Category: माओवादी केन्द्र

  • अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो– हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लागि गठित समितिको प्रतिवेदन कहिले आउँछ ?

    अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो– हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लागि गठित समितिको प्रतिवेदन कहिले आउँछ ?

    काठमाडौं । माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ ।

    अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै छानविनको नाममा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन् ।

    ’एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन । कतै छानबिनको नाममा प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन ?’ अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ, ’सत्य तथ्य बाहिर ल्याउन गठित समिति स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन ? आज छानबिन समितिमाथि नै छानबिन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ ।’

    व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्य तथ्यसहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ । ट्रान्स्कृप्ट, प्रोभिजनल, माईग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि पनि त्रिभुवन विश्वविधालय धाउन पर्ने अवस्था रहिरहे विश्वविद्यालयका विरुद्ध आन्दोलन गर्ने समेत उसले चेतावनी दिएको छ ।

    यसअघि आफुहरुले बुझाएको १८ बुदे मागबारेपनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ ।

    यस्तो छ विज्ञप्तिः

     

  • प्रचण्ड-बाबुरामको चुनाव चिन्ह र घोषणापत्र एउटै हुने, नेसपा सत्ता गठबन्धनको छैटौं घटक

    प्रचण्ड-बाबुरामको चुनाव चिन्ह र घोषणापत्र एउटै हुने, नेसपा सत्ता गठबन्धनको छैटौं घटक

    काठमाडौं । माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।

    माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

    बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

    दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराइने भएको छ । योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

    यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ ।

  • जनतालाई राजनीतिक परिवर्तनका संवाहक बनायौं, विकासको बनाएनौंः शक्ति बस्नेत (भिडिओ)

    जनतालाई राजनीतिक परिवर्तनका संवाहक बनायौं, विकासको बनाएनौंः शक्ति बस्नेत (भिडिओ)

    काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जनता आर्थिक तथा सामाजिक विकासको प्रकृयाबाट वञ्चित रहेको बताएका छन् ।

    राष्ट्रिय आर्थिक मासिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले व्यवस्थाकीय काम गर्ने, राजस्व संकलन गर्ने र त्यसको केही हिस्सा सामाजिक सुरक्षामा खर्च गर्नेबाहेक जनताका लागि यसविषयमा थप चिन्तन नगरेको बताए ।

    ‘हामीले हरेक राजनीतिक परिवर्तनका बेला संवाहकका रुपमा प्रयोग हुने जनतालाई जनतालाई बनायौं । हरेक राजनीतिक संकटको निकास जनताबाटै खोज्यौं,’ उनले भने,‘तर, आर्थिक सामाजिक विकासको प्रकृयाका जनतालाई बनाएनौं । यसमा हाम्रो आवश्यक ध्यान नपुगिरहेको मलाई महसुस हुन्छ ।’

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

    काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक जारी छ । बैठक बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

    बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे विषयमा छलफल हुनेछ ।

  • जापानमा प्रचण्डका ६ दिन- शान्ति संग्रहालयदेखि नर्सरीसम्म धाए, नेपालीलाई कोट बोकाए

    जापानमा प्रचण्डका ६ दिन- शान्ति संग्रहालयदेखि नर्सरीसम्म धाए, नेपालीलाई कोट बोकाए

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पहिलो जापान भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किए । पार्टीनिकट जनप्रगतिशील मञ्चको निमन्त्रणमा गएका उनको यो भ्रमण अनौपचारिक थियो ।

    प्रचण्डले जापानमा अधिकांश समय नेपाली समुदायसँगै बिताएका थिए । जनप्रगतिशील मञ्चले आयोजना गरेका विभिन्न अन्तरक्रियाहरूमा उनले भाग लिए । गैर आवासीय नेपालीले आयोजना गरेको नेपाल फेस्टिबलमा अतिथिका रूपमा सहभागी भए । दोस्रो विश्वयुद्धले ध्वस्त पारेर पुन निर्मित सहर हिरोसिमा पुगेर शान्ति संग्रहालय अवलोकन गरे । जापानी संसद्को भ्रमण गरे । उनकै शब्दमा जापानका चल्तापूर्जा सांसदसँग भेटघाट गरे ।

    प्रचण्ड फर्किए लगत्तै उनको सचिवालयले एक विज्ञप्ति जारी गरी भ्रमणका विस्तृत जानकारी दिएको छ । जसअनुसार प्रचण्डले साइतमा एउटा नर्सरीको समेत अवलोकन गर्न भ्याएका थिए । विज्ञप्ति अनुसार उनको ‘उच्च तहको’ राजनीतिक भेटघाट चाहिँ त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायरासँग भएको थियो । तायराले जापानको संसद् भवन ‘डायट’ मा प्रचण्डलाई स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रचण्डले सांसदभन्दा माथिको राजनीतिक नेतृत्वसँग भने भेटवार्ता गर्न पाएनन् । जापानको सरकार वा त्यहाँका कुनै संघ–संस्थाको आमन्त्रणमा नभएर त्यहाँ रहेका नेपालीहरूकै आमन्त्रणमा गएको हुँदा प्रचण्डको भ्रमणलाई जापानको सरकारले खासै नोटिसमा लिएको देखिएन । त्यहाँका सञ्चारमाध्यमले नेपालका पूर्व प्रधानमन्त्री आफ्नो देशमा आएको र गएको थाहै पाएनन् । नेपाल फर्केर प्रचण्डले जापानी सांसदसितको भेटलाई नै उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । ती सांसदसँग आफूले नेपालको फोहोर व्यवस्थापनदेखि विभिन्न विषयमा सहयोगका लागि आग्रह गरेको उनको भनाइ थियो ।

    आफ्नो भ्रमणलाई नेपालको दूतावासले अत्यधिक महत्त्व दिएको भन्दै प्रचण्डले खुशी व्यक्त गरे । दूतावासले आफ्नो सम्मानमा हिजो राति दिएको रात्रीभोजलाई उनले भ्रमणको क्लाइमेक्स बताए । उक्त रात्रि भोजमा ३० जनजाति जापानीहरू पनि आएको प्रचण्डको भनाइ छ ।

    नेपालभन्दा बाहिर विभिन्न देशमा नेपालका प्रमुख राजनीतिक पार्टीका प्रवासी संगठन छन् । उनीहरूले आफ्नो खर्चमा पार्टीका शीर्ष नेताहरूलाई सम्बन्धित देशमा भ्रमण गराउने नयाँ प्रचलन होइन । तर, देशको प्रधानमन्त्री भइसकेका नेताहरू पनि ‘फ्रि भिसा र टिकट’ पाएपछि रमाउँदै घुम्न जाने प्रवृत्ति चाहिँ गलत भएको कूटनीतिका जानकारहरू बताउँछन् । आफ्नो ओहदाको मर्यादा बिर्सेर हल्काफुल्का तवरबाट विदेश भ्रमण गर्दा देशकै प्रतिष्ठामा आँच आउन सक्ने उनीहरूको टिप्पणी छ ।

    यसअघि प्रचण्ड छिमेकी देश भारत भ्रमणमा त्यहाँको सत्तारुढ दल भाजपाकै निमन्त्रणमा गएका थिए । तर, त्यहाँ तीन दिन बस्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न समय पाउन सकेका थिएनन् । तर, पनि उनले आफूलाई भारतले बहालवाला प्रधानमन्त्रीजस्तै सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । जापान भ्रमणमा त झन् उनले मन्त्री पनि भेट्न पाएनन् । विमानस्थलमा पनि प्रचण्डको स्वागतमा जापानी सरकारका कोही पनि प्रतिनिधि उपस्थित थिएनन् । कुनै उद्देश्य र एजेन्डाबिना घुम्नकै लागि आएका नेतालाई त्यहाँको सरकारले पुरै नजरअन्दाज गरेको देखियो ।

    जापानमा रहेका माओवादी कार्यकर्ताले प्रचण्डलाई निम्त्याउनुको ठोस उद्देश्य पनि थिएन । मञ्चमा व्यक्तिहरूले भने प्रचण्डलाई रिझाउन विभिन्न कसरत गरेको देखियो । प्रचण्ड जापानमा घुम्दै गर्दा उनको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो । जसमा जनप्रगतिशील मञ्चका अध्यक्षले प्रचण्डको कोट हातमा बोकेर हिँडिरहेका थिए । नेताको चाकडी गर्ने झोले कार्यकर्ताको शैली नेपालीहरूले जापानमा पनि पुर्‍याएको भनेर सामाजिक सञ्जालमा टिप्पणी भयो ।

    प्रचण्ड जापान पुगे लगत्तै उनले दिएको अभिव्यक्ति पनि उनको यो भ्रमणको अर्को हाइलाइट्स बन्यो । प्रचण्डले विमानस्थलमा बोल्दै हालै हत्या भएका जापानी पूर्व प्रधानमन्त्री सिञ्जो आवे नेपालमा आउँदा आफूले दुई–तीन पटक कुरा गरेको बताएका थिए । जबकि आवे नेपाल कहिल्यै आएका थिएनन् ।

    प्रचण्डको जापान भ्रमणका सन्दर्भमा सचिवालयले जारी गरेको विज्ञप्ति यस्तो छ :

    हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी बन्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनु भएको छ ।

    अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवर्द्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।

    १. २०७९ श्रावण २१ गते (अगष्ट ६, २०२२) को बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान बसाइँको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुभूत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनु भयो । सोही दिन विमानमार्फत फुकुओका पुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रूपमा जापानको फुकुओकामा गैह्र आवासीय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नु भयो र प्रमुख अतिथिका रूपमा समारोहको समुद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक शहर ओशाका पुगी नेपाली समुदायका अगुवाहरूसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

    २. २०७९ श्रावण २२ गते (अगष्ट ७, २०२२) का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुभयो । सोही दिन साँझ नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभयो ।

    ३. २०७९ श्रावण २३ गते (अगष्ट ८, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतमा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवर्द्धन विभाग अन्तर्गतको कुरौसु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुशरण गर्न चाहेको बताउनुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुबेदीको पनि उपस्थिति रहेको थियो ।

    सोही दिन दिउँसो जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले जापानी संसद् ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरूको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसद्को अवलोकन गराउनुभयो ।

    सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जनप्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरूसँग छलफल तथा अन्तर्संवाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरूको श्रम, सीप र पूँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।

    ४. २०७९ श्रावण २४ गते (अगष्ट ९, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुभयो । जापान सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषय विज्ञ, डाक्टरहरू तथा अनुसन्धानकर्ताहरूको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुनिक विकासको बारेमा जानकारी लिनुका साथै दुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समुदायद्वारा राजधानी टोकियोमा सञ्चालित नेपाली विद्यालयहरू एभरेष्ट इन्टरनेशनल स्कूल र हिमालय इन्टरनेशनल स्कूलका कार्यक्रममा सहभागी हुनुभयो । नेपाली समुदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    सोही दिन अपराह्न ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद् सदस्य एवं नेपाल(जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरूको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो । उक्त भेटवार्ताले नेपाल(जापान सम्बन्धलाई थप मजबुत बनाउन र दुई देश बीचको राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न मद्दत पुर्‍याएको छ । उक्त भेटवार्तामा नेता निकाईले अरू थप ३ जना सांसद सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो भने अध्यक्ष कमरेड प्रचण्डको प्रतिनिधिमण्डलमा जापानका लागि नवनियुक्ति नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पनि सहभागी बन्नुभएको थियो ।

    साँझ टोकियोस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक भई जापानका राजनीतिक नेताहरू, कूटनीतिज्ञ, प्रशासकहरू र समाजका विभिन्न क्षेत्रका अगुवाहरु, नेपाली समुदायका अगुवा प्रतिनिधिहरू सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाल र जापान बीचको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माण, कोभिड नियन्त्रण लगायत नेपालको विकासमा जापानले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । र, आगामी दिनमा नेपालका प्राथमिकतामा जापान सरकारको सहयोगका लागि आव्हान गर्नुभयो ।

    सोही दिन राती नेपाली समुदायका र जापानी पत्रकार समेतको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कमरेड सहभागी हुनुभयो । पत्रकारहरूको प्रश्नको जवाफ दिदैं अध्यक्ष कमरेडले आफ्नो जापान भ्रमणबाट सन्तुष्ट भएको, भ्रमण सफल रहेको र आफूले जापानबाट केही सिकाई र ऊर्जा लिएर फर्किन थालेको बताउनु भयो ।

    ५. २०७९ श्रावण २५ गते (अगष्ट १०, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले टोकियोस्थित नेपाली दूतावासको अवलोकन गर्नुभयो । सो क्रममा राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासले गरिरहेका कामको चर्चा गर्दै जनसेवाका लागि स्थान तथा जनशक्ति अभाव जस्ता दूतावासले भोगिरहेका समस्याहरू बारे जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको प्रमुख नेता हुनुको नाताले समस्या समाधानको लागि आशावादी रहेको निवेदन गर्नुभयो भने अध्यक्ष कमरेडले जापानमा बस्ने नेपालीहरूको समस्या समाधानमा तदारुकताका साथ लागिपर्न निर्देशन गर्दै आफू काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीसँग समस्या समाधानका निम्ति छलफल गर्ने बताउनुभयो ।

    अध्यक्ष कमरेड प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किनुभएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्‍याउनु हुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु, लिबरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीय ज्यूहरू, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदूत तथा दूतावास परिवार, नेपाली जनप्रगतिशील मञ्च जापानका सम्पुर्ण नेता कार्यकर्ता साथीहरू, जापानमा रहनुहुने सम्पुर्ण नेपाली समुदायका अगुवा तथा शुभेच्छुकहरु, नेपाल, जापान तथा विश्वभर रहेर खबर सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, नेपाल र नेपालीको भलाई चाहने मित्रहरू तथा सम्पुर्ण देशभक्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।

    -प्रचण्डको सचिवालय

  • मन्त्री पौडेलको दाबी : वामपन्थी दलमध्ये माओवादी केन्द्र पहिलो पार्टी बन्छ

    मन्त्री पौडेलको दाबी : वामपन्थी दलमध्ये माओवादी केन्द्र पहिलो पार्टी बन्छ

    हेटौँडा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र वामपन्थीमध्येको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

    पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनपछि माओवादीले देशको वामपन्थी पार्टीहरुको लिड गर्ने दाबी गरे ।

    प्रेस सेन्ट मकवानपुर समन्वय समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यो पटक माओवादी वर्तमान गठबन्धनबाटै निर्वाचनमा होमिने बताए ।

    एमालेसँगको गठबन्धनबारे अहिलेसम्म औपचारिक कुराकानी नभएको भन्दै उनले निर्वाचन मिति घोषणा भइसकेको सन्र्दभमा नयाँ गठवन्धन बनाउने काम तिर नलाग्ने, वर्तमान गठबन्धनमा नै समावेश भएर निर्वाचन लड्ने उनको भनाई छ ।

    यो गठबन्धन “सिस्टम” निर्माणको लागि बनेको भन्दै उनले भने ‘हामीलाई सत्ताको लागि गठवन्धन बनायो भन्ने आरोप छ, तर यो गठबन्धन सिस्टम निर्माणको लागि हो, तसर्थ तीन तहको नयाँ सरकार स्थापना नभै टुट्ने कुरै भएन् ।’

    मन्त्री पौडेलले अहिलेको सरकारलाई परमादेश भन्ने एमालेको धारणा गलत रहेको बताए । उनले भने ‘उसो भए त नेकपा एमाले र माओवादी केन्द्र पनि त अदालतको आदेशबाट पुनःस्थापित भएका हुन् नि, एमाले र माओवादी पनि परमादेशबाट बनेको पार्टी हो ।’

    अहिले समाजवादी केन्द्र बन्ने सम्भावना धेरै नरहेको भन्दै पौडेलले समाजवादी केन्द्र बन्ने कुरा सोच राम्रो भएपनि व्यवहारमा उतार्न समस्या रहेको उल्लेख गरे । विचार नमिलेसम्म एकता हुँदा नेकपाको हालत हुने भएकोले हतार गरिहाल्ने पक्षमा माओवादी केन्द्र नरहेको उनले बताए ।

    आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित तथा शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न सरकार लागिपरेको भन्दै उनले निर्वाचनका कामहरु अघि बढिसकेको दाबी गरे । निर्वाचनलाई केन्द्रमा राखेर सरकारले गतिविधिहरु अघि बढाईसकेको भन्दै मन्त्री पौडेलले सरकारको यो महत्वपूर्ण जिम्मेवारीलाई विवादरहित गहन ढंगबाट पुरा गर्ने बताए ।

    त्यस्तै, उनले फरक प्रसंगमा नेपालको शिक्षा क्षेत्रको क्रान्तिकारी परिवर्तनको लागि सरकारले आवश्यक काम गरिरहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सिप र रोजगारसँग जोडने गरि काम भैरहेको जानकारी दिए । उच्च शिक्षा हाँसिल गर्न भर्ना हुनपूर्व कम्तीमा ३ महिनाको इन्र्टन कक्षाको व्यवस्था गर्ने काम सुरुवात गरिने उनको भनाई थियो ।

  • ५ वर्ष नपुगी निर्वाचन हुन लागेकोमा माओवादी सांसदको असन्तुष्टि

    ५ वर्ष नपुगी निर्वाचन हुन लागेकोमा माओवादी सांसदको असन्तुष्टि

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको कार्यकाल पाँचवर्ष पुग्नुअगावै हुन लागेको निर्वाचन कार्यतालिकाका लागि ऐन आवश्यक रहेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘निर्वाचन घोषणा गर्ने अधिकार सरकारलाई छ । तर, प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष धारा ८५ (१) ले भनेको छ । सर्वोच्च अदालतको पाँच वर्ष घटाउन नहुने भनेको छ,’ उनले भने, ‘यो मध्यावधि निर्वाचन पनि होइन । ७६ (५) को सरकार विफल भएको पनि होइन । त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा एउटा ऐन जरुरी पर्छ ।’

    यस्तै प्रतिनिधिसभाको कार्यावधिको विषयमा पनि अर्को ऐन जरुरी रहेको उनले बताए ।

    उनले भने, ‘प्रतिनिधिसभा परिवर्तनको परिकल्पना गरेको छ, रिक्तताको परिकल्पना गरेको छैन । रिक्तताको अवस्थामा मुलुकमा गम्भिर स्थिति पैदा गर्नसक्छ । त्यसकारण सरकारले तत्काल ऐन ल्याओस् ।’

