Category: माओवादी केन्द्र

  • देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्छ : प्रचण्ड

    देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्ने गरेको बताएका छन् ।

    बुधबार काठमाडौंमा साहित्यकार बाबा बस्नेतका कृति लोकार्पण गर्दै प्रचण्डले आफु प्रतिपक्षी दलको नेता भएपनि देशको राजनीतिको पुरै जिम्मा आफ्नै काँधमा रहेको र आफुले छाडे भत्किहाल्छ जस्तो लाग्ने गरेको बताए । प्रचण्डले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको र जिम्मेवारी पूरा गर्नको लागि समर्पित रहेको धारणा राखे ।

    उनले आफुलाई साहित्य क्षेत्रमा निकै रुची रहेपनि चाहेर पनि समय दिन नसकेको जिकिर गरे । प्रचण्डले आफुले पटक पटक सरकारको नेतृत्व गर्दा साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर न्याय गरेको बताए ।

    कार्यक्रममा प्रचण्डले तीनवटा कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) लोकार्पण गरेका थिए ।

  • प्रचण्डको चिन्ता- मैले खाँबो थेग्न छाडेँ भने देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ कि भन्ने लाग्छ (भिडिओ)

    प्रचण्डको चिन्ता- मैले खाँबो थेग्न छाडेँ भने देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ कि भन्ने लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिले सरकारमा नभएपनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्।

    रङ्गीन घरहरू (कथासङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भएपनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो लाग्ने बताए।

    उनले भने, ‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ, कहिलेकाहीँ सोच्छु यस्तो त हुँदैन जीवन त। निश्चित अवधिसम्म गर्ने हो प्रकृतिको नियम अनुसार मरिन्छ, अर्कोले आएर लान्छ गाडीमा।’

    उनले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको बताए।

    उनले थपे, ‘तर जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ। साहित्य क्षेत्रमा मैले धेरै दिन नसके पनि मैले शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु।’

  • उपसभामुखलाई हटाएर कांग्रेस-एमालेले गल्ती गर्न खोज्दैछन् : प्रचण्ड

    उपसभामुखलाई हटाएर कांग्रेस-एमालेले गल्ती गर्न खोज्दैछन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।

    मङ्गलवार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।

    वर्तमान सरकार गठन भएदेखि नै गल्ती बाहेक राम्रो कुनै काम गर्न नसकेको उनले बताए ।

    प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर गरे ।

    प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको बताए ।

  • माओवादीको निष्कर्ष- बदनियत राखेर सरकारले उपसभामुखलाई हटाउन खोज्दैछ

    माओवादीको निष्कर्ष- बदनियत राखेर सरकारले उपसभामुखलाई हटाउन खोज्दैछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ।

    पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए।

    उनले भने, ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।’

    उनले उपसभामुखलाई हटाउन नहुने बताए। उनले थपे, सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’

    उनले आजको बैठकमा स्थायी कमिटी बैठकको निर्णय योजना कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए पनि भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।

  • प्रविधि र उद्यमशीलतामा सक्रिय युवालाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने-माओवादी अझ सशक्त बन्दैछ

    प्रविधि र उद्यमशीलतामा सक्रिय युवालाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने-माओवादी अझ सशक्त बन्दैछ

    काठमाडौं । प्रविधि र उद्यमशीलतामा सक्रिय युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बसकोटा, जनता पेन्टका निर्देशक उज्जल पाण्डे र होमकुमार राना रहेका छन्।

    उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे। नवप्रवेशलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    अध्यक्ष प्रचण्डले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षण लागि माओवादी केन्द्र निरन्तर सङ्घर्षरत रहेको बताए। प्रवेश गर्ने युवाहरूलाई आगामी दिनमा पार्टीको नीतिगत तथा सङ्गठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गरे।

  • माओवादीले भन्यो- प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो

    माओवादीले भन्यो- प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन्।

    उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो। सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रस्ट विधेयकमा देखिन्छ। हामीले तथ्य र प्रमाणको आधारमा संसद्मा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नुभयो। त्यसकाप्रति म खेद प्रकट गर्छु।’

    उनले देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न सोचनीय नहुने बताइन्।

  • पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादी मात्रै हो : प्रचण्ड

    पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने माओवादी मात्रै हो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पार्टीका सबै अंगमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टी माओवादी मात्रै भएको जिकिर गरेका छन्।

    अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै युवाको रगत, पसिना र बलिदानीपूर्ण सङ्घर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताएका हुन्।

    उनले भनेका छन्, ‘गर्वका साथ भन्न चाहन्छु- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नै नेपालको एक मात्र यस्तो पार्टी हो जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ।’

    माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको जिकिर गरे।

    उनले थपेका छन्, ‘युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरियो । युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो। राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो ।’

    युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गर्नुका साथै नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाएको पनि उल्लेख गरेका छन्।

    भनेका छन्, ‘वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारियो, यद्यपि विडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन । यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए ।’

  • अखिल नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा ‘बन्दूक’ चयन

    अखिल नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा ‘बन्दूक’ चयन

    ललितपुर । अखिल नेपाल खेलकुद महासंघअन्तर्गत अखिल नेपाल बेसबल तथा सफ्टबल संघको प्रथम सम्मेलन सातदोवाटो, ललितपुरमा सम्पन्न भएको छ।

    सम्मेलनले संजिव फुयाल ‘बन्दुक’लाई अध्यक्ष, मुकेश बुढालाई सचिव र पार्वता चौलागाईंलाई कोषाध्यक्ष चयन गर्दै ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

  • ‘वाम एकता’ का लागि नारायणकाजीको दौडधुप, माओवादी सचिव भन्छन्- पार्टीले खटाएको हैन

    ‘वाम एकता’ का लागि नारायणकाजीको दौडधुप, माओवादी सचिव भन्छन्- पार्टीले खटाएको हैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको बेलामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो सक्रियता बढाएका छन्। पछिल्ला केही दिनमा समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग भेटलाई तीव्रता दिइरहेका छन्।

