Category: माओवादी केन्द्र

  • एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

    एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुदाँ, उता एनसेलको सेयर धूलीसाफ भएछ । ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।’

    आजियटाले एनसेलको सेयर बिक्री गरेर बाहिरिएपछि चर्को विवाद भएको छ । एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले विहीबार पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वका उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । यता, उच्च अदालतले पनि शेयर बिक्री कार्यान्वयन नगर्न आदेश दिएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड धनगढीमा

    प्रधानमन्त्री प्रचण्ड धनगढीमा

    कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् ।

    उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका- १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन् । त्यसपछि महोत्सव उद्घाटनको कार्यक्रम छ ।

  • प्रचण्डलाई ओलीको कटाक्ष- राजीनामा दिएर हिँड्नुपर्ने, इमान गुमाएर सरकारमा बस्दैछन् (भिडिओ)

    प्रचण्डलाई ओलीको कटाक्ष- राजीनामा दिएर हिँड्नुपर्ने, इमान गुमाएर सरकारमा बस्दैछन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्ने आरोप लगाएका छन् ।

    मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको क्रममा बागलुङको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सरकारले देशको इज्जत समाप्त पार्ने टिप्पणी गरे ।

    उनले भने, ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा मुद्दा बोक्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ ।’

    देश आर्थिक संकटसँग गुज्रिँदै गइरहेको उनको भनाइ छ ।

    अध्यक्ष ओलीले भने, ‘सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।’

  • तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएको देखिएपनि जनतामा आशाको रक्तसञ्चार भएको छैन: प्रधानमन्त्री (भिडिओ)

    तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएको देखिएपनि जनतामा आशाको रक्तसञ्चार भएको छैन: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन्।

    रेस्पोन्सेवल विजनेश समिट कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए।

    उनले भने, ‘सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ।

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गरे।

    उनले भने, ‘अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

    तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताए।

    अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको बताए। सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे।सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए।

  • माओवादीको प्रष्टीकरण- एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन (भिडिओ)

    माओवादीको प्रष्टीकरण- एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको दाबी गरेका छन्।

    रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनलेसरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताए।

    उनले भने, एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ । प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्। कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्।

    उनले सत्ता गबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै पाँच वर्ष नै टिक्ने दाबी गरे। सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उनको भनाइ छ।

  • मुटुमा फेरि समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

    मुटुमा फेरि समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । मुटुमा फेरि समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका श्रेष्ठको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जियोप्लास्टी सर्जरी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी अहिले आईसीयूमा उपचाररत रहेका श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गत कात्तिक १ मा चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो ।

    तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

    बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनको उपचारपश्चात उनी डिस्चार्ज भएका थिए ।

  • जनयुद्धकी घाइते माओवादी लडाकु मञ्जु- जसको एक फोनले सिंहदरबार र बालुवाटारमा ‘हाइ अलर्ट’

    जनयुद्धकी घाइते माओवादी लडाकु मञ्जु- जसको एक फोनले सिंहदरबार र बालुवाटारमा ‘हाइ अलर्ट’

    सुर्खेत । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा मंसिर १९ गते बिहान ८ बजेतिर पूर्व लडाकु महिला मञ्जु धमलाले फोन गरिन् । उनी सचिवालयका लागि अपरिचित भने होइनन् ।

    आज भने उनले आफ्ना माग सम्बोधन नगरेर अप्रिय घटना हुने धम्की दिएपछि सचिवालयले तत्कालै सुरक्षा निकायलाई अलर्ट गरायो ।

    उनले सरकारले उपचार खर्च हेरेन भने आज सिंहदरबार भित्र २ जनाले विष सेवन गर्ने र २ जनाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने धम्की दिएकी थिइन् ।

    त्यसपछि एकाएक प्रहरी चेकजाँच बढेको फोटो समाचार नेपाल प्रेसमा आएको थियो । धम्की दिने महिला को हुन् भन्ने फलोअप गर्ने क्रममा उनी सम्पर्कमा आइन् र उनको बारेमा थप जानकारी समेत आफैँले दिइन् ।

    को हुन् मञ्जु धमला ?

    २०६१ साल असोज १६ गते दाङ जिल्लाको धोवीघाट रण मैदानमा परिणत भयो । नेपाली सेना र माओवादी छापामारहरुबीच भीषण बमबारी चल्यो ।

    अत्याधुनिक हतियारका विषालु गोलीहरू दुवै पक्षबाट चले । त्यही लडाइँमा कालिकोट रास्कोट नगरपालिका–८ बाहुनथानकी मञ्जु धमला पनि माओवादी छापामारका रूपमा सहभागी थिइन् । लडाइँका क्रममा मञ्जु धमलाको खुट्टामा गोली लाग्यो ।

    गोली लागेको १६ दिनपछि उनले भारतको चण्डीगढमा उपचार गराएकी थिइन् । धमलाले त्यहाँ ३ वटा अप्रेसन गरिन् । गोली निकाल्ने काम भयो खुट्टा रड हालिन् ।

    देब्रे खुट्टाको हिपको पछाडिबाट गोली लागेर अगाडि निस्किनुका साथै कम्मरको जोइन भाँचिएर नशा पनि चुँडिएको धमलाको भनाइ छ ।

    धमलाले हालसम्म २८ वटा अप्रेसन गरिसकेकी छन् । बेलाबेलामा खुट्टामा घाउ आउने गरेको र घाउलाई निको पार्नका लागि खुट्टाको मासु पटक पटक काटेर घाउ पुर्ने गर्दा खुट्टा नै क्षतविक्षत भएको उनी सुनाउँछिन् ।

    उनलाई हिँडडुल गर्न पनि असहज हुने गरेको छ । वैशाखी र लौरीको सहारामा खुट्टा लतार्दै हिँड्ने गरेको धमलाले बताइन् । गोली लागेको २० वर्ष भयो तर, सरकार र पार्टी नेतृत्वले केही नगरेको उनको गुनासो छ ।

    उनले ११० पटक खुट्टा प्लास्टर गरिसकिन् । २८ वटा अप्रेसनमा अब ३ वटा अप्रेसन बाँकी छ । रगतनली जोड्ने, ढाडको नशा च्यापिएको र खुट्टा पैतालाको आर्थोथेसिसको अप्रेसन बाँकी रहेको उनको भनाइ छ ।

    धमला भन्छिन्– २६ पटक नेपालमा अप्रेसन गरेर भ्यागुतो सरहको जिन्दगी भयो । अब म नेपालमा अप्रेसन गर्दिनँ । एक पटक सरकारको जिम्मेवारी हो भने बाहिर लिएर दिल्ली अथवा विदेशमा कतै उपचार गरिदेऊ भनेर धर्नामा पनि बसेकी छु ।

    सरकारले नेपालमा नै उपचार गर्न भनेको र आफूले यहाँ उपचार नगर्ने बताएको उनको भनाइ छ ।

    उनले भनिन्- हामी संघर्ष गरेर आएका हौँ । पार्टीको एजेन्डा बोकेर सुशासनका लागि लडेका घाइते हौँ । देशका घाइते हौँ । देशका लागि लडेकाले पेन्सन र राहत पाएका छन् । हामी निस्वार्थ रूपमा घाइते भएका मान्छे हौँ । हामी सरकारकाविरुद्ध माइतीघर अथवा सिंहदरबारमा जहाँ भए पनि आन्दोलन गर्ने हो । जहिले सम्म न्याय पाइँदैन । सरकारले उपचार गरेन भने निरन्तर रूपमा आन्दोलन गर्ने हो ।

    पति पत्नी दुवै जनयुद्धका घाइते

    उनका श्रीमान् पनि जनयुद्धका घाइते हुन् । श्रीमानको पनि आँखा, पाखुरा, पेट र टाउकोमा गोलीको छर्रा लागेको छ । दाहिने आँखाको रगत नली सुकेको धमालाले नेपाल प्रेसलाई बताइन् ।

