Category: माओवादी केन्द्र

  • कांग्रेसलाई प्रधानमन्त्रीको संसदबाट जवाफ- आफूसँग हुँदा इमान, छोडेपछि बेइमान ? (भिडिओ)

    कांग्रेसलाई प्रधानमन्त्रीको संसदबाट जवाफ- आफूसँग हुँदा इमान, छोडेपछि बेइमान ? (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् । संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए ।

    दाहालले भने, ‘कसैलाई कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ । भर्खरै कांग्रेसको संसदीय दल बैठकले राजनीतिक बेइमान भनेर निष्कर्ष निकालेको सुनेँ । अहिले कांग्रेस प्रतिनिधिले बोल्नु नै होला । तर, मैले संक्षिप्तमा भन्नुपर्दा विकासप्रतिको छटपटी र राजनीतक प्रतिवद्धताको कारणले मैले सोचिबिचारी कदम चालेको हो । यसलाई मुद्दाको आधारमा हेर्दा उचित हुन्छ । आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको हो ।’

  • मन्त्रीबाट मुक्त भएपछि सुदनको प्रतिक्रिया- म विवादमा परेको होइन, विवादित बनाइएको हो (भिडिओ)

    मन्त्रीबाट मुक्त भएपछि सुदनको प्रतिक्रिया- म विवादमा परेको होइन, विवादित बनाइएको हो (भिडिओ)

    काठमाडौं । तत्कालीन पर्यटन मन्त्री सुदन किराँतीले आफू मन्त्री हुँदा विवादित नभएको दाबी गरेका छन्।

    प्रतिनिधिसभाको बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले विवादित नभएपनि बनाइएको जिकिर गरे।

    उनले भने, मन्त्रालयको जिम्मेवारी पाउँदा मलाई डर लागेको थियो। त्यो सजिलो कुरा पनि होइन। मन्त्रालयबाट म खुसीसाथ निस्किन पाए म बेदाग फर्किए ममाथि दाग लागेन। मैले एक वर्षमा धेरै काम गरेको छु। परिणाम निस्कने बेला भइसकेको छैन।

    उनले समीकरण फेरिएपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने दाबी गरे।

    उनले आफू बेदाग मन्त्रालयबाट बिदा भएको दाबी गरेपछि मन्त्रालयमा हुँदा विवादित निर्णय गरेको भन्दै चौतर्फी आलोचनामा भइरहेको थियो।

  • पहिलो क्याबिनेटमा प्रधानमन्त्रीले भने- केही गरौं भनेर जोखिम मोलेको हुँ, अब ‘ब्रेक थ्रु’ गर्नुपर्छ

    पहिलो क्याबिनेटमा प्रधानमन्त्रीले भने- केही गरौं भनेर जोखिम मोलेको हुँ, अब ‘ब्रेक थ्रु’ गर्नुपर्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कही गरौं भन्ने जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाएको भन्दै मन्त्रीहरूलाई परिणाम देखिने काम गर्न निर्देशन दिएका छन् ।

    नयाँ मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्नैपर्ने दबाब रहेको भन्दै आफूले जोखिम मोलेको बताएका हुन् ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘म अल्पमतमा परेर गठबन्धन चेन्ज गरेको होइन । मलाई काम गर्न पटक्कै सहयोग नभएर, कम्फरटेबल नभएपछि जोखिम मोलेर यो गठबन्धनमा आएका हौं । केही गरौं भन्ने मेरा स्पिरिट त्यता मिलेन, हिजो सोचेजस्तो काम गर्न सकिएन त्यसैले अब ब्रेक थ्रू गर्नु छ ।’

    प्रधानमन्त्रीले कांग्रेससँग गठबन्धनमा रहेर रिबन काट्ने र समय कटाउनेबाहेक सोचेजस्तो र चाहेजस्तो काम गर्न असहज भएपछि एमालेसँग गठबन्धनमा फर्किनुपरेको आशय व्यक्त गरेको ती मन्त्रीले बताए ।

  • हवाई नीति संशोधन गर्न कार्यदल गठन गर्ने नवनियुक्त पर्यटनमन्त्री तामाङको पहिलो निर्णय

    हवाई नीति संशोधन गर्न कार्यदल गठन गर्ने नवनियुक्त पर्यटनमन्त्री तामाङको पहिलो निर्णय

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

  • अर्थमन्त्री वर्षमान पुनले गरे पदभार ग्रहण

    अर्थमन्त्री वर्षमान पुनले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले पदभार ग्रहण गरेका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।

    आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

  • प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा एमालेका रघुवीर महासेठ, नारायणकाजीले के भने ?

    प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा एमालेका रघुवीर महासेठ, नारायणकाजीले के भने ?

    काठमाडौं । नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । त्यसपछि नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा माथि रहनेछ ।

    गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ भौतिक पूर्वाधार मन्त्रालय र उपप्रधानमन्त्रीसहित सरकारमा एमालेको नेतृत्व गरेर जाँदैछन् । नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्न सहमत भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो–एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय बाँडफाँटमा खासै कुनै अडान लिनुभएन । तर सरकारमा वरियतामा महासेठ प्रधानमन्त्रीपछिको दोस्रो हुनुपर्छ भन्ने उहाँको अडान थियो । प्रधानमन्त्रीले नारायणकाजीलाई यो कुरा सुनाउँदा उहाँले हुन्छ मलाई केही फरक पर्दैन भनेपछि सोही अनुसार राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाइएको छ ।

    महासेठ यसअघि ओली प्रधानमन्त्री भएका बेला करिब २ साता उपप्रधानमन्त्री बनेका थिए । यसअघि पनि श्रेष्ठभन्दा माथिल्लो वरियतामा कांग्रेसका पूर्णबहादुर खड्का थिए भने त्यसभन्दा पहिले पनि विष्णु पौडेल उनीमाथि माथिल्लो वरियतामा रहेकाले दलीय हैसियतलाई सहजरुपमा लिएर स्वीकार गरेको श्रेष्ठनिकट नेताहरू बताउँछन् ।

  • वर्षमान अर्थमन्त्री बन्ने निर्णयलाई शेयर बजारको स्वागत

    वर्षमान अर्थमन्त्री बन्ने निर्णयलाई शेयर बजारको स्वागत

    काठमाडौं । बजार खुलेदेखि ओरालो झरेको नेप्से परिसूचक लामो उतारचढावपछि अन्तत: ९ अंकले बढेर बन्द भएको छ । नयाँ सरकारको अर्थमन्त्रीमा वर्षमान पुनको चर्चासँगै बजार बढेको हो ।

    अघिल्लो दिन मङ्गलवार मात्रै ७० अंकले घटेको नेप्से परिसूचक बुधवार ९.३३ अंकले बढेको छ । यस दिन बजारमा ९१ लाख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

    सोमबार मात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मङ्गलवार ७० अंकले घटेर बन्द भएको थियो । मङ्गलवार बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार तीन पटक सर्किट लागेर कारोबार बन्द भएको थियो ।

    आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

    त्यस्तै, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ३३ करोड ३७ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

  • गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ (भिडिओ)

    गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ (भिडिओ)

    काठमाडौं । निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन् ।

    बुधवार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका हुन् ।

    मिटर ब्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरूको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।

    उनले मिटर ब्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे। श्रेष्ठले विभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे ।

    श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले बिदाइ गरेका थिए ।

  • माओवादीका साविक मन्त्रीमा ३ जना यथावत्, सुदनको ठाउँमा हितबहादुर

    माओवादीका साविक मन्त्रीमा ३ जना यथावत्, सुदनको ठाउँमा हितबहादुर

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जाने मन्त्रीको मन्त्रालय टुंगिएको छ । सत्तागठबन्धनमा भागबन्डा टुंगाएपछि माओवादीले पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको हो ।

    माओवादीले यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ ।

    माओवादीले सुदन किरातीबाहेक सबै दोहोरिने मौका पाएका छन् उपमहासचिवसमेत रहेका पुनलाई नयाँ ल्याइएको छ ।

    यसअघि माओवादीकै कोटाबाट मन्त्री बनेका नेसपाका नेता महिन्द्रराय यादव पनि गठबन्धन फेरिएपछि सरकारमा अटाएनन् । उनी नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचित भएर आएका थिए भने पर्यटन राज्यमन्त्री रहेकी सुशीला श्रीपाली पनि सरकारमा अटाइनन् ।

  • माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने

    माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा दोहोरिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

    प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार श्रेष्ठको मन्त्रालय फेरिए पनि अन्य दुईजनाले पहिलेकै मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादी केन्द्रीय सचिवालय बैठकमा कामको परफरमेन्सका आधारमा श्रेष्ठ नयाँ सरकारमा दोहोरिने हो भने बस्नेत र शर्मा पनि दोहोरिने प्रस्ताव आएको थियो ।

  • माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

    माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

    काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ ।

    यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

  • आफ्ना मन्त्री हटाएलगत्तै माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन

    आफ्ना मन्त्री हटाएलगत्तै माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन

    रूपन्देही । लुम्बिनीमा नेपाली काङ्ग्रेसलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ । यो सूचना पाएसँगै मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाइसकेका छन् ।

    माओवादी केन्द्रबाट सरकारमा सहभागी २ जना मन्त्रीले आजै राजीनामा दिने तयारी गरेको सो पार्टीले जनाएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल मध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका सांसद जानकीप्रसाद यादव काठ विक्री प्रकरणमा भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएपछि निलम्बनमा छन् । सभामुख सहित ८६ सांसद मध्ये सरकार बनाउन वहुमतका लागि ४४ सांसद चाहिन्छ ।

    यहाँ सबैभन्दा ठूलो दल नेकपा एमालेका २९,माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ ।

    १० दलको उपस्थिति रहेको प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७,नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ (निलम्बित वाहेक), लोकतान्त्रिक समाजवादी पार्टीका ३,जनमत पार्टीका ३,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् ।

    सत्ता गठबन्धनका दलहरुको मात्रै वहुमत नपुगे पनि माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जितेका नवलपरासी पश्चिमका खड्ग बस्नेतले विगतमा जस्तै नयां गठबन्धनलाई समर्थन गर्ने निश्चित र साना दलहरुको रुझान पनि सरकारमा जान लालायित देखिएकाले सुविधाजनक वहुमत पुग्ने नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए ।

  • लुम्बिनीमा माओवादीका २ मन्त्री बर्खास्त

    लुम्बिनीमा माओवादीका २ मन्त्री बर्खास्त

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई हटाएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

    यी दुई मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

  • गण्डकी : माओवादीले गरायो कांग्रेस सरकारमाथिको समर्थन फिर्ताको लिखित जानकारी

    गण्डकी : माओवादीले गरायो कांग्रेस सरकारमाथिको समर्थन फिर्ताको लिखित जानकारी

    पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई बुझाएका हुन् ।

    यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

    गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका थिए ।

  • गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

    गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

    पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका थिए ।

    मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् ।

    माओवादी संसदीय दलको बैठकमा नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा सहभागी भएका छैनन् । उनी बिरामी भएका कारण आजको बैठकमा सहभागी नभएको माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । देवकोटा माओवादीको चुनाव चिन्ह लिएर जितेका थिए ।

  • बालुवाटार पुगे झलनाथ: प्रचण्डले भने- के के मा सहमति गरेर जान पर्छ गरौंला

    बालुवाटार पुगे झलनाथ: प्रचण्डले भने- के के मा सहमति गरेर जान पर्छ गरौंला

    काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । कोटेश्वर निवासमा माधवकुमार नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताबीच बालुवाटारमा प्रचण्ड-झलनाथको भेट भएको हो ।

    भेटमा प्रचण्डले नयाँ गठबन्धनमा आएर सरकारमा सहभागी हुन आग्रह गरेको खनालले बताए ।

    प्रचण्डको भनाइ उद्धृत गर्दै खनालले नेपाल प्रेससँग भने, ‘के-के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’

    खनालले हिजोमात्र नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका थिए ।

    साँझ प्रचण्ड-ओली नेकपा एसलाई गठबन्धनमा सामेल हुन आग्रह गर्दै कोटेश्वर निवास पुगेका थिए ।

  • प्रचण्डमाथिको समर्थन फिर्ता लिने कांग्रेसको तयारी, आज कार्यसम्पादन समितिले निर्णय गर्ने

    प्रचण्डमाथिको समर्थन फिर्ता लिने कांग्रेसको तयारी, आज कार्यसम्पादन समितिले निर्णय गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन लागेको हो ।

    पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय लिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएका थिए । अब कांग्रेसले समर्थन फिर्ता लिदै संसद्‍मा प्रतिपक्षमा बस्ने तयारी गरेको छ ।

    कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री प्रचण्डलाई संवैधानिक बाध्यता छ ।

  • सुदूरपश्चिममा मुख्यमन्त्रीले गरे माओवादीका ३ मन्त्री बर्खास्त

    सुदूरपश्चिममा मुख्यमन्त्रीले गरे माओवादीका ३ मन्त्री बर्खास्त

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् ।

    माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् ।

    यसअघि गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका २ मन्त्री हटाएका थिए ।

  • ‘प्रचण्डको मायावी बन्धनबाट कांग्रेसले मुक्ति पायो, समान प्रतिस्पर्धी मैदानमा एमालेसँग सहकार्यको बाटो खुल्यो’

    ‘प्रचण्डको मायावी बन्धनबाट कांग्रेसले मुक्ति पायो, समान प्रतिस्पर्धी मैदानमा एमालेसँग सहकार्यको बाटो खुल्यो’

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पछिल्लो गठबन्धन परिवर्तनलाई प्रचण्डको मायावी बन्धनबाट कांग्रेसले मुक्ति पाएको टिप्पणी गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै नेता रिजालले अब एमाले र कांग्रेसको समान हैसियतको प्रतिस्पर्धा र सहकार्यका लागि ढोका खुलेको दाबीसमेत गरे ।

