Category: माओवादी केन्द्र

  • शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनबाट कोही पन्छिन मिल्दैन : गगन थापा

    शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनबाट कोही पन्छिन मिल्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले दर्ता गरेको टीआरसी विधेयकलाई सर्वस्वीकार्य हुनेगरी संसदको यही सत्रबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कांग्रेस, माओवादी केन्द्र र एमालेको सामूहिक जिम्मेवारी भएको भन्दै उनले यसबाट कोही पन्छिन नमिल्ने जिकिर गरे ।

    थापाले भने, ‘शान्ति प्रक्रियामा उल्लेख गरेका अन्य थुप्रै विषय हामीले टुंग्यायौँ । तर, संक्रमणकालीन न्यायको प्रक्रियाबाट टुंग्याउनुपर्ने विषयहरूको सन्दर्भमा भने हामी सबै यसमा चुकेकै हो । एकप्रकारको उदासीनता हामीले यसमा राख्यौं । मलाई के लाग्छ भने यसमा सरकारले विधेयक प्रस्तुत गरेको छ । यो ठीक भएको छ । हामी सबैले सकारात्मक भएर यो विधेयकलाई चाँडोभन्दा चाँडो यसको सर्वस्वीकार्य हुनेगरी यही सत्रबाट टुंग्यायौं भने बेलाबेलामा आउन खोज्ने अप्ठ्याराहरू आफैँ बन्द हुन्छ ।’

    यो पटक सबैलाई दबाब महसुस भएको भन्दै उनले यही संसदको सत्रबाट यो विधेयकलाई टुंग्याउनुपर्ने बताए ।

    ‘यो हाम्रो सामूहिक जिम्मेवारी पनि हो । कुनै एउटा दलको, कसैको मात्रै जिम्मेवारी होइन । हामी सबैको सामूहिक जिम्मेवारी हो । यो जिम्मेवारीलाई हामीले सामुहिकरूपमा किनकी हामी शान्ति प्रक्रियाका पक्षधर नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले) यो कुनैपनि विषयमा यो दल, त्यो दल, सरकार पक्ष, प्रतिपक्ष केही नभनिकन हामी एक ठाउँमा आएर यो विषयलाई टुंग्याउने कुरा प्राथमिकताका
    साथ राख्नुपर्छ र टुंग्याउनुपर्छ ।’

  • प्रचण्डको सर्वोच्च मुद्दाबारे भारत र बेलायतका मिडियामा चर्चा

    प्रचण्डको सर्वोच्च मुद्दाबारे भारत र बेलायतका मिडियामा चर्चा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेशी तोकेको समाचार विश्वभर हेडलाइन बनेको छ ।

    भारतीयदेखि बेलायतीसम्मका मिडियाहरुमा यसबारे समाचार आएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सले प्रचण्डले तीन वर्ष अगाडि पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेको भाषणको आधारमा उनलाई पक्राउ गर्ने मुद्दा परेको उल्लेख गरेको छ ।

    प्रचण्डलाई नेपालमा भएको दश वर्ष लामो युद्धका गुरिल्ला कमान्डर भन्दै रोयटर्सले बिहीबार पेशी तोकिएको लेखेको छ ।

    यस्तै भारतीय अखबार इन्डियन एक्सप्रेसले सन् २०२० जनवरी १५ मा प्रचण्डले पाँच हजारको हत्याको जिम्मा लिन्छु भनेर भनेकाले उनीविरुद्ध मुद्दा परेको उल्लेख गरेको छ ।

    न्यायाधीशहरु ईश्वर खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न आदेश दिएसँगै प्रचण्डलाई थप तनाव थपिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

    यस्तै प्रकृतिको समाचार भारतीय मिडिया एबीपी न्यूजलगायतले समेत उल्लेख गरेका छन् ।

  • स्ववियु निर्वाचन- महेन्द्र मोरङमा अखिल क्रान्तिकारीले गठबन्धन नगर्ने

    स्ववियु निर्वाचन- महेन्द्र मोरङमा अखिल क्रान्तिकारीले गठबन्धन नगर्ने

    विराटनगर । आसन्न स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पस विराटनगर मा गठबन्धन नगर्ने जनाएको छ ।

    क्रान्तिकारीले कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङमा कुनै पनि संगठनसँग गठबन्धन नगर्ने भन्दै एकल उम्मेदवारी घोषणा गरेको हो ।

    पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीले अध्यक्षमा रोहित यादवलाई उम्मेदवार घोषणा गरेको छ ।

    सचिवमा आशिका लम्साललाई उम्मेदवार बनाउने भएको छ ।

    पत्रकार सम्मेलनमा यश अघि स्थानीय तहको चुनाव, संघ र प्रदेश को निर्वाचनको परिणाम हेरेर गठबन्धन नगर्ने निर्णय गरेको देवा यादवले बताए ।

    ‘गठबन्धनले राम्रो परिणाम आएन’ उनले भने, ‘हामी एक्लै चुनाव लडेर जित्ने भएकाले एकल चुनाव लड्ने निर्णय गरेको हो ।’

  • प्रधानमन्त्रीको बचाउमा बार, संविधानतः गठित आयोगहरुले नै द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने धारणा

    प्रधानमन्त्रीको बचाउमा बार, संविधानतः गठित आयोगहरुले नै द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने धारणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि दायर मुद्दा र यसबाट उत्पन्न विवादका विषयमा कानून व्यवसायीहरुको संस्था नेपाल बार एसोसियसनले मुख खोलेको छ । बारले संक्रमणकालीन न्यायको विषयलाई लिएर प्रचण्डविरुद्ध फौजदारी कसुरसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशमाथि सांकेतिक असन्तुष्टि प्रकट गरेको छ ।

    बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले आज विज्ञप्ति जारी गर्दै औपचारिक प्रतिक्रिया दिएका हुन् ।

    विज्ञप्तिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र दुई आयोगहरु जिम्मेवार हुनु जरुरी रहेको उल्लेख छ ।

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरुले आफ्नो क्षेत्राधिकारअन्तर्गत काम गर्दै आइरहेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

    ‘आफ्नो कार्य क्षेत्राधिकारअन्तर्गतका विषयहरुमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरु प्रकाशित भएको पाइएकोमा यस एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    संविधानतः गठित आयोग र न्यायिक निकायहरुले आआफ्नो दायित्व निर्वाह गरी कार्यसम्पादन गर्ने भन्दै ती निकायहरुलाई प्रभावित हुने गरी कुनै गतिविधिहरु नगर्न र नगराउन बारले आग्रह गरेको छ ।

  • माओवादी भँगालोको शिर-पुछार : लड्दा र पर्दा प्रचण्डलाई आधार, सत्ता राजनीतिमा ९ धार

    माओवादी भँगालोको शिर-पुछार : लड्दा र पर्दा प्रचण्डलाई आधार, सत्ता राजनीतिमा ९ धार

    काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पुराना ‘जनयुद्ध’ का सहकर्मीको साथ खोजेका छन् । आफूविरुद्ध अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढेपछि प्रचण्डले मंगलबार बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक बोलाएर औपचारिकरूपमा सहकार्यको प्रस्ताव अघि सारेका हुन् ।

    बालुवाटार बैठकमा माओवादी धारका ८ घटक सहभागी भए । प्रचण्डमाथि मुद्दाको पराकम्पले बालुवाटारबाट जम्मा भएका माओवादीका ८ घटकले आफूहरू एकमत भएर प्रतिवाद गर्ने सहमति गरेका छन् ।
    बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरूले संक्रमणकालीन न्यायको विषयमा चलिरहेको बहसको बारेमा छलफल गरेको बताए ।

    ‘माओवादी आन्दोलनको विषयमा दीर्घकालीनरूपमा कसरी जान सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौं । संक्रमणकालीन न्यायको विषयमा उठिरहेको बहसको बिषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै यसको निरुपण हुनुपर्ने हो’ उनले भने, ‘राज्यको वृहत्त शान्ति सम्झौता र प्रचलित कानूनले सत्य निरुपण मेलमिलाप आयोगबाट अहिलेको समस्या समाधान गर्नुपर्छ भन्ने कुरामा सहभागी घटकहरू एकमत भएका छौं ।’

    जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि तीन पटक प्रधानमन्त्री हुँदा आफ्ना पुराना सहकर्मीलाई वास्ता नगरेका प्रचण्डले आफूलाई अप्ठ्यारो पर्ने स्थिति देखिएपछि सहकार्य हात बढाएका छन् । बैठकमा प्रचण्डले सके पार्टी एकता नभएर पूर्वमाओवादी घटककको मोर्चा बनाएर जान प्रस्ताव गरेको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले बताए ।

    उनले भने, ‘माओवादी घटकहरू एकजुट नहुँदा अहिले आफूहरूविरुद्ध षड्यन्त्रको प्रयास भइरहेको छ । त्यसैले हामी पुराना कमीकमजोरीलाई सच्चाएर एकजुट भएर जानुपर्छ । त्यसका लागि मैले गर्नपर्ने म गर्न तयार छु ।’

    आइतबार बसेको सत्तारुढ ९ दलीय गठबन्धनले पनि संक्रमणकालीन न्यायको विषयवस्तुलाई जोड दिएको थियो ।

    होलान् त एकजुट ?

