Category: माओवादी केन्द्र

  • माओवादी सांसदको आरोप- चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने (भिडिओ)

    माओवादी सांसदको आरोप- चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

    उनले भने, ‘०५२ सालको सशस्त्र जनयुद्ध एकात्मक शासन व्यवस्थाको विरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको हो । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

    हिजो प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओेवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप-प्रत्यारोप चलेको थियो । सांसद लामा बौद्ध गुम्बाका मूर्ति चोरी तस्करीको अभियोगमा जेल सजाय काटेका व्यक्ति हुन् ।

  • सुदूरपश्चिममा प्रचण्डसहित जम्बो पदाधिकारी टोलीको दोस्रो दिन (तस्बिरहरू)

    सुदूरपश्चिममा प्रचण्डसहित जम्बो पदाधिकारी टोलीको दोस्रो दिन (तस्बिरहरू)

    कैलाली । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पार्टीको प्रदेश परामर्श बैठक आज सकिने छ । हिजोबाट स्वास्थ्य तालिम केन्द्रमा बैठक सुरु भएको थियो । पहिलो दिन १२ बजे सुरु भएको बैठक आज दोस्रो तथा अन्तिम दिन बिहान ८ बजेदेखि सुरु भएको छ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी छन् ।

    सुदूरपश्चिममा पहिलो पटक माओवादीको जम्बो पदाधिकारीको टोली पुगेको हो ।

    माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी छन् ।

    हिजो ३२ जनाले आफ्नो धारणा राखेका थिए । आज बाकीको धारणा सुन्ने र नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ ।

  • अग्नि सापकोटाको मुद्दामा आज पनि भएन फैसला

    अग्नि सापकोटाको मुद्दामा आज पनि भएन फैसला

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दाको फैसला बुधबार पनि हुन सकेन ।  सर्वोच्च अदालतले पेशी तोकिए पनि निर्णय सुनाउन नसकेको हो ।

    आगामी पेशीको मिति तोक्न बाँकी छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ गरेको थियो ।

    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणी दीक्षित,अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

    संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा दिएका थिए ।

    यसअघि बहस भएर निर्णय सुनुवाइ बाँकी रहेका थियो । संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइनेगरी आज पेशीमा राखिएको छ ।

  • १० वर्षे युद्ध हिंसा थियो कि जनयुद्ध ? संसदमा एमाले र माओवादीबीच आरोप-प्रत्यारोप (भिडिओ)

    १० वर्षे युद्ध हिंसा थियो कि जनयुद्ध ? संसदमा एमाले र माओवादीबीच आरोप-प्रत्यारोप (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछि परेको भनेपछि माओवादीले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको थियो भने  ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए ।

    सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।

    तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाए। माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।

    त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

    पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।

    त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।

    सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।

    सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।

    उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’

    त्यसपछि सभामुखले योगेशलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’

    माओवादीको आपत्तिपछि हिंसा शब्द प्रयोग अवस्था हेरेर छानबिन गर्न सभामुखले सचिवालयलाई निर्देशन दिए ।

     

  • प्रचण्डलाई योगेशको प्रश्न- कुन कानून र अधिकार प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ? (भिडिओ)

    प्रचण्डलाई योगेशको प्रश्न- कुन कानून र अधिकार प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको आरोपमा प्रतिनिधिसभाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कुन कानून र अधिकारको प्रयोग गरेर विद्युत बक्यौता छुट दिनुभयो ? भन्दै प्रश्न गरे ।

    उनले भने, ‘२१ अर्ब ८८ करोड बक्यौता छ । एक पैसा पनि बाँकी नराखी उठाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । प्रचण्ड प्रधानमन्त्री भएपछि उहाँले हल गर्नको लागि उहाँले गएको वैशाख २७ गते प्राधिकरणलाई बक्यौतालाई ६ अर्बमा झारेर १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?’

    उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।

    उनले भने, ‘हामीले कुनै नयाँ निर्णय गरौं, कसैलाई कारबाही गरौं भनेको छैन । हामीले तत्कालीन मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनको निष्कर्ष र त्यस आधारमा सार्वजनिक लेखा समितिले गरेको निर्णयलाई कार्यान्वयन गरौं भनेको हो । त्यसमा विद्युत बक्यौताको सबै पैसा उठाउनुपर्छ र त्यही अनुसारको निर्देशन प्राधिकरणलाई दिने भनिएको छ ।’

  • माओवादीले भन्यो- भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य छैन (भिडिओ)

    माओवादीले भन्यो- भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने जनाएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारको अन्त्य बोलीले नभई व्यवहारमा हुनुपर्ने बताए ।

    उनले भने, ‘भ्रष्टाचारसम्बन्धी ऐनमा छलफल चलिरहेको छ । ७६ सालमा संसदमा यस विधेयकको दफा १६ मा मूल ऐनको दफा ४५ मा संशोधन गर्न भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेर आएको छ । भ्रष्टाचार जस्तो कसुरमा हदम्याद राखिनुहुन्न भन्नेमा माओवादीको दृढ छ ।’

  • सुदूरपश्चिममा प्रचण्डलाई असजिलो कुर्सी, सोधे- अध्यक्षलाई गाह्रो होस् भनेर हो ?’

    सुदूरपश्चिममा प्रचण्डलाई असजिलो कुर्सी, सोधे- अध्यक्षलाई गाह्रो होस् भनेर हो ?’

    कैलाली । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यक्रममा असजिलो कुर्सी परेको छ । कार्यक्रम सुरु हुनुभन्दा केही बेर अघिसम्म पनि उनी त्यही असजिलो कुर्सीमा सकस मानिमानी बसेका थिए ।

    केही बेरपछि सहभागीहरूले अध्यक्षलाई अफ्ठेरो कुर्सी परेको बताए । ‘मेरो अध्यक्षलाई अफ्ठेरो गाह्रो भने होला’ प्रचण्डले मुस्कुराउँदै भने ।

    प्रचण्डले आफूलाई अफ्ठेरो परको आशय व्यक्त गरेपछि तुरुन्त उनको कुर्सी फेरिएको थियो । कुर्ची फेरेपछि प्रचण्डले सहजता महसुस गरे । त्यसपछि कार्यक्रम सुरु भएको थियो ।

    पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी प्रचण्ड सहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन् ।

    माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श स्वास्थ्य तालिम केन्द्रमा सुरु भएको छ ।

    दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी छन् ।

  • पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध अपहरणपछि हत्या अभियोगको मुद्दामा आज फैसला आउँदै

    पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध अपहरणपछि हत्या अभियोगको मुद्दामा आज फैसला आउँदै

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या सम्बन्धी मुद्दाको फैसला आज सर्वोच्च अदालतबाट हुने भएको छ । सर्बोच्च अदालतको संवैधानिक इजलासमा अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेशी तोकिएको छ ।

    सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणी दीक्षित,अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

    संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा दिएका थिए ।

    यसअघि बहस भएर निर्णय सुनुवाइ बाँकी रहेका थियो । संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइनेगरी आज पेशीमा राखिएको छ ।

  • प्रचण्डको सम्बोधन: कांग्रेस-एमालेले पटकपटक माओवादीलाई प्रयोग गर्दै धोका दिएको हिसाब खै ? (पूर्णपाठ) (भिडिओ)