    कांग्रेस नेता डा. रिजालले भने, ‘प्रचण्डले आज नभए भोलि हामीसँग गठबन्धन त तोड्नै नै थिए । तनहुँको उपचुनावमा कांग्रेस एमालेबीचको तालमेल मध्यरातमा रोक्न खोजेदेखि नै उनको नियत प्रष्ट थियो कतै यी दुई ठूला दल मिल्छन् कि भन्ने । मैले यसपटकको प्रचण्डको मुभलाई माओवादीको बन्धनबाट कांग्रेसले मुक्ति पाएको भनेर टिप्पणी गरेको छु । अब राजनीति सोझ्याउने अवसर हामीसँग आएको छ ।

    रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला दुवैलाई जानकारी दिएर ओलीसँग सहकार्यको संवाद गरे पनि पार्टी नेतृत्वले उल्टै ओलीलाई र एमालेलाई कर्नरमा धकेल्न खोज्दा आजको परिणति आएको बताए ।

    अब ओलीजीलाई प्रधानमन्त्री अफर गर्न पनि कांग्रेस खुला छ । कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । भोलि पनि मुख्य प्रतिस्पर्धी यिनीहरू नै हुन् । एउटाको ग्राउण्ड कमजोर र अर्कोको बलियो बनाउने गरी बाहेक जहिले पनि कांग्रेस र एमालेबीच सहकार्य हुन्छ ।

    डा. रिजालले भने, ‘मैले त हाम्रा नेताहरूसँग ओलीलाई नधकेलौं, एमालेसँगको बाटो बन्द नगरौं भनेको थिएँ । धकेल्दै लगेपछि एक ठाउँमा पुगेर ओलीले आफ्नो बचाउको लागि कांग्रेसलाई पनि त बाँकी राख्दैनन् । तर, प्रचण्डको अधिक भर गरेर जन्म जन्मान्तरसँगै रहिन्छ भन्ने सोचको क्लाइमेक्स राष्ट्रियसभा निर्वाचनमा कोशीबाट उम्मेदवार बनाउने क्रममा पनि हामीले देखायौं, त्यसले ओलीलाई पोजिसन लिने ठाउँमा पुर्‍यायो ।’

    नेता रिजालले अब कांग्रेसलाई राजनीति सही दिशामा लैजाने अवसर आएको भन्दै एमालेसँग समान हैसियत र समान प्रतिस्पर्धीको सम्बन्ध स्थापित गर्न सकिने बताए । उनले एमाले र कांग्रेसको सम्बन्ध सधैं प्रतिस्पर्धी र समान मैदानका खेलाडीकोरूपमा रहेको भन्दै केपी शर्मा ओलीलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्ने बाटो अब खुलेको बताए ।

    पछिल्लो परिवर्तनबारे रिजालको धारणा

    कांग्रेसले जति गरे पनि प्रचण्डसँगको गठबन्धन त टुट्ने नै थियो । आज कि भोलि भन्नेमात्र हो तर प्रचण्डले गर्ने नै थिए । यो कुरामा म चाहिँ प्रष्ट थिएँ । तनहुँको उपचुनावका बेला मैले प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै उनको समेत सहमति लिएर बालकोटमा गएर मध्यरातसँग वार्ता गरेँ । सहमतिको मस्यौदा भइसकेपछि उनी त्यसमा पल्टिए, हाम्रो नेतृत्व डरायो । प्रचण्डलाई कांग्रेस र एमाले मिल्छन् र मेरो औचित्य सकिन्छ भन्ने डर छ । अहिले अहिले त के भनौं, आधा एमालेमा सत्तामा जाने लोभ थियो ।

    प्रचण्डले यस्तै गर्छन् भन्ने थियो नै तर हाम्रो नेतृत्व बढी नै भर र डरमा रह्यो । अब जे भयो मैले त भनेको छु, प्रचण्डको बन्धनबाट कांग्रेसले मुक्ति पायो । राजनीति सोझ्याउने अवसर आएको छ । अब राजनीति सोझिने बाटोमा जान्छ । हामी पार्टी बलियो बनाउने र सत्तामा पनि फर्किने दुवै अवसरमा छौं । शेरबहादुर देउवा आफैंले गठबन्धन तोड्दैन थिए । प्रचण्डले नै तोडेर हामीलाई उनको मायावी बन्धनबाट मुक्ति दिलाएका छन् ।

    प्रचण्डले यस्तै गर्छन् भन्ने थियो नै तर हाम्रो नेतृत्व बढी नै भर र डरमा रह्यो । अब जे भयो मैले त भनेको छु, प्रचण्डको बन्धनबाट कांग्रेसले मुक्ति पायो । राजनीति सोझ्याउने अवसर आएको छ । अब राजनीति सोझिने बाटोमा जान्छ ।

    जहाँसम्म एमालेसँगको कुरा हो, म त पटक-पटक उहाँसँग छलफल गरिरहेकै थिएँ । मैले हाम्रा नेताहरूलाई पनि ओलीलाई यसरी नधकेलौं, ओलीसँगको बाटो बन्द नगरौं भनेकै हो । धकेल्दै लगेपछि ओलीले कांग्रेसलाई बाँकी राख्ने कुरा पनि थिएन । जबकी एमालेले त दुई ठूला दल मिलेर स्थायित्व दिने प्रस्ताव राखेकै थियो, हाम्रै नेतृत्व डराएको हो । खासगरी राष्ट्रियसभा निर्वाचनमा कोशीको उम्मेदवारीका सन्दर्भमा कांग्रेसले जसरी व्यक्तिमा अडान लियो र सदा सदाका लागि यो प्रचण्डसँगको गठबन्धन जन्म जन्मातर रहन्छ भन्ने जस्तो गरियो त्यसपछि ओलीजीलाई कठोर पोजिसनमा पुर्‍यायो । फेरि पनि एमाले र कांग्रेस नै यो देशका जिम्मेवार राजनीतिक पार्टी हुन् । राजनीतिलाई र देशलाई ठीक बाटोमा ल्याउने जिम्मा यी दुई दलको काँधमा छ । प्रचण्डलाई मूलधारमा ल्याएको पनि यीनै दलले हो र संविधान बनाएको पनि कांग्रेस एमालेले नै हो ।

    अब ओलीजीलाई प्रधानमन्त्री अफर गर्न पनि कांग्रेस खुला छ । कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । भोलि पनि मुख्य प्रतिस्पर्धी यिनीहरू नै हुन् । एउटाको ग्राउण्ड कमजोर र अर्कोको बलियो बनाउने गरी बाहेक जहिले पनि कांग्रेस र एमालेबीच सहकार्य हुन्छ । हाम्रो सम्बन्ध हिजोदेखि नै समान ग्राउण्डमा प्रतिस्पर्धा र सहकार्य गर्ने हो । एकातिर अग्लो र अर्कोतिर भिरालो होइन समान ग्राउण्डमा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ र देशलाई सही दिशामा लैजान पनि हामी मिल्नुपर्छ । अब प्रचण्डको मायावी बन्धनबाट मुक्त भएको कांग्रेसले त्यो दिशामा मुलुकलाई लैजान एमालेसँग संवाद अझ सघन बनाउँछ ।

  • प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ?

    प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ?

    काठमाडौँ । बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका छन् । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए ।

    प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो थिएन । दुई दिन अस्पताल बसेर अस्ति साँझ घर फर्केका नेपाल बेड रेस्टमै थिए । तर, बिहानदेखि नै उनको घरमा नेताहरूको लर्को लाग्यो ।

    बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न आएका थिए । उनले यस्तो यस्तो कुरा भएको छ भनेर जानकारी गराउँदै नेकपा एसलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरे । नेपालले पार्टीमा सल्लाह गर्छु भनेर फर्काए ।

    दिउँसो आफ्नै घरमा नेपालले पार्टीको सचिवालय बैठक बोलाए । बैठकले ठोस निर्णय लिन सकेन । पर्खने र हेर्ने भन्दै नेताहरू उठे । बेलुका फेरि प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ भेट्न आएका हुन् ।

    कुराकानीको सुरुवातमा नेपाल प्रचण्डसित आक्रोशित बनेका थिए ।

    नेपालले भने, ‘तपाईँ हामीसित सल्लाह नगरी, नसोधी आफूखुसी गर्दै हिँड्ने । अहिले अप्ठेरो परेपछि हामीलाई खोज्दै आउने ? बिहानसम्म भागबन्डाको कुरा के गर्ने भनेर नभन्ने । कुरा गर्छु, भेट्छु मात्रै भन्ने । अहिले जसपाको भर नभएपछि संख्या पुर्‍याउन सकस भएर नेकपा एस चाहिने ? यो विल्कुलै वामपन्थी चरित्र भएन ।’

    माधव नेपालको आक्रोशले प्रचण्ड सुरुमै ब्याक फुटमा आए । प्रचण्ड र नारायणकाजीले नेपालको रिस शान्त गर्ने प्रयास गरे ।

    ‘अहिलेसम्म जे भयो भयो । अब तपाईँले जे भन्नुहुन्छ, जसरी जाऊँ भन्नुहुन्छ, जस्तो किसिमको सहमति गरौँ भन्नुहुन्छ, त्यही अनुसार गर्छौँ । एमाले पनि सकारात्मक छ । अहिलेको आठ बुँदेको चिन्ता नगर्नु । तपाईंहरुलाई पनि सहभागी गराएर आठ बुँदे परिमार्जन गर्न सकिन्छ । मन्त्रालयको बाँडफाँड पनि तपाईँहरू आएपछि मात्रै टुंगो लगाउने हो ।’

    उनीहरूले यति भनेपछि नेपाल अलि लचिलो भए । उनले सम्मानजनक स्थान दिइएमा सोच्न सकिने बताए । यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने उनको भनाइ थियो ।

    स्रोतका अनुसार प्रचण्ड–नारायणकाजीले कम्युनिष्टहरु मिल्नुपर्ने भन्दै वामपन्थी एकतादेखि नेकपा ब्युँताउन सकिनेसम्मको कुरा गरेका थिए । विगतमा गरेका गल्तीबाट सबैले चोट खाएको भन्दै अब त्यसलाई दोहोर्‍याउन नहुनेमा जोड दिए ।

    नेकपा एस निकट स्रोतले छलफल सकारात्मक रूपमा टुंगिएको बताएको छ । यद्यपि नेकपा एसको उपस्थितिबिनै राष्ट्रियसभाको अध्यक्ष–उपाध्यक्ष लगायत थुप्रै महत्त्वपूर्ण सहमति भएकाले यो सबै पुनरावलोकन हुनुपर्ने अडान पार्टीले लिने छ । मन्त्रिपरिषदमा पनि सम्मानजनक उपस्थिति खोजिने एक नेताले बताए ।

    ती नेताले भने, ‘अध्यक्षज्यूले वचन त दिइसक्नु भएको छैन । तर नयाँ गठबन्धनमा जाने खालको वातावरण चैं अब बन्यो ।’

    स्मरणीय छ कि नेकपा एसले समर्थन गरेन भने सरकार झिनो बहुमतमा हुने छ । उपेन्द्र यादवको जसपा निर्णायक शक्ति बन्न सक्छ । जसपाले उच्चतम बार्गेनिङ गर्न सक्ने वा विभिन्न बहानामा निहुँ खोजिरहन सक्ने भएकाले गठबन्धनमा नेकपा एसलाई स्वागत गर्न खोजिएको हो ।

  • गण्डकीका मुख्यमन्त्री भन्छन्- प्रधानमन्त्रीज्यूले जे जे सिकाउनुहुन्छ, मैले त्यही त्यही गर्दै हिँडेको हो

    गण्डकीका मुख्यमन्त्री भन्छन्- प्रधानमन्त्रीज्यूले जे जे सिकाउनुहुन्छ, मैले त्यही त्यही गर्दै हिँडेको हो

    पोखरा । केन्द्रमा सत्ता गठबन्धन फेरबदलको परकम्प प्रदेश सरकारमा पनि देखिन थालेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकी प्रदेशमा पनि फेरबदल सुरु भएको छ ।

    गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका छन् ।

    मुख्यमन्त्री पाण्डे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसम जुग्जाली र सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिए ।

    ‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले नेपाल प्रेससँग भने, ‘माथि जे भएको यहाँ पनि त्यति गरेको हो । प्रचण्डले परिवर्तन गर्नुभयो, यहाँ मुख्यमन्त्रीले परिवर्तन गर्नुभयो ।’

    उनले थपे, ‘उहाँ (प्रधानमन्त्री)ले जेजे सिकाउनुहुन्छ, मैले त्यहीत्यही गर्दै हिँडेको हुँ ।’

    माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका मन्त्रीलाई हटाएर सरकारले समर्थन फिर्ता लिन बाध्य बनाएको बताए ।

    ‘हामीले नै विश्वासको मत फिर्ता लिनुपर्ने हो । त्यही बुझेर उहाँले बर्खास्त गर्नुभएको हो । स्वाभाविक प्रक्रिया हो । हामीले स्वाभाविक रूपमा लिएका छौँ,’ उनले भने, ‘फिर्ता लिन उहाँहरूले बाध्य पार्नुभयो त्यो बारेमा हामी सल्लाह गर्दैछौं ।’

  • प्रचण्ड सरकारका तीन मन्त्री: वरियतामा को अगाडि ?

    प्रचण्ड सरकारका तीन मन्त्री: वरियतामा को अगाडि ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका तीन मन्त्रीमध्ये माओवादीका हितबहादुर तामाङलाई पहिलो वरियतामा राखिएको छ ।

    राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख भएअनुसार एमालेबाट मन्त्री भएका पदम गिरीलाई दोस्रो र रास्वपाका डोलप्रसाद अर्याललाई तेस्रो वरियतामा राखिएको छ । शपथग्रहण गरे पनि मन्त्रीहरुलाई कुनै मन्त्रालय दिइएको छैन ।

    माओवादीबाट नियुक्त मन्त्री तामाङ पहिलो पटक मन्त्री भएका हुन् भने गिरी र अर्याल दोस्रो पटक मन्त्री बनेका हुन् ।

    मन्त्रीहरुको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन् ।

    मन्त्रीहरुको भागबन्डा र मन्त्रालयको संख्या टुंग्याउन अहिले पनि गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

  • मलाई उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन्छु : प्रचण्ड (भिडिओ)

    मलाई उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन्छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूको लागि आफू विश्वासनीय नभएको बताएका छन्।

    शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरुले आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा लात्तीले हानेर निस्कने बताए।

    कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थालेकै दिनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

    उनले भने- मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय मान्छे प्रतिक्रियावादीहरुले भन्ने गर्छन्। धेरै नै अविश्वसनीय। भन्ने नसक्ने कति बेला कता फड्किन्छ। बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन। म नेपालका श्रमिक जनता, नेपालका महान् योद्धा, घाइते अपाङ्ग र राष्ट्रप्रति इमानदार छु म। त्यसका लागि म निरन्तर कायम छु। तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने पनि कुनैपनि बेला लात्तीले हानेर निस्कन सक्छु। त्यसकारण उनीहरूको लागि विश्वासनिय हुन पनि परेको छैन। त्यसैले आजको दिन नयाँ क्रमभंगको दिन बन्न पुगेको छ। त्यसैले एकताबद्ध हुनुको विकल्प छैन।

  • मलाई घेरा हालेर सिध्याउने धेरै प्रयास भए, म नमर्दासम्म उथलपुथल भइराख्छ: प्रचण्ड (भिडिओ)

    मलाई घेरा हालेर सिध्याउने धेरै प्रयास भए, म नमर्दासम्म उथलपुथल भइराख्छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादी शक्तिहरुले धेरै पटक घेरा हालेर सिध्याउने प्रयास गरे पनि नसकेको बताएका छन् ।

    ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए ।

    उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’

  • सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

    सीट तथा मन्त्रालय बाँडफाँटलगायत विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन

    काठमाडौं । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ ।

    कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

    माओवादी सचिव दिनानाथ शर्माकाअनुसार गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ । त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

    नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विनाविभागीय मन्त्रीको शपथको तयारी छ ।

  • सरकार पुनर्गठन : पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

    सरकार पुनर्गठन : पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

    काठमाडौं । सत्ता गठबन्धन बदलिएसँगै आज सानो आकारको मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलबाट एक-एकजनालाई शपथको तयारी गरिएको बालुवाटारनिकट स्रोतले बतायो । नयाँ मन्त्रीको शपथबारे जानकारी गराउन र समय मिलाउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

    नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाउने तयारी छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सार्ने भएको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।

    रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बन्ने सम्भावना बलियो छ । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए । उनलाई सभापति रवि लामिछानेले तयारी अवस्थामा रहन भन्दै फोन गरेका छन् । रवि आफैँ पनि सरकारमा जाने तयारीमा छन् । तर, पहिलो चरणमा उनले डीपीलाई पठाउन लागेका हुन् ।

    आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

  • राप्रपालाई प्रतिगमनकारी भन्दै नवगठबन्धनमा नल्याउने प्रचण्ड-ओलीको सहमति

    राप्रपालाई प्रतिगमनकारी भन्दै नवगठबन्धनमा नल्याउने प्रचण्ड-ओलीको सहमति

    काठमाडौं । नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई उपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका छन् ।

    हिजो प्रधानमन्त्रीले विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । तर, राप्रपालाई बोलावट भएन । अहिले व्यवस्था विरोधी आन्दोलनमा रहेको राप्रपाले पनि नयाँ गठबन्धनमा सामेल हुन चासो दिएको छैन ।

    आज माओवादी बैठकपछि सचिव देवेन्द्र पौडेलले गठबन्धनमा राप्रपालाई नसमेटिने बताए ।

    उनले भने, ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रूपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन् प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरू गणितीय प्रसङ्ग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रूपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरू हुनुहुन्छ । त्यस कारण सरकार बनाउने कुरा उहाँहरूसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’

  • प्रचण्डको ब्रिफिङ- कांग्रेसले सहयोग गरेन, एमालेले ‘रियलाइजेसन’ गरेर आयो

    प्रचण्डको ब्रिफिङ- कांग्रेसले सहयोग गरेन, एमालेले ‘रियलाइजेसन’ गरेर आयो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसले सहयोग नगरेपछि गठबन्धन फेर्न बाध्य भएको बताएका छन्।

    नयाँ समीकरण बनाउनेबारे छलफल गर्नको लागि पार्टी नेताहरुसँग भएकाले छलफलमा गठबन्धन फेर्नुपर्ने कारण खुलाए।

    सचिव गणेश शाहका अनुसार कांग्रेसबाट सरकारमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग नगरेको र मन्त्रिपरिषद् पुनर्गठन गर्न नमानेको बताए ।

    उनका अनुसार स्थायी कमिटीको बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति बैठकबाट पारित गरेको दस्तावेज पनि कारण बनेको अध्यक्षले सुनाएको बताए ।

    उनले भने, ‘एमालेले पनि वाम एकता र सहकार्य गराउनुपर्छ भनेर रियलाइजेसन गरेको हुनाले एमालेसँग मिलेर जाने, राप्रपाबाहेक सबैलाई समेटेर जाने भन्ने बिषयमा उहाँहरुबीच सहमति बनेको हो ।’

    उनले केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेशमा पनि तरंग पर्ने बताए । उनले थपे केन्द्रको कुरा मिलिसकेपछि प्रदेश सरकारबारे पनि सहमति हुन्छ ।

    उनले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै लिने सहमति एमालेसँग भएको बताए ।

  • प्रधानमन्त्रीमा आलोपालोको सहमति छैन, प्रचण्डले पूरा गर्लान् ५ वर्षको कार्यकाल ?

    प्रधानमन्त्रीमा आलोपालोको सहमति छैन, प्रचण्डले पूरा गर्लान् ५ वर्षको कार्यकाल ?

    काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणसँगै धेरैलाई जिज्ञासा भएको विषय हो, प्रचण्ड कतिञ्जेल प्रधानमन्त्री हुन्छन् ? ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको आन्तरिक सहमति भएको हुनसक्ने अनुमान समेत गरिएको छ ।

    तर, एमाले स्रोतका अनुसार आलोपालो प्रधानमन्त्रीको कुनै पनि समझदारी भएको छैन । ओलीले संसदको बाँकी कार्यकालभित्र आफू पनि प्रधानमन्त्री बन्नुपर्ने भनेर दाबी नराखेको स्रोतको भनाइ छ ।

    त्यसैले, यदि बीचमा फेरि कुनै उथलपुथल भएन भने प्रचण्डले पाँच वर्ष अनवरत प्रधानमन्त्रीको कुर्सीमा बसेर रेकर्ड राख्न सक्नेछन् । तर, नेपालको राजनीतिमा कहिले के हुन्छ भन्न सकिँदैन ।

