काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टी एकताको तहसम्मे लैजाने प्रयास जारी राख्नुपर्ने बताएका छन्।
समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारोमा एकता गर्ने पक्षमा भने नरहेको बताए।
उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई लक्षित गर्दै भने, ‘कहिलेकाहीँ कामरेडहरुले मलाई ताकेर नै प्रचण्डले नै अरुची गर्यो कि क्या हो एकतामा भन्ने गर्नुभएको छ। त्यो सत्य होइन। बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन।’
हालै बसेको विप्लव नेतृत्वको नेकपाले प्रचण्डकै कारणले एकतको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको थियो।
उनले कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवजी नेपालको कुरार्ला समर्थन जनाउँदै विचारमा एउटा सीमासम्म एकरुपता नहुँदै, राजनीतिक मुद्दाहरुमा एकरुपता नहुँदै हतारोमा एकता गर्ने पक्षमा पनि नरहेको बताए।
उनले तत्कालिन नेकपाको उदाहरण दिँदै तीतो अनुभवले राम्रो पाठ सिकाएको बताए। उनले थपे, हामीले नेकपा गठन गरेकै हो। तर, त्यसले त झन नराम्रो परिणाम निस्कियो। झन् निराशा बनायो।
उनले अहिले समाजवादी मोर्चालाई नै सुदृढ गर्दै लैजाने पक्षमा रहेको बताए।
उनले थपे, ‘सकेसम्म छिटो फेरि ढिलो गर्ने भन्ने होइन है माधवजी विचार र राजनीतिक मुद्दाहरुमा पनि समझदारी कायम गर्ने र संगठनात्मक सिद्दान्तमा पनि एकरुपता कायम राख्ने कुरामा हाम्रोे ध्यान जानुपर्छ। तपाईंहरुले माओवादी केन्द्र र प्रचण्ड ध्रुवीकरण र एकताको पक्षमा छैन भन्ने कुरा छैन।’
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन अध्यक्ष उम्मेदवारले मतगणना सुरु गर्न माग गरेका छन् ।
उम्मेदवारत्रय हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मतदान भएको बाल्मीकि क्याम्पसमा नै मतगणना हुनुपर्ने माग गरेका हुन् ।
उनीहरुले बाँकी विषय थाँती राख्दै मतदानपश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे संयुक्त सुझाव पनि दिएका छन् ।
रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको रातो मसी कलमद्वारा रेजा लगाइएको मतमात्र गणना गरिनुपर्ने र रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने माग उनीहरुको छ ।
विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणनामा यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । तीन उम्मेदवारले कालो मसी भएको फर्जी मत भएको हुनसक्ने आशंका गरेका छन् ।
अर्का उम्मेदवार विजय सापकोटा भने कालो मसीलाई सदर गर्ने पक्षमा छन् । उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएर उनलाई पछ्याइरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिएका छन् ।
एमालेका अध्यक्षसमेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।
प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।
उनले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराए ।
काठमाडौं । सरकारले ल्याएको अध्यादेशको विषयमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र माओवादीबीच आरोप प्रत्यारोप भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेबीच अध्यादेशको विषयमा सवाल जवाफ भएको हो । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले अध्यादेशको बारेमा बैठकमा कुरा उठाएको पाण्डेले बताए ।
उनले भने, ‘हामीले अध्यादेशको विषयमा कुरा उठाएका छौँ। हामी बाँकी कुरा त सदनमा पनि राख्छौँ नै विपक्षी दलहरूको तर्फबाट, तैपनि सरकारले अध्यादेश किन ल्यायो अहिले भन्ने विषय आजको बैठकमा उठायौँ, मन्त्रीज्यू पूरै समय बस्नुभएन। उहाँले आवश्यकताअनुसार ल्यायौँ भन्नुभयो। तर, सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब सरकार त अध्यादेशबाटै चलाउने हो भन्नुभयो ।’
कांग्रेसका सचेतक घिमिरेले अध्यादेशको पक्षमा बोलेपछि आफूले प्रतिप्रश्न गरेको बताए ।
उनले थपे, ‘यो भन्दा अगाडि त संसद नै विघटन भएको थियो। अहिले पनि ६ वटा त आएकै छ भनेँ, यति थोरै समयमा। उहाँले अब सदनमा विधेयक नआएपछि त अध्यादेश नै ल्याएर चलाउने हो भन्नुभयो। त्यसपछि प्रतिपक्षको तर्फबाट मैले अब सधैँ अध्यादेशबाटै चल्न खोजेको हो ? भन्दै प्रश्न उठाएको छु।’
उनले सदनलाई आफूहरूले आरोप प्रत्यारोपतिर लैजान नचाहेको बताए। उनले सदन र समितिमा नजाने सांसदहरुको हाजिरी सार्वजनिक गर्ने प्रस्ताव गरेको पनि बताए।
पाण्डेले सञ्चारकर्मीहरूसँग बोलेपछि कांग्रेसका प्रमुख सचेतक घिमिरेले आफूले बोकेको कुरालाई बंग्याएर प्रचार गरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘उहाँ (पाण्डे)ले भर्खरै बोल्नुभएको मैले सुनें। तर संसदमा कानून निर्माण गर्ने प्रक्रिया धिमा गतिमा भयो। दुई वर्षको अवधिमा जम्मा ११ वटा कानून मात्रै बनाएका छौँ। अहिले हामीलाई संविधान कार्यान्वयन गर्दै मुलुकलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ। त्यसैले यो ढिलाइ हुने प्रक्रियाको कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो। त्यसकारण हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुपर्छ भन्ने कुरालाई उहाँले अतिरञ्जित गरेर अब अध्यादेशले मुलुक चलाइन्छ भन्नुभयो भनेर बोल्नुभयो। उहाँले नबोल्ने कुरा बोल्नुभयो। यहाँ मात्रै होइन, भित्र पनि बोल्नुभयो।’
उनले कानून निर्माणमा ढिलाइ भएकाले कारणले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले त्यतातिर ध्यान दिनुपर्ने बताए।
उनले अहिलेको अध्यादेश कुनै राजनीतिक रूपमा नभई जनताको समस्या तत्काल समाधान गर्नको लागि आएको बताए। कानून निर्माणको लागि निश्चित समय तोकेरै अगाडि बढ्नुपर्ने बताए।
उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आउने सम्भावना नभएको बताए।
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा मतपत्रमा लागेको कालो र रातो मसी विवाद नटुंगिँदा अझै मतगणना सुरु हुन सकेको छैन ।
विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा लगेर गर्ने सहमति भए पनि मसी विवादको कारणले अहिलेसम्म मत गणना सुरु हुन नसकेको हो ।
यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । अध्यक्षका उम्मेदवार उपदेश यादव, हेमन्त राई, सुदिन पौडेल कालो मसी बदर गर्ने पक्षमा छन् भने विजय सापकोटा कालो मसीलाई सदर गर्ने पक्षमा उभिएका छन् ।
कालो मसी भएको फर्जी मत भएको हुनसक्ने आशंका गरिएको छ । निर्वाचन समितिले मतदानको क्रममा रातो साइन पेन दिएको थियो ।
उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएर उनलाई पछ्याइरहेका छन् ।
तेह्रथुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।
तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेशिने क्रम बढ्दै गएको बताएका हुन् ।
उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकी ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफंै धनि, आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’
