Category: माओवादी केन्द्र

  • देशमा परिवर्तन र सुधारको श्रेय माओवादीलाई : गृहमन्त्री श्रेष्ठ

    देशमा परिवर्तन र सुधारको श्रेय माओवादीलाई : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन् ।

    ललितपुर महानगरपालिका २८ र २९ पार्टी वडा समितिले आयोजना गरेका भेलालाई सम्बोधन गर्दै अरु पार्टीभन्दा देशलाई सफल बनाउन माओवादीले भूमिका खेलेको दाबी गरे ।

    उनले भने, ‘हाम्रो पार्टी अरुभन्दा राम्रो छ । परिवर्तन ल्याउन पनि हाम्रो पार्टीले लडेको हो । प्रतिगमनलाई असफल पार्न पनि हाम्रो पार्टीले नै संघर्ष गरेको हो । देशमा जति सुधारको भूमिका खेल्ने पनि हाम्रो पार्टी नै हो । अहिले पनि हाम्रो पार्टीको सरकार छ र हामी प्रयत्न गरिरहेका छौं ।’

    ओलीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै उनले माओवादीकै पहलमा व्यवस्था जोगाइएको जिकिर गरे ।

  • वैदेशिक सहायता, ऋण र लगानी नबढाई नेपालको अर्थतन्त्र माथि जाँदैन : पूर्वअर्थमन्त्री पुन

    वैदेशिक सहायता, ऋण र लगानी नबढाई नेपालको अर्थतन्त्र माथि जाँदैन : पूर्वअर्थमन्त्री पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक सहायता, वैदेशिक ऋण र वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बिहीबार उनले वैदेशिक सहायता, ऋण र लगानी वृद्धि नगरेसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्ने सम्भावना नरहेको बताए । ऋण सहायता र लगानी नेपालको प्राथमिकतामा लिइनुपर्नेमा भने उनको जोड थियो । अहिले सरकार र निजी क्षेत्रले गरिरहेको लगानीले ४ देखि ५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि सम्भव नभएको उनको भनाइ थियो ।

    दोहोरो अंकको आर्थिक विृद्धि हासिल गर्न वैदेशिक सहायता, ऋण र लगानी बढाउनुको विकल्प नहरेकामा जोड दिए । पुनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्दै कुनै पनि प्रकारको सैन्य गठबन्धनमा भने सहभागी नहुने स्पष्ट गरे । तर, विकास साझेदारका रुपमा अमेरिका, भारत र चीन सबैको सहयोग लिन खुला हुनुपेर्न उल्लेख गरे ।

    ‘अहिले पूँजीगत खर्च कम भइरहेको छ । सरकारले गर्ने खर्चको एक तिहाई हुन्छ । दु्ई तिहाइ निजी क्षेत्रले गर्छ । विकास गर्न वैदेशिक सहायता चाहिन्छ । वैदेशिक ऋण र लगानी बाहेक अर्को बाटो छैन । लगानीमैत्री वातरवरण बनाउनुपर्छ । विकास साझेदारहरूलाई विश्वासमा लिएर सहयोग लिनपर्छ । दीर्घकालीन विकासको सोचबाट साझेदार गर्न डरानु हुँदैन’, पुनले भने, ‘चीन होस् भारत होस् अमेरिका युरोप होस् विकास साझेदारीमा डराउनु हुन्न । हाम्रो आवश्कता हो । तर दीर्घकालीन खालका अरु सैनिक, भौगोलिक अखण्डता, परराष्ट्र नीति, स्वतन्त्र सार्वभौमिकतामा आफूले आफ्नो बारेमा निर्णय गर्न सक्ने कुरामा कहीँ पनि अंकुश राख्ने खालका कुरामा बच्नुपर्छ ।’

    कोभिड महामारी निर्वाचनलगायतका कारण पछिल्ला वर्षहरुमा संयुक्त राष्ट्रसंघीय महासभामा प्रधामन्त्रीस्तरको सहभागिता नभएकामा यसपटक प्रधानमन्त्री सहभागी हुन सुखद विषय भएको औंल्याए । राष्ट्रप्रमुख, सरकार प्रमुख र मन्त्रीहरुले अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्लाई सही ढंगले राष्ट्रिय हितमा प्रयोग गर्न सक्नुपर्ने उनको सुझाव थियो ।

    अतिकम विकसित मुलुकको अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्रीले अल्पविकसित मुलुकका समस्या र उनीहरुका अधिकारबारे विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रसंघीय महासभाको मञ्चलाई भरपुर उपयोग गर्नुपर्ने औंल्याए ।

    यस्तै, पुनले जलवायु परिवर्तनको एजेन्डालाई पनि महत्वका साथ उठाउन प्रधानमन्त्रीलाई सुझाए । विकसित मुलुकहरुको कमजोरीका कारण अलपविकसित मुलुकले जलवायु परिवर्तनको मार खेप्नुपरेको भन्दै उनले त्यसलाई महासभाको एजेण्डा बनाइनुपर्ने उल्लेख गरे ।

    ‘हाम्रो गल्ती कमजोरीले भन्दा पनि अरु देशहहरुको कमजोरीले र उनीहरुको विकासको मोडेलले हामीले दुःख पाइरहेका छौँ । त्यसमा केही न केही क्षतिपूर्ति, विकासका साझेदार वा जलवायु असन्तुलनमा सहयोग गर्ने खालका कुरा राख्नुपर्छ’, उनले भने ।

    पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि जमुना भएको भन्दै उनले त्यसको मोडेल र अनुभवबारे पनि प्रधानमन्त्रीले विश्व समुदायलाई बताउनुपर्ने सुझाव दिए । हतियार व्यवस्थापन, सेना समायोजन र संविधान लेखनजस्ता शान्ति प्रक्रियाका प्रमुख कार्यभार सकिएको र संक्रमणकालीन न्यायसम्बन्धी काम बाँकी रहेको विषयमा पनि अन्तर्राष्ट्रिय समुदायको चासो नेपालले सम्बोधन गर्नुपर्ने बताए ।

    पुनले नेपालको संसदले सर्वसम्मत रुपमा जारी गरेको नयाँ नक्सालाई अनतर्राष्ट्रिय जगतले स्वीकार गर्नैपर्नेमा जोड दिए । उनले संयुक्त राष्ट्रसंघसहित विभिन्न मुलुकलाई नयाँ नक्साबारे जानकारी दिइएको छ कि छैन भन्नेबारे परराष्ट्र मन्त्रालयसँग उनले जवाफ मागे ।

    फरक प्रसंगमा उनले कसैको पनि नाम उल्लेख नगरी नेपालस्थित कुटनीतिक नियोगका व्यक्तिहरुले आफ्नो मुलुकबाहेक नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे टिप्पणी गर्नु जायज र ठीक नभएको उल्लेख गरे । त्यसबारे सम्बन्धित राजदूतलाई सचेत गराउन वा स्पष्टीकरण लिन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए ।

    ‘राजदूतको भनाइमा स्पष्ट हुनुपर्छ । को–को राजदूत कहाँको राजदूतले भने भन्दा पनि कसैले पनि छिमेकसँग सम्बन्धित विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्नु हैदन’, उनले भने, ‘यो बेठीक हुन्छ । हाम्रो घरेलु विषय हो । यसमा परराष्ट्रमन्त्रालयले सर्तक बनाउनु पर्छ । स्पष्टीकरण लिने हो कि के हो सरकारले गरोस् । तेस्रो देशको बारेमा कोही पनि राजदूतले बोल्न मिल्दैन ।’

     

  • कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजिँदैछ : रमेश लेखक (भिडिओ)

    कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजिँदैछ : रमेश लेखक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र नेपाली जनताले त्याग, तपस्या र बलिदानबाट ल्याएको व्यवस्था भएको बताए ।

    उनले भने, ‘लोकतन्त्रमा पनि केही कमीकजोरी हुनसक्छन् । लोकतान्त्र भनेको आजको दिनमा सबैभन्दा उत्कृष्ट व्यवस्था हो । संसारभर सम्भावना भएका विकल्प रहेका व्यवस्थामा सबैभन्दा राम्रो व्यवस्था भनेर स्थापित भएको तथ्य हो । लोकतन्त्रमा कमीकमजोरी छन् भनेपनि लोकतान्त्रिक व्यवस्थाले त्यसलाई आफैँ ठीक गरेर जाने ल्याकत राख्छ ।’

    उनले आफ्ना फरक मत शान्तिपूर्ण ढंगले राख्न पाइने बताए ।

    लेखकले भने, ‘यो व्यवस्थामाथि आक्रमण भइरहेको छ । यी कृतिम रूपले बनाएका भाष्यहरुलाई हामीले राम्रोसँग चिन्नुपर्छ । कांग्रेसलाई खुकुरी प्रहार गरेर समाप्त पार्छु भन्ने कसैले नसोचे हुन्छ । कांग्रेस, एमाले, माओवादीलगायत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर दलहरूलाई पुराना हुन् खराब छन् यो मुलुकलाई निकास दिन सक्दैनन् । भन्ने कृतिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैको सपना छ भने त्यो दिवा सपना हुनेछ ।’

  • गृहमन्त्रीको दाबी- भ्रष्टाचार र तस्करीमा संलग्नहरूले मलाई हटाउन खोज्दैछन् (भिडिओ)

    गृहमन्त्रीको दाबी- भ्रष्टाचार र तस्करीमा संलग्नहरूले मलाई हटाउन खोज्दैछन् (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको दाबी गरेका छन् ।

    सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा आइरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

    चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘भ्रष्टाचार संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियानमा असफल पार्ने र यो अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोज्दैछन् ।’

    ६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको बताए ।

    उनले भने, ‘हामीलाई विश्वास छ केही दिनभित्रै त्यो अनुसन्धान निष्कर्षमा पुग्नेछ । सबै तस्कर र अपराधीहरूलाई कानूनको कठघरमा उभ्याइनेछ ।’

    उनले यो सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने सुनाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्‍याउने बताए ।

    उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा यो सरकार टिक्छ त ? गृहमन्त्री टिक्छ त ? भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको छ । यसबीचमा भएका कतिपय घटनाको कारणले यताउता हुन खोजेको त होइन । भन्ने प्रश्न पनि उठ्ने गरेको छ । म भन्छु यो सरकारको निरन्तरता, गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचार, तस्करी, कालोबजारीको निरन्तरता साथसाथै जान सक्दैन । विभिन्न प्रकारका अप्ठ्याराहरूले हामीलाई समस्या पारेको हुनसक्छ । तर, हाम्रो मिसनलाई राक्दैनौं । विश्राम लिँदैनौं त्यो हाम्रो संकल्प हो ।’

  • माओवादी रुपान्तरण अभियान : सुदूरपश्चिममा ७९ वटा टोली १५ सय बढी नेता कार्यकर्ता सक्रिय

    माओवादी रुपान्तरण अभियान : सुदूरपश्चिममा ७९ वटा टोली १५ सय बढी नेता कार्यकर्ता सक्रिय

    धनगढी । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादी रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताएका छन् ।

    मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महसुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।

    सचिव आचार्यले भने, ‘जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।’ उनले अहिलेको राजनीतिक उपलब्धी आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टि गरेको बताए ।

    माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, ‘माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।’

    आफूहरुले गम्भीर समिक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्ने गरी नेता कार्यकर्ताले प्रतिवद्धता जाहेर गरेर जनतामा फर्केको बताए ।

    सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएकोसमेत जानकारी गराए ।

    अभियान टोलीले पहिलो चरणका कार्यक्रम गरिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आवस्थाको बिस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए । थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।

    एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भए पनि गरिबी, बिपन्नता, बेरोजगारी लगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

  • प्रधानमन्त्रीको चीन भ्रमण- सी नेपाल आउँदा भएका सम्झौता कार्यान्वयनदेखि अरू के के छन् एजेण्डा ?