    संसदको तेस्रो शक्ति भए पनि प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर आफ्नो सत्ता आयू लम्ब्याउन सफल भएका छन् । कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्रीमा उनको आयू अब १० महिना मात्र बाँकी थियो ।

    त्यसपछि क्रमशः माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा थिए । तर, आफूलाई सत्ताको चतुर खेलाडी सावित गर्दै प्रचण्डले फेरि एकपटक समीकरण बदलेर आफ्नो बालुवाटार बसाई लम्ब्याउने छनक देखाएका छन् ।

    प्रदेश सरकारहरुमा भने आलोपालो गर्ने समझदारी भएको छ । कांग्रेसको मुख्यमन्त्री रहेका प्रदेशहरुमा सरकार परिवर्तन हुने छ । यसले फेरि एकपटक केन्द्रदेखि प्रदेशसम्म नयाँ अस्थिरताको सुत्रपात हुने देखिएको छ ।

  • कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा नदिने, प्रधानमन्त्रीले गठबन्धन तोडेको देउवाको गुनासो

    कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा नदिने, प्रधानमन्त्रीले गठबन्धन तोडेको देउवाको गुनासो

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिवेशको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको देउवाले सुनाएका छन् ।

    उक्त बैठकमा पार्टीका मन्त्रीहरूले आफैँ राजीनामा नदिने निचोड निकालिएको छ । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन् ।

    आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सत्ता समीकरण बन्ने पक्कापक्की भइसकेको छ । सानो आकारको मन्त्रिमण्डल आजै गठनको तयारी छ । जनमत, जसपा र नाउपा संवादमा छन् ।

    गठबन्धन भत्किएसँगै उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङ गाडीको झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् ।

    बैठकपछि रमेश लेखकले भने, ‘अब हामी प्रतिपक्षमा रमाउँछौं । नयाँ रणनीति पनि केही छैन ।’

  • प्रचण्डले गठबन्धन फेर्ने संकेत गरेका थिए, कांग्रेसले गम्भीर लिएन : मन्त्री लिम्बू

    प्रचण्डले गठबन्धन फेर्ने संकेत गरेका थिए, कांग्रेसले गम्भीर लिएन : मन्त्री लिम्बू

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटकपटक मन्त्रीहरूका विषयमा असन्तुष्टि जनाउने गरेको बताएका छन् ।

    उनले राम्रै काम गरेका कांग्रेसका मन्त्रीहरूलाई पनि परफमेन्सको कुरा देखाएर केही समयदेखि असन्तुष्टि जनाउने गरेको बताए ।

    मन्त्री लिम्बूले नेपाल प्रेससँग भने, ‘आफूलाई जता फाइदा हुन्छ त्यतै राजनीति गर्नु हुन्छ । अहिले पनि त्यही गर्नु भयो । हाम्रा नेताहरूले प्रचण्डको कुरा बुझ्न सक्नु भएन ।’

    प्रचण्डले केही दिनदेखि नै मन्त्रीसँग असन्तुष्टि देखाएर गठबन्धन परिवर्तन गर्न खोजेको संकेत गरेको बताए ।

    उनले थपे, ‘यसबारेमा कांग्रेसकै नेताहरूले पनि गम्भीररूपमा लिनु भएन । उहाँ ( प्रचण्ड) अस्थिर राजनीति गर्नु हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि यसलाई हामीले गम्भीर रूपमा लिएनौं । उनले मन्त्रीबाट राजीनामा दिने विषयमा अहिलेसम्म पार्टीबाट कुनै निर्देशन नआएको बताए । उनले के निर्देशन आउँछ भनेर पर्खिएर बसेको बताए ।’

  • नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

    नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ ।

    आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।

    पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।

    एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्‍यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पुर्‍यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’

    नेकपा फेरि ब्युँतिने सम्भावना बारे उनले भने, ‘पार्टी एकताको विषयमा त कुरा चलेको छैन । तर, यो स्टेपले त्यो दिशातर्फ लैजान्छ । वामपन्थी एकताकै लागि यो स्टेप चालिएको हो ।’

    नेकपा एसले भने यस विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताएको छ । नयाँ सत्ता समीकरणको विषयमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    उनले नेपाल प्रेससँग भने, रातभरिमा गठबन्धन भत्कने ठाउँसम्म पुगिसकेको रहेछ। तर, यो विषयमा हामीसँग प्रधानमन्त्रीले कुनै कुराकानी गर्नुभएको छैन। अब पार्टीमा छलफलपछि के गर्ने भन्ने निर्णय होला।

    तर, माओवादी नेताहरूले त नेकपा एसलाई पनि समेटेर जान्छौँ भन्दै आइरहेका छन् नि भन्ने जिज्ञासामा उनले थपे, अब त्यसबारेमा पार्टीको सचिवालय बैठक बस्दैछ। के गर्ने ? भन्ने बैठकबाट नै आधिकारी निर्णय गर्छौँ।

  • सत्ता गठबन्धन विघटनउन्मुख, माओवादी-एमालेबीच मिलेर जाने समझदारी

    सत्ता गठबन्धन विघटनउन्मुख, माओवादी-एमालेबीच मिलेर जाने समझदारी

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अर्को समीकरणमा हाम्फाल्न तयार देखिएका छन् ।

    हिजो राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको एक नेताले बताए ।

    हिजोको विकासक्रमपछि आज बिहानैबाट कांग्रेसबाहेक सबै दलहरू आन्तरिक बैठकमा जुटेका छन् । आज बिहान बस्ने भनिएको सत्ता गठवन्धनको बैठक स्थगित बनेको छ ।

    माओवादीका एक पदाधिकारीका अनुसार आजै दुवैतर्फको बैठकले नयाँ सत्तासमीकरणबारे औपचारिक निर्णय लिने छ । अहिले माओवादी पदाधिकारीको बैठक बालुवाटारमा बसिरहेको छ भने बालकोटमा एमाले सचिवालयको बैठक जारी छ । रास्वपा र जसपा पनि बैठकमा छन् ।

    ती पदाधिकारीले नेपाल प्रेसलाई बताएअनुसार एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाएर जाने सहमति भएको हो ।

    ‘महासमितिमा प्रस्तुत कांग्रेसको दस्तावेजका कारण राजनीतिले नयाँ मोड लियो । मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ। नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्द‌छ’, ती पदाधिकारीले भने ।

    हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच २ पटक भेट भएको थियो । ओली साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार छिरेका थिए । त्यसको केहीबेरमा रास्वपा सभापति रवि लामिछाने पनि पसेका थिए ।

    कांग्रेसको महासमिति बैठकबाट सत्ता सहकार्य हुनसक्ने तर, चुनावमा गठबन्धन नहुने दस्तावेज पारित भएको थियो । उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा अहिले प्राप्त ‘उपलब्धिहरू’ हत्या हिंसाबाट नभएर जनआन्दोलनबाट हासिल भएको उल्लेख छ । जनयुद्धलाई क्रेडिट दिइएको छैन । यसमा माओवादी असन्तुष्ट बनेको हो ।

  • बालुवाटारमा प्रचण्ड-ओलीको भेट, लगत्तै छिरे देउवा

    बालुवाटारमा प्रचण्ड-ओलीको भेट, लगत्तै छिरे देउवा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीको छुट्टाछुट्टै भेट भएको छ ।

    आज बिहान बालुवाटारमा प्रचण्ड-ओलीको भेटपछि देउवा पुगेका थिए ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतकाअनुसार शीर्ष नेतृत्वबीच टीआरसी विधेयक टुंग्याउने विषयमा केन्द्रित भएर छलफल भउको छ ।

    अहिले प्रतिपक्षी दलहरूले विवादित मन्त्रीहरू मोहन बस्नेत, सुदन किराती, प्रकाश ज्वालाकोसमेत राजीनामा मागिरहेको बेला प्रधानमन्त्रीले मन्त्री फेरबदलका लागि कांग्रेससँग सहमति जुटाउने प्रयासमा छन् । पछिल्लो समयमा देउवा मन्त्री फेर्न सकारात्मक रहेको बताइएको छ ।

    त्यस्तै राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने कांग्रेस र माओवादीको निर्णयपछि गठबन्धनमा खटपटको चर्चाबीच ओली बालुवाटार जानुलाई पनि अर्थपूर्णरूपमा लिइएको छ ।

  • राष्ट्रियसभा चुनावले गठबन्धनभित्र तनाव : माओवादी गरम हुँदा देउवा नरम

    राष्ट्रियसभा चुनावले गठबन्धनभित्र तनाव : माओवादी गरम हुँदा देउवा नरम

    काठमाडौं । गठबन्धनमा भएको भद्र सहमति विपरीत माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा कडा रूपमा दाबी प्रस्तुत गरेपछि असन्तुष्टि बढेको छ। माओवादीले पार्टीको स्थायी कमिटीको बैठकबाट अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछि कांग्रेसलाई झस्का परेको हो।

    गठबन्धनको शीर्ष नेताहरुबीच राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ल्याउने सहमति बनेको थियो। तर, कांग्रेसको धोकाले कोशीमा राष्ट्रियसभा सदस्यमा माओवादीको उम्मेदवार पराजित भएपछि माओवादीले भद्र सहमति तोड्न उद्त भएको छ।

    कांग्रेस र माओवादीबीच दुरी बढिरहेको बेलामा दुवै पार्टीका नेताहरूको एउटै रेडिमेट जवाफ छ( राष्ट्रियसभाको अध्यक्षलाई लिएर गठबन्धन टुट्दैन।

    तर, राष्ट्रपतिको निर्वाचनले जुटाएको गठबन्धन फागुन २९ गते हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पुग्दा टुट्न सक्ने विश्लेषण चर्चा हुन थालेको छ।

    राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रचण्डको तर्क छ। बिहीबार चितवन पुगेर भनेका थिए, यो विषयमा ठोस निर्णय भएको छैन। छलफल चलेको छ। औपचारीकरुपमा लिखित निर्णय भएको छैन।

    कोशीमा माओवादीको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएको उनको भनाइ थियो। माओवादीभित्र पनि प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक पदमा शून्य हुने भएकाले नछाड्न प्रचण्डमाथि चर्को दबाब छ। त्यसो माओवादी कांग्रेसको महासमितिको बैठकबाट पारित गरेको दस्ताबेजबाट पनि बिच्किएको छ।

    राष्ट्रियसभाको अध्यक्ष ठूलो दलको हैसियतले माओवादीले कुनै हालतमा नछाड्ने सचिव सचिव चक्रप्रकाश खनालले बताए।

    उनले भने, ‘स्थायी कमिटीले निर्णय गरिसकेको छ। राष्ट्रियसभामा कांग्रेसकै हुन्छ भन्ने सहमति पनि भएको छैन नि। ठूलो दलको नाताले पनि त्यो स्वभाविक हुन्छ। हामीले उम्मेदवारबारे अहिले टुंग्याएका छैनौँ। कांग्रेससँगको गठबन्धन टुटोस् भन्ने अभिप्रायले पनि यो निर्णय गरेका होइनौँ। यही विषयलाई लिएर गठबन्धन टुट्नुपर्ने पनि कुनै कारण छैन।’

    नेता खनालले अहिले उम्मेदवारी दिने निर्णय गरेको भए पनि उम्मेदवारबारे कुनै निर्णय नभएको बताए। तर, माओवादीमा उपाध्यक्ष उर्मिला अर्यालको नाममा सहमति बन्ने सम्भावना धेरै रहेको बताइन्छ। अर्यालबाहेक नारायण दाहालको नाम पनि चर्चा छ। उनी प्रधानमन्त्री प्रचण्डका भाइ हुन्।

    अर्का एक नेताले कांग्रेसले सत्ता साझेदार हुनसक्छ तर चुनावमा गठबन्धन हुँदैन, यो उपलब्धिको जनयुद्धको कुनै भूमिका छैन भन्ने नीति पास गरेपछि पार्टीभित्र कांग्रेससँगको सहकार्य सोच्नुपर्ने दबाब बढेको स्वीकारे।

    ती नेताले थपे, ‘महासमितिको बैठकबाट भएको निर्णय सच्याइँदैन भने हामी स्वतन्त्र ढंगले निर्णय गर्ने कुरामा गठबन्धन बाधक हुँदैन। गठबन्धन हामीलाई मात्रै आवश्यक होइन। जति ठूलो दल भए पनि अर्को दलको भूमिकामा भर पर्ने हो। अहिले हामी दुई दलको मात्रै गठबन्धनमा छैनौँ। सबै दलहरूको वर्तमान परिस्थितिको आवश्यकतामा भर पर्ने भएकाले यो कसैप्रति बाध्य हुने कुरा छैन।’

    उनले माओवादीले उम्मेदवारी दिने निर्णयबाट ब्याक नहुने जिकिर गरे।

    ‘हामी उम्मेदवार उठाउने मात्रै होइन जिताउने गरी लाग्छौँ नै। के गरेर जिताउन सकिन्छ त्यो गर्ने हो। पार्टी बैठकमा पनि उहाँहरू सहमति हुनुभएन भने के गर्ने भन्ने विषयमा छलफल भएको थियो’ ती नेता थप्छन्, ‘तर, अध्यक्षज्यूले तत्काल विकल्प खोज्ने होइन। यो गठबन्धन पनि गइरहन्छ मत मतान्तर पनि रहिरन्छ अहिले जसरी कांग्रेसमा देखिएको छ भन्ने कुरा गर्नुभयो।’

    कांग्रेसबाट राष्ट्रपति, जसपाबाट उपराष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री, प्रतिनिधिसभाको सभामुख एमालेबाट र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएपछि प्रचण्डले सत्ता हस्तान्तरण गर्न सहमति अनुसार अब करिब १० महिना मात्रै भएकाले माओवादीले कांग्रेससँग अडान कसेको हो।

    त्यसो त माओवादीको राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने पार्टीबाट निर्णय लिनु स्वभाविक भएको कांग्रेस सहमहामन्त्री सहमहामन्त्री भीष्मराज आङ्देम्बे बताउँछन्।

