Category: माओवादी केन्द्र

  • माओवादीका मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- एक हप्ताभित्र मन्त्रालयको प्रगतिविवरण हेडक्वाटरलाई दिनुस्

    माओवादीका मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- एक हप्ताभित्र मन्त्रालयको प्रगतिविवरण हेडक्वाटरलाई दिनुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई एक हप्ताभित्र आफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिएका छन् ।

    धेरै नकारात्मक कुराहरू मात्रै बढी प्रचार भएकाले अब आफ्नो पार्टीका मन्त्रीहरूले हासिल गरेका उपलब्धिलाई जनतामा लैजानुपर्नेमा उनले जोड दिए ।

    पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भने, ‘हाम्रो तर्फबाट जानुभएको मन्त्रीहरूले राम्रो पनि गर्नुभएको छ । ती कुराहरू जनतामा पुर्‍याउन सक्नुभएको छैन । अब तपाईँहरू सबैले आफ्नो मन्त्रालयमा गरेका राम्रो कामका विवरणहरु हेडक्वाटरमा बुझाउनुस् । आगामी चुनावमा त्यसलाई जनतामाझ लगेर स्थापित गरिने छ ।’

    प्रचण्डले माओवादीले सम्हालेका अर्थ र ऊर्जा मन्त्रालयले धेरै राम्रा कामहरु गरेको बताए । ऊर्जा मन्त्रालयले कम आय भएका जनतालाई विद्युत उपभोगमा छुट दिएको विषयलाई व्यापक प्रचार गर्नुपर्ने उनले बताए । यस्तै अर्थ मन्त्रालयले उत्पादन बढाउनका लागि र अर्थतन्त्रको विकासका लागि गरेका कामहरुलाई पनि जनतामाझ लैजानुपर्ने उनको भनाइ छ ।

  • स्थानीय चुनावमा भएका अन्तर्घातको छानबिन र कारबाही गर्ने प्रचण्डको प्रस्ताव

    स्थानीय चुनावमा भएका अन्तर्घातको छानबिन र कारबाही गर्ने प्रचण्डको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले हालैको स्थानीय चुनावमा धेरै स्थानमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको बताएका छन् । अन्तर्घातको छानबिनका लागि एउटा समिति बनाउने र त्यसले दिने प्रतिवेदनका आधारमा अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने प्रस्ताव उनले अघि सारे ।

    प्रचण्डका अनुसार स्थानीय चुनावमा उनले १७० वटा पालिका जित्ने अनुमान गरेका थिए । तर, अनुमानभन्दा ५० सिट कम जितेको उनले बताए । खासगरि मधेसमा पार्टीको निराशाजनक नतिजा आएको उनको भनाइ छ ।

    प्रचण्डले भने, ‘मधेसमा ४० देखि ५० वटा पालिका जितिएला भन्ने थियो, तर ९ वटा मात्रै जितियो । धेरै ठाउँमा अन्तरघात भएको छ । साथै उम्मेदवार छनोटमा पनि गल्ती गरियो । जनभावना र लोकप्रियता हेरेर उम्मेदवार छनोट गर्न सकिएन ।’

    कतिपय स्थानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउनुलाई नै सफलता मान्ने प्रवृत्ति देखिएको प्रचण्डले बताए ।

    ‘अर्कालाई परास्त गर्नु नै आफ्नो सफलता भन्याजस्तो भयो । अहिले एकले अर्कालाई कारबाही गर्नुपर्छ भन्ने आइरहेको छ । यसले कांग्रेसको पैसा खायो, त्यसले एमालेको पैसा खायो भन्ने सुनिएको छ । यसले त छानबिन गर्न पनि सहज छैन ।’

    धेरै सिनियर नेताहरुलाई पनि अन्तरघातको आरोप लागेको प्रचण्डले बताए ।

    ‘धेरै स्थानमा समस्या देखिएको छ । अब कारबाही त गर्नैपर्छ । गम्भीर समस्या भएका जिल्लाहरूमा गएर बुझ्ने र सामान्य ठाउँका पालिका र जिल्लाबाट लिखित रिपोर्ट लिएर प्रतिवेदन प्रस्तुत गर्न एउटा कमिटी बनाऔं । १५ दिनभित्र उक्त कमिटीले रिपोर्ट बुझाउनुपर्‍यो । त्यही रिपोर्टका आधारमा कारबाहीको निर्णय गर्नुपर्छ ।’

  • क्रान्ति पूरा भएको छैन, हामीले सडक छोड्न मिल्दैन : प्रचण्ड

    क्रान्ति पूरा भएको छैन, हामीले सडक छोड्न मिल्दैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग जोडिनका लागि सडक छोड्न नहुने पार्टी पंतिलाई निर्देश गरेका छन् । सडक, सदन र सरकार तीनै ठाउँबाट पहलकदमी रहने भए पनि सडक सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए ।

    पार्टीको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता औंल्याए ।

    उनले भने, ‘अहिले हामी सरकारमा नै बढी अल्मलिएका छौं । तर, क्रान्तिकारीका निम्ति प्रमुख र निर्णाय कभनेको सडक हो । क्रान्ति पूरा भएको छैन । त्यसैले सडक छोड्न मिल्दैन । कामरेडहरू विचार गर्नुहोला ।’

    प्रचण्डले सडकमा हुँदासम्म माओवादीले सफलता हासिल गरेको बताए । सडकबाट टाढिनासाथ सफलता पाउन कठिन हुने उनको विश्लेषण छ ।

    ‘सडकमा हुँदासम्म जनता हामीसँग हुन्छन्, त्यसैले हामी विजयी हुन्छौं । तर, सडक छाडेर सरकारसँग जाँदा जनतासँगको सम्बन्ध तोडिन्छ, त्यसैले हामी पराजित हुन्छौं । यो बुर्जुवा सिस्टममा बुर्जुवा हाबी हुन्छन् । यसको सुधारका लागि पनि हामीले सडक छोड्नु हुँदैन ।’

  • माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- समाजवादी क्रान्तिको लागि छिट्टै विशेष महाधिवेशन

    माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- समाजवादी क्रान्तिको लागि छिट्टै विशेष महाधिवेशन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै विशेष महाधिवेशनको तयारी भइरहेको भन्दै समाजवादी क्रान्तिका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले छिटै पार्टीको विशेष महाधिवेशन हुने बताए । माओवादीको मंसिरमा सम्पन्न महाधिवेशनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो ।