    प्रचण्डको सम्बोधन: कांग्रेस-एमालेले पटकपटक माओवादीलाई प्रयोग गर्दै धोका दिएको हिसाब खै ? (पूर्णपाठ) (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले प्रमुख प्रतिपक्ष दलको नेताकाे रुपमा सम्बोधन गर्दै सरकार गठन प्रक्रियादेखि नै प्रश्न उठाए।

    उनले भने, ‘इमानमात्र होइन, सरकारको जगमा कानून छैन, संविधान पनि छैन। म यो रोष्टमबाट फेरि एकपटक भन्छु, यो सरकार राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो। संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा स्पष्ट व्यवस्था छ। अहिलेका प्रधानमन्त्रीले कुनै बेला आफैंले त्यसको एकदमै प्रष्ट व्याख्या गर्नुभएको भिडियो हिजोआजसमेत सामाजिक सञ्जालमा घुमिरहेको देख्छु, तर म कसैलाई नैतिकता सम्झाउन चाहन्नँ।’

    उनले आफू सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा भएपछि गलत बाटोमा लागेकाले बोध्न बाध्य भएको बताए।

    ‘प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ। गरिनँ। किनकि म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ। सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो। तर, ४० दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ।’ उनले भने ।

    उनले कांग्रेस-एमालेले पटकपटक माओवादीलाई प्रयोग गर्दै धोका दिएको भन्दै अहिले प्रश्न उठाउने नैतिक अधिकार नभएको जिकिर गरे।

     

  • सर्वोच्चमा रहेका भ्रष्टाचारका ४ हजार मुद्दा निष्क्रिय बनाउन हदम्यादको कुरा उठाइयो: सांसद दाहाल (भिडिओ)

    सर्वोच्चमा रहेका भ्रष्टाचारका ४ हजार मुद्दा निष्क्रिय बनाउन हदम्यादको कुरा उठाइयो: सांसद दाहाल (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भ्रष्टाचारीहरुलाई बचाउन पाँच वर्षे हदम्याद राख्न खोजेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाँच वर्ष नाघिसकेका सर्वोच्च अदालतमा भ्रष्टाचारका चार हजारभन्दा धेरै मुद्दा रहेको बताए ।

    सांसद दाहालले भने, ‘ती चार हजार मुद्दालाई स्वतः निष्क्रिय बनाउने उद्देश्यले आएको हो । त्यो विधेयकका विवादित र बद्नियतपूर्ण बुँदाहरु हटाउनुपर्छ । संवैधानिक नियुक्तिहरु पनि राजनीतिक भागबन्डाको आधारमा हुने भएकाले खुला प्रतिस्पर्धामा संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गर्छु ।’

  • प्रचण्डको जिकिर- सरकारको जोडघटाउमा लाग्दैनौं, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ

    प्रचण्डको जिकिर- सरकारको जोडघटाउमा लाग्दैनौं, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् ।

    कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

    ‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, उनले भने ।

    अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, ‘परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।’

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

    ‘अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो’, उनले भने ।

    सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

     

  • बंगलादेशको उदाहरण दिँदै सरकारलाई प्रचण्डको चेनावनी- दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन्

    बंगलादेशको उदाहरण दिँदै सरकारलाई प्रचण्डको चेनावनी- दुई तिहाइको दम्भ जनताले ठेगान लगाउँछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई विचौलिया र कमिसनखोरहरुले मिलाएको आरोप लगाएका छन् ।

    पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसकेको दाबी गरे ।

    उनले भने, ‘दलाल विचौलियाले माओवादी ३२ सीटको भए पनि हामीलाई चुनौती दिइरहेको छ, माओवादीले दलाल पूँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भन्ने परेपछि तिनीहरुले यो सरकारलाई हटाएका हुन् । तपाईंहरुले देख्दा कांग्रेस र एमालेका नेता मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर त्यो रुपमात्रै हो । सार चाहिँ यो देशका दलाल पुँजीपति, विचौलिया कमिसनखोरहरु आफ्नो प्रतिनिधिका रुपमा सिंगारपटार गरेको यो सरकार बनाएको हो । त्यसैले यो भ्रष्टाचारीहरुको सरकार हो । यसले भ्रष्टाचारको रक्षा गर्छ ।’

    सरकार भ्रष्टाचारी बचाउन लागिसकेको भन्दै अध्यक्ष प्रचण्डले जरुरी पर्दा सडक संघर्षमा निस्कनुपर्ने भएकाले त्यसको तयारीमा पार्टी लागिसकेको बताए ।

    उनले आफूहरु सरकारबाट बाहिरिँदा विजेताको रुपमा निस्किएको दोहोर्‍याए ।

    प्रचण्डले भने, ‘दुई तिहाइ भए पनि केही गर्न सक्नेवाला छैन । पाँचसात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो । के गर्‍यो दुई तिहाइको ? जनभावनाविपरीत गयो भने त्यस्ता दुई तिहाइ जनताले ठेगान लगाउँछन् ।

  • प्रचण्डको घोषणा- माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ (भिडिओ)

    प्रचण्डको घोषणा- माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ (भिडिओ)

    काठमाडौैं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् ।

    नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

    उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउँन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरु जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुहोला, हामीलाई रोक्न कसैले सक्दैन ।’

    उनले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

    प्रचण्डले थपे, ‘३२ सीटलाई यिनीहरुले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि ! भएभरका सीट त कांग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौं । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौं, २४२ को वरिपरि थियौं समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरुलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौं भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनैपर्छ ।’

    उनले २०६४ को निर्वाचनमा भोट हाल्ने जनताको घरघर गएर आत्मसमीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

  • उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशबाट परामर्श लिँदै प्रचण्ड

    उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशबाट परामर्श लिँदै प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको दोस्रो परामर्श समितिको बैठक जारी छ।

    हिजोबाट सुरु भएको बैठक आज नेताहरुले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर टुंग्याउने तयारी छ। हिजोको बैठकमा प्रचण्डले पछिल्लो ससामयिक राजनीतिक परिस्थिती, पार्टीको आगामी कार्यदिशालगायतको बिषयमा ब्रिफिङ गरेका थिए।

    यसअघि बागमती प्रदेश पराशर्म समितिको बैठक बसेको थियो। अध्यक्ष प्रचण्डले सातै प्रदेशमा नेताहरुसँग सुझाव लिएर केन्द्रीय कमिटीको पूर्ण बैठकमा पेश गर्ने दस्तावेज तयार गर्दैछन्।

    पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई दुई दिन परामर्श बस्ने माओवादीको निर्णय छ। त्यही अनुसार भोलि गण्डकी प्रदेशस्तरिय बैठक बस्नेछ।

  • बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड (भिडिओ)

    बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु: प्रचण्ड (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताएका हुन् ।

    विद्यार्थीहरुसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिएका थिए ।

    जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिए।

    अध्यक्ष प्रचण्डले आफूले एकपटक सरकारसित छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताए ।

    सो क्रममा विद्यार्थीहरुले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र बिशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउदै उनीहरुले आफूहरु रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताए । केही विद्यार्थी निरास भएर फर्कन थालेको जानकारी दिदै उनीहरूले भारत र अन्य देशमा पनि यस्तो व्यवस्था रहेको स्मरण गराएका थिए ।

  • माओवादी परामर्श समितिको बैठक- प्रचण्डलाई आलोचनात्मक सुझाव, विशेष महाधिवेशनमा जान दबाब

    माओवादी परामर्श समितिको बैठक- प्रचण्डलाई आलोचनात्मक सुझाव, विशेष महाधिवेशनमा जान दबाब

    काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श समितिका दोस्रो दिनको बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ।

    हिजोको बैठकमा अध्यक्षको ब्रिफिङपछि ४० जना नेताहरूले आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्नेहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आलोचनात्मक सुझाव दिएका छन्। बोल्ने अधिकांश नेताहरूले उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई समर्थन पुग्ने गरी बोलेको एक नेताले बताए।

    शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न लिखित रूपमै हालै बसेको स्थायी कमिटीको बैठकमा प्रस्ताव राखेका थिए। यो प्रस्तावपछि पार्टीभित्रको विवाद समाधान गर्नको लागि विशेष महाधिवेशनमा जानुपर्ने नेताहरूले जोड दिएका छन्।

    बैठकमा नेताहरूलाई बोल्न ५र५ मिनेटको समय दिइएको छ। नेताहरूले बोलिसकेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सकिने बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।

    प्रचण्डले प्रदेशस्तरबाट परामर्श लिएपछि केन्द्रीय कमिटीको बैठकमा तयार पार्ने दस्ताबेज तयार गर्ने तयारी गरेका छन्।

  • यस्तो छ सांसद दाहालको भ्रष्टाचारको अन्तर्कथा, पार्टीले हिसाब माग्दा प्रचण्डको घर बनाउन चन्दा दिएको दाबी

    यस्तो छ सांसद दाहालको भ्रष्टाचारको अन्तर्कथा, पार्टीले हिसाब माग्दा प्रचण्डको घर बनाउन चन्दा दिएको दाबी

    हेटौंडा । पछिल्लो समय युट्युव च्यानलदेखि टेलिभिजन अन्तर्वार्ताहरूमा समेत सुशासनको पक्षधर र भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा भाइरल बनिरहेका माओवादी सांसद राजन दाहाल आफ्नै पार्टीभित्रको भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

    सिन्धुली २ बाट गठबन्धनको उम्मेदवार बनी सांसद निर्वाचित भएका लेखनाथ दाहाल (राजन) माथि नेकपा माओवादी केन्द्रको सिन्धुली जिल्ला समितिले लिखितरूपमै भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न रहेको भनी तल्ला कमिटीमा सर्कुलर पठाएको छ ।

    शान्ति प्रक्रियामा माओवादी आएपछि रामेछाप जिल्ला इन्चार्ज बन्दा विपक्षी पार्टीका नेता कार्यकर्तामाथि भौतिक हमला र धनमाल लुटपाट गरेर बाहुबली नेताको छवी बनाएका दाहाल पछिल्लो समय पार्टीभित्रै पनि सोहीरूपमा चित्रण हुन थालेका छन् । नेपाल प्रेसले स्थानीयस्तरमै गएर उनी कसरी अनियमततामा संलग्न रहे भन्ने खोजी गरेको छ ।

    पार्टी कार्यालय भवन निर्माणको अन्तर्कथा

    दाहाल जिल्ला इन्चार्ज हुँदा ३ वर्ष पहिले कार्यालय भवन बनाउने नाममा अभियान चलाए । कमलामाई नगरपालिका वडानं. ६, २ नं. बजार पुछारमा १२ धुर जग्गा सन्तोष साहबाट ७२ लाखमा खरिद गरियो र पास खर्च २ लाख बराबर आयकरसहित माओवादी केन्द्र सिन्धुलीले तिरेको थियो । उक्त जग्गा पार्टीकै नाममा खरिद गरियो ।

    हो यहीँबाट अनियमितताको सुरूवात भएको देखिन्छ । जग्गा नेकपा माओवादी केन्द्र, सिन्धुलीको नाममा किनियो । जब भवन बनाउने तयारी गरियो त्यहाँ भने दाहालले चलाखी गरे । जग्गा पार्टीको नाममा किनिए पनि भवन बनाउने स्रोत उठाउने खाता भने व्यक्तिको नाममा खोलियो । खाता किन व्यक्तिको नाममा खोल्ने पार्टीको नाममा खोल्न मिल्दैन ? भन्दै उनीसँग कार्यकर्ताले प्रश्न गरे । पार्टीको नाममा खाता खोल्दा स्रोत खुलाउन समस्या हुने, त्यो समयमा सवै रकम राज्यले जफत गर्न सक्छ भन्ने जवाफ दिएर उनी पन्छिएको नेताहरूको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : सांसद राजन दाहालमाथि आर्थिक अनियमितता र लेबीमा भ्रष्टाचारको आरोप, पार्टी इन्चार्जले गरे यस्तो सर्कुलर

    कार्यकताको यो आवाज सुन्दै नसुनी उनले कमलामाई नगरपालिका वडा नं. ६, १ नम्बर बजारमा रहेको प्रभु बैंकमा खाता खोले । तिनपाटन गाउँपालिका- २ घर भई कमलामाई-५ निवासी उद्दव दाहाल र कमलामाई नगर पालिका-१२ घर भई कमलामाई-६ बस्ने गणेश रत्न भन्ने गणेशबहादुर दर्जीका नाममा संयुक्त खाता खोलियो ।

    खाता खोली सकेपछि कार्यकर्ता, व्यापारी र विभिन्न पेसा व्यवसायीलाई उर्दी गरियो र अनिवार्य सहयोग गर्न भनियो । दाहालको यो उर्दीमा जिल्लाका सबै क्षेत्रवाट व्यक्तिगत रुपमा खोलिएको खातामा रकम जम्मा गर्न लगाईयो । सहज दिनेले दिए नदिनेलाई दाहाल आफैँले फोन गरेर रकम जम्मा नगरे देखाई दिन्छु भन्दै धम्क्याएर जम्मा गर्न लगाएको माओवादी कार्यकताले नै बैठकमा कुरा उठाएका थिए ।

    उक्त खातामा ३ करोड ३५ लाख बराबर रकम जम्मा भएको दाहालनिकट कार्याकर्ताले बताए । १० लाख वढी रकम व्यक्तिगत खातामा जम्मा हुँदा समेत राष्ट्र वैंकमा अलर्ट जाने र सम्बन्धित खाता धनीले स्रोतको प्रमाण देखाउनु पर्ने अनिवार्य नियम भएपनि यो खातामा निरन्तर ठूलो परिणाममा रकम जम्मा हुँदा पनि न राष्ट्र बैंक, न सम्पत्ति शुद्धीकरण न राष्ट्रिय सर्तकता केन्द्रले नै कुनै चासो दिए ।

    प्रचण्डको घर बनाउन राजनको चन्दा ?

    दाहालको उक्त समया यतिसम्म दबदबा थियो कि, पार्टीमा उनको आलोचना गर्ने कार्यकतालाई आफ्नो पार्टीभित्रै असुरक्षित महसुस गरेर बाँच्नुपर्ने अवस्थासम्म आइपर्‍यो । अन्य राजनीतिक दल, पत्रकार र नागरिक समाज उनको बारेमा बोल्नसमेत सक्ने अवस्थामा थिएनन् ।

    पैसा जम्मा हुनासाथ उनले ४ तले भवनको नक्सा वनाए । भवन २२ लाखमा बनाउने ठेक्का ठेकेदारलाई दिइयो । भवनलाई चाहिने सिमेन्ट मारुती सिमेन्टबाट निःशुल्क ल्याए । बालुवा र गिट्टी स्थानीय व्यापारी र क्रसर उद्योगवाट निः शुल्कै प्राप्त गरे । उनी आफैं क्रसर उद्योगहरूका साझेदारसमेत हुन् । रड उद्योगहरूबाट सहयोग आयो । रंगरोगनका लागि ४ लाख खर्च भएको कार्यकर्ता बताउँछन् ।

    उनले जम्मा भएको ३ करोड ३५ लाखमध्येबाट जग्गा खरिदमा ७२ लाख, पास खर्च २ लाख, निर्माणमा ठेक्का २२ लाख र रंगरोगनमा ४ लाख गरी जम्मा १ करोड मात्र खर्च गरेको नाम उल्लेख नगर्ने सर्तमा एक माआवादी नेताले बताए । त्यो हेर्दा उनले २ करोड ३५ लाख बढीको हिसाबनै गोलमाल गरे भन्ने माओावदी नेताको भनाई रहेको छ ।

    उनका अनुसार जब पार्टी कार्यकर्ताले हिसाबकिताबको कुरा उठाए तब दाहालले सवै खर्च भएको बाँकी रहेको रकममध्ये केही पैसा प्रचण्ड कमरेडको चितवनमा घर खरिद गर्न पठाएको जवाफ दिए ।

    तर, कति रकम दिइयो भन्ने बताएका छैनन् । बाँकी रकम भने श्रीमती दीपा बोहराको जनसेवा फाउण्डेसनमा जम्मा गरिएको मौखिक जवाफ दिएको माओवादी नेताले बताए ।

    २ करोड ३५ लाखको अनियमितता

    माओवादीको पछिल्लो जिल्ला कमिटी बैठकमा भएको छलफल अनुसार २ करोड ३५ लाख बराबरको अनियमितता देखिन्छ । नेपाल प्रेसले खोजी गर्दा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता भएको संस्था जनसेवा फाउण्डेसनको अध्यक्ष भने दीपा बोहरा दाहाल हुन् । दीपा लेखनाथ दाहाल (राजन) की श्रीमती र हाल सुनकोसी गाउँपालिका अध्यक्षसमेत हुन् ।

    दाहालले रकम जम्मा गरेको जनसेवा फाउण्डेशनले रकम प्राप्त गरेको रकमको स्रोत के हो । संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाले दान दातव्य पाउन समाज कल्याण परिषद्‍बाट स्रोतको पुष्टिसहित निवेदन दिएर अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

    दाहालले पार्टी छलफलमा दिएको हिसाबअनुसार ४०/४५ लाख पैसा कसरी उक्त संस्थामा हालियो नै अचम्मको विषय वनेको छ । नेपाल प्रेसले सम्बन्धित बैंकमा खोजी गर्दा खाताको विवरण दिन नमिल्ने बताइयो ।

    कि त दाहाल रकम जम्मा गरिएको कुरा नै झूट बोल्दै छन् । होइन भने सो परिणामको रकम गैर सरकारी संस्थाको नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, सिन्धुली र समाज कल्याण परिषदको स्विकृतीबेगर सम्बन्धित बैंकले कसरी जम्मा गर्‍यो त्यो नै प्रश्नको घेरामा छ ।

    माओवादीका एक नेताले भने, ‘अहिले माओवादी केन्द्र बागमती प्रदेशको बैठकमा समेत उठेको यो सिन्धुलीको भष्टाचारको विषय राष्ट्रिय बहसमा पुगेको छ । यो रकम पार्टीको खातामा समेत जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेर अनियमितता गरिएको प्रष्ट छ । सुशासनको दुहाई दिने संघीय सांसद लेखनाथ दाहाल (राजन) माथि गम्भीर आरोप लागेको छ । यसबारे उहाँले विगतको जस्तो धाकधम्की होइन यथार्थ जवाफ दिनुपर्छ र हिसाबकिताब बुझाउनुपर्छ ।’

    नेकपा माआवादी केन्द्र जिल्ला इन्चार्ज बुद्धिमान माझी (वसन्त) को हस्ताक्षरमा साउन २७ गते जारी आन्तरिक परिपत्रमा लेखनाथ दाहाल (राजन) लाई पटक-पटक अनुरोध र ताकेता गर्दा पनि भवन निर्माणको आयव्यय प्रस्तुत नगरेको उल्लेख छ । उनीमाथि लेबीको रकम समेत हिनामिना गरेको आरोप छ ।

    नेकपा माओवादी केन्द्रले दाहालमाथि कारबाहीका लागि भन्दै प्रदेश र केन्द्रीय कार्यालयलाई लेखी पठाएको समेत पठाएको छ । उता दाहालले भने सत्यलाई भ्रमले छोप्ने प्रयास भएको भन्दै आफूले अनियमितता नगरको दाबी गरेका छन् ।

    यो पनि पढ्नुहोस्-

  • माओवादी फुट्दैछ भन्ने भ्रम हटाइसक्यौं, सरकारबारे नसोची पार्टी निर्माणमा लाग्नुपर्छ: प्रचण्ड

    माओवादी फुट्दैछ भन्ने भ्रम हटाइसक्यौं, सरकारबारे नसोची पार्टी निर्माणमा लाग्नुपर्छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढेको दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा उनले पार्टी विभाजनबारे चलाइएको हल्लामा कुनै सत्यता नभएको बताए ।

    उनले भने, ‘पार्टी विभाजनको हल्ला चलाइएको थियो । त्यो हामीले स्थायी कमिटी बैठकपछि निराधार रहेको पुष्टि गरिसकेका छौं । अब हामी पार्टी निर्माणको क्रममा एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

    कांग्रेस-एमाले मिलेर आफू नेतृत्वको सरकार ढाल्नुको कारण जनताले राम्रोसँग बुझेको भन्दै प्रचण्डले जनतामा गएर पार्टी निर्माणको अवसर प्राप्त भएको बताए ।

    उनले माओवादी अब जनता र पार्टी केन्द्रित हुने भएकाले सरकारबारे तत्काल नसोच्ने बताए ।

    आजबाट सुरु भएको भेलामा अध्यक्ष प्रचण्डले पछिल्ला समसायिक विषयमा केन्द्रित रहेर ब्रिफिङ गरेको बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।

    उनले भने, ‘उहाँले स्थायी कमिटीमा राखेकै विषयमा केन्द्रित रहेर आफ्नो धारणा राख्नुभयो । उहाँले आफ्नो कुरा राखेपछि केन्द्रीय कमिटीको बैठकमा तयार पार्ने दस्तावेजको लागि नेताहरुले सुझाव दिने क्रम चलिरहेको छ ।’

    पार्टीलाई एकताबद्ध बनाएर बलियो पार्टी बनाउनेबारे नेताहरुले बैठकमा सुझाव दिएको उनले बताए ।

  • माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठक सुरू, जनार्दनको प्रस्तावमाथि पनि छलफल हुने (भिडिओ)

    माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठक सुरू, जनार्दनको प्रस्तावमाथि पनि छलफल हुने (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो।

    बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन्।

    बैठकअघि छलफलको विषय टुंग्याउन अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकपछि परामर्श समितिको बैठक सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

    माओवादी सत्ताबाट बारिएपछि संगठन निर्माणको तयारीको लागि श्रृंखलबद्ध बैठकमा छ। यसअघि पदाधिकारी र स्थायी कमिटी बैठक बसेर आगामी रणनीतिबारे छलफल गरेको माओवादीले परामर्श समितिको सातै प्रदेशमा बैठक बसेपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी गरेको छ।

    परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ। शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझावसहित पार्टी निर्माणबारे प्रस्ताव ल्याएका थिए। जसले माओवादी वृत्तमा ठूलो तरंग ल्यायो। शर्माको प्रस्ताव छलफलमा लग्ने प्रचण्डले सहमति जनाएपछि असन्तुष्टि मत्थर भएको बताइन्छ।

    कहाँ कहिले बस्छ बैठक ?

    -बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गते ।

    -उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।

    -गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गते ।

    -सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गते ।

    -कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गते ।

    -लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।

    -तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते ।

    -मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।

    -पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते ।

    -ज।व।श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के।स। हरू को बैठक भाद्र २७ र २८ गते ।

    -प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।

    -जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

  • माओवादीको स्वीकारोक्ति- पार्टीमा गुट-उपगुटका गतिविधि रोक्न सकेनौँ

    माओवादीको स्वीकारोक्ति- पार्टीमा गुट-उपगुटका गतिविधि रोक्न सकेनौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढेको स्वीकारेको छ। हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको परिपत्रमा पार्टी संगठनको निर्माण गर्न नसकेको पनि स्वीकारेको छ।

    सर्कुलरमा भनिएको छ, ‘पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा नीजि स्वार्थ समूहहरूको गुट-उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए । पार्टीको विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदा भयो । विगत कालमा त्यस प्रकारका चिन्तन प्रवृत्ति प्रति उदार सोचहरूले गर्दा त्यसलाई दुरुत्साहित गर्न सकेनौँ ।’

    पार्टी निर्माणको लागि नीजि स्वार्थ केन्द्रित गुट, उप-गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध भएर लैजानुपर्ने उल्लेख छ।

    पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्नुको साथ-साथै समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वाम ध्रुवीकरण तथा बृहत् कम्युनिष्ट पार्टी एकतामा जोड दिँदै तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिएको उल्लेख छ।

    सरकार गठन विघटन र सरकारका काम कार बाईँहरू, पार्टी संगठनमा देखा परेका नीजि स्वार्थ केन्द्रित गुट–उपगुटहरू लगायतका संगठनात्मक समस्याहरू, पार्टी विधि विधान अनुरूप चल्न नसकेका समस्याहरू आदि बारे खुलेर छलफल बहस गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।

  • जनार्दन लक्षित माओवादीको सर्कुलर- पार्टीका हरेक कुरा मिडियामा लानु सामान्य मूल्य मान्यताको उल्लंघन

    जनार्दन लक्षित माओवादीको सर्कुलर- पार्टीका हरेक कुरा मिडियामा लानु सामान्य मूल्य मान्यताको उल्लंघन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी बैठकमा अभिव्यक्त भएका भनाईहरू सञ्चार माध्यमहरूमा सार्वजनिक हुँदा पार्टीलाई गम्भीर क्षति हुने भन्दै नेता कार्यकर्तालाई सचेत गराएको छ ।

    हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पार्टी कमिटीमा अन्तर-जनवादको पूर्ण स्वतन्त्रता हुने भएपनि भित्रका हरेक कुरा सार्वजनिकीकरण गर्नु पार्टीको सामान्य मूल्य-मान्यताको समेत गम्भीर उल्लंघन हुन जाने उल्लेख छ ।

    बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको चर्को आलोचना गर्दै नेतृत्व हस्तान्तरण गर्न लिखितरूपमै प्रस्ताव अघि सारेका थिए । त्यसले माओवादी वृत्तमा ल्याएको तरंग अझै साम्य भएको छैन । शर्माको प्रस्तावहरू छलफल चलिरहेकै क्रममा मिडियामा सार्वजनिक भएपछि प्रचण्डले बैठकमा पनि असन्तुष्टि जनाएका थिए ।

    त्यही विषयलाई लक्षित गर्दै सर्कुलरमा भनिएको छ, ‘बैठकमा अभिव्यक्त भएका कतिपय कमरेडहरूका भनाईहरू सञ्चार माध्यमहरूमा सार्वजनिकीकरण हुँदा त्यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँछ । पार्टी कमिटीमा अन्तर-जनवादको पूर्ण स्वतन्त्रता छ र हुनेछ । तर, पार्टी कमिटीभित्रका हरेक कुरा सार्वजनिकीकरण गर्नु पार्टीको सामान्य मूल्य-मान्यताको समेत गम्भीर उल्लंघन हुन जान्छ ।’

    आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरिएको छ ।

  • दाङको सिक्टा मावि प्रअ नियुक्तिमा कांग्रेस-माओवादीबीच विवाद

    दाङको सिक्टा मावि प्रअ नियुक्तिमा कांग्रेस-माओवादीबीच विवाद

    रुपन्देही । दाङको राजपुर गाउँपालिकास्थित सिक्टा माविमा प्रअ नियुक्तिको विवाद बढ्दै गएपछि माओवादीले आन्दोलन घोषणा गरेको छ ।

    गाउँपालिकाले निमित्त प्रधानाध्यापकको कामकाज गर्दै आएका प्राथमिक तहका राहत शिक्षक विष्णु खत्रीलाई हटाई यही साउन ३१ गते शिक्षक भरतबहादुर बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । त्यसपछि माओवादीले विरोध थालेको हो ।

    राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको ठाडो निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डे र शिक्षा शाखा अधिकृत केशव लम्सालले खत्री प्रअ हुँदाहुँदै वरीयता मिचेर भरतबहादुर बस्नेतलाई निमित्त प्रअको जिम्मेवारी तोकिएको माओवादीको टिप्पणी छ ।

    नेपाल तरुण दल राजपुरको समूहले एक्कासी विद्यालयमा छिरेर हुलहुज्जत गर्दै खत्रीलाई हातपात गरेको आरोप माओवादीको छ । माओवादी केन्द्र राजपुर गाउँ कमिटीका अध्यक्ष श्यामबहादुर रोका, इञ्चार्ज चक्रबहादुर खड्का (शिखर) र सचिव विष्णुप्रसाद यादव (इतिहास) ले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र शिक्षा ऐनविपरीत लेखिएको पत्र फिर्ता लिन सम्बन्धित निकायलाई माग गरेका छन् ।

    साथै पालिका अध्यक्षले गाउँपालिकाका कर्मचारी एमआईएस अप्रेटर अनिलकुमार यादवलाई सचिवलाई कानूनविपरीत काम गराउन खोज्दा नमानेपछि अवदेखि यस कार्यालयमा हाजिरी नगर्न र तत्कालै राजीनामा दिन गरेको निर्देशनको विरोध गर्दै यादवलाई तत्काल काममा लगाउन माओवादीले दबाब दिएको छ ।