    उनी भन्छन्, ‘अब गठबन्धनको शीर्ष नेताहरू बसेर सम्झौता अनुसार निष्कर्ष निस्कन्छ। गठबन्धनको साझा उम्मेदवार बन्छ। राष्ट्रियसभाको अध्यक्षकै विषयमा गठबन्धनमा समस्या आउँदैन। जो उम्मेदवार भए पनि गठबन्धनको साझा हुन्छ। बाहिर हल्ला भएजस्तो गठबन्धनमा त्यस्तो धेरै समस्या छैन। निर्वाचनमा प्रतिस्पर्धा दलहरुबीच चल्नु स्वभाविक हो। गठबन्धनबाट जाँदा पनि सबैले आआफ्नो अनुभव सबैले गरेकै छन्। पछिल्लो घटनाक्रमको विषयमा पनि पार्टीभित्रको आन्तरिक छलफलमा आउँछन्।’

    माओवादीले अडान नछाडे कांग्रेस ब्याक हुने सम्भावना कति छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘कांग्रेस ब्याक हुने भन्दा पनि नेतृत्वहरूका बीचमा जुन खालको सहमति भएको छ। सिटौलाजीलाई ल्याउने उहाँहरुबीचको सहमतिमै भएको हो। अहिलेको संवेदनशीलतालाई सम्बोधन गर्नसक्ने उहाँ नै हुनुहुन्छ।’

    तर, माओवादीका सचिव दिनानाथ शर्मा कांग्रेसबाट पटक पटक धोका भएको कारणले राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरूको अडान रहेको बताए।

    उनले भने, ‘नेताहरूको दबाबपछि अध्यक्षले पनि सहमति भएको छैन भन्नुभएको छ। त्यसो त भएको सहमतिमा पनि कांग्रेसबाट हामीले विगतमा धोका खाने गरेका छौँ । त्यसैले हामीले नछाड्ने अडान लिएका हौँ।’

    यो विषयले गठबन्धनमा नभत्कने उनले जिकिर गरे।

    माओवादीको निर्णयपछि देउवाले पार्टीका शीर्ष नेताहरूसँग आन्तरिक छलफल गरिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। उनले भने, ‘छलफलमा सभापतिले पहिला सहमति भइसकेको हो। अहिले आशंका उठिरहेका छन्। त्यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा गर्नुभएको छ।’

    उनले माओवादी र कांग्रेसको दाबी अन्तिम नभएकाले अब गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए। उनले थपे, ‘अहिले माओवादी र कांग्रेसले एक्ला एक्लै गरेको निर्णयले गठबन्धनमा प्रभाव पार्दैन। अब गठबन्धनले जे निर्णय गर्छ त्यही हुन्छ। कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउन प्रयत्न गर्ने र उहाँहरूले पनि गर्नुहुन्छ । तर, गठबन्धनको साझा उम्मेदवार नै हुन्छ।’

    राष्ट्रियसभाको अध्यक्षका कारणले गठबन्धन नै फेरिने तहमा नपुग्ने उनले दाबी गरे। राष्ट्रियसभाको अध्यक्षमा माओवादीसँग कडा रूपमा प्रस्तुत हुँदा मुखमा आउन लागेको प्रधानमन्त्रीको कुर्सी फुत्कन सक्ने देउवाको बुझाइ छ। त्यसैले दलका नेताहरूले दबाब नछाडे पनि देउवाले आफ्नै हुन्छ भन्ने सकेका छैनन्। प्रचण्डले निरन्तर दबाब दिएपछि अहिले देउवा मन्त्रिपरिषद् पुनर्गठन गर्न समेत राजी नभएका छन्।

    गठबन्धनभित्रै रहेर राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादी अडान दाबी गरिरहे नेकपा एकीकृत समाजवादी र जसपा निर्णायक हुनेछ। यद्यपि, प्रचण्डले समाजवादी मोर्चाको निर्णय भन्दै कांग्रेसलाई दबाब राख्न सक्ने बुझिएको छ।

    ५९ सदस्यीय राष्ट्रियसभामा माओवादीबाट १८, कांग्रेसबाट १६, एमालेबाट १०, एकीकृत समाजवादीबाट ८, जसपाबाट ३, लोसपाबाट १ र जनमोर्चाबाट १, वामदेव गौतम (स्वतन्त्र) र सरकारको सिफारिसमा राष्ट्रपतिबाट १ जना मनोनीत हुन बाँकी छ। त्यसमा यसअघि नै जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनिसकेको छ।

    प्रचण्डले चाहे गठबन्धनभित्रै कांग्रेसबाहेक समाजवादी मोर्चाको नामबाट माओवादीको पक्षमा बहुमत पुर्याउन सक्ने अंकगणित छ। तर, कांग्रेस र माओवादीबीच दूरी बढिरहेको बेलामा एमालेले पनि ढोक्सा थाप्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

    कांग्रेस र माओवादीबीच दुरी बढिरहेको बेलामा पछिल्लो समय प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको बाक्लो भेटले थप मलजल गरेको छ। एमाले र माओवादीका दोस्रो तहका नेताहरू वामपन्थी शक्तिलाई जुटाउनुपर्ने भन्दै सक्रिय पनि छन्।

    त्यसलाई थप बल ओलीले भरतपुर महानर प्रमुख रेणु दाहालको निमन्त्रणलाई स्वीकारेर भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुनाले पनि गर्छ। ओली भरतपुर जानुअघि अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन ङ भन्ने भन्न सकिने अवस्था नभएको बताएका थिए।

    ओलीको भनाइ थियो, ‘नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिने अवस्था छैन। यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ। संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन। के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन।’

    तर, राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे आफूहरूले अहिलेसम्म कुनै तयारी नगरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

    उनले भने, ‘गठबन्धन एकीकृत भएर आयो भने उहाँहरूको बहुमत छ। पछिल्लो समयमा माओवादीले अध्यक्षमा आफ्नो दाबी गरेको छ। तर, हामीले केही प्राप्तिका लागि बार्गेनिङ गरेको हो कि भन्ने हामीले बुझेका छौँ। अब इलाम र बझाङमा उपनिर्वाचन पनि हुँदै छ। त्यो चुनावसहितलाई माओवादीले डिल गर्न खोजेको हो कि भन्ने देखिएको छ तर राम्रो तस्बिर आइसकेको छैन।’

    एमाले कार्ड अहिले माओवादीले कांग्रेसलाई तर्साउन मात्रै गरिएको जस्तो देखिएको टिप्पणी गरे।

    नेता गौतमले थपे, ‘यो सरकार ढाल्ने र राष्ट्रियसभाको अध्यक्षको विषयमा हामीले कुनै आधिकारिक निर्णय गरेका छैनौँ। माओवादीले नयाँ ट्याक्टिस गरिरहेको छ कांग्रेसले अप्ठ्यारो पारेको बेलामा समाजवादी मोर्चा र वामपन्थी एकता भनेर एमाले देखाइदिने र कांग्रेसलाई तर्साउन मात्रै खोजेको जस्तो देखिन्छ।’