    आफ्नो राजनीतिक दस्तावेजमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘छिट्टै विशेष महाधिवेशन गर्ने तयारी हुँदैछ भनेर बुझ्नुस् । विशेष महाधिवेशनले समाजवादी क्रान्तिको विचारलाई क्रान्तिको तयारी र योजनालाई अर्को उचाइमा पुर्‍याउनेछ ।’

    नेपाली जनतालाई कांग्रेस र एमालेजस्तो अर्को पार्टी आवश्यक नरहेको भन्दै माओवादी फरक हो भनेर देखाउनुपर्ने बताए । उनले माओवादीमा पहिचानको संकट रहेको र त्यस्तो संकट कांग्रेस र एमालेमा नरहेको बताए ।

  • माओवादी बैठक सुरू, पदाधिकारी आजै टुंगिने नेताहरूको दाबी

    माओवादी बैठक सुरू, पदाधिकारी आजै टुंगिने नेताहरूको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आजलाई सारिएको थियो ।

    सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने सोही दिन प्रदेश र गैरभौगलिकबाट रिर्पोटिङ भएको थियो । आज प्रतिवेदनमाथि हलमा उठेका प्रश्नबारे प्रचण्डले जवाफ दिँदैछन् ।

    त्यस्तै थाती रहेको पदाधिकारी चयन पनि आजबाट टुंगिने नेताहरूले बताएका छन् । प्रज्ञा भवन छिर्दै नेता वर्षमान पुनले पदाधिकारीको विषय आज टुंगिने दाबी गरे ।

    केन्द्रीय समिति बैठकअघि माओवादीका पूर्व स्थायी कमिटी सदस्य खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका थिए । खुमलटार बैठकमा पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापन गर्ने विषयमा छलफल भएको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

    माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • केन्द्रीय समिति बैठकअघि माओवादी नेता खुमलटारमा, पदाधिकारीबारे छलफल

    केन्द्रीय समिति बैठकअघि माओवादी नेता खुमलटारमा, पदाधिकारीबारे छलफल

    काठमाडौ । नेकपा माओवादीका पूर्वस्थायी कमिटीको बैठक खुमलटारमा सुरू भएको छ ।

    जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नुअघि पूर्वस्थायी कमिटीका नेता छलफलमा जुटेका हुन् ।

    पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबारको बैठक स्थगित भएको थियो । केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरूप बैठक बस्न लागिएको हरिबोल गजुरेलले जानकारी दिए ।

    ‘पदाधिकारी चयनका विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापान गर्न लागि परेका छौं ।’

    आइतबारदेखि सुरू भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने सोही दिन प्रदेश र गैरभौगलिकबाट रिर्पोटिङ भएको थियो ।

    दोस्रो दिन केन्द्रिय सदस्यहरूले उक्त दुवै विषयमा प्रश्न राखेपछि मंगलबार बस्नेगरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका विषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।

  • दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

    दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय गरिएको छ ।

    मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि हिजोको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन गठन, संसद बैठकलगायतले आजका लागि स्थगित गरिएको थियो ।

    आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

    त्यस्तै लामो समय थाती रहेको पदाधिकारी पनि टुंगिने बताइएको छ ।

  • वर्षमानको दाबी- आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री (भिडिओ)

    वर्षमानको दाबी- आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री (भिडिओ)

    काठमाडौं । नेकपा  माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन् ।

    अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् ।

    संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे ।

    पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बतए । अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।

    उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाए ।

  • अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा (भिडिओ)

    अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे ।

    आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।

    अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए ।

    उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु । छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु ।’

    उनले भने, ‘छानबिन समितिले म माथि हजारौं छानबिन गराेस् ।’

    यो पनि पढ्नुहाेस् : अर्थमन्त्री राजीनामा देऊ !

  • सीसीटीभीको फुटेज कति दिन रहन्छ मलाई के थाहा ?- अर्थमन्त्री

    सीसीटीभीको फुटेज कति दिन रहन्छ मलाई के थाहा ?- अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको सीसीटीभीको फुटेज कति दिन रहन्छ भन्ने आफूलाई थाहा नहुने बताए ।

    शर्माले संसद्मा बोल्दै भने, ‘कुन ठाउँमा सीसीटीभी फुटेज रहन्छ भन्ने मलाई के थाहा ? यही संसद् भवनमा सीसीटीभी फुटेज कति दिन रहन्छ हामीलाई कसरी थाहा हुन्छ । त्यो कुरा सम्बन्धित व्यक्तिलाई मात्रै थाहा हुन्छ । म अर्थमन्त्री हुनुभन्दा पहिले नै सीसीटीभी जडान भएको हो ।’

    सांसददेखि उपभोक्ता मञ्च समेतले जेठ १४ गते रातिको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरिरहेका वेला अर्थले पत्र निकालेर सीसीटीभी फुटेज नै डिलिट भएको जानकारी गरायो । मन्त्रालयले १३ दिनसम्म मात्रै फुटेज सेभ रहने भनेर उल्लेख गरेको थियो ।

    अर्थले प्रश्न उठेपछि १३ दिनमा नै फुटेज डिलिट हुन्छ भनेर कुनै जानकारी गराएन । तर, बजेट आएको एक महिनाभन्दा धेरै भएपछि उसले १३ दिनमा फुटेज डिलिट भएको दाबी गरेको छ ।

  • छानबिन समितिलाई स्वागत गर्छु, मैले कानुनअनुसार नै बजेट बनाएको हुँः अर्थमन्त्री शर्मा

    छानबिन समितिलाई स्वागत गर्छु, मैले कानुनअनुसार नै बजेट बनाएको हुँः अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिलाई स्वागत गर्ने बताएका छन् । बजेट निर्माणको बेला बाहिरको मान्छे ल्याएर कारका दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो ।

    उनले संसदमा बोल्दै बजेट निर्माण गर्दा कानुन र नियम पालना गरेको बताए । उनले भने, ‘मैले अरुले जस्तो बीमा रकम हिनामिना गरेको छैन् । बच्चाले खाने दूधको मूल्यवृद्धि गरेर चकलेटको कर घटाएको छैन । समितिले छानबिन गरे हुन्छ ।’

    आज भएको संसद बैठकमा सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको घोषणा गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

    समितिमा संसदको सबैभन्दा ठूलो दल एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुईदुई जना रहनेछन् ।

    जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकएक जना सांसद समिति सदस्य रहने भएका छन् । समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।

