Category: माओवादी केन्द्र

  • सानो पार्टीमा ठुलो विवाद- माओवादीसँग एकताको विषयले महिन्द्रराय नेतृत्वको नेसपामा भाँडभैलो

    सानो पार्टीमा ठुलो विवाद- माओवादीसँग एकताको विषयले महिन्द्रराय नेतृत्वको नेसपामा भाँडभैलो

    काठमाडौं । डा. बाबुराम भट्टराईले माओवादीसँग एकता नगर्ने अडान लिएपछि पार्टी फोडेर हिँडेको महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा पनि भाँडभैलो सुरु भएको छ।

    सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षले माओवादीसँग तत्कालै एकता गर्ने तयारी गरेको छ। श्रेष्ठ पक्षले माओवादीसँग १२ गते एकता गर्ने तयारीस्वरुप ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। तर, यादव पक्ष तत्काल माओवादीसँग एकता गर्ने पक्षमा छैनन्।

    श्रेष्ठ पक्षले बैठक बोलाएपछि महासचिव रमेश यादवले विज्ञप्ति जारी गर्दै ११ गतेको बैठक आधिकारिक नभएको बताइसकेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रूपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु।’

    ‘हामीले बोलाएको बैठकमा दुई तिहाइ आउँछन्’

    यादवले विज्ञप्ति जारी गरेपछि हामीले सहअध्यक्ष श्रेष्ठलाई सोध्यौँ। उनले माओवादीसँग १२ गते एकता गर्नको लागि बैठक बोलाएको बताए।

    उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले विज्ञप्ति के भनेर निकाल्नुभयो हामीलाई थाहा छैन, हामीले ११ गतेको लागि बैठक बोलाएका छौँ। एकता प्रक्रियामा जाने निर्णय लिन्छौँ।’

    उनले माओवादीसँग १२ गते एकता गर्नेबारे अध्यक्ष यादवसँग कुराकानी नभएको स्वीकारे।

    उनले थपे, ‘उहाँ मधेशतिरै हुनुहुन्छ क्यारे। यो विषयमा कुरा भएको छैन। हामीले बोलाएको बैठकमा पार्टीको दुई तिहाइ केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ।’

    यादव पक्षले पनि राख्यो नाम फेर्नुपर्ने अडान

    महासचिव यादव भने आफूहरू एकताको पक्षमा भए पनि श्रेष्ठ पक्षका नेताहरूले केही हतार गरेको बताए। उनले श्रेष्ठ पक्षले ११ गतेको लागि बोलाएको बैठक आधिकारिक नभएको जिकिर गरे।

    उनले नेपाल प्रेससँग भने, ‘पार्टी एकताको लागि नै हामीले बाबुरामजीसँग विद्रोह गरेका हौँ। उहाँ एकता नगर्ने पक्षमा हामी पक्षमा तर एकता गर्न हाम्रो माओवादीसँग केही शर्त थियो। पार्टीको नाम रूपान्तरण गर्ने, माओवादी हटाउने, नेकपा समाजवादी राखेर जाने भन्नु कुरा भएको थियो। त्यो नभई हामीले एकता हुँदैन भनेका हौँ।’

    उनले श्रेष्ठसहित केही नेताहरूले हतार गरिरहेको भन्दै रोक्न प्रयास नगर्ने तर नमाने माओवादी प्रवेश गर्न स्वतन्त्र रहेको बताए।

    महासचिव यादवले भने, ‘उहाँहरूले एकता महाधिवेशन गरेर नाम र चुनाव चिन्ह टुंग्गो लगाउने कुरा गर्नुभएको थियो। महाधिवेशनसम्म हामी पर्खेर जाने, नभए पदाधिकारी बैठकबाट महाधिवेशनबाट नाम परिवर्तन गरेर जाने परिपत्र भयो सबै जाने भन्ने कुरा हो। तर केही साथीहरूले अहिले हतार छ। प्रवेश नै गरिहालौँ भनेर लागिराख्नुभएको छ। बैठक बसिराख्नुभएको छ, उहाँहरूलाई रोक्ने प्रयास गर्ने हो जाने स्वतन्त्रता छ।’

    उनले पार्टीको बैठक अध्यक्षको सल्लाहमा महासचिवले बोलाउने विधान रहेकाले श्रेष्ठ पक्षले राखेको बैठक आधिकारिक नभएको उनको दाबी छ।

    उनले थपे, ‘११ गते बिहान हामीले प्रचण्डजीलाई छलफल गरौँ भनेका छौँ। म गंगाजीलाई पनि लिएर जान्छौँ छलफलपछि के निष्कर्ष आउँछ भन्ने हो।’

    उनले भोलि आफूले सहअध्यक्ष श्रेष्ठसँग पनि छलफल गर्ने र आफूहरूको शर्त माओवादीले स्वीकारे पार्टी प्रवेश भन्दा पनि एकता प्रक्रियाबाटै अघि बढ्ने बताए।

    उनले प्रचण्डसँग कुरा मिले पनि १२ गते एकता सम्भव नभएको जिकिर गरे। उनले आफूहरू माओवादीकै चुनाव चिन्हबाट लडेको भन्दै प्रचण्डसँग मुद्दा र एजेन्डा मिलिरहेको पनि सुनाए। उनले थपे, ‘हामी एकता त गर्छौँ नै तर प्रवेश होइन। सबै साथीहरूको सम्मानजनक व्यवस्थापन गराएर जाने हो। ’

    भनेपछि पार्टीको नाम नफेरी एकता हुँदैन भन्नेमा तपाईँको पार्टी अध्यक्ष पनि सहमत हुनुहुन्छ ? भन्ने जिज्ञासामा उनले थपे, ‘हुनुहुन्छ, नाम त फेर्नु पर्‍यो नि। अहिले पदाधिकारी बैठक राखेर नाम फेर्ने निर्णय गर्नुभयो भने हामी तयार नै छौँ नि।’

    नाम फेर्ने प्रस्तावमा प्रचण्डको जवाफ

    प्रचण्डले आफूहरूले बाबुरामसँग पनि एकता गर्ने भने पनि नाम फेर्ने प्रस्ताव गरेपछि असफल भएको बताएका छन्। अभियानका क्रममा रुकुम पूर्वमा पुगेका प्रचण्डले कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि एकता सम्भव नभएको प्रष्टीकरण दिए। उनले बाबुरामबारे खरो टिप्पणी पनि गरे।

    प्रचण्डले भने, ‘उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ? कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ?’

    भ्रममा परेर बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठलगायतका थुप्रै नेताहरू माओवादीमा फर्किन तयार रहेको बताए।

    प्रचण्डको यो अभिव्यक्तिबाट प्रचण्ड हुन्छ, तत्काल नेसपासँग एकता गर्नकै लागि माओवादी नाम फेर्न तयार छैनन्। माओवादीमा पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव केही नेताहरूले राखेको भए पनि चर्को मतभेद छ।

    यसअघि बाबुरामले नाम फेर्नुपर्ने अडान लिएपछि महेन्द्र पक्षलाई टुक्राएका प्रचण्डले अहिले श्रेष्ठ पक्षलाई पनि त्यसैगरी पार्टीमा भित्र्याउन खोज्दैछन् ।

  • बाबुरामबारे प्रचण्ड- दिमाग ठाउँमा हुनुपर्‍यो नि, त्यस्ता बुद्धि नभएको डाक्टरसँग केको एकता ?

    बाबुरामबारे प्रचण्ड- दिमाग ठाउँमा हुनुपर्‍यो नि, त्यस्ता बुद्धि नभएको डाक्टरसँग केको एकता ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसहयात्री समेत रहेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग एकता सम्भव नभएको बताएका छन् । रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भनेपनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि एकता सम्भव नभएको बताए ।

    उनले भने, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ?’

    उनले कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ? भन्दै प्रश्न गरे ।

    उनले थपे, ‘उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?’

    उनले बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठलगायतका थुप्रै भ्रममा परेर गएका सबै फर्किने तयारीमा रहेको बताए ।

    प्रचण्डले थपे, ‘यो एकता होइन त ? अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्‍यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ ।’

    उनले पार्टी एकताको लागि विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नुपर्ने भन्दै बाबुरामसँग एकता गरेर फेरि ठूलो भइहाल्ने पनि नभएको सुनाए ।

  • सशस्त्र युद्धको इपिसेन्टरमा माओवादी नेतृत्व (तस्बिरहरू)

    सशस्त्र युद्धको इपिसेन्टरमा माओवादी नेतृत्व (तस्बिरहरू)

    रूपन्देही । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ ।

    रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको त्यहाँस्थित प्रेस सेन्टरका नेता नरेन्द्र केसीले जानकारी दिए । उनका अनुसार स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए ।

    थवाङ माओवादी जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो । यस्तै रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ, जहाँबाट महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।

    यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले सम्बोधन गरिरहेका छन् ।

    अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको सचिव तथा प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवले जानकारी दिए ।

  • अमनलाल मोदीले एमालेबारे टिप्पणी गरेपछि लेखा समितिमा चर्काचर्की (भिडिओ)

    अमनलाल मोदीले एमालेबारे टिप्पणी गरेपछि लेखा समितिमा चर्काचर्की (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति सत्तारुढ दलकै सांसद भएको विषयमा प्रश्न उठाएपछि संसदीय समितिमा चर्काचर्की भएको छ ।

    प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा समितिलाई बुझाएको प्रतिवेदनमाथिको छलफलका क्रममा समितिको सभापतिको विषयमा प्रश्न उठाएपछि चर्काचर्की भएको हो ।

    माओवादी सांसद मोदीले प्रधानमन्त्री पनि एमालेकै र प्रमुख प्रतिपक्ष दलको सांसद सभापति हुनुपर्ने सार्वजनिक लेखा समितिको सभापति पनि सत्तारुढ दल एमालेकै भएकोमा आपत्ति जनाएपछि एमालेका सांसद प्रतिवादमा उत्रिएपछि चर्काचर्की भएको हो ।

    सांसद मोदीले भने, ‘म आरोप त लगाउन चाहान्न्, नेकपा (एमाले)का साथीहरुलाई आरोप लगाउनु पनि छैन मलाई । किनभने तपाइहरुको पार्टीको प्रधानमन्त्री पनि हुनुहुन्छ । सार्वजनिक लेखा समितिको सभापति तपाईंको पार्टीकै हुनुहुन्छ । अनि फरक मत पनि तपाईंहरु नै राख्नुहुन्छ वा पुरक प्रस्ताव पनि तपाईंहरु नै राख्नुहुन्छ ।’