    तर, अहिले प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि पूर्वमाओवादीहरू फेरि एकैठाउँमा आउने आधार बनेको नेताहरूको बुझाइ छ । अहिले अदालतमा दर्ता भएको मुद्दा प्रचण्डविरुद्ध मात्रै नभएको नेकपा बहुमतको नेता हेमन्त प्रकाश वली बताउँछन् ।

    उनी भन्छन्, ‘यो मुद्दा जुन षड्यन्त्रको साथ आएको छ । अहिले प्रचण्डजीविरुद्ध भएको मुद्दा शान्ति सम्झौताविपरीत भयो । त्यसकारण संक्रमणकालीन मुद्दा सत्य निरुपण मेलमिलाप आयोगबाट समस्याको समाधान गर्नुपर्नेमा अदालतमार्फत् अघि बढाउन खोजेको छ । हामी त्यसका विरुद्ध एकजुट छौं ।’

    द्वन्द्वकालीन मुद्दा अदालतमा जानु गतल भएको उनको भनाइ छ ।

    उनले भने, ‘यो विशुद्ध उहाँ (प्रचण्ड) माथि मात्रै भएन । समग्र माओवादी आन्दोलनकै समस्या भयो । बिहानको बैठकमा पनि यही कुरा भएको छ ।’

    प्रचण्डविरुद्धको मुद्दाले माओवादी घटक एकैठाउँमा आउने सम्भावना बढेको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले आएको मुद्दा षड्यन्त्रमुलक ढंगबाट आएको हामीले बुझेका छौं । त्यो विषयमा हामी एकजुट हुन्छौं ।

    उनले छलफलको वातावरण बन्दै गइरहे पार्टी एकता नभए मोर्चा हुनसक्ने विषयलाई नकार्न नसकिने तर्क राखे ।

    यसअघि शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले आफूहरूलाई हेप्न खोजे एकजुट भएर प्रतिकार गर्ने अभिव्यक्ति दिएका थिए ।

    माओवादी फुटको श्रृंखला

    व्यवस्था परिवर्तन गर्न भन्दै १० वर्षे ‘जनयुद्ध’ को नेतृत्व गरेका प्रचण्ड अहिले एकपछि अर्को गर्दै आफ्ना सहकर्मी गुमाउँदै गइरहेका छन् । प्रचण्डले आफूलाई अप्ठ्यारो परेपछि ८ घटकलाई एकजुट बनाउन सफल भएपनि अझै विश्वस्त आधार भेटेका छैनन् । प्रचण्डको साथ छाडेका नेताहरूले दोष उनैलाई दिएका थिए ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन ७ दलसँग १२ बुँदे सम्झौता गरेपछि मणि थापा र रवीन्द्र श्रेष्ठले माओवादीमा विद्रोह थालेका थिए । थापा अहिले एमालेमा छन् भने श्रेष्ठ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय बर्षमान पुन, जनार्दन शर्माभन्दा सिनियर नेता थिए । तर, अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।

    प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा भारतको जेलमा रहेको मोहन वैद्य किरण र सिपी गजुरेलले पनि शान्ति प्रक्रियामा आउने सहमतिको सैद्धान्तिक विरोध गरेका थिए । तर, तत्काल पार्टी छाडेनन् ।
    माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ०६४ मा बहुमत ल्याएर ठूलो पार्टी बन्यो । पहिलो संविधानसभाको निर्वाचनपछि मन्त्री भइसकेपछि मातृका यादव अलग भएर मधेसकेन्द्रित दलमा लागे । तर, पछि फेरि माओवादीमै फर्केर अहिले पनि सक्रिय छन् ।

    प्रचण्डप्रति नेताहरूको बढ्दो असन्तुष्टिको क्रममा ०६९ सालमा एमाओवादीमा ठूलो समूह विभाजन बन्यो । प्रचण्डसँग रुष्ट बनेका मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल, नेत्रविक्रम चन्द्र विप्लव, पम्फा भुसाल, देव गुरुङलगायतले पार्टी फुटाएर नेकपा-माओवादी गठन गरे । त्यसअघि केही नेताहरू मात्रै बाहिरिए पनि यो पटक प्रचण्डसँग असन्तुष्ट बनेका आधाजसो नेताहरू नै अलग भए ।

    प्रचण्डबाट अलग भएर नेकपा-माओवादी गठन गरेपनि उनीहरू सँगै टिक्न सकेनन् । वैद्यबाट विप्लव फुटेर अहिले नेकपा कम्युनिष्ट पार्टी नेकपा चलाइरहेका छन् । तर, विप्लव नेतृत्वको नेकपा पनि फुटेर धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत गठन गरेका छन् ।

    पहिलो संविधानसभाको निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी दोस्रो संविधानसभाको निर्वाचनपछि निरन्तर ओरालो यात्रामा छ । अहिले तेस्रो तर निर्णायक शक्तिको रूपमा आफूलाई स्थापित गर्न सफल भएपनि एक्लै चुनावमा जानसक्ने अवस्थामा छैन ।

    यस्तै, माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले पनि २०७२ असोज ९ मा माओवादी छाडे । त्यसपछि नयाँ शक्ति, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी अहिले प्रचण्डसँग पुनः पार्टी एकता गर्ने अन्तिम तयारीमा छन् ।

    यस्तै, प्रचण्डबाट गोपाल किरातीले पनि अलग भएर नेकपा माओवादी केन्द्र गठन गरे । तर, एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएपछि नेकपा माओवादी समाजवादी गठन गरे । तर, अहिले त्यो पार्टी कणजित बुढाथोकीले कब्जा गरे ।

    किरातीलाई बुढाथोकीले पार्टीबाट निष्कासन गरेपछि अहिले कुनै पार्टीमा आबद्ध भएका छैनन् । किराती प्रचण्डले माओवादीलाई एमालेसँग मिसाउन लगेपछि असन्तुष्टि भएर पार्टीबाहिरै बसेका थिए ।

    यस्तै, प्रचण्डले एमालेसँगको एकतमा पनि आफ्ना जनयुद्धका सहयात्रीलाई गुमाउन पुगे । एकता भंग भएपछि बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रमुख शाहलगायत नेताहरू एमालेमै बसे ।

    त्यस्तै, माओवादीबाट अलग भएका प्रभु साहले पनि हालै आम जनता पार्टी गठन गरेका छन् । विश्वभक्त दुलाल ‘आहुती’ भने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका छन् ।

  • द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन : शक्ति बस्नेत

    द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन : शक्ति बस्नेत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुंगिनुपर्नेमा जोड दिएका छन् ।

    द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता भएपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले अदालतमा गइसकेको विषय भएकाले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म बजोजिम हेर्ने विश्वास जनाए ।

    उनले भने, ‘यसलाई रेगुलर कोटको विषय बनाउँदा शान्ति प्रक्रियाको निरन्तरता पाउँछ कि पाउँदैन ? शान्ति प्रक्रिया सम्मान हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ । विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालका न्यायिक निरुपणको पक्षलाई संक्रमणकालीन न्यायको पक्षमा राखेको छ ।’

    व्यवहारिक र विषयवस्तुको हिसाबले पनि संक्रमणकालीन न्यायको विषय संविधान र विस्तृत शान्ति सम्झौताअनुसार समाधान हुनुपर्ने तर्क राखे ।

    ‘विस्तृत शान्ति सम्झौतको हस्ताक्षरकर्तामध्येको एकजनालाई द्वन्द्वकालकै इस्युमा फौजदारी अभियोगको बाटोमा हिँड्दाखेरी शान्तिप्रक्रिया कायम रहँदैन’ नेता बस्नेतको भनाई छ ।

    उनले शान्ति प्रक्रियालाई टुंग्याउन केही ढिलाइ भएपनि अब छिट्टै टुंग्याउन लागिरहेको बताए ।

  • हिमाल शर्माको चुनौती- म पनि राज्यविरुद्ध मुद्दा हाल्न जाउँ ?

    हिमाल शर्माको चुनौती- म पनि राज्यविरुद्ध मुद्दा हाल्न जाउँ ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दायर भएपछि माओवादी नेता हिमाल शर्माले आफू पनि जनयुद्धको घटनालाई लिएर अदालत जान सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू पनि द्वन्द्वकालमा राज्यपक्षबाट पीडित भएकाले मुद्दा हाल्न सक्ने बताएका हुन् ।

    शर्माका अनुसार उनलाई द्वन्द्वकालमा राज्यले २७ महिना गैरन्यायिक ढंगबाट वेपत्ता बनाइ चरम यातना दिएको थियो । आफूसँगै लामो समय भैरवनाथ गणको सैनिक हिरासतमा रहेका ४९ बन्दीहरुलाई २०६० सालमा शिवपुरीको जंगलमा एउटै चिहान बनाएर हत्या गरिएको उनको दावी छ ।

    ‘यो विषयलाई लिएर संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालयले एउटा प्रतिवेदन निकालेपछि बाँचेका मध्ये एउटा जिउँदो साक्षीको हैसियतले म लगायत कृष्ण केसी, बिना मगरसमेतले सर्वोच्च अदालतमा व्यक्ति नै तोकेर किटानी जाहेरी दिएका थियौं । राज्यद्वारा बेपत्ता परिएका व्यक्तिका परिवारजनले हिरासतमा लिइएका आफ्ना परिवारलाई हालसम्म बेपत्ता बनाएको र स्थिति सार्वजनीक गर्न भन्दै उजुरी दर्ता पनि गरिएका थिए’, उनले लेखेका छन् ।

    तर अदालतले संक्रमणकालीन न्याय र २०६३ मंसिर ५ गतेको बृहत शान्ति सम्झौता बमोजिम यो मुद्दा सत्यनिरुपण आयोग तथा बेपत्ता नागरिक छानविन आयोगको क्षेत्राधिकारभित्र पर्ने भनेर मुद्दा चलाउन नमानेको शर्माले बताएका छन् ।

    ‘कुरो ठीकै ठानेर हामी र बेपत्ता परिवारजनले पनि चित्त बुझाएर आयोगको प्रतिवेदन कुरिरहेका छौ ! तर, यतिवेला सर्वोच्च अदालतले राजनीति गरिरहेको छ,’ उनी लेख्छन् ।

    ‘खवरदार ! शान्ति सम्झौता उलंघन गर्ने षड्यन्त्र हुँदैछ ! मुलुकलाई अरु द्वन्द्व र अस्थिरतातर्फ धकेल्न खोजिँदैछ ! कमरेड प्रचण्डको अभिव्यक्ती भनेको युद्दरत दुई पक्षमध्ये राज्य पक्षबाट झन् ठुलो क्षति भएको अवस्थामा एक–अर्कामा दोषारोपरणले मात्र समस्याको समाधान हुदैन भन्न खोज्नु भएको राजनीतिक विषयलाई अतिरञ्जित गर्नुको कुनै तुक छैन !’