  • अर्थमन्त्रीलाई बोल्न एमालेको अवरोध- अर्थमन्त्रीको हैसियतले यहाँ बोल्न मिल्दैन (भिडिओ)

    अर्थमन्त्रीलाई बोल्न एमालेको अवरोध- अर्थमन्त्रीको हैसियतले यहाँ बोल्न मिल्दैन (भिडिओ)

    काठमाडौं । आजको प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने समय दिएका थिए ।

    त्यसपछि नेकपा एमालेका सांसदहरूले बोल्न अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने समय दिएका थिए ।

    त्यस क्रममा सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई अव अर्थमन्त्रीको हैसियतले बोल्ने नैतिक धरातल नभएको बताएका छन् ।

    ‘यो गरिमामय संसद्मा अर्थमन्त्रीका हिसाब उहाँले बोल्ने कुनै अधिकार उहाँसँग छैन,’ उनले भने,‘उहाँमाथि यो कुनै आरोप मात्रै होइन, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर प्रमाणित गर्ने होइन, उहाँ दोषमाथि के कारबाही गर्ने हो ।’

    मुलुक अपराध संहिता, साइबर ऐन, सिसिटिभी फुटेज व्यवस्थापन समिति कार्यविधि लगायतका कानुनहरू अर्थमन्त्री शर्माको अपराधमा आकर्षित हुने उनले बताए ।

    अर्थमन्त्री शर्माले राजीनामा वा बर्खास्तीपछि मात्रै बोल्न पाउने सांसद भट्टराईले बताए ।

    ‘राजीनामा दिएपछि मात्रै उहाँ यहाँ बोल्न सक्नुहुन्छ । प्रधानमन्त्रीले बर्खास्त गर्नुस् । अनि मात्रै हामी उहाँको कुरा सुन्छौ,’ उनले भने ।

    यस्तै अर्थमन्त्रीकै पदमा राखेर कुनै पनि छानबिन गर्न नसकिने पनि उनले बताए ।

  • अर्थमन्त्रीसहित ८ जनाविरुद्ध प्रहरीमा पुग्यो राप्रपाको जाहेरी, भारतीय नागरिक पनि तानिए

    अर्थमन्त्रीसहित ८ जनाविरुद्ध प्रहरीमा पुग्यो राप्रपाको जाहेरी, भारतीय नागरिक पनि तानिए

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री जनार्दन शर्मामाथि राज्यविरुद्धको अपराधसहित तीन वटा कसुरमा प्रहरीमा जाहेरी दिएको छ ।

    शर्मासहित ८ जनाविरुद्धको जाहेरी बोकेर राप्रपा प्रवक्ता तथा सुशासन विभाग प्रमुख टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका छन् ।

    राप्रपाले दिन लागेको जाहेरीमा मुलुकी अपराध संहिता २०७४, विद्युतीय कारोबार ऐन २०६३ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई आधार बनाइएको छ ।

    जाहेरीमा अर्थमन्त्री शर्मासहित अवकाश प्राप्त अर्घाखाँची जिल्ला भूमिस्थान नगरपालिका घरभइ काठमाडौं बस्ने रघुनाथ घिमिरेलाई प्रतिवादी बनाइएको छ । यस्तै इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर भारतीय मूलका नागरिक उपेन्द्र हिरावतलाई पनि विपक्षी बनाइएको छ ।

    अन्य विपक्षीहरूमा इन्फिनिटी होल्डिङका दीपक भट्ट, बहालबाला अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, सरकारको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, राजश्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् ।

    बजेट भाषणको अघिल्लो रात २०७९ असार १४ गते अनधिकृत व्यक्तिहरू गैरकानूनीरुपमा अर्थमन्त्रालयमा प्रवेश गरी राज्य विरुद्धको कसुर गरी उक्त कसुरलाई ढाकछोप गर्न सीसीटीभी फुटेज डिलिट गराएर प्रमाण नष्ट गरिएको आरोप जाहेरीमा लगाइएको छ ।

  • उच्च सुरक्षासहित अर्थमन्त्री संसद भवन प्रवेश

    उच्च सुरक्षासहित अर्थमन्त्री संसद भवन प्रवेश

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन केही बेरअघि बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । उनलाई संसद प्रवेश गर्दा सिटी पुलिसले सुरक्षा दिएको थियो ।

    अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ । एमालेनिकट युवासंघले उनलाई संसद भवनबाट जानबाटै रोक्ने योजना बनाएको थियो । त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा दिइएको हो ।

    स्रोतका अनुसार अर्थमन्त्रीलाई संसद प्रवेश गर्नबाट रोक्ने र कालो झण्डा देखाउने तयारी गरेका युवा संघका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन ।

    आज प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारीसमेत गरेको छ ।

  • राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै

    राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

    बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको राप्रपाको ठहर छ ।

    पार्टीको सुशासन विभागका प्रमुखसमेत रहेका शाहीले भने, ‘पार्टी अध्यक्षसँगको परामर्शमा कानून व्यवसायीहरूसँग समेत सल्लाह गरेर जाहेरी दिने निर्णय लिएका हौं ।’

    प्रहरी स्रोतले कानूनतः बहालबहाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न सकिने बतायो । पक्राउ गर्नुपरेको अवस्थामा भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ ।

  • अर्थमन्त्रीले आज संसदमा जवाफ दिने, एमालेले नसुन्ने !

    अर्थमन्त्रीले आज संसदमा जवाफ दिने, एमालेले नसुन्ने !

