकुश- वडाध्यक्षलाई दिइएको कावा जिम्मेवारीमा रोक

    विराटनगर । उपाध्यक्ष हुँदाहुँदै आफ्नो स्वार्थअनुकूल वडाध्यक्षलाई कार्यवाहक दिने मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयलाई अदालतले रोक लगाएको छ ।

    कानूनविपरीत वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने माझीको निर्णयलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकेको हो । एकपछि अर्को विवादमा फस्दै गएका माझीले कानूनविपरीत कार्यवाहकको जिम्मेवारी दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

    न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले विहीबार उपाध्यक्ष थारुको रिटमाथि सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । माओवादीबाटै वडाध्यक्ष जितेका भगतलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपाध्यक्ष थारुले उच्च अदालत गुहारेकी थिइन् ।

    उपाध्यक्ष गुणवतीदेवी थारु गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले ३ नम्बर वडाका अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । अध्यक्ष माझी माओवादीका नेताको चीन भ्रमण टोलीमा छन् ।

    गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाटै देखिएकोले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतले भनेको छ ।

    अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले पाउने आफ्नो पूर्व आदेश अदालतले दोहोर्‍याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले उपप्रमुखको अधिकार सुनिश्चित गरिसकेको छ ।

    अदालतको आदेशमा भनिएको छ ‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म बहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च।नं। १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्बद्ध निर्णयहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरूलाई दिनू ।’

    मंसिरको उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भए लगत्तै माझी अनेकौँ विवादमा मुछिँदै आएका छन् । उनले माटो उत्खनन रोक्न प्रहरीलाई पत्राचार गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोध्नेदेखि नियमविपरीत कार्यपालिकाको बैठक डाक्ने र उपाध्यक्ष र वडाध्यक्षहरूले चढ्दै आएका सवारी साधन माओवादी कार्यकर्तासमेत परिचालन गरेर खोस्ने लगायतका काममा उनी विवादित बनेका थिए ।

  • रविबारे नारायणकाजी- निष्पक्ष छानबिनको पक्षमा छौं, तर सरकारले आतंकित पार्न छाड्नुपर्छ

    रविबारे नारायणकाजी- निष्पक्ष छानबिनको पक्षमा छौं, तर सरकारले आतंकित पार्न छाड्नुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

    गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले लामिछानेलाई आतंकित पार्ने व्यवहार देखाइरहेको भन्दै त्यसलाई रोक्न माग गरे ।

    रविबारे उनको भनाइ

    जुनसुकै पदमा रहेको व्यक्ति भए पनि त्यसलाई अनुसन्धान गर्नबाट रोक्न मिल्दैन, तर हामीले स्वच्छ र निष्पक्ष अनुसन्धान हुनुपर्छ भनिरहेका छौं । अनुसन्धानमा जोसुकै भए पनि दोषी देखिएपछि कारबाही हुनुपर्छ, तर दोषी नदेखिए छुट पाउनुपर्छ ।

    रविजीको विषयमा पनि यही लागू हुनुपर्छ । सरकारले बलजफ्ती रातिराति आतंकित पार्ने गरी एक ठाउँबाट अर्को ठाउँमा लगिएको छ, त्यो सही होइन ।  त्यसमा हाम्रो आपत्ति छ ।

    अहिले प्रहरी अधिकारीले नै तपाईंको अन्तिम इच्छा के छ भनेर सोधेको भन्ने कुरा आइरहेको छ । त्यो भनेको त झनै मनोवैज्ञानिक रूपमा प्रहार गर्ने कुरा हो । त्यसो गर्न मिल्दैन ।

  • नेकपा जोगाउन नसकेको स्मरण गर्दै प्रचण्डले भने- फेरि एकता असम्भव छैन

    नेकपा जोगाउन नसकेको स्मरण गर्दै प्रचण्डले भने- फेरि एकता असम्भव छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन्।

    प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गरे।

    उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ। र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ। हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन। हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ।’

    उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए।

    उनले भने, ‘हामी विभाजित पनि भयौँ, एक अर्कापनि तितो आलोचना पनि भइरहेका छन्। तर पनि एकताको झण्डा चाहिँ छाडेको छैन। वामपन्थीहरूले एक ठाउँमा आएर बहस गर्दै अगाडि बढ्नुपर्छ, एकताको झण्डा चाहिँ छोड्न हुँदैन भन्नेमा प्रष्ट छौँ। हाम्रो पार्टीले एकतमले पारित गरेको छ। हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुँदैन।’

  • अखिल क्रान्तिकारीबाट बिदाइपछि एक तह बढुवाको निर्णय स्थगित, संगठनका पूर्व नेता असन्तुष्ट

    अखिल क्रान्तिकारीबाट बिदाइपछि एक तह बढुवाको निर्णय स्थगित, संगठनका पूर्व नेता असन्तुष्ट

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गर्ने निर्णय गरेको छ ।

    पार्टी पदाधिकारीको चैत १८ र १९ मा पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले यसअघि विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरेर स्थानान्तरणको सिफारिसलाई भने स्वीकार गर्ने निर्णय गरेको छ ।

    बैठकले उनीहरूलाई विगतमा जुन तहमा रहँदै काम गरेका थिए, सम्बन्धित क्षेत्रको सोही तहमा पार्टी कमिटीमा संगठित गर्ने सुनिश्चित गर्ने र केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको निर्णय गरेको थियो ।

    संगठनका पूर्व अध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हिमाल शर्माले पदाधिकारी बैठकको उक्त निर्णयमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाउँदै यस अघि भइसकेको निर्णयबाट फर्किनु प्रतिगमन सरह हुने टिप्पणी गरेका छन् ।

    उनले लेखेको छन्, ‘अगाडि बढेको कुनै पनि निर्णय पछाडि फर्काउनु प्रतिगमन सरह हुन्छ । केन्द्रिय प्रतिनीधिको हकमा आगामी बैठकमा बन्ने महाधिवेशन आयोजक समितीमा समायोजन हुने नै छ । विदा भएका विद्यार्थीको हकमा ।’

    ३२ वर्षे उमेर हदका कारण बिदाइ भएका संगठनका पूर्व उपाध्यक्ष पवन कार्कीले पनि सामाजिक सञ्जालबाटै असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमार्फत यस अघि केन्द्रीय समितिको निर्णयबाट पछि हट्नुले पार्टी भित्र युवालाई निषेध गर्न खोजेको भन्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    उनले लेखेको छन्, ‘विद्यार्थी संगठन बाट उमेरहदका कारण बिदा भएका युवाहरु जसले आफ्नो जीवनको दसकौं वर्षको उर्जाशिल समय पार्टी संगठन लाई समर्पित गरे तिनै युवा कमरेडलाई पार्टीमा उचित जिम्मेवारी दिने भनि पार्टीको आठौं केन्द्रिय समिति बैठकको निर्णय, पदाधिकारी बैठकको गत माघ २७ को निर्णय र गत फागुन १३ गतेको पार्टी केन्द्र्को परिपत्र अनुसारको जिम्मेवारी साथै कार्यदलले समेट्न नसकेका र जथाभावी स्थानान्तरण गरिएका कमरेडको जिम्मेवारी मिलानको बारेमा छलफल चलिरहेको बेला उक्त निर्णयको बिपरित हिजो चैत्र २४ गते पार्टी कार्यालयको निर्णय भनेर आएको परिपत्रले पार्टी भित्र युवालाई निषेध गर्नेगरि पार्टी केन्द्रिय समितिको निर्णयबाट पछाडि हट्ने गरि गरिएको सो परिपत्र तत्काल सच्याउन र विद्यार्थीबाट उमेर हदका कारण बिदा हुनुभएका सम्पुर्ण कमरेडको जिम्मेवारी ठोस गरि केन्द्रिय समितिको निर्णय कार्यान्वयन गर्नुहुन पार्टी नेतृत्व को गम्भिर ध्यानाकर्षण गर्दछु ।’

    पार्टी उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंह सहित तीन सदस्यीय कार्यदलले अखिल (क्रान्तिकारी)बाट बिदाई भएका पदाधिकारी तहका नेतालाई एक तह बढुवा गर्न सिफारिस गरेको थियो ।

    जसअनुसार संगठनको उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सविचवदेखि कोषाध्यक्ष सम्मका लागि प्रदेश सदस्य बनाउन सिफारिस गरेको थियो । त्यसै अनुसार पार्टीले निर्णय गरेर नै नामावलीसहित यस अघि परिपत्र गरिसकेको छ ।

  • विशेष अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न माओवादीको माग

    विशेष अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न माओवादीको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार भएको पुष्टि भएको दाबी गरेको छ।

    प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने लगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।

    विज्ञप्तिमा भनिएको छ, नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौँ शिक्षक र लाखौँ विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलबाड गर्नु निन्दनीय छ ।

    सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद भएको माओवादीको ठहर छ।

    उनले तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन्।

    शिक्षकहरूको माग सम्बोधन गर्नको लागि विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकार सहित सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।

    शिक्षकहरूको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान समेत गरेको छ।

  • माओवादीमा प्रदेश सहइन्चार्ज खारेज, विना मगरदेखि रमेश मल्लसम्म २९ जना को-को परे ? (सूचीसहित)

    माओवादीमा प्रदेश सहइन्चार्ज खारेज, विना मगरदेखि रमेश मल्लसम्म २९ जना को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

    कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन् ।

    यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा तथा सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालयको सदस्यमा झरेका छन् ।

    बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ ।

    साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ । बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ ।

    बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ । जस अनुसार तत्कालका लागि सप्तरीमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरीमा प्रकाश पोखरेल, बाजुरामा मनलाल खत्री, जाजरकोटमा गणेशप्रसाद सिंहलाई तोकिएको छ ।

    यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका प्रदेश १ बाट जयराज लिम्बु र प्रवीण चाम्लिङ, मधेश प्रदेशबाट लक्ष्मी चौधरी र प्रमोद साह, बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगी, कर्णाली प्रदेशबाट भीमबहादुर मल्ललाई पार्टीको वैकल्पिक केन्द्री सदस्य मनोनीत गरिएको छ भने कर्णालीबाटै तर्कबहादुर शाहीलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

    यस्तै विशिष्ट अवस्थामा भनेर प्रदेश १ बाट पूर्णसिंह राजवंशीलाई केन्द्रीय सदस्य, मधेश प्रदेशबाट पिएल श्रेष्ठ र सुदूरपश्चिम प्रदेशबाट हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरिएको छ । बैठकले नन्दबहादुर पुनलाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनीत गर्नुका साथै पार्टीको उपाध्यक्षको जिम्मेवारी तोकिएको छ ।

    पदाधिकारी बैठकले विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको छ ।

    उनीहरूलाई विगतमा जुन तहमा रहँदै काम गरेका थिए, सम्बन्धित क्षेत्रको सोही तहमा पार्टी कमिटीमा संगठित गर्ने सुनिश्चित गरिएको छ भने केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको जानकारी गराउने निर्णय भएको छ ।

    बैठकले विभागको बैठक बसेर सबै विभागलाई क्रियाशील बनाउने, विभागको सदस्यमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा पार्टी कार्यालयले निर्णय गर्ने र विभागीय सदस्य थप्नुपर्दा विषयगत विज्ञ मात्र राख्ने सुनिश्चित गरिएको छ । विभागको सन्दर्भमा केहि निर्णय भएका र ती निर्णय सम्बन्धित विभाग र सम्बन्धित सदस्यलाई जानकारी गराउने पदाधिकारी बैठकले निर्णय गरेको छ ।