    शर्माले यस समस्यालाई वृहत शान्ति सम्झौता बमोजिम सत्य निरुपण र बेपत्ता छानबिन तथा मेलमिलाप आयोगको प्रतिवेदन मार्फत यथासक्य चाडो समाधान गर्नुको विकल्प नरहेको बताएका छन् ।

     

     

  • शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरु भयो: सञ्चारमन्त्री शर्मा

    शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरु भयो: सञ्चारमन्त्री शर्मा

    धादिङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन् । उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारिन् ।

    धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै उनले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्याउने बताइन् ।

    अघिल्लो संसद्मा विधेयक पेस भए पनि टुङ्गोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले सङ्क्रमणकालीन न्यायको काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ ।

    शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरु भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रूपमा भन्दा शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर निष्कर्षमा पुर्याउनुपर्ने बताइन् ।

    एक अर्को प्रसङ्गमा राजनीतिक, सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँ–गाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन् महत्वपूर्ण रहेको बताइन् ।

    युनेस्कोको सहयोगमा रेडियो धादिङले आयोजना गरेको सम्मेलनमा देशभरिका सामुदायिक रेडियोबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ । सम्मेलनमा पाँचवटा शीर्षकमा प्यानल छलफल हुने आयोजक रेडियो धादिङका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।

  • माओवादी घटकको निष्कर्ष- प्रचण्डविरुद्धको मुद्दा षड्यन्त्रमुलक

    माओवादी घटकको निष्कर्ष- प्रचण्डविरुद्धको मुद्दा षड्यन्त्रमुलक

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध ल्याइएको मुद्दा षड्यन्त्रमुलक ढंगबाट ल्याएको माओवादी घटकले निष्कर्ष निकालेको छ ।

    बालुवाटारमा बिहान बसेको माओवादी घटकका ८ दलको बैठकले यो मुद्दा प्रचण्डविरुद्ध मात्रै ल्याएको नभएको निष्कर्ष निकालेको हो ।

    अहिले अदालतमा दर्ता भएको मुद्दा प्रचण्डविरुद्ध मात्रै नभएको बैठकले निष्कर्ष निकालेको नेकपा बहुमतको नेता हेमन्त प्रकाश वली बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘यो मुद्दा जुन षड्यन्त्रको साथ आएको छ । अहिले प्रचण्डजीविरुद्ध भएको मुद्दा शान्ति सम्झौता विपरीत भयो । त्यसकारण संक्रमणकालीन मुद्दा सत्य निरुपण मेलमिलाप आयोगबाट समस्याको समाधान गर्नुपर्नेमा अदालतमार्फत् अघि बढाउन खोजेको छ। हामी त्यसका विरुद्ध एकजुट छौं ।’

    द्वन्द्वकालीन मुद्दा अदालतमा जानु गलत भएको उनको भनाइ छ ।

    उनले भने, ‘यो विशुद्ध उहाँ (प्रचण्ड)माथि मात्रै भएन। समग्र माओवादी आन्दोलनकै समस्या भयो। भन्नेखालको बिहानको बैठकमा पनि कुरा भएको छ ।’

    बालुवाटार बैठकमा प्रचण्डसहित नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली सहभागी थिए ।

    यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, र माओवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल सहभागी थिए ।

     

  • प्रचण्डविरुद्ध दुईवटा रिट- जनयुद्ध माओवादीले सुरू गरेको हो, १७ हजारकै जिम्मा लिनुपर्छ (भिडिओ)

    प्रचण्डविरुद्ध दुईवटा रिट- जनयुद्ध माओवादीले सुरू गरेको हो, १७ हजारकै जिम्मा लिनुपर्छ (भिडिओ)

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोगमा कारबाही हुनुपर्ने मागसहित मंगलबार सर्वोच्च अदालतमा २ वटा रिट दर्ता भएको छ ।

    सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट दर्ता गर्न आदेश भएपछि ती दुवै रिट दर्ता भएका हुन् ।

    प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका हुन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

    रिट दायरकर्ता कल्याण बुढाथोकीले युद्धको नियमविपरीतको काम भएकाले त्यसको विरोधमा मुद्दा दर्ता गरिएको बताए ।

    अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका विषयमा देखिएका समस्या समाधानका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताए ।

    अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले पीडितलाई न्याय दिलाउनका लागि पहल गरिएको बताए ।

    प्रचण्डले २०७६ माघ १ गते माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको आफूले जिम्मा लिने बताएका थिए । त्यही साबिती बयानलाई आधार मानेर मंगलबार रिट दायर गरिएको हो ।

    यसअघि सर्वोच्च अदालतले शुक्रबार जनयुद्धसँग सम्बन्धित फौजदारी कसुरको निरुपण १६ वर्षसम्म नभएको भन्दै पीडितहरूले न्याय पाउने बाटो बन्द गर्न नहुने भन्दै रिट दर्ता गर्न आदेश दिएको थियो । संक्रमणकालीन न्यायलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत टुंगो लगाउने भनिएपनि ती दुवै आयोग प्रभावहीन रहेको र आफूहरू न्याय पाउने अधिकारबाट वञ्चित भएको भन्दै गत कात्तिकमा जनयुद्धबाट विस्थापित र मारिएकाका आफन्तहरू प्रचण्डलाई फौजदारी कसुरमा कारबाही हुनुपर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

    द्वन्द्वपीडित परिवारले आफूलाई मर्का परेको विषयमा निवेदन दिएमा मागलाई प्रभावकारीरूपमा सम्बोधन गर्नू भनी सर्वोच्च अदालतले २०७८ फागुन १ गते फैसला गरेपनि वेवस्था गरिएको रिट निवेदनमा उल्लेख छ ।

    ‘सरकारले हाम्रा माग सम्बोधन गर्न उदासीनता देखाएकाले हामी सम्मानित अदालतसमक्ष रिट निवेदन दायर गर्न आएका हौँ । हामी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ को परिभाषा भित्र पर्ने माओवादी पिडित हौँ ‘, रिटमा भनिएको छ, ‘न्यायिक अभियानको दौरानमा पिडकको पहिचान गर्न कठिनाई भइरहेको थियो । तर मिति २०७६ माघ १ गतेका दिन काठमाडौंको खुलामन्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विपक्षी पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा नेकपा माओवादिबाट मारिएका/हत्या गरिएका ५ हजार व्यक्तिको जिम्मा लिए । बाँकी १२ हजार व्यक्तिको जिम्मा तत्कालीन राज्यपक्षले लिनुपर्ने जिकिर गरे । स्मरण रहोस् द्वन्द्वको सुरुवात नेकपा माओवादीले गरेको थियो । तसर्थ द्वन्द्वकालमा भएका सम्पूर्ण धनजन क्षतिको जिम्मा पुष्पकमल दाहालले नै लिनुपर्छ ।’

    हेर्नुस् दुवै रिटको पूर्णपाठ

  • प्रचण्डविरुद्ध आफ्ना कार्यकर्ताले लगेको रिटबारे कांग्रेसको चासो, के भने रमेश लेखक र कान्छारामले ?

    प्रचण्डविरुद्ध आफ्ना कार्यकर्ताले लगेको रिटबारे कांग्रेसको चासो, के भने रमेश लेखक र कान्छारामले ?

    काठमाडौं । गत शुक्रबारदेखि मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएका कांग्रेस महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता ज्ञानेन्द्रराज आरण मंगलबार मध्यान्ह एकैचोटी सर्वोच्च अदालत परिसरमा देखिए ।

    उनी सम्पर्कविहीन हुनुको कारण थियो, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता नगर्न पार्टी नेतृत्वले दिएको निरन्तर दबाब । बागमती प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप पुरानागाउँका आरण प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक हुन् ।

    आरणलाई सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शान्ति प्रक्रियामा असर पर्ने र राष्ट्रपति चुनावमै माओवादीको भोट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई आउनबाट बिथोलिने भन्दै रिट दर्ता नगर्न भनेका थिए ।

    लेखकले पटक-पटक आग्रह गरेपछि अर्का रिट निवेदक रामेछापकै कांग्रेस महाधिवेशन प्रतिनिधि जीतेन्द्र मोक्तान भने लचिलो भएका थिए । तर, आरण भने सम्पर्कबाहिर रहेर एकैपटक मंगलबार रिट दर्ता भएपछि पत्रकारसामु उपस्थित भए ।

    पार्टीले केन्द्रबाट मात्र नभएर जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङमार्फत पनि आरण र मोक्तानलगायत कांग्रेस कार्यकर्तालाई रिट दर्ता नगर्न भनेको थियो । कान्छारामको दबाब थेग्न नसकेर जीतेन्द्र जिल्लाकै एक बिहे कार्यक्रममा समेत कान्छाराम भेट हुने भएपछि निम्ता छलेर बसेको बताइन्छ ।

    नेपाल प्रेसकर्मी उमेश कार्कीको प्रश्नमा आरणले आफूलाई पार्टीबाट सोधपुछ भएको स्वीकार गरे । उनले आफूहरु पीडित भएकाले रिट दर्ता गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

    आरणले भने, ‘रमेश लेखकले कस्तो खाले रिट हो ? शान्ति प्रक्रियालाई असर पर्नसक्छ कि भनेर सोध्नुभएको थियो । तर, रिट दर्ता गर्दै नगर भन्नुभएन । सामान्य कस्तो खाले रिट हो भनेर सोधेको हो । कान्छारामले पनि त्यस्तै त्यस्तै भन्नुभएको हो ।’

    रिट निवदेक आरणले मुद्दा दर्ता भएसँगै प्रचण्ड अब अभियुक्त भएको भन्दै प्रधानमन्त्री पदमा रहन नमिल्ने बताए ।

    आरणसहित ३३ वटा रिट सर्वोच्चमा प्रचण्डविरुद्ध दर्ता भएका छन् ।

  • गणतन्त्रपछि पहिलोपटक राज्यका प्रमुख संवैधानिक पदमा एकल जातीय वर्चश्व

    गणतन्त्रपछि पहिलोपटक राज्यका प्रमुख संवैधानिक पदमा एकल जातीय वर्चश्व

    काठमाडौं । जातीय पहिचान र समावेशी राज्यको लागि १० वर्ष जनयुद्ध लडेको माओवादी र समावेशी तथा पहिचानसहितको संघीयताका लागि लडेका मधेशवादीसहितको ९ दलीय गठबन्धनले राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई अघि सार्दै गर्दा गणतन्त्र स्थापनापछि पहिलोपटक मुलुकका सबै प्रमुख संवैधानिक पदमा एकल जातीय वर्चश्व स्थापित हुँदैछ ।

    गणतन्त्रको सुरूवात भएको डेढ दशक पुग्दैछ । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे । १० वर्षे जनयुद्धपछि २०६२-६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनपछि २०६३ सालमा अन्तरिम संविधान जारी भयो । त्यसपछि २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन भएपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्‍यो ।

    लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको करिव डेढ दशकको अवधिमा राज्यका प्रमुख ५ वटा संवैधानिक पदमा कुनै न कुनै रूपमा समावेशी अभ्यास भएको थियो । यदि राष्टपतिका पौडेल निर्वाचित भए भने १५ वर्षपछि पहिलोपटक प्रमुख संवैधानिक पद राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभाका अध्यक्षमा खस आर्य समुदायको वर्चश्व पुन:स्थापित हुनेछ ।

    डा. रामवरण यादव पहिलो राष्ट्रपति

    संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति निर्वाचित गरेको थियो । पूर्वराष्ट्रपति यादवले संयोगले मधेशी समुदायबाट नेपालको इतिहासमा पहिलोपटक राष्ट्रपति बन्ने मौका पाए ।

    तत्कालीन नेपाली कांग्रेसका महामन्त्री यादवलाई कांग्रेसले पराजित हुने अवस्था ठानेर उम्मेदवार बनाएको थियो । संसदमा सबैभन्दा बढी सीट ल्याएर माओवादी पहिलो दल भएकाले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामराजाप्रसाद सिंह निर्वाचित हुने पक्काजस्तै थियो ।

    एमालेले पनि आफु पराजित हुने अवस्था देखेपछि राष्ट्रपतिमा मधेशी दलित समुदायबाट रामप्रित पास्वानलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर, अन्तिममा आएर माओवादी र केहि मधेशी दल एकातिर र कांग्रेस, एमाले लगायतका केही मधेवादी दल अर्कोतिर समीकरण बनाउन पुगे । एमालेले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार यादवलाई समर्थन गरेर सभामुखमा सुवासचन्द्र नेम्वाङलाई साझा उम्मेदवार बनाएपछि यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    पहिलो महिला राष्ट्रपति

    त्यसपछि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनिन् । भण्डारी पहिलो महिला राष्ट्रपति एवं देशमा नयां संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । राष्ट्रपति भण्डारी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् ।

    उनी २०७२ साल कात्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुन् । भण्डारीसँग नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ उम्मेदवार बनेका थिए ।

    भण्डारीले संविधानसभाका ३२७ मत प्राप्त गर्दा गुरुङले २१४ मत प्राप्त गरेका थिए । भण्डारीलाई एमालेका साथै माओवादी, राप्रपा नेपाल, तत्कालीन फोरम लोकतान्त्रिकलगायतका दलको समर्थन थियो भने गुरुङलाई कांग्रेसबाहेक केही साना दलकोमात्रै समर्थन थियो । दोस्रो पटक राष्ट्रपति निर्वाचनमा पनि कांग्रेसले पराजित हुने सुनिश्चित देखेपछि आदिवासी जनजातिबाट गुरुङलाई उम्मेदवार बनाएको थियो ।

    पराजय सुनिश्चित हुँदा सीमान्तकृत उम्मेदवार

    भण्डारी पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भइन् । भण्डारीलाई नेकपा (एमाले) सहित, नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धन समर्थन थियो । भण्डारी दुईतिहाइ बहुमतले राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

    जब भण्डारी निर्वाचित हुने सुनिश्चित भइसकेपछि र नेपाली कांग्रेसले आफ्नो पराजित हुने सुनिश्चित देखेपछि कुमारीलक्ष्मी राईलाई उम्मेदवार उठाएको थियो । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुईतिहाइ बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सांसद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

    कांग्रेस उम्मेदवार राईले भने ११ हजार ७३० मत पाएकी थिइन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका थिए । फागुन ३० गतेदेखि दोस्रो कार्यकाल राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी छन् । उनी महिला भए पनि खस आर्य समुदायको प्रतिनिधित्व गर्छिन् ।

    सुवासलाई कमजोर गणित

    फागुन २५ गते कार्यकालका हिसाबले चौथो तर, व्यक्तिका हिसाबले तेस्रो राष्ट्रपतिको निर्वाचन हुँदैछ । फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा (एमाले) बाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    पराजित हुने अवस्थामा दलित, महिला, आदिवासी जनजाति मुस्लिम तथा अल्पसंख्यक समुदायको व्यक्तिलाई उम्मेदवार बनाउने कांग्रेसले यस पटक निर्वाचित हुने सुनिश्चित देखेपछि खस आर्य समुदायबाट प्रतिनिधित्व गर्ने पौडेललाई उम्मेदवार बनाएको छ । संयोगबस नेकपा (एमाले) ले भने आदिवासी जनजाति समुदायबाट नेम्वाङलाई उम्मेदवार बनाएको छ । यद्यपि नेम्वाङ पराजित हुने अवस्थामा मात्र होइन जित्ने अवस्थामा पनि एमालेबाट राष्ट्रपतिका प्रमुख दाबेदार थिए ।

    प्रधानमन्त्री सबै खसआर्य

    आधुनिक नेपालको इतिहास हेर्ने हो भने तत्कालीन काजी, मुख्तियार, चौतरिया र प्रधानमन्त्री जे भने पनि सरकार प्रमुखको जिम्मेवारी पाएकाहरूमध्ये मरिचमान सिंह श्रेष्ठलाई अपवाद मान्ने हो भने सबै खसआर्य बाटै भएका छन् ।

    लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा मात्रै १३ जना प्रधानमन्त्री भइसकेका छन् । जसमा नेकपा (माओवादी केन्द्र) बाट ४ पटक, नेपाली कांग्रेसबाट ४ पटक र नेकपा (एमाले) बाट पनि ४ पटक र एक पटक भने चुनावी मन्त्रिपरिषद् अध्यक्ष तत्कालीन प्रधानन्यायाधीश प्रधानमन्त्री भइसकेका छन् ।

    माओवादीबाट ४ पटक प्रधानमन्त्री बन्दा ३ पटक अहिलेकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एक पटक डा. बाबुराम भट्टराई गरेर ४ पटक नै खस आर्यबाट प्रधानमन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट ४ पटक प्रधानमन्त्री हुदाँ दुई पटक पार्टी सभापति शेरबहादुर देउवा र एक/एक पटक स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला प्रधानमन्त्री भइसकेका छन् ।

    उनीहरू ३ जना नै खस आर्य समुदायबाट प्रतिनिधित्व गर्छन् । नेकपा (एमाले) बाट पनि ४ जना प्रधानमन्त्री बन्दा २ पटक पार्टी अध्यक्ष केपी शर्मा ओली र एक/एक पटक तत्कालीन एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका छन् । उनीहरू ३ जना नै खस आर्यबाट प्रतिनिधित्व गर्छन । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रूपमा प्रधानमन्त्री नियुक्त भएका खिलराज रेग्मी । उनी पनि खस आर्यबाटै प्रतिनिधित्व गर्छन् ।