    काठमाडौं । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले शर्माको जवाफ नसुन्ने गरी बैठक बहिष्कारको तयारी गरेको छ ।

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफूहरूसँग केही छलफल नगरेको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेर पेलेर जाने नियत देखियो । बिचौलीया प्रयोग गरेर बजेटमा चलखेल गर्ने अर्थमन्त्रीलाई रोष्ट्रममा जान दिँदैनौं । हामी उहाँका कुरा सुन्दैनौं । बैठक चल्न सक्दैन ।’

    यसअघि संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका थिए ।

  • माओवादी बैठक : अर्थमन्त्रीले भने- म निर्दोष छु, एमालेसँग छलफल गर्ने निर्णय

    माओवादी बैठक : अर्थमन्त्रीले भने- म निर्दोष छु, एमालेसँग छलफल गर्ने निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री र अर्थमन्त्रालयका विषयमा उत्पन्न विवादका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल अघि बढाउने निर्णय गरेको छ । आज बसेको पूर्वस्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।

    बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको बताएका थिए । सरकार र पार्टीका शीर्ष नेताहरूलाई पनि जोडेर सञ्चारमाध्यमहरुले अतिरञ्जित समाचारहरुसमेत दिन थालेको भन्दै चाँडै निष्कर्षमा पुग्नुपर्ने उनको राय थियो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामा सुझाव भने दिएनन् ।

    बैठकमा सहभागी अर्थमन्त्री जनार्दन शर्माले यस प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । अर्थमन्त्रालयमा भएको सीसीटीभीको प्रणालीमै १३ दिनभन्दा बढी स्टोरेज नरहने उनले जिकिर गरे । बैठकमा डिलिट भएको फुटेज रिकभर गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको पूर्वस्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

    सकेसम्म आजै एमालेसँग निकासका लागि छलफल गर्ने निर्णय भएको उनको भनाइ छ ।

    ‘प्रधानमन्त्रीसँग त निरन्तर कुराकानी भइरहेकै छ । अर्थमन्त्रीको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गर्ने निस्कर्ष निकालेका छौं,’ उनले नेपाल प्रेससँग भने ।

  • अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग

    अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग

    काठमाडौं । नेपाली कांग्रेसभित्र अर्थमन्त्रीविरोधी आवाज सशक्त उठ्न थालेको छ । उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् ।

    ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् ।

    ‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ’, गुरुङले लेखेका छन् ।

    कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताइसकेका छन् ।

  • माओवादी नेता खुमलटारमा, पदाधिकारी चयनबारे छलफल चल्दै

    माओवादी नेता खुमलटारमा, पदाधिकारी चयनबारे छलफल चल्दै

    काठमाडौं । पदाधिकारीलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका नेता एक ठाउँ जुटेका छन् ।

    खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पूर्वस्थायी समितिका नेताहरूबीच छलफल भइरहेको एक नेताले बताए । हिजो पनि माओवादी केन्द्रीय कार्यालय समितिको बैठक बसेको थियो ।

    हिजोको बैठकमा पदाधिकारी, स्थानीय समिति र पोलिटब्यूरोबारे आवश्यक निर्णयको जिम्मा प्रचण्डलाई दिइएको थियो । आज १ बजेदेखि बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी समितिको नाम सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रचण्डले त्यसैका लागि नेताहरूसँग परामर्श गरेका हुन् ।

    तर, अझै महासचिवमा कुरा मिल्न बाँकी रहेकाले तत्काललाई पोलिटब्यूरो र स्थायी कमिटी मात्र फाइनल हुनसक्ने माओवादीका एक नेताले बताए । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको तीब्र आकांक्षा छ ।

    आइतबारदेखि जारी माओवादी बैठकमा पार्टीलाई पदाधिकारीविहीन नबनाउन नेतृत्वमाथि दबाब छ ।

  • अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं

    अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं

    सुर्खेत । नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री प्रकरणमा मुख खोलेका छन् ।

    उनले बजेट निर्माणबारे आम जनताको समेत चासो बनिसकेपछि यो विषयलाई संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् ।

    आज बिहानै फेसबुकमा लेख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।

    ‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, खड्काले लेखेका छन् ।

    उनले यो विषय निरुपणका लागि ढिला नगर्न भनेका छन् । ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ’, उनको भनाइ छ ।

    यसअघि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्नेमा उनको जोड थियो ।

  • माओवादीको रोकिएको बैठक आज

    माओवादीको रोकिएको बैठक आज

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक हिजोसम्म बस्ने भनिएकोमा एकाएक स्थगित गरिएपछि आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    पदाधिकारी चयन पेचिलो बन्दै जाँदा बैठक प्रभावित भएको छ । माओवादीमा खासगरि महासचिव को बन्ने भन्ने विवाद छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा बलिया आकांक्षी हुन् । दुवै आफूनिकट नेता भएकाले अध्यक्ष प्रचण्ड सकसमा परिरहेका छन् ।

    पदाधिकारी नटुंगिएपनि केन्द्रीय समितिको यो बैठकले पोलिटब्यूरो र स्थायी समिति भने टुंग्याउने एक नेताले बताए ।

    आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

  • अर्थमन्त्रीबारे माओवादी केन्द्रमा उकुसमुकुस

    अर्थमन्त्रीबारे माओवादी केन्द्रमा उकुसमुकुस

    काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश तथा एकपछि अर्को विवादस्पद क्रियाकलापका कारण अर्थमन्त्री जनार्दन शर्माको आलोचना उत्कर्षमा पुगेको छ । सीसीटीभी फुटेज माग्दा ‘डिलिट भएको’ अर्थमन्त्रालयले जवाफ फर्काएपछि त्यसविषयको आलोचना झनै बढेको हो ।

    यो विषयलाई सुरूदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रमुख एजेण्डा बनाएर अर्थमन्त्रीमाथि कारबाही वा संसदीय छानविनको माग गरिरहेको छ । यही क्रममा अर्थमन्त्रालयले सीसीटीभी फुटेज नै डिलिट भएको भन्ने जवाफ दिएपछि यसैलाई जोडतोडका साथ राजनीतिक मुद्दा बनाएर अघि बढेको छ । यस्तै अर्थमन्त्रीमाथिको यो आरोपका विषयमा नागरिकस्तरमा यसको आवाज झनै झांगिदै गएको छ ।

    कांग्रेसभित्र चर्कियो आवाज

    सुरूमा यो मुद्दा उठ्दा मौन रहेको सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताहरू पछिल्लो समय यस विषयमा चर्को रूपमा आवाज उठाउन थालेका छन् । सीसीटीभी फुटेज नै डिलिट भएको जवाफ संगतपूर्ण नभएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश पोख्न थालेका हुन् ।

    घटनालाई सामान्य मान्न नसकिने भन्दै उनीहरू अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा माग्दै आवाज उठाउन थालेका छन् ।

    हिजो कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सीसीटीभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा सीसीटीभीको फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एक्सनमा जानुपर्ने बताएका थिए ।

    ‘करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानबिन गर्नुपर्छ,’ उनले भनेका थिए । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका थिए ।

    हिजो नै प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य डा. डीला संग्रौलाले जवादेहिताबारे प्रश्न उठाउँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी थिइन् ।

    ‘नैतिकता भन्ने कुरा हराएको हो ? प्रश्न उठिसकेपछि राजीनामा दिनु पर्दैन,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘प्रसंग सीसीटीभि फुटेज ! पदैमात्र ठूलो हो कि नैतिकता ? मन्त्रीको जवाफदेहिता खोई ?’

