काठमाडौं । प्रतिनिधिसभामा दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी मोर्चामा हुत्तिएको ५ महिना भयो । ३२ सीटको म्याजिक नम्बर भन्दै कहिले कांग्रेस त, कहिले एमालेसँग काँध मिलाएर पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सपना देखेका प्रचण्डले पछिल्लो समय फेरि राजनीतिको कोर्ष करेक्सनको कुरा गर्न थालेका छन् ।
प्रचण्ड अब २०८४ को चुनावअघि आफू प्रधानमन्त्री नबन्ने र सरकारमा पनि नजाने भन्दै थिए । अहिले पनि कहिले सरकारविरुद्धको सडक आन्दोलन भन्छन्, कहिले राजनीतिक कोर्स नै परिवर्तन गर्न नयाँ खालको आन्दोलन गर्ने अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।
दुई ठूला दल मिलेपछि सरकारमा नजाने संकल्प गरेका प्रचण्ड अहिले आफ्नो संकल्प बिर्सिएर फेरि म्याजिक नम्बरको कुरा गर्न थालेका छन् । यस क्रममा उनी बेलाबेलामा ‘नोस्टाल्जिक’ हुन्छन् र आफ्नो सरकार के कारण ढालियो भन्ने सन्दर्भमा आफैं कन्फ्युजन बाँडिरहेका छन् ।
स्थानीय तहको उपनिर्वाचनपछि प्रचण्ड अहिले झनै हौसिएर सरकार नभई जनतातर्फ फर्किएर पार्टी निर्माणमा जुट्ने तयारी पनि गर्दैछन् । अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले धोखा दिएको कारणले आफू नेतृत्वको सरकार ढलेको भन्दै सरकारविरुद्धको कार्यक्रम पनि देशभर चर्काउँदैछन् ।
ओली सरकार ढाल्न फेरि ढोक्सामा पार्न सकिने रणनीतिका साथ प्रचण्ड कांग्रेससँग भने नरम नै सुनिन्छन् । आफू नेतृत्वको सरकार ढलेको ५ महिना बितिसक्दा पनि किन ढल्यो भन्नेमा प्रचण्ड आफैं कन्फ्युजमा छन् ।
प्रचण्डले हरेकजसो सार्वजनिक कार्यक्रममा भन्ने गर्छन्- ‘भ्रष्टाचारविरोधी अभियान चलाएकै कारणले कांग्रेस-एमाले मिलेर सरकार ढाले ।’
तर प्रचण्डको आरोप स्वीकार्न कांग्रेस एमालेका नेताहरु तयार छैनन् ।
प्रचण्डबाट आजित भएर विचार नमिलेपछि एमालेसँग मिलेर सरकार चलाउन बाध्य भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् ।
‘कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए, कहिले कांग्रेससँग मिलेर, त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं । हामीले बाध्यकारी अवस्थामा विचार नमिल्नेहरुसँग गठबन्धन गरेका हौं’, उनको भनाइ छ ।
कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा पनि भनिएको छ, ‘…सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’
ओली नेतृत्वको सरकारले पनि सुशासनको मुद्दालाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ, तर सरकारले भ्रष्टाचारको मुद्दा अघि बढाउनुको सट्टा विपक्षीलाई मात्रै निशाना बनाएको प्रचण्डसहित विपक्षी दलहरुको आरोप छ ।
रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणपछि त्यसमा केही आशंकाको बल पनि मिसिएको छ, तर सरकारले कुनै पूर्वाग्रह नराखी काम गरिरहेको गृहमन्त्री रमेश लेखकको दाबी छ ।
तर सरकार ढलेको ५ महिनासम्म किन ढल्यो भन्नेमा प्रचण्ड अझै कन्फ्युजनमै छन् । पछिल्लो महिनामा प्रचण्डका ५ थरी कन्फ्युजनबारे हामीले चर्चा गरेका छौंः
पहिलो- बेचन झा र प्रतीक थापा पक्राउ परेपछि

प्रचण्डले मात्रै होइन, रास्वपाले पनि तत्कालीन गठबन्धनको सरकार ढाल्नुको मुख्य कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापा पक्राउ परेपछि कांग्रेस र एमाले मिलेको आरोप लगाउँदै आएको छ ।
प्रचण्डले आफू नेतृत्वको सरकार ढलेदेखि अहिलेसम्म त्यही कुरा अझै दोहो¥याउन छाडेका छैनन् । प्रचण्डले कीर्तिपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तीर सोझिएपछि अप्राकृतिक ढंगबाट मिलेको आरोप लगाउन भ्याए ।
उनले भनेका थिए, ‘भ्रष्टाचारविरोधी अभियानको तीर अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो । सीधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतीक थापा पक्राउ परेपछि, फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ । त्यसैले हामीलाई सरकारबाट हटाइयो ।’