    माओवादी सांसद मोदीले यति मात्रै के भनेका थिए, एमालेका सांसदले मोदी बोलिरहेकै बेला बोल्न थालिहाले । । मोदीले आफ्नो पालोमा आफूलाई बोल्न दिन आग्रह गरे । उनले भने, ‘सत्तापक्षको तपाईंहरु नै हुनुहन्छ । सभापति पनि तपाईंकै छन् ।’

    मोदी बोलिरहेकै बेला एमालेका सांसद गोकुल बास्कोटा, योगेश भट्टराई लगायतले बोल्न थाले । मोदीले ठुलो स्वरमा जोड दिँदै भने, ‘एमालेको प्रधानमन्त्री हुनुहुन्न र ? सत्तापक्षको सभापति हुनुहुन्न र ? त्यहि त कुरा गर्दैछु ।’ सत्तापक्षका प्रधानमन्त्री हुदाँ पनि सभापति पनि सत्तापक्षकै हुनुहन्छ । हामीले भन्यौ, यो समितिको सभापति प्रतिपक्ष हुनुपर्छ ।’

    सांसदका विचमा चर्काचर्की हुन थालेपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठकलाई सहजीकरण गर्दै भने सांसदलाई बोलेको विषयमा व्याख्या नगर्न आग्रह गरे ।

    त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि बोल्न थाले । एमालेका सांसद बास्कोटा र स्वतन्त्र सांसद सिंह झोक्किँदै बाझाबाझ गर्न थाले । त्यसपछि एमाले सांसद भट्टराईले पनि को हो तपाईं डेक्टेट गर्ने भन्दै सिंहलाई प्रश्न गरे । त्यसपछि माओवादी सांसद लेखनाथ दाहाल पनि बोल्न थाले ।

    सभापति पोखरेलले सहजीकरण गर्दै दलका प्रतिनिधिका रुपमा नभई समितिको सदस्यको रुपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
    त्यसपछि माओवादी सांसद मोदीले समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिुन पर्दैन त भन्दै प्रश्न गरे । त्यसपछि सभापति पोखरेले अमन मोदीको पालो भएकाले बोल्न आग्रह गरे ।

    सांसद मोदीले अमन मोदी नभएर अमनलाल मोदी भन्न आग्रह गरेपछि सभापति पोखरेलले पूर्वमन्त्री आदरणीय अमनलाल मोदी भन्दै बोल्न आग्रह गरे । मोदीले पूर्वमन्त्री भनिरहन जरुरी नरहेको बताए ।

  • बाबुरामको नेसपा रुकुपपूर्व पार्टी कमिटी माओवादीमा समाहित, प्रचण्डले गरे स्वागत

    बाबुरामको नेसपा रुकुपपूर्व पार्टी कमिटी माओवादीमा समाहित, प्रचण्डले गरे स्वागत

    रुकुमपूर्व । जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वमा बाबुराम भट्टराई नेतृत्व नेसपाको सिंगो पार्टी माओवादीमा समाहित भएको छ।

    सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा प्रचण्डले पार्टीमा भित्र्याएका हुन्।

    जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्वकेन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमालेनिकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भए।

    अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे। सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका काम को कारण आएको पार्टीप्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताए।

    विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरे। जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकताबारे धारणा राखे।

    अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको बताए।

  • भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

    भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।

    आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’

    नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

    दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुन: दोहोर्‍याएका छन् । आफूहरूले यो विषय पटक-पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

    उनले भने, ‘आजको विषयवस्तु प्रवेश गर्नु पहिले नै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुने अन्तर्राष्ट्रिय संसदीय अभ्यास र हाम्रै संसदीय अभ्यासलाई पनि विगत १० महिनादेखि अस्वीकार गरिराखिएको छ र यसमा गम्भिर आपत्ति छ ।’

    सार्वजनिक लेखा समिति सभापति अहिले सत्तारुढ एमालेका सांसद ऋषिकेष पोखरेल छन् ।

  • प्रचण्डले यसरी गरे कम्युनिष्ट किल्ला झुल्खेतकाे बयान, जहाँ जनार्दन शर्मासँग भएको थियो पहिलो भेट

    प्रचण्डले यसरी गरे कम्युनिष्ट किल्ला झुल्खेतकाे बयान, जहाँ जनार्दन शर्मासँग भएको थियो पहिलो भेट

    रुपन्देही । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपश्चिमबाट बिदाई हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मासँग पहिलो भेट भएको स्मरण गरेका छन् । उनले सम्झेको झुल्खेत क्षेत्रलाई अहिले माओवादीका नेता कार्यकर्ताले चर्चामा ल्याएका छन् ।

    ‘अध्यक्ष प्रचण्ड हिल गाउँमा भएको प्रशिक्षणको क्रममा झुल्खेत आउनुभएको रहेछ, जतिबेला उहाँ विश्वासको नामबाट स्थापित हुनुहुन्थ्यो । उहाँले आज बताएअनुसार नेता जनार्दन शर्मासँग पहिलो भेट यही भएको रहेछ’, प्रेस सेन्टरका नेता नरेन्द्र केसीले भने ।

    झुल्खेतका स्थानीय केसीका अनुसार २००९ सालमा प्रथम कम्युनिष्ट शहीद कामी बुढाले कम्युनिष्टको बीउ छरेको यो ठाउँ विसं २०४० को दशकमा रुकुमेली कम्युनिष्ट आन्दोलनको केन्द्र थियो।

    खासगरी खड्कबहादुर बुढा जिल्ला सेक्रेटरी रहँदा चुनखोला र साँखखोलाको दोभानमा रहेको झुल्खेत कम्युनिष्टको केन्द्रमात्र बनेन, योभन्दा पूर्वी क्षेत्रलाई पूरै कम्युनिष्ट बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको उनी बताउँछन् । फलस्वरूप जनयुद्धमा सदरमुकाम नजिकै भएर पनि आधार इलाकीय भूमिका निर्वाह गरेको र शान्तिपूर्ण चुनावी राजनीतिमा पनि निरन्तर योगदान गर्दै आएको उनको भनाइ छ ।

    सो क्षेत्रलाई कम्युनिष्ट केन्द्र बनाउन पार्टीका अग्रज नेताहरु खडकबहादुर बुढा, नन्दराम पुन, भीमबहादुर ओली, हिमबहादुर पाण्डे, गम्मरसिंह बोहरालगायत पुरानो पुस्ता तथा विभिन्न चरणमा आन्दोलनको नेतृत्व गर्ने नयाँ पुस्ताको ऐतिहासिक भूमिका रहेको केसीले जानकारी दिए ।

    बैतडीको पाटनबाट सुरु भएको अभियान आज लुम्बिनी प्रदेश प्रवेश गरेको हो । आज रोल्पाको थवाङमा जनसभा गरी यही बास बस्ने माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल बलदेवले जानकारी दिए ।

  • शहीद र बेपत्ताका आफन्तलाई प्रचण्डको आश्वासन- तपाईँहरूलाई बिर्सेको छैन, क्षतिपूर्ति उपलब्ध गराउँछौँ

    शहीद र बेपत्ताका आफन्तलाई प्रचण्डको आश्वासन- तपाईँहरूलाई बिर्सेको छैन, क्षतिपूर्ति उपलब्ध गराउँछौँ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्।

    जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्गसँगको भेटघाटमा माओवादी रकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको जानकारी गराए।

    उनले शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुनमै व्यवस्था गरिएको बताए। उनले शान्ति प्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी दिए।

    पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोही अनुसार ती समितिले काम गर्ने उनको भनाइ छ।
    सरकारमा रहँदा माओवादीले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरीब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको स्मरण गराए। आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रष्ट पारे।

    पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिँदै बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए।

    पार्टीले आत्मसमीक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेट्दै पिर मर्का बुझ्दै र सकेसम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए।

  • मुसिकोटमा प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार

    मुसिकोटमा प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार

    रुकुम पश्चिम । बैतडीको पाटनबाट सुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ।

    मध्यपहाडी क्षेत्रमा हाल वर्षा भइरहेको अवस्थामा प्रतिकुल मौसमका बीच अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व प्रवेश गरेको हो ।

    अभियानको क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

    टोलीलाई मुसिकोट नगरपालिका–७, साँखाबाट बिदाइ गरिएको थियो। कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अध्यक्ष प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार स्वरूप प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए ।

    स्थानीय संस्कृतिको प्रवर्द्धन र उत्पादनप्रति सम्मानस्वरूप दिइएको सो उपहारले अभियानको आत्मीयता र जनसङ्गठनबीचको सम्बन्ध झल्काउँछ ।

    अभियानको अन्तिम गन्तव्य सोलु (सोलुखुम्बु) मा पुगेर अभियानको समापन गरिनेछ। तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग तथा वर्गीय आधारमा पार्टीको सम्बन्ध सुदृढ गर्ने राजनीतिक जागरणको अभियानको रूपमा लिएको छ ।

  • प्रचण्डले भने- जनयुद्धमा बेपत्ता भएकालाई सहिद घोषणा गरी राज्यले क्षतिपूर्ति दिनुपर्छ

    प्रचण्डले भने- जनयुद्धमा बेपत्ता भएकालाई सहिद घोषणा गरी राज्यले क्षतिपूर्ति दिनुपर्छ

    रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ ।

    चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखे ।

    घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनु पर्ने माग गरिएको थियो ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए । पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिंदै सहिद घोषणामा केन्द्रबाट तल तलको आकडा मागिएको भए पनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए ।

    उनले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्नु हुँदै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए। बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने स्पष्ट धारणा राखे ।

    उनले भने, ‘हामी क्रान्ति पूरा गरेर हैन, सम्झौताबाट आएको अवस्था हो । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ । म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’

    अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।

  • ‘ओलीलाई मैले नै प्रधानमन्त्री बनाएको थिएँ, अब एमालेसँग एकता सम्भव छैन’

    ‘ओलीलाई मैले नै प्रधानमन्त्री बनाएको थिएँ, अब एमालेसँग एकता सम्भव छैन’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सुझाव र आलोचना गम्भीररूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् ।

    मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानका क्रममा जाजरकोटमा दाहालले कम्युनिष्ट एकताको सन्दर्भ उठेको भन्दै अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए ।

    उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ । तर, त्यो एकता किन टुट्यो ? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन । हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।’

    संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । संविधान कार्यान्वयनका लागि कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकमा पनि प्रचण्डको जोड छ ।

    यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको उनको भनाइ छ ।

    कार्यक्रममा वक्ता र स्थानीयले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेको, तर नलगाड जलविद्युत् आयोजना अघि नबढेको भन्दै प्राथमिकतामा राख्नुपर्ने माग राखेका थिए ।

    जवाफमा प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्वपूर्ण छन् । हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ ।’

    आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरू गरेको सम्झिँदै उनले त्योअनुसार काम हुन नसक्नु दुःखद भएको टिप्पणी गरे ।

  • लावालस्करसहित सिन्धुपाल्चोक पुगेका मोहनको गर्जन : मेरो दुवै पैतालामा रातो कोठी छ, जहाँ टेक्छु-सबै मेरै

    लावालस्करसहित सिन्धुपाल्चोक पुगेका मोहनको गर्जन : मेरो दुवै पैतालामा रातो कोठी छ, जहाँ टेक्छु-सबै मेरै

    सिन्धुपाल्चोक । भ्रष्टाचार मुद्दामा मुछिएपछि सांसदबाट निलम्बित कांग्रेस नेता मोहनबहादुर बस्नेत आज तामझामसहित सिन्धुपाल्चोक आए । मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका आएका हुन् ।

    गाउँपालिकाको चेतावनीविपरीत बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका छन् ।

    टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दामा मुछिएका बस्नेतलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत-जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए । उनले माओवादी, एमाले र ती दलका जिल्लाका नेताविरुद्ध आगो ओकलेका छन् ।

    झण्डै एक घण्टा बोलेका बस्नेतले आफूविरुद्ध अख्तियारले हालेको मुद्दाबारे भने केही बोलेनन् । अन्य वक्ताहरूले भने उनको बचाउमा बोलेका थिए ।

    उनले बढीजसो माओवादी र १ नम्बर क्षेत्रबाट निर्वाचित सांसद माधव सापकोटाको आलोचनामा बढी समय खर्चिए । बस्नेतले यो पटक सासंद सापकोटालाई ‘लाहुरे’ उपमा दिन भ्याए ।

    लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विज्ञप्ति लक्षित गर्दै बस्नेतले भने, ‘त्यो सुवोध भन्ने लाहुरेले विज्ञप्ति निकाल्न लगाएको होला ।’

    बस्नेतले माओवादी कार्यकर्ताहरूलाई गाली गर्दै भने ‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीका बो..हरूलाई म आफैँ अघि बढेर ठिक पार्छु’,

    बस्नेतले पृथ्वीनारायण शाहाको उदाहरण दिँदै भने, ‘मेरो दुवै पैतालामा रातो कोठी छ, म जहाँ-जहाँ टेक्छु, त्यो सबै मेरै हुन्छ र सिन्धुपाल्चोकमा पनि भएको छ ।’

    क्षेत्र नम्बर १ र कुनै स्थानीय तहमा अब माओवादीले नजित्ने बस्नेतको ठोकुवा छ ।

    ‘अहिले तीनवटामा अध्यक्षमात्रै जितेको छ । अर्को पटक माओवादी पत्तासाफ हुन्छ । सिन्धुपाल्चोकको नेता भनेकै ममात्रै हो, अरु सबै सकिए’, बस्नेत गर्जिए ।

  • ‘मेरो नेतृत्वको सरकार नढालेको भए भ्रष्टाचार केसमा बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैनथ्यौं’ (भिडिओ)

    ‘मेरो नेतृत्वको सरकार नढालेको भए भ्रष्टाचार केसमा बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैनथ्यौं’ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको प्रकरणमा आफू नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि नछोड्ने देखेपछि कांग्रेस र एमाले मिलेको दाबी गरेका छन् ।

    जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत जाजरकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार नढलेको भए केही दिनभित्रै कांग्रेस र एमालेका शीर्ष नेताहरू भ्रष्टाचार केसमा पक्राउ गर्ने तयारी रहेको सुनाए।

    उनले भने, ‘हामीले आरोप मात्रै लगाएका थिएनौं। हाम्रो सरकार नबदलेको भए केही दिनभित्र हामी नै गिरफ्तार हुन्थ्यौ, भ्रष्टाचारको केसमा, माओवादीले गर्नेवाला थियो भनेर कांग्रेस र एमालेकै नेताहरूले स्वीकारिसकेपछि हामीलाई किन षड्यन्त्र गरेर हटाइयो भन्ने तथ्य स्थापित भइसकेको छ। चोरको खुट्टा तान् भन्दाखेरि तानेर भ्रष्टाचारको आरोपबाट बच्न मात्रै यो सरकार बनेको हो भन्ने कुरा प्रस्ट रूपमा साबित भइसकेको छ।’

    अध्यक्ष प्रचण्डले सरकार बदल्नुको कारण कांग्रेस-एमालेको डर नै भएको बताए।

    उनले थपे, ‘माओवादी नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैन भन्ने लागेपछि नै डरले काम्दै तिनीहरूले यो षड्यन्त्र गरेको हो।’

    उनले अहिले आफूहरू विगतको कमीकमजोरी सच्याएर जनताको आएको भन्दै आफूहरूलाई अवसर दिन आग्रह गरे।

  • मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

    मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

    दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।

    उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।

    दैलेखमा मध्य पहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्य पहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गरे ।

    ‘मध्य पहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत् रहनु चिन्ताको विषय हो ।’

    उनले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएकोमा गौरव व्यक्त गरे ।

    ‘अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु ।’

    कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवर्द्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्य पहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

  • हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन: प्रचण्ड

    हाम्रो ध्यान सरकार ढलाउनेतिर छैन: प्रचण्ड

    दैलेख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकार ढलाउनेतिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए ।

    जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष प्रचण्डले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे ।

    यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ छ । ‘बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छु ।’

    तराई मधेश जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोकमार्ग यात्रा पनि सफल हुने बताए ।

    मधेश आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।

    मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको उनले बताए ।

    राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ कि भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए ।

    माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्‍याएको उनले जिकिर गरे । अध्यक्ष प्रचण्डले भने, ‘जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका र जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिन्छ । सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्‍याउने लक्ष्य लिएका छौं ।’

    मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने उनले बताए ।

    दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए ।

    पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष प्रचण्डले बताए ।

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान सुरु भएको हो । -रासस

  • अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण

    अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले अछाम पुगेका बेला जिल्ला सदरमुकाम मङ्गलसेन आक्रमणको घटना स्मरण गरेका छन् । जनमुक्ति सेनाका पूर्व कमान्डर समेत रहेका पूर्व उपराष्ट्रपति पुनले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान जनसंवाद कार्यक्रम’लाई अछामको सदरमुकाम मङ्गलसेनमा सम्बोधन गर्ने क्रममा उनले आफ्नै नेतृत्वमा २४ वर्ष अघि अछामको सदरमुकाम मङ्गलसेन आक्रमण घटनाको स्मरण गरेका हुन् ।

    २०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीको नेतृत्वमा तत्कालीन जनमुक्ति सेना नेपालको एकै पटक साँफेबगर र मङ्गलसेनमा आक्रमण हुँदा जिल्ला सदरमुकाम ध्वस्त हुनुका साथै अछाम दरबार र १२२ जनाको ज्यान गएको थियो ।

      मङ्गलसेन आक्रमणको भनाई जस्तोको त्यस्तै
    पार्टीको आदेश र निर्देशनलाई मान्दै मेरो कमान्ड र नेतृत्वमा अछामको सदरमुकाम मङ्गलसेन र जहाँ माथि टपमा नेपाली सेनाका दाजुभाइ बस्नुभएको थियो । यहाँ नजिकै डिएसपी कार्यालय थियो, जहाँ प्रहरी दाजभाई बस्नुभएको थियो र यहीँ दरबारमा सिडिओ बस्नुभएको थियो । प्रशासनीय कार्यालय नै यसै दरबारमा थियो । यहाँ नजिकै जिल्ला कारागार थियो, जहाँ हाम्रा क्रान्तिकारी योद्धा र जनसमुदायलाई त्यहाँ थुनिएको थियो ।

    मैले प्लान गरे कि, साँफेबगर सेनाको क्याम्प र डिएसपी तथा प्रशासन कार्यालयलाई एकै पटक आक्रमण गर्नुपर्छ । त्यसै कारण मैले यो भन्नैपर्छ, , अछामको रामारोशनका जनसमुदायसम्म पुगेर धेरै रात बसेर अध्ययन गर्नका लागि करिब एक हप्ता लगाए मैले ।

    करिब एक हप्ता रात दिन लगाएर मैले अध्ययन गरे । मैले अध्ययन गरिरहेको बारेमा जहाँ म बसे, त्यो गाउँका जनसमुदायलाई त थाहा थियो, तर यहाँको बजारका जनसमुदायलाई त्यो कुरा थाहा थिएन । मैले ७ दिन लगाएर रातदिन सर्वे गरेर, प्लानिङ गरेर यो तीनवटै ठाउँमा एकैचोटी २०५८ साल फागुन ४ गते रातको ठिक १ बजे मैले फायर खोलेको थिए र आक्रमण सुरु गरेको थिए ।

    पहिलो फायर नेपाली सेनाको क्याम्पमा खोलिएको थियो । सेनाको क्याम्प मैले १ घण्टा भित्र नियन्त्रणमा लिए । हाम्रा बहादुर जनमुक्ति सेनाले एक घण्टामै सेनाको क्याम्प नियन्त्रणमा लिनुभयो  र हामीले साँफेबगरमा रहेको सेनाको क्याम्प, जिल्ला सदरमुकाम मङ्गलसेनमा रहेको डिएसपी कार्यालय, दरबारमा रहेको सिडिओ कार्यालय र जिल्ला कारागार गरेर सबै करिब डेढ घण्टाभित्र नियन्त्रण लियौ । त्यसपछि यहाँका जनसमुदायलाई केही सन्देश दिनका लागि बिहानसम्म बस्यौ र जब उज्यालो भयो, त्यसपछि नारा जुलुससहित विजय र्‍याली गरेर यहाँबाट हिँड्यौ ।

     

  • ग्रामथान गाउँपालिकाका अध्यक्षद्धारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की

    ग्रामथान गाउँपालिकाका अध्यक्षद्धारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की

    विराटनगर । नेकपा माओवादीबाट उप निर्वाचनमा निर्वाचित भएका ग्रामथान गाउँपालिका मोरङका अध्यक्ष नमोनारायण माझीले वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई गाली गलौज र अप शब्द बोल्दै ज्यान मार्ने धम्की दिएका छन् । ग्रामथान गाउँपालिकामा वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडा माथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका छन् ।

    वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३० गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएका थिए । यस्तै ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडार बनी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा अध्यक्ष माझीले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमा लागी गलौज समेत गरेका थिए ।

    वडाध्यक्ष खतिवडा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष खतिवडाले पालिका अध्यक्ष माझीले आफू माथि गाली गलौज गरी ज्यान मार्ने धम्की दिएको बताए ।

    उनले भने, अध्यक्ष नमोनारायण माझी, गयालाल माझी लगायत ४/५ जना व्यक्तिहरू कार्यक्रम हलमा प्रवेश गरी अध्यक्ष स्वयम्ले मलाई मुद्दा लगाउने तथा लेखा शाखाको काम अवरुद्ध गर्ने लगायत गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार तपाई नै हो भनी आरोप लगाउँदै ठेगान लगाउने धम्की दिनु भयो ।

    यसै बिच नेकपा एमाले मोरङले घटनाको विरोध गरेको छ । एमाले मोरङले विज्ञप्ति निकाल्दै माझीलाई कारबाही हुनु पर्ने माग राखेको छ ।

  • प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्गको प्रस्ताव पनि मैले नै गरेको हुँ

    प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्गको प्रस्ताव पनि मैले नै गरेको हुँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको प्रस्ताव आफूले नै गरेको दाबी गरेका छन् ।

    ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का क्रममा डोटी पुगेका प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए ।

    उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ ।’

    उनले अहिले जनताको अधिकार खोसिने खतरा भएकाले मध्यपहाडी र तराई मधेश जागरण अभियान चलाएको सुनाए । सरकारमा हुँदा पनि सुशासनको लडाइँ लडेको प्रचण्डले दाबी गरे।

    दलालहरूका विरुद्ध सङ्घर्ष गरेको हुनाले नै आफू नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए ।

  • राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

    राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

    डोटी । राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ ।

    माओवादीको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेका छन् ।

    प्रेम विसीले जनसभामा आफ्नो धारणा राख्दै दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक रहेकाले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेको बताए ।

  • अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : नारायणकाजी श्रेष्ठ

    अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताएका छन् ।

    उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानका लागि तथा महङ्गो र भ्रष्टीकृत निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भनी पार्टीले भन्दै आएको स्पष्ट पारे ।

    गोरखाको जौबारीमा विसंं २०१६ मा जन्मिनुभएका उनले २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी विसं २०४७ मा एकता महाधिवेशनबाट नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य, विसं २०५१ मा सचिव, महासचिव हुँदै मसालको महामन्त्री हुनुभयो । २०६२/०६३ को जनआन्दोलनसँगै एकता केन्द्र–मसाल र नेकपा माओवादीको एकीकरणपछि उपाध्यक्षको जिम्मेवारी पाए ।

    श्रेष्ठ विसं २०६८ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, गृहमन्त्री तथा विसं २०७९ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सोही सालमै गृहमन्त्री बने । नेपालको बामपन्थी एकता अभियानमा निरन्तर लागेका श्रेष्ठले गृह मन्त्रालयको नेतृत्वमा रहँदा भ्रष्टाचार र सुशासनको पक्षमा चालेको कदमले उनलाई थप परिचित गरायो ।

    मुलुक संसदीय अभ्यास, राजनीतिक स्थिति, शान्ति सुव्यवस्था, परराष्ट्र नीति, पार्टीका अभियानलगायत समसामयिक विषयमा केन्द्रित रही उपाध्यक्ष श्रेष्ठसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले सांसदसँग रासस संवादका लागि लिएको अन्र्तवार्ताको सम्पादित अंशः

    पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

    एउटा जनप्रतिनिधि र राष्ट्रियसभा सदस्यका हिसाबले संसद्को भूमिकामै क्रियाशील छु । संसद्को बजेट अधिवेशन चलिरहेको छ । पार्टीले सङ्गठनात्मक सुदृढीकरण र शुद्धीकरणको अभियान अघि बढाइरहेको छ, अर्कातर्फ जनतासँगको सम्बन्ध सुदृढीकरणको अभियानमा समेत केन्द्रित भएको छु ।

    मुलुकको अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी हेरिरहनुभएको छ ?

    नेपालमा वास्तवमा हामीले नयाँ प्रकारको लोकतन्त्र स्थापित गरेका छौँ । यो परम्परागत संसदीय गणतन्त्र होइन । हामी कम्युनिष्टले भनेकोजस्तो नयाँ जनवादी क्रान्ति स्थापना गरेको पनि होइन । यो समाजवादोन्मुख, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले यसलाई परम्परागत संसदीय व्यवस्थामा कैद गर्न हुन्न ।

    यो लोकतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्न र जनतालाई प्रतिफल दिन सबैभन्दा पहिला प्रणाली र त्यसलाई संस्थागत गर्ने संविधान महत्त्वपूर्ण विषय हो । अनि त्यसको नेतृत्व गर्ने दल र नेताले लोकतान्त्रिक दृष्टिकोण र आचरण निर्माण गरेका छन् वा छैनन् भन्ने छ ।

    अहिले मुख्य चुनौती भनेको जसले लोकतन्त्रका लागि बलिदानीपूर्ण सङ्घर्ष र नेतृत्व गर्नुभयो, उहाँहरूले नै आफ्नो जीवन र आचरण लोकतान्त्रिक बनाउन नसकेको गुनासो जनताको छ । तीन तहको सरकार निर्माण र दुईवटा निर्वाचन गरी अहिले परिवर्तनलाई प्रणालीगत कार्यान्वयनका लागि अघि बढिरहेको अवस्था छ ।

    सामाजिक र आर्थिक रूपान्तरणमा पनि केही काम भएको छ । यो लोकतान्त्रिक परिवर्तनलाई जनता र देशहितमा अघि बढाउने सन्दर्भमा केही समस्या देखा परेको छ । त्यो मुख्यतः राजनीतिक नेतृत्व र पार्टीको लोकतान्त्रिक आचरणको संस्कृतिसँग सम्बन्धित छ ।

    पछिल्लो समय (माओवादी केन्द्र) जनतासँग जोडिने अभियानमा छ, त्यसमा जनताको गुनासा र सल्लाह कस्तो पाउनुभयो ?

    जनताका कुरा नजिकबाट सुनिरहेकै छौँ । पार्टीको अहिलेको अभियान तीन वटा लक्ष्यसहित अघि बढिरहेको छ । एउटा सङ्कल्प र प्रतिबद्धता भनेको सामन्तवादी निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक परिवर्तनमार्फत जनताको सामाजिक–आर्थिक रूपान्तरण गर्ने हो । हामीले क्रान्तिकारी उद्देश्य बिर्सिएका छैनौँ, विचलित छैनौँ, त्यसमा अहिले पनि दृढ छौँ भन्ने प्रतिबद्धता दिऔँ भन्ने हो । दोस्रो, नागरिकको जीवनस्तर उकास्न र विकासमा फड्को मार्न नसकेको कमजोरी पक्ष स्वीकार्दै त्यसलाई सच्याएर जान गरिएको प्रतिबद्धतालाई जनताले सकारात्मक मानेका छन् ।

    तेस्रो विषय भनेको, वर्तमान सरकार र त्यसमा संलग्न दलका क्रियाकलापले देशलाई थप सङ्कटको दिशातर्फ लगेको हाम्रो ठम्याइ छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पर्याप्त काम नगरेको देखिन्छ । यसका बिरूद्ध हामीले खबरदारी गर्ने र सच्चिन चेतावनी दिइरहेका छौँ । यसमा जनताको ठूलो साथ र समर्थन छ ।

    अभियानमा तपाईंहरूले जनता समक्ष के वाचा र प्रतिबद्धता गर्नुभएको छ ?

    यसबीचमा सामन्तीविरूद्धको अभियान चलाएर लोकतन्त्र स्थापना र उपलब्धिलाई संविधानमा संस्थापन गरियो । अहिले सामाजिक–आर्थिक रूपान्तरणका निम्ति नेपालको पहिलो पूर्वसर्त भनेको सुशासन र विधिको शासन नै हो । त्यसका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, कारबाही गर्ने र पारदर्शी कार्यशैली अपनाउनुपर्छ । सुशासनबिना सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धि अघि बढाउन सकिन्न । जनताले नयाँ जीवनको अनुभूति गर्न पाउन्नन् ।

    नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सरकारले ७५ वर्षयताकै ठूलो भ्रष्टाचारविरूद्ध र सामाजिक न्यायको कदमको सुरूआत गरेको थियो । जनताले स्वागत र समर्थन गरे तर हामी हठात सरकारबाट बाहिरिन पर्‍यो । अहिले हामीले जनतालाई अपिल गरिरहेका छौँ कि, तपाईंहरू देशमा साँच्चिकै परिवर्तन चाहनुहुन्छ भने बहुमतको सरकार बनाउने र देशको नेतृत्व गर्ने जिम्मेवारी हामीलाई दिनुपर्छ । त्यो अवसर प्राप्त गरेको खण्डमा नेपाललाई स्वतन्त्र, स्वाधीन, प्रजातान्त्रिक मात्र होइन, समृद्ध–नेपाल बनाएर छाडिन्छ ।

    त्यसका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, सूचना र सञ्चारसहित जनताका दैनिक आवश्यकता पूरा गर्छौं । नेपाली जनतालाई यही व्यवस्थाले जीवन नै फेरिदियो भन्ने अनुभूति दिलाउँछौँ । त्यसमा जनताको सकारात्मक प्रतिक्रिया प्राप्त छ । कार्यकर्तामा पनि उत्साह र जाँगर देखिएको छ । रूपान्तरण र पुनर्गठनको आवाज जुन गतिमा गर्नुपर्ने छ, त्यो फड्कोमा पुगिनसकेकाले अझै मेहनत गर्नुपर्नेछ ।

    नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परिवर्तनका संवाहक र मित्रशक्ति हुन् तर राष्ट्रिय एजेण्डामा समेत मतैक्य देखिन्न, किन ?