  • पार्टी बनाउन चाहन्छौं भने जनतामा जाऔं : महरा

    पार्टी बनाउन चाहन्छौं भने जनतामा जाऔं : महरा

    लमही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएकाले आगामी चुनावमा जनमत सुधारका लागि लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    लुम्बिनी प्रदेश कमिटीको बैठकमा अगुवा कार्यकर्तालाई निर्देशन दिँदै महराले भने, ‘यदि हामी पार्टी बनाउन चाहन्छौं भने जनतामाझ जाऔँ, जनतालाई सधैँ प्राथमिकता दिएर अगाडि बढौँ, जनताको बीचमा गएर पार्टीलाई सुधार गरौँ ।’

    जनतलाई सरकार कसको भन्ने विषय नभई कुन पार्टीले के कार्यक्रम ल्यायो भन्ने अर्थ महत्वपूर्ण हुने बताए ।

    अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि स्थायी समितिको बैठक बसेर छिट्टै पदाधीकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए ।

  • हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

    हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सांसद विशंखेको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विशंखेले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा बताइन् ।

    सांसद विशंखेले उनीहरूको पुनःस्थापनाको व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    उनले भनिन्, ‘नेपालको संविधानको धारा ४० अन्तर्गत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेसमा हलियाको समस्या अझै समाधान भएको छैन । समस्या समाधानका लागि गठित समितिले अझै काम गर्न सकेको छैन, समस्या समाधान होस् ।’

  • माओवादी लुम्बिनी प्रदेश कमिटीको बैठक सुरू

    माओवादी लुम्बिनी प्रदेश कमिटीको बैठक सुरू

    रुपन्देही । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको तेसो पूर्ण बैठक दाङको लमहीमा सुरू भएको छ ।

    नयाँ केन्द्रीय कमिटीको जिम्मेवारीपछि बसेको पहिलो बैठकमा आगामी चुनावी रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा प्रदेश कमिटीका सदस्य, लुम्बिनीबा केन्द्रमा प्रतिनिधित्व गरेका प्रभावशाली नेतासहित पाँच सयभन्दा बढी सहभागी छन् ।

    प्रदेश कमिटी सचिव कृष्ण घिमिरे ‘प्रकाश’ स्थानीय निर्वाचनको समीक्षा, मंसिर ४ को चुनावको रणनीति र कार्ययोजनामा केन्द्रित हुने बताउँछन् ।

    बैठकमा नेता कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’ आइसकेका छन् । वर्षमान पुन र ओनसरी घर्तीलगायत सहभागी हुने आयोजकले बताएको छ ।

  • विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

    विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

    जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा अझै राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका हुन् ।

    ‘म तपाइहरु समक्ष म इमान्दारपूर्वक भन्न चाहन्न्छु, तपाइहरु अझै स्वदेश फर्कने बेला भएको छैन’, प्रचण्डले भने, ’केही समय पर्खिनुहोस्, हामी राजनीतिक स्थायित्व कायम गर्नेतर्फ अग्रसर भएका छौँ, तपाइहरुलाइ स्वदेश फर्कने वातावरण मिलाउदैछौँ ।’

  • हिरोसिमा भ्रमणपछि प्रचण्डको प्रश्न- यत्रो विध्वंस गर्नेप्रति जनताको मनमा के होला ?

    हिरोसिमा भ्रमणपछि प्रचण्डको प्रश्न- यत्रो विध्वंस गर्नेप्रति जनताको मनमा के होला ?

    काठमाडौं । जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमममा आफ्नो भ्रमणका रोचक अनुभवहरु सेयर गरेका छन् । जापानमा बस्ने प्रवासी नेपालीहरुसँगको अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले बुलेट ट्रेन चढेदेखि हिरोसिमा भ्रमणसम्मका अनुभव सुनाएका हुन् ।

    आफूले जापानलाई एकदमै सिस्टममा चल्ने देशका रुपमा चिनेको प्रचण्डले बताए ।

    उनले भने, ‘यहाँ मैले धेरैपटक बुलेट ट्रेन चढ्ने अवसर पनि पाएँ । ट्रेन १० बजेर ९ मिनेटमा आउँछ भन्थे ठ्याक्कै १० बजेर ९ मिनेटमा नै आयो । १२ बजेर कति मिनेटमा पुग्छ भनेकोमा ठ्याक्कै त्यतिमै पुग्यो ।’

    प्रचण्डले ट्रेनमा बस्दाको अनुभव पनि सुनाए ।

    ‘ट्रेनमा बस्दा जापानी नागरिक, बुद्धिजिवी कोही बोल्दैनन् । बडो शान्तसँग बसिराख्या हुन्छन् । हामी नेपाली बोलिराख्या हुन्छम् । अलि चर्कोचर्कै बोल्छौं ।’
    त्यसपछि प्रचण्डले दोस्रो विश्वयुद्धमा ध्वस्त भएको शहर हिरोसिमा भ्रमणको अनुभव यसरी सुनाए ।

    ‘मैले आज हिरोसिमा गएर सबै म्युजियमदेखि बम हानेपछिको भग्नावशेष हेरेँ । मेरो मनमा थियो, त्यो कुरा मैले साथीहरुलाई सोधेँ । यत्रो दुर्घटना, यत्रो हत्या, यत्रो विध्वस्त हुँदा त विध्वंस गर्नेहरुप्रति जापानीको मनमा के होला मनोभावना भनेर मैले धेरैलाई सोधेँ । धेरैले एउटै उत्तर दिनुभयो, जापानीहरुमा कुनै विद्वैष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । तर, अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रीत हुनुपर्छ भन्ने खालको सोच छ भनेर बताइयो । तपाईंहरु त्यस्तो देशका त्यस्ता जनतासँगको संसर्गमा हुनुहुन्छ ।’

  • जसले चुनाव जिते पनि माओवादी आन्दोलनले जितेको हो : प्रचण्ड

    जसले चुनाव जिते पनि माओवादी आन्दोलनले जितेको हो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जसले जति सिट जिते पनि त्यो माओवादी आन्दोलनको जित हुने बताएका छन् ।

    जनप्रगतिशील जापानले जापानको टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस एमाले जसले जति सिट जिते पनि माओवादी आन्दोलनले जितेको महसुस हुने बताएका हुन् ।

    ‘जसले जति सिट जिते पनि हामीले ल्याएको गणतन्त्रले जित्ने हो, माओवादी आन्दोलनले जित्ने हो’ उनले भने ‘त्यसैले कसले कति सिट जित्यो त्यो ठुलो कुरा होइन ।’

  • प्रचण्डले भने- ‘जापानका पूर्व प्रधानमन्त्री आबेलाई भेट्ने धोको थियो’ (भिडिओ)

    प्रचण्डले भने- ‘जापानका पूर्व प्रधानमन्त्री आबेलाई भेट्ने धोको थियो’ (भिडिओ)

    जापान । जनप्रगतिशील मञ्च जापानले आयोजना गरेको कार्यक्रममा भाग लिन जापान आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पुरा नभएको बताएका छन् ।

    नारिता अन्तरराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग पटक पटक कुरा भएको र उनी नेपालप्रती अतिनै सकरात्मक रहेको भन्दै उनलाई भेट्ने धोको पुरा नभएको बताएका हुन् ।

    ‘मलाई जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे सँग भेट्ने धोको थियो’ प्रचण्डले भने ’यस्तो दुखद् घटना घट्यो, जो जापानमा बिरलै घट्ने घटना हो ।’ आफु जापान आउन पहिले देखिनै इच्छुक रहेको बताउदै प्रचण्डले समयमै आफ्नो इच्छा पुरा नहुँदा आबेलाइ समेत भेट्न नपाएको बताए ।

    बिहान नारिता विमानस्थलमा ओर्लेका प्रचण्ड फुकुओकामा आयोजना गरेको नेपाल फेस्टिवलको उद्द्घाटन गर्न त्यस तर्फ प्रस्थान गरेका छन् ।

  • जापान हामी सबैको प्रेरणाको स्रोत हो- प्रचण्ड

    जापान हामी सबैको प्रेरणाको स्रोत हो- प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापान सबैको प्रेरणाको स्रोत भएको बताएका छन् ।

    आज बिहान जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

    उनले जापानको आइटीको स्थिति के  छ भन्नेमा रुची रहेको बताए ।

    ‘जापान हामी सबैको प्रेरणाको स्रोत हो । जसरी युद्धबाट प्रभावित भएको देश आफनै मेहेनतले यति माथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको हुनाले यो प्रेरणा लिनु पनि हो जापान आउनुको कारण हौ । उ

    नले पूर्वप्रधानमन्त्री शिन्जो आवेलाई भेट्ने इच्छा पुरा नभएको भन्दै दुखी भए । उनले भने,‘ म जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेलाई भेट्ने भनेर मिलाउने कोशिस गर्दै थिए । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को उचाइमा कसरी लाने भन्ने थियो । त्यो पूरा भएन । ‘

    उनले विकासमा जापानको आइटीको स्थिति के भन्नेमा रुची रहेको बताए । नेतृत्वले इमानदार प्रयास गर्यो भने विकास सम्भव हुने बताए ।

     

  • पञ्चा सिंहको दाबी- मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति

    पञ्चा सिंहको दाबी- मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति

    पोखरा । अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सि‌ंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।

    अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन् ।

    मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो ।

    तीन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला र कार्यक्रमहरु साउनमहिना भित्र सम्पन्न हुने अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।

  • चीनलाई बाधा पुग्ने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड

    चीनलाई बाधा पुग्ने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड

    काठमाडौं । सत्ता घटक नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सामाजिक सञ्जालमार्फत चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने धारणा सार्वजनिक गरेको हो ।

    ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

  • इपिसेन्टर गोरखा- प्रचण्ड, बाबुराम र नारायणकाजीको चासो, कांग्रेसबाट को ?

