Category: माओवादी केन्द्र

  • कांग्रेस-एमालेले भ्रष्टाचारको विरोध गर्नेलाई कुनै न कुनै रुपमा दमन गर्दैछ: प्रचण्ड (भिडिओ)

    कांग्रेस-एमालेले भ्रष्टाचारको विरोध गर्नेलाई कुनै न कुनै रुपमा दमन गर्दैछ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको बताएका छन् ।

    माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको बताए ।

    उनले भने, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोसिस गर्‍यौं । त्यही कोसिस गरेबापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

    उनले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताए ।

    प्रचण्डले थपे, ‘हामीले कांग्रेस र एमाले जस्ता संसदवादी र प्रतिक्रियावादीहरुसँग मिलेर सरकार बनाउँदा हामीमा पनि कहीँ न कहीँ फोहोर हामीसित पनि केही आएकै छ । त्यसलाई पखाल्न पनि नयाँ आन्दोलनमा जानैपर्छ । नयाँ समीक्षा गर्नैपर्छ ।’

    पार्टीलाई पनि नयाँ कार्यनीतिका साथ एकता गर्नेगरी अगाडि बढेको उनले बताए ।

  • ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा (भिडिओ)

    ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरेका छन् ।

    माओवादी काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै माओवादी प्रवक्तासमेत रहेका सापकोटाले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको बताए ।

    उनले भने, ‘दुइटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ । अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुन्द्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ।’

    उपाध्यक्ष सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको जिकिर गरे ।

    उनले अगाडि भने, ‘पार्टी अध्यक्षले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सबै संयुक्त राष्ट्रसंघको महासभालगायत फोरमहरुमा नेपालको राम्रो प्रतिनिधित्व गरिराख्नुभएको छ । अहिले अन्तर्राष्ट्रिय जगतलाई हिजो जनयुद्धकालमा नाममात्रै सुनिएको थियो, प्रचण्ड भन्ने मान्छे परिवर्तन र जनताप्रति समर्पित मान्छे हो भन्ने परेको छ अन्तर्राष्ट्रिय स्तरमा पनि ।’

    उनले अहिलेको सरकार भए पनि जनताले प्रत्याभूत गर्न नपाएको बताए ।

    नेता सापकोटाले भने, ‘सरकारको विचार, विवेक, पहलकदमी शून्य छ, सरकार छ भन्ने छ, मन्त्रिपरिषद् छ, तर सरकारको अस्तित्व देखिएको छैन । काभ्रेमा विपद् पर्दा सरकार देखिन, कमरेड प्रचण्ड देखिनुभयो ।’

  • भारतीय मिडियामा पूर्वप्रधानमन्त्री प्रचण्डको आपत्तिजनक अभिव्यक्ति, राष्ट्रिय हित र परराष्ट्र नीतिमाथि आघात

    भारतीय मिडियामा पूर्वप्रधानमन्त्री प्रचण्डको आपत्तिजनक अभिव्यक्ति, राष्ट्रिय हित र परराष्ट्र नीतिमाथि आघात

    काठमाडौं । तीन पटक प्रधानमन्त्री भइसकेका र हाल संवैधानिक पद प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक मान्यता समेत भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    देशभित्र छलफलको विषय समेत बन्न नसक्ने ‘भारतविरुद्ध चिनियाँ कार्ड खेल्ने’ विषयलाई उनले भारतीय मिडियाका लागि हेडलाइन बनाइदिएका छन् ।

    नेपालको परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बुझेका पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनकमात्र छैन, कूटनीतिक रुपमा अक्षम्य समेत रहेको टिप्पणी भइरहेको छ ।

    गत विहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दू’मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्नेगरी बोलेका छन्। उनले भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको आरोप लगाएका छन् ।

    पहिलोपटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई ’चिनिया कार्ड’ खेलेको बताएका हुन्। अन्तर्वार्तामा प्रचण्डले आफूले नेपाल-भारत सम्बन्धलाई चाहिँ ’नया उचाईमा पुर्याएको’ दाबी गरेका छन्।

    प्रधानमन्त्री ओलीको चीन भ्रमण बारेमा प्रचण्डले भनेका छन्- केपी ओलीजी पहिलो दुईपक्षीय भ्रमणका लागि चीन जाँदैछन्। तर यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिन्छ । यो गलत छ ।

    प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध इतिहास संस्कृति र भूगोलको कारण भन्दै सबैभन्दा सुरुमा भारतै जानुपर्ने बताएका छन्। यस्तै मुद्दामा केही दिन अगाडि ’कान्तिपुर कन्क्लेभ’मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतैबाट विदेश भ्रमण हुने मन्तव्य दिएका थिए।

    देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कुटनीतिकरुपमा राष्ट्रिय हितविपरित हुने भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्यले बताए ।

    भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीलाई चीनपरस्त वामपन्थी भन्दै नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने गरेको परम्परा तोडेको अनर्गल प्रचार गरिरहेका बेला उनीहरुलाई नै बल पुग्नेगरी प्रचण्डले अभिव्यक्ति दिएका छन् । जबकी नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाट गर्ने प्रचलन पनि छैन र त्यस्तो परम्परा बसेको पनि होइन ।

  • माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

    माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्।

    एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन्।
    ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो।

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको बताए।

    उनले भने, ‘हामीले अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं। अरु ठाउँबाट पनि नाम आउँदैन। समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं। कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ।’

    नेकपा एसले कीर्तिपूरको ४ को वडाध्यक्ष मात्रै टुंगाएको छ। मेयरमा भने माओवादीलाई सघाएर जाने भन्ने छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए।

    दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीका बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो। तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपनि माओवादीले पनि नेकपा एससहित मोर्चामा आबद्ध दलहरुसँग सहकार्य गर्न लागेको हो।

    समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्। प्रचण्डसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलाइएको छ।

  • भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न तयार छु: प्रचण्ड (भिडिओ)

    भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न तयार छु: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

    सामुदायिक समाजवादको बहसमा बोल्दै भ्रष्टाचार विरोधी अभियान चलाउन आवश्यक रहेको बताए।

    उनले भने, ‘भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु। सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी छ।’

    उनले संविधानमा भएको सीमाहरुलाई पनि परिमार्जित गर्दै समाजवादको नयाँ यात्रामा लैजाने जमर्को गरिरहेको बताए।

  • प्रचण्डको आशंका- फेरि संसद विघटन गर्ने कोसिस हुन सक्छ (भिडिओ)

    प्रचण्डको आशंका- फेरि संसद विघटन गर्ने कोसिस हुन सक्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

    नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमललाई सम्बोधन गर्दै अहिले कहीँ न कहीँ देशलाई पछाडि फर्काउन खोज्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

    उनले भने, ‘हामीले विगतमा पटक पटक संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई अर्को भुमरीतिर लैजाने प्रयासका विरुद्ध हामी लोकतन्त्रवादी वामपन्थीहरू मिलेर असफल पारेको हो, अस्ति भर्खरको इतिहास हो यो । अहिले पनि त्यो कोसिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न परिवर्तनको हिस्सेदारहरू, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएकाहरू सूचक हुनुपर्ने आवश्यकता छ । फेरि विगतको जस्तै संविधानलाई मिच्ने, संसद विघटन गर्ने कोसिस सफल नहोस् । देशलाई फेरि प्रतिगमनतिर लैजाने कोशिस हुनसक्ने भएकाले सर्तक हुनुपर्नेछ ।’

    उनले अराजकतवादीहरूले जनतामा फैलिँदो निराशालाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिक्रान्तितिर लैजाने प्रयास भइरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।

  • प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड (भिडिओ)

    प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता नभएको बताएका छन्।

    नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए।

    उनले भने,’अहिले राजनीतिक अलिक जटिल हुँदै गएको महसुश मलाई भएको छ। हामी सबैले पनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन। यसो भन्दा प्रचण्ड सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन। अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फटेबल फिल गरेको छु, रिल्याक्स छु। जनताको बीचमा गएको छु।’

    उनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै त्यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे। उनले आफूलाई ठूलो संघर्षबाट ल्याएको व्यवस्था र संविधानमाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको बताए।

  • विरासत थाम्न माओवादीको जोडबल, किल्ला तोड्न एमाले-कांग्रेस होलान् सफल ?

    विरासत थाम्न माओवादीको जोडबल, किल्ला तोड्न एमाले-कांग्रेस होलान् सफल ?

    रुपन्देही । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य तीन दलहरूले तयारी गरेका छन् । पालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार टुङ्ग्याएका छन् ।

    स्थानीय तह उपनिर्वाचन अन्तर्गत रिक्त ६ पदमा मंसिर १६ चुनाव हुँदैछ । माओवादीले यसअघि जितेको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को वडाअध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ ।

    माओवादीको राम्रो प्रभाव रहेकाले केन्द्र र प्रदेशमा सत्ता साझेदार रहेका कांग्रेस र एमालेले तालमेल गरेर ती दुवै सीटमा उम्मेदवारी दिने तयारी गरे पनि भागबन्डा मिल्न सकेको छैन ।

    कांग्रेसका एक नेताका अनुसार उपाध्यक्ष र वडाअध्यक्ष बाँड्न दुवै दलबीच छलफल भए पनि अझै निष्कर्षमा पुग्न नसकेको हो । एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले आफ्नो पार्टीले उम्मेदवार घोषणसँगै सबै वडामा योजनाबद्ध कार्यक्रम अघि सारेर नेतृत्वलाई जिम्मेवारी दिएर चुनावी मैदानमा गएको बताए ।

    ‘हामीले चुनावी तयारी गरिसकेका छौँ, कांग्रेससँग सहकार्यका लागि बसेका छौँ, केही समझदारी भए पनि त्यो टुंगो लागेको छैन, हामीले उपाध्यक्ष लिएर जाने मोटामोटी समझदारी भएको हो’ उनले भने ।

    एमालेले पार्टीको जिल्ला कमिटी बैठक नै यही पालिकाको केन्द्र तकसेरामा राखेर जिम्मेवारी बाँडेको हो ।

    गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यो पालिकामा जम्मा ११ हजार १ सय ८० मतदाता रहेका छन् । भूगोलमा धेरै ठूलो रहेको पालिकामा १४ वटा वडा रहेका छन् ।

    यहाँबाट एमालेले उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाएको छ । उनी जिल्ला कमिटीको उपसचिव, महिला संघको केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाएको छ भने माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।

    माओवादीमा दुई समूहले अलग उम्मेदवार बनाउन खोजे पनि विवाद आउन खोजेपछि पुनलाई अघि सारिएको भन्दै आलोचना गरिएको छ । यसअघिको भोटको आधारमा माओवादी भए पनि अहिले उम्मेदवारका हिसाबले एमालेका उम्मेदवार बलियो मानिएको दाबी एमाले नेताहरूको छ । माओवादीले पनि दुई दल मिले आफूहरूलाई जितका लागि कडा मेहनत गर्नुपर्ने स्वीकार गरेको छ ।

    कांग्रेस एमालेको गठबन्धनका लागि अहिले एमालेले उपाध्यक्ष पाएपछि ८४ सालको निर्वाचनमा यहाँको अध्यक्षमा आफूहरूलाई सघाउनुपर्ने र अहिलेसम्म निर्वाचनका लागि भएको खर्चबापत एकमुष्ट रकम दिनुपर्ने प्रस्ताव राखेको छ तर एमाले नेताहरूले यसमा सहमति जनाएका छैनन् ।

    अन्य वडामा के छ तयारी ?