    आज प्रधानमन्त्री देउवानिकट मानिएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि अर्थमन्त्री शर्मालाई देशका बारेमा सोचिदिन भन्दै ट्वीटरमा आफ्नो अभिव्यक्ति राखेका छन् । उनले लेखेका छन्,‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो । अर्थमन्त्री शर्मालाई अलिकती देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनु होस् ।’

    कांग्रेसमा इतर समूहका अधिकांश नेताहरूले त खुलेरै अर्थमन्त्री शर्माको राजीनामा मागिरहेका छन् ।

    नेता चन्द्र भण्डारीले तरकारीदेखि न्यायालयसम्म रहेका बिचौलिया अहिले बजेट निर्माणसम्ममा पुगेको टिप्पणी गरेका छन् ।

    ट्वीटर ह्याण्डलमा उनले लेखेका छन्,‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म ! बिचौलियालाई रातो कार्पेट ! नया भेरियन्टको कडा कोरोना !’

    प्रधानमन्त्री र माओवादी केन्द्र मौन, बढ्दै दबाब

    सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका नेताहरू नै यसरी अर्थमन्त्रीविरूद्ध उत्रिँदा प्रधानमन्त्री देउवा र स्वयम् अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रमा ठूलो दबाब परेको छ ।

    अहिलेसम्म अर्थमन्त्री शर्मा आफूले कुनै अनुचित काम नगरेको भन्दै कसैले आक्षेप लगाएकै भरमा पद नछाड्ने अड्डी कसेर बसेका छन् । यस्तोमा गठबन्धनका कारण उनलाई सिधै पदबाट हटाउन प्रधानमन्त्री देउवालाई सकस परेको छ, भने पार्टीभित्र शक्तिशाली रहेका विवादित अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउन माओवादी केन्द्रलाई समेत समस्या आइलागेको छ ।

    यही कारण अहिलेसम्म उनीबारे न प्रधानमन्त्री बोलेका छन्, न त उनको पार्टी माओवादी केन्द्र नै !

    तर, तत्काल कुनै प्रतिक्रिया नदिएपनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्र दुवैलाई अहिलेको दबाब भने थेग्न नसकिने अवस्थामा पुग्ने निश्चित देखिएको छ । अर्थमन्त्रीले तत्काल राजीनामा नदिए वा प्रधानमन्त्री देउवाले उनीबारे कुनै कदम नचाले नेपाली कांग्रेसको आगामी २७ गते हुने केन्द्रीय समिति बैठकमा कुरा उठ्न सक्ने कांग्रेस स्रोत बताउँछ ।

    कांग्रेसकै कतिपय नेताहरु अर्थमन्त्री जोगाउँन प्रधानमन्त्री बाध्य रहेको बताउँछन् । अर्थमन्त्री शर्माले केही ब्यापारिक घरानाको फाइदाका लागि गरेका निर्णय तथा बजेटमा करका दर हेरफेरमा प्रधानमन्त्री पत्नी आरजु देउवासमेत संलग्न रहेको उनीहरुको दाबी छ ।

    माओवादी केन्द्रमा उकुसमुकुस

    अर्थमन्त्री शर्माबारे प्रमुख प्रतिपक्षी दल, सत्तासहयात्री कांग्रेस र नागरिकस्तरमा बढ्दै गएको आवाजका कारण माओवादी केन्द्रभित्र चर्कै दबाब बढेको छ ।

    अधिकांश नेताहरू यो दबाब थेग्दै अघि बढ्नुभन्दा केही कदम चालेर अघि बढ्नुपर्ने धारणा राख्न थालेका छन् । तर, यो विषय पार्टी बैठकमा आधिकारिक रुपमै प्रवेश भने पाएको छैन ।

    केन्द्रीय समिति बैठकमै यो विषय नउठे पनि युवा नेता लेखनाथ न्यौपानेले बैठकबाहिर यो कुराबारे अनौपचारिक छलफल चलाएका थिए । तर, यसलाई घनिभूत ढंगबाट अगाडि बढाउने आँट कसैले नगरेको स्रोत बताउँछ ।

    ‘सबैका मनमा यो कुरा छ । यसलाई जति दबायो उति पार्टीलाई क्षति पुग्छ भन्ने सबैलाई लागेको छ,’ एक केन्द्रीय सदस्यले भने ,‘तर, आफैँ पहिला आवाज उठाउन कसैले आँट गरेको छैन ।’

    आज केन्द्रीय सदस्य रञ्जित तामाङले भने जवाफदेहिताका हिसाबले यो विषयमा पार्टी बोल्नुपर्ने कुरा ट्वीटरमा लेखेका छन् ।

    ‘जवाफदेहिताको हिसाबले पनि बाहिर चर्को रुपमा उठेको अर्थ मन्त्रालय बारे माओवादीको मन्त्रालय भएका कारण पनि पार्टीले बोल्नु पर्दछ,’ उनले लेखेका छन् ।

    मंगलवार अध्यक्ष प्रचण्ड निवासमा बसेको केन्द्रीय कार्यालयको बैठकमा नेताहरूले आंशिक रूपमा यो विषय उठाएका छन् । माओवादी स्रोतका अनुसार पदाधिकारी चयनका विषयमा छलफल गर्न बसेको बैठकमा यो विषयले प्रवेश पाएको थियो ।

    ‘यो विषयमा भोलीको केन्द्रीय समिति बैठकमा सम्भवतः अध्यक्ष (पुष्पकमल दाहाल ‘प्रचण्ड’) बोल्नुहुन्छ,’ स्रोतले भन्यो, ‘आवश्यकताअनुसार अर्थमन्त्री ज्यू जवाफ पनि दिनुहुन्छ ।’

    अर्थमन्त्री विवादमा परेकाले पार्टीले यसबारेमा आधिकारिक धारणा ल्याउनुपर्ने र बुधबारको बैठकमा यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन् । वर्षमान पुन लगायतका नेताहरू अर्थमन्त्रीका कारण पार्टी र सरकार बदनाम भएको र मुलुक संकटमा परेको निष्कर्षमा पुगेका छन् । तर, आफू बोल्दा जनार्दनको विरोध गरेको बुझिने भएकाले उनी मौन छन् ।

    केन्द्रीय सदस्य न्यौपानेले भने, ‘हाम्रा पार्टीहरू कसरी चलेका छन् भन्ने सबैलाई थाहा छ । हाम्रो बैठकमा अर्थमन्त्रीको प्रतिरक्षा गर्नुपर्छ भन्ने कुरा बरु दुई चारजना साथीहरुले राख्नुभयो । प्रतिकार गर्नुपर्छ भन्ने कुरा पनि आयो । तर, विवादको विषयमा खुलेर बोल्ने स्थिति देखिएको छैन ।’

    यसबाट पनि जनार्दनको सन्दर्भमा माओवादीमा उकुसमुकुस छ भन्ने बुझिन्छ । अझ यहि बैठकबाट पदाधिकारी टुंगो लगाउँन प्रचण्डमाथि दबाब छ । जनार्दन र वर्षमान महासचिवका मुख्य दाबेदार हुन् । त्यसैले अर्थमन्त्री एकपछि अर्को विवाद हुँदै दण्डनीय अपराधका भागिदार हुँदा पनि पार्टीभित्रको गुटका कारण माओवादीमा यो विषयले प्रवेश पाएको छैन । तर, तत्काल अर्थमन्त्री बर्खास्ती वा राजीनामा नहुने हो भने पार्टीलाई ठूलो क्षति हुनेमा नेताहरू एकमत छन् ।

  • माओवादीकाे केन्द्रीय समिति बैठक भाेलिलाई सर्‍याे

    माओवादीकाे केन्द्रीय समिति बैठक भाेलिलाई सर्‍याे

    काठमाडौं । माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

    आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले नेपालप्रेसलाई जानकारी दिए ।

    उनले भने,’मन्त्रिपरिषद्को बैठकको कारण केन्द्रीय समितिको बैठक सारिएको हाे ।’

    आजकाे बैठकमा आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथि केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको  थियाे ।

  • आज पनि माओवादी केन्द्रीय कमिटी बैठक, प्रचण्डले जवाफ दिने

    आज पनि माओवादी केन्द्रीय कमिटी बैठक, प्रचण्डले जवाफ दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज बिहान ११ बजेबाट सुरू हुँदैछ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिबेदनमा छलफलको क्रममा उठेको प्रश्न र सुझावको आज प्रचण्डले जवाफ दिने पार्टीले जनाएको छ ।

    हिजोको बैठकमा छलफलका लागि ९ वटा एजेण्डा रहेकाे थियाे। बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको छ । पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।

    यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै पदाधिकारी टुंग्याएर जानुपर्ने बैठकमा आवाज उठेको छ ।

  • प्रचण्डलाई माओवादी नेताहरूको प्रश्न- कांग्रेससँगको गठबन्धन कति वर्षका लागि हो ?

    प्रचण्डलाई माओवादी नेताहरूको प्रश्न- कांग्रेससँगको गठबन्धन कति वर्षका लागि हो ?

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन र सहकार्यबारे पुनर्विचार गर्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।

    अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिने केन्द्रीय सदस्यहरूले गठबन्धनबाट कांग्रेसले लाभ लिएर ठूलो पार्टी बन्न सफल भए पनि माओवादीलाई त्यसबाट तत्कालीन र दीर्घकालीन लाभ नहुने बताएका छन् ।

    बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै नेता गिरिराजमणि पोखरेलले प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन नगर्ने सुझाव आएको र कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्ने बताए ।

    बैठकमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कांग्रेससँगको गठबन्धन कहिलेसम्म लैजाने भन्ने प्रश्न गर्दै कांग्रेससँग मिलेर समाजवाद स्थापना गर्ने नेतृत्वको चाहना हो ? भन्ने प्रश्न गरेका थिए ।

    अर्का केन्द्रीय सदस्य परशुराम तामाङले गठबन्धनबाट कांग्रेसले धेरे प्रगति गरेको र माओवादीले गर्न नसकेको भन्दै परिस्थितिले अब माओवादीलाई राजनीतिक वैचारिक रूपमा अघि बढ्ने ठाउँ दिएको बताएका थिए ।

    तामाङको भनाइ थियो– नेपाली काङ्ग्रेससँगको सहकार्य कति लामो हो ? हाम्रो एउटा रणनीति छ। तर काङ्ग्रेससँग सहकार्य गर्छौ भने हाम्रो नीति कसरी कार्यान्वयन हुन्छ ? यो गम्भीर छलफलको विषय हो । गठबन्धनबाट कांग्रेसले प्रगति गर्‍यो,पहिलो पार्टी बन्यो । तर हामीलाई के फाइदा भयो ? सोचौँ

    केन्द्रीय सदस्य देवी खड्काले भने स्थानीय चुनावको अनुभव सुनाउँदै आफ्ना पार्टीका उम्मेदवारलाई भोट नदिने कांग्रेसले माओवादीलाई इमानदार सहयोग गर्छ भन्नु नै मूर्खता हुने बताइन् । तर अब संसदीय चुनावमा गठबन्धन नगरी एक्लै लड्छौँ भन्नु मूर्खता हुने उनको भनाइ थियो ।

    केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ प्रचण्डले मंगलवारको बैठकमा दिनेछन् ।

  • पदाधिकारीको नाम प्रस्ताव गर्न प्रचण्डलाई सुझाव, सहमति नभए चुनाव

    पदाधिकारीको नाम प्रस्ताव गर्न प्रचण्डलाई सुझाव, सहमति नभए चुनाव

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारी र स्थायी कमिटी तथा पोलिटव्युरो चयन गर्न दबाब परेको छ ।

    आइतबारदेखि शुरु भएको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफलमा भाग लिने नेताहरूले पदाधिकारी टुंगो लगाउन दबाब दिएका हुन् ।

    छलफलमा भाग लिँदै नेता हरिबोल गजुरेलले यस पटक पदाधिकारी चयन गर्नै पर्ने बताए । उनले यही बैठकमा अध्यक्षले पदाधिकारीको नाम प्रस्ताव गर्नुपर्ने र चित्त नबुझे चुनावमा जानुपर्ने बताए ।

    गजुरेलले भने– अध्यक्षले यही बैठकमा पदाधिकारी प्रस्ताव गर्नुपर्छ । अब स्थायी, पोलिटब्यूरो र पदाधिकारी बनाउनु पर्छ। अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ । चित्त बुझेन भने चुनावमा जानु पर्छ।

    आफ्नै पार्टी मिलाउन नसक्नले कसरी देशको नेतृत्व गर्छ भन्दै सुदन किराँती, पञ्चा सिंह, हेमराज भण्डारी लगायतका नेताले पनि पदाधिकारी र स्थायी कमिटी लगायतका संरचना टुंगो लगाउन सुझाव दिएका थिए ।

    बहुमत सदस्यले पदाधिकारी टुंगो लगाउन दबाब दिएका छन् । अध्यक्षको प्रतिवेदनमाथिको छलफल सकिएको र मङ्गलवार ११ बजे पुनः बैठक बस्ने जानकारी दिइएको छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रचण्डले मंगलवारको बैठकमा दिने भएका छन् ।

  • माओवादी बैठकमा मात्रिकाको माग- म अन्तर्घाती बैठकमा छु, छानबिन होस्

    माओवादी बैठकमा मात्रिकाको माग- म अन्तर्घाती बैठकमा छु, छानबिन होस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेस प्रदेशमा स्थानीय चुनावमा अन्तर्घात भएको र आफूमाथि समेत सो आरोप लागेको भन्दै छानबिनको माग गरेका छन् ।

    केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा नेता यादवले मधेसमा नारायणकाजी र गिरिराजमणि पोखरेल समूहले माओवादी आन्दोलन सिद्ध्याएको आरोप लगाए ।

    स्थानीय चुनावमा मधेसमा माओवादी नराम्ररी हार्नुमा पनि यही कारण रहेको उनको भनाइ थियो ।

    यादवले भने– यहाँ अन्तरघातीहरु पनि उपस्थित छन् भन्ने कुरा आयो , मैले पटक पटक छानबिन होस भनेर माग गरेको तर छानबिन भएन । अहिले पनि म अन्तर्घाती छु । अन्तर्घाती भएर बैठकमा छु । यसरी कसरी पार्टी चल्छ ?

    यादवमाथि स्थानीय चुनावमा अन्तर्घात गरेको आरोप छ । यादवले अहिलेको सरकार गठबन्धनको नभएर कांग्रेसको सरकार भएको भन्दै उनले जसले नेतृत्व गर्‍यो उसैको सरकार हुने दाबी गरे ।

    यादवले भने– हामी गठबन्धनको सरकार भन्छौ , तर जसले नेतृत्व गर्‍यो उसकै सरकार हो । यही गठबन्धनकै सरकार हो भने भोलि जनयुद्धको सहिदलाई, सहिद घोषणा गरियोस् ।

  • आज पनि माओवादी बैठक

    आज पनि माओवादी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बिहान ११ बजेबाट सुरू हुँदैछ ।

    भोलिसम्म निर्धारण गरिएको बैठकमा छलफलका लागि ९ वटा एजेण्डा रहेका छन् । बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको छ । हिजो पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।

    केन्द्रीय समिति बैठकमा संगठनात्मक विषय र संरचना, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीतिलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

    यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै पदाधिकारी टुंग्याएर जानुपर्ने बैठकमा आवाज उठेको छ ।

  • नेकपाकालीन ओली विरोधी मोर्चाको पुनर्मिलन

    नेकपाकालीन ओली विरोधी मोर्चाको पुनर्मिलन

    काठमाडौं । विघटित नेपाल कम्युनिस्ट पार्टी नेकपाका तत्कालीन पाँच जना सचिवालय सदस्यहरूको आज ‘पुनर्मिलन’ भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि उनीहरुबीच सामूहिक भेट भएको हो ।

    माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । भेटवार्ता भएको स्थान उनले खुलाएकी छैनन् ।

    तत्कालीन अध्यक्ष प्रचण्ड तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको भेटवार्तामा सरिक थिए ।

    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको अवस्था, स्थानीय चुनाव, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको थियो ।

    नेतृत्व तहमा यो छलफललाई निरन्तरता दिने समझदारी बनेको दाहालले बताएकी छन् ।

  • प्रचण्डको प्रतिवेदन : गठबन्धन दललाई लाभ, एमालेलाई हानी (पूर्णपाठ)

    प्रचण्डको प्रतिवेदन : गठबन्धन दललाई लाभ, एमालेलाई हानी (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् ।

    उक्त प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन र अहिले सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामको तुलनात्मक विश्लेषण गरिएको छ । जसमा सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले ‘लाभ’ भएको उल्लेख छ ।

    प्रतिवेदनमा पहिलो स्थानीय तह निर्वाचन २०७४को तुलनामा दोस्रो निर्वाचन २०७९मा नेपाली कांग्रसले प्रमुख÷अध्यक्षमा ६३ पद बढी जित्न सफल भएको कुरा उल्लेख छ ।

    ‘हाम्रो पार्टी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्,’ प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ भनेर उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पहिलेको तुलनामा उसले ८८ सिट गुमाएको छ ।’

    त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यस पटकको निर्वाचनमा ९ सिट गुमाएको कुरा उल्लेख छ ।

    ‘नेकपा एसले गठन भएको छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

    यस्तै नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र अन्य पार्टीहरू नयाँ भएर पनि अस्तित्व कायम गर्न सफल भएका विषय प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

    यस्तै उपप्रमुख/उपाध्यक्षमा नेपाली कांग्रेसले पहिलेको तुलनामा ७७ पद थप गरेको र माओवादी केन्द्रले पहिलेको तुलनामा २३ पद बढाएको उल्लेख छ ।

    एमालेले ९१ पद गुमाएको कुरा उल्लेख छ भने, लोसपाले पनि पहिलेको तुलनामा २३ सिट गुमाएको उल्लेख छ ।

    नगरपालिकाको मत विश्लेषणमा कांग्रेस ४८ प्रतिशत नगरपालिकाको प्रमुखमा विजयी भएको र एमाले २८ प्रतिशतमा सीमित रहेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

    माओवादी केन्द्रले ९ प्रतिशत नगरपालिकामा जित्न सफल भएका प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

  • हामीलाई हराउन कांग्रेस सबैसँग मिल्यो, गठबन्धनबारे गम्भीर भएर सोचौं

    हामीलाई हराउन कांग्रेस सबैसँग मिल्यो, गठबन्धनबारे गम्भीर भएर सोचौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्दा गम्भीर रूपमा सोच्नुपर्ने आवाज उठेको छ ।

    उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले कांग्रेस गठबन्धनमा इमान्दार नभएको भन्दै आगामी दिनमा उसँग गठबन्धन गरेर निर्वाचनमा जाँदा सोच्नुपर्ने बताए ।

