Category: माओवादी केन्द्र

  • माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

    माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

    जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित भएका छन् ।

    माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

    महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता थिए । उनी प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री हुन् ।

    यो प्रदेशमा माओवादीका ९ सांसद छन् । तर अदालतमा मुद्दा परेकाले दुई सांसद अझै पद तथा गोपनीयताको शपथ लिन पाएका छैनन् ।

    माओवादी मधेश प्रदेश सरकारमा पनि सहभागी छ । तर दलका नेता चयन नभएकाले आज मुख्यमंत्री सरोज यादवसंगै जसपा, जनमत पार्टी र एमालेबाट १÷१ जना मन्त्रीले शपथ लिएपनि माओवादीले मन्त्री पठाएको छैन ।

    स्रोतका अनुसार दलका नेता चुनिएका साह नै पुनः मन्त्री बन्नेछन् ।

  • माओवादीबाट सुदन र रेखा मन्त्री बन्ने ‘फिक्स’, तेस्रो नाममा छलफल जारी

    माओवादीबाट सुदन र रेखा मन्त्री बन्ने ‘फिक्स’, तेस्रो नाममा छलफल जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम लगभग टुंग्याएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा सहमति जुटाएको हो ।

    माओवादीबाट रेखा शर्मा र सुदन किँराती दुईमन्त्री बन्ने पक्का भएको एक पदाधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    ती नेताले भने, ‘रेखाजीले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीजीबाट उपराष्ट्रिपतिका लागि आएकोे प्रस्तावसमेत अस्वीकार गरिसक्नुभयो । त्यसैले, उहाँको मन्त्री पद सुरक्षित रह्यो । प्रदेश १ बाट पटक पटक जितेर पनि अवसर नपाउनुभएकाले अध्यक्षज्यूले नै सुदनलाई रोज्नुभएको छ ।’

    मधेशबाट माओवादीको चुनाव चिह्नबाट जितेर आएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महिन्द्र राय यादवलाई सरकारमा लान नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले दबाब दिइरहेका छन् ।

    ‘मधेशबाट पार्टीको चुनाव चिह्नबाट जितेर आउनुभएको छ । महिन्द्रजीलाई सरकारमा सहभागी गराउन पार्टीभित्र दबाब छ । अब कसरी समेटर लानुहुन्छ प्रधानमन्त्रीकै हातमा छ’, ती नेताले भने ।

    नेपाल समाजवादी पार्टीसँग पार्टी एकता प्रक्रिया पनि अगाडि बढेकाले यादवलाई सरकारमा सहभागी गराउनुपर्ने दबाबमा प्रधानमन्त्री प्रचण्डमाथि छ ।

    सत्ता साझेदारमा माओवादीबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना मात्रै सहभागी पाउने भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भइसकेका छन् ।

    माओवादीले कम्तीमा ४ मन्त्रालयको दाबी गरेपनि साझेदार दलहरुमा भागवण्डा गर्दा थप ३ जनामा भन्दा धेरै पाउने अवस्था छैन ।

    यद्यपी, यही बिषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । मन्त्रालयको भागबण्डा टुंग्याउन आज सत्ता साझेदार दलको बैठक पनि बस्दैछ ।

    भागमा पर्ने तीन मन्त्रालयमा शर्मा र किरातीलाई सरकारमा सहभागी गराउने विषयमा विवाद नभएपनि यादवबारे सहमति बन्न नसकेको नेताहरु बताउँछन् ।

    उनको ठाउँमा सिन्धुपाल्चोकका माधव सापकोटा ‘सुवोध’लाई सहभागी गराउन चर्को दबाब छ । सुवोधलाई मन्त्री बनाउन पूर्वसभामुख अग्निप्रसाद सापकोटा आफैं लागेका छन् । सुवोध अग्निका भतिजा हुन् ।

    यस्तै, नुवाकोटका हितबहादुर तामाङ र रुकुमपूर्वका पूर्ण घर्तीलाई पनि मन्त्री बनाउनुपर्नेमा पार्टीभित्र छलफल चलिरहेको अर्का एक नेताले बताए ।

  • राज्यका निकायहरु नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाए : मन्त्री श्रेष्ठ

    राज्यका निकायहरु नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाए : मन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यका निकायहरू नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाएको बताएका छन् ।

    शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइका निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशकसहितको टिमले काठमाडौंका विभिन्न क्षेत्रको सडक अनुगमन गरेको थियो । उक्त टोलीले शुक्रबार बिहान ८ बजेदेखि लाजिम्पाट, सोह्रखुट्टे, भैँसेपाटी तथा जावलाखेल क्षेत्रका सडकको अवस्थाबारे अनुगमन गरेको थियो ।

    अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउने क्रम नरोकिँदा जनताले सास्ती पाउने गरेको बताए । केही टार्नै नसकिने अवस्था भए पनि त्यतिले मात्रै अप्ठेरो स्थिति नआएको उल्लेख गर्नुहुँदै उप्रधानमन्त्री श्रेष्ठले राज्यका निकायले जिम्मेवारीपूर्वक समन्वय गर्नुपर्नेमा जोड दिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले मेलम्ची आयोजनाले अहिले पुरानै पाइपबाट पानीको सप्लाइ परीक्षण गरिरहेको उल्लेख गर्दै केही यस्ता समस्या रहे पनि त्यतिले मात्रै समस्या नरहेको बताए ।

    ‘केही टार्नै नसकिने किसिमका समस्याहरू पनि छन् । तर, खाली टार्नै नसकिने केही समस्याको कारणले, जनताले बुझ्नै पर्ने अवस्थाको कारणले मात्रै अप्ठेरो स्थिति भएको होइन,’ अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने, ‘राज्यका निकायले जिम्मेवारीबोधका साथ, तदारुकताका साथ काम सम्पन्न नगरेको कारणले पनि यो स्थिति आएको हो भन्ने कुरा बोध भएको छ ।’

    उपप्रधानमन्त्री श्रेष्ठले अब यसलाई प्रभावकारीताका साथ कार्यान्वयनमा लैजाने दृढता व्यक्त गरे । उनले विद्युत् प्राधिकरण, खानेपानी, ढल तथा सडक विभागजस्ता निकायले समन्वयमा काम नगर्दा समस्या आएको उल्लेख गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठले यी र महानगर तथा काठमाडौंको सडकसँग सम्बन्धित अन्य जिम्मेवार निकायसँग पनि समन्वय गरेर काम गर्न आफूहरू तयार रहेको बताए । श्रेष्ठले आफूहरू सडकको गुणस्तर सुधार्न र एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउने कार्य रोक्न आफूले सकारात्मक र गुणात्मक हस्तक्षेप गर्ने बताए ।

    यद्यपी, यो लामो समयदेखिको समस्या भएकाले समाधान हुन केही समय लाग्ने श्रेष्ठको भनाइ छ । तर, त्यसो भन्दैमा आफूहरू चुप नबस्ने उनले बताए । ’तर, तमासा हेरेर बस्ने स्थिति छैन । अप्ठेरो छ, जनताले दुःख पाएका छन् । विकास निर्माणको अनुभूति गर्न पाएका छैनन्’, मन्त्री श्रेष्ठले भने, ‘तर पनि यस्तै हो भनेर बस्न सकिन्नँ । सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ । सबैलाई जिम्मेवारीबोध गराएर समन्वयात्मक ढंगले काम गराइन्छ । जसले कमजोरी गर्छ वा गैरजिम्मेवार काम गर्छ हामी कारबाहीको प्रक्रियामा जान्छौँ ।’

     

  • प्रचण्डजीलाई नै प्रधानमन्त्री बनाउन यसअघि गठबन्धन बनाएका थियौं : राजेन्द्र पाण्डे

    प्रचण्डजीलाई नै प्रधानमन्त्री बनाउन यसअघि गठबन्धन बनाएका थियौं : राजेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनकै लागि यसअघि गठबन्धन बनाएको बताएका छन् ।

    नेपाल हस्तकला महासंघको साधारणसभा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड अहिले पनि बलियो रहेको प्रतिनिधिसभामा लिएको विश्वासको मतले प्रष्ट पारेको बताए ।

    उनले अब प्रधानमन्त्रीले सिंगो देश र जनताले थाहा पाउनेगरी कार्यक्रम ल्याउने अपेक्षा गरे ।

    ‘प्रधानमन्त्रीसँग भोलिपनि पार्लामेन्टमा सँगै हुन्छौं। म उहाँलाई सहयोग गर्नकै लागि भोट हाल्ने मध्येको हो । हिजो पनि उहाँलाई प्रधानमन्त्री बनाउन गठबन्धन नै तयार गरेको हो’ उनले भने, ‘गठबन्धन पछिल्ला दिनमा लठबन्धन भयो । उहाँले अहिले नेतृत्व गर्नुभएको छ । एउटा वामपन्थी पार्टीको तर्फबाट परिवर्तनका लागि ज्यान दिएर हिँडेको, ज्यान हत्केलामा राखेर क्रान्ति गरेको नेता। अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ ।’

  • प्रधानमन्त्री प्रचण्डले भने- अग्निपरीक्षामा छौं, कसैलाई दम्भ गर्ने छुट छैन (भिडिओ)

    प्रधानमन्त्री प्रचण्डले भने- अग्निपरीक्षामा छौं, कसैलाई दम्भ गर्ने छुट छैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले जनताको अग्निपरीक्षामा रहेको बताएका छन्।

    नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर देखाउने, भाषण कम गर्ने पक्षमा रहेको बताए।

    उनले भने, ‘म राम्रा काममात्रै गर्ने, नराम्रो काम गर्दा पनि नगर्ने । गर्न पनि नदिने यो अठोटका साथ तेस्रो पटक प्रधानमन्त्री भएको छ । मैले यसलाई ठूलो अग्निपरीक्षाको रूपमा लिएको छु । धेरै ठूलो संघर्ष र बलिदानबाट संविधानसभा बन्यो । समावेश समानुपातिक मान्यताको संघीय लोकतान्त्रिक गणतन्त्र, घोषणा भयो ।’

    संविधान घोषणा भएपछि जनताको आर्थिक जीवनमा अपेक्षित सुधार नभएकोप्रति जनताको मनमा प्रश्न उब्जिएको बताए ।

    उनले भने, ‘अहिले प्रतिनिधिसभामा जस्तो बनोट देखिन्छ । एकातिर जनताहरूमा पार्टी र नेतृत्वप्रति निराशा पनि झल्किन्छ । अर्कोतिर जनताले एकपटक मौका दिनुपर्छ भनेर ठूलो विवेक प्रयोग गरेको पनि देखिन्छ । कसैलाईै निषेध र कसैलाई दम्भ गर्ने छुट दिएको छैन । काम गर्ने चेतावनीसहितको अवसर दिएकाले मैले यो कुरालाई नेता र पार्टीहरुलाई जनताले राम्रै अग्निपरिक्षामा राखेका छन् । यहाँ पास हुनैपर्छ ।’

  • प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

    प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप तीन मन्त्रीले शुक्रबार शपथ लिएसँगै यस प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

    नवनियुक्त तीन मन्त्रीमा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ, मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी छन् । यसअघि आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सहभागी भएको छ ।

    आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाईँ हुन् । जुनियर भएको भन्दै आचार्यलाई प्रदेशको नेतृत्वले मन्त्री बनाउन नखोजेपनि हाइकमाण्डको निर्देशनमा उनी नियुक्त भएको माओवादीका एक नेताले बताएका छन् ।

    नयाँ तीनैजना मन्त्रीहरूको जिम्मेवारी तोक्न भने बाँकी छ । यसअघि मुख्यमन्त्रीसँगै शपथ लिएका तीनजना मन्त्री पनि विनाविभागीय छन् ।

    एमालेका तीलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राप्रापाका भक्तिप्रसाद सिटौला (झापा) र जसपाकी निर्मला लिम्बू (ताप्लेजुङ) लाई यसअघि मन्त्री बनाइसकिएको छ ।

  • सुदूरपश्चिम मुख्यमन्त्रीसहित एमाले र माओवादीका एक-एक सांसदले लिए शपथ

    सुदूरपश्चिम मुख्यमन्त्रीसहित एमाले र माओवादीका एक-एक सांसदले लिए शपथ

    कैलाली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराए ।

    सँगै माओवादीका माओवादी खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् ।

    संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपाति सांसद हुन् ।

  • कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ (भिडिओ)

    कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ (भिडिओ)

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

    शर्मासँगै आज दुई मन्त्रीलाई शपथ गराइएको छ । नवनियुक्त दुई मन्त्रीहरूमा माओवादीबाट मुगु ‘२’ का मंगल शाही र एमालेबाट दैलेख ‘२’ बाट निर्वाचित विनोदकुमार शाह छन् ।

    उनीहरूलाई अहिले मन्त्रालय तोकिएको छैन ।

  • प्रचण्ड दबाबमा पुष्पकमल- सर्तैसर्तमा जेलिएको चुनौतीपूर्ण सत्तारोहण

    प्रचण्ड दबाबमा पुष्पकमल- सर्तैसर्तमा जेलिएको चुनौतीपूर्ण सत्तारोहण

    काठमाडौं । विश्वासको मत लिँदा प्रतिनिधिसभाको लगभग सबै सांसदबाट समर्थन पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘मेरो लागि यो ठूलो चुनौती र जिम्मेवारी पाएको छु। यसलाई अवसरको रुपमा म प्रतिबद्ध भएर कार्यान्वयन गर्छु ।’

    प्रधानमन्त्री प्रचण्डले स्वयंले महसुस गरेझैं यो कार्यकाल अत्यधिक चुनौतीपूर्ण र गर्न सके अवसरको रुपमा स्थापित हुनेछ । जुन कुरा प्रचण्ड आफैंले आफ्नो अन्तिम कार्यकाल भएको भन्दै अभिव्यक्त गर्दै भन्ने गरेका छन्, ‘म थोरै बोल्छु । तर, धेरै काम गर्छु ।’

    प्रचण्डको भनाइ र गराइमा कति फरक पर्ला ? त्यो आगामी केही दिनबाटै सिनारियो आउला । तर, नयाँ राजनीतिक दलको हुटहुटी र प्रतिनिधिसभाको सबै दलको विश्वासको मत पाउनुले प्रधानमन्त्रीलाई यो कार्यकाल दबाबपूर्ण रहेको सहजै आँकलन लगाउन सकिन्छ ।

    प्रतिनिधिसभामा रहेका १२ मध्ये प्रचण्डले १० दलको समर्थन प्राप्त गरे । विश्वासको मतको विपक्षमा २ सांसदमात्रै उभिए । प्रचण्डलाई विश्वासको मत नदिनेमध्ये एक हुन् राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले २६८ मत ल्याएपछि केसीले आफूले डरलाग्दो परिदृश्य देखेको टिप्पणी गर्दै भनेका थिए, ‘सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने खेल चलिरहेको छ ।’ जुन कुरा अहिलेको यथार्थ हो ।

    तर, नयाँ दलको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सबै दलहरुले प्रधानमन्त्री प्रचण्डको साथमा छन् । जुन कारणले प्रचण्डलाई केही गर्नैपर्ने बाध्यात्मक दबाब छ ।

    प्रचण्ड प्रधानमन्त्री भए पनि गठबन्धन सबैभन्दा ठूलो घटक एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको साझा न्यूनतम कार्यक्रमको संयोजक छन् । कतिपयले प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको रिमोट ओलीकै हातमा रहेको टिप्पणी गर्ने गरेका छन् ।

    सरकारमा समर्थन गरे पनि विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्ड दलहरुको सतैसर्तमा जेलिएका छन् । सरकारलाई समर्थन गर्न र सहभागी हुन सबै दलहरुले स्वार्थअनुकूल सर्त राखेका छन् । जुन प्रचण्डको लागि चुनौती हो ।

    सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने उद्घोष गरेको कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरुले पनि प्रधानमन्त्रीमाथि सर्त अघि सारेका छन् ।

    विश्वासको मत दिन सरकारसँग कुनै सहमति नभएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताइसकेका छन् । खड्काले झैं प्रधानमन्त्री दाहालले पनि आफूले कांग्रेससँग कुनै सहमति नगरको प्रस्ट पारिसकेका छन् ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्दै थिए, ‘ओलीबाट हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो ।’

    तर, देउवाले प्रतिपक्षमा रहे पनि विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन नगर्ने प्रस्ट पारेका छन् ।

    उनले भनेका थिए, ‘सरकारका काम कारबाहीहरुको सूक्ष्म रुपले मूल्याकंन गरी गुण र दोषका आधारमा विश्लेषण गरी आफ्नो धारणा बनाउनेछौं । सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्नेछौं ।’

    सरकारले सबै दलको एजेण्डालाई समेटेर आफ्नो नीति तथा कार्यक्रम ल्याइसकेको छ । सरकारको कार्यक्रम नै सत्ता साझेदार दलको एकताको आधार भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    यही निर्वाचनबाट उदय भएको रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सामेल भइसकेका छन् । उनीहरुले अझै उपसभामुखसहित कम्तिमा चार मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्दै आइरहेको छ ।

    छोटो समयमै जनताको आशा जगाएको रास्वपामा केही गर्नैपर्ने जनदबाब छ । जुन प्रचण्डलाई काम लाग्नसक्छ । तर, रास्वपाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठन गर्नुपर्ने सर्त राखेको छ । जुन कुरा सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश भइसकेको छ ।

    सम्पत्ति छानबिनसम्बन्धी उच्चस्तरीय आयोगलाई लोकतन्त्रपछि राजनीतिक र प्रशासनिक दुवैको नेतृत्वमा रहेका शक्तिशाली पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने, न्यायिक सुधारका लागि सरल, प्रभावकारी तथा अविलम्ब बनाउने सरकारको साझा कार्यक्रममा उल्लेख छ ।

    राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने अडान राखेको थियो । जुन सरकारले पूरा गरिसकेको छ । यससँगै राप्रपाको सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

    यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले पनि सरकारमा सहभागी हुन सम्मानजक भागबन्डा हुनुपर्ने अडान राखेको छ । सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।

    शक्ति बाँडफाँटसहित जसपाले मधेसको केही मुद्दालाई उठाएको छ । जसपाले यसअघिको सरकारले दुई पटक संदनबाट पारित भएर गएको नागरिकता विधेयक तत्काल अघि बढ्नुपर्ने संसदीय दलका नेता रामसहाय यादव बताउँछन् ।

    उनी भन्छन्, ‘नागरिकता नपाउँदा देशका अधिकांश नागरिक अनागरिक भएर बस्न बाध्य छन् । जन्मसिद्धका सन्तान अहिले पनि आमबुवा नागरिक र आफैं अनागरिक छन् । कैयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन् । अब एक महिनाभित्र नभएर तुरून्त यसलाई कार्यान्वयनमा लानुपर्छ ।’