    इपिसेन्टर गोरखा- प्रचण्ड, बाबुराम र नारायणकाजीको चासो, कांग्रेसबाट को ?

    काठमाडौं । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलको खाका बनाउने तयारी थालिसक्दा केही जिल्ला भने चर्चाको केन्द्रमा छन् ।

    कुनै वेला माओवादी सशस्त्र युद्धको प्रभाव केन्द्र र उद्गम थलो मानिने गोरखा मंसिरमा हुने महानिर्वाचनमा पनि ‘इपिसेन्टर’ नै बन्ने निश्चित छ । किनकि २ निर्वाचन क्षेत्र रहेको गोरखामा स्थानीय निर्वाचनमा सफल देखिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत सरोकार जोडिएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि आधा दर्जन बढी प्रभावशाली नेताहरुको ध्यान गोरखामा केन्द्रित छ ।

    प्रचण्डको चासो गोरखातिर !

    नेकपा माओवादी केन्द्रले गत स्थानीय निर्वाचनमा सबैभन्दा सकारात्मक नतिजा हासिल गरेको जिल्ला हो- गोरखा । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा माओवादीले जीत हासिल गरेको थियो । यही कारण गोरखामा माओवादी अध्यक्ष प्रचण्डको चासो बढेको देखिन्छ ।

    हरेकजसो निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डलाई केही निकटस्थहरुले चितवको सट्टा गोरखाबाटै चुनाव लड्न सुझाव दिएका छन् । चितवनका शहरी मतदाता स्वीङ हुनसक्ने र गठबन्धनको दह्रो साथ चाहिने भएकाले चितवनभन्दा प्रचण्डका लागि गोरखा कम्फरटेबल हुने जिल्ला नेताहरुको भनाइ छ ।

    गोरखामा संगठनकै बलमा माओवादी एक्लैले चुनाव जित्ने अवस्था रहेको र कांग्रेसको समेत साथ हुँदा प्रतिस्पर्धाविहीन अवस्थामा प्रचण्ड चुनाव लड्न पाउनेछन् । माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठ पनि गोरखाबाटै प्रतिनिधिसभा सदस्य बन्न चाहन्छन् । अघिल्लो निर्वाचनमा डा.बाबुराम भट्टराईसँग पराजित श्रेष्ठ नेकपा अस्तित्वमा रहँदा राष्ट्रियसभा सदस्य निर्वाचित भए । अहिले राष्ट्रियसभाबाट राजीनामा दिएर पनि गोरखा २ बाट चुनाव लड्ने तयारी श्रेष्ठले गरेका छन् ।

    २०६४ यता निरन्तर निर्वाचित हुँदै आएका पूर्वप्रधानमन्त्री भट्टराई गोरखा २ बाट स्वाभाविक दावेदार हुन् । पाँचदलीय गठबन्धन कायमै रहँदा भट्टराई गोरखा २ बाट उम्मेदवार बन्न सक्छन् । तर, त्यसका लागि उनले प्रचण्ड र नारायणकाजीसमेतलाई रिझाउनुपर्ने देखिन्छ । अब बाबुराम सत्ता गठबन्धनको छैटौं घटक हुँदैछन् ।

    गोरखाबाट निर्वाचन लड्नेबारे प्रचण्डले मुख खोलिसकेका छैनन् । तर, विगतमा शिक्षक हुँदा गोरखामै काम गरेका उनलाई गोरखाबाट उम्मेदवार बनाउन माओवादी नेताहरुको प्रयास भने जारी छ । भूमिगत हुनुअघिसम्म प्रचण्डले गोरखाको आरुघाटमा पढाएका थिए ।

    ‘अध्यक्ष कमरेडले रोल्पा, काठमाडौं, सिरहा, चितवनलगायतका ठाउँबाट चुनाव लडिसक्नुभयो । एकपटक गोरखालाई पनि अवसर दिनुपर्‍यो भनेर हामी लागेका छौं’, गोरखा माओवादीका एक नेताले भने ।

    गोरखाबाटै माओवादीले जनयुद्धमा जाने निर्णय गरेको थियो ।

    बाबुरामलाई परेको बाधा

    अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट अन्तिम घडीमा अलग्गिएका बाबुरामलाई गोरखा २ मा कांग्रेसले समर्थन गरेको थियो । त्यतिबेला नयाँ शक्ति पार्टीको उम्मेदवार बनेर कांग्रेसको आडमा जिते पनि त्यसयता बाबुराम कांग्रेसप्रति सहिष्णु नदेखिएको गुनासो जिल्लाका कांग्रेसीहरुको छ । स्थानीय चुनावमा पनि बाबुरामले अन्तिम घडीमा पालुङटारमा एमालेसँग तालमेल गरेको आरोप छ ।

    चुनाव जितेको केहीलगत्तै उनले कांग्रेसलाई ‘संग्रहालयमा राख्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । गत स्थानीय निर्वाचनमा बाबुरामले आफ्नो जिल्लामा गठबन्धन दलसँग नभई नेकपा एमालेसँग तालमेल गरेका थिए । यी विविध कारणले गठबन्धनभित्रै बाबुरामको दाबीलाई नजरअन्दाज गर्ने सम्भावना देखिन्छ ।

    यस क्षेत्रमा प्रचण्डले नै इच्छा गरेको अवस्थामा बाबुरामको बाधा अझै बढ्नसक्छ । यसै पनि जसपामा रहँदा जति राजनीतिक तागत अब बाबुरामसँग नरहेको बुझाई गठबन्धनमा रहेको छ । कांग्रेसभित्र पनि बाबुरामलाई अवरोध गर्न चाहनेहरु सक्रिय नै छन् । यस्तो अवस्थामा गोरखासँग निरन्तर जोडिएका बाबुरामको बाधा कसरी फुक्ला ? अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

    गोरखा १ मा कांग्रेसीको कसरत

    विगतको परिणाम र पछिल्लो राजनीतिक दृश्य हेर्दा कांग्रेसका नेताहरुको मुख्य दावी गोरखा क्षेत्र नम्बर २ मा देखिन्छ । गठबन्धनमा तालमेल हुँदा क्षेत्र नम्बर १ माओवादी वा समाजवादीको भागमा पर्ने निश्चित ठानेका कांग्रेस नेताहरु क्षेत्र नम्बर १ मै प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

    अघिल्लो पटक गोरखा १ मा उम्मेदवार रहेका चीनकाजी श्रेष्ठको उम्मेदवारीको टुंगो क्षेत्र नम्बर २ सँग जोडिएको छ । क्षेत्र नम्बर २ मा गठबन्धनबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेमा जातीय कारणले चीनकाजीलाई पनि बाधा पर्नसक्छ ।

    गोरखा क्षेत्र नम्बर १ मा दावेदारका रुपमा युवा नेता राजेन्द्र बजगाईं र योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले पनि रहेका छन् । अघिल्लोपटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका बजगाईंलाई उम्मेदवार बनाउन कांग्रेसको संस्थापनइतर पक्षले दबाब बढाउनेछ ।

    गोरखा कांग्रेसमा संस्थापनइतर पक्ष बलियो भएकै कारण बजगाईंको सम्भावना बढी छ । भूगोलको राजनीतिमा सक्रियता कम भए पनि भावी अर्थमन्त्रीका रुपमा हेरिएका अर्थविद् वाग्ले पनि कांग्रेसको रोजाइमा पर्नसक्छन् । यद्यपि वाग्ले चितवन १ बाट उम्मेदवार बन्ने सम्भावना छ ।

    कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा संसदीय दलका पूर्वनेता सुरेन्द्रराज पाण्डे पनि यसपटक प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । यद्यपि तालमेल हुँदा क्षेत्र नम्बर २ कांग्रेसले नपाउने सम्भावना रहेकाले पाण्डेलाई समस्या पर्नसक्छ । माओवादीले नारायणकाजीलाई नै उम्मेदवार बनाएको अवस्थामा रिक्त हुने राष्ट्रियसभा सदस्यको पद कांग्रेसले पाउने गरी सहमति हुने सम्भावना पनि उत्तिकै छ ।

    अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दुवाडीले पनि यसपटक प्रतिनिधिसभा सदस्य बन्न सोही क्षेत्रबाट तयारी गरेका छन् ।

  • गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

    गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ ।

    प्रधानमन्त्री निवास बालुवारमा बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग अनौपचारिक छलफल समेत गरेका छन् । कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०/४० को प्रस्ताव राख्ने भएको छ ।