    कक्षा १२ मा अध्ययनरत १७ वर्षका छोरा र ७ कक्षामा पढ्ने १२ वर्षकी छोरीको शिक्षाका लागि उनका श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया र दुबई गए । तर, केहि वर्षपछि आँखाले राम्रोसँग काम नगरेपछि नेपाल फर्किए ।

    उनी भनिन्छन्- हाम्रो पेशा भनेको कृषि हो । यो अपाङ्ग शरीरले काम गर्न पनि सक्दैन । छोराछोरीको पढाइ खर्च पुराउन हम्मे हम्मे भएको छ । अरू केही विकल्प छैन ।

    यदि सरकारले उपचार खर्च हेरेन भने आज सिंहदरबार भित्र २ जनाले विष सेवन गर्ने, २ जनाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने र प्रधानमन्त्री र गृह मन्त्रालय अगाडि १२५ जना सडकमा सुतेर आन्दोलन गर्ने चेतावनी दिएको उनले स्वीकार गरिन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उपचारका लागि भनेर अर्थ मन्त्रालयलाई दुई पटक चिठी लेखिसकेको उनको भनाइ छ ।

    यस्तै, उपचारका लागि आर्थिक सहायता भनेर क्याबिनेटमा पास हुँदा पनि अर्थ मन्त्रालयले पैसा दिन मानेको छैन । यदि पैसा दिन मानेन भने आज अर्थ मन्त्रालयमा नै झडप गर्ने उनको भनाइ छ ।

  • देव गुरुङको दाबी- प्रचण्ड सरकार तीन वर्ष, गठबन्धन पाँचै वर्ष

    देव गुरुङको दाबी- प्रचण्ड सरकार तीन वर्ष, गठबन्धन पाँचै वर्ष

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जनताले माओवादी घटक एक भएको हेर्न चाहेको बताएका छन् । रुकुमपश्चिममा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको बताए ।

    उनले भने, ‘सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ । कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता छ ।’

    कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि मिलाउन सकिने उनको बुझाइ छ । कम्युनिष्टमा अन्तरद्वन्द्व हुनु उपयुक्त नभएको बताउँदै उनले कुनै समयमा ठाउँमा आउनुको विकल्प नभएको जिकिर गरे ।

    उनले प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष टिक्ने दाबी गरे ।

    उनले भने, ‘यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । अहिलेको सरकार तीन वर्ष नै टिक्छ । सरकार ढाल्ने षड्यन्त्र कसैको सफल हुन सक्दैन ।’

    प्रचण्ड नेतृत्वको सरकारले गरेको कामलाई जनताले रुचाएको उनको जिकिर छ ।

  • सरकारी सञ्चारमाध्यमसँग सञ्चारमन्त्री असन्तुष्ट, सिरानीमा सुन राखेर नुन खोज्न हिँडेको टिप्पणी (भिडिओ)

    सरकारी सञ्चारमाध्यमसँग सञ्चारमन्त्री असन्तुष्ट, सिरानीमा सुन राखेर नुन खोज्न हिँडेको टिप्पणी (भिडिओ)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

    बुधवार काठमाडौंमा आयोजित ‘गीतसंगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

    नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताइन् । उनले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिइन् । मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्‍याइन् ।

    उनले भनिन्,‘हाम्रा सरकारी सञ्चार माध्यामहरु, निकायहरु, अरु पनि क्षेत्रहरु छन् रेडियो नेपाललाई मात्रै मैले भनिरहेको छैन । हामी सबै कस्ता भयौ भने सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्ता हामी भयौं । सम्पती छ । तर सम्पतीलाई प्रयोग गर्न सकेका छैनौ वा हाम्रा केही ऐन, कानूनहरु बाधक छन ? हामीले यसलाई प्रयोग गर्न नसकेर अघि यहाँ भन्नुभयो । तलव खुवाउन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । वास्तवमा यसलाई गहिरो ढंगले समिक्षा गर्न जरुरी छ । म आग्रह गर्न चाहन्छु–रेडियो नेपालका निर्देशकसहितको टिमले समस्याको ठिक ढंगले पहिचान गर्नुस् । हाम्रा यस्ता पाका, पुराना स्रष्टाहरुले यति धेरै गुनासो गर्ने स्थितिमा हामीले पु¥याउनु हँुँदैन । उहाँहरुप्रतिको सम्मान राज्यले गर्न सक्नुपर्छ । त्यो सम्मान गर्ने सामथ्र्य हामीसँग छ भन्ने मलाई लाग्छ । तर हामीसँग सामथ्र्य छ, साधनस्रोत छ । सबै थोक छ । हुँदाहुँदै पनि किन हामीले गर्न सकिरहेका छैनौं ? हाम्रा कानून बाधक हुन भने कानूनी बाटो खोलौं । क्याबिनेटमा लगेर यसको समस्या समाधान गर्न हामी तयार छौं ।’

    मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानून बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताइन् । त्यस अवसरमा उनले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भिर रहेको समेत बताइन् ।

  • दुबई उड्नुअघि राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीकाे भेटवार्ता

    दुबई उड्नुअघि राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीकाे भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

    जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

    सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

  • प्रधानमन्त्रीसँगै दुबई जाने भ्रमण दलमा को को छन् ?

    प्रधानमन्त्रीसँगै दुबई जाने भ्रमण दलमा को को छन् ?

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलको नाम टुंगो लागेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त अरव इमिरेट्समा हुन लागेको सम्मेलनमा सहभागी हुन् टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ । सम्मेलन भोलिबाट सुरू हुँदैछ ।

    प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्। त्यस्तै प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेल सहभागी छन् ।

    सोही टोलीमा परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, शिष्टाचार महापाल दीलिपकुमार पौडेल, प्रवीण भट्टराई, प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा. पपुलर जेन्टल पनि भ्रमण दलमा छन् ।

    दुबईमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित भ्रमण दलमा उपनियोग प्रमुख विशाल भट्टराई, तीलबहादुर सुनारलगायत सहभागी हुनेछन् ।

    भ्रमण दलमा सरकारी सञ्चारमाध्यमका पत्रकार र प्रधानमन्त्रीका पीएसओ पनि रहनेछन् ।

    यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन् ।

  • प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै

    प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै

    काठमाडौं । कोप-२८ को २८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका छन् ।

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड आज दुबई प्रस्थान गर्नेछन् ।

    सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित सिन्धुलीका तीन माओवादी नेतामाथि कारबाही सिफारिस

    गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित सिन्धुलीका तीन माओवादी नेतामाथि कारबाही सिफारिस

    सिन्धुली । पार्टीको औपचारिक कार्यक्रममा अमर्यादित र अराजक हर्कत देखाएको भन्दै नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीले जिल्लाका दुई प्रभावशाली नेतामाथि कारबाहीको सिफारिस गरेको छ ।

    कमिटी अध्यक्ष काजीमान थिङको अध्यक्षमा बसेको बैठकले सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल र गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार तथा प्रदेश कमिटी सदस्य घनश्याम बस्नेतमाथि कारबाही गर्न सर्वसम्मत निर्णयसहित प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

    दीपा बोहोरा माओवादीका बाहुबली सांसद राजन दाहालकी पत्नी हुन् भने ज्वाला पनि राजन गुटका बफादार नेता हुन् । दुवै जनाले सार्वजनिक रुपमा माफी नमागेसम्म मरिण प्रवेश गर्न नदिनेसमेत निर्णय भएको एक सदस्यले बताए ।

    गत कात्तिक तेस्रो साता मरिण गाउँपालिका कमिटीले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा पुगेका यी नेताले जिल्ला इन्चार्ज महेश्वर दाहाललाई प्रमुख अतिथि बनाएको विरोधमा अराजक हर्कत देखाएको र दीपा मञ्चबाटै फूल गुच्छा फालेर कार्यक्रमस्थलबाट हिँडेकी थिइन् ।

