Category: माओवादी केन्द्र

  • सिरहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

    सिरहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा मधेसी जनताप्रति माओवादीको ‘लभ’ भएको बताएका छन् ।

    माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको उनले स्मरण गरे । सिराहामा आयोजित एक सभामा भाषण गर्दै प्रचडले यहाँ आउँदा आफूलाई माइतीघरमा आएजस्तो लाग्ने पनि सुनाए ।

    उनले भने, ‘तपाईंहरुसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ । यहाँ आउँदा म भावुक हुन्छु ।’ आफूहरु झापाबाट अभियान लिएर सिराहासम्म आउँदा जनतासँग एकाकार भएको प्रचण्डले बताए ।

    ‘तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ, झापाबाट सिराहसम्म आउँदा हामी कुनै होटलमा बसेका छैनांै । जनताले खाएको भन्दा भिन्न केही खाएका छैनाैं । जनताकै घरमा बसेका छौं । मिलेसम्म सहिद परिवारको घरमा बसेका छौं । सहिद परिवारसँग मिलेर बसेका छौं । जनताले जस्तो खान्छन्, जसरी बस्छन्, त्यसरी नै बसेका छौं,’ उनले भने ।

    आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा–धनुषामा नै लिएको प्रचण्डले बताए ।

    ‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा–धनुषामै हो,’ उनले भने, ‘माओवादीले मधेसमा नै आफ्नो पहिलो प्रभाव र आन्दोलन लगेको हो । जनयुद्ध मार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो । त्यसैले माओवादीलाई अविश्वास नगर्नुस । माओवादी तपाईंहरुको मुक्तिका लागि समर्पित पार्टी हो ।’

    आफूलाई दोस्रो संविधानसभामा सिराहाले जिताएर पठाएको प्रचण्डले स्मरण गरे । आफू त्यसबेला विजयी नभएको भए नेपालमा संविधान नबन्ने उनको दावी थियो ।

  • मधेशबाट माओवादीको जिकिर-  मिटरब्याज पीडितलाई न्याय दिने हाम्रो अभियान ओली सरकारले रोक्यो

    मधेशबाट माओवादीको जिकिर- मिटरब्याज पीडितलाई न्याय दिने हाम्रो अभियान ओली सरकारले रोक्यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान ओली सरकारले रोकेको आरोप लगाएका छन्।

    जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित अन्तर्किया कार्यक्रममा बोल्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य प्रदेशका जिल्लाहरुमा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन अघि बढाउने बताए।

    पार्टीले थालेको सुशासनको अभियान भ्रष्टाचार विरुद्धको अभियान मात्र नभएर दलाल पुँजीवादविरुद्धको आन्दोलन भएको बताए। नेसपा अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्धका कारण नै गणतन्त्र सम्भव भएको उल्लेख गर्दै नेपालमा पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र दोस्रो गणतन्त्रवादी नेता प्रचण्ड भएको बताए।

    मधेसको समस्या राष्ट्रिय समस्या भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रले उठाएको हुलाकी मार्ग केन्द्रित मधेस जागरण अभियानलाई आफ्नो पार्टीले समर्थन गरेको बताए।

    पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापक दलको नाताले यो व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि पनि माओवादीले नै पहल लिनुपर्ने बताए।

    नेपालको अर्थ सामाजिक रुपान्तरण अबको मूल दायित्व भएको उल्लेख गर्दै उनले मुलुकलाई समाजवादमा लैजान खोजिए पनि आर्थिक विभेद अझै कायम रहेकाले यसमा गहिरो ध्यान ध्यान जानुपर्ने बताए।

    सहभागीहरुले मधेसमा शैक्षिक अवस्था कमजोर रहेको, राजनेताहरुको शिक्षामा ध्यान नदिएको, हिजो हिमाल र पहाडलाई शिक्षा दिने मधेस अहिले आफै पछि परेको, मधेसी समुदायले गुणस्तरीय स्वास्थ्य पाउन नसकेको, युवाहरु बिदेश पलायन भइरहेको उल्लेख गर्दै यी क्षेत्रमा सबैको ध्यान जानुपर्ने सुझाव दिएका थिए।

    उनीहरुले मधेसी जनताको अवस्था बदल्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाउन र त्यसका लागि सबै दल एक ठाउँमा उभिन उनीहरुले आग्रह गरे।

    नीति, कानुन र कार्यक्रम तथा बजेट बनाउँदा जनताको सहभागिता सुनिश्चित गरिनुपर्ने उल्लेख गर्दै उनीहरुले महिला, दलित, मधेसी, मुस्लिम, जनजाति जस्ता पछाडि पारिएको समुदायको मुक्तिको झण्डा उठाउने माओवादीले नै यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिए।
    हुलाकी मार्ग केन्द्रित अभियान चलाएकोमा धन्यवाद दिंदै उनीहरुले यसको शीघ्र पूर्णताका लागि ध्यान दिन सुझाव दिए।

  • प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे

    प्रचण्ड भन्छन्- जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे

    राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताएका छन् ।

    जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै सक्कली मधेसवादी दल माओवादीमात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने उनले आश्वस्त पारे ।

    प्रचण्डले भने, ‘मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेका छन् । उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको छ । अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको छ ।’

    आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह गरे ।

    मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

  • मुस्लिम समुदायसँग प्रचण्डले भने- तपाईंहरुलाई हामीले दिएको संवैधानिक अधिकार अरुले खोस्न खोज्दैछन्

    मुस्लिम समुदायसँग प्रचण्डले भने- तपाईंहरुलाई हामीले दिएको संवैधानिक अधिकार अरुले खोस्न खोज्दैछन्

    सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

    जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको बताए ।

    राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए ।

    उनले भने, ‘माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनुपर्छ । अन्य दलहरुले अहिले जनताले पाएको अधिकार कुनै न कुनै बहानामा खोस्न खोज्दैछन् ।’

    जनताको अधिकारविरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए । सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिँदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।

    हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेला–बेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए ।

  • माओवादीको जागरण अभियानमा नेसपा अध्यक्ष यादव पनि मिसिए

    माओवादीको जागरण अभियानमा नेसपा अध्यक्ष यादव पनि मिसिए

    काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानमा नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादव पनि मिसिएका छन् ।

    झापाबाट माओवादीले सुरू गरेको अभियानमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिव तहका नेताहरु सहभागी छन् ।

    तर, बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अलग समूह चलाउँदै आएका यादव पनि आज सुनसरीका विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी सदनमा माओवादीकै सांसदको रूपमा उपस्थित हुँदै आएका छन् ।

    बाबुराम माओवादीसँग एकता गर्न नचाहेपछि यादव पक्षका नेताहरू माओवादीसँग एकता गर्ने निर्णय गरेर अलग भएका थिए । यद्यपि, अहिलेसम्म एकताबारे चर्चा भइरहेपनि ठोस निर्णय भएको छैन । उनले माओवादीले मात्रै अहिलेको व्यवस्थाको रक्षा गर्ने जिकिर गर्दै चाँडै एकता हुने बताए ।

  • सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब

    सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब

    काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ ।

    पार्टी सदस्यता शुल्कदेखि जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट लिने लेबीसम्मको व्यवस्थित हिसाबकिताब राख्ने पार्टी एमाले सबैभन्दा चुस्त राजनीतिक दलका रूपमा देखिएको आयोगले जनाएको छ ।

    एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ । आयोगका अनुसार उक्त पार्टीले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ । यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    एमालेले सदस्यता शुल्कबाट मात्रै साढे ११ करोड रुपैयाँ आम्दानी गरेको छ । एमालेका ५ लाख सदस्य छन् । यस वर्ष नयाँ सदस्यता समेत थपिएको छ ।

    त्यस्तै संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एस र रास्वपा भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ । उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ । खर्च ४ करोड देखाएको छ ।

    त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ । माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ ।

    संसदमा १० सीट रहेको नेकपा एस आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ । तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ । नेकपा एसको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ । खर्च पनि ४ करोड ५७ लाख देखाएको छ ।