    हालै बसेको माओवादीको बैठकले मोर्चामा आबद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।

    भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकताको छलफल चलिरहेको माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताए। त्यसो महेन्द्रराय यादव नेतृत्वको नेसपासँग भने एकता गर्ने यसअघि नै निर्णय भइसकेको छ।

    वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आज मोर्चा बाहिर रहेका जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरे। मोर्चा घोषणा हुँदा उपेन्द्र पनि साथमै थिए। तर प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्र बिच्किएर मोर्चाबाट अलग्गिएका थिए।

    अहिले फेरि मोर्चालाई एउटै पार्टीमा रूपान्तरण गर्ने गृहकार्य चलिरहेको बेलामा श्रेष्ठले फकाउन थालेका हुन्। ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको सचिवालयले जनाएको छ।

    सचिवालयले भनेका छ, ‘देशको राजनीतिक परिस्थितिको समीक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको छ।’
    उपेन्द्रले भने आज श्रेष्ठसँगको भेटमा कुनै पनि राजनीतिक विषयमा कुराकानी नभएको दाबी गर्छन्।

    उनले नेपाल प्रेससँग भने, ‘आज कुनै राजनीतिक विषयमा कुराकानी भएन। उहाँ र म छिमेकी हौँ। तर, यो राजनीतिक भेट होइन।’

    श्रेष्ठले हिजो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटे गरेका छन्। माओवादीसँग एकता गर्न अध्यक्ष माधव नेपाल सकारात्मक भएपनि खनाल छैनन्। अध्यक्ष नेपालसँग असन्तुष्ट नेता नेपाललाई नेता श्रेष्ठले खनाल निवास डल्लुमा पुगेका भेट गरेका थिए।

    खनाल भेट्नुअघि श्रेष्ठले नेकपा एसकै महासचिव घनश्याम भुसालसँग पनि कुराकानी गरेका थिए। शुक्रवार श्रेष्ठ निवास हात्तीवन पुगेर महासचिव भुसालले छलफल गरेका थिए।

    त्यसो त बुधवार उनले नेकपाका महासचिव विप्लवसँग पनि भेट गरेका थिए। बुधवार दुई नेताबीच एक घण्टा कुराकानी भएको थियो। माओवादीले नेकपासँग एकता गर्ने निर्णय गरेको भएपनि तत्काल सकारात्मक बनिरहेको छैन। यसअघि नै नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गर्दा पनि प्रचण्डकै अनिच्छाको कारणले टरेको नेकपाको निष्कर्ष छ।

    नेकपाका प्रवक्ता प्रकाण्ड आफूहरू माओवादीको निर्णयपछि समग्र परिस्थिति मूल्याङ्कन गरेर निर्णय गर्ने बताएका छन्।

    उनले भने, ‘हामी समग्र परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्ष निकाल्छौँ। हामी अहिले समाजवादी मोर्चामा छौँ सहकार्य भइरहेको छ। त्यसबारे गम्भीर छलफल र बहसपछि मात्रै निष्कर्षमा पुग्छौँ।’

    माओवादीका सचिव लीलामणि पोखरेलले पनि श्रेष्ठको पछिल्लो भेटघाट व्यक्तिगत मात्रै भएको बताए। उनले भने, ‘उहाँलाई पार्टीले खटाएको होइन। व्यक्तिगत रूपमा भेट गर्नुभएको होला, उहाँको भेटबारे पार्टीलाई जानकारी छैन।’

    उनले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरे कार्यदल बनाउने निर्णय भएको बताए।

    उनले थपे, ‘पार्टीले आवश्यक छलफलको लागि कार्यदल बनाएर काम गर्छ। उहाँहरूबिचको सहमति र असहमतिबारे पनि पार्टीले औपचारिक छलफल गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ तर, कसैको व्यक्तिगत भेट मात्रै एकताको आधार बन्दैन।’

    उनले माधव नेपाल नेतृत्वको नेकपा एससँग भने एकताबारे औपचारिक कुराकानी नभएको बताए। उनले थपे, ‘मोर्चामा सँगै छौँ, सामान्य छलफल भइरहन्छ। तर, एकतामै जाने ढङ्गले औपचारिक कुरा भएको छैन।’

    त्यसो त श्रेष्ठले गत महिना पनि श्रेष्ठले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेटेको थिए। भेटमा भण्डारीसँग वामपन्थी एकताको प्रस्ताव राखेको चर्चाले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको थियो।

  • नारायणकाजी र उपेन्द्रबीच भेटवार्ता

    नारायणकाजी र उपेन्द्रबीच भेटवार्ता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीवनमा दुई नेताबीच भेटघाट भएको हो ।

    पूर्वउपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ । लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने र समृद्ध नेपालमार्फत् समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा पनि विचार विमर्श भएको बताइएको छ ।

    माओवादी नेता श्रेष्ठले केही दिनयता राजनीतिक भेटघाट बढाइरहेका छन् ।

  • झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी

    झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।

    डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

    दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

  • कांग्रेसका चार शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा तीन घण्टा के विषयमा भयो छलफल ?