    याे पनि पढ्नुस् : सिन्धुलीमा महेश्वरविरुद्ध राजन दाहालको एम्बुस, सांसद पत्नीले मञ्चबाट पुष्पगुच्छा फालेपछि माओवादीमा भाँडभैलो

    महेश्वर दाहाललाई प्रमुख अतिथि नबनाउन गरिएको राजन दाहालको प्रयास असफल भएपछि दीपा र ज्वालाको टोलीले कार्यक्रम भाँड्न खोजेको आरोप लगाइएको छ । यद्यपि उनीहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

    कार्यक्रम भाँड्न राजन पक्षले गाउँ-गाउँ गएर कार्यक्रममा नजान उर्दी नै लगाएको थियो । कार्यक्रम हुने नै भएपछि कार्यक्रमका प्रमुख अतिथि बनेका महेश्वर दाहाललाई कुट्ने, कालो मोसो दल्ने तयारीसहित राजनकी श्रीमती दीपा र जिल्ला सचिव ज्वाला न्यौपाने पुकारको समूह त्यहाँ पुगेको थियो ।

    सोही घटनालाई लिएर गाउँपालिका कमिटीले तीन जनामाथि कारबाही गर्न सिफारिस गरेको छ । यसअघि राजन दाहालमाथि समेत कारबाही गर्न पेरिसडाँडामा उजुरी परेको थियो ।

    अध्यक्ष प्रचण्ड र हरिबोल गजुरेललगायतका नेताहरुको सल्लाहमै सिन्धुलीको पार्टी बिग्रन नदिन राजनलाई काठमाडौंको तारकेश्वर नगरपालिका इन्चार्जमा सरुवा गरी सिन्धुली इन्चार्जमा महेश्वरलाई पठाइएको स्रोतले जनाएको छ ।

    प्रचण्डभन्दा सिनियर र समकक्षी नेताहरु ईश्वरी दाहाल (असारे काका),सीपी गजुरेल,हरिबोल गजुरेललगायतका नेताहरुले निर्माण गरेको सिन्धुलीको माओवादी संगठन राजन दाहालले बिध्वंश गरेर अराजनीतिक डफ्फामा परिणत गर्न थालेपछि उनलाई सिन्धुलीको जिम्मेवारीबाट मुक्त गरिएको माओवादी स्रोतको दावी छ ।

    सिन्धुलीमा यसअघि सबैलाई ठेगान लगाएका राजन दाहालमाथि महेश्वर दाहाल भारी पर्न थालेपछि उनले समानान्तर गतिविधिहरु गर्न थालेका छन् ।

    पार्टीको आधिकारिक कार्यक्रम सकिएपछि सोही ठाउँमा त्यस्तै कार्यक्रम गर्दै उनले आफ्नो उपस्थिति देखाउँन खोजेको नेताहरु बताउँछन् ।

    थप याे पनि : अमरेश सिंहले माओवादी सांसद राजन दाहाललाई ‘गुण्डागर्दी’ स्मरण गराउनुको यस्तो रहेछ रहस्य (भिडिओ)

  • सञ्चारमन्त्री भन्छिन्- पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्या आएपछि टिकटक बन्द गर्‍यौं

    सञ्चारमन्त्री भन्छिन्- पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्या आएपछि टिकटक बन्द गर्‍यौं

    काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल नियमन गर्न कानून बनाइसकेको बताएकी छन् ।

    माओवादी केन्द्रले सुरू गरेको पार्टीको वेबसाइट उद्घाटन कार्यक्रममा उनले पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्या आएपछि टिकटक बन्द गरेको बताइन् ।

    मन्त्री शर्माले भनिन्, ‘सूचना र प्रविधिको हामीले अहिले जुन ढंगले सकारात्मक पक्षहरुको चर्चा गरिरहेका छौं, यहाँ केही नकारात्मक पक्षहरु पनि छन् । नेपाली समाज, हाम्रो समाजिक सद्भाव रपारिवारिक संरचनालाई कस्तो खालको असर पारिरहेको छ भन्ने चुनौती पनि हाम्रोसामु छ । भर्खरैमात्र मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जाल, जसले हाम्रो पारिवारिक संरचना र सामाजिक सद्भावमा समस्याको रुपमा पैदा भएको थियो टिकटकको माध्यमबाट । हामीले त्यसलाई रोक्ने निर्णय गरेका छौं । अरु सामाजिक सञ्जाल पनि नियमन गर्न कानून बनाइसकेका छौं । निर्देशिका जारी भइरहेको छ ।’

    सरकारले मात्रै नभएर पार्टीले पनि सूचना र प्रविधिको क्षेत्रलाई सही ढंगले प्रयोगमा अघि बढाएको उनले बताइन् ।

  • प्रचण्ड भन्छन्- अप्ठेरो अवस्थामा छौं, प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्

    प्रचण्ड भन्छन्- अप्ठेरो अवस्थामा छौं, प्रतिगमनकारीहरू इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको दाबी गरेका छन् ।

    पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिराख्नुपर्ने अवस्था रहेको बताए ।

    उनले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं ।’

    देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी, अन्तर्राष्ट्रिय समुदाय र देशभित्र पनि जनताको पक्षमा राम्रो गरेवापत एकथरी प्रतिक्रियावादीहरु चाहिँ, हामी प्रतिगमनकारी भन्छौं- इतिहासको चक्का पछाडि धकेल्न खाेज्दैछन्, कहाँबाट कहाँ पुगिसक्यो इतिहास फेरि फर्केर निरंकुशता !’

  • कांग्रेस-माओवादीबीचको खटपटले लुम्बिनीमा विकास बजेट प्रभावित

    कांग्रेस-माओवादीबीचको खटपटले लुम्बिनीमा विकास बजेट प्रभावित

    रुपन्देही । लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीचको खटपट बढेको छ । सात महिनायता मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा बैठक बसेपनि दुवै दलबाट पुरानो अडान नछाडी एकले अर्कोलाई आरोप लगाएपछि उनीहरुबीचको विवाद थप बाहिर आउन थालेको हो ।

    दाङको चखौरामा भएको शीर्ष नेताहरुको दुई दिने आवासीय बैठकमा कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुनले मन्त्रालय नथप्ने पुरानै अडान नछोडेपछि माओवादी कांग्रेसको अडानमा असन्तुष्ट बनेको हो ।

    तर माओवादीले भने नेता पुनले माओवादीबाट मन्त्री बन्ने सूचीमा रहेका गत मंसिर ४ मा उनलाई पराजित गरेका दिपेन्द्र पुन सिजललाई मन्त्री बनाउन नहुने अड्डी लिएकाले सहमति नभएको जनाएका छन् । गठबन्धनको साझा उम्मेदार बनेका कांग्रेस सभापति अमरसिंहलाई माओवादीबाट विद्रोह गरेर सिजलले उम्मेदवारी दिएर विजयी भएपछि पुनः माओवादीमै प्रवेश गरेका हुन् ।

    सोमबार माओवादीका उपमहासचिव वर्षमान पुन, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा, कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सभापति अमरसिंह पुन, माओवादी नेतृ ओनसरी घर्तीसहितका नेताहरुले छलफल गरेका थिए ।

    कांग्रेसका सभापति पुनले पार्टीको मन्त्रालय नथप्ने अडानबाट पछि नहटेको र माओवादीले पूर्वसहमति अनुसारका मन्त्रालय पाउनुपर्ने अडान नछोडेपछि बैठक निष्कर्षविहीन भएको जनाए । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्रीले सरकार बिस्तार गरेर जाने योजनामा भएपनि आफ्नै पार्टी र माओवादीको दवावमा गर्न नसकेको बताए ।

