Category: माओवादी केन्द्र

  • माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।

    एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन्। प्रचण्डले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन् ।

  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक आज बस्दैछ ।

    बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

    उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।

  • ओलीलाई माओवादीको प्रश्न- कुन उद्देश्यसँग केन्द्रित भएर सहकार्य तोड्नुभयो ? (भिडिओ)

    ओलीलाई माओवादीको प्रश्न- कुन उद्देश्यसँग केन्द्रित भएर सहकार्य तोड्नुभयो ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोडैको जवाफ दिनुपर्ने जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले ओलीले पटक पटक प्रस्ताव गरेपछि चार महिनाअघि प्रचण्ड सहकार्यका लागि सहमत भएको समेत जनाए।

    उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड प्रचण्डले स्वीकार्नु भयो। त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो ? अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?’

    उनले प्रचण्डले नेतृत्व गरेको सामाजिक न्याय, सुशासनको केन्द्रीय कार्यभारबाट किन भागेको भन्दै प्रश्न गरे। के कारणले सहकार्य सुरु भयो, र के कारणले तोडियो त्यसको जवाफ ओलीले दिनै पर्ने उनको तर्क छ।

  • माओवादीलाई एमालेको जवाफ- नयाँ सरकार संविधानकै धाराबाट बन्छ, बालाजु बाइस धाराबाट होइन (भिडिओ)

    माओवादीलाई एमालेको जवाफ- नयाँ सरकार संविधानकै धाराबाट बन्छ, बालाजु बाइस धाराबाट होइन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारमा जानकै लागि नभएर निश्चित उद्देश्य लिएरमात्रै एमाले सरकारमा जाने जिकिर गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अब बन्ने सरकार संविधानको धाराभित्रैबाट भन्ने बताए ।

    नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा उनले त्यसको जवाफ दिँदै भने, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

    कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ, तर ३ मा गए सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

    राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको एमाले सांसद रिजालले जिकिर गरे । प्रधानमन्त्री प्रचण्ड गतिशील नभएर अस्थिर भएको उनले आरोप लगाए ।

  • माओवादी सांसदको तर्क- अब ७६ (३) अनुसारकै सरकार बन्छ, कांग्रेस-एमालेले धैर्य गर्नुस् (भिडिओ)

    माओवादी सांसदको तर्क- अब ७६ (३) अनुसारकै सरकार बन्छ, कांग्रेस-एमालेले धैर्य गर्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए।

    उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’

    उनले संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा देशलाई लैजान खोजेको हो भने स्वीकार्य नहुने चेतावनी दिए।

  • कांग्रेसको आरोप- सरकार विश्वासको मत लिन्छु भन्छ, सदनप्रति उत्तरदायी बन्दैन (भिडिओ)

    कांग्रेसको आरोप- सरकार विश्वासको मत लिन्छु भन्छ, सदनप्रति उत्तरदायी बन्दैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरू सदनमा नआएकोप्रति असन्तुष्टि जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले बोल्दै बाढी पहिरो, डुबानले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले सदनलाई जानकारी नदिएको बताए।

    उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’

  • जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत, प्रधानमन्त्रीले आफैँसँग राखे १० मन्त्रालय

    जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत, प्रधानमन्त्रीले आफैँसँग राखे १० मन्त्रालय

    काठमाडौं । अशोक राई नेतृत्वको जसपाका ३ मन्त्रीको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले दिएको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।

    यसअघि एमालेका ८ जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।

    अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्रीमात्र छन् ।

  • गठबन्धन फेरिएपछि सदनमा घोचपेच : प्रचण्डको बचाउमा रास्वपा, कांग्रेस-एमालेको सहमतिमा आशंका

    गठबन्धन फेरिएपछि सदनमा घोचपेच : प्रचण्डको बचाउमा रास्वपा, कांग्रेस-एमालेको सहमतिमा आशंका

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमतिपछि बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच सवालजवाफ चलिरहेको छ ।

    स्पष्ट अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन फेस गर्छु भनेर २८ गते विश्वासको मत लिने तयारी गरिरहेको बेलामा सदनमा सांसदहरुबीच आरोप प्रत्यारोप र सवाल जवाफ चलिरहेको छ ।

    कांग्रेस र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले संविधानको अधिकार प्रयोग गर्ने भन्दै विश्वासकोे मत लिने रणनीतिमा अघि बढेका छन् ।

    यद्यपी, यो बीचमा कुनै अर्को उथलपुथल नभए प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । तर, कांग्रेसका नेताहरुसँगको संवाद बढाउँदै विश्वासको मत लिने गृहकार्य थालेकाले कांग्रेस एमालेमा पनि केही अविश्वास देखिन्छ । तर, दुवै दलले सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच भएको सात बुँदे सहमति कार्यान्वयन हुनेमा दृढ रहेको बताउँदै आइरहेका छन् ।

    कांग्रेस एमाले सहमति अनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्षको चुुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको आरोप लगाए । उनले राजीनामा गोजीमा बोकेर हिँड्का छौं भन्ने रास्वपाका मन्त्रीहरुलाई पनि प्रश्न गरे ।

    उनले भने, ‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?’

    उनले प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा खुत्रुकेमा जतनसाथ राखेको टिप्पणी गरे ।

    बर्तौलाले प्रश्न गरेपछि रास्वपा सांसद मनिष झाले कांग्रेस एमालेका नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिए ।

    उनले भने, ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाईहरुकै संख्या छ ।’

    उनले कांग्रेस एमालेको बहुमत हुने सम्भावना भए अझै ४ दिन कर्न आग्रह गरे ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त हुँदा पनि प्रधानमन्त्रीले यही साता विश्वासको मत लिने लाग्दा पनि दुई ठूला दल डराएको टिप्पणी गरे । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन आग्रह गरे। त्यसो त एउटै गठबन्धनमा हुँदा रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोकेको एमालेको अहिले सदनमा आसन फेरिनसाथ आलोचनामा उत्रिएको छ ।

    कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री संलग्न भएको भन्दै छानबिन समितिको माग राख्दा ओलीले त्यसको प्रतिवादमा उत्रिएका थिए । कांग्रेस एमालेको सहमतिमा आशंका बढिरहेको बेलामा कांग्रेसकी सांसद शान्ती बिकले देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई चेतावनी दिइन् ।

    देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताइन् ।

    सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको उनका भनाइ छ । प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो? भन्दै प्रश्न गरिन् ।

    अहिले कांग्रेस एमालेको मिलनलाई माओवादीका सांसद पूर्णबहादुर घर्तीले दुई पार्टी बीचको सहमति दुई दलीय प्रणालीको लागि हो भने मान्य नहुने चेतावनी दिए । संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनको भनाइ थियो ।

    उनले भने, ‘कांग्रेस एमालेबीचको सहमति औपचारिक ढंगले आउन सकेको छैन । त्यो सहमतिको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ । यो पश्चागामी कदम हो ।’

  • एमाले सांसदहरूको एकस्वर- प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुहोस्

    एमाले सांसदहरूको एकस्वर- प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुहोस्

    काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् ।

    सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताए ।

    सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनः स्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरूको भनाई छ ।

    बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले काम गर्न सक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरू भइरहेका भए पनि सरकार कानमा तेल हालेर बसेको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।

    नेकपा (एमाले) का सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए । उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए । बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्न सक्ने उनले बताए ।

    नेकपा (एमाले) का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार, राहत र पुनः स्थापनाको काम सरकारले अगाडि बढाउन नसकेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्ब राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे ।

    उनले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गरे ।

  • अल्पमतका प्रधानमन्त्री संविधानमा प्वाल खोजेर बसिरहनुभएको छ : ठाकुर गैरे (भिडिओ)

    अल्पमतका प्रधानमन्त्री संविधानमा प्वाल खोजेर बसिरहनुभएको छ : ठाकुर गैरे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको टिप्पणी गरेका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गैरेले नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको उनको जिकिर थियो ।

    प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि गैरेले बताए । बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै उनले कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे ।

    गैरेको भनाइ जस्ताको तस्तै

    सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आजपनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ । सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ । बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गीत गाए हुने नि ! आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ । देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि, लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कुनै कारण छैन । त्यो भनेको नैतिक रुपले सरकार लोकतान्त्रिक प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट होइन । सेकेण्डपनि बस्ने कुरा नैतिक आधार रहदैन । त्यसकारणले देशमा आइपरेको विपतको बेलामा, संकटको बेलामा तत्काल नयाँ सरकार बनाएर समस्या समाधान गर्ने प्रक्रियामा अगाडि बढ्न सहजता प्रदान गर्नु राम्रो हुन्छ ।

  • बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

    बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

    हेटौँडा । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।

    एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ गरी पाँच जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

  • सिंहदरबारको ‘एक्सन रूम’ बाट प्रधानमन्त्रीले लिए बाढीपहिरोको क्षतिबारे जानकारी

    सिंहदरबारको ‘एक्सन रूम’ बाट प्रधानमन्त्रीले लिए बाढीपहिरोको क्षतिबारे जानकारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी वर्षासँगै सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन् । साथै विपद्‍बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

    बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीले दुःख जनाउनुको साथै उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

    ‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।’

    सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।

  • लडाकु शिविर घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई राप्रपाको चुनौती (भिडिओ)

    लडाकु शिविर घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई राप्रपाको चुनौती (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

    भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफ्नो समर्थन रहने बताए ।

    उनले भने, ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ ।’

    जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्रीलाई स्वागत गर्ने उनले बताए । जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे ।

    आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।

    उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ।’

    उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोई ?’

    उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि बताए ।

    उनले भने, ‘जसलाई जे मन लाग्यो त्यही गरेको छ । त्यही भएर संविधान संशोधन गरौँ । यो संविधान गीता होइन । यो संविधान कुरान होइन यो संविधान बाइबल होइन । यो संविधान देशको हितमा छ भने संशोधन गरेर अगाडि बढौँ छैन भने धाराहरु कटौँती गरौँ ।

  • कांग्रेस र एमालेबीच भएको सम्झौता सार्वजनिक गर्न माओवादीको चुनौती (भिडिओ)

    कांग्रेस र एमालेबीच भएको सम्झौता सार्वजनिक गर्न माओवादीको चुनौती (भिडिओ)

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद माधव सापकोटाले दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक रहेको बताए ।

    सांसद सापकोटाले भने, ‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने ? मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो ? सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो ? यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ।’

    माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको भन्दै गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको आरोपसमेत लगाए ।

  • एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा, बहानाबाजीमा देशलाई अल्झाइरहेको निष्कर्ष (भिडिओ)

    एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा, बहानाबाजीमा देशलाई अल्झाइरहेको निष्कर्ष (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन: राजीनामा दिएर बाटो खोलिदिन अनुरोध गरेको छ । आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको प्रचण्ड सरकारले विभिन्न निर्णय गर्न थालेको भन्दै बैठकले आपत्ति जनाएको बताए ।

    उनले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेका छौं । अहिले सरकारले विभिन्न नर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन । राजीनामा पहिलो माग हो । यदि नदिए विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’

    बर्तौलाले विश्वासको मत भन्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहेको भन्दै प्रश्न गरे ।

    उनले भने, ‘१० दिन, ७ दिन के निर्णय गर्न प्रधानमन्त्रीले देशलाई कुराउँदै हुनुन्छ ? के बहानामा के गर्न अल्झाइरहनुभएको छ ? यो अनुचित कार्य हो । एक दिनको समय पनि खेर नफाली राजीनामा दिनुपर्छ ।’

  • सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नगरेसम्म देश नबन्ने बताएका छन् ।

    १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतिक दलले संरक्षण गरेको स्वीकारे ।

    उनले भने, ‘राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा किन समस्या आयो ? अनुगमन भएन । सहकारी सञ्चालकहरु राजनीतिक दलमा छन् । उनीहरुलाई जोगाउन नेताहरु लाग्ने भइहाल्यो । प्रहरी पनि त्यहीअनुसार मिलाइहाल्छन् । अनुसन्धान गर्न प्रहरी पठायो, जसले अनुसन्धान गर्न खोज्यो, त्यसलाई फाल्दिहान्छन् । त्यसैले यहाँ राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ नि !’

  • सरकार गठन प्रक्रिया ७६ (३) मा जानसक्ने आशंका गरेका शेखर किन पुगे बालुवाटार ?

    सरकार गठन प्रक्रिया ७६ (३) मा जानसक्ने आशंका गरेका शेखर किन पुगे बालुवाटार ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

    प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताए। उनले नेपाल प्रेससँग भने, ‘उहाँले बोलाउनुभएपछि म गएको हुँ। समासायिक विषयमा कुराकानी भयो।’

    कांग्रेस र एमाले मिलेर सरकार बनाएर अघि बढ्ने सहमति भइरहेको बेलामा नेता कोइराला बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कांग्रेससँगको सहमति अनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्दैछन्।

    तर, आफू अल्पमतमा हुँदा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बाटो रोजेपनि ओलीलाई प्रधानमन्त्री बन्न छेक्नसक्ने विश्लेषण भइरहेको छ।

    प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन्। सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ। यद्यपि, कांग्रेसले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ।

    तर, सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् चासो पनि छ। राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

    यो अन्योलताबीच हिजो नेता कोइरालाले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकार गठन प्रत्रिया ७६ (३) मा जानसक्ने आशंका व्यक्त गरेका थिए।

    उनले भनेका थिए, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ? भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस्।’

    यो पनि पढ्नुहोस् :

  • प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

    प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

    कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरेका छन् ।

  • विश्वासको मत लिन तम्सिएका प्रचण्डसँग ६३ सांसद, कांग्रेस-एमाले गठबन्धनकै पक्षमा साना दल

    विश्वासको मत लिन तम्सिएका प्रचण्डसँग ६३ सांसद, कांग्रेस-एमाले गठबन्धनकै पक्षमा साना दल

    काठमाडौं । कांग्रेस-एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । सत्ता समीकरणको सबैभन्दा ठूलो घटक एमालेले समर्थन फिर्ता लिएर राजीनामा दिन आग्रह गर्दापनि प्रचण्डले सदनबाट विश्वासको मत लिने अडानमा छन् ।

    तर, कांग्रेस-एमालेबीचको सत्ता सहकार्य सहमति दुई पार्टीले संस्थागत निर्णय नै गरेर अघि बढिसकेकाले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । यद्यपि, राजीनामा नदिएर ओलीलाई सहजै प्रधानमन्त्री हुन नदिन प्रधानमन्त्रीले संसद फेस गर्न खोजेको विश्लेषण भइरहेको छ ।

    प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन् । सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ । यद्यपि, कांग्रेसले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ । तर, सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा समात्छन् चासो पनि छ ।

    तर, कांग्रेस र एमाले यही सहमतिअनुसार अघि बढे संसदमा प्रचण्डलाई माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद समर्थन रहने देखिएको छ । यी दुवै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेर अहिलेसम्म सरकारमै सामेल छन् ।

    २७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमाले मिल्दा १६७ सीट पुग्छ । तर, दुई तिहाइका लागि १८४ जना सांसदको समर्थन चाहिन्छ । साना दलहरूको समर्थन पाउँदा सहजै पुग्ने देखिन्छ । कांग्रेससँग ८८, एमालेसँग ७९ (टोपबहादुर निलम्बित), जसपा ७, जसपा नेपाल ५, जनमत ६, लोसपा ४ र नाउपा ४ अहिलेको गठबन्धनको पक्षमा छ । १४ सांसद रहेको राप्रपा पनि सकारात्मक छ ।

    प्रतिनिधिसभामा दुईतिहाइ पुगेपनि राष्ट्रियसभामा कांग्रेस एमालेलाई दुईतिहाइ पुग्दैन । राष्ट्रियसभामा दुईतिहाइको लागि माओवादी विपक्षीमा बसे नेकपा एस निर्णायक बनेको छ ।

    मधेश केन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित अधिकांश साना दलहरूले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने बताइसकेका छन् ।

    प्रतिनिधिसभाको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि कांग्रेस एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले यही गठबन्धनप्रति सरकारात्मक छ । अहिलेसम्म सदमा एक-एक सांसद रहेका आम जनता पार्टी (आजपा), नेमकिपा, राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसद कतै खुलेका छैनन् ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ समीकरणलाई आफ्नो साथ र समर्थन रहने बताउँछन् । सरकारलाई समर्थन गरेपनि सरकारमा जानेबारे आफूले नसोचेको बताए।

    उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

    उपेन्द्रबाट फुटेर बनेको अशोक राई नेतृत्वको जसपाले पनि कांग्रेस एमाले गठबन्धनलाई सहयोग गर्ने तयारी गरेको छ । महासचिव मोहम्मद इस्तियाक राईले नयाँ गठबन्धनलाई सघाउने औपचारिक निर्णय पार्टीले गर्न लागेको बताए ।

    पार्टीको औपचारिक निर्णयपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाउने तयारीमा रहेको उनको भनाइ छ । जसपाबाट स्वास्थ्यमन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन् ।

    यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि नयाँ गठबन्धनलाई सघाउने औपचारिक निर्णय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले नै नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।

    उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन । तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’

    सीके राउत नेतृत्वको जनमतले पनि नयाँ सरकारमा सहभागी संकेत गरिसकेको छ । एमाले-कांग्रेस मिल्दा अरु प्रदेशमा सरकार गठनको लागि अन्य दलको आवश्यक नपरेपनि मधेशमा गणित पुग्दैन ।

    दुई दलबीच मधेशको नेतृत्व मधेश केन्द्रित दललाई नै दिने सहमति भएको छ । अहिले मधेश सरकारको नेतृत्व जनमतले गरिरहेको छ । त्यसैले यो सरकार टिकाउनको लागि पनि जनमतले नयाँ समीकरण रोज्ने तयारी गरेको छ । त्यसका लागि कांग्रेस एमाले पनि सकारात्मक भएको बताइन्छ ।

    आफ्नो पार्टीले उठाउँदै आएको संविधान संशोधनको मुद्दा अहिले कांग्रेस एमालेले पनि उठाएपछि आफूहरू सकारात्मक रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले सरकारमा सहभागी हुने/नहुने भन्ने कांग्रेस-एमालेको विस्तृत धारणा आएपछि पार्टीको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

    हिजो नाउपाका नेता रेशम चौधरीले पनि बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

  • माधव नेपाल भन्छन्- प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ (भिडिओ)

    माधव नेपाल भन्छन्- प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए ।

    सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने भन्दै नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

    उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ ।’

    अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेरमात्रै अघि बढ्न आवश्यक रहेको बताए ।

  • प्रधानमन्त्रीलाई राजीनामा दिन गगनको सुझाव (भिडिओ)

    प्रधानमन्त्रीलाई राजीनामा दिन गगनको सुझाव (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टरूपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

    समावेशी र समानुपातिक प्रतिनिधित्वलगायतका विषयका साथै संघीयतालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेको थापाको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस र एमालेबीच नयाँ सहकार्य शुरू गरिएको पनि उनले बताए ।

    थापाले एमालेसँगको नयाँ गठबन्धन बनाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण उनको नेतृत्वको सरकार ढलेको जिकिर गरे । संविधान संशोधनका लागि नेपाली कांग्रेस र एमालेका संख्याले मात्र नपुग्ने भएकाले अन्य दलहरूसहितको राष्ट्रिय सहमतिको सरकार बनाउने उनको भनाइ छ ।

  • राजीनामा बोकेर गएका रास्वपाका नेताहरुलाई प्रधानमन्त्रीले के भने ? (भिडिओ)

    राजीनामा बोकेर गएका रास्वपाका नेताहरुलाई प्रधानमन्त्रीले के भने ? (भिडिओ)

    काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।

    प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।

    प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ ।

    आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।

  • प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपा तत्काल सरकारबाट बाहिरिने सम्भावना टरेको दावी

    प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपा तत्काल सरकारबाट बाहिरिने सम्भावना टरेको दावी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।

    बैठकमा सहभागी रास्वपाका एक नेताले तत्काल मन्त्रीहरुको राजीनामा आउने सम्भावना नरहेको बताए ।

    रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका छन् ।

    एमाले सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबीचको भेटले तत्काल रास्वपा सरकारबाट नबाहिरिने सम्भावना बढेको उनले बताए ।

    भेटमा रवि लामिछाने,स्वर्णिम वाग्ले,डिपी अर्याल,सन्तोष परियारलगायत नेता सहभागी छन् ।

  • राजीनामा नदिएर कांग्रेस-एमालेको सहमतिभित्र खेल्न खोज्दैछन् प्रचण्ड ?

    राजीनामा नदिएर कांग्रेस-एमालेको सहमतिभित्र खेल्न खोज्दैछन् प्रचण्ड ?

    काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मिलेर सरकार बनाउने सहमति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने मूड बनाएका छैनन् ।

    कांग्रेस र एमाले दुवैले पार्टीबाट औपचारिक निर्णय गरेर राजीनामा दिन आग्रह गरिसकेका छन्, तर प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेको सहमतिलगत्तै बसेको पार्टी पदाधिकारी बैठकबाट विश्वासको मतको सामना गरेर जाने निर्णय गराए ।

    कांग्रेस र एमाले मिलेपछि सरकार ढल्ने निश्चित भएपछि प्रचण्डले रणनीतिक रुपमा विश्वासको मत लिने मनसाय देखाएका छन् । एमालेले तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने षड्यन्त्र गरेकाले पार्टीले त्यसको प्रतिवाद गर्ने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

    उनले थपे, ‘दुई पार्टीले सहमति गर्ने पछि राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर हुन्छ ? तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने भएको छ, त्यो षड्यन्त्र हो । त्यसको प्रतिवाद गर्ने कुरा भएको छ ।’

    उनले आफूहरु रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने बताए ।

    सरकार ढाल्ने भन्दा पनि माओवादीले कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने सहमतिप्रति चर्को असन्तुष्टि जनाइरहेको छ । दुई ठूला दलबीचको अस्वाभाविक मिलनले देश पश्चगमनतर्फ जाने संकेत गरेको माओवादीको निष्कर्ष छ ।

    कांग्रेस र एमालेबीच मिलेर अघि बढ्ने सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीबाट सरकारमा पठाएका मन्त्री पनि फिर्ता बोलाइसकेको छ ।

    सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर अघि बढ्ने महासचिव देव गुरूङले बताए ।

    काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘एउटै समीकरणभित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ । विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन । राजीनामा स्वेच्छा हो । एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो ।’

    प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेकाले सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने उनको जिकिर छ । फेरि २ कै सरकार बनाएर संविधानमाथि ‘कू’ गर्न खोजिएको महासचिव गुरुङले आशंका व्यक्त गरे ।

    त्यो अवस्थामा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । कांग्रेसले भने ओलीलाई ७६ (२) अनुसार नै प्रधानमन्त्री बनाउने औपचारिक निर्णय गरिसकेको छ । तर, सरकार आह्वान राष्ट्रपतिको हातमा हुन्छ । कांग्रेस फेबरकै राष्ट्रपति भएकाले नयाँ सहमतिअनुसार नै सरकार आह्वान हुनसक्ने बताइन्छ ।

    उनले मध्यरातमा लुकीलुकी संविधानका प्रावधान मिचमाच गर्ने, संविधान उल्लंघन गर्ने काम गरेको आरोप लगाए । उनले मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन खोजेको आरोप लगाए ।

    माओवादी सचिव दीनानाथ शर्माले पनि विश्वासको मत लिने प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको जिकिर गरे ।
    उनले भने, ‘राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ, त्यो उहाँको अधिकारको कुरा हो ।’

    ओली देउवासँग मिल्ने देखेपछि प्रचण्डले गठबन्धन जोगाउन अहिलेकै समीकरणबाट प्रधानमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए, तर ओलीले आफू कांग्रेससँग मिल्ने सहमति भइसकेको बताएपछि प्रचण्ड थप रुष्ट छन् ।

    माओवादीका एक नेताले भने, ‘उहाँलाई प्रधानमन्त्री बन्न मन भए यहीबाट बन्नुस् भन्दा मान्नुभएन । अहिले उहाँहरुले भन्दैमा सहजै किन राजीनामा दिने ? संविधानअनुसार समर्थन फिर्ता लिए पनि ३० दिनको समय प्रधानमन्त्रीसँग छ । यो अवधिमा जे पनि हुनसक्छ ।’

    त्यसो त ओलीले साथ छाड्ने देखेपछि प्रचण्डले कांग्रेससँग पनि छलफल नगरेका होइनन् । यसअघि पनि पटक पटक धोखा पाइसकेकाले प्रचण्डप्रति देउवाले विश्वास गरेनन् ।

    अब कांग्रेस एमालेसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरेर अघि बढ्ने पक्षमा रहेको प्रमुख सचेतक रमेश लेखकले बताए । साना दलहरू मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरता बढेकाले एमालेसँग मिलेको उनको भनाइ छ ।

    उनले भने, ‘हामीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीलाई बाटो खोलिदिनुस् भनेका छौं । बहुमत एकातिर गइसक्यो । अब उहाँले खेल्नको लागि विश्वासको मत लिन्छु भन्नुहुन्छ भन्ने लाग्दैन । उहाँ बुद्धिमान हुनुहुन्छ । बहुमत एकातिर आइसक्यो । अब खेलेको अर्थ छैन । उहाँले परिस्थितिलाई ठीक ढंगले विश्लेषण गर्नुहुन्छ ।’

    प्रचण्डले नै वैकल्पिक सरकार बनाउने गृहकार्य गरेकाले अहिलेको स्थिति आइपुगेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    हिजो बसेको सचिवालय बैठकपछि उनले भने, ‘हामीले सत्ता समीकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषय थिए, तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाडि बढाइरहनुपर्छ भन्नेमा थियौं, तर यसबीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामु केही प्रश्न खडा भयो ।’

    प्रचण्डले कसैलाई सल्लाह नगरी कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल थालेको उनको जिकिर छ ।

    उनले थपे, ‘त्यसको औचित्य र आवश्यकता के हो ? गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो, तर १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वाभाविक हो, तर, यसपालि कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।’

    तर, माओवादीका नेताहरुले अहिले प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउन पहल नगरेको दाबी गर्छन् ।

    महासचिव गुरुङ भन्छन्, ‘हामीले पहिला भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ, यथार्थमा होइन । दुई दलबीच कुरा मिलेको छैन । एउटा दलले राष्ट्रिय सहमति भन्दा अर्को दल राष्ट्रिय सहमतिको होइन भन्छ ।’

    एमालेले कुनै तथ्यविना नै समीकरण छाडेकाले आशंका उब्जिएको उनको भनाइ छ ।

    त्यसो त माओवादी केन्द्रका नेता युवराज दुलाल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण बताउनुपर्ने तर्क गर्छन्।

    उनले भनेका छन्, ‘सरकारप्रतिको विश्वास छैन भने समर्थन फिर्ता लिने हो । समर्थन फिर्ता लिने र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । कसैको सजिलोको लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुनै कानूनी व्यवस्था छैन । कानूनबमोजिम चल्नु नै नैतिकता र संवैधानिक जिम्मेवारी हो ।’

    उनले के कारणले एमालेले हिजो समर्थन गर्‍यो र के कारण आज समर्थन फिर्ता लिनुपर्‍यो, त्यो भन्नुपर्दैन भन्दै प्रश्न गरे ।

    त्यसो त माओवादीका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि समीकरण फेरिएको आरोप लगाउँदै आएका छन् । यो प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी पनि जोडिएकी छन् ।

    नेता दुलालले थपे, ‘सरकार त बहुमत जता हुन्छ, उसैले चलाउने हो । यसमा माओवादी केन्द्रको कुनै आपत्ति हुने कुरै भएन । तेस्रो दल भएर डेढ वर्ष सरकारको नेतृत्व गर्नु पनि राजनीतिक पहल तथा राज्यप्रतिको जिम्मेवारी थियो र सरकारबाट जे गरियो र गर्न प्रयत्न भयो, त्यो देशका सचेत र असल नागरिकले कहिल्यै भुल्ने पनि छैनन् ।’

    माओवादीका अर्का नेता लेखनाथ न्यौपानेले पनि झा पक्राउ परेपछि कांग्रेसको हेडक्वाटर पनि तानिने निश्चित भएपछि सरकार ढालेको जिकिर गरेका छन् ।

    उनले भनेका छन्, ‘कांग्रेस सरकार बाहिर थियो, ऊ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन, बेचन झा गिरफ्तारीसँगै कांग्रेसको हेडक्वाटर पनि तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।’

    त्यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि भ्रष्टाचारको ठूलो फाइल खोल्नासाथ समीकरण फेरिएको बताएका छन् ।

    नेता न्यौपानेले ओलीले प्रचण्डसँग नेकपाकालको बदला लिएको जिकिर गरेका छन् ।

    उनले थपे, ‘एमालेकै पहलमा बनेको पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे, सम्भावनासमेत थियो, अब त उनलाई प्रम बनाउने कांग्रेसको ललीपप प्रचण्डले संसदको सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियो । किनकि संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसक्दा स्वतः प्रक्रिया ७६ (३) मा प्रवेश गर्छ, जुन ओली प्रतिकूल बन्छ ।’

    कांग्रेस-एमालेलाई २०७२ को भन्दा २०४७ सालको संविधान बढी मन परेको जिकिर गर्दै उनले संविधान संशोधनको नाममा संविधानसभाले बनाएको संविधानलाई अन्तरवस्तुका हिसाबले २०४७ कै संविधानमा फर्काउने पश्चगामी मानसिकताले काम गरेको बताए ।

  • माओवादीको आरोप- एमाले वामपन्थीहरूसँगको सहकार्य छाडेर दक्षिणपन्थी बाटोमा लाग्यो (भिडिओ)

    माओवादीको आरोप- एमाले वामपन्थीहरूसँगको सहकार्य छाडेर दक्षिणपन्थी बाटोमा लाग्यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको जिकिर गरेका छन्।

    राजनीतिक घटनाक्रमबारे संवाद डबलीमा आयोजित साक्षात्कारमा बोल्दै एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको बताए।

    उनले भने, ‘अहिले संविधान संशोधनको चर्चा गरिएको छ। यो उपलब्धिलाई उल्ट्याएर ०४७ सालको संविधानको दिशामा लान खोजिएको आशंका उत्पन्न भएको छ। त्यसैले यो पश्चगमनको दिशामा रहेको प्रष्ट हुन्छ।’

    उनले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्दा पनि सहमति नजनाएका दलहरूले अहिले यो विषयलाई उठाएकोप्रति असन्तुष्टि जनाए।

    उनले भने, ‘हामीले भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ। यथार्थतामा होइन। दुई दलबीच कुरा मिलेको छैन। एउटा दल राष्ट्रिय सहमति भन्दा अर्को दल एउटै राष्ट्रिय सहमतिको होइन भन्छ।’

    वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाए। टिआरसी विधेयकलाई रोक्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको देखिएको जिकिर गरे।

  • प्रधानमन्त्री बुद्धिमान हुनुहुन्छ, अब कांग्रेस-एमालेसँग खेल्नुको अर्थ छैन : रमेश लेखक (भिडिओ)

    प्रधानमन्त्री बुद्धिमान हुनुहुन्छ, अब कांग्रेस-एमालेसँग खेल्नुको अर्थ छैन : रमेश लेखक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।

    आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साना दलहरू मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरता बढेकाले एमालेसँग मिलेको बताए।

    उनले भने, ‘हामीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीलाई बाटो खोलिदिनुस् भनेका छौँ। बहुमत एकतातिर गइसक्यो। अब उहाँले खेल्नको लागि विश्वासको मत लिन्छु भन्नुहुन्छ भन्ने लाग्दैन। उहाँ बुद्धिमान हुनुहुन्छ। बहुमत एकतिर आइसक्यो। अब खेलेको अर्थ छैन। उहाँले परिस्थितिलाई ठिक ढंगले विश्लेषण गर्नुहुन्छ।’

  • प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह- मार्ग प्रशस्त गरिदिनुस् (भिडिओ)

    प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह- मार्ग प्रशस्त गरिदिनुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

    आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

    उनले भने, ‘सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्री मार्ग प्रशस्त गर्नुपर्छ। उहाँले अब मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। अरू दलको पनि समर्थन घोषणा भइरहेको छ। त्यसैले हामीले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ।’

    यस्तै, महामन्त्री विश्वप्रकाश शर्मा पनि एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना रहेको बताए।

  • सरकार ढल्ने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा १ घण्टा छलफल

    सरकार ढल्ने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा १ घण्टा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन्।

    सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन्।

    कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन्।

    आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो।

    रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ।

  • प्रचण्ड नेतृत्वको संघीय सरकारभन्दा पहिले जोखबहादुर नेतृत्वको लुम्बिनी सरकारलाई संकट

    प्रचण्ड नेतृत्वको संघीय सरकारभन्दा पहिले जोखबहादुर नेतृत्वको लुम्बिनी सरकारलाई संकट

    रुपन्देही । संघमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्र नेतृत्वको लुम्बिनी सरकार संकटमा परेको छ ।

    केन्द्रको समीकरण अनुसार अब सत्तारुढ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ । त्यसो गर्दा पनि केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने ३० दिनको समय पाउने भए पनि लुम्बिनीमा मुख्यमन्त्री महराले त्यो समय अगाडि नै विश्वासको मतको सामना गर्नुपर्ने छ ।

    असार ९ गते नै उनलाई यसअघि समर्थन गरेकी जसपा नेपालकी सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिइसकेकाले ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने भएकाले प्रचण्डभन्दा पहिले नै मुख्यमन्त्री महराले सरकार छाड्नुपर्ने भएको छ ।

    केन्द्रमा एमाले–काँग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गृहकार्य सुरु गरेसँगै लुम्बिनीमा पनि महराले विश्वासको मतमा बहुमत पुराउने सम्भावना छैन ।

    जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिँदै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराइसकेकी छन् । तर सोही पार्टीका संसदीय दलका नेता भण्डारीलाल अहिर कृषि मन्त्री रहेका छन् ।

    समर्थन फिर्ता लिएकी काफ्लेले जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी असार ९ मा नै मुख्यमन्त्री महरा र सभामुखलाई दिइसकेकी छन् ।

    नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले मुख्यमन्त्रीले केन्द्रको समीकरण फेरिएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने र नभए असार ९ को मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रष्ट रहेकाले अन्य प्रदेशमा भन्दा पहिले नै लुम्बिनीमा नयाँ सरकार बन्ने बताए ।

    एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले यसअघि सरकारमा रहेको पार्टीका सांसदले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने भएकाले केन्द्रमा भन्दा पहिले लुम्बिनीमा अहिलेको सरकार फेरिने निश्चित भएका जनाए ।

    ‘एक सांसद भए पनि दलको हिसाबले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ, उहाँले समर्थन फिर्ता लिएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्छ’ उनले भने ।

    एमालेसहित ५ दलका ४८ सांसदहरूको समर्थनमा चैत २३ मा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    चैत २५ मा शपथ लिएका उनले चैत ३० गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले विश्वासको मत दिएका थिए । जसपाका सांसद काफ्ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा अहिले मुख्यमन्त्री महरालाई ४७ जना सांसदको समर्थन छ ।

    सरकारलाई एमालेले मात्रै साथ छाड्दा मुख्यमन्त्री महरा अल्पमतमा पर्नेछन् । ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र नेपाली काँग्रेसका २७ सांसद गरी ५६ सांसद हुन्छन् । सरकार निर्माणका लागि ४४ भए पुग्छ । केन्द्रको समीकरण फेरिएसँगै एमाले र कांग्रेस दुवैले माथिको निर्णय कुरेर बसेका छन् । सोमबार रातीको सहमतिअनुसार लुम्बिनीको नेतृत्व एमालेले पाउने भएपछि प्रदेशमा त्यही अनुसार तयारी भएको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताए ।

    नेपाली काङ्ग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले नयाँ समीकरणअनुसार अघि बढ्ने बताउँदै यसका लागि दलका नेता काठमाडौं जान लागेको जानकारी दिए ।

    माओवादीका प्रमुख सचेतक ईन्द्रजित थारुले आफूहरू प्रतिपक्षमा बस्न तयार भएको बताउँदै यदि सहमतिमा लेखिएको संविधान संशोधनको विषय हटाए राष्ट्रिय सहमतिमा जाँदा पनि फरक नपर्ने धारणा व्यक्त गरेका छन् ।

  • कांग्रेस-एमालेको मिलनपछि देउवासँग सानेपामा सँगै देखिए प्रचण्ड र ओली (तस्बिरहरू)

    कांग्रेस-एमालेको मिलनपछि देउवासँग सानेपामा सँगै देखिए प्रचण्ड र ओली (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्।

    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन्।

    कांग्रेस र एमालेबिच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिएका हुन्। हिजो मध्यराती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

    पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ। कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन्।

    २०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए। उनको निधन २०६६ साल चैत ७ गते भयो।

  • माओवादीको निष्कर्ष: कांग्रेस-एमाले मिलन अस्वाभाविक, देश पश्चगमनतर्फ जाने संकेत (भिडिओ)