    हो, मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा हामी एउटा मोर्चामा उभियौँ । तर गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता हाम्रो एजेण्डा हो । हामीले यसलाई उपलब्धिका रूपमा स्थापित गरेका हौँ । उनीहरूले त्यस बेला यो आत्मसात गरेको एजेण्डा थिएन । जुनसुकै चरणमा भएपनि प्रमुुख शक्तिबीच मिलेर ल्याइएको परिवर्तनका माध्यमबाट सामाजिक, आर्थिक रूपान्तरण र समृद्धिमार्फत जनतालाई लोकतन्त्रको प्रतिफल दिन सहकार्य गर्नुपर्छ भन्ने सुझाव सही छ । तर उनीहरूले त्यो ढङ्गले आत्मसात् गरेका छैनन् । कांग्रेस र एमाले यथास्थितिवादको सिकार भए ।

    राजनीतिक दलको मुख्य कार्यभार लोकतान्त्रिक संविधानको रक्षा गर्दै सामाजिक आर्थिक रूपान्तरणसहित मुलुकलाई समृद्धिमा लैजाने हो । त्यो तदर्थवादी ढङ्गले मात्र हुन्न । प्रमुख शक्तिहरू राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा र सामाजिक आर्थिक रूपान्तरण पक्षमा मिलेर काम गर्न सक्दा राम्रो हुन्छ । यसअघिका सरकारले सुशासनको मुद्दालाई गम्भीरतापूर्वक पक्रेर व्यवहारमा लागू नगरेकाले समस्या पैदा भएको हो । यसको अर्थ हामी पनि शुद्ध हौँ भन्ने होइन, यसबीचमा सुशासन, सामाजिक र आर्थिक विकासको पक्षमा जुन दृढताका साथ काम गर्नुपर्नेमा कमीकमजोरी भयो ।

    भ्रष्टाचार धेरै छ, राज्य लुट्ने र ठग्ने प्रवृत्ति जबर्जस्ती छ । पुँजीपति दलाल, राजनीतिज्ञ र कर्मचारी मिलेर राज्यको दोहन र ठगी खाने काम भएको छ । यस्तो स्थितिले राष्ट्रिय पुँजीको निर्माण नै हुन सक्दैन । दलाल पुँजीवादलाई प्रहार र अन्त्य नगरी राष्ट्रिय पुँजी र उत्पादन वृद्धि हुँदैन । स्वतन्त्र आर्थिक अर्थतन्त्र बन्दैन । त्यो नभई देशले समृद्धिमा फड्को मार्न सक्दैन । यही विषयमा मुख्य मतभेद छ । दलाल पुँजीवादले उत्पादनमूलक अर्थतन्त्र हुनै दिँदैनन् । कमिसन र भ्रष्टाचारीले ठूलो पुँजी जम्मा गर्ने छन् । तर, त्यो सम्पत्ति उत्पादन र रोजगारमुखी उद्योगमा लगानी गर्दैनन् । त्यसबाट रोजगारीको सृजना हुँदैन । परिवारको आन्दानी बढ्दैन । क्रयशक्ति र उपभोग बढ्दैन । त्यसैकारण देश गरिबीको चक्रमा फसिरहेको छ । हामीले सुशासन प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पुँजीवादमाथि आक्रमण गरी राष्ट्रिय पुँजीको विकास गरौँ भनेका हौँ । उत्पादन र रोजगारीको सृजना गरौँ । स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्र बनाऔँ । यो मूलभूत मुद्दामा मिलेदेखि राम्रो हुन्छ भन्ने हाम्रो पनि भनाइ हो । तर, त्यसमा सहमति हुन सकेको छैन ।

    सशस्त्र क्रान्ति गरेर आएको भए पनि नेकपा (एमाले) र कांग्रेसभन्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टी खासै फरक छैन भन्ने सुनिन्छ, यो विचारमा तपाईंको भनाइ के छ ?

    पहिलो कुरा, हामीले जुन विचार र व्यवहारमा कांग्रेस र एमालेभन्दा फरक देखाउने गरी काम गर्न पथ्र्यो, त्यो हुन सकेन । हाम्रा पनि केही कमीकमजोरी रहे । हामीले पछिल्लो समय यथास्थितिमा पार्टीलाई राखेर देशको नेतृत्व गर्ने सम्भावना छैन भन्ने निष्कर्ष निकालेका छौँ । तुलनात्मक रूपमा अरूभन्दा माओवादी क्रान्तिकारी र रूपान्तरणकारी पार्टी हो । तर पनि यथास्थितिमा राखेर देशले माग गरेको नेतृत्वको माग पुरा हुन सक्दैन । सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्दैन । देश सङ्कटमा धकेलिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसकारण हामी पनि केही बिगे्रेका छौँ भनिरहेकै छौँ । तथापि, यसअघि हाम्रो नेतृत्वमा गठन भएको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही अघि बढाउने सन्दर्भमा ऐतिहासिक कामको सुरूआत गर्‍यो ।

    अर्को कुरा, सबै राजनीतिक दल उस्तैउस्तै हुन् भन्ने प्रचार जबर्जस्त बनाइएको छ । हामीले गुणात्मकरूपमा भिन्न देखाएमात्रै बुझ्ने भए जनताले । अलि भिन्न भएर मात्र नबुझ्ने भए । राजनीति फोहोरी खेल भएकाले माओवादी पनि उस्तै हो भन्ने प्रचार जबर्जस्त गरिएको छ । मैले गृह मन्त्रालय सम्हाल्नासाथ पहिलो दिनमै सुराकी खर्च खारेज गरिदिएँ । गरिब जनताका निम्ति मिटरब्याज पीडितविरूद्ध आयोग बनाइयो । अहिले त्यो समस्या केही हदसम्म हल भएको छ । जुनसुकै राजनीतिक नेता, कर्मचारी र धनाढ्य भए पनि अपराध कर्मका आधारमा कानूनको दायरामा आउने विषयलाई स्थापित गरियो । भुटानी शरणार्थी, ललिता निवास, बासबारी छालाजुत्ता कारखाना, सुनकाण्डका घटनामा संलग्न अपराधीलाई कारबाही अघि बढाउन सफल भइयो । देशका विभिन्न ठाउँमा हडपिएका सरकारी र सार्वजनिक जग्गा जफत गरिए । यो हिसाबले हामी अरूभन्दा भिन्न छौँ भनेका हौँ । तर जनताको चाहनाअनुरूप गुणात्मक भिन्नता हुनुपर्ने थियो त्यो भने गर्न नसकेकै हो । त्यसैले रूपान्तरण र पुनःगठनको अभियान सञ्चालन गरेका छौँ ।

    मुलुकले तीन तहसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ, तीन तहका सकारबीच समन्वय र सहकार्य कस्तो पाउनुभएको छ ?

    सङ्घीय व्यवस्था आफैँमा एकात्मक राज्यव्यवस्था जस्तो सरल होइन, सङ्घीय संरचनाको लामो अभ्यास गरेका मुलुकहरूमा पनि अलिअलि विरोध र समस्या हुन्छ । यही बीचबाट अगाडि बढ्छ । समस्या र जटिलतामा बहस गर्दै आगाडि बढ्ने प्रक्रिया हो । नेपालमा भर्खरै सङ्घीयता लागू गरेका छौँ । यसलाई व्यवहारमा लैजान अझै मेहनत गर्नुपर्नेछ ।

    अर्को कुरा, जो सङ्घीयताको निम्ति लडेका थिए, तिनैमा पनि एकात्मक केन्द्रवादी सोच छ । उनीहरू भाषण मात्र सङ्घीयता चाहिन्छ भन्छन् । तर अधिकार सकेसम्म केन्द्रमै राख्न पाए हुन्थ्यो भन्छन् । उदाहरणका लागि, हरेक दलले प्रदेशको निम्ति केन्द्रबाटै निर्णय गरेका छन् । एकात्मक र केन्द्रकृत सोच कतिपय राजनीतिक नेतृत्वमा छ ।

    त्यस्तै, एउटा प्रवृत्ति प्रष्ट सङ्घीयता विरोधी छ । अर्को प्रवृत्ति सङ्घीयताको पक्षमा छ तर पहिला केन्द्रले बाँडेको पैसा अहिले प्रदेशले पाउनुपर्छ भन्ने सोच राख्छ । तीन तहको सरकारमा देखिएको भ्रष्टाचार र बेथितिको संस्कृति वडासम्म जाने भयो । पैसा बाँडेर मात्र देश चल्दैन, मुलुक बन्दैन । सङ्घीयता भनेको विकेन्द्रीकरण होइन, संविधानले प्रदेश र स्थानीय तहका सम्बन्धमा राज्यशक्तिको बाँडफाडबारे स्पष्टरूपमा भनेको छ । सङ्घीयतालाई सबल बनाउने सन्दर्भमा सङ्घीय सरकारको पनि थ्रुपै कमीकमजोरी छन् । तर प्रदेशमा पनि स्वायत्तता लागू गर्ने र सृजनात्मक ढङ्गले चलाउने भन्ने स्पष्ट सोच देखिन्न । सङ्घीयताका निम्ति आवश्यक कानूनी प्रबन्ध गर्नुपर्ने छ । अहिले स्थानीय सरकार सङ्घीयताकै विरोध गर्ने पक्षले पनि हटाउन सक्दैन । विगतमा विकास तथा भौतिक पूर्वाधार निर्माणका लागि एक लाख प्राप्त गर्न माननीयको ढोका चहार्नु पथ्र्यो, अहिले एक करोड बजेट वडामा पुगेको छ । गाउँपालिकामा ५० औँ करोड पुगेको छ । पूर्वाधार निर्माण र बजेट आवश्यकताका आधारमा प्राथमिकता तोकेर खर्च गर्नुपर्छ, कार्यान्वयन गरिनुपर्छ । सङ्घीयता जनताले प्रत्यक्ष रूपमा सरकारको अनुभूति गर्ने अलि जटिलै प्रणाली भएकाले मजबुद बनाउँदै जानुपर्छ ।

    वर्तमान संविधान जारी भएको दश वर्ष भयो, संशोधनको चर्चा छ, यसलाई कसरी हेर्नुभएको छ ?

    संविधानको संशोधनको कुरा उठ्नु आम रूपमा नकारात्मक कुरा होइन । किनभने संवैधानिक र शान्तिपूर्ण बाटोबाटै संशोधन गर्न सकिन्छ भनी संविधानले नै सुनिश्चित गरेको छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनतामा निहीत सार्वभौमसत्ता बाहेक अरू कुनै पनि विषयलाई अपरिवर्तनीय भनिँदैन । तर सरकार गठन भएकै दिन किन संशोधनको विषय अगाडि ल्यायो भन्ने मूल प्रश्न छ । यो हामीलाई सकारात्मक लागेको छैन । पहिलो र दोस्रो ठूला पार्टी मिलेर सरकार बनाउन नै पनि सामान्यतया संसदीय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । उहाँहरूको संविधान संशोधन समानुपातिक निर्वाचन प्रणालीको खारेजीसँग सम्बन्धित छ । यो गरिए जनताले सङ्घर्ष गरी ल्याएको मुख्य उपलब्धि समावेशी र समानुपातिक प्रणाली गुम्न जान्छ भन्ने हाम्रो चिन्ता हो । हामीले साँच्चै इमान्दारीपूर्वक संशोधन गर्नुपर्ने हो भने गरौँ भनिरहेकै छौँ । त्यसक्रममा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख शासकीय स्वरूपमा रहने गरी जाऔँ भनेका छौँ । त्यो राजनीतिक स्थिरताको लागि पनि हो ।

    अर्कोतर्फ पूर्ण समानुपातिक चुनाव प्रणालीमा जाऔँ र महङ्गो र भ्रष्टीकृत चुनाव प्रणालीलाई परिवर्तन गरौँ भनेकै छौँ । सांसदलाई कानुन बनाउने जिम्मा दिऊ, विज्ञलाई मन्त्री बनाउने प्रक्रिया अघि बढाऔँ । तर एमाले र कांग्रेस संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएका छैनन् । संविधानको सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ ।

    प्रदेश सरकार खर्चिलो भयो, सांसद र मन्त्रिपरिषद्का सदस्य सङ्ख्या घटाउनुपर्छ कि भन्ने पाटोबाट उठेका प्रश्नमा तपाईंको भनाइ के छ ?

    हो, प्रदेश सांसद र मन्त्रालयको सङ्ख्या घटाउनै पर्छ । देशको समग्र समस्या समाधान गर्दै सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्न सुशासन र संरचनागत ठूलो परिवर्तन गर्नुपर्छ भनेका छौँ । यो सँगसँगै मितव्ययिता पनि चाहिन्छ । मितव्ययिताको कुरा गरिरहँदा यति धेरै प्रदेश सदस्यको सङ्ख्या किन चाहियो रु मन्त्री र सदस्य घटाउनै पर्छ । कतिपय सरकारी आयोग वा निकाय काम नभए पनि चलिरहेका छन् । तिनलाई खारेज गर्नुपर्छ । अहिले मुलुकमा सुशासन, संरचनागत ठूलो परिवर्तन र मितव्ययिता जरूरी छ । त्यसपछि मात्रै आमूल परिवर्तनसहित अघि बढ्न सकिन्छ । नत्र भने तदर्थवाद हावी भइरहन्छ । केही परिसूचकले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखाएको छ भने पनि परिवारको आम्दानी, उपभोग क्षमता, माग बढ्नुपर्‍यो । कलकारखाना चल्नुपर्‍यो, थपिनुपर्‍यो, रोजगारी बढ्नुपर्‍यो तब न अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने अहिलेको आवश्यकता हो । त्यसका निम्ति सुशासन र संरचनागत ठूलो परिवर्तनसहित मितव्ययिता अनिवार्य शर्त हो ।

    तपाईं पूर्वपरराष्ट्रमन्त्री पनि हुनुहुन्छ, नेपालको अन्तरराष्ट्रिय कूटनीति र छिमेकीसँगको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

    पहिलो कुरा, आजको विश्वमा कुनै पनि देश पूर्ण परोपकारी हुँदैन । शुद्ध मनले सबैको कल्याण गरौँ भनेर कुनै पनि देशले भन्दैन । हरेक देशले आफ्नो स्वार्थलाई केन्द्रमा राखेकै हुन्छन् ।

    दोस्रो कुरा, अहिलेको विश्व परिस्थिति बुझ्नुपर्छ । एसिया केन्द्रित हुँदै आएको बदलिएको विश्व परिस्थिति र हाम्रो भूराजनीतिक अवस्थाले हामीलाई दुवै चिज दिएको छ । एउटा चुनौती अर्को अवसर । हामी एउटा संवेदशील भूराजनीतिक अवस्थामा छौँ । राष्ट्रिय सावैभौमिकताको रक्षा गर्दै राष्ट्रहितलाई प्रवर्द्धन गर्न गम्भीर चुनौती छ ।

    अर्कातिर यति सम्भावना पनि छ कि यसलाई हामीले अवसरको रूपमा सदुपयोग गर्न सकियो भने हाम्रो राष्ट्रिय सार्वभौमिकता पनि सुदृढ गर्न सहयोगी हुन्छ । हाम्रो सामाजिक, आर्थिक रूपान्तरण, विकास र प्रगतिमा पनि सहयोगी हुन सक्छ । हामीमा दृष्टिकोणमा अझै पनि प्रष्टता, प्रष्ट देशभक्तिपूर्ण अडान र कूटनीतिक दक्षताको कमी छ । त्यसले हामीले आफ्नो देशभक्तिपूर्ण अडान र हितको प्रतिनिधित्व ठीक ढङ्गले गर्न सकिरहेका छैनौँ । हाम्रो राष्ट्रिय सावैभौमिकताको पक्षमा कुरा उठाउँदा अरू देशले के भन्लान् भनि डराउनु पर्दैन । अरू देशको विरोध गरेर आफ्नो राजनीतिक स्वार्थसिद्धि गर्ने काम गर्न भएन । हामीले दुईवटै छिमेकी ९भारत र चीन० सँग मैत्रीपूर्ण असल सम्बन्ध राख्नुपर्छ, समनिकटताको आधारमा । एउटाका विरूद्धमा र अर्काको पक्षमा हामीले सोच्न हुँदैन । त्यो घातक हुन्छ । दुवै छिमेकीसँग सम्बन्ध राख्ने कुरा आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्छ । त्यसका लागि वार्ता र कूटनीतिको माध्यमबाट समस्या समाधान गर्ने, सकारात्मक पक्षलाई बलियो बनाउने, सम्बन्धलाई अझै उचाइमा लैजाने प्रयत्न गर्नुपर्छ । त्यो सम्भव छ । आफ्नो राजनीतिक स्वार्थका निम्ति विदेशिले होइन, नेपालकै राजनीतिक नेताले नै वातावरण बनाइदिनुपर्‍यो भनि आफैँ हस्तक्षेप आमन्त्रण गर्दै आएकामा सच्याउनपर्छ । अर्कालाई मात्रै भनेर हुन्छ रु आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रविन्दुमा राखेर छिमेकीसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्छ । त्यसो गर्न सकिन्छ । राष्ट्रिय सावैभौमिकता र हितमा कुरा गर्दा हिनताबोध लिनु पर्दैन । हामीले स्वाभीमानका साथ कुरा गर्न सक्नुपर्छ । आफ्नो पक्षमा वातावरण बनाउनुपर्छ ।

    नेपालको आन्तरिक मामिलामा वैदेशिक चासो बढेको छ भनिन्छ, यो विषयलाई तपाईंले कसरी हेर्नुभएको छ ?

    एसिया केन्द्रित हुँदै आएको विश्व परिस्थितिमा हामी संवेदनशील ठाउँमा छौँ । अरू सबैले रणनीतिक स्वार्थको कोणबाट पनि हेर्ने स्थिति बनेको छ । त्यसले गर्दा हामीले विश्वासको वातावरण बनाउन सक्नुपर्छ । त्यो वातावरण बनाउन नसक्दा चासोभन्दा बढी भूमिकाको अवस्था पनि व्यहोर्नुपर्ने स्थिति हुन सक्छ । हामी त्यसबाट सचेत हुनुपर्छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक खण्डता र स्वाधीनताको विरूद्ध नजाने हदसम्म जायज चासो र सरोकार सम्बोधन गर्न तयार हुनुपर्छ । होइन भने, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र राष्ट्रिय स्वाधीनता र हितलाई कमजोर बनाउने काम गर्न दिनु हुँदैन ।

    माओवादी शान्ति प्रक्रियामा आएसँगै यो पार्टी पटकपटक सरकारमा गएको छ, तपाईं आफू पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री बनिसक्नुभएको छ, यो सत्ता वा सरकार भनेको के रहेछ ?

    सरकारको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ । सरकारमा जानका लागि जाने होइन । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री हुन सरकारमा जाने होइन । देश र जनताको निम्ति काम गर्ने प्रष्ट भएर सरकारमा जानुपर्छ । हामी पछिल्लो पटक सरकारमा रहँदा सरकारलाई कसरी टिकाउने होला भन्ने कुरामा ध्यानै दिइएन । जुन बेलासम्म देश र जनताको पक्षमा काम गर्न सकिन्छ, त्यतिन्जेलसम्म गर्ने भन्ने थियो । त्यसकारण पनि हामी सफल भएको भन्ने लाग्छ । यो नै क्रान्तिकारीको नीति हो भन्ने निष्कर्ष थियो ।

    हामीले सरकारमा रहँदा गुणात्मक हस्तक्षेपकारी भूमिका निभाएकै हो । अहिले पनि वर्तमान सरकारलाई भत्काउने खेलमा छैनौँ । सरकारमा जाने सोच छैन । यथास्थितिमा सरकारमा गएर समस्या थप थपिन्छ । गुणात्मक काम गर्ने अवसर प्राप्त भएमा मात्र स्वाभाविक रूपमा सरकारमा जाने कुरा आउँछ । तर झण्डा हल्लाउन मात्रै सरकारमा जाने भनेको जनताले हामीप्रति देखाएको सकारात्मक भाव र कार्यकर्ताको उत्साहमा जाडो मौसममा चिसो पानी खनाएजस्तै हो ।

    तपाई कम्युनिष्ट पार्टी एकता अभियानका अभियन्ता हुनुहुन्छ, वामपन्थी एकता प्रक्रिया कहाँ पुगेको छ ?

    सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबीचको एकता हुनुपर्छ भन्नेमा प्रष्ट छु । नेकपा ९एमाले० सहितको एकताको कुरा गर्ने हो भने तत्कालै व्यवहारिक रूपमा सम्भव हुनेजस्तो देखिएको छैन । त्यसको मतलब अब रणनीतिकरूपमै नेपालका बामपन्थी मिल्दैनन् भन्ने पनि होइन । मिल्न हुँदैन भनि एकलकाँटे ढङ्गले सोच्ने कुरालाई कहिले पनि हुन दिनुहुँदैन । एमालेबाहेक अरू क्रान्तिकारी पार्टीसँगको एकताबारे छलफल भइरहेको छ । तर अहिले नै निष्कर्षमा पुग्न सकेका छैनौँ । समाजावदी मोर्चामा रहेका सबै शक्तिलाई एउटै पार्टीमा आबद्ध गर्ने गरी हामीले छलफल गरिरहेका छौँ । यदि एमाले सच्चिएर बामपन्थी बीचको एकताको कुरा गरेको खण्डमा हुन्न वा एकता गर्न हुँदैन भन्ने हुँदैन । तर अहिले नै तत्काल हुने सम्भावना देखेको छैन ।

    तपाई सदस्य रहनुभएको राष्ट्रियसभाको अहिलेको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ? कसरी हेर्नुभएको छ ?

    राष्ट्रियसभाको सवालमा संविधान संशोधन गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण छ । राष्ट्रियसभा नभए पनि विधेयकको कानुन बन्ने व्यवस्थाको अन्त्य गर्नुपर्छ । अहिले एउटा अर्थ विधेयकलाई छोडेर अरू विधेयक राष्ट्रियसभाले पारित नगरे पनि हुने व्यवस्थाले सभाको ओजलाई कमजोर बनाएको छ । राष्ट्रियसभा परिपक्व र स्थिर सदन हो । त्यहाँ पार्टीले त्यस्तै खालका व्यक्ति पठाउनुपर्छ भन्ने हो । सभालाई अझै प्रभावकारी बनाउन सबै दलहरूले आफ्नो भूमिकालाई सक्रिय बनाउन जरूरी छ ।

    युवाको विदेश पलायन बढ्दै गएको छ, जसबाट राज्यप्रतिको विश्वास कमजोर भएको हो कि जस्तो देखिन्छ ? यसबारेमा भनाइ के छ ?

    अहिले राष्ट्रको प्रमुख राष्ट्रिय आवश्यकता भनेको सामाजिक, आर्थिक, रूपान्तरण, विकास र समृद्धि हो । हामीले ऐतिहासिक र युगान्तकारी परिवर्तन गरेका छौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । तर सामाजिक आर्थिक रूपान्तरण अहिलेको व्यवस्थाले निर्देशन गरेजस्तो र जनताले चाहेकोजस्तो भएन । आज पनि झण्डै ३० लाख नेपाली श्रमिक युवा आफ्ना बालबच्चालाई पाल्न, घर चलाउनका लागि खाडी मुलुक र मलेसियामा श्रम–पसिना चुहाइरहेका छन् । ती युवालाई आफ्नै मातृभूमिमा बसेर रोजगारीको व्यवस्था गर्न सकेनौँ भने हामीले गरेको औचित्य पुष्टि हुँदैन । अहिलेको मुख्य समस्या सुशासनको अभाव हो ।

    अन्त्यमा, आमजनतालाई तपाईको सन्देश के छ ?

    नेपाल धेरै सम्भावना र गर्व गर्न लायक देश हो । विश्वमै औँलामा गन्न सकिने सुन्दर देशको सूचीमा नेपाल अग्रस्थानमा छ । नेपालमा आएको एउटा पर्यटनको इच्छा, अर्को पटक पनि जान पाए हुन्थ्यो भन्ने हुन्छ । नेपालको आफ्नै अन्तराष्ट्रिय पहिचान छ । यो सगरमाथा, बुद्ध र वीर गोर्खालीको देश हो । कृषि, जलस्रोत, पर्यटनको सम्भावना भएको देश हो । कुनै–कुनै देशमा एक गेडा अन्न उत्पादन हुन्न । तर हामीले राम्रो मेहनत गरियो भने खाद्यान्न निर्यात गर्न सक्छौँ । कुनै देशमा खानेपानी पनि अन्य देशबाट ल्याउनुपर्छ । तर हामीकहाँ पर्याप्त छ । त्यसकारण यो देश बनाउन सकिन्छ । हामी सबै मिलेर बनाउनुपर्छ ।

  • नारायणकाजी भन्छन्- ०८४ मा माओवादीलाई बहुमत दिनुस्, देशमा कायापलट गर्दिन्छौँ

    नारायणकाजी भन्छन्- ०८४ मा माओवादीलाई बहुमत दिनुस्, देशमा कायापलट गर्दिन्छौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा बस्नेहरूले नै देश लुटेको आरोप लगाएका छन् ।

    जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जागरण अभियानको आज बैतडीको पाटनबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै भ्रष्टाचारको अन्त्य नगरेसम्म देशमा विकास र समृद्धिले फड्को मार्न नसक्ने बताए ।

    उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरेको बताए ।

    उनले भने, ‘हामीले ठूल्ठूला दलाल पुँजीवादका विरुद्ध कारवाही गर्‍यौँ । ००७ सालयता कुनै सरकारले गर्न नसकेका सुशासनका र भ्रष्टाचारविरोधी अभियानहरू चाल्यौँ । त्यसै कारणले जनतामा आशा पैदा हुन थाल्यो । अर्कोतिर भ्रष्टाचारी र तीनका रक्षकहरूलाई हाम्रो सरकार सह्यै नभएर ढालियो र अहिलेको सरकार गठन गरियो ।’

    उनले ओली नेतृत्वको सरकारलाई भ्रष्ट, अलोकतान्त्रिक र निरङ्कुश सरकार भएको आरोप लगाए । उनले अंकगणितको बलमा आफूहरूलाई सरकारबाट हटाएपनि सुशासनको अभियान नछाड्ने बताए ।

    माओवादीको नेतृत्वमा संवैधानिकरूपमा बहुमतको सरकार बनाउन सके देशको कायापलट गर्नसक्ने श्रेष्ठले जिकिर गरे । हिजोको गल्ती कमजोरीलाई सच्याएर अहिले जनताको साथमा आएको भन्दै ०८४ मा एकल बहुमत दिन आग्रह गरे । आवश्यक परे ठूलो संघर्षको नेतृत्व गर्न पनि माओवादी तयार रहेको बताए ।

  • देउवा फकाउँदै माओवादी- प्रचण्डले डडेलधुराबाट फोन गरे, जनार्दनले घरमै गएर भेटे

    देउवा फकाउँदै माओवादी- प्रचण्डले डडेलधुराबाट फोन गरे, जनार्दनले घरमै गएर भेटे

    काठमाडौं । कांग्रेस-एमाले गठबन्धन टुटाउने ‘कसरत’ स्वरूप माओवादी केन्द्र कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन केन्द्रित छ ।

    एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति कांग्रेसका केही नेता असन्तुष्ट सुनिरहँदा माओवादी देउवालाई फकाउन लागेको हो । देउवा भने तत्काल गठबन्धन फेर्ने मूडमा देखिँदैनन् ।

    माओवादीका अध्यक्ष प्रचण्डले यसअघि नै देउवा प्रधानमन्त्री बने सरकार बाहिरै बसेर भएपनि समर्थन गर्न तयार रहेको सन्देश बूढानीलकण्ठ पुर्‍याएका छन् । पार्टीभित्र र भूराजनीतिक रूपमा चर्को दबाब भएपनि देउवा अझै पर्ख र हेरको रणनीतिमा छन् ।

    मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले आज बिहान देउवालाई फोन गरेका थिए ।

    देउवासँग फोनवार्ताबारे प्रचण्डले पत्रकारहरूसँग भनेका थिए, ‘म यहाँ बस्दै गर्दा देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत छ भन्नुभयो ।’

    उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । प्रचण्डको फोनलगत्तै माओवादीका उपमहासचिव जनार्दन शर्मा देउवाको निवासमै पुगेका छन् । देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाइ छ ।

    यसअघि पनि देउवा थाइल्याण्डबाट फर्केलगत्तै सरकार फेरिने चर्चा चलेपनि केही साम्य भएको छ । कांग्रेस-एमालेकै नेताहरूले तत्काल गठबन्धन नभत्किने र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताउँदै बएका छन् ।

    विगतमा पाँच दलीय गठबन्धन हुँदा पनि कांग्रेस नेताहरूसँग शर्माको राम्रो सम्बन्ध थियो । पाँच दलीय गठबन्धन भत्काएर एमालेसँग सहकार्य अघि बढाउन अर्का उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका थिए । तर, अहिले कांग्रेसभित्र असन्तुष्टि चर्कोरहेको बेलामा शर्मा फेरि बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

  • गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप (भिडिओ)

    गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप (भिडिओ)

    बैतडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

    जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने पद भए पनि सरकार चलखेलमा लागेको दाबी गरे ।

    पार्टीले चलाइरहेको अभियान सरकारले भ्रष्टाचारीको संरक्षणमा लागेको सरकारको विरुद्ध भएको पनि बताए ।

    उनले भने, ‘हामीले ठूलो चुनौती सरकारलाई दिइरहेका छौं । पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो । त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो । अहिले पनि यो सरकारले धेरै भ्रष्टाचारको संरक्षण मात्रै होइन, भ्रष्टाचार पनि गर्दैछ । त्यसको उदाहरण हो भूमिसम्बन्धी ऐन । गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो । अहिलेसम्म नियुक्ति गर्नको सकेको छैन । त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् ।’

    उनले यो सरकार राष्ट्र र जनताको हितविपरीत गइरहेको दाबी गरे ।

  • मध्यपहाडी यात्राको संयोग- ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

    मध्यपहाडी यात्राको संयोग- ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन्।

    प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए। उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए।

    उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो। डडेलधुरामा स्वागत भन्नुभएको छ।’

    उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन्। उनले कांग्रेसका पुराना नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको सुनाए।

    यसअघि १५ म‌ंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष  एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले  कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका थिए । 

    मेची-महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवाकै गृहजिल्ला पुगेर फाेनमा  कुराकानी गरेका थिए ।

  • सदनमा माओवादीले अर्थमन्त्री खोजेपछि प्रतिनिधि सभाको बैठक स्थगित (भिडिओ)

    सदनमा माओवादीले अर्थमन्त्री खोजेपछि प्रतिनिधि सभाको बैठक स्थगित (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आपत्ति प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित नभएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए ।

    पाण्डेको आपत्तिपछि सभामुखले अर्थमन्त्री आफू सगरमाथा संवादमा रहेको र आफू आउन ढिला हुने भन्दै बैठक चलाउँदै गर्न भनेको बताए। तर, उनले पाण्डेले सभामुखको कुरा सुनेनन् ।

    आफ्नो अडान नछाडेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरे।

  • केपीजीबाट नराम्रोसँग धोका खाएँ, ०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड

    केपीजीबाट नराम्रोसँग धोका खाएँ, ०८४ को चुनावअघि वामपन्थी एकता हुँदैन: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनावसम्म वामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

    प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गरे।

    उनले भने, हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र ०८४ को चुनावसम्म त्यो सम्भावना छैन।

    उनले अहिले आफूँहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। उनले थपे, ‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ। सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौँ।’
    उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गर्दै उल्टो बाटोमा हिँडेको आरोप लगाए।