    प्रधानमन्त्रीसँगको भेटपछि एक पदाधिकारीले भने–कांग्रेस एक्लै लड्दा पनि ८० सिट जित्ने आँकलन छ । गठबन्धन गर्दा त्यो भन्दा बढी नजित्ने हो भने किन गर्ने रु त्यसैले ६० प्रतिशत कांग्रेसले राख्ने र ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिने हाम्रो औपचारिक प्रस्ताव हुन्छ ।

    कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुको छ ।

    कांग्रेस नेता अर्जुन नरसिंह केसीले ६० प्रतिशत सिटमा चुनाव नलड्ने हो भने कांग्रेसले गठबन्धन गर्नुको औचित्य नहुने र पार्टीमा ठूलो विद्रोह हुनसक्ने बताए । केही सिट तलमाथि भए पनि ६०-४० लाई आधार बनाइनुपर्ने उनको भनाइ छ ।

    तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

    कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको नेकपा एसका सम्मानित झलनाथ खनालले बताए ।

    खनालले भने–कांग्रेसले ६० प्रतिशतको दावी गर्नु उसको कुरा हो,गठबन्धन बैठकमा सबैका आ आफ्ना प्रस्ताव हुन्छन् । हाम्रो पनि हुन्छ । तर सहमतिमै टुंगो लाग्छ । कसले कति पाउने भन्दा पनि विगतमा कसले कहाँ जितेका छन् ती कायम राखेर बाँकी ठाउँ जनमत,व्यक्तित्व हेरेर सम्मानजनक ढंगले टुंगो लगाइनुपर्छ ।

    आजको गठबन्धन बैठकले सबै आधार र मापदण्डका आधारमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने र कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेतृत्वले टुंगो लगाउने खनालले बताए ।

  • गायब पारिएको सीसीटीभी फुटेजबारे शक्तिले प्रचण्डलाई दिएको सुराक !

    गायब पारिएको सीसीटीभी फुटेजबारे शक्तिले प्रचण्डलाई दिएको सुराक !

    काठमाडौं । अर्थमन्त्रालयमा जनार्दन शर्माको कमब्याक उनको इगोको लागि हो कि, वित्तीय गठबन्धनको रूपमा परिणत भइरहेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको ‘आर्थिक स्वार्थको बिगो’ का लागि हो ? माओवादीकै नेताहरूसमेत रनभुल्लमा परेका छन् ।

    शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्यसमेत रहेका माओवादी नेता शक्ति बस्नेतले अध्यक्ष प्रचण्डलाई भेटेरै जनार्दनलाई पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्काइनु कुनै पनि बेला आत्मघाती हुने भन्दै त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए ।

    माओवादीका एक शीर्षस्थ नेताका अनुसार बस्नेतले संसदीय छानबिन समितिले पाउन नसकेको जेठ १४ गते मध्यरातको सीसीटीभी फुटेज कतिपय दूतावास र शक्तिकेन्द्रमा पुगेको आशंका गर्दै चुनावको मुखमा वा माओवादीलाई अप्ठेरो पार्नका लागि कुनै पनि बेला सार्वजनिक गरिन सक्ने आशंकासमेत प्रचण्डसमक्ष व्यक्त गरेका थिए ।

    ती नेताले भने, ‘शक्तिजीले प्रचण्डसँग जनार्दनजीलाई अर्थमन्त्रीमा नफर्काउन सुझाव दिने क्रममा कतिपय महत्वपूर्ण सूचनासमेत दिनुभएको थियो । चुनावको मुखमा वा कुनै पनि बेला त्यसरातको सीसीटीभी फुटेज सार्वजनिक हुँदा प्रधानमन्त्रीले समेत पद त्याग्नुपर्ने अवस्था आउन सक्ने भने पनि प्रचण्डसमेत अदृष्य शक्तिको दबाबमा परेको बुझियो । कतिपय महत्वपूर्ण नीतिगत निर्णय जनार्दनबाटै गराउन बालुवाटारलगायत शक्तिहरू लागे ।

    संसदीय समितिले नपाएको फुटेज र कतिपय ‘एभिडेन्स’ हरू शक्तिकेन्द्रमा पुगेको र कुनै पनि बेला ती सार्वजनिक हुने सम्भावना रहेको संसदीय समितिमा रहेका माओवादीकै सदस्यहरूको ठम्याइ छ । समितिले जनार्दनलाई क्लिन चिट दिएको नभई बाहिरी व्यक्तिको बजेट निर्माणमा संलग्नताको फुटेज नभेटिएको मात्र भनेको उनीहरूको भनाइ छ ।

    पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थमन्त्रालययमा रहने बताएका छन् ।

    ‘अध्यक्षले शक्तिको कुरा पनि सुन्नुभयो तर जनार्दनलाई फर्काउनै पर्ने बाध्यतामा देखिनुभयो । माओवादीविरुद्ध कुनै पनि बेला प्रयोग गर्नका लागि शक्ति केन्द्रहरुले प्रमाण राखेको आशंका छ’ माओवादीका एक स्थायी कमिटी सदस्यले नेपाल प्रेससँग भने ‘सायद चुनावकै अगाडि गर्नैपर्ने कतिपय नीतिगत निर्णय होलान्, आर्थिक लाभको विषयमा बालुवाटार र खुमलटारबीच गहिरो सम्बन्ध देखियो ।

    अर्थमन्त्री शर्मा दलाल पुँजिवादको चक्रव्यूहमा फसेको र बजेट निर्माणमा नीतिगत तहबाटै ठूलो कैफियत भएकाले संसदीय समितिको राजनीतिक प्रतिवेदनकै आधारमा जोखिम नलिन शक्तिले प्रचण्डलाई सुझाव दिएको माओवादी नेताहरू बताउँछन् । जनार्दन कुनै पनि बेला यो प्रकरणमा फस्न सक्ने र अरु धेरै प्रमाण सार्वजनिक हुन सक्ने आशंका समितिमा सदस्य बसेका माओवादी नेताहरूको छ ।

    एक सातामा राजीनामा ?

    अर्थमन्त्रीका रूपमा दोस्रोपटक सपथ लिएर आइतबार मन्त्रालयमा पुग्दा उनको स्वागतमा सचिव मधु मरासिनी थिएनन् । शर्मा स्वयं पनि खुसी देखिएका थिएनन् भने उनले जुन अभियोग लागेर आफूले राजीनामा दिएका थिए त्यसबारेमा केही बोलेनन् । उनले औपचारिकताका लागि मन्त्रालयका कर्मचारीले तयार पारेको एउटा फाइल सदर गरेका थिए ।

    पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थमन्त्रालययमा रहने बताएका छन् । शर्मासँग व्यवसायिक कामले भेट्न खोजेका एक व्यवसायिक घरानाका सदस्यसँग फोनमा कुरा गर्दा उनले आफूले कुनै निर्णय नगर्ने बताएका थिए ।

    स्रोतले भन्यो, ‘मन्त्रीज्यूसँग भेटेर कुरा गरौं भन्दा उहाँले म एक सातापछि राजीनामा दिन्छु भन्नुभयो । पदवहाली गर्दा औपचारिकताका लागि फाइलमा सदर गरे पनि कुनै नीतिगत निर्णय आफूले नगर्ने बताउँनुभयो । उहाँले स्केप हुन खोज्नुभएको हो कि साँच्चै इगोका लागिमात्र मन्त्रालयमा केही दिनलाई फर्किनुभएको हो भन्ने बुझ्न सकिएन ।’

    अर्थमन्त्रालयमा जनार्दन र मधु मरासिनीमध्ये एकजनामात्र रहने अब लगभग निश्चित भइसकेको छ । उनी यसअघि बिदा बस्दा पनि बालुवाटार र खुमलटारलाई जानकारी दिएरै बसेका थिए । यसपटक जनार्दनको कमब्याक र उनी गयल हुनुमा संयोगमात्र छ कि ? शीर्ष तहसँगको समझदारीमै हो भन्ने सम्भवतः एक-दुई दिनमा प्रष्ट हुनेछ ।

  • पञ्चा सिंहको दाबी- विद्यार्थी अभियानले माओवादीमा ५ लाख मतदाता थपिनेछन्

    पञ्चा सिंहको दाबी- विद्यार्थी अभियानले माओवादीमा ५ लाख मतदाता थपिनेछन्

    चितवन । नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले ३ महिने अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदाता थपिने दाबी गरेकी छन् ।

    अखिल(क्रान्तिकारी) विश्वविद्यालय कमाण्डले आज चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो दाबी गरेकी हुन् ।

    यस्तै, सिंहले आउँदो संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो कम्युनिष्ट पार्टी बनाउने गरी लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिइन् ।

    क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष मदन भट्टराईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा, कृषि तथा वन, मध्यपश्चिम र संस्कृत विश्वविद्यालयसहित सीटीइभिटीका नेता कार्यकर्ताको सहभागिता रहेको अखिल(क्रान्तिकारी)का सचिव उपेन्द्र शाहीले जानकारी दिए ।

  • धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

    धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

    धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

    यसैगरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल एमालेसहित एमालेमा प्रवेश गरेका हुन् ।

    आज धादिङबेशीमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

  • महरा भन्छन्- आरोप प्रमाणित भएन, जनार्दन नै अर्थमन्त्री (भिडिओ)