    ६ महिनादेखि माओवादीबाट मन्त्री बन्ने नेताहरू कांग्रेसका कारण रोकिएको भन्दै माओवादीले कांग्रेसलाई निरन्तर दबाब दिँदै आएको छ । माओवादीले यसअघिको सहमतिअनुसार तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर अहिले माओवादीबाट धनबहादुर मास्की मात्र सरकारमा अर्थमन्त्रीका रुपमा सहभागी छन् । सरकार बिस्तारबारे बसेको नेताहरूको बैठकमा माओवादीले आफ्नो अडान नछोडेपछि सहमति नजुटेको कांग्रेस सभापति अमरसिंह पुनले बताए ।

    ‘मन्त्रालय थपेर जाने विषयमा हामी सहमत भएनौं, उहाँहरू पुरानै दाबीबाट ब्याक नभएपछि केही टुंगो लागेन,’ उनले भने, ‘अहिलेको अवस्थामा मन्त्रालय थप्ने कुरामा हाम्रो पूर्ण असहमति नै हो ।’

    माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो पार्टीले पूर्ववत सहमतिअनुसार ३ मन्त्रालय पाउने विषय राखेको तर कांग्रेसबाट त्यो सहमति पालना नभएको जनाए । ‘हामीले ३ मन्त्रालय त यसअघि एमालेबाट पनि पाएका थियौं, त्यसैलाई आधार बनाएर सहमति भएको हो, अहिले कांग्रेसका केही साथीहरुले सहमति विपरीत कुरा गर्नथाल्नुभयो, त्यही भएर केही टुंगो लागेन’ उनले भने ।

    लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघिको सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो । तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पुर्‍याउन २ मन्त्रालय थप्नुपर्छ । कांग्रेससँग सरकार गठनका बेला ३ मन्त्रालय पाउने सहमतिपछि माओवादीले धनबहादुर मास्की, रोल्पाका दीपेन्द्र पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्रीमा सिफारिस गरेको थियो ।

    त्यही सहमतिअनुसार माओवादीबाट मास्की अर्थमन्त्री बनेका हुन् । कांग्रेसबाट दाङकै राजु खनाल स्वास्थ्यमन्त्री बनेका छन् ।

    विवाद मिलाउन यसअघि काठमाडौंमा शीर्ष नेताहरुसँगको बैठकबाटसमेत सहमति जुटाउन नसकेपछि सरकार बिस्तार तत्कालका लागि रोकिएको कांग्रेसले जनाएको छ । लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर वैशाख १४ मा सरकार बनेको थियो ।

    अहिले लुम्बिनी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसहित २, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक/एक जना मन्त्री रहेका छन् । एक÷एक सांसद रहेका नेकपा एस र जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिएर मिलाउने तयारी छ । एमाले प्रतिपक्षमा र राप्रपा पनि सरकार बाहिर छ । सरकारमा साना दलले एक/एक मन्त्रालय लिएपछि ठूला दल कांग्रेस र माओवादी अप्ठ्यारोमा परेका हुन् ।

    चार महिनामा साढे ६ प्रतिशत विकास खर्च

    प्रदेश सरकारले चार महिनाको अवधिमा विकास बजेट साढे ६ प्रतिशत मात्रै खर्च गरेको छ ।

    मुख्यमन्त्री र अन्य मन्त्रीहरु दिनहुँ ससाना कार्यक्रम शिलान्यास, उद्घाटनमै दौडिरहेका छन् । आर्थिक वर्ष २०८०/०८१ को चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म ६.५९ प्रतिशत पूँजीगत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट रहेकोमा एक अर्ब ५३ करोड १९ लाख २६ हजार दुई सय ४५ रुपैयाँ खर्च भएको छ । कार्तिक मसान्तसम्म पहिलो चौमासिकमा चालुतर्फ १४.३१ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेट रहेकोमा दुई अर्ब ४६ करोड ४८ लाख २५ हजार १२ रुपैयाँ २६ पैसा खर्च भएको छ ।

    चालु र पूँजीगततर्फको खर्च ९.८७ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म तीन अर्ब ९९ करोड ६७ लाख ५१ हजार दुई सय ५७ रुपैयाँ ९७ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

    कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाको जम्मा १७.१३ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ १९.४३ र पूँजीगततर्फ ८.६२ प्रतिशत खर्च भएको छ । प्रदेश लोक सेवा आयोगको जम्मा १४.०१ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ १५.६६ र पूँजीगततर्फ ०.३७ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश योजना आयोगको जम्मा १०.६८ प्रतिशत बजेट खर्च भएको छ ।

    जसमा चालुतर्फ १४.३३ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ १.११ प्रतिशत बजेट खर्च भएको छ । अर्थ विविधतर्फको कुनै पनि बजेट खर्च भएको छैन । स्थानीय तह निकासातर्फ चालु शीर्षकअन्तर्गत १९.४६ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तहमा जाने बजेट चालु शीर्षकअन्तर्गत जाने गरेको छ । जुन चालु तथा पूँजीगतमा खर्च हुन्छ ।

    यो आवका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट रहेको छ । प्रदेश सरकारको चालु आवको बजेट गत आवको भन्दा दुई अर्ब १६ करोड कम छ ।

    सबैभन्दा कमजोर मुख्यमन्त्री कार्यालय

    मुख्यमन्त्री कार्यालयमै सबैभन्दा कम प्रतिशत खर्च भएको अवस्था छ । मुख्यमन्त्रीसहित अन्य तीन मन्त्रालय संहालेका डिल्लीबहादुर चौधरीकै मन्त्रालयमा कमजोर विकास बजेट खर्चले प्रदेश सरकारको सकृयतालाई झल्काउने अर्थविश्लेषकहरुको आंकलन छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जम्मा ४.२९ प्रतिशत खर्च भएको छ ।

    जसमा चालुतर्फ ४.४५ प्रतिशत भएको छ भने पूँजीगततर्फ खर्च हुन सकेको छैन । अर्थ मन्त्रालयको जम्मा ११.८० प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ११.९९ प्रतिशत र पूँजीगततर्फ ९.४९ प्रतिशत बजेट खर्च भएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जम्मा १०.४० प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ १५ प्रतिशत र पूँजीगततर्फ ०.९९ प्रतिशत खर्च भएको छ ।

    त्यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जम्मा ११.१३ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ११.६४ र पूँजीगततर्फ ६.२३ प्रतिशत बजेट खर्च भएको छ । गृह मन्त्रालयको जम्मा २९.३८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ३४.२० प्रतिशत र पूँजीगत २३.९९ प्रतिशत बजेट खर्च भएको छ ।

    वन तथा वातावरण मन्त्रालयको जम्मा १३.३६ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ २०.२६ प्रतिशत र पूँजीगततर्फ ३.९५ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको जम्मा ८.५० प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ९.०७ प्रतिशत र पूँजीगततर्फ ४.९० प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च १२.५६ प्रतिशत भएको छ । जसमा चालुतर्फ १७.४३ प्रतिशत र पूँजीगततर्फ ३.२८ प्रतिशत बजेट खर्च भएको छ ।

    खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयको जम्मा १२.६३ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ २०.५६ प्रतिशत र पूँजीगततर्फ १२.३० प्रतिशत बजेट खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मा ५.३१ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ २३.१३ प्रतिशत र पूँजीगततर्फ ४.६९ प्रतिशत बजेट खर्च भएको छ ।

    आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसाल सरकारले आफ्नो घोषणा बमोजिम विकास खर्च गर्न नसक्नु असफलताको संकेत भएको बताउँछन् ।

