Category: माओवादी केन्द्र

  • मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड (भिडिओ)

    मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।

    महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको यो अभिव्यक्ति आएको हो ।

    बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताउनुभएको हो ।

    माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको प्रचण्डको दाबी छ । ‘जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता हो । बाँकी एजेण्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु ।’

    नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइन्यूटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाइँ गठबन्धनबीच अहिले पनि जारी रहेको बताए ।

  • रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको सर्वसम्मत सिफारिस

    रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको सर्वसम्मत सिफारिस

    रुपन्देही । नेकपा माओवादी केन्द्रबाट रुकुमपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्री जनार्दन शर्माको एकल नाम सिफारिस भएको छ ।

    माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले उनको नाम एकलरूपमा सिफारिस गरेको हो ।

    बैठकले प्रदेश १(१) मा महेन्द्र केसी (पारसमणी) र प्रदेश १(२) मा राजकुमार शर्मा (आर्ट)को नाम सर्वसम्मतिबाट एकल सिफारिस गर्ने निर्णय गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिए ।

  • जनार्दनले गठन नै नभएको संगठन विभाग प्रमुख आफैंलाई घोषणा गरेपछि..

    जनार्दनले गठन नै नभएको संगठन विभाग प्रमुख आफैंलाई घोषणा गरेपछि..

    काठमाडौं । अध्यक्ष प्रचण्डकै उपस्थितिमा माओवादी केन्द्रको उपमहासचिव पद अश्वीकार गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूलाई संगठन विभागको प्रमुख घोषणा गरेपछि पार्टी पंक्तिमा खैलाबैला मच्चिएको छ ।

    महासचिव चयनमा असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट व्यक्त गरेका शर्माले अखिल क्रान्तिकारीको कार्यक्रममा आफू संगठन विभागको प्रमुखको हैसियतमा बोलिरहेको बताएका थिए । सो मञ्चमा प्रचण्ड र जनार्दनबीच दोहोरीसमेत चलेको थियो ।

    यता माओवादी नेताहरूले भने पार्टीको महाधिवेशनपछि विभागहरू गठन नै नभएकाले संगठन विभाग नै अस्तित्वमा नरहेको बताएका छन् । महाधिवेशनपछि केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमात्र चयन भएका छन् ।

    त्यस्तै अनुशासन आयोग र लेखा आयोग महधिवेशनपछि बनेका छन् । तर, संगठनलगायत अहिले कुनै पनि विभाग अस्तित्वमा नरहेको र कृष्णबहादुर महराले प्रवक्ताको भूमिका निर्वाह गरिरहेको माओवादीले जनाएको छ ।

    माओवादी पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले महाधिवेशनपछि पार्टीमा कुनै पनि विभाग गठन नभएको बताए । उनले पुरानै जिम्मेवारी सम्झेर जनार्दनले आफूलाई संगठन विभाग प्रमुख दाबी गरेको हुनसक्ने टिप्पणी गरे ।

    महाधिवेशनअघि माओवादीले कार्य विभाजन गर्दा वर्षमान पुनलाई महासचिवले गर्ने कामसहित केन्द्रीय कार्यालय कमाण्डको जिम्मा दिएको थियो भने जनार्दन शर्माले संगठन विभाग पाएका थिए । शर्माले अखिल क्रान्तिकारीको कार्यक्रममा महाधिवेशनपछि पनि आफूलाई नै संगठन विभाग प्रमुख घोषणा गरेको टिप्पणी नेताहरूको छ । त्यसबाट समेत प्रचण्ड आक्रोशित बनेको बताइएको छ ।

    यो पनि पढ्नुस् :

    २. महासचिव चयनमा ‘नोट अफ डिसेन्ट’ जनाएका जनार्दनले गरे उपमहासचिव पद अश्वीकार (भिडिओ)

  • प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस, प्रदेशसभामा को-को ?

    प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस, प्रदेशसभामा को-को ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्यानबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ललाई प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

    पार्टी जिल्ला समन्वय समितिको बुधबारको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको हो ।

    मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् । उनीसँगै टेकबहादुर बस्नेत पनि सिफारिसमा परेका छन् । संघको समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नबहादुर वलीलाई सिफारिस गरिएको छ ।

    प्रदेशसभा ‘क’ को प्रत्यक्षमा भीमप्रकाश शर्मा र ‘ख’ मा चित्रबहादुर केसीलाई सिफारिस गरिएको छ । प्रदेशसभाको दुवै क्षेत्रबाट समानुपातिकमा ९ जनाको नाम पठाइएको छ ।

  • माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्: दश औंला जोडेर भन्छु, मेरो चुनावमा उठ्ने आर्थिक सामर्थ्य छैन

    माओवादीका कपिलवस्तु इन्चार्ज भन्छन्: दश औंला जोडेर भन्छु, मेरो चुनावमा उठ्ने आर्थिक सामर्थ्य छैन

    रुपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज कमल चुँँदालीले अहिलेको निर्वाचन प्रणालीबाट वास्तविक रुपमा राजनीति गर्नेहरु लड्नै नसक्ने जनाउँदै चुनावमा उठ्ने आर्थिक स्थिति नभएकाले भागै लिन नसक्ने जनाएका छन् । उनले आफ्नो नाम कुनै पनि ठाउँमा सिफारिस नगर्न आग्रहसमेत गरेका छन् ।

    माओवादीले बुधबारमात्र चुँँदालीको नाम प्रतिनिधिसभा क्षेत्र नं १ को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अहिलेको निर्वाचन प्रणाली आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चुँदालीले समानुपातिकतर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका छन् । उनले यो प्रणालीमा सुधार नआएसम्म चुनावमा भागै नलिने जनाएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष चुँदालीले यो निर्वाचन प्रणालीमा आफ्ना लागि चुनावमा उठ्नु असम्भव कुरा भएको तर्क दिएका छन् ।

    ‘दसौंला जोडेर मेरो भनाइ दोहोर्‍याएर राख्दछु । चुनावमा उठ्ने आर्थिक सामर्थ्य म राख्दैन । यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरो लागि असम्भव छ’, उनले लेखेका छन्, ‘सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेदवारीमा सिफारिस नगरिदिनुहुन पार्टी पङ्क्तिमा हार्दिक अनुरोध गर्दछु । सद्भावनामा कृतज्ञता जनाउँछु ।’

