Category: माओवादी केन्द्र

  • कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न- १० हजारलाई रोजगारीमा जोड्ने निर्णय किन गुमनाम भयो ?

    कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न- १० हजारलाई रोजगारीमा जोड्ने निर्णय किन गुमनाम भयो ?

    सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले वार्षिक १० हजारलाई रोजगारीमा जोड्ने निर्णय गुमनाम भएको बताएका छन् ।

    सोमबार मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभासमक्ष राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा शर्माले वार्षिक १० हजारलाई रोजगारीमा जोड्ने निर्णय कानून निर्माण गर्दागर्दै ढिला भएको बताए ।

    शर्माले प्रश्न गरे, ‘१० हजारलाई रोजगारीमा जोड्ने निर्णय किन गुमनाम भयो ? कति बजेट छुट्याइयो, जवाफ छ ? लघु वित्तीय बैंकका कुरा किन अगाडि बढाइएन, जवाफ छ ? तपाईंको जवाफ कर्णालीका जनताले लुटेर, सबै बेचेर खाए, देश नाङ्गो बनाए भन्ने हो ?’

    कर्णाली पिछडिएको मात्रै नभएर पछाडि पारिएको शर्माले बताए । प्रदेशका कतिपय योजना अलपत्र रहेको र त्यसलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ ।

    ‘राज्यको तलब र जनताको पसिना खाएर कर्मचारी संघीय मन्त्रालयको बार्दलीमा घाम ताप्दै बस्छन् । प्रदेश भने खाली हुने, यो प्रवृत्तिलाई यस बलियो सरकारले पूरा गर्ला कि ?’, पूर्वमुख्यमन्त्री शर्माले भने, ‘वित्तीय, प्रशासनिक, कानूनी संघीयता कहाँ छ ? उठ भने उठ्नुपर्ने, बस भने बस्नुपर्ने, यो बाध्यतामा हामी किन छौं ?’

    शर्माले भने हाम्रो गतिविधिले संघीयताको रक्षा गर्न नसक्ने बताए । गठबन्धन हुने कुरा नयाँ नभएको भन्दै उनले जनमतअनुसार गठबन्धन कहिले यता र कहिले उता हुने हुँदा यसलाई नौलो रुपमा लिन नहुने बताए ।

  • सभापति पोखरेलमाथि प्रश्न उठाउँदै माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व (भिडिओ)

    सभापति पोखरेलमाथि प्रश्न उठाउँदै माओवादीले माग्यो सार्वजनिक लेखा समितिको नेतृत्व (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले सभापति पोखरेल यसअघिको निर्णय उल्ट्याउने प्रयासमा रहेको बताए ।

    उनले भने, ‘सार्वजनिक लेखा समितिका सभापतिले उपसमितिले दिएको स्पष्ट निर्णय कार्यान्वयन गराउनुपर्ने हो, तर सबै निर्णयहरुलाई लत्याएर अनावश्यक रुपमा निर्णय उल्ट्याउने उद्देश्यका साथ अनैतिक छलफल गरिराख्नुभएको छ । बक्यौता तिर्न बाँकी उद्योगीसँग उहाँले रहस्यय भेट गर्नुभयो । भिभान्त होटेल कुनै सरकारी कार्यालय हो ? लेखा समितिलाई सिंहदरबारमा कार्यालय छुट्याइएको छ । उहाँले होटेललाई कहिलेदेखि कार्यालय बनाउनुभयो !’

    उनले सभापतिको विषयमा उठेको प्रश्नबारे सभामुख र सदनको पनि ध्यानाकर्षण गराए ।

    उनले भने, ‘संसदीय लेखा समिति विपक्षी दलको हुन्छ, यसले पारदर्शी काम गर्छ भने सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् ।

  • माओवादीमा पदाधिकारी र स्थायी कमिटी भंग गर्नेबारे छलफल, पार्टीभित्र दबाबमा प्रचण्ड

    माओवादीमा पदाधिकारी र स्थायी कमिटी भंग गर्नेबारे छलफल, पार्टीभित्र दबाबमा प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले प्रस्ताव राखे, ‘पार्टी पदाधिकारी सबैले अध्यक्षलाई राजीनामा बुझाऔं। ’

    गत शुक्रबारदेखि पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी नेतृत्वसँग असहमति जनाउँदै लिखित रूपमै राजीनामासहितको प्रस्ताव अघि सारेका थिए।

    उनको भनाइको सार थियो, ‘अहिले पार्टीलाई अवसर प्राप्त भएको छ। अब विधिअनुसार पार्टी चलाऔं, जनतामा जाऔं। पदाधिकारी हाम्रो विधानमा १५ जना मात्रै भनिएको छ। हामी २२ जना छौं त्यसैले सामूहिक राजीनामा दिएर नयाँ ढंगले अघि बढौं।’

    उनले अरुले पद त्याग्न तयार नभएपनि आफू उपमहासचिव छाड्न तयार रहेको बैठकमा लिखित असहमतिपत्र राख्दै भनेका थिए। कांग्रेस र एमाले मिलेर सत्ताबाट प्रतिपक्षमा पुगेको माओवादीका अध्यक्ष प्रचण्डले यो पटक लामै बैठक राखेर नेताहरुको कुरा सुने।

    प्रचण्डमाथि पछिल्लो समय सत्ताकेन्द्रित भएको आरोप पार्टीभित्रबाटै पनि लाग्ने गरेको छ। बैठकमा अध्यक्ष प्रचण्डको पनि नेताहरुले चर्को आलोचना गरेका थिए, जुन स्वभाविक थियो पनि।

    लामो समयदेखि एकलौटी नेतृत्वमा रहेका प्रचण्डको विकल्पमा जानुपर्ने विषयमा पनि माओवादीमा बहस सुरु भएको छ। यद्यपी, तत्काल प्रचण्डको विकल्प खोज्नेगरी पार्टीमा छलफल नभएको प्रवक्ता अग्नि सापकोटको जिकिर छ।

    माओवादीले थप छलफलको लागि स्थायी कमिटीको बैठक साउन २५ गतेका लागि बोलाएको छ। त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ। माओवादीमा अहिले पदाधिकारी र स्थायी कमिटीलाई भंग गरेर महाधिवेशनमा जानुपर्ने विषयमा छलफल सुरु भएको छ। गत महाधिवेशनमा अध्यक्ष प्रचण्डले खल्तीबाट नाम अघि सारेकाले नेताहरु सन्तुष्ट छैनन्।

    महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टकराब बढ्दा देव गुरुङलाई ल्याएका थिए। गुरुङमाथि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा हुँदा पार्टी चलाउन नसकेको आरोप छ।

    विशेष महाधिवेशनको चर्चा चलिरहेको बेलामा पदाधिकारी र स्थायी कमिटी भंग गरेर नयाँ ढंगले पार्टीमा प्रस्ताव आएको छलफल चलिरहेको एक पदाधिकारीले बताए।

    ती पदाधिकारीले भने, ‘बैठकमा हरिबोलजीले यो प्रस्ताव पनि राख्नुभएको हो। अहिले अध्यक्षले सबैको कुरा सुनेपछि मात्रै निर्णयमा जाने भन्नुभएको छ। यो विषयमा पनि छलफल चलिरहेको छ। अहिले निर्णय नै भएको छैन।’

    बैठकमा अधिकांशले नेताहरुले विधान र विधि अनुसार पार्टी चलाउनुपर्छ भनेर अध्यक्षलाई दबाब दिइरहेको ती नेताले बताए।
    ती नेताले थपे, ‘पहिला अध्यक्षज्यूले आकांक्षी धेरै भएकाले पदाधिकारी संख्या २२ पुर्याउनुभएको थियो। विधानले त १५ जनाभन्दा बढी संख्या चिन्दैन। त्यसैले यो प्रस्तावमाथि छलफल चलिरहेको छ। अब स्थायी कमिटीमा पनि सबैको कुरा सुन्ने भनिएको छ। त्यहाँ बहुमतले यो कुरालाई स्वीकारे निर्णय हुनसक्छ।’

    माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले पनि बैठकमा नेताहरुको कार्यशैलीको बिषयमा कुरा उठेको बताए।
    उनले भने, ‘कार्यशैलीको विषयमा कुरा नउठेको होइन, उठ्यो। सरकार सञ्चालन, नियुक्तिको विषयमा छलफल गरेर प्राथमिकता कहाँ थियो त्यसमा जोड पुगेन भन्ने विषयमा कुरा उठेका छन्, तर व्यक्ति नै तोकेर कसैको बारेमा उठेन। नीतिको विषयमा कुरा उठेका हुन्।’

  • टीआरसीमा सहमतिपछि जनार्दनको विश्वास- नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुनेछ (भिडिओ)

    टीआरसीमा सहमतिपछि जनार्दनको विश्वास- नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुनेछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि नेपालको शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

    प्रमुख तीन दलबीच टीआरसीमा सहमति भएपछि कार्यदलको सदस्य समेत रहेका शर्माले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेको बताएका छन्।

    उनले भनेका छन्, ‘त्यसमध्ये द्वन्द्व पीडितहरूलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्य ढिलाइ भइरहेको थियो। अदालतको आदेश बमोजिम टीआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, महेश बर्तौँला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुंगोमा पुर्‍याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ।’

    उनले नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने बताए।

  • माओवादीको निष्कर्ष- आगामी निर्वाचन एक्लै लड्ने, कम्युनिष्ट एकताको पहल नछाड्ने

    माओवादीको निष्कर्ष- आगामी निर्वाचन एक्लै लड्ने, कम्युनिष्ट एकताको पहल नछाड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै जानेगरी पार्टी संगठन निर्माण गर्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    उनले भने, ‘हाम्रो सरकारले गरेको कामलाई उठाउने र भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने, जसले गर्दा हाम्रा मुद्दाहरु राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् ।’

    उनले चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको स्वीकारे ।

    नेता सापकोटाले थपे, ‘चुनावमा गठबन्धन गर्दा कहीं न कहीं गठबन्धनभित्रको अरु पार्टीको पनि सन्तुुलन मिलाउनुपर्ने हुनाले हाम्रो विचार सिद्धान्त लाने मौका मिलेको थिएन । त्यसैले जनतामा जाने अवसरको रुपमा लिएका छौं । वर्गसँगको सम्बन्ध फर्काउने, जनतासँगको सम्बन्ध नजोडिएको जस्तो भएको समीक्षा भएको छ ।’

    उनले जनताले रुचाएकै कारणले एमालेसँग सहकार्य थाले पनि धोका दिएको आरोप लगाए ।

    नेता सापकोटाले भने, ‘कम्युनिष्ट पार्टीहरुको मिलनलाई जनताले रुचाइएकाले अगाडि बढाएका थियौं, तर रक्षा गर्न सकेनौं । त्यो नसकेपछि हामीले समीक्षा गर्दै एमालेसँग समीकरण गरेका थियौं, एमालेसँग परसम्म जाने सहमति तोडेर कांग्रेससँग मिल्नुभयो ।’

    उनले समाजवादी मोर्चा हुँदै अग्रगामी शक्तिहरुको एकता हुने जिकिर गरे ।

    प्रवक्ता सापकोटाले थपे, ‘कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि निरन्तर प्रयास गरिराख्नुपर्छ । समाजवादी मोर्चालाई विस्तार गर्दै बृहत वामपन्थी एकतासम्म पुग्छौं, कम्युनिष्ट पार्टीबीच एकता पनि हुन्छ ।’

    देशमा समाजवाद स्थापनाको लागि माओवादीले नै नेतृत्व गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

  • माओवादी बैठकमा प्रचण्डको उद्घोष- जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु

    माओवादी बैठकमा प्रचण्डको उद्घोष- जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गरेका छन् ।

    पार्टी पदाधिकारी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले जनतासँग टुटेको कडी जोड्न आफू देशभर जाने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ ।’

    त्यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रका समस्याबारेमा कुरा राखेको उनले बताए ।

    प्रवक्ता सापकोटाले पार्टीभित्र प्रचण्डको विकल्पमा अर्को नेतृत्वको विषयमा छलफल नभएको पनि बताए ।

  • माओवादीले बोलायो स्थायी कमिटी बैठक, प्रतिपक्षको भूमिका सशक्त निर्वाह गर्ने

    माओवादीले बोलायो स्थायी कमिटी बैठक, प्रतिपक्षको भूमिका सशक्त निर्वाह गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले साउन २५ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने निर्णय गरेकोसमेत उनले जानकारी दिए ।

    स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर सदन र सडकमा प्रतिपक्षको भूमिका खेल्ने माओवादीको तयारी छ ।

  • माओवादी सांसद दाहालकाे जिकिर- ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ (भिडिओ)

    माओवादी सांसद दाहालकाे जिकिर- ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली गैरकानूनी रुपमा नियुक्ति भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले खारेज गर्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘अस्वभाविक र बदनियपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारको प्रधानमन्त्रीज्यूले संख्यात्मक हिसाबले यही सदनबाट विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) सक्रिय भइ प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रिपतिले गैरकानूनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । यो प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा परेको छ, त्यो मुद्दाको पेशी संवैधानिक इजलासमा ३० गते तोकिएको छ । मलाई विश्वास छ, गैरकानूनी नियुक्ति भएको खारेज गर्नेछ ।’

    उनले ओलीको नियुक्ति प्रक्रिया खारेज गरेर संविधान सम्वत् नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खोलिदिने जिकिर गरे ।

  • लेखा समिति सभापतिले पदको दुरुपयोग गरेको माओवादीको आरोप (भिडिओ)

    लेखा समिति सभापतिले पदको दुरुपयोग गरेको माओवादीको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद समेत रहेका पोखरेलले व्यापारीलाई भेटेको बिषयमा छानविन गर्न माग गरे ।

    उनले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत नतिरेका एक जना व्यापारिको बीचमा रहस्यमय भेट भएको सूचना आएको छ, पदीय दुरुपयोगको गम्भिरतापूर्वक छानविनका लागि माग गर्छु ।’

    उनले दुध किसानको भुक्तानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

     

  • शुक्रवारदेखि जारी माओवादीको पदाधिकारी बैठकमा किन सहभागी भएनन् महरा र पौडेल ?

    शुक्रवारदेखि जारी माओवादीको पदाधिकारी बैठकमा किन सहभागी भएनन् महरा र पौडेल ?

    काठमाडौं । सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुक्रवारदेखि जारी छ । अहिले १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको बैठकमा पदाधिकारीहरूले राखेको धारणाको जवाफ दिएर टुंग्याउने तयारी छ ।

    यो बैठकले माओवादीको अबको रणनीति र कार्यक्रम तय गर्ने बताइएको छ । तर, चार दिनदेखि जारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा र सचिव देवेन्द्र पौडेल सहभागी छैनन् ।

    त्यसबारेमा कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘महराजीको स्वास्थ्य अवस्था राम्रो छैन। उहाँ घरमै आराम गरिराख्नुभएको छ । देवेन्द्रजी अहिले अमेरिका जानुभएको छ । त्यही भएर बैठकमा उपस्थित हुनुहुन्न ।’

    उनले आजको बैठक सुरु हुने तयारी भइरहेको बताए। बैठकमा प्रचण्डले नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे जानकारी गराउनेछन् ।

    यो बैठकपछि स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर सदन र सडकमा प्रतिपक्षको भूमिका खेल्ने माओवादीको तयारी छ।

  • कांग्रेस-एमाले भ्रष्टाचारको फाइल बन्द गर्न मिलेका हुन्: सांसद मोदी (भिडिओ)

    कांग्रेस-एमाले भ्रष्टाचारको फाइल बन्द गर्न मिलेका हुन्: सांसद मोदी (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कांग्रेस र एमाले भ्रष्टाचारको फाइल बन्द गर्न मिलेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले संविधान संशोधन गर्ने भनेर जनतामा भ्रम छरेर भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई लागेको जिकिर गरे ।

    उनले भने, ‘गिरीबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरू छन् । त्यसको विषयमा पहिलाको सरकारले जस्तै काम निरन्तरता दिन्छ कि दिँदैन, यसलाई अगाडि बढाउँछ कि बढाउँदैन भन्ने महत्वपूर्ण कुरा हो ।’

    कांग्रेस-एमाले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाइलहरू बन्द गर्न मिलेको भन्दै सांसद मोदीले त्यसविरुद्ध बुलन्द आवाज लिएर जनतामा जाने बताए ।

     

  • माओवादी सांसदको प्रश्न- पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा छानबिन के हुँदैछ ? (भिडिओ)

    माओवादी सांसदको प्रश्न- पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा छानबिन के हुँदैछ ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले चर्चामा रहेका भ्रष्टाचारको फाइल खोल्न सरकारसँग माग गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै घुस खाने र दिने दुवै व्यक्ति कानून अनुसार दोषी हुने बताए।