    कांग्रेसका चार शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा तीन घण्टा के विषयमा भयो छलफल ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग पार्टीको आन्तरिक विषयमा छलफल गरेका छन् ।

    सभापति देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    बैठकमा सहभागी पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाको महाधिवेशन, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भएको थियो। बैठक झन्डै तीन घण्टासम्म चलेको थियो।

    बैठकमा सरकारको समीक्षादेखि कुलिङ पिरियड छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि सामान्य छलफल भएको बताइन्छ।

    महामन्त्रीद्वय थापा र शर्मा सरकारसँग सन्तुष्ट छैनन् । हिजो साँझ गृहमन्त्री रमेश लेखकले दुई महामन्त्रीसँग होटेल ‘डिनर मिटिङ’ गरेका थिए ।

  • नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल

    नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् ।

    केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका श्रेष्ठको आज नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटवार्ता भएको छ ।

    श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बताइएको छ ।

    भेटमा दलहरूको वर्तमान अवस्था र भूमिका, एमाले-कांग्रेस गठबन्धन सरकारका गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार-विमर्श भएको छ ।

    यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बतायो ।

    विप्लवसँगको भेटमा पनि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल गरेका थिए ।

  • जनार्दनबारे माओवादीको सर्कुलर- आत्मालोचना गर्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ

    जनार्दनबारे माओवादीको सर्कुलर- आत्मालोचना गर्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्न अस्वीकार गरेको सर्कुलर पठाएको छ । हालै बसेको स्थायी कमिटी बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा आत्मालोचना गर्न भन्दा पनि अस्वीकार गरेको उल्लेख गरिएको छ ।

    स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव शर्माका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको उल्लेख छ ।

    सर्कुलरमा भनिएको छ, ‘छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्यूटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरीत भएको ठहरसहित स्थायी समिति सदस्यहरुबाट क. प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो ।’

    अध्यक्षले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गरेको उल्लेख छ ।

    ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य विषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो’ सर्कुलरमा भनिएको छ, ‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ ।’

    स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।

  • माओवादीमा वैकल्पिक केन्द्रीय सदस्यको क्याप खारेज, जति पनि बनाउन पाइने

    माओवादीमा वैकल्पिक केन्द्रीय सदस्यको क्याप खारेज, जति पनि बनाउन पाइने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढीमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान हटाएको छ ।

    स्थायी कमिटी बैठकको निर्णय पार्टी पंक्तिलाई सर्कुलर गर्दै यसबारे जानकारी गराएको छ ।

    सर्कुलरमा भनिएको छ, ‘पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र बिधान अधिबेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ । वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’

    यसअघि माओवादीले केन्द्रीय सदस्य पनि जति पनि बनाउन सक्ने निर्णय गरेको थियो ।

  • सत्तापक्षलाई माओवादीले भन्यो- तपाईँहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइदिनुपर्ने ?

    सत्तापक्षलाई माओवादीले भन्यो- तपाईँहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइदिनुपर्ने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद माधव सापकोटाले महिनौँसम्म सदन बहिस्कार गर्दा पनि वार्ता नगरेको भन्दै असन्तुष्टि जनाए ।

    उनले भने, ‘समाजमा प्रियतावादीहरू हुन्छन्, तर उनीहरूलाई गाली गरेर सरापेर के फाइदा छ । रास्वपा र राप्रपाका सांसदहरूले जे गरिराख्नुभएको छ । त्यो मिलेको छैन । तर लोकतन्त्र भनेको यही हो ? महिनौँसम्म दुई पार्टीले बहिस्कार गरेर बाहिर जाने, एक पटक बोलाएर संवादसम्म नगर्ने के कुरा हो ? भनेर छलफल नगर्ने । तिनीहरूलाई यहाँ गाली गरेर जनताले पत्याइदिनुपर्ने? कसैले पत्याउँदैनन् ।’

    उनले सरकारले आर्थिक सुधार, सुशासन र संविधान संशोधनको एजेन्डा अघि सारेको भएपनि अहिलेसम्म केही नभएको दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरू नै भ्रष्टाचार काण्डमा पर्दा पनि संरक्षण गरिरहेको आरोप लगाए ।

    लिची बारी घुस काण्डमा मुछिएका भूमि मन्त्री बलराम अधिकारीलाई नेतृत्वले नै संरक्षण गरिरहेको दाबी गरे ।

  • ‘व्याख्यात्मक टिप्पणी’को बखान गर्दै प्रचण्डले भने: एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं

    ‘व्याख्यात्मक टिप्पणी’को बखान गर्दै प्रचण्डले भने: एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै अडानको कारणले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन्।

    पार्टीका सचिव लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसी पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै माओवादीले धेरै पहल गरेर नै जस्ताको तस्तै पारित हुन नदिएको जिकिर गरे।

    उनले भने, ‘अनुमोदनको कुरा चलिरहेको बेलामा हामीले जस्ताको तस्तै पारित हुन नदिनको लागि धेरै गर्‍यौँ। कांग्रेस हर हालतमा पारित गर्ने पक्षमा थियो, कुनै पनि संशोधन आवश्यक छैन भन्ने पक्षमा थियो। उहाँहरूबिच विमति पनि देखिँदैनथ्यो।

    उनले नेकपा हुँदा पनि कार्यदल बनाएर अध्ययन गरेर यथास्थितिमा पारित हुन हुँदैन भनेर सुझाव दिएको समेत बताए। उनले एमसीसी रोक्नको लागि आफूहरूले एमालेलाई सरकारको नेतृत्व गर्न भनेको समेत दाबी गरे। एमसीसी पारित हुने बेलामा कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो।

    उनले भने, ‘हामीलाई जनभावना अनुसार बनाउन लागिरहेका थियौँ। तर अहिलेका प्रधानमन्त्रीले कमा र फुलिस्टप पनि चेन्ज गर्न आवश्यक छैन भन्नुभयो। जस्ताको तस्तै पारित हुन्छ भन्नुभयो।’

    उनले अन्तिम समयमा कांग्रेस र एमालेले नै बहुमत पारित गर्ने भएपनि आफूहरूले व्याख्यात्मक टिप्पणी गर्न बाध्य पारेको बताए।

  • माओवादीपीडित भन्दै पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरी अमेरिका पुगेकामाथि कांग्रेसको निगरानी

    माओवादीपीडित भन्दै पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरी अमेरिका पुगेकामाथि कांग्रेसको निगरानी

    रूपन्देही । नेपाली कांग्रेसले नक्कली द्वन्द्व पीडितको नाममा फाइदा लिने गरी रोल्पामा पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको भन्दै सचेत गराएको छ ।

    कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र विभिन्न तहको नक्ली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी आफू कांग्रेसको सदस्य भएको तथा कांग्रेसको गतिविधिमा संलग्न भएको कारण माओवादी कार्यकर्ताले दु:ख र धम्की दिएकाले नेपालमा बस्न नसक्ने भन्दै अमेरिकालगायतका देशमा आउनुपरेको भनी सिफारिस बनाएको र बनाउने प्रक्रियामा रहेको बुझिएको कांग्रेस रोल्पाले जनाएको छ ।

    जिल्ला सभापति किशोरकुमार आचार्यले विज्ञप्ति जारी गर्दै यसरी नक्कली सिफारिस बनाइएका वा प्रक्रिया अघि बढाइएकाहरूको विवरणहरू पत्ता लगाई आवश्यक कारबाही थाल्ने बताएका छन् ।

  • प्रचण्डले ‘आत्मालोचना गर्नुस्’ भन्दा जनार्दनको जवाफ- तपाईँले नगरी गर्दिनँ

    प्रचण्डले ‘आत्मालोचना गर्नुस्’ भन्दा जनार्दनको जवाफ- तपाईँले नगरी गर्दिनँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेको कुरामा आत्मालोचना गर्न भन्दा उपमहासचिव जनार्दन शर्माले अस्वीकार गरेका छन् ।

    आज सकिएको स्थायी कमिटीको बैठकमा प्रचण्डले शर्मालाई पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर बोलेको भन्दै आत्मालोचना गर्न आग्रह गरेको भएपनि अस्वीकार गरेको एक पदाधिकारीले बताए ।

    ती पदाधिकारीले भने, ‘अध्यक्षले यस्ता अभिव्यक्तिले पार्टीलाई राम्रो गर्दैन । बाहिर राम्रो सन्देश पनि गएको छैन, तपाईँले आत्मालोचना गर्नुस्, पार्टी बैठकले पनि त्यही भनेको छ भन्नुभएको थियो । तर, उहाँले अध्यक्षले नगरी नगर्ने जवाफ दिनुभयो, मान्नुभएन ।’

    माइन्यूटमा हस्ताक्षर नगरेको विषयमा चाहिँ गल्ती महसुस गरेर आत्मालोचना गरेको ती नेताले बताए । शर्माले नमानेपछि प्रचण्डले जवाफ फर्काए, ‘मैले कुन सन्दर्भमा गर्नुपर्ने हो, मैले त गरिरहे छु नि । जनतासँग पुगेर हाम्रो वर्गसँग सम्बन्ध टुट्यो। कार्यशैली र आचरण बिग्रिए, पार्टी कमजोर हुनुमा नेतृत्वको हिसाबले म जिम्मेवारी लिन्छु। तपाईँहरूले पनि आफ्नो भागको लिनुपर्छ ।’

    उनले अध्यक्षले निरन्तर सार्वजनिक रूपमै आत्मालोचना गरिरहेको भएपनि शर्माले आफूले बोलेको कुरा फिर्ता लिन अस्वीकार गरेको सुनाए ।

    शर्माले साउन ६ गते ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मनमोहन अधिकारीबाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भएको अभिव्यक्ति दिएका दिए। जसले माओवादीवृत्तमा तरङ्ग ल्याएको थियो ।

    ती पदाधिकारीले भने, ‘अध्यक्षले सबैकुरा स्पष्ट रूपमा भन्दा पनि उहाँले मान्नुभएन । यो कुरालाई पार्टीले गम्भीर रूपले लिएको छ, हेरौँ अब कसरी अघि बढ्छ ।’

    त्यसो त हिजो बैठकमा धारणा राख्ने क्रममा पनि शर्माले ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ? भन्दै प्रचण्डमाथि नै प्रश्न तेस्र्याएका थिए । माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने भन्दै अध्यक्ष प्रधानमन्त्री हुँदादेखि नै बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइएको बताएका थिए ।

    तर प्रवक्ता अग्नि सापकोटाले पार्टी फुट्दैछ भनेर भइरहेको चर्चा बैठकले खारेज गरेको दाबी गरे ।

    उनले भने, ‘पार्टीमा सबैभन्दा ठुलो समस्या गुट, उपगुट र स्वार्थ समूह नै हुँदो रहेछ। ती सबै विघटन गर्ने सङ्कल्प बैठकले गरेको छ। कोही निर्णयविपरित गए त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ। त्यसका लागि हामीले अनुगमन समिति बनाउँदैछौं ।’

    बैठकले शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको जिकिर गरे ।

    उनले थपे, ‘अहिलेसम्म देखिएका विधानविपरित रोक्छौँ। आचारसंहिता र नियमावली गर्छौँ। अब विधि, प्रक्रिया र पद्धतिमा चल्ने सङ्कल्प गरेको छ ।’ उनले उपमहासचिव शर्माले उठाएको विषयमा बैठकमा सकारात्मक ढङ्गले छलफल भएको पनि बताए ।

    उनले भने, ‘उहाँले माइन्यूटमा सही गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बैठकमा स्थायी कमिटी सदस्यले उठाएको कुरामा महसुस गर्नुभएको छ । साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना त गर्नुभएको छैन । तर, त्यस विषयमा उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ ।’

    बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पनि पार्टी एकताबद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिबद्धता गरेको बताएको जिकिर गरे ।

    उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकताबद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्यौँ । सामूहिक प्रतिबद्धता गरेका छौँ। सबै खाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौँ ।’

    छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले पनि बैठकमा वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेन्डामा उच्चस्तरमा गम्भीर छलफल भएर निष्कर्ष निकालिएको बताए ।

     

  • यी हुन् माओवादी बैठकले पारित गरेका २६ निर्णय (पूर्णपाठ)

    यी हुन् माओवादी बैठकले पारित गरेका २६ निर्णय (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २६ समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ ।