    आयोगका अनुसार हालसम्म ८८ वटा राजनीतिक दलले आम्दानी खर्चको विवरण बुझाएका छन् ।

  • प्रचण्डको टिप्पणी- ओली सरकार भ्रष्ट र बिचौलियाको सेवा गर्नमै केन्द्रित छ

    प्रचण्डको टिप्पणी- ओली सरकार भ्रष्ट र बिचौलियाको सेवा गर्नमै केन्द्रित छ

    सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन्।

    जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौँदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको बताए।

    उनले भने, जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको छ। भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुन्छ।

    पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरू कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको बताए।

    आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्‍याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए।

    कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए। अभियान टोली आज दिनभरि सुनसरीमा रहेछ।

    आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा,  कोशी, भोक्राह र मधुवनमा जनभेटघाट लगायतका कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ।

  • स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार

    स्ववियू चुनाव- सिंगल भिड्ने तयारीमा नेविसंघ, अखिल र क्रान्तिकारी : रास्वपाको बहिस्कार

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । आगामी ५ चैतमा हुने चुनावका लागि फागुन १९ गते उम्मेदवारी दर्ता हुँदैछ ।

    सबै दलहरूले स्ववियू निर्वाचन केन्द्रित हुन आफूनिकट संगठनहरूलाई निर्देशन दिइसकेका छन् । सत्तारुढ दुई ठूला दल कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियू एक्लै प्रतिस्पर्धामा जाने तयारीमा छन् ।

    तर, माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू भने ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । यद्यपि, कुनै निर्णय भएको छैन । यस्तै, मधेशवादी दलनिकट विद्यार्थी संगठनले पनि आ-आफ्नो तयारी गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस्- त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

    एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले आफूहरू निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको बताए ।

    उनले भने, ‘अहिले हामीले तल्लो तहमा स्ववियू निर्वाचन केन्द्रित गरेर बैठकहरू राखेर डाटा लिने काम गरिरहेका छौं । तल्लो तहमा सर्वसम्मत हुनसक्ला कुनै क्याम्पसहरूमा तर, हामी ठूला क्यापसहरूमा निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने पक्षमा छौं ।’

    उनले स्ववियू निर्वाचनमा आफ्नो संगठन एक्लै प्रतिस्पर्धामा उत्रिने बताए । उनले तोकिएको समयमै निर्वाचन हुने जिकिर गरे ।

    उनले भने, ‘हामी एकल प्रतिस्पर्धा गर्छौँ । कसैसँग कुनै तालमेल गर्दैनौं । अहिलेसम्म अरु संगठनले के गर्छन् भन्ने टुंगाएको देखेका छैनौं पनि ।’

    उनले स्ववियू निर्वाचनलाई निष्पक्ष ढंगबाट सम्पन्न गराउनुपर्छ भन्नेमा आफूहरू सचेत रहेको बताए । अघिल्ला चुनावहरूमा आफूले नजित्ने देखेपछि विद्यार्थी संगठनमा विथोल्ने प्रवृत्ति देखिएको थियो ।

    उनले त्यसबारे भने, ‘अघिल्लो चुनावमा हामीले जित्ने क्याम्पसहरूमा पनि चुनाव नहुँदा सबैभन्दा प्रताडित हामी नै हौं । हामी निर्वाचन सहज गर्ने संगठन हो । हामी आफूले जित्ने हार्ने जे होस् तर निर्वाचन गराउनुपर्छ भनेर लागेका छौं ।’

    सरकार र विश्वविद्यालयलाई पनि निर्वाचनको सुनिश्चित गराउने कुरामा अनेरास्ववियुले नै पहलकदमी लिइरहेको बडालले दाबी गरे ।

    उनले थपे, ‘कतिपय तालबन्दी भएका ठाउँमा पनि हामीले नै खुलाउने नेतृत्व गरिरहेका छौं । हामी निर्वाचनमा सबैलाई इमान्दारिपूर्वक सहयोग गरेर गराउनुपर्छ भन्ने पक्षमा छौं । हामी निर्वाचन बिथोलिने स्थिति नहोस् भन्ने पक्षमा सचेत छौं । त्यसको भण्डाफोर गर्छौँ ।’

    त्यसो त कांग्रेसले पनि स्ववियू निर्वाचनबारे छलफल थालिसकेको छ । फागुन १ नै सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको थियो ।

    सहमहामन्त्री राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन् । उनीहरूले उपत्यकाका क्याम्पसमा कांग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल गरेका थिए ।

    छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिइसकेको छ । पार्टीको निर्देशनअनुसार अहिले संगठनले निर्वाचनको तयारी तीव्र ढंगबाट गरिरहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

    उनले भने, ‘हामीले सबै ढंगबाट तयारी तीव्र बनाइरहेका छौं । यो चुनावमा हामी एक्लै प्रतिस्पर्धामा जान्छौं । कुनै संगठनसँग सहकार्य हुँदैन ।’

    माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले स्ववियू निर्वाचनलाई लक्षित गरेर प्रदेशस्तरिय कार्याशाला चलिरहेको बताए । उनले आफूहरू पनि एक्लै चुनावी मैदानमा जाने दाबी गरे ।

    उनले भने, ‘अहिलेसम्म एक्लै जाने भन्नेछ । तर, तल क्याम्पसहरूमा आवश्यकताअनुसार गर्नसक्छन् । तर, केन्द्रबाट हामीले एक्लै जाने भनेका छौं ।’

    उनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चुनावी सहकार्यबारे छलफल नभएको जिकिर गरे ।

    सापकोटाले मात्रै होइन, नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले पनि आफूहरू पनि एक्लै चुनावी प्रतिस्पर्धामा जाने दाबी गरे ।

    उनले भने, ‘निर्वाचनको तयारीका लागि हामीले उपत्यकतास्तरीय भेला गरेर सबै क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेका छौं । संगठनको उपाध्यक्षहरूलाई प्रदेशको कमाण्डर पनि बनाएर पठाइसकेका छौं ।’

    उनले अहिलेसम्म कुनै संगठनसँग तालमेल गरेर जाने भन्नेबारे कुनै छलफल नभएको दाबी गरे ।

    उनले थपे, ‘केन्द्रबाट एक्लै लड्ने भनेका छौं । अब तल क्याम्पसहरूमा आवश्यकताको आधारमा जुन संगठनसँग पनि सहकार्य गर्ने बाटो खुला राखेका छौं । त्यस्तो सहकार्य गर्दा समाजवादी मोर्चामा आबद्ध दलसँग मात्रै हुन्छ भन्ने छैन, एमाले कांग्रेस जुन पार्टीनिकट विद्यार्थी संगठनसँग पनि हुनसक्छ ।’

    यस्तै, चौथो ठूलो दल रास्वपाले भने स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरिसकेको छ । रास्वपाको गत साता बसेको सचिवालय बैठकले स्ववियू निर्वाचनमा भाग नलिने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    शैक्षिक संस्थाहरू राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले स्ववियू चुनावमा कुनै संलग्नता नहुने बताए ।

    उनले भने, ‘त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा हुन स्ववियू चुनावमा विशुद्ध विद्यार्थीहरू मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुने साथै पार्टीको कुनै संलग्नता समेत रहने छैन ।’

    उनले स्ववियू चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील गरे ।

    २ वर्षअघि त्रिविका ६२ मध्ये ४६ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । अन्य १६ वटा क्याम्पसमा विवाद र तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । आरआर, त्रिचन्द्र, पृथ्वीनारायण क्यापस पोखरागायतका ठूला क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

    चुनाव भएका आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियुले १९,कांग्रेस निकट नेविसंघले १८ र माओवादीनिकट अखिल क्रान्तिकारीले ४ क्याम्पसमा सभापति जितेका थिए । जसपानिकट र जनमतनिकट विद्यार्थीले एक एक क्याम्पसमा सभापति जित्दा दुई क्याम्पसको सभापति स्वतन्त्रले जितेका थिए ।

  • भट्टलाई दलको नेता बनाउन प्रचण्डको निर्देशन, विनालाई इन्चार्ज बनाउन सरलको प्रस्ताव

    भट्टलाई दलको नेता बनाउन प्रचण्डको निर्देशन, विनालाई इन्चार्ज बनाउन सरलको प्रस्ताव

    कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विवाद मिलाउन पटक पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको मौखिक तथा लिखित निर्णय कार्यान्वयन नभएपछि प्रचण्डले बुधवार सबै सांसदलाई खुमलटार बोलाए ।

    अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि प्रचण्डलाई नैतिक संकट परेको थियो ।

    फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए । दिउसो ३ बजेदेखि सुरु भएको छलफल करिब २ घण्टापछि अन्ततः प्रचण्डले पुरानै शैलीमा निर्देशन दिएर सकिएको थियो ।

    अभियानमा फर्किनुपर्ने भएको हुँदा बुधवार दिउसो प्रचण्ड स्वयमले संसदीय दलको समस्या र आफूले दिएको निर्देशन कार्यान्वयन नहुने अवस्थाबारे प्रसङ्ग निकालेका थिए। ‘पार्टीको पटक पटकको निर्देशन किन कार्यान्वयन भएन ? तपाईँहरूले मेरो निर्देशन समेत किन मान्नु भएन ?’ प्रचण्डले सुरुमै सोधे ।

    खगराज भट्टले अध्यक्षकै कुरालाई जोड दिँदै ‘पार्टीको निर्देशन त मान्नु पर्छ नि’ भन्दै कुरा अगाडी बढाए ।

    माओवादी संसद रमेश धामीले निर्देशन कार्यान्वयन नगर्नेलाई कारबाही हुनुपर्ने सम्मको विषयमा निकाले । ‘हामीलाई पार्टीले टिकट दिएको हो । सांसद बनाएको हो, मन्त्री बनाएको हो । पार्टीबाट अवसर लिने अनि पार्टीको निर्देशन नमान्ने हुन्छ’ उनले आफ्नै नाम लिँदै भने ‘पार्टीको निर्देशन भन्दा बाहिर गएको अवस्थामा म रमेश धामीलाई पनि कारबाही गर्दा हुन्छ ।’

    सांसद जानकीदेवी कुवरले धामी कै कुरालाई समर्थन गरिन् । झपट साउदले सर्वसम्मत रूपमा विवाद निरूपण गर्नु पर्नेमा जोड दिएका थिए । शिवसिंह ओलीले पनि मतदान प्रक्रियाबाट विवाद मिलाउन भन्दा छलफलबाट टुङ्गो लगाउनु पर्नेमा जोड दिएका थिए ।

    माओवादी उपनेता अक्कल रावलसँग भने प्रचण्डले प्रतिप्रश्न गरे । प्रदेश सभा संसदीय दलको नेता संसदीय प्रक्रियाबाट छनोट गरिएको रावलले बताउँदा प्रचण्डले आफूसँग यसअघि गरिएको सहमतिको विषयमा रावललाई स्मरण गराएका थिए । ‘तपाईँहरू मन्त्री हुँदा भएको सहमति पनि त कार्यान्वयन भएन नि प्रचण्डले भनेका थिए ।’

    रावलसहितका माओवादीबाट तीन मन्त्री हुँदा प्रचण्डकै निवासमा भएका मन्त्रीहरूलाई निरन्तरता दिने तर, संसदीय दलको नेता भट्टलाई बनाउने सहमति भएको थियो । प्रचण्डले सोही विषय स्मरण गराएका थिए ।

    सांसद ओमविक्रम भाट सरलले बैठकमा नयाँ प्रस्ताव अघि सारेका थिए । ‘खगराज भट्टलाई दलको नेता बनाउने हो भने इन्चार्ज फेरौँ न त ,इन्चार्ज विना मगरलाई बनाऊ’ उनले भने ‘विना मगरलाई बनाउँदा तपाइलाई परिवारको सदस्य बनाएको आरोप आउँछ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट वा लक्ष्मी जोशीलाई बनाऊ ।’

    भाटले इन्चार्ज फेर्ने प्रस्ताव गर्दा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल पनि सँगै बसेर सुनिरहेका थिए । सँगै रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘कम्युनिस्ट पार्टीमा सर्त राख्न मिल्दैन’ भने । इन्चार्ज पोख्रेलले त्यसैलाई टेके ।

    सांसद लक्ष्मी विकले संघीयताको मर्म विपरीत प्रदेशको विवाद केन्द्रमा छलफल भइरहेको बताएकी थिइन् । ‘सानो सानो कुरा पनि यहाँसम्म पुराउनु उपयुक्त होइन ’ उनले भनिन् ‘खगराज जी सुध्रिनु भएको छैन । यहाँ आएर म प्रचण्ड कै हुँ भन्नुहुन्छ तर सबैका फरक फरक गुट हुन्छन् ।’ छलफलबाट मात्रै निकास नआउने भन्दै सबैले मन माझ्नु पर्ने उनको सुझाव थियो ।

    छलफलको उद्देश्य प्रचण्डले सुनाउँदै मानबहादुर धामीलाई मार्ग प्रशस्त गर्न र खगराज भट्टलाई दलको नेता बनाउन प्रचण्डले जोड दिएका थिए । धामीले भने आफ्नो भूमिकाबारे प्रचण्डलाई प्रतिप्रश्न गरेका थिए । ‘मेरो व्यवस्थापक कहाँ हुन्छ त ?’ उनले सबैलाई सँगै राखेर प्रचण्डलाई भने ‘म संसदीय दलको प्रक्रियाबाट निर्वाचित भएको दलको नेता हुँ कि त्यही प्रक्रियाबाट हटाउनु पर्‍यो कि त मेरो यथोचित व्यवस्थापन हुनु प¥यो ।’

    धामीले प्रदेश इन्चार्ज पोख्रेलबाटै गुटबन्दी भइरहेको र उपाध्यक्ष श्रेष्ठले पनि त्यसैलाई मलजल गरिरहेको सङ्केत गरेका थिए । सह-इन्चार्ज विना मगरले पनि इन्चार्जबाट सुदूरपश्चिममा सबैमाथि समान व्यवहार हुन नसकेको बताएकी थिइन् ।

    समन्वय कार्यालयको बैठकका पनि धामीलाई खबर नगरिएको विषयले पनि छलफलमा स्थान पाएको थियो । प्रदेश इन्चार्जको नेतृत्वमा सह इन्चार्जहरू, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरू समन्वय कार्यालयमा रहने सर्कुलरमा रहेको छ । धनगढीमा बसेको उक्त बैठकमा धामीलाई खबर नगरिएको विषयमा सह-इन्चार्ज विना मगरले प्रचण्डलाई सुनाएकी थिइन् ।

    धामी त्यो बेला बैठक कक्षमा थिएनन् । उनी आए लगत्तै प्रचण्डले सोधे, ‘तपाइको बारेमा सह-इञ्चार्जले कुरा गर्नु भएको छ, समन्वय कार्यालयको बैठकका तपाइलाई खबर गरिएको थिएन ।’ आफूलाई उक्त बैठकमा नबोलाइएको भन्दै उनले भने ‘मलाई इन्चार्ज ज्यूले खबर गर्नु भएन । मलाई अक्कल माननीय ज्यूले ‘भोली त बैठक छ नि’ भनेर भन्दा मैले नै उहाँलाई सोधेको थिए । तर, उहाँले आउनुहोला पनि भन्नु भएन ।’

    सबैको कुरा धैर्य गरेर प्रचण्डले सुनेपछि फेरी आफ्नो पुरानै निर्देशन स्मरण गराउँदै कार्यान्वयन गराउन निर्देशन दिएका थिए । उनले यस पटक भने आफू धनगढी पुग्नुभन्दा पहिल्यै आफ्नो निर्देशन कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

    ‘म २० गते धनगढी पुग्छु म पुग्नुभन्दा पहिल्यै नै निर्णय कार्यान्वयन गराउनु होला’ प्रचण्डले सबैलाई साथमा राखेर फेरी निर्देशन दिए ।

    २० फागुनमा टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रचण्ड कैलाली आइरहेका छन् । त्यो भन्दा अगाडि नै दलको नेतामा खगराजलाई पुनः स्थापित गर्न निर्देशन दिएका थिए ।