  • माओवादी तेह्रथुमले गर्‍यो उम्मेदवार सिफारिस, पोलिटव्युरो सदस्य चापागाईं सर्वसम्मत

    माओवादी तेह्रथुमले गर्‍यो उम्मेदवार सिफारिस, पोलिटव्युरो सदस्य चापागाईं सर्वसम्मत

    वसन्तपुर । नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
    माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो । तेह्रथुममा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र छ ।

    प्रतिनिधिसभामा जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बू सिफारिस भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ होमकुमारी लिम्बू खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस भएको जिल्ला संयोजक लिम्बूले जानकारी दिए ।

    प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बू, जेतेन्द्र लिम्बू कुरुम्वाङ र सूर्यबहादुर विक सिफारिस भएका छन् ।

    प्रदेश (ख) को प्रत्यक्ष तर्फ पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईं सर्वसम्मत सिफारिस भएका छन् । चापागाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तका विश्वासपात्र हुन् । यस्तै प्रदेश (ख) को समानुपातिकमा चुडामणि बराल, तेजमान कन्दङवा र टीकाराम लिम्बूको नाम सिफारिस भएको छ ।

  • सँगै युद्ध लडेका सिनियर साथीहरु एमालेमा छटपटिएर बसेका छन्, घर फर्काउँछौं: प्रचण्ड (भिडिओ)

    सँगै युद्ध लडेका सिनियर साथीहरु एमालेमा छटपटिएर बसेका छन्, घर फर्काउँछौं: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा विभाजनका बेला एमालेतिर लागेका पूर्वमाओवादी नेताहरुलाई घर फर्किन आह्वान गरेका छन् ।

    बुधवार पार्टी कार्यालय पेरिसडाँडामा एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीसहित प्रदेश र जिल्लास्तरीय नेताहरुलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले अरु सिनियर नेताहरुलाई पनि घर फर्काउने वातावरण बनाइने बताए ।

    प्रचण्डले भने, ‘हिजो माओवादी आन्दोलनका धेरै सिनियर साथीहरु एमालेमा हुनुहुन्छ । उहाँहरु अहिले वडा पीडा, छटपटी र बेचैनीमा बाँचिरहनुभएको होला । चैन केही पनि छैन होला । त्यत्रो लडाइँमा सँगै लडेका साथीहरुले पक्कै पनि हाम्रो अभाव अनुभूत गर्नुभएको होला । ती सबै साथीरुलाई घर फर्किने वातावरण बनाउनुपर्छ ।’

    प्रचण्डले एमालेबाट फर्किएर आउनेहरुलाई कुनै पनि पूर्वाग्रह नराखिने आश्वासनसमेत दिए ।

  • प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी

    प्रचण्ड-जनार्दन मनमुटाब मञ्चमै पोखियो, कसको रक्षक को ? भिडिओमा हेर्नुहोस् दोहोरी

    काठमाडौं । महासचिव चयनदेखि नै असन्तुष्ट रहेका अर्थमन्त्री तथा माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको उपस्थितिमै आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको छ ।

    अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड र विशिष्ट अतिथि जनार्दन शर्माबीच घोचपेच चलेको हो । प्रचण्ड कार्यक्रमको सुरुमै बोल्न चाहन्थे । तर जनार्दनले आफू पहिले बोल्ने जिद्दि गरेपछि आफूले छाडेको प्रचण्डले बताए ।

    प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेका शर्मालाई विद्यार्थीले ताली बजाएर हुटिङ गर्दा उनले ‘नबजाऊ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ’ भन्दै मन्तव्य सुरु गरेका थिए ।

    शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न उभिएको भन्दै सुरुदेखि नै प्रचण्डसँगको असन्तुष्टि पोखेका थिए । आफू निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर कमिटी बनाएको पवन कार्की समूहलाई पार्टीले नरम नीति लिएकोमा समेत उनले असन्तुष्टि पोख्दै नीति र नेतृत्व सही हुनुपर्ने बताए ।

    जनार्दनले यसो भने

    हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन । स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले । म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि मै हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो । अध्यक्षले यही मञ्चमा उभिएर अहिले यसको जवाफ दिनुहोला । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ,आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा गर्छ,चाकडीले होइन । आलोचनाले नेतृत्वको रक्षा गर्छ चाकडीले होइन

    जनार्दनपछि बोल्न उभिएका प्रचण्डले आफ्नो भनाइ सक्ने क्रममा हल्का आक्रोशित मुद्रामा जवाफ दिँदै जनार्दनलाई हुर्काउन र रक्षा गर्न आफ्नो मुख्य भूमिका रहेको बताए ।

    प्रचण्डको जवाफ यस्तो थियो

    जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ । शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्व गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि त धेरै चीज भएकै छ । मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्,हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो । …

  • पञ्चा सिंहको दाबी- मुलुकले चालक सीटमा प्रचण्ड खोजेको छ (भिडिओ)

    पञ्चा सिंहको दाबी- मुलुकले चालक सीटमा प्रचण्ड खोजेको छ (भिडिओ)

    काठमाडौं । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आउने चुनावबाट प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

    चुनावलक्षित ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जसले परिवर्तनको नेतृत्व गर्‍यो उसैले सरकारको नेतृत्व गर्नुपर्ने बताइन् ।

    प्रचण्डलाई साक्षी राखेर उनले भनिन्, ‘आज हामी लाखौं मतदाता थप्ने र माओवादी पार्टी र अध्यक्ष प्रचण्डलाई मुलुकको चालक सीटमा पुर्‍याउने अभियानमा छौं । आज मुलुकको अवस्था बदल प्रचण्डलाई चालक सीटमा देख्न चाहेको छ देशले । परिवर्तनको संस्थापक माओवादी पार्टी र प्रचण्डको नेतृत्वमा अब मुलुक चल्नुपर्छ ।’

    क्रान्तिकारीले १२ लाख सदस्य पुर्‍याउने अभियानसहित क्रान्तिकारी फोर्स घोषणा गरेको छ ।