    महरा भन्छन्- आरोप प्रमाणित भएन, जनार्दन नै अर्थमन्त्री (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अर्थमन्त्रीमा जनार्दन शर्मा फर्किने बताएका छन् । शर्मामाथिको आरोप प्रमाणित नभएकाले पुनः उनी मन्त्री नियुक्त हुन लागेको महराले बताए ।

    प्रेस सेन्टर नेपालका पदाधिकारीलाई प्रमाणपत्र वितरणपछि बाहिरिने क्रममा उनले पत्रकारहरुसँग भने, ‘उहाँलाई नै आरोप लागेको थियो । तर पुष्टि भएन । त्यही भएर उहाँ नै जाँदै हुनुहुन्छ ।’

    महराले छानबिन समितिबाट कुनै पनि आरोप प्रमाणित गर्ने तथ्य नभेटिएकाले यो सम्भव भएको बताए । छानबिन समितिमा रहेका एमाले सांसदप्रति लक्षित गर्दै महराले भने ‘अस्वीकार गरेपनि उहाँहरुले प्रमाण देखाउन सक्नुभएन । त्यही भएर अर्थमन्त्रीमा पुनः शर्मा जाँदै हुनुहुन्छ ।’

  • माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ धौ भयो : महरा

    माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ धौ भयो : महरा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् ।

    प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताए ।

    ‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भने ।

    उनले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उनले भने, ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।’

  • प्रचण्डका दुई चाहना : कांग्रेसले पूरा गर्ला कि खोज्ला बहाना ?

    प्रचण्डका दुई चाहना : कांग्रेसले पूरा गर्ला कि खोज्ला बहाना ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय राजनीतिको उत्तरार्धमा छन् । त्यसैले उनी राजनीतिको मैदानमा ‘अन्तिम पारी’ अर्थात ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् । आफ्नो चाहना उनले सार्वजनिक मञ्चबाटै व्यक्त गरिसकेका छन् ।

    ‘हामीले एकचोटी देशलाई यसरी विकास, यसरी सुशासन, यसरी समृद्धि भनेर देखाउनै पर्नेछ । मेरो हुनसक्छ यो लास्ट इनिङ होस र यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चीज दिने सपना देखिरहेको छ’, शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने । उनको भनाईको अर्थ स्पष्ट छ, उनी फेरी प्रधानमन्त्री बन्न चाहन्छन् ।

    आफू प्रधानमन्त्री बन्नेबाहेक दोस्रो चाहना पनि प्रचण्डले सार्वजनिक गरिसकेका छन् । उनी नेकपा माओवादी केन्द्रलाई वामपन्थीहरुमध्ये पहिलो पार्टी बनाउन चाहन्छन् । संसदीय निर्वाचन सन्निकट रहँदा नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा प्रचण्ड विश्वस्त भइसकेका छन् । त्यसैले एमालेलाई उछिनेर दोस्रो हुने चाहना प्रचण्डले राखेका छन् । त्यसका लागि आफ्नो मेहेनतमा मात्रै प्रचण्डको भर छैन, उनी कांग्रेसले माओवादीलाई दोस्रो बन्न मद्दत गर्नुपर्ने अडानमा छन् । माओवादीलाई दोस्रो दल बनाउन कांग्रेसले सहयोग नगरे माओवादीले पनि कांग्रेसलाई पहिलो दल बन्न मद्दत नगर्न सक्छ । यो संकेत प्रचण्डले सार्वजनिक अभिव्यक्तिदेखि गठबन्धनको शीर्ष बैठकमा समेत गरिसकेका छन् ।

    ‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुराकानी गर्दा पनि भनेको छु , सायद पहिलो त कांग्रेस नै हुने देखियो । दोस्रो चै माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चीज सहज जान्छ, होइन भने सहज जाँदैन’, प्रचण्डले भनेका छन् ।

    कांग्रेस तयार छ त ?

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले कुनै पार्टीलाई पहिलो वा दोस्रो बनाउन नसक्ने बताउँछन् । निर्वाचनमा कुन पार्टीलाई कुन साइजमा राख्ने भन्ने निर्णय जनताले गर्ने महतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्डले शर्तकै रुपमा माओवादीलाई दोस्रो बनाउने जिम्मा कांग्रेसले लिनुपर्ने अडान नराखेको विश्वास महतले व्यक्त गरे ।

    ‘कांग्रेसले नै माओवादीलाई दोस्रो बनाइदिने भन्ने कुरा त नहोला । यो त जनताको अभिमतको कुरा हो । हाम्रो निर्वाचन प्रणालीमा ४० प्रतिशत समानुपातिकको व्यवस्था छ । प्रत्यक्षमा हामीले सिट बाँडेर तालमेल गरेपनि समानुपातिकमा त माओवादीले आफ्नो मत आफैं बढाउनुपर्ला’, महतले नेपाल प्रेससँग भने ।

    स्थानीय निर्वाचनमा तालमेल गर्दापनि कांग्रेसले उदारता प्रस्तुत गरेको भन्दै प्रवक्ता महत आगामी निर्वाचनमा पनि व्यवहारिकता हेरेर सिट बाँडफाँट गर्न कांग्रेस तयार रहेको बताउँछन् । तालमेल गर्दा उम्मेदवारी दिनेभन्दा चुनाव जित्ने लक्ष्य निर्धारण गर्नुपर्ने महतको भनाई छ ।

    ‘लेफ्टहरुमध्ये सबैभन्दा ठूलो दल बन्ने माओवादीको ईच्छामा हाम्रो शुभेच्छा छ । तर त्यो कांग्रेसले बनाइदिने होइन । समानुपातिकमा उहाँहरुले मत बढाउनुपर्यो, प्रत्यक्षमा पनि व्यवहारिक बाँडफाँट हुनुपर्यो’, महतले भने ।

    चुनावपछि प्रचण्डको ‘लास्ट इनिङ’ सुरु हुनेबारे छलफल भइनसकेको कांग्रेसको भनाई छ । प्रवक्ता महतका अनुसार सीट र शक्ति बाँडफाँटबारे गठबन्धनको शीर्ष तहमा छलफल हुनै बाँकी छ । ‘यसबारे औपचारिक छलफल सुरु भएपछि नै तय होला । अहिले नै को प्रधानमन्त्री भन्ने स्थिति छैन । सबै पार्टीमा गहन छलफल भएपछि को के हुने भन्ने टुंगो लाग्ला’, महतले भने ।

    महतका अनुसार कांग्रेस चुनावी तालमेल र गठबन्धनमा शर्त राख्ने पक्षमा छैन । यद्यपि तालमेलका लागि सिट बाँडफाँट गर्दा व्यवहारिकता मिल्दो र जनाधार पुष्टी हुनेगरी गर्नुपर्ने कांग्रेसको भनाई छ ।

  • माओवादीको स्थायी कमिटी बैठक स्थगित

    माओवादीको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

    पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले नेपालप्रेसलाई जानकारी दिए ।

    यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।

  • एकदिन भए पनि अर्थ मन्त्रालय फर्किने जनार्दनको चाहनामा देउवा-प्रचण्ड सहमत, आजै होला सपथ ?

    एकदिन भए पनि अर्थ मन्त्रालय फर्किने जनार्दनको चाहनामा देउवा-प्रचण्ड सहमत, आजै होला सपथ ?

    काठमाडौं । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काइने भएको छ ।

    शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्माको कमब्याक निश्चित भएको हो ।

    संसदीय विशेष छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत छाडेका छैनन् ।

    राजीनामापछि पनि अर्थमन्त्री नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि उनैलाई फर्काउने पूर्व समझदारीअनुरुप नै रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

    माओवादी स्थायी कमिटी बैठकबाट जनार्दनलाई पुनः अर्थमन्त्री बनाउने निर्णय हुने बताइएको छ । सोही निर्णयका आधारमा प्रचण्डले प्रधानमन्त्रीलाई नाम दिएपछि सपथग्रहण हुनेछ । राष्ट्रपति कार्यालयले भने सपथग्रहणको खबर नआएको जनाएको छ ।

    याे पनि पढ्नुस् : अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी- प्रतिष्ठाको वहाना, बालुवाटारको चाहना

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता  कृष्णबहादुर महराले बताए ।

    यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो ।

  • किरणको काम छैन, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड (भिडिओ)

    किरणको काम छैन, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य किरणको काम नभएको, नेत्रविक्रम चन्द विप्लवको अर्थ नरहेको र डा. बाबुराम भट्टराई माओवादी नै नभएको टिप्पणी गरेका छन् ।

    शनिवार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘यो निर्वाचनबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भयो । किरण माओवादीको काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । उनले थप्दै भने, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

    प्रचण्डले स्थानीय तहमा झन्डै एक सय ७५ नजिक सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताउँदै भने , ‘१२२ पुग्यौँ । ५० सिट गुमायौँ, । २० सिट आए पनि तेस्रो हुन्थ्याैं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’

    उनले एक पटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको पनि बताएका छन् ।

  • जनार्दन शर्मा निर्दोष हुनुहुन्छ, अब प्रमाणित भइसक्योः प्रचण्ड (भिडिओ)

    जनार्दन शर्मा निर्दोष हुनुहुन्छ, अब प्रमाणित भइसक्योः प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष प्रमाणित भएको भन्दै खुसी व्यक्त गरेका छन् । शर्माले ल्याएको बजेटको सबैतिर स्वागत भइरहँदा अनावश्यक विवाद खडा गरिएको उनको टिप्पणी छ ।

    प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सबैले बजेट राम्रो छ भनेर प्रशंसा र स्वागत गर्दै थिए । एकाएक राति १२ बजे बजेट हेरफेर गर्‍यो भनेर आयो । मैले नै अध्यक्षको हैसियतले छानबिन गर्न लगाएको हुँ ।’

    छानबिन समितिले आज बुझाएको प्रतिवेदनले शर्मालाई निर्दोष प्रमाणित गरेको प्रचण्डले बताए ।

    उनले थपे, ‘अब प्रमाणित भइसक्यो । त्यो घोषणा भयो । कुनै गल्ती भएको छैन भनेर रिपोर्ट दिइयो । यी कुराहरूलाई जनताका बीचमा हामीले कन्फिडेन्टली किन नभन्ने ?’