    रिक्त ६ पदमध्ये यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । त्यसैले कांग्रेस र माओवादीलाई यसअघि आफूले जितेका सिटमा विरासत जोगाउने चुनौती रहँदा एमाले भने जित हासिल गरी फाइदा उठाउने रणनीतिमा छ ।

    उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

    गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए । अहिले यहाँ कांग्रेसबाट आनन्द श्रेष्ठ उम्मेदवार बनेका छन् । एमालेले दलबहादुर थापा र माओवादीले दुर्गाबहादुर विकलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् ।

    रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर४ मा कांग्रेसका टङ्कबहादुर पुन ४८८ मत पाएर अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका बेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।

    नेपाली कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले बेगम पुनलाई नै मैदानमा उतारेको छ । माओवादीबाट नरेशजङ्ग शाही उम्मेदवार बनेका छन् ।

    यस्तै नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ४ हो । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।

    यहाँ अहिले नेपाली कांग्रेसले अनिल थारुलाई उम्मेदवार बनाएको छ भने एमालेले विष्णु प्रसाद देवकोटा र माओवादीले शेर बहादुर थारुलाई मैदानमा उतारेको छ ।

    यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादव १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए । अहिले यहाँ कांग्रेसले दिनेश कुमार यादवलाई उम्मेदवार बनाएको छ । यस्तै, माओवादीले रफिक महोम्मद खान मुसलमानलाई र एमालेले मोजीव खाँलाई नै फेरि उम्मेदवार बनाएको छ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले नेपाली कांग्रेसबाट जितेका ठाउँहरूमा पार्टीले गरेका राम्रा काम अगाडि बढाउने गरी उपनिर्वाचनमा लाग्ने बताए । उनले प्रदेशले समन्वय गरेर जिल्ला जिल्लामा आ–आफ्नो ढङ्गले चुनावी रणनीति तय गरेको खुलाए । ६ मध्ये कांग्रेसले ४ स्थानमा जितेका ठाउँ हुन् ।

    केन्द्रको नीति अनुसार माओवादीले एकल उम्मेदवारी दिएको भए पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि सान दलहरूसँग सहयोग मागेर अगाडि जाने रणनीति बनाएको प्रदेश अध्यक्ष सुदर्शन बराल बताउँछन् । एकीकृत समाजवादी, नेकपा, जसपा लगायत दलसँग सहयोग माग्ने योजना रहेको उनको भनाइ छ ।

    एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले प्रदेशअन्तर्गत स्थानीय तहका ६ सीटमा हुने उपनिर्वाचनमा आधा जति स्थानमा जित्ने आधार बनाएर अगाडि बढेको बताए ।

  • पार्टी विभाजनपछिको ओरालो यात्रा सकिएर उकालो हिँड्दैछौं, ०६४ कै झल्को आउन थाल्यो : प्रचण्ड

    पार्टी विभाजनपछिको ओरालो यात्रा सकिएर उकालो हिँड्दैछौं, ०६४ कै झल्को आउन थाल्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् ।

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई भित्र्याउँदै रुपान्तरणसहित माओवादी अब उकालो यात्रामा निरन्तर अघि बढ्ने बताए ।

    उनले भने, ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो । तर विभाजनपछि सुरू भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

    जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । पार्टी एकताका विभिन्न दलगतरूपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको बताए ।

    जनयुद्धको तयारी, सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए ।

    जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर विद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरूबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरू ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’

    अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको जिकिर गरे ।

    विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको प्रचण्डले दाबी गरे ।

  • कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाउन छलफलमा माओवादी र नेकपा एस

    कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाउन छलफलमा माओवादी र नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कीर्तिपुरको मेयरमा माओवादीलाई सघाउनेगरी छलफल अघि बढेको छ । दुवै दलले आवश्यकताअनुसार सत्तारुढ दलबाहेक विपक्षी दलसँग सहकार्य गर्ने नीति अख्तियार गरेपछि छलफल चलेको हो ।

    मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि चुनाव हुँदैछ ।

    नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले माओवादीसँग छलफल चलिरहे पनि अहिलेसम्म कुरा नटुंगिएको बताए ।

    उनले भने, ‘हामीले छलफल गरिरहेका छौं । अहिलेसम्म टुंगिएको छैन ।’

    नेपाल प्रेससँग कुरा गर्दै उनले कीर्तिपुर- ४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने बताएका थिए । नेकपा एसले वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    मेयर र वडा १ मा अझै टुंग्याएको छैन । नेकपा एसले मेयरमा सघाउन शर्त राखे पनि माओवादीले तीन पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

    आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिी मेयरमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्ष उम्मेदवार इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

  • प्रचण्डको निर्देशन- हामीले बाचा पूरा गर्न सकेनौं, एकपटक अवसर दिनुहोस् भन्दै जनतामा जानुस् (भिडिओ)

    प्रचण्डको निर्देशन- हामीले बाचा पूरा गर्न सकेनौं, एकपटक अवसर दिनुहोस् भन्दै जनतामा जानुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

    उपनिर्वाचनको लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

    उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं। हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घर घरमा पुग्नुहोस्।’

    माओवादी अन्य दलभन्दा फरक शक्ति हो भन्ने कुरा पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भन्ने जनताले बुझिसकेको बताए।

    पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।

     

    उनले थपे, ‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्ट सँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्। अब मुख्य कुरा हामी आफै पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ।’

    उनले कीर्तिपूरमा इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षणको रुपमा स्थापित व्यक्तिलाई उम्मेदवार बनाएकाले जित निश्चित रहेको बताए।

  • प्रचण्डको उपस्थितिमा कीर्तिपुरका मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

    प्रचण्डको उपस्थितिमा कीर्तिपुरका मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो ।

    माओवादीले प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । ७९ को चुनावमा पनि मेयर भिडेका महर्जन तेस्रो भएका थिए ।

    यस्तै, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्षउम्मेदवार इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने भएको छ ।

    मेयरमा उम्मेदवार महर्जनले आफ्नो उम्मेदवारी घोषणासभामा खादामाला लगाएनन् । दुई वडाध्यक्षको उम्मेदवारले लगाएपछि मेयरको उम्मेदवार महर्जनले चुनाव जितेको दिन जनताको हातको माला लगाउने भन्दै घोषणा सभामा नलगाएका हुन् ।

    प्रचण्डले नेताहरूलाई जनताको घरघरमा गएर आफ्नो एजेण्डा बताउँदै चुनाव केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए । विभिन्न रिक्त पदका लागि स्थानीय तहको उपनिर्वाचनमा मंसिर १६ गते हुँदैछ ।

  • प्रचण्डबारे बाबुराम- आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु

    प्रचण्डबारे बाबुराम- आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु

    काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कहिल्यै नझुक्किने प्रण गरेको बताएका छन्। प्रचण्डले सबैलाई सबैलाई सधैंभर झुक्क्याउन खोजेको उनको भनाइ छ।

    उनले भनेका छन्, ‘प्रसिद्ध भनाइ छ, सबैलाई केही समय झुक्क्याउन सकिन्छस केहीलाई सधैंभर झुक्क्याउन सकिन्छस तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न। परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछान्, सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो।’

    उनले प्रचण्डलाई ३५ वर्षको प्रत्यक्ष अनुभव गरेको भन्दै गम्भीर आत्मसमीक्षा सहित अब सहकार्य हुन नसक्ने बताए।

    उनले थपेका छन्, ‘अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैं सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।’

  • कीर्तिपुर- ४ मा माओवादीले सघाए मेयरमा उम्मेदवारी नदिने मूडमा नेकपा एस, काठमाडौं- १६ मा के गर्छ ?

    कीर्तिपुर- ४ मा माओवादीले सघाए मेयरमा उम्मेदवारी नदिने मूडमा नेकपा एस, काठमाडौं- १६ मा के गर्छ ?

    काठमाडौं । उपनिर्वाचनमा काठमाडौंमा चुनावी गठबन्धन गर्ने विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गृहकार्य अघि बढाएका छन् ।

    सत्तारुढ कांग्रेस-एमालेबाहेक विपक्षी दलसँग आवश्यकताको आधारमा सहकार्य नीति लिएका दुई दलले काठमाडौं जिल्लामा हुने निर्वाचनमा तालमेल गरेर जानेबारे छलफल चलाएका हुन् ।

    काठमाडौं जिल्लामा कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रले मेयरमा प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    त्यसो त नेकपा एसले कीर्तिपुर वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयर र वडा १ को उम्मेदवार नतोकेर अहिले नेकपा एस माओवादीसँग छलफलमा जुटेको छ । त्यसो त काठमाडौं- १६ मा भने दुई दलले उम्मेदवार टुंगाइसकेका छन् ।

    माओवादीले काठमाडौं- १६ मा दिलीप वन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले मीनबहादुर मानन्धरलाई अघि सारेको छ ।

    सत्तारुढ दलबाहेक विपक्षी दलसँग सहकायर्का ढोका खुलै राखेको माओवादी र नेकपा एसले समाजवादी मोर्चामा भएका दलहरुसँग सहकार्यलाई प्राथमिकता राखेका छन् । मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा संलग्न छ । यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने अहिले निक्रिय छ ।

    गएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एसबीच गठबन्धन भएको भए पनि यो निर्वाचन क्षेत्रमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका थिए। नकर्मीको निधन भएपछि अहिले त्यहाँ उपनिर्वाचन हुँदैछ ।

    गएको निर्वाचनमा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०८, माओवादीका शिवशरण महर्जनले ४ हजार ९०, एकीकृत समाजवादीका वटुकृष्ण थापाले १ हजार १५३, राप्रपाका जितबहादुर विष्टले ५७२ मत ल्याएका थिए । यहाँ तुलनात्मक रुपमा माओवादी बलियो देखिएको छ ।

    माओवादीले अहिले पनि गएको निर्वाचनमा पराजित महर्जनलाई नै चुनावी मैदानमा उतारेको छ, तर सहकार्यको ढोका खुला राखेर अहिलेसम्म नेकपा एसले मेयर र वडा नम्बर १ को उम्मेदवार टुंग्याएको छैन ।

    नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले कीर्तिपूुर ४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने बताए । नेकपा एसले शर्त राखेको कीर्तिपुर ४ मा गएको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार उठाएको थिएन, तर महिला वडा सदस्यमा नेकपा एस तेस्रो भएको थियो ।