    उनले भने, ‘यही सदनमा एक जना माननीय सदस्यबाट खुलासा भएको घुस खाने कर्मचारीलाई सरकारले कारबाही गर्‍यो कि गरेन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

    पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिएको सदनमै बोलेका थिए त्यसबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताइसकेका छन्।

  • प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने (भिडिओ)

    प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने (भिडिओ)

    काठमाडौं । कांग्रेस-एमालेको गठबन्धनसँगै प्रतिपक्षमा हुत्तिएको माओवादीले ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने बताएको छ ।

    आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ठूलो रुपान्तरणको प्रक्रियामा जाने निर्णय गरेको हो । बैठकपछि सञ्चाकरर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए ।

    बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेका थिए ।

    माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जानुपर्नेमा नेताहरूले जोड दिएको उनले सुनाए । जनतामा गएर राष्ट्रियता, जनजीविकाका सवालहरूलाई थप बलियो बनाउनुपर्ने सुझाव आएको पनि सापकोटाले जानकारी दिए ।

    ‘सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुराको सामूहिक स्वामित्व लिनुपर्ने र कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्नेमा अधिकांशको जोड रहेको छ’, उनले भने ।

    सापकोटाले थपे, ‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आज ५ जना कमरेडहरूले आफ्नो भनाइ राख्नुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौँ ।’

    पार्टी एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चालन गर्ने उनले सुनाए ।

    पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर आवश्यक निष्कर्ष निकाल्ने प्रवक्ता सापकोटाको भनाइ छ ।

  • ८४ मा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड (भिडिओ)

    ८४ मा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।

    आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् ।

    उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर आफू नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।

    आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको उनले बताए । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको धारणा राखे ।

    कार्यक्रममा मकवानपुरका एमाले, कांग्रेस, रास्वपालगायत दलबाट नेता कार्यकर्ता माओवादीमा भित्रिएका थिए ।

  • एमालेभित्रको ठूलो देशभक्त पंक्तिको मलाई चिन्ता छ : प्रचण्ड (भिडिओ)

    एमालेभित्रको ठूलो देशभक्त पंक्तिको मलाई चिन्ता छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् ।

    पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कम्युनिष्ट एकताको प्रयास गर्दा असफल भएको बताए ।

    प्रचण्डले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’

  • प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो (भिडिओ)

    प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो कामको पहल गर्दागर्दा हटाएर जनतामा जाने आधार तयार भएको बताएका छन् ।

    पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, जनतालाई सेवा प्रवाह र अन्तर्राष्ट्रिय जगलाई सन्तुलन मिलाउने कुरामा समग्रमा राम्रो पहलकदमी लिएका ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    प्रचण्डको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ । त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ । जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो । त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ ।’

    उनले आजको बैठकमा पार्टीको अबको रणनीति र समीक्षा गर्दै ६ जनाले आफ्नो धारणा राखेको बताए ।

    उनले भने, ‘आज ६ जनाले आफ्नो कुरा राख्नुभएको छ । सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको छ। अब हामीले अभियान चलाउँछौँ। यसले मार्गचित्र तयार परेपछि स्थायी कमिटी र केन्द्रीय समितिले आधार तयार गर्छ ।’

    उनले बैठक आइतबारसम्म लम्बिन सक्ने बताए ।

  • कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए (भिडिओ)

    कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए (भिडिओ)

    विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।

    कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

    मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।

  • माओवादीका मन्त्रीले राजीनामा दिने, सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने

    माओवादीका मन्त्रीले राजीनामा दिने, सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने

    विराटनगर। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएका छन् ।

    सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने माओवादीले जनाएको छ ।

    माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताए ।

    उनले भने, ‘मुख्यमन्त्रीले बाम एकता जोगाउँछु भन्नु भएको थियो । सोही अनुसार हामी सरकारमा बसेका थियौ । तर, सहमतिको सरकार गठन नहुने भएपछि सरकारबाट बाहिरिएका हौ ।’

    उनले आजै सबै मन्त्रीहरूले राजीनामा दिने बताए । हाम्रा प्रदेशसभा सदस्यहरूको समर्थनमा संविधानको धारा १६८ (५) अन्तरगत यो सरकार बनेको छ ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिनका सबै प्रदेश सभा भेला हुन पर्छ त्यतिन्जेल सम्मका लागि समर्थन रहिरहन्छ ।

  • कोशीमा पनि सत्ताबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने

    कोशीमा पनि सत्ताबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने

    विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो ।

    काेशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।

    यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् ।

    केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

    आजै राजीनामा तयारी रहेको माओवादी श्रोतले जनाएको छ । संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । उनले भने, आज हामीले बैठक राखेका छौ । बैठकपछि निर्णय सार्वजनिक गर्छौ ।

  • संसदीय समिति बैठकबाट फन्किँदै किन बाहिरिए सुदन ? सभापतिसँग चल्यो चर्काचर्की (भिडिओ)

    संसदीय समिति बैठकबाट फन्किँदै किन बाहिरिए सुदन ? सभापतिसँग चल्यो चर्काचर्की (भिडिओ)

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र पूर्वमन्त्री एवं माओवादी सांसद सुदन किरातीबीच भनाभन भयो । आजको बैठक नेपालको हवाई सुरक्षासँग केन्द्रित थियो ।

    सभापति यादवले सांसद किरातीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुरामा जान आग्रह गरे । सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।

    सभापति यादव र सांसद किरातीबीचको नोकझोक यस्तो थियो-

    सुदन किरातीः हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ ।

    सभापतिः मान्य ज्यू एक पटक समयको..

    सुदन किरातीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।

    सभापतिः टेक्निकल कुरा राखौँ

    सुदन किरातीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।

    सुदन किरातीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिन नि त ! विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यू । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

    सभापतिः यहाँ टेक्निकल विषयमा बहस हुने हो ।

    सुदन किरातीः राजनीतिक मान्छेले के गर्छ त ?

    सभापतिः ठीक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।

    सुदन किरातीः केमा गर्दैछु त म ।

    सभापतिः तपाईं राजनीति…

    सुदन किरातीः सभापतिज्यू तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।

    सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।

    सुदन किरातीः एजेण्डा किन राख्नुभएको त ?

    सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।

    सुदन किरातीः म विषयभन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।

    सभापतिः मान्यज्यू तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ…

    सुदन किरातीः तपाईं यहाँ दोहोर संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ?

    सभापतिः तपाईं यहाँ…

    सुदन किरातीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?

    सभापतिः तपाईंलाई…

    सुदन किरातीः तपाईं हठी की म हठी ?

    सभापतिः म कुरै ।

    सुदन किरातीः फेरेर कुरा गर्नुहुन्छ ।

    सभापतिः तपाईं समयलाई ध्यान दिनु ।

    सुदन किरातीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् ।

    सभापतिः होइन, समयलाई त ध्यान दिनु…

    सुदन किरातीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त ।

    सभापतिः किन गरिँदैन ।

    सुदन किरातीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।

    सभापतिः विषयमा राख्नुस् न ।

    सुदन किरातीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।

    सभापतिः विषयमा राख्नुस् न ।

    सुदन किरातीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।

    सुदन किरातीः तपाईंको पनि…टेप लाएर…

    सभापतिः मान्य हरि उप्रेतीलाई…

    हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।

    सुदन किरातीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।

    हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यू ।

    सुदन किरातीः म बस्दिनँ ।

    हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।

    सुदन किराती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्‍यो नि !

    हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो…

    सुदन किरातीः तपाईंले मलाई रुलिङ गर्ने कि उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?

    सांसदहरुः बसौँ न मान्य ज्यू ।

    हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।

    सुदन किरातीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।

    सुदन किरातीः म त छोट्याउँदै थिएँ ।

    सभापतिः यसलाई कन्टिन्यु गरौँ ।

    सुदन किरातीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ?

    सभापतिः बसौँ बसौँ ।

    सुदन किरातीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।

    सुदन किरातीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।

    सुदन किरातीः तपाईं दाहिने झर्‍यो कि देब्रे झर्‍योयो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ?

    सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् ।

  • बोल्न रोकेको भन्दै संसदीय समिति बैठकबाट कड्किँदै बाहिरिए सुदन (भिडिओ)

    बोल्न रोकेको भन्दै संसदीय समिति बैठकबाट कड्किँदै बाहिरिए सुदन (भिडिओ)

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेका छन् । समितिका सभापति राजकिशोर यादवसँग बोल्ने क्रममा चर्काचर्की परेपछि उनी बैठक छाडेर हिँडेका हुन् ।

    आज नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो ।

    किराती बोल्ने क्रममा सभापति यादवले विषयवस्तुमा केन्द्रित भएर टेक्निकल पक्षमा विचार राख्न भन्दै रोकेपछि उनी आक्रोशित बने । एजेण्डाका कुरा गर्न नमिल्ने भए किन बैठक राखेको ? भन्दै सुदनले सभापतिमाथि प्रश्न गरे ।

    बैठकबाट उठ्दै उनले भने, ‘बोल्न नमिल्ने भए एजेण्डा किन राख्नुभयो ? अरुलाई बोल्न दिने मलाई चाहिँ टेक्निकल कुरा गर भन्ने, कुनै टेक्निसियन होइन, राजनीतिक गरेर आएको हुँ ।
    अन्य सांसदहरूले पनि बसेर आफ्नो कुरा राख्न आग्रह गरेपछि किराती बोल्न नदिएको भन्दै कड्किएर बाहिरिएका छन् ।’

  • जहाज दुर्घटनापछि प्रचण्डले भने- राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, घटनाको छानबिन होस्

    जहाज दुर्घटनापछि प्रचण्डले भने- राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, घटनाको छानबिन होस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गरेका छन्।

    १८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका हुन्।

    उनले भनेका छन्, ‘यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ। दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपिल गर्दछु।’

    उनले पार्टीको तर्फबाट मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

  • हामी बेदाग विजयी भएर बाहिरियाैं, अब सरकार हैन जनता केन्द्रित हुन्छौं : प्रचण्ड (भिडिओ)

    हामी बेदाग विजयी भएर बाहिरियाैं, अब सरकार हैन जनता केन्द्रित हुन्छौं : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ले माओवादीको सरकारबाट आफूहरु बेदाग विजयी भएर बाहिरिएको बताएका छन् ।

    नेकपाका संस्थापक नर बहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै उनले आम जनता र कार्यकर्तामा निराशा नभई विजयी भएर बेदाग निस्किएको बताएका हुन् ।

    उनले आफूहरुलाई गिरिबन्धु, ओम्नी, भुटानी काण्डमा दागरहित ति गतिविधिकाविरुद्ध संर्षघ गर्दागर्दै निस्कनुपरेको कुरा जनताले बुझेको बताए ।

    उनले भने, ‘हामीहरुलाई  त्यस्ताे ठूलाे गिरिबन्धु, ओम्नी, भुटानी काण्डमा दागरहित रह्याै‌ं ।  ति गतिविधिकाविरुद्ध संर्षघ गर्दागर्दै निस्कनुपरेको कुरा जनताले बुझेका छन् ।यसकारण हामीलाई जनतामाझ संगठन विस्तार गर्ने अवसर मिलेको छ । अब हामी सरकार भन्ने ध्यान छैन  अब जनतामा जाने  याेजना छ ।’

    प्रचण्डले भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि  काण्डमा अनुसन्धान अघि बढाएकाे सह्य नभएकाे दाबी गरे  । सरकार छोड्दा पनि आफना कुरालाई सशक्त रुपले संसदमा राखेर बैचारिक राजनीतिक र सरकारबाट गर्न सकिने र गर्न पर्ने कुराहरु गर्दा गर्दै विजेताको रुपमा  बाहिर आएकाे उनकाे भनाइ  छ ।

    उनले भने,’ भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि त्यो सह्य भएन ।सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सह्य भएर र निकै सयन्त्रमुलक र अपारदर्शी ढंगले, विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइयो । र उनीहरुको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिराख्नु पर्दैन । अहिले समाजमा पनि यो कुरा छलङगै जस्तो छ। हामी सरकार छोड्दा पनि आफना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी बैचारिक राजनीतिक र सरकारबाट गर्न सकिने र गर्न पर्ने कुराहरु गर्दा गर्दै विजेताको रुपमा हामी बाहिर आयौं । जो सरकारमा गएका छन् उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रमक ढंगले आफना कुराहरुलाई राख्ने स्थिति बनेको छ । यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दै गरेको दुई जना गिरप्तार भएपछि नै यो तीव्र भएको होकी भनेर जनताले बुझेका छन् । राजनीतिक रुपले हाम्रो लागि राम्रो आधार बनेको छ जनतामा । त्यसलाई हामीले संगठनमा बदल्नु छ ।’

    संविधानमाथि खेलबाड गर्न खोज्नेको नेतृत्वमा सरकार रहेकाे भन्दै उनले फेरि  त्यस्ताे नहाेला भन्न नसकिने भन्दै चिन्ता व्यक्त गरे ।

    ‘विगतमा संविधानमाथि खेलबाड गर्न खोज्नेको नेतृत्वमा सरकार छ , फेरि त्यस्तो नहोला भन्न सकिन्न । हामी अब सरकार केन्द्रित हैन जनता केन्द्रित हुन्छौं । केही परिआएको खण्डमा सडकमा जनता लाई ल्याएर प्रतिवाद गर्न पनि पछि पर्दैनौं ।’ उनले भने ।

  • प्रतिपक्ष दलका नेता प्रचण्ड र रवि राज्य व्यवस्था तथा सुशासन समिति सदस्य, अरु को कहाँ पुगे ?  (भिडिओ)

    प्रतिपक्ष दलका नेता प्रचण्ड र रवि राज्य व्यवस्था तथा सुशासन समिति सदस्य, अरु को कहाँ पुगे ? (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माआवोदी केन्द्र ससंदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदबाट हटेसँगै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका हुन् ।

    यस्तै अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछाने पनि राज्य व्यवस्था तथा सुशासन समितिमा फर्किएका छन् । यसअघि उक्त समितिमै रहेका लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेपछि समितिबाट स्वतः हटेका थिए । त्यसपछि रास्वपाको तर्फबाट हरि ढकाल उक्त समितिको सदस्य बनेका थिए । लामिछाने समितिको सदस्यमा मनोनीत भएसँगै यस ढकाल सार्वजनिक लेखा समिति पुगेका छन् ।

    यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद राजेन्द्रकुमार राई पनि मनोनीत भएका छन् ।

    सभामुख देवराज घिमिरेले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यमा माओवादी सांसद हितबहादुर तामाङ, एमाले सांसद हरिप्रसाद उप्रेती मनोनीत भएका छन् । अर्थ समितिमा माओवादी सांसद वर्षमान पुन, एमाले सांसद पदम गिरी, भगवती चौधरी र रास्वपाका सांसद विराजभक्त श्रेष्ठ मनोनीत भएका छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रास्वपाका डोलप्रसाद अर्याल र एमाले सांसद रघुवीर महासेठ मनोनीत भएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माओवादी सांसद रेखा शर्मा र रास्वपाका सांसद सुमना श्रेष्ठ मनोनीत भएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा एमाले सांसद ज्वालाकुमारी साह र शिक्षा समितिबाट कृषि समितिमा मीना यादवको हेरफेर गरिएको छ ।

    यस्तै पूर्वाधार विकास समितिमा माओवादी सांसद शक्तिबहादुर बस्नेत मनोनीत भएका छन् । संघीय संसदको संसदीय सुनुवाइ संयुक्त समितिका सदस्य रमेश लेखक गृहमन्त्री भएसँगै उनको ठाउँमा कांग्रसका सांसद श्यामकुमार घिमिरे मनोनीत भएका छन् । रास्वपाका सांसद स्वर्णिम वाग्लेको सट्टा डोलप्रसाद अर्याल उक्त समितिमा मनोनीत भएका छन् ।

  • संसदमा सुदन किराँती- प्रतिपक्षी सानो छ भनेर हेप्ने ? (भिडिओ)

    संसदमा सुदन किराँती- प्रतिपक्षी सानो छ भनेर हेप्ने ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको जिकिर गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै किराँतीले संख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको बताएका हुन् । लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने उनले टिप्पणी गरे ।

    ‘दुई ठूला दल गठबन्धन गरेर सरकार बन्यो । सरकारले समावेशी सिद्धान्तको धज्जी उडाएको छ । काँसी जान्छु भनेर कुत्तीको बाटो लागेको छ’, उनको आरोप थियो ।

    विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले सदनमा बोलेको कुराले जगलाई मुर्ख बनाउने काम गरेको उनको जिकिर छ ।

    ‘मौद्रिक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम भएको छ’, किराँतीले भने ।

    अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै उनले प्रश्नसमेत गरे ।

  • पूर्वऊर्जामन्त्री बस्नेतको आरोप- अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो (भिडिओ)

    पूर्वऊर्जामन्त्री बस्नेतको आरोप- अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेको विवाद महसुल बुझाउँने कि नबुझाउने भन्ने विषयमा मात्रै सीमित नभएको बताए ।

    उनले भने, ‘स्पष्ट छ यो विवाद काटिएको विद्युत लाइन जोड्ने कि नजोड्ने कुराको मात्रै होइन । यो त महसुल असुल गर्ने कि नगर्ने ? महसुल बुझाउने कि नबुझाउने भन्ने मात्रै होइन । लाइन जोड्ने नजोड्ने विद्युत प्राधिकरणको नियमावली अनुसार हुन्छ । ६० किस्तासम्म सहुलियत भएकै हो ।’

    विद्युत प्राधिकरणले जारी गरेको बिलको विषयमा पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानूनी व्यवस्था भएको बताए । उनले सरकारले समस्याको समाधान नियमअनुसार गर्नुपर्ने बताउँदै ठाडो निर्देशनमा नहुने बताए । उनले यो बिषयमा सरकार गलत बाटोमा हिँडेको जिकिर गरे ।

     

  • माओवादीलाई एमालेको प्रतिप्रश्न- सधैँ ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको ? (भिडिओ)

    माओवादीलाई एमालेको प्रतिप्रश्न- सधैँ ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै ऊर्जा मन्त्रालयको नेतृत्व निरन्तर आफूले गर्दा समेत विवादको समाधान गर्न नसकेको भन्दै आपत्ति जनाए ।

    उनले भने, ‘कुनै उद्योगी व्यवसायीसँग हाम्रो कुनै व्यक्तिगत लेनदेन होइन। तर राज्यले निर्णय लिँदा विधिभित्र टेकेर लिनुपर्छ कि पर्दैन। कानूनको जगमा उभिएर गर्नुपर्छ कि पर्दैन भन्ने हो। सामान्य मान्छेले विद्युतको महसुल तिरेन भने अर्को महिनामा जरिवाना तिर्नुपर्छ। तर, आज विद्युत प्राधिकरणले वर्षौँसम्म डेडिकेटेड र ट्रंकलाइनको नाममा उहाँहरूले विद्युत उपभोग गरेको हो भनेदेखि उहाँहरूसँग किन समयमा शुल्क नतिराएको छ।’

    उनले माओवादीले यो विषयलाई लिएर प्रधानमन्त्रीको विरुद्ध भ्रम छरेको दाबी गरे। लाल आयोगको प्रतिवेदनले भनेअनुसार आफूहरू महसुल तिर्न तयार रहेको उद्योग व्यवसायीले भनिरहेको बताए।

    उनले कुनै लेनदेनको कुरा नमिलेपछि अहिले यो स्थिति सिर्जना भएको बताए।

    प्रधानमन्त्री ओलीले शुल्क नतिर्ने उद्योग व्यवसायीको लाइन जोड्न निर्देशन दिएपछि माओवादी केन्द्रले यो विषयमा चर्को रूपमा आवाज उठाइरहेको छ।

    माओवादीले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै शुल्क नउठाएर नीतिगत भ्रष्टाचार गरेकोसम्म आरोप लगाएको छ।

  • प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादीको आपत्ति, यस्तो भयो सवालजवाफ

    प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादीको आपत्ति, यस्तो भयो सवालजवाफ

    काठमाडौं । संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवालजवाफ भयो ।

    सबैभन्दा पहिले कांग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभूज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानन्त्रीले विचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए ।

    सवालजवाफका लागि आएका प्रधानमन्त्री ओलीले सुरूमा पुष्पलाललाई सम्झिए । त्यसपछि उनले आफ्नो गुनासो राख्न थाले ।

    ‘हामी यस गरिमामय सदनमा हामीले बोल्दा भएका कुरा बोल्ने गरौं, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौं । पार्टी फरक होला, तर त्यसो भनेर जथाभावी बोल्ने नगरौं झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने ।

    उनले थपे, ‘मैले हिजो बोल्दा विद्युत महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । ‘बेठिकखालका सेटिङ र विभिन्न खालका तन्त्रको पछाडि मलाई कुद्नु छैन । देश र जनताको हितको पक्षमा ६० वर्ष समर्पण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु । कसरी मैले तिर्नु पर्दैन भने ? यहाँ उपस्थित हुनुहुन्नथ्यो भने रेकर्ड सुनेर आउनुस् । हामी गरिमामय संसदमा छौं । जनताले छानेका प्रतिनिधिले झूटो नबोलौं । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक खालका फोटोहरु छपाएको छ । हामीले सत्य कुराहरु गर्न सिक्नुपर्छ । भ्रष्टाचारका विरुद्ध बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप नलगाउँ । म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझ्या हुन सक्छ । कसैलाई मर्का पर्‍या हुन सक्छ । यो दलीय व्यवस्था हो । प्रश्नहरू राजनीतिक हिसाबले नै अगाडि बढाऊँ ।’

    प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवालजवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे ।

    त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।’

  • कर्णालीमा प्रतिपक्षमा धकेलियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

    कर्णालीमा प्रतिपक्षमा धकेलियो माओवादी, चार मन्त्रीले दिए राजीनामा

    सुर्खेत । कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । यहाँका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् ।

    माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् । केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

    यी चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।

  • लुम्बिनीमा पनि मुख्यमन्त्री महराले दिए राजीनामा

    लुम्बिनीमा पनि मुख्यमन्त्री महराले दिए राजीनामा

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन् ।

    सदनमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे ।

    सरकारबाट हटेपनि एमालेले कुनै आरोप नलगाएको उनको भनाइ थियो ।

    ‘विश्वासको मत फिर्ता पनि यो संकेत आएको थियो उहाँहरुबाट । प्रदेशमा केन्द्रमा जे हुन्छ, त्यो हुन्छ भन्दै आएको छौं’ उनले भने ।

    ‘काठमाडौंमा पानी पर्दा देउखुरीमा छाता ओढेर संघीयता कमजोर बनायौं कि, मेरो पार्टीमा प्रदेशहरुलाई राजनीति गर्न पाउने अवस्था बनाउन आग्रह गरिरहेको र अन्य दलले पनि त्यो गर्नुपर्छ, हामी यहाँ अनावश्यक रुपमा छलफल गर्नुपर्ने विषय नै नभएको ठान्छु’, उनले भने ।

    मुख्यमन्त्री महराले प्रदेशलाई संघबाटै अलपत्र पारिएको बताए ।

    ‘यहाँ छलफल नै गर्न नपाउने ? को मुख्यमन्त्री बन्ने ? मन्त्री को बन्ने ? भन्ने विषयमा प्रदेशलाई कुनै अधिकारै छैन, यसको विरुद्ध आफ्नो पार्टीमा गम्भीर बहस गरौं भन्ने मेरो सुझाव हो । यहाँ हामी दोषी छैनौ, यो यहाँको कारणले फेरबदल भएको होइन भन्ने लागेको छ’, महराले भने ।

  • विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

    विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

    आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक राखिएको थियो ।

    सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन् ।

  • ओलीले जंगबहादुरको शैलीमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध (भिडिओ)

    ओलीले जंगबहादुरको शैलीमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले सुशासनलाई धावा बोलेको आरोप लगाए ।

    कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अंगहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधान गर्नुपर्ने उनले बताए ।

    प्रधानमन्त्री ओलीको जंगबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको उनको दाबी छ । ओलीको यो निर्देशनले यो सरकार किन गठन भएको भन्ने प्रष्ट भएको सापकोटाको टिप्पणी थियो ।

  • सशक्त प्रतिपक्षीको भूमिका निभाउने माओवादीको निर्णय (भिडिओ)

    सशक्त प्रतिपक्षीको भूमिका निभाउने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    अरु विपक्षी दलहरूलाई पनि एकीकृत गर्दै जनताको आवाजहरूलाई उजागर गर्न सही तरिकाले नेतृत्व गर्ने निर्णय भएको पनि उनले सुनाए ।

    बैठकमा माओवादीका सांसदहरूले जनसरोकारका विषयहरूलाई सदनमा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखेका थिए ।

  • रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

    रास्वपा माओवादीसहितको विपक्षी मोर्चामा नमिसिने (भिडिओ)

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभ्यास गर्न खोजेको विपक्षी दलहरूको मोर्चामा आफूहरू सहभागी नहुने जनाएको छ ।

    सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जनाए ।

    ओली कांग्रेससँग मिलेर प्रतिपक्षमा हुत्तिएपछि रास्वपा माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा छ । शुक्रबार पनि तीन दलबीच छलफल भएको थियो ।

    त्यसबारे उनले भने, ‘यो गठबन्धन लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो । विपक्षी मोर्चा बनाउँदैनौं ।’

  • लुम्बिनीमा ७ वर्षपछि प्रतिपक्षमा धकेलिँदै माओवादी, प्रदेश प्रमुख पनि गुमाउँदै

    लुम्बिनीमा ७ वर्षपछि प्रतिपक्षमा धकेलिँदै माओवादी, प्रदेश प्रमुख पनि गुमाउँदै

    रुपन्देही । प्रदेश सरकारको स्थापनादेखि नै निरन्तर लुम्बिनीको सत्तामा रहेको नेकपा माओवादी केन्द्र सत्ता समीकरण फेरिएसँगै प्रतिपक्षमा धकेलिने भएको छ । ७८ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा केही महिनाबाहेक ७४ सालयता माओवादी निरन्तर सत्तामा छ ।

    संघीय सरकारमा आफ्नो दलको नेतृत्व नभएपपछि प्रदेश प्रमुख अमिक शेरचन पनि राजीनामा दिने तयारीमा छन् ।

    प्रदेशसभाको दुवै कार्यकालमा सभामुख लिएको माओवादीबाटै प्रदेश प्रमुख पनि छन् । २ पटक मुख्यमन्त्री पनि पाइसकेको छ । ८७ सदस्य प्रदेशसभामा माओवादीबाट अघिल्लो कार्यकालमा १८ र अहिलेको कार्यकालमा समानुपातिकसहित १० सांसद छन् ।

    पछिल्लोपटक असार २० गतेयता माओवादी सरकार अल्पमतमा रहेको छ । आइतबार दिउँसो १ बजे मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने गरी बैठक बोलाइएको छ । तर, त्यो भन्दा अगाडि नै उनले राजीनामा दिने तयारी गरेको निकट स्रोतले बतायो । ५ दलका ४८ सांसदले समर्थन दिएकोमा अहिले उनीसँग ११ सांसदमात्र साथमा छन् ।

    महरा चैत २३ गते एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र सांसद खड्ग बस्नेतसमेत ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    केन्द्रमा कांग्रेस-एमाले समीकरण बनेपछि एमालेका ५ जना मन्त्रीले असार २० गते राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए । यहाँ ४४ जना भए बहुमत पुग्छ । एमालेका २९ र कांग्रेसका २७ जना जोड्दा आरामले बहुमत पुग्छ ।

    एमाले संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बताए । कांग्रेस संसदीय दलका प्रमुख डिल्लीबहादुर चौधरीले एमालेसँग बैठक बसेर थप योजना बनाइने बताए ।

    एमाले र कांग्रेसले आइतबार नै बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका छन् ।