  • संघीय राज्यमन्त्री यादव धनुषाबाट प्रदेशसभामा उम्मेदवार सिफारिस

    संघीय राज्यमन्त्री यादव धनुषाबाट प्रदेशसभामा उम्मेदवार सिफारिस

    जनकपुरधाम । संघ सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव धनुषाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छन् ।

    नेकपा माओवादी केन्द्र धनुषाले राज्यमन्त्री यादवको नाम प्रदेशसभा क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार सिफारिस गरेको हो । उनीसँगै माओवादी जिल्ला अध्यक्ष देवेन्द्र यादव ‘दीपक’ र रोशन यादवको नाम पनि सिफारिस भएको बुझिएको छ । राज्यमन्त्री यादव यसअघि समानुपातिकको तर्फबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।

    गत निर्वाचनमा प्रदेश १ (क) बाट नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेका किशोरी साह ‘कमल’ निर्वाचित भएका थिए । एमालेले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर, साह पुनः उम्मेदवारको आकांक्षी छन् ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम सिफारिस भएको माओवादी जिल्ला अध्यक्ष दीपकले जानकारी दिए ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीबाट प्रभावशाली नेता मातृका यादव उम्मेदवार बन्ने निश्चित छ । माओवादी जिल्ला कमिटीले उनको एकल नाम सिफारिस गरेको छ ।

    माओवादीले धनुषा क्षेत्र नम्बर २ बाट योगकुमार बरबरियाको एकल नाम सिफारिस गरेको छ । क्षेत्र ३ बाट सौखीलाल पासवान र युगेश्वर यादव तथा क्षेत्र ४ बाट देवसागर दासको एकल नाम सिफारिस गरेको छ ।

  • सुदूरपश्चिम पुगेका प्रचण्ड देखिए निराश, भन्छन्- रिपोर्ट उत्साहजनक छैन

    सुदूरपश्चिम पुगेका प्रचण्ड देखिए निराश, भन्छन्- रिपोर्ट उत्साहजनक छैन

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पार्टीको रिपोर्ट उत्साहजनक नरहेको बताएका छन् । मंगलबार भएको प्रदेशस्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको जस्तो उत्साह नरहेको बताएका हुन् ।

    ‘रिपोर्ट उत्सजनक छैन । जनयुद्धमा, संविधानसभाको पहिलो वा दोस्रो निर्वाचनमा संविधान निर्माण गर्दैगर्दाको जस्तो उत्साहजनक रिपोर्ट मलाई लागेन’, उनले भने ।

    जनयुद्धको समय स्मरण गर्दै उनले पार्टीमा पहिलेको जस्तो आत्मविश्वास नरहेको पनि बताए । ‘हामी पहिले थोरै थियौं । संख्यामा कम थियौं । आत्मविश्वास भरपूर थियो । कुनै पनि वेला मृत्युवरण गर्ने गरी लडाइँमा थियौं’, प्रचण्डले थपे, ‘तर, हामीमा उत्साह थियो । आत्मविश्वास थियो । संसार जित्छौं भन्ने लागेको थियो । पहिले ५०/१०० हुँदा पूरै आगो बाल्ने रिपोर्ट आउँथ्यो । अहिले यति धेरै छौं । ऊर्जा त्यस्तो छैन ।’

    उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबीच एकरुपता नभएको समेत बताए । प्रदेशमा माओवादीको एकता भए अरू दलको भविष्य नभएको उनको भनाइ थियो ।

    ‘सुदूरपश्चिममा राम्रो एकता हुने हो भने, एकरूपता आउने हो भने अरू कुनै राजनैतिक दलको भविष्य हुनेछैन । पूरै माओवादीको कब्जा हुने थियो’, प्रचण्डले भने, ‘तर, विडम्बना त्यस्तो छैन । बुझाइमा एकरूपता छैन । संगठनमा पनि एेक्यबद्धता छैन । जनताको लागि जनताको बीचमा गएर काम गर्ने सोच पनि पहिलेको जस्तो छैन ।’

    उनले माओवादीकै कारण संविधानसभाबाट संंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको समावेशी समानुपातिक प्रतिनिधित्व कायम भएको र देशलाई समाजवादको यात्रा अघि बढेको दोहोर्‍याए । माओवादीले निरन्तरतामा क्रम भंगता गर्दै आएको उनको भनाइ छ ।

    केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको संयुक्त बैठक र प्रदेशस्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार कैलाली आएका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किने बताइएको छ । उनीसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि धनगढी आएका छन् ।

  • समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न सांसद विशंखेको माग

    समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न सांसद विशंखेको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् ।

    बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानविपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेकाले आयोग पदाधिकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

    उनले समावेशी आयोगले तयार पारेको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ तुरुन्त खारेज गर्नसमेत जोड दिइन् ।

    उनले भनिन्, ‘संविधानविपरीत संवैधानिक आयोगले पूर्वाग्रह राखी जातीय, लैंगिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेको छ । सरकारले यसलाई तुरुन्त खारेज गर्दै आयोगका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउन सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

  • डोटीमा एमालेबाट मल्ल, गठबन्धनमा अझै अलमल्ल

    डोटीमा एमालेबाट मल्ल, गठबन्धनमा अझै अलमल्ल

    कैलाली । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीबाट एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई सिफारिस गरेको छ । मल्लको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको हो ।

    मल्ल अघिल्लो पटक प्रदेशसभामा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्कासँग थोरै मतान्तरले हारेका थिए । कांग्रेसले अहिले पनि खड्कालाई प्रतिनिधिसभामा सिफारिस गरेको छ ।

    एमालेले डोटीमा समानुपातिकतर्फ पोलिटब्युरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओली, प्रदेशसभा ’क’ मा प्रत्यक्षतर्फ लक्ष्मण खड्का र ’ख’ बाट पदमराज भट्ट, रामबहादुर ऐर, टेक बम, भोजनाथ योगी, यज्ञराज जोशी र राधिका टमटालाई सिफारिस गरेको छ ।

    गठबन्धनका समस्या

    यहाँ अहिले गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एस तीन दलले दाबी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रबाट, पूर्वमन्त्री प्रेम आले नेकपा एस र पूर्वमन्त्री तथा कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर कांग्रेसबाट टिकटको दौडधुपमा छन् । तर, केन्द्रको कार्यदलमा सीट बाँडफाँट टुंगिनसकेकाले कसले पाउने अहिलेसम्म अन्योल छ ।

    माओवादी र नेकपा एसबाट भट्ट र आले सर्वसम्मत जस्तै भएपनि कांग्रेसबाट बलायरसहित प्रदेशसभा सदस्य भरत बहादुर, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको दाबी छ ।

    नेकपा एस र कांग्रेसले उम्मेदवारको सिफारिस गरिसकेको छ भने माओवादी केन्द्रले केही दिन भित्र सिफारिस गर्ने जनाएको छ ।

    ‘मुख्यमन्त्री त्रिलोचन भट्ट संघमा उठ्ने तयारीमा हुनुहुन्छ’ माओवादीका एक नेताले भने ‘मुख्यमन्त्री भइसक्नु भएको व्यक्तिले संघ रोज्दा यहाँ हामीलाई भाग पर्ने सम्भावना छ ।’

    माओवादीले आफूहरूले पाउने दाबी गरिरहेका बेला नेकपा एसले प्रेम आलेको लागि पनि सशक्त लबिङ गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केही सांसद थप्न आलेको भूमिका रहेको भन्दै यहाँ आलेकै लागि छुट्टयाउने प्रयास भइरहेको कांग्रेसवृत्तमा चर्चा छ ।

    नेपाली कांग्रेसले भर्खरै मात्र जिल्लामा कसैसँग तालमेल नगर्ने निर्णय गरेपछि यहाँ गठबन्धन दलबीच तिक्तता बढेको छ । गत बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभामा सिफारिस भएका भरत खड्का जिल्लाले सर्वसम्मतरूपमा तालमेल नगर्ने निर्णय गरेको भन्दै केन्द्रले त्यसलाई लत्याउन नसक्ने जिकिर गर्छन् । जिल्लाको आवाजभन्दा बाहिर गएर केन्द्रले निर्णय लाद्ने प्रयास गरे विद्रोह हुने संकेत आफूले पाएको उनको भनाइ छ ।

    ‘यहाँ हाम्रा सबै नेता कार्यकर्ता कांग्रेस एक्लै लड्नु पर्छ भनिरहेका छन्’ उनले नेपाल प्रेससँग भने ‘त्यो भावनाविपरीत गएर केन्द्रले निर्णय गरे विकल्प खोज्ने कुरा आइरहेको छ । ’

    को कति बलियो ?

    अघिल्लो संसदीय निर्वाचनमा भिडेका पाँचजना अहिले पनि उम्मेदवारका आकांक्षी छन् । प्रदेशसभामा भिडेका तीन र प्रतिनिधिसभामा भिडेका दुईजनाकै रोजाइ अहिले प्रतिनिधिसभा बनेको छ ।

    कांग्रेसका उम्मेदवार भरत खड्कासँग झिनो मतले पराजित भएका मल्ल एमालेबाट र खड्का कांग्रेसबाट आकांक्षी छन् । मल्ल उम्मेदवार बन्ने निश्चित भइसक्दा पनि खड्काको पार्टी भित्रै बाट र गठबन्धनबाट अनिश्चित छ ।

    नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५९२ मतले हराएर मुख्यमन्त्री भएका त्रिलोचन भट्टले पनि संघीय निर्वाचन क्षेत्र ताकेका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसका वीरबहादुर बलायरलाई प्रेम आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । ७४ मा बलायर हराएका आले २०७० सालमा डोटी- २ बाट सांसद बनेका थिए । त्यो बेला बलायर डोटी- १ बाट विजयी भएका थिए ।

    स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेस निकै अगाडि छ । कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।

  • चुनाव लक्षित ‘फोर्स’ निर्माण गर्दै अखिल क्रान्तिकारी

    चुनाव लक्षित ‘फोर्स’ निर्माण गर्दै अखिल क्रान्तिकारी

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।

    भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

    मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल क्रान्तिकारीले विशेष संरचना निर्माण गर्न लागेको हो ।

    ‘क्रान्तिकारी फोर्स’ अखिल क्रान्तिकारी केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।

    कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारीहरुसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमूलक सहभागिता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए ।

  • संसदको आयु नथप्ने गठबन्धनमा सहमति, प्रचण्ड भन्छन्- प्रस्ताव फिर्ता गर्छौं (भिडिओ)

    संसदको आयु नथप्ने गठबन्धनमा सहमति, प्रचण्ड भन्छन्- प्रस्ताव फिर्ता गर्छौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको आयु नलम्ब्याउने बारे गठबन्धन दलमा सहमति भइसकेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका दाहालले आजै यो प्रस्ताव फिर्ता हुने जानकारी गराए ।

    सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेपछि चौतर्फी आलोचना भएको थियो । सरकारको यो कदममा निर्वाचन आयोगले समेत असहमत जनाइसकेको छ ।

    ‘आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन ‘, प्रचण्डले भने ।

    प्रचण्डले केही टेक्निकल कारणले प्रतिनिधिसभाको म्याद थप्न खोजिएपनि चुनावअघि कन्फ्यूजन पार्न नहुनेमा सहमत भएको बताए ।

    प्रचण्डले भने, ‘बीचमा केही टेक्निकल कारणले संसद लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरूले सोच्नुभएको रहेछ । गठबन्धन बसेर यसरी सोच्नु हुँदैन । कहिँ इफ बट हुन दिन हुँदैन । ४ गते निर्वाचन हुन्छ त्यहाँ भन्दा अगाडि केही काम कन्फ्यूजन पैदा गर्ने गरी गर्नुहुँदैन भन्ने भइसकेको छ । सायद आजै प्रस्ताव फिर्ता हुन्छ ।’

    प्रचण्डले स्थानीय चुनाव र अब हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले संविधान डिरेलको खतरा टरेको र गणतन्त्रको विजय भएकव दाबी गरे ।

  • धनगढीमा प्रचण्डले भने- कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढ्यो, हामीलाई ६० को वरपर (भिडिओ)

    धनगढीमा प्रचण्डले भने- कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढ्यो, हामीलाई ६० को वरपर (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् ।

    बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए । उनले दाबी आ-आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए ।

    ‘सीट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ’, प्रचण्डले भने ।

    सीट दाबीबारे पत्रकारको प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताए । उनले माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको बताए ।

    प्रचण्डले भने, ‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला ।
    समाजवादीको २५ वरिपरि होला’, प्रचण्डले भने, ‘यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौं । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौं ।’

  • १६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ?