    ‘कांग्रेसको मत इमान्दार छैन,’ आफ्नो प्रदेशको रिपोर्टिङ गर्दै अध्यक्ष सिम्खडाले भने,‘कांग्रेस हामीलाई हराउन सबैसँग मिल्यो । त्यसकारण कांग्रेसँगको गठबन्धनबारे गम्भीररूपमा सोच्नुपर्छ ।’

    गठबन्धन भन्दा-भन्दै माओवादी केन्द्रका मतदाताले पार्टीको चुनाव चिन्ह नै बिर्सने अवस्था आइसकेको उनले बताए । ‘यति सिट त एक्लै लड्दा पनि आउँथ्यो । गठबन्धन भन्दाभन्दै मतदाताले हसिया हथौडा चुनाव चिन्ह नै बिर्सने अवस्था आयो,’ उनले भने ।

    राजधानी उपत्यकामा अहिले माओवादी केन्द्रले एउटा वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था आइलागेको सिम्खडाको भनाइ थियो । उनले भने,‘रााजधानीमा अहिले हामी निकै कमजोर भइसक्यौं । मधेस र राजधानीमा पार्टी बनाउन लाग्नुपर्ने स्थिति छ ।’

    यस्तै पार्टीको मूल्यांकन पद्धति पनि निकै नराम्रो दिशामा गएको अध्यक्ष सिम्खडाले बताए । हामीले प्रदेश समिति बनाउन नचाहेकाहरू पनि अहिले केन्द्रीय समितिमा छन् । अनि कसरी पार्टी बन्छ ?,’ उनले प्रश्न गरे ।

    अहिले गठबन्धन भनेर नहुने भन्दै उनले एकल रूपमा निर्वाचनमा जानुपर्ने बताए ।

  • माओवादी बैठकमा अर्थमन्त्रीको विरोध

    माओवादी बैठकमा अर्थमन्त्रीको विरोध

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङ सुरू भएको छ । अहिले प्रदेश अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशहरूको सांगठानिक तथा समसामयिक रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।

    यसैक्रममा वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले भर्खरै आफ्नो प्रदेशको रिपोर्टिङ गरेका छन् । जसक्रममा उनले अर्थमन्त्री जनार्दन शर्माको समेत विरोध गरे ।

    अर्थमन्त्री शर्माले सरकारलाई व्यक्तिगत कम्पनीजस्तो गरी चलाएको, बजेट खन्याउन नजानेको भन्दै उनले आलोचना गरे ।

    माओवादी केन्द्र देशमा सबैभन्दा बढी अराजक पार्टी भएको उनको टिप्पणी थियो । भावुक पनि माओवादी नै भन्दै उनले भने, ‘कोही रोए केन्द्रीय सदस्य पाउने पनि यही पार्टी ।’

    यस्तै विद्यार्थी संगठनको विवादका विषयमा बोल्दै उनले अहिले नैतिक रूपमा चल भन्ने शक्ति पनि नेतृत्वमा नभएको भनेर टिप्पणी गरे ।

    यस्तै अध्यक्ष सहयात्रीले तीन दिन चल्ने बैठकलाई थप दुईदिन बढाएर भएपनि पदाधिकारी फाइनल गर्नुपर्नेमा जोड दिए । ‘२ दिन बढाएर ५ दिन बनाऔं तर, पदाधिकारी फाइनल गरेर जाऔं,’ उनले भने, ‘स्थायी कमिटी र पोलिटब्यूरो पनि बनाऔं ।’

    यस्तै स्थानीय तह निर्वाचनमा गठबन्धनको मोडालिटी सही नभएको पनि उनले बताए । उनले भने, ‘हामी जनताका समान्य मुद्दा उठाउन नजान्ने भइसकेका छौं ।’

    पार्टीभित्र अन्तर्घात पनि डरलाग्दो रूपमा देखिएको उनको भनाइ छ ।

  • माओवादी बैठक : यी ९ एजेण्डामा छलफल हुने (सूचीसहित)

    माओवादी बैठक : यी ९ एजेण्डामा छलफल हुने (सूचीसहित)

    काठमाडौं । राष्ट्रियसभा गृहमा भर्खरै सुरू केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा राखेका छन् ।

    बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ ।

    केन्द्रीय कमिटी बैठकका मुख्य एजेण्डाहरू निम्नानुसार छन् ।

    १. सहिदहरूप्रति श्रद्धाञ्जली

    २. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

    ३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

    ४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

    ५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

    ६. संगठनात्मक विषय र संरचनाबारे

    ७. स्थानीय निर्वाचनको समीक्षा

    ८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

    ९. विविध

  • माओवादी केन्द्रीय कमिटी बैठक सुरू, पदाधिकारीको टुंगो लाग्ला ? (तस्बिरहरूसहित)

    माओवादी केन्द्रीय कमिटी बैठक सुरू, पदाधिकारीको टुंगो लाग्ला ? (तस्बिरहरूसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको छ । पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनको कार्यसूचीसमेत भएकाले बैठकलाई चासोका साथ हेरिएको छ ।

    गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनपश्चात प्रचण्ड अध्यक्ष निर्वाचित भएका थिए भने हलबाट केन्द्रीय कमिटीको घोषणा गरिएको थियो । तर, पार्टीको उच्च नेतृत्वका रूपमा रहेका स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको अहिलेसम्म गठन हुन सकेको छैन । आजबाट सुरू केन्द्रीय समिति बैठकको कार्यसूचीमा भए पनि पदाधिकारी छनोट हुने निश्चित नरहेको नेताहरूले बताएका छन् ।

    माओवादीमा खासगरि महासचिव को बन्ने भन्ने विवाद छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा बलिया आकांक्षी हुन् । दुवै आफूनिकट नेता भएकाले अध्यक्ष प्रचण्ड सकसमा परिरहेका छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • माओवादी केन्द्रीय कमिटीको बैठक भोलि बस्दै

    माओवादी केन्द्रीय कमिटीको बैठक भोलि बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भाेलि बस्ने भएको छ ।

    भोलि बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको बस्ने माओवादी केन्द्रले जनाएको छ।

    बैठकमा चुनावी समीक्षा, पदाधिकारीबारे छलफल, आगामी चुनावीबारे छलफल, लगायत विविध विषयमा छलफल हुने केन्द्रीय कार्यलय मुख्य सचिव श्रीराम ढकालले बताए ।