Category: माओवादी केन्द्र

  • मजस्ता मन्त्री भएकाका छोराछोरीको आरक्षण कोटा बन्द गर्नुपर्छ : वर्षमान

    मजस्ता मन्त्री भएकाका छोराछोरीको आरक्षण कोटा बन्द गर्नुपर्छ : वर्षमान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् ।

    पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी-आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताए ।

    प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशिताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको पुनको भनाइ थियो । सोही कारण आफूहरूले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उनले बताए ।

    ‘समावेशिता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो’, पुनले भने, ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीन पटकसम्म सांसद÷मन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।’

    उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडौंसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरुले लिन नहुनेमा जोड दिए ।

    अवसर पाएका र नपाएकाहरुबीच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने-पाउने र नपाउने-नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुने चर्चा गरे । पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे ।

    ‘म मन्त्री भएको छु । मेरो छोराछोरीले काठमाडौंमा पढेका हुन् । उनीहरूले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ’, पुनले भने, ‘गाउँका गरिब बाहुन क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरूका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुट्ट्याइएको कोटाबाट अवसर लिन मिल्दैन ।’

    चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए ।

    ‘चुनाव लडेर प्रतिस्पर्धाबाटै आउन सक्ने नेता कोटामा आयो भने अर्को आउन सक्दैन’, पुनले भन, ‘महिला छ सक्षम छ । जनजाति छ सक्षम छ । दलित छ समक्ष छ । उसैले कोटा खाइदियो भने अवसरमा पछि परेको मान्छे कसरी अगाडि आउन सक्छ ? यसलाई सच्याउनुपर्छ ।’

    पुनले समावेशिता र समानुपातिकताको दुरुपयोग रोक्न कानूनी सुधार गर्नुपर्ने हुन सक्ने औँल्याए ।

    बंगलादेशमा समावेशीताकै नाराको गलत प्रयोग हुँदा जनतामा चुलिएको असन्तुष्टिले दुई तिहाइ जनमतसहितको शेख हसिना शासन छाडेर भाग्नुपरेको दृष्टान्त नेपालका लागि शिक्षा हुनसक्ने पुनले औँल्याए ।

    ‘बंगलादेश निर्माणमा संलग्नहरुका नातिनातिनाले मात्र सरकारी सेवामा अवसर पाउँछ भनिएका कारण जनतामा असन्तुष्टि बढ्यो । सानो झिल्कोले डढेलेको रूप लिएर ६ महिनाअघि निर्वाचनबाट दुई तिहाइ जनमत पाएको सत्ता जनताले पल्टाइदिए’, पुनले भने, ‘तत्कालको जनमत मात्र सबै थोक होइन । राजनीतिक दल र नेतृत्वले मान्छेको मनस्थिति के छ, समाज कता जाँदै छ भन्ने बुझ्न सकेन भने तत्कालको जनमतको कुनै अर्थ हुँदैन ।’

    उनले एजेन्डा सही हुँदा मात्र जनमत पाइन्छ भन्ने उदाहरण श्रीलंका भएको पनि बताए । श्रीलंकामा ४ वर्षअघिको निर्वाचनमा जम्मा ३ प्रतिशत मत पाएको कम्युनिष्ट पार्टीले हालै सम्पन्न निर्वाचनमा ५४ प्रतिशत मत पाउनुले जनमत सधैँ कुनै अमुक दलको पक्षमा नरहने पुष्टि तर्क पुनले गरे ।

    उनले सत्तारुढ काँग्रेस र एमालेले आफूहरूसँग दुई तिहाइ भएको घमन्डसहित सरकारमा बहेर अहिलेकै जस्तो मनपरी गरिरहे कार्यकर्ताबाहेकले भोट नदिने अवस्था आउन सक्ने दाबी गरे ।

    आफ्ना अध्यक्ष प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमका कारण सरकारबाहिर आउँदा पनि आफूहरूको पक्षमा जनमत देखिएको उनको भनाइ थियो । ०८४ मा आफ्नो दल ठूलो हुने दाबी पनि पुनले गरे ।

    ‘हिजो हामी समयअनुसार चल्न सकेनौँ । हामीमा टुटफुट र विभाजनहरू भए । तर, अहिले आएर हामीले धेरै सिकेका छौँ’, उनले भने, ‘देश हाम्रो राजनीतिक एजेन्डामा चलेको छ । यो व्यवस्था रहुन्जेल माओवादी रहन्छ । चुनावबाट कहिले सानो र कहिले ठूलो हुनु स्वभाविक हो । अब हामी हाम्रो शक्तिमा फेरि बलियो हुँदैछौं । पार्टीलाई फेरि जीवन्त बनाउन लागिपरेका छौँ ।’

  • बाँडिचुँडी खान पल्केका कांग्रेस-एमालेलाई कुलमानले प्राधिकरणलाई नाफा पुर्‍याएको मन परेको छैन: प्रचण्ड

    बाँडिचुँडी खान पल्केका कांग्रेस-एमालेलाई कुलमानले प्राधिकरणलाई नाफा पुर्‍याएको मन परेको छैन: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले मिलेपछि जनताको पक्षमा काम गर्नेहरुमाथि जालझेल र षड्यन्त्र गर्ने काम भइरहेको बताए ।

    मोरङ जिल्लाको ग्रामथानमा पुगेका प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट पारे ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै उनले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन, बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गरे ।

    प्रचण्डले भने, ‘मैले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भयो । त्यतिबेला कांग्रेसकै वरिष्ठ नेताहरुले पनि उहाँलाई देशकै सम्पत्ति हो भन्थे । अहिले उहाँलाई दिनदिनै सताएको छ । अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेको यही होइन त ! उहाँले घाटामा गएको प्राधिकरणलाई झण्डै ५० अर्ब नाफामा पुर्‍याउनुभयो । त्यो सह्य भएको छैन दलालहरुलाई । उनीहरु त त्यो बाँडिचुँडी खानेवाला थिए । नपाएपछि अहिले कुलमानको विरुद्ध लागेका छन् ।’

    आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उनले दाबी गरे ।

    उनले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन, राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौंदेखि रोकिएका शिक्षा ऐन, निजामती ऐन जस्ता कानून निर्माणलाई अगाडि बढाउनेलगायतका महत्वपूर्ण काम अघि बढाइएको पनि बताए ।

  • प्रचण्डको दाबी- आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ

    प्रचण्डको दाबी- आगामी स्थानीय निर्वाचनमा माओवादीले २५० पालिका जितेर पहिलो पार्टी बन्छ

    मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

    मोरङको ग्रामथान गाउँपालिका- ५ तेतेरियामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो पालिका बनाएको बताए ।

    उनले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’

    केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको प्रचण्डले बताए ।

    उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

    प्रचण्डले थपे, ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं । त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउनेछौं, हामी धेरै कुरा सम्झेर तपाइईंहरुसमक्ष आएका छौं, तपाईंहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।

  • सरकारलाई अग्नि सापकाटाको प्रश्न- दुई तिहाइको भिड तपाईंहरुसँगै छ, के नपुगेर संसद नबोलाएको ? (भिडिओ)

    सरकारलाई अग्नि सापकाटाको प्रश्न- दुई तिहाइको भिड तपाईंहरुसँगै छ, के नपुगेर संसद नबोलाएको ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरेका छन् ।

    सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले सरकारले नबोलाएपछि संविधानअनुसार विपक्षी दलहरुले संसद बोलाउने तयारी गरेको बताए ।

    उनले भने, ‘हाम्रा ३२ जनाले अब बानेश्वारमा आगो बाल्नेछन्, विपक्षीहरु एकजुट भएका छन् । सदन बोलाएन भने संविधानमा व्यवस्था छ, हामी विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं । हामी सडकमा पनि हुनेछौं ।’

    पूर्वसभामुखसमेत रहेका सापकोटाले सरकारलाई के नपुगेर संसद नबोलाएको भन्दै प्रश्न गरे ।

    उनले भने, ‘दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर र संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।’

    उनले सरकार भ्रष्टाचारको संरक्षण गर्नमा केन्द्रित भएको आरोप लगाए । भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको उनको भनाइ छ ।

    उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको कामले पार्टीप्रति आकर्षण बढेको जिकिर गरे । नेता सापकोटाले अहिले पार्टी एकताबद्ध भएर जनतामा जाने निर्णय हालै बसेको केन्द्रीय कमिटीको बैठकले गरेको बताए ।

  • मोहन बस्नेतलाई माधवको चेतावनी- हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न

    मोहन बस्नेतलाई माधवको चेतावनी- हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पतन सुरु भइसकेको दाबी गरेका छन् ।

    सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले राजनीतिक ढंगले स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए ।

    उनले भने, ‘३२ इन्चको तिघ्रा भएको ठूलो ह्याट लगाएको मान्छेले यतिका वर्षसम्म गरेको चाहिँ के छ ? उहाँले धाकभन्दा धक्कु ठूलो भने जस्तै गरिराख्नुभएको छ । तपाईंको पतनको यात्रा सुरु भइसकेको छ । यसलाई रोकेर बुद्धिमतापूर्ण ढंगले ज्ञानको आयातन बढाएर आउनुहुन्छ, स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्न हामी तयार छौं । पुरानै तरिकाले दायाँबायाँ गरेर आउन चाहनुहुन्छ भने तपाईं प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’

    सांस्द सापकोटाले आफू र माओवादीले चुनावी प्रतिबद्धताअनुसार काम गरेको दाबी गरे ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको भ्रष्ट सरकारले गरेको कुकर्मको भण्डाफोर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

    पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेको कामलाई जनताकहाँ पु¥याउँदै संगठन निर्माणमा लाग्न पनि उनले आग्रह गरे ।

  • स्थानीय तह उपनिर्वाचनमा माओवादीले जितेपछि मोरङको ग्रामथानमा धन्यवाद दिन पुगे प्रचण्ड

    स्थानीय तह उपनिर्वाचनमा माओवादीले जितेपछि मोरङको ग्रामथानमा धन्यवाद दिन पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोरङको ग्रामथान गाउँपालिकामा पुगेका छन् । ग्रामथान ५ तेतेरियामा बृहत् जनसभालाई सम्बोधन गर्न प्रचण्ड पुगेका हुन् ।

    नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा अहिले जारी छ।

    गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए ।

    २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएपछि मतदातालाई धन्यवादज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक ग्रामथाम पुगेका हुन् ।

  • गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ: प्रचण्ड

    गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।

    रंगशालाको अनुगमनपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको भन्दै सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताए।

    उनले भने, ‘राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मेरो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको हो। पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो।’

    आफू प्रधानमन्त्री भएको बेलामा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट अघि बढाइएको बताए।

    उनले सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको पनि जानकारी गराए ।

  • विराटनगर आएका प्रचण्डको बास छोरीज्वाइँको घरमा- भोलि बिहानदेखि साँझसम्म यस्तो छ सेड्यूल

    विराटनगर आएका प्रचण्डको बास छोरीज्वाइँको घरमा- भोलि बिहानदेखि साँझसम्म यस्तो छ सेड्यूल

    विराटनगर । मोरङमा हुने कार्यक्रममा सहभागी हुन विराटनगर आएका माओवादीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरी ज्वाईकामा बासेका छन् । शुक्रबार साँझ विराटनगर आइपुगेका प्रचण्ड पार्टीका केन्द्रीय सदस्य समेत रहेका कान्छा ज्वाई जीवन आचार्यको घरमा बास बसेका हुन् ।

    प्रचण्ड आज कान्छी छोरी र नातिनीसहित आएका हुन् । आचार्यको घर विराटनगर–१ पोखरियामा रहेको छ । छोरी र नातीनीसहित आएका प्रचण्डले शनिबार बिहान ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म मनिङवाक गर्ने कार्यक्रम छ ।

    उक्त कार्यक्रम सकेर प्रचण्ड विराटनगर १ मै रहेको पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा नास्ता खाने र बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम छ ।

    यस्तै १० बजेदेखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।

    यस्तै १२ः३० बजे खाना खाएर ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

     

  • बार काउन्सिलमा एमाले-माओवादी गठबन्धन, नेपाल बारको निर्वाचनका लागि ‘मत सर्वेक्षण’

    बार काउन्सिलमा एमाले-माओवादी गठबन्धन, नेपाल बारको निर्वाचनका लागि ‘मत सर्वेक्षण’

    काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचनको ‘मत सर्वेक्षण’ मानिने नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद) को निर्वाचनमा एमाले र माओवादीनिकट कानून व्यवसायीको तालमेल भएको छ ।

    हालै सम्पन्न सर्वोच्च बारको निर्वाचनमा समेत तालमेल गरेका एमालेनिकट पिपिएलए र माओवादीनिकट आरपीएलएबीच बार काउन्सिलमा पनि तालमेल भएको हो । यसले आगामी चैतमा हुने नेपाल बारको निर्वाचनको सम्भावित समिकरण समेत प्रष्ट पारेको छ ।

    करीव ११ हजार मतदाता रहेको बार काउन्सिलको लागि माघ २६ गते शनिवार देशभर मतदान हुँदैन । सातवटा प्रदेशबाट एकजनाको दरले काउन्सिलमा ७ जना निर्वाचित हुने व्यवस्था छ ।

    तालमेल अनुसार एमालेनिकट पिपिएलएले ५ प्रदेशमा नेतृत्व पाएको छ भने माओवादीनिकट आरपीएलएले २ प्रदेशमा पाएको छ । माओवादीले लुम्बिनी र सुदूरपश्चिममा पाएको हो ।

    उता कांग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपीएलएबीच गठबन्धन हुने भने पनि कांग्रेसले कतै पनि छाड्न नमानेका कारण एसनिकट वकिलहरुको उम्मेदवारी परेको छैन ।

    निर्वाचन समितिका अनुसार कोशीमा वाम गठबन्धनबाट पिपिएलएका बालकृष्ण आचार्य र डिएलएका राजु ढकाल उम्मेदवार बनेका छन् । त्यस्तै मधेशबाट पिपिएलएका ओमप्रकाश केशरी र डिएलएका संजीवकुमार मल्लिक प्रतिस्पर्धामा छन् ।

    वागमतीमा पिपिएलएका रविनारायण खनाले डिएलएका पर्शुराम कोइराला उम्मेदवार छन् भने गण्डकीबाट पिपिएलएका नारायणप्रसाद आचार्य र डिएलएका दयाराम गौतम उम्मेदवार छन् ।

    लुम्बिनीबाट वाम गठबन्धनका मदनकुमार पुन र कांग्रेसका इश्वरी प्रसाद ज्ञवाली उम्मेदवार छन् भने कर्णालीबाट वाम गठबन्धनका मातृका प्रसाद खनाल र कांग्रेसका दमनराज बम छन् । सुदूरपश्चिमबाट वाम गठबन्धनका निरन्जन विष्ट र कांग्रेसका टेकवहादुर कठायत भिड्दैछन् ।

    बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्छ । लाइसेन्सप्राप्त नविकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन् । यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुन्छन् । सबैभन्दा धेरै मतदाता बागमतीमा रहेकाले बागमतीको परिणामलाई महत्वका साथ हेरिएको छ ।

    बार काउन्सिलको निर्वाचनले नेपाल बारको आगामी निर्वाचन परिणामको संकेत गर्न सक्ने वकिलहरु बताउँछन् ।यसपटक नेपाल बारमा पनि एमाले र माओवादी मिलेर पुनरागमन गर्ने प्रयासमा छन् ।

    अघिल्लो निर्वाचनमा कांग्रेस,माओवादी,नेकपा एसलगायत मिलेका थिए भने एमालेनिकट वकिलहरु एक्लै प्रतिस्पर्धामा थिए । यसपटक वामपन्थी मिलेर बारमा कमब्याक हुने छलफल चलिरहे पनि एमाले र कांग्रेस नेतृत्वले भने सत्तापक्षकै वकिलहरुबीच तालमेल होस् भन्ने चाहेको छ ।

    बारमा एक्लै जित्ने संख्या रहेको दावी गरिरहेको कांग्रेसले एमालेलाई नेतृत्व दिने अवस्था कम छ । त्यो अवस्थामा माओवादी पक्षले एमालेलाई अध्यक्ष मानेर गठबन्धन बनाउने अवस्थामा वाम तालमेल हुने बताइएको छ ।

    एमालेनिकट पिपिएलएबाट अध्यक्षको उम्मेदवारमा पूर्व उपाध्यक्ष टिकाराम भट्टराईको नाम आएको छ भने माओवादी पक्षबाट पूर्व महासचिव रमन श्रेष्ठ दाबेदार हुन् । कांग्रेसनिकट डिएलएबाट पूर्व महासचिव लिलामणी पौडेल,खम्बवहादुर खाती,यदुनाथ खनाल, विजय मिश्रलगायत दाबेदार छन् ।

  • सिंहदरबारमा चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल

    सिंहदरबारमा चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल

    काठमाडौं । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ।

    सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो।

    छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन्।

    छलफलमा संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौँलाले बताए।

    सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।

    सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उनले बताए ।

    उनले भने, ‘हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं । सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा केन्द्रित भएका हौं ।’

    उनले सदनलाई प्रभावकारी ढंगले चलाउने बिषयमा एकमत निर्माण गरेर अगाडि बढ्नेगरी छलफल भएको बताए ।

  • विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

    विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।

    आज ६ विपक्षी दलहरूको बैठक पश्चात् दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो ।

    पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ ।

  • माओवादी नेताहरूको जिम्मेवारी हेरफेर आइतबार टुंग्याइने

    माओवादी नेताहरूको जिम्मेवारी हेरफेर आइतबार टुंग्याइने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ।

    पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको हो।

    सचिव लीलामणि पोखरेलेले बैठकमा कार्ययोजना र कार्यविभाजनाबारे सामान्य छलफल सुरुआत मात्रै नभएको बताए।

    उनले भने, ‘पदाधिकारी बैठकमा कार्ययोजना र कार्यविभाजनबारे सामान्य छलफल सुरुआत भएको छ। ६ गते फेरि बैठक बस्दै छ। त्यस दिन टुंग्याउने भन्ने छ।’

    उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए ।

    उहाँलाई त उपाध्यक्ष बनाउने सहमति भइसकेको भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘उहाँ अहिलेसम्म आमन्त्रित सदस्यको रुपमा सहभागी हुँदै आउनुभएको छ। अहिले कुनै टुंगिएको छैन। अब अर्को बैठकले के गर्छ अहिले भन्न सक्ने अवस्था छैन ।’

