काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग पनि एकीकरण गर्ने कुरा नचलेको प्रष्टीकरण दिएका छन् ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्न वार्ता सकारात्मक भएको चर्चापछि उनले कम्युनिष्ट पार्टीबीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलिरहेको बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टीहरुको बीचमा समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षहरुमा समीक्षा गर्न छलफल चालिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन ।’
उनले सबै राजनीतिक दलका आआफ्ना कार्यनीति हुने उल्लेख गर्दै त्यसबाट बहकिँन नहुने उनको मत छ ।
उनले थपे, ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिष्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो यो परिचयलाइ मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’
आज बिहान खुमलटारमा माओवादीका अध्यक्ष प्रचण्डसँग नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको भेटमा पार्टी एकता गर्न वार्ता सकारात्मक भएको बताइन्छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसँग छलफल गरेका हुन्।
पदाधिकारी बैठकपछि बस्ने स्थायी कमिटीमा शुक्रबार बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिनेछन्। बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका छन्।
विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका छन्। यो बैठकपछि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बसेर पार्टी निर्माणमा जुट्ने माओवादीको तयारी छ।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्न नहुने पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो तर्क गरेका हुन् ।
उनले भने, ‘मुद्दा दर्ता गर्ने बित्तिकै निलम्बन हुने कुरा ठीक छ कि छैन ? अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैन । अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत सम्बोधन गर्नुपर्छ । अदालतले फैसला नगरेसम्म निलम्बन नगर्ने कि ! निलम्बन नै गर्ने हो भने क्षतिपूर्तिको व्यवस्था गर्ने हो कि ! यो गाँठो फुकाउनुपर्नेछ । यो विषयमा पर्याप्त छलफल हुनुपर्छ ।’
हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने भन्दै पहिलेको प्रचलनभन्दा घटाउने कि बढाउने भन्ने विषय पनि छलफलबाटै टुंगो लगाउनुपर्ने प्रचण्डको धारणा छ ।
कैलाली । बुधवार करिब चार महिनापछि नागरिक उन्मुक्ति पार्टीका सबै सांसद सत्ता पक्षको बेन्चमा बसे । त्यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा २ सांसद सत्ता पक्षको बेन्चमा बस्दा ५ सांसद प्रतिपक्षको बेन्चमा बसिरहेका देखिन्थे ।
सोडारी नेतृत्वको सरकारमा रन्जिता पक्षमा कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका थिए । त्यसबाहेक घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रतिपक्षमा बस्दै आइरहेका थिए ।
नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। सोही अनुसार चैत्र २२ गते विश्वासको मत लिन मुख्यमन्त्री कमलबहादुर शाहले तयारी गरेका थिए । तर, उनलाई नाउपाका रेशम पक्षमा ५ सांसदले समर्थन गर्दा रन्जिता पक्षका २ सांसदले समर्थन गरेनन् । नाउपा विभाजित हुँदा राजीनामा दिएका शाह दोस्रो पटक मुख्यमन्त्री भएर विश्वासको मत लिँदा भने नाउपाका सबै सांसदहरू सँगै उभिए ।
जेठ ३ गते तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदा नाउपाका २ जनाले पक्षमा मतदान गरेका थिए भने ५ जनाले संसद् बहिस्कार गरेर निस्किएका थिए ।
शाह नेतृत्वको सरकारमाको अन्तिम समयबाट विभाजित देखिएको नाउपा शाह नेतृत्वको सरकारले विश्वासको मत पाउँदा भने एकीकृत देखिएको छ । बुधवार यहाँका ७ जना सांसद सत्ता पक्षमा मात्रै बसेनन् उनीहरूले पक्षमा मतदान समेत गरे ।
अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबिच शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ दुवै पक्षमा दलका नेता फरक फरक थिए। रन्जिता पक्षले कैलाश चौधरीलाई र रेशम पक्षले घनश्याम चौधरीलाई दलको नेता बनाएका थिए ।
असार २९ मा खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरीको पनि हस्ताक्षरसहित खुसीराम चौधरी दलको नेता बनेका थिए भने त्यसको केही दिनपछि लक्ष्मण किशोर चौधरीले घनश्याम चौधरीलाई समर्थन गर्दा घनश्याम दलको नेता चयन भएका थिए ।
विगत चार महिनादेखि देखिएको शक्ति सङ्घर्ष अहिले मत्थर भएको देखिएको छ ।
‘सामान्य केही बुझाइहरू फरक भएको थिए त्यस्तो ठूलो विवाद केही थिएन अहिले हामी एकै ठाउँमा छौँ ‘ नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने ‘सबै मिलेर अगाडि बढ्छौँ ।’
मुख्यमन्त्री शाहले विश्वासको मत लिँदा विभाजित भएको नाउपा एक ठाउँमा आउँदा माओवादी भने प्रस्ट दुई धारमा विभाजित भएको देखियो ।
मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् ।
माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । बहुमत सांसदहरूले दलको नेताबाट हटाएपछि तत्कालीन दलका नेता खगराज भट्ट रुष्ट बनेका थिए । उनी निरन्तर संसद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ असार १२ गते पत्र नै लेखेर सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । अध्यक्ष र महासचिवको सर्कुलरपछि पनि दलको नेता हेरफेर नभएपछि माओवादीका थप विवाद बढेको हो ।
दलको नेता परिवर्तनको गृहकार्य नहुँदै फेरि सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता मानबहादुर धामीले गीता माललाई प्रमुख सचेतक नियुक्त गरेपछि माओवादीमा थप विवाद चुलिएको हो ।
‘दलको नेता परिवर्तनको बहस भइरहेका बेला उहाँले फेरि एकलौटी प्रमुख सचेतक नियुक्त गर्नुभयो कुनै छलफल गर्नु भएन’ माओवादी एक सांसदले भने ।
सुदूरपश्चिममा माओवादीमा सभामुख बाहेक १० सांसद छन् । १० सांसद मध्ये धामीको पक्षमा ५सांसद छन् भने भट्टको पक्षमा ५ सांसद छन् ।
धामीसहित अक्कल रावल, ओम क्रिम भाट,गीता माल र लक्ष्मी विक एउटा समूह बन्दा भट्टसहित झपट साउद, रमेश धामी, शिव सिंह ओली र जानकी कुवर अर्को समूहमा विभाजित भएका छन् ।
अहिले माओवादी प्रमुख प्रतिपक्षी दल भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई पनि सवारी सुविधा रहेको छ ।
अहिले दुवै सुविधा एउटै समूहका नेताले लिन लागेको भन्दै पनि विरोध भइरहेको छ । यता मानबहादुर धामीले भने आफूलाई बहुमत सांसदहरूले दलको नेता बनाएको भन्दै बहुमतबाट मात्रै हट्ने तर, राजीनामा नदिने बताउँदै आइरहेका छन् ।
दुई समूहमा विभाजित भएको माओवादीमा थप शक्ति सङ्घर्ष उत्पन्न हुँदै गइरहेको छ।
माओवादीका उपनेता अक्कल रावलले माओवादी सांसदहरू बाहिर भएको हुँदा संसद्मा नआएको बताए । उनले ह्विप जारी नगरिएको हुँदा पनि आफ्ना सांसदहरू नआएको उनको तर्क थियो ।
‘उहाँहरू यहाँ हुनुहुन्थेन हामीले सल्लाहमै विपक्षमा मतदान गर्ने तर, ह्विप जारी नगर्ने कुरा गरेका हौँ’ उनले भने, ‘ह्विप लगाएको भए अनिवार्य उपस्थित हुनुपर्ने थियो ह्विप लगाएनौँ त्यसैले पनि नआउनु भएको होला ।’
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सशस्त्र द्वन्द्वको क्रममा निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन वा अपराधजन्य कार्यको कारबाही सुनिश्चित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले पीडितलाई चित्त नबुझे अदालत जान पाउँछन् भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे । उनले अदालत कसरी र कोबाट चल्छन् भन्ने आफूहरुले देखिसकेको बताए ।
सांसद केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता केन्द्रित भएको आरोप लगाए ।
उनले अगाडि भने, ‘२० महिनामा पदको लागि दुई चोटी बालकोट, दुई पटक बुढानीलकण्ठ, जनयुद्ध थियो यो ? अरु देशमा जनयुद्ध हुँदा यस्तो हुन्छ ? जनयुद्ध सकिएपछि सशस्त्र द्वन्द्वको क्रममा एकातिर माओवादी र अर्कातिर सत्तापक्षबाट निर्दोष जनतामाथि भएको कारबाही, मानव अधिकारको हनन, महिलामाथिको यौन उत्पीडन भएका छन् । त्यसबाहेक सबै अपराधजन्य घटनामा संलग्नलाई कारबाही हुनुपर्छ ।’
कमरेड प्रभाकर, जनयुद्धको एउटा कमाण्डर । पार्टी शान्ति प्रक्रियामा आएपछि शान्ति मन्त्री भएर जनमुक्ति सेनाको डेपुटी कमाण्डरको समेत हैसियतमा सेना समायोजनमा निर्णायक भूमिका खेलेको नेता । अनि सरकार र संसदीय मोर्चामा समेत सफल अझ भनौं उज्यालो नेपालको निर्माता हाम्रो उपमहासचिव जनार्दन शर्मा प्रभाकर ।
हरेक मोर्चामा पार्टी र नेतृत्वको रक्षामा खरो उत्रिएको विरासत बोकेका प्रभाकरले स्थायी कमिटीको पछिल्लो बैठकमा पेश गरेको लिखित दस्तावेजले दुस्मन कित्ता खुसीले उफ्रिएको मिडियाहरूमा सहजै देख्न सक्छौं । तर, उहाँको दस्तावेज र अभिव्यक्तिले पार्टी पंक्ति भने निराश र मर्माहत बनेको छ ।
यो पंक्तिकार कमरेड प्रभाकरले देखाएको बाटोमा हिँडेको उहाँको एक अनुयायी भएकाले उहाँले पार्टी र मूल नेतृत्वका बारेमा दस्तावेजमा भनेका कुरा र लगाएको आरोपको खण्डन मण्डन गर्ने उद्देश्य होइन । पार्टी नेतृत्वको उचाइबाट आएका विषयमा वहस गर्न सकिन्छ तर कहिले गर्ने भन्ने बेला चाहिँ उपयुक्त हुनुपर्छ ।
यो छोटो टिप्पणीमा पार्टी बैठकभित्र कमरेड प्रभाकरले उठाएका विषयहरूमाथि बहस गर्न खोजिएको छैन । बरु कस्तो बेला यो विषय उठाइयो भन्ने प्रश्न गर्न खोजिएको हो । के माओवादी पार्टी र यसको नेतृत्व प्रचण्डविरुद्ध पार्टीभित्रै बमबार्ड गर्ने यो उपयुक्त बेला हो ? के अहिले प्रचण्डको विकल्प खोज्ने बेला हो ? के अहिले प्रचण्डको आलोचना गरेर बैरी हँसाउने बेला हो ?
प्रभाकरलाई भावी नेतृत्वका रूपमा चाहने र बुझ्ने नेता कार्यकर्ताले समेत उहाँले मुख्य नेतृत्वमाथि आरोप वा आलोचनाको दस्तावेज पेश गर्ने यो समय उपयुक्त भएन भनिरहेका छन् । दुस्मनविरुद्ध अन्य दलहरू र नागरिक समाजलाई समेत गोलबन्द गरेर अघि बढ्ने बेला आफ्नै नेतृत्वविरुद्धको बगावतले पटक्कै राम्रो सन्देश गएको छैन ।
विषय उठान सही हुँदा हुँदै पनि कहिलेकहिँ त्यो विषय उठाउने समय र परिस्थिति सही हुनुपर्छ । आज दुस्मनको घेरामा परेको कमाण्डरलाई घेरा तोडाएर आन्दोलन तथा पार्टी बलियो बनाउने बेला हो कि, दुस्मनलाई सहयोग हुनेगरी कमाण्डरलाई गलाउने बेला हो ? यसबारेमा कमरेड प्रभाकरले जवाफ दिनुहोला । के यो सही समय थियो प्रचण्डमाथि प्रहार गर्ने ?
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकाल सुशासन र विकासको दृष्टिले स्मरणीय बनाउने घोषणा गरेर अभियान थाल्नुभएको थियो । जनार्दन शर्मा प्रभाकर त्यो अभियानको एउटा सिपाही हो । प्रचण्डले थालेको सुशासनको अभियानबाट आत्तिएर देशका दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने अवस्थामा पुगको यथार्थ प्रभाकरले नबुझ्ने कुरा भएन । प्रचण्डले सुशासनको अभियान नचलाएको भए सम्भवतः पूरै अवधि कांग्रेस र एमालेलाई खेलाएरै प्रधानमन्त्री भइरहन सम्भव थियो ।
तर, प्रचण्डले प्रधानमन्त्री बनिरहने भन्दा पनि सुशासन, समृद्धि र सामाजिक न्यायको लागि अभियानकै रुपमा सरकारलाई चलाउने र सँगसँगै देशको वामपन्थी आन्दोलनलाई पुनः एकतातर्फ लैजाने पवित्र उद्देश्यले गठबन्धन फेरबदल गर्नुभएको थियो । त्यसको परिणाम आज कांग्रेस र एमालेले माओवादीलाई सत्ता बाहिर राखेर सुशासनको अभियान सेबोटेज गरेका छन् ।
माओवादी आन्दोलनलाई नै धराशायी बनाउने उद्देश्यले भइरहेको दक्षिणपन्थी भ्रष्टहरूको गठबन्धनविरुद्ध सारा देशलाई प्रचण्डको नेतृत्वमा एकजुट बनाएर क्रान्तिकारी ध्रुवीकरण गर्नुपर्ने बेलामा पार्टी बैठकमा क. प्रभाकरले गरेको हेडक्वार्टरमाथिको बमबार्डले कार्यकर्ता पंक्ति निराश बनेको छ । यो कुरालाई प्रभाकरले महशुस गर्नुपर्छ ।
प्रभाकरलाई भावी नेतृत्वका रूपमा चाहने र बुझ्ने नेता कार्यकर्ताले समेत उहाँले मुख्य नेतृत्वमाथि आरोप वा आलोचनाको दस्तावेज पेश गर्ने यो समय उपयुक्त भएन भनिरहेका छन् । दुस्मनविरुद्ध अन्य दलहरू र नागरिक समाजलाई समेत गोलबन्द गरेर अघि बढ्ने बेला आफ्नै नेतृत्वविरुद्धको बगावतले पटक्कै राम्रो सन्देश गएको छैन ।
हिजो अर्थमन्त्री भएका बेला जनार्दन शर्माविरुद्ध एमालेलगायतका विपक्षीहरूले चर्को घेराबन्दी गरेर अप्ठेरो पारेका बेला त्यही खुमलटारले ढाल बनेर जोगाएको निकट अतीतलाई उहाँले कसरी बिर्सनुहोला ? प्रचण्डले आफ्नो डेपुटी कमाण्डर जोगाउन तत्कालीन सरकार र विपक्षीसँग कसरी ट्याकल गर्नुभयो भन्ने सबैले बुझेका छन् ।
खुमलटार र बालुवाटारबाट आफूविरुद्ध प्रचारबाजी गरियो र राज्यशक्तिको दुरुपयोग समेत गर्न लागिएको थियो भन्नुले उहाँको बुझाइमा समस्या हो वा उहाँलाई प्रयोग गरेर बाह्य शक्तिले प्रचण्ड र माओवादी आन्दोलनलाई कमजोर बनाउन खोजेका हुन् ? यसबारेमा पार्टीमा अवश्य छलफल भएकै होला ।
यो बेला गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरणमा माओवादीले एकस्वरमा सदन र सडक तताउनुपर्नेमा पार्टीभित्र बहस प्रचण्डको आलोचनामा केन्द्रित हुनु भनेको उल्टो बाटो हो । माओवादी नेतृत्वको सरकारले थालेका सुशासनका अभियानलाई उल्ट्याइएको यो समयमा पार्टी बैठकको बहस प्रचण्डको आलोचनामा केन्द्रित हुनुपर्ने हो ?
के माओवादी पार्टी र यसको नेतृत्व प्रचण्डविरुद्ध पार्टीभित्रै बमबार्ड गर्ने यो उपयुक्त बेला हो ? के अहिले प्रचण्डको विकल्प खोज्ने बेला हो ? के अहिले प्रचण्डको आलोचना गरेर बैरी हँसाउने बेला हो ?
यसबारेमा पार्टीले गम्भीररूपमा सोचेर जनार्दन शर्माको दस्तावेजलाई भविष्यमा छलफल र समीक्षाको कार्यसूचीमा राख्दै अहिलेको अवस्थामा प्रचण्डको नेतृत्वलाई अझ केन्द्रिकृत गर्दै आगामी २०८४ को निर्वाचनमा समाजवादी शक्तिहरूको बहुमत हुनेगरी माओवादीलाई निर्णायक शक्ति बनाउनतर्फ लाग्नुपर्छ । तलको पंक्तिले चाहेको र जनताको भावना यही हो ।
प्रचण्ड भनेको सामूहिक नेतृत्वको केन्द्रिकृत विचार हो । यो अवस्थामा प्रचण्डलाई कमजोर बनाएर होइन बलियो बनाएर माओवादीका एजेण्डा स्थापित गर्ने र जनतासँग टुटेको सम्बन्ध नवीकरण गर्दै नयाँ ढंगबाट पार्टीलाई २०६४ कै अवस्थामा फर्काउनेतिर सबै नेता लाग्नुपर्छ । यो भन्दा दायाँ बायाँ गएर बेमौसमी प्रलाप गर्ने छुट हामी कसैलाई छैन । प्रचण्डका कमजोरी सच्याउँदै प्रचण्डकै नेतृत्वमा अघि बढ्ने प्रण नेतृत्वले सामुहिकरूपमा गरोस् ।
कमरेड प्रभाकर, यसपटक तपाईँले गलत समयमा आत्मघाती प्रकारको उल्टो बाटो हिँड्न खोज्नुभएको छ । आत्मसमीक्षा गर्नुस् र नेतृत्वमा एकाकार हुनुस् । केही समयअघि तपाईँले वाईसीएल नेपालकै एउटा भेलामा अध्यक्षलाई आवश्यकता पर्दा ज्यान हत्केलामा राखेर नेतृत्वको रक्षाका लागि उभिएको योद्दाका रुपमा आफूलाई चिनाउनुभएको थियो, एकपटक फेरि त्यो रूपमा देख्न पाइयोस् । नेतृत्वको आलोचना र सुधारका लागि अरु समय छँदैछन्, अहिलेलाई नेतृत्वको रक्षा र प्रचण्डको सुशासन अभियानको जगमा विपक्षीको भण्डाफोर गर्दै पार्टी पुनर्गठनमा लागौं ।
(ढकाल माओवादी सहायक संगठन वाईसीएलका केन्द्रीय समिति सचिव हुन् ।)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति चर्को आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन खोजेकोप्रति आशंका व्यक्त गरे ।
उनले प्रधानमन्त्री ओलीप्रति आशंका व्यक्त गर्दै भने, ‘हुन त प्रधानमन्त्रीजीले यहाँ होइन भन्नुभयो, त्यही साबित होस् भन्ने अपेक्षा गर्दछु । केदेखि तर्सेको के देखेपछि झस्किन्छ भनेझैँ । उहाँले हुन्छ भनेपछि हुन्न, हुन्न भनेपछि हुन्छ भन्ने स्थिति भएकाले बढो आशंका छ ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गरेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ । जबकी माओवादी जनयुद्ध भनेर संविधानमै लेखिएको छ । यसलाई हामी निष्कर्षमा पुर्याउँदैछौं । ति घटनामा हामीले गरेको छलफलहरु भएका सहमतिहरुलाई भुल्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाउँदा बोल्ने क्रममा प्रचण्डकै अगाडि हिंसात्मक द्वनद्व भनेका थिए । त्यसप्रति माओवादी नेता कार्यकर्ताले चर्को आलोचना गरेका थिए ।
जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रियाको मुख्य कारण भएको जिकिर गरे ।
उनले थपे, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो भने संसरकै मोडेल शान्ति प्रक्रिया सम्भव हुने थिएन । त्यसैले अहिले हामी पछाडि फर्किने होइन, संविधान संशोधन र राजनीतिक स्थिरताको नाममा ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको उनले बताए ।
उनले अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको जिकिर गरे ।
उनले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं । यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो ।’
उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गरे । शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको दाहालले बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् । निरन्तर जनमत ओरालो लागिरहेको बेलामा ९ वर्षपछि प्रतिपक्षमा पुगेका माओवादीमा पहिलो पटक अध्यक्ष प्रचण्डको चर्को आलोचना भएको छ ।
उपमहासचिव जनार्दन शर्माल लिखितरूपमै पार्टी हितको लागि भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्रस्ताव राखेका छन् । उनको प्रस्तावको वरिपरि अर्का उपमहासचिव वर्षमान पुनको पनि समर्थन छ । यद्यपि, शर्मा झैं पुन खुलेका छैनन् ।
अधिकांश नेताहरूले शर्माको प्रस्तावको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
एक नेताले भने, ‘उहाँले उठाउनुभएको अधिकांश कुरा सकारात्मक छन् । कति बेठीक हो समीक्षा गर्नुपर्छ । उहाँले अध्यक्षमाथि पनि आरोप लगाउनुभएको छ । अध्यक्षले पनि त्यो कुरा राख्नुपर्छ । त्यसबारेमा पनि छलफल हुनुपर्छ । त्यसलाई छलफल गरेरै निष्कर्षमा पुर्याउँदा नै पार्टीको हितमा हुन्छ ।’
शर्माले प्रचण्ड सरकारमा हुँदा एमालेमा जाँदैछ भनेर राज्यशक्तिको पनि आफूविरुद्व लगाउने प्रयास गरेको समेत आरोप लगाएका थिए । ती नेताले भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने क्रममा शर्माको प्रस्तावमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ भन्नेमा भर पर्ने सुनाए ।
ती नेताले भने, ‘अहिले उठेको विषयमा जवाफ दिएर समग्रमा अब लगत्तै बस्ने केन्द्रीय समितिको बैठकमा दस्तावेज नै पेस गर्ने कि भन्नेमा पनि भएको बुझेको छौं हेरौं भोलि कसरी आउनुहुन्छ ।’
तर, जनार्दनको प्रस्तावले आफूलाई कुनै टेन्सन भएको प्रतिक्रिया दिएका थिए । प्रस्तावबारे उनले भनेका थिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’
जीवित पार्टीभित्र मत मतान्तर हुनु स्वभाविक भएको सचिव दिनानाथ शर्माले बताए ।
उनले भने, ‘जीवित पार्टीभित्रको बहसमा मतमतान्तर हुनु स्वाभाविक हो । यसलाई अब स्वाभाविकरूपमा लिएर हल गरेर जानुपर्छ त्यसलाई अध्यक्षज्यूले पोजेटिभरूपमा लिनुहुन्छ ।’
उनले पार्टी बैठकमा आफ्नो विचार राख्न सबै स्वतन्त्र हुने बताए । शर्माले प्रचण्डको विकल्प खोज्ने प्रस्ताव राखेपछि प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्नेमा नेताहरूको जोड रहेको प्रवक्ता अग्पिप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ । तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ ।’
बैठकले नेताहरूले प्रचण्डकै नेतृत्वमा अब आत्मसमीक्षा गर्दै पार्टी निर्माणमा लाग्नु अगाडि विकल्प नभएको निष्कर्ष निकालेको छ ।
काठमाडौं । जनयुद्धकालमा माओवादीका कार्यकर्ता ‘एचक्यू’ को निर्णय पर्खिन्थे । हेडक्वार्टरलाई छोटकरीमा माओवादीहरुले ‘एचक्यू’ भन्ने गर्थे । एरिया कमिटी सदस्यलाई एसीएम र जिल्ला कमिटी सदस्यलाई डीसीएम भने जस्तै ‘एचक्यू’ भूमिगतकालीन माओवादीको माथिल्लो निकाय थियो ।
त्यही जनयुद्धकालीन ‘एचक्यू’मा विघटित माओवादी जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमाण्डरले यस पटक ‘बमबार्ड’ गरेका छन् । माओकालमा बमबार्ड दि हेडक्वार्टर भन्ने कम्युनिष्ट शब्दलाई प्रचण्डका डेपुटी कमाण्डरले स्थायी कमिटी बैठकमा लिखित दस्तावेजमार्फत अभिव्यक्त गरेका छन् ।
माओवादी आन्दोलनको इतिहास हेर्दा प्रचण्डको विपक्षमा उभिने वा विपरीत विचार एचक्यूमा लैजानेहरुले कि उनीसँग आत्मसमर्पण गरेका छन् कि त पार्टीको मूलधारबाट अलग पारिएका छन् । अपवादमा एकाधको त ज्यान पनि गएको छ ।
३७ वर्षदेखि निरन्तर नेतृत्व
२०४४ सालमा तत्कालीन नेकपा मशालका महामन्त्री मोहन वैद्यले आफूसहितका नेताहरुको जिम्मेवारी घटुवा गरेर पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिशाली महामन्त्री बनाए ।
वैद्यले महामन्त्री बनाएदेखि प्रचण्ड नेकपा एकता केन्द्र, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रसम्म आइपुग्दा निरन्तर नेतृत्वमा छन् । पार्टीमा सधैं उनको एकलौटी चल्दै आएको छ ।
माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टी निरन्तर ओरालो यात्रामा लागे पनि सधैं शक्तिमा रहिरहे । माओवादी जति कमजोर बन्दै गए पनि पार्टीभित्र प्रचण्ड भने झनै बलियो बनिरहेका छन् ।
अहिले माओवादी ९ वर्षपछि प्रतिपक्ष कित्तामा आइपुगेको छ । पार्टी नेतृत्व सत्ता केन्द्रित हुँदा पार्टीको जनाधार कमजोर भएपछि प्रचण्डले नेताहरुको कुरा सुनेर पुरानै वर्ग (जनतातिर) फर्किने कार्यक्रमबारे छलफल चलाइरहेका छन् ।
पाँच दिनसम्म भएको पदाधिकारी बैठकपछि बसेको स्थायी कमिटीको बैठकमा प्रचण्डले चर्को आलोचना भोग्न परिरहेको छ । बैठक अहिले पनि जारी छ ।
सत्ताको वरिपरि हुँदा प्रचण्डसँग बोल्न आनाकानी गर्ने नेताहरुले नै अहिले प्रचण्डको विकल्प खोजेर माओवादीलाई नयाँ आधार दिनुपर्ने आवाज पठाइरहेका छन् ।
को को कहाँ उभिए ?
बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई अहिलेसम्म पार्टीको ओरालो यात्रालाई ख्याल गरेर नेतृत्व छाड्नुपर्ने प्रस्ताव अघि सारेपछि माओवादी वृत्त तरंगित छ ।
शर्माको लिखित प्रस्तावमा प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न दबाब बढाएका छन् । निरन्तर माओवादीको नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको जनार्दनको जिकिर छ ।
पूर्वसभामुख ओनसरी घर्ती पनि जनार्दनलाई समर्थन जनाउँदै विधि र पद्धतिको कुरा गर्नेलाई पार्टी विभाजनको आरोप लगाएको भन्दै खरो रुपमा उत्रिइन् । घर्ती उपमहासचिव वर्षमान पुनकी पत्नी हुन् ।
त्यसो त जनार्दनकै प्रस्तावलाई बल पुग्नेगरी अर्का उपमहासचिव पुनले पनि आफ्नो धारणा राखेका छन् । उनले अहिले तत्कालै प्रचण्डको विकल्प खोज्ने अवस्था नरहेको भन्दै कार्यकाल तोक्नुपर्ने बताए ।
‘अध्यक्षले जनयुद्धपूर्वदेखि अहिलेसम्म पार्टीको नेतृत्व गर्नुभएको छ । अहिले नै विकल्प खोज्ने बेला त आएको छैन, तर अब सोच्नुपर्छ’, पुनको भनाइ थियो ।
आठौं महाधिवेशनमा महासचिवको टक्करमा लागेका शर्मा र पुनको अहिले एउटै लाइनमा धारणा आएपछि प्रचण्डलाई दबाब परेको छ । शर्मा र पुनबीच कुरा नमिलेपछि प्रचण्डले महासचिवमा देव गुरुङलाई ल्याएका थिए, तर प्रचण्डले शर्मा र पुनबीच खेलेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउनेगरी छलफल चलाएपछि सशंकित भएर उनीहरु एकै ठाउँमा आइपुगेको बताइन्छ ।
एक पदाधिकारी भन्छन्, ‘जनार्दनजीको प्रस्तावमा धेरैले समर्थन जनाए जस्तो देखिन्छ, तर बोल्न सक्नुभएको छैन । त्यसैले नेतृत्व परिवर्तनकै लागि भए पनि महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको छ ।’
उनले माओवादी कस्तो बनाउने भन्ने प्रचण्डको अबको रणनीतिले तय गर्ने सुनाए ।
प्रचण्डलाई चुनौती दिने पाखा पारिए
विगतदेखि नै पार्टी नेतृत्वमा हुँदा आफूविरुद्ध प्रस्ताव ल्याउनेहरुलाई प्रचण्डले पाखा लगाएको इतिहास छ । अब त्यसको भूमरीमा उपमहासचिव शर्मा पनि थपिनसक्ने चर्चा छ ।
त्यसको उदाहारण हो, आलोक (यानप्रसाद गौतम) । प्रचण्डको उत्तराधिकारी आफैंलाई घोषणा गरेर पूर्वी कमाण्डमा एकलौटी गर्न थालेपछि कारबाही गरेर उनलाई श्रम शिविरमा पठाइएको थियो ।
त्यसबेला माओवादीले कारबाही गर्दा नेताहरुलाई श्रम शिविर पठाइन्थ्यो । श्रम शिविरमा रहेको बेला सेनासँगको गाम भिडन्तमा उनी मारिएका थिए । उनी काभ्रेको चौरीदेउराली- ५ का हुन् ।
प्रचण्डलाई जनयुद्धमा साथ दिएका धेरै नेता माओवादी छाडेर अलग बाटोमा हिँडिरहेका छन् । अहिले पनि सत्ताबाट बाहिरिएर एक्लिँदै गएपछि प्रचण्डले पूर्वमाओवादीदेखि बृृहत वामपन्थी एकताको प्रयास गरिरहेका छन्, तर त्यो प्रचण्डको प्रयास सफल हुने सम्भावना न्यून छ ।
प्रचण्डको विपक्षमा युद्धकालदेखि नै फरक मत राख्ने मोहन वैद्य, सीपी गजुरेल पनि अहिले बाहिर छन् । वैद्य क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा छन् भने गजुरेल महासचिव ।
उनीहरु युद्धकालमा भारतको जेलमा परेका थिए र त्यसमा पार्टी एचक्यूको हात रहेको आरोपसमेत लगाइएको थियो । पार्टीकै षड्यन्त्रमा आफूहरु भारतमा पक्राउ परेपछि उनीहरुले धोबीघाट र पालुङटार बैठकमा फरक मत राख्दै पार्टी विभाजन गरेका थिए । त्यसबेलामा रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव पनि वैद्य र गजुरेलसँगै छुट्टिएका थिए ।
वैद्यबाट विभाजित प्रचण्डकै लाइनमा आएका रामबहादुर थापा बादल अहिले एमालेमा छन् । विप्लव समूहले नेपाल कम्युनिष्ट पार्टी खोलेको छ । विप्लव अहिले फेरि प्रचण्डसँग एकता गर्न संवादमा छन्, तर विप्लवको माओवादीमा व्यवस्थापनको चुनौतीकै कारणले प्रचण्डसँगको मिलन सहज छैन ।
अर्का हुन् रवीन्द्र श्रेष्ठ, जनयुद्धमा होमिएका श्रेष्ठले चुनवाङ बैठकपछि माओवादी छाडेका थिए । उनले आफ्नो प्रस्तावविपरीत पार्टीले राजतन्त्रविरुद्ध राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय परेपछि प्रचण्डले पाखा लगाएका थिए । उनीसँगै माओवादीबाट पाखा लगाइनेमा पर्छन् मणि थापा ।
श्रेष्ठ र थापाले युद्धविरामको विरोध गर्दै पार्टीबाट विद्रोह गरे प्रचण्डसँग असहमति राखेपछि कारबाहीमा परे । थापा वैद्य नेतृत्वको पार्टीमा गए पनि त्यहाँ टिक्न नसकेर २०७४ सालको निर्वाचन अघि माओवादीमै फर्किए, तर माओवादीले एमालेसँग एकता गरेर बनेको तत्कालीन नेकपा भंग हुँदा थापाले एमाले नै रोजेका थिए । यद्यपि अहिले एमाले पनि छाडेर माओवादीमै प्रवेश गर्ने आन्तरिक तयारीमा रहेको बताइन्छ । थापासहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत केही नेताहरु अहिले एमालेमा छन् ।
यीबाहेक प्रचण्डलाई नेतृत्वमा टक्कर दिन सक्नेमध्येका एक थिए, बाबुराम भट्टराई । संविधान जारी हुनेबित्तिकै भट्टराई र हिसिला यमीहरुले २०७४ सालमा प्रचण्डको साथ छाडेका थिए ।
भट्टराई अहिले प्रचण्डको कडा आलोचकमध्येका एक हुन् । नयाँ शक्ति गठन गरेका भट्टराईले अहिले मधेश केन्द्रित दलसँगको एकता विफल भएपछि नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।
प्रचण्डले एमालेसँग एकता गरेपछि गोपाल किराँती र विश्वभक्त दुलाल आहुतिले पनि फरक फरक दल गठन गरेका छन् । आहुतिले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका छन् । किराँतीले नेकपा माओवादी गठन गरेका थिए, तर अहिले सबै माओवादी मिल्नुपर्ने पक्षमा उभिएका छन् ।
इतिहासमा अहिलेसम्म प्रचण्डसँग विमति राखेर वा चुनौती दिएर माओवादी पार्टीमा कोही पनि टिक्न सकेका छैनन् । यस पटक जनार्दनले गरेको बगावतलाई प्रचण्डले व्यवस्थापन गर्छन् वा विगतकै अरु नेता जस्तो पाखा पारिन्छन् ? त्यो हेर्न बाँकी छ ।
‘प्रस्ताव स्वाभाविक, बहसमा लैजानुपर्छ’
तर माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा बैठकमा आएको उपमहासचिव शर्माको प्रस्तावलाई स्वाभाविक रुपले लिनुपर्ने बताउँछन् ।
उनले भने, ‘उहाँले लिखित रुपमा राख्नुभएको छ । अब नेतृत्वको विषयमा पनि कुरा आएका छन् । छलफल चलिरहेको छ । यो बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्छ, त्यसले थप निर्णय गर्छ ।’
उनले अहिले प्रचण्डको विकल्प खोज्नेगरी पार्टी अघि नबढ्ने सुनाए । कम्युनिष्ट पार्टीमा छलफल र बहसलाई अन्यथा लिन नहुने उनको तर्क छ ।
केन्द्रीय सदस्य रञ्जित तामाङले पार्टी पुनर्निर्माणको चरणमा उपमहासचिव शर्माको आएको प्रस्तावलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।
उनले भने, ‘सबैले आआफ्नो धारणा राखेर नै पार्टीलाई बलियो बनाएर लैजाने हो । उहाँले पार्टी निर्माणको लागि उठाएको विषय ठीक छ, तर नेतृत्व अर्को खोजिहाल्ने अवस्था छैन । अब विशेष महाधिवेशनमा जानुपर्छ । अध्यक्षदेखि पदाधिकारी, स्थायी र केन्द्रीय कमिटी, सांसद र मन्त्री कति पटकसम्म बन्ने भन्ने विषयमा कार्यकाल तोक्नुपर्छ भन्ने कुरा ठीक छ ।’
उनले अब विशेष महाधिवेशनको वातावरण बनाएर विधानसम्मत नयाँ नेतृत्व ल्याउनुपर्ने बताए ।
नेता तामाङले थपे, ‘पार्टीमा निर्वाचनको प्रक्रिया अपनाउनेबित्तिकै धेरै कुरा हल हुन्छन् । विशेष महाधिवेशनमार्फत् उहाँ (जनार्दन)ले उठाएको विषयमा छलफल गरेर एकताबद्ध गरेर जानुपर्छ । उहाँको प्रस्तावलाई स्वाभाविक लिनुपर्छ । कम्युनिष्ट पार्टीभित्र लागेको कुरा बैठकमा त राख्ने हो, बैठकबाट निष्कर्ष निकाल्दै अगाडि बढ्ने परम्परा हो ।’
उपमहासचिव शर्माको प्रस्तावले पार्टीभित्र नयाँ बहस प्रवेश पाएको उनले जिकिर गरे ।
नेता तामाङले भने, ‘पार्टीभित्र धारणा राखेकै आधारमा पार्टीबाट बहिर्गमन हुनुपर्ने, कारबाही अथवा अवहेलना भोग्नुपर्ने अवस्था आउँदैन । हामी जनवादी केन्द्रको विधि भन्छौं, त्यो भनेको बहुमतको निर्णय अल्पमतलाई ध्यान दिने भन्ने नै हो । त्यसको पनि धारणा सुन्छौं ।’
शर्माको प्रस्तावलाई छलफलमा लगेर उचित निष्कर्षमा पुग्नुपर्ने उनको मत छ ।
उनले थपे, ‘यो विषय राखेकै आधारमा किनारा लगाउँदैन । विषय राख्दैमा र नेतृत्वको आलोचना गर्दैमा कुनै पनि प्रकारको वैरभाव हुँदैन ।’
‘प्रचण्डले बलमिच्याइँ गरे विद्रोह हुनसक्छ’
राजनीतिक विश्लेषक चन्द्रकिशोर अब माओवादीलाई अगाडि बढाउन प्रचण्डले पार्टीको संरक्षक बसेर नेतृत्व छाड्नुपर्ने बताउँछन् ।
उनले भने, ‘पार्टी बैठकमा छलफलको क्रममा विभिन्न प्रस्ताव आउँछन्, तर माओवादीमा प्रचण्डले जनसंघर्षको पनि लामो समयसम्म नेतृत्व गर्नुभयो । सत्ता राजनीतिको पनि गरिराख्नुभएको छ । अब उहाँले आफू संरक्षक भएर पार्टीमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्छ ।’
प्रचण्डले पहिला झैं गरेर पार्टीभित्र बलमिच्याइँ गर्न खोजे विद्रोह हुनसक्ने उनको विश्लेषण छ ।
‘पार्टी अहिले उहाँको कमाण्डमा छ । जनार्दनजीले पार्टीको लागि नयाँ प्रस्ताव ल्याउनुभयो । त्यहाँ केही मान्छेहरु ढोका बन्द भयो भने अर्को पार्टीमा जानसक्नेहरु पनि छन् । माओवादीभित्रको असन्तुष्टिलाई प्रचण्डजीले अब कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरा मुख्य हो । जनसंघर्षको बेलामा असन्तुष्टहरुलाई श्रम शिविरमा राख्नुहुन्थ्यो’, चन्द्रकिशोरले थपे, ‘त्यसबेला उहाँको एकलौटी चल्थ्यो, अब पारदर्शिताको समय हो । बलमिच्याइँ गरेर कसैलाई आउट गर्न अहिले उहाँले सक्नुहुन्न । माओवादीले पार्टीभित्रको विवाद समाधान गर्न सकेन भने केही हिस्सा टुक्रिएर अर्को दलमा जानसक्छ वा अर्को पार्टी बनाउनसक्छ ।’
विश्लेषक चन्द्रकिशाेरले थपे, ‘नयाँ विचार र नेतृत्वको खोजीमा सबै हुन्छन् । जनार्दनजीको यो प्रस्तावपछि प्रचण्डजीकै भाषामा भन्नुपर्दा पार्टीभित्रको समीकरणमा उथलपुथल हुन्छ नै । त्यसैले प्रचण्डले अब नेतृत्व छाडेर विधानबमोजिम नयाँ नेतृत्व ल्याउनुपर्छ ।’
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सबै मिलेर जाने बताएका छन् । स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव आएपनि मिलेर जाने बताए ।
नेतृत्व हस्तान्तरणबारे उनले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरुलाई हो टेन्सन, हामीलाई केही छैन ।’
उपमहासचिव जनार्दन शर्माले बैठकमा लिखित धारणा राख्दै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए। उनको प्रस्तावमा केही नेताहरुले समर्थन जनाएका छन् ।
प्रचण्डको भनाइलाई समर्थन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक सकारात्मक बन्दै गइरहेको बताए ।
उयनले भने, ‘अध्यक्षज्यूले भनि सक्नुभयो । बैठक राम्रो सकारात्मक हुँदै गइरहेको छ । उहाँले संकेत गर्न खोज्नुभएको कुरा भित्र जे छलफल भइरहेको छ, बाहिर टुटेफुटेर आएको छ । मैले त समग्रमा भनेकै छु । तर, सत्य एउटा हुन्छ अंशमा गर्दा अर्को पर्न जान्छ ।’
उनले बैठकमा स्तरिय छलफल भएको जिकिर गर्दै कुनै समस्या नभएको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालयमा स्वागत गरे । एमालेमा प्रवेश गरेका शर्माले एमाले नै कम्युनिष्टको मूल नेतृत्व भएकाले माओवादी त्यागेर आएको बताए । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले शर्मालाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेश घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका रहेको टिप्पणी गरेका छन्।
तत्कालीन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरूबाट घरेलु परिघटनामा मात्र सीमित नरहेको बताए।
उनले भनेका छन्, ‘यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ । साथै, हिन्दू अल्पसङ्ख्यकमाथिको निकृष्ट दुर्व्यवहारको निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको छ । यो ज्यादै गम्भीर पक्ष हो, जसप्रति सबै समयमै सचेत हुनुपर्छ । अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादी द्वन्द्वले सबै तिर एउटा वा अर्को रूपमा ज्यादै नकारात्मक नुकसानदाय प्रभाव देखाउन सक्ने खतरा लाई नजरअन्दाज गर्न सकिन्न ।’
देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र समाधान प्राप्त नहुने बताए।
उनले थपेका छन्, ‘यसका बाबजुद के कुरामा स्पष्टताको आवश्यकता छ भने फेरि पनि जनताको भूमिका नै निर्णायक हुन्छ । राज्य र सरकारले देश र जनताको पक्षमा काम गरेको अवस्थामा वैदेशिक हस्तक्षेप र अतिवादका लागि कुनै कुनै निमित्त कारण वा आधार प्राप्त हुन सक्दैन । त्यसको सट्टा जनतामा निराशा, असन्तुष्टि र आक्रोश पैदा भएमा त्यस प्रकारको शक्ति र प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहिरहन्छ ।’
देश र जनताप्रतिको सरकारको निष्ठा र कामले नै जनताको साथ सहित राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। त्यसो त माओवादीका अध्यक्ष प्रचण्डले पनि शनिवार पार्टी बैठकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री हसिना र आफूलाई एकै ढंगले हटाइएको टिप्पणी गरेको थिए।
काठमाडौं । नेपाली कांग्रेका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
नेता महरले प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । उनले अध्यक्ष प्रचण्डसँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।
यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।
एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव पोखरेलसँग समसामयिक राजनीतिका विषयमा कुराकानी गरेको बताएका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूबिरुद्ध पार्टी छाड्दैछ, पार्टी फुटाउँदैछ जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् ।
स्थायी कमिटीको जारी बैठकमा शर्माले लिखित मत राख्दै खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको दाबी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाटै यस्ता हल्ला चलाइएको उनको ठम्याई छ ।
शर्माले पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा दुई पेज लामो फरक मत राख्दै भनेका छन्– उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमा कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।
शर्माले प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको आरोप समेत लगाएका छन् ।
उनले नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरिएको समेत आरोप लगाएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व छाड्न सुझाव दिएका छन् ।
स्थायी कमिटीको जारी बैठकमा उनले पेश गरेको लिखित प्रस्तावमा प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् ।
२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
उपमहासचिव शर्माले शान्ति प्रक्रियापछि पार्टीभित्र देखिएका र नेतृत्वले बेवास्ता गरेका १० समस्याहरुको पहिचान गर्दै यसका कारण नै पार्टी निरन्तर कमजोर भएर लोपोन्मुख अवस्थामा पुगेको बताएका छन् ।पार्टी शुन्यतर्फ जानुको मुख्य दोषी नेतृत्व नै रहेको भन्दै अब नेतृत्व नयाँ पुस्तामा दिन प्रस्ताव गरेका छन् ।
उनले भनेका छन्–२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शुन्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्ख्तर १४ लाख,११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । बिडम्बना के छ भने,आज पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्दैछ भनेर नेतृत्व तहबाटै हल्ला चलाइएको आरोप लगाएका छन् । शर्माले पार्टी फुट्दैछ भन्ने हल्लाको बारे नेतृत्व तहबाटै स्पष्ट पारिनुपर्ने समेत बताएका छन् ।
पार्टी बैठकमा शर्माले पार्टीभित्र मुद्दामा आधारित छलफल र बहस गर्दा त्यसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको बताएका छन् । शर्माले प्रचण्डको कार्यशैलीको विरोध गर्दा उनले पार्टी फुटाउन लागेको हल्ला चलेपछि प्रतिवाद गरेका हुन् ।
जारी स्थायी कमिटी बैठकमा आफ्नो लिखित मत राख्दै नेता शर्माले भनेका छन्- विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भयो ।
शर्माले गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रियाकलापबाट पार्टीलाई भएको लाभ वा हानीको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् । उनले प्रधानमन्त्री भएकै बेला प्रचण्डले प्रयोग गरेको उथलपुथलको सिद्धान्तप्रति समेत कटाक्ष गरेका छन् ।
शर्माले भनेका छन्- अहिलेको उथलपुथलले सङ्घ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को हो ? यस विषयमा पार्टीले प्रष्ट पार्नुपर्छ ।
पार्टीमा प्रचण्डले दिएको उपमहासचिव पद अस्वीकार गरेका शर्माले अब नेतृत्वबाट प्रचण्डसहितका पदाधिकारीले बिदा लिएर तेस्रो पुस्तालाई जिम्मेवारी दिन समेत प्रस्ताव राखेका छन् ।
शर्माले १५ वर्षसम्म माओवादी पार्टी निरन्तर सरकारमा रहेको अवधिमा प्राप्त भएका उपलब्धि र कमी कमजोरीको व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन गर्न समेत प्रस्ताव राखेका छन् । उनले २०८४ सालसम्म माओवादी पार्टी प्रतिपक्षमा रहने र सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् ।
शर्माले प्रचण्डदेखि सबै माओवादी नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्ने प्रस्ताव पनि स्थायी कमिटी बैठकमा राखेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए ।
दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताएको स्थायी कमिटी सदस्यले बताए । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताएका छन् ।
बैठकमा प्रचण्डले माधव नेपाल नेतृत्वका नेकपा एस, विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वका नेतालगायतका दलहरूसँग एकताको पहल भइरहेको बताएका छन् । प्रचण्डले कांग्रेस र एमालेको सहकार्य देशभित्रको मात्र परिस्थितिले नभएको भन्दै आउने चुनाव एक्लै लड्ने गरी तयारीमा रहनुपर्ने समेत बताएका छन् ।
माओवादी स्थायी कमिटी बैठक आइतवार पनि जारी छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक सांगठानिक प्रस्ताव समेत पेश गरेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने भएको छ ।
जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए ।
उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं । हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौं । अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं । यहाँ अस्थिरताको कुरा गरिँदैछ । कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।’
प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।
उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल नभएको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । जारी स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रममा नेताहरुले पार्टीलाई सुदृढ बनाएर जानुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘परिस्थिति पेचिलो र जटिल हुँदैछ । राष्ट्रियता र लोकतन्त्र जनताको जनजीविकाको सम्बन्धमा पनि त्यसलाई सामना गर्न पार्टी नै सवल हुनुपर्छ । त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्छ । कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदूषित भएका छौं । त्यो प्रदूषणबाट मुक्त गर्न शुद्धीकरण अभियान चलाउनुपर्छ । त्यो अभियान पार्टीको मात्रै नभइ राज्यको पनि हो ।’
प्रवक्ता सापकोटाले आन्दोलनलाई नयाँ ढंगले परिभाषित गरेर सञ्चालन गर्नुपर्नेमा नेताहरुले जोड दिएको सुनाए ।
उनले थपे, ‘सदन र सडक जोड्ने स्पष्ट नीति, योजना र कार्यक्रमसहित जनतामा जानुपर्छ । विगतका अनुभवहरुलाई पनि फेरि अध्ययन गर्नुपर्छ ।’
नेता सापकोटाले बैठकमा नेताहरुले बृहत् वामपन्थी एकीकरणको विकल्प नभएको बताएको पनि सुनाए ।
उनले भने, ‘समाजवादी मोर्चामा रहेकाहरुसँग पनि कुरा भइरहेको र नेकपा एसका अध्यक्ष माधव नेपाल विप्लवसहित बृहत् एकीकरणको लागि तीव्र पहलकदमी लिनुपर्छ भन्ने कुरा पनि राख्नुभएको छ ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठकमा चलिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोबाट सुरु भएको बैठकमा चार एजेण्डामा छलफल केन्द्रित रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। आजबाट नेताहरुले एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।
हिजोको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।
स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेण्डा तय गरेको थियो । करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ ।
जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ । यसअघि अध्यक्ष प्रचण्डले सबै पदाधिकारी सदस्यको कुरा सुन्न पाँच दिनसम्म बैठक राखेका थिए ।
स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा चार एजेण्डामा छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजबाट सुरु भएको बैठकमा चार एजेण्डा प्रस्तुत भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डा तय भएको बताए ।
स्थायी समिति बैठकअघि बसेको पदाधिकारी बैठकले एजेण्डा तय गरेको थियो । प्रस्तुत भएको एजेण्डामा भोलिबाट छलफल सुरु हुने प्रवक्ता सापकोटाले बताए ।
करिब ९ वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ । जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।
यसअघि अध्यक्ष प्रचण्डले सबै पदाधिकारी सदस्यको कुरा सुन्न पाँच दिनसम्म बैठक राखेका थिए । स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ ।
काठमाडौं । कहिले कांग्रेस त कहिले एमालेको काँधमा चढेर सत्तामा हालिमुहाली गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनायस रित्तिएका छन् । उनले प्रधानमन्त्री पद गुमाएसँगै केन्द्रदेखि प्रदेश सबैतिर माओवादी सत्ताच्यूत भएको छ ।
दुई ठूला कांग्रेस र एमाले मिलेपछि प्रचण्डले भन्दै आएको ‘जादुयी नम्बर’ ले काम गर्न छाडेको हो । १९ महिना सत्ताको नेतृत्व गरेका प्रचण्ड अहिले प्रमुख प्रतिपक्ष दलको नेतामा सीमित छन् । प्रचण्ड र उनको दल माओवादीको भविष्यलाई लिएर विभिन्न प्रश्नहरु उठ्न थालेका छन् । २०८४ को चुनावमा पनि कांग्रेस र एमालेमध्ये एउटाको ओत लाग्न नपाए पार्टीको हविगत के होला भन्ने चिन्ता नेता-कार्यकर्तालाई पर्न थालिसकेको छ ।
प्रधानमन्त्रीबाट बहिर्गमनपछि आफैंलाई सान्त्वना दिन प्रचण्डले भनेका थिए ‘हामी सरकारबाट बाहिरिनु परे पनि विजयी मुडमा छौं । कांग्रेस-एमाले गठबन्धनलाई जनताले रुचाएका छैन । हेर्नुस् त हालत ।’
तर, यथार्थमा उनी विजयी मुडमा छैनन् । विश्वासको मत माग्न डाकिएको संसद बैठकमा उनको भावभंगीमा चरम नैराश्यपूर्ण थियो । अनुहारमा कुनै कान्ति थिएन । हुन त प्रधानमन्त्रीको कुर्सीबाट हट्ने समयमा जोकोहीको मनोदशा योभन्दा फरक हुँदैन पनि । केपी ओलीले ‘स्वर्ग र नर्क सँगै जाने’ भनेर आफूलाई नराम्ररी झुक्याएको उनको सबैभन्दा ठूलो गुनासो थियो । तर, नेपाली राजनीतिमा ‘धोका’ लाई सामान्यीकरण गरेको आखिर उनैले नै हो । शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पालैपालो ‘धोका’ दिएर सत्तायात्रा लम्ब्याएका हुन् उनले ।
सत्ताबाट हटेपछि बालुवाटारबाट निस्केका प्रचण्डलाई खुमलटारमा गरिएको स्वागत ।
सत्ताबाट बहिर्गमन प्रचण्ड र माओवादीले अब कस्तो लय समात्छन् भन्ने चासोको विषय हो । अब पूर्णरूपमा पार्टीको काममा केन्द्रित भएर २०८४ सालको चुनावी तयारी गर्ने अवसर प्रचण्डसँग छ । प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दुवै सरकारमा हुँदा पार्टी गतिविधि अघि बढ्न सकेको थिएन । ०६४ सालको निर्वाचनमा पहिलो शक्तिको रुपमा उदाएको माओवादी अहिले निरन्तर ओरालो यात्रामा छ । अझै भनौं एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैन ।
निरन्तर नेतृत्वमा हुँदा सत्ता केन्द्रित भएकै कारणले माओवादीको जनमत खस्किएको नेताहरू स्वीकार्छन् । चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको प्रवक्ता अग्नी सापकोटाको भनाइ छ ।
उनले थपे, ‘चुनावमा गठबन्धन गर्दा कहीँ न कहीँ गठबन्धनभित्रका अरु पार्टीको पनि सन्तुुलन मिलाउनुपर्ने हुनाले हाम्रो विचार सिद्धान्त लाने मौका मिलेको थिएन । त्यसैले यसलाई अब जनतामा जाने अवसरको रूपमा लिएका छौं ।’
माओवादी सचिव गणेश साह अब कांग्रेस र एमाले मिलेपछिको यो अवधिलाई माओवादीले अवसरको रूपमा लिएर अघि बढ्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘यो अवधिलाई पार्टी चलायमान बनाउने कार्यक्रमहरू ल्याएर अहिलको समीक्षा गरेर अघि बढ्नुपर्छ । यो माओवादीको लागि अवसर हो ।’
स्थानीय सरकारको परिचालन तथा अहिले संविधानविपरीत उठेको आवाजको विषयमा प्रतिवाद गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । प्रचण्डले पदाधिकारी बैठकपछि स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक राखेर सदन, सडकदेखि संगठन र जनपरिचालनलाई प्रभावकारी बनाउने कार्यक्रम अघि सार्दैछन् ।
सदनदेखि सडकसम्म बलियो प्रतिपक्ष
माओवादीले सदनमा अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारी सम्हालिरहेको छ । कांग्रेस-एमालेबीचको मिलनपछि सत्ताबाट हात धुन परेपछि माओवादीका नेताहरु सदनदेखि सडकसम्म आक्रमक रूपमा प्रस्तुत भइरहेका छन् ।
त्यही देखेर अहिले गृहमन्त्रीसमेत रहेका रमेश लेखकले सदनमा प्रचण्डलाई कटाक्ष गर्दै भनेका थिए, ‘प्रतिपक्ष दलको नेता बन्न योग्य व्यक्तिलाई प्रधानमन्त्री बनाएर गलत गरेछौं कि !’
दुई दलबीच संविधान संशोधन गर्ने विषयमा भएको सहमतिप्रति माओवादी थप रुष्ट छ । उक्त सहमतिलाई अतिरञ्जित गर्दै प्रचण्डले संसदमा साना दलहरुसँगै कांग्रेस-एमालेका मधेशी-जनजातिहरूलाई उचाल्ने भरपूर प्रयास गरे । कांग्रेस एमालेले गणतन्त्र कायम राखेर ०४७ को संविधान फर्काउन खोजेको भाष्य माओवादीले बनाउन खोजेको छ । त्यहीअनुसार सदनदेखि सडकसम्मको कार्यक्रम अघि ल्याउँदैछ ।
नयाँ गठबन्धनले अमूर्त ढंगले बनेको भन्दै संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, संघीयता हटाउनेदेखि संसद् विघटन गर्ने खतरासम्म माओवादीले देखेको छ । र, त्यो कुरा स्वीकार्न सत्तारुढ दल तयार छैनन् ।
आफू सरकारबाहिर रहेका दलहरूसँग एकै ठाउँमा रहेको सन्देश दिन माओवादी रास्वपा र नेकपा एससँग पनि निरन्तर संवादमा छ । रास्वपाले आफूहरू विपक्षी मोर्चामा सहभागी नहुने निर्णय गरे पनि नेकपा एस प्रचण्डकै साथमा छ ।
सरकारबाट बाहिर रहँदा आत्तिनुपर्ने केही कारण नभएको केन्द्रीय सदस्य हिमाल शर्मा बताउँछन् ।
उनी भन्छन्, ‘हामीलाई जनताले दिएको मतअनुसार प्रमुख प्रतिपक्ष बन्ने सौभाग्य पाएका छौं । पहिलो र दोस्रो ठूला दल नमिलको भए हामी प्रमुख प्रतिपक्ष हुन सक्ने अवस्था थिएन । हामी सडक र सदनबाटै जनताको एजेण्डा स्थापित गर्छौं ।’
जनतामा जाने, संगठन पुनर्गठन गर्ने
प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेकाले त्यसैलाई लिएर अब संगठन निर्माणमा जानुको विकल्प नभएको बताउँछन् शर्मा ।
उनले थपे, ‘पार्टी निर्माण गर्ने र जनतामा जाने मौका पनि मिलेको छ, नराम्रो काम गरेर सरकारबाट हट्नुपरेको भन्ने जनतामा परेको छैन । राम्रो कामको प्रयास गर्दा गर्दा हटाइएको भन्ने सन्देश जनतामा गएको छ ।’
प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेको छाप जनतामा परेकाले संगठन निर्माणमा सहज भएको उनको बुझाइ छ ।
नेता शर्माले भने, ‘हामीले संगठनलाई आफ्नै बलबुतामा अघि बढ्नेगरी तयारी गर्नुपर्छ । संगठन पुनर्गठनलाई पनि नयाँ ढंगले लैजाने कोसिस गरिरहेका छौं ।’
त्यसो त उनलेमात्रै नभई अध्यक्ष प्रचण्डले पनि अब सरकार नभई जनतामा फर्किनुपर्नेमा जोड दिएका छन् । जनतासँगको कडी टुटेकाले अब आफू देशभर जनताको अवस्था बुझ्न जाने प्रचण्डले बताएका छन् ।
पदाधिकारी बैठकमा उनले भने, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ ।’
उनले आफूहरुले विगतमा कहीँकहीँ त्रुटि गरेको स्वीकार गरेर जनतामा फर्किनुपर्नेमा जोड दिए ।
प्रचण्डको मात्रै होइन पार्टीका अधिकांश नेताहरुले आगामी रणनीति तय गरेर संगठनात्मक गतिविधि र विधान अनुसार पार्टी सञ्चालनमा सबै एकुजट हुनुपर्नेमा एकमत रहेको सचिव साहले बताए ।
मोर्चादेखि एकताका कुरा
माओवादी सत्ताबाट प्रतिपक्षमा पुगेपछि सदनमा पनि आक्रामकरूपमा प्रस्तुत हुँदै आइरहेको छ । माओवादीले रवि लामिछाने नेतृत्वको रास्वपा र नेकपा एसलाई पनि विपक्षी मोर्चामा सहभागी बनाएर सदनमा कडा रूपले प्रस्तुत हुन खोजिरहेको देखिन्छ ।
प्रचण्डले सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाए । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपा सहभागी छन् । यसअघि मोर्चाको दोस्रो ठूलो घटक रहेको जसपा भने अहिले मोर्चामा सहभागी छैन । प्रचण्डले आफ्नो सत्ता टिकाउनको लागि ओलीसँग मिलेर पार्टी फुटाइदिएको भन्दै उपेन्द्र यादव रुष्ट छन् । यद्यपि, उपेन्द्रलाई पनि मोर्चामा सहभागी गराउन प्रचण्डसहित अन्य घटकले प्रयास गरिरहेका छन् ।
कांग्रेस एमालेले आउँदो निर्वाचनमा माओवादीलाई नबोक्ने शर्तमा गठबन्धन गरेको बताइरहेका बेलामा प्रचण्डले मोर्चालाई बलियो बनाएर प्रतिस्पर्धी शक्ति बनाउन खोजिरहेका छन् । त्यसअघि कांग्रेससँगको गठबन्धनमा हुँदा पनि देउवालाई दबाबमा राख्नको लागि उनले मोर्चा खडा गरेका थिए ।
प्रचण्डले विप्लव नेतृत्वको नेकपा र नेसपाका महेन्द्र यादव पक्षसँग एकताको गृहकार्य गरिरहेका छन् । तीबाहेक पूर्वमाओवादी घटकलाई पनि एकताबद्ध गराउने उनको प्रयास छ ।
त्यसबारेमा महासचिव देव गुरुङ भन्छन्, ‘छलफल चलिरहेको छ । अहिलेसम्म परिणाममुखी भइसकेका छैनन् । त्यसैले छलफलमा रहेको विषयमाथि धेरै टीकाटिप्पणी गर्नुको अर्थ हुँदैन ।’
समाजवादी मोर्चालाई कार्यदल बनाएर एकता संयोजक समिति बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । तर, केन्द्रीय सदस्य शर्मा आगामी निर्वाचनमा कांग्रेस, एमाले नै मिलेर आए पनि माओवादीलाई असर नगर्ने जिकिर गर्छन् ।
उनले थपे, ‘हामी पनि एक्लै लड्ने हो । गठबन्धनकै कारणले गत निर्वाचनमा थोरै मत पाएका छौं । हामी देशव्यक्ति रुपमा मत जोगाएर जान्छौं। कांग्रेस एमालेले पनि दयामाया नभइ आवश्यकताले मिलेका हुन्, हामीलाई कसैसँग मिल्नुपर्छ भन्ने छैन ।’
माओवादीले कम्युनिष्ट एकताको पहल गर्नकै लागि समाजवादी मोर्चाबाट थालनी गरेको उनले बताए ।
नेता शर्माले भने, ‘सत्ताभित्र हुँदा नै समाजवादी मोर्चा बनेको थियो । अहिले त्यसलाई क्रियाशील बनाउन खोजिएको हो । माओवादी एकता रणनीतिक कुरा हो । हामी कम्युनिष्ट एकता चाहन्छौं । माओवादी घटक एक हुनुको विकल्प छैन ।’
कम्युनिष्ट एकतालाई जनताले रुचाएकाले प्रयास नछाड्ने प्रवक्ता सापकोटाले बताए ।
उनले भने, ‘कम्युनिष्ट पार्टीहरूको मिलनलाई जनताले रुचाइएकाले अगाडि बढाएका थियौं, तर रक्षा गर्न सकेनौं । त्यो नसकेपछि हामीले समीक्षा गर्दै एमालेसँग समीकरण गरेका थियौं । एमालेसँग परसम्म जाने सहमति थियो तर तोडियो ।’
समाजवादी मोर्चा हुँदै अग्रगामी शक्तिहरुको एकता हुने उनले जिकिर गरे ।
सापकोटाले थपे, ‘कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि निरन्तर प्रयास गरिराख्नुपर्छ । समाजवादी मोर्चालाई विस्तार गर्दै बृहत वामपन्थी एकतासम्म पुर्यायौं भने कम्युनिष्ट पार्टीबीच एकता पनि हुन्छ ।’
सत्ताका फर्किने प्रयत्न
प्रचण्डसहित माओवादीका नेताहरू तत्काल सरकारतर्फ नहेर्ने दाबी गर्दै आइरहेका छन् । प्रचण्डले त आफू अब यो संसदीय कार्यकालमा प्रधानमन्त्री नबन्ने घोषणा समेत गरे ।
तर, ओलीले सरकार ढाल्ने निश्चित भएपछि प्रचण्ड सत्तामा टिक्न ओलीलाई प्रधानमन्त्रीको अफर गर्नेदेखि कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत प्रस्ताव गरेको कुरा लुकेको छैन ।
माओवादीका एक नेताले भने, ‘संसदीय राजनीतिमा सरकार अंकगणितको हिसाबले चल्ने हो, अहिलेसम्म जोडघटाउ चलिरहेकै अवस्थामा सरकारको लागि प्रयास हुनु स्वभाविक हो । प्रतिपक्षमा हुने सबै दलले गर्छन् ।
कांग्रेस र एमाले मिलेर संख्याको हिसाबमा बलियो देखिएपनि लामो समयसम्म नजाने माआवादीको दाबी छ । ओलीले ‘धोका’ दिएपछि एमालेसँग आक्रमक भएपनि कांग्रेससँग भने नरम देखिएर माओवादीले अहिले पनि बाटो खुला नै राखेको छ ।
ती नेता थप्छन्, ‘हामी सरकारमा हुँदा धेरै प्रश्न उठाउन खोजेका थिए । हामीले सुशासन र भ्रष्टाचारविरुद्ध जुन कदम चालेको छौं, अहिलेको सरकारलाई त्यही भारी परेको देखिएको छ । केही समय हेरौं न, जनतामा देखिएको भ्रम पनि हट्छ भन्नेमा हामी ढुक्क छौं ।’
तर, माओवादी सरकारमा कुर्सीमा टाँसिनमात्रै नगएको नेता शर्माको दाबी छ ।
उनले भने, ‘हामी आफ्नो व्यक्ति स्वार्थले मात्रै सरकारमा गएका होइनौं । मुलुकलाई सही दिन निर्देश गरेर संघीयतालाई कार्यान्वयन गर्नको निम्ति, सुशासनको जग बसाल्ने उद्देश्यले गएका हौं । हामी नगइ अरुले गरेर हुँदैन । दलाल पूँजीवादीको हाबी भएको छ । त्यसैले जोसँग मिलेर गएपनि देश र जनताको स्वार्थ हेरेर मात्रै गएका छौं ।’
उनले माओवादीले फेरि सत्तामा फर्किन कुनै पहल नगर्ने बताए ।
शर्माले थपे, ‘यो सरकार धेरै टिक्ने आधार नै छैन, माओवादीले केही खेल्न गर्नै पर्दैन, एक सय दिनपछि आफैं देखिन्छ ।’
‘प्रचण्डले सत्तामात्रै देखे खिइँदै सकिन्छन्’
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ प्रचण्डले सत्तामात्रै देखे खिइँदै सकिने दाबी गर्छन् ।
उनी भन्छन्, ‘कांग्रेस र एमाले मिलिसकेपछि प्रचण्डको आवश्यकता परेको छैन, त्यसैले यो पार्टी अब टिक्न सक्ला कि नसक्ला भन्ने प्रश्न चिन्ह चाहीँ छ ।’
यो विषयमा केन्द्रित रहेर हामीले विश्लेषक श्रेष्ठलाई ४ प्रश्न सोध्यौं । यस्तो छ, सवाल-जवाफः
– माओवादी ९ वर्षपछि सत्ता बाहिर पुगेको छ, अब प्रचण्डको राजनीतिक यात्रा कस्तो देख्नुहुन्छ ?
प्रचण्ड लामो समयदेखि प्रतिपक्षमा बसेका थिएनन् । कहिले कुन, कहिले कुनसँग मिलेर सत्तामा बसेरहेको माओवादी पहिलोचोटि प्रतिपक्षमा पुगेको छ ।
प्रतिपक्षमा आउँदा उसले जनताको मुद्दा कुन ढंगले उठाउँछ भन्ने हेर्नु छ । त्यो पार्टी सत्ता नभइ टिक्न नसक्ने रुपमा विकसित भइसकेको छ । कांग्रेस र एमाले मिलिसकेपछि प्रचण्डको आवश्यकता परेको छैन, त्यसैले यो पार्टी अब टिक्न सक्ला कि नसक्ला भन्ने प्रश्न चिन्ह चाहीँ छ ।
– प्रचण्डसँगै माओवादीको भविष्य पनि ओरालो यात्रामा छ भन्न खोज्नुभएको हो ?
यो अहिलेको परिस्थितिलाई प्रचण्डले कसरी लिन्छन् भन्नेमा भर पर्छ । प्रचण्डले यसलाई आफूलाई पनि सपार्ने, आफ्नो पार्टीभित्र पनि समीक्षा गर्ने र पहिलेभन्दा राम्रो भएर गल्ती सच्याएर जाने, जनताको कुरा उठाउने, यो अवसर पनि छ ।
यो बाटोमा गयो भनेदेखि अवसरमा परिणत हुन्छ उसको लागि । सधैँ सत्तामै जानुपर्ने कुनै न कुनैसँग टाँसिनुपर्ने भन्ने ढंगले जाने हो भने प्रचण्डहरू खिइएर जान्छन् । योभन्दा कमजोर भएर जान्छ । त्यसैले कुन बाटो अपनाउँछ भन्ने कुरा प्रचण्डकै हातमा भर पर्छ ।
– सत्ताबाट बाहिरिनासाथ प्रचण्डले समाजवादी मोर्चा र विपक्षी मोर्चा अघि बढाउनुलाई कसरी लिनुहुन्छ ?
यो आन्दोलनको लागि एउटा साधन चाहिन्छ । त्यो चाहीँ समाजवादी मोर्चा बनाउने भन्ने ढंगले गरेको हुनसक्छ । अथवा सत्तामा जानको लागि तर्साउने मेलो पनि हुनसक्छ । साँच्चिकै आन्दोलन गर्नको लागि तयारी गरेको पनि हुनसक्छ । के हो र कसरी अगाडि बढ्छ भन्ने कुरा प्रचण्डमै भर पर्छ ।
– प्रचण्डको यो प्रयास सत्ता केन्द्रितमात्रै हो ?
नेपालको सबै पार्टीले आफू कमजोर हुँदा र सत्ता बाहिर हुँदा अरुले पनि गर्ने त्यही हो । प्रचण्डले पनि त्यही गरेका हुन्, त्यो प्रचण्डको मात्रै प्रवृत्ति होइन । आफूलाई शक्तिमा राख्नको लागि सबैले मोर्चा बनाउँछन्, सरकारमा हुँदा होस् वा नहुँदा भए पनि ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।
समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए ।
त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी आन्दोलनलाई हिंसात्मक द्वन्द्व भनेपछि माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाएका छन्।
टिआरसी विधेयकमा सहमति बनेपछि कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने क्रममा ओलीले हिंसात्मक द्वन्द्व भनेका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडि उनले भनेका थिए, ‘एउटा पीडादायी विगतबाट त हामी गुज्रियौँ। त्यसैले हामीले यसलाई समाधान गर्नुपर्यो। देशमा हिंसात्मक द्वन्द्व भयो। त्यसले देशलाई ठूलो पीडा पनि दियो। त्यसका सकारात्मक पक्ष पनि होलान्।’
उनले हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत शान्ति सम्झौता भएको १८ वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा मुख्य दलहरूबीच सहमति भएको भएको पनि फेसबुकमा लेखेका छन्।
उनले लेखेका छन्, ‘संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरुपका आयोग बन्नेछन् र पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौं। नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ। सहकार्यका साथ हामी अघि बढ्ने छौं।’
तर, प्रधानमन्त्री ओलीले माओवादी द्वन्द्व हिंसात्मक भनेपछि बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले आपत्ति जनाएका छन्।
उनले भनेका छन्, ‘तपाईंको अभिव्यक्ति न प्रधानमन्त्री हुन लायक छ, न यसखाले अभिव्यक्तिले शान्तिको सन्देश दिन्छ । तपाईको अभिव्यक्तिले तपाईं एक पूर्वाग्रहले ग्रस्त शासक बाहेक केही होइन भन्ने सावित भएको छ।’
उनले मात्रै होइन माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पनि संविधानले सशस्त्र विद्रोह भन्ने भन्दै प्रधानमन्त्रीलाई असंवैधानिक भाषा बोल्न नमिले बताए।
उनले भने, ‘संविधानले सशस्त्र विद्रोह भन्छ, देशका बहाल प्रधानमन्त्रीले यस्तो असंवैधानिक भाषा बोल्न मिल्दैन। तुरून्त फिर्ता लिनुहोस्।’
त्यसो त प्रधानमन्त्री ओलीले मात्रै होइन नेपाली कांग्रेसले पनि माओवादी हिंसात्मक द्वन्द्व भनेको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का तयार पारेको कांग्रेसको दस्तावेजमा माओवादीको सशस्त्र युद्धलाई ‘हिंसात्मक द्वन्द्व’ भनिएको छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्दैछ भन्ने सोच्न आवश्यक नभएको बताएका छन् ।
पेरिसडाँडामा आयोजित हुम्ला-काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीबाट फुटेकाहरु जुट्ने ठाउँमा आइपुगेको बताए ।
उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिट्टै तपाईंहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरूले पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ ।’
उनले माओवादी छाडेर गएकाहरु छिट्टै पार्टी एकतामा आउने विश्वास व्यक्त गरे ।
प्रचण्डले थपे, ‘यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरूले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ ।’
उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरेको बताए । उनले भने, ’मैले एकचोटी विद्रोहको झण्डा उठाइसकें, प्रतिक्रान्तिविरुद्ध क्रान्तिको झण्डा हो । प्रतिनिधिसभाको मेरो वक्तव्य समाजवादी क्रान्तिको लागि मेरो विद्रोह हो भन्ने बुझे हुन्छ । हामीले जित्नुको विकल्प छैन ।’
उनले आफू जीवनको उत्तरार्द्धतिर भए पनि जोस २२-२५ वर्षको भन्दा कम नभएको जिकिर गरे ।
२०८४ सम्म जनतामा गएर पार्टी बनाउने संकल्प गरेको बताउँदै उनले भने, ‘कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने ! अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । पार्टी बनाउने संकल्प मैले लिएको छु । प्रधानमन्त्री अब पुग्यो अहिलेलाई । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।’
उनले अब आफूहरु जनता र कार्यकर्ता खोज्न हिँड्दै गर्दा सरकार नै माओवादीलाई खोज्दै आउँछ कि भन्ने डर रहेको बताए । उनले अब जस्तो स्थिति भए पनि नआत्तिकन जनता र कार्यकर्तामा जाने बताए ।
प्रचण्डले अहिलेको गठबन्धन डरमा आधारित रहेको भन्दै भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको जिकिर गरे ।
उनले भने, ‘हाम्रो बहिर्गमन जीतको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो । मैले संसद्मा गरेको सम्बोधन एउटा सम्बोधनमात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिको लागि गरिएको अर्को अपिल पनि हो ।’
सरकारले भ्रष्टाचारका फाइल खोलेपछि भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरेर हराएको उनले जिकिर गरे । आफूहरु सरकारबाट जितेको महसुस गर्दै बाहिरिएको जिकिर गर्दै सरकारमा बस्नेहरु थरथर कामेर गएको प्रचण्डले सुनाए ।
उनले अग्रगमनको लागि भए आफूहरु संविधान संशोधनको लागि तयार रहेको बताए । उनले थपे, ‘हामी पटकपटक अरुसँग मिलेर चुनाव लड्दा कताकता हाम्रो पहिचान, माओवादी भनेको त साँचै सिंह हो नि, एक पटक गर्जेपछि सबैको सात्तो जानुपर्ने हो। त्यसकारण मैले भनेको छु छलफल हुँदैछ हामी २०८४ मा सिंगल चुनाव लड्ने हो । आफ्नो खुट्टामा उभिएर १६५ वटै क्षेत्रमा चुनाव लड्ने हो । सबै प्रदेशमा चुनाव लड्ने त्यसो गर्दा अहिलेको भन्दा त्यसै पनि बढी सीट आउँछ ।’
उनले कहिले सूर्यलाई, कहिले रुखलाई भोट हाल्दा घटेर माओवादीको ३२ सीटमात्रै भएको जिकिर गरे । प्रचण्डले थपे, ‘अब तपाईंहामीले पनि आँट गर्नुपर्यो, हामी पनि एक्लै लड्ने । चाहिएन बैशाखी । एक्लै लड्दा बढी सीट ल्याइन्छ । २०६४ मा पनि एक्लै लड्यौं, ल्यायौं, विभाजन भयो हार्यौं, अहिले एकता हुँदैछ, जित्छौं । आउँछन् सबै माओवादीमा, सबैसँग कुरा भइरहेको छ । सबैलाई चाहिएको छ एकता । सबैलाई प्रचण्डको विकल्प छैन भन्ने परेको छ ।’
उनले आफू नेतृत्व छाड्न तयार रहे पनि अहिले अर्को विकल्प नभएको सुनाए । प्रचण्डले थपे, ‘मैले छाड्छु भन्दा पनि सुख पाउने स्थिति छैन । छिटोभन्दा छिटो राम्रो उत्तराधिकारीको टीम बनाउनेतिर छु । म चाहिँ अलि अर्को भूमिकामा जान पाए खुसी हुनेमा छु । मैलै लिएर बस्न खोजेको छ भन्ने बुझ्नुभयो भने ममाथि अन्याय हुन्छ, तर अहिले बेला अलि भएको छैन । त्यो बेला ल्याउनुपर्छ ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।
पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए ।
प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेची–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे । सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए । प्रचण्डले आफु नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियाबादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे ।
त्यस्तै, उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए । अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उनले विभिन्न परिवर्तनबाट प्राप्त उपलव्धीलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयक चालू अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन् । कार्यदलले प्रतिवेदन बुझाएपछि अब प्रक्रियाबाट संसदको समिति र सदनमा लगेर टुंग्याउनुपर्ने बताए ।
नयाँ सरकार बनेपछि राम्रो काम भएको भन्दै प्रचण्डले यो विषयलाई टुंग्याएर आम जनतालाई शान्ति स्थायित्व र प्रगतितिर जान अझै राम्रोसँग ढोका खोलेको सन्देश दिन सरकारलाई आग्रह गरे ।
उनले भने, ‘कार्यदलले सहमति जुटाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्षमा पुग्न कठिन भएको थियो । पीडितमैत्री बनाउने हाम्रो कोसिस त थियो नै । शान्ति, स्थिरताको पक्षमा हुनेहरूलाई यो खुसी हो । नयाँ सरकार बनेपछि यो राम्रो काम हो भन्ने ठानेको छु, मैले प्रधानमन्त्रीको रूपमा बालुवाटारमा यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भनेर कार्यदलको प्रस्ताव गरिएको थियो ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेशको घटनापछि सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा नसक्ने देखाएको टिप्पणी गरेका छन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेको श्रेष्ठले सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक रहेको बताए।
उनले भने,‘हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन । सत्ता, शक्ति, दम्भ, अहङ्कार, बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन। त्यस्तो पात्र , प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन ।’
उनले अन्ततः सत्य र जनबलको नै जीत हुने उल्लेख गर्दै त्यसको अघि सबैले झुक्नै पर्ने बताए।
राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं।’
काठमाडौं । सत्ताबाट बाहिर पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गल्ती सम्झिँदै पार्टी निर्माणको अभियानमा जुट्ने प्रयास गरिरहेका छन् । अब पार्टी निर्माणको लागि जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गरेका प्रचण्ड आज विराटनगरमा पुगेका छन् ।
उनले पाँच दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकमा भनेका थिए, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु ।’
त्यहीअनुसार अहिले प्रचण्ड आज कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकमा सहभागी भए । उनले बैठकलाई सम्बोधन गर्दै भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु। म मात्रै होइन पदाधिकारी र तपाईहरू पनि प्रदूषित हुनु भएको छ ।’
प्रचण्डले सम्झिएका ५ गल्ती
–चुनाव र विद्रोह एउटै हो भन्नु, पार्टी विभाजन रोक्न नसक्नु
–क्यान्टोनमेन्टमा जनमुक्ति सेना राखेर विद्रोहको कुरा गर्नु
–जनयुद्धका होलटाइमर कार्यकर्ता आफैं व्यवस्थापन गर भन्नु
–दलाल पुँजिपति र विभिन्न गिरोहका भूलभलैयामा पर्नु
–गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्नु
सत्ताबाट बहिर्गमन भएपछि प्रचण्डले आगामी निर्वाचनमा एक्लै लड्नेगरी पार्टी संगठन निर्माणमा जोड दिएका छन् । त्यसका लागि गतसाता पाँच दिनसम्म पदाधिकारीसँग छलफल गरेका थिए । त्यसलगत्तै साउन २५ गते स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने तयारी गरिरहेको छ । लामो समयदेखि एकलौटी नेतृत्वमा रहेका प्रचण्डको विकल्पमा जानुपर्ने विषयमा पनि माओवादीमा बहस सुरु भएको छ ।
उनको कार्यशैलीको विषयमा पनि नेताहरूले प्रश्न उठाइरहेका छन् । उनीमाथि पार्टीभित्रबाट अहिले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग मिल्नुको औचित्य पुष्टि गर्न दबाब बढाइरहेका छन् ।
विशेष महाधिवेशनको चर्चा चलिरहेको बेलामा माओवादीमा पदाधिकारी र स्थायी कमिटी भंग गरेर नयाँ ढंगले जानुपर्ने प्रस्ताव पनि आएको छ ।
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु । म मात्रै होइन पदाधिकारी र तपाँईरु पनि प्रदूषित हुनु भएको छ ।’
‘जनयुद्धका बेला हजारौं होलटाइमर कार्यकर्ताहरू थिए । उनीहरूको व्यवस्थापन आफैंले गर्नु पर्छ भनियो । व्यवस्थापनका लागि हामी प्रहर्षित भयौं’, उनले भने, ‘कहिले मेहनत गरेर व्यवस्थापन गर्नु भयो अरूले २ नम्बरी गरेर व्यवस्थापनमा लाग्नु भयो ।’
अध्यक्ष प्रचण्डले दलाल पूँजीपतिहरूको भुल भुलैयाका कारण पार्टीमा समस्या भएको बताए । उनले भने, ‘हाम्रो पार्टीलाई दलाल पूँजीपति र विभिन्न गिरोहले भुल भुलैयामा पारे । हाम्रो पार्टी नेता र कार्यकर्ताहरूलाई प्रदूषित बनाए ।’
बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएको भन्दै यसैको फाइदा उठाएर दलाल पँुजीपतिहरुले पार्टीमा चलखेल गरेको प्रचण्डको दाबी छ । पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीको विभाजनले आन्दोलन नै अर्कै मोडमा पुगेको स्वीकार गरे । उनले पार्टी विभाजन हुनुको कारण पनि आफू भएको बताए ।
उनले भने, ‘हामीले विद्रोह की चुनाव भन्ने कुरालाई छान्न सकेनौं चुनाव पनि भन्यौं र विद्रोह पनि । चुनाव र विद्रोह सँगसँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो । चुनाव पनि विद्रोह पनि भनेका कारण साथीहरूले पार्टी विभाजन गर्नु भयो । चुनावै हो भनेको भए पनि उहाँहरू जानु हुन्थेन ।’
‘पार्टी अध्यक्ष भएका नाताले यो गल्तीको जिम्मा पनि मै लिन्छु’, प्रचण्डले थपे, ‘क्यान्टेन्टमेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु मेरो गल्ती थियो । यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए । विद्रोह नै भनेको भए पनि हामी एक हुन्थ्यौ ।’
उनले गल्ती गर्न नछाड्ने पनि पार्टीको विशेषता भएको बताए । गल्तीदेखि डराउने पार्टी अगाडि बढ्न सक्दैन । उनले भने गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न नसक्ने दाबी गर्दै उनले गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि नपर्ने भएकाले हाम्रो पार्टी अरू पार्टी भन्दा फरक भएको बताए ।
उनले पार्टी विभाजन भए पनि पुन एकताको कुरा अगाडि बढेको बताए । उनले विभाजनमा गएकाहरूसँग रिस राग नभएको बताए । अहिले माओवादी केन्द्रसँग एकताका लागि छुटेर गएकाहरू तयार हुँदै गएको बताए । अहिले केन्द्रिकरणको कुरा भइरहेको बताए । या बीचमा धेरै नै प्रदूषित भएको बताए ।
उनले गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु पनि माओवादी आन्दोलनको गल्ती भएको बताए । उनले कोइरालालाई राष्ट्रपति हुनबाट रोक्न आफूमाथि प्रेसर भएको समेत खुलाए । उनले गिरीजालाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बनेको भए राम्रो संविधान बन्ने जिकिर गरे । गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोक्नु आफ्नो गल्ती भएको उनले स्वीकारे ।
ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ नेतृत्वका लागि एमाले र माओवादीनिकट वकिलहरुबीच गठबन्धन भएको छ । उक्त गठबन्धनविरुद्ध कांग्रेस र नेकपा एसनिकट वकिल मिलेर प्यानल घोषणा गरेका छन् ।
आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको उच्च बार पाटनका सदस्य राजाराम घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।
एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कांग्रेसनिकट डिएलएबाट गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानून व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् ।
एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ ।
एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ ।
त्यस्तै कांग्रेस र समाजवादीबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया र सचिवमा देवीप्रसाद शर्मा तथा लक्ष्मी रेग्मीको उम्मेदवारी परेको छ ।