  • प्रचण्डले भने: समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन, यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ (भिडिओ)

    प्रचण्डले भने: समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन, यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउँछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताएका छन् । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

    प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

    उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

    उनले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

    प्रचण्डले थपे, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’

    उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उनले प्रस्ट पारे ।

    ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौं । केही साथीहरुले कुरा उठाउनुभएको हो । तर, हाम्रो बैठकमा कुरा भएको होइन’, प्रचण्डले भने ।

  • त्रिवि सुधारका लागि क्रान्तिकारीका १५ बुँदे माग

    त्रिवि सुधारका लागि क्रान्तिकारीका १५ बुँदे माग

    काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरु समाधानका लागि १५ बुँदे मागपत्र बुझाएको छ ।

    आज अध्यक्ष पञ्चा सिंहसहित क्रान्तिकारीका पदाधिकारीहरुले त्रिवि उपकूलपति डा. धर्मकान्त कास्कोटासमक्ष मागपत्र बुझाएका हुन् ।

    मागपत्रमा देशकै ठूलो र पुरानो प्राज्ञिक थलोको रुपमा रहेको विश्वविद्यालयलाई शैक्षिक ठेकेदारहरुबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भिवष्यमा खेलबाड भइरहेको उल्लेख गरिएको छ ।

    ‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरुको तालावन्दी, विभिन्न विभागहरुमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका संचालकहरुबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ’, पत्रमा भनिएको छ ।

    क्रान्तिकारीले आजको दिनमा विश्वविद्यालयलाई समयानुकूल रूपान्तरणको माग राख्दै विद्यार्थीहरूलाई सर्वसुलभ ,विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न १५ बुँदे माग प्रस्तुत गरेको हो । आफ्ना मागहरु तत्काल पूरा नगरी बेवास्ता गरी गैरजिम्मेवार बनेमा संगठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।

    संगठनले प्राध्यापकहरुलाई खुल्ला प्रतिस्पर्धाको बाटोमार्फत दक्ष जनशक्ति परिपूर्तिको माग गरेको छ । त्यस्तै, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न स्पष्ट कानुनी ब्यवस्था गरि यस्तो प्राज्ञिक बेथितिको पुर्णतया अन्त्य गर्न आग्रह गरेको छ ।

    यस्ता छन् क्रान्तिकारीका १५ बुँदे मागहरुः

     

  • समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो

    समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो

    काठमाडौं । तत्कालीन नेकपाका ५ जना सचिवालय सदस्य दुईपटक सामुहिक छलफलमा बसेर फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एकजनाले टिप्पणी गरे- अब सायद यिनीहरूले बहुमतबाट केपी ओलीलाई एमालेको अध्यक्षबाट हटाउने निर्णय गर्‍यौँ भन्ने होलान् ।

    इतिहासको गर्तमा पुगिसकेको नेकपाका पाँच सचिवालय सदस्यको बैठकमा नेकपाकालीन संरचना ब्युँताउने प्रस्ताव वामदेवले राखेका थिए । पछि गएर यो समूहमा बाबुराम भट्टराईसमेत मिसिएपछि समाजवादी केन्द्र बनाउने चर्चा सुरू भयो । जुन केन्द्रमा उपेन्द्र यादवसमेत समेटेर कांग्रेस र एमालेलाई काउन्टर दिने कुरा पनि चल्यो ।

    नेपाली राजनीतिमा पछिल्लो समय तीब्र रूपमा समाजवादी केन्द्रको बहस चुनावी स्टन्टमात्र हो कि, साँच्चिकै तेस्रो धारको निर्माण भन्ने प्रष्ट भइसकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अगुवाइ गरेको यो कसरतमा सत्ता गठबन्धनबाहेकका दलसमेत मिसिएका छन् ।

    सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

    यसमा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, जसपाबाट भर्खरै छुट्टिएर नयाँ पार्टीमा जुटेका बाबुराम भट्टराईको समूह र जसपा सामेल गर्न खोजिएको छ । केही दिनअघि जनकपुर पुगेका प्रचण्डले उपेन्द्र यादव पनि समाजवादी केन्द्रमा आउने बताएका थिए । तर, उपेन्द्रले त्यो सम्भावना खारेज गरेका छन् ।

    चुनावलक्षित केन्द्र निर्माणको होमवर्कमा जुटेका नेताहरू एकता गरेर नयाँ पार्टी बनाउनेसम्मको रणनीतिमा छन् । तत्काल त्यो सम्भव नभए संयन्त्र बनाइने र संयुक्त घोषणापत्र बनाएर एउटै चिन्हका साथ चुनाव लड्ने विषयमा छलफल भइरहेको माओवादी नेता हरिबोल गजुरेल बताउँछन् ।

    बिहीबार स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भइरहेका पहल र अहिलेसम्मका उपलब्धिबारे जानकारी गराएको उनको भनाइ छ ।

    ‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’, गजुरेलले नेपाल प्रेससँग भने ।

    संयुक्त घोषणापत्र र एउटै चुनाव चिन्ह भने पहिले एकताको टुंगो लागेपछि हुने उनले बताए ।

    सत्ता गठबन्धन कायमै राखेर अर्को मोर्चाबन्दी हुन्छ त ? भन्ने जिज्ञासामा उनले यसले गठबन्धनलाई कुनै असर नपार्ने उल्टै बल पुग्ने दाबी गरे । तर, एमालेसँगको च्याप्टर भने क्लोज भइसकेको गजुरेलको प्रष्टीकरण थियो ।

    नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच यसअघि दुई चरण छलफल भएर यस एजेण्डाको उठान गरेका हुन् । सचिवालय ब्युँताउने र एकता संयोजन संयन्त्र बनाउने वामदेवको प्रस्ताव र संयोजनमा नेताहरू जुटेका थिए । वामदेवले नेकपा एकता संयोजन संयन्त्र बनाउने र यसमा एमाले अध्यक्ष ओलीलाई पनि मनाउन सकिने बताएका छन् ।

    तर, ओलीले पार्टीको प्रशिक्षण कार्यक्रममा फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको प्रतिक्रिया दिएका थिए । ‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि सुरू भएको छ । यो त्यति सफल हुँदैन,’ उनको भनाइ थियो ।

    शक्ति आर्जनको दाउ

    यसअघि नेकपा एमाले र माओवादी एकतापछि बनेको नेकपा दुई तिहाइनजिक पुगेर ५ वर्षपनि नटिकेको दृष्टान्त हामीमाझ छ । आन्तरिक किचलोबाट नेकपा फुटपछि माधव नेपालको समूह एमालेबाट चोइटिएको छ ।

    टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

    ‘कांग्रेसको यही अहमता रहने हो भने उसैसँग मात्र तालमेल गर्नुपर्छ भन्ने छैन । अहिले अध्यक्षका लागि आन्तरिक र बाह्य राजनीतिक सहज बनेको छ । यही बुझेर उहाँ वामपन्थी एकजुट गराउन लाग्नुभएको हो । यो आवश्यकता पनि छ’, प्रचण्डनिकट एक नेताले भने ।

    ‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’- हरिबोल गजुरेल

    कांग्रेसभित्रै पनि गठबन्धनमा मतऐक्यता नभएको साथै एमालेसँगको तालमेल पनि असम्भव देखेका प्रचण्डले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेका छन् । र, माधव-झलनाथ र वामदेवको आड-भरोसाले हौसिएका पनि छन् ।

    एमाले फुटाएर जन्मिएको नेकपा एसलाई पनि स्थानीय तह निर्वाचनको परिणामले सन्तोष दिएको छैन । त्यसैले पार्टीको वास्तविक परीक्षा आउँदो संसदीय चुनावमा हुने भएकाले उसले पनि शक्ति आर्जनका लागि यो मोर्चाबन्दीलाई हतियार बनाउन खोज्दैछ । गठबन्धनको तेस्रो ठूलो घटक भएको भन्दै माधवकुमार नेपालले नेकपा एसको शक्तिलाई कम नआँक्न कांग्रेस र माओवादीलाई सचेत गराउँदै आएका छन् ।

    एमाले नेतृत्वकै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन आफूसहितका नेताको राजनीतिक भविष्य दाउमा राखेको मूल्यस्वरूप चुनावपछि छोटो समयकै लागि भए पनि प्रधानमन्त्री बन्न चाहन्छन् ।

    कांग्रेसमाथि दबाब !

    स्थानीय चुनावमा एमालेविरोधी तालमेलबाट हौसिएको पाँचदलीय गठबन्धन आगामी संसदीय चुनावसम्म जान प्रतिबद्ध भइसकेको छ । गठबन्धनका लागि सबैको भरोसा बनेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमै एमालेलाई कम नआँक्न भन्दै ओली छाडेर आएका प्रचण्ड-माधवलाई अलपत्र पार्न नसकिने बताउँदै आएका छन् ।

    साउनको सुरूवातीमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आफ्नै पार्टीलाई बहुमतको ग्यारेण्टी हुनेगरी गठबन्धनलाई कायम राख्ने निर्णय गरिसकेको छ । र, आफ्नै नेतृत्वमा ५ वर्ष स्थायी सरकार बनाउने रणनीतिमा कांग्रेस लागेको छ ।

    उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संयन्त्रको रिपोर्टिङका आधारमा देशभरको अवस्था ब्रिफिङ गर्दै माओवादी गठबन्धनविना चुनावमा नजाने सुनाएका थिए । एक्ला-एक्लै चुनाव लड्का कांग्रेसको पनि राम्रो नतिजा नआउने साथै माओवादीले ८ सिटभन्दा नजित्ने खाणको प्रक्षेपण थियो । उसलाई एमालेतिर जानबाट रोक्नुपर्ने कांग्रेसको बाध्यता भने गृहमन्त्रीले सुनाएका थिए ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

    नेकपा एसले रौटहटमा एक सीट जित्ने र मधेसवादी दलहरूले १५/१६ सीट जित्नसक्ने रिपोर्ट गृहमन्त्रीको छ । उनको अनुमानमा कांग्रेस एक्लै लड्दा ८० सिटसम्म जित्न सक्ने तर एमाले पनि सोही हाराहारीमा आउने अवस्था छ ।

    स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये १२८ जनाले गठबन्धनको बलमा जितेको पार्टीको आधिकारिक प्रतिवेदनमै उल्लेख छ ।

    चुनावसम्म गठबन्धन गरेर जाने कांग्रेसको निर्णयले माओवादी र नेकपा एसलाई राहत त मिलेको छ नै । तर, आफ्नै बहुमत सुनिश्चित गर्ने गरी मात्र सर्त राखेर गरिएको निर्णयमा उनीहरू झस्किएका छन् । र, कांग्रेसको यही निर्णयपछि समाजवादी केन्द्रको बहस एकाएक तातेको छ ।

    हुन त प्रचण्डले पटकपटक समाजवादी केन्द्रको निर्माणले गठबन्धनमा असर नपार्ने बताइरहेका छन् । पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पनि उनले कांग्रेसको विकल्प सोच्न आवश्यक नरहेको बताएका छन् ।

    कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरूको समाजवादी मोर्चा बनाउन सकिनेबारे छलफल भइरहेको प्रचण्डले ब्रिफिङ गरेका थिए ।

    गठबन्धनमा अबको चुनावको सीट बाँडफाँटको विषय पेचिलो छ । आफ्नो बहुमत सुनिश्चित गर्ने बताइसकेको कांग्रेसले कम्तीमा ९० सीट जित्नुपर्छ । १६५ मध्ये ९० सीटभन्दा तल झर्न नसकिने कांग्रेस नेताहरू बताइरहेका छन् ।

    तर, प्रचण्ड भोलि आफू निर्णायक शक्ति हुनेगरी मात्र सीट बाँडफाँट हुनुपर्छ भन्नेमा सचेत छन् । कांग्रेसलाई प्रष्ट बहुमत ल्याउन नदिनेगरी दाबी गर्ने ध्याउन्नमा रहेका उनले जसपा, लोसपा, नेकपा एससँगै मिलेर सरकार बनाउने अवस्थामा आफू बाइपास हुनसक्ने जोखिम राम्ररी बुझेका छन् ।

    माओवादीका एक नेताका अनुसार सीट बाँडफाँटका लागि कांग्रेसलाई ७० बाट सुरू गरेर ७५ लाई बटमलाइन बनाउने प्रचण्डको रणनीति छ । अझ समाजवादी केन्द्रमार्फत थप दबाबमा पारेर कांग्रेससँगको बार्गेनिङ पावर बढाउन देउवालाई झस्काउन खोजिरहेका छन् उनी ।

    ‘चुनावसम्ममा पार्टी एकता गरेर जाने अवस्थामा कांग्रेसकै भर परिरहनुपर्छ भन्ने छैन । हाम्रो बुइ चढेर कांग्रेस नै माथि जाने अवस्थामा त हामीले पनि कांग्रेससँगै मिल्नुपर्छ भन्ने छैन’, प्रचण्डनिकट एक नेता सुनाउँछन् ।

    यता माधव नेपाल पनि कांग्रेस-माओवादी नेतृत्वलाई नेकपा एसको अपमान नगर्न र आफूहरू एमालेको विद्रोही शक्ति हो भन्ने नबिर्सन पटक-पटक भनिरहेको बेलाबेला बताइरहेका छन् ।

    कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।

    एक पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस-माओवादी नेतृत्वलाई आफूले ‘टोकिरहेको’ र स्थानीय चुनावमा गरेजस्तो दम्भ र अहंकार देखिए आउने चुनावमा गठबन्धन सफल नहुने चेतावनी दिएका थिए । तर, अहिलेको अवस्थामा गठबन्धनबाट बाहिरिहाल्न जोखिम मोल्ने तयारीमा नेकपा एस छैन । यसलाई घुर्कीको रूपमा मात्र लिन सकिन्छ ।

    केही दिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संसदीय चुनावमा कम्तीमा ४० सीट पाउनुपर्ने बताएका थिए । उनले कांग्रेस धोखेबाज शक्ति रहेकाले आफूहरूका लागि कांग्रेससँगको गठबन्धन फलदायी नहुने भनेर बेलाबेला शंका व्यक्त गर्दै आएका छन् ।

    ‘कांग्रेसले हामीलाई भोटरमात्र बनायो । हाम्रो भोट लिने तर हामीलाई नदिने । गठबन्धनबाट हामीले फाइदा लिन सकेनौं । अब यसको गम्भीर समीक्षा हुनुपर्छ र एमालेले जितेका सिटमा हाम्रो दाबी रहन्छ ’, खनालले भनेका थिए ।

    एमालेले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट ९७ सिटमा उम्मेदवारी दिएर ८० सिट जितेको थियो । प्रत्यक्ष निर्वाचित ८० मध्ये हाल नेकपा एसमा १३ जना सांसद छन् ।

    आवश्यकता कि बाध्यता ?

    टुटफुटले कम्युनिष्ट आन्दोलन कमजोर हुने भन्दै बेलाबेला वामपन्थी शक्ति एकगढ हुनुपर्न आवाज नउठेका होइनन् । तर, एकताको रटान लाउन नथाक्ने नेताहरू सानो असमझदारीमै ‘धुजाधुजा’ भएका छन् ।

    पछिल्लो समय नेपाली राजनीतिमा ‘अप्राकृतिक गठबन्धन’ ले जनमतको भने अवमूल्यन भएको छ । तालमेलका कारण एक दल अर्कोसँग मिल्दा वास्तविक जनमत देखिन्न ।

    सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

    टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

    प्रचण्ड-माधव समूहसँग कांग्रेसले नदिए एमालेतिर जान्छौं भन्ने ठाउँ पनि अब छैन । एमालेले वाम गठबन्धनको सम्भावना खारेज गरिसकेको अवस्थामा सत्ता गठबन्धनभित्रै समाजवादी केन्द्र बनाएर बढीभन्दा बढी सीट बार्गेनिङ गर्ने खेलोमेलोबाहेक यसले कुनै आकार लिने वा परिणाम दिने सम्भावना छैन ।

    यस्तो अवस्थामा कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।

  • प्रचण्ड जापान जाने भएपछि माओवादीका बैठकहरुको समय तालिका फेरियो

    प्रचण्ड जापान जाने भएपछि माओवादीका बैठकहरुको समय तालिका फेरियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन २१ मा जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको निम्तामा उनी जापान जान लागेका हुन् ।

    प्रचण्ड विदेशिने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको छ । आज बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको हो । जसअनुसार १ नम्बर प्रदेशको २६ गते बैठक बस्ने भएको छ ।

    मधेसको बैठक २ गतेलाई सारिएको छ भने लुम्बिनीको २९ गते र सुदूरपश्चिमको वैठक ४ गते बस्ने छ । यस्तै, प्रवासको बैठक ६ गतेलाई, विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते हुने भएको छ ।

    पार्टीको अर्को स्थायी कमिटी वैठक १५ गते बस्ने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई जानकारी दिए । सोही बैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने उनको भनाइ छ ।

  • चुनावकाे मितिबारे छलफल गर्न देउवा र प्रचण्ड भेट्दै

    चुनावकाे मितिबारे छलफल गर्न देउवा र प्रचण्ड भेट्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट हुने भएकाे छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन् ।

    चुनावको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रचण्ड बालुवाटार जानेछन् ।

    संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्डले देउवा भेट्न लागेका हुन् ।