    कार्ययोजना र कार्यविभाजनबारे पदाधिकारीहरुको हिजोको बैठकमा सुझाव दिएको उनले बताए । कार्यविभाजन टुंग्याउँदा अखिल क्रान्तिकारीमा उमेर हद लागू भएपछि नेतृत्वको दौडबाट बाहिरिएको नेताहरूको व्यवस्थापनबारे पनि निर्णय गर्नेछ ।

    माओवादीको केन्द्रीय कमिटी बैठकले ६ महिना जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि अर्को ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ।

    केन्द्रीय कमिटीको बैठकमा नेताहरुले पूर्वनिर्धारित बिशेष अधिवेशनमा जानुपर्ने माग राखेपछि अध्यक्ष प्रचण्डले पार्टी सुदृण बनाएर मात्रै महाधिवेशनमा जान उपयुक्त हुने धारणा राखेका थिए।

    (तस्बिर- केही दिनअघि बसेको स्थायी कमिटी बैठक)

  • प्रचण्ड-माधवको जोडबलमा ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    प्रचण्ड-माधवको जोडबलमा ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केही समयअघिबाट जारी छ ।

    मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।

    लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो ।

    बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ सहभागी छन् ।

    यसअघि दुवै दलका शीर्ष नेताहरूको बैठक बसेर मोर्चालाई सक्रिय बनाउने सहमति गरेको थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले सरकार टिकाउने अस्त्रका रूपमा चार दललाई समेटेर मोर्चा गठन गरेका थिए ।

    प्रचण्ड सरकारमै हुँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि सो दल मोर्चाबाट बाहिरिएको छ । यद्यपि, प्रचण्ड-माधवले मोर्चामा फेरि जोड्ने प्रयास जारी राखेका छन् ।

     

  • अग्नि सापकोटाबारे प्रचण्ड- धेरै मेहनत गरेर सभामुख बनाएँ, पेचिलो परिस्थितिमा कार्यसम्पादन गर्नुभयो (भिडिओ)

    अग्नि सापकोटाबारे प्रचण्ड- धेरै मेहनत गरेर सभामुख बनाएँ, पेचिलो परिस्थितिमा कार्यसम्पादन गर्नुभयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको जनप्रतिनिधि अग्नि सापकोटालाई आफूले धेरै मेहनत गरेर अघिल्लो कार्यकालमा सभामुख बनाएको बताएका छन् ।

    सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुखको हैसियतले पेचिलो परिस्थितिमा पनि सफलतापूवर्क कार्यसम्पादन गरेको स्मरण गरे ।

    उनले भने, ‘अप्ठेरो परिस्थितिमा मैले सिन्धु्पाल्चोकको जनप्रतिनिधि अग्नि सापकोटालाई सभामुख बनाउन धेरै मेहनत गरेको हुँ । तपाईंहरुलाई थाहा छ, उहाँले सभामुखको हैसियतले पेचिलो परिस्थितिमा पनि सफलतापूवर्क कार्यसम्पादन गर्नुभयो ।’

    प्रचण्डले प्रतिनिधिसभा सदस्य माधव सापकोटा र प्रदेशसभा सदस्य सरल सहयात्रीले पनि राम्रो भूमिका निर्वाह गरिरहेको भन्दै आफूले सक्दो सहयोग गर्ने बताए ।

  • सरकारको आयुबारे प्रचण्ड- मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ (भिडिओ)

    सरकारको आयुबारे प्रचण्ड- मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी गरेका छन् ।

    सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको बताए । विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए ।

    उनले भने, ‘यो सरकार निरीह, कमजोर र गैरजिम्मेवार हो । हामी सदनबाटै लोकतान्त्रिक तरिकाले विधेयकहरु अघि बढोस् भन्ने चाहन्छौं। सदन बोलाउन हामी विपक्षीहरुले ज्ञापनपत्र पनि बुझाइसकेका छौं ।’

    उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे ।

    उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन । घटनाक्रम तपाईंहरूले देखिराख्नुभएको छ । कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन । हामी गम्भीर रूपमा हेरिरहेका छौं । सरकार आफैंले पनि आयु छोड्याइरहेको छ ।’

  • प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो (भिडिओ)

    प्रचण्डको जिकिर- राष्ट्रपतिलाई धर्मसंकटमा पारेर ओलीलाई प्रधानमन्त्री बनाइयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेबीच भएको सहमतिपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफूले प्रतिनिधिसभामा विश्वासको मत लिएको बताएका छन् ।

    सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार असंवैधानिक ढंगले बनेको दाबी गरे ।

    उनले भने, ‘मैले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार बन्नुपर्ने थियो । तर, उहाँहरूले संविधान मिच्नुभयो । राष्ट्रपतिजी चाहिँ ३ अनुसारको सरकार बनाउन तयार पनि हुनुहुन्थ्यो । कांग्रेसको प्रधानमन्त्री हुनुपर्थ्‍यो । तर, राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो भन्ने मेरो बुझाइ छ । उहाँले थाहा पाएर पनि संविधानअनुसार ३ कै सरकार बन्नुपर्ने हो । त्यसो गर्दा देउवाको नेतृत्वमा सरकार बन्थ्यो ।’

    उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।

  • कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो, पुनलाई पनि जिम्मेवारी दिइने

    कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो, पुनलाई पनि जिम्मेवारी दिइने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताए ।

    उनले भने, ‘आज अध्यक्ष निवास खुमलटारमा दिउँसो दुई बजे बस्ने कुरा थियो । तर, विभिन्न कारणले अब बुधवार बिहान बस्ने कुरा भएको छ ।’

    बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नसक्ने उनले बताए । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय कमिटी बैठकपछि पहिला पटक बस्न लागेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गरेर केन्द्रीय कमिटीको बैठकको निर्णयसहित परिपत्र जारी गर्न तयारी गरेको छ।

    माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ ।

    पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ। पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएको पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षसरहकै कुर्सीमा राखिएको थियो।

    बैठकमा पुन सक्रिय राजनीतिमा आउने कुराको केही नेताहरूले विरोध गरेपछि प्रचण्डले आफूले कारणले नभई व्यक्तिगत इच्छाले पुन आफैँ सक्रिय भएको प्रष्टीकरण दिएका थिए।

    माओवादीले फागुनदेखि ६ महिना ६ महिना पार्टी निर्माणको लागि अभियान चलाउने तर त्यसपछि ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

  • सुदूरपश्चिम दलको विवाद एक साता भित्रै टुङ्गो लगाउने प्रचण्डको आश्वासन, भट्टलाई नेता तोक्ने तयारी !