    यी हुन लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका १३ जना प्रधानमन्त्री

    गिरिजाप्रसाद कोइराला-२०६३ वैशाख १२ गते

    पुष्पकमल दाहाल ‘प्रचण्ड’-२०६५ भदौ २० गते

    माधवकुमार नेपाल-२०६६ जेठ ११ गते

    झलनाथ खनाल-२०६७ माघ २३ गते

    डा. बाबुराम भट्टराई-२०६८ भदौ १२ गते

    खिलराज रेग्मी-अन्तरिम चुनावी मन्त्रिपरिषद् २०६९

    सुशील कोइराला-२०७० माघ २९ गते

    केपी शर्मा ओली-२०७२ असोज २५ गते

    पुष्पकमल दाहाल-‘प्रचण्ड’ २०७३ साउन २० गते

    शेरबहादुर देउवा-२०७४

    केपी शर्मा ओली-२०७४ असोज ३१

    शेरबहादुर देउवा-२०७८

    पुष्पकमल दाहाल ‘प्रचण्ड’-२०७९ पुस ११

    न्यायपालिकामा अलि फरक

    लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिदेखि अहिलेसम्म न्यायपालिकाको प्रमुख पदमा रूपमा रहेको संवैधानिक पद प्रधानन्यायाधीशमा १३ जना नियुक्त भइसकेका छन् । १३ जनामा करिब ७७ प्रतिशत अर्थात १० जना खस आर्य समुदायबाटै भएका छन् ।

    बाँकी ३ जनामा २ जना आदिवासी जनजातिबाट र एक जना मधेशी समुदायबाट प्रधानन्यायाधीश बनेका छन् ।

    आदिवासी जनजातिबाट रामप्रसाद श्रेष्ठ र कल्याण श्रेष्ठ प्रधानन्यायाधीश बनेका हुन् भने मधेशी समुदायबाट ओमप्रकाश मिश्र बनेका हुन् । संयोगले १० जना खस आर्यबाट प्रधानन्यायाधीश बन्दा एकजना महिला सुशिला कार्की प्रधानन्यायाधीश परिन् ।

    पहिलो महिला प्रधानन्यायाधीश कार्कीमाथि नेपाली कांग्रेस र माओवादीले महाअभियोगको प्रस्ताव संसदमा पेश गरेका थिए । यद्यपि महाअभियोगको प्रस्ताव पास हुन सकेन् ।

    संविधानसभा अध्यक्ष र सभामुख समावेशी

    गणतन्त्र स्थापनापछि नै संविधान सभाको अध्यक्षदेखि प्रतिनिधिसभाका समाभुखसम्म ५ जना निर्वाचित भइसकेका छन् । ५ जनामा ३ जना नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भए भने २ जना नेकपा (एमाले बाट निर्वाचित भएका छन् ।

    माओवादीले ३ जनालाई संविधानसभाको अध्यक्ष र सभामुख बनाउँदा एकजना आदिवासी जनजाति महिला ओनसरी घर्ती संविधानसभा अध्यक्ष भए पनि बाँकी २ जना सभामुख कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा भने खस आर्यबाटै बने ।

    महिलाबाट पहिलो सभामुख बनेकी घर्ती आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्छिन । एमालेले भने दुवै संविधानसभाको अध्यक्ष,पुनस्र्थापित संसद, अन्तरिम व्यवस्थापिका संसदको सभामुख आदिवासी जानजाति समुदायबाट प्रतिनिधित्व गर्ने सुवासचन्द्र नेम्वाङलाई बनायो । भर्खरैमात्र सभामुखमा खस आर्यबाट देवराज घिमिरेलाई बनाएको छ ।

    तत्कालीन सत्ता गठबन्धनले नेकपा एमालेबाट देवराज घिमिरेलाई सभामुख उठाउँदा उनी निर्वाचित हुने सुनिश्चित भएको अवस्थामा नेपाली कांग्रेसले महिला सांसद इश्वरी न्यौपानेलाई उम्मेदवार उठाएर आफूलाई समावेशी देखाउने प्रयास गर्‍यो । तर, कांग्रेसले निर्वाचित हुने अवस्थामा भने भने पुरुष त्यसमा पनि खस आर्यकै उम्मेदवार मात्रै उठाउने गरेको छ ।

    जसको उदाहरण अहिले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई नै लिन सकिन्छ । घिमिरेभन्दा अघिका सभामुख अग्नि सापकोटा, कृष्णबहादुर महरा, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए ।

    गणतन्त्र स्थापनापछिका संविधानसभाका अध्यक्षदेखि सभामुखसम्म

    सुवास नेम्वाङ-नेकपा (एमाले) (संविधानसभा अध्यक्ष)

    ओनसरी घर्ती-नेकपा (माओवादी केन्द्र)

    कृष्णबहादुर महरा-नेकपा (माओवादी केन्द्र)

    अग्नी सापकोटा-नेकपा (माओवादी केन्द्र)

    देवराज घिमिरे-नेकपा (एमाले)

    गणतन्त्रपछि राष्ट्रियसभाको अध्यक्ष भने अहिलेसम्म एकजना बनेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०७२ सालमा संविधान जारी भएर २०७४ सालमा पहिलो पटक भएको राष्ट्रियसभाको निर्वाचनपछि गठन भएको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (एमाले)बाट गणेशप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित भएका छन् ।

    गणतन्त्रपछि अब पहिलोपटक सबै मुख्य संवैधानिक पदमा खस आर्यको मात्र वर्चश्व हुँदैछ । समावेशीताको वाहक दाबी गर्ने माओवादी र मधेसवादीहरू नै एकल जातीय वर्चश्व स्थापित गराउने निर्णायक ठाउँमा छन् । यदि उनीहरू समावेशी राज्य साँच्चिकै चाहन्थे भने एमालेबाट नेम्वाङ उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आदिवासी जनजाति, मधेसी, दलित वा महिला उम्मेदवार बनाउन दबाब दिन सक्थे ।

    राजनीतिक कारण कांग्रेसलाई समर्थन गर्ने बाध्यता भए पनि समावेशी राज्यको अनुहार देखाउन उनीहरूले हिजो हार्ने बेला उम्मेदवार बनाइएका केबी गुरुङ, कुमारीलक्ष्मी राई, मानबहादुर विश्वकर्माजस्तालाई उम्मेदवार बनाउन कांग्रेसलाई किन दबाब दिन सकेनन् ? यसबाट पनि समावेशीताको नारा उनीहरूको राजनीतिक रोटी सेकाउने मेलोमात्र थियो भन्ने प्रष्ट हुन्छ । यो अवस्थामा आदिवासी जनजाति र मधेसी सांसदहरूले क्रस भोट गर्ने आशंका उनीहरूमा भएकै कारण कडाइ गर्न थालिएको छ ।

  • प्रचण्डविरुद्ध रिटको पेसी तोकियो, राष्ट्रपति चुनावकै दिन पहिलो सुनुवाइ

    प्रचण्डविरुद्ध रिटको पेसी तोकियो, राष्ट्रपति चुनावकै दिन पहिलो सुनुवाइ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार दायर गरिएको रिटको पेसी तोकिएको छ ।

    प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिटको पेसी बिहीबार तोकिएको हो ।

    जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जना छन् ।

    उक्त रिट उपर पहिलो सुनुवाइ २५ गतेलाई तोकिएको छ । राष्ट्रपति चुनावकै दिन सुनुवाइ हुन लागेको हो ।

    यसअघि शुक्रबार सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश दिइएको थियो ।

  • प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन

    प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन

    काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

    २८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो।

    त्यसपछि निवेदकहरूको रिट दर्ता भएको हो।

  • सरकारसँग प्रधानमन्त्री प्रचण्डको ‘जोडदार माग’- शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइयोस् (भिडिओ)

    सरकारसँग प्रधानमन्त्री प्रचण्डको ‘जोडदार माग’- शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाइयोस् (भिडिओ)

    काठमाडौं । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिट दर्ता गर्न सर्वोच्चमा आदेश दिइएसँगै माओवादी वृत्तमा तरंग छाएको छ ।

    पछिल्लो समय विभिन्न समूहमा छिन्नभिन्न भएका माओवादी नेताहरू विकसित राजनीतिक घटनाक्रमसँगै एकस्वर गरिरहेका छन् । त्यसैअनुरुप आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी घटकका ८ दल भेला भए । उक्त बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको एकमतले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकले राज्यसँग विभिन्न समयमा भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ । बैठकपछि ८ नेताको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकारसँग माग गरिएको छ । जबकि हस्ताक्षरकर्तामध्येका एक प्रचण्ड स्वयं अहिले प्रधानमन्त्रीको कुर्सीमा छन् । वक्तव्यमा पनि प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा हस्ताक्षर गरेका छन् । शान्ति प्रक्रियापश्चात प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

    ‘संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ‘, विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेसपाका डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, संयोजक, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, र माओवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले संयुक्त हस्ताक्षर गरेका छन् ।

  • प्रचण्डमाथि मुद्दाको पराकम्प : बालुवाटारबाट माओवादीका ८ घटकले भने- एकमतले प्रतिवाद गर्छौं

    प्रचण्डमाथि मुद्दाको पराकम्प : बालुवाटारबाट माओवादीका ८ घटकले भने- एकमतले प्रतिवाद गर्छौं

    काठमाडौं । माओवादी धारका नेताहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकमतले प्रतिवाद गर्ने प्रण गरेका छन् ।

