काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरु कसैले कुरा गरेको आधारमा आफुलाई मुछ्ने काम भएको बताए ।
हल्लाको आधारमा नभई तथ्यको आधारमा सत्यको खोजी गर्न आग्रह गर्दै उनले भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको बताए ।
भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न उनले आग्रह गरे ।
संसदमा कसले के साेधे ?
संसदमा भने अधिकारीलाई सांसदले घुसको कारोबार भएको अडियो सार्वजनिक भएको भन्दै यथार्थ के हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रीसँगको प्रश्नोक्तर कार्यक्रममा सहभागि सांसदले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगको घुसको कारोबार भएको अडियो सार्वजनिक भएको र उक्त अडियोमा भूमिमन्त्री अधिकारीसँगको पनि संलग्नता भएको बाहिरिएको भन्दै उनलाई यस्तो प्रश्न गरेका हुन् ।
भूमिमन्त्री अधिकारीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिदैँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रश्न गर्दै भने, ‘मन्त्री ज्यूको नाम जोडेर कास्कीको भूमि आयोगको पदाधिकारी नियुक्तिमा लेनदेन भयो । घुसको कारोबार भयो भनेर सार्वजनिक भयो । यसको यथार्थ के हो ?’
भूमिमन्त्री अधिकारीले भने जवाफ दिने क्रममा आफु केहि दिन नेपाल बाहिर रहेको सोमबार मात्रै नेपाल आइपुगेको भन्दै यथार्त बुझेर मात्रै सांसदलाई प्रश्न उठाउदिन आग्रह गरे । ‘म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु, यथार्थता बुझेर हामीले बोल्ने गरौँ । किनभने सत्यको आधारमा तथ्य फेला पर्छ र त्यसलाई अगाडि बढाउनुपर्छ । हामी गरिमामय सदनमा एउटा नीति बनाउने ठाउँमा भएका व्यक्तित्वले हल्लाको भरमा हिँड्न उचित हुँदैन र मैले सबैलाई पनि अनुरोध गर्न चाहन्छु ।’
मन्त्री अधिकारीले प्रश्न गर्ने सांसदलाई उल्टै हल्लाको भरमा प्रश्न नगर्न अनुरोध गर्दै आफुलाई दोषी प्रमाणीत गरेर देखाउन उल्टै चुनौती दिए । उनले भने, ‘म यहाँहरुलाई अर्को अनुरोध गर्न चाहन्छु, यदि यो भूमि व्यवस्था मन्त्री या मन्त्रालयका कुनै व्यक्तिले कुनै आयोगको अध्यक्ष वा सदस्यसँग कुनै डिलिङ गरेको, पैसा लिएको तपाईंहरुले थाहा पाउनुभयो भने ल्याउनुहोस् प्रमाणित सहित । म उहाँ सम्बन्धित व्यक्तिलाई म आफैँ भए पनि म कारवाही सहन तयार छु । तर हामीले यथार्थमा आधारित भएर बोलिदिनको निम्ति पनि अनुरोध गर्न चाहन्छु ।’
लगत्तै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पनि सुवालले नै गरेको प्रश्न दोहोर्याए । उनले यदि संलग्नता नभएको भए आजका दिनसम्म आधिकारिक रुपमा त्यसको किन खण्डन नगरिएको भन्दै संसदको रोष्टमबाट चित्तबुझ्दो नआएले प्रश्न पार्न आग्रह गरे । उनले भने, ‘माननीय मन्त्री ज्यू, नेपालका सबै राष्ट्रिय मिडियाले दैनिक जसो सामान्य प्रशासन तथा संघीय मामला मन्त्रीज्यूले भनेको भनेर अडियो बाहिर आएको छ र त्यो अडियोमा सरासर अरु केही विषयका साथ तपाईंले नेतृत्व गरेको मन्त्रालय र तपाईंलाई समेत संगीन आरोप लगाएका छन् । यदि तपाईंले भनेकै जस्तो त्यसमा संलग्नता होइन भने आजका दिनसम्म आधिकारिक रुपमा त्यसको किन खण्डन भएन ? र अझै चित्तबुझ्दो जवाफ रोस्टमबाट किन आएन ? प्रष्ट हुन चाहन्छु ।’
भूमिमन्त्री अधिकारीले माओवादी सांसद सापकोटालाई आफ्नो, आफ्नो मन्त्रालय र मन्त्रालय सम्बद्ध कर्मचारीको संलग्नता रहेको यथार्तता बाहिर ल्यादिन आग्रह गर्दै प्रमाणीत भए कारबाही भोग्न तयार रहेको बताए । उनले भने, ‘आयोग या आयोगका कुनै पनि सदस्य बनाउने सन्दर्भमा म मात्र होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिले कहीँ कतै त्यस्तो कारोबार र डिल गरेको रहेछ भने यहाँले यथार्थता ल्याइदिनुस् । त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौँ ।’
तर मन्त्री अधिकारीले कोहि कसेको चरित्र हत्या र कोहि कसैलाई बदनाम गराउनुका साथै काममा अबरोध गर्ने काममा नलाग्न सांसदसँग आग्रह गरे । ‘तर अनावश्यक रुपमा हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने र उसलाई बदनाम गराउने कामतिर यहाँहरु नलाग्नको निम्ति पनि मैले अनुरोध गर्न चाहन्छु ।’
माओवादी सांसदले अहिलेसम्म किन आधिकारिक रुपमा मन्त्रीले खण्डन नगरेको भन्ने प्रश्नमा भने मन्त्री अधिकारीले चोक चौतारमा भएको टिप्पणीको जवाफ दिन जरुरी नभएको बताए । उनले भने, ‘जहाँसम्म किन अहिलेसम्म आएन भन्ने कुरो हो, कसैले कहीँ चोक चौतारामा कुरा गर्छ, कसैले घरमा कुरो गर्छ भने हामीले त्यसको उत्तर खोजि राख्नु पर्छ भन्ने मलाई लाग्दैन । सत्य सत्य नै हुन्छ, तथ्य तथ्य नै हुन्छ । त्यसकारण जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ । यहाँहरुले त्यो कुरालाई बुझ्नुहुनेछ । म बाहिर पनि गएको थिएँ यो बीचमा र बल्ल आज मात्रै आएको छु । सोझै यहीँ संसदमा आएको छु । मैले त्यस विषयमा अब यहाँ सुनेको आधारमा के गर्नुपर्छ, मैले सार्वजनिक गर्नुपर्ने मलाई महसुस भयो भने म सार्वजनिक गर्नेछु ।’
फेरी पनि मन्त्री अधिकारीले सांसदलाई तथ्यको आधारमा प्रश्न गर्न आग्रह गर्दै सुनेकै र कहि कतै टिप्पणी भएकै आधारमा प्रश्न नगर्न सुझाए ।
उनले भने, ‘अहिलेलाई मैले यहाँहरुलाई के भन्न चाहें भने यहाँहरु तथ्यको आधारमा अगाडि बढ्दिनुस् । कसैलाई कामको आधारमा अथवा सुनेको आधारमा र कसैले टिकाटिप्पणी गरेको आधारमा, कसैले कसैसँग कुरा गरेको आधारमा, कसैको इच्छा होला, कसैले ल न यो बनाइदे तैले म यसो गर्छु भन्यो, के भन्यो, त्यो सम्बन्धित व्यक्तिले जान्ने कुरा हो । त्यसकारण चाहिँ नजोडिकन, त्यहाँ तपाईंहरुले यो कुरो त भन्नुभएन, मन्त्रीले मेरो कुरै सुन्दैन, उसले गर्दैन भनेको कुरो त आछ भन्ने पनि मैले सुने अहिले । त्यो कुरो त तपाईंहरुले भन्नुभएन । त्यसकारण चाहिँ तथ्यको आधारमा यहाँहरुले बोल्दिनुुपर्यो । नेपाल सरकारमा बसेर जनताको जिम्मेवारी लिएर जनताको काम गर्ने हो नी । नमिलेका कानुनलाई मिलाउने हो । जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि म डराउनेवाला छैन र मैले विधि संगत रुपमा काम गर्ने कुरा यहाँहरुलाई जानकारी गराउँछु ।’