    प्रधानमन्त्रीको चीन भ्रमण- सी नेपाल आउँदा भएका सम्झौता कार्यान्वयनदेखि अरू के के छन् एजेण्डा ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोजको पहिलो साता चीन भ्रमणमा जाँदैछन् । न्यूयोर्कमा हुन लागेको राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन जाने कार्यक्रम छ ।

    अमेरिकालगत्तै चीन जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी तीव्र भइरहेको छ । चीन भ्रमणको एजेण्डाबारे अहिले छलफल भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।

    सोमबार सोलुखुम्बुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । त्यो भ्रमणमा कृषि विकाससम्बन्धी एजेन्डा पनि छन् । चीनका राष्ट्रपति सी चिनफिङ नेपालमा आउनुभएको बेला चीनले प्रतिबद्धता जनाएका अनुदानका राशिहरुको लागि प्राथमिकताका आधारमा योजना छुट्याउने विषयमा पनि हामी गृहकार्यमा लागिरहेका छौं ।’

    उनले उत्तरसँग सम्बन्धित नाका सञ्चालनदेखि नियमित गर्ने विषयमा पनि प्रधानमन्त्रीको भ्रमणको क्रममा छलफल हुने बताए ।

    परराष्ट्रमन्त्री साउदले भने, ‘केही नाकाहरुबाट अहिले व्यापार र आवातजावत भइरहेको छ । त्यसलाई कोरोनापूर्वको अवस्थामा ल्याएर खोल्ने र कतिपय दुई महिना, चार महिना स्थानीय जनताले उपयोग गर्दै आएका छन् । त्यसलाई सहज बनाउन पहल हुन्छ ।’

    चीनको सीमा क्षेत्रमा भएका हाइड्रो प्रोजेक्टमा चिनियाँ लगानी ल्याउनबारे पनि सम्झौता हुने उनको भनाइ छ ।

    उनले थपे, ‘रसुवागढी र किमाथांकाबाट ट्रान्समिसन लाइन निर्माणबारे पनि भ्रमणमा कुरा हुँदैछ । केही सडकहरुतर्फ पूर्वदेखि पश्चिमसम्मको सडक निर्माणको कुरा पनि चीनमा हुनेछ । सेती करिडोर र हिल्सादेखि सुर्खेतसम्म सडक बनाउनेबारे पनि छलफल हुन्छ ।’

    उनले नुवाकोट-छहरे टनेल बनाउने र कोदारी राजमार्गको अपग्रेड तथा पुनर्निर्माण गर्ने प्रस्ताव लैजाने तयारी भएको बताए । चीनसँगको व्यापार घाटालाई ध्यानमा राखेर निर्यात बढाउनेदेखि चीनसँग मिलेर नेपालमै केही उद्योग खोल्नेबारे पनि नेपालको तर्फबाट प्रधानमन्त्रीले प्रस्ताव गर्ने बताए ।

    त्यसो त गत मंगबालर प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पु¥याउँदै नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन-नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित हुने बताएका थिए ।

    ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइनेछ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय रहनेछन्’, उनले भनेका थिए ।

    सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा रहनेछन् ।

  • राष्ट्रियसभामा प्रधानमन्त्री- संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौं

    राष्ट्रियसभामा प्रधानमन्त्री- संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानूनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताए ।

    उनले भने, ‘नेपालको संविधान जारी भएको करिब ८ वर्ष व्यतीत भइसक्दा पनि कतिपय विषयमा संविधान बमोजिम कानून बन्न नसकेको यथार्थ हाम्रासामु छ । यस सन्दर्भमा विधायन व्यवस्थापन समितिले गरेको अध्ययन र सोको आधारमा सुझाव तथा सिफारिस समावेश गरी छलफलका निमित्त पेश गरेको यो प्रतिवेदनले कानून निर्माणका लागि नेपाल सरकारलाई महत्वपूर्ण मार्गदर्शन गरेको मैले विश्वास लिएको छु ।’

    नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको बताए । संघीय संसदमा पेश गरेका विभिन्न पन्ध्र वटा विधेयक संसदीय प्रक्रियामा रहेको बताए । संविधान कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरू छिट्टै संघीय संसदमा पेश गर्ने गरी सरकारले प्रक्रिया अगाडि बढाइरहेको समेत जानकारी गराए ।

    उनले भने, ‘नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कतिपय कानूनहरू निर्माणको प्रक्रियामा छन् । केही विधेयकहरू अघिल्लो प्रतिनिधि सभामा पेश भई सो सभाको कार्यकाल समाप्त भएका कारण स्वतः निष्क्रिय भएको हुँदा त्यसरी निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसदमा पेश गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको अवगत गराउन चाहन्छु ।’

    विधायन व्यवस्थापन समितिको प्रतिवेदनमा औल्याइएको नागरिकता सम्बन्धी कानूनको सम्बन्धमा २०८० जेठ १७ गते प्रमाणीकरण भएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ जारी भइसकेको सन्दर्भमा नागरिकता प्राप्ति सम्बन्धी संवैधानिक अधिकारको प्रचलनका लागि मार्ग प्रशस्त भएको बताए ।

    कानूनी सहायतालाई प्रभावकारी र सङ्घीय संरचना अनुकूल बनाउने सन्दर्भमा नेपाल सरकारले एकीकृत कानूनी सहायता नीति, २०७६ जारी गरेको बताए ।

    उनले भने, ‘नेपालको संविधान र नेपाल सरकारले अङ्गिकार गरेका नीति बमोजिम निःशुल्क कानूनी सहायता सम्बन्धी छुट्टै विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न नेपाल सरकार क्रियाशील रहेको जानकारी गराउँछु । प्रतिवेदनमा औँल्याइएको सङ्घ, संस्था खोल्ने स्वतन्त्रता सम्बन्धी विषयलाई संस्था दर्ता ऐन, २०३४ र कम्पनी ऐन, २०६३ ले व्यवस्थित गरेको सन्दर्भमा सङ्घ, संस्थाको दर्ता तथा सञ्चालनलाई सङ्घीयता अनुकूल बनाउनका लागि नयाँ विधेयक तर्जुमाको गृहकार्य हुदै गरेको जानकारी गराउँछु ।’

    कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ लाई महिलाको हकका विभिन्न आयामहरूलाई समेट्ने गरी परिमार्जन गर्ने कार्य सुरु भइसकेको बताए । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्रिय भूमि आयोग क्रियाशील रहेको समेत जनाए ।

    उनले भने, ‘नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्ने सन्दर्भमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा रहेको छ। यसैगरी आम नागरिकलाई रोजगारी सुनिश्चित गर्नका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयगत कार्यक्रम सञ्चालन गर्दै आएको छ । जहाँसम्म सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य काममा लगाउन सक्ने विषय छ, सो सम्बन्धमा थप अध्ययन र छलफलका आधारमा निष्कर्षमा पुग्नुपर्ने देखिन्छ ।’

    मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानूनी संरचनाहरु निर्माणमा सरकार क्रियाशील रहेको बताए ।

    उनले भने, ‘संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू निर्माण गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमार्फत् आम नागरिकलाई सुशासन, विकास र समृद्धिको अनुभूति गराउने जिम्मेवारी सरकार, संसद् र सरोकारवाला निकायको हो । यसका लागि नेपालको संविधान बमोजिम बन्न बाँकी कानून निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’

     

  • सत्यतथ्य छानबिन गरी मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सत्यतथ्य छानबिन गरी मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताए।

    उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सजायको नीतिबारे छलफल गर्नुअघि हामीले द्वन्द्वको प्रकृति र सन्दर्भ र प्रजातन्त्र स्थापना र सामाजिक रूपान्तरण सुनिश्चित गर्न त्यसको प्रभावलाई विचार गर्नुपर्छ। नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज हो जसले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा समावेश गरिएका लगभग सबै मानवअधिकारहरू समावेश गर्दछ।’

    पूर्व लडाकुहरूलाई नेपाली सेना र समाजमा सफलतापूर्वक एकीकृत गरेको उल्लेख गर्दै विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको स्वीकार गरे।

    उनले भने, ‘पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्न सरकारको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु।’

  • सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

    सुशासनका पक्षमा सरकारले चालेका कदममा साथ दिन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने आवश्यक भएको उनले बताए ।

    प्रधानमन्त्रीले भने, ‘विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो । वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवर्द्धनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ । यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु ।’

    हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    ‘सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे-जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ राख्दैन । त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु ।’

    सुशासनका पक्षमा सरकारले चालेका कदमहरूमा साथ दिएर आ-आफ्नो स्तरबाट सहयोग गर्नु पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

  • ‘जनतासँग माओवादी’ अभियान शुरुआत गर्दै प्रधानमन्त्रीले भने–इतिहासकै उत्कृष्ट काम यो सरकारले गरेको छ

    ‘जनतासँग माओवादी’ अभियान शुरुआत गर्दै प्रधानमन्त्रीले भने–इतिहासकै उत्कृष्ट काम यो सरकारले गरेको छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शनिवारबाट औपचारिक शुरुआत भएको छ । यो अभियान देशभर सबै वडामा एकसाथ चल्ने बताइएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्दै प्रचण्डले सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताए ।

    अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताए ।

    जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।

    अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा,शहीदहरुको नाम राजपत्रमा प्रकाशन,लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको समेत बताए ।

    अध्यक्ष प्रचण्डले सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट अवरोध सिर्जना भएको र लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिन षड्यन्त्र भइरहेकाले यो अभियानले त्यसलाई चिर्नुपर्ने बताए ।

  • ललिता निवासबारे प्रधानमन्त्रीको फैसला- माधवजी निर्दोष साबित, उहाँ र मेरो टेन्सन सधैंलाई साफ भो (भिडिओ)

    ललिता निवासबारे प्रधानमन्त्रीको फैसला- माधवजी निर्दोष साबित, उहाँ र मेरो टेन्सन सधैंलाई साफ भो (भिडिओ)

    पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रुपमा निर्दोष साबित भएको दाबी गरेका छन् ।

    पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाए ।

    प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो समाधान भएको बताए । उनले केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेको समेत सुनाए ।

    ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् ।

    पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय दिएका हुन् ।

    माधव नेपालबारे के भने प्रधानमन्त्रीले ?

    माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपमा रुपले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साब्ति गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।

    मैले प्रधानमन्त्री हुँदा सुरुमा यो १५ दिने हुने हो कि एक महिने भन्ने लागेको थियो । गर्दै जाँदा आठ महिना हुन लाग्यो, गर्दै जाँदा वर्ष बित्छ जस्तो पनि देख्छु मैले । यो गठबन्धन त पाँचै वर्ष जान्छ । प्रधानमन्त्री हेरफेर भएपनि यो एउटा महाअभियान चल्ने देखेको छु । तपाईंहरु ढुक्कसँग अघि बढ्नुस् । सरकार दृढताको साथ यो लडाईंलाई निष्कर्षमा पुर्याउँछ ।

     

  • माओवादी अभियानकाे लक्ष्य- २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने

    माओवादी अभियानकाे लक्ष्य- २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ ।

    नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग माओवादी अभियानअन्र्तगत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, सदृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने प्रवक्ता अग्निप्रसाद साकोटाले बताए ।

    उनले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य लिएको बताए । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घरघरमा जाने उनको भनाइ छ ।

  • एमसीसीबारे माओवादीको लाइन- व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ

    एमसीसीबारे माओवादीको लाइन- व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्ने प्रस्ट पारेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

    उनले भने, ‘एमसीसीमा व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ । त्यो हाम्रो सार्वभौम सम्पन्न संसदले पास गरेको विषय हो, त्यो प्रस्ट रुपमा औपचारिक रुपमा सम्झौताको अंग बनेपछि कार्यान्वयन सहज हुनुपर्छ । जनतामा उठेको प्रश्नलाई प्रस्ट पार्नुपर्छ ।’

  • माओवादीले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ

    माओवादीले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

    उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’

  • ‘जनतासँग माओवादी’ अभियानको तयारी पूरा, कहाँ खटिए पदाधिकारी ? (सूचीसहित)

    ‘जनतासँग माओवादी’ अभियानको तयारी पूरा, कहाँ खटिए पदाधिकारी ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै जिल्लाहरूमा प्रतिनिधि खटाइसकेको बताए ।

    पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाएको छ । उनले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबीच चन्द्रागिरी-२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिने बताए ।

    यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका-८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका-४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी-२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतमा खटिने बताए ।

    सचिवमा दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका-१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका-१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका-२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका-१० मा खटाइएको छ ।

    सापकोटाले अभियानमा जनताको सुझाव, आलोचना सुनेर अघि बढ्ने बताए । अभियानको क्रममा कुनै घर पनि नछाडी पार्टीको नेताहरु जाने बताए ।
  • प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना

    प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

    उनले आज साँझ अस्पताल पुगेर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उपप्रधानमन्त्री खड्का स्वास्थ्य उपचार गराइरहेका छन् ।

    खड्काको प्रोस्टेडको समस्याका कारण बिहान अस्पताल भर्ना गरेर अपरेसन गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि चिकित्सकहरुले केही दिन आराम गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।

    तस्बिरहरू : प्रधानमन्त्रीकाे सचिवालय

  • सीआईबीलाई छानबिन गर्दा बाटोमा ‘प्रचण्ड’ देखिएपनि नछाड्न भनेको छु : प्रधानमन्त्री

    सीआईबीलाई छानबिन गर्दा बाटोमा ‘प्रचण्ड’ देखिएपनि नछाड्न भनेको छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीमाथि आफू निकटका व्यक्तिहरुलाई जोगाएको आरोप लागेपछि प्रष्टीकरण दिएका हुन् ।

    सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

    गठबन्धन मोर्चा अघि बढाइसकेपछि प्रतिक्रियावादीहरुलाई खपिनसक्नु भएको टिप्पणी गरे । उनले आफूहरुले चार पार्टी मात्रै नभएर देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा रहेको बताए ।

     

  • फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

    फिल्ममाथि राजनीति: सरकारले निल्यो ‘प्रकाश’ को अवार्ड

    काठमाडौं । चलचित्र विकास बोर्डले दुई दिनअघि आयोजना गरेको राष्ट्रिय चलचित्र अवार्ड कार्यक्रममा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कार नै घोषणा भएन । चलचित्र पत्रकार तथा बोर्डले बनाएको जुरीका सदस्य अनुप भट्टराईले ‘विवाहमा बेहुली नै छुटेको’ टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् ।

    कुनै पनि फिल्मी अवार्ड वितरण गर्दा त्यसको मुख्य विधा भनेकै ‘सर्वोत्कृष्ट चलचित्र’ हुन्छ । अरु छुटे पनि ‘सर्वोत्कृष्ट चलचित्र’ छुट्दैन । तर, बोर्डले भने मुख्य विधामै टिपेक्स लगाएर अवार्ड बाँडेपछि चलचित्र जगतमा हल्लीखल्ली भइरहेको छ । धेरैले एउटा चलचित्रमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको र विकास बोर्डमा हस्तक्षेप गरेको भन्दै टिप्पणी गरेका छन् । जुरीका संयोजक राजेन्द्र सलभले शीतलनिवासमा आयोजित अवार्ड समारोह नै बहिष्कार गरे ।

    विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्डका लागि पुराना निर्देशक सलभको संयोजकत्वमा निर्णायकमण्डल (जुरी) बनाएको थियो । जुरीमा पत्रकार अनुप भट्टराईसहित थियटर कलाकार सरिता गिरी, संगीतकार चेतन सापकोटा र लेखक शिवम अधिकारी सदस्य थिए । उक्त जुरीले गत वर्षको बहुचर्चित र बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई ‘सर्वोत्कृष्ट चलचित्र’ को विधामा पुरस्कृत गर्न सिफारिस गरेको हो ।

    कार्यविधिअनुसार जुरीले गरेको सिफारिसलाई केरमेट गर्न सक्ने अधिकार बोर्डलाई हुँदैन । तर, ‘प्रकाश’ लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड नदिन बोर्डभित्रै अध्यक्ष भुवन केसीलाई दबाब परेको बुझिएको छ । विकास बोर्डमा माओवादीको वर्चश्व छ । बोर्डका सदस्य रविचन्द्र अधिकारी, राजु केसी र केएल बुढाथोकी माओवादी निकट हुन् । रविचन्द्र प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालसँग विशेष निकट छन् । उनी चितवनका पत्रकार हुन् ।

    बोर्ड सदस्यहरुले ‘प्रकाश’ फिल्मले माओवादी जनयुद्धको बदनाम गर्न खोजेको भन्दै यसलाई अवार्ड नदिन भुवन केसीलाई आग्रह गरेका थिए । यतिमात्र नभएर ‘माथिबाट’ पनि केसीलाई दबाब आएको बुझिएको छ । बोर्ड अध्यक्ष केसी जुरीबाट सिफारिस भएको चलचित्रलाई नै दिनुपर्ने पक्षमा भए पनि दह्रो खुट्टा टेक्न भने सकेनन् । सञ्चार मन्त्रालयले पनि बोर्डको कार्य क्षेत्रमा हस्तक्षेप गर्‍यो ।

    स्रोतका अनुसार अवार्डका विषयमा निर्णय लिन मन्त्रालयभित्र सो चलचित्र मगाएर हेरिएको थियो । सञ्चार सचिव आफैं बसेर पूरा चलचित्र हेरेको स्रोतले बतायो । चलचित्र हेरिसकेर ‘माथि’ ब्रिफिङ गरिसकेपछि ‘प्रकाश’ लाई कुनै हालतमा अवार्ड नदिन बोर्डलाई फर्मान जारी गरिएको स्रोतको भनाइ छ ।

    यसैबीच चलचित्र प्रकाशका अभिनेता प्रदीप खड्कासहितको एउटा टोलीले सञ्चारमन्त्री रेखा शर्मासँग भेटेरै गुनासो राखेको छ । भेटमा मन्त्री शर्माले अवार्ड वितरणमा मन्त्रालयले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिएकी थिइन् ।

    उक्त भेटमा मन्त्रीको प्रष्टीकरणसँग खड्का पनि कन्भिन्स्ड देखिएका छन् । भेटघाटको तस्वीर शेयर गर्दै उनले मन्त्रालयभन्दा पनि ‘व्यक्ति विशेष’ चलचित्रसँग डराएको दाबी गरेका छन् ।

    ‘प्रकाशसँग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडि बढेको पाइयो । प्रक्रिया बुझ्दा बरु व्यक्ति विशेष चाहिँ हामीसँग डराएको बुझियो’, उनले लेखेका छन् ।

    खड्काका अनुसार मन्त्री शर्माले चलचित्र प्रकाश सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्रप्रति कुनै पूर्वाग्रह नरहेको प्रस्ट पारेकी थिइन् । जुरीको निर्णयअनुसार सोही चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले पनि आफूहरु मन्त्रीको भनाइमा आश्वस्त भएको खड्काले बताएका छन् ।

    ‘समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसइवी साँध्न सम्मानित मन्त्रालय साथै पूरा सरकारको नाम प्रयोग भएको बुझियो’, उनले लेखेका छन् ।

    सीधै नभने पनि खड्काको निशाना बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित छ । ‘प्रेमगीत ३’ को सेन्सरलाई लिएर उत्पन्न विवादपछि केसी र खड्काको सम्बन्ध बिग्रिएको थियो ।

    खड्काले परिआए देशको न्यायालयको ढोका ढक्ढकाउनेसमेत उल्लेख गरेका छन् । स्मरणीय यो छ कि, चलचित्र ‘प्रकाश’ मा खड्का निर्माता नभएर कलाकारमात्र हुन् । ‘सर्वोत्कृष्ट चलचित्रको अवार्ड’ निर्माता वा निर्देशकको सरोकारको विषय हो । तर, उनीहरुभन्दा खड्का अघि सरेका छन् ।

    ‘प्रकाश’का कथाकार विकास सुवेदी तालुकदार निकायका हिसाबले विकास बोर्ड जिम्मेवार हुनुपर्ने बताउँछन् ।

    ‘हामीले सोध्ने भनेको विकास बोर्डलाई हो । उसले माथिको दबाबमा गर्‍यो वा आफैंले गर्‍यो भन्ने हामीलाई थाहा हुने कुरा भएन । तर, जुरीले सिफारिस गरेको चलचित्रलाई किन पुरस्कार दिइएन भन्ने गम्भीर विषय हो’, उनले भने ।

    प्रकाशको अवार्ड खोसिएको विषय संसदमा समेत उठ्ने भएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस विषयलाई लिएर सरकारमाथि कडा प्रश्न उठाउने तयारी गरेका हुन् ।

    चलचित्र विकास बोर्डले भने सर्वोत्कृष्ट चलचित्रलाई अवार्ड नदिइएको विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । बोर्ड अध्यक्ष भुवन केसीलाई नेपाल प्रेसले फोन गर्दा उनले यो विषयमा प्रवक्ताले जवाफ दिने बताए ।

    बोर्ड प्रवक्ता केएल पण्डितले भने बोल्न चाहेनन् । ‘एक छिनमा आफैं कलब्याक गर्छु है’ भन्दै टक्टकिए । तर, न उनले फोन गरे न त हामीले गर्दा उठाए ।

    के छ प्रकाशमा ?

    दिनेश राउतले निर्देशन गरेको प्रकाशमा कर्णालीको अभावग्रस्त जनजीवन र राजनीतिक बेथितिलाई कलात्मक तवरबाट चित्रण गरिएको छ । माओवादी जनयुद्धले दिएका घाउचोटहरु यसमा छन् भने सरकारी सेवामा जातीय आरक्षणको व्यवस्थामाथि प्रश्न उठाइएको छ । चलचित्र रिलिज हुँदा पनि माओवादी वृत्तबाट असन्तुष्टिका स्वरहरु सुनिएका थिए ।

    याे पनि पढ्नुस् : ‘प्रकाश’ भित्रको अन्धकार

  • मलाई सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

    मलाई सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन् ।

    समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ भन्ने टेन्सन नभएको सुनाए ।

    उनले भने, ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि मलाई सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन ।’

    आफूले सरकारले नेतृत्व गरेको आठ महिना हुन लाग्यो पनि गठबन्धनमा पनि अझै राम्रो हुँदै गइरहेको बताए ।

  • सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् ।

    बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् । उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए ।

    उनले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए ।

    ‘सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पुर्याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडी नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीलाई रोक्ने, ठगिलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरुलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडी बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ । र सुशासन स्थापना गरेसँगै मात्रै समृद्धिलाई तीव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ’, उनले भने, ‘त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । देशका सबै जनसमुदायहरु, सबै संगठनहरुले, सबै संस्थाहरुले, सबै युवाहरुले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन् । म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहान्छु । यसले थोरै आशा पैदा गरेको छ । समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तिब्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ । तर साथसाथै यो सुशासन जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध सञ्चालन गरिएको हो ।’

    उनले अगाडि भने, ‘ति प्रवृत्ति र तागतहरु संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मुल आधारको रुपमा यसलाई अगाडी बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने संकल्प छ । सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन । सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय मुद्दामा सहमती कायम गर्नुपर्छ । त्यसपछाडी सारा संघ, संगठनहरु, निजी क्षेत्र, सबै मिलेर देशको अहिलेको राष्ट्रिय, केन्द्रिय कार्यभारलाई पूरा गर्न हामी एकसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्छ भनेर संकल्प गर्नु जरुरी छ । त्यसो भयो भने नेपाल बनाउन सक्छौँ । बनाइ छाड्नुपर्छ । अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ । नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडी बढ्नुपर्छ ।’

    गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्याउने पनि बताए ।

     

  • ‘जनतासँग माओवादी अभियान’ प्रचण्डले चन्द्रागिरिबाट सुरू गर्ने

    ‘जनतासँग माओवादी अभियान’ प्रचण्डले चन्द्रागिरिबाट सुरू गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन महिने जनतासँग माओवादी अभियान चन्द्रागिरिबाट सुरु हुने भएको छ।

    प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरि नगरपालिका २ बाट अभियानको सुरुआत गर्न लागेका हुन्।

    माओवादीका कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रचण्डले अभियानको सुरु गरेपछि एकसाथ भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाका कार्याक्रमलाई सम्बोधन गर्ने तयारी छ।

    चन्द्रागिरि २ गत गत स्थानीय निर्वाचनमा माओवादीले जितेको थियो। काठमाडौंमा आधार इलाका कमजोर भएको माओवादीले चन्द्रागिरिबाट अभियानको सुरु गर्न लागेको हो।

    माओवादीले विशेष महाधिवेशनअघि भदौं १६ बाट मंसिर १६ सम्म बिशेष अभियान चलाउँदैछ।
    देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गरेर सबै घरघरमा पुग्ने माओवादीको तयारी छ।

  • सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सीआईबीमा आफैँ हाजिर

    सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सीआईबीमा आफैँ हाजिर

    काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा मुछिएका उनले केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।

    ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।

    प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले राहुल सीआईबी नियन्त्रणमा रहेको पुष्टि गरे ।

    भन्सारको सामानमा राखेर भएको सुन तस्करीमा महरा बाबुछोराको नाम जोडिएको थियो । सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।
  • माओवादीको प्रष्टीकरण- व्याख्यात्मक घोषणा सम्झौताको लिखित अंग नभएसम्म एमसीसी कार्यान्वयनमा जाँदैन

    माओवादीको प्रष्टीकरण- व्याख्यात्मक घोषणा सम्झौताको लिखित अंग नभएसम्म एमसीसी कार्यान्वयनमा जाँदैन

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा नजाने बताएका छन् ।

    उनले अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणी स्वीकार नगरेको नदेखिएको भन्दै यस्तो बताएका हुन् ।

    आजबाट औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा जाने थालेपछि फेरि विवाद चर्किएको छ । सुरुआतदेखि नै एमसीसीको विपक्षमा रहेर वकालत गर्दै आइरहेका गुरुङले फेशबुकमा लेखेका छन्, ‘२०७८ फागुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसीसी सम्झौताको अनुमोदन गरियो। त्यस बेला मन्त्री लगायतका प्रायः सबै नेताहरुले १२ बुँदे घोषणालाई स्वीकार गरि त्यसलाई एमसीसी सम्झौताको अंग बनाईनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदा सम्म एमसिसी सम्झौता कार्यन्वयन नहुने भनि संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो। तर आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रुपमा लिखित रुपमा १२ बुँदे स्विकारेको देखिएको छैन ।’

    १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरि निरपेक्ष रुपमा एमसिसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउदा सम्म एमसिसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमुल्यन गर्ने अधिकार कोही-कसैलाई छैन ।’

  • माओवादीले तीन महिने पार्टी रुपान्तरण अभियान चलाउने

    माओवादीले तीन महिने पार्टी रुपान्तरण अभियान चलाउने

    डोटी । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले पार्टीको सर्भिसिङ्गका लागि ३ महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन् ।

    ‘हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो, तर केही समययता यो पार्टी पनि अन्य साधारण पार्टी जस्तै भयो’, बुधबार प्रेस सेण्टर, डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भने, ‘पार्टीमा फेरी क्रान्तिकारीपन ल्याउनका लागि सर्भिसिङ्ग गर्न लागिएको हो ।’

    विशेष अभियानका क्रममा पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने गरी प्रशिक्षित गरिने केन्द्रीय सदस्य भण्डारीले बताए ।

    पत्रकारहरुद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै भण्डारीले माओवादी कार्यकर्ता बिलासी नभइ सामान्य जीवनशैली बिताइरहरेको दाबी गरे । उनले १ प्रतिशत नेता कार्यकर्ता विलासी भएको हुन सक्ने अनुमान गरे ।

    पत्रकार सम्मेलनमा माओबादीका डोटी जिल्ला इन्चार्ज लक्षीराम आचार्यले विशेष रुपान्तरण अभियानका क्रममा जिल्ला ६ हजार ५०० नेता कार्यकर्ता परिचालन हुने बताए । ‘हामीले जिल्लालाई ६ कमाण्डमा बिभाजन गरेर ६ टोली बनाएका छौं’, आचार्यले भने, ‘६ वटै टोली तीन महिनासम्म आफ्नै कार्यक्षेत्रमा खट्नेछन् ।’

    अभियान तीन चरणमा हुने आचार्यले बताए । पहिलो चरणमा ६५० पूर्णकालीन सदस्यहरु परिचालन भइ सदस्यता नवीकरण, कमिटी बैठक र आन्तरिक छलफल गर्ने, दोस्रो चरणमा जिल्लाका ६५ वटै वडाहरुमा ५ घण्टे प्रशिक्षण सञ्चालन गर्ने र तेस्रो चरणमा जनताको बिचमा जाने कार्यक्रम रहेको आचार्यले बताए ।

    भदौ १६ गतेदेखि देशभरी सञ्चालन हुने अभियानका क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री सातवटै प्रदेशका एउटा वडामा पुग्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा नं. १६ मा पार्टी अध्यक्षले अभियानको कमाण्डिङ गर्ने उनले जानकारी दिए ।

    अभियानका क्रममा पार्टी नेतृत्वमा रहेको बर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियान, सुशासन र समृद्धिको पक्षमा सरकारले गरेका कामको विषयमा पनि जनतालाई जानकारी गराइने माओवादीका अर्का केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले जानकारी दिए ।

  • सुन तस्करीमा संलग्न भएको प्रमाणित भए महरा ‘बाबुछोरा’लाई कारबाही हुन्छ : जनार्दन शर्मा (भिडिओ)

    सुन तस्करीमा संलग्न भएको प्रमाणित भए महरा ‘बाबुछोरा’लाई कारबाही हुन्छ : जनार्दन शर्मा (भिडिओ)

    हेटौंडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सुन तस्करसँगको साँठकाँठमा माओवादी नेता कृष्णबादुर महरा मुछिएको प्रमाणीत भएका उनी पनि कारबाहीको भागेदार हुने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री शर्माले गलत क्रियाकलापमा सहभागि भएका माओवादी नेताहरुलाई उन्मुक्ती नमिल्ने दाबी गरेका छन् । सरकारले अनियमिताको विषयमा गम्भिर भएर काम गरेको बताउँदै उनले अनियमिततामा संलग्न जोसुकै पनि कारबाहीको दायरामा आउने दाबी गरे ।

    उनले भने, ‘सुन काण्डको विषयमा  सीबीआईले अनुसन्धान गरिरकेको छ, यदि नाम जोडिएका नेताहरुको प्रमाण प्राप्त भयो भने अवश्य पनि उहाँहरु कारबाहीको दायरमा आईहाल्नु हुन्छ, प्रमाण नपुगी सिधै कारबाही गर्नुपनि त भएन नि ?’

    अब अन्य आयोग मात्रले काम गर्न नसक्ने भन्दै विषेश आयोग बनााएर सबै नेताहरुको छानविन हुन आवश्यक रहेको बताए । राज्यको रुपान्तरणको लागि सबैको छानबिन हुन अति आवश्यक भैसकेको भन्दै उनले सरकार यो काममा लाग्नेमा आफु विश्वस्त भएको बताए ।

    सरकारले ललिता निवासदेखि सुनकाण्ड समेतको विषयमा गम्भिर भएर कामकारबाही अघि बढाएको बताउँदै उनले भ्रष्ट्राचारमुक्त मुलुक निर्माणको लागि माओवादी नेतृत्व तयार रहेको बताए । आफुले पटक–पटक पार्टी नेतृत्व र सदमा अनियमितताको विषयलाई कुनै पनि पार्टीको नाउँमा छाडन नमिल्ने सुझाव दिएको भन्दै उपमहासचिव शर्माले माओवादीको अध्यक्षले पनि कुनै गल्ती गरेको अवस्थामा कानूनको दायरामा आउने उल्लेख गरे ।

    नेकपा माओवादीका नेताहरु सहर केन्द्रीत भए भन्ने जनगुनासो आएको स्किार गर्दै उनले माओवादीले अब जनताको घरघरमा गएर गुनासो सुन्नको लागि तीन महिने अभियान बनाएर पार्टी कार्यक्रमहरु सुरु गरेको बताए । पार्टी अध्यक्ष प्रचण्ड सहित सबै नेताहरु वडास्तरमा गएर काम गर्ने बताउँदै उनले अब जनताको साथमा माओवादीले गरेको काम र गर्नुपर्ने कुराहरुको बृहत अन्तरक्रिया गरिने उनले बताए ।

  • ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- संविधान मिचेर संसद विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन

    ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- संविधान मिचेर संसद विघटन गर्नेबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन

    रुपन्देही । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका मुख्य शक्ति आफूहरु सँगै भएको बताउँदै समाजवादी मोर्चाको भविष्य रहेको बताएका छन् ।

    सरकारमा बस्न कुनै शक्तिसँग अनुचित सम्झौता नगर्ने बताउँदै उनले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए ।

    बुटवलमा मंगलबार भएको समाजवादी मोर्चा नेपालको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा बस्न गलत काम गर्दै नगर्ने बताए ।

    ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’, उनले भने ।

    प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको औंल्याए ।

    जनयुद्ध र जनआन्दोलनका मुख्य शक्तिहरु अहिलेको मोर्चामा रहेको उनकाे भनाइ थियो । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन्’, प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै भने, ‘पटक पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन ।’

    उनले अहिलेको गणतन्त्र दलाल पूँजीवादी गणतन्त्र भएको भन्दै मुलुकका लागि जनगणतन्त्रभन्दा माथिको समाजवादी गणतन्त्र चाहिएको बताए ।

    ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको, श्रमिक वा पूँजीपतिहरुको हुने हो ? त्यसैको लागि यो मोर्चा बनेको छ’, प्रचण्डले भने, ‘एक्लै लडेर यो लडाइँ जित्न सकिँदैन, यसका लागि मित्रहरुको खोजी गरिनुपर्छ ।’

    उनले सुशासनको पक्षमा सरकारले काम गरेकाले आम जनतामा केही हुन्छ कि भन्ने आशा र भरोसा जागेको बताए ।

    उनले समाजवादी मोर्चाले आवश्यक परे लाखौं जनतालाई सडकमा ल्याउनुपर्ने बताए ।

  • राप्रपासँगको सहमतिले कोशीमा गठबन्धनलाई सहजता ल्याउँछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    राप्रपासँगको सहमतिले कोशीमा गठबन्धनलाई सहजता ल्याउँछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास जनाएका छन् ।

    मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास जनाएका हुन् । यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।

    माओवादीले माधव सापकोटालाई ब्याक गराएर पूर्वाधार विकास समितिमा राप्रपाका दीपक सिंहलाई मैदान खाली गराएको थियो ।

    प्रचण्डले भने, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

    यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको सहमति भएको प्रष्ट्याइसकेका छन् ।

  • राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं, अतिवादलाई प्रश्रय नदिऔं : वर्षमान पुन

    राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं, अतिवादलाई प्रश्रय नदिऔं : वर्षमान पुन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संस्कृति नीति तयार पार्न आवश्यक भएको बताए ।

    उनले भने, ‘नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस् ।’

    नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको बताए । विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, संघीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

    कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रश्रय दिन नहुनेमा उनको भनाइ छ । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग हुन नहुने पनि बताउँदै कसैलाई आग्रह र पूर्वाग्रह राखेर सरकारले काम गर्न नहुने उनको भनाइ छ ।

  • प्रतिनिधिसभामा १२ सांसदको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ? (पूर्णपाठ) 

    प्रतिनिधिसभामा १२ सांसदको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ? (पूर्णपाठ) 

    काठमाडौं । प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई १२ सांसदले प्रश्न गरेका छन्। सरकारको गतिविधि र समसामयिक घटनाक्रमबारे केन्द्रित रहेर १२ सांसदले प्रश्न राखे।

    सांसदहरूको प्रश्नको जवाफ दिए सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण¸ अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण¸ सार्वजनिक सेवामा जनताको सहज पहुँच¸ भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धन रहेका बताए।

    विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहँदै आएको बताए।

    उनले भने, ‘सरकारले चालेका कदम र अघि बढाएका कार्यहरूले जनतामा सरकारप्रति आशा र भरोसा बढाउनुका साथै विकासप्रतिको एउटा नयाँ हुटहुटी पैदा गरेको छ। यस अवधिमा सार्वजनिक सेवा प्रवाहमा जनताले साबिकमा भोग्दै आएका झन्झट र सास्तीलाई उल्लेख्य मात्रामा कमी ल्याउन सफलता मिलेको¸ विकास निर्माणले गति लिएको र देशमा नयाँ आशा तथा उमङ्‍गको सञ्चार भएको छ। यद्यपि यसमै अडिएर सन्तोष गरेर बस्ने छुट हामीलाई छैन।’

    हेरौँ १२ सांसदको प्रश्न र प्रधानमन्त्रीको जवाफको पूर्णपाठः

    संघीय संसद्¸ प्रतिनिधि सभाका माननीय सदस्यहरूले उठाउनु भएका प्रश्नका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको जवाफ
    २०८० भाद्र १२ मंगलवार

    सम्माननीय सभामुख महोदय
    माननीय सदस्यहरू !

    • प्रतिनिधि सभाका माननीय सदस्यहरूले यस सम्मानित सदनमा उठाउनुभएका प्रश्‍नहरूको जवाफ दिने नियमित कार्यतालिका अन्तर्गत म तपाईंहरूसमक्ष उपस्थित भएको छु।

    • सार्वजनिक जनसरोकारका विषयमा अत्यन्त उत्साह र चासोका साथ यस सम्मानित सदनमा भएका छलफलहरूमा सक्रियतापूर्वक सहभागी भई तथा महत्त्वपूर्ण प्रश्‍न¸ जिज्ञासा¸ विचार तथा सूझावहरु राख्‍नुभएकोमा म सबै माननीय सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूले विभिन्‍न समयमा उठाउनुभएका प्रश्‍न, जिज्ञासा, सुझाव तथा धारणालाई सरकारले गम्भीरताका साथ लिँदै आएको छ।

    • मेरो नेतृत्वमा सरकार गठन भएको यो अवधिमा सरकारले सुशासन¸ सामाजिक न्याय र समृद्विलार्इ मूख्य केन्द्रमा राखी राज्यका सम्पूर्ण शक्ति र सामर्थ्यलाई देश र जनताको हितमा अधिकतम परिचालन गर्दै आएको यहाँहरूलाई विदितै छ।

    • सरकारको मुख्य जोड सङ्‌घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण¸ अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण¸ सार्वजनिक सेवामा जनताको सहज पहुँच¸ भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धन रहेको छ। नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्‍वास दिलाउँदै सबैतिर आशाको सञ्‍चार गराउने हाम्रो प्रयास छ। यसैगरी विकास निर्माण कार्यलाई गति दिन¸ शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहँदै आएको छ।

    • अब म माननीय सदस्यहरूले विभिन्‍न विषयमा उठाउनुभएका प्रश्‍नहरूको जवाफ दिन गइरहेको छु।

    प्रश्‍न नं. १
    प्रश्‍नकर्ताः मा. उदयशमसेर राणा
    प्रश्‍नको व्यहोरा

    1. उपत्यकाभित्र बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न रिङ्गरोड बाहिरका नगरहरू र गाउँहरूसम्म जोडिने सडक विस्तार गर्न नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाएता पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकसमा समस्या परेको छ। साथै उपत्यकाको ३५ प्रतिशत भू-भाग ओगटेको ललिपुर क्षेत्र नं. १ लाई जोड्ने ३ वटै सडकलाई मुआब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विभेद गरिएको छ। विभेद गरिएका वैकल्पिक सडक र नयाँ बस्ती विकासमा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ ?

    2. यतिबेला आर्थिक सूचकांकहरू (Indicators) सकारात्मक छन्। भुक्तानी सन्तुलन पनि राम्रो छ।तर अर्थतन्त्र अवरुद्ध अवस्थामा छ।
    3. वैदेशिक लगानी र सहयोग बढ्न सकेको छैन। यस्तो अवस्थामा आन्तरिक लगानी बढाउनेतर्फ सरकारको प्राथमिकता हुनुपर्ने हो, त्यो पनि हुन सकेको छैन। एकातिर बैंक वित्तीय संस्थामा पैसा थुप्रिएको छ, तर साना तथा मझौला उद्योगहरू ऋण नपाएको गुनासो गरिरहेका छन्। अर्थ व्यवस्थाको यो असन्तुनललाई सम्बोधन गर्न सरकारको तयारी के छ ?

    4. साथै¸ प्रधानमन्त्रीको आउँदो चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?

    उत्तर

    १.  काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणका आयोजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रकम विनियोजन गरिएको छ। ललितपुर क्षेत्र नं. १ लाई जोड्ने विभिन्‍न सडकको विस्तार र जग्गाको मुआब्जाका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारले ध्यान दिनेछ।

    २. उत्पादन¸ उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च¸ दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ।

    सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार¸ अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असारमसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्‍चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्‍न पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउनेलगायतका कार्य अगाडि बढाइएको छ।

    जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको र यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने भएको छ । बैंकहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्र लगायतका आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ । यसबाट उद्योग, व्यवसाय क्षेत्रलार्इ प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि वढ्नमा सहयोग पुग्ने विश्‍वास गरिएको छ ।

    ३. निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाइ थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन-नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने¸ दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्‍चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय रहनेछन् । यसैगरी सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र  विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहनेछ।  

    प्रश्‍न नं. २
    प्रश्‍नकर्ता मा. ईश्‍वरीदेवी न्यौपाने

    1. लोकतन्त्रमा शासन विधि र पद्धतिको हुन्छ कि व्यक्तिको < यदि विधि र पद्धतिको हुन्छ भने राज्यका निकायहरूमा व्यक्ति परिवर्तनले खासै ठूलो अर्थ नराख्नु पर्ने हो। तर हाम्रोमा मन्त्री या कर्मचारी परिवर्तन गरेर मात्रै सुशासन सम्भव छ भन्ने जस्तो भाष्य निर्माणको कोसिस किन हुँदैछ ?

    2. हाम्रो जस्तो सुन्दर, शान्त देश नेपालमा १३१ भाषाभाषी, १४२ जातजाति बसोबास गर्छन्।यो विविधता हाम्रो पूँजी हो र यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य र दायित्व हो। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली…….” बोलको हाम्रो राष्ट्रिय गानको भाव र मर्मप्रति मेरो अटल विश्वास छ। वर्गीय राजनीतिको सैद्धान्तिक वकालत गर्ने पार्टी नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं सहभागी भएर बनाएको संविधानको रक्षासँगै यसको कार्यान्वयन तथा पालना गर्ने प्रतिबद्धतासहितको शपथ लिएर अहिले देशको कार्यकारी प्रमुखमा हुनुहुन्छ। तर हालै प्रधानमन्त्रीज्यूले ‘यदि हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउँनेछौं भनी दिएको सार्वजनिक अभिव्यक्ति यो संविधानको भावना अनुकूल छ ।जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्ने भन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन ? यसबारे स्पष्ट पारिदिनु हुन्छ कि ?

    3. सुदूरपश्चिम सरकारले आफ्नै भवनबाट कार्यसञ्चालन गर्न कहिले देखि पाउँछ ?

    उत्तरः

    1. लोकतान्त्रिक विधि र पद्धतिको विकासमार्फत सामाजिक न्याय र सुशासनसहितको समृद्धि हासिल गर्ने दिशामा सरकारका क्रियाकलाप केन्द्रित रहेका छन्।सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध छ।

    2. बहुजातीय बहुसाँस्कृतिक विविधता बोकेको नेपालमा सदीयौँदेखि विभिन्‍न जातजाति¸ वर्ण¸ धर्म र संस्कृतिका जनताहरु आपसी सहकार्य, सम्मान र गहिरो सद्‍भावका साथ मिलिजुली बस्दै आएका छन्। अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभूत चरित्र हो। सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवर्द्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुने हुन्छ। नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म¸ संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म¸ संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ। अतः परापूर्वकालदेखि यहाँ कायम रहिआएको सामाजिक एकता¸ सद्‍भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ प्रतिबद्ध छ। सामाजिक सद्भावमा खलल पार्ने वा एकअर्काको संस्कृति र धर्म विरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले छुट दिने छैन। नेपालको संविधानको पूर्ण पालना गर्नु हामी सबैको साझा दायित्व हो।

    3. सुदूरपश्‍चिम प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतका विषय प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।


    प्रश्‍न नं ३
    प्रश्‍नकर्ता मा. ऐनबहादुर शाही
    प्रश्‍नको व्यहोरा

    1. सम्माननीय प्राधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू खोल्ने एजेन्डामा मुगुको नाक्चेलाग्ना छ कि छैन ? छैन, भने एजेन्डामा समावेश गरियोस् यो नाका खुलेमा मुगु लगायत समग्र कर्णाली प्रदेशमा नै आर्थिक रुपमा समृद्धि ल्याउने छ।

    2. आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र कर्णाली प्रदेशका रारा लगायताका पर्यटकीय स्थानहरूमा पर्यटन पूर्वाधार लगायत विभिन्न समस्या हुँदा पर्यटकहरूको आवागमनमा कमी भएको छ यसमा सरकारको योजना के छ ?

    3. कर्णाली राजमार्ग अन्तर्गतको नाग्म-गमगदी कालोपत्र र गमगदी नाक्चेलग्ना सडक निर्माणलाई सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? र कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ?

    उत्तरः

    १. मेरो आसन्‍न चीन भ्रमणको दौरान चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा समेत छलफल हुने छ ।

    २. पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा छन्।रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि सङ्घीय स्रोतबाट सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ-आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा रहेका छन्।

    ३. नाग्मा-गमगढी र गमगढी-नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको जानकारी गराउँदछु। हाल नाग्मा-गमगढी ६.5 कि.मि. कालोपत्रे र 8 कि.मि. ग्राभेल स्तरमा स्तरोन्‍नति गर्ने गरी निर्माण कार्य भइरहेको छ। त्यसैगरी गमगढी-नाक्चेलाग्नामा १२ कि.मि. निर्माणको कार्य भइरहेको छ। 

    प्रश्‍न नं ४
    प्रश्‍नकर्ता मा. ऋषिकेश पोखरेल
    प्रश्‍नको व्यहोरा

    1. राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये (क) २ वटा पूरा भएको देखिन्छ। माथिल्लो तामाकोशी, गौतम बुद्धभैरहवा एयरपोर्ट। (ख) ५ वटाले ७५% माथि काम भएको देखिन्छ। हुलाकी सडक, पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र विकास कार्यक्रम, पोखरा विमान स्थल र मेलम्ची खानेपानी अरु १७ वटा को अवस्था के छ ? कहिले पुरा हुन्छन् ?

    2. प्रविधि र ज्ञान विना दैनिक २५०० युवा विदेश जादै छन्, प्रविधि र उध्यम सिलता विकास गरी प्रौधोगिक शिक्षा दिने उद्देश्यका साथ स्थापनाको लक्ष्य लिएको मदन भण्डारी प्रधौगिक विश्‍वका लागि अघिल्लो सरकारले पुर्वाधार निर्माण तथा विकास समिति गठन गरेको ७ करोड बजेट छुट्टिएको राष्ट्रिय महत्वको योजना आज कहाँ छ र कहिले पुरा हुन्छ ?

    उत्तरः

    राष्‍ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्‍न गर्न पर्याप्‍त बजेट सुनिश्‍चित गरिनुका साथै नियमित अनुगमन  भईरहेको छ। म स्वयंले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्य प्रगतिको जानकारी लिई कार्य सम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको छु। राष्‍ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्‍न भएका¸ १४ वटाको प्रगति ८०% भन्दा माथि रहेको¸  ५ वटाको प्रगति ५० देखि ८०% सम्म रहेको र २ वटाको प्रगति ५०% रहेको छ।

    हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण यो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ।

    पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६% भई समष्टिगत वित्तीय प्रगति ६५.७३% रहेको छ ।        

    लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८% र वित्तीय प्रगति ६०.३४ % रहेको छ ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भए पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यस आयोजनाको लागि चालू आर्थिक वर्षमा रु. ३५ करोड विनियोजन भएको छ।
    मेलम्ची खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुनः हेडवर्क्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको पहुँच मार्गमा क्षति पुगेको छ। मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिनेछ।
    सञ्‍चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिदैँ आएको छ।

    २. मिति २०७७ साल साउन १२ गते मदन भण्डारी प्रौद्योगिक विश्‍वविद्यालय विकास समिति गठन भएको हो। समितिको समयावधि २ वर्ष रहेकामा सो अवधि समाप्त भएकोले नयाँ गठन आदेश जारी गरी  विश्‍वविद्यालयको आवश्यक पूर्वाधार तयार गर्ने लगायतका कार्य अगाडि बढाइनेछ। यस विश्‍वविद्यालयलाई चालू आर्थिक वर्षमा रु. २ करोड बजेट विनियोजन गरिएको छ।

    प्रश्‍न ५
    प्रश्‍नकर्ता मा. आशा वि.क.
    प्रश्‍नको व्यहोरा

    1. सरकारले २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गर्‍यो। छुवाछुतलाई गैरकानुनी भनेतापनि अहिलेसम्म जघन्य जातीय विभेदका घटना भईरहेका छन्। सरकारले छुवाछुतलाई उन्मुलन गर्न कस्ता कदम चालिरहेको छ ? सरकारले दलितहरूको न्यूनतम मानवअधकार रक्षा गर्न के पहल गर्छ ? जातीय विभेदका घटना प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको अवस्था छ। सरकारले यस्ता घटना न्यूनीकरण गर्न के योजना ल्याउँछ ?

    2. बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ मा सरकारले २०७१ बैशाख २५ गते नौवस्ता औद्योगिक करिडोर क्षेत्र घोषणा गर्‍यो। बस्तीको बीचमा सरकारले औद्योगिक क्षेत्र घोषणा गर्दा त्याँ रहेका ३९० घरधुरी जनता कहिले सरकारले उठाँउछ भनेर त्रासमा बाँचिरहेका छन्। त्यहाँ रहेको ५३८ बिगाहा जमिनमध्ये १०० बिगाहा जमिन त्यहाँ रहेका स्थानीयका नाममा ल्याउनु पर्ने माग रहेको छ। २०२८ सालदेखि बसोबास गरिरहेका जनतालाई लालपुर्जा दिनुपर्ने र सोही ठाउँमा बस्ती व्यवस्थापन गर्न सरकारले के भूमिका खेल्छ ? स्थानीय सरकारले त्यस क्षेत्रमा सडक, बत्ती, बिद्यालय, मठमन्दिर लगायतका संरचनाहरू बनाएको छ। त्यो बस्तीलाई सोही ठाउँमा सरकारले कहिले व्यवस्थापन गर्छ?

    3. बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा २०२६ सालदेखि गिजराबस्ती बसिरहेको छ। सरकारले पटक-पटक त्यस बस्तीलाई लालपुर्जा दिने भनेर मौखिक प्रतिबद्धता जनाएपनि हालसम्म त्यहाँ रहेका जनाताले लालपुर्जा पाएका छैनन्। गिजराबस्ती सरकारको ऐलानी जग्गा र टण्डनको चिनी मिल रहेको क्षेत्रमा बसोबास गरेका छन्। सरकारले बत्ती, पानी, विद्यालय लगायतका संरचना बनाएको छ। त्यस क्षेत्रका जनतालाई लालपुर्जा कहिले वितरण हुन्छ ?

    4. संघीय गणतन्त्रात्मक राष्ट्र घोषणा भईसकेको अवस्थामा सुदुरपश्चिम प्रदेशको राजधानी बन्छ वा बन्दैन्? के यहि हो गणतन्त्र ? बन्ने भए कहाँ बन्छ ? प्रदेश सभाबाट घोषणा भएको गोदावरी राजधानी बन्छ कि बन्दैन्? बन्ने भए कहिले बन्छ ? किन घोषणा गरेको ? हिजो तपाईहरूको पार्टी र एमाले पार्टीको संयुक्त घोषणा गर्दै गर्दा आज किन मौन ? जनता जान्न चाहन्छन्।

    उत्तर

    १. नेपालको संविधानले छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। जातका आधारमा गरिने छुवाछूत तथा भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रुपमा लिँदै कानून बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभूति गरेको छ। सरकार यो मौलिक हकको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छ। यद्यपि मौलिक हकहरूको कार्यान्वयनका लागि सबै तहबाट अझै घनीभूत प्रयास आवश्यक छ।  जातीय विभेदका घटनामा प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजूरी नलिएको भन्‍ने कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिने र यस्ता घटना आगामी दिनमा हुन नदिन सरकारले पूर्ण ध्यान दिनेछ।

    २. बाँके जिल्लाको साबिक नौबस्ता क्षेत्रको ५२५ बिगाहामा औद्योगिक क्षेत्र घोषणा भइसकेको र त्यहाँ बसोबास गर्दै आएका स्थानीयबासीहरूको उचित व्यवस्थापन लगायतका समस्या समाधानका लागि सम्बन्धित स्थानीय प्रशासन लगायत विभिन्‍न निकायबाट पहल भइरहेको छ। उक्त क्षेत्रका प्रभावित जनसमुदायहरूको समस्यालाई व्यवस्थापन गरी ‍औद्योगिक क्षेत्रको विकास कार्य अघि बढाइनेछ। यससम्बन्धी समस्या समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको र समितिले काम अघि बढाएको जानकारी गराउँदछु।

    ३. बाँकेको खजुरा गिजुरा ६ गिजरा बस्तीका सन्दर्भमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (ङ) को समितिको प्रतिवेदन, भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्णय बमोजिम गिजरा खाँडसारी मिल्स प्रा.लि.का हदबन्दी भन्दा बढीका जग्गाहरू जफत गरी नेपाल सरकारका नाममा कायम गर्न र जफत गरिएका जग्गामा रहेको अतिक्रमण हटाउन २०८० जेठ ८ गते निर्णय भई कार्यान्वयनमा रहेको छ। उक्त क्षेत्रमा बसोबास गर्दैं आएका भूमिहीनलाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगले कार्य अघि बढाएको जानकारी गराउँदछु।

    4. सुदूरपश्‍चिम प्रदेशको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतका विषय प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।
     
    प्रश्‍न नं ६
    प्रश्‍नकर्ता मा.उर्मिला माझी
    प्रश्‍नको व्यहोरा

    1. नेपाल कृषि प्रधान देश हो, यहाँका ६५ प्रतिशत बढी जनसंख्या कृषिमै आश्रित देखिन्छन्, तर पछिल्लो अवधिमा नेपालको उत्पादनको हिस्सा घट्दै गएको मात्र होइन, सामान्य भान्सामा प्रयोग हुने सबै चिज आयातमा भर पर्नुपर्ने बाध्यता खडा हुँदै गएको छ। कृषि क्षेत्रमा लगानी अत्याधिक हुने तर प्रतिफल अत्यन्तै न्यून हुने प्रक्रियाले गर्दा कृषिप्रति मानिसको आकर्षण र लगाव निरन्तर घट्दो छ, सरकारले उत्पादन वृद्धि गर्न र जनतालाई कृषिमै जीवन देख्ने गरी कृषि पेशालाई गर्विलो पेशा बनाउन कस्तो योजना निर्माण गर्दैछ।

    उत्तरः

    1. सबल आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन कृषि क्षेत्रमा आधुनिकीकरण¸ यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च जोड दिँदै आएको छ। कृषि क्षेत्रमा विगतदेखि लगानी गर्दै आएको र यसबाट उत्पादन र उत्पादकत्वमा समेत केही वृद्धि भइरहे पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसक्नुका कारणहरु पहिल्याउँदै उत्पादकत्व वृद्घिका लागि विभिन्‍न कार्यक्रमहरू सञ्‍चालनमा रहेका छन्। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत प्रदेश र स्थानीय तहमार्फत उल्लेख्य रकम विनियोजन गरी कृषि क्षेत्रमा पर्याप्त साधन स्रोत परिचालन गर्ने नीति लिएको छ।

    कृषि उत्पादनको वृद्धिका लागि सिँचाइको सुविधाको विस्तारलाई जोड दिइनुका साथै रासायानिक मलको आपूर्ति समयमै हुने कुराको सुनिश्‍चितता गरिएको छ। साथै¸ कृषि बाली वस्तुहरूको विशेष उत्पादन क्षेत्र जस्तै जोन, सुपरजोन, उन्‍नत बीउबिजनको विकास, उत्पादन तथा वितरणको लागि एकीकृत राष्ट्रिय कार्यक्रम सञ्चालनमा रहेको छ। कृषि उपजको बजार सुनिश्‍चितताका लागि विभिन्‍न कार्यक्रमहरू सञ्‍चालनमा रहेका छन्।

    त्यसैगरी दूध तथा मासुमा आत्मनिर्भरताका लागि पशु नश्‍ल सुधार, आहारा व्यवस्थापन तथा पशु स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालनमा रहेका छन्। बाँझो जमिनमा कृषि प्रवर्द्धन कार्यक्रम, फलफूल क्षेत्र विकास तथा ग्रामीण कृषि उद्यम विकासका कार्यक्रमहरू सञ्‍चालन भइरहेका छन्। कृषि उत्पादन क्षेत्रको जोखिम व्यवस्थापन गर्न कृषि बीमा कार्यक्रम सञ्‍चालनमा रहेको छ जस अन्तर्गत बीमा प्रिमियममा ८० प्रतिशत अनुदान संघीय सरकारले उपलब्ध गराउने गरेको छ। कृषि क्षेत्रमा लगानी बढाउन सहुलियत दरमा कृषि कर्जाको विस्तार तथा दायरा बढाउँदै लगिएको छ। उत्पादित कृषि वस्तुको बजारको सुनिश्‍चितताको लागि धान¸ गहुँ¸ उखु लगायतका बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने लगायतका कार्यक्रमहरू सञ्‍चालनमा रहेका छन्। कृषि पेशालाई सम्मानजनक र मर्यादित बनाउन कृषकहरूलाई नियमित तवरमा पुरस्कृत गर्ने कार्यक्रमहरू जस्तै राष्ट्रपति कृषक पुरस्कार कार्यक्रम सञ्‍चालनमा रहेको छ। कृषि पेशालाई दिगो¸ दरिलो र गर्बिलो बनाउन सरकार प्रतिबद्ध छ।

    प्रश्‍न नं ७
    प्रश्‍नकर्ता मा. एकनाथ ढकाल
    प्रश्‍नको व्यहोरा

    1) सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदै आम माफिले चोख्याउने कोसिस भयो, अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै सरकार हिड्छ। सर्वोच्च एउटा फैसला गर्छ अनि सरकार ठीक त्यस्को विपरीत ? किन ?

    2) छोराका हत्यारलाई कारवाहीको माग गर्दै ३३० दिन आमरण अनसनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनशनमै २०७१ असोज ६ गते निधन भयो। न्यायका लागि जीवन आहुति दिने अधिकारीलाई शहीद घोषणा गर्नु पर्नेमा विगत ९ वर्षदेखि उनको पार्थिव शरीर अस्पतालमै सडेको छ। मृतक नन्दप्रसादकी धर्मपत्नी गङ्गामाया अधिकारी अहिलेसम्म पनि बेहाल अवस्थामा सत्य र न्यायको प्रतीक्षामा छिन्। सरकारको नीति तथा कार्यक्रमको १७६ बुँदामा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षमा सम्पन्न गरिने उल्लेख छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्‍न यो छ कि मृतक नन्दप्रसादकी धर्मपत्नी गङ्गामाया अधिकारीको मागको सम्बोधन कहिले र कसरी गर्नु हुन्छ ? वर्षौदेखि न्यायको लागि भनेर शान्तिपूर्ण अनसन बसेको गंगामाया अधिकारीलाई भेट्नु प्रधानमन्त्रीज्यूको कर्तव्य हो कि होइन ? कहिले उहाँलाई भेट गर्न जानुहुन्छ ?