    सरकारद्वारा भूमाफिया तथा बिचौलियाहरूको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षडयन्त्र भइरहेकोमा गम्भीर आपत्ति व्यक्त गर्दै भूमिहीन, सुकुमबासी जनतालाई तत्काल न्याय दिने गरी अग्रगामी रूपान्तरणका पक्षमा भूमिसम्बन्धी विधेयक संसद्मा प्रस्तुत बैठकले माग गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    सरकारकै मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानबिनको प्रयत्न नगरिनुबाट सुशासनप्रति राज्यको जबाफदेहिता शून्य भएको पुष्टि भएको उनले बताए।

    यस्ता छन् बैठकले पारित गरेका प्रस्ताव

    (१) सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछ । र, उहाँहरूको आदर्शलाई पछ्याउँदै अगाडि बढ्ने दृढ सङ्कल्प गर्दछ ।

    (२) हाल तराई मधेसका अधिकांश क्षेत्रहरूमा देखिएको पानीको गम्भीर संकटप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, नीतिगत व्यवस्थापनमा उपेक्षा र जलस्रोतको व्यवस्थापनमा भएको उदासीनताले गर्दा किसानहरू रोपाइँ गर्नबाट वञ्चित भएका छन् । पानीका स्रोतहरू सुक्दै जानु, सिँचाइको समुचित व्यवस्था नहुने, चुरे विनाश, प्राकृतिक श्रोतको अवैध उत्खनन, वन अतिक्रमणका कारण सिर्जित वातावरणीय असन्तुलनले गर्दा तराई मधेस आज भूगर्भीय संकटमा फसेको छ । यो सन्दर्भमा, तराई–मधेस क्षेत्रका कृषक जनताले भोगिरहेका जटिल समस्याप्रति सरकारको उदासीनता र बेवास्ताप्रति यो बैठक गहिरो चिन्ता प्रकट गर्दै खडेरीका कारण मारमा परेका कृषकहरूलाई तत्काल राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ । यसका साथै तराई मधेस क्षेत्रलगायत आत्मनिर्भर कृषि अर्थतन्त्र विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माणको माग गर्दछ । हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको कृषिमा लगानी दशक योजनालाई कार्यान्वयनमा ल्याउन माग गर्दछ ।

    (३) चाडपर्वहरू नजिकिँदै गर्दा जनताको उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएकोले तत्काल मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र सीमाबाट भित्रिने आम नागरिकलाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग माग गर्दछ ।

    (४) लाखौँ विद्यार्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ। यसअघि शिक्षक महासङ्घसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गर्दछ। साथै, नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गर्दछ ।

    (५) सहकारी ठगहरूलाई कारबाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र पीडितहरूका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भर्त्सना गर्दै पीडितहरूको बचत रकम फिर्ता गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दछ ।

    (६) पश्चिम एसिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गइरहेको तनावप्रति हाम्रो पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । संयुक्त राष्ट्रसंघको दुई राज्य समाधान प्रस्तावलाई समर्थन गर्दै प्यालेष्टाइनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम् सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ । साथै इजरायलबाट गाँजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दछ । वार्ताद्वारा शान्तिपूर्ण ढङ्गले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाइ एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौँ नेपालहरूको सुरक्षाका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

    (७) रसुवाको भोटेकोसी त्रिसुली नदीको बाढीमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गर्दछ । राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विपद् पूर्व तयारीको काममा ध्यान दिन र बाढी प्रभावितहरूका लागि राहत प्रदान गर्न जोडदार माग गर्दछ ।

    (८) जाजरकोट, रुकुम लगायत भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

    (९) शान्ति सम्झौताको भावना र मर्मअनुरूप शान्ति प्रक्रियाका बाँकी कामलाई अगाडि बढाउन सरकारले सहजीकरणको लागि उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

    (१०) रोपाइँ सत्र अन्तिम चरणमा पुगिसक्दा पनि किसानले मल नपाएको अवस्था अत्यन्त चिन्ताजनक छ । मलखाद आयात तथा वितरणमा बिचौलियाको प्रभाव र भ्रष्ट चलखेलको बैठक भर्त्सना गर्दछ । कृषि, मल, बिउँको आवश्यकता अनुसार उपलब्ध गर्न र समयमा नै कृषि उपजको समर्थन मूल्य तोक्न माग गर्दछ ।

    (११) अनौपचारिक क्षेत्रका श्रमिकहरू न्यूनतम ज्यालामा वृद्धि गर्न जोडदार माग गर्दछ ।

    (१२) देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरू समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ । साथै सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न यो बैठक सरकारसमक्ष माग गर्दछ ।

    (१३) शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिकाबाट विधायिकामाथि गरिएको हस्तक्षेपको यो बैठक कडा भर्त्सना गर्दछ । सङ्घीय निजामती सेवा विधेयकमाथि प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीद्वारा गरिएको अवैध निर्देशन तथा विधायन प्रक्रियामाथिको प्रहार अस्वीकार्य छ । यसप्रति गम्भीर सरोकार व्यक्त गर्दै सम्बद्ध निकायका चासोलाई सम्बोधन गरी विधेयक तुरुन्त पारित गर्न सरकार समक्ष जोडदार माग गर्दछ।

    (१४) सरकारद्वारा भूमाफिया तथा बिचौलियाहरूको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षडयन्त्र भइरहेकोमा गम्भीर आपत्ति व्यक्त गर्दै भूमिहीन, सुकुम्वासी जनतालाई तत्काल न्याय दिने गरी अग्रगामी रूपान्तरणका पक्षमा भूमिसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न माग गर्दछ ।

    (१५) सरकारकै मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानबिनको प्रयत्न नगरिनुबाट सुशासनप्रति राज्यको जबाफदेहिता शून्य भएको पुष्टि भएको छ । यो बैठक सरकारका सुशासन विरोधी कदमको विरोध गर्दै आरोपित मन्त्रीहरूमाथि छावबिनको माग गर्दछ ।

    (१६) उखु किसानलाई दिइँदै आएको अनुदानमा गरिएको ५० प्रतिशत कटौतीको यो बैठक कडा विरोध गर्दछ। किसानलाई तत्काल न्याय दिनु पर्ने माग गर्दछ।