    जसपाले मधेसको मुख्यमन्त्री पाइसकेको छ । उसले उपराष्ट्रपतिसहित तीन मन्त्रालयको दाबी गरेको छ । मधेसबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ।

    आलोपालो सहमति नुसार पहिलो कार्यकाल जसपाले पाइसकेको छ । दोस्रोमा जनमतले नेतृत्व गर्ने समझदारी बनेको छ । जनमतले पनि नागरिकता समस्या समाधानदेखि भ्रष्टाचार नियन्त्रण गर्दै जनतालाई सहज रुपमा सेवा दिनुपर्नेमा जोड दिँदै आएको छ ।

    यस्तै नागरिक उन्मुक्तिले टीकापुर घटनाको दोषी रेशम चौधरीलाई छाड्नुपर्ने मुख्य बटमलाइन बनाएको छ । अदालतबाट दोषी ठहर गर्दै जन्मकैद फैसला पाएको चौधरीलाई छाड्नुपर्ने मुख्य अडान भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

    ठूला दलको नेता नभएकाले रेशमलाई फसाएको उनको आरोप छ । रञ्जिता रेशमकी श्रीमती हुन् । चौधरीसहित राजबन्दीहरुमाथि लगाइको मुद्दा झूटा भएकाले सरकारले तत्काल फिर्ता लिनुपर्ने उनको माग छ ।

    त्यसो त प्रधानमन्त्री प्रचण्डले पनि रेशमलाई छाड्ने आश्वासन दिए पनि नाउपाले लिखित प्रतिबद्धता खोजेको छ ।
    सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने घोषणा गरेको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो १५ बुँदे लिखित सुझाव दिएको छ ।

    नेकपा एसका अध्यक्ष नेपालले सरकारलाई संविधानको रक्षा, परिपालन र संघीयताको कार्यान्वयन, सुशासनको सुनिश्चितता, संकटग्रस्त अर्थतन्त्रबाट देशलाई उन्मुक्ति, बेरोजगारी समस्या समाधानलगायत सुझाव दिएको छ ।

    तर, अहिलेको सदनमा देखिएको परिस्थिति लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेको संसद प्रतिपक्षविहीनताको अवस्था छ । अब संसदमा जनताको आवाज उठ्दैन । जनता नै प्रतिपक्ष हुनुपर्ने अवस्था आएको छ । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेस प्रतिपक्ष रहेन ।’

    सतैसर्तले जेलिएको सरकारले जनअपेक्षित काम गर्न नसक्ने उनको बुझाइ छ ।

  • जुर्मुराए जनार्दन, संगठन निर्माण गर्न थाले सुझाव संकलन

    जुर्मुराए जनार्दन, संगठन निर्माण गर्न थाले सुझाव संकलन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संगठन विभागको आयोजनाको बैठक जारी छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निर्माणका लागि जनवर्गीय संगठनहरुको भूमिकाबारे छलफल गर्न बैठक बसेको पोलिटव्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

    बैठकमा नेताहरुले पार्टी संगठन निर्माणको बारेमा सुझाव संकलन गरिरहेको बताए । बैठकमा उपमहासचिव जनार्दन शर्मा, सचिव लीलामणि पोखरेल, दिनानाथ शर्मालगायका नेताहरु सहभागी छन् ।

    यसअघि अर्थमन्त्री रहेका शर्मा सरकारबाट बाहिरिएपछि पार्टी निर्माणमा लागेका हुन् । उनी सरकारमा हुँदा पार्टीको गतिविधिमा कम सक्रिय थिए ।

    अहिले पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै सरकारमा गएपछि शर्माले पार्टीको गतिविधि बढाएका हुन् । शर्मासँग अर्का उपमहासचिव वर्षमान पुन पनि सरकारमा नगएर पार्टीलाई अगाडि बढाउने पक्षमा छन् ।

  • प्रदेश १ : आकांक्षी धेरै हुँदा मन्त्री छान्न माओवादीलाई सकस

    प्रदेश १ : आकांक्षी धेरै हुँदा मन्त्री छान्न माओवादीलाई सकस

    विराटनगर । प्रदेश १ माओवादी सरकारमा क-कसलाई पठाउने भन्ने विवादमा फसेको छ ।

    आज थप मन्त्रीको शपथ तयारी भएपनि आन्तरिक कुरा नमिल्दा शपथग्रहण कार्यक्रम भोलिलाई सारिएको हो । मन्त्रीहरू छान्न पार्टीको प्रदेश १ समिति पदाधिकारीको बैठक बसेपनि निष्कर्ष निस्किएन । मुख्यमन्त्री हिक्मत कार्कीसँगको सल्लाहमा आज माओवादीबाट प्रदेश १ सरकारमा सहभागी मन्त्रीहरूको शपथ गराउने कार्यक्रम तय भएको थियो ।

    मन्त्री बन्ने आकांक्षी धेरै भएकाले निर्णय गर्न नसकेको माओवादी प्रदेश १ कमिटीका उपाध्यक्ष शिव डाँगीले नेपाल प्रेसलाई बताए । बिहीबार बिहानैबाट नेताहरू चरण-चरणमा छलफल गरिरहेका छन् । बैठकमा प्रदेश इन्चार्ज राम कार्की ‘पार्थ’, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाईँलगायत सहभागी छन् ।

    माओवादीले तीन जनालाई मन्त्री बनाउने तयारी गरिरहेको छ । प्रदेश १ मा माओवादीले बनाएको किराँत, लिम्बूवान र कोचिलाबाट एक-एक जनालाई प्रदेश सरकारमा पठाउने तयारी गरेको सहइन्चार्ज सावित्रीकुमार काफ्लेले नेपाल प्रेसलाई बताए ।

    लिम्बूवानबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ ‘सचिन’ को नाम टुंगो लागेको छ । कोचिलाबाट प्रदेश सचिव तथा मोरङ २ (१) बाट विजयी गणेश उप्रेती ‘शुशिल’ र क्षेत्र नम्बर ६ ( १) बाट विजयी जीवन आचार्यका बीचमा प्रतिस्पर्धा छ ।

    यस्तै तात्कालीन किराँत प्रदेशबाट भने कर्जयाङ शेर्पा, नारायण बुर्जाका बीच प्रतिस्पर्धा रहेको माओवादी स्रोतको भनाइ छ । संखुवासभबाट जितेका राजेन्द्र कार्कीले पनि दाबी गरिरहेका छन् ।

  • प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित (भिडिओ)

    प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित (भिडिओ)

    विराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन । एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन् ।

    कांग्रेसले मनोनयन दर्ता नगरेको यस प्रदेशमा सत्तागठबन्धनबाट गौतमको एकल उम्मेदवारी परेको थियो । आजै दिउँसो १ बजे गौतमले शपथ लिनेछन् ।

    ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

    प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए ।

    उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

  • कर्णालीमा भागबन्डा: मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय

    कर्णालीमा भागबन्डा: मुख्यमन्त्रीसहित माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालय

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच ४ बुँदे सहमति भएको छ । नेकपा माओवादी केन्द्रबाट नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलबीच चारबुँदे सहमति भएको हो ।

    सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भए पनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएको छ ।

    आलोपालो सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

    शर्मा र कँडेलबीच ८ रहेको मन्त्रालय घटाएर ७ कायम गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ४ माओवादी र ३ नेकपा एमालेले लिने सहमति भएको छ ।

    मुख्यमन्त्रीमा माओवादीका शर्माले नियुक्त भइसकेका छन् । उनले भोलि पद तथा गोपनीयताको शपथ गर्नेछन् ।

    ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकएक जना छन्।

    शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा र नेकपा एस गरी २५ सांसदको समर्थन छ । माओवादी पोलिटव्युरो सदस्य शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

  • कर्णालीको तेस्रो मुख्यमन्त्री बने माओवादीका राजकुमार शर्मा (भिडिओ)

    कर्णालीको तेस्रो मुख्यमन्त्री बने माओवादीका राजकुमार शर्मा (भिडिओ)

    सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् ।

    ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक र एक जना छन् ।

    शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा,  र नेकपा एस गरी २५ सांसदको समर्थन छ ।

    सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि शर्मालाई एमालेले समर्थन जनाएको हो । आलोपालो सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

    माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

  • पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौं : उपप्रधानमन्त्री श्रेष्ठ

    पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गरेका हौं : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिएर ऐतिहासिक सत्यलाई राज्यको तर्फबाट स्थापित गर्ने काम गरेको बताएका छन् ।

    वुधबार भृकुटीमण्डपमा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताए । ‘नेपालको भैगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका स्वतः स्पष्ट छ । त्यो भूमिकालाई राज्यद्वारा पुनर्स्थापित गर्न हामीले पृथ्वी जयन्तीको दिनमा बिदा दिने निर्णय गरेका हौँ’, उनले भने ।

    यो नेपालमा फेरि एकपटक ऐतिहासिक तथ्यहरुलाई सबैले स्वीकार्ने बनाउनका निम्ति राम्रो निर्णय भएको उनको भनाइ छ ।

    राजतन्त्रको अन्त्यसँगै पृथ्वी जयन्तीका दिन बिदा दिन छाडेको सरकारले २०७४ सालमा एकपटक बिदा दिएकोमा त्यसयता पुनः बिदा कटौती गरिएको थियो ।

  • कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी

    कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी

    सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेश गरेका छन् । २५ सांसदको हस्ताक्षरसहित उनले प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका हुन् ।

    सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।

    शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २५ सांसदले समर्थन गरेका छन् ।

    माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

  • कर्णालीमा एउटा मन्त्रालय घटाउने एमाले-माओवादीबीच सहमति

    कर्णालीमा एउटा मन्त्रालय घटाउने एमाले-माओवादीबीच सहमति

    सुर्खेत । ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा गठबन्धनका प्रमुख दल एमाले-माओवादीबीच मन्त्रालय कटौतीको सहमति बनेको छ ।

    आलोपालोको सहमतिसँगै ७ वटामात्रै मन्त्रालय रहने निर्णय गरिएको हो ।

    माओवादी केन्द्र र एमालेबाट ३-३ जना मन्त्री पठाउने सहमति भएको पनि एमाले प्रदेश उपसचिव टेकराज पछाईले जानकारी दिए ।

  • माओवादी र एमालेबीच आलोपालोको सहमतिपछि कर्णालीमा सत्ताको गाँठो फुक्यो

    माओवादी र एमालेबीच आलोपालोको सहमतिपछि कर्णालीमा सत्ताको गाँठो फुक्यो

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालोको सहमति भएको छ । यसअघि सातदलीय गठबन्धनमा कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति भएको थियो । मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो ।

    अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।

    माओवादी कर्णालीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले नेपाल प्रेससँग भने, ‘यहाँको सापेक्षतालाई लिएर हामीले सहमति गर्‍यौं । अब प्रदेश प्रमुखसमक्ष दाबी लिएर जाँदैछौं ।’

    आजै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।

  • सुदूरपश्चिम सभामुखका लागि रावल र भण्डारीको मनोनयन

    सुदूरपश्चिम सभामुखका लागि रावल र भण्डारीको मनोनयन

    धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि दुईजनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमाले नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

    रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन् । बझाङबाट निर्वाचित भण्डारीको प्रस्तावक एमालेकी जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल रहेकी छन् ।

    ५३ जना सांसद रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

  • गोरखा पुगेर प्रधानमन्त्रीले भने- विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लियो

    गोरखा पुगेर प्रधानमन्त्रीले भने- विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लियो

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् ।

    पृथ्वीनारायण शाहको ३०१औं जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’

  • पृथ्वी जयन्तीकै दिन पारेर दलबलसहित गोरखा लागे प्रधानमन्त्री प्रचण्ड

    पृथ्वी जयन्तीकै दिन पारेर दलबलसहित गोरखा लागे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा लागेका छन्।

    गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन्।

    पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना  गरेको महोत्सवको उद्घाटन गर्न प्रचण्ड गोरखा गएका हुन् ।

    प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन्। उनले प्रतिनिधिसभामा मङ्गलवार मात्रै विश्वासको मत लिएका थिए।

    आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो। प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

  • वाईसीएललाई प्रचण्डको निर्देशन- घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिबाट प्राप्त उपलब्धि जोगाउन लाग्नुस्

    वाईसीएललाई प्रचण्डको निर्देशन- घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिबाट प्राप्त उपलब्धि जोगाउन लाग्नुस्

    काठमाडौं । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र सरकारलाई सफल बनाउन लाग्न पार्टीका संगठनहरूलाई निर्देशन दिएका छन् ।

    पार्टी निकट युवाहरूको संगठन वाईसीएलको बैठकलाई सम्बोधन गर्दै पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको बताए । उनले संगठन विस्तार गरेर पार्टीलाई सुदृण बनाउन लाग्न निर्देश गरे ।

    उनले भने, ‘हामीलाई इतिहासमा एकचोटि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । हामीलाई क्रान्तिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अवसर प्राप्त भयो । त्यो चुनौतीपूर्ण अवस्थामा हामीले संविधान घोषणा गरेका थियौं ।’

    संविधान कार्यान्वयनको प्रक्रिया पनि आफ्नै नेतृत्वको सरकारले बनाएको प्रचण्डको भनाइ थियो । पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, गरिब किसानको ऋण मुक्त गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नपाएको उनले बताए ।

    प्रधानमन्त्रीले दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य, आर्थिक समृद्धिको बाटोमा लगेको बताए ।

    उनले भने, ‘अहिले मैलै एउटा संकल्पको रूपमा लिएको छु । यो म एक्लैले गरेर सम्भव हुने कुरा छै्रन । हामीलाई विभिन्न उपलब्धि प्राप्त गर्नका लागि पार्टीका जनसंगठन र युवाहरूले नै महत्वपूर्ण भूमिका खेलेको हो ।’

    प्रतिक्रियावदी शक्तिहरूको घेरालाई चिरेर आएको उल्लेख गर्दै उनले भने, ‘हिजो हामीले जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउथ्यौं अहिलेपनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाभित्रबाट यो सफलता पार्टी आन्दोलन, नेपाल र नेपालीलाई प्राप्त भएको हो । यसलाई कसैले पनि कम आँक्न हुँदैन ।’

  • प्रधानमन्त्रीको प्रष्टोक्ति- कांग्रेससँग कुनै सहमति भएको छैन

    प्रधानमन्त्रीको प्रष्टोक्ति- कांग्रेससँग कुनै सहमति भएको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

    प्रतिनिधिसभाको सबै दलबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सत्ता साझेदार दलमा कुनै समीक्षा नभएको उल्लेख गर्दै कांग्रेससँग कुनै सहमति भएको छैन ।’

    उनले आफूले ठूलो चुनौती र जिम्मेवारी पाएको उल्लेख गर्दै गरेको प्रतिबद्धताअनुसार आगामी दिनमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

     

  • प्रधानमन्त्रीलाई प्रचण्ड बहुमत, संसदका सबै दलको अभूतपूर्व समर्थन

    प्रधानमन्त्रीलाई प्रचण्ड बहुमत, संसदका सबै दलको अभूतपूर्व समर्थन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।

    नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

    विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजको बैठकमा २७० सांसद उपस्थित थिए ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।

    एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

    उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।

    सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो ।

    प्रधानमन्त्रीले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’

  • हिजो संसद विघटन गर्नु सही हो/होइन अहिले बहसको विषय नभएको प्रधानमन्त्री दाहालको भनाइ

    हिजो संसद विघटन गर्नु सही हो/होइन अहिले बहसको विषय नभएको प्रधानमन्त्री दाहालको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलको पनि समर्थनले आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको प्रधानमन्त्रीको भनाइ थियो ।

    उनले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’

    अहिले सत्ता साझेदार दलहरू निश्चित नीति र कार्यक्रम नै एकताको आधार भएको बताए । अहिलेको जनमतको आधारमा अहिलेको सरकार बनेको उल्लेख गरे ।

    संविधान राज्यको मूल कानून भएकाले कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । उनले हिजो संसद विघटन गर्नु ठीक हो कि होइन अहिले बहसको विषय नभएको उल्लेख गरे ।

    उनले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले पनि समर्थन गरेपछि विभिन्न कुरा उठेपनि आफूले सकारात्मक रूपमा लिएको बतएका छन् ।

  • सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइन: प्रधानमन्त्री दाहाल

    सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री भएको होइन: प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नउभिएको बताएका छन् ।

    प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उनले भने, ‘हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु, म फोटो झुण्ड्याउन र नाम लेखाउन मात्रै तेस्रोपटक प्रधानमन्त्री भएको होइन ।’

    उनले हरेक पटक संसदमा आफू उपलब्धिका ‘डाटा र रिपोर्ट कार्डका’ साथ उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।

  • माओवादी सांसद रेखा शर्माकाे दाबी- देउवाजीले निधेषको अन्त्य गर्नुभयो

    माओवादी सांसद रेखा शर्माकाे दाबी- देउवाजीले निधेषको अन्त्य गर्नुभयो

    काठमाडौं । नेकपा माओवादीकी सांसद रेखा शर्मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गरेकी छन् ।

    मंगबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राख्नुभएको छ । हाम्रो अहिलेको सरकार गठबन्धनमा आवद्ध हुनेले समर्थन गर्ने त छदैछ । हाम्रो प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीले निधेषको राजनीति होइन । फेरि पनि सहकार्यको आवश्यकता छ भन्ने कुरालाई व्यक्त गर्नुभयो ।’

    देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको सुरुवात हुन लागेकोप्रति खुशी लागेको बताइन् । अहिलेको जनादेशअनुसार सरकार बनेको उनले बताइन् । कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेकोले जनादेशअनुसार सबै एकैठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।

  • प्रचण्डको प्रतिबद्धता- संकल्पबाट डगमगाउँदैनौँ, ढिलासुस्ती स्वीकार्य छैन (पूर्णपाठ)

    प्रचण्डको प्रतिबद्धता- संकल्पबाट डगमगाउँदैनौँ, ढिलासुस्ती स्वीकार्य छैन (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संकल्पबाट डगमगाउन र विचलित नहुने प्रतिबद्धता जाहेर गरेका छन्।

    प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘देश अहिले पनि सङ्कटमै छ । साना सङ्कटहरुको समयमै समाधान नखोजेपछि तिनैले ठूला सङ्कट जन्माउँछन् । आर्थिक सूचकांकहरू सकारात्मक छैनन् । प्रधानमन्त्रीका रूपमा मेरो एउटा जिम्मेवारी हुनेछ तर आजसम्म निरपेक्ष गरिबीमा रहेका झण्डै पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न पनि हामी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नै पर्छ ।’

    लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि सबैको सहकार्य हुन आवश्यक भएको बताए।

    उनले भने, ‘कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य छैन । सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइनेछ ।’

    पूर्णपाठ

    सम्माननीय सभामुख महोदय,

    नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त गर्दछु । हामी उहाँहरूको वलिदानले बाँधिएका छौँ । उहाँहरूको संकल्पले हामीलाई डगमगाउन र विचलित हुन दिनेछैन ।

    नयाँ प्रतिनिधिसभाको गठनसँगै नेपालको संविधानको धारा ७६ को उपधारा २ वमोजिम मेरो नेतृत्वमा विभिन्न राजनीतिक दलको सहभागितामा सरकार गठन भएको छ । यो विश्वासका लागि दलहरूलाई धन्यवाद दिँदै म आज यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्न उपस्थित भएको छु ।

    सभामुख महोदय,

    प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु । यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्, वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन् । एक सय चार वर्ष लामो राणाशासन होओस् वा तीस वर्ष लामो पञ्चायती निरङ्कुशता, वाम–लोकतान्त्रिक सहकार्यबाटै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि हामीबीच सहकार्यकै परिणाम हुन् । राष्ट्रिय संकटका संवेदनशील क्षणहरूमा पनि वामपन्थी र लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिएका छौँ । हामी मिल्दा देश अगाडि गएको छ, नमिल्दा संकटतिर । ०७२ सालको भूकम्पका बेला सुशील कोइराला प्रधानमन्त्री हुनहुन्थ्यो, म प्रतिपक्षी दलको नेता थिएँ । मैले यही रोष्टममा उभिएर भनेँ, यो संकटमा अब संसदमा कुनै पक्ष–प्रतिपक्ष छैन । प्रतिपक्षको नेता हुँदैहुँदै पनि म उद्धार र पुननिर्माणमात्र होइन, संविधान–निर्माणमा पनि राष्ट्रिय सहमति जुटाउन अग्रसर भएँ । मलाई गर्व छ, त्यसले राष्ट्रलाई सुखद् परिणाम पनि दियो ।

    देश अहिले पनि सङ्कटमै छ । साना सङ्कटहरुको समयमै समाधान नखोजेपछि तिनैले ठूला सङ्कट जन्माउँछन् । आर्थिक सूचकांकहरू सकारात्मक छैनन् । प्रधानमन्त्रीका रुपमा मेरो एउटा जिम्मेवारी हुनेछ तर आजसम्म निरपेक्ष गरिबीमा रहेका झण्डै पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न पनि हामी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नैपर्छ । लाखौं युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि हामीबीच सहकार्य हुनैपर्छ । अब पहुँच होइन, विधिको शासन सुरू गर्नु छ । देशको कायापलट गर्ने हो भने लगभग साठी खर्ब विकास खर्च जुटाउनुपर्छ । त्यसका लागि पनि हामीबीच विश्वासपूर्ण सहकार्य जरुरी छ । राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायतका राष्ट्रका आधारभूत विषयहरूमा म राष्ट्रिय सहमतिको विकल्प देख्दिनँ । विस्तृत शान्ति सम्झौताका एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला आज हामीबीच हुनहुन्न तर शान्तिप्रक्रियाका केही काम अझै बाँकी छन् । ती कामलाई तार्किक निष्कर्षमा पु¥याउन पनि मैले आमसहमति अनिवार्य देखेको छु । इतिहासका सबै उतारचढावको स्मरण गर्दै देशमा सुशासन, समृद्धि र तीव्र आर्थिक क्रान्तिका लागि यसपटक सिंगो देश एक ठाउँमा उभिन र पूरै विश्वलाई नेपालको रूपान्तरणको सन्देश दिन म विशेष अपील गर्दछु ।

    सभामुख महोदय,

    म यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित यो रोस्टममा उभिएको छु । म यसअघि नौ–नौ महिना दुईपटक प्रधानमन्त्री भएँ । आज यो स्वीकार गर्न मलाई कुनै संकोच छैन, पहिलोपटक प्रधानमन्त्री हुँदा मसँग न अनुभव थियो, न टिम । विभाजित मनोदशामा थिएँ र पार्टीभित्रैको संघर्षमा बढी रुमल्लिएँ । सिक्दासिक्दै, भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै एउटा अप्रिय अवस्थामा मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ । तैपनि मैले त्यसबेला सुरू गरेका मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, गरिब किसानको ऋण–मिनाहा र विद्युतीकरणमा तीव्रताले राष्ट्रिय जीवनमा आज पारेको प्रभावबाट थोरै भए पनि सन्तोष हुन्छ ।

    मेरो दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव आएका बेला सुरू भयो । मधेश आन्दोलनमै थियो । संविधानको सफल कार्यान्वयनमा धेरैलाई विश्वास थिएन । संविधान संशोधनको प्रयासबाट मैले मधेशलाई विश्वासमा लिए र स्थानीय निकायको निर्वाचन गरेर संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात गरेँ । मूल्यवृद्धि नियन्त्रणमै राखेर आर्थिक वृद्धिदर सात प्रतिशत कट्यो र एउटा आर्थिक मानक बन्यो । लोडसेडिङ अन्त्य भयो । त्यसअघि कहिल्यै पालना नहुने राजनीतिक सहमतिको मैले अक्षरशः पालना गरेँ र अत्यन्त इमानदारीका साथ सत्ता–हस्तान्तरण गरेँ । त्यसरी मैले हाम्रो राजनीतिमा एउटा नैतिक मानक पनि कायम गरेँ । मलाई लाग्छ, मेरो त्यो छोटो कार्यकाल सफल कार्यकालका रूपमा इतिहासमा दर्ज भएको छ । आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीका रूपमा विश्वासको मतका लागि अनुरोध गर्न म यो सम्मानित संसदमा उभिएको छु ।

    मैले भनिहालेँ, म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु । विश्वासको मत पाएँ भने म प्रधानमन्त्रीको यो कार्यकाल यो इमान्दार स्वीकारोक्तिका साथ सुरू गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहीं न कहीँ चुकेका छौँ । त्यसो हुन्नथ्यो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए । पचास लाखभन्दा बढी नेपाली अहिले पनि बहुआयामिक गरिबीमा हुने थिएनन् । हाम्रा विश्वविद्यालयहरू क्यालेण्डरसम्म बनाउन नसक्ने गरी भद्रगोल हुने थिएनन् । शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रणबाट लगभग बाहिर जाने थिएन । विकास आयोजनाहरू यस्तो लथालिंग अवस्थामा हुने थिएनन् । खेलाडीलाई अरू सुविधा त परकोे कुरा, डाइटसम्म दिन नसक्ने अवस्था हुने थिएन । जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्ने गरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु ।

    सभामुख महोदय,

    सरकारलाई समर्थन गरेका दलहरूबीच न्यूनतम साझा कार्यक्रममा एउटा सहमति बनेको छ र त्यो सरकार सञ्चालनको एउटा आधार बन्नेछ । सबै विवरण बोझिलो होला, त्यसैले सङ्क्षेपमा मेरा केही प्राथमिकता संसदमा राख्ने अनुमति चाहन्छु । सबै नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता, एक वर्षभित्रै राष्ट्रिय परिचयपत्रको वितरण अनि सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिका लागि नीतिगत र संरचनागत सुधार सरकारको अठोट हो । न्यायपालिकाको शुद्धीकरण र सुधार अनि भ्रष्टाचार नियन्त्रण मेरो प्रतिवद्धता हुनेछ । नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन अनि सेवा–प्रवाहको गुणस्तर र प्रभावकारिता बढाउन संसदको पहिलो अधिवेशनबाटै कम्तीमा एक दर्जन नयाँ ऐन तर्जुमा या विद्यमान ऐनमा समयानुकूल परिमार्जनको संकल्प पनि म दोह¥याउँछु । भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूति, सरकारी सेवामा ‘टाइम कार्ड’ र अनलाइन प्रणाली पनि सरकारका प्राथमिकता हुनेछन् ।

    यो सम्मानित संसदलाई मैले प्रस्ट भन्नुपर्छ, हामी आर्थिक अनुकूलतामा छैनौँ । यो वर्ष विश्व अर्थतन्त्रको एकतिहाई हिस्सा मन्दीको मारमा पर्ने प्रक्षेपण छ । अमेरिका, यूरोप र चीनकै अर्थव्यवस्थाको गति घटेको छ । मूल्यवृद्धि, युक्रेन युद्ध, कोभिड महामारी र बढ्दो व्याजदरले विश्व अर्थव्यवस्थामा परेको दबाबबाट हामी पनि प्रभावित छौँ ।

    अर्कोतिर स्वदेशकै आर्थिक सूचकहरू पनि उत्साहजनक छैनन् । राजस्व वार्षिक लक्ष्यको करिव २५ प्रतिशतमात्र र अनुदानसहितको श्रोत करिव २७ प्रतिशतमात्र संकलन भएको छ । चालु खर्च करीव ३३ प्रतिशत र पूँजीगत खर्च जम्मा ११ प्रतिशत छ । बैदेशिक अनुदानको वार्षिक लक्ष्य जम्मा ६ प्रतिशत पूरा भएको छ । आयकरसमेत लक्ष्यबमोजिम उठेको छैन । लक्ष्यअनुसार राजस्व नउठ्दा, पूँजीगत खर्चै नहुँदा र बेरुजु बढिरहँदा वित्तीय प्रशासनको पूरै चक्र समस्याग्रस्त छ । तैपनि म सबैखालका आमूल सुधारबाट आगामी ५ वर्षमा आर्थिक बृद्धिदर दुई अंकको नजिक पुर्‍याउने संकल्प यो सम्मानित संसदसामु व्यक्त गर्दछु र यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछु ।