    सुदूरपश्चिम दलको विवाद एक साता भित्रै टुङ्गो लगाउने प्रचण्डको आश्वासन, भट्टलाई नेता तोक्ने तयारी !

    कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद एक साता भित्रै मिलाउने दाबी गरेका छन् ।

    भर्खरै सम्पन्न भएको केन्द्रीय समितिको बैठकमा पनि दलको विवादका कारण पार्टीमा पनि असर परेको भन्दै माओवादी नेताहरूले ध्यानाकर्षण गराएपछि अध्यक्ष प्रचण्डले अब एक साता भित्रै यो विषय टुङ्गो लाग्ने बताएका थिए ।

    केन्द्रीय समितिको बैठकमा धारण राख्ने सबैजसो केन्द्रीय सदस्यहरूले संसदीय दलको विषय टुङ्गो लगाउन नेतृत्वलाई सुझाव दिएका थिए । केहीले लिखित रूपमा पनि यो विषयमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

    ‘सुदूरपश्चिम संसदीय दलमा विवाद बढ्दै गयो। त्यसले पार्टीमा पनि असर गरिरहेको छ भनेपछि उहाँ (प्रचण्ड)ले एक साताभित्रै यो विषय टुङ्गो लाग्छ भन्नु भएको छ’ बैठकमा सहभागी एक नेताले भने, ‘अध्यक्ष कमरेड यो विषयमा लागिरहनु भएको छ ।’

    शनिवार मात्रै फेरि सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवको नेतृत्वमा गएको एक टोलीले पनि सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विषयबारे अध्यक्ष प्रचण्डलाई फेरि ध्यानाकर्षण गराएको थियो ।

    अध्यक्ष चौधरीसहित, उपाध्यक्ष अक्कल रावल र दीपेन्द्र कुवर, सचिव जनक बुढा, सहसचिव नन्द बहादुर साउद, पालिका अध्यक्षसहितको टोलीले पूर्वप्रधानमन्त्रीलाई सुदूरपश्चिमको पार्टी राजनीति र दलको किचलोबारे थप प्रस्ट पारेका थिए ।

    ‘दल भित्रको विषयबारे दुई पटकसम्म लिखित निर्देशन दिइसकेको छु, अब १ गतेभित्रको अर्को सर्कुलरमा पनि त्यहाँको समस्या समाधान गर्ने गरी निर्देशन जारी हुन्छ’ अध्यक्ष प्रचण्डले भने, ‘एक हप्ताभित्रै यो विषय हल गर्छु मैले भनेकै छु त ।’

    समस्या समाधान गर्न भन्दै प्रचण्डलाई अहिले प्रदेश कमिटीको टोली मात्रै पुगेको भने होइन । केन्द्रीय समितिको बैठक सकिए लगत्तै भूगोलतर्फका केन्द्रीय सदस्यहरूले प्रचण्डलाई भेटेरै दलको विषय टुङ्गो लगाउन आग्रह गरिसकेका छन् ।

    उनीहरूलाई पनि प्रचण्डले छलफलबाटै समस्या समाधान गर्न आफू लागिरहेको बताएका थिए । प्रचण्डले केही टोलीलाई आफूले पटक पटक खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएको भन्दै अब केन्द्रीय समितिको सर्कुलर पठाउँदा त्यो विषय पनि समेटिने बताएका थिए ।

    संसदीय दलका नेता खगराज भट्टलाई अघिल्लो माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    असार ४ गते माओवादीका ११ सांसदहरूलाई ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका थिए । निर्देशन दिएको साता दिनसम्म पनि दलको नेता नफेरेपछि प्रचण्डले फेरि लिखित सर्कुलर पठाएका थिए ।

    असार १३ गते प्रदेश अध्यक्ष र इन्चार्जलाई केन्द्रीय अध्यक्ष र महासचिवले पठाएको सर्कुलरमा वर्तमान संसदीय दलको नेता मानबहादुर धामीबाट गम्भीर त्रुटि हुँदै गएको भन्दै दलको नेतामा स्थायी समिति सदस्य खगराज भट्टलाई बनाउने निर्देशन तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।

    लिखित सर्कुलर पठाएको एक महिनासम्म पनि उक्त निर्देशन कार्यान्वयन नभएपछि भदौ १३ गते धनगढीमा आयोजना गरिएको प्रदेश परामर्श बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो ।

    बैठक समापन भइसकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि उनले भट्टलाई दलको नेता कायम गराउन निर्देशन दिएको भन्दै उक्त निर्देशन कार्यान्वयन गराउन फेरि निर्देशन दिएको जनाएका थिए ।

    सम्बन्धित भूगोलमै आएर दिएको निर्देशन पनि कार्यान्वयन भएको छैन । अहिले प्रचण्ड फेरि नयाँ सर्कुलर जारी गर्ने तयारीमा पुगेका छन्। त्यसका लागि केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यहरूसँग तीव्र छलफल गरिरहेका छन् । उनले आगामी १ गतेभित्रै नयाँ सर्कुलर आउने बताइरहेका छन् ।

  • माधव नेपालको टिप्पणी- ओलीले ०८७ सम्म चुनावै नगरी बसौँला भन्ने सोचेको हुनसक्छ (भिडिओ)

    माधव नेपालको टिप्पणी- ओलीले ०८७ सम्म चुनावै नगरी बसौँला भन्ने सोचेको हुनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चुनावै नगरी ०८७ सम्म बस्न खोजेको टिप्पणी गरेका छन्।

    सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा प्रधानमन्त्री ओली संविधान संशोधनको मुद्दाबाट पछाडि हटेको आफूले पनि सुनेको बताए।

    उनले भने, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला। हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन्। संसद नै भंग गर्ने मान्छेहरु हुन्, अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि थाहा भएन।’