    (१७) सरकारबाट पाउनुपर्ने बक्यौता रकम अझै प्राप्त नगरेका दुग्ध किसानहरू गम्भीर समस्यामा परिरहेका छन्। बैठकले तिनीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्दछ।

    (१८) जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीर रूपमा लिन्छ। भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारी तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ ।

    (१९) ऐतिहासिक बलिदानबाट प्राप्त महिलाहरूका संवैधानिक अधिकारमाथि विभिन्न तवरले हस्तक्षेप गर्दै लैगिक समानता विरोधी कानुन निर्माणका प्रयासहरूको कडा विरोध गर्दछ। राज्यबाटै महिला विरोधी व्यवहार तत्काल अन्त्य गर्दै, ‘छाउपडी’ र महिलामाथिको हिंसाविरुद्ध राष्ट्रव्यापी अभियान घोषणा गर्न सरकारसँग माग गर्दछ ।

    (२०) जातीय विभेद र आर्थिक शोषणको दुष्चक्र झेलिरहेका दलित समुदायमाथि राज्यबाट भइरहेका विभेदहरूको यो बैठक घोर भर्त्सना गर्दछ। दलित समुदायका संवैधानिक अधिकार कार्यान्वयन गर्न दलित एन तर्जुमा तथा विशेषाधिकार सम्पन्न दलित विकास प्राधिकरणको तुरुन्त स्थापना गर्न सरकारसमक्ष माग गर्दछ ।

    (२१) विद्युत् क्षेत्रमा आत्मनिर्भरता र निर्यातको पर्याप्त आधार तयार भएको अवस्थामा दलाल र बिचौलियाको स्वार्थमा गरिएको राजनीतिकरणप्रति बैठक कडा आपत्ति व्यक्त गर्दछ । कतिपय क्षेत्रमा पुनः लोडसेडिङ देखा परिरहेको, विगतमा अत्यन्तै न्यून अवस्थामा पुगेको विद्युत् चुहावट उल्लेख्यरुपमा बढेको सन्दर्भमा विद्युत् क्षेत्रको सुशासन र पारदर्शिता कायम गर्न बैठक जोडदार माग गर्दछ ।

    (२२) त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थानमा मेरिटोक्रेसीको उल्लङ्घन गर्दै दलगत हस्तक्षेप गरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले गम्भीर आपत्ति प्रकट गर्दछ। शिक्षा क्षेत्रमा दलगत स्वार्थको अन्त्य गर्न तथा राष्ट्रिय आवश्यकता अनुरूप दक्ष जनशक्ति निर्माण गर्न उच्च शिक्षा क्षेत्रका विकास गर्न यो बैठक माग गर्दछ ।

    (२३) संवैधानिक निकायहरूमा गरिएको हस्तक्षेप, चयनमुखी अनुसन्धान तथा अभियोजन प्रक्रिया अन्त्य गर्न माग गर्दछ ।

    (२४) निर्वाचन आयोग लगायत संवैधानिक निकायहरूमा रिक्त पद पूर्तिप्रति सरकारको बेवास्ताप्रति खेद प्रकट गर्दै तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गर्दछ ।

    (२५) युवा उद्यमशीलता प्रवर्द्धन गर्न अघि सारिएको स्टार्टअप कार्यक्रमको बजेट घटाइनु तथा विनियोजित बजेट समेत कार्यकर्तालाई रकम बाँड्ने संयन्त्रकारुपमा विकास गरिएकोमा आपत्ति व्यक्त गर्दै वैज्ञानिक प्रणालीमार्फत सिर्जनशीलता र नवप्रवर्तनका युवा सोँच तथा अवधारणामा आधारित परियोजनाहरूलाई लगानी गर्न माग गर्दछ ।

    (२६) सरकारले दलाल र बिचौलियाका पक्षमा एकपछि अर्को गर्दै चालेका जनविरोधी कदमको निन्दा तथा भर्त्सना गर्दै सुशासन, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा एक भई अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछ ।

  • जनार्दनबारे माओवादी – साउन ६ को अभिव्यक्तिमा आत्मालोचना गर्नुभएको छैन

    जनार्दनबारे माओवादी – साउन ६ को अभिव्यक्तिमा आत्मालोचना गर्नुभएको छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्षले पार्टी फुट्छ भनेर भइरहेको चर्चालाई खारेज गरेको दाबी गरेका छन् ।

    स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले पार्टी एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए ।

    उनले भने, ‘पार्टी अब एकताबद्ध भएर जाने कुरामा स्थायी कमिटी बैठक सफल भएको छ । यो गर्वको कुरा हो ।’

    उनले उपमहासचिव शर्माले उठाएको विषयमा बैठकमा सकारात्मक ढङ्गले छलफल भएको बताए ।

    सापकोटाले भने, ‘उहाँले माइन्यूटमा सही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बैठकमा स्थायी कमिटी सदस्यले उठाएको कुरामा महसुस गर्नुभएको छ । साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना त गर्नुभएको छैन । तर, त्यस विषयमा उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ । अरू समग्र विषयमा समितिमा छलफल गरेर जाने कुरा भएको छ ।’

    शर्माले मनमोहन अधिकारीबाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भएको अभिव्यक्ति दिएका दिए ।

    ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ। तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’

  • माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने, माधव नेपालसँगको छलफललाई निरन्तरता दिने

    माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने, माधव नेपालसँगको छलफललाई निरन्तरता दिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।

    स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले विप्लवसँग एकताको लागि वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको बताए ।

    उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भइरहेको बताए ।

    उनले भने, ‘उहाँहरु पनि समाजवादी मोर्चामै हुनुहुन्छ, नेकपा विप्लवसँग निर्णय नै गरिसकेका छौं । उहाँहरुसँग छलफल चल्दैछ । निष्कर्षमा पुगेका छैनौं ।’

  • जनार्दनले ४ वर्षपछि गरे माइन्यूटमा हस्ताक्षर, बाहिर निस्किएर के भने ?