    प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी धारका नेताको बालुवाटारमा बसेको संयुक्त बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

    शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न संयुक्त बैठकले सरकारसमक्ष मागसमेत गरेको छ ।

    ‘संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारबाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं’, बालुवाटार बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ’ ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं ।’

    प्रधानमन्त्री प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजारजनाको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ताको माग गरेका छन् ।

    बालुवाटार बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेता सहभागी थिए ।

  • बालुवाटारमा माओवादी धारका नेताहरू भेला

    बालुवाटारमा माओवादी धारका नेताहरू भेला

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरू भेला भएका छन् ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी छन् ।

    यसअघि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा आइतबार यी नेताहरु एउटै मञ्चमा देखा परेका थिए ।

    बैठकमा पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका चर्चा लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

    प्रधानमन्त्री प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर अभिव्यक्ति दिएपछि  अहिले सर्वाेच्चमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

    प्रचण्डको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका छन् ।

    त्यसपछि माओवादी धारका नेताहरू आक्रोशित बनेका छन् ।

  • उपाध्यायप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड नेकपा एसको कार्यालयमा

    उपाध्यायप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री प्रचण्ड नेकपा एसको कार्यालयमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ एवं सोही पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एस पार्टी कार्यालयमा पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आलोकनगरस्थित एसको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय पुगेका छन् ।

    गएको शनिबार शंखमूलस्थित एक रेस्टुरेन्टको छैटौं तलाबाट खसेर घाइते भएका उपाध्यायको निधन भएको थियो । नेकपा एसको केन्द्रीय सदस्य उनी पार्टीको विज्ञान तथा प्रविधि विभाग प्रमुख पनि हुन् ।

  • माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोजेको उच्च बारको आरोप, देव गुरुङको विज्ञप्तिको भर्त्सना

    माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोजेको उच्च बारको आरोप, देव गुरुङको विज्ञप्तिको भर्त्सना

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादी पार्टीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको छ ।

    उच्च बारका सचिव रवीन्द्रकुमार ढुंगानाले विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको भन्दै भर्त्सना गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘राज्य संचालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवं शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भर्त्सना गर्दछौं ।’

    माओवादी महासचिव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै बसेको ९ दलीय सत्ता गठबन्धनको बैठकले पनि अदालतलाई धम्की दिने हिसाबले विज्ञप्ति जारी गरेको थियो ।

  • ‘शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमति गरौं भन्दा एमाले तयार भएन’

    ‘शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमति गरौं भन्दा एमाले तयार भएन’

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट निर्वाचन लडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफ्नो बटमलाइन भएको बताएपछि एक्कासि एमालेसहितको ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बने । प्रतिनिधिसभाका ९९ प्रतिशत सांसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले एमालेसहित ७ दलबाट मन्त्रिमण्डल पनि पूर्ण रुपमा विस्तार गरेका थिए । तर, प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अभिव्यक्ति दिए ।

    एमालेले तत्कालीन ७ दलीय गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार नै राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने अडान लियो । अन्ततः प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको २ महिनापछि नेपाली कांग्रेससहितको पुरानै ८ दलीय गठबन्धनलाई ब्युँताए । प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवारका रुपमा अघि सारे । त्यसपछि जनमत पार्टीबाहेक एमाले, राप्रपा, रास्वपाले सरकार छोडिसकेका छन् ।

    एउटा गठबन्धनबाट प्रधानमन्त्री हुने र विश्वासको मत लिने तर, बीचमै अर्को गठबन्धन निर्माण गरेर राष्ट्रपतिको साझा उम्मेदवार उठाएपछि एमालेले माओवादीलाई ‘धोकेबाज’को संज्ञा दिइरहेको छ । त्यस्तै ५ वर्ष नै प्रधानमन्त्री बन्न माओवादी अध्यक्ष प्रचण्डले पद र सत्ताकै लागि मुद्दा छोडेर जस्तोसुकै निर्णय गर्न पनि तयार हुने गरेको आरोप लगाइएको छ । के माओवादी केन्द्र वा प्रधानमन्त्री प्रचण्डले पद र सत्ताकै लागि गठबन्धन फेरेका हुन् त ? यस्तै विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा:

    – माओवादीले पद र सत्ताकै लागि सत्ता समीकरण बदलेको हो ?

    पहिलो कुरा, हामीले गएको निर्वाचनमा जुन जनादेश प्राप्त गरेका छौं, त्यसमा ध्यान दिनुपर्छ । जनादेश हेर्दा कुनै एउटा दललाई बहुमत छैन । त्रिशंकुको संसद छ । ेको संसदलाई पूरै ५ वर्ष पुर्‍याउन सक्यौं भने हाम्रा लागि ठूलो सफलता हुन्छ ।

    माओवादी परिवर्तनको एउटा महत्वपूर्ण शक्ति भएको कारणले संविधानको रक्षा, अहिलेसम्मका उपलब्धिको जगेर्ना, लोकतान्त्रिक प्रणालीलाई अघि बढाउनुपर्ने मुख्य जिम्मेवारी हाम्रो काँधमा छ ।

    अर्को, विकास निर्माणका काम एकदमै पछाडि छ । पटक-पटक सरकार परिवर्तन भएको कुरा जनतालाई मनपरेको छैन । सरकारको स्थायित्वको कुरा खोजिएको छ । सरकारलाई स्थिरताको दिशातिर लैजानुपर्ने अहिलेको आवश्यकता हो । त्यो कोणबाट अगाडि बढाउनु अहिले बनेको सरकारको काँधमा निकै महत्वपूर्ण कार्यभार छ ।

    हामीले भू-राजनीतिलाई पनि ध्यान दिनुपर्छ । नेपाली राजनीतिमा अस्थिरता चाहने र यहाँ खेल्न खोज्ने क्रीडास्थल बनाउन खोज्ने बाह्य शक्तिको चलखेल पनि छ । त्यो अवस्थामा देशभित्रका शक्तिको बीचमा पनि एक खालको सहमति र अरु कुरा बाह्य शक्तिसँग पनि सन्तुलन कायम गर्नुपर्ने अहिलेको आवश्यकता हो । वास्तवमा हामीले ठूलो युगान्तकारी परिवर्तन त गर्‍यौं । तर, जनताले परिवर्तनको अनुभूति हुने गरी काम गरेका छैनौं । यो कोणबाट अहिलेको विभाजित जनादेशलाई अगाडि बढाउन एउटा पक्षमा मात्र उभिएर हल हुनसक्ने देखिएन । त्यसैकारण शक्ति सन्तुलन कायम हुने गरेर राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔं, मिलेर काम गरौं भनेर हामीले भन्यौं । त्यसमा एमाले अघि बढ्न तयार भएन । त्यसैले हामीले यो ८ दलीय मोर्चा गठन गर्नुपरेको हो । यसमार्फत हामी नयाँ ढंगले शक्ति सन्तुलनको बाटोमा जाँदैछौं ।

    – राष्ट्रिय सहमतिकै सरकार बनाउन चाहेको भए सुरुमै त्यो कुरा किन उठाउनुभएन ?

    हामीले निर्वाचन गठबन्धनकै आधारमा लडेका हौं । त्योबीच राष्ट्रपति र प्रधानमन्त्रीको सन्दर्भमा नेपाली कांग्रेसले दुबै आफ्नो हो भनेर बटमलाइन अघि सारिसकेपछि हामीले विकल्प खोज्नु एकदमै आवश्यक थियो । माओवादी परिवर्तनको एउटा महत्वपूर्ण शक्ति भएको कारणले संविधानको रक्षा, अहिलेसम्मका उपलब्धिको जगेर्ना, लोकतान्त्रिक प्रणालीलाई अघि बढाउनुपर्ने मुख्य जिम्मेवारी हाम्रो काँधमा छ । यस्तो अवस्थामा एकै ठाउँमा शक्ति केन्द्रित हुन नदिएर अरु शक्तिसँग पनि मिलेर प्रक्रिया अघि बढाउने काम हामीले गर्‍यौं ।

    अब त्यतिवेला पनि जुन ढंगले गठबन्धन बनाएका थियौं, विगतमा वामपन्थीका बीचमा कतिपय कमजोरी भएका थिए । ती पनि सच्चिएलान्, नेकपाको टुटेको कडी जुट्ला, पार्टी एकताका क्रममा भएका कमजोरीलाई आत्मालोचना गरेर गइएला भन्ने लागिरहेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चगामी शक्तिलाई साथमा बोकेर माओवादीलाई प्रयोग गर्ने र आफूलाई शक्तिशाली बनाउने दिशामा हिँडिसकेपछि यो अवस्था आएको हो ।

    अब ९९ प्रतिशत मत प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले प्राप्त गर्नुभएको छ । पदको मात्रै प्रश्न होइन, कमरेड प्रचण्ड यतिवेला राष्ट्रिय आवश्यकताको व्यक्तित्व हो भन्ने कुरा व्यवहारले पुष्टि गरेको छ ।

    – नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको त्यो व्यवहार माओवादीका लागि नयाँ हो र ?

    होइन, पछिल्लो समयमा नयाँ जनादेश आइसकेपछि नयाँ चेत आएको होला र मिलेर जाने प्रक्रिया होला भन्ने हामीलाई लाग्यो । नयाँ गठबन्धन बनेपछि विगतको संसद भंग गरेको कुरा पनि ठीक थियो भनेर संसदमा नै कुरा राखिसकेपछि हाम्रा दूरी कति रहेछन् भन्ने कुरा पनि देखियो । जनयुद्धको सम्बन्धमा २०६२/०६३ मा ऐतिहासिक जनआन्दोलन भयो । जनयुद्धबाट प्राप्त भएको वीरता र बलिदानलाई एउटा उपलब्धि र मूल्यका रुपमा स्थापित गरौं भन्दा हिंसा दिवस भन्ने जस्ता अभिव्यक्ति आए । त्यसैकारण कहिलेकाहीं एउटा रणनीतिक यात्रामा हिँडिरहँदा मिल्न सक्नेसँग मिलेर गइन्छ र त्यहाँ देखिएका अन्तरविरोधलाई समाधान गर्ने कोसिस हुन्छ । त्यो कोसिस गर्दागर्दै पनि एमाले त्यो ढंगले अघि बढेको नदेखिएपछि हामीले यो बाटो पक्रिनु परेको हो ।

    – तर, राजनीतिक दलका लागि मुद्दाभन्दा पनि पद नै प्रमुख हो भन्ने जस्तो देखियो नि ?

    त्यसरी बुझिएको पनि छ । अर्को कोणबाट माओवादीलाई बोकेर राष्ट्रपति, सभामुखलगायका प्रमुख संवैधानिक पद एक ठाउँ वा एक दलमा केन्द्रित गर्ने र त्यसबाट निरंकुशता र अधिनायकवादको बाटोतिर जानसक्ने सम्भावना पनि देखियो भन्ने कोणबाट पनि यसलाई हेरिएको छ नि ! अब ९९ प्रतिशत मत प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले प्राप्त गर्नुभएको छ । पदको मात्रै प्रश्न होइन, कमरेड प्रचण्ड यतिवेला राष्ट्रिय आवश्यकताको व्यक्तित्व हो भन्ने कुरा व्यवहारले पुष्टि गरेको छ ।

    – नेकपा एमालेसँगको समीकरण २ महिना पनि टिकेन । अब कांग्रेसलगायत ८ दलीय गठबन्धनसँग लामै जान्छ कि यसरी नै २ महिनामा टुगिन्छ ?

    होइन, अब यी राजनीतिक शक्तिको चरित्र र प्रवृत्ति हामी सबैले थाहा पाएकै छौं । एकता र संघर्षका प्रक्रियालाई ठीक ढंगले अवलम्बन गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले विगतकै ढंगले सुशासन पनि नदिने र प्रणाली पनि निर्माण नगर्ने, देशको अर्थतन्त्र पनि अगाडि बढ्न नदिने पुरानै भ्रष्टाचारलगायतका प्रवृत्तिलाई दोहोर्‍याइरह्यो भने धेरै लामो जाँदैन । माओवादी पार्टीले पनि यत्रो ठूलो युगान्तकारी परिवर्तनपछि जुन अवसर प्राप्त गरेको छ जनता र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर कामलाई अगाडि बढाउनुपर्छ ।

    एउटा साझा न्यूनतम कार्यक्रम चाहिन्छ । चाहे एमसीसीको सन्दर्भमा हिजो हामीले संसदबाट पास गरेको संकल्प प्रस्तावको प्रश्न होस् वा हाम्रा सीमाका सवाल हुन् अथवा पछिल्लो समय एउटा युवाले संसद भवन अगाडि आत्मदाह गरेर आर्थिक स्थितिको भयावह अवस्था देखाइरहेको छ । यी कुरालाई सम्बोधन गर्ने सम्बन्धमा ८ दलका बीचमा साझा सहमति गर्दै काम गर्‍यौं भने अहिलेका घटना पुनरावृत्ति हुनेछैन । यस अवस्थालाई पनि आशावादी ढंगले हेर्नुपर्छ ।

  • ओलीको टिप्पणी- माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरेको होइन (भिडिओ)

    ओलीको टिप्पणी- माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरेको होइन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरको दाबी गरेका छन् ।

    आइतबार सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए ।

    ‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा ।’

    उनले प्रश्न गर्दै भने, ‘६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’

  • विप्लवको चेतावनी- माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिन्छौं

    विप्लवको चेतावनी- माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिन्छौं

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे ।

    ‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ । यो साचो कुरा हो’, उनले चेतावनी दिँदै भने ।

    उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्‍याउने विप्लवको चेतावनी थियो ।

  • बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम (भिडिओ)

    बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम (भिडिओ)

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।

    प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटप्रति उनले टिप्पणी गरेका हुन् ।

    आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याइएको बताए । पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईको आरोप छ ।

    यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिन उनले आव्हान गरे । त्यसका लागि कार्यगत एकतामा जोड दिए ।

    भट्टराईले भने ‘मैले एउटा मन बनाइसकेको छु, ‘मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ ।
    माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि ।’

    आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरी महसुस गरेर अघि बढ्नु देश र जनताको लागि कल्याणकारी हुने उनको भनाई थियो ।

  • विप्लव र बाबुरामसँग प्रचण्डको आह्वान- माओवादीहरू एक ठाउँमा आए नयाँ यात्रा सुरू गर्न सक्छौँ (भिडिओ)

    विप्लव र बाबुरामसँग प्रचण्डको आह्वान- माओवादीहरू एक ठाउँमा आए नयाँ यात्रा सुरू गर्न सक्छौँ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आह्वान गरेका छन्।

    काठमाडौंमा आयोजित आइतबार शहीद तथा बेपत्ता परिवारको कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरूमाझ प्रचण्डले फेरि एकताबद्ध हुन अपिल गरेका हुन्।

    उनले भने, ‘हामी माओवादी आन्दोलनका सबै धारका प्रतिनिधि उपस्थित भएका छौं। यो सामान्य कुरा होइन। यसले शक्तिशाली सन्देश दिन्छ। अहिले एउटा सामान्य हालमा जुटेर केही कुरा गर्दैछौँ। त्यसको महत्त्व दुरगामी र अर्थपूर्ण छ।’

    उनले माओवादी शक्तिहरू एकताबद्ध हुँदा त्यसको प्रभाव जवर्जस्त प्रभाव हुने बुझेर नै प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेकै बताए।

    उनले भने, ‘हिजो हामीले जनयुद्धको अन्तिम समयमै पनि देखेकै कुरा हो। त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ। यो एउटा शक्ति हो भन्ने भन्ने ठान्छु र सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्न चाहन्छु। एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

  • प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न दिने सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति, प्रतिगामीहरू सलबलाएको आरोप

    प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न दिने सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति, प्रतिगामीहरू सलबलाएको आरोप

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ ।

    माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    विस्तृत शान्ति सम्झौताविपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको भन्दै उनले बाह्र बुँदे समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।

    कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट लगेका छन् ।

  • सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

    सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

    माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

    सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए ।

    प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।

  • सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि बोलाए माओवादी र कांग्रेसले संसदीय दलको बैठक

    सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि बोलाए माओवादी र कांग्रेसले संसदीय दलको बैठक

    कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    बिहान १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्दै छ भने माओवादीको पनि ११ बजे दलको कार्यालयमा बैठक बस्दै छ ।

    आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलम शाहले विश्वासको मत लिँदै छन् । दिउसो १ बजे उनले विश्वासको मतका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । त्यस अघि माओवादी र कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।

    हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । त्यसमा ठोस कुनै निर्णय हुन सकेन । आज विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय हुने माओवादी स्रोतको दाबी छ ।

    माओवादी संसदीय दलका नेता खगराज भट्ट आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका बेला केही सांसदहरू भने अहिलेकै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउँदै आइरहेका छन् । यही विवादले निर्णय हुन नसकेपछि हिजो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यहाँको अवस्थाबारे लेखि पठाइएको थियो ।

    अब प्रचण्डको निर्देशन अनुसार माओवादी सुदूरपश्चिम प्रदेशमा अघि बढ्ने छ । केहि बेरमा सो निर्णय आउने र संसदीय दलको बैठकले सोही अनुसार अघि बढ्ने निर्णय गर्न सक्ने माओवादीका एक सांसदले बताए ।

    या कांग्रेस पनि पछिल्लो अवस्था बारे सांसदहरूलाई जानकारी दिन र विश्वासको मत पाउने आधार तयार गर्न दलको बैठक बोलाएको हो ।

  • कोशी नामकरणबारे माओवादीको प्रष्टीकरण- पहिचान जोड्ने प्रयास यसकारण विफल भयो

    कोशी नामकरणबारे माओवादीको प्रष्टीकरण- पहिचान जोड्ने प्रयास यसकारण विफल भयो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले संसदीय अंकगणितको प्रतिकूलताले पहिचानमा आधारित प्रदेश नामकरण गर्न नसकिएको प्रष्टीकरण दिएका छन् ।

    विज्ञप्ति जारी गर्दै उनले अंकगणित नमिलेका कारण भविष्यमा पहिचानमा आधारित नाम ल्याउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले लेखेका छन्, ‘संसदमा छलफलकै क्रममा पहिचानको पक्षमा आफ्नो मत सुस्पष्टरूपमा जाहेर गरेका छौं ।’

    प्रदेशसभाको पहिलो कार्यकालमा हामीसहित तत्कालीन नेकपा एक्लैसँग दुईतिहाइ बहुमत हुँदा पहिचानमा आधारित प्रदेशको नामका पक्षमा आफूलाई प्रष्ट उभ्याउँदा पहिचान नरुचाउने नेतृत्वको कारण नामकरण हुन नसकेको दाबी माओवादीको छ ।