    उनले थपे, हामी चिन्तित छौँ। खबरदारी गरिरहेका छौँ। अहिले नै सरकार ढाल्ने खेलमा छैनौँ। घटनाक्रम जसरी अघि बढेको छ। राम्रो छैन।
    सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे।

  • ओलीले प्रचण्डसँग फोटो खिच्दैमा गठबन्धनमा कुनै असर पर्दैन : गृहमन्त्री लेखक

    ओलीले प्रचण्डसँग फोटो खिच्दैमा गठबन्धनमा कुनै असर पर्दैन : गृहमन्त्री लेखक

    विराटनगर । गृहमन्त्री रमेश लेखकले गठबन्धनका बीचमा कुनै खटपट नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटेर फोटो खिच्दैमा गठबन्धनका कुनै असर नपर्ने बताए ।

    उनले गर्भनर नियुक्तीका विषयमा पनि कुनै समस्या नभएको बताए । विराटनगरमा सुरक्षा वैठकमा सहभागि हुन आएका गृहमन्त्री लेखकले भने, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ ।’

    लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । उनले भने, ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा जगाइरहेको छ । उनले राजावादी गतिविधिबारे कडा चेतावनी दिए ।

    ‘उनले संविधान र वर्तमान व्यवस्था विरुद्धका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे । उनले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्था स्थापित गर्न दिएको त्याग र बलिदान गरेकाले यो व्यवस्था परिवर्तन नहुने बताए । उनले भने, ‘धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौ’, उनले भने अब देश फेरि निरंकुशतातिर लान लागि जनताले पनि चाहादैन्न ।’

    गृहमन्त्रीले आजै विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गरेका हुन् ।

    विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाइएको बताए ।

    उनले संघीय सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको जानकारी दिए । उनका अनुसार चाँडै नै शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको कार्यान्वयनलाई अघि बढाउने तयारी भइरहेको छ ।

    कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताए ।

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संवैधानिक र कानूनीरूपमा अघि बढीरहेको बताए । तर कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको समेत मुख्यमन्त्री कार्कीले बताए ।

     

  • धरान पुगेर हर्क साम्पाङलाई प्रचण्डको अनुरोध- उट्पट्याङ कुरा नगर्नुस्, अब सँगै हिँड्न पर्छ

    धरान पुगेर हर्क साम्पाङलाई प्रचण्डको अनुरोध- उट्पट्याङ कुरा नगर्नुस्, अब सँगै हिँड्न पर्छ

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न अनुरोध गरेका छन् ।

    माओवादीको भातृ सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न आग्रह गरे ।

    उनले भने, ‘मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ । ’

    उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए ।

    उनले भने, ‘हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।’

    अध्यक्ष प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए । उनले भने, ‘पहिचानका लागि हिजो सँगै लडेको थियो । पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’

    उनले संविधान संशोधन आवश्यक रहेको बताए । उनले मजदुर किसान र उत्पीडित समुदायको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

    उनले भने, ‘मुलुकमा रहेको भ्रष्टाचारको मुहान थुन्न शासकीय संरचना फेर्न आवश्यक छ । अहिलेको चुनावी प्रणालीले देशमा भ्रष्टाचारको अन्तय हुन सक्दैन ।’

    अध्यक्ष प्रचण्डले जनताद्धरा निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए । उनले संविधान सभामा भिन्न मत राखेर आएकाले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए ।

  • सुदूरपश्चिमका चार सांसदसँग प्रचण्डको ‘टी मिटिङ’, डडेल्धुरामा १ गते निर्णायक छलफल

    सुदूरपश्चिमका चार सांसदसँग प्रचण्डको ‘टी मिटिङ’, डडेल्धुरामा १ गते निर्णायक छलफल

    कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका चार सांसदसँग सुदूरपश्चिम प्रदेश संसदीय दलको समस्या बारे छलफल गरेका छन् ।

    माओवादी सांसद खगराज भट्ट, रमेश धामी, झपट साउद र शिव सिंह ओलीसँग प्रचण्डले प्रदेशको समस्या बारे छलफल गरेका हुन्। प्रचण्डले २ पटकसम्म पठाएको सर्कुलर कार्यान्वयन नभएपछि उनी रुष्ट छन् ।

    आज बिहान करिब ७: ३० बजेदेखि भएको छलफलमा तत्काल निर्देशन कार्यान्वयन हुने बताएका थिए । निर्देशन कार्यान्वयन गराउन २४ गते प्रचण्डले सबैलाई हेडक्वाटर बोलाएका थिए। तर लडेर चोट लागेपछि भेटघाट स्थगित भएको थियो । आइतबार चार सांसद्हरुले रोकिएको निर्देशन कार्यान्वयन बारे प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए।

    प्रचण्डले आगामी १ गते आफू डडेल्धुरा पुग्ने र त्यही संसदीय दलको बैठक आह्वान गरेर आफ्नो निर्देशन कार्यान्वय गराउने आश्वासन दिएका थिए ।

    ‘हामीले निर्देशन अझै कार्यान्वयन नभएको बारे जानकारी गरायौँ । उहाँले मेरै उपस्थितिमा अब कार्यान्वयन हुन्छ । १ गते डडेल्धुरामा छलफल गरौँला भन्नु भयो ‘प्रचण्डको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले जानकारी दिए ।

    के हो संसदीय दलको विवाद

    २०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ ।

    प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखित पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यस विषयमा चासो राखेका छन् ।

    अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

    आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

    संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५र५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठमाडौं बोलाएका थिए । तर त्यहाँ पनि छलफल नभएपछि प्रचण्डले आगामी १ गरे निर्णायक छलफलको मोटो तयार गरेका छन्।

  • प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? भन्दै शंकर पोखरेलले १२ बुँदामा पेश गरे ओली सरकारका उपलब्धि

    प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? भन्दै शंकर पोखरेलले १२ बुँदामा पेश गरे ओली सरकारका उपलब्धि

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा सत्ता नहुँदाको पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

    प्रचण्डले ‘सरकार डरले रुझेको बिरालो जस्तै बनेको’ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै उनले सरकारका १२ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

    ‘प्रचण्डजी, के बोल्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दै उनले आर्थिक, पूर्वाधार, कानूनी सुधारदेखि सरकारको स्थायित्वसम्मका विषय उठाउँदै, ओली सरकारको कार्यकालमा ‘उल्लेख्य प्रगति’ भएको दाबी गरेका छन्।

    पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

    राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

    विदेशी मुद्राको सञ्चिति बढेको छ ।

    सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

    निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

    निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा-मुग्लिङ सडक, गैँडाकोट-बुटवल सडक आदी ।

    भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

    बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

    कानून निर्माणको कामले तीव्रता पाएको छ ।

    कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

    क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

    भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

    सरकारको स्थायित्वको आधार तयार भएको छ ।

  • सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड 

    सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड 

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए । उनले भने हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ ।

    हामी आफ्नै बल बुतामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ । उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाए ।अध्यक्ष प्रचण्डले भने यो सरकार ढल्यो भने आफ्नै कु कर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन ।

    उनले यो सरकारले नराम्रो भन्दा अरू कुनै काम नगरेको दाबी गरे । उनले सभालाई सम्बोधन गर्दै भने ,यो सरकारले नराम्रो जति सबै काम गर्‍यो राम्रो भन्ने एउटा पनि गरेन ।अध्यक्ष प्रचण्डले यो सरकार को रुझेको बिरालोको हालत भएको बताए । उनले भने, सरकार २ तिहाइ को छ तर मनमा डर बोकेर बसेको छ । यो सरकार डरले रुझेको बिरालो भएको छ ।

  • माओवादी पार्टी र मूल नेतृत्वविरुद्ध अनेकखाले भ्रम छर्ने षड्यन्त्र भएका छन्–प्रचण्ड (भिडिओ)

    माओवादी पार्टी र मूल नेतृत्वविरुद्ध अनेकखाले भ्रम छर्ने षड्यन्त्र भएका छन्–प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्वहरु सल्बलाएको बताएका छन् ।

    २५ औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए ।

    अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन् । ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन् ।

    अध्यक्ष प्रचण्ड पछिल्लो पटक टेरेस रिसोर्टमा लडेको सन्दर्भमा विभिन्न समाचार आइरहेका बेला उनले यसलाई मुख्य नेतृत्वविरुद्ध भ्रम छर्ने प्रयास भनेका हुन् । प्रचण्डले सबैखाले घेरा तोडेर माओवादीले नयाँ क्रान्तिको तयारी गर्ने बताए ।

  • देवेन्द्र पौडेल भन्छन्- माओवादी अहिले सरकारमा जान कसैलाई फकाउनतिर लाग्दैन

    देवेन्द्र पौडेल भन्छन्- माओवादी अहिले सरकारमा जान कसैलाई फकाउनतिर लाग्दैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफ्नो पार्टीको सरकारमा जाने कुनै इच्छा नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिलेको सरकारलाई अपरिपक्व भएको टिप्पणी गरे।

    उनले भने, ‘सरकारको अलोप्रियता, अपादर्शिता र गैरजिम्मेवारपना प्रष्ट प्रकट भएको छ। कसैलाई जालमा पार्ने कसैलाई फकाउने कुरा होइन। सरकार परिपक्व भएर जनताको उठेको समस्या सम्बोधन गरेर डेलिभरीको कामतिर केन्द्रित होस् भन्ने हाम्रो कुरा हो। अहिले सरकारमा जाने कुरा छैन, सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौँ। नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न। प्राधिरकरण, गभर्नर नियुक्तिको कुरामा पनि एकस्वरले बोल्न सक्नुभएको छैन।’

    उनले विद्युत् प्राधिकरणको नाफा घाटाबारे सरकारले जवाफ दिनुपर्ने भन्दै छानविन गर्न माग गरे। उनले अहिलेको सरकार जनताको नभइ आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि मात्रै बनेको प्रष्ट भइसकेको बताए।

  • प्रचण्ड शीतल निवासमा 

    प्रचण्ड शीतल निवासमा 

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रचण्ड प्रचण्डको सचिवालयले जनाएको छ।

    भेटमा समसामयिक विकशिति राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।

  • विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडिओ)

    विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको सबै आर्थिक विवरण सार्वजनिक गर्न माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत प्राधिकरणले हालै जारी गरेको घाटाको खर्च विवरणले जनतालाई अन्योलमा परेको बताए।

    उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ। त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारेसदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस्।’