Category: माओवादी केन्द्र

  • माओवादी-नेसपा एकता सम्भावना टर्दै, बाबुरामको पार्टी विभाजनउन्मुख

    माओवादी-नेसपा एकता सम्भावना टर्दै, बाबुरामको पार्टी विभाजनउन्मुख

    काठमाडौं । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीचको पार्टी एकताको सम्भावना टर्दै गएको छ । माओवादीसँग पार्टी एकता नगर्ने मूडमा बाबुराम देखिएपछि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षले विद्रोहको चेतावनी दिएको छ ।

    यसअघि पार्टीभित्रको चर्को दबाबको कारण बाबुराम माओवादीमा मिसिन आफ्नै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन तयार भएका थिए । नेसपाको निर्णयपछि माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा एकता संयोजन समिति गठन गरेको थियो ।

    त्यसअघि माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता समिति पनि बनाएको थियो । दुवै पार्टीका अध्यक्षको नेतृत्वमा संयोजन समिति गठन भएपनि प्रचण्ड र बाबुरामको अनिच्छाको कारण अहिलेसम्म कुरा अघि बढ्न सकेको छैन ।

    प्रचण्ड अहिले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले र नेकपा एससहितको समीकरणमा अघि बढेपछि बाबुरामसँगको सम्भावना उसै कमजोर बन्दै गइरहेको छ । माओवादीसँगको एकतामा बाबुरामले चासो नदेखाएपछि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरू तयार छन् । प्रचण्डले पनि बाबुरामबाहेकका नेताहरूलाई पार्टीमा भित्र्याउँदा व्यवस्थापनमा सहज हुने भएकाले एकता प्रक्रियामा आलटाल गरिरहेको बताइन्छ ।

    पार्टीभित्र अर्का अध्यक्षलाई बाइपास गर्दै बाबुराम अघि बढ्न खोजेपछि नेसपा विभाजनको संघारमा पुगेको हो । बाबुरामले अर्का महेन्द्रसँग छलफल नगरी एकलौटी रूपमा चैत ४ केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाएपछि विवाद झन् उत्कर्षमा पुगेको छ ।

    तर, महेन्द्रनिकट रहेका महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्रराय यादवको सहमतिविनै एकपक्षीयरूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु ।’

    तर, नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक भएको दाबी गरे ।

    उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले के गर्न खोजिराख्नुभएको छैन । यसभन्दा अगाडिको बैठकमा पनि उहाँहरूले माओवादीमा जानुपर्छ भनिराख्नुभएको थियो । पछिल्लो एक वर्षदेखि उहाँले प्रत्येक पार्टीको बैठकमा माओवादीको वकालत गर्नुहुन्छ । सबै नेता कार्यकर्ताले उहाँलाई यो कुन पार्टीको बैठक हो ? भन्दै प्रश्न उठाउने गर्नुहुन्थ्यो ।’

    सांसद्वय महेन्द्र राय यादव र उमरावती देवीले आज पनि माओवादीमा लेबी तिरिरहेको उनको भनाइ छ ।

    उनले थपे, ‘नेसपाको अध्यक्ष हुने महासचिव हुने तर अर्को पार्टीलाई लेबी तिर्ने ? त्यो कसरी पार्टीको अध्यक्ष हुनसक्छ ? भन्ने प्रश्न हो । उहाँले पार्टीको निर्णयविपरीत विज्ञप्ति जारी गर्नुभएको रहेछ । अब पार्टीले अध्ययन गरेर कारवाही गरेर जान्छ ।’

    उनले अर्का अध्यक्ष यादव व्यवहारिक रूपमा नेसपा नै नभएको आरोप लगाए ।

    नेता पोखरेलले भने, ‘महेन्द्रजीको परिचयपत्र माओवादीको छ । लेबी माओवादीमा तिर्नुहुन्छ । माओवादीको परिचयपत्र बोक्नेले नेसपाको बैठक आधिकारिक होइन भन्न मिल्छ ?’

    उनले माओवादी देशको अस्थिरताको प्रतिक भएकाले एकता सम्भावना नभएको दाबी गरे ।

    उनले थपे ‘एकता माओवादीसँग भन्ने नै होइन हाम्रो । विचार, नीति र सिद्धान्त मिल्नेसँग सधैं खुला हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमले उहाँहरू यो देशको राजनीतिक अस्थिरताको प्रतीकजस्तो देखिनुभएको छ । सत्ताको चलखेल र अस्थिरताको प्रतिकसँग हाम्रो एकता कसरी हुन्छ? सम्भव नै छैन ।’

    माओवादीको परिचयपत्र बोलेर लेबी तिर्नेहरूले नेसपाको बैठक आधिकारिक भन्न नमिल्ने उनको तर्क छ। उनी थप्छन्, ‘बैठक तोकेकै समयमा बस्छ। रमेश यादवको नाममा आएको विज्ञप्ति नेसपाको आधिकारिक होइन ।’

    तर, महासचिव रमेश यादव बाबुरामले एकलौटी बोलाएको बैठक पार्टीको आधिकारिक हुनै नसक्ने दाबी गर्छन् ।

    उनी भन्छन्, ‘नेसपाको विधानमा दुई वटा अध्यक्ष भन्ने स्पष्ट लेखिएको छ । दुई अध्यक्षको सहमति मात्रै पार्टीको आधिकारिक निर्णय हुन्छ । तर, डाक्टर साबले एकलौटी बैठक राख्नुभएको रहेछ । हाम्रो साथीहरूलाई जानकारी पनि छैन । एक अध्यक्षलाई जानकारी छैन । दुवैजनाको सहमति भए पो नेसपाको बैठक हुन्छ ।’

    अर्का अध्यक्षलाई जानकारी नगराई एकलौटी राखेको बैठकमा आफूहरू नजाने सुनाए ।

    महासचिव यादवले थपे, ‘अहिले हामीले माओवादीसँगको एकताको विषयलाई मात्रै कुरा उठाएका छैनौं । बैठकमा अरु पनि विषयमा छलफल हुन्छन् । माओवादीसँग एकता गर्ने विषय त पहिले नै गरिसकेका छौं । हाम्रो पार्टीको सांसद माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएर आउनुभएको छ । चुनावअघि नै सहमति भइसकेको छ । एकतामा त जाने नै हो ।’

    विवादले पार्टी विभाजनतिर जान लागेको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा भन्छन्, ‘हेरौं के हुन्छ। अहिले भन्न सकिने अवस्था छैन ।’

    उनले अध्यक्ष भट्टराई नै सहमति भइसकेपछि केन्द्रीय समितिको बैठकले माओवादीसँग एकता गर्ने आधिकारिक निर्णय पार्टीबाट भइसकेको बताए ।

    तर, बाबुराम भट्टराई अहिले माओवादीसँग एकताको पक्षमा नजाने पक्षमा उभिनुभएको हो ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘हामी पार्टी एकताको विपक्षमा त हुँदै होइन । नेसपाले पहिला नै एकीकरणको सबै खाका तयार पारेर नै उहाँहरूको चुनाव चिन्ह लिएर अघि बढेका हौं । केन्द्रीय कार्यसमितिको बैठकमा पनि डाक्टर सा’पकै नेतृत्वमा एकता संयोजना समिति पनि बनाइसकेको छ । पहिला वार्ता टोली पनि गठन भएको थियो । तर, अहिले कुरा अघि बढेको छैन । हामी एकता प्रक्रियामा जाने नै हो ।’

    उनले आफू महासचिव भएकाले आफूले जारी गरेको विज्ञप्ति पार्टीको अधिकारिक नै हुने दाबी गरे ।

    यादवले थपे, ‘मेरो विज्ञप्ति आधिकारिक होइन भन्ने उहाँहरूको भनाइ होला । मैले अध्यक्षजीसँग पनि कुरा गरेको हो । उहाँले यो बैठकबारे मलाई थाहा छैन भनेपछि महासचिवको नाताले मैले आधिकारिक रूपमा विज्ञप्ति जारी गरेको हो । महासचिवको चिठ्ठी आधिकारिक नभए कसको हुन्छ ? मलाई पनि यो बैठकको बारेमा जानकारी छैन ।’ .

    त्यसो त गत असोजमा प्रचण्ड र माओवादीका महासचिव देव गुरुङले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महेन्द्रलाई पार्टी एकताको पत्रका काटेका थिए । त्यसबेला यादव प्रचण्ड नेतृत्वकै सरकारमा मन्त्री थिए ।

    पछिल्लो समय प्रचण्डसँग दूरी बढ्दै गएपछि अध्यक्ष भट्टराईले पार्टी दुई सांसदलाई माओवादी पार्टीको अभिलेखबाट हटाइदिन निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएका थिए । तर, त्यो पत्र अस्वीकृत भइसकेका छ ।

    गत निर्वाचनमा नेसपा अध्यक्षसमेत रहेका यादव सर्लाही ३ र समानुपातिक तर्फबाट बारा २ की उमरावती देवी निर्वाचित भएर आएका थिए । प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा पनि निर्वाचित भएका थिए ।

    माओवादीसँग सहकार्य अघि बढेपछि गोरखा २ प्रचण्डलाई छाडेका बाबुरामले आगामी निर्वाचनमा आफैं लड्ने घोषणा समेत गरिसकेका छन् ।

  • एमाले-माओवादी सहकार्य एकताको तहसम्म जान्छ : ठाकुर गैह्रे (भिडिओ)

    एमाले-माओवादी सहकार्य एकताको तहसम्म जान्छ : ठाकुर गैह्रे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले परिस्थिति बदलिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई एकताको तहसम्म जाने बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्यको अगाडि बढाउनुपर्ने बताए ।

    उनले भने- परिस्थिति बदलिएको छ। एमालेको सोच र योजनामा यो सहकार्य देशको समस्या समाधान गर्नको लागि थप शसक्त हुनेछ । राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ गर्ने, समाजवाद उन्मुख कार्यक्रमहरूलाई लागू गर्ने र राजनीतिक स्थायित्वका साथ हामी अघि बढ्दैछौं । जनताको निराशालाई अन्त्य गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई मजबुद बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै तहसम्म सशक्त, लोकतन्त्रवादी शक्तिहरूबिच सहकार्यको विकास हुँदै छ ।

    उनले सुशासन विकास, समृद्धि र सामाजिक न्यायमा समान सोच राख्ने देशका महत्त्वपूर्ण जिम्मेवार राजनीतिक दलहरुबीच सहकार्य सुरु भएको उनको भनाइ छ ।

  • जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री (भिडिओ)

    जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन् ।

    बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

    उनले भने, ‘जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ । यसले स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ । जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन् । एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा पारेका छन् ।’

    प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको पनि बताए । पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको बताए । पछिल्ला प्रतिवेदनअनुसार जलवायु परिवर्तनको असरकार कारण प्राकृतिक हिमश्रृंखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको बताए ।

  • प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

    प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए ।

    जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

    सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् । योसहित प्रधानमन्त्री दाहालले ले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

    माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए ।

  • कांग्रेसलाई प्रचण्डको चुनौती- हिजो मिलेर टाउको का ट्न खोज्नुभएकै हो, सक्नुहुन्छ भने एमालेसँग मिल्नुस्

    कांग्रेसलाई प्रचण्डको चुनौती- हिजो मिलेर टाउको का ट्न खोज्नुभएकै हो, सक्नुहुन्छ भने एमालेसँग मिल्नुस्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए।

    उनले भने- गठबन्धन बन्ने र भत्किने प्रक्रिया चलिरहेको तर मलाई प्रेसर दिन हो या अलि बढी पोलिटिकल्ली घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ। ठूला दलहरू मिल्यौँ भने तेरो हालत के हुन्छ ? भनेर पहिला पनि भनियो आज पनि भनियो मेरो कामना छ तपाईँहरू मिल्नुस् सबै मिल्नुस् तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र संविधानको पक्षको राष्ट्रियताको पक्षमा लडिराख्छ। तपाईंहरुलाई लागेको छ प्रचण्ड डराउँछ भनेर कांग्रेसका नेता साथीहरूलाई हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न लागेको हो नि त। डराउँछ माओवादी केन्द्र भन्ने लागेको छ। त्यस्तो हुँदैन। सक्नुहुन्छ मिल्नुस्।

    उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ।

    उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे।

    उनले थपे- तीनैलाई तपाईँहरू प्रधानमन्त्री बनाउन हिँडिरहेको पनि देखेकै हो नि। यति धेरै डबल स्ट्यान्डरको कुरा हामी किन गर्ने ? आफूतिर आए प्रधानमन्त्री बनाउन तयार नआए भ्रष्टाचार, मुद्दा परेको कारबाही गर्नुपर्छ। यस्तो पनि हुन्छ

  • सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ)

    सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ)

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले प्रचण्डलाई साथ दिँदा पनि बाटोमा अलपत्र छाडेर हिँडेको भन्दै आक्रोश पोखे ।

    उनले भने, ‘संविधानको रक्षाको लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध हामीले विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिएका थियौं । हामीलाई बाटामा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ? म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् । अघि पनि यहाँ कुरा आएको छ, ओली र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ?’

    उनले राजनीतिमा विकृति र अविश्वास बढेकाले विकास हुन नसकेको बताए ।

  • प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

    प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी- गल्ती सच्याउँछु भन्दा पनि नपाउने परिस्थिति आउन सक्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र धर्मलाई गाली गरेर वाहवाही कमाउने समय सकिसकेको बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरू सानो संख्या भए पनि गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको बताए ।

    उनले यो व्यवस्थाको सदन र सडकबाट विरोध गर्दै बहुमत पुगेको बेलामा पल्टाउने दाबी गरे । अहिले आफूहरू सत्ताको खेलमा नरहेको प्रष्टीकरण दिए ।

    उनले प्रधानमन्त्री प्रचण्डलाई भने, अघिल्लो पटक गठबन्धन फेर्दा मैले प्रधानमन्त्रीलाई तपाईँको जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको थिएँ। अहिले यहाँसम्म आएर नयाँ चाल चाल्नुभएको छ। म फेरि पनि भन्छु प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस्। मानिसहरूको जीवनमा गल्ती हुन्छन्। गल्ती सच्याउने मौका पनि हुन्छ। तर, कहिलेकाहीँ यस्तो समय आउँछ गल्ती सच्याउँछु भन्दा मौका आउँदैन। त्यस्तो नहोस्।

  • पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती- मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउनुस्

    पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती- मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउनुस्

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

    बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उहाँले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे ।

    उनले भने ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’

    प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाए ।

     

  • प्रधानमन्त्रीको सम्बोधन- कांग्रेसले मलाई राजनेताको पगरी लगाइदिएको रेकर्ड संसदमै छ (पूर्णपाठ)

    प्रधानमन्त्रीको सम्बोधन- कांग्रेसले मलाई राजनेताको पगरी लगाइदिएको रेकर्ड संसदमै छ (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले आफूलाई कुनै बेला राजनेताको पगरी लगाएर अहिले धोकेबाज भनेर अन्याय नगर्न भनेका छन् ।

    राजनेता सरकार पुनर्गठनपछि कसरी ठूलो विश्वासघाती र धोकेबाज भएको भन्दै उनले प्रश्न पनि गरेका छन् ।

    विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदमा भने- ‘नेपाली कांग्रेसका साथीहरूले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ ।’

    कांग्रेसमा विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा प्रभाव पर्न थालेपछि आफू आजित भएर अर्को गठबन्धन गर्न बाध्य भएको उनले बताए ।

    पढ्नुहोस् पूर्णपाठ

     

  • ममाथि धोकेबाजको आरोप केपी ओलीले लगाउन मिल्छ तर कांग्रेसले मिल्दैन : प्रधानमन्त्री (भिडिओ)

    ममाथि धोकेबाजको आरोप केपी ओलीले लगाउन मिल्छ तर कांग्रेसले मिल्दैन : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई नरहेको दाबी गरेका छन् ।

    विश्वासको मत माग्न रोष्टममा उभिएका प्रधानमन्त्रीले कांग्रेसले आफूमाथि धोका र विश्वासघात गरेको आरोप लगाए ।

    प्रधानमन्त्री प्रचण्डले भने- धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरू र त्यसको मुख्य नेतृत्व माननीय केपी शर्मा अ‍ोलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँहरूले बनाउने अनि खुरुक्क कांग्रेसतिर जाने ? भन्न पाउनुहुन्छ । कांग्रेसले त मलाई धोकाको आरोप लगाउन पाउँदैन,शेरबहादुर देउवालाई २ पटक प्रधानमन्त्री मैले बनाएको हो । तर कांग्रेसले मलाई बनाएको एक पटक हो ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रको गुटको लडाइँमा गठबन्धन र सरकार चलाउँदा आफू आजित भएको भन्दै आफ्ना कारण अहिले कांग्रेस एकजुट भएकोमा खुसी लागेको बताए ।

  • कांग्रेसलाई प्रचण्डले भने- एक्लै बहुमत ल्याउनुस्, शुभकामना छ (भिडिओ)

    कांग्रेसलाई प्रचण्डले भने- एक्लै बहुमत ल्याउनुस्, शुभकामना छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले गठबन्धन र संविधान विरोधी गतिविधि गरेपछि समीकरण फेर्न बाध्य भएको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै अब एक्लै लडेर बहुमत ल्याउन सुझाव दिए।

    उनले भने- चार वर्ष बाँकी छँदाको चुनाव एक्लै लडिन्छ जसले पहिलो पार्टी बनाउन मद्दत गर्‍यो त्यसको मानमर्दन गर्ने गरी हामी एक्लै लड्छौँ। मैले त अघि नै भने मिल्नुस्, एकताबद्ध भएर जित्नुस् बहुमत ल्याउनुस् मेरो शुभकामना छ।

    उनले एउटै माघले जाडो नजाने भन्दै चेतावनी दिए।

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै- मतदान सुरू (लाइभ)

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै- मतदान सुरू (लाइभ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसाथ बैठक बसिरहेको छ ।

    सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

    माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

    विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।

  • मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ)

    मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका छन् ।

    विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको नेकपा एसले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो । बुधवार मुख्य नेताहरुबीच १५/१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको चौधरीको दाबी छ ।

    न्युज एजेन्सी सरोकारसँगको कुराकानीमा चौधरीले भने- अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने, त्यसपछि १५ महिना माधव नेपाल र चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले १५ महिना गर्ने समझदारी भएको छ । त्यस अनुसार हामीले विश्वासको मत दिने हो ।

    उनले थपे, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’

    माधव नेपाल संविधानको कुन धारा बमोजिम प्रधानमन्त्री बन्ने भन्नेबारे चाहिँ उनले बताएका छैनन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री रहेका प्रचण्डले राजीनामा दिएपछि धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ ।

    प्रधानमन्त्रीले राजीनामा दिएपछि फेरि सोही धारा बमोजिम सरकार बन्ने तर्क नेकपा एसका नेताहरूको छ ।

  • प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा मन्त्रिपरिषद्को राजनीतिक समिति गठन

    प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा मन्त्रिपरिषद्को राजनीतिक समिति गठन

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मन्त्रिरिषद्को राजनीतिक समिति गठन गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्य सम्पादन) नियमावली २०६४ बमोजिम प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा राजनीतिक समिति गठन गरेको हो ।

    त्यस्तै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रशासन समिति, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको संयोजकत्वमा आर्थिक पूर्वाधार समिति, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा विधेयक समिति र उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा सामाजिक समिति गठन गरिएको छ ।

    बैठकले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवबाट तीन जना कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव पदमा बढुवा गर्ने र दुई जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

    बैठकले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सन् २०२७ देखि २०२९ र सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९ देखि २०३१ सम्मको अवधिका लागि सदस्य पदमा नेपालको उम्मेदवारी पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    यस्ता छन् दुई वटा मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय (सूचीसहित)

  • कति नजिकका दाजुभाइ हुन् प्रचण्ड र नारायण दाहाल ?

    कति नजिकका दाजुभाइ हुन् प्रचण्ड र नारायण दाहाल ?

    चितवन । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादीले सर्वसम्मत नाम टुंग्याएर बहुमतले विजयी भएका नारायण दाहाल र प्रधानमन्त्री प्रचण्डबीच दाजुभाइको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

    प्रचण्ड र नारायण दाहालको परिवारका सदस्यहरूसँगै बुझ्दा उनीहरू तीन पुस्ते दाजुभाइ रहेको खुलेको छ । प्रचण्ड र नारायण दाहालको हजुरबुबा एकाघरको दाजुभाइ रहेको नारायण दाहालका माहिला भाइ नन्दलाल दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    नन्दलालका अनुसार प्रचण्डका हजुरबुबा नरपति जेठा हुन् । भने नारायण दाहालका हजुरबुबा पुनराम दाहाल माहिला हुन् । उनीहरूका तीन दाजुभाइ थिए । एक भाइ सानैमा बितेर दुई भाइको मात्रै घरजम भएको उनले बताए ।

    यो पनि पढ्नुहोस् : ०२७ सालदेखि राजनीति गरेका नारायण दाहालः दाइ प्रचण्डसँगै संवैधानिक पदमा बहाल

    भने प्रचण्डको बुबा मुक्तिलाल र नारायण दाहालका बुबा कुलप्रसादका बुबाआमा फरक-फरक हुन् । भने मुक्तिलालका दुई भाइ छोरामध्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका साख्खै भाइ गंगाराम दाहाल हुन् । गंगारम अहिले बेलायतमा छन् ।

    कुलप्रसादका चार भाइ छोरा हुन् । तीमध्ये जेठो नारायण दाहाल आज राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी माइला भाइ नन्दलाल नेकपा माओवादीकै बागमती प्रदेश सचिवालय सदस्य हुन् । साहिँला रामचन्द्र र कान्छा केशव सक्रिय राजनीतिमा छैनन् । नन्दलालका अनुसार रामचन्द्र किसान हुन् भने केशव अहिले छोरीहरूसहित अष्ट्रेलियामा बस्दै आएका छन् ।

  • ०२७ सालदेखि राजनीति गरेका नारायण दाहालः दाइ प्रचण्डसँगै संवैधानिक पदमा बहाल

    ०२७ सालदेखि राजनीति गरेका नारायण दाहालः दाइ प्रचण्डसँगै संवैधानिक पदमा बहाल

    काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहालले बाजी मारे । उनलाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । गठबन्धनका दाहालले ३९ मत पाउँदा शर्मा १७ भोटमा रोकिए ।

    दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको नाता जोडेर केही टिकाटिप्पणी पनि भए । तर, नारायण प्रचण्डको सहोदर भाइ नभएको नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन् ।

    ‘उहाँलाई राष्ट्रियसभामा पठाउने निर्णय पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णय गरेको हो । उहाँ प्रचण्डको सहोदर भाइ पनि हैन’, दीपशिखाको जिकिर छ । प्रचण्ड-नारायणका हजुरबुबा सहोदर दाजुभाइ रहेको पारिवारिक स्रोतले बताएको छ ।

    २०७८ चैत २५ गते राष्ट्रियसभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुँदा पनि प्रचण्डकै भाइ भएको कारणले अवसर पाएको आरोप लागेको थियो । दाहाल मनोनीत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि चर्कोरूपमा प्रचण्डको आलोचना गरेका थिए ।

    अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नयाँ सहमति बनेपछि ओली आफैं उनै दाहाललाई जिताउन पार्टीपंक्तिमा ह्वीप जारी गर्ने अवस्थामा आइपुगे ।

    दाहालले पनि आफू प्रचण्डको भाइ भएकै कारण जिम्मेवारी नपाएको भन्दै पार्टीमा गरेको योगदान अवमूल्यन नगर्ने आग्रह गरेका छन् ।

    सोमबार उम्मेदवारी दर्तापछि भनेका थिए, परिवारवादको कुराले सुन्दा मेरो कान पाकिसके । मुख थाकिसके । म ०६३ सालमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ । त्यो बेलादेखि नै मैले कुनै जिम्मा लिन पर्दाखेरि जुन ढंगले यो पार्टीमा योगदान दिएँ ।

    उनले पार्टीमा ०३६ सालदेखि पूर्णकालीन सदस्यता लिएर काम गरेका थिए । अहिले प्रचण्डकै भाइ भएको कारणले बागमती प्रदेशको इन्चार्ज हुनबाट रोकेकोप्रति पनि गुनासो गरे ।

    उनले थपे, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? अहिले पाउँदैन जिम्मेवारी भन्नेले दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन। त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन ।’

    नारायणमात्र नभइ परिवारका सबैजना पार्टीमा पूर्णकालीन सदस्य छन् । उनका परिवार नै जनयुद्धमा हिँडेका थिए ।

    को हुन् दाहाल ?

    दाहालको जन्म २०१२ फागुन १२ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा भएको हो । २०१९ सालमा कास्कीबाट बसाइ सरेपछि भरतपुर महानगरपालिका-१४, चितवनको स्थायीवासी हुन् ।
    उनका माता देउरुपा हुन् भने पिता कुलप्रसाद दाहाल । पत्नी दुर्गादेवी हुन् । उनका १ छोरी, २ छोरा र ६ नातिनातिनी रहेका छन् ।

    २०३० सालमा नारायणी विद्यामन्दिर चितवनबाट एसएलसी पास गरेका दाहालले २०३३ सालमा प्रमाणपत्र तह र २०३६ सालमा स्नातक सानोठिमी क्याम्पसबाट गरेका हुन् ।

    वि.सं. २०२७ सालमा विद्यार्थी राजनीति थालेका दाहाल ३६ सालदेखि पूर्णकालीन भए । उनको संसदीय यात्रा ०६३ अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४/२०६९ संविधानसभा सदस्य (चितवन क्षेत्र नं. ३ बाट निर्वाचित), ०७८ चैत राष्ट्रियसभा सदस्य हुँदै आज अध्यक्षमा निर्वाचित भएका हुन् ।

    प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको जिम्मेवारी निभाएका थिए ।

    कहिले कुन जिम्मेवारीमा रहे ?

    • वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश ।

    • वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह) । वीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध ।

    • २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)

    • २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष । पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी ।

    • २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव ।

    • २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ।

    • २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य ।

    • २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष ।

    • २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य ।

    • २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज ।

    • २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज ।

    • २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज ।

    • २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष ।

    • २०७७ सालमा नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष ।

    • २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज ।

  • राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ भोट (भिडिओ)

    राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ भोट (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।

    आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्।

    दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

    माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।

  • बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी

    बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी

    हेटौंडा । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई अल्पमतमा पारिदिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ ।

    केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।

    ११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्न कसरत सुरू भएको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ ।

    ‘दुवैजनालाई क्याविनेटमा ल्याउन नेताहरू छलफलको चरणमै हुनुन्छ । कुरा सकारात्मक छ’, स्रोतले भन्यो ।

    हानेपाले भने अहिले नै आफूहरू सरकारमा जाने ध्याउन्नमा नलाग्ने बताएको छ ।

    लौरोका प्रवक्ता ई. रोहन कार्कीले नेपाल प्रेससँग भने, ‘हामी अहिले सत्ताको खेलमा छैनौं । समग्र परिस्थिति विश्लेषण गरेर मात्र निर्णय लिन्छौं ।’

    हानेपाका सांसद शैलेन्द्र बज्राचार्यले पनि नयाँ गठबन्धनमा सहभागिताका लागि कुरा आएको स्वीकारे । केन्द्रको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ । नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन् । गठबन्धनले पनि सरकारमा उनीहरूलाई ल्याउन कसरत गरेको छैन ।

    बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

    नेकपा एसले बागमती प्रदेशमा आफूहरूको उपस्थिति अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै मुख्यमन्त्री दाबीसहित गठबन्धनमा दबाब बढाएको छ ।

    नेकपा एसका एक नेता भन्छन् ‘बागमती प्रदेश सरकारमा यदि समाजवादी नजाने हो भने विपक्ष गठबन्धनलाई बहुमत पुग्छ, राजनीतिमा हामीले मात्र सधैँ त्याग गर्नुपर्छ भन्ने छैन नि ? देश र अन्य धेरै प्रदेशको नेतृत्व गर्दा एउटा प्रदेशको नेतृत्व गर्न समाजवादीलाई दिन नहुने भन्ने हुन्न होला नि !’

  • विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

    विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ ।

    विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको हो । यसमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत प्रतिवद्धता खोजेको छ ।

    नेकपा एसका कार्यालय सचिवसमेत रहेका नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पार्टीले अघि सारेको बताए । सचिवालयको म्याण्डेटअनुसार संसदीय दलको बैठकले विश्वासको मतअघि सो प्रतिवद्धता मागेको उनले बताए ।

    श्रेष्ठले भने, ‘लिखित प्रतिवद्धता हामीले मागेको हो । एउटा त हाम्रो पार्टीले सुशासन, आर्थिक विकास, राष्ट्रियतालगायतका विषयमा ५ बुँदे शर्त राखेको छ त्यसमा लिखित प्रतिवद्धता मागेका हौं । अर्को कुरा नलुकाई भन्दा प्रधानमन्त्रीदेखि संघ र प्रदेशका सबै संरचनामा पावर शेयरिङ गर्ने लिखित प्रतिबद्धता चाहिन्छ ।’

    अहिले नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनमा नेकपा एसले पावर शेयरिङ खोज्ने कुरा स्वाभाविक भएको भन्दै श्रेष्ठले ओलीमा विगतका कमजोरीप्रति परिवर्तन आएको हो भने बिस्तारै नेकपा पुनःस्थापनातर्फ पनि कोर्ष जान सक्ने बताए । तर, अहिले पार्टी एकताको विषय आफूहरूले नउठाएको उनको भनाइ छ ।

    नेकपा एसले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चिता समेत खोजेको छ । कांग्रेसले २ वर्ष प्रधानमन्त्री र आउने चुनावमा कम्तीमा २५ सीट जिताउने ग्यारेन्टी गर्दा पनि वामपन्थी सहकार्यको लागि आफूहरूले त्याग गरेकाले ओली र प्रचण्डबाट लिखित प्रतिबद्धता मागेको नेताहरू बताउँछन् । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने श्रेष्ठले बताए ।

    सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेपछि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग माधव नेपालको छलफल भइरहेको छ ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

    रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये अहिले ४ जना मन्त्री छन् । प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

    यता नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा एसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

  • नेकपा एसले प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र राष्ट्रियसभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने (भिडिओ)

    नेकपा एसले प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र राष्ट्रियसभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने भएको छ । उनले पार्टीका शर्तबारे भने केही खुलाएनन् ।

    सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

    उनले भने, ‘राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै सहयोग गर्छौं । प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन ।’

    उनले थपे, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौं । र, प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं । तर, उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

    उनले सरकार अघि बढ्ने कि ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए ।

  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार वार्तामा के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार वार्तामा के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भटेवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाले बताए ।

    उनले भने, ‘नयाँ समीकरणपछि गठबन्धनमा धेरै कुरा मिलाउनुपर्नेछ । त्यही विषयमा केन्द्रित भएर उहाँहरु एक घण्टा जति छलफलमा बस्नुभएको थियो । यो गठबन्धन दलका शीर्ष नेताहरुबीच भएको नियमित भेट नै हो ।’

    भेटमा भोलि हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको बताइएको छ ।

    राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । उपाध्यक्ष एमालेले पाउने सहमति छ । गठबन्धन फेरिएपछि कांगेसले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

  • नारायण दाहालको प्रश्न- हिजो जनयुद्धमा दाइ हिँडिरहेको छ, तँ हिँड्न पाउँदैनस् किन कसैले भनेन ? (भिडिओ)

    नारायण दाहालको प्रश्न- हिजो जनयुद्धमा दाइ हिँडिरहेको छ, तँ हिँड्न पाउँदैनस् किन कसैले भनेन ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिएका नारायण दाहालले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भाइ मात्रै भएको कारणले टिकट नपाएको प्रष्टीकरण दिएका छन् । अध्यक्षको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई परिवारवादसँग जोड्नु न्यायोचित नहुने बताए ।

    उनले भने, ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्नेहरुले हिजो म युद्धमा हिँड्दा दाई हिँडिरहेको छ त हिँड्न पाउँदैन किन कसैले भनेन । अहिले पाउँदैनस् जिम्मेवारी भन्नेहरुले हिजो जनयुद्धमा मिल्दैन हिँड्न किन हिँडेको कसैले त भनेन । त्यो बेलामा त एकदिन ढिला भयो भने पनि आफ्नोलाई बचाउन भन्थे । त्यसैले यो विषयमा मलाई धेरै भन्नु छैन ।’

    उनले पार्टीमा आफ्नो योगदानको आधारमा जिम्मेवारी पाएको जिकिर गरे ।

  • काँध फेरेसँगै परिवर्तित प्रचण्ड : गगन थापाले भेट्न खोज्दा ओलीसँग मागे अनुमति

    काँध फेरेसँगै परिवर्तित प्रचण्ड : गगन थापाले भेट्न खोज्दा ओलीसँग मागे अनुमति

    काठमाडौं । माओवादीले काँध फेरेर एमालेतिर लागेपछि कांग्रेस पदाधिकारी बैठकमा शेरवहादुर देउवाले भनेका थिए- म चाहिँ आशंका होला, प्रचण्ड रिसाउँछ भनेर केपी ओलीले भेटौं भेटौं भन्दा पनि भेट्न मानिन । उता प्रचण्ड चाहिँ खुसुखुसु ओलीसँग भेटेर यस्तो गरिसकेछ ।

    प्रचण्डलाई आशंका नहोस् भनेर ओलीसँग भेट्न समेत नमानेका देउवा अहिले एमालेको प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्री नबनेकोमा पश्चातापमा छन् । उता देउवालाई एक वर्षमा दोस्रोपटक धोका दिएर एमालेसँग दोस्रोपटक सहकार्यमा फर्किएका प्रचण्डमा भने परिर्वतन देखिन थालेको छ ।

    माओवादी नेताहरूका अनुसार अब गठबन्धनमा विशेषगरी एमालेलाई आशंका हुने खालका कुनै गतिविधि नगर्ने प्रचण्डले संकेत दिएका छन् । एमालेसँगको सहकार्य यो संसदको पूरै कार्यकालमात्र नभएर त्यसपछिको चुनावसम्मै रहने भएकलो सोही अनुसार एमाले पंक्तिसँग व्यवहार गर्न उनले तलैसम्म सन्देश समेत प्रवाह गरेका छन् ।

    यसको एउटा उदाहरण हो शनिवारको घटनाक्रम । शनिबार साँझ कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग भेट्नका लागि समय मागे । हिजोसम्मको सत्ता सहयात्री दलका प्रभावशाली नेताको टिमले भेट्न खोजेपछि उनले तत्कालै आउनुस् समेत भन्न सकेनन् ।

    सत्ता घटक प्रमुख दुइ दल नेकपा एमाले र माओवादीबीचको सत्तागठबन्धन धेरै समय नटिक्ने हल्ला चलिरहँदा माओवादी अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्ड दुई दल बिच अविश्वास हुने गरी कुनै पनि गतिविधि नगर्ने मनस्थितिमा पुगेको त्यसक्रममा बालुवाटारमा रहेका माओवादी नेताहरुले महसुस गरे ।

    एक प्रत्यक्षदर्शीका अनुसार गगन थापा लगायतले प्रधानमन्त्रीसँग भेट गर्न आउन लागेको भन्दै टेलिफोन गरेपछि उनले सल्लाह गरेर मात्रै निर्णय गर्ने जवाफ दिएका थिए । लगत्तै प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर कांग्रेस महामन्त्रीसहित नेताहरु आफूलाई भेट्न आउन चाहेको बताएका थिए ।

    त्यसबेला बालुवाटारमै रहेका एक नेताका अनुसार ओलीले हुन्छ भनेपछि मात्रै प्रधानमन्त्रीले भेट्न आउनका लागि समय दिएका थिए । नेपाल प्रेससँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीसँग यसबीचमा भेट भइसकेको पुष्टि गरे । स्रोतकाअनुसार ओलीसँग अनुमति लिएपछि प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमै कांग्रेस महामन्त्री थापा र मुख्य सचेतक रमेश लेखकसँग भेट गरेका थिए । नेताहरूबीचको भेटमा घोचपेच चलेको थियो ।

  • दुई मन्त्रीमाथि संसदीय दलको बैठकमा माया र माधवका अनेकौं सवाल- प्रचण्डको हाँसो नै जवाफ

    दुई मन्त्रीमाथि संसदीय दलको बैठकमा माया र माधवका अनेकौं सवाल- प्रचण्डको हाँसो नै जवाफ

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकमा दुई वरिष्ठ नेतासमेत रहेका मन्त्रीहरूमाथि सांसदले प्रश्न उठाएका छन् । उनीहरूले एउटै व्यक्तिले सधैँ आकर्षक मन्त्रालयसहित सरकारमा सहभागी भइरहन पाउनुको कारणसमेत अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग मागेका छन् ।

    शनिबार माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू सहभागी थिए । राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन र विश्वासको मतको प्रयोजनका लागि राखिएको बैठकमा दलका नेता प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनको बारेमा संक्षिप्तमा ब्रिफिङ गरेका थिए ।

    बैठकमा सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद माधव सापकोटा र जाजरकोटबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने मायाप्रसाद शर्माले गम्भीर प्रश्न उठाएपछि माहौल फेरिएको थियो । यद्यपि जवाफ दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले भने ती सांसदको प्रश्न र व्यंग्य सुनेपछि हाँसेर टारेको बैठकमा एक सहभागीले बताए ।

    माओवादीका एक सांसदका अनुसार सिन्धुपाल्चोकका सांसद सापकोटाले मन्त्री छान्ने मापदण्डबारे प्रश्न उठाएका थिए । उनीसहित केही सांसदले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजीको नामै लिएर आलोचना गर्दै दबाब, प्रभाव र घुर्की देखाएर सधैँ मन्त्री बनिरहेको आरोप लगाएका हुन् ।

    सापकोटाको भनाइ थियो– ‘मेरो घरमा तीन जना सहिद छन्, हाम्रो सापकोटा परिवारबाट ८ जना, गाउँभरिमा २२ जना सहिद छन्। मेरो गाउँमा माओवादीको जनाधार सबैभन्दा बलियो छ। ९० प्रतिशत मत मेरो वडा र पालिकाबाट मैले पाएको छ । विधि पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गर्नेलाई मन्त्री बनाउन थालियो। यस्तो विधि पार्टीमा कहाँ छ?
    बैठकमा अमनलाल मोदी,सुर्यमान दोङलगायतले मन्त्री चयनको मापदण्डमाथि प्रश्न उठाउँदै कोही दोहोरिने,कोही हट्ने किन भन्ने प्रश्न गरेका थिए ।

    सांसदहरुले एमाले उपाध्यक्ष विष्णु पौडेल माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठभन्दा धेरै क्रान्तिकारी र ‘डिग्निटी’ भएको नेता रहेछन् भन्दै गृह र अर्थ एमालेले नपाएपछि पौडेल सरकारमा नगएको उदाहरण दिएका थिए । उनीहरुले त्यति नैतिकता पनि नारायणकाजीमा नदेखिएको आरोप लगाएका थिए । रघुवीर महासेठभन्दा तलको वरीयतामा झर्न समेत तयार भएकोमा व्यंग्यसमेत गरेको एक सांसदले बताए ।

    सापकोटाको भनाइ थियो- ‘विगतमा हाम्रो पार्टीमा मन्त्री छान्ने २ वटा मापदण्ड थिए । कि त पार्टी कमिटीबाट निर्णय हुन्थ्यो, कि नेतृत्वले गर्थ्यो । यसपटक के आधारमा गरिएको हो ? हाम्रो कमरेड नारायणकाजी आफूलाई क्रान्तिकारी भन्नुहुन्छ तर एमालेले गृह र अर्थ नपाएपछि विष्णु पौडेल सरकारमा गएनन्, तर उहाँले गृह नपाए पनि परराष्ट्रमा जानुभयो । कहाँ गयो क्रान्तिकारी नैतिकता ?’

     

    शक्तिमाथि मायाको छायाँ

    संसदीय दलको बैठकमा ऊर्जामन्त्री शक्ति बस्नेतको योग्यता र सधैँ मन्त्रीमा दोहोरिने मापदण्डबारे मायाप्रसाद शर्माले प्रश्न उठाएका थिए । उनले आफू कुनै बेला शक्तिभन्दा सिनियर नेता रहेको स्मरण गराउँदै शक्तिले बारम्बार खान पाइरहेको र आफूले मन्त्री बन्न नपाएको कारण मागेका थिए ।

    शर्माको भनाइ थियो- ‘मेरो जिल्ला जाजरकोटका एकजना नेता हुनुहुन्छ शक्ति बस्नेत । म कुनै बेला उहाँको नेता थिएँ । उहाँ सरकारमा मन्त्री हुनुहुँदोरहेछ भन्ने कुरा अस्ति पदमुक्त हुँदा र फेरि शपथग्रहण गर्दा मात्र थाहा भयो । उहाँमा के त्यस्तो योग्यता क्षमता रहेछ सधैँ मन्त्री भइरहन पाउने, अनि ममा के कमी रहेछ मैले नपाउने ?’

    शक्ति बस्नेत मन्त्री भएको जाजरकोटबासीले महसुस नगरेको उनको आरोप थियो । बैठकमा केही सांसदले नारायणकाजी श्रेष्ठलाई देशभरको कुनै एक निर्वाचन क्षेत्रबाट जितेर देखाउन र आजीवन मन्त्री बन्न चुनौतीसमेत दिएका थिए ।

  • राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

    राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन पार्टी मुख्यालय पेरिसडाँडामा आज दिउँसो पदाधिकारी बैठक बस्न लागेको हो ।

    शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको टुंगो आइतबार लाग्ने बताएको थिए ।

    नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको थियो । माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ।

     

  • प्रचण्डको ब्रिफिङ- कांग्रेसको ‘दास’ मनस्थितिले कम्फर्टेबल भएन, एमालेसँगको सहकार्य कमजोर छैन

    प्रचण्डको ब्रिफिङ- कांग्रेसको ‘दास’ मनस्थितिले कम्फर्टेबल भएन, एमालेसँगको सहकार्य कमजोर छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा एमालेसँग गठबन्धन नभई सहकार्य थालेको बताए।

    प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले भने- केन्द्रीकरण, ध्रुवीकरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विकासको नेतृत्व गर्न कांग्रेससँग कम्फर्टेबल भएन। उहाँहरू पछाडि फर्केजस्तो देखियो। बजेट निर्माण, मन्त्रालय सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अलिक बढी दास मनस्थिति बढी भएकोजस्तो देखियो। त्यसले गर्दा राष्ट्रियतामा अझै बढी कमजोर हुने देखियो।

    प्रधानमन्त्री पद असुरक्षित नभएपछि सोचेजस्तो परिणाम दिन नसकेपछि लामो गृहकार्यपछि एमालेसँग समीकरण बनाएको बताए।

    उनले भने- प्रधानमन्त्री पद त असुरक्षित थिएन। कसैले च्यालेन्ज गरेको पनि होइन। एक वर्ष त रहिहाल्थ्यो। प्रधानमन्त्री पद त रहिराख्ने तर सोचेजस्तो परिणाम दिन नसक्ने, अझै राष्ट्रियता र अर्थतन्त्र कमजोर हुने देखिएपछि एमालेसहित अन्य दलसँग सहकार्यको ढोका खोल्यौँ। दुवै दलबीच लामो गृहकार्यपछि सहकार्य थालेका छौँ। यो समीकरण बलियो छ। पर्याप्त छलफलपछि मात्रै गरेको हौँ। आवेगात्मक हुँदै होइन। आवेगात्मक त सरकार संकट परेको बेलामा मात्रै हुने हो तर, अहिले सरकार अप्ठ्यारोमा थिएन।

    राष्ट्र र जनताको केन्द्रमा राखेर अहिले जनतामा देखिएको निराशा अन्त्य र अर्थतन्त्र सुधार, सेवा प्रवाहमा अहिले समीकरण थालेका दलसँग लय मिल्ने प्रधानमन्त्रीको विश्वास थियो।

    उनले एमाले अध्यक्ष केपी ओलीसँग अबको बाँकी कार्यकाल आधा आधा गर्ने ‘भद्र सहमति’ भएको पनि सुनाए।

  • विश्वासको मत र राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा सांसदलाई उपस्थित हुन माओवादीको ह्विप (भिडिओ)

    विश्वासको मत र राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा सांसदलाई उपस्थित हुन माओवादीको ह्विप (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेलामा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

    संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

    प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनको बेलामा सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन भएको बताए।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको बताए।

  • प्रचण्डले बोलाए माओवादी संसदीय दलको बैठक

    प्रचण्डले बोलाए माओवादी संसदीय दलको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र संसदलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने उनले बताए ।

    माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

    कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे पनि छलफल हुने बताइन्छ ।

    अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

  • पम्फा भुसालकाे टिप्पणी- नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् (भिडिओ)

    पम्फा भुसालकाे टिप्पणी- नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।

    शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

    उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।

    उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिष्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने बताइन् । उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।

    भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।

    संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ । भुसालले महिलालाई पैत्रिक सम्पत्तिको मालिक बनाउने एजेण्डासहित अगाडी बढ्नुपर्ने बताइन् ।

    महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

    यस्तो छ भुसालको भनाइः

    त्यहाँ भित्र हामीलाई असहज भयो । यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठिक हुन्छ कि ? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो । संयोगले एउटा नयाँ सहमती बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ । आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन् ।

    हरेक ठाउँमा विभिन्न सुशासन बिरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ । तथ्य बुझ्दा हुन्छ पनि । छुन, चलाउन नसक्ने । काम गरेर अगाडी बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ । महत्वपुर्ण मन्त्रालयले यसरी जाउँ, उसोगरी जाउँ भन्दा मान्दै मान्दैन । खुट्टा अगाडी लैजान नसकेजस्तो । जनतालाई अलि बढी राहत हुनेगरी काम गरौँ । त्यही ढंगले बजेट निर्माण गरौँ ।

    आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पु¥याउनुपर्छ । यो बाध्यता त हुन्छ ।

    तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो ।

    हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभुत गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभुतिहरु आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न ।’

    यो बढी सजातीय भएको छ । राजनीतिक दल भनेको त वर्गको प्रतिनिधित्व गर्ने हो । हामी सर्वहारा, श्रमिक, श्रमजिवी जनता, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी । एकथरी सामन्त, जमिनदार, दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टी । त्यसो हुँदाखेरी स्वार्थ बाझ्ने र परिणाम केही नआउने । तर अहिले आउँदा अलि सजातिय । वामपन्थीहरुको बाहुल्यता छ ।

    अर्को कुरा, दिर्घकालमा एउटै देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान सक्दैन । जनताले एमाले, माओवादी, माधव नेपाल र अर्कोलाई पनि कम्युनिस्ट देख्छ । हामी पनि भोट माग्न । उनीहरु पनि भोट माग्न । छरिएर जानो हो भने पश्चिम बंगालको जस्तो हुन्छ ३५ वर्ष कम्युनिस्ट पार्टीले सरकार चलाए आज शुन्य छ ।

    हामीले बुद्धि, ढंग पु¥याएनौँ भने हाम्रो पनि त्यो हाल नहोस् भनेर हामी सचेत नै हुनुपर्छ । ढिलोचाँडो यो देशमा वामपन्थी एउटा धार, प्रजातन्त्र, लोकतन्त्र भन्नेको अर्को धार हुनुपर्छ । आवश्यकता हो । विगतको समिक्षा र अहिलेको आत्मसात् गर्दै वामपन्थी ध्रुविकृत हुँदै जाने हो भने जनताको हिस्सा वामपन्थीलाई मन पराउने छ । यो सहकार्यले आपसी विश्वास पैदा गर्दै मोर्चा गर्दै एउटा पार्टी भविष्यमा हुनैपर्छ ।’

     

  • फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष निर्वाचन- अर्याल, सुवेदी र दाहालमा कसले पाउलान् टिकट ?

    फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष निर्वाचन- अर्याल, सुवेदी र दाहालमा कसले पाउलान् टिकट ?

    काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ । गणेशप्रसाद तिमिल्सेना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डरअनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको हो ।

    राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको अध्यक्षतामा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था समितिको बैठकले अध्यक्षको निर्वाचन क्यालेण्डरमा तोकिएअनुसारकै मितिमा गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी उपसचिव दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार फागुन २७ गते बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ । बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता, सचेतक र कार्य व्यवस्था समितिका सदस्यहरुको सहभागिता थियो ।

    प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन छोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन गरेसँगै राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । यसअघि राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी थियो ।

    नेपाली कांग्रेसले त अध्यक्ष बनाउने उद्देश्यअनुसार नै पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमा सिटौलालाई नै राष्ट्रियसभा अध्यक्ष बनाउने संकेत गरेका थिए ।

    तर, प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग गरेको नयाँ गठबन्धनभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने लिखित सहमति नै भएको छ । उक्त सहमतिअनुसार उपाध्यक्ष भने नेकपा एमाले पाउनेछन् ।

    नयाँ गठबन्धनको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले पाउने निश्चित भएपछि उपाध्यक्ष उर्मिला अर्यालसँगै माओवादीका नेताद्वय झक्कुप्रसाद सुवेदी र नारायण दाहालको नाम चर्चामा आएको छ ।

    अध्यक्ष बनाउने भनेरै मलाई उपाध्यक्ष बनाएको हो: अर्याल

    राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले पनि अध्यक्ष बन्न जोड दिएकी छन् । उपाध्यक्ष उम्मेदवार बन्ने बेला नै अध्यक्ष पद खाली भएपछि उम्मेदवार बनाउने आन्तरिक सहमतिसहित आफू अघि बढेको उनले बताइन् ।

    ‘पहिले उपाध्यक्षको उम्मेदवार नबन्ने भनेकी थिएँ । तर, पछि अध्यक्ष खाली हुँदा उम्मेदवार बनाउने भनेरै उपाध्यक्ष बनेको हो । अझै मेरो कार्यकाल चार वर्ष बाँकी छ’, उनले नेपाल प्रेससँग भनिन्, ‘तर, जसको ६ वर्ष कार्यकाल छ, उनैलाई अध्यक्ष बनाउने भन्ने पनि हल्ला चलिरहेको छ । मलाई कुनै जानकारी छैन ।’

    अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी थिइन् । यसअघि पनि नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल उपाध्यक्ष रहेकी थिइन् । उनको कार्यकाल सकिएपछि नेकपा माओवादी केन्द्रबाटै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य बनेकी अर्याललाई उपाध्यक्ष निर्वाचित गरिएको थियो ।

    २०७० जेठ ४ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी अर्याल राष्ट्रियसभा उपाध्यक्ष चयन हुनुअघिसम्म पार्टीको स्थायी कमिटी सदस्य थिइन् । उनी माओवादीबाट २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रियसभा अध्यक्ष बनेमा ४ वर्ष पछि स्वतः पदमुक्त हुनेछिन् ।

    झक्कुप्रसाद सुवेदी भन्छन्- खै, मलाई केही जानकारी छैन

    राष्ट्रियसभा अध्यक्षका सम्भावित अर्का सांसद हुन् भर्खरैमात्र लुम्बिनी प्रदेशबाट निर्वाचित झक्कुप्रसाद सुवेदी । उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएर आएपछि उनले पद तथा गोपनीयताको शपथ लिइसकेपछि बिहीबार पहिलो बैठकमा सहभागी भइसकेका छन् ।

    यद्यपि उनी आफू राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुने नहुनेबारेमा अनभिज्ञ रहेको बताउँछन् । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आफूलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको रुपमा उभ्याएको उनले नेपाल प्रेससँग बताए ।

    ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रियसभा अध्यक्ष उम्मेदवार भनेर लेखेको देखिरहेको छु । तर, मलाई यसबारेमा जानकारी छैन’, उनले भने, ‘पार्टीले उम्मेदवार नै बनायो भने त नाईं भन्ने कुरा भएन । २८ गते पार्टीको स्थायी समिति बैठक बस्दैछ । उक्त बैठकले आधिकारिक उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउँछ होला । त्यसैले अहिले म उम्मेदवार हो वा होइन भन्नेबारेमा मलाई जानकारी छैन ।’

    रोल्पाका सुवेदी माध्यमिक तहको पूर्णकालीन शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका थिए । २०४८ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गजुल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित उनी त्यसपछि जिल्ला विकास समिति रोल्पाको सभापति बनेका थिए ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीको उम्मेदवार बनेर निकै चर्चामा आए । उनले उक्त निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनले जीत हात पार्न सकेनन् । २०७४ सालमा काठमाडौं क्षेत्र नं. ६ बाट माओवादीको तर्फबाट उम्मेदवार बनेका सुवेदी फेरि पराजित भएका थिए ।

    सुवेदीलाई २०८० को राष्ट्रियसभा सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो र उनी निर्वाचित पनि भए ।

    पहिले पार्टीले निर्णय गरोस् अनि बोलौला : सांसद दाहाल

    राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाल पनि अध्यक्षका सम्भावित उम्मेदवार हुन् । २०७८ चैत २५ गते तत्कालीन राष्ट्रपतिबाट मनोनीत सांसद दाहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

    सांसद दाहालले पार्टीले निर्णय गरिनसकेकाले यसबारेमा आफूले केही भन्न नमिल्ने नेपालप्रेसलाई बताए ।

    ‘पहिले पार्टीले निर्णय गरोस् । राष्ट्रियसभा सदस्य भएपछि अध्यक्ष हुन योग्यता पुग्ने त भैहाल्यो नै’, उनले भने ।

    दाहाल अध्यक्ष चयन भएमा ४ वर्ष पदमा रहनेछन् ।

    नेपालको संविधानको धारा ९२ ले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ । जसको उपधारा (१) मा राष्ट्रियसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र अध्यक्ष वा उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्छ । निर्वाचन गर्दा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनेगरी गर्नुपर्छ । राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा राष्ट्रियसभाका सदस्यले आफूमध्येबाट राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नुपर्छ ।

    अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था छ । अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभएको वा पद रिक्त भएको अवस्थामा भने राष्ट्रियसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

  • स्वदेशमै इन्टरनेट ब्यान्डविथ गेटवेको आवश्यकता : सञ्चारमन्त्री शर्माले बनाइन् अध्ययन समिति

    स्वदेशमै इन्टरनेट ब्यान्डविथ गेटवेको आवश्यकता : सञ्चारमन्त्री शर्माले बनाइन् अध्ययन समिति

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा दोस्रो कार्यकालको पदबहालीसँगै मन्त्री रेखा शर्माले महत्वपूर्ण निर्णय गर्दै नेपालमा इन्टरनेट व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न समिति गठन गरेकी छन् ।

    नेपालमा हाल १२२ भन्दा बढी इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । अत्यधिक संख्यामा रहेका आइएसपीहरुले विभिन्न अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा प्रदायक/विक्रेताहरुबाट इन्टरनेट व्याण्डविथ खरिद गर्दा मूल्य र गुणस्तरमा एकरुपता नभएको अवस्था छ ।

    सबै उपभोक्ताहरुको लागि इन्टरनेटको गुणस्तरको प्रत्याभूति समान रुपमा दिलाउन नसकिएको, मूल्यमा एकरुपता हुन नसकेको तथा इन्टरनेट मार्फत भित्रिने कन्टेन्ट लगायतको नियमन गर्न कठिनाई भइरहेको अवस्थालाई मन्त्री शर्माले सम्वोधन गर्न खोजेकी हुन् ।

    कतिपय अवस्थामा नेपाल सरकारलाई समेत अटेर गरी सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल र डिजिटल सामग्रीहरु समेत निर्बाध रुपमा सञ्चालनमा रहँदा त्यसले सामाजिक सद्भावमा नै असर पुर्याउन थालिसकेको चिन्ता सरोकारवालाले व्यक्त गर्दे आएका छन् ।

    नेपाल सरकारले इन्टरनेट मार्फत भित्रने कन्टेन्टको अनुगमन, निगरानी, नियमन र नियन्त्रित प्रयोगको लागि समेत आवश्यक र उचित प्रबन्ध गर्नु पर्नेमा उनीहरुको जोड छ ।

    अन्तर्राष्ट्रिय बजारमा दिनप्रति दिन इन्टरनेट व्याण्डविथको मूल्य घटिरहँदा पनि नेपालका इन्टरनेट सेवा प्रदायकहरुले विदेशबाट महँगोमा व्याण्डविथ खरिद गरिरहनु परेकाले लागत बढेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् ।

    अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको खरिदमा एकातिर ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ भने अर्कोतर्फ आम उपभोक्ताले सहुलियत दरमा गुणस्तरीय इन्टरनेट सेवा प्राप्त गर्न सकेका छैनन् । यस्तोमा उपयुक्त पूर्वाधारयुक्त संरचनागत सहित नीतिगत र कानूनी प्रबन्ध गर्नु पर्ने आवश्यकता विज्ञहरुले औंल्याएका छन् ।

    यीनै परिदृष्यलाई ध्यानमा राखेर नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावनाको अध्ययन गर्नसमिति गठन गरिएको स्रोतले बतायो । अध्ययन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरी रहेका छन् ।

    सदस्यमा मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, उपसचिव विजय भुर्तेल, प्राधिकरणका उपनिर्देशकहरु प्रदिप पौड्याल र विनोद चन्द्र श्रेष्ठ तथा सदस्य सचिवको रुपमा मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर पंकज चन्द्र रहेका छन् ।

    समितिलाई व्याण्डविथ प्लेटफर्म(अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलनको अध्ययन गर्ने, हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्थाको अध्ययन गर्ने, नेपालको लागि व्याण्डविथ प्लेटफर्मको सान्दर्भिकताको अध्ययन गर्ने, व्याण्डविथ प्लेटफर्म(अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भाव्यता सम्बन्धमा लागत, सुरक्षा विदेशी मुद्रा भुक्तानीमा पर्ने चाप, नियमन लगायतको विषयमा अध्ययन गर्ने तथा व्याण्डविथ प्लेटफर्म कार्यान्वयनको लागि आवश्यक पर्ने संस्थागत, संरचनागत तथा नीतिगत विषयमा सुझाव दिनेलगायत कार्यादेश छन् । समितिले तीस दिन भित्र प्रतिवेदन सिफारिस गर्न समय पाएको छ ।

     

  • अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन

    अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन

    काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरेको तीन वर्षपछि केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको मिलन भएको छ । २०७७ फागुन २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएको थियो । अदालतको फैसला आउने बेलामा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रचण्ड र माधव नेपाल मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको बेलामा अदालतको फैसला आएको थियो ।

    अदालतले एमाले र माओवादी व्युँताइदिए पनि ओली र माधव नेपाल एकै ठाउँमा बसेनन् । एमालेमै बस्न नेपालले धेरै प्रयत्न गरे पनि कुरा नमिलेपछि पार्टी फुटाएका थिए ।

    रोचक संयोग मान्नुपर्छ, तीन नेता तीनतिर भएको ठ्याक्कै तीन वर्षपछि बुधबार फेरि उनीहरूबीच सहकार्य सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण थालेपछि तीन नेताको मिलन सम्भव भएको हो ।

    यद्यपि माधव नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरे पनि प्रचण्डसँगको सहकार्य भने छाडेका थिएनन् । आजबाट उनले एमालेसँग पनि सहकार्यको हात अघि बढाएका छन् ।
    प्रचण्डले एमालेसँग सहकार्य गर्न जाँदा आफूसँग सल्लाह नगरेको भन्दै सुरुमा असन्तुष्टि जनाएका नेता नेपाल अहिले सरकारमा जान राजी भइसकेका छन् ।

    मंगलबार साँझ प्रचण्ड र ओली स्वयं नेपाल निवास पुगेर सहकार्यको प्रस्ताव राखेपछि उनी सरकारमा सहभागी भएर सहकार्य गर्न राजी भएका हुन् । त्यसो त गत निर्वाचनमा गठबन्धनबाट जाँदा पनि १० सीट जिते पनि राष्ट्रिय दल बन्न नसकेपछि नेपाललाई पार्टीमा नेता कार्यकर्ता टिकाउनै मुस्किल परिरहेको छ ।

    नेता कार्यकर्ता एमालेमा फर्किन थालेपछि माधव नेपाललाई पनि कार्यगत एकता हुँदै एमालेमै पार्टी मिसाउने बाटो खुलेको छ ।

    नेकपा एसको आज बसेको बैठकमा पनि प्रचण्ड र ओलीले नै प्रस्ताव राखेपछि वामपन्थी सरकारको पक्षमा जानुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।
    एमाले र माओवादीबीचको सहकार्यमा नेकपा एसले आफूलाई सहभागी गराएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ ।

    कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने र जनयुद्धलाई अपमानित गरेको दस्तावेज महासमितिको बैठकबाट पारित गरेपछि प्रधानमन्त्री प्रचण्ड बिच्किएर एमालेसँग काँध जोड्न पुगे । आगामी निर्वाचनमा माओवादीमात्रै होइन, माधव नेपालले नेतृत्व गरिरहेको नेकपा एस पनि एक्लै चुनावमा जानसक्ने अवस्था छैन । नयाँ दलहरुको उदयले धक्का खाएको एमाले पनि मिसन ८४ को अभियानमा छ । तर, अब फेरि वाम गठबन्धन हुँदै एकतासम्म पुग्न सके २०७४ सालमा झैं दुई तिहाइ नजिक जित्न सकिने आँकलन नेताहरुको छ ।

    विगतको धोकालाई बिर्सिएर माओवादीसँग सहकार्य गर्ने तहसम्म ओर्लिएका ओली नेकपा एससँग पार्टी एकता नै गर्नेसम्मको तयारीमा रहेको बताइन्छ । अध्यक्ष नेपालले पार्टीको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गर्दा पनि आफूले अस्वीकार गरेको ब्रिफिङ गरेका थिए । देउवाले नेपाललाई घरमै पुगेर भनेका थिए, ‘प्रचण्डले जे मनलाग्यो, त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाऔं । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस् ।’

    प्रचण्डले धोका दिएपछि देउवाले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य छाडेका छैनन् । उनले आजैमात्र जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई घरमै बोलाएर सहयोग मागिसकेका छन् ।

    आगामी निर्वाचन लक्षित गर्दै पार्टीको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दै गएको अवस्थामा प्रचण्ड र नेपाल पनि एमालेसँग सहकार्य गर्न बाध्य भएको बताइन्छ । तर, अहिले सरकारको विषयमा मात्रै छलफल चलेको नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

    वामपन्थी एकता आजको आवश्यकता भएको बताउँदै उनले आफूहरु सधैं खुला रहेको औंल्याए । उनले भने, ‘अहिले सरकारमा सहकार्यको कुरा छ । हामी सबै वामपन्थी एकताको पक्षमा त रहिरहेकै छौं । तर, पार्टी एकताको तहसम्म तत्काल पुग्दैनौं ।’

    त्यसो त नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सुरुदेखि नै एमालेसँग सहकार्यको पक्षमा उभिँदै आएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालले तत्काल एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने बताए ।

    उनले भने, ‘हामीले खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । एमाले र नेकपा एसबीच विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ?’

    नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको उनको भनाइ छ ।

    नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको माओवादीका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

    उनी भन्छन्, ‘वामपन्थी दलहरु एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त स्टेप चालिएको हो । विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल छ । कुनै न कुनै बेला ‘ब्रेक थु्र’ गर्न त्यस्तो समय आवश्यक पर्छ । अब हामीले नयाँ अध्याय सुरु गरेका छौं ।’

    उनले बीचमा केही समय अलग भए पनि विगतकै निरन्तरता भएको दाबी गरे ।

    तर, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले माओवादी र नेकपा एससँग कार्यगत एकतामात्रै भएको दाबी गर्छन् ।

    उनी भन्छन्, ‘यो कार्यगत एकतामात्रै हो । सरकार सञ्चालन गर्न प्रमुख वामपन्थी र अन्य राजनीतिक दलहरुबीच कार्यगत एकता हो । अहिले नै एकताको तहसम्म पुग्ने भन्ने होइन, विभिन्न सम्भावना औंल्याएर एकता हुनसक्छ ।’

    उनले गठबन्धन र सरकारलाई बलियो बनाउन नेकपा एसलाई पनि समेट्न तयार भएको बताए ।

    माओवादी र नेकपा एससँग सुरु भएको कार्यगत एकता पार्टीसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्नमा उनले थपे, ‘अब त्यो सम्भावना नै छैन भन्न सकिँदैन । तर, त्यो निकै परको विषय हो । अहिले सरकारमा हामीले कार्यगत एकतामात्रै गरेका हौं ।’

    कम्युनिष्ट पार्टीहरुबीच फेरि सुरु भएको सहकार्य कति टाढासम्म जान्छ भन्ने नीति र कार्यक्रममा निर्भर हुने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।

    उनी भन्छन्, ‘फेरि पार्टी एकतासम्म पुग्छ पुग्दैन भन्ने विषय नीति, कार्यक्रम र एजेण्डामा भरपर्छ, उहाँहरुले यसअघि गरेको प्रयास त असफल भयो नि ! पुरानो असफलताबाट सफलतातर्फ लान अब चाहनुहुन्छ कि हुन्न भन्ने कुरा मुख्य हो । पुरानो कुराबाट कति सिक्नुहुन्छ ? त्यसबाट सिक्नुहुन्छ कि हुन्न भन्ने लेखाजोखा गर्नुहुन्छ कि हुन्न भन्नेमा भरपर्छ ।’

    ओली माधव नेपाललाई सहयोग माग्ने तहसम्म ओर्लिनुलाई कसरी बुझ्नुहुन्छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यो उहाँहरुमा भरपर्ने कुरा हो । उहाँहरुको एजेण्डामा अहिले एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपाबीच केही फरक त छैन, राजनीतिक र सांगठनिक रुपमा होस् या व्यवस्थापकीय रुपमा पनि ।’

    एजेण्डालाई व्यवस्थित बनाएर जान सक्नसके फेरि पार्टी एकता हुन पनि सक्ने उनको बुझाइ छ ।

  • प्रचण्डलाई पद छाड्न आग्रह गर्दै कांग्रेसले भन्यो- हामीलाई त दिनुहुन्न, बगलवाला पार्टनरलाई दिनुस्

    प्रचण्डलाई पद छाड्न आग्रह गर्दै कांग्रेसले भन्यो- हामीलाई त दिनुहुन्न, बगलवाला पार्टनरलाई दिनुस्

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद छाड्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूले काम गर्न नसकेको स्वीकारेपछि अरूलाई छाड्न आग्रह गरे।

    उनले भने- तपाईँले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपर्थ्यो त्यहाँसम्म ठिक। तर जाँदा सबै जानुपर्थ्यो नि। अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् ? यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाईँहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन। तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल। तपाईँले सक्नुभएन भने सबै जानुपर्‍यो नि।

    उनले अहिलेसम्म तीन पटक प्रधानमन्त्रीले गठबन्धन फेरिएको उल्लेख यही दरमा चले पाँच वर्षमा १३ पटक फेरिने बताए।

    उनले भने- उहाँले जीवित रहँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ। सबै मान्छेले सबै कुरा बुझिरहेका छन्। त्यो उथलपुथल कति दिनसम्म रहन्छ इतिहासले देखाउँला। त्यति मात्रै होइन के जातिलाई लात्तीले हान्छु भन्नुभयो। त्यसमा गम्भीर रूपमा ध्यानाकर्षण भएको छ। देशको प्रधानमन्त्रीको लागि यो शब्द स्वभाविक होइन।

  • कांग्रेसमाथि प्रचण्डको आरोप- गठबन्धनबाट पहिलो पार्टी बनेको बिर्सिएर बेमौसमको मानमर्दन गर्‍यो (भिडिओ)

    कांग्रेसमाथि प्रचण्डको आरोप- गठबन्धनबाट पहिलो पार्टी बनेको बिर्सिएर बेमौसमको मानमर्दन गर्‍यो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाट पहिलो पार्टी बनाएको बिर्सिएर गठबन्धनकै विरुद्ध महासमिति बैठकमा निष्कर्ष निकालेको कांग्रेसमाथि आरोप लगाएका छन् । सत्ता समीकरण फेरिपछिको पहिलो प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादीविरुद्ध विद्रोह गर्नेहरूलाई कांग्रेसले पुरस्कृत गरेको बताए ।

    उनले भने, ‘कोशीमा कांग्रेसको एउटा समूहले माओवादीका विरुद्ध विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसिमा दण्डित हुनुपर्थ्यो तर, त्यो पुरस्किृत भयो । राष्ट्रियसभाको निर्वाचनमा त्यही पक्षले माओवादीको उम्मेदवारलाई पराजित नै गर्‍यो ।

    निर्वाचन आउन चार वर्ष छँदै बेमौसमको मानमर्दन विवेकपूर्ण र राजनीतिक मान्न नसकिने उनको टिप्पणी थियो ।