    उत्तरः

    1. यो सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध छ। जनताको स्वतन्त्रता¸ समानता¸ सहअस्तित्व र मानवाधिकारको रक्षाको लागि सरकार निरन्तर प्रतिबद्ध छ। सरकारले अदालतको निर्णयको सदैंव सम्मान गर्दै कार्यान्वयनमा तदारुकता देखाउँदै आएको छ।

    2. नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ। संविधानको उक्त व्यवस्था र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा समेत रहेको व्यवस्थाबमोजिम रेशमलाल चौधरीले गृह मन्त्रालय मार्फत सम्माननीय राष्ट्रपतिज्यूलाई सम्बोधन गरी निवेदन दिनु भएकोमा महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानून बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट गणतन्त्र दिवस, २०८० का अवसरमा निज रेशमलाल चौधरीलाई माफी गर्नका लागि सिफारिस गरिएको हो।

    3. द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबीन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ।संक्रमणकालीन न्याय सम्बन्धी संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायको मुद्दाहरु सम्बोधन हुने कुरामा नेपाल सरकार विश्‍वस्त रहेको छ।

    प्रचलित कानूनी व्यवस्थाको अधीनमा रही नेपाल सरकार तथा अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइरहेका छन्। अस्पतालको विवरण अनुसार  निजको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उपचारका लागि सरकारले रु. ३७ लाख ४७ हजार उपलब्ध गराएको छ।

    प्रश्न नं ८ सोध्ने माननीयले फिर्ता लिनुभएको ।

    प्रश्‍न नं ९
    प्रश्‍नकर्ता मा. आस्मा चौधरी

    1. आँखा पाक्ने रोग वडा, पालिका, जिल्ला हुँदै देशैभरि फैलिरहेको छ। धेरै पालिकामा विद्यालयहरू बन्द गरिएका छन्। यसबाट अत्यधिक बालबालिका प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालय यसको निराकरणको लागि के गर्दैछ ?

    2. नेपालले आर्थिक वर्ष 2079/80 मा भारतलाई १० अर्ब ४५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ। उक्त वर्ष १९ अर्ब ४४ करोड रुपैयाँको बिजुली किनेको छ। सरकारले किन ढाँट्दै छ, दोब्बर आपूर्ति भैराछ भन्न किन डराउँछ ? त्यही बिजुली हामीले किन्दा महँगो र बेच्दा सस्तो किन?

    उत्तरः

    1. देशका विभिन्‍न भागमा आँखा पाक्ने (अक्युट भाइरल कन्जङ्कटिभाइटिस) संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ। समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई ‌सहज रूपमा औषधीउपचारको व्यवस्था मिलाइएको छ। यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रबन्धनका विभिन्‍न कार्यहरू भइरहेका छन्।

    2. हाल नेपालको कुल जडित विद्युत क्षमता करिब २८ सय मेगावाट पुगेको छ। तर मुलुकको विद्युत उत्पादनको परिमाण हिउँद र वर्षायाममा एकनासको छैन। वर्षातको तुलनामा हिउँदमा विद्युत उत्पादनमा निकै ह्रास आई झण्डै एक तिहाइ मात्र हुने गर्दछ। हाल विद्युत उत्पादन र मागको आधारमा विद्युतको निर्यात र आयातको व्यवस्था मिलाउने गरिएको छ। खासगरी हिउँद याममा नदी प्रवाहमा आधारित विद्युत् प्रणालीबाट उत्पादित विद्युत्‌मा ठुलो ह्रास आउने हुँदा छिमेकी मुलुकबाट बिजुली आयात गरी आन्तरिक माग धान्‍नुपर्ने स्थिति छ। आगामी केही वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले स्वदेशमै पर्याप्त बिजुली उत्पादन गर्न विभिन्‍न स्तरका आयोजनाको निर्माणलाई अघि बढाइनुका साथै विद्युत प्रसारण तथा वितरण प्रणालीको कामलाई विस्तार गर्दै लगिएको छ। अहिले विद्युत आयात-निर्यातको दर दैनिक रूपमा प्रतिस्पर्धा गरी तय हुने गरेको छ। यस वर्ष तुलनात्मक रूपमा हिउँदको समयमा अधिक सुख्खा हुनगई देशभित्रका विद्युत आयोजनाहरूबाट विद्युत उत्पादन कम हुन गएको छ। अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत रु. १८ अर्ब ५४ करोडमा आयात गरेको थियो भने नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी रु. १० अर्ब ४३ करोड आम्दानी गरेको थियो। गत वर्षको तुलनमा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको छ र क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने कुरा जानकारी गराउन चाहन्छु।

    रुस र युक्रेन युद्धका कारण कोइलाको आपूर्ति असहज भई छिमेकी मुलुकमा विद्युतको उत्पादन लागत बढ्न गएकोले पनि स्वदेशमा विद्युतको उत्पादन कम हुने समयमा आन्तरिक माग पूरा गर्न प्राधिकरणले केही महँगो मूल्यमा बिजुली आयात गर्नुपरेको कुरा स्पष्ट पार्न चाहन्छु।

    प्रश्‍न नं १०
    प्रश्‍नकर्ता मा. उर्मिला थेबे
    प्रश्‍नको व्यहोरा

    १. शिक्षाको लागत क्रमशः घटाउँदै गएर निःशुल्क पार्नु पर्नेमा, यो सरकारले त शुल्क झन् झन् बढाइरहेको देखिन्छ। शिक्षाको पहुँचबाट गरिबलाई अझ परै धकेल्ने नीति सरकारले किन लिदै छ ? संघीय शिक्षा विधेयक संसदमा कहिले दर्ता गर्नुहुन्छ ?

    2. प्रत्येक दिन हाजिरी गर्न क्याम्पस आउनुपर्ने भएपछि त्रिभुवन विश्‍वविद्यालयका केही प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै घर लगेको, गायब गरेको साथै तोडफोड गरेको पाइएको छ। कति लाजमर्दो खबर हो ? सरकारले के गर्दै छ ?

    3. ताप्लेजुङमा अबिरल वर्षापछि आएको बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दाहरू अहिले पानी त्रिपाल मुनि बस्न बाध्य भएका छन् भने विद्यार्थीहरू व्यक्तिको घरमा आश्रय लिएर पढ्न बाध्य छन्। उनीहरूको उद्धार र राहतको लागि सरकारको के योजना छ ?

    उत्तरः

    1.  आम नागरिकलाई गुणस्तरीय र सर्वसुलभ शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटै नै संसद्‍मा पेश गरिनेछ।

    2. नेपालको संविधानमा उल्लेख भएबमोजिम आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निशुल्क उपलब्ध गराउनका लागि सरकारले निःशुल्क पाठ्यपुस्तक, आवासीय, गैरआवासीय, लक्षित समूह लगायतका विभिन्न प्रकारका छात्रवृत्ति, स्यानिटरी प्याड, दिवा खाजा लगायतको व्यवस्था गरेको छ। सार्वजनिक विद्यालयमा कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था छ। स्थानीय तहहरूले समेत आफ्नो बजेटबाट शिक्षामा थप लगानी गरेका छन्। उच्च शिक्षा अन्तर्गत चिकित्सा शिक्षामा सरकारी लगानीका संस्थाहरूमा कुल सिटको ७५ प्रतिशत सिटमा विद्यार्थीहरूले निःशुल्क अध्ययन गरिरहेका छन्। सार्वजनिक शिक्षालाई निःशुल्क बनाई सबैको पहुँचमा पुर्‍याउनका लागि थप स्रोतको व्यवस्था गर्न सरकार प्रयत्‍नशील छ।

    3.स्वायत्त निकायको रूपमा त्रिभुवन विश्‍वविद्यालयका काम कार्यवाहीहरू त्रिभुवन विश्‍वविद्यालय ऐन¸ २०४९ बमोजिम सञ्चालनमा रहेका छन्। विश्‍वविद्यालयको हाजिरी व्यवस्थापन सम्बन्धमा विश्‍वविद्यालयको आन्तरिक प्रशासनले नियमन गरिरहेको र नियम बमोजिम नभएका कार्यहरूमा सम्बन्धितलाई कानूनबमोजिम कारबाही हुने नै छ।

    4. ताप्लेजुङ लगायत मुलुकका विभिन्‍न भागमा अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी विस्थापित हुन पुगेका जनतालाई स्थानीय प्रशासनको सहयोगमा उद्धार गरी सुरक्षित स्थलमा बसोबासको व्यवस्था मिलाइएको छ। उनीहरूलाई सरकारबाट उपलब्ध गराउनुपर्ने राहत उपलब्ध गराइएको छ। मौसममा सुधार आएसँगै उनीहरूको पुनःस्थापनको उचित व्यवस्था मिलाइनेछ।


    प्रश्‍न नं. ११
    प्रश्‍नकर्ता मा. माननीय ईश्‍वरी घर्ती

    प्रश्‍नको व्यहोरा

    1. रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे सशस्त्र द्वन्द्वको शुरुवात गर्नुभएको सम्माननीय प्रधानमन्त्रीज्यू तीन पटक प्रधानमन्त्री हुँदा पनि रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरवका योजना दिन सक्नु भएन। रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधानमन्त्री भएपछि बिर्सनु भयो भन्ने रोल्पालीको गुनासो छ। त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

    2. जुम्लामा स्याउ पाक्ने समय आयो, केही दिनपछि यसले बजार भाउ नै नपाउने अवस्था आउन सक्छ र कतिले बजार पनि नपाउने हुन सक्छ। यसको व्यवस्थापन कसरी ? सरकारको प्लान के छ ?

    3. दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा शहीद भएकाहरूको सम्झना र सम्मानका लगि दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोट सम्म पुग्ने २२० कि मि सडक खण्डलाई वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा शहीद मार्ग नामकरण गरेर योजना अगाडि बढाइएको थियो। बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन। शहीद मार्गको मुख्य प्रवेशद्वारको रपमा रहेको घोराहीदेखि रोल्पा होलेरी सम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिमपूर्ण भएको लामो समय बितिसक्यो। यसबारे सदनमा मैले ३/४ पटक कुरा राखिसकेँ। तर सरकारले यो योजनालाई प्राथमिकतामा पारेन किन ?

    4. रोल्पाको रुम्टीगढी गाउँपालिका भित्र अहिले चारवटा चुन ढुङ्गा खानी सञ्चालनमा छन् भने थप चारवटा खानी दर्ता भएर सञ्चालनको प्रक्रियामा छन्। हाल २०० बढी टिप्पर सञ्चालनमा छन् भने पुरानो र नयाँ गरी ८ वटा चुन ढुङ्गाः खानी सञ्चालनमा आउँदा दिनमा कम्तीमा पाँचसयदेखि ७०० सम्म टिप्पर घोराही होलेरीको यही शहीद मार्ग भएर सञ्चालनमा आउने छन्। जसले गर्दा उक्त सडकमा अन्य गाडीहरू सञ्चालनमा आउन निकै बाधा पर्ने र हाल बाधा परिरहेको पनि जानकारी गराउँछु। त्यसैले सो क्षेत्रमा वैकल्पिक औद्योगिक मार्ग बनाउने र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई कालोपत्र गर्दै शहीद मार्ग योजना समयमै सम्पन्न गर्न सरकारको के योजना छ ? म सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्‍न गर्दछु। धन्यबाद।

    उत्तरः

    १.नेपालको राजनीतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रही आएकोमा कसैको विमति छैन। इतिहासका हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुनेछ । रोल्पाको समग्र विकास र जनताको जीवनस्तरमा रूपान्तरणका लागि विगतदेखि नै उच्च प्राथमिकता दिँदै आएको छु । मानव विकासमा पछाडि रहेका कर्णाली प्रदेश¸ सुदूर पश्चिम प्रदेश¸ मधेश प्रदेश¸ रोल्पा¸ रुकुमलगायतका जिल्ला तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन र ती क्षेत्रमा पूर्वाधारका संरचनाको विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्‍चालन गरिरहेको छ।

    २.जुम्ला जिल्लाको विकासलाई सरकारले प्राथमिकतामा राख्दै सरकारले स्याउको सुपर जोन तथा पकेट क्षेत्रहरू घोषणा गरी आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। यस वर्षको बजेट तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायतका कार्यक्रम तथा प्रदेश तथा स्थानीय तहको विकास कार्यक्रमबाट उत्पादन, प्रशोधन तथा प्याकेजिङ्गमा आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। स्याउको भण्डारणको लागि उच्च क्षमताको कोल्डस्टोर निर्माण भइरहेको छ।

    ३.सरकारले दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुमको मैकोटसम्मको शहीदमार्गलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आइरहेको छ। सडक र पुलको भाग देशभरि नै अत्यधिक हुने गरेको, थुप्रै सडक योजनाहरू सञ्चालन गर्नु परिरहेको तर पर्याप्त बजेट विनियोजन गर्न नसकिएको अवस्था हो। घोराही होलेरी खण्डको ३१ कि. मि. सडक अत्याधिक भार बोक्ने सिमेन्ट उद्योगका ट्रकहरूको कारणले क्षति भएको छ। भार नियन्त्रण गर्दै सडकको आवश्यक मर्मत सम्भार गरी सडक सुधार गर्न ध्यान दिइनेछ।

    ४.घोराही-होलेरीको वैकल्पिक सडक बनाउने सुझावका विषयमा आगामी दिनमा छलफल गरी कार्य अघि बढाइनेछ।
     
    प्रश्‍न नं. १२
    प्रश्‍नकर्ता मा. अशिम साह

    १.यो सदनमा केही समय अगाडि भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर मात्र हो पुर फिल्म गज्जव आउछ भन्नु भयो तर जे आयो सारै झुर आयो टालटुले र सजिलै बझ्न सकिने खालको आयो। नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली काँग्रेसलाई साइजमा राख्नु भो, ललिता निवास मार्फत समाजवादीलाई साइजमा राख्‍नु भो, गौर हत्याकाण्ड मार्फत जसपालाई, अनि अव गिरी बन्धु मार्फत नेकपा एमालेलाई साइजमा राख्‍न ट्राइ गर्दै हुनुहुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?

    २.भारतीय नेतृत्वले अन्तरिक्षयालनाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व आफ्ना Yes म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोचमा तल्लिन हुनु अत्यन्तै दुखद छ। यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?

    ३.छिमेकीले चन्द्रमामा यान पठाउदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ। देशभित्रका विश्‍वविद्यालयहरु रित्तिँदै छन्। व्यवसायीहरु निरास छन्। खेलाडीहरु पलायन हुँदैछन्। युवा पुस्तामा देश छाड्न लहर नै चलेको छ।

    ४.प्रधानमन्त्रीज्यू चन्द्रयान अहिले माग्दिन तर यसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिवद्धताको कार्यान्वयन कहिले हुन्छ? भ्रष्टाचारमा पनि आफ्नो र अरुको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन कहिले आउँछ यो देशमा ?

    उत्तर

    1.मेरे नेतृत्वमा सरकार गठन भएदेखि आजका दिनसम्म मैले सामाजिक न्यायको प्रत्याभूति सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहमा सुधारलाइ मुख्य प्राथमिकतामा राख्दै आएको छु । प्रश्‍नमा भनिएजस्तो सरकारका यी कामहरु कुर्सी टिकाउनका लागि होइनन् बरु देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको¸ केही हुन्‍न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ। भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबीन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको हो ।  

    2.वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ। यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ¸ सक्षम¸ निष्पक्ष¸ पारदर्शी¸ व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत¸ कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको छ।

    3.सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबीन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारको मामलामा यो आफ्नो यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन। कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको छ।

    सम्माननीय सभामुख महोदय,
    माननीय सदस्यहरू

    • यहाँहरुले राख्नुभएका सारगर्भित प्रश्नहरुका बारेमा सक्षिप्तरुपमा जानकारी प्रस्तुत गरेको छु । देशका र जनताका सामु कैयन् चुनौती रहेका छन्। यिनको सार्थक र परिणाममुखी समाधानका लागि सबै राजनीतिक दलबीच साझा धारणा र राष्ट्रिय एकता जरुरी छ। विचार¸ मान्यता र सिद्धान्तमा हामीबीच फरक मत भएपनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दा र सबालहरूमा हाम्रो समान दृष्टिकोण र मान्यता हुनुपर्छ र हामी सबै एकै ठाउँमा उभिनुपर्दछ। त्यसो भएमात्र नेपाली जनताले चाहेको र खोजेको जस्तो परिवर्तन ल्याउन सम्भव हुन्छ।

    • सरकारले चालेका कदम र अघि बढाएका कार्यहरूले जनतामा सरकारप्रति आशा र भरोसा बढाउनुका साथै विकासप्रतिको एउटा नयाँ हुटहुटी पैदा गरेको छ। यस अवधिमा सार्वजनिक सेवा प्रवाहमा जनताले साबिकमा भोग्दै आएका झन्झट र सास्तीलाई उल्लेख्य मात्रामा कमी ल्याउन सफलता मिलेको¸ विकास निर्माणले गति लिएको र देशमा नयाँ आशा तथा उमङ्‍गको सञ्‍चार भएको छ। यद्यपि यसमै अडिएर सन्तोष गरेर बस्ने छुट हामीलाई छैन। अतः हाम्रो सोच र कार्यसम्पादन प्रणालीमा आमूल सुधार गर्दै विकासको नयाँ मोडलबाट जनताको विकास र समृद्धिको आकाक्षांलार्इ पूरा गर्न हामी प्रयत्‍नशील हुन आवश्यक छ।  

    • अन्त्यमा¸ सुशासन¸ सामाजिक न्याय र समृद्विलाई  सर्वोपरि प्राथमिकतामा राख्दै अघि बढेको यो सरकारले समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासन र सदाचारको प्रवर्द्धन गर्न अघि बढाएका सबै कार्यमा सबै राजनीतिक दल¸ माननीय सदस्यहरू¸ नागरिक समाज¸ सञ्‍चार जगत्¸ मित्र राष्ट्रहरू र दातृ निकाय तथा आम नेपाली जनताको निरन्तर साथ र सहयोग रहने अपेक्षा लिएको छ भन्दै विदा हुन्छु।

    धन्यवाद।

  • प्रधानमन्त्रीको दाबी- रेशम चौधरीको रिहा कानून र संविधानसम्मत् (भिडिओ)

    प्रधानमन्त्रीको दाबी- रेशम चौधरीको रिहा कानून र संविधानसम्मत् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै जनताको स्वतन्त्रता¸ समानता¸ सहअस्तित्व र मानवअधिकारको रक्षाको लागि सरकार निरन्तर प्रतिबद्ध रहेको बताए।

    उनले भने, ‘नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।

    संविधानको उक्त व्यवस्था र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा समेत रहेको व्यवस्था बमोजिम रेशमलाल चौधरीले गृह मन्त्रालय मार्फत राष्ट्रपतिज्यूलाई सम्बोधन गरी निवेदन दिनु भएकोमा महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानून बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्बाट गणतन्त्र दिवस, २०८० का अवसरमा निज रेशमलाल चौधरीलाई माफी गर्नका लागि सिफारिस गरिएको हो।

    द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी संक्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

    संक्रमणकालीन न्याय सम्बन्धी संघीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै संक्रमणकालीन न्यायको मुद्दाहरू सम्बोधन हुने कुरामा सरकार विश्वस्त रहेको बताए।

    प्रचलित कानूनी व्यवस्थाको अधीनमा रही सरकार तथा अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई ३७ लाख ४७ हजार उपलब्ध गराएको बताए।

  • प्रधानमन्त्रीको प्रष्टीकरण- कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको होइन, कसैलाई जोगाउन लागेको छैन (भिडिओ)

    प्रधानमन्त्रीको प्रष्टीकरण- कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको होइन, कसैलाई जोगाउन लागेको छैन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले सोधको प्रश्नको जवाफ दिँदै सरकार टिकाउनलाई भ्रष्टाचारको फाइल नखोलेको प्रष्ट पारे।

    उनले भने, ‘यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ।’

    भुटानी शरणार्थीसहित सबै काण्डमा राज्यले दबाबरहित ढंगले काम गरेकै कारणले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको दाबी गरे।

    उनले भने, ‘अहिले त्यो सम्बन्धी मुद्दा अदालतमा छ। उचित फैसला गर्छ भन्ने विश्वास लिएको छु। सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार प्रयास गरिएको छ।’

    उनले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको प्रष्ट्याए। उनले दोषी नउम्किन र निर्दोष नफसोस् भन्ने ढंगले काम गर्न निर्देशन दिएको बताए।

    उनले छानबिनको क्रममा आफ्नो पार्टीको नेता मात्रै नभएर आफैँ पनि प्रधानमन्त्री नै आउँछ भने पनि छाड्न आवश्यक नभएको बताए।

  • सांसदले सोधिन्- बहुमत पाए जातीय राज्य दिन्छु भन्न मिल्छ? प्रधानमन्त्रीले दिए गोलमटोल जवाफ (भिडिओ)

    सांसदले सोधिन्- बहुमत पाए जातीय राज्य दिन्छु भन्न मिल्छ? प्रधानमन्त्रीले दिए गोलमटोल जवाफ (भिडिओ)

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई बहुमत दिए जातीय राज्य दिन्छु भन्न मिल्छ ? भन्ने प्रश्न गरेकी छन्।

    उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘हामीले जिते जातीय राज्य दिन्छु भन्नु संविधान विपरित भएनरु कतै यस्तो अभिव्यक्तिले जातीय द्वन्द्व बढाउने त होइन?’ भन्दै प्रश्न गरिन्।

    त्यसको जवाफ प्रधानामन्त्रीले स्पष्ट दिएनन्। उनले भने, ‘मैले पहिचानको कुरा गर्दा वा कुनै कुरा गर्दा अरु कसैको पहिचान र आस्थामाथि कुनै खालको विभेद नभएको कुरा पनि स्पष्ट पार्न चाहन्छु।’

  • देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

    देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

    मङ्गलवार राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताएका हुन् ।

    प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण तस्करीको जालो तोड्ने काम अगाडि बढेको र यो नरोकिने बताए ।

    उनले भने, ‘यो यहीँ रोकिने वाला छैन । भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कु प्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

    नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको पनि उनले बताए । अहिलेको सरकारले कूटनीतिमा पाएको सफलताले कतिपयमा छटपटी सुरु भएको उनको भनाई छ ।

     

  • नेकपाबारे सर्वोच्चको आदेशपछि अर्को पार्टी दर्ता गर्न धेरै कोसिस गर्दा पनि प्रचण्ड मानेनन् : ओली

    नेकपाबारे सर्वोच्चको आदेशपछि अर्को पार्टी दर्ता गर्न धेरै कोसिस गर्दा पनि प्रचण्ड मानेनन् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा सर्वोच्च अदालतले नभएर प्रचण्डले फुटाएको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड कम्युनिष्ट पार्टीलाई कमजोर पार्न लागेको बताए ।

    उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरिएको छ, त्यो ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊँ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोसिस गर्दा पनि प्रचण्डले मानेनन् । नाम अर्को लिएर भोलिपल्ट दर्ता गरेको भए हुन्थ्यो ।’

    प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरुको साँठगाँठमा एमाले फुटाएर लगेको उनले बताए ।

    लाज, शरम छाडेर निर्लज्ज भएर पार्टी फुटाएर लगेको ओलीको भनाइ छ । एमाले तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लागेको उनको दाबी छ ।

  • कुण्ठा र निराशालाई चिरेर भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

    कुण्ठा र निराशालाई चिरेर भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् ।

    सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत विस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक भएको बताए।

    उनले भने, ‘कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ । यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु ।’

    उनले सरकारको पुँजीगत खर्च समग्रमा ६१.५ प्रतिशतमा सीमित रहनु चिन्ताको विषय भएको बताए ।

    उनले भने, ‘कुल बजेट बिनियोजनमा पुँजीगत खर्चको अंश त्यसै पनि न्यून रहने र त्यही न्यून बजेट पनि पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ। यो समस्याको समाधान हामी आफैले निकाल्न सक्छौँ र निकाल्नैपर्दछ ।’

    समग्र पुँजीगत खर्च सन्तोषजनक नभएता पनि मन्त्रालयगत र आयोजनागत रूपमा हेर्दा केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था उल्लेख गरे ।

    ‘म पूँजीगत खर्च ७० प्रतिशत कटाउने ७ मन्त्रालयहरू र भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी हासिल गर्ने १० वटा राष्ट्रिय गौरवका आयोजनासँग सम्वद्ध सबैलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । साथै गत वर्षको अनुभवबाट पाठ सिकेर यस आर्थिक वर्ष न्यून प्रगति भोग्नुपरेका मन्त्रालय तथा आयोजनाहरूलाई नयाँ कार्ययोजना साथ अघि बढ्न पनि निर्देशित गर्दछु’ उनले थपे ।