    ‘पहिलो कुरा त प्रदेशमा कर्मचारीको व्यवस्थापन हुन सकेको छैन, नीति तथा कार्यक्रम र बजेट निर्माणमा गरिएका प्रतिवद्धताअनुसार काम भएनन्, यति लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन, ठेकेदारले यसअघिकै भुक्तानी पाउन सकेका छैनन्, यस्तो अवस्थामा कसरी विकास बजेट खर्च हुन संभव छ ?’ उनले भने–‘कर्मचारी, ठेकेदारसँग समन्वय नै सरकारले गर्नसकेको छैन, पहिलो चौमासिकको निरासाजनक खर्चले बाँकी समयलाई पनि झल्काउँछ, अहिलेसम्म ठेक्का नलाग्नु, योजना सम्झौता नहुनु र सरकारले यसमा ध्यान नदिनु अझै समस्या बढ्दै जानू हो । ’

  • सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित माओवादी सांसदले सार्वजनिक गरे एक वर्षको प्रगति

    सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित माओवादी सांसदले सार्वजनिक गरे एक वर्षको प्रगति

    चौतारा । जिल्लाबाट संघीय संसद् र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।

    गत वर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल शरद, सरल सहयात्री पौडेल र समानुपातिकतर्फ निर्वाचित अमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी उपलब्धि एवं कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

    संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई स्मरण गरे ।

    निर्वाचनका बेला जारी गरिएको प्रतिबद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उनले संघीय संसद्का ९३ बैठक मध्ये ८१ बैठकमा उपस्थित भएको जुन ८७ प्रतिशत उपस्थिति रहेको उनले सुनाए ।

    पूर्वाधार विकास समितिको सदस्यका रूपमा सक्रिय सहभागी रहेको स्मरण गर्दै विधेयकहरूमा संशोधन गरिएको जानकारी दिए ।

    निर्वाचन क्षेत्रका विषयमा २०७२ को भूकम्पपछि बन्द जस्तै रहेको प्रमुख व्यापारिक तातोपानी नाका पूर्ववत् सुचारु गर्ने विषय, जुरे पहिरो प्रभावितको रकम निकासा गरी नगदै वितरणको विषय, ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय, सीमा नाका सम्म पुग्ने तातोपानी क्षेत्रको सडक स्तरोन्नतिको विषय, बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरबाट बालीनाली जोगाउने उपायबारे संसदमा सरकारको ध्यानाकर्षण गराएको बताए।

    काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडीबुटीबाटै बसपार्क व्यवस्थाका लागि ध्यानाकर्षण गराएको, विपद् पूर्व तयारी एवं विपद् व्यवस्थापनका विषय सदनमा उठाएको उनले जानकारी दिए ।

    राष्ट्रिय मुद्दाका रूपमा संसदमा चीनसँगको तातोपानी नाका पूर्ववत् सुचारु गर्ने, लिपिङ क्षेत्रको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको, नेपालका युवाहरूले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरू रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता, नेपाल वृद्धाहरूको देश बन्ने खतरा रहेको तथ्यांक सहित संसदमा युवाहरूको विषयको उठान गरेको, नियमावलीमा ढ्यापढ्यापेको समयको सट्टा आकस्मिक समयका लागि नियमावली संशोधन गर्न पहल गरेको र नियमावलीमा सोही अनुसारको व्यवस्था सहित संशोधन भएको उनले बताए ।

    आधुनिक प्रविधि र एपमार्फत संसद् सञ्चालन गर्न ध्यानाकर्षण एवं एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गर्न विशेष ध्यानाकर्षण, संक्रमणकालीन विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेको, सबैखाले विपद्को पूर्व तयारीका सम्बन्धमा ध्यानाकर्षण गराएको, भुटानी शरणार्थीको मुद्दालाई स्वार्थमा जोडेर राजनीति नगर्न आग्रह गरिएको देशका संवैधानिक अंग र निकायहरू रिटायर्ड क्लबहरूजस्ता भएको विषयमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको सुनाए।

    जुगल गाउँपालिकाको रत्नराज्यमाविलाई केन्द्रीय विद्यालय बनाउन पहल गरिएको, रुग्ण उद्योगका रूपमा रहेको ओरेयन्ट म्याग्नेसाइटबारे विभिन्न विकल्पमा छलफल भइरहेको सापकोटाले जानकारी दिए ।

    निर्वाचित भएको १५ दिन मै गुम्बा गाउँमा बत्ती बाल्न पहल लिएको स्मरण गर्दै सांसद सापकोटाले ७ महिना भित्रमा तेम्बाथानमा बत्ती बल्ने अवस्था रहेको बताए । गुम्बाको नेसम खोलामम्म मोटरबाटो पुगेको र अर्को वर्षबाट तेम्बाथानसम्म मोटर चढेर जान सकिने गरी काम भइरहेको उनको भनाई थियो ।

    उनले जुगल गाउँपालिकामा सम्भाव्यताको आधारमा जडीबुटी प्रशोधन केन्द्रको स्थापनाको काम अगाडि बढाइएको जुगल हिमशृङखला अन्तर्गतका थप हिमालका चुचुराहरू आरोहणका लागि खुला गर्न नेतृत्वदायी भूमिका खेलेको र सुकुटेलाई पर्यटकीय विकासका लागि चौतारा साँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको जानकारी दिए ।

    उनले सांसदका रूपमा विभिन्न अमेरिका, भारत र बंगलादेशमा भएका भ्रमण एवं नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गरेको विषयमा बताएका थिए । आफू निर्वाचन क्षेत्रका ५४ वटै वडाहरूमा कुनै न कुनै कार्यक्रम लिएर पुगेको उनले जानकारी दिए । जनतासँग सांसद कार्यक्रमको बाह्रबिसेको घोरथलीबाट सुरु गरिएको उनले कार्यक्रममा बताए ।

    एक वर्षको उपलब्धि सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जनप्रतिनिधि दुलालले जनसेवाको काम गर्ने, जनताको दुख सुखमा जनप्रतिनिधि, सरकारबाट नीति निर्माणको काममा ध्यान दिइएको बताए । ठूला योजना दिनेश राम्जी बहु प्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न, चौतारा टुंडिखेलमा निर्माणाधीन रंगशालाको रोकिएको का सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको सुनाए ।

    उनले निर्वाचन क्षेत्रका मुख्य योजना, मझौला योजनाहरूमा बजेट विनियोजन भई काम भइरहेको जानकारी दिए । निर्वाचन क्षेत्रका २४ वटै वटा समेटिने गरी पूर्वाधार विकास, विद्यालय बस जस्ता कार्य अघि बढाइएको उनले सुनाए । प्रदेशको बजेट कटौतीका बाबजुद प्रदेशका कार्यक्रमहरू एकीकृत ढंगले अघि बढाउन लागिएको उनको भनाइ छ । प्रदेश सभाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपामा पारित गरिएको विषय समेत यस अवधिको उपलब्धि रहेको दुलालले जानकारी दिए ।

    १५ बेडको चौतारा अस्पताललाई ५० बेडको बनाउने लगायतका महत्त्वपूर्ण कार्य भएको, बागमती प्रदेशमा विद्युतीय ट्याक्सी सञ्चालनको अनुमति प्रदान गरिएको काम समेत उनले सार्वजनिक गरे ।

    मन्त्री दुलालले चुनावमा आफूलाई जिताउने मतदाता, उम्मेदवार बनाउने पार्टीलाई धन्यवाद ज्ञापन गर्दै सहित, घाइते, अपाङ्गता भएका र बेपत्ता योद्धाहरूलाई स्मरण गर्दै काम गरिरहेको सुनाए । बागमती प्रदेश सभामा विपद् व्यवस्थाको विषयमा विशेष समय लिएर सम्बोधन गरेको, रासायनिक मल अभावका कारण किसानले भोग्नु परेको समस्यामा ध्यानाकर्षण गराएकोमा दुवै विषयको सम्बोधन भएको सुनाए ।