    पहिचानमा आधारित नामकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशबासीसँगै आफूहरू पनि दुःखी बनेको आङ्बोको भनाई छ ।

    अहिलेको बाध्यताबारे आङ्बोले भनेका छन्, ‘प्रदेशसभाको दुईतिहाइ संख्या भएका दलहरूले नामकरणको प्रस्ताव अघि बढाएपछि हामीले नाममा पहिचान जोड्न अथक प्रयास गर्‍यौं । तर, हाम्रो प्रयास अन्ततः विफल बन्नपुग्यो । हाम्रा अघि थोरै मात्रै विकल्प बाँकी थिए । पहिलो, पहिचानसहितको नाममा दुईतिहाइ मत पुर्‍याउने, दोस्रो नामकरण प्रक्रिया नै रोक्ने र तेस्रो प्रदेश नामकरण नरोक्ने । प्रतिकूल गणितले पहिलो विकल्पको सम्भावना थिएन । दोस्रो विकल्पमा जानु प्रदेशबासीको अपेक्षा र आफ्नै प्रतिबद्धताको पनि विपरीत हुन्थ्यो । त्यसैले हामीले नामकरणमा बाधक नबन्ने विकल्प रोजेका हौं ।’

    ‘तर, इतिहास दु:खेसोमात्र गरेर बन्दैन । संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्‍याउँछौं’, माओवादीले भनेको छ, ‘भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाई संख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने प्रण गर्दछौं ।’

    २०६४ को संविधानसभादेखि नै पहिचानमा आधारित संघीयता माओवादीको प्रमुख माग भएको तर, संसदीय अंकगणितको अवस्था पार्टीको एजेण्डा र मागको बिल्कुल प्रतिकूल रहेको पनि विज्ञप्तिमा लेखिएको छ ।

  • प्रचण्ड अस्थिर बनेर यताउति नगरेको भए यस्तो परिवर्तन हुने थिएन : हरिबोल गजुरेल (भिडिओ)

    प्रचण्ड अस्थिर बनेर यताउति नगरेको भए यस्तो परिवर्तन हुने थिएन : हरिबोल गजुरेल (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।

    बिहीबार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तन हुन नसक्ने दाबी गरे ।

    आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने गजुरेलको तर्क छ । उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने जिकिर गरे ।

    भिडिओ

    उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।

    उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए । उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे ।

    ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोशिस गर्नुभयो उहाँले सफल पनि हुनुभयो’, उनले भने, ‘त्यो अरु कुनै कारण होइन, मानिसहरुले कुर्सीको लागि यता, उता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो । २०६४ को चुनावमा प्रत्यक्षतर्फ १४० जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो ।’

    उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे ।

     

  • प्रधानमन्त्री प्रचण्डले भने- मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ (भिडिओ)

    प्रधानमन्त्री प्रचण्डले भने- मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।

    राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।

    उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । उनले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी गरे ।

     

  • पञ्चा नेतृत्वको क्रान्तिकारी आधिकारिक भन्दै माओवादीले पठायो पत्र

    पञ्चा नेतृत्वको क्रान्तिकारी आधिकारिक भन्दै माओवादीले पठायो पत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको अखिल (क्रान्तिकारी) नै आधिकारिक भएको बताएको छ । महासचिव देव गुरुङले त्रिविसहितका सवै विश्वविद्यालयलाई पत्र पठाउँदै पञ्चाले नेतृत्व गरेको संगठन नै आधिकारिक भएको उल्लेख गरेका छन् ।

    यसअघि माघको तेस्रो साता बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारीमा लामो समयदेखिको विवाद समाधान गर्न भन्दै हालको कमिटी विघटन गरी आयोजक समिति बनाइने निर्णय गरिएको थियो ।

    बैठकले स्ववियू निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्नेगरी अहिले भने स्ववियू निर्वाचनमा एकढिक्का भएर लाग्ने निर्णय गरेको थियो ।

    निर्णयमा भनिएको छ, ‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने । स्ववियू चुनावपछि राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने ।’

    अरु धेरै संगठनसँग नाम मिलेपछि त्रिविले माओवादीले आधिकारिक भ्रातृ संगठन कुन भनेर सोधेको थियो । चैत ५ गते हुने स्ववियू निर्वाचन हुँदैछ ।

    पञ्चा सिंह र पवन कार्की समूहले अहिले देशव्यापीरूपमा छुट्टाछुट्टै सांगठनिक गतिविधि गरिरहेका छन् । पञ्चाले गैरकानूनी हिसाबले संगठन चलाइरहेको पवन समूहको आरोप थियो ।

  • माओवादी सांसद बस्नेत भन्छन्- देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै (भिडिओ)

    माओवादी सांसद बस्नेत भन्छन्- देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले ७६ (३) अनुसार ठुलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका छन्।

    राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावमै गठबन्धन भएकाले यो गठबन्धन टिक्ने दाबी गरे।

    प्रशिक्षण कार्यक्रम फ्लोर क्रस हुन्छ भन्ने डरले हो ? भन्ने प्रश्नमा उनले भने, ‘हरेक कुरालाई नकारात्मक रूपमा लिनु हुँदैन। अहिले पार्टीहरूले गरेको निर्णय सांसदहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले राखिएको हो।’

  • राप्रपाद्वारा कर्णाली सरकारमाथिको समर्थन फिर्ता

    राप्रपाद्वारा कर्णाली सरकारमाथिको समर्थन फिर्ता

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

    केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

  • पहिचानको आधारमा नाम राख्न गणितले दिएन : इन्द्र आङ्बो

    पहिचानको आधारमा नाम राख्न गणितले दिएन : इन्द्र आङ्बो

    विराटनगर । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आन्बोले प्रदेश सभाको गणित माओवादीको पक्षमा नरहेको बताएका छन् ।

    प्रदेश सभाको बैठकमा कोसी प्रदेशको प्रस्तावमा भएको छलफलमा भाग लिँदै उनले संसद जातीय पहिचानको पक्षमा नरहेको बताए ।

    उनले यो प्रदेश सभामा १८ जना जति मात्रै प्रदेश सभा सदस्य जातीय पहिचानको पक्षमा रहेकाले चाहेर पनि प्रदेशको नाम पहिचानको आधारमा राख्न नसकेको बताए ।

    उनले भने गणित पक्षमा नभए पनि नामाकरणको सबालमा माओवादी बन्धक नभएको बताए । उनले माओवादी पहिचानकै पक्षमा रहेको र गणित अनुकूल भएपछि फेरि प्रदेशको नाम फेर्ने बताए ।

  • गठबन्धन फेरबदलको पराकम्प : कर्णाली सरकार यसकारण ‘सेफ जोनमा’

    गठबन्धन फेरबदलको पराकम्प : कर्णाली सरकार यसकारण ‘सेफ जोनमा’

    सुर्खेत । केन्द्र फेरिएको सत्ता समीकरणले अहिले प्रदेशहरूमा पनि हलचल आएको छ । केही प्रदेशमा सरकार नै परिवर्तन हुने स्पष्ट संकेत देखिएको छ भने, केही प्रदेशहरूमा सत्तारुढ दलहरू प्रतिपक्षमा हुने र प्रतिपक्षी दलहरू सत्तामा जाने देखिएको छ ।

    संघीय समीकरण अनुसार सहमति बने कर्णाली सरकार सेफ जोनमा रहेको छ । यद्यपि अहिलेका सहयात्री दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक जना सांसदले मत दिएका थिए । नेपाली काँग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसेको छ ।

    यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री सँगै प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले केन्द्रमा भएको राजनीतिक फेरबदल प्रदेशमा पनि असर परेको बताए ।

    उनले भने, ‘यति छिटो छिटो यस्ता खालका समीकरण फेरबदल हुनु राम्रो भने हैन । के कारणले भयो भनेर खोजी पनि गर्नुपर्छ । प्रधानमन्त्रीलाई जसरी विश्वासको मत प्राप्त भएको थियो त्यसले केन्द्रमा राष्ट्रिय सहमतिको माग गरेको थियो । राज्यका प्रमुख पदहरूमा कार्यविभाजन गर्दा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागितालाई सुनिश्चित हुने गरी समावेश गर्नु पर्छ ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष विमला केसीले केन्द्रमा जस्तै प्रदेशमा पनि समीकरण फेरबदल हुन सक्ने बताइन् । उनले भनिन् ‘विपक्षी दलले आवश्यक पर्दा मत दिन्छौ भनेकै थिए नि, त्यो समय अब आएको छ अब दिन्छन् ।’

    यस्तै, नेपाली कांग्रेस नेता प्रदेशसभा सांसद हिक्मत विष्टले सत्ता समीकरणका विषयमा पार्टी अहिलेसम्म कुनै छलफल नभएको बताए । उनले केन्द्रको प्रभाव स्वभाविक रूपमा प्रदेशमा पनि पर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने संकेत गरे ।

    आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले कर्णाली प्रदेशका पार्टी अध्यक्ष विनोदकुमार शाहले कर्णालीका सवालमा अहिलेसम्म पार्टीबाट कुनै निर्णय र निर्देशन नभएको बताए ।

    ४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट एक÷एक जना सांसद रहेका छन् ।

    एमाले र राप्रपा सरकारबाट बाहिरिएपनि कांग्रेसले मत दिएमा कर्णाली सरकार जोगिने सम्भावना बढी छ ।