    प्रचण्डले भट्टलाई दलको नेता बनाउन पटक पटक निर्देशन दिँदा पनि अझै भट्टप्रति माहौल भने बनेको छैन । बुधवार पनि भट्ट समूहले प्रचण्डकै अगाडी निर्णय गराउने लक्ष्य लिएको थियो तर, प्रचण्डले भने दलको विवाद दलबाटै समाधान गर्नेगरि उनीहरूलाई फर्काए ।

    संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ । प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भनेपनि कुन विधिले बनाउने भन्ने विषय भने प्रदेशमा पेचिलो बन्ने देखिन्छ ।

  • म आत्मालोचना गर्दै हिँड्ने मान्छे हुँ, पार्टीले पनि कमजोरी सच्याउनुपर्छ : जनार्दन शर्मा (भिडिओ)

    म आत्मालोचना गर्दै हिँड्ने मान्छे हुँ, पार्टीले पनि कमजोरी सच्याउनुपर्छ : जनार्दन शर्मा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र संगठनका लागि मात्रै संगठन बनाएर नहुने टिप्पणी गरेका छन्।

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेतृत्वसँग कर्मचारी, बुद्धिजीवी शिक्षक, प्राध्यापक, कानुन व्यवसायीहरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीभित्रको समस्या समाधान गरेर आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताए।

    उनले भने, ‘पार्टीको कमजोरी छ, आत्मालोचना हुँदैन। तर, म आत्मालोचना गर्दै हिँड्ने मान्छे हो। हामीले बुद्धिजीवीहरूको बुद्धि प्रयोग नै गर्न सकेको छैनौँ। त्यो पार्टीले सुधार गर्नुपर्ने कुरा हो। हाम्रो सबै संगठन वाइसीयल, सबै अखिल क्रान्तिकारीजस्तो हुँदैन। संगठनको आआफ्नै विशेषता छन्। आफ्नै महत्त्व छन्।’

    उनले सबैले आलोचनात्मक र समालोचनात्मक नभई प्रश्न गर्नतिर केन्द्रित नभएको बताए।

    उनले भने, ‘हामी संगठनका लागि संगठन बनाउँछौँ। संगठनमा पनि प्रतिस्पर्धा कमिटीको अध्यक्षमा को हुने भन्नेमा मात्रै हुने संगठनको लक्ष्य, उद्देश्य र कामबारे चर्चा कम हुनेछ। सायद यो पार्टीको कमजोरी हो त्यसलाई सच्याउनुपर्छ।’

  • पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउनेबारे प्रचण्ड- विवाद छैन तर निर्णय गरिसकेका छैनौँ

    पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउनेबारे प्रचण्ड- विवाद छैन तर निर्णय गरिसकेका छैनौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याउनेबारे पार्टीमा कुनै विवाद नरहेको दाबी गरेका छन्।

    विराटनगरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेसम्म औपचारिक निर्णय नगरिसकेकाले अभियानमा नल्याएको बताए।

    उनले भने, ‘उपराष्ट्रतिलाई सक्रिय राजनीतिमा ल्याउनेबारे हाम्रो पार्टीमा कुनै विवाद छैन। तर, प्रदेशमा पनि साथीहरूको राय सुझाव बुझेर मात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठिक हुन्छ भनेकाले उहाँलाई उपाध्यक्ष बनाउने हो कि ? सचिव, उपमहासचिव बनाउने भन्नेबारे निर्णय गरिनसकेकाले नल्याएका हौँ।’

    उनले पछिल्लो समय पार्टीमा चलेको लहरलाई बचाउन सके माओवादी ०६४ सालकै स्थितिमा फर्किने स्थिति आफूले देखेको बताए। उनले कांग्रेस र एमाले आफैँ नभई माओवादीले ठूलो बनाइदिएको भन्दै अब त्यो गल्ती नगर्ने बताए।

  • बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु : प्रचण्ड (भिडिओ)

    बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् ।

    विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने उनको भनाइ थियो ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘के फर पर्छ र ? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन । बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले न उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनिनैसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

    उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको स्मरण गरे ।

  • अब हाम्रो पार्टी उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

    अब हाम्रो पार्टी उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् ।

    अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

    गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दिए ।

    यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी दिए ।

    पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको उनले जानकारी दिए ।

    अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए ।

    हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरूले जनयुद्धमार्फत उनीहरूका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको उनले स्पष्ट गरे।

    आगामी वैशाखमा मध्य पहाडी लोक मार्ग केन्द्रित अभियान सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उँचो ठाउँमा लगेर समापन गरिने बताए । यो अभियान स्वरूप र सन्देश दुवै हिसाबले मौलिक हुने उल्लेख गर्दै उहाँले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने बताए ।

    भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको उल्लेख गर्दै उहाँले यसले अरू विद्यार्थी संगठन भन्दा अखिल क्रान्तिकारीलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

    देशभर पार्टीको पक्षमा माहौल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचनले माओवादीलाई १ नम्बर प्रदेशमा पहिलो पार्टी बनाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन अपिल गरे ।

  • पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप (भिडिओ)

    पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् ।

    मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मुक्मुलुङमा चलिरहेको विवाद दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

    उनले भने, ‘यो मुद्दा सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो । यसलाई बल प्रयोग गरेर हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर पहिचानको मुद्दालाई हल गर्न खोजियो भने दुर्भाग्य हुन्छ । खबरदार बल प्रयोग नगर्नू । यसलाई संवाद र समझदारीको माध्यमबाट, हामीले सबैलाई मान्न हुने बाटो खोज्नुपर्छ । तर, झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ ।’

    उनले केबलकारमा सरकार सञ्चालकहरूको पनि ठूलो सेयर रहेकै कारणले जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खतातिर सरकार लागेको आरोप लगाए । सरकारले दमन नरोके आन्दोलनकारीको पक्षमा उभिएर देशव्यापी आन्दोलनमा जाने प्रचण्डको चेतावनी थियो ।

  • नारायणकाजीको जिकिर- देउवा सँगै राखेर ओलीले भ्रष्टाचारमा थुन्ने देखेपछि मिल्यौँ भनेर स्वीकारिसके

    नारायणकाजीको जिकिर- देउवा सँगै राखेर ओलीले भ्रष्टाचारमा थुन्ने देखेपछि मिल्यौँ भनेर स्वीकारिसके

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले भ्रष्टाचारीको संरक्षण गर्न मिलेर सरकार बनाएको आरोप लगाएका छन् ।

    चितवनको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै प्रचण्ड सरकारले भ्रष्टाचारी भनेर थुन्ने भएपछि कांग्रेस-माओवादी गठबन्धन ढालेको बताएको जिकिर गरे ।

    त्यसबारे उनको भनाइ यस्तो थियो

    हामीले ललिता निवास, बाँसबारी छाला जुत्ता कारखानाको जग्गाको अनुसन्धान अघि बढायौं । कांग्रेस सरकारले ०४६ सालको परिवर्तनपछि सबै सरकारी उद्योग धन्दाहरू, कलकारखानाहरू सबै निजीकरण गरिदियो । त्यसको अनुसन्धान गरेर हामीले कारवाही प्रक्रिया अघि बढायौं । सुन तस्करीमा पनि सबैलाई कारवाही गरेका थियौं । देशभर सरकारी जग्गा मिचिएको फिर्ता ल्याउने काम थालेका थियौं ।

    सरकारले काम गर्न थालेपछि सबैमा आशा पलाएको थियो । त्यो देख्न नसकेका दलालहरूले हाम्रो सरकार ढाले, हामीले व्यवहारिक प्रमाणद्वारा पुष्टि गर्दै गइरहेका थियौं । तर, अहिलेको प्रधानमन्त्रीले शेरबहादुर देउवालाई अगाडि राखेर विराटनगरमा भएको एउटा कार्यक्रममा पहिलेको सरकारले हामीलाई भ्रष्टाचारी भनेर थुन्ने भयो त्यसैले हामीले सरकार ढालेर हाम्रो बनाएका हौं भनेर खुलेरै सार्वजनिक रूपमा भन्नुभयो । त्यसबाट हाम्रो सरकार किन ढालियो भन्ने प्रष्ट हुन्छ ।

  • प्रचण्डको प्रष्टीकरण- पार्टीभित्र कुनै विमति र मतभेद छैन (भिडिओ)

    प्रचण्डको प्रष्टीकरण- पार्टीभित्र कुनै विमति र मतभेद छैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन् ।

    मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए ।

    उनले भने, ‘केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपले जनतामा जाने गरेका हौँ । तपाईँहरूले यहाँ नेताहरूको टीम देख्नुभएको छ । यहाँ कसैको पनि विमति र मतभेद छैन । हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ । कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूलाई फाइदा मात्रै भयो । त्यो भूल अब हामी गर्दैनौँ ।’

    उनले अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

  • झापामा रिसाएका नारायणकाजी मोरङको आमसभामा अनुपस्थित, चितवन पुगेर दिए प्रष्टीकरण (भिडिओ)

    झापामा रिसाएका नारायणकाजी मोरङको आमसभामा अनुपस्थित, चितवन पुगेर दिए प्रष्टीकरण (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानको दोस्रो दिनको कार्यक्रम आज मोरङ जिल्लामा जारी छ । अहिले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा भइरहेको छ ।

    आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरु सहभागी छन्। तर, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आजको सभामा देखिएका छैनन् ।

    उनी हिजो झापाको कचनकबलमा भएको अभियान उद्घाटन समारोहमा सम्बोधनको क्रममा रिसाएका थिए । जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । त्यहाँ रिसाएका श्रेष्ठ बेलुका झापाको बाह्रदशीमा भएको कार्यक्रममा पनि उपस्थित भएनन् ।

    तर, पूर्वनिर्धारित कार्यक्रम भएकाले हिजो अभियान उद्घाटनपछि काठमाडौं फर्किएको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ अहिले चितवन पुगेका छन् । उनका समर्थकहरूले मञ्चमा देखिएको आन्तरिक कुरालाई उचालेर माओवादीहरू नै गुटको खेलमा लागेको टिप्पणी गरेका छन् ।

    श्रेष्ठ आज चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यक्रता प्रशिक्षण र शिवरात्री मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ ।

    उनले चितवन पुगेर अध्यक्षकै आग्रहमा बोलेको भएपनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए ।

    उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।’

    त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे । उनले सार्वजनिकरूपमा माफी माग्दै पार्टीको अभियानलाई कुनै असर नपार्ने बताएका छन् ।

  • माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

    माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

    मोरङ । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयाँलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको हो ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

    सहिद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।

    अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ। जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिँदै छ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।

  • कांग्रेस-एमालेलाई वर्षमानको चेतावनीः श्रीलंका र बंगलादेशका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नू

    कांग्रेस-एमालेलाई वर्षमानको चेतावनीः श्रीलंका र बंगलादेशका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नू

    झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् ।

    झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए ।

    जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए ।

    ‘तानाशाहहरु, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’, पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरुमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् । खबरदार, त्यो दिवासपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’

    उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए ।

    १०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लाखेको फोहोर सफा गर्न आफूहरु अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे । रेक्सन गर्नुस् ।

    ‘हामीले क्रान्ति सजिलै गरेका होइनौं । कमरेड प्रचण्डको नेतृत्वमा हामीले धेरै दुःख, कष्ट र १०औं कजारको दलिदानी गरेर देशलाई यहाँसम्म ल्याएका हौं’, उनले भने, ‘केही मान्छेले हाम्रो धैर्यता र लचकतालाई कमजोरी ठान्छन भने उनीहरुले पछुताउनुपर्नेछ ।’

    पुनले वर्तमान व्यवस्था जोगाउन जस्तोसुकै बदिलानीका लागि पनि आफूहरु तयार रहेको बताए ।

    पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मुलधारका राजनीतिक दलका नेताहरुले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।

    पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए । जनताको भावनाविपरीत अघि बढे उनीहरुलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए ।

    पुनले लोकतन्त्रमा मनोमानी ढंगले चल्ने शासकको हालत के हुन्छ भन्ने श्रीलंका र बंगलादेशका हालैका राजनीतिक घटनाक्रमबाट सिक्न सत्तासीनहरुलाई आग्रह गरे ।

    पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र स्थापनापछि मुलुकले पूर्वाधार विकासमा फड्को मारेको भन्दै केही भएन भन्नेहरुले भ्रम छर्ने प्रयास गरेको बताए ।

    पञ्चायतको ३० वर्षमा ७ हजार किमी र बहुदलीय व्यवस्थाको १४ वर्षमा १७ हजार किमी सडक निर्माण भएकामा गणतन्त्रको १० वर्षमा देशभर डेढ लाख किमी सडक बनेको तथ्यांक प्रस्तुत गरे ।

    सामान्ती र एकात्मक व्यवस्थाले दबाएका महिला, आदिवासी जनजाति, दलित, मधेसीहरु गणतन्त्रमा सत्ता चलाउने ठाउँमा पुगेको उनको भनाइ थियो ।

    ‘संसदीय व्यवस्थामा ७ जना भन्दा बढी महिला संसदमा थिएनन् । अहिले संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० महिला प्रतिनिधित्व सम्भव भएको छ । दलितहरुमाथिको छुवाछुत कानूनतः दण्डित भएको छ’, पुनले भने, ‘हाम्रो क्रान्तिले जनतालाई मालिक बनाएको छ । राज्य सत्तामा आफ्नो अधिकार लिने हकदार बनाएका छौं ।’

    अर्को एक फरक प्रसंगमा पुनले मुकुम्लुङ (पाथीभरा) का आदिवासी समुदायको आवाज नसुनेर सरकारले गोली चलाइरहेको भन्दै आपत्ति जनाए ।

     

  • प्रचण्डसामु जनार्दनले भने- फेरि लोभ र मोहमा फसे माओवादीले जनताको अपेक्षा पूरा गर्न सक्दैन (भिडिओ)

    प्रचण्डसामु जनार्दनले भने- फेरि लोभ र मोहमा फसे माओवादीले जनताको अपेक्षा पूरा गर्न सक्दैन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी रुपान्तरण हुनुपर्ने बताएका छन् ।

    जनतासँग माओवादी तराई-मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिनुपर्ने बताए ।

    शर्माले प्रचण्डसामू भने, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई बदल्नुछ, त्यो बदल्न सक्दैनौं भने जनताको यो आवाजको नेतृत्व हामी गर्न सक्दैनौं। जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं । त्यसैले जनताको समस्या समाधान गर्नको लागि हामी लाग्नुपर्छ । जनताको आवाजलाई पूरा गर्नको लागि पहिले माओवादी र नेतृत्व बदलिएर त्याग गर्ने भावना देखाउँनुपर्छ, त्याग गर्ने होइन, फेरि लोभ र मोहमा फस्यो भने सक्दैन । त्यसैले त्याग गर्न शिक्षा लिएर अहिले जनताको कुरा सुन्न आएका हौं ।’

    उनले जनताको भावना र मागसँग जोडेर संगठन निर्माण गर्नुपर्नेमा जोड दिए।

    उनले थपे, ‘जनतासँग जोडिने कुरामा हामी पछि परेका छौं । त्यसैले जनतासँग जोड्नको लागि जनताले चाहेको नेतृत्व चयनको प्रक्रियामा पार्टीमा लैजानुपर्छ । र महाधिवेशनतिर पनि जानुपर्छ । अहिले हामीले स्थागित गरेको लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै जनतालाई लोकतन्त्रलाई अनुभूति गराउँनुगरी हामी अघि बढ्नुपर्छ ।’

  • माओवादीबाट निर्वाचित जनप्रतिनिधि भेलाको ३० बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठ)

    माओवादीबाट निर्वाचित जनप्रतिनिधि भेलाको ३० बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ३० बुँदे प्रतिबद्धता पारित गरेका छन्।

    काठमाडौंमा हालै भएको पालिका प्रमुखहरूको राष्ट्रिय भेलाले सामूहिक प्रतिबद्धता जनाएको हो।

    प्रतिबद्धता पत्रमा भनिएको छ, ‘पालिकामा हुने काममा अनियमितता र भ्रष्टाचार हुन दिने छैनौँ। पालिकामा सुशासन सुनिश्चित गर्नेछौँ।पालिकाहरूमा सरलीकृत प्रक्रिया, प्रविधिको प्रयोग, घरदैलो सेवा र तत्काल गुनासो सुनुवाइको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई अझ बढी द्रुत र सेवाग्राहीमैत्री बनाउनेछौँ ।’

    ज्येष्ठ नागरिक तथा अन्य लक्षित समूह केन्द्रित सामाजिक सुरक्षा भत्ता घर घर मा नै उपलब्ध गराउने उल्लेख छ।

    गुणस्तरीय बालविकास, बाल शिक्षा, प्राथमिक वा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको रणनीति र कार्य योजना निर्माणलाई अझ वैज्ञानिक, वस्तुपरक, प्रभावकारी र परिणाम बनाउँदै गुणस्तरीय शिक्षामा सर्वसुलभ पहुँचलाई सुनिश्चित गर्न प्राथमिकताका साथ जोड दिएको छ।

  • माओवादीले लुटपाटबाट जम्मा गरेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा पर्‍यो- डा.भट्टराई

    माओवादीले लुटपाटबाट जम्मा गरेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा पर्‍यो- डा.भट्टराई

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

    एमाले वागमती प्रदेश इन्चार्ज समेत रहेका नेता भट्टराईले ४ वटा कारण दिँदै देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पुर्‍याउन माओवादीकै विगतका निर्णय र क्रियाकलापहरु मुख्य कारण रहेको बताएका हुन् ।

    माओवादी सांसद माधव सापकोटाले नेपाल ग्रे लिस्टमा परेको भन्दै प्रधामन्त्रीसहित सरकारले मार्ग प्रशस्त गर्नुपर्ने माग संसदमा राखेलगत्तै एमाले नेता भट्टराईले माओवादीमाथि ४ वटा प्रश्न उठाएका हुन् ।

    भट्टराईले माओवादी युद्धकालमा चन्दा,लुटपाट र अपहरणबाट अकुत सम्पत्ति जम्मा भएको र त्यो पैसा वित्तीय प्रणालीमा अस्वच्छ रुपमा मिसिएकाले सम्पत्ति सुद्धिकरणको ग्रे लिस्टमा पर्ने आधार बिगतदेखि नै बनेको बताएका छन् ।

    भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा एफएटीएफले पटकपटक ग्रे लिस्टको चेतावनी दिएको तर उक्त सरकारका बेलामा कानूनी र प्रणालीगत सुधारमा कुनै काम नभएकाले सन् अघिल्लो वर्षकै रिपोर्टका आधारमा नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

    यस्ता छन् राजन भट्टराईले दिएका ४ आधार

    १.माओवादी हिंसा र सम्पत्ति शुद्धीकरणको सम्बन्ध

    माओवादी युद्धकालमा अंकुत सम्पत्ति जम्मा गरियो, जुन अनुगमन हुन सकेन।
    जबरजस्ती चन्दा, लुटपाट र अपहरणबाट उठाएको पैसा अहिले पनि वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएको छ।

    २. एफएटीएफ ग्रे लिस्टको कारण नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण भनेकै वित्तीय पारदर्शिता अभाव, गैरकानुनी लेनदेनको निगरानी कमजोरी, र आतंकवादी गतिविधिमा आर्थिक सहयोग हुन सक्ने सम्भावना हो। प्रचण्ड प्रधानमन्त्री भएका बेला नै एफएटीएफले पटक–पटक चेतावनी दिएको थियो।

    ३‍.२०६३ पछि माओवादी नेतृत्व सरकारमा आएदेखि नै आर्थिक अनियमितता बढ्दै गयो। सरकारमा हुँदा कानुनी सुधार नगर्ने, अनुगमन कमजोर पार्ने, र आफ्ना भ्रष्ट नेताहरूलाई जोगाउने खेल माओवादीले नै गर्‍यो।

    ४‍. कसले मार्ग प्रशस्त गर्नुपर्छ ?

    यदि माधव सापकोटाले नैतिकताको कुरा उठाउने हो भने, पहिला प्रचण्ड स्वयंले नैतिक जिम्मेवारी लिएर राजनीतिबाट संन्यास लिनुपर्छ। माओवादी नेतृत्वकै कारण आज नेपाल अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नजरमा अस्वच्छ देखिएको हो।

    सरकार असफल भयो भन्ने आरोप लगाउनु सजिलो छ, तर यसको जग कसले खन्यो भन्ने बुझ्नुपर्छ। माओवादीकै कारण नेपाल भ्रष्टाचारको अखडा बन्यो, अनि आज आएर आफैंलाई चोखो देखाउने कोसिस गर्दैछन्। वास्तविक दोषी को हो भन्ने जनता राम्रोसँग बुझ्छन्।

  • सदन : माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडिओ)

    सदन : माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

    सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए ।

    यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।

    उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।

  • माओवादी प्रवक्ताको जिकिर- ओली फेरि संसद विघटनको बाटोमा छन् (भिडिओ)

    माओवादी प्रवक्ताको जिकिर- ओली फेरि संसद विघटनको बाटोमा छन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।

    उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’

    अध्यादेशको बलमा शासन चलाउन खोजेर संसद विघटन गर्न उद्धत भएको उनको आरोप थियो । प्रधानमन्त्री ओलीलाई संसद विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको पनि उनले जिकिर गरे । संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको सापकोटाको तर्क थियो ।

    सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको जिकिर छ । सरकार असफल सावित भएको टिप्पणी गर्दै सापकोटाले अहिले संसद कामविहीन देखिएको बताए ।

  • प्रचण्ड र बीपी युग नायक हुन्, ओलीको लोकप्रियताको ग्राफ घट्यो : वर्षमान पुन

    प्रचण्ड र बीपी युग नायक हुन्, ओलीको लोकप्रियताको ग्राफ घट्यो : वर्षमान पुन

    झापा । नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् ।

    झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रुपमा स्थापित भएको उल्लेख गरे ।

    ‘नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपी कोइरालाले जहाँनिया राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो’, पुनले भने, ‘यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरु हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।’

    प्रचण्ड १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रुपमा इतिहासले स्वीकार गर्ने दाबी गरे ।

    यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए । आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैं उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए ।

    जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोश्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे ।

    ‘म जनयुद्धको पहिलो फौजी कमाण्डको कमाण्डर हुँ । २८ वर्षदेखि प्रचण्डसँग काम गर्दै आएको छ । बिग्रिएका जति सबै प्रचण्डको थाप्लोमा हाल्ने र राम्रो सबै हामीले गरेको भन्ने पक्षमा हामी हुनुहुँदैन’, पुनले भने, ‘मेरो भनाइ कोही साथीप्रति लक्षित छैन । हामीले राम्रा जति सबै प्रचण्डबाट भएको भन्ने वा नराम्रा जति सबै प्रचण्डको टाउकोमा हाल्ने र जसजति आफूले लिने गल्ती गर्नुहुँदैन । राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी नेतृत्वमा भएका हामी सबैले लिनुपर्छ ।’

    पुनले पार्टीभित्र आफ्नो छुट्टै समूह नभएको पनि स्पष्ट गरे । कार्यशैली, विचार र दृष्टिकोणमा समानता हुनेहरुबीच बढी नजिक सम्बन्ध हुनुलाई अन्यथा मान्न नुहुने भए पनि त्यसैलाई स्थायी गुट बनाउन नहुने भन्दै उनले आफूले गुट निर्माण नगरेको बताए ।

    फरक प्रसँगमा पुनले आगामी ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कसैसँग तालमेल नगरिने दोहो¥याए । प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि चालेका कदमका कारण जनतामा माओवादीको लोकप्रियता बढेको भन्दै उनले त्यही एजेण्डाका साथ चुनावमा जाने नीति रहेको बताए ।

    उनले सरकारले राम्रो गर्दा समर्थन र खराब काम गर्दा प्रतिपक्षमा रहेर भण्डाफोर र प्रतिवाद गर्ने भन्दै सरकार प्राथमिकतामा नरहेको स्पष्ट गरे ।

    ‘प्रचण्ड नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियानबाट डराएर काँग्रेस र एमाले मिलेका हुन् । हामी ०८४ सम्म यही सरकार चलोस् भन्ने चाहन्छौं’, पुनले भने, ‘सरकारमा हाम्रो ध्यान छैन । राम्रो गर्दा सरकारलाई साथ दिन्छौं । नराम्रो गर्दा भण्डाफोर र प्रतिवाद गर्छौ ।’

    कांग्रेस र एमालेसँग आफूहरुले राजतन्त्र अन्त्यदेखि संविधान निर्माणसम्म सहकार्य गरेको र त्यो सही रहेको भन्दै उनले संविधान कार्यान्यवनसम्म आउँदा आधारभूत रुपमै ती दुई दलसँग फरक परेको बताए ।

    कांग्रेस र एमाले प्राप्त उपलब्धीबाट पछि फर्कन खोजेको आरोप पनि पुनले लगाए । अर्को एक प्रसंगमा पुनले प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ धेरै घटेको दाबी गरे ।

  • नेपाल बार निर्वाचन- कांग्रेसबाहेकका वकिलहरूको भेला, अध्यक्षमा क-कसले गरे दाबी ?

    नेपाल बार निर्वाचन- कांग्रेसबाहेकका वकिलहरूको भेला, अध्यक्षमा क-कसले गरे दाबी ?

    काठमाडौं । नेपाल बार एसोसियसनको अर्को महिना हुने निर्वाचनका लागि वामपन्थी पार्टी आवद्ध वकिलहरू एक ठाउँमा उभिएका छन् । हालै सम्पन्न बार काउन्सिल निर्वाचनमा मिलेर लडेका एमालेनिकट पीपीएलए र माओवादीनिकट आरपीएलएसहित अन्य समूहसमेत बार निर्वाचनमा मिलेर जाने भएका छन् ।

    विहीबार नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, सय वर्ष उमेर टेक्न लागेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वपदाधिकारी सतिशकृष्ण खरेलसहितले आयोजना गरेको बार निर्वाचन केन्द्रित भेलामा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी समेत पेश गरेका थिए ।

    सो भेलामा बार अध्यक्षका लागि पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, ईश्वरी भट्टराई, महेश नेपाललगायतले अध्यक्ष पदमा आफने दाबी रहेको बताएका थिए । यीमध्ये श्रेष्ठ माओवादीनिकट हुन् भने अन्य दावेदार एमालेनिकट पीपीएलएमा आबद्ध छन् ।

    भेलामा कांग्रेसनिकट डीएलएबाहेक सबै दल आबद्ध र स्वतन्त्र वकिलहरुको सहभागिता थियो । यो निर्वाचनमा सबै मिलेर विगतको गल्ति सच्याउनुपर्ने भेलामो निष्कर्ष रहेको शम्भु थापाले बताए । थापाले भेलामा अघिल्लो निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई अध्यक्ष जिताएकोमा पश्चाताप समेत व्यक्त गर्दै अब उक्त गल्ती नगर्ने बताएका थिए ।

    अघिल्लो निर्वाचनमा एमालेबाहेक अन्य दलको गठबन्धन बनेको थियो । जसलाई शम्भु थापालगायतले समर्थन जनाएका थिए । यसपटक वामपन्थीहरू मिलेर बार जित्नुपर्नेमा कसैको विमत्ति नरहेको भेलाका सहभागीले बताए । सो भेलामा रास्वपा समर्थित स्वतन्त्र कानून व्यवसायी संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले समेत ऐक्यबद्धता जनाएका थिए ।

    नेपाल बारको कार्य समिति निर्वाचनका लागि चैत २१ गते निर्वाचन हुँदैछ । वाम गठबन्धनबाट एमालेले अध्यक्ष र माओवादीले महासचिव लिएर जाने सम्भावना रहेको बताइएको छ । बाँकी पदमा रास्वपा,नेकपा एस,मधेशवादीलगायत सबैलाई समेट्ने तयारी छ ।

    नेकपा एसको एसपीएलएका अध्यक्ष डेकेन्द्र सुवेदीबाहेक एउटा पक्ष भने कांग्रेससँग मिलेर जाने पक्षमा छ । यसबीचमा भएका उच्च बार पाटन,सर्बोच्च बार,बार काउन्सिललगायत निर्वाचनमा कांग्रेस र नेकपा एसबीच तालमेल हुँदै आएको छ भने एमाले र माओवादी मिलेर लडेका छन् ।

    बार काउन्सिलमा सबैभन्दा धेरै मतदाता रहेको बागमतीबाट एमाले माओवादी गठबन्धनले जितेपछि उनीहरु बारको निर्वाचनका लागि मिलेर जान थप उत्साहित भएका छन् ।

  • माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)

    माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले र माओवादीसँग मिल्दैछ भनेर भइरहेको प्रचारको खण्डन गरेका छन्।

    पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरू पार्टी एकताबद्ध बनाएर जाने पक्षमा रहेको बताए।

    उनले भने, ‘हाम्रो पार्टीको विषयमा अनेक कुप्रचार हुँदैछन्। कसैले कहिले एमालेसँग यो पार्टी मिल्ने भयो भनेर कसैले माओवादीसँग मिल्न जाने भनेर, यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्न आवश्यक छैन। हामी हाम्रो पार्टीलाई बलियो र सशक्त बनाउन चाहन्छौँ।’

    आफूहरूले दक्षिणपन्थी अवसरवादको विरुद्ध गरेको विद्रोहको औचित्य दिनदिनै पुष्टि हुँदै गएको जिकिर गरे।

    उनले आफूहरू अहिले समाजवादी र वामपन्थी शक्तिहरूलाई साथ लिएर अघि बढ्ने पक्षमा रहेको बताए।

  • सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड

    सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया बाक्लो बनाएका छन् । शुक्रबार तनहुँको दुलेगौडामा शहीद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

    भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका शहीद तथा बेपत्ताहरूको सम्मान, राहतलगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए ।

    उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ । जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ । हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानून टुंगो लगाएका छौँ । आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं ।’

    भेटमा शहीद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले शहीद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए ।

  • माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ

    माओवादी संविधान संशोधनको पक्षमा छ : उपाध्यक्ष श्रेष्ठ

    धरान (सुनसरी) । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धरान उपमहानगर समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।’

    उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।

    लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए ।

    ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उनले स्थानीयवासीको मागलाई सम्बोधन गरेर केबुलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताए । -रासस

  • जनताको अवस्था बदल्न जनयुद्ध लड्यौं : प्रचण्ड

    जनताको अवस्था बदल्न जनयुद्ध लड्यौं : प्रचण्ड

    गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएको छन् ।

    गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताए ।

    उनले भने, ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन जनयुद्ध हो । यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’

    पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताए ।

    यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने जानकारी पनि दिए ।

    शहीदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै उनले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिए ।

    शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गरे ।

    पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरुपमा अघि बढेको बताए ।

    सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको भेटघाटमा आइरहने बताए ।

    आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उनले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गरे ।

     

  • माओवादी तराई-मधेश जागरण अभियानको लक्ष्य : आत्मसमीक्षसहित आफ्नो कुरा राख्ने, जनताको कुरा सुन्ने

    माओवादी तराई-मधेश जागरण अभियानको लक्ष्य : आत्मसमीक्षसहित आफ्नो कुरा राख्ने, जनताको कुरा सुन्ने

    काठमाडौं । नेकपा माओवाद केन्द्रका तराई–मधेश जागरण अभियानमा पार्टीका उपमहासचिवसम्मका नेताहरू अनिवार्य हिँड्नुपर्ने भएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुने अभियान फागुन १२ गते झापाको कचनकवलको वानियानी बजारबाट सुरु भएर चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा उल्लेख छ।

    परिपत्रमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीचको सम्बन्ध विस्तार गर्ने आदि उद्देश्यलाई केन्द्रबिन्दु बनाइ अभियान सञ्चालन हुन्छ।’

    फागुन महिनामा पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सकेपछि ०८२ साल वैशाख महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन हुने उल्लेख छ।

    अभियान एक जिल्लामा एक दिनको कार्यक्रम हुने र अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि हुने उल्लेख छ।

    परिपत्रमा उल्लेख छ, ‘अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ । कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थान सम्म स-साना कार्यक्रमहरू आयोजना गर्न सकिने छ ।’

    अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप-महासचिवहरूका साथै सांस्कृतिक टोली, सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता सहभागी हुने उल्लेख छ।

    अभियान सञ्चालनको लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नुका साथै स्थानीय विशेषता सहितका सांस्कृतिक टोली, स्थानीय भेसभुसा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नुपर्ने परिपत्रमा भनिएको छ।

    कांग्रेस र एमाले मिलेपछि सरकारबाट बाहिरिएको माओवादीले अहिले पार्टी पुनर्निर्माण गर्ने संकल्पकासाथ अघि बढेको छ।

    विगतमा भएका कमीकमजोरी सच्चाउँदै जनताकहाँ गएर आफ्नो कुरा राख्न र जनताको कुरा सुन्दै जनतासँग पार्टीको सम्बन्ध सुधार गर्ने अभियानको लक्ष्य छ।

  • प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त ! (भिडिओ)

    प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त ! (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारले ल्याएको अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्ड प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश आफूहरु विपक्षीमा हुँदा पनि समर्थन गरेको बताए ।

    उनले भने, ‘सरकारले कामको गति अगाडि बढाउँन अध्यादेश ल्याउँदा अहिले बिग्रियो चाहिँ के ? यहाँ सत्ता र प्रतिपक्षी हुनुपर्ने जरुरत चाहिँ किन ? कित हामीले अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था नै हटाइदिऔं । अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको छ । सहमतिबाटै गरौं ।’

    उनले संसदको दुवै सदनले पारित गर्नुपर्ने भएकाले संसद छलेर कानून नबन्ने बताए ।

  • सुदनको टिप्पणी- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर देखेर दुनियाँ हाँस्यो (भिडिओ)

    सुदनको टिप्पणी- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर देखेर दुनियाँ हाँस्यो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिजो ओडिसा घटनाबारे सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएको आरोप लगाए ।

    उनले भने, ‘अहिले सदनमा जनताको एजेण्डाले स्थान पाउँदैन, बरु मिडिया खपतको लागि आरोप-प्रत्यारोप, गर्ने दुर्व्यसनीको अड्डाजस्तै बनेको छ । केही दिनअघि प्रधानमन्त्रीसँग भएको सवालजवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुखलाई पनि भित्रभित्रै लज्जाबोध भइराखेकै होला ।’

    उनले आज मुलुकलाई अराजकता नभई धैयर्ता, संयमता र उच्च त्यागको आवश्कता परेको बताए ।

    सांसद किरातीको भनाइ जस्ताको तस्तै-

    भनिन्छ लोकतन्त्रमा संसद ऐना जस्तै हुनुपर्छ । संसदमा देश र जनताको तस्बिर देखिनुपर्छ । तर, त्यस्तो हुन सकेको छैन । हिजो मात्रै भारतको उडिसा राज्यमा भएको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद बेखबर रह्यो । माननीयज्यूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने तर हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय ! के नियमावलीले छेक्यो कि नियतीले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो, वा हाम्रो मष्तिस्कमा पूर्वाग्रह भयो ।

    दु:खका साथ भन्नुपर्छ, हाम्रो संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छोड्यो । बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै संसद बन्दै गएको छ सभामुख महोदय । केही दिन अघि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुख महोदयलाई पनि भित्र भित्रै लज्जाबोध भइराखेको होला । सभामुख महोदय, आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयमता, त्याग र उच्च नैतिकताको आवश्यकता परेको छ ।

  • माओवादीको १२ बुँदे प्रस्ताव : पाथीभरा क्षेत्रमा देखिएको समस्या वार्ताबाट समाधानको माग

    माओवादीको १२ बुँदे प्रस्ताव : पाथीभरा क्षेत्रमा देखिएको समस्या वार्ताबाट समाधानको माग

    विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशले पाथीभरा मुक्कुमलुंग क्षेत्रमा भइरहेको विवाद वार्ताबाट समाधान खोज्न माग गरेको छ ।

    माओवादी केन्द्र प्रदेश परिषद् बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै पाथीभरा क्षेत्रमा भइरहेको निर्माण तत्काल रोक्न आग्रह गरेको छ ।

    बैठकले आन्दोलनरत पक्ष माथि सरकारले दमन गरेको भन्दै विरोध समेत गरेको छ । बैठकले गत भदौ असोजको वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिन र भत्किएको पुल बाटोघाटो, खाने पानी, सिँचाइ लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    यस्तै तत्काल किसानलाई मल उपलब्ध गराउन, दैनिक उपभोग्य बस्तु र रड, सिमेन्ट जस्ता निर्माण सामग्रीको आकासिँदो मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

    कोशी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याएको आम सञ्चार विधेयकका प्रावधान खारेज गर्न, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, औपचारिक क्षेत्रका श्रमिकहरूको ज्याला वृद्धि गर्न र अनौपचारिक क्षेत्रका मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गर्न माग गरिएको छ ।
    यस्तै तराइ भेगमा जङ्गली हात्ती आतङ्क र पहाडी भेगमा बाँदरबाट भइरहेको ठुलो क्षतिलाई न्यूनीकरण गर्न पनि माओवादीले माग गरेको छ ।

    प्रदेश सरकारको चालू आर्थिक वर्षमा पारित बजेट तथा योजना अनुसार सहिद आवास कार्यक्रम तत्काल कार्यान्वयन गर्न र विकास निर्माण, सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा हुने गरेको, अनियमितता, ढिलासुस्ती र बेथितिलाई नियन्त्रण गर्न पनि माओवादीले माग गरेको छ ।

  • वर्षमानलाई प्रधानमन्त्रीको जवाफ- आँकडामा कुरा गर्नु, तपाईं अर्थमन्त्री हुँदाभन्दा राम्रो स्थिति छ (भिडिओ)

    वर्षमानलाई प्रधानमन्त्रीको जवाफ- आँकडामा कुरा गर्नु, तपाईं अर्थमन्त्री हुँदाभन्दा राम्रो स्थिति छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा भन्दा अहिले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दावी गरेका छन् । आज संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विभिन्न आँकडा प्रस्तुत गर्दै सो दावी गरेका हुन् ।

    प्रधानमन्त्रीलाई माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले अहिले अर्थतन्त्रमा सिथिलता आएको भन्दै यसमा सुधार गर्ने योजना के–के छन् भनि सोधेका थिए ।

    उनको प्रश्न थियो, ‘अर्थतन्त्रमा सिथिलता आएको छ, जनताको चुल्हो महंगीको मारमा परेको छ, पूँजीगत खर्च हुन सकेको छैन, युवाको पलायन जारी छ । यस्तोमा समग्र अर्थतन्त्र सुधार गर्ने सरकारको नीति र प्राथमिकता के के छन् ?’
    ओलीले ‘रुचीकर प्रश्न’ भन्दै जवाफ दिन थाले । उनले पुनलाई आफू अर्थमन्त्री हुँदा र अहिलेको अर्थतन्त्रको अवस्था तुलना गर्न आग्रह गरे ।

    प्रधानमन्त्रीको जवाफ यस्तो थियो, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नुभएकोमा यसअघिको अर्थमन्त्रीसमेत रहनुभएका प्रश्नकर्ता माननीयज्यूलाई धन्यवाद नदिइरहन कसरी बस्ने । ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहन्थ्यो । त्यसभन्दा अगाडि र त्सयताको मूल्यवृद्धिको अनुपात हेर्न आग्रह गर्छु । प्रश्नका लागि धन्यवाद छ, तर उसबेलाको पनि सम्झनुपर्छ । हामीले आँकडामा प्रश्नोत्तर गर्ने र तुलना गर्ने बानी बसाउँ । हो, सरकारको पूँजिगत खर्च कम छ ।

    तर माननीयज्यू अर्थमन्त्री हुँदाको तुलनामा बढी नै छ । हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीररुपमा काम गरिरहेका छौं । असारमा धान नरोपेपछि नै मंसिरमा नफल्ने हो ।

    नरोपेपछि फल्ने कुरै भएन । अघिल्लो सरकारका नीति र प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो होइन । अहिले हामी कानूनमा भएका अप्ठेरालाई हटाएर अर्थतन्त्रलाई सुधार्न र लगानीको वातावरण बनाउन खोजिरहेका छौं ।’