    उनले मुख्यमन्त्रीको उपस्थितिमा सिन्धुपाल्चोकमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको र एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको बताए । माओवादीले भ्रष्टाचार गर्नु भनेको सहिको मासु लुछेर खानु सरह भएको विषय संसदमा सम्बोधन गरेको सांसद सहयात्रीले स्मरण गरे । उनले चुनावी अभियानका बिचमा गरिएका प्रतिबद्धता पूरा गर्न लागिपरेको स्पष्ट गरे । पत्रकार सम्मेलनमा उनले आगामी वर्षहरूमा बाँकी प्रतिबद्धता पुरा गरिने बाचा समेत गरेका थिए ।

    कार्यक्रममा सांसद नेपालले बागमती प्रदेश सभामा, सम्बन्धित समितिमा र निर्वाचन क्षेत्रमा खेलेको भूमिकाको चर्चा गरिन् । उनले गृहिणी महिलाहरूको श्रमको सम्मान, श्रमको मूल्य निर्धारण आयआर्जन र सीपसँग जोड्नुपर्ने विषय उठाएको स्मरण गर्दै सो विषय कार्यान्वयन गर्न गृहिणी महिलासँग प्रदेश सरकार कार्यक्रम पारित भई कार्यान्वयनको चरणमा रहेको बताइन् ।

    उनले संसदमा युवाका विषयलाई जोड दिइएको र काम गरिखाने वर्गका विषयमा आवाज उठाइरहने जानकारी गराइन् ।

    चारै जना जनप्रतिनिधिले यो अवधिमा पार्टी सम्बद्ध कार्यहरूमा सहभागी भएको विषयमा पनि जानकारी गराएका थिए ।

  • माओवादी पनि खटियो भूकम्प प्रभावित क्षेत्रमा

    माओवादी पनि खटियो भूकम्प प्रभावित क्षेत्रमा

    कैलाली । भूकम्प प्रभावित क्षेत्रमा अहिले माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पनि खटिएका छन्।

    नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुर्न निर्माणमा खटिएका हुन् ।

    अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको उक्त टोली अहिले जाजरकोट भेरी नगरपालिका–१ रिम्ना क्षेत्रमा खटिएको छ ।
    कार्तिक १७ गते गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

    अहिले सम्म सरकार तवरबाट यहाँ पुन: निर्माणको काम अघि बढ्न सकेको छैन । यस अघि एमाले र कांग्रेसले नेता कार्यकर्तालाई पुन:निर्माणमा लगाएको थियो । अहिले माओवादी केन्द्रपनि प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुन: निर्माणमा खटिएको छ ।

  • नेपालको उच्च शिक्षा चुनौतीपूर्ण : प्रधानमन्त्री प्रचण्ड

    नेपालको उच्च शिक्षा चुनौतीपूर्ण : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् ।

    ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

    ‘एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘त्यसका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराई विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवा नै मुलुक छोडेर बाहिर जाने परिपाटी छ ।’

    विश्वविद्यालय खोल्नेको सङ्ख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले सङ्कट निम्त्याउँदै लगेको उल्लेख गर्दै यो चुनौतीलाई पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयले सुधारको अवसरका रूपमा लिनुपर्ने उनले बताए ।

    ‘काठमाडौँ विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको ‘एशोसियसन अफ इण्डियन युनिभर्सिटिज’को उत्तरपूर्वीय क्षेत्रका दुई सय ५० भन्दाबढी विश्वविद्यालयका उपकुलपतिको सम्मेलनको तयारीका साथै त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको कार्यक्रम विशेष पनि सहयोगी हुनेछ’, प्रधानमन्त्री दाहालले भने ।

    संसारका विश्वविद्यालय शिक्षा अहिले अकल्पनीय खोज अनुसन्धान र नवप्रवर्तनको युगमा प्रवेश गरेको बताउँदै उनले अन्तरिक्ष विज्ञान, न्यानो टेक्नोलोजी, क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ, जेनटिक इञ्जिनियरिङ, सूचना–प्रविधि, बिग डाटा एनालिटिक्सदेखि मानव मनोविज्ञान र योग–ध्यानको लाभबारे प्रयोगशालामा अध्यापन हुन थालेको उल्लेख गरे ।

    ‘नेपालले यो प्रतिस्पर्धामा आफूलाई परिवर्तन गर्नु जरुरी छ । उच्च शिक्षाको गुणस्तरलाई विश्वस्तरीय बनाउने प्रयास गर्न सकिएन भने हाम्रा युवा लाखौँको सङ्ख्यामा अध्ययनकै लागि मुलुक छोडेकामा गुनासो मात्रै गर्ने अवस्था आउने छ । यो परिस्थितिलाई बदल्न राज्य, विद्वतवर्ग र शैक्षिक संस्थालगायत सबैको साझा जिम्मेवारी हो’, प्रचण्डले थपे ।

    नेपालले सबै क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा गर्न सम्भव नभएको भन्दै उच्च शिक्षामा समावेश गर्नसक्ने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । यस्तै बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदिजस्ता हाम्रा तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित गरेर त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नसकेमा मुलुकले ठूलो लाभ लिनसक्ने उनको भनाइ थियो ।

  • प्रधानमन्त्रीलाई प्रदीप पौडेलको आग्रह- सत्ता लिप्सामा होइन, नागरिकको रक्षामा ध्यान दिनुस्

    प्रधानमन्त्रीलाई प्रदीप पौडेलको आग्रह- सत्ता लिप्सामा होइन, नागरिकको रक्षामा ध्यान दिनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको ध्यान नागरिक भन्दापनि सत्तालिप्सामा धेरै भएको टिप्पणी गरेका छन् । भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा पनि कार्यान्वयन नभएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    उनले फेशबुकमा लेखेका छन्, ‘हामी जाजरकोटमा छौं । यहाँको अवस्था अत्यन्तै नाजुक छ । अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ । धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थाई टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठण्डीमा जीवन रक्षा गर्न सकिँदैन ।’

    नागरिकलाई चिसोबाट जोगाउन अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए ।

    उनले भने, ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन । यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ ।’

    थोरै समय निकालेर भए पनि नागरिकको जीवन रक्षा गर्ने आग्रह गरे ।

    उनले भने, ‘एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ । मंसिर ७ को चटारोले सरकारलाई भ्याई नभ्याई नै होला । थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गर्दछु । यस विषयलाई पहिलो प्राथमिकतामा राखेर अत्यन्तै गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत समेत गराउँछु ।’

    भूकम्प प्रभावितलाई १ हजार अस्थायी संरचना निर्माण गर्नको लागि कांग्रेसको नेतृत्व गरेर नेता पौडेल अहिले त्यहाँ खटिएका छन् ।

  • भरतपुरकी मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

    भरतपुरकी मेयर रेणुको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

    चितवन । भरतपुर महानगरका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं। ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरू दुवैलाई गए राति आ आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

    मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राती पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- अर्थतन्त्रमा सुधार आए पनि दबाबमुक्त भइसकेको छैन

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- अर्थतन्त्रमा सुधार आए पनि दबाबमुक्त भइसकेको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको महत्वपूर्ण सरोकारको विषय भएको बताएका छन्।

    दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी—२०२३ कार्यक्रमलाई सम्बोधन गर्दै उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेसिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक भएको बताए।

    उनले भने, ‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको छ। त्यसैले पनि छिटोभन्दा छिटो यस पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ। यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन।

    नेपालको संविधानमा निजी–सहकारी–साझेदारीको तीनखम्बे अर्थनीतिको व्यवस्था गरेको बताए। संविधानमा व्यवस्था भएबमोजिम साझेदारीको मोडेललाई परिणाममुखी बनाउन सरकार र निजी क्षेत्रबीच सघन सहकार्य र एकता आवश्यक भएको बताए।

    उनले भने, कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, हाम्रो आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादन आदि कारणले राष्ट्रिय अर्थतन्त्रले दवावको महसुस गरिरहेको छ। मैले सरकारको नेतृत्व लिँदाको परिस्थितिमा अर्थतन्त्र संकटमा थियो। सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवावलाई अन्त्य गर्न मैले हिजोदेखि गम्भीर गृहकार्य थालेको छु। आज पनि सरकार, निजी क्षेत्र, विकास साझेदारहरु र अर्थविदहरुको संयुक्त बैठक बोलाएको छ।

  • केन्द्रबाट हस्तक्षेप भए सरकार छाड्ने लुम्बिनी कांग्रेस सभापतिको चेतावनी

    केन्द्रबाट हस्तक्षेप भए सरकार छाड्ने लुम्बिनी कांग्रेस सभापतिको चेतावनी

    रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेशमा मन्त्री थप्नेबारे केन्द्रबाट हस्तक्षेप नस्वीकार्ने बताएका छन् । उनले सहमतिका नाममा दबाब बढाए सरकारबाट बाहिरिने चेतावनी दिए ।

    आइतबार र सोमबार माओवादी नेताहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको बैठक निष्कर्षविना टुंगिएको थियो ।  पुनले मंगलबार दाङमा पार्टी कार्यकर्तालाई सरकारबाट बाहिरिन सक्नेसम्मको कुरा सुनाएका हुन् ।

    माओवादी उपमहासचिव वर्षमान पुनले यहाँ सहमति नभए केन्द्रबाट प्रयास गर्ने संकेत गरेपछि सभापति पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    सभापति पुनले प्रदेश सरकार गठनमा कुनै पनि मन्त्रालय नबढाउने गरी पूर्णता दिने कांग्रेस प्रदेश समितिको बटमलाइन भएको विषय राखेपछि माओवादी उपमहासचिव पुनले केन्द्रस्तरबाट मिल्छ भन्ने कुरा राखेका थिए ।

  • प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

    प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

    काठमाडौँ । नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् ।

    बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो ।

    टोखामा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादीसँग एकता गर्ने सहमति जुटेको महासचिव रमेश यादवले बताए ।

    उनले भने, माओवादीसँग एकता गर्न हामीबीच सहमति भएको छ । अब हामीले पार्टी अध्यक्षकै नेतृत्वमा समायोजन समिति बनाउँछौं । उहाँहरूको तर्फबाट पनि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति बनाउनुपर्छ भनेका छौं । उहाँहरु पनि तयार हुनुहुन्छ ।

    उनले समितिका अर्का अध्यक्ष यादव पनि रहने बताए ।

    उनले भने, हामीले हिजो गरेको निर्णय कार्यान्वयनका लागि अहिले पदाधिकारी बैठक बस्दैछौं । थप निर्णय भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ ।

    वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको उनले सुनाए । एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनले दाबी गरे ।

    वार्ता समितिमा माओवादीले पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । अध्यक्ष भट्टराई माओवादीसँग एकताको लागि सकारात्मक नभएपछि अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू तत्काल माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएपछि दबाबमा परेर पार्टी विभाजन हुनबाट रोक्न सहमति जनाएको हुन् ।

    २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न राजी भएका हुन् ।

  • अर्थतन्त्र सुधारको उपाय खोजीका लागि प्रधानमन्त्रीद्वारा बैठक आव्हान

    अर्थतन्त्र सुधारको उपाय खोजीका लागि प्रधानमन्त्रीद्वारा बैठक आव्हान

    काठमाडौं । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गरेका छन् ।

    अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग  आज ४ बजे छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।

    पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन । न्यून पुँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिइरहेका छन् ।

    अर्थतन्त्र सुधारका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेममार्फत विभिन्न सुधारका कार्यक्रम ल्याएको भए पनि ती कार्यक्रमको कार्यान्वयनको अवस्था सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको देखिँदैन ।

  • गठबन्धनको बैठक निष्कर्षविहीन, मन्त्रालय थप्नुपर्ने माओवादीको मागमा कांग्रेस असहमत

    गठबन्धनको बैठक निष्कर्षविहीन, मन्त्रालय थप्नुपर्ने माओवादीको मागमा कांग्रेस असहमत

    रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रालय थपेरै भए पनि सरकार विस्तार गर्नुपर्ने माओवादी केन्द्रको दबाब कांग्रेस नेताहरूले नमानेपछि आइतबार र सोमबार बसेको यहाँका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष सकिएको छ ।

    ६ महिनादेखि माओवादीबाट मन्त्री बन्ने नेताहरू कांग्रेसका कारण रोकिएको भन्दै माओवादी नेताहरूले पटक पटक प्रश्न उठाएपछि शीर्ष नेताहरू मिलाउनका लागि बसेका थिए तर यसअघि गरिएको भागबन्डाअनुसार दुवै दल टसमस नभएको र कांग्रेस प्रदेश सभापति अमरसिंह पुन मन्त्रालय थप्ने विषयमा सहमत नभएपछि कुनै टुंगो नलागेको स्रोतले जनाएको छ ।

    रोकिएको सरकार विस्तारको गाँठो फुकाउन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, माओवादी नेतृ ओनसरी घर्तीसहितको टोली आइतबार र सोमबार दुई चरणमा बसेपनि कुनै निष्कर्षमा नपुगी उठेका हुन् ।

    दाङको तुलसीपुरमा बसेको बैठकमा सरकार बिस्तारबारे बसेको नेताहरूको बैठकमा कुनै सहमति नजुटेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए । मन्त्रालय थपेर जाने विषयमा हामी सहमति भएनौं, उहाँहरू पुरानै दाबीबाट ब्याक नभएपछि केही टुंगो लागेन, यस्तो अवस्थामा मन्त्रालय थपेर जाने कुरामा असहमति हो, पुनले भने ।

    लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्री मण्डल रहेको छ । यसअघिको सहमति अनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पुराउन २ मन्त्रालय थप गर्नुपर्ने हुन्छ ।

    यो सहमति अनुसार माओवादीले ६ महिनाअघि नै रोल्पाका दीपेन्द्र पुन सिजल र बाँकेका कृष्णा केसी नमुना लाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । तर, सिजलको विषयमा कांग्रेस प्रदेश सभापतिले यसअघिको गठबन्धनविरूद्व बागी उम्मेदवारी दिएर चुनाव जितेकालाई मन्त्री बनाउन नसकिने भन्दै रोकेका हुन् ।

    त्यसयता धेरै पटक माओवादीले सिफारिस गरेका नेताहरूलाई मन्त्री बनाउन मुख्यमन्त्री चौधरीलाई बटम लाइन दिए पनि अहिलेसम्म रोकिएको छ । यो विषय सल्टाउन दुवै पार्टीका नेताहरू पटक पटक काठमाडौं पुगेर शीर्ष नेतालाई भेटे पनि कुनै समाधान निस्केको छैन ।

    लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर वैशाख १४ मा अहिलेको सरकार बनेको थियो । तर मंसिर पहिलो सातासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । सरकारमा साना दलको भागबन्डा भने मिलिसकेको छ ।

    अहिलेसम्म कांग्रेसबाट मुख्यमन्त्रीसहित २, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक एक जना मन्त्री रहेका छन् । एक एक सांसद रहेका नेकपा एस र जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिएर मिलाउने सहमति छ । सरकार बाहिर एमाले र राप्रपा रहेका छन् ।

  • शान्ति निर्माणमा सामाजिक सञ्जाल चुनौती : मन्त्री किराती

    शान्ति निर्माणमा सामाजिक सञ्जाल चुनौती : मन्त्री किराती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आएको दाबी गरेका छन् ।

    सामाजिक सञ्जाललाई ठीक समयमा ठीक तरिकाले नियन्त्रण गर्न नसकिए द्वन्द्व बढेर जाने उनले बताए । नेपाल सम्वाद सम्मेलनमा बोल्दै उनले नेपालमा शान्ति कायम गर्न सामजिक सञ्जाल चुनौती रहेको बताए ।