    गएको निर्वाचनको कीर्तिपुर ४ मा वडाध्यक्षको मत परिणाम

    श्यामकुमार अधिकारी, स्वतन्त्र – १३८०
    राजेन्द्र बानियाँ, कांग्रेस – १०५७
    ईश्वरकुमार बाँस्कोटा, एमाले – २३६
    राजकुमार केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी – ८५
    राकेश बुढाथोकी, माओवादी – ७३

    महिला सदस्यको मत परिणाम

    सुमित्रा थापा, स्वतन्त्र – ९१२
    सविना कुइँकेल, कांग्रेस – ८७५
    रीता खड्का (केसी), एकीकृत समाजवादी – ४२५
    नानीछोरी महर्जन, एमाले – ३१९
    सम्झना तामाङ, माओवादी – १३४

    अहिले नेकपा एसले खड्कालाई नै उम्मेदवार बनाएको छ । नेकपा एसका काठमाडौं जिल्ला अध्यक्ष श्रेष्ठले भने, ‘कीर्तिपुरको विषयमा पनि हामी छलफलमा छौं । वडा ४ मा रीता खड्कालाई उम्मेदवार बनाएका छौं । नगर र वडा १ मा नाम सिफारिस भएर आएको छ । हामी छलफलमा छौं । अहिलेसम्म टुंग्याएका छैनौं ।’

    गएको निर्वाचनको कीर्तिपुर १ को मत परिणाम

    हिरालाल महर्जन, कांग्रेस – ७७८
    हर्ष महर्जन, एमाले – ५८२
    विनोदकुमार महर्जन, माओवादी – २७३
    रोहित महर्जन, एकीकृत समाजवादी – ६३

    उनले माओवादीसँग आज साँझ छलफल रहेकोसमेत बताए । उनले थपे, ‘माओवादीले पनि आफ्नो उम्मेदवार टुंग्याइसकेको छ, तर पनि हामी विपक्षमा रहेका दलहरुसँग पनि छलफलमा छौं । सहकार्यबारेमा आज बेलुका माओवादीसँग छलफल हुँदैछ केही सहमति हुनसक्छ ।’

    गएको चुनावमा माओवादीले तपाईंहरुलाई काठमाडौं १६ मा छाडेको थियो, अहिले पनि माओवादीले छाडे कीर्तिपुरको मेयरमा सघाउँछ भन्ने जिज्ञासामा उनले थपे, ‘कीर्तिपुरको मेयरको सन्दर्भमा हामी छलफलमा छौं । वडा ४ हामी छाड्ने पक्षमा छैनौं । हामी महिला सदस्यमा तेस्रो भएका थियौं । अहिले उहाँलाई नै उम्मेदवार बनाएका छौं । केही जोड गर्दा जित्नसक्ने आधार छ ।’

    वडा ४ मा माओवादीले सहयोग गरे मेयरमा समर्थन गर्नसक्ने उनले बताए । काठमाडौं- १६ मा दुवै पार्टीको उम्मेदवारी तय भइसकेपछि मित्रवत प्रतिस्पर्धा हुनसक्ने उनको बुझाइ छ ।

    माओवादीका केन्द्रीय सदस्य हिमाल शर्मा पनि विपक्षी दलहरुसँग सहकार्यको विषयमा छलफल चलिरहेको बताए ।

    उनले भने, ‘अहिले सामान्य छलफल चलिरहेको छ, अहिलेसम्म कुनै टुंगो लागेको छैन । अघिल्लो चुनावमा काठमाडौं- १६ मा हामीले समाजवादीलाई छाडेका हौं । अहिले एक्लाएक्लै घोषणा भइसकेको छ, दिलीप वन्तलाई हामीले उठाउने निर्णय गरेका छौं ।’

    कीर्तिपुरमा समर्थन लिएर काठमाडौं- १६ नेकपा एसलाई छाड्ने वा कसरी सहकार्य गर्ने भन्ने मोडालिटीबारे सामान्य छलफल चलिरहे पनि मूर्त रुपमा नलिएको उनको भनाइ छ ।

    उनले थपे, ‘अहिलेसम्म त्यस्तो कुनै ठोस र मूर्त केही भएको छैन । पार्टीले मिल्ने ठाउँमा मिल्ने नभए एक्लै लड्ने निर्णय आजमात्रै गरेको छ । अहिले उम्मेदवार छनोट भएको छ, अरु छलफल भएको छैन ।’

    गएको निर्वाचनमा माओवादीले काठमाडौं- १६ मा उम्मेदवारी नदिएको भए पनि नेकपा एसले १ हजार ५८९ मत ल्याएको थियो ।
    काठमाडौं महानगरको सबैभन्दा ठूलोमध्येमा पर्ने यो वडाले शहरी जनमतको ताजा रुझानलाई देखाउनेछ । यहाँ सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्छन् ।

    यहाँ गएको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले ४ हजार १९ मत ल्याएर जितेका थिए । एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१०, नेकपा एसका लक्ष्मण गमालले १ हजार ५८९, राप्रपाकी बिन्दिका गुरुङले ५५७ मत ल्याएका थिए ।

    कांग्रेस-एमाले एक्लाएक्लै लड्ने भए पनि माओवादी र नेकपा एसले काठमाडौंमा मात्रै नभई उपनिर्वाचन हुने सबै क्षेत्रमा तालमेलको सम्भावनाबारे छलफल चलाइरहेको बताइन्छ ।

  • विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोड्न निर्देशन दिने सरकारको निर्णय नीतिगत भ्रष्टाचार हो: सांसद सापकोटा

    विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोड्न निर्देशन दिने सरकारको निर्णय नीतिगत भ्रष्टाचार हो: सांसद सापकोटा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत महसुल नतिर्ने उद्योगमा लाइन जोड्न निर्देशन दिने सरकारको निर्णय नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग एेन संशोधन विधेयकमाथिको छलफलमा यस्तो बताएका हुन् ।

    विधेयकमा नीतिगत भ्रष्टाचारको स्पष्टता हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘हिजोको सरकारको लाइन जोड्न निर्देशन दिने निर्णय पनि आएको छ । त्यो नीतिगत भ्रष्टाचार भनेर सञ्चारमाध्ययमा आएको छ ।’

    प्रतिनिधिसभा सदस्य दुर्गा राईले पनि बक्यौता नतिरी लाइन जोड्न दिइनु नीतिगत भ्रष्टाचार भएको बताइन् ।

    उनले भनिन, ‘१२ बजेसम्म पैसा नतिरे पनि लाइन जोड्न भनेर निर्देशन दिइनु नीतिगत भ्रष्टाचार हो ।’

  • सरकारविरुद्ध आन्दोलन चर्काउँदै माओवादी, सबै पालिकामा मंसिरभित्रै खबरदारी सभा गर्ने

    सरकारविरुद्ध आन्दोलन चर्काउँदै माओवादी, सबै पालिकामा मंसिरभित्रै खबरदारी सभा गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभरि नै आन्दोलन चर्काउने भएको छ ।

    आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मंसिर महिनाभित्रै सबै पालिकामा खबरदारी सभा गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए ।

    उनले भने, ‘हामीले काठमाडौं त यसअघि नै खबरदारी सभा गरिसकेका छौँ। अब मंसिरभित्र सबै पालिका स्तरमा पनि खबरदारी सभा गर्ने निर्णय भएको छ। मंसिरमा नभ्याएका पालिकाले पुस २ देखि बस्ने केन्द्रीय कमिटी बैठकपछि सभा गर्छन् ।’

    उनले पालिका स्तरको खबरदारी सभाको कार्यक्रम सम्बन्धित प्रदेशले अनुकूलता हेरेर बनाउने बताए। प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेपछि सत्ताबाट हुत्तिएको माओवादी ओली सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।

    त्यसो त माओवादी मात्रै नभई प्रतिनिधि सभाको चौथो ठूलो पार्टी रास्वपा पनि अहिले सडकमै छ। सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै देशव्यापी आन्दोलनमा छ । यस्तै, पाँचौँ ठूलो दल राप्रपाले पनि अब सरकारविरुद्ध काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ ।

    सरकारले भ्रष्टाचारी र बिचौलियालाई जोगाउन र विपक्षीलाई निशाना बनाउँदै हिँडेको माओवादीको निष्कर्ष छ । उनले अहिलेको सरकार अधिनायकवादी र तानाशाही बन्दै गइरहेको पुष्टि भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको भन्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको उनको भनाइ छ ।

    उनले जनजीविकाको सवालमा पनि सरकार चुकिरहेको निष्कर्षसहित खबरदारी सभा देशव्यापी विस्तार गर्ने योजना बनाएको बताए ।

    उनले भने, ‘राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ। लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ। जनजीविकाको सवालमा सरकार चुकिरहेको छ। यो सरकार चुनावपछि गठन भएको होइन यसलाई १०० दिन भन्ने लागू हुँदैन। यो सरकार त आफ्नै कारणले जान्छ, जान्छ। हामीले बेलैमा अब जनतालाई अग्रगमनको पक्षमा दिशा निर्देशन गर्न सकेनौँ भने अराजकता बढ्छ।’

    उनले सरकार चुकेको कुरा माओवादीले मात्रै नभई सत्तारुढ दलका नेता शेखर कोइराला लगायत नेताहरूले पनि भन्न थालेको बताए।

  • उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने माओवादीको निर्णय

    उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ।

    आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले बताए।

    उनले नेपाल प्रेससँग भने, ‘आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ। अनुमोदनसँगै पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन पनि गरेको छ। हामी यो निर्वाचनमा एक्लै लड्छौँ।’

    उनले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए।

    उनले भने, ‘केही स्थानीय तहमा तलको कमिटीले गर्नसक्छन्, सत्तारुढ दलबाहेक विपक्षीसँग आवश्यकताको आधारमा हुनसक्छ।’

    मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।

  • यो सरकार केपी-शेरबहादुर मिलेर बनेको हैन : प्रचण्ड

    यो सरकार केपी-शेरबहादुर मिलेर बनेको हैन : प्रचण्ड

    थाहानगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार कांग्रेस-एमाले मिलेर नबनेको बताएका छन् । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उनको भनाइ छ ।

    योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफूहरुको नेतृत्वको सरकारले भ्रष्टाचारीलाई धमाधम पक्राउ गर्न थाल्दा आत्तिएकाहरुले कुनै एउटा व्यवसायीको घरमा बसेर सरकार ढाल्ने कथा लेखेको बताए ।

    आफू अघिल्लो सरकारमा सके राम्रो गर्छु, तर नराम्रो गर्दिनँ र नराम्रो गर्न दिन्न भन्ने संकल्पसहित आएको र सोहीअनुसारको काम गर्दा दलालहरुको सात्तो गएको उनको भनाइ छ ।

    आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चमा समेत शीर उठाउनेगरी राम्रा काम भएको बताउँदै प्रचण्डले सयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनबारे आफ्नो धारणा सुनेर संघका महासचिव नेपाल आएर नेपालबाट अन्तर्राष्ट्रिय सन्देश दिएको बताए ।

    प्रचण्डले कांग्रेस-एमालेले चाहेअनुसार माओवादी आन्दोलन नमर्ने दाबी गरे ।

    ३२ सीट हुँदा त एमाले-कांग्रेसको सात्तो गएको भन्दै उनले अबको निर्वाचनमा माओवादीले बहुमत ल्याउँदा उनीहरुको होस नै उड्ने जिकिर गरे ।

    उनले अब चाँडै माओवादीले देशको सबै जिल्ला, स्थानीय तहमा आन्दोलनको आधीबेरी सिर्जना गर्ने बताए । प्रचण्डले आफू अझै ५-७ वर्ष स्वस्थ हुने र नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगरी विश्राम नलिने बताए ।

    ‘संसदीय पुराना खेलाडी जालझेल गर्न सिपालु, तर हामीले गरेको कामको बारेमा जनतामाझ लान नसकेको कारण हामी केही पछि परेका हौं कि भन्ने भान भएको छ’, प्रचण्डले भने ।

    हालको सरकारले सय दिनमा गरेको भनेर सार्वजनिक गरिएको कार्यक्रम आफ्नो कार्यकालमा भएको कार्यक्रमको फेरिहस्त भएको उनले बताए ।

    कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादी आन्दोलन चिल भएको बताए । चिलले आवश्यक परेको अवस्थामा ह्वात्तै उडान बढाउनसक्ने भन्दै उनले माओवादलाई कमजोर नआक्न चेतावनी दिए ।

    अहिलेको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको बताउँदै उनले देशलाई भ्रष्टाचारको चङ्गुलबाट मुक्त गर्न माओवादी देशको नेतृत्वमा आएरै छाडनुपर्ने बताए ।

  • रुकुम पूर्वकाे पुथा उत्तरगंगामा एमालेपछि माओवादीले टुंगो लगायो उम्मेदवार

    रुकुम पूर्वकाे पुथा उत्तरगंगामा एमालेपछि माओवादीले टुंगो लगायो उम्मेदवार

    रुपन्देही । रुकुम पूर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाएका छन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन गर्नुपर्ने समय तालिका रहेको छ ।

    माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएकी छन् । यहाँ यसअघि पनि माओवादीले नै जितेको थियो ।

    पुथा उत्तरगंगामा यसअघि एमालेले केशकुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेस भने अझै टुङ्गो लगाउन सकेको छैन ।

    नेपाली कांग्रेसका जिल्ला उपसभापति भीमबहादुर खड्काले यही सोमबारभित्र उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए । कांग्रेसबाट सो पदका लागि ५ जनाको नाम छलफलमा रहेको छ । कांग्रेस नेताहरुका अनुसार नन्दबहादुर सुनुवार, जयबहादुर बुढा, कमला मल्ल, रविना घर्ती र सूर्यकुमारी बुढामध्येबाट एक जनाको नाम टुंगो लाग्नेछ ।

    यस्तै सोही गाउँपालिकाको २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्तीमगर र एमालेले जीवन रोकामगरलाई उम्मेदवार बनाउने भएका छन् । कांग्रेसबाट सो वडामा कमाई बुढा र कर्णबहादुर बुढामध्ये एक जनाको टुंगो लाग्नसक्ने जनाइएको छ ।

    रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रकी बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए ।

    अहिले यहाँ तीनै दलको अस्तित्वको लडाइँ हुने देखिएको छ । कांग्रेस-एमाले गठबन्धन गरेर जाने तयारी गरे पनि कुनै निचोडमा पुगेका छैनन् । माओवादीको मत धेरै रहेको पालिका भएकाले कांग्रेस-एमालेले गठबन्धन गरेर जाने गरी छलफल चलाएका छन् ।

    सोही गाउँपालिकाको वडा नम्बर २ अध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

    पालिका उपाध्यक्ष र वडाध्यक्षको गत भदौ महिनामा बाग्लुङमा दुर्घटनामा परेर मृत्यु भएको थियो । लुम्बिनीको रुकुमपूर्वबाहेक अन्य ४ वडाध्यक्षसहित ६ रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

  • चित्लाङ पुगे प्रचण्ड, युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्ने

    चित्लाङ पुगे प्रचण्ड, युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चित्लाङ पुगेका छन्। युवा संगठनको कार्यक्रममा सहभागी हुनको लागि शनिबार बिहान मकवानपुरको चित्लाङमा पुगेका हुन्।

    प्रचण्डले मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्ने तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।

    सत्ताबाट बाहिरिएपछि प्रचण्ड पछिल्लो समय पार्टीको कार्यक्रमको लागि देश दौडाहमा लागिरहेका छन्।

  • विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ: नारायणकाजी श्रेष्ठ

    विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ: नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त त्यागेर अरु पार्टी जस्तै बने माओवादीको औचित्य सिद्धिने टिप्पणी गरेका छन् ।

    चितवनका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्ने क्षमता माओवादीसँग मात्रै भएकाले पार्टीलाई पनि रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताए ।

    उनले भने, ‘अहिलेको अवस्थामा हामीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैनौं । हामी तयार नभए देश अर्को संकटमा फस्न दिन तयार हुनुपर्‍यो । सम्भावना हाम्रो पार्टीमै भए पनि अहिलेको वर्तमान स्थितिमा त्यो सम्भव छैन । हाम्रो पार्टीले नगरी हुँदैन, नत्र देश बर्वाद हुन्छ । हाम्रो पार्टीमै गर्नसक्ने सम्भावना पनि छ, तर यथास्थितिमा यो कार्यभार पूरा गर्न नसक्ने भएकाले पार्टीलाई नफेरी सम्भव छैन ।’

    पार्टीमा विचार, सिद्धान्तको धेरै उपेक्षा हुन थालेको उनले बताए ।

    नेता श्रेष्ठले थपे, ‘हाम्रो पार्टीको महाधिवेशनले पारित गरेको वैचारिक कार्यदिशालाई पनि ग्रहण गरेर लागू गर्ने हाम्रो प्रतिबद्धता छैन । विचारको महत्व नै छैन, अब त किन चाहियो सिद्धान्त भन्ने भएको छ । पाए पार्टी पद लिने, सके राज्यकै पद लिने नभए जेजे गरेर हुन्छ, सुविधा र सम्पत्ति कमाउने हो, त्यही हो हाम्रो टार्गेट भनेपछि विचारको महत्व त सिद्धिने भयो । विचारमा विचलित भयौं भने हामीले हाम्रो पार्टीलाई क्रान्तिकारी बनाउन पनि सक्दैनौं । राष्ट्रिय कार्यभार पूरा गर्न पनि सक्दैनौं । त्यसपछि हाम्रो पार्टी पनि अरु पार्टी जस्तै हुन्छ । अरु पार्टी जस्तै हाम्रो पार्टी पनि हुने हो भने पार्टीको औचित्य सिद्धिन्छ । त्यसैले हामीले विचार र सिद्धान्तको महत्वलाई पक्रिनुपर्छ ।’

    उनले माओवादी नेतृत्वको सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गरेको बताए । उनले प्रचण्ड प्रधानमन्त्री र आफू गृहमन्त्री भएको बेलामा सुशासनमा कोसेढुंगा सावित हुनेगरी काम गरेको दाबी गरे ।

    नेता श्रेष्ठले आफू सरकारमा हुँदा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको विषयमा आत्मसमीक्षा पनि गर्नुपर्ने बताए ।

  • लुम्बिनीमा उपनिर्वाचन: ६ रिक्त पदमा त्रिपक्षीय भिडन्त, कस्ताे छ तीन दलकाे तयारी ?

    लुम्बिनीमा उपनिर्वाचन: ६ रिक्त पदमा त्रिपक्षीय भिडन्त, कस्ताे छ तीन दलकाे तयारी ?

    रुपन्देही । स्थानीय तहमा मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएकाे छ । रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए ।

    एमालेले ६ मध्ये कुनै पदमा जितेको थिएन । अहिले पुरानो अवस्था केही फेरिएको छ । ०७९ को निर्वाचनमा कांग्रेस–माओवादीसहित ५ दलको अधिकांश स्थानमा गठबन्धन रहेको थियो तर अहिले केन्द्र र प्रदेशमा एमाले–कांग्रेसको गठबन्धन रहेको छ । त्यो कारणले पनि तीनै दलले यी स्थानमा आफ्नो वर्चश्व राख्न चाहन्छन् ।

    माओवादीले रुकुमपूर्वको पुथाउत्तर गंगा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको वडा नं २ को अध्यक्ष जितेको ठाउँ हो । अहिले त्यो स्थान माओवादीबाट खोस्नका लागि एमाले कांग्रेस गठबन्धन गरेरै जाने तयारी गरेका छन् । यद्यपि भागवण्डा नमिलेकोले अझै टुंगो लागेको छैन ।

    कांग्रेस एमाले नमिले यहाँ माओवादीले नै जित्ने निश्चित रहेको बुझाई स्थानीय नेताहरुको छ । उनीहरु दुवै दल मिलेपनि माओवादीले केन्द्रको संयन्त्रअनुसार विप्लव नेतृत्वको नेकपा माओवादी र नेकपाएस र जसपासँग साथ लिने तयारीमा छ ।

    सो क्षेत्रमा विप्लव नेतृत्वको पार्टीका केही सुरक्षित मत रहेको आंकलन माओवादी केन्द्रको रहेको छ । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बराल एमाले कांग्रेस मिलेपनि अन्य दलको साथ लिएर आफूहरुले जितेको स्थान सुरक्षित गर्ने रणनीतिमा लागेको बताउँछन् ।

    एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल ६ मध्ये कम्तीमा ३ स्थानमा आफूले जित्नेगरी लागेको बताउँछन् । ०७९ र अहिलेको अवस्था धेरै फेरिएको बताउँदै उनले यसले पार्टीको जनाधारलाई पनि विश्लेषण गर्ने भएकाले सोहीअनुसार योजना बनाएको जनाए ।

    यसैगरी संसदको चौथो ठूलो दलले पनि स्थानीय तहको उपनिर्वाचनमा आफ्नो मत सुरक्षित बनाउने रणनीतिमा लागेको छ । पार्टी केन्द्रले लुम्बिनीमा कुसुम महर्जनलाई उपनिर्वाचनको कमाण्डर तोकेर पठाएको छ । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाका अनुसार पार्टीले यसअघि जितेका ४ स्थानमा यथावत राख्ने र केही थप गर्नेगरी योजना बनाइएको बताए ।

    कहाँ कहाँ हुँदैछ निर्वाचन रु कस्तो थियो ०७९ को मत परिणाम ?

    रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् ।

    उनका निकटम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । अहिले यहाँ तीनै दलले आफ्नो अस्तित्वका लागि हेरिरहेका छन् ।

    सोही गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्षको मृत्युपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादी केन्द्रका जसबहादुर श्रीपाली २३४ मत पाएर यो वडाको वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

    गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित घिमिरेले १ हजार १८२ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका नारायण बहादुर थापाले १ हजार १४३ मत ल्याएका थिए ।

    यता रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका टंकबहादुर पुन ४८८ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका वेगम पुनले ४८० र माओवादीका शिवलाल रोकाले २०३ मत पाएका थिए ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष सुर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाअध्यक्ष पद खाली भएको थियो । गत निर्वाचनमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।

    यस्तै उपनिर्वाचन हुन लागेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा यसअघिको निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अब्दुल मोजीव खाँले ८८९ मत पाएका थिए ।

    कुन दलले उम्मेदवार कसरी छाने ?

    एमालेले सबै स्थानमा सर्वसम्मत उम्मेदवार टुंगो लगाइसकेको छ । कांग्रेस र माओवादीले सार्वजनिक गरिसकेका छैनन् ।

    एमालेबाट रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा केशकुमारी तुलाचन, वडा नं २ को अध्यक्षमा जीवन रोका, गुल्मी मुसिकोट नगरपालिका वडा नं १ को अध्यक्षमा दलबहादुर थापा, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ४ मा विष्णुप्रसाद सापकोटा, कपिलवस्तु शुद्धोधन गाउापालिका वडा नं १ मा अब्दुल मोजिन खाँ, रोल्पा रुन्टिगढी गाउँपालिका ४ को अध्यक्षमा बेगम पुनलाई उम्मेदवार बनाइएको एमाले लुम्बिनीका कार्यालय सचिव कृष्ण खनालले जानकारी दिए ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले सबै जिल्लामा उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको र शनिबारसम्म टुंगो लाग्ने जनाए । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले सबै जिल्लामा सवैसम्मत उम्मेदवार टुंगो लागेपनि नाम सार्वजनिक नगरिएको र शनिबारसम्म आउने जनाए ।

  • उपनिर्वाचनअघि माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने, बोलाइयो पदाधिकारी बैठक

    उपनिर्वाचनअघि माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने, बोलाइयो पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ। सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितीको बैठक गरेको माओवादीको दशैंतिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो।

    तर, उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए।

    माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ। यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बचन भएका छन्।

    उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेसहितको प्रस्ताव अघि सारेपछि उत्पन्न तरंग केन्द्रीय कमिटीबाटै हल गर्ने सहमति बनेको छ। शर्माले उठाएका सबै बिषय आफ्नो दस्तावेजमा राख्ने प्रचण्डले आश्वासन दिएपछि माओवादीभित्र देखिएको विवाद तत्काललाई टरेको छ।

    केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले प्रचण्डले छलफलका लागि पदाधिकारी बैठक डाकेका छन्। सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्नेगरी बोलाएको बताए।

  • उपनिर्वाचनमा माओवादीको नीति- घोषित चुनावी गठबन्धन नगर्ने, सहकार्य गर्ने !

    उपनिर्वाचनमा माओवादीको नीति- घोषित चुनावी गठबन्धन नगर्ने, सहकार्य गर्ने !

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कात्तिक २६ गतेसम्ममा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुँदैछ ।

    उम्मेदवारी दर्ताको समय निर्धारण गरेर केन्द्रबाट पठाएको नीतिअनुसार उम्मेदवार सिफारिस गर्ने निर्देशन दिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

    उनले भने, ‘पार्टीले बनाएको नीतिअनुसार नै तल्लो कमिटीले उम्मेदवार टुंग्याउँछ । वडाध्यक्षका लागि वडाले सिफारिस गरेपछि पालिकाले निर्णय गर्छ, पालिकाको पालिका कमिटीले सिफारिस गरेपछि प्रदेशले निर्णय गर्छ, जिससको हकमा जिल्लाले सिफारिस गरेपछि प्रदेशले निर्णय गर्ने अधिकार दिएको छ, तल्लो कमिटीलाई कार्तिक २६ गतेसम्ममा सबै निर्णय केन्द्रमा पठाइसक्न भनेका छौं ।’

    तल्लो कमिटीले सिफारिस गरेको नामलाई केन्द्रले अनुमोदन गर्ने उनले बताए ।

    मुख्यसचिव ढकालले पार्टीको निर्णयअनुसार एक्लै लड्नेगरी चुनाव हुने क्षेत्रमा तयारी गरिरहेको बताए ।

    समाजवादी मोर्चामा आवद्ध दलहरुसँग पनि चुनावी गठबन्धन हुँदैन भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘कुनै ठाउँमा परिस्थितिअनुसार सहकार्य हुनसक्छ, तर घोषित रुपमा चुनावी गठबन्धन हुँदैन । एक्लै लड्ने हो ।’

    माओवादीले घोषित रुपमा चुनावी गठबन्धन नगरे पनि नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपासँग आवश्यक ठाउँमा तालमेल गर्नेगरी छलफल चलाइरहेको छ ।

    अध्यक्ष प्रचण्डले पनि यो उपनिर्वाचन मात्रै नभई २०८४ को आमनिर्वाचन पनि माओवादीले एक्लै लड्ने बताउँदै आएका छन्, तर दुई ठूला दल कांग्रेस र एमालेले एक्लाएक्लै लड्ने तयारी गरेपछि प्रचण्डले विपक्षीमा रहेका दलसँग सहकार्यको प्रयास छाडेका छैनन् ।

    माओवादीले यसअघिको २०७४ सालमा एमालेसँग र २०७९ सालमा कांग्रेससँग चुनावी गठबन्धन गरेको थियो ।

    त्यसो त असोज २१ गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले उपनिर्वाचनबारे सत्तारुढ दल कांग्रेस र एमालेबाहेक अन्य दलसँग सहकार्यका लागि पहल गर्न परिपत्र पठाएका थिए ।

    ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने’ परिपत्रमा भनिएको थियो ।

    पार्टीको सम्पूर्ण ध्यान उपनिर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय कमिटीको बैठक तत्काल नबस्ने ढकालले बताए ।

    उनले भने, ‘दशैंतिहारपछि केन्द्रीय कमिटीको बैठक बस्ने कुरा थियो । हामी अब चुनाव केन्द्रित हुन्छौं । अब चुनावपछि मात्रै पार्टीको बैठक बस्छ ।’

    यस्तै सचिव दिनानाथ शर्माले पनि अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको दाबी गरे ।

    उनले भने, ‘अहिलेसम्म हामी एक्लै चुनाव लड्ने भन्ने तयारीमा छौं । चुनावी गठबन्धनबारे कुनै निर्णय भएको छैन । अब स्थानीय तहमा परिस्थिति हेरेर हुन पनि सक्छ ।’

    उनले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए ।

    सचिव शर्माले भने, ‘पर्सि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । थप निर्णय त्यही हुन्छ ।’

    चुनावमा सहकार्य भए कुन कुन दलसँग हुनसक्छ र समाजवादी मोर्चा एकै ठाउँमा हुन्छ त भन्ने जिज्ञासामा सचिव शर्माले थपे, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन, हामी छलफलको चरणमा छौं । अब पदाधिकारी बैठकमा गठबन्धन गर्ने नगर्ने, गरे कुन कुन दलसँग पहल गर्ने, मोर्चामा आबद्ध दलहरु एकै ठाउँमा हुने अवस्था छ छैन भन्ने परिस्थिति मूल्यांकन गरेर निर्णय गर्छ ।’

  • प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

    प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । नेता प्रकाण्डले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर हालै भेटवार्ता गरेका हुन् ।

    प्रचण्डसँग नेता प्रकाण्डले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमदेखि समाजवादी मोर्चालगायतको विषयमा छलफल गरेको जनाएका छन् । नेकपाका महासचिव विप्लव माओवादीसँग पार्टी एकता गर्न तयार भइरहेको बेलामा प्रकाण्ड खुमलटार पुगेका हुन् ।

    पछिल्लो समय माओवादीका नेताहरुसँग नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको भेट बाक्लिरहेको छ । त्यसो त नेता प्रकाण्डले यही साता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बेग्लाबेग्लै भेटवार्ता गरिसकेका छन् ।

  • प्रचण्डले भने- रवीजीलाई संसदीय समितिले सहकारी ठगीमा सफाइ दिएकै हो

    प्रचण्डले भने- रवीजीलाई संसदीय समितिले सहकारी ठगीमा सफाइ दिएकै हो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेको खुलेर प्रतिरक्षा गरेका छन् । सहकारी ठगीको आरोपमा संसदीय समितिले रविलाई सफाइ दिए पनि सरकारले प्रतिशोधपूर्वक पक्राउ गरेको उनले बताए ।

    इन्द्रेणीका कलाकारहरुको टोली अस्ति प्रचण्ड निवास खुमलटारमा देउसी खेल्न गएको थियो । देउसी र नाचगानपछि इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले प्रचण्डसामु संक्षिप्त कुराकानी गरेका थिए । उक्त कार्यक्रमको भिडिओ हिजो युट्यूवमा अपलोड भएको छ ।

    प्रचण्डले आफू प्रधानमन्त्री बन्दाखेरि सबै सुरक्षा निकायहरुबाट सहकारी ठगीको विषयमा रविको संलग्नताबारे बुझेको स्मरण गरे । त्यसबेला रविको कुनै गल्ती नरहेको रिपोर्ट सबैतिरबाट पाएपछि संसदमा उभिएर बोलेको उनले बताए ।

    प्रचण्डको भनाइ उनकै शब्दमाः

    पहिलो कुरा, म प्रधानमत्री हुँदै गर्दा रवि दुईचोटि गृहमन्त्री हुनुभो । गृहमन्त्री हुँदा उहाँले कयौं काम नयाँ ढंगले अगाडि बढाउन खोजेकै हो भन्ने मलाई थाहा छ । सहकारीको विषयमा संसदीय समिति बनाएर छानविन गर्न म र रवि तयार भएका थियौं । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यसको पक्षमा हुनुहुन्थेन । बरु रवि लामिछानेले नै यो झमेला, सदनभित्र गतिरोधभन्दा मेरो बारेमा छानविन होस भन्ने आँट गरेकै हो ।

    मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्ता एजेन्सी, आइजीपीहरुदेखि पोखरा, बुटबल लगायत सबैतिर सोधेको थिएँ । मैले सहकारीमा रविको गल्ति छ भने कारवाही होस र यदि गल्ति छैन भने यो होहल्ला रोकिनुपर्यो भन्दाखेरि सहकारीमा रविको कहीँ कतै गल्ति देखिँदैन हजुर भनेर सबैले भनेका हुन् । त्यसपछि मैले संसदमा गएर राज्यका सुरक्षा अंगहरुले सहकारीको मुद्दामा रविको गल्ती छैन भन्छन् भनेर बोलेको हो ।

    म नै प्रधानमन्त्री भएको बेला मेरै प्रस्तावमा समिति बन्यो । छानविन पनि भयो । समितिले सहकारीमा रवि लामिछाने दोषी देखिएनन् भनेर सहकारी ठगीबाट सफाइ दियो । समितिका अध्यक्षले नै सहकारीमा चाहीँ रविको दोष देखिएन भनेर सार्वजनिकरूपमा बोल्नु पनि भएको छ । तर गोर्खा मिडियामा सहकारीको पैसा प्रयोग भएकोमा भने अनुसन्धान हुनुपर्छ भनेर समितिले भन्यो । त्यही विषयमा रविलाई गिरफ्तार गरिएको छ ।

    यदि त्यसमा पनि रविको दोष छ भने उनलाई कारवाही गर्न हुँदैन भन्ने मेरो कहीँ कतै भनाइ छैन । कतिपय मान्छेले मैले सभा गरे पनि रविकै लागि भन्या छन् । यदि कहीँ कमजोरी छ, दोषि छ भने कारवाहीको दायरामा आउनुपर्छ । हिजो म नै प्रधानमन्त्री हुँदा माओवादीकै कुनै नेता पर्छ भने, प्रचण्ड नै दोषि देखिन्छ भने नछोड भनेको थिएँ । तर यहाँ अहिले सरकारले गरेको पूर्वाग्रही छ भन्ने भनाइ हो मेरो । छानविन समितिले रविभन्दा चर्को आलोचना गरेर कांग्रेस र एमालेसँग सम्बन्धित मान्छेलाई आरोपित गरेको छ । उनीहरुलाई चैं बचाउने । रविलाई मात्रै गिरफ्तार गरेर प्रतिशोध लिन खोज्याजस्तो देखिया छ, त्यो बेठिक छ भन्ने मेरो भनाइ हो ।

    रविले भनिराख्नु भएकै छ, अदालतप्रति भरोसा छ भनेर । यदि दोषि भेटिए कारवाही भोग्न तयार छु भन्नुभएको छ । तर जसरी हिरासतमा लिइएको छ। उहाँ भागेर जाने अवस्था त थिएन । बोलाएर सोध्दै मुद्दा चलाए पनि हुन्थ्यो । अस्ति बालुवाटारमा मैले प्रधानमन्त्री र कांग्रेस सभापतिको अगाडि नै भन्या थिएँ ।

    जो नेता होस या कोही व्यवसायी, यदि देश छोडेर भाग्ने अवस्था छैन भने उसलाई लगेर हिरासतमै राख्नुपर्छ भन्ने छैन । बोलाउँदै बयान लिँदै मुद्दा हालेर अदालतलाई फैसला गर्ने अधिकार दिँदा हुन्थ्यो भनेको थिएँ । मेरो यो भनाइ हो । तर, यो सरकार बडो पूर्वाग्रही भएर आफ्नो नजिकका भ्रष्टलाई जसरी पनि जोगाउने र राजनीतिक आलोचक छ भने भए–नभएको दोष थुपार्ने काममा लागेको छ । त्यो गलत हो भन्ने मेरो भनाइ हो ।

  • एमाले-माओवादीको समीक्षा: विगतमा हतारिएर असफल भयौं, तत्काल नभए पनि एकता असम्भव छैन (भिडिओ)

    एमाले-माओवादीको समीक्षा: विगतमा हतारिएर असफल भयौं, तत्काल नभए पनि एकता असम्भव छैन (भिडिओ)

    काठमाडौं । कुनै बेला एउटै बनेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले फरक कित्तामा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता छन् ।

    नेकपाको एकता भंग भएपछि पनि दुई पटक सहकार्यमा जोडिएका एमाले र माओवादी अहिले एकअर्काविरुद्ध खनिरहेका छन्, तर आज ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा एमाले र माओवादीमात्रै होइन, अन्य साना कम्युनिष्ट पार्टीहरु पनि सहभागी थिए । त्यहाँ उनीहरुले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विगतको आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।

    कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले विगतको प्रयास असफल भएकाले वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिष्ट नेताहरूलाई आग्रह गरे । विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको उनको भनाइ छ ।

     

    उनले भने, ‘हामीले हिजो एकताको कुरा गर्दागर्दै कमरेड मदन भण्डारीका कैयौं कुराहरू र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि चर्चा हामीले नगरेको होइन, तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैं आफैंले सुरु गरौं ।’

    प्रचण्डले एकताको कुरा गरेरमात्रै नहुने भन्दै मिल्ने मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    उनले थपे, ‘अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहिँ देख्या छैन । यहाँ अरू कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौं ठीकै छ, नमिल्नेहरू कति मिल्न सकिने हो, त्यतिमा मोर्चा बनाएर मिलौं । त्यो पनि सकिँदैन, खासखास इस्युहरुमा कार्यगत एकता गरौं, तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकताबद्ध गर्ने र सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्‍यो भने त्यहीँबाट अरूलाई पनि एकताबद्ध गर्ने प्रक्रियाको सुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’

    प्रचण्डले मात्रै होइन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना नभएको बताए ।

    उनले भने, ‘सम्भव भएका कम्युनिष्ट मिल्दै जाने हो, अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । एमाले अहिले सत्ताको नेतृत्वमा छ । कांग्रेससँग मिलेर सरकार चलाइरहेको छ । हामीले यहाँबाट पनि महत्वपूर्ण काम गर्ने सोचिरहेका छौं । कति सफल हुन्छौं, हेर्दैछौं । आज तत्काल एमालेसँग एकता सम्भव छैन, तर भविष्यमा हुँदै हुँदैन भन्ने छैन । भविष्यमा हुनसक्छ।’

    उपाध्यक्ष ज्ञवालीले पनि अहिले एकता सम्भव हुनेहरुसँग गरेर जानुपर्नेमा जोड दिए ।

    उनले थपे, ‘अहिले जोजोसँग एकता सम्भव छ, गर्नुपर्छ । समाजवादको आधार तयार गर्दै जाने हो, कम्युनिष्टको बहुमत नआई हुनेवाला केही छैन । एमालेले त एक्लै बहुमत ल्याउने भनेर हिँडिरहेको छ । त्यही योजनामा छौं । कति सम्भव हुन्छ २०८४ सम्म । तपाईं पनि लाग्नुभएको छ, प्रचण्डजी पनि एक्लै बहुमत ल्याउने भनेर लाग्नुभएको छ । त्यसैले मिल्ने जति कुरामा मिलेर जानुपर्छ ।’

    त्यसो त एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हावी भएको टिप्पणी गरे ।

    उनले भने, ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौं । त्यस अर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौं । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? बहस गरौं । हामी समाजवादका कुराहरू गरिरहेका छौं, तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ ? अरू समाजवादी मुलुकको जस्तो हुँदैन ।’

  • प्रचण्डको आह्वान- आत्मसमीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरौँ (भिडिओ)

    प्रचण्डको आह्वान- आत्मसमीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरौँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकताको आह्वान गरेका छन्।

    नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए।

     

    उनले भने, ‘हामी एक ठाउँमा बसौँ, मिलेर अघि बढौँ भनेर आदर्शको कुरा गरेर मात्रै हुँदैन। त्यसका लागि प्रत्येक कम्युनिष्ट नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्‍यो। हामीले त्यो सोचेर आफूले कम्युनिष्ट आन्दोलनमा लागेपछि गरेका कामको समीक्षा गरौँ। गल्तीको पनि समीक्षा गरौँ। पार्टीको तर्फबाट पनि समीक्षा गरौँ। त्यसपछि पार्टीपार्टीभत्र पनि आत्म समीक्षा गर्न सकिन्छ। त्यस कारणले म सबैलाई त्यतापट्टि विचार गर्न आग्रह गर्छु।’

    उनले कोही पूर्वाग्रह त्यागेर एकताबद्ध भएर बढ्ने प्रयास गर्न आग्रह गरे।

  • नरबहादुर कर्माचार्यको जन्मशताब्दी- माओवादीले वर्षभरि नै कार्यक्रम गर्ने

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी- माओवादीले वर्षभरि नै कार्यक्रम गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी विविध कार्यक्रमसहित मनाइँदैछ ।

    नेकपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेसँगै जन्मशताब्दी कार्यक्रम सुरू गरिएको हो ।

    माओवादीले कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेको अवसरमा वर्षैभरी साथै देशैभर कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ ।

    आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दैछ । अपरान्ह साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो ।

    २००६ सालमा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी थिए ।

    पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बने भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

    पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरे । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरे । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ ।

    यसैबीच नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ। कर्माचार्यको व्यक्तित्व, सपनाहरु र सपना पार्ने आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिए ।

  • ज्ञानेन्द्र शाहीमाथि खनिए माओवादी सांसद, सिन्जा विधेयक आफूले लेखेको भनेर झूटाे प्रचार गरेकाे आरोप

    ज्ञानेन्द्र शाहीमाथि खनिए माओवादी सांसद, सिन्जा विधेयक आफूले लेखेको भनेर झूटाे प्रचार गरेकाे आरोप

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सिञ्जा विधेयक आफैंले लेखेको दाबी गरेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् ।

    कात्तिक १० मा जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको जनसभामा प्रतिनिधि सभा सदस्यसमेत रहेका राप्रपाका प्रमुख सचेतक शाहीले आफूले उक्त विधेयक लेखेको बताएका थिए । नेकपा (माओवादी केन्द्र)का वर्तमान र पूर्व सांसदले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै आगामी दिनमा बोल्दा हजार पटक सोचेर मात्रै बोल्न चेतावनीसमेत दिएका छन् ।

    माओवादीबाट प्रतिनिधि सभा सदस्य छिरिङल्हामु लामाले राप्रपाका सांसद शाहीलाई विधेयकको ‘बि’ पनि थाहा नपाउनेले सिञ्जा सभ्यता विधेयक आफूले लेखेको भनेर दाबी गर्दा लाज पनि लजाएको टिप्पणी गरिन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘विधेयकको बि थाहा नपाउनेले सिजा सभ्यता विधेयक मैले लेखेको हुँ रे । हैट लाज पनि लजाउने काम नगरौँ मान्यज्यु । हुन त तिम्रो रोजीरोटीको सवाल छ, तिम्रो युट्युब पनि त चलाउनुपर्यो । यति नगरी डलर कसरी कमाउने ? यस्तै झुटा कुरा गरेर जनतालाई ठूलो भ्रमको छानोमा राखेर कठै हाम्रा सोझा जनताबाट असुलेको मत त हो । ६ महिने सिएपी तालिमलाई सीए पास गरेको छु भन्नेले ठूला गफ नदिएकै राम्रो । तिम्रो क्षमताको यतिबेलै बुझिसकेका थियौ । तिम्रो हविगत देखिसकेको छ ।’

    माओवादी सांसद लामाले सधैंभरी जनतालाई झुक्याउन नसकिने भन्दै आगामी दिनमा बोल्नुभन्दा पहिला हजार पटक सोचविचार गरेर मात्रै बोल्न सामाजिक सञ्जालबाटै खवरदारी गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘जुम्ली जनता अब तिम्रा बाकम्फुसे हावादारी गफमा पत्याएर झुक्किने वाला छैन । माओवादीको नेतृत्वमा सरकार, माओवादीको प्रधानमन्त्री, माओवादीको अर्थमन्त्री र जिल्लाबाट पहल गर्ने माओवादीको तर्फबाट सांसद म । हाम्रो पहलमा जति पनि योजना भित्रियो जिल्लामा सबै आफूले गरेको हुँ मैले थर्काउँदै ल्याएको हो, मैले गाली गर्दै ल्याएको हुँ भनेर जनतामा भ्रम छर्ने तिमी जस्तालाई हामीले राम्रोसँग चिनिसकेका छौ र कुन हदसम्मको हावा बोल्छौ भन्ने कुरा यसको जीवित साक्षी म हुँ । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको यो व्यवस्था भित्रको सुन्दर पक्षबाट जन्मेको सांसद हुँ । तिमी जस्तो ढाँटेर छलेर आएको होइन, हेक्का रहोस् । खबरदार, आइन्दा बोल्नुभन्दा पहिला हजारपल्ट सोचविचार गर्नु । तिम्रो हावा तालको भाषण अब बढी हुँदैछ ।’

    यस्तै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले पनि शाहीले राप्रपाको जनसभामा झुटको पुलिन्दा छताछुल्ल पारेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुम्लाका लागि शाहीले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिएको बताएका हुन् ।

    उनले लेखेका छन्, ‘ज्ञानबहादुरजी, कात्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिँदै जनता माझ तपाइले झुटका पुलिन्दा छताछुल्ल पार्नु भएछ । सिन्जा सभ्यता बिधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुटप्रति ध्यानाकर्षण भएको छ । जुम्लाका लागि तपाइले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुटको सहारा लिनु पर्ने बाध्यतालाई न सत्यले मान्यता दिन्छ न त जनताले । सत्यसँग जति अनुनय बिनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।’

    भण्डारीका अनुसार विधेयक निर्माणका क्रममा शाही अभियन्ता रहेका बेला उनलाई पनि पठाइएकाे थियाे ।  शाहीले केवल ‘धन्यवाद’ लेखेर जवाफ फर्काएका थिए । तर, त्यसैलाई विधेयक लेखेको मान्ने हो भने आत्मरतिमा रमाउनु बाहेक केही नभएको बताएका छन् ।

    उनले थप लेखेका छन्, ‘हेक्का होस, हाम्रै अवधारणाबाट निर्देशित भएर अधिवक्ता रत्नबहादुर बुढाको सहयोगमा बिधेयकको प्रारम्भिक मस्यौदा तयार भएको हो । विधेयकको मस्यौदा लेखनमा तपाई‌को कुनै भुमिका छैन । २०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाई अभियान्ता हुँदा सिन्जाको बासिन्दा भएकाले मैले सुझावका लागि मेलमा विधेयक पठाएको थिएँ । तर, तपाईबाट धन्यवाद आयो, सुझाव आएन । धन्यवादलाई विधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाइको दाबीलाई सत्य ठान्नु पर्ने हुन्छ । वास्तविकता भन्दा कैयौं कोष टाढाबाट सत्यको दाबी गर्नु र असत्यको जगमा उभिएर प्रतिक्रिया दिनु क्षणिक आत्मरति सिवाय केही हुन सक्दैन ।’

    जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको जनसभामामा ज्ञानेन्द्र शाहीले के भनेका थिए ?

    हाम्रो पूर्वप्रधानमन्त्रीज्यूले आएर पनि भन्नुभएछ, सिञ्जा सभ्यता विधेयक मैले राखेको छु भन्नुभएको छ । म पूर्वप्रधानमन्त्रीज्यूलाई जुम्लाबाट के भन्न चाहन्छु भने विधेयक ल्याउने प्रधानमन्त्रीले हो । तपाई प्रधानमन्त्री हुँदै त्यो विधेयक गएको हो भने संसदमा किन ल्याउनुभएन ? जुम्लामा आएर झुटो कुरा किन गर्नुभयो ? तपाईले छलफलमा ल्यादिने हो नि त । अब अर्को कुरा, म जुम्लाको सांसद हो । यहाँ कुनै विधेयक ल्याउनुपर्यो ज्ञानेन्द्र शाहीको कोठामा आउने हो कि प्रचण्डको कोठामा जाने हो ? खै नरेश भण्डारीजी मेरो कोठामा आएको ? म त सांसद हो त । जनताले जिताएका हुन त गाठे । समानुपातिक त होइन क्यारे ।

    नरेशजीभन्दा बढी नै भोट ल्याएको हो मैले । हतियार देखाएर पनि ल्याएको होइन ।  जनमतले ल्याएको हो । सिञ्जा सभ्यता विधेयक लेख्दाखेरी मैले लेखेको हो । मैले र नरेशजीले लेखेको हो । अहिले पनि म फेसबुकमा देखाइदिन सक्छु । उहाँले लेख्दाखेरी मसँग सहयोग माग्नुभएको थियो । धन्यवाद भनेँ  । मैले लेखेर पनि पठाएँ । जव जुम्लाबाट ज्ञानेन्द्र शाहीले चुनाव जित्यो, मुटुबाट भित्र आगो बल्यो ।

    अनि त्यो विधेयक उहाँले प्रचण्डकहाँ जानु अघि जुम्लाको सांसदलाई दिनुपर्ला । अझ त्यसभन्दा पनि सिञ्जाकै मान्छेलाई दिनुपर्ला नि । आएन कोही पनि मेरो कोठामा, प्रचण्डको घरमा गए । अनि त्यहीँ गएर फोटो खिचाए खिचिक्क पारेर । म आज भन्न चाहन्छु, सिञ्जा विधेयक कतिखेर पारित गर्नुपर्छ थाहा छ ? उहाँ प्रदेश सरकारको कानून मन्त्री हुनुहुन्थ्यो । उहाँको पार्टीको नेता महेन्द्रबहादुर शाही प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँको पार्टीको बहुमत थियो । त्यतिखेर सिञ्जा विधेयक पारित गरेको भए त टन्टै साफ हुने थियो नि । यहाँ गाउँमा आएर नाटक गर्नुपर्दैन थियो नि त ।

    किन नगरेको त्यतिखेर ? यो के हो भने पछिल्लोपटक सिञ्जाका जनताको भोट पाउँला भनेर गरेको नयाँ स्टन्ट भन्छु म यसलाई । तर, म समर्थन गर्छु, म सिञ्जा सभ्यता विधेयककाे ।  हाम्रो पार्टी सरकारमा गयो भने, त्यो विधेयककाे मस्यौदामा धेरै त्रुटी छ । त्यसलाई सुधार गरेर यहाँको खस सभ्यता र प्रकृतिलाई राखेर पुर्ण बनाउँछु । अनि सभ्यता विधेयक सभ्यता जोगाउनेले गर्ने हो ।

    धामीका घाँटी काट्ने मान्छेले होइन । नेपालको सिञ्जा सभ्यता दुई ठाउँमा होइन । एउटा सिञ्जामा र अर्को दैलेखको दुल्लुमा । दुल्लुमा पनि कुनै नामनिसाना छैन । यहाँ पनि मान्छेका घाँटी काटिए । अनि घाँटी काट्ने सभ्यता संस्कृति, धर्म, संस्कार मान्य हुँदैन भन्ने साथीहरुले भनेको सुन्दा मेरो आँखाबाट हाँसो र गोहीको आँशु जस्तो लाग्छ । त्यो भएको हुनाले म अहिले भन्छु, सिञ्जा सभ्यता विधेयकमा धेरै त्रुटी छन्, त्यसलाई सुधार्नुपर्छ हामीले ।

    अझै त्यसलाई पुर्नलेखन गर्नुपर्छ । तर, त्यो चाहीँ जुम्लाका सांसदका घरमा आउने हो है । चित्त बुझेन भने आउने हो । के चित्त बुझेको छैन होला कोही कसैलाई । अब भएपछि त जानुपर्यो होइन र । अब मलाई चित्त बुझेन भनेर माओवादीको गाउँपालिका अध्यक्षको घरमा नगएर हुन्छ त ?

     

  • सरकार तत्काल ढाल्ने पक्षमा म छैन : प्रचण्ड (भिडिओ)

    सरकार तत्काल ढाल्ने पक्षमा म छैन : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।

    मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको ठोकुवा गरे । सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको भन्दै उनले उद्देश्य नै गलत भएको दोहोर्‍याए ।

    वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको टिप्पणीसमेत उनले गरे । अहिले नै ओली सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको उनकको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले शुरूमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर, फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र, सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ ।’

    अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरेका छन् ।

  • डेडिकेटेड र ट्रंक लाइन विवादमा वर्षमान- जनताको लगानी डुबाउन खोज्नेलाई जनताले छुट दिँदैनन्

    डेडिकेटेड र ट्रंक लाइन विवादमा वर्षमान- जनताको लगानी डुबाउन खोज्नेलाई जनताले छुट दिँदैनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्राधिकरणको नियमावलीले अतिरिक्त समयमा विद्युत् प्रयोग गर्नेले महसुल नतिरे चोरीमा कारबाही गर्नेसम्मको व्यवस्था गरेको बताएका छन्। डेडिकेटेड र ट्रंक लाइन विवादमा उनले उद्योगीलाई बिना अर्घेल्याईं तोकिएको महसुल तिर्न आग्रह गरेका छन्।

    उनले भनेका छन्, ‘एकै पटक सक्नुहुन्न भने नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नुस् । सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ खेपेका बेला उद्योगमा २४सै घण्टा डेडिकेटेड र ट्रंक लाइनको नाममा ३ सय १५ मेगावाट विद्युत् उपयोग गरेको कुरा उद्योगीहरू वा अहिले सरकारमा बसेकाहरूले कदापि बिर्सन मिल्दैन । त्यो व्यवस्था महसुल तिर्न अटेरी गर्ने उद्योगहरूका लागि आकर्षित हुन सक्छ ।’

    निजी क्षेत्रमाथि सरकारले अनावश्यक हस्तक्षेप गर्दा र निजी क्षेत्रको मनोबल गिराउने गतिविधि भएका बेला त्यसको प्रतिवाद गर्दै आएको उल्लेख गरेका छन्।

    उनले थपेका छन्, ‘सामान्य आम्दानी गर्ने मजदुर/किसान र सर्वसाधारणले खाई नखाई जलविद्युतमा सेयर लगानी गरेका छन् । हो त्यही विद्युतको महसुल नतिर्नेहरूको संरक्षण गर्दा खर्बौँ ऋण लिएर लगानी गरेको निजी क्षेत्र र गाँस काटेर सय/सय रुपैयाँ लगानी गरेका गरिब जनताको लगानी डुबाउन खोज्नेहरूलाई जनताले किमार्थ छुट दिने छैनन्।’

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तैः

    अधिकांश सार्वजनिक संस्थान धाराशायी अवस्थामा रहेका बेला नेपाल विद्युत् प्राधिकरणलाई हामीले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएका छौँ ।

    यो मन नपराउने तत्त्वहरूले पटक पटक प्राधिकरणलाई कमजोर र धाराशायी बनाउने असफल प्रयास गर्दै आएका छन् । यो पटक पनि त्यही प्रयासको नयाँ संस्करणका रूपमा घटनाक्रमहरू सतहमा आएका छन् । पूर्वऊर्जामन्त्री/अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको जिम्मेवार सदस्य र जनप्रतिनिधिका हैसियतले जनचासोको यति गम्भीर र अहम् सवालमा मौन बस्नु उचित नहुने ठानेर आफ्ना धारणा सार्वजनिक गरेको छु ।

    डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा लिएका उद्योगीहरूले बाँकी महसुल नतिरेका कारण नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि सरकारका जिम्मेवार व्यक्ति र उद्योगीहरूको प्रतिक्रियाले मलाई आश्चर्यचकित तुल्याएको छ ।

    बक्यौता महसुल तिर्ने कि नतिर्ने भन्ने विवाद नै व्यर्थ र अनुचित छ । विवादबारे बुझ्न त्यसको सुरुआत कसरी भएको थियो भन्ने पृष्ठभूमिमा जान जरुरी छ । त्यसबारे केही चर्चा गरौँ ।

    डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरिएको अवधिलाई तीन चरण मानिएको छ । पहिलो महसुल निर्धारणका लागि अधिकारप्राप्त निकाय (तत्कालीन महसुल निर्धारण आयोग) बाट स्वीकृत नगराई नेपाल विद्युत् प्राधिकरणले लागू गरेको प्रिमियम अवधि (०७२ असारदेखि ०७२ पुससम्म), दोस्रो ०७२ माघमा अधिकार प्राप्त निकायले महसुल निर्धारण गरेपछि ०७५ वैशाखसम्म (लोडसेडिङ अन्त्य हुनुअघिको अवधि) र, तेस्रो लोडसेडिङ अन्त्य (०७५ वैशाख पछि ०७७) सम्मको अवधिको विवाद हो । म आफैँ ऊर्जामन्त्री (सञ्चालक समिति अध्यक्ष) भएका बेला ०७५ सालमा डेडिकेटेड र ट्रंक लाइन विवाद अध्ययन गर्न समिति बनाएको थिएँ । समितिले विवादित भनिएको अवधिमा विद्युत् सेवा उपयोग गरेर पनि बिलिङ नभएका ग्राहकहरूको टाइम अफ डे (टीओडी) मिटरसमेत अध्ययन गरी बिलिङ गरेको थियो । उसले प्राधिकरणले गरेको बिलिङ सही रहेको ठहर गरेको स्मरणीय नै छ ।

    सञ्चालक समितिले गठन गरेको समितिबाट डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुलको बिलिङ नभएको फेला पारेपछि बिल जारी गरिएको थियो । महसुल तिर्न उद्योगहरूले अस्वीकार गरेपछि प्राधिकरणले लाइन काट्न थाल्यो । त्यसपछि तत्कालीन ऊर्जामन्त्री (म स्वयं), अर्थमन्त्री डा।युवराज खतिवडा र उद्योगमन्त्री लेखराज भट्टसँगको समन्वयमा हालका सम्माननीय प्रधानमन्त्रीज्यू प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषदले विवाद समाधानको उपाय सुझाउन तत्कालीन ऊर्जा सचिव दिनेश घिमिरेको संयोजकत्वमा,अर्थसचिव राजन खनाल,उद्योग सचिव यमकुमारी खतिवडा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित समिति गठन गरेको थियो ।

    उक्त समितिले पनि विवाद नरहेको अवधिको महसुल तिर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पठाएको स्मरण गराउन चाहन्छु ।

    तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले २०७३ असारमा २० घण्टाभन्दा बढी विद्युत् उपभोग गर्ने ग्राहकलाई डेडिकेटेड सरह बिलिङ गर्न प्राधिकरणलाई निर्देशन दिएको पृष्ठभूमिलाई समेत बिर्सन मिल्दैन ।

    अर्को स्मरणीय कुरा के छ भने अधिकांश उद्योगीहरू महसुल नतिर्न अदालत गएका थिए । पाटन उच्च अदालत, बुटवल उच्च अदालत र सर्वोच्च अदालतले समेत केहीलाई बाहेक प्राधिकरणले तोके बमोजिम महसुल तिर्न आदेश दिइसकेको विषयलाई किन ओझेलमा पार्न खोजिएको छ ? प्रधानमन्त्री र विभागीयमन्त्री स्वयंले सम्मानित अदालतको आदेश कार्यान्वयन पर्नुपर्नेमा उल्टै प्राधिकरण र त्यसको नेतृत्वमाथि अनुचित दबाब दिने, आरोपित गर्ने र पदच्युतसम्मको तयारी गर्ने कुरा आपत्तिजनक छ ।

    आयोगले महसुल निर्धारण नगर्दासम्मको अवधिको हकमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला बमोजिम हुनेछ । बाँकी ०७२ माघ यताको अवधि विवादको अवधि होइन, त्यो अवधिको महसुल विद्युत् प्रयोगकर्ताले तिर्नपर्छ । जम्मा ४९ वटा उद्योगले जरिवानासहित ८ अर्ब ७ करोड तिर्नुपर्नेमा ७ वटाले अन्तरिम आदेश लिएका छन् । दुईवटा सरकारी उद्योग (हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट) छन् । बाँकी ४० मध्ये ६ वटाले किस्ताबन्दीमा महसुल तिर्दै आएका छन् । हाल लाइन काटिएका ३४ उद्योग हुन् । जसमध्ये पनि लाइन काटेपछि पाँच उद्योगले बक्यौता तिरेको जानकारीमा आएको छ । अब तिर्न बाँकी २९ उद्योग हुन् ।

    अर्को विषय पनि स्पष्ट हुन जरुरी के छ भने डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपयोग गर्ने उद्योगहरूको संख्या हाल अर्घेल्याईं गरिरहेकाहरूभन्दा धेरै ठूलो छ । मेरो जानकारीमा भएसम्म २ सय ३० औद्योगिक ग्राहकले डेडिकेटेड र ६७ वटाले ट्रंक लाइन सुविधा प्रयोग गरेका थिए । जसमध्ये १ सय ८४ वटामाथि थप ६० प्रतिशत प्रिमियम महसुल लगाइएको थियो ।

    म सरकारलाई र महसुल नतिर्ने अडानमा रहेका उद्योगीहरूलाई प्रश्न गर्न चाहन्छु कि डेडिकेटेड र ट्रंक लाइनबापतको महसुल तिरिसकेका १ सय ५५ वटा उद्योगबारे तपाईँहरूको धारणा के छ ? के उनीहरूले तिरेको महसुल सरकारले फिर्ता गर्ने हो ? यदि २९ वटा उद्योगलाई छुट दिने हो र यसअघि महसुल तिरेका सबैको पैसा फिर्ता हुनुपर्छ भन्ने आवाज उठ्यो भने त्यसबारे सरकारले के गर्छ ?

    पूर्वऊर्जामन्त्री/अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभा सदस्यका हैसियतले उद्योगीहरूलाई मेरो आग्रह के छ भने बिना अर्घेल्याईं तोकिएको महसुल तिर्नुस् । एकै पटक सक्नुहुन्न भने नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नुस् ।

    सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ खेपेका बेला उद्योगमा २४सै घण्टा डेडिकेटेड र ट्रंक लाइनको नाममा ३ सय १५ मेगावाट विद्युत् उपयोग गरेको कुरा उद्योगीहरू वा अहिले सरकारमा बसेकाहरूले कदापि बिर्सन मिल्दैन ।

    प्राधिकरणको विनियमावलीले अतिरिक्त समयमा विद्युत् प्रयोग गर्नेले महसुल नतिरे चोरीमा कारबाही गर्नेसम्मको व्यवस्था गरेको छ । त्यो व्यवस्था महसुल तिर्न अटेरी गर्ने उद्योगहरूका लागि आकर्षित हुन सक्छ । १८ घण्टा लोडसेडिङको पीडा खेपेका जनता तपाईंहरुका विरुद्ध उत्रिए भने त्यसको परिणाम के हुन्छ भन्ने सोच्नुभएको छ ?

    निजी क्षेत्रमाथि सरकारले अनावश्यक हस्तक्षेप गर्दा र निजी क्षेत्रको मनोबल गिराउने गतिविधि भएका बेला त्यसको प्रतिवाद गर्दै आएको छु । मुलुकको आर्थिक विकासका लागि राज्य र निजी क्षेत्रबीच हातेमालो हुनै पर्छ । तर, निजी क्षेत्र भनेको विद्युत् महसुल तिर्दिन भन्ने सानो समूह मात्र हो भन्ने भ्रममा पर्न र पार्न खोजिनु हुँदैन ।

    नेपालको जलविद्युत क्षेत्रमा राज्यको भन्दा ठूलो लगानी निजी क्षेत्रले गरेको छ । सामान्य आम्दानी गर्ने मजदुर÷किसान र सर्वसाधारणले खाई नखाई जलविद्युतमा सेयर लगानी गरेका छन् । हो त्यही विद्युतको महसुल नतिर्नेहरूको संरक्षण गर्दा खर्बौँ ऋण लिएर लगानी गरेको निजी क्षेत्र र गाँस काटेर सय÷सय रुपैयाँ लगानी गरेका गरिब जनताको लगानी डुबाउन खोज्नेहरूलाई जनताले किमार्थ छुट दिने छैनन् ।

  • हतियार चलाउन आउँछ भन्दै उफ्रीउफ्री भाषण गर्दै थिए, हामीलाई बिसाउन लगाउन आउँछ : ओली  (भिडिओ)

    हतियार चलाउन आउँछ भन्दै उफ्रीउफ्री भाषण गर्दै थिए, हामीलाई बिसाउन लगाउन आउँछ : ओली  (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार कसरी बिसाउन लगाउनुपर्छ आफूले जानेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।

    शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै ‘हामीले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्षेका छैनौं’ भन्दै दिएको अभिव्यक्तिको ओलीले जवाफ फर्काएका हुन् ।

    एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धम्कीका भरमा खान नहुने बताए । उनले भने, ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’

     

    उनले आफूलाई हतियार चलाउन नआएपनि कसरी बिसाउनु लाउनुपर्छ भन्ने तरिका आफूलाई थाहा भएको बताए ।

    उनले भने, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामलिाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनोँ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’

  • भाटभटेनीका शेयरहोल्डर ओली रहेछन्, मेरो भनेर हैरान बनाइसकेका थिए: प्रचण्ड (भिडिओ)

    भाटभटेनीका शेयरहोल्डर ओली रहेछन्, मेरो भनेर हैरान बनाइसकेका थिए: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले मीनबहादुर गुरुङसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको बताए ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा ओलीले क्लियर गरिएको भन्दै धन्यवाद दिए ।

     

    उनले भने, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु, पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको छ । हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ । त्यसको शेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नैपरेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । तपाईंलाई धन्यवाद ! अब यो प्रचण्डको होइन भन्ने भयो । म खुशी छु ।’

  • रवि पक्राउबारे प्रचण्ड- सरकारको यो रवैया बेठीक छ, आजको सभा कसैलाई बचाउन होइन (भिडिओ)

    रवि पक्राउबारे प्रचण्ड- सरकारको यो रवैया बेठीक छ, आजको सभा कसैलाई बचाउन होइन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको खबरदारीसभा रास्वपा सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका छन् ।

    सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको बताए ।

    उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो ।

    उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए ।

    प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए ।