काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्ष दलले माग गरेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सचेतक गंगाकुमारी बेलबासे लगायत अरू सांसदले पिन यस्तो माग गरेका हुन्र ।
बैठकको विशेष समयमा सचेतक बेलबासेले भ्रष्टाचार प्रकरणमा मुछिएका भट्टराईलाई छानबिनमा तानिनु एक दिन अघि सरुवा गर्नु, अख्यितारमा कार्यरत डीआईजीलाई सरुवा गर्नु लगायका काम गर्नु भ्रष्टाचारलाई सघाउनु भएको बताईन । उनले यस अघि नै भिजिट भिसा प्रकरणमा मुछिसकेकाले व्यक्तिलाई गृहमन्त्री लेखकले आफ्नो सचिवालयमा राख्नुले गृहमन्त्रीको संलग्नता छैन भन्न नसकिने बताइन् । धेरै जसो घटनामा धेरै मन्त्रीले नैतिकताको आधारमा राजिनामा दिएको स्मरण गराउँदै सचेतक बेलबासेले गृहमन्त्री लेखकले पनि राजिनामा दिएर मार्गप्रशस्त गर्न माग गरिन् ।
भ्रष्टाचार प्रकरणमा मुछिएका तिर्थराज भट्टराईलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको साटो निगरानी र हाजिरीमा राख्नु छानबिनलाई खुकुलो बनाउन खोजिएको आरोप सचेतक बेलबासेको छ । उनले बिचौलियाको काम गरिरहेका कविता पौडेल र भरत सुवेदीलगायत ट्राभल एजेन्सी सञ्चालकलाई कडाई नगरिएको पनि बताइन् ।
उनीहरूकाे भनाइ जस्ताकाे त्यस्तै
माओवादी सचेतक गंगाकुमारी बेलबासे
सम्माननीय अध्यक्ष महोदय, गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दछु । प्रतिनिधिसभा अवरुद्ध छ । राष्ट्रिय सभामा आफ्नो माग राख्दै सदन सुचारु गर्ने हाम्रो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु । जेठ १५ गते संसदमा बजेट पेश गर्ने संवैधानिक व्यवस्था भएकोले दुवै सदनको संयुक्त बैठक सम्पन्न भएर बजेट पेश भइसकेको छ। जनताको बजेट, देशको बजेट र कामलाई अवरुद्ध नगरौं भन्ने हिसाबले प्रतिनिधिसभामा पनि प्रतिपक्ष दलले सदनलाई खोलेर बजेट पेश गरिएको अवस्था छ र फेरि सदन अवरुद्ध भएकै अवस्था छ।
गृहमन्त्री रमेश लेखक बौद्धिक, शालीन, कानुन बुझेको मन्त्री हुनुहुन्छ । उहाँले बुझ्नुपर्छ । नैतिकताको आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा त्यही पदमा बहाल भएर आउन सक्नुहुन्छ । विगतका यस्ता घटना पनि छन् । त्यसो भएको हुनाले यसलाई सहयोग गर्नका लागि उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा म पुनः राख्न चाहन्छु ।
अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख बनाएर सहसचिव तीर्थराज भट्टराईलाई खटाएपछि भिजिट भिसामा जाने नागरिकबाट दैनिक ५० लाख भन्दा बढी असुलेको सेटिङमा विदेश पठाएको साविती बयान उहाँको छ । गृहमन्त्रीले तीर्थराज भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु, छानबिनमा तानिनु, एक दिन अगाडि फेरि मन्त्रालयमा उहाँलाई फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गर्नु, छानबिनमा खटिएका अख्तियारका कार्यरत डिआइजी हिमाल कुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरी बिहान सरुवा गर्ने र दबाबका कारण बेलुका फिर्ता बोलाउने जस्ता काम उहाँले गरिरहनु भएको छ । यो सरासर भ्रष्टाचार हो । निर्दोष नेपाली बेचिएको छ ।
सम्माननीय अध्यक्ष महोदय, गृहमन्त्रीको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पहिले नै भिजिट भिसा प्रकरणमा कारबाहीमा परेको व्यक्ति । किन सचिवालयमा छानेर राम्रो विश्वासीलो कर्मचारी उनै विमल पौडेल पाउनु, ल्याउनु, मकसद के छ ? प्रश्न उठेको छ । यो यी देखिएका घटनाक्रमले गृहमन्त्रीसँग सम्भवतः चलखेल सेटिङ छैन भन्ने भन्ने प्रश्न उठेको छ । धेरै घटनामा धेरैले आफ्नो नैतिकताको आधारमा राजीनामा दिएका छन् र त्यस्ता घटना अहिले पनि देखिएको छ । त्यसैले उनले राजीनामा दिनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।
र विषय के कहाँ कहिले भन्नु भन्दा पनि उहाँले विभिन्न ठाउँमा उठाएका, बोलेका र सम्बन्धित व्यक्तिले राजीनामा दिनुपर्छ भनेर बोलेका विषय उठिरहेका छन्, देखिरहेको छौ । त्यो मात्रै होइन कि यस्ता विषयमा हामी सबैले भन्छौँ, उहाँले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ । सम्बन्धित मन्त्रालयमा बसेर डण्डा चलाउने, सरुवा बढुवा गर्ने होइन कि आफूले मार्ग प्रशस्त गर्नुपर्छ र एउटा न्यायिक छानबिनको लागि उहाँ तयार हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।
सहसचिव तीर्थराज भट्टराईलाई जेठ ७ गते अख्तियारले कार्यालयबाटै नियन्त्रणमा लिएको हो । हिरासतमा राखेर अनुसन्धान गर्नुको सट्टा निगरानी र हाजिरीमा राखेको छ । छानबिनलाई खुकुलो बनाउन खोजिएको छ, आशंका देखिएको छ, बनाउन खोजेको आशंका देखिएको छ । ट्राभल एजेन्सी सञ्चालकलाई कडाइ गरिएको छैन । त्यस्तै बिचौलियाको काम गरिरहेका कविता कविता पौडेल र भरत सुवेदीलाई कडाइ गरिएको छैन । उनीहरुका डिभाइस सुरक्षित छन् र त्यहाँ भएको सामग्री सुरक्षित छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन ।
निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्छ । यो जघन्य अपराधको छानबिन कसरी भइरहेको छ, यसको जानकारी गराउन म सरकारसँग माग गर्दछु । अवैध धन्दा, असुली, मानव बेचबिखन र छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।
माओवादी सांसद सुरेश आलेमगर
हो निश्चित रुपमा गृह मन्त्री ज्यू माननीय रमेश लेखक मेरो मित्र पनि हुनुहुन्छ । इमान्दार, सज्जन, भद्र, बौद्धिक । हामी २०६४ सालमा संविधान सभामा सँगै थियौं । त्यसैले उहाँले यो सबै भ्रष्ट काम गर्नुभयो होला भन्ने मलाई पनि पटक्कै लाग्दैन । तर घटनाले तथ्यले त्यसो भन्दैनन्, उहाँ दोषी नै हो पनि भन्दैनन् । हामीले त्यसो भनेका पनि छैनौं । तर जुन तथ्य छन् हाम्रा आँखा अगाडि छर्लङ्गै, छ्याङ्गछ्याङ्ती तिनलाई त ध्यान दिनुपर्ने चै हुन्छ । यो सत्य हो कि कुनै कर्मचारीले गलत काम गर्दैमा मन्त्रीले राजिनामा दिनु पर्दैन । यो सत्य हो । तर उहाँको मातहतका कर्मचारी कस्ता थिए त ? तिर्थराज भट्टराई उहाँकै पालामा उहाँले पठाएर अध्यागमन कार्यालय एयरपोर्टमा गएको हो ? ठीक छ, उहाँलाई उतिबेला गृहमन्त्री रामबहादुर थापा बादल, रवि लामिछानेले ल्याएका रहेछन् । त्यो मानियो । तर दुवै जना गृहमन्त्रीले अध्यागमन कार्यालय एयरपोर्टमा पठाएको त होइन नि । उहालाई कसले पठायो ? उहाँले पठाउनुभयो । त्यसैगरी जब अख्तियारले छानबिन गर्ने भयो, रातारात तुरुन्त तुरुन्त सरुवा गरेर कसले तान्यो ? उहाँले तान्नुभयो । उहाँकै सचिवालयको मान्छे बिमल पौडेल आदि इत्यादिलाई उहाँको सचिवालयमा कसले ल्यायोे ? फेरि त्यहाँबाट तुरुन्त तुरुन्तै कसले पठायो ? उहाँले पठायो नि त । हो, त्यसैले हामीले के भनेको भन्दाखेरि उहाँले यो छानबिन गर्नका लागि पनि मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ र त्यसको लागि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हुन्छ, हामीले त्यो भनेका हौँ ।
निश्चित रुपमा हाम्रै पार्टीको एउटा एक जना पूर्व राष्ट्रसभा सदस्यले पनि भन्नुभएछ, कर्मचारीले राजिनामा दिँदैमा, कर्मचारीले गलत काम गर्दैमा राजिनामा दिनु पर्दैन भनेर भन्नुभएको रहेछ । त्यसलाई मान्ने हो भने पनि कस्तो समय इतिहासमा घटना छन् भन्ने सम्माननीय अध्यक्ष महोदय, कर्मचारीको त कुरै छोडीदिउँ । आफ्नो मातहतका कर्मचारीको त कुरै छोडीदिउँ । प्रकृतिले घटाएको घटनाको आधारमा पनि, कसैले घटाएको घटनाको आधारमा पनि राजिनामा दिएका घटना छन् । कृतिनिधि बिष्टलाई २०३० सालमा आगलागी हुँदा माननीय उदयबहादुर बोहोराले भन्नुभएको घटना, उहाँको मातहत कर्मचारीले घटाएको हो र ? होइन । त्यसैगरी ४२–४३ सालमा निरंकुश तानाशाही पञ्चायती कालको मन्त्री केसरबहादुर बिष्टले दशरथ रंगशाला स्ट्याम्पेड, रंगशालामा भागदौडको घटना हुँदा जुन मान्छे मर्यो, उहाँको मातहतको कर्मचारीले घटाएको घटना हो र ? होइन । तर उहाँले राजिनामा दिनुभयो नि त । के को आधारमा ? यही नैतिकताको आधारमा । निरंकुश तानाशाही व्यवस्थाका मान्छेमा त नैतिकता हुन्छ भने झन बहुदलीय व्यवस्था, लोकतान्त्रिक व्यवस्थाको मन्त्रीमा हुनु हुँदैन ?
ल त्यो त परको कुरा छोडीदिउँ । हाम्रै पार्टीका नेता जनार्दन शशर्मा ज्यूले पनि जब अर्थमन्त्री हुँदाखेरि उहाँमाथि केही आरोप लाग्यो, उहाँले त राजिनामा दिनुभएको थियो त । उहाँमाथि पनि मुद्दा चलाइएको थिएन । तर उहाँले राजिनामा दिनुभयो र फेरि सफाइ पाएर पुनर्बहाली हुनुभयो त । हो, त्यसैले हामी के चाहन्छौं भन्दाखेरि माननीय गृहमन्त्री रमेश लेखक इमान्दार हुनुहुन्छ, इमान्दार हुनुहोु्, इमान्दार साबित हुनुहोस् । हो, त्यो उहाँले पुष्टि पुष्टि गर्नुपर्यो । त्यसै कारणले पनि यो छानबिनलाई निष्पक्ष बनाउनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्यो भन्ने हाम्रो भनाइ हो । हामी यतिबेला उहाँ दोषी हो भनिरहेका छैनौँ । मिडियामा जति पनि कुरा आएका छन्, यो सबैका आधारमा उहाँ दोषी हो, उहाँलाई समातेर जेल लैजानुपर्छ चाहिँ भनिरहेका छैनौँ ।
तर यी सबै घटनाले त्यति मात्र होइन, अख्तियारको तर्फबाट छानबिन गरिरहेको डीआईजीलाई त्यहाँबाट सरुवा गरिएको थियो । तर धेरै विरोध भएपछि तुरुन्ता तुरुन्तै फेरि त्यहीँ फिर्ता पठाइयो नि त । यी सबै घटनाले के भन्छन् त ? एक्शन स्पिक्स लाउडर देन देन द वड्र्स । त्यसै कारणले पनि उहाँले राजिनामा दिनुपर्ने हुन्छ भन्ने हाम्रो भनाइ हो एउटा ।
अर्को अब उहाँले नै जतिबेला प्रतिपक्षमा हुनुहुन्थ्यो, उहाँले नै स्थापित गरेको मापदण्ड, जब मन्त्रीमाथि, बहालवाला मन्त्रीमाथि यस्तो कुरा उठ्छ, राजिनामा दिनुपर्छ भनेर उहाँले भन्नुभएको होइन त ? हो, त्यसकारण यी सबै कुराको आधारमा हामीले के भनेको भन्दाखेरि उहाँले यी भ्रष्ट कर्मचारीको छानबिनका लागि, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ, हामीले त्यो भनेका छौँ । राष्ट्रिय सभामा हामीले प्रतिनिधिसभामा जस्तो सदन अवरुद्ध पारेका छैनौँ । यो परिपक्वता पूर्वक हामीले यो कुरा गरेका छौँ र यो फगत राजनीति गरेको होइन हामीले । राजनीतिक हिसाबले प्रतिशोधको भावना साँधेको पनि होइन हामीले । कर्मचारी त भ्रष्ट रहेछन् । भिजिट भिसा काण्डमा लाखौं लाख खाने रहेछन् । हो तिनलाई छानबिन गर्नका लागि पनि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने कुरा नै फेरि मैले दोहोर्याउन चाहन्छु ।
माओवादी सांसद बिष्णुबहादुर बिश्वकर्मा
सम्माननीय अध्यक्ष महोदय, आजभोलि देशको शहरदेखि गाउँसम्म र चुलोचौकोदेखि पसलसम्म दुईवटा विषयले ठूलो चर्चा पाएको छ । ठूलै हलचल पैदा गरेको छ । त्यो भिजिट भिसा प्रकरण र दोस्रो प्रस्तुत बजेट । ठूलै पार्टीका ठूलै नेता, झण्डै दुई तिहाई बहुमत सरकारको ठूलै मन्त्रालय लिएका मन्त्री जसले आर्थिक सुशासनका ठूलै कुरा ठूलै स्वरमा भजाउने गर्नुहुन्थ्यो । लोकतान्त्रिक पद्धति र सुशासनका पाठ घोकाउने गर्नुहुन्थ्यो । आज उनै नेता तथा गृहमन्त्री रमेश लेखक माथि मानव तस्करीको गम्भीर आरोप लागेको छ । सामान्य आरोप होइन कि नेपाली युवालाई भिजिट भिसाको नाममा विदेशीलाई बेच्ने गरेको आरोप छताछुल्ल भएको छ । देशलाई बेरोजगार उत्पादनको थलो बनाउने, युवालाई तड्पाएर विदेश पलायन हुन बाध्य पार्ने र भिजिट भिसाको नाममा लाखौं कमिसन खाएर विदेशीलाई बेच्ने मानव तस्करीको आरोप लागिरहँदा गृहमन्त्री टुलुटुलु हेरिरहनुभएको छ । अरुलाई घोकाउने नैतिकता आज कता हरायो ? बरु प्रमाण्रु लुकाउने, प्रमाण नष्ट गर्ने, सेटिङमा राखिएका कर्मचारीलाई रातारात सरुवा गनै मै व्यस्त हुनुहुन्छ । एकै दिनमा अस्वभाविक रुपमा भएका सरुवाको कर्मचारीबाटै विरोध हुँदा, खबरदारी हुँदा लाजै नमानी फेरि पुनः सरुवा फिर्र्ता गरिनुले के भन्छ ? यो त गृहमन्त्री माथि लागेको आरोपको पुष्टि होइन र ? यसरी जनताबाट, कर्मचारीबाट समेत खबरदारी भइरहँदा सम्म यही कुर्सीमा विराजमान हुनुहुन्छ किन ? बरु छिटोछरितो राजीनामा दिएर अनुशासित बन्नुु्होस् । त्यसाे गर्दा तपाइकाे शिर उँचो हुनेछ ।