साथै उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहेनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरुले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो । हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहेनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोे दृष्टिकोणले अब्बल छ ।’
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिए ।
काठमाडौं । अखिल क्रान्तिकारी विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ ।
मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद चलिरहेको बेलामा पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष केशव रावलले बताए ।
उनका अनुसार बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो ।
पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएको थियो ।
काठमाडौं । माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अवरुद्ध भएको छ ।
मधेशमा गणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकेर चपाइएको विवादलगत्तै उपत्यकाको मतपेटिका पेरिसडाँडा लैजान खोजिएपछि अवरुद्ध भएको हो ।
विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदानस्थल बाल्मिकी क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवादपछि गणना अवरुद्ध भएको हो ।
यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना हुन सकेको छैन । सहमतिपछि आज गणना गर्न लागिएकोमा निर्वाचन समितिले मतपेटिका पेरिसडाँडामा लैजान खोजेपछि विवाद उत्पन्न भएको हो । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान राखेको छ ।
राई पक्षका एक नेताले भने- निर्वाचन समिति वर्षमान पुन र शक्ति बस्नेत समूहसँग मिलेको छ । हेडक्वार्टर (प्रचण्ड)ले पनि हामीलाई सहयोग गरेको छैन । उनीहरूले मतपेटिका पेरिस डाँडामा सार्ने बहानामा बाटोमै गडबडी गर्ने आशंकामा हामीले मानेका छैनौँ ।
अर्को पक्षले भने जनार्दन पक्षधर राई अध्यक्षमा हार्ने निश्चित भएपछि बखेडा सिर्जना गरेर मतगणना रोक्ने वा भाँड्ने खेलमा लागेको आरोप लगाएको छ । मधेशमा पनि जनार्दन पक्षले नै विवाद निकालेको आरोप अध्यक्ष उम्मेदवार विजय प्रकाश सापकोटा पक्षको छ ।
सो पक्षका एक नेताले भने- जनार्दनका उम्मेदवार हार्ने निश्चित भइसकेको छ, त्यसैले गणनामा विवाद निकालेर महाधिवेशन भाँड्ने खेलमा लागेका छन् । यसमा केही पूर्वविद्यार्थी नेता पनि संलग्न छन् ।
उपत्यका र विश्वविद्यालयबाहेकको गणनामा सापकोटाले ४५३ मत पाएका छन् भने राईले ४३० मत पाएका छन् । सुदिन पौडेल र उपदेश यादव भने जितभन्दा निकै टाढा छन् ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् ।
प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् ।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रूपमा मारिएका थिए ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरू उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मङ्गलवार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभा हलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्ति पत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।
जनकपुरधाम । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मतगणना भइरहेका बेला मतपत्रमा पानी फ्याँकिएपछि मधेश प्रदेशको गणना रोकिएको छ ।
मधेश प्रदेशमा एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको थियो । विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप जनार्दन शर्मानिकट विद्यार्थी नेताहरूको छ । सापकोटा शक्ति बस्नेत समर्थित हुन् । तर, सापकोटा पक्षले भने हेमन्त राई पक्षले मतपत्र च्यात्न खोजेको र नसकेपछि पानी फालेको आरोप लगाएको छ ।
मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षका उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरू सहभागी छन् । कार्यक्रममा पत्ररकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन् ।
यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) ले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थिति: प्रमुख निष्कर्ष र सुझावहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरूको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन् ।
यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दल: चुनौतीहरू र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरूको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरूलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।
कार्यक्रममा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग, मध्य पहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाण्डौं तराई एक्सप्रेस वे (फास्ट्रयाक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलाशाययुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।
विराटनगर । प्रेस सेन्टर नेपाल काेशीको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।
विराटनगरमा भएको तेस्रो अधिवेशनमा राईले ४१ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नवराज कट्टेलले ३६ मत प्राप्त गरे । यसअघि प्रदेश उपाध्यक्ष रहेका राईले कट्टेललाई ५ मतान्तरले पछि मात्रै जित हासिल गरेका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लावती, महासचिवमा गोकुल पराजुली, सचिवमा ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा र कोषाअध्यक्ष झुलन रेग्मी निर्विरोध चयन भएका छन् ।
समितिको सदस्यमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आईपी भट्टराई, नवीन सुनाम र दीपक अधिकारी निर्विरोध निर्वाचित भए ।
निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए ।
रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफू पुगेको संकेत गरेका छन् ।
दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक आफूले नराम्रोसँग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।
सरकारमा जान हतारो नभएको भन्दै उनले आफू जनताको बिचमै रमाइरहेको दाबी गरे ।
‘पछिल्लो चोटी नराम्रो धोका खाएँ मैले र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’, प्रचण्डले भने, ‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाइमा पुर्याउने संकल्प लिएको छु ।’
माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ट बन्न सफल भएको बताउँदै उनले काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे ।
प्रचण्डले आफू सरकारमा हुँदा र सरकारबाट बाहिरिँदा पनि निरन्तर जनताको पक्षमा जोडिरहेको बताए ।
‘सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘सरकार होइन, म जनतासँग रमाइराखेको छु ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई दलाल, बिचौलिया र भ्रष्ट तत्वको संज्ञा दिएका छन् ।
दाङमा पार्टीको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले एकातर्फ भ्रष्ट तत्वहरु अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको बताए ।
उनले भने, ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं । यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो । हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं । आवश्यक पनि अहिले देखिएको छैन । शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ ।’
प्रचण्डले जनतामा देश बनाउने माओवादी नै हो भन्ने बुझेर पार्टी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गरेर एकताबद्ध हुने प्रक्रिया सुरु भएको बताए ।
उनले माओवादीहरु भनेको जनताका छोराछोरी भएको दाबी गर्दै हिजो जनयुद्धमा जस्तै आत्मसमीक्षा गरेर अघि बढ्ने संकल्प गरेको बताए ।
काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्र सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। निर्धारित समयभन्दा केही समय ढिलोगरी मतदान देशैभरि सुरु भएको इन्चार्ज हिमाल शर्माले बताए।
अध्यक्षका लागि ४ जना मैदानमा छन्। उपदेश यादव, विजयप्रकाश सापकोटा, हेमन्त राई र सुदिन पौडेल प्रतिस्पर्धामा छन्।
उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा चलिरहेको छ भने अन्य प्रदेशको प्रदेशस्तरमै मतदान चलिरहेको छ।
निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक गरी ३३ पदाधिकारी निर्वाचित हुनेछन्। मतदान बेलुका ६ बजेसम्म चल्ने जनाइएको छ।
रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् ।
प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिको बलमा माओवादी चुनाव लड्ने बताए ।
‘उपचुनावले माओवादीलाई उकालोबाटो तर्फ लगेको छ । बैशाखी टेक्ने जात होइनझउनले भने(ञअबको चुनावमा कसैको बैशाखी टेक्दैनौं । माओवादी आफ्नै शक्तिमा उभिन्छ ।’
कांग्रेस, एमालेको बीचमा सत्ता समीकरण अप्राकृतिक भएको उनले जिकिर गरे । ‘म्याजिक नम्बर मैले भनेकै हो । पहिलो र दोस्रो दल मिलेर सरकार बन्छ भन्ने लागेको थिएन’उनले भने,’यो अप्राकृतिक गठबन्धन हो ।’ माओवादी प्रतिपक्षमा पुग्दा जनलहर छाएको दावी गरे ।
‘लहर मैले देख्दै छु । ०८४ मा पहिलो दल बन्छ’उनले भने,’अवको म्याजिक नम्बर भनेको माओवादीको बहुमत हो ।’
सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मुल मुद्दा प्रतिपक्षमा हुँदा पनि प्राथमिकतामा रहेको प्रचण्डले बताए । ०८४ सम्म एमालेसंग समीकरण बनाउने सम्भावना नरहेको उनले दाबी गरे ।
‘सरकारको बारेमा रुचि छैन । तर, यो सरकार आफ्नै भारीले थिचिएर जान्छ । सरकारको बारेमा कांग्रेसभित्रबाट आलोचना सुरु भएको छ । एमालेभित्र उकुसमुकुस छझउनले भने,’सरकार लामो समय जान्न हेर्दै गर्नुहोला ।’
प्रचण्ड दुई दिनयता दाङका विभिन्न कार्यक्रममा सहभागी छन् । आजै उनी देउखुरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र उपमहासचिव शक्ति बस्नेतको छुट्टै समूह जन्मिएको छ । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि बस्नेतले छुट्टै समूह निर्माण गरेका हुन् ।
बस्नेत क्रान्तिकारीको शनिबार हुने निर्वाचनका लागि उम्मेदवार नै खडा गरेर मैदानमा आएका छन् । उनले बागलुङका विजयप्रकाश सापकोटालाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।
बस्नेतले अन्य पदाधिकारीमा समेत प्यानल बनाएको क्रान्तिकारीका नेताहरु बताउँछन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री भएका बेला उपस्वकीय सचिव रहेका उपदेश यायवलाई अध्यक्षमा अघि सारेका छन् ।
उपमहासचिव वर्षमान पुनले सुदिन पौडेल र अर्का उपमहासचिव जनार्दन शर्माले हेमन्त राईलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । उपाध्यक्ष कृष्णबहादुर महराका उम्मेदवार योगेन्द्र बुढा र महासचिव देव गुरुङका उम्मेदवार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बस्नेत भित्रभित्रै गुटगत राजनीतिमा सक्रिय हुने गरे पनि उनको आफ्नै गुट भने थिएन । माओवादी शान्ति प्रक्रियामा आउने समयमा उनी कृष्णबहादुर महरा समूहमा थिए । ०६४ को संविधानसभा निर्वाचनको मुखमा बस्नेतले नेक्रविक्रम चन्दलाई साथ दिए ।
त्यतिबेला चन्दले पार्टीका सिनियर नेतामध्ये आधा संविधानसभामा र आधा जनतामा रहनुपर्ने भन्दै चुनाव नलड्ने नीतिको पैबरी गरेका थिए । चन्दको लाइनमा उभिएर उनले पनि चुनाव लडेनन् । निर्वाचनमा माओवादी ठूलो दलका रुपमा उदायो ।
प्रचण्ड प्रधानमन्त्री भए । सत्तामा नजाने नीति परिवर्तन गरी उनी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भए । संविधानसभामै नजाने अडानमा रहेका बस्नेतलाई प्रधानमन्त्रीको सल्लाहकारमा महराले सिफारिस गरेका थिए ।
तर, ०७० को दोश्रो संविधानसभा निर्वाचनमा उनी गृहजिल्ला जाजरकोटबाट उम्मेदवार भए र जिते । संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारमा बस्नेत शक्तिशाली गृहमन्त्री बन्न सफल भए । त्यसको पृष्ठभूमिमा महरा थिए ।
सैन्य–राजनीतिक जिम्मेवारीमा रहेका वर्षमान पुन र जनार्दन शर्मा छिमेकी जिल्ला (रोल्पा–रुकुम) का मात्र थिएनन्, गुटगत राजनीतिमा पनि सँगै थिए । जब अखिल क्रान्तिकारीको अध्यक्षमा शर्माले कान्छा भाई अनिल शर्मालाई अघि सारे तब पुन र उनको सम्बन्ध चिसिएन मात्र, केही समय उनीहरुको सम्बन्ध नदीको दुई किनाराजस्तो भयो । यो डबल नेकपा बन्नुअघिको कुरा थियो । ठीक त्यतिबेला बस्नेत पुनसँग नजिकिए ।
निकट कार्यकर्तासँग उनीहरु भन्थे, ‘राजनीतिक रुपमा हाम्रो बीचमा पहिल्यै कुरा मिल्थ्यो, शर्माका कारण सँगै हुन पाएका थिएनौं ।’ पार्टीमा पुन सचिव हुँदा बस्नेत स्थायी समिति सदस्य थिए । नेकपाको सरकारमा जानबाट शर्मालाई रोकेर पुन र बस्नेत दुवै मन्त्री भए ।
पुन ऊर्जा र वस्नेत वन तथा वातावरणमन्त्री थिए । हरेक निर्णय लिँदा बस्नेत पुनको सल्लाह लिन्थे । उनीहरुबीच बाक्लो कुराकानी हुन्थ्यो । यो क्रम नेकपा विभाजनपछि पनि रह्यो । केही महिनाअघिसम्म उनीहरु सँगै थिए । तर, विद्यार्थी संगठनको नेतृत्वबारे कुरा नमिलेपछि बस्नेतले छुट्टै समूह बनाए । यद्यपि आफ्ना उम्मेदवार सापकोटालाई पार्टी ‘हेडक्वार्टर’ (प्रचण्ड) को समर्थन रहेको भन्दै उनले प्रतिनिधि र पार्टीका तेश्रो तहका नेताहरुसँग भोट मागिरहेका छन् ।
बस्नेतलाई क्रान्तिकारीका पूर्वअध्यक्षहरु हिमाल शर्मा, पञ्चा सिंह, पूर्वमहासचिव बिन्दमान विष्ट र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतले सहयोग गरिरहेका छन् । विगतमा शर्मा उपाध्यक्ष महरा, सिंह जनार्दन शर्मानिकट मानिन्थे । शर्मा महरा अर्थमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । बस्नेत गृहमन्त्री भएका बेला स्वकीय रहेका विष्ट हाल कर्णाली प्रदेशसभा सदस्य छन् ।
काठमाडौं । माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।
अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका थिए । उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी दिएका हुन् ।
यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल उपमहासचिव वर्षमान पुन, राई अर्का उपमहासचिव जनार्दन शर्मा, बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र थापा महासचिव देव गुरुङका उम्मेदवार हुन् ।
अन्तिम नामावली प्रकाशन गर्नुअघि महासचिव गुरुङका उम्मेदवार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले कसलाई समर्थन गर्छन् भन्ने खुलेको छैन । शर्माका उम्मेदवार राई तत्कालीन पर्यटनमन्त्री सुदन किरातीका स्वकीय सचिव र श्रेष्ठका उम्मेदवार यादव नारायणकाजी गृहमन्त्री हुँदा उनका सहायक स्वकीय सचिव हुन् ।
श्रेष्ठ, पुन, शर्मा र बस्नेत समर्थित उम्मेदवारले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्यानलै बनाएका छन् ।
प्रचण्डको हात तीनतिर
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र र बाहिर दुवैतिर एकविरुद्ध अर्कालाई खेलाउने नेताको छवि बनाएका छन् । विगतमा उनले मोहन वैद्य र बाबुराम भट्टराईको बीचमा अन्तर्विरोध पैदा गराएर खेले । जब वैद्य पार्टीबाट बाहिरिए तब उनले नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई भिडाए । ०७२ मा संविधान जारी भएपछि नयाँ शक्तिको नारा लिएर बाबुरामले माओवादी छाडे ।
त्यसपछि उनले दोश्रो पुस्ताका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई खेलाए । पार्टी सत्ता र राजकीय सत्ता दुवैमा उनले कहिले वर्षमान र कहिले जनार्दनलाई काँध दिए । पार्टी नेताहरुका बीचमा चलखेल गर्नुलाई त सबैले सामान्य रुपमै लिएका थिए ।
हुँदाहुँदा उनी पार्टीका करिब तीन दर्जनमध्येको एक विद्यार्थी संगठनका नेताहरुका बीचमा खेलिरहेका छन् । जबकि क्रान्तिकारीका अध्यक्षका आकांक्षी सबै प्रचण्डका नाति पुस्ताका छन् ।
३२ उमेर दह लगाएर पुराना विद्यार्थी नेता सबैलाई बिदा गरेपछि पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहे । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार छन् ।
चुनाव घोषणाअघि प्रचण्डले अध्यक्षका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत रुपमा चिन्दैनथे । जब चुनाव हुने भयो तब नेताहरुले आ–आफ्ना उम्मेदवार प्रचण्डकहाँ लगेर भेटाउन थाले ।
पछिल्लो समय उनले अध्यक्षका तीन उम्मेदवार पुननिटक पौडेल, शर्मानिकट राई र बस्नेतनिकट सोपकोटालाई एक्लै बोलाएर ‘मेरो उम्मेदवार तपाईं हो है लाग्नूस्’ भनेका छन् । प्रचण्डको आश्वासन पाएका तीनै जना आफूलाई ‘हेडक्वार्टर’ को साथ रहेकामा ढुक्क छन् ।
२४ सय प्रतिनिधिसम्म उनीहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आफू नै ‘हेडक्र्वाटर’ को आधिकारिक उम्मेदवार भएको सन्देशसहित भोट मागिरहेका छन् । एक्ला–एक्लै भेट्दा तीन जनालाई बचन दिए पनि प्रचण्डले आफ्नो उम्मेदवार को हो भन्नेबारे मतदानको एक दिनअघिसम्म खुलाएका छैनन् ।
‘काका’ समूहले हल्ला गर्दा ‘भतिज’हरुमा तरंग
अखिल क्रान्तिकारीमा पछिल्लो समय ‘काका’ र ‘भतिज’ समूह भन्ने चर्चित छ । ३२ वर्षे उमेरहद लागेर संगठनबाट बिदा भएकाहरुलाई त्यस मुनिको उमेर समूहले ‘काका’ समूहको संज्ञा दिने गरेको छ । आफूहरुलाई उमेरहद लगाएर बिदा गर्न भूमिका खेलेको भन्दै ‘काका’ समूह ‘भतिज’ समूहसँग आक्रोशित छ । उपमहासचिव बस्नेतले उम्मेदवार बनाएका सापकोटा अन्तिम समयसम्म उमेर हद लगाउन नहुने पक्षमा थिए ।
त्यसबाहेक चारैजना उमेर हदका पक्षमा उभिएका हुन् । उमेर हदमा सबैभन्दा उग्र अध्यक्षका उम्मेदवार पौडेल र राई समूहबाट महासचिवकी उम्मेदवार तृष्णा हमाल थिए । पौडेल र हमालसँग बदला दिन ‘काका’ समूहले शुक्रबार अन्तिम नामावली प्रकाशन हुनुभन्दा केही घण्टाअघि पौडेल र हमालको नाममा निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ताको निवेदन दर्ता गरायो ।
‘काका’ समूहका नेता पूर्वउपाध्यक्ष केशव रावल निवेदन लिएर आफैं निर्वाचन समितिमा गएका थिए । निर्वाचन समिति संयोजक मुक्ति प्रधानले पौडेल र हमाललाई फोन गरेर उम्मेद्वारी फिर्ता गरेको हो वा होइन भन्ने बुझ्न खोजे ।
उनीहरु दुवैले आफूहरुको उम्मेदवारी कायम रहेको र उक्त पत्र फर्जी भएको बताएपछि उम्मेदवारी फिर्ता भएन । लगत्तै पौडेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । ‘मैदानबाट डराएर केही साथीहरुले नक्कली हर्कत गर्दैछन् । मैले मेरो उम्मेदवारी कायम राखेको छु’, पौडेलले लेखेका छन्, ‘केही साथीहरुले नक्कली निवेदन लिएर गएर निर्वाचनमा बुझाएकाले म निर्वाचन कार्यलयमा जाँदैछु ।’
पौडेलले निर्वाचन समितिमा उपस्थित भएर निवेदन नक्कली भएको बताएपछि अन्तिम नामावलीमा उनको नाम प्रकाशित गरिएको छ । यसअघि महासचिवमा उम्मेदवारी दिएका रोशन खड्काको नाम खुला उपाध्यक्षमा आएपछि चर्को विरोध भएको थियो ।
उपमहासचिव बस्नेतले आफ्ना उम्मेदवार सापकोटालाई जिताउन महासचिव उम्मेदवार फेर्ने रणनीतिअन्तर्गत खड्कालाई उपाध्यक्षमा ल्याएर महासचिवमा अर्कै उम्मेदवारलाई समर्थन गर्न खोजेको आरोप पुन–शर्मा समूहका नेताहरुले लगाएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन्।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वम्ले नभनेको भएपछि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे। उनले ओली सरकार असंवैधानिक भएको दोहोर्याए।
उनले भने, ‘मैले विश्वासको मत पाउदिन भन्ने त प्रष्टै थियो। तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिए। उहाँले गर्ने विश्वास दिनुभएको हो। अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो।’
उनले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्नसक्ने अवस्था नै नरहेको बताए।
उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई। तर, कांग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन। कांग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन। नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यो गठबन्धन बन्ने भएन। मैले सुनेको, कांग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरुले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं भनेपछि धर्मसंकटमा पर्नुभयो। कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङ पुगेर सहिद परिवारको घरमा खाना खाएका छन्।
प्रचण्डसहित पूर्वमन्त्री रेखा शर्मासहितका नेताहरूले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्।
प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएको प्रचण्ड सचिवालयले जनाएको छ।
युद्धकालमा चौधरीको यो परिवारले छ जना सदस्य गुमाएको थियो। उनले त्यसक्रममा माओवादीले ‘जनयुद्धमा उठाएको मुद्दा छाड्दा अहिले पार्टी कमजोर भएको बताए। उनले विगतका गल्तीको आत्म समीक्षा गर्दै जनयुद्धकालमा अगाडि सारेको माग र मुद्दा लिएर जनतामा फर्किएको बताए।
प्रचण्डले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ।
प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौँ फर्कने तय भएको छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) यतिखेर नयाँ नेतृत्व चयनको प्रक्रियामा जुटेको छ । भोलि (माघ १२ गते) केन्द्रीय कमिटी छान्न मतदान तोकिएको छ ।
क्रान्तिकारीको नेतृत्व हत्याउन ६ जना मैदानमा देखिएका छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले उम्मेदवारी दिएका छन् ।
अखिल क्रान्तिकारीको सांगठानिक इतिहासमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको छ । एक दशकभन्दा बढी संगठनमा बिताएका रौतहट परोह नगरपालिकाका उपदेश यादवले आफूलाई अध्यक्षको दाबेदारका रूपमा उभ्याउँदै १७ संकल्प प्रस्तुत गरेका छन् ।
इन्जिनियरिङका विद्यार्थी यादवले नेपाल प्रेससँग भने, ‘संयोगले अध्यक्षमा मेरो उम्मेदवारी अखिल (क्रान्तिकारी) को इतिहासमा पहिलो मधेसी समुदायको उम्मेदवारी बन्न पुगेको छ । मलाई लाग्छ यो मेरो र मधेसी समुदायको जीवनमा मात्र हैन संगठनकै जीवनमा पनि एउटा इतिहास रचना गर्ने समय हो । यसकारण पनि प्रतिनिधि साथीहरूसँग विशेष अनुरोध गर्दछु ।’
अहिलेसम्म प्राविधिक शिक्षामा रोजगार र सीप जोडिन नसकेको भन्दै शिक्षालाई उत्पादनसँग, उत्पादनलाई रोजगारसँग साथै रोजगारलाई समृद्धिसँग जोड्न आफ्नो उम्मेदवारी भएको उनले सुनाए ।
‘विश्वविद्यालय शिक्षा अनुसन्धानमुखी छैन । नेपाली समाजका मूल्य मान्यता परम्परा र आवश्यकता अनुसार खोज अनुसन्धानतिर केन्द्रित गर्नुपर्नेछ’, उनले भने ।
विद्यार्थी आन्दोलनको औचित्य अझै बाँकी छ ? भन्ने प्रश्नमा यादवले भने, ‘यस्तो किमार्थ हुन सक्दैन । दुनियाँले सुन्ने, बुझ्ने र थाहा पाउने गरी हामीले हुंकारका साथ भन्न सक्नुपर्दछ – जुनदिनसम्म नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका समस्या समाधान हुँदैनन्, त्यसदिन सम्म विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुँदैन । तर, हामीले इतिहासको कठाघरामा उभिएर निर्मम समीक्षा गर्नैपर्दछ । यसबीचमा कतै हामी अलमलमा त परेनौं ? कतै हामी अकर्मण्यतामा त फसेनौं ? कतै हामीले हाम्रा मुद्दा र कार्यसूची त भुलेनौं ? कतै बदलिएको परिस्थितिमा आफूलाई बदल्न त चुकेनौं ? हो त्यही जवाफ खोज्न सबैको साथ खोजेको हुँ ।’
उमेर हदको नीतिले क्रान्तिकारी वास्तविक विद्यार्थीको साझा चौतारी बन्न पुगेको यादवले बताए ।
यादवले आफ्नो संकल्प यी बुँदामा प्रस्तुत गरेका छन्-
– आफनै भवन सहितको स्मार्ट कार्यालय बनाउने ।
– कार्यकाल भित्र कम्तिमा १० लाख सदस्य बनाउने ।
– संगठनका सदस्यता, दस्तावेज, गतिविधि लगायत सम्पूर्ण अभिलेख लाई डिजिटलाइज्ड गर्ने ।
– संगठनका सम्पुर्ण कामलाई क्यालेण्डर प्रणाली वनाई लागू गर्ने ।
– हरेक तहका सम्मेलन अवधि पुगेपछि हरहालतमा गर्ने / गराउने ।
– संगठनको तहगत स्कुलिङ्गको पाठ्यक्रम वनाई लागू गर्ने ।
– विधि र विधान अक्षरश पालना गर्ने ।
– जहां विद्याथी त्यहां संगठन, जहाँ संगठन त्यहां सङ्घर्ष र कार्यक्रम ।
– प्रदेश र विश्वविद्यालयलाई आधार वनाई अखिल (क्रान्तिकारी) लाई महासंघीय ढांचामा लैजान पहल गर्ने ।
– शिक्षा क्षेत्रमा मेरिटोक्रेसि लागु गर्न अगुवाइ गर्ने ।
– हरेक सदस्यलाई उत्पादनसंग जोड्ने र पार्टटाइम रोजगारीका लागि सङ्घर्ष गर्ने ।
– संगठनलाई भ्रष्ट्राचार विरुद्ध र सुशासन कायम गर्न अग्रदस्ताको रुपमा उभ्याउने ।
– अपारदर्शी आर्थिक प्रणाली अन्त्य गरी संगठनलाई पुर्ण रुपमा पारदर्शी र मितव्ययी वनाउने ।
– संगठन भित्र पु्र्ण रुपमा विधि, नीति, विधान र संस्थागत निर्णय प्रणाली अवलम्बन गर्ने ।
– अग्रजको सम्मान तथा नयां पुस्ता र प्रतिभाको प्रोत्साहनको संस्कृति आत्मसात् गर्ने ।
– रोजगारमुलक प्राविधिक शिक्षाको पक्षमा सङ्घर्ष गर्ने ।
– राष्ट्रिय स्वाधिनताको पक्षमा अविराम सङ्घर्ष गर्ने ।
यसकारण मेरो उम्मेदवारी
– मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिन अखिल (क्रान्तिकारी)को पुनर्गठन गर्नका निम्ति हो ।
– मेरो उम्मेदवारी नेपाली विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन, उत्तरहरुको विद्यार्थी आन्दोलन वनाउनका लागि हो ।
– मेरो उम्मेदवारी विद्यार्थीका विचवाट विद्यार्थी नेता जन्माउन र विद्यार्थी नेतालाई शिक्षणसंस्था र कक्षाकोठातिर फर्काउनका निम्ति हो ।
– मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो , डरलाग्दो र भरलाग्दो वनाउनका लागि हो ।
– मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोनलाई विद्यार्थी र शैक्षिक मुद्धामा फर्काउनका निम्ति हो ।
– मेरो उम्मेदवारी घिसिपिटे बनिरहेको विद्यार्थी आन्दोनलाई जुरुक्क उठाएर राष्ट्रियता , लोकतन्त्र र समाजवादको पहरेदार वनाउनका निम्ति हो ।
– मेरो उम्मेदवारी नेपाली विद्यार्थी आन्दोलनलाई दवाव, जागरण र खबरदारीको अचुक निशाना वनाउनका निम्ति हो ।
– मेरो उम्मेदवारी शिक्षालाई श्रमसित, श्रमलाई उत्पादन र रोजगारीसित, त्यसलाई समृध्दिसित र समृध्दिलाई समाजवादसित जोड्ने प्रणाली वहालीका लागि हो ।
– मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा , स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्नका लागि हो ।
– मेरो उम्मेदवारी राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गराउन र अविलम्ब नयां शिक्षा ऐन जारी गराउनका लागि हो ।
– मेरो उम्मेदवारी विद्यार्थीलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगार वनाउने अभियानका निम्ति हो ।
– मेरो उम्मेदवारी संगठन र पार्टी आन्दोलनमा मधेसलाई जोडेर पहिलो संगठन र पहिलो पार्टी वनाउने अभियानमा टेवा पुर्याउनका निम्ति समेत हो ।
क्रान्तिकारीमा यस्तो छ यादवको इतिहास
– २०६७ सालमा उपत्यका स्थित अखिल (क्रान्तिकारी) एन.सि.आई.टी. कलेज मूल इकाई कमिटी सदस्य ।
– सोही कमिटीको दुई कार्यकाल उपाध्यक्ष हुंदै २०७० सालमा अध्यक्ष ।
– २०६९ सालमा अखिल (क्रान्तिकारी) पोखरा वि.वि काठमाण्डौ उपत्यका जिल्ला सदस्य हुंदै २०७२ सालमा सचिव ।
– २०७३ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (क्रान्तिकारी) ।
– २०७६ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (एकता भएको वेला) ।
– २०७७ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (क्रान्तिकारी) ।
– २०७७ मा सहसंयोजक, अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय समन्वय समिति ।
– २०७८ विद्यार्थी विशेष जिल्ला / महाशाखा समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ।
– २०८० मा सचिव, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति ।
काठमाडौं । शनिवारका लागि तय भएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय समितिको नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा रितपूर्वक र विधिसम्मत नभएको भन्दै २० उम्मेदवारको उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन समितिले केन्द्रीय समिति सदस्य, निर्वाचन आयोग सदस्य तथा अनुशासन आयोग सदस्यमा उम्मेदवारी दिएका २० जनाको उम्मेदवारी रितपूर्वक र विधिसम्मत नभएको भन्दै रद्द गरेको हो ।
उम्मेदवारी रद्द हुनेमा सबैभन्दा बढी १७ जना केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् भने एक जना सचिवालय सदस्यका उम्मेदवार रहेका छन् । यस्तै एक जना निर्वाचन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् भने अर्का अनुशासन आयोगका सदस्य पदका उम्मेदवार रहेका छन् ।
निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारमाथि दाबी विरोधको सूचना जारी गरेकोमा २९७ वटा दाबी विरोधको उजुरी परेकोमा त्यसमाथि जाँचबुझ तथा छानबिन गर्दा २० जना उम्मेदवारको उम्मेदवारी रद्द भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।
मनोनयन तथा गरेका तर, उम्मेदवारी फिर्ता लिन चाहेमा शुक्रवार बिहान ९ बजेभित्र उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ ले शहीद परिवारसँग भेटघाट गरेका छन् । बाँकेको खजुरा-३ धवलागिरी गाउँमा शहीद डम्बर रानाभाटको घरमा पुगेका हुन् ।
प्रचण्डले धवलागिरी क्षेत्रका शहीद परिवारसँग भेट गर्दै शहीद परिवारसँगै खाना खाएको सचिवालयले जनाएको छ ।
यसअघि उनले बर्दियाको बबई पुल आसपासका मध्यवर्ती क्षेत्रका जनताको समस्या पनि सुनेका थिए । सरकारबाट हटेपछि प्रचण्डले देश दौडाहा बढाएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने तयारीमा माओवादी केही दिन ‘पर्ख र हेर’ को रणनीतिमा देखिने भएको छ ।
पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने भन्दै माओवादीकै नेताहरूले प्रश्न उठाएका थिए ।
हालैको पदाधिकारी बैठकमा नेताहरूको कार्यविभाजन गर्ने र त्यसैबाट पुनलाई औपचारिक जिम्मेवारी दिने माओवादीको तयारी थियो । पुन माओवादीका पछिल्ला बैठकममा आमन्त्रित रूपमा सहभागी हुन थालिसकेका छन् । केही दिनअघि केन्द्रीय कमिटीको बैठकमा पनि उनी उपाध्यक्षको कुर्सीको लहरमा आसिन थिए ।
सचिव दिनानाथ शर्माले पनि पुनलाई जिम्मेवारी दिनेबारे पार्टीमा अहिले कुनै छलफल नभएको दाबी गरे ।
शर्माले भने, ‘अस्तिको बैठकमा कार्यविभाजन भन्दा पनि विद्यार्थी निर्वाचनको विषयका केन्द्रित भयो । त्यस विषयमा धेरै छलफल भएन । अब अर्को बैठकमा निर्णय हुन्छ होला । पुनलाई जिम्मेवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।’
उनले भने, ‘कार्य विभाजनबारे अहिलेसम्म कुरा टुंगिसकेको छैन । उहाँलाई जिम्मेवारी पार्टीले दियो भने सबै कुरा आइहाल्छ नि !’
अर्का एक नेता पार्टीभित्र नेताहरूले प्रश्न उठाएपनि अध्यक्ष प्रचण्डले तत्काल जिम्मेवारी नदिने संकेत गरेको बताए ।
माओवादी स्थायी कमिटी बैठकमा पुन ।
ती नेताले भने, ‘उहाँ सक्रिय राजनीतिमा आउँदा पार्टीभित्र मात्रै होइन, बाहिरबाट पनि आलोचना हुनसक्ने देखिएकाले उपाध्यक्ष बनाउने तयारी भएपनि तत्काल रोकिन सक्ने देखिएको छ ।’
अर्का सचिव लीलामणि पोखरेलले आगामी हप्तासम्ममा पार्टीले नेताहरूको कार्यविभाजन टुंगिने बताए । पुनलाई जिम्मेवारी दिने विषयमा पार्टीभित्र धेरै छलफल नभएको र विवाद पनि नभएको उनको जिकिर छ ।
पोखरेल भन्छन्, ‘कार्य विभाजनको विषयमा अब बस्ने बैठकमा छलफल हुन्छ । अध्यक्षले अहिलेसम्म बैठक डाक्नुभएको छैन । आगामी साताभित्र सबै टुंगिन सक्छ ।’
माघ २ गतेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजनको मौखिक प्रस्ताव राखेकी थिइन् । माओवादीले प्रदेश इन्चार्जदेखि सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पुन आफ्नै व्यक्तिगत चाहनाले नै पार्टीमा सक्रिय भएको प्रष्टीकरण दिएका थिए ।
उनले भनेका थिए, ‘उहाँलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई आफैं सक्रिय हुने चाहना व्यक्त गर्नुभएकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराइएको हो । अन्य नेताहरूको कार्यविभाजन गर्दा जिम्मेवारी दिइन्छ ।’
तर, पार्टीभित्र आफूमाथि सम्भावित घेराबन्दीलाई सन्तुलन मिलाउन प्रचण्डले नै पुनलाई कमव्याक गराउन लागेको माओवादी वृत्तमा चर्चा छ ।
पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि प्रचण्डले पार्टीभित्र आफू दबाबमा पर्नसक्ने देखेरै आफू अनुकूलका नेतालाई जिम्मेवारी दिन खोजिरहेका छन् । यसअघि प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई महासचिव बनाएर ल्याउने चर्चा चलेपछि उपमहासचिवद्वय शर्मा र पुन एकैठाउँ उभिएका थिए । माओवादी पंक्तिमा उनीहरू दुवैको तल्लो तहसम्म गुट छ ।
माओवादीभित्र विशेष महाधिवेशनको दबाब बढिरहेको बेलामा प्रचण्डले जनयुद्धकालदेखि नै आफू निकट भएर काम गरेका पुनको साथ खोजेको बताइन्छ । तर, फागुन १ गतेबाट संगठन सुदृढ गर्ने अभियान चलाएर त्यसपछिको ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ ।
आगामी महाधिवेशनबाट प्रचण्डसहित सबै नेतृत्व निर्वाचन प्रणालीबाटै आउनुपर्ने दबाब पार्टीभित्रबाटै बढेपछि आफूनिकटका नेताहरूलाई पार्टीमा सक्रिय बनाउन खोजेको बताइन्छ ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि सदनदेखि सडकसम्म घेराबन्दी गर्ने रणनीतिका साथ विपक्षी दललाई एकै ठाउँमा उभ्याएका छन् ।
चार दलीय समाजवादी मोर्चा ब्यूँताएका प्रचण्डले अहिले ७ दलका ‘८० सांसदको समर्थन’ देखाएर दबाब बढाउन खोजेको चर्चा हुन थालेको छ । विपक्षी नेताहरूलाई सँगै राखेर उनले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका थिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ । नैतिकताको आधारमा भन्ने हो भने प्रधानमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ ।’
मंगलबार भरतपुर विमानस्थलमा कांग्रेसका नेताद्वय डा. शशांक कोइराला र चन्द्र भण्डारीसँगको जम्काभेटपछि दुईजनाको बीचमा बसेर ओली सरकारको आयु लामो नभएको उनले दोहोर्याए ।
‘हाम्रो प्राथमिकतामा सरकार छैन । मैले धेरैचोटि भनेको छु । हामी जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित छौं । तर, यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी पनि छैन’, उनको भनाइ थियो ।
उनले ओली सरकारले उल्टाउल्टा काम गर्दै गएको टिप्पणी पनि गरेका थिए ।
‘यो सरकार ०८४ सम्म गइदिए हुन्थ्यो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई । गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो,’ प्रचण्डले भनेका थिए ।
प्रचण्डको यो अभिव्यक्तिपछि कांग्रेस नेता कोइरालाले भने तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन् । तर, राजनीतिमा जे पनि हुनसक्ने उनको तर्क थियो ।
शशांकको भनाइ थियो, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’
ओली सरकार ढाल्न प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न तयार देखिन्छन् । तर, देउवाले अहिलेसम्म उनलाई कुनै सकारात्मक सकेत गरेका छैनन् ।
ठूलो दलको हैसियतमा देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति अन्तिमसम्म तयार भएपनि दबाबमा ओलीलाई नियुक्त गर्न बाध्य पारिएको दाहालले केही दिनअघि टिप्पणी गरेका थिए ।
माओवादी नेता भन्छन्- सरकार ढाल्ने खेलमा छैनौं
माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा आफूहरूको ध्यान सरकार ढाल्नेतिर नभएको बताउँछन् ।
उनले भने, ‘अध्यक्षले हामीले पहल गरेर यो सरकार ढल्ने होइन । उनीहरूबीच नै आन्तरिक किचलोको कारणले धेरै टिक्ने अवस्था छैन भन्नुभएको हो । त्यसैले हाम्रो ध्यान अहिले सरकारतिर ध्यान दिएका छैनौं ।’
माओवादीका नेताहरू पछिल्लो समय कांग्रेसका नेताहरूसँग संवादमा छन् भन्ने चर्चा सुनिन्छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले अहिले सरकार बनाउने/ढलाउने कुनै खेल गरेका छैनौं । यो विषयमा कुराकानी भएको छैन ।’
कांग्रेसका नेताहरू अहिले सरकार परिवर्तन गर्ने एजेण्डा लिएर अहिलेसम्म छलफलमा नआएको उनले सुनाए ।
अर्का सचिव लीलामणि पोखरेलले पनि सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको बताउँछन् ।
उनले भने, ‘यो सरकारको आयु आफ्नै कारणले छोट्टिरहेको छ भन्ने आशयले अध्यक्षले बोलेका हुन् । हामीले कुनै पहल गरेका होइन । हामी अहिले सरकारको खेलमा लागेका छैनौं ।’
उनले समाजवादी मोर्चा र विपक्षी दलको मोर्चाबन्दी सरकार परिवर्तनको लागि नभएको जिकिर गरे ।
नेकपा एकीकृत समाजवादीका सचिव सोम पाण्डेले पनि आफूहरूले बनाएको मोर्चा सरकार परिवर्तनको लागि नभएको दाबी गरे ।
उनले भने, ‘हामी बनाएको मोर्चा सरकार परिवर्तनको लागि होइन । त्यस्तो कुनै योजना बनाएका छैनौं । अहिले विपक्षीहरूको आवाज बलियो बनाउनको लागि एकैठाउँमा उभिएका हौं ।’
के प्रचण्डले कांग्रेसभित्र खेल्दैछन् ?
कांग्रेसका संस्थापन पक्षभित्रकै नेता पनि अहिले ओली सरकारविरुद्ध चर्को सुनिन्छन् । इतर पक्षका नेतृत्व गरिरहेका डा. शेखर कोइराला त ओली सरकारसँग पूर्ण रुपमा रुष्ट छन् । विराटनगर पुगेर कोइरालाले यो सरकार नढल्ने दाबी गरे । तर, सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको भन्दै खरो आलोचना गरे ।
उनले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन। जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन । हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन । प्रधानमन्त्रीले संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ, यो गलत हो ।’
सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘माघ १८ गते संसद बोलाइएको छ । संसद खोलेर ल्याउँदा हुने थियो नि ! ६ महिनामा केही भएर सातदिन दश दिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि !’
उनले अध्यादेशको विषयमा मात्रै नभइ उपसभामुख इन्दिरा राणा र कुलमान घिसिङलाई हटाउने सरकारको प्रयास, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने खोजेको प्रति पनि बाधक बने ।
तर, कांग्रेस सांसद रामहरि खतिवडा कांग्रेस अहिलेको गठबन्धन परिवर्तनको पक्षमा आफूहरू नरहेको प्रष्ट्याउँछन् ।
उनले भने, ‘कांग्रेस र एमालेमा मिलेपछि उहाँ प्रतिपक्षमा पुग्नुभएको छ । उहाँले कार्यकर्तालाई उत्साहित पनि बनाइराख्नुपर्छ । त्यसैले उहाँले बोल्नुभएको छ । तर, कांग्रेसले हिजो प्रचण्डसँग भएको सहमतिमा इमान्दार भयो । अहिले पनि हामी गठबन्धनप्रति इमान्दार छौं । एमालेलाई धोखा दिँदैनौं ।’
उनले कांग्रेस र माओवादीबीच चर्को तिक्तता नहुनुलाई अर्को समीकरण बनिहाल्छ भन्ने बुझ्न नहुने उनको तर्क छ ।
उनी थप्छन्, ‘प्रचण्डजीसँग हामी हिजो पाँच बर्ष गठबन्धन गरेर सँगै चुनाव लडेका आएका हौं । त्यसैले उहाँ कांग्रेसप्रति सधैँ नरम हुनुहुन्छ । कांग्रेस सबैसँग नरम नै छ । कसैसँग तिक्तता गरेर अघि बढ्दैन । तिक्तता नगर्नु भनेको फेरि उसैसँग गएर मिलिहाल्ने भन्ने होइन । तर, हामी गठबन्धन गर्ने पक्षमा छैनौं ।’
विपक्षीमा ८० सांसदलाई एकैठाउँमा ल्याउन सफल भएका प्रचण्डले पछिल्लो समय कांग्रेसभित्र पनि खेलिराखेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ ।
उनले भने, ‘यो अध्यादेश ल्याएको, संसद ढिला बोलाएको लगायतको विषयमा धेरै असन्तुष्टि छ । आजै पनि कांग्रेस नेता शेखर कोइरालाले सरकारको आलोचना गरेको सुनेको थिए । एमालेभित्र पनि असन्तुष्टि चुलिँदैछ । त्यसैले एमाले नेतृत्वको सरकार लामो समय जाँदैन भन्ने देखिएको छ । ’
उनले माओवादी, रास्वपा, मधेश केन्द्रित दलहरूको समर्थनमा कांग्रेसको जोकोहीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने अभियान निकै अगाडि बढिसकेको पनि दाबी गरे ।
आचार्यले थपे, ‘अब बन्ने प्रधानमन्त्री कांग्रेसको हो । कांग्रेसले देउवा नै सार्छ कि के गर्छ भन्न सकिँदैन । तर, माओवादी, रास्वपा, मधेश केन्द्रित अहिलेको विपक्षी मोर्चाबाट कांग्रेसको जोकोहीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने अभियान निकै अगाडि बढिसकेको बुझिएको छ ।’
प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वाभाविक भएको भन्दै उनले भूराजनीतिक चलखेललाई ईँगित गरेका छन् ।
प्रचण्डले डाकेको विपक्षी दलको बैठक ।
उनले भने, ‘नेपालको राजनीतिमा सरकार ढल्दैन भनेर कहिलेपनि आश्वस्त हुन सकिँदैन । त्यही सन्दर्भमा उहाँले पनि भन्नुभएको होला । हामीले हेर्दा पनि कांग्रेसभित्र भएको असन्तुष्टि र सरकारमा देखिएको अन्योलताको कारणले पनि यो सरकारको आयु लामो नभएजस्तो देखिएको छ । यो कुरा सरकारकै मान्छेहरूले पनि भन्न थालेका छन् ।’
सरकारसँग जनताको चर्को असन्तुष्टि रहेको दाबी गर्दै अन्तराष्ट्रिय समुदायले पनि ओली सरकारलाई महत्व नदिएको जिकिर गरे ।
‘कांग्रेसप्रति प्रचण्डजी सधैँ नरम नै हो । तर, यो सरकार ढाल्नमा कांग्रेस निर्णायक हो । त्यसैले कांग्रेस तयार छ कि छैन भन्नेमा निर्भर रहन्छ’, आचार्यले भने, ‘अहिलेको सिनारियो हेर्दा जनता पनि सरकारसँग रुष्ट छन्, अन्तराष्ट्रिय समुदायले पनि खासै महत्व दिएको छैन । त्यसैले यो सरकार ढल्दैछ भन्ने देखिएको छ । आजभोलि नै नहोला तर यो सरकार ढल्ने वातावरण बन्दै भएको देखिन्छ ।’
यता एमालेका महासचिव शंकर पोखरेलले पनि नेपालका साना राजनीतिक दलहरु भू-राजनीतिक द्वन्द्वको खेल लागेको दाबी गरेका छन् ।
‘अहिले एमाले र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल हो’, पोखरेलको भनाइ छ, ‘नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको वाहक बनिरहेका छन् र एमालेको नेतृत्वमाथि हमला गर्दैछन् ।’
प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई घुर्क्याएर र सरकारमा टिकिरहने नीति लिएर ३२ सीटलाई म्याजिक नम्बर भन्नु नै अस्थिरताको कारक भएको उनको टिप्पणी छ ।
उनले थपेका छन्, ‘यही प्रवृत्ति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यसलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस, एमालेका नेताहरू पनि जिम्मेवार छन्, जुनकुरा यतिबेला आएर उनीहरूले महसुस गरेका छन् ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्व चयनका लागि शनिवार निर्वाचन हुँदैछ । केन्द्रीय समिति तथा केन्द्रीय समिति अन्तरगतका विभिन्न आयोगमा पनि शनिवार नै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो ।
निर्वाचन समितिका अनुसार ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरैको उम्मेदवारी परे पनि केन्द्रीय समिति अन्तरगत नै रहेका विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा भने अधिकांशमा उम्मेदवारी नपरेको पाइएको छ ।
निर्वाचन समितिका अनुसार लेखा आयोगको सदस्यमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट उम्मेदवारी नै दर्ता भएन । यस्तै निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशबाट उम्मेदवारी नै परेन । यस्तै अनुशासन आयोग सदस्यमा लुम्बिनी र बागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार लेखा आयोग सदस्यमा बागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेश प्रदेशबाट मनोहर यादव, प्रदेश १ बाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनिषा साउँद एकल उम्मेदवारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित हुने भएका छन् । यद्यपि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।
यस्तै अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, प्रदेश १ बाट विक्रम परियार, गण्डकी प्रदेशबाट उमेश खनाल, मधेश प्रदेशमा जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बास्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।
निर्वाचन आयोग सदस्यमा पनि प्रदेश १ बाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।
सुर्खेत । नेकपा -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको बताएका छन् ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताए ।
उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ । ’
https://youtu.be/_duJAvgYFPk
सरकार प्रति कुनै अभिरुचि नभएको उल्लेख गर्दै उनले कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरे ।
उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारकाे जन्म भयाे त्यो लामाे आयुकाे छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएकाे थियो त्यो हुनसक्छ । ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्याएका छन् ।
चितवनमा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे ।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’
प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए ।
कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’
कोइरालालगत्तै ठट्टा गर्दै प्रचण्ड थप्छन्, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि !’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् ।
चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी रोजेकाहरुसँगको कुराकानीमा अहिले व्यक्ति मात्रै नभएर पार्टीहरू पनि माओवादीसँग एकता गर्न संवादमा रहेको बताए ।
उनले भने, ‘देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको छ। म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु । पछिल्लो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक संकटबाट देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए । त्यो कुरा जनताले नजिकबाट हेरिरहेका थिए ।’
उनले कांग्रेस र एमाले मिलेर अन्यायपूर्ण अप्राकृतिक र असंवैधानिक ढंगले आफूलाई सरकारबाट हटाउने काम भएको बताए ।
उनले थपे, ‘हामीले जनताको पक्षमा गरेको कामले लहर नै ल्याएको छ । अहिले त नभ्याउने जस्तो पो हुँदै गयो तपाईँहरूले पनि अझै सयौँको संख्यामा प्रवेश हुँदैछ भन्नुभयो। थोरै होइन, हजारौँको संख्यामा जोडिँदैछन्, व्यक्ति होइन पार्टीहरूसँग पनि कुरा हुँदैछ । यसलाई राम्रोसँग म्यानेज गर्न सकियौँ भने आगामी चुनावमा ठूलो क्रान्ति ल्याउँछ ।’
आज माओवादी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।
सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालेपछि संख्याको बलमा आफूलाई सरकारबाट हटाएको बताएका छन् ।
गोरखास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै उनले आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरेको बताए ।
उनले भने, ‘तपाईंहरुको विरासत र इतिहास गौरवपूर्ण छ । तपाईंहरुको जनप्रतिनिधिको हैसियतले गोरखामा मात्रै होइन, सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि गर्नसक्ने जति राम्रा काम गरेको हो । मैले यही राम्रो काम गर्ने जमर्को गर्नु बिचौलिया र दलालहरुलाई सह्य भएन र उनीहरुले संख्याको बलमा मैले राम्रो काम गर्दा गर्दा सरकारबाट बाहिरिन बाध्य पार्ने काम भयो ।’
देशमा सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बढाउने काम गर्दागर्दा गोरखा धेरै आउन नसकेको प्रचण्डले बताए । उनले आफूले सरकारको नेतृत्व गर्दाको १८ महिना गोरखावासीकै अभिमतको बलमा गरेको बताए ।
उनले शिक्षकहरूले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित गर्ने पनि बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका भएको बताएका छन् ।
पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको जिकिर गरे ।
‘अहिले सरकारले हतार गरेर अध्यादेश ल्याएको छ । यो हतार गरेर अध्यादेश ल्याउनुको सरकारको नियत के हो ? भन्ने प्रश्न उठिरहेको छ । गिरीबन्धु टिस्टेटको जमिनको बारेमा त्यहाँको जमिन सट्टापट्टा गर्ने र त्यहाँको जग्गा प्लटिङ गरेर बिक्री गर्न खोजेको बहस उठिरहेको बेलामा त्यसैतर्फ आकर्षित हुने गरेर भूमिसम्बन्धी अध्यादेश ल्याइएको छ, त्यसले गर्दा झन् शंका पैदा गर्ने काम भइरहेको छ’, उनले भने, ‘एकातिर स्याल कराउने, अर्कोतिर कुखुरा हराउने स्थिति पैदा भएको छ । त्यसैले यसरी कानून संशोधन गर्न खोज्नु गम्भिर विषय हो ।’
उनले सर्वोच्चको आदेश विपरीत राष्ट्रियक निकुञ्ज र वनसम्बन्धी कानून संशोधन गर्न खोजेको दाबी गरे । उनले कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए ।
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।
उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलगिएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेको हो ।
अभियानका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।
उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको सदस्यमा उपाध्यक्ष काफ्ले, सुब्बा र भट्टराई रहेका छन् ।
वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको र एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष रहेको छ ।