    मन्त्री किरातीले भने, ‘प्रजातन्त्रका नाममा अराजकता फैलाउन पाइँदैन । एक हातमा माला र एक हातमा भाला बोकेर सामाजिक सञ्जालमा बोल्न पाइन्न ।’

    सरकारले भर्खरै टिकटकलाई केही समयका लागि प्रतिबन्ध लगाएर सामाजिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउन रोकेको उनको जिकिर छ । मन्त्री किरातीले बेला-बेलामा धार्मिक, सामाजिक द्वन्द्व फैलाउन खोजिएको भए पनि असफल भएको बताए ।

    उनले भने, ‘अहिले पनि जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, म ठोकेर भन्छु यस पटक पनि असफल हुन्छ ।’

  • माओवादी फुटेपछि जनयुद्धका उपलब्धि हराउँदो रहेछ, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड

    माओवादी फुटेपछि जनयुद्धका उपलब्धि हराउँदो रहेछ, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको बताएका छन् ।

    ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताए ।

    माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको उनको भनाइ छ ।

    उनले भने, ’नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको थियो। नेकपा अध्यक्ष डा. बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको छ ।’

    यस्तै, नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत बताए । चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने आश्वासन दिए ।

  • माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो, नाम र चुनाव चिन्ह सहमति अनुरूप

    माओवादी केन्द्र र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो, नाम र चुनाव चिन्ह सहमति अनुरूप

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता वार्ता समितिको बैठक बसेको छ।

    आज बसेको बैठकमा पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादीका उपाध्यक्ष तथा उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा नेता गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

    बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

    पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।

    यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो विज्ञप्तिमा भनिएको छ।

    दुई पार्टीबीच एकता गर्ने सहमति भए पनि लामो समयदेखि रोकिएर बसेको छ ।

    पछिल्लो समय नेकपा अध्यक्ष डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको पक्षमा छैनन् ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बाबुराम सन्तुष्ट छैनन् । तर, नेसपामा माओवादीसँग एकता गर्ने विषयमा नेताहरुबीच दुई धार हुँदा दबाबमा परेका छन्।

  • प्रधानमन्त्रीलाई विप्लवको चेतावनी- जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस् (भिडिओ)

    प्रधानमन्त्रीलाई विप्लवको चेतावनी- जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस् (भिडिओ)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।

    उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । उनले सत्ता जनताको मुख बन्द गरेर नभई जनताको मन जितेर मात्रै टिक्ने बताए । उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने बताए ।

    महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताए । उनले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

  • प्रचण्डको खुशी : साथीहरुले १ महिनाभन्दा बढी जाँदैनस् भन्थे, ११ महिना भइसक्यो (भिडिओ)

    प्रचण्डको खुशी : साथीहरुले १ महिनाभन्दा बढी जाँदैनस् भन्थे, ११ महिना भइसक्यो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । राम्रो काम गर्दागर्दै सरकारबाट हट्नु परे जनताकहाँ जाने उनले स्पष्ट पारे ।

    आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रचण्डले यो गठवन्धन पाँचै वर्ष जाने दाबी गरे ।

    उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ, कसैले हल्लाएर हल्लिनेवाला छैन । मानिसहरुले जुन भनेका छन्, त्यसको कुनै धरातल छ भन्ने मलाई लाग्दैन । गठबन्धनभित्रको युनिटी धेरै दह्रो छ ।’

    यो पटक गठबन्धन र सरकारले राम्रो गर्ने र राम्रो बाहेक केही नगर्ने प्रधानमन्त्रीले बताए ।

    उनले थपे, ‘मलाई १४ दिनको प्रधानमन्त्री हुने हो कि एक महिनाको भन्नेसँग मतलब छैन । योपटक राष्ट्र र जनताको पक्षमा काम गर्छु । राष्ट्र र जनताको निम्ति समर्पित हुनेछु । राम्रो गर्दागर्दै छोड्नुपरो भने जनताकहाँ जाने छु ।’

    आफू प्रधानमन्त्री बन्दा धेरैले सरकारको आयू लामो नरहने टिप्पणी गरेको उनले सम्झिए ।

    प्रचण्डले भने, ‘विश्वको पनि मैले हेरेको छु । सबैभन्दा थोरै बाजपेपी १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही १५ दिन त कोही २० दिन पनि भएका छन् । मलाई १ महिनाभन्दा बढी तेरो जाँदैन भन्थे । ठीकै छ, एक महिनामा राम्रो काम गर्ने कोशिष गर्छु र गदागर्दै छोड्नुपरो भने जनता न्यायाधीश छन् । जनताको घरदैलोमा जान्छु मलाई प्रम हुनैपर्छ भन्ने छैन भनेको थिएँ । भन्दाभन्दै १० महिना, अब ११ महिना हुन लाग्यो, बाँचिराखिएकै छ । प्रधानमन्त्री पनि भइराखिएकै छ । अझै राम्रो काम गर्ने विचार छ मेरो । भ्रष्टाचार र बेइमानलाई अझै बढी ठीक पार्ने विचार छ । शुुसासन, सामाजिक न्याय र समृद्धि ल्याउने विचार छ । गर्न खोज्दाखोज्दै कोही आएछ भने जनता त छँदैछन् ।’

     

  • टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

    टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् ।

    नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको बताए ।

    प्रधानमन्त्रीले भने- समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।

  • जाजरकोट भूकम्पको दुःखद क्षतिमा भाइटीका नलगाउने माओवादी नेता जनार्दन शर्माको निर्णय

    जाजरकोट भूकम्पको दुःखद क्षतिमा भाइटीका नलगाउने माओवादी नेता जनार्दन शर्माको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा यसपालिका भाइटीका नलगाउने निर्णय गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् । ‘मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले लेखेका छन् ।

    भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने करिब ३५० जना घाइते भएका थिए तथा सयौं घरमा क्षति पुगेका थियो ।

  • प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौंः प्रधानमन्त्री (भिडिओ)

    प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौंः प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको बताए ।

    पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको उनको दबाब छ । उनले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए ।

    उनले भने,‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनाैँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा शुरु गर्छौं त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’

    प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएको बताए । उनले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताए ।

  • पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि जनताबाट भएको अर्को ठूलो विद्रोह जनयुद्ध हो : प्रधानमन्त्री

    पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि जनताबाट भएको अर्को ठूलो विद्रोह जनयुद्ध हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह र पहलकदमी जनयुद्ध भएको दाबी गरेका छन् ।

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ लोकार्पण गर्दै उनले पार्टीभित्रका सबै साथीहरुको टीम नभएको भए यति ठूलो परिवर्तन सम्भव नहुने बताए ।

    प्रचण्डले भने, ‘जनयुद्धको त्यसको फिलोसफी, त्यसभित्र लिएका ट्याक्टिस र पोलिसी, त्यतिबेला अपनाइएका कार्यशैली, आचारसंहिता, त्याग तपस्या गरेका थियौं। कुनै तलब सुविधा लिएर होइन, भएको पनि सकेर राष्ट्र र जनताको निम्ति, सबैको पहिचान र अधिकारको लागि, आफू बरु मेटिने तर, जनतालाई अधिकार र समावेशिता चाहियो भन्ने उद्देश्यले हामीले महान त्याग गरेका थियौं । पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको तहबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर, यो आधिकारिक प्रमाणित हुन बाँकी छ ।’

    उनले पहिले माओवादी नेताभन्दा सिंह जुरो पलाएको अपराधी चित्रण गरिने गरेको स्मरण गरे । प्रचण्डले पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा आफूलाई खुशी र गर्व लागेको सुनाए ।

    उनले जनयुद्ध दिवसलाई बिदा दिने निर्णयप्रति विभिन्न टीकाटिप्पणी हुने गरे पनि त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

    उनले भने, ‘जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन । अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो ।’