    माओवादीको निष्कर्ष: कांग्रेस-एमाले मिलन अस्वाभाविक, देश पश्चगमनतर्फ जाने संकेत (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्ने विषयमा सहमति जनाएपछि आपत्ति जनाएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले कांग्रेस र एमालेको मिलन संवैधानिक मूल्यमान्यता विपरीत भएको निष्कर्ष निकालेको हो ।

    बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो विषयमा प्रारम्भिकरूपमा ब्रिफिङ भएको छ, घटनाक्रमबारे अध्ययन हुँदैछ । अप्रत्यासितरूपमा घटनाक्रम अगाडि आएका छन् । यो त्यति स्वाभाविक र संवैधानिक मूल्यमान्यतामा आधारित भएर आएजस्तो लागेको छैन ।’

    संसदको पहिलो र दोस्रो दल मिल्नु प्राकृतिक नहुने उनको तर्क छ ।

    उनले थपे, ‘संविधान संशोधनको कुरा पनि आएका छन् । संविधानमा समानुपातिकलाई चलाउने कुरा आएको छ । त्यो संविधानको महत्वपूर्ण अंग हो । संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख छ ।’

    यो सहकार्य बेठीक छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए ।

    ‘यो स्वाभाविक र प्राकृतिक छैन । संविधानलाई राम्रोसँग अनुभव गर्न पाइएको छैन । यो सरकार बनेदेखि सामाजिक न्याय र सुशासनमा उल्लेख्य काम भएका छन् । भ्रष्टाचारविरुद्ध इतिहासमै नआएको कुरा बाहिर ल्याएको छ । ललिता निवास, भुटानी शरणार्थी, सुनकाण्डलगायतको फाइल खुलेका छन् ।’

    उनले यो अप्रत्यासितरूपमा कांग्रेस एमालेको मिलन भएकाले सत्ता समीकरणमा भएका अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने बताए ।

    यस्तै, सचिव देवेन्द्र पौडेलले एमालेले तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने षड्यन्त्र गरेकाले त्यसको प्रतिवाद गर्ने बताए ।

    उनले थपे, ‘दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर हुन्छ र ? तुरुप एउटा फ्याल्ने काम अर्को गर्ने भएको छ, त्यो षड्यन्त्र हो त्यसको प्रतिवाद गर्ने कुरा भएको छ ।’

    अब दुई/चार दिन घुर्काउने हो कि ३० दिनसम्म जाने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘प्रतिनिधिसभामा जसले बहुमत सिद्ध गर्नसक्छ उसैको सरकार हुन्छ । घुर्काउने भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्न हामी पहल गर्छौँ । संविधानको संशोधन के विषयमा गर्न लागिएको हो ? के आवश्यकता पर्‍यो ? त्यो पनि बुझ्न बाँकी छ ।’

  • प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय (भिडि‌ओ)

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय (भिडि‌ओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने भएका छन् ।

    बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

    उनले दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर नमिल्ने बताए ।

    कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

    राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

  • प्रचण्ड लक्षित बाबुरामको ट्वीट- सबैलाई सधैँभरी ठग्न सकिन्न

    प्रचण्ड लक्षित बाबुरामको ट्वीट- सबैलाई सधैँभरी ठग्न सकिन्न

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् ।

    सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘चर्चित भनाइ छ – केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

    माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले पछिल्लो समय प्रचण्डको आलोचनामा खर्चिरहेका छन् ।

    भट्टराईले केही दिनअघि निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोपसमेत लगाएका थिए ।

  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

    काठमाडौं । मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ ।

    यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमवार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो । सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अश्वीकार गरेको जानकारी प्रचण्डले पार्टीका नेताहरुलाई गराएका छन् ।

    बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

  • कांग्रेस एमाले मिलनबारे माओवादीको प्रतिक्रिया–गणतन्त्र राखेर २०४७ को संविधान फर्काउने षड्यन्त्र

    कांग्रेस एमाले मिलनबारे माओवादीको प्रतिक्रिया–गणतन्त्र राखेर २०४७ को संविधान फर्काउने षड्यन्त्र

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन्।

    एमालेले आजै समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पाटीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्।

    माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले एमालेबाट कांग्रेससँगको सहमतिबारे अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको बताए।

    उनले भने, ‘एमालेबाट समर्थन फिर्ता गरेको खबर गरेको छैन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उहाँले विश्वासको मत पाउनुभएन भने संविधानका धारा ७६ को ३ मा जान्छ त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो।’

    प्रधानमन्त्रीले राजीनामा दिनुुहुन्छ कि विश्वासको मतको सामना गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो सल्लाह हुँदैछ, राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ त्यो उहाँको अधिकारको कुरा हो।’

    त्यसबारे रणनीति बनाउन प्रधानमन्त्री प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक पनि राखेका छन्। उनले एमाले र कांग्रेस मिलेर २०४७ सालको संविधानतिर फर्काउनतिर लागेको आरोप लगाए।

    उनले भने, ‘संविधान संशोधन गरेर समानुपातिक समावेश हटाउने कुरा आएका छन्। जनताले प्राप्त गरेको उपलब्धिलाई फर्काउने प्रतिगामी कदम नै हो। संविधान संशोधन गर्ने, समानुपातिक समावेशि हटाउने, निर्वाचन प्रणाली हटाउन भनेको छ, गणतन्त्र राख्ने ०४७ सालको संविधानमा फर्काउनेतिर गयो।’

    उनले एमाले र कांग्रेस मिलेपछि अब माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। कांग्रेस र एमालेबीच ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्नेदेखि संविधान संशोधन गर्ने सहमति बनेको छ।