    १६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ?

    काठमाडौं । सत्तागठबन्धनमा सीट बाँडफाँटलाई निष्कर्षमा पुर्‍याउने गरी कार्यदलको बैठक साँझ ६ बजे बस्दैछ । आजको ‘अन्तिम’ बैठकले भागबण्डा टुंग्याउँदै प्रतिवेदन तयार पार्नेगरी कार्यदलका सदस्य जुटेका छन् ।

    सोमबारको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अहिलेसम्म २०७४ को संसदीय र भर्खरै सकिएको स्थानीय चुनावको परिणामलाई आधार मानेर कुन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे कार्यदलले सरसर्ति प्रतिवेदन बनाएको छ ।

    आजको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र शीर्ष नेतासमक्ष भोलि पेस गर्नेछ ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रदेशसभाको समेत सीट बाँडफाँट गरेर सार्वजनिक गर्ने तयारीमा कार्यदल जुटेको छ ।

    स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा सीट पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

    यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । कांग्रेसले ८६ सीट वरपर पाउने भएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले नै बाँड्नुपर्नेछ ।

    त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

    माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका थिए । त्यस्तै प्रचण्डले कांग्रेस ८२, अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेको बताइएको छ ।

    कांग्रेस सय सीटकै औपचारिक अडानमा छ । तर, देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेका छन् ।

  • प्रचण्ड बागलुङ-२ बाट एकल सिफारिस

    प्रचण्ड बागलुङ-२ बाट एकल सिफारिस

    बागलुङ । नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए ।

    दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

    यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए । रासस

  • माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउँदै

    माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउँदै

    कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि कैलाली आउने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड धनगढी आउन लागेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए । प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि आउने कार्यक्रम तय भएको थियो ।

    भोलि बिहान ८ बजे धनगढी पुगेर भोली नै काठमाडौँ फर्किने जनाइएको छ ।

  • भक्तपुरमा प्रतिनिधिसभाका लागि माओवादीबाट दुईजनाको एकल सिफारिस

    भक्तपुरमा प्रतिनिधिसभाका लागि माओवादीबाट दुईजनाको एकल सिफारिस

    काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतनिधिसभा सदस्य निर्वाचनका लागि एकल नाम सिफारिस गरेको छ ।

    भक्तपुरका दुई वटा क्षेत्र नम्बरहरु १ र २ मा क्रमशः सुरेश न्यौपाने र रामप्रसाद सापकोटा दीपशिखा सिफारिस भएका छन् । त्यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ ख मा सुनिल गोथे सिफारिस भएका छन् भने क्षेत्र नम्बर १ क मा भोलि टुंगिने जिल्ला संयोजक सुनिल गोथेले जानकारी दिए ।

    त्यस्तै, क्षेत्र नम्बर २ ख मा दिलीपकुमार प्रजापति भीष्म सिफारिस भएका छन् भने क्षेत्र नं. २ क मा भोलि टुंग्याइने गोथेले जनाए ।

    ति क्षेत्रमा आकांक्षी धेरै भएकाले आज नटुंगिएको बताइएको छ ।

  • गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

    गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

    काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले एकसरो सीट संख्या टुंगो लगाएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल प्रेसलाई बताए ।

    पुनले दलहरुले आ-आफ्नो दाबीअनुसारको निर्वाचन क्षेत्रमा छलफल गरी सीट संख्या मोटामोटी टुंगो लगाएको बताए । मंगलबार प्रदेश सभाको पनि सीट बाँडफाँट टुंगो लगाएर सार्वजनिक गरिने उनले जानकारी दिए ।

    पुनले सीट संख्या ठ्याक्कै यति भनेर अहिले नै भन्ने अवस्था नरहेको तर यसअघि छलफलमा आएकै संख्या वरिपरि टुंगिएको बताए । स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

    यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । सोही अनुसार कांग्रेसले ८३ र महन्थ ठाकुर समूहसहित ८६ सीट वरपर पाउने भएको छ ।

    गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने लगभग सहमति जुटेको छ । तर प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सार्वजनिक हुने बताइएको छ । गठबन्धन बैठक लगत्तै बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    यो पनि पढ्नुस्ः गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

  • गठबन्धनमा भागबण्डाबारे प्रचण्डले भने- पहिला जितेको ठाउँमा मिलिसक्यो, कति थप्ने भन्ने २/३ दिनमा टुंगिन्छ

    गठबन्धनमा भागबण्डाबारे प्रचण्डले भने- पहिला जितेको ठाउँमा मिलिसक्यो, कति थप्ने भन्ने २/३ दिनमा टुंगिन्छ

    जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सीट बाँडफाँट टुंगिने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आएका उनले गठबन्धन दल भागबण्डाको अन्तिम तयारीमा रहेको बताए ।

    ‘कार्यदलले अध्ययन गरिरहेको छ’, प्रचण्डले भने, ‘कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सीट बाँडफाँटको टुंगो लगाउँछ ।’

    उनले अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको बताए ।

    ‘त्यसबाहेक थप कति वटा सीट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ । हामीले छिटोभन्दा छिटो सीट टुंगो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ’, उनले भने ।

    ७४ को चुनावभन्दा आगामी मंसिर ४ मा माओवादीले बढी सीट जित्ने प्रचण्डको दाबी छ ।

    यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरू भएको छ । जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ), नेताहरू मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहले सम्बोधन गर्ने माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले बताए ।

  • प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं

    प्रचण्डको चेतावनी : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जान्छौं

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।

    जनकपुरधाममा सोमबार सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेको बताए । उनले भने, ‘राष्ट्रपतिले अब पुनः नागरिकता विधेयक फिर्ता गर्न मिल्दैन । उहाँ फिर्ता गर्नुहुन्न भन्ने विश्वास छ । तर प्रमाणिकरण नगरे अदालत जान्छौं ।’

    अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनका लागि दुई/तीन दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँड टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

    ‘अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ । त्यो पनि छिट्टै टुंगो लाग्छ ।

  • झापा १ मा रविनलाई राम कार्कीको ‘वाकओभर’, विश्वप्रकाशसँग दोस्रो भेट निश्चित

    झापा १ मा रविनलाई राम कार्कीको ‘वाकओभर’, विश्वप्रकाशसँग दोस्रो भेट निश्चित

    झापा । गठबन्धनको सीट बाँडफाँट कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केही दिनअघि पार्टीका सचिवसमेत रहेका झापा क्षेत्र नम्बर १ का सांसद राम कार्कीलाई फोनमा सोधे- चुनाव कताबाट लड्ने हो ? तपाईँले केही निधो गर्नुभयो ?