    आर्थिक पुनरुत्थानका प्याकेज कार्यक्रममार्फत लगानीमैत्री वातावरणको निर्माण तथा पुँजीगत खर्चको अभिवृद्धि गर्दै आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व मेरो लक्ष्य हुनेछ । बैंकिङ्ग प्रणालीमा विद्यमान तरलता संकुचनको समस्यालाई सम्वोधन गर्न वित्तीय तथा मौद्रिक उपकरणहरूको उपयोग गरिनेछ । वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई सम्वोधन गर्न तरलता र कर्जा प्रवाहको शिथिलतालाई सुधार गरिनेछ । आर्थिक पूर्वाधार विकासमा सरकारी लगानी बढाइनेछ । व्यावसायिक वातावरणमा सुधार ल्याउँदै लगानीका लागि पुँजीको सहज उपलब्धता हुने प्रवन्ध मिलाइनेछ । सहकारिताको माध्यमबाट बचतलाई प्रोत्साहन गर्दै स्वरोजगार प्रवद्र्धन एवं आयआर्जनका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

    सभामुख महोदय,

    म दोस्रोपटक प्रधानमन्त्री हुँदा दैनिक २० घण्टासम्म लोडसेडिङ थियो । औद्योगिक क्षेत्र मात्रै होइन, जनजीवन नै अस्तव्यस्त थियो । त्यो स्थितिमा उज्यालो नेपाल अभियान घोषणा गरियो । कतिपय सब–स्टेशनमा तीन सिफ्टमा चौबिसै घण्टा काम हुने वातावरण मिलाइयो । र, लोडसेडिङलाई इतिहासको विषय बनाइयो । त्यसले अन्धकारमात्र हटाएन, राष्ट्रको आत्मविश्वास पनि बढायो । आज प्राधिकरण नाफामा गएको छ । आज हामी विद्युत बेचेर विदेशी मुद्रा कमाउने ठाउँमा पुगेका छौँ । मेरो प्रश्न छ, सडकमा पनि किन तीन सिफ्टमा काम हुन सक्दैन ? भवन निर्माणमा किन चौबीसै घण्टा काम हुन सक्दैन ? म संसदसँग वाचा गर्दछु, प्राधिकरणको त्यो अनुभव अब सबै पूर्वाधार निर्माणमा लागू गरिनेछ । विकास आयोजनाहरू वर्षौंसम्म अधुरा हुने, लागत र समय बढ्ने विकृति अब स्वीकार्य हुन सक्दैन । त्यसका लागि आवश्यक ऐन संशोधनलगायत नीतिगत सुधार दृढताका साथ अघि बढाइनेछ ।

    प्रशासनिक खर्चमा मितव्ययिता, बजेटमा अनुशासन, सार्वजनिक खर्चको उपलब्धि र उत्पादकत्व वृद्धि, राजस्व चुहावटमा कडा नियन्त्रण सरकारका प्राथमिकता हुनेछन् । कर सहभागिता र परिपालना बढाउन प्रवर्धनात्मक कार्यक्रमका साथसाथै नियमनमा समेत जोड दिइनेछ । सार्वजनिक ऋणको छनौटपूर्ण उपयोग गर्दै दिगोपना कायम गरिनेछ । सार्वजनिक संस्थानको व्यवस्थापन सुधारका साथै व्यवसाय बिस्तारमा जोड दिइनेछ । नेपाललाई आकर्षक र प्रतिस्पर्धात्मक लगानी गन्तव्य बनाउने मेरो संकल्प छ । औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रलाई गतिशील बनाइने छ । वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार यो सरकारका लक्ष्य हुनेछन् ।

    राजस्व प्रशासन करदातामैत्री हुनेछ । कर छली, आयातमा न्युन विजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्दै कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाइनेछ । आर्थिक स्थायित्व कायम गर्न औद्योगिक नीति, सरकारी वित्त नीति, राजस्व नीति र मौद्रिक नीतिबीच तादात्म्यता अनि सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितामा दु्रत विकासको वातावरण निर्माण यो सरकारको संकल्प हुनेछ । कानुनी, प्रक्रियागत, प्रणालीगत तथा संरचनागत सुधारबाट वैदेशिक लगानी आकर्षित गरिनेछ । विनिमय दर जोखिम व्यवस्थापन गर्न भरपर्दो हेजिङ्ग सेवाको सुरूवात गर्दै देशको सार्वभौम साख मूल्याङ्कन (सोभेरन क्रेडिट रेटिङ) यथाशीघ्र अघि बढाइनेछ । वैदशिक व्यापारमा आएको शिथिलतालाई सम्बोधन गर्दै निर्यात बृद्धिमा जोड दिइनेछ ।

    राष्ट्रिय पुँजीको विकास र आर्थिक आत्मनिर्भरताका लगि स्वदेशी उत्पादनमा जोड दिनु सरकारको प्राथमिकता हुनेछ । स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइनेछ र रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइनेछ ।

    कृषि, प्राकृतिक स्रोत, ज्ञान र उच्च प्रविधिमा आधारित उद्योगको विकासबाट औद्योगिक उत्पादन बढाई निकासी बृद्धि गरिनेछ । पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुन दिइनेछैन । व्यवसायिक र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत र संरचनागत सुधार अनि गैरआवासीय नेपालीहरूले नेपालमा सहज तरिकाले लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता हुनेछ । उद्योग व्यवसाय दर्ताका लागि सुरूकै बिन्दुबाट सबै प्रकारका स्वीकृतिहरूको उपलब्धता सुनिश्चित गर्न टाइमकार्ड अनि स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’को व्यवस्था गरिनेछ ।

    सभामुख महोदय,

    हरेक वर्ष एउटै समाचार बन्छ, मलको अभाव । म आज यो संसदमा दृढताका साथ प्रतिवद्धता जनाउँछु, अबदेखि आपूर्तिको चक्रअनुसार चाहिएको समयमा प्राप्त हुनेगरी मल खरिद गरिनेछ र सँगसँगै मल कारखाना स्थापनाको पनि तयारी गरिनेछ । शिक्षा क्षेत्रका लागि बृहत् गुरूयोजना सरकारको उच्च प्राथमिकता हुनेछ । सार्वजनिक शिक्षामा आमूल सुधार सरकारको संकल्प हुनेछ । विश्वविद्यालयहरू अब क्यालेन्डरअनुसार सञ्चालन हुनेछन्, अहिलेको भद्रगोल सहिनेछैन । सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल र मेडिकल कलेजहरू बनाइनेछ । गुणस्तरीय स्यानिटरी प्याडका लागि आर्थिक प्रत्याभूति, गुणस्तरीय प्रसूति सेवाको सुनिश्चितता, चिकित्सकहरूको संख्यामा वृद्धि, चिकित्सक र नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा पुनरावलोकनका लागि सरकार प्रतिवद्ध हुनेछ । स्वास्थ्यकर्मी लगायत विशिष्टीकृत सेवाका श्रमिकहरूका सरोकारलाई सम्वोधन गर्न श्रम ऐनमा आवश्यक संशोधन गरिनेछ । सबै क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न प्राधिकरण बनाइनेछ ।

    खाद्य, आवास र स्वच्छ खानेपानीलाई जनताको मौलिक हकको रूपमा स्थापित गरिनेछ । आगामी तीन वर्षमा सतह तथा भूमिगत सिंचाइँबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमीनमा सिंचाइँ पु¥याइनेछ । सिंचाइँको बिजुली महसुलमा थप छुट दिइनेछ । विद्युत् उत्पादन विस्तार र निर्यातमार्फत् आर्थिक बृद्धिदर बढाइनेछ र इन्धनमाथिको परनिर्भरता घटाइनेछ । गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइनेछ । पाँच वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य सरकारले लिनेछ । विद्युत् महसुलको समायोजन गर्दै एक वर्षभित्रै शतप्रतिशत नागरिककहाँ बिजुली पुर्‍याइनेछ ।

    ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था हुनेछ । आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि बढाइने छ र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक रू. २५ हजार पु¥याइने छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने छ । वैदेशिक रोजगारमा गएकाहरूको समस्या सुनुवाइ र समाधानका लागि हटलाइन सेवासहितको सहयोग सेल गठन हुनेछ । प्रशासनिक अकर्मण्यता र आपसी समन्वय अभावका कारण सिर्जना हुने कृत्तिम अभाव, कालोबजारी, व्यवसायिक एकाधिकार लगायतका सुशासनविरोधी क्रियाकलाप नियन्त्रण गर्न, जनताका गुनासोलाई तत्काल सम्वोधन गर्न र नियमित संयुक्त अनुगमनका लागि सम्वन्धित निकायका प्रतिनिधि रहेको प्रधानमन्त्री निगरानी कार्यक्रम सञ्चालन गरिनेछ । लोककल्याणकारी कार्यक्रमहरू सीमान्त जनतासम्म पुग्ने ग्यारेन्टी गरिनेछ ।

    सभामुख महोदय,

    स्वेच्छा वा रहरले कोही गरिब र भूमिहीन हुँदैन । मान्छे गरिब हुन्छ अवसरमा पहुँच नभएर, आधारभूत सुविधा नपाएर । एउटै नेपाली पनि छतविहीन नहोस्, मेरो इमानदार प्रयास रहनेछ । हाम्रो ग्रामीण अर्थतन्त्र महिलाले धानेका छन् । तर, राज्यले तिनलाई उचित प्रोत्साहन दिन सकेको छैन । रेमिट्यान्स पठाएर देश बचाइरहेको युवालाई राज्यले न सुरक्षा दिन सकेको छ, न सम्मान । म यो अवस्था बदल्नेछु । भूमिको वैज्ञानिक व्यवस्थापन र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता मेरो उद्धेश्य हुनेछ ।

    हरेक जिल्ला सदरमुकामलाई रणनीतिक सडक सञ्जालमा जोडिनेछ र हरेक पालिकालाई पक्की सडकबाट केन्द्रमा जोडिने छ । निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू ५ वर्षभित्रै सम्पन्न गरिनेछन् । यातायात व्यवस्थापन प्राधिकरण गठन हुनेछ । सडक दुर्घटनाका कारण र समाधान खोज्न उच्चस्तरीय कार्यदल बनाइनेछ । सडक यातायात, रेल, जलमार्ग र हवाइ सबै योजनालाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरूयोजना तयार गरिनेछ ।

    डाटा सर्भरमा आत्मनिर्भरता र साइबर सुरक्षाको सुनिश्चिततासहित फाइभ–जी प्रविधि प्रयोगमा ल्याइनेछ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा इन्टरनेट सुविधा निःशुल्क हुनेछ । आधुनिक खेल पूर्वाधारमा जोड दिँदै खेलाडीहरूको वृत्तिविकासका कार्यक्रमहरू ल्याइनेछ । पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज घोषणा गरिनेछ । जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिनेछ । महिला सहभागिता, सशक्तिकरण र समावेशिता सरकारको प्रमुख लक्ष्य हुनेछ ।

    शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब सम्पन्न गरिनेछ । सहिद र बेपत्ता परिवारलाई उचित सम्मान र परिपुरणको व्यवस्था गरिनेछ । द्वन्द्वकालका घाइतेहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसरसँग जोडिनेछ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम ल्याइनेछ । सँगसँगै तराई–मधेस लगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढङ्गले बन्दी बनाइएकाहरुको कानुनसम्मत रिहाइका लागि ठोस अग्रसरता लिइनेछ ।

    सङ्घीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन हुनेछ । राष्ट्रिय हितको रक्षा गर्दै स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन मेरो प्रतिवद्धता हुनेछ । त्यसलाई मैले ‘प्रो–नेपाल’ नीति भन्ने गरेको छु । दुवै छिमेकी र सबै मित्रराष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र मैत्रीपूर्ण सम्बन्धमा मेरो जोड हुनेछ । सीमाको प्रभावकारी व्यवस्थापन र सीमा समस्याको समाधान मेरो प्राथमिकता हुनेछ ।

    सभामुख महोदय,

    यसबीचमा मैले सचिवहरूको बैठकै राखेर सोधेँ, राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बस्न परेपछि नागरिकले कसरी राज्यमाथि भरोसा गर्छ ? अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने कति दशकमा तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्छ ? सवारी चालक अनुमतिपत्र लिन पनि वर्षाैं कुर्नुपर्ने कारण के हो ? सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो ? प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नसमेत घण्टौं किन लाग्छ ? सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीन–चार महिना किन कुर्नुपर्छ ? अस्पतालका प्रयोगशाला र परीक्षण उपकरण किन महिनौँसम्म बन्दैनन् ? अनुदानका सामग्री स्टोरमा किन थन्किन्छन् ? मैले सचिवज्यूहरूलाई भनिसकेको छु, सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीब्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु तर नतिजामुखी कार्यसम्पादनको जिम्मा तपाईहरूले लिनुपर्छ ।

    रकारहरू फेरिइरहने तर जनताको जीवनस्तर नफेरिने निराशाजनक चित्र अब बदल्नु छ । त्यसका लागि सरकार मालिक होइन, सुनिने, देखिने र जनताले अनुभूत गर्ने सेवक बन्नु छ । प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारीको व्यवस्था हुनेछ । संघीय निजामती ऐन अविलम्ब यसै अधिवेशनमा पेश गर्नेगरी तयारी गर्न मैले निर्देशन दिइसकेको छु । सार्वजनिक सेवाप्रवाहमा ढिलासुस्ती र सास्तीको अन्त्य गर्दै सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन, सामाजिक न्याय सुनिश्चित गर्न तथा राज्यको सबै तह र संरचनामा सदाचार र जवाफदेहीता कायम गर्न सरकार प्रतिवद्ध हुनेछ । मन्त्रिपरिषद्को पहिलो बैठकमै भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्ने निर्णय भइसकेको छ ।

    रणनीतिक महत्वका विकास आयोजनाहरूको कार्यान्वयन गर्न जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन तथा ठेक्का व्यवस्थापनमा हुने ढिलाई कम गरी निर्णय प्रक्रियामा शीघ्रता ल्याउन छुट्टै कानुनी व्यवस्था गरिनेछ । युटुलिटी कोरिडोरसम्बन्धी कानुनी व्यवस्था गरी पूर्वाधारमा साझेदारी गर्ने व्यवस्था मिलाइनेछ । पुँजीगत खर्च बढाउन आयोजना व्यवस्थापनलाई नतिजामुखी बनाउनुका साथै अन्तरनिकाय समन्वय प्रभावकारी बनाइनेछ । विकास आयोजनाको अनुगमनलाई नतिजामा आधारित बनाइनेछ । राष्ट्रिय महत्वका आयोजनाहरूको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन–रूमको उपयोग समेत गर्दै म आफैले पनि नियमित रूपमा अनुगमन गर्नेछु ।

    सभामुख महोदय,

    कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य छैन । सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइनेछ । राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति–पत्र वितरणमा हाल देखिएको समस्यालाई तत्काल समाधान गरिनेछ । एकै प्रकृतिको विवरण फरक फरक निकायहरुबाट संकलन गर्नुको सट्टा डाटा साझेदारीे र अन्तर आवद्धताको भरपर्दो प्रणाली निर्माण गरी सेवा प्रवाहलाई छिटो, छरितो, मितव्ययी र झन्झटमुक्त बनाइनेछ । विपन्न नागरिक उपचार सुविधा तथा स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र नियमित बनाइनेछ । स्वास्थ्य बीमाको दायरा विस्तार गरिनेछ । सरकारी एवम् सार्वजनिक जग्गाको संरक्षण गर्न एकीकृत विद्युतीय अभिलेख तयार गरिनेछ ।

    मुलुकको विकासमा योगदान गर्न सक्ने उमेरमा नागरिक विदेसिनुपर्ने तर बृद्धावस्थाको सामाजिक सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने जटिल अवस्था विद्यमान छ । यो परिस्थितिबाट बाहिर निस्कन स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्र समेतको सहभागितामा ठोस कार्यक्रम सञ्चालन गरिनेछ । निजी क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार, आर्थिक पूर्वाधार विकासमा सरकारी लगानीको वृद्धि, व्यावसायिक वातावरणमा सुधार, सहकारिताको माध्यमबाट बचतलाई प्रोत्साहन अनि स्वरोजगार प्रवर्धन सरकारका उद्धेश्य हुनेछन् । सार्वजनिक संस्थानको व्यवस्थापन सुधारका साथै व्यवसाय विस्तारमा जोड दिइनेछ ।

    पर्यटकीय पूर्वाधारको निर्माण र सेवाको गुणस्तरमा सुधार सरकारको मुख्य जोड हुनेछ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन र स्रोतको सुनिश्चततासहित निजगढमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण मेरो प्राथमिकता हुनेछ । मलाई थाहा छ, मिडिया उद्योग संकटमा छ । म विश्वास दिलाउँछु, यो संकटमा सरकारले मिडिया उद्योगलाई एक्लै छाड्नेछैन । सञ्चारकर्मीहरूको हक र हित पनि सरकारको उच्च प्राथमिकतामा हुनेछ । पछिल्ला दिनमा शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई मैले नयाँ सरकारप्रति जनताको भरोसाको संकेतका रूपमा लिएको छु । तीब्र आर्थिक विकास र न्यून मुद्रास्फिति सरकारको लक्ष्य हुनेछ । लाइनमुक्त देश मेरो संकल्प हो । म विश्वास दिलाउँछु, देशका हरेक नागरिकलाई लाग्ने छ, सरकार मेरो अभिभावक हो, मेरो पक्षमा छ र मेरा लागि केही गरिरहेको छ ।
    राष्ट्रसेवकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी व्यवसायिक, प्रतिस्पर्धी र दक्ष बनाइनेछ । तीनवटै तहका सरकारको मौजुदा कर्मचारीको दरबन्दीको पुनरावलोकन गरी सेवा प्रवाह गर्ने निकायमा पर्याप्त जनशक्तिको व्यवस्था गरिनेछ । विकास आयोजनामा विनियोजन गरेको रकम खर्च गर्न नसके खर्च गर्नसक्ने परियोजनाहरुमा सारिनेछ । जिम्मेवारी लिने तर लक्ष्यअनुसार राजस्व असुली र विकासका काम गर्न नसक्ने पदाधिकारीहरुलाई कार्यसम्पादन मूल्यांकनसँग जोडिनेछ । सरकारी पदाधिकारीहरुले परराष्ट्र मन्त्रालयको जानकारीविनै विदेशी कुटनीतिज्ञहरुलाई भेट्ने काम अब हुन दिइने छैन । भ्रष्टाचार नियन्त्रण र निवारण सरकारको प्राथमिकता हुनेछ । मालपोत, लाइसेन्स, राहदानीजस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राखिनेछ । बुष्टर डोज खोपको लागि भ्याक्सिनको तत्काल प्रबन्ध गर्न लगाइसकिएको छ । शीतलहर र हिमपातबाट जनता जोगाउन आवश्यक प्रवन्ध गर्न सम्बन्धित तहमा निर्देशन दिइसकिएको छ ।

    सभामुख महोदय,

    हिजो देश एउटा ठूलो विद्रोहबाट गुज्रियो । सामाजिक न्यायको आकांक्षा, विभेद, शोषण र उत्पीडनविरुद्ध आक्रोश अनि सुखी र स्वतन्त्र जीवनको चाहना नै त्यो विद्रोहको कारक र कारण थियो । हिजो हामीभित्र जुन आवेग थियो, परिवर्तनको जुन संकल्प थियो अब त्यसलाई त्यही घनत्वकासाथ जगाउन र राष्ट्रनिर्माणमा लाग्न म प्रतिवद्ध छु । यो सम्मानित सदनलाई मेरो अनुरोध छ, सरकारमा म त्यही आवेग जगाएर आफू, देश र यो संसदलाई पनि प्रमाणित गर्न चाहन्छु । सम्भव छैन, सकिँदैन, केही हुँदैन भन्ने निराशा र नकारात्मक बोधलाई यो सरकारमा कुनै ठाउँ हुनेछैन । म यो संसदसँग विश्वासको मत पनि नितान्त सकारात्मक र रचनात्मक हस्तक्षेपका लागि मागिरहेको छु । हामी सबै दल मिलेर व्यवस्था बदल्यौँ, अब हामी सबैको सहकार्यमा जनताको अवस्था पनि बदल्न म संसदबाट एउटा मौका चाहन्छु ।

    सभामुख महोदय,

    मलाई कुनै दुविधा छैन, एउटा कप्तान केवल एउटा टीमका रूपमा सफल हुन्छ । मैले लिएका लक्ष्य सरकारका घटकमात्र होइन, सिंगो संसदलाई साथसाथै लैजान सकेमात्र पूरा हुनेछन् । मैले पहिल्यै भनेँ, म निषेध र अपमान होइन, सहकार्य र आपसी विश्वासको राजनीतिका लागि प्रतिवद्ध छु । म संसदमा पूर्ण विश्वास र आपसी सद्भावको वातावरणको पक्षमा छु । मैले हिजो पनि भनेँ, हाम्रा मतभेदहरूसमेत मर्यादित हुनेछन् ।

    म सबै दल र माननीय सदस्यहरूलाई आग्रह गर्दछु, आउनुहोस्, यसपटक संसदमा नयाँ अध्याय सुरु गरौँ । त्यसै पनि नेपालको राजनीति केही कमजोरीका बाबजुद अन्यत्रभन्दा धेरै भिन्न छ । अन्यत्र हामी धेरै बदलाभाव देख्छौं, यहाँ प्रतिशोधलाई धेरै ठाउँ छैन । हामीकहाँ राजनीतिक संवादहीनता पनि लामो समय रहन्न । राष्ट्रका संकटहरूमा हामी सबै राजनीतिक दल पटकपटक एकै ठाउँमा उभिएका छौँ । यसपटक पनि संसदको विभाजन नहोस् र देशले एकता र सहकार्यको सन्देश प्राप्त गरोस् । म बिना कुनै पूर्वाग्रह सबै राजनीतिक दलहरूसँग सहकार्यका लागि प्रतिबद्ध छु । सिंगो सदनको साझा प्रधानमन्त्रीका रूपमा मलाई राष्ट्र–निर्माणको नेतृत्व गर्ने एउटा मौका मिलोस् । हामी सबैले आ–आफ्ना ठाउँबाट जनतासँग विकासको प्रतिबद्धता गरेका छौँ । आज त्यही प्रतिबद्धताका लागि हामी सबै एक ठाउँमा उभिन नसक्ने केही छैन ।
    मैले हिजो पनि संसदमा भनें, जनताको हामीमाथिको समर्थन सशर्त छ । हीनभावनाको ठाउँमा आशा र आत्मविश्वास जगाउनु छ । आर्थिक क्रान्तिको साझा संकल्पबाट समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ । इतिहास आजैबाट सुरु हुन्छ म भन्दिनँ । आजसम्मका उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै म एउटा परीक्षा दिन चाहन्छु । हिजो क्रान्ति सुरु गर्दा जुन आवेग मसँग थियो, बीचमा केही अलमलिए जस्तो देखिए पनि आज त्यही आवेग र अठोटका साथ म यो रोस्टममा उभिएको छु । तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन । म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु । मलाई विश्वासको मत दिएकोमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु । सबैको साथ र सहयोग लिएर राष्ट्र–निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु ।

    धन्यवाद ।

  • प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड (भिडिओ)

    प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

    प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् ।

    प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।

  • प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

    प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने भएको छ ।

    आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।

    सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन् । ती सर्त (एजेण्डाहरु) पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।’

    नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलेर केही बताएनन् ।

    उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने बताए ।

    प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

    प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

  • ओलीको प्रतिबद्धतापछि प्रधानमन्त्रीले भने- सरकारको कार्यक्रम एकताको आधार हो

    ओलीको प्रतिबद्धतापछि प्रधानमन्त्रीले भने- सरकारको कार्यक्रम एकताको आधार हो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने यसअघिको सरकारले ल्याएपछि कार्यान्वयन गर्न नसकेको तितो अनुभव आफूसँग भएको स्मरण गरे ।

    सामाजिक न्याय र समृद्धिको पक्षमा जानुको विकल्प अहिले नभएको बताए । अहिलेको सरकार जनताको अभिमतको आधारमा बनेको भएकाले सफल बनाउन जानुपर्ने बताए ।

    उनले भने, ‘नेकपा एमालेको पुरै सहयोग रहन्छ भन्ने प्रतिबद्धता आइसकेको छ । अन्य दलहरुको पनि त्यसरीनै छ । यो कार्यक्रम नै हाम्रो एकताको आधार हो । हामी सबैले दुविधारहित ढंगबाट कार्यान्वयमा जानुपर्छ ।’

    प्रधानमन्त्रीभन्दा अगाडि बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउने उद्घोष गरेका थिए ।

    प्रधानमन्त्रीले सरकारले ल्याएको नीति कार्यान्वयमा जाने भएकाले कर्मचारीहरुलाई पनि कुनै दबाबमा नपरी काम गर्ने निर्देश गरे। नयाँ दलको उदय र पुराना दललाई खबरदारीसहित पठाएकाले अहिले सरकारले परिवर्तनमा जुट्नुको विकल्प नभएको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीलाई धेराबन्दी गरेर निर्णय गर्न रोक्ने होकी भन्ने पनि मैले सुनें। तर, हाम्रो संविधानले त्यस्तो छुट दिएको छैन । प्रधानमन्त्री दबाबमा र निरिय भएर बस्ने व्यवस्था गरेको छैन ।’

  • जसपाले विश्वासको मत दिन्छ : प्रचण्ड (भिडिओ)

    जसपाले विश्वासको मत दिन्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । जनता सामाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएकाे छ ।

    आज सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा जसपाले आफूलाई विश्वासको मत दिने बताए । उनका अनुसार अध्यक्ष उपेन्द्र यादवले फूलाई विश्वासको मत दिने जानकारी दिएकाे बताए ।

    जसपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको छ । यद्यपी सरकारमा भने सहभागी भएको छैन ।

    प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा विश्वासका मत लिने कार्यक्रम रहेको छ ।

     

  • प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने- बोली र व्यवहारमा सामन्ज्यस्यता होस् (भिडिओ)

    प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने- बोली र व्यवहारमा सामन्ज्यस्यता होस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

    मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामन्ज्यस्यता आओस् ।’

    देशमा राजनीतिक स्थायित्व जनताले चाहेको उल्लेख गर्दै विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए । प्रधानमन्त्रीले संविधान पालाना गरेर हिँड्ने विश्वास व्यक्त गरे । संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने उनको भनाइ छ ।

  • शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको चौथो मुख्यमन्त्री

    शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको चौथो मुख्यमन्त्री

    हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् ।

    उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।

    २०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्मकट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद भए भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बनेका थिए ।

    २०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित भएका जम्कटेल त्यस यता भएको दुवै प्रदेशसभामा विजयी भएका छन् ।

    २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।

  • वागमतीको मुख्यमन्त्रीमा शालिकरामको दाबी, ७० सांसदको समर्थन

    वागमतीको मुख्यमन्त्रीमा शालिकरामको दाबी, ७० सांसदको समर्थन

    हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीको लागि ७० सांसदको समर्थनसहित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालय हेटौंडा पुगेर जम्कट्टेलले मुख्ममन्त्रीको दाबी गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरिएको दाबीमा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ , नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

    कुल ११० सदस्यीय वागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

    वागमतीको चौथो मुख्यमन्त्रीको रूपमा नियुक्त हुन लागेका शालिकराम धादिङ १ (२) बाट निर्वाचित भएका हुन् ।