दोस्रो- आरजु देउवामाथि छानबिनको तयारीपछि

भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हाइप्रोफाइल व्यक्ति हुन्, परराष्ट्रमन्त्री आरजु राणा । उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन्, तर तत्कालीन प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछानेसहित माओवादी र रास्वपाका नेताहरुले आरजुमाथि छानबिनको तयारी थालेपछि आफू नेतृत्वको सरकार ढालेको दाबी गर्दै आएका छन् ।
भुटानी शरणार्थी प्रकरणका योजनाकार भनिएका झा पक्राउ गरेको भोलिपल्ट नै देउवा र आरजु ओली निवास बालकोट पुगेको संयोगलाई माओवादी र रास्वपाले आशंकाको रुपमा लिएका थिए । त्यसको दुई दिनमै सरकार फेरियो पनि ।
त्यही प्रसंगलाई उठाउँदै प्रचण्डले शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको अर्को दाबी गर्दै आएका छन् ।
भदौ २९ मा मोरङ पुगेका प्रचण्डले आरजुबारे भनेका थिए- ‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बूढानीलकण्ठतिर पनि सोझियो । जब भ्रष्टाचारविरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो, त्यसैकारण राम्रो काम गर्न खोज्दाखोज्दै कुनै पनि अभियोग नलाग्दानलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा मिलेका छन् ।’
तेस्रो- बंगलादेशमा शेख हसिना र नेपालमा मलाई एउटै शक्तिले हटायो
प्रचण्डले आफूलाई सरकारबाट हटाउन आन्तरिकमात्रै होइन, भूराजनीतिक दबाब पनि परेको दाबी गरेका थिए ।
सरकार ढलेपछि बसेको पदाधिकारी बैठकमा उनले बंगलादेशमा शेख हसिना र आफूलाई सरकारबाट हटाउन समुद्रपारिको शक्तिले भूमिका खेलेकोसमेत भन्न भ्याए, तर पछि उनले त्यो भनाइ एक सातापछि सम्पादकहरुको भेलामार्फत फिर्ता लिए ।
उनले सीधा अमेरिकाको नाम लिएनन्, तर अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्न नमानेपछि सरकारबाट हटाएको दाबी गरेका थिए । समुन्द्रपारिको शक्तिले आफूलाई एसपीपी सम्झौता गर्न नमानेर हटाएको भन्दै आएका प्रचण्डले कात्तिक २५ गते हेटौंडामा पुगेर ओली सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंका व्यक्त गरे ।
विगतमा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै उनले भनेका थिए- ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको अर्को एसपीपी छ । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लो पटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ । अमेरिकन सरकारले पनि आधिकारिक रुपले भनिसकेको छ ।’
चौथो- कांग्रेस र एमाले जोडिएका भ्रष्टाचार फाइल खोलेपछि
त्यतिमात्रै होइन, प्रचण्डले पछिल्लो समय कांग्रेस-एमाले भ्रष्टाचारीलाई जोगाउन मिलेको पुष्टि भइसकेको दाबी गर्दै आएका छन् । उनले हालै काठमाडौं-नुवाकोट सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै ओली सरकार भ्रष्टाचारीहरूको सरकार भएको टिप्पणी गरे ।
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको फाइल खोल्न थालेपछि भ्रष्टहरू डराएर आफूलाई हटाएको दाबी गरे । उनले अहिलेको राजनीति विचौलियाहरुले चलाइरहेको जिकिर गरे ।
उनले भनाइ थियो- ‘यो सरकार दलाल, पुँजीपति, बिचौलिया, कमिसनखोर, जाली र फटाहाको प्रतिनिधि हो । जब हामीले भ्रष्टाचारका विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौं । सुशासनको पक्षमा आफ्नो अभियान अगाडि बढाउँदै लग्यौं । सामाजिक न्यायको पक्षमा, उत्पीडित वर्ग, समुदायको पक्षमा अघि बढाउँदै लग्यौं । आर्थिक समस्या समाधान गर्दै लग्यौं । तब यो देशका दलालहरू, बिचौलियाहरूमा छटपटी पैदा भयो । तिनीहरूभित्र आतंक पैदा भयो । त्यसकारण उनीहरुले यो सरकारलाई हटाउनैपर्छ भनेर दलाल, पुँजीपति, बिचौलिया, कमिसनखोर, जालीफटाहाले नेपाली कांग्रेस र एमाले नेताहरूलाई प्रतिनिधि बनाएर सरकार बनाइएका हुन् । त्यसकारण यो भ्रष्टाचारीहरुकै सरकार हो ।’