    कार्कीले जवाफ दिए, ‘म एमालेका साथीहरूसँग छलफल गर्दैछु, रविन कोइरालाजी लड्ने हुनुभयो भने म झापा छाड्छु । अहिले छलफलमै छु । एमालेका साथीहरूले के भन्छन् त्यसअनुसार गरौंला ।’

    त्यसको केही दिनपछि राम कार्कीको नाम माओवादीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि ओखलढुंगामा सिफारिस भयो । उनको जन्मघर ओखलढुंगा भए पनि कर्मथलो कहिले सिन्धुली, कहिले ताप्लेजुङ, कहिले रामेछाप हुँदै अहिले झापा बनेको छ ।

    तर, अब झापा पनि उनको कर्मथलो रहेन । नेकपा एमालेले झापा १ बाट रविन कोइरालालाई प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि कार्कीले अघोषितरूपमा ‘वाकओभर’ दिने निश्चित भएको छ ।

    कार्की एमालेबाट को उम्मेदवार बन्छ भनेर पर्खिरहेका थिए । यस क्षेत्रबाट रविन कोइराला,श्रीप्रसाद मैनाली लगायत दाबेदार थिए ।

    कोइरालाबाहेक अरु उम्मेदवार बन्दा कार्कीको चाहना झापा १ मै थियो । तर, बलिया उम्मेदवार कोइरालाको नाम एमालेले एकलरूपमा अघि सारेपछि अब कार्की यहाँबाट नउठ्ने निश्चित भएको छ ।

    सोही क्षेत्रबाट २०७० मा रविन कोइराला र २०७४ मा राम कार्कीसँग पराजित भएका कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा अब रविन कोइरालासँग दोस्रोपटक आम्नेसाम्ने हुने सम्भावना बढेको छ । शर्माले सोही क्षेत्रबाट तेस्रो प्रयासमा सफल हुने आशा व्यक्त गरेका छन् ।

  • कञ्चनपुर १ : विष्टको एकल नाम पठाएको कांग्रेसले प्रचण्डकी बुहारीलाई ठाउँ छाड्ला ?

    कञ्चनपुर १ : विष्टको एकल नाम पठाएको कांग्रेसले प्रचण्डकी बुहारीलाई ठाउँ छाड्ला ?

    कैलाली । कञ्चनपुर- १ मा प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्टको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि तयार पारेको हो ।

    २०७० को संविधानसभामा विजयी भएका विष्ट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । विस्टलाई वाम गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार बनेकी विना मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी विना मगरको लागि अहिले गठबन्धनभित्र यस क्षेत्रमा माओवादीले सशक्त दाबी गरिरहेको छ ।

    कञ्चनपुरको क्षेत्र नम्बर १ र २ मा आफ्नो पार्टीको स्वत: दाबी रहने माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय बताउँछन् ।

    ‘हामीले गठबन्धनमा कञ्चनपुरको २ क्षेत्र दाबी गरेका छौँ’, उनले भने ‘१ नम्बर क्षेत्र छोड्ने त कुरै हुँदैन ।’

    स्थानीय तहको निर्वाचनमा पनि यहाँ मित्रवत् प्रतिस्पर्धा भएको थियो ।

    उनले भने, ‘हामी आन्तरिक ढंगले आफ्नो तरिकामा अगाडि बढिरहेका छौँ । गठबन्धन भए सबैतिर हुन्छ नभए हामी एकल रूपमा अगाघि बढ्छौँ ।’

    विना मगरको क्षेत्रमा कांग्रेसले उम्मेदवार सार्वजनिक गरिसक्दा माओवादीले भने सिफारिस गरिसकेको छैन । २१ गतेभित्र सिफारिस प्रक्रिया टुंग्याइने एक नेताले बताए ।

    कांग्रेसभित्र भने गठबन्धनको भावना अनुसार अगाडि बढ्ने रणनीतिका साथ केन्द्रको परिपत्र अनुसार सबै क्षेत्रका उम्मेदवार सिफारिस गरिरहेको जिल्ला सचिव भीम भट्टले बताए । भोलि केन्द्रीय गठबन्धनको निर्णय अनुसार आफूहरूले छाड्नुपर्ने हुनसक्ने उनले बताए ।

    स्थानीय तहमा जिल्लाले आवश्यकताको आधारमा गठबन्धन गर्ने अधिकार दिएको हुँदा स्थानीय तहमा यहाँ गठबन्धन नभएको उनको प्रष्टोक्ति थियो ।

    ‘कुन क्षेत्र छुट्ने हो कुन हुने हो त्यो केन्द्रबाटै निर्णय हुन्छ’ उनले भने ‘स्थानीय तहमा हामीलाई अधिकार थियो । स्थानीय तहमा हामीले आवश्यकता महसुस गरेनौँ र हामी एक्लै लड्यौ । अहिले केन्द्रले गर्छ । हामी केही गर्न सक्दैनौँ ।’

    प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका विष्टले भने क्षेत्र नम्बर १ मा माओवादी कमजोर रहेकव दाबी गरे । उनले आफ्नो क्षेत्रमा तालमेल नगर्ने निर्णयसमेत भएको सुनाए ।

    उनले भने, ‘दुवै प्रदेश र प्रतिनिधिसभामा तालमेल नगर्ने निर्णय आजै भएको छ । यहाँ माओवादी जित्नसक्ने अवस्थामा छैन । हार्ने चुनावमा प्रचण्डले बुहारीलाई लडाउनु हुन्छ जस्तो हामीलाई लाग्दैन ।’

    माओवादी र नेकपा एकीकृतको मत स्थानीय तहमा आएभन्दा पनि कम हुने दाबी गर्दै उनले यहाँ कांग्रेसले नै सीट पाउनु पर्ने बताए ।