    जनार्दनले ४ वर्षपछि गरे माइन्यूटमा हस्ताक्षर, बाहिर निस्किएर के भने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा आत्मालोचना गरेका छन् । स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाएका थिए ।

    अधिकांश नेताहरू प्रचण्डको पक्षमा खुलेपछि आजको बैठकमा शर्माले आत्मालोचनासहित माइन्यूटमा हस्ताक्षर गरेको  एक नेताले बताए । शर्माले ४ वर्षदेखि बैठकको माइन्यूटमा हस्ताक्षर गरेका थिएनन् ।

    ती नेताले भने, ‘उहाँले माइन्यूटमा हस्ताक्षर नगरेकोमा आत्मालोचना गरेर आज हस्ताक्षर गर्नुभयो ।’

    बैठकबाट बाहिरिने क्रममा शर्माले बैठकमा उच्चस्तरीय वैचारिक, राजनीतिक छलफल भएको बताए ।

    उनले भने, ‘बैठकमा वैचारिक, राजनीतिक, सङ्गठनात्मक र विधिको विषयमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’ यद्यपि, सञ्चारकर्मीहरूसँग भने शर्माले आत्मालोचनाबारे सोधेको प्रश्नको जवाफ दिएनन् ।

  • पेरिसडाँडाबाट निस्किँदै प्रचण्डले भने- सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गर्‍यौं

    पेरिसडाँडाबाट निस्किँदै प्रचण्डले भने- सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गर्‍यौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतावद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।

    स्थायी समितिको बैठक सकेर पेरिसडाँडाबाट निस्किँदै गर्दा उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

    दाहालले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौं ।’

    फेरि एकचोटि जनतामा गएर देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।

    छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले भने वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेण्डामा उच्चस्तरमा गम्भिर छलफल भएर निष्कर्ष निकालिएको बताए । अरु कुरा प्रवक्ताबाटै सुन्न भन्दै उनी हिँडेका थिए ।

  • माओवादी बैठक- जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डले जवाफ दिएर आजै सक्ने तयारी

    माओवादी बैठक- जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डले जवाफ दिएर आजै सक्ने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको चौथो दिनको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकभर उठेका प्रश्नको जवाफ दिनेछन्।

    प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले धारणा राख्नेछन्।

    शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकले आफ्नो धारणा राखिसकेका छन्।

    माओवादीमा अहिले प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे शर्माले उठाएको प्रश्नको पनि आज प्रचण्डले जवाफ दिँदैछन्।

    बैठकमा अधिकांश नेताहरूले प्रचण्डको पक्षमा बोल्दै आत्मालोचना गर्नुपर्ने बताएका छन्। तर, शर्माले पार्टी बिग्रिएको जिम्मेवारी प्रचण्डले लिएर आफू तयार रहेको तर पार्टी नछाड्ने जवाफ दिइसकेका छन्।

    यो बैठकले आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ। शर्माले भने विशेष महाधिवेशनको माग गरिरहेका छन्।

  • दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा छैटौं वरीयता

    दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा छैटौं वरीयता

    काठमाडौं । दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा फर्किएका नन्दबहादुर पुनलाई माओवादीले छैटौँ वरीयता दिएको छ । यसअघि नै उपाध्यक्ष बनाएर पार्टीको सक्रिय राजनीतिमा फर्काइएका पुनलाई माओवादीले पार्टीभित्र वरीयता पनि तोकेको हो ।

    स्थायी कमिटीको बैठक चलिरहेको बेलामा माओवादीले पार्टीको वेबसाइट अपडेट गर्दै पुनलाई छैटौँ नम्बरमा राखेको छ । पुनअघिको वरीयतामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पुनको नाम छ। उपाध्यक्षद्वय महरा र सापकोटा सभामुखको जिम्मेवारी सम्हालेर फर्किएका हुन् ।

    पुन अध्यक्ष प्रचण्डकै जोडबलमा सक्रिय राजनीतिमा आएका हुन् । जनयुद्धकालदेखि नै पार्टीभित्र आन्तरिक समीकरणमा पुन प्रचण्डसँग नजिक रहेर काम गर्दै आइरहेका छन् ।

    पार्टीभित्र उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले दबाब बढाउनसक्ने चर्चापछि प्रचण्डले आफूनिकट पुनलाई पार्टीमा ल्याएका हुन् ।

    अहिले पार्टीभित्र शर्मासँग प्रचण्डको अन्तरसंघर्ष चलिरहेको छ । जारी स्थायी कमिटीको बैठकमा प्रचण्डको समर्थन गर्दै उपमहासचिव शर्माको चर्का आलोचना गरेका थिए । पुन र हालै नेसपाबाट भित्रिएका गंगानारायण श्रेष्ठलाई समावेश गरेर स्थायी कमिटी ४६ सदस्यीय बनाइएको छ । सचिव श्रेष्ठको वरीयता २३ नम्बरमा छ ।

  • माओवादी बैठकमा जनार्दनको प्रश्न- ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ?

    माओवादी बैठकमा जनार्दनको प्रश्न- ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भनेर खुमलटारबाटै चलाइएको हल्ला आफूले खारेज गरेको बताएका छन् ।

    बैठकमा बोल्दै शर्माले माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने प्रष्ट पारे ।

    बैठकमा जनार्दनको भनाइ उदृत गर्दै एक नेताले भने–हिजो अध्यक्ष प्रधानमन्त्री हुँदा बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइयो । प्रभाकर एमालेमा जाँदैछ भनियो । राज्यका संयन्त्रहरु लगाइयो । आज पनि भइरहेकै छ,तर म पार्टी बलियो बनाउन लागिरहेको छु,कहिँ जान्न ।

    शर्माले आफूलाई कारवाही गरे भोग्न तयार रहेको र गल्तिबापत आत्मालोचना पनि गर्न तयार भएको बताए ।

    उनले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने ? भनी प्रश्न गरेका थिए । उनले सबैले आ आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताए ।

     

  • एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)

    एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।

    ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।

    प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।

    अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।

    २०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नम्बर १ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले बताए ।

  • पेरिसडाँडामा आज पनि माओवादी स्थायी समिति बैठक

    पेरिसडाँडामा आज पनि माओवादी स्थायी समिति बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

    ३ दिनदेखि जारी बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

  • माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

    माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिवार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रवार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।

    शुक्रवारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

  • प्रचण्डको ब्रिफिङ- माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ

    प्रचण्डको ब्रिफिङ- माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्नेगरी छलफल चलिरहेको ब्रिफिङ गरेका छन्।

    आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सकारात्मक रूपमा अघि बढेको बताए।

    उनले बैठकमा भने, ‘अहिले हामी मोर्चामा सँगै छौँ एउटै पार्टी बनाएर जानुपर्छ भन्नेमा एकमत छ। माधव र विप्लवजीसँग कुरा भइरहेको छ। चाँडै एकताको प्रक्रिया अघि बढ्छ। एकता तत्काल हुनुपनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ।’

    उनले मोर्चामा आबद्ध भएका मात्रै नभई पूर्वमाओवादी घटकहरूसँग पनि एकता गर्नेबारे छलफल भइरहेको बताए।

  • हृदयन्द्रलाई जुम्लाकी माओवादी सांसदको गालीगलौज- भोटे कुकुरको छाउरासँग गरिन् तुलना

    हृदयन्द्रलाई जुम्लाकी माओवादी सांसदको गालीगलौज- भोटे कुकुरको छाउरासँग गरिन् तुलना

    काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहको एउटा भ्लगले अहिले चर्चा कमाइरहेको छ, जुन उनले जुम्लाको भ्रमण गर्दा बनाएका थिए । सबैले यो भ्लगको प्रशंसा गरिरहँदा जुम्लाकी माओवादी सांसद भने रिसले आगो भएकी छन् ।

    फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो भँडास पोखेकी हुन् । इतिहासका प्रसंगसमेत तोडमोड गर्दै उनले जुम्लाको भूमिमा फेरि अपवित्र षड्यन्त्रको रचना भइरहेको दाबी गरेकी छन् ।

    माओवादीकी समानुपातिक सांसद छिरिङ ल्हामु लामा लेख्छिन्- राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेको छ । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको रिन चुक्ता हुन सक्दैन । उनी जस्तो सयौं पुस्ताले देश र जनताको सेवा गरिहाले पनि राज्य र जनता माथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन ।’

    अशिष्ट शब्दहरू प्रयोग गर्दै उनले हृदयन्द्रमाथि गालीगलौजगौज गरेकी छन् ।

    लामा लेख्छिन्, ‘उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐसआरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझै गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्ला चिनाउन पर्छ र ?’

    हृदयन्द्रको भिडिओलाई मिडियाले समाचार बनाएकोप्रति पनि लामाको आपत्ति छ ।

    ‘यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने होइन त ? सामन्ती राजाले हिजो जनतालाई दास बनाई कुम्लाएका अथाह सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र केही युट्युबेमा लगानी गरिरहेको पनि सुनिन्छ । हुँदाहुँदै एउटालाई त करोडौं लगानी गरेर संसदभित्र नै भित्र्याइसके, जो आज अराजकता मच्चाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ ।’

    उनको यो अभिव्यक्ति भने राप्रपा सांसद ज्ञानेन्द्र शाही लक्ष्यित हो । शाही जुम्लाका जननिर्वाचित सांसद हुन् ।

    हेर्नुस् लामाको स्टाटसको पूर्णपाठ

  • पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

    पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् ।

    यस्तै पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेछ ।

    समाजवादी मोर्चाको सक्रियता र विस्तार साथै सांगठानिक रणनीति र आन्तरिक एकता सुदृढ पनि बैठकका एजेण्डा छन् ।

    बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे छलफल हुने एक नेताले बताए । शर्मा पक्षधरको तत्काल पूर्व निर्णय कार्यान्वयन गर्दै विशेष महाधिवेशनको माग गरिरहेका छन् ।

  • माओवादी बैठक : प्रचण्ड-जनार्दन अन्तरसंघर्ष पनि छलफलको एजेन्डा, तीन दिनमा सक्ने तयारी

    माओवादी बैठक : प्रचण्ड-जनार्दन अन्तरसंघर्ष पनि छलफलको एजेन्डा, तीन दिनमा सक्ने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने बैठक तीन दिनमा सक्ने तयारी गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

    उनले भने, ‘आजबाट सुरु भएको बैठक तीन दिनमा सक्ने भन्ने छ। तर, परिस्थिति हेरेर हुन्छ, थप एक दिन लम्बिन पनि सक्छ।’

    उनका अनुसार आजको बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रकोबारे ब्रिफिङ गर्नेछन्।

    उनले थपे, ‘अध्यक्षको ब्रिफिङपछि मात्रै नेताहरूलाई कति समय बोल्न दिने भन्ने तय हुन्छ। त्यहाँ पार्टी पदाधिकारीहरूले पनि आआफ्नो कुरा राख्नुहुन्छ। समग्र परिस्थितिबारे पनि छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने हुन्छ। स्थायी कमिटीलाई १० देखि १२ मिनेट औसतमा निर्धारण हुन्छ।’

    बैठकले पोखरामा आएर रोकिएको अभियानबारे निर्णय लिएर केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ।

    यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ।

    बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे पनि यही बैठकमा छलफल हुने एजेन्डा बनेको छ। शर्माले तत्काल पूर्व निर्णय कार्यान्वयन गर्दै विशेष महाधिवेशनमा जान माग गरिरहेका छन्।

  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

    बुधवार बसेको पदाधिकारी बैठकले स्थायी कमिटीमा छलफलका एजेन्डा तय गरेको थियो ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।

    यस्तै पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने गर्नेछ ।

    यस्तै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

    यस्तै बैठकको अन्त्यमा समसामयिक विषयमा पारित पनि गर्ने एजेन्डा छ ।