    त्यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन राजपुर गाउँपालिकाले गाउँपालिका अध्यक्षको एकल निर्णय वा निर्देशन बमोजिम शिक्षा ऐन विपरित भएका यी गतिविधिको विरोध गरेको छ । इञ्चार्ज रामवरण यादवले सम्बन्धित विद्यालयलाई कुनै जानकारी नदिइ अकस्मात विद्यालयमा नेपाल तरुण दल राजपुरका समूह प्रवेश गरी गरिएको हातपातले विद्यालयको गरिमा र शिक्षकको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् ।

  • नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू

    नेता-कार्यकर्तालाई माओवादीको सर्कुलर : जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस-एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई परिपत्र गरेको छ। हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिमा परिपत्र पठाएका हुन्।

    पार्टीको नेतृत्वको सरकार रहेको अवस्थामा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान, सामाजिक न्याय सहित सीमित स्रोत साधनको अलावा आर्थिक समृद्धिको यात्रामा लागिरहेको अवस्था बेलामा असार १७ गते मध्यरातमा भएको सहमतिले ठूलो आशंका निम्त्याएको सर्कुलरमा उल्लेख छ।

    भ्रष्ट्राचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत कांग्रेस र एमालेमा देखिएको जिकिर गरेका छन्।

    ‘संविधान संशोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक– समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ’ परिपत्रमा भनिएको छ, ‘विधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर दुई दलीय सर्वसत्तावाद तर्फ लैजाने दिशामा उद्धत देखिन्छ ।’

    राष्ट्रियताको दृष्टिकोणले वर्तमान विश्व परिवेश र भू–राजनीतिक स्थितिको सन्दर्भमा मुलुकमा अस्थिरता र अराजकता पैदा गराउने, राज्यलाई झन् कमजोर बनाउने, कमजोर अवस्थामा नै विदेशी शक्ति केन्द्रहरूले आफ्नो स्वार्थ अनुरूप नेपालको राष्ट्रिय हित प्रतिकुलका सम्झौताहरू गराउने र मुलुकको राष्ट्रिय अस्मितालाई झन् कमजोर तुल्याउने प्रयास भइरहेको उल्लेख छ।

    दुई दलबीचको सात बुँदे सहमति पश्चगामी र प्रतिगामी कदम रहेको भन्दै सर्कुलरमा भनेको छ, ‘प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षण, जनताका दैनिक समस्याहरू आदि विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गर्नुपर्ने छ । सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकता लाई पनि ध्यानमा राख्नुपर्ने देखिन्छ ।

  • राजनीतिक दस्तावेज तयार पार्न नसक्दा समाजवादी मोर्चाको बैठक अनिश्चित

    राजनीतिक दस्तावेज तयार पार्न नसक्दा समाजवादी मोर्चाको बैठक अनिश्चित

    काठमाडौं । समाजवादी मोर्चा एक महिनासम्म राजनीतिक दस्तावेजनालाई पूर्णता दिन असफल भएको छ । सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोर्चालाई सक्रिय बनाएर राजनीतिक दस्तावेज तयार गर्न कार्यदल बनाएका थिए ।

    साउन १ गते बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गर्न १५ दिनको समय दिएर कार्यदल बनाएको थियो । कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीबाट खड्ग विश्वकर्मा र नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ छन् ।

    कार्यदल गठनको एक महिनासम्म प्रतिवेदन तयार नहुँदा मोर्चाको बैठक बस्न सकेको छैन । दस्तावेजलाई अन्तिम रूप दिनको लागि हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भयो । आज दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएपनि निश्चित नभएको माओवादी महासचिव देव गुरुङले बताए ।

    उनले भने, ‘हामी दस्तावेजको अन्तिम रूप तयार गर्दैछौं । अहिलेसम्म बैठकबारे निश्चित भइसकेको छैन ।’

    माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र यादव पक्षको नेसपा संलग्न भएको मोर्चाले पार्टी एकतासम्मको लक्ष्य बनाएको छ । सत्ताबाट हटेपछि प्रचण्डले पार्टी एकताको विषयमा नेकपा एसका अध्यक्ष माधव नेपाल र विप्लवसँग पनि पटक-पटक छलफल गरिसकेका छन् । विप्लवले पनि नेकपा एसका नेताहरूसँग छुट्टै वार्ता गरिरहेका छन् ।

    प्रचण्डले पार्टी एकताको लागि लचक भएर छलफल चलाए पनि नेपाल र विप्लव भने पर्ख र हेरको अवस्थामा छन् । अहिले चार दल संलग्न भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसहित अन्य कम्युनिष्ट घटकलाई पनि सहभागी गराउन पहल भइरहेको छ ।

  • माओवादी उपमहासचिव पुन भन्छन्- हामीलाई सरकारमा जान कुनै हतारो छैन

    माओवादी उपमहासचिव पुन भन्छन्- हामीलाई सरकारमा जान कुनै हतारो छैन

    प्यूठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरुलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् ।

    पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्यूठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुवाती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए ।

    आफूहरुलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएका तत्वहरुले रातारात सरकार ढालेको उनको भनाइ थियो ।

    ‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरुले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु, हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’

    पुनले भ्रष्टाचार र राज्य दोहनको प्रक्रिया नरोकिए नेपालमा श्रीलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए ।

    ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, तर सुरुवात भएका राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदारी गर्न चाहन्छौं । सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौं । भ्रष्टाचारीलाई संरक्षण गरिए संसद र जनताका बीचमा रहेर खबरदारी गर्छौं’, उनले भने, ‘लोकतन्त्रको जननी मानिएको बेलायतमा १७ वर्षपछि लेबर पार्टीले चुनाव जितेर सरकारमा आउँदा असन्तोष विस्फोट भयो । बंगलादेशमा लगातार ४ पटक चुनाव जितेर सरकार चलाएकी सेख हसिनालाई जनताले किन लखेट्यो ? श्रीलंकामा जनताको दुई तिहाइ मत लिएर आएका प्रधानमन्त्री र राष्ट्रपति कसरी देश छाडेर भाग्नुपर्‍यो । जनताको शक्ति जागेपछि चुनावबाट जितेर आएको भन्ने नहुँदोरहेछ । यो विषयमा समयमै सचेत हुँदा राम्रो हुन्छ ।’

    उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशीता र फराकिलो लोकतान्त्रिक अभ्यासविना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वका अरु देशहरुका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औंल्याए ।

    ‘यदि नेपालमा पनि भ्रष्टाचार नियन्त्रण भएन, सुशासन कमजोर पारियो, समान ढंगले मानिसका पहुँच स्थापित बनाउन सकिएन, लोकतन्त्रलाई समावेशी र सहभागितामूलक बनाएर अझै फराकिलो बनाउन सकिएन भने जनताले विद्रोह गर्छ । बंगलादेशको अवस्था नेपालमा पनि नआउला भन्न सकिँदैन’, पुनले भने ।

    उनले दुनियाँभरका लोकतन्त्रमाथि खतराको बादल मडारिएको र दक्षिण एसियामा निराशाको माहोल खडा गर्न दक्षिणपन्थी शक्तिहरु सक्रिय रहेको भन्दै सरकारमा र बाहिर रहेका सबै दल तथा आमनागरिक सचेत हुनुपर्ने उल्लेख गरे ।

    फरक प्रसंगमा पुनले आफूले बजेटमार्फत विकास निर्माण तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारिएका योजनाले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

    उनले अघिल्लो सरकारले सामाजिक सुरक्षा कोषलाई विस्तार गरी वैदेशिक रोजगारीमा रहेका र तथा अनौपचारिक क्षेत्रका मजदुरलाई समावेश गर्ने काम गरेको भन्दै त्यसबाट पछि हटे सरकारको खबरदारी गर्ने उल्लेख गरे ।

  • मकवानपुरको बकैया गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    मकवानपुरको बकैया गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

    गाउँपालिकामा बढेको अनियमितताको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष धर्मराज लामिछानेले आफूखुसी कर्मचारीको सरुवा, प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाउनेलगायतको विषयमा कुनै कदम नचालेको भन्दै एमाले, माओवादीलगायतले तालबन्दी गरेका हुन् ।

    तिनीहरुले विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई शिक्षा शाखा प्रमुखले प्रस्ताव गरेकोबाहेक शिक्षकलाई विद्यालय पठाउने काम नगरेको, सरकारी सवारीसाधनको अनियमितता, इन्धनमा घोटाला भएको आरोप लगाएका छन् ।

    अध्यक्ष लामिछानेले एकलौटी रूपमा निर्णय गर्ने प्रवृत्ति बढेकाले विरोध गर्नुपरेको माओवादीबाट गाउँपालिका उपाध्यक्ष विजयी भक्तबहादुर खत्रीले बताए । अध्यक्षले छलफल र समन्वय नै नगरी मनलाग्दी गर्न लागेपछि आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए ।

    यसैबीच गाउँपालिकामा क्रियाशील पाँच राजनीतिक दलले आज विज्ञप्ति निकाल्दै गाउँपालिकाको अराजक क्रियाकलाप नसच्याए थप कडा आन्दोलनको चेतावनी दिएका छन् ।

  • जनार्दनलाई प्रचण्डको जवाफ- अब तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन (भिडिओ)

    जनार्दनलाई प्रचण्डको जवाफ- अब तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँगको बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने बताए ।

    उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’

    प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेपछि भ्रमको कारणले आशंका पैदा गरेको प्रचण्डले बताए ।

    उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे । शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले सुनाए ।

    प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टीम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमको कुराहरु चिरिएका छन् । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ ।’

    उनले पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्यनन गर्ने बताए ।

  • प्रचण्डलाई जनार्दनले सोधे- मलाई देउवा र केपीको मात्रै बनाइयो, तपाईंको कहिले हुन पाउँछु ? (भिडिओ)

    प्रचण्डलाई जनार्दनले सोधे- मलाई देउवा र केपीको मात्रै बनाइयो, तपाईंको कहिले हुन पाउँछु ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरेका छन् ।

    नेकपा माओवादी काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे ।

    ‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला’, प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘हुन पाउनुपर्‍यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’

  • ५ महिनापछि प्रचण्डले सम्झिए ओलीको बोली र देउवाको लोली, यस्तो थियो संसदको दृश्य (भिडिओ)

    ५ महिनापछि प्रचण्डले सम्झिए ओलीको बोली र देउवाको लोली, यस्तो थियो संसदको दृश्य (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली र कांग्रेस सभापति शेरबहादुर देउवाको लोली सम्झिएका छन् ।

    गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाडेर एमालेको समर्थनमा सरकार बनाएपछि विश्वासको मत लिने क्रममा ओलीले रोष्टमबाट देउवालाई आफूसँग भेट्न आग्रह गरेको कुरा आज सम्झिएका हुन् ।

    आज पोष्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त क्षण सम्झँदै ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यही दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

    उनले भने, ‘मैले गठबन्धन फेरेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलो पटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो, बोलचाल फर्काउनुपर्‍यो भनेर वर्तमान प्रधानमन्त्रीले मञ्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको । त्यो बडो प्रतीकात्मक थियो, मैले बुझिहालें । मानिसहरुले त्यसलाई कम ध्यान दिए, तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईंहरु मिल्नुस्, हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यही दिनबाट षड्यन्त्र हुन्छ भन्ने देखिएको थियो ।’

    त्यसबेला ओलीले आफूसँग देउवाले तलबाट टाउको हल्लाएर समर्थन जनाउँदै हुन्छ अब बोल्ने भनेका थिए । ओलीको भनाइ थियो, ‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री । म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो । म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं, कुरा गरौं ।’

    ओलीले संसदको रोस्टमबाट भेट्ने प्रस्ताव राखेपछि बैठकमै रहेको देउवाले मुसुमुसु हाँस्दै हुन्छ भन्ने जवाफ फर्काएका थिए ।
    ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने भन्दै् छलफल गरेर समस्याहरू समस्या गर्दै देश अगाडि बढाउनुपर्ने उनको प्रस्ताव थियो ।

    ओलीले त्यसबेला भने झैं अहिले कांग्रेस र एमाले एकै ठाउँमा आइपुगेका छन् । कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर सत्ताको नेतृत्व गरिरहने मूडमा रहेका प्रचण्डलाई माथ खुवाउनेगरी अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् ।

    आफूसँग ३२ सीटको जादुयी अंक रहेको बताउँदै आएका प्रचण्ड अहिले दुई ठूला दल मिलेपछि जिल्लिएका छन् । त्यसो त यसअघि पनि पटक पटक एकअर्कालाई धोका दिएहरुका मिले भने के हुन्छ भन्दै कांग्रेस-एमालेका नेताहरुले चेनावनी नदिएका होइनन्, तर अहिले कांग्रेस र एमाले आफू नेतृत्वको सरकारले गरेको राम्रा काम रोक्न र भ्रष्टाचारीलाई रक्षा गर्न मिलेको प्रचण्डले आरोप लगाउँदै आएका छन् ।

  • प्रचण्डसामु जनार्दनले भने- नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ (भिडिओ)

    प्रचण्डसामु जनार्दनले भने- नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको वरिपरिबाट आफूलाई पार्टी फुटाउँदैछ भनेर आरोप लगाइएको बताएका छन् ।

    नेकपा माओवादी काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वकै वरिपरिबाट आफूले पार्टी फुटाउँदैछ भनेर आरोप लगाइएको बताए ।

    उनले अध्यक्ष प्रचण्डसामु भने, ‘तपाईंहरुले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु । पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ ।’

    नेता शर्माले आफूलाई मनोगत ढंगले आरोपित गरेर सत्यलाई उल्ट्याउने प्रयत्न गरेको बताए ।

    उनले आफूले गरेको प्रश्नमा कुनै पूर्वाग्रह नभएको बताए । आफूलाई पार्टी बनाउने हुटहुटी रहेको बताउँदै नेता शर्माले पार्टीमा इमानदार बन्न पाइँदैन भनेर प्रश्न गरे ।

    उनले भने, ‘मैले उहाँलाई भनेको छु तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनुछैन, तर यो पार्टी आन्दोलन बनाउने हो भने छलफल चाहिन्छ भनेर छलफलको विषय राखेको हो । प्रस्तावमा छलफल हुँदैछ । नेतृत्वलाई स्थापित गर्न कुरा राख्दा मैले अनेक आरोप खेप्नुपर्ने ?’

    नेता शर्माले आफू १४ वर्षको उमेरदेखि यो आन्दोलनमा लागेको बताउँदै अर्को पार्टीमा जानेबारे कल्पना गर्न नसकिने बताए ।

  • ‘हामी सरकारमा हुँदा पञ्चायतकालदेखि कसैले गर्न नसकेको गर्‍यौँ, भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले मिले’

    ‘हामी सरकारमा हुँदा पञ्चायतकालदेखि कसैले गर्न नसकेको गर्‍यौँ, भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले मिले’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारका लागि अझै बढी ठाउँ बनाउनको लागि कांग्रेस-एमाले मिलेको दाबी गरेका छन्।

    पोस्ट बहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड नेतृत्वको सरकारले पञ्चायतकालदेखि हुन नसकेको थुप्रै सुशासनको अभियानहरू सञ्चालन गरेको बताए।

    उनले भने,हामीले बेदाग भएर सरकारबाट बाहिरिएका छौं। अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छ, हामीले भनिराख्नु पर्दैन। भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारका लागि अझै बढी ठाउँ बनाउनको लागि यो सरकार बनेको छ।’

    उनले माओवादी पार्टीलाई एकताबद्ध र सुदृण बनाएर नेतृत्वको वरिपरि गोलबद्ध हुँदै क्रान्तिकारी र शक्तिशाली बनाउन लाग्नुपर्नेमा जोड दिए।

  • जनार्दनसँग खुमलटार वार्तापछि प्रचण्डले भने- केही आशंका थिए, पार्टी नफुट्ने सुनिश्चित भइसक्यो

    जनार्दनसँग खुमलटार वार्तापछि प्रचण्डले भने- केही आशंका थिए, पार्टी नफुट्ने सुनिश्चित भइसक्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका छन्।

    शर्माले पार्टी बैठकमा अध्यक्षको विकल्प खोज्नुपर्ने सहितको लिखित असहमति पार्टी बैठकमा राखेपछि माओवादीमा वृत्त तरंगित थियो। तर, शर्माले खुमलटारबाटै आफूले पार्टी फुटाएर एमालेमा जाँदैछ भनेर हल्ला चलाइएको भन्दै चर्को असन्तुष्टि जनाएका थिए।

    तर, स्थायी कमिटीको बैठक सकिएसँगै पार्टी नफुट्ने सुनिश्चित भएको प्रचण्डले बताए। पोस्ट बहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज बिहानपछि खुमलटारमा उपमहासचिव शर्मासँग छलफल भएको बताउँदै पार्टी फुट्दैछ भन्ने भ्रम नपाल्न नेता कार्यकर्तालाई अपिल गरे।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

    हाम्रो पार्टीभित्र वैचारिक अस्पष्टताको समस्या, संगठनात्मक अराजकता, निराशा र कुण्ठा, विचलनको समस्या देखिएको छ। त्यसलाई समीक्षा गरेर पार्टी निर्वाचनमा जानुपर्छ। हामीले पदाधिकारी बैठकमा पनि मैले सबैलाई खुलेर कुरा राख्न भने, साथीहरुले दुई घण्टासम्म बोल्नुभयो। त्यो कुरा समस्या समाधान गर्ने उद्देश्यका साथ राखौं भनेको थिए। स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो।
    कमरेड जनार्दन शर्माले लिखित रूपमा उहाँले त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन।

    उहाँले आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो। तर, त्यो बाहिर जाँदा बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भयो। तर, स्थायी अन्त्यसम्म आइपुग्दा हामीले त्यसलाई मुख्य रूपमा सम्बोधन गर्यौं। प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे पार्टी फुट्दै छ फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्। भनेर सुनाउने भनेर सुनाउने गरेका थिए। त्यसले यदाकदा के भयो भन्ने भएकै थियो।

    तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन त्यो होइन भनेर उहाँले प्रष्ट पार्नुभयो। र हामी सबै क्लियर भएका छौं। म पनि जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु। पार्टी फुट्दैन त्यो सुनिश्चिता भएको छ, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु।

    आज बिहान पनि जनार्दन शर्मा खुमलटार आउनुभएको थियो अब त्यो आशंका गर्यौं भन्दैमा अब त्यो हामीले दिमागमा राख्नु परेन। तर, केही बिषयमा उहाँले गम्भिर आशंकाको कुरा छन्। ती आशंकाको बारेमा पनि स्थायी कमिटीको बैठकको अम्तिमसम्म आइपुग्दा क्लियर भइसकेको छ।

  • फागुन २४ को भाषण सम्झिँदै प्रचण्डले भने–ओलीको बोली र देउवाको लोली षडयन्त्रको संकेत थियो (भिडिओ)

    फागुन २४ को भाषण सम्झिँदै प्रचण्डले भने–ओलीको बोली र देउवाको लोली षडयन्त्रको संकेत थियो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गठबन्धन फेरेर एमालेको समर्थनमा विश्वासको मत लिने क्रममै कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले आफूविरुद्ध षड्यन्त्र हुन्छ भन्ने संकेत पाएको खुलासा गरेका छन् ।

    पोष्टवहादुर बोगटी स्मृति दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

    प्रचण्डले भने– मैले गठबन्धन फेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलोपटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो,बोलचाल फर्काउनुपरो भनेर वर्तमान प्रधानमन्त्रीले मन्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको । त्यो बडो प्रतिकात्मक थियो,मैले बुझिहालेँ । मानिसहरुले त्यसलाई कम ध्यान दिए तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यहि दिनबाट षडयन्त्र हुन्छ भन्ने देखिएको थियो ।

    गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले एमालेको समर्थनमा सरकार बनाएपछि विश्वासको मत लिने क्रममा ओलीले रोष्टमबाट कांग्रेस सभापति देउवा आफूसँग भेट्न र बोल्न समेत डराएको भन्दै बसौं छलफल गरौं भनेका थिए ।

    त्यसक्रममा देउवाले तलबाट टाउको हल्लाएर समर्थन जनाउँदै हुन्छ अब बोल्ने भनेका थिए । त्यसप्रति प्रचण्डले आज आएर कटाक्ष गरेका हुन् ।अध्यक्ष प्रचण्डले आफ्नो सरकारको भ्रष्टाचार विरोधी अभियानबाट डराएर र कारवाहीमा परिन्छ भनेर कांग्रेस एमाले मिलेको आरोप समेत लगाए ।

  • टीआरसी विधेयक पीडितमैत्री छ, निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ : प्रचण्ड

    टीआरसी विधेयक पीडितमैत्री छ, निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रवार बिहान खुमलटारमा पुगेर राजदूत फेनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट टुंगोमा पुर्‍याएकोमा खुसी व्यक्त कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

    भेटमा प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताए । पीडितमैत्री न्याय, परिपूरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

    आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।

    भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताए ।

    फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रुचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए ।

    प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताए ।

  • प्रचण्डको प्रष्टीकरण- जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाइएको हल्ला निराधार (भिडिओ)

    प्रचण्डको प्रष्टीकरण- जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाइएको हल्ला निराधार (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

    स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताए।

    उनले भने, ‘पार्टी फुट्ने भन्ने चर्चा गलत र निराधार हो। पार्टी फुट्छ भनेर प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आइपुग्दा सबै भ्रम चिरिएका छन्। कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेर माहोल बनेको छ त्यो विल्कुल गलत हो।’

    उनले यो बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढेको सुनाए।