पाँचौं- गिरिबन्धु प्रकरणको फाइल खोल्न लागेपछि

प्रचण्डले आफ्नो सरकार ढल्ने कारणमा फेरि नयाँ कन्फ्युजन तेर्स्याएका छन् । यसै सातामात्रै प्रधानमन्त्री ओली ओलीको नाम जोडिएको गिरिबन्धु टी-इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाए ।
चितवनमा आयोजित सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको जिकिर गरे ।
उनले भने- ‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्न सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्यो । त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरुमाथि कारबाही गर्नुपर्यो । यहाँ अर्बौं भ्रष्टाचार गर्नेहरु, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरुमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौं ।’
कांग्रेस र एमालेको चुनौती- आरोप पुष्टि गर्नू
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले आफूहरुविरुद्ध भ्रष्टाचारी जोगाउन मिलेको भन्दै आरोप लगाएकोप्रति सत्तारुढ दल कांग्रेस र एमालेले भने आपत्ति जनाएका छन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव प्रचण्डले अहिले सरकारबाट बाहिरिनुपर्दाको आक्रोश पोख्दै हिँडेको टिप्पणी गर्छन् ।
उनले भने- ‘उहाँ सरकारबाट बाहिरिनुपरेको आक्रोश पोख्दै हुनुहुन्छ । भ्रष्टाचारीलाई कारबाही अघि बढाउन अनुसन्धान गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताले अहिले अस्वाभाविक आक्रोश व्यक्त गर्दै आइरहनुभएको छ । हिजो कारबाही प्रक्रिया अघि बढाउँदा ठीक, आजको यो सरकारले अघि बढाउँदा बेठीक हुन्छ ?’

उनले अहिलेको सरकारले जनताको पक्षमा भ्रष्टाचारहरुको विरुद्धमा र सहकारीको बचत अपचलन गरेको पैसा जनतालाई फिर्ता गराउनेगरी काम गरिरहेको दाबी गरे ।
उनले थपे- ‘सबै विषयमा अनुसन्धान भइरहेको छ । त्यसमा कसैले आत्तिनुपर्ने काम छैन । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ, त्यसको अन्तिम फैसला अदालतले गर्ने हो । त्यसैले प्रहरी र अदालतलाई सबैले विश्वास गर्नुपर्छ ।’
तर सरकारले आफू निकट नेतालाई बचाएर अरुलाई निशाना बनायो भन्ने आरोप लागिरहेको छ नि भन्ने जिज्ञासामा उनले भने– ‘त्यस्तो गरेको छैन, गर्नु पनि हुँदैन । त्यो ढंगबाट सरकार अघि बढेको पनि छैन ।’
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रचण्डले तथ्यहीन आरोप लगाउँदै हिँडेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने- ‘प्रधानमन्त्री भइसकेको त्यत्रो ठूलो दलको पार्टी अध्यक्षले तथ्यहीन, प्रायोजित, कपोकल्पित कुराको जगमा आरोप-प्रत्यारोप गर्नु आपत्तिजनक कुरा हो । को भ्रष्टाचारी हो, को होइन भन्ने न्यायिक निरुपण गर्ने अधिकारी त प्रचण्ड होइन नि ! न्यायिक निरुपण गर्ने संवैधानिक निकायहरु छन्, उहाँसँग त्यस्तो ठूलो प्रमाण र तथ्य छन् भने संवैधानिक अंगको ध्यानाकर्षण गराउने बाटो खुला नै छ ।’
उनले प्रचण्डले आफैं आरोप लगाउँदै र आफैं फैसला गर्दै हिँडेको बताए ।
नेता गौतमले थपे- ‘उहाँले त्यस्तो भए प्रमाणित गरेर देखाउन सक्नुप¥यो नि ! त्यत्रो ठूला पदमा बसेको व्यक्तिले अर्कालाई आक्षेप लगाउँदै गालीगलोज गरेर हिँड्नुभन्दा ती कुराहरुलाई प्रमाणित गर्न, न्याय निरुपण गर्न न्यायलयको ढोका ढक्ढकाउन जानुप¥यो नि ! गलत कुराको आड लिएर प्रसारप्रचार गर्दै हिँड्नाले उहाँको छवि नै धुमिल भइरहेको देखेका छौं ।’
नेता गौतमले सरकारले आफ्नालाई जोगाएर विपक्षीलाई मात्रै निशाना बनाएको भन्ने कुरालाई पनि अस्वीकार गरे ।
उनले थपे, ‘उहाँ विपक्षीलाई निशाना बनाइयो, आफू निकटकालाई जोगाइयो भन्नुहुन्छ । त्यस्तो कुनै प्रमाण दिन सक्नुहुन्छ ? उहाँले रवि लामिछानेको विषयमा पनि बोल्नुभएको छ । त्यो संसदीय छानबिन समितिको सिफारिसका आधारमा अहिले अनुसन्धान गरेर अदालती न्यायिक निरुपणको प्रक्रियामा छ । त्यसमा अहिले उहाँले बोल्नु उपयुक्त होइन ।’