    स्थानीय तहमा पनि मित्रवत् प्रतिस्पर्धा भएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा पनि त्यस्तै हुन सक्ने विष्टको भनाइ छ ।

    तपाईँको क्षेत्र माओवादीलाई परे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन् , ‘परिणाम राम्रो आउँदैन त्यो कुरामा फेरी छलफल हुन्छ ।’

    गत स्थानीय तहको चुनाव यहाँ नेकपा एमाले पहिलो पार्टी बनेको छ । यो क्षेत्रमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, नेकपा एसको ३ हजार ५२१, र राप्रपाको २ हजार ६९२ मत थियो ।

    केही दिन पहिले पूर्व दुई मन्त्री तारा लामा तामाङ र कुलवीर चौधरीसँगै नेकपा एकीकृत समाजवादीका निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दलगायत माओवादीबाट पनि थुप्रै नेताहरू एमाले प्रवेश गरेका छन् ।

  • लमजुङमा माओवादी केन्द्रबाट देव गुरुङ सिफारिस

    लमजुङमा माओवादी केन्द्रबाट देव गुरुङ सिफारिस

    लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो ।

    उनीसँगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ ।

    प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ । प्रदेश ख मा विमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

    प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतीमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा नीराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ ।

  • चितवन-२ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

    चितवन-२ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

    भरतपुर । माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ ।

    माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् ।

    यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।

  • सिन्धुपाल्चोक- १ मा माओवादीबाट अग्नि सापकोटासहित तीनजना सिफारिस, प्रदेशमा को-को ?

    सिन्धुपाल्चोक- १ मा माओवादीबाट अग्नि सापकोटासहित तीनजना सिफारिस, प्रदेशमा को-को ?

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रबाट उमेदवार सिफारिस भएका छन् ।

    प्रदेश १ को कमिटी बैठकले सापकोटासहित प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरेको हो । माओवादी पोलिट्ब्युरो सदस्य माधव सापकोटा सुवोध र फुलम तामाङ पनि सिफारिस भएका छन् ।

    १ को प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ वागमती कमिटीका अध्यक्ष सरल सहयात्रीको एकल नाम सिफारिस गरिएको छ ।

    त्यस्तै सोही क्षेत्र को प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ अम्बिका नेपाल, टीएन सापकोटा ,चन्द्र सापकोटा र प्रताप सि लामा सिफारिस भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

    प्रतिनिधिसभा तर्फ समानुपातिकमा पुण्यप्रसाद पराजुली, विष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ, गणेश विक र पर्वती थामी सिफारिस भएका छन् ।

    त्यस्तै प्रदेशसभा ‘क’ मा समानुपातिकमा राजकुमार पौडेल, लालकान्छा तामाङ, ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती, आशा गुरुङ शेर्पा र सुन्दर पहरी सिफारिस भएका छन् ।

    प्रदेश सभा ‘ख’ मा समानुपातिकतर्फ अमृता नेपाल, गोकर्णदास श्रेष्ठ, पदम श्रेष्ठ, सागर परियार, सुवास सुन्दास र टीकाराम पराजुली सिफारिस भएका छन् ।

  • चितवन- ३ बाट एक मतले प्रचण्डको नाम सिफारिस

    चितवन- ३ बाट एक मतले प्रचण्डको नाम सिफारिस

    चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर- ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

    आइतबार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरिएको नेता गोपाल न्यौपानेले जानकारी दिए ।

    प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा- १ बाट पनि सिफारिस भएको छ । यद्यपि प्रचण्डले आफू चितवन- ३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।

    बैठकले चितवन- ३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ ।

    न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन् । उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च तहका माओवादी नेता हुन् ।

  • गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

    गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

    काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए ।

    प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले बाँड्नुपर्नेछ ।

    त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

    यसअघि १६५ सीटमध्ये कांग्रेस ८६ सीटमा लडेर ७९ सीट अरुलाई बाँड्न सहमत भएको थियो । कार्यदलका एक नेताका अनुसार सोही सेरोफेरोमा रहेर आज दिउँसोको बैठकमा छलफल हुन लागेको छ ।

    बिहानको बालुवाटार बैठकमा माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका छन् । त्यस्तै प्रचण्डले कांग्रेस ८२,अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेका छन् ।

    कांग्रेस सय सीटकै औपचारिक अडानमा रहे पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेको बताइएको छ ।

  • कार्यदलको बैठकअघि देउवा-दाहालबीच भेट, सीट बाँडफाँटमा सहमति जुटाउने प्रयास

    कार्यदलको बैठकअघि देउवा-दाहालबीच भेट, सीट बाँडफाँटमा सहमति जुटाउने प्रयास

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटघाट भएको छ ।

    सीट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । गठबन्धनमा आ-आफ्नो दाबीका कारण भागबण्डा टुंगिसकेको छैन । आज दिउँसो ३ बजे शीर्ष नेतासहित कार्यदलका सदस्यहरूको बैठक बोलाइएको छ ।

    सीट बाँडफाँटलाई लिएर कांग्रेस र माओवादीले प्रस्तुत गरिरहेको दाबी र मिलनबिन्दुबारे दुई नेताबीच कुरा भएको बालुवाटारनिकट स्रोतले बताएको छ ।

    सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ९० सीटमा दाबी गरिरहेको छ । अन्तिममा ८६/८७ सीटमा सहमति गर्ने गरी देउवाले कार्यदलमा रहेका नेताहरूलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् ।

    माओवादीले भने ६० सीट दाबी गर्ने ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने रणनीतिका साथ अघि बढेको छ । त्यस्तै, ४० सीट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सीट पाउने सम्भावना छ । तर नेकपा एसका नेताहरुले २० सीटभन्दा तल नजाने अडान लिएका छन् ।

    जसपाले १२ सीटलाई बटमलाइन बनाएको छ भने २ सीट दावी गरेको राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेछ । कांग्रेसले लोसपालाई पनि गठबन्धनमा सामेल गर्न खोजेको छ ।

  • सिन्धुलीमा राजन दाहालको शक्ति प्रदर्शन, उम्मेदवार सिफारिसमा हरिबोल निरीह

    सिन्धुलीमा राजन दाहालको शक्ति प्रदर्शन, उम्मेदवार सिफारिसमा हरिबोल निरीह

    सिन्धुली । नेकपा (माओवादी केन्द्र)का बाहुबली नेता राजन दाहालले सिन्धुलीमा आफ्नो शक्ति प्रदर्शन गर्दा पार्टीका उपमहासचिव तथा अध्यक्ष प्रचण्डका निकटस्थ मानिने प्रभावशाली नेता हरिबोल गजुरेल भने निरीह बनेका छन् ।

    जिल्ला इन्चार्ज समेत रहेका प्रदेश सभा सदस्य दाहालले सिन्धुलीका ९ वटै पालिका कमिटी बैठक राखेर दुवै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो एकल नाम सिफारिस गराएका छन् ।

    सिन्धुलीका सबै पालिका कमिटीहरुको शनिवारको बैठकले जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)लाई प्रतिनिधिसभा सदस्यका लागि दुवै क्षेत्रमा सिफारिस गरेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष समेत रहेका प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए ।

    सिन्धुलीमा दुई निर्वाचन क्षेत्र छन् । दुवैबाट राजन दाहाल सिफारिस भए पनि १ नम्बर क्षेत्र कांग्रेसले पाउने निश्चित छ । माओवादी नेता हरिबोल गजुरेलले २ पटक जितेको र माओवादीको बलियो पकड मानिएको क्षेत्र नम्बर २ बाट राजन दाहाल चुनाव लड्न खोजेका छन् ।

    दाहाल पनि सोही क्षेत्रका हुन् तर अघिल्लो पटक उनी क्षेत्र नम्बर १ मा गएर प्रदेशसभा सदस्य जितेका थिए । यसपटक सिन्धुलीका ९ वटै पालिका कमिटीबाट एकल नाम सिफारिस गराएका दाहालले हरिबोल गजुरेलको नाम भने समानुपातिक उम्मेवारका लागि सिफारिस गराएका छन् ।

    पालिका कमिटीहरुबाट आएको सिफारिसका आधारमा क्षेत्रीय कमिटी र जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिए । जिल्लामा एकछत्र कब्जा जमाएका राजन दाहालले यसपटक हरिबोललाई अप्ठेरो पारेका छन् ।

    रामेछाप जिल्ला इन्चार्ज हुँदा तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल, नेताहरु पशुपति चौलागाई,देवशंकर पौडेल लगायतको हत्या प्रयास गरेपछि पार्टीले उनलाई सिन्धुली सरुवा गरेको थियो ।

  • छोरी रेणुप्रति ईंगित गर्दै प्रचण्डले भने- जनताले पार्टीभन्दा विकास हेर्न थाले, भरतपुरले प्रमाणित गर्‍यो (भिडिओ)

    छोरी रेणुप्रति ईंगित गर्दै प्रचण्डले भने- जनताले पार्टीभन्दा विकास हेर्न थाले, भरतपुरले प्रमाणित गर्‍यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अब पार्टी भन्दा पनि विकास हेर्ने थालेको बताएका छन् ।

    नेपाल विद्युत प्राधिकरणद्वारा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले जनता पार्टी, नेता, र व्यक्ति भन्दा पनि विकास हेर्न थालेको बताए ।

    उनले भने,‘आम जनताले पार्टी हेर्ने भन्दा पनि उनीहरुले हेर्ने भनेको विकास नै हो । शिक्षा स्वास्थ्य रोजगारीमा के कति परिवर्तन भयो भएन भन्ने छ । जनताको सुरक्षालाई पार्टीहरुले कतिको ध्यान दिएको छन छैनन् भन्ने भएको छ ।’ उनले विकास सुरक्षा र समृद्धिको महान यात्रा भरतपुर महानगरपालिकामा सुरु भएको जिकिर गरे ।

    विकास गर्नेलाई जनताले त्यो कुरा राम्रै मनन गरेको तथ्य स्थानीय तहको चुनावमा रामै्रसँग प्रमाणित गरेर देखाएको उनले बताए ।

    उनले भने,‘आउने प्रदेश र संघको निर्वाचनमा पनि विकास र समृद्धिलाई अगाडि बढाउने कुरालाई चितवन जिल्ला समग्रमा भरतपुर महानगरपालिका र यस क्षेत्रमा एउटा मोडल विकासलाई नेपाली जतनाले चितवनबासीले रुचाएको तथ्य छ । जसले विकास र समृद्धिलाई गति दिन सक्छ त्यसलाई रोजेको तथ्य प्रमाणित भइसकेको छ । आउने दिनमा पनि जनताले यही आवश्यकताको बलमा यसले योगदान गर्नेछ । यहाँबाट देशभरी नै विकास र समृद्धिको सन्देश दिने मेरा संकल्प छ ।’

     

  • बलभद्र सरदार थारुसहित एमाले मोरङ नेता कार्यकर्ता माओवादी प्रवेश

    बलभद्र सरदार थारुसहित एमाले मोरङ नेता कार्यकर्ता माओवादी प्रवेश

    काठमाडौं । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    थारु यसअघि स्थानीय तहको चुनावमा एमालेबाट बुढिगङ्गा गाउपालिका अध्यक्षका उम्मेदवार बनेको थिए ।उनलाई कांग्रेसका जितनारायण थापामगरले पराजित गरेका थिए ।

    उनीसँगै एमालेका बुढिगङ्गा ३ का वडा अध्यक्षका उमेदवार अमिर भगत,साबिक शिशबनि गाबिसका निर्वाचित उपाध्यक्ष अनिल गच्छदार, बुढिगङ्गा वडा-७ पार्टी अध्यक्ष किरण सरदार र आशाराम सरदार माओवादी प्रवेश गरेका हुन् ।

    विचार स्वतन्त्र हुन्छ , एमालेबाट समाज विकास सम्भव छैन भन्दै माओवादी रोजेको थारुले बताए ।

  • एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी हुँदैछ, घोषणापत्र एउटै बनाउँछाैं: प्रचण्ड

    एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी हुँदैछ, घोषणापत्र एउटै बनाउँछाैं: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताएका छन् ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै समाजवादीसँग पार्टी एकताको तयारी भइरहेको बताएका हुन् ।

    त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको उनले बताए ।

    उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ । उनले भने,‘ त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ । तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ ।’