    प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन अब ०८७ मा मात्रै हुने बताएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि सत्तारुढ दल नेपाली कांग्रेस चिढिएको छ।

  • सिंहदरबारमा विपक्षी दलहरुबीचको वार्तापछि प्रचण्डको दाबी- अब ओली सरकार चल्दैन (भिडिओ)

    सिंहदरबारमा विपक्षी दलहरुबीचको वार्तापछि प्रचण्डको दाबी- अब ओली सरकार चल्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने दाबी गरेका छन्।

    सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेको दोहोर्याए।

    भनेपछि यो सरकार फेल हुने बेला भइसकेको हो ?भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘चल्दैन भनिसके त मैले।’

    आजको भेटमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए।

  • प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    प्रचण्ड- माधवलाई भेटेपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया: यो नेतृत्व र व्यवस्थाले देश बन्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर बाहिरिएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अहिलेको नेतृत्व र व्यवस्थाले देश नबन्ने बताएका छन्।

    सिंहदरबारमा भएको भेटपछि बाहिरिने क्रममा सञ्चाकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधन गरेर अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

    उनले भने, ‘यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधान संशोधनको बिषय उठाइरहेका छौं। दुई ठूला दलले संविधान संशोधनको बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’

    उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए।

  • माओवादी र नेकपा एसबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति

    माओवादी र नेकपा एसबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको छ।

    सिंहदरबारमा भएका नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहितको भेटमा मोर्चालाई सक्रिय बनाउने सहमति भएको हो।

    माघ २ गते समाजवादी मोर्चामा भएका चारवटा घटकहरुसँग छलफल गरेर अघि बढ्ने बताए। दुई ठूला सहित विप्लव नेतत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्।

    उनले अन्य पार्टीहरुसँग पनि छलफल चलिरहेको बताए। आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

  • प्रेस सेन्टर रूपन्देही अध्यक्षमा पोखरेल

    प्रेस सेन्टर रूपन्देही अध्यक्षमा पोखरेल

    रूपन्देही । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । आठौं अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् ।

    पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा माया केसी र टंक सुनार, सचिवमा सनु थापा, सह–सचिवमा रीया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् । कार्यसमिति सदस्यमा जगलाल नेपाली, सुनिता चुदाली, रेशम अधिकारी, नेत्र रुचाल, पार्वती थारूलगायत रहेका छन् ।

    सेन्टरको आठौं अधिवेशनले कार्यसमितिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रीय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।

    विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिश्वकर्मा, निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरे, पूर्वअध्यक्ष कमल रायमाझी, जिल्ला इन्चार्ज सरु रानालगायतले बन्दै जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

  • शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ : अध्यक्ष प्रचण्ड (भिडिओ)

    शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ : अध्यक्ष प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन् ।

    बुधवार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेको आरोप लगाए ।

    उनले भने, ‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’

    त्यस्तै, पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बरबाद हुने भयो भन्ने ठाउँमा नपुर्‍याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङ्गो नलाग्ने उनको भनाई छ ।

    उनले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकि अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ । यो विषय कानुनी भन्दा पनि बढी राजनैतिक नै छ । पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बरबाद हुने भयो भन्ने ठाउँमा नपुर्‍याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन ।’

  • पूर्वउपराष्ट्रपति पुनको सक्रियताबारे प्रचण्ड- आफैँले इच्छा राख्नुभएको हो

    पूर्वउपराष्ट्रपति पुनको सक्रियताबारे प्रचण्ड- आफैँले इच्छा राख्नुभएको हो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई व्यक्तिगत चाहनाले नै पार्टीमा सक्रिय भएको प्रष्टीकरण दिएका छन् ।

    केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पुन पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सकृय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी गराए ।

    अन्य नेताहरूको कार्यविभाजन गर्दा पुनलाई पनि जिम्मेवारी दिइने उनले बताए ।

    पुनको सक्रियताको विषयलाई लिएर बैठकमा विभिन्न टिकाटिप्पणी भएको थियो । पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने माओवादीको तयारी छ । उनी बैठकमा पनि उपाध्यक्षकै भूमिका आसिन थिए ।

  • माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

    माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको छ ।

    आइतबारबाट बसेको केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियानपछिको ६ महिना महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

    बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित भएको पनि उनले बताए ।

    उनले केन्द्रीय कार्यालयको आर्थिक प्रस्ताव र केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिएको बताए ।

    बैठकलाई सम्बोधन गर्दै ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गरे ।

    अभियानबाट व्यापकरूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने स्पष्ट गरे ।

    माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

    बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। समितिले चाडै एकता वार्ताको पहल गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको पार्टी रुपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको एतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

  • पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माओवादीमा जनार्दनको प्रस्ताव

    पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माओवादीमा जनार्दनको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

    उनले अध्यक्षलाई हटाउन नभइ बहस सिर्जना होस् भनेर गत बैठकमा आफूले धारणा राखेको बताए ।

    उनले पार्टी निर्माणको लागि माओवादी धारसँग एकता गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए । जारी बैठक आजै सक्ने माओवादीको तयारी छ ।

  • माओवादी बैठक : विशेष महाधिवेशनमा जान वर्षमानको प्रस्ताव

    माओवादी बैठक : विशेष महाधिवेशनमा जान वर्षमानको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने उनले बताए ।

    पार्टी रुपान्तरणको लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेपनि नेतृत्वमा प्रचण्डको विकल्प तयार भइनसकेको उनको भनाइ थियो । माओवादीमा विशेष महाधिवेशनको विषयमा मतभेद भइरहेको छ ।

    यसअघि विशेष महाधिवेशनको प्रस्ताव गरेका अध्यक्ष प्रचण्डले अहिले ६ महिना पार्टी निर्माणको अभियान चलाएर नवौं महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् । त्यसो त अर्का उपमहासचिव जनार्दन शर्मा पनि विशेष महाधिवेशनको पक्षमा छन् ।

    विशेष महाधिवेशनबारे नेताहरूको मिश्रित धारणा आइरहेको हिजोको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका थिए ।

  • माओवादी बैठकमा रञ्जित तामाङले भने- उमेरहद लागेर बिदा भएका नेताबारे अहिले निर्णय गरौं

    माओवादी बैठकमा रञ्जित तामाङले भने- उमेरहद लागेर बिदा भएका नेताबारे अहिले निर्णय गरौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरूले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् ।

    आज तेस्रो दिनको बैठमा क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।

    बैठकमा बोल्दै उनले भने, ‘युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीँबाट न्यायोचित निर्णय गरेर जाउँ ।’

    तामाङले वर्तमान सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङमाथि गर्न लागेको कारबाहीबारे पनि बैठकमा धारणा राखे ।

    ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएमा तत्काल पार्टी सडक संघर्षमा जानुपर्छ,’ उनले भने ।

    अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प पार्टीमा नभएको तर्क अघि सार्दै तामाङले भने, ‘प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो, पार्टी पदाधिकारीमा पनि आशालाग्दा नेताहरू हुनुहुन्छ । उहाँहरूको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । उहाँहरूले धैर्यता गर्नुपर्दछ । माओवादीलाई २०६४ सालमा फर्काउनका लागि पार्टीमा एकता र केन्द्रीकरण जरुरी छ ।’

  • प्रचण्डको प्रस्तावमा ‘सर्वसम्मत धारणा’ आएको भन्दै आजै बैठक टुंग्याउने तयारी

    प्रचण्डको प्रस्तावमा ‘सर्वसम्मत धारणा’ आएको भन्दै आजै बैठक टुंग्याउने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी भएको छ ।

    आइतबारबाट जारी बैठकमा तेस्रो दिनको छलफल जारी छ । बैठकको सुरूमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराएको प्रचण्ड सचिवालयले जनाएको छ ।

    यसअघि बैठक भोलि टुंग्याउने तयारी भएको थियो । बैठकले अध्यक्ष प्रचण्डसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनसँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ ।

    माओवादीलाई अहिले अवसर प्राप्त भएकाले एकताबद्ध भएर पार्टी निर्माणमा जानुपर्नेमा नेताहरू एकमत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    पार्टीले विभिन्न अभियान चलाएर मात्रै महाधिवेशनको मिति तोक्ने तयारी छ । यद्यपि नेताहरूले पूर्वनिर्धारित विशेष महाधिवेशन गर्नुपर्ने कुरा पनि उठाइरहेका छन् ।

    यसबाहेक प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव पाससँग पार्टी निर्माणलगायत पछिल्ला समसायिमक राजनीतिक घटनाक्रबारे पनि बैठकले निर्णय लिने तयारी गरेको छ ।

  • माओवादी बैठकमा प्रस्ताव- नेताहरुले जाँडरक्सी नखाऔं, जुवातास नखेलौं

    माओवादी बैठकमा प्रस्ताव- नेताहरुले जाँडरक्सी नखाऔं, जुवातास नखेलौं

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा नेता कार्यकर्ताहरुले जाँड रक्सी नखाने र जुवा तास खेल्न नहुने प्रस्ताव पेश गरिएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्दै नेता सुदन किराँतीले यस्तो प्रस्ताव राखेका हुन् ।

    उनले योगको विषयमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबाट हटाउन सुझाव दिएका छन् । प्रचण्डको प्रतिवेदनमा नेता कार्यकर्ताहरुले नियमित रूपमा योग र ध्यान गर्नुपर्ने उल्लेख छ ।

    त्यसबारे किराँतीले भने, ‘योग राजनीतिक दस्तावेजमा नराखौं । यो व्यक्तिगत रुचिको अतिरिक्त क्रियाकलाप हो । राख्नु परे फिजियो, मर्निङवाक, मुन्धुमका विजुवा, फेदाङमा धामी-झाँक्रीको कुरा राखौं ।’

  • ३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन, माओवादी बैठकमा उठ्यो व्यवस्थापनको सवाल

    ३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन, माओवादी बैठकमा उठ्यो व्यवस्थापनको सवाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा ३२ वर्षे उमेर हदपछि नेतृत्वको दौडबाट बाहिरिएका नेताहरुको व्यवस्थापनको विषयमा प्रश्न उठेको छ । उमेर हद लागू भएपछि अध्यक्षका दाबेदार अधिकांश नेताहरुसहित ३२ कटेका ६०० क्रान्तिकारी विद्यार्थी नेताको बहिर्गमन भएको छ ।

    अध्यक्षको आकांक्षी इन्द्र भुसाल, मिलन एमसी, जीपी मैनाली, तुकमान महरा, पवन कार्की, केशव रावल, नारायण खनाल, मदन भुल, नरेश शर्मासहितका विद्यार्थी नेताहरु थिए, तर अहिले नेतृत्वको दौडबाट बाहिरिएपछि उनीहरुले आफू निकट नेताहरुलाई आफ्नो भूमिकाबारे प्रश्न गरिरहेका छन् ।

    अध्यक्षका दाबेदार केशव रावल गुट खारेज अभियान चलाइरहेका छन् । वर्षमान पुन र अध्यक्ष प्रचण्ड निकट पवन कार्की, महासचिव देव गुरुङ निकटका मिलन एमसी र जनार्दन समूहका मदन भुल आ-आफ्ना समूहबाट मैदानमा थिए ।

    तर यी नेताहरुको व्यवस्थापन नहुँदासम्म माघ १२ गतेको निर्वाचन पनि अनिश्चित बन्दै गएको नेताहरु बताउँछन् । अध्यक्षका आकांक्षी नेताहरुले आफ्नो राजनीतिक भविष्य सिध्याउन लागेको भन्दै अभियान चलाइरहेको एक नेताले बताए ।

    विद्यार्थीबाट बिदा भएका नेताहरुको उचित व्यवस्थापन नभए फागुनमा हुने भनिएको स्ववियु निर्वाचनमा समेत प्रभाव पर्ने सम्भावना बढेको छ । गत असोज १० देखि १४ सम्म कीर्तिपुरमा चलेको क्रान्तिकारीको बन्दसत्रमा उमेर हदको विषयले प्रवेश पाएपछि विवादले उग्र रुप लिएको थियो ।

    तर पुस १३ गते जिल्ला-जिल्लामा मतदान केन्द्र राखेर मुक्ति प्रधान नेतृत्वको निर्वाचन समितिले उमेर हदबारे छिनोफानो गरेको थियो ।

    अघिल्लो पटक रञ्जित तामाङ अध्यक्षबाट बाहिरिँदा तामाङसहित ७ जना नेतालाई माओवादीले पार्टी केन्द्रमा स्थान दिएको थियो । धुम्बाराहीमा जारी माओवादी केन्द्रको बैठकमा विद्यार्थी नेताहरुलाई उचित जिम्मा दिएर जाने प्रस्ताव गरेको छ । बैठक जारी रहेकाले प्रस्तावबारे कुनै निर्णय भएको छैन ।

    ३२ वर्ष कटेका ६०० क्रान्तिकारी विद्यार्थी बहिर्गमन भएपछि पार्टीको केन्द्रीय कमिटी बैठकस्थलमा प्लेकार्ड प्रदर्शन गर्न पुगेका केही विद्यार्थी नेताहरुलाई फर्काइएको छ ।

  • पूर्वउपराष्ट्रपति पुनको सक्रियताबारे माओवादी बैठकमा बहस- समाजमा सकारात्मक सन्देश गएको छैन

    पूर्वउपराष्ट्रपति पुनको सक्रियताबारे माओवादी बैठकमा बहस- समाजमा सकारात्मक सन्देश गएको छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन फेरि सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नगएको भन्दै विरोध जनाएका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै नेता सुदन किराँतीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको बताए ।

    उनले भने, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउन सक्नुपर्छ । आलोचनाभन्दा माथि राखौं, बरु पाठशाला बनाऔं । १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं ।’

    पुन सक्रिय राजनीतिमा फर्किएर केन्द्रीय कमिटीको बैठकमा पनि सहभागी छन् । उनी अध्यक्ष प्रचण्डसँग उपाध्यक्षको रोमा बसेका छन् । यद्यपि उपाध्यक्ष बनाउने तयारी रहेको भए पनि अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

    प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन राम्रो भए पनि पार्टी धेरै बिग्रिसकेकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको किराँतीले बताए ।

    उनले भने, ‘यो प्रतिवेदन कार्यान्वयन गरेर पार्टीलाई रुपान्तरण र पुनर्निर्माण गर्न सके हाम्रो दुःखको ओरालो यात्रा अन्त्य र सुखको उकालो यात्रा प्रारम्भ हुनेछ । आममान्छेले बुझ्न र भन्न थालेका छन्, प्रचण्ड नेतृत्व सरकारले असल काम गरेको छ, ओली सरकारले खराब काम गरेको छ ।’

    प्रचण्डमा भएको लेनिनभन्दा पनि बढी जनवादी प्रवृत्तिले समग्रमा सकारात्मक परिस्थितिको घनत्व माओवादीको पक्षमा बढाएको उनले जिकिर गरे ।

    उनले थपे, ‘हामीलाई गर्व छ, हामीसँग कुशल नेतृत्व छ । परिस्थिति पनि हाम्रो पक्षमा छ, तर समग्र परिस्थितिको नेतृत्व गर्दै देशको जिम्मा लिन एक अनुशासित र शक्तिशाली पार्टी चाहिन्छ । त्यस्तो पार्टी निर्माणको लागि विचार र विधिको विकास गर्नुपर्छ ।’

    उनले यही बैठकबाट विशेष महाधिवेशनको मिति घोषणा गर्न माग गरे ।

    उनले भने, ‘केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौं । प्रचण्ड नेतृत्वको आवश्यकतालाई फेरि पुष्टि गरौं । एक केन्द्रीय सदस्य एक पालिका र महानगरमा एक वडा लिउँ अभियान परिणाम मुखी बनाउँ ।’

  • काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउन प्रचण्डको यस्तो कार्ययोजना

    काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउन प्रचण्डको यस्तो कार्ययोजना

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा शहरी क्षेत्रमा जनमत बढाउने केही योजना सार्वजनिक गरेका हुन् ।

    काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर छ । प्रचण्डले उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको जगेर्ना गर्ने, सहरीकरणको बसोबास व्यवस्थित बनाउने, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास, फोहोर व्यवस्थापन, खानेपानी र ढल निकासको व्यवस्थामा जोड दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

    यस्तै, सार्वजनिक यातायातको व्यवस्थापन, नदी किनारका बस्तीहरुको व्यवस्थापन, सुकुमबासी समस्या समाधानलगायतका विषय उल्लेख गरेका छन् ।

    माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

  • माओवादी बैठकमा प्रचण्ड- पार्टीमा आन्तरिक एकता कायम हुँदैछ, महाधिवेशनबाट सबै समस्या हल हुन्छ

    माओवादी बैठकमा प्रचण्ड- पार्टीमा आन्तरिक एकता कायम हुँदैछ, महाधिवेशनबाट सबै समस्या हल हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको दाबी गरेका छन् । दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकअघि संक्षिप्त धारणा राख्दै पार्टीभित्र उठेको सबै मतलाई समेटेर अघि बढेको बताए ।

    उनले भने, ‘अहिले पार्टीभित्र आन्तरिक एकता हुँदैछ । सबैलाई समेटेर अघि बढेको छु । जनार्दन शर्मा र हरिबोल गजुरेललगायतको मतलाई पनि सम्बोधन गर्नेगरी प्रस्ताव ल्याएको छु ।’

    उपमहासचिव शर्मासहित पार्टीका अधिकांश नेताहरूले यो बैठकबाट पूर्वनिर्धातिर विशेष महाधिवेशनमा लैजानुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनबाट पार्टीमा नेतृत्व चयनका लागि निर्वाचन प्रणाली स्थापित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    तर, प्रचण्डले पार्टीभित्र समेट्न बाँकी रहेको मतलाई आगामी महाधिवेशनबाट समाधान गर्नेगरी प्रस्ताव ल्याएका छन् । उनले अहिले सबै मिलेर पार्टी निर्माण गर्न एकजुट हुनुपर्ने भन्दै आफ्नो प्रस्ताव कसैको नकारात्मक भाष्य बनाउनेतिर नभएको बताए । उनले अब पार्टीले ६ महिना जनजागरण अभियान चलाएर ९ औं महाधिवेशनको मिति तोक्नुपर्ने बताएका छन् ।

    माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ ।