Category: माओवादी केन्द्र

  • आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड (भिडिओ)

    आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड (भिडिओ)

    काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

    यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।

    त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोडसहित भित्र पस्ने तयारीमा छन् ।

  • रास्वपाको आकस्मिक बैठक बस्दै, प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा नजाने

    रास्वपाको आकस्मिक बैठक बस्दै, प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा नजाने

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ ।

    यसअघि प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने गरेको रास्वपा पछिल्लो परिस्थिति र जे जी आन्दोलनका माग विश्लेषण गर्दै बैठकमा नजाने भएको हो ।

    यसैबीच रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्दैछ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले अपरान्ह १ बजे केन्द्रीय कार्यालयमा पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेका हुन् ।

     

  • जेनजीको आन्दोलन : माओवादीको अभियान स्थगित

    जेनजीको आन्दोलन : माओवादीको अभियान स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्र मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको काठमाडौं फर्किने तयारीमा रहेको छ ।

    अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो।

    जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि माओवादीले अभियान स्थगित गरेर अध्यक्ष प्रचण्डसहितका नेताहरू काठमाडौं फर्किन लागेका हुन्।

    प्रचण्डले जेन–जीको माग सम्बोधन गर्न माग गर्दै स्थिति थप बिग्रिन नदिन सरकारसँग माग पनि गरेका छन्।

  • जेन–जीको माग सम्बोधन गर्न माग गर्दै प्रचण्डले भनेः स्थिति थप बिग्रिन नदिन सरकारले ठोस कदम चालोस्

    जेन–जीको माग सम्बोधन गर्न माग गर्दै प्रचण्डले भनेः स्थिति थप बिग्रिन नदिन सरकारले ठोस कदम चालोस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जेन–जी पुस्ताको प्रदर्शनमा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न आग्रह गरेका छन्।

    उनले जेन जी पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न माग गरेका छन्।

    उनले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’

    जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन्।

    उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछु।’

  • जेन–जीको प्रदर्शनप्रति नारायणकाजीको विश्वास–भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ

    जेन–जीको प्रदर्शनप्रति नारायणकाजीको विश्वास–भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन–जी पुस्ताको आन्दोलनलाई समर्थन जनाउँदै देश बनाउन राजनीति सफा गर्न आवश्यक रहेको बताएका छन्।

    काठमाडौंमा जेन–जी पुस्ताको प्रदर्शन चलिरहेको बेलामा उनले भनेका छन्, ‘जेन–जी पुस्ताले संघीय राजधानी काठमाडौंमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चिततासहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आजदेखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्षप्रति समर्थन गर्दछु ।’

    मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको उनले उल्लेख गरेका छन्।

    उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ ।’

    जेन–जी आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त गराउने विश्वास व्यक्त गरेका छन्।

    देशलाई भ्रष्ट राजनीतिक नेतृत्वबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्‍याउने उनको विश्वास छ।

  • बिचौलियाले प्रधानमन्त्री फेर्न थाले, अब पार्टी अध्यक्ष नै बनाउँछु भनेर हिँडेका छन् : वर्षमान पुन

    बिचौलियाले प्रधानमन्त्री फेर्न थाले, अब पार्टी अध्यक्ष नै बनाउँछु भनेर हिँडेका छन् : वर्षमान पुन

    बागलुङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बिचौलिया वर्गका कारण स्वाधीन राष्ट्रिय पुँजी निर्माणमा चुनौती खडा भएको बताएका छन् ।

    नेपाल राष्ट्रिय व्यापार संगठनद्वारा बागलुङमा आयोजित ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पुनले प्रतिस्पर्धी र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको तगारो बिचौलिया वर्ग भएको बताए ।

    बहुदलीय व्यवस्थाअघि मुलुक १० घरानाले चलाएको छ भन्ने गरिएको चर्चा गर्दै उनले बहुदलीय व्यवस्थापछि उक्त संख्या बढेर करिब ५० पुगेको र गणतन्त्रपछि उल्लेख्य वृद्धि भएको उल्लेख गरे । तर, ठूला भनिएका व्यापारिक घरानालाई एउटै बिचौलियाले चलाउने अवस्था आएको भन्दै उनले त्यो नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताए ।

    बहुदलअघि पञ्चायती व्यवस्थामा १० घरानाले देश चलाउँछ भन्ने गरिन्थ्यो । बहुदलीय व्यवस्था आएपछि करिब ५० घराना पुगे । अहिले ४र५ सय घराना पुगेका छन्’, पुनले भने, ‘त्यसमा पनि ठूला भनिएका २५ घरानाको जिम्मा एउटा बिचौलियाले लिएको अवस्था छ ।’

    कुनै व्यवसायमा लगानी नगरेका व्यक्ति व्यवसायीको प्रतिनिधिका नाममा बिचौलिया गिरी गरेर रातारात अर्बौँ कमाउने अवस्थामा पुग्नु राष्ट्रिय अर्थतन्त्रका लागि राम्रो संकेत नभएको पुनको भनाइ थियो । उनले बिचौलियाको हैसियत विभागका महानिर्देशक हुँदै मन्त्रालयका सचिव, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म फेर्नेसम्म पुगेको टिप्पणी गरे । प्रधानमन्त्री फेरेर मात्र नहुने भएपछि उनीहरू पार्टीका अध्यक्ष बनाउने काममा समेत अग्रसर हुन थालेको दाबी पुनको छ ।

    ‘बिचौलिया यति शक्तिशाली भए कि मन्त्रीलाई प्रधानमन्त्रीले नटेर्ने भएपछि प्रधानमन्त्री नै फेर्न थाले । अब पार्टी अध्यक्ष नै बनाउन हिँडेका छन् भन्ने सुन्न थालिएको छ’, उनले भने, ‘पार्टी आफैँ बनाउने, सरकार, संसद् आफैँ बनाउने, व्यापारी, प्रशासन संयन्त्र, प्रहरी अड्डा अदालत सबै आफ्नै हातमा राख्ने । स्वार्थ समूहले जेलिएको राजनीति, स्वार्थ समूहले जेलिएको प्रशासन, स्वार्थ समूहले जेलिएको न्यायालयले अब देश अघि बढ्न सक्दैन ।’

    पुनले निजी, सहकारी तथा सार्वजनिक पुँजीको मिश्रणबाट प्रतिस्पर्धी बजार र प्रतिस्पर्धी अर्थतन्त्रमार्फत सबल राष्ट्रिय अर्थतन्त्र निर्माण आफ्नो दलको उद्देश्य भएको उनको थियो । त्यसका लागि राज्यले पहुँच भएका र नभएकाका लागि समान खालको नीति र प्रतिस्पर्धी बजारको वातावरण बनाउनुपर्ने पुनले बताए ।

    ‘हामीले भन्ने गरेको समाजवादमा प्रतिस्पर्धात्मक राष्ट्रिय पुँजी बनाउने भनेको हो । सामन्ती निर्वाहमुखी अर्थतन्त्रबाट माथि उठाएर प्रतिस्पर्धी आत्मनिर्भर अर्थतन्त्र बनाउने हो’, उनले भने, ‘धनीलाई तल झारेर होइन गरिबलाई माथि उठाएर त्यस्तो अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।’

    गत वर्ष आफू अर्थमन्त्री भएका कृषि उपज निर्यातमा लगाइँदै आएको १३ प्रतिशत भ्याट हटाएर शून्यमा झार्नुका साथै आयातित कृषि उपजमा १० प्रतिशत अग्रिम कर लगाएको भए पनि वर्तमान सरकार बनेपछि पुरानै अवस्थामा फर्काइएको आरोप पुनले लगाए ।

    ‘गत वर्ष म अर्थमन्त्री थिएँ । बजेट बनाउने बेलामा कृषि उपज निर्यातमा लाग्ने गरेको १३ प्रतिशत भ्याटलाई शून्यमा झारियो । स्वदेशी उत्पादन प्रवर्द्धनका लागि विदेशबाट आयात हुने तरकारी र फलफूलमा १० प्रतिशत अग्रिम कर लगाइयो’, पुनले भने, ‘जसका कारण जुम्लाबाट मात्र ७० करोडको स्याउ निर्यात भयो । त्यो व्यवस्था अहिले बिचौलियाले अहिलेको बजेटबाट हटाइदियो । यो बिचौलिया र दलालहरूको सरकार भनेको त्यही भएर हो ।’

    यस्तै गत वर्ष नेपाल विद्युत् प्राधिकरणका १ लाख ६० हजार घरेलु ग्राहकको महसुल नतिरेकामा विद्युत् काटिए पनि सीमित घरानाले लोडसेडिङ अवधिमा प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइन बापतको अर्बौँ बक्यौता बिचौलियाकै डिजाइनमा छुट दिइएको टिप्पणी पनि पुनले गरे ।

    फरक प्रसंगमा उनले माओवादी केन्द्रले उद्योगी व्यवसायीले लगानी गरेर नाफा आर्जन गर्ने विषयको विपक्षमा नरहेकाले परम्परागत कम्युनिष्टका रूपमा नहेर्न अपिल पनि गरे । तर, बिना प्रतिस्पर्धा अर्बौँका सरकारी ठेक्का हडप्ने र बिना लगानी राज्य ठगेर सजिलै कमाइ गर्ने बिचौलिया पुँजीवादको सबै विपक्षमा उभिने चेतावनी पुनले दिए ।

    ‘सबैलाई बराबर अवसर हुनुपर्छ । योग्यता पुगेका सबैले प्रतिस्पर्धाको अवसर पाउनुपर्छ । प्रतिस्पर्धा गर, नाफा कमाऊ । कानून सबैलाई बराबर होस् । मुलुक सञ्चालनको जिम्मा बिचौलियालाई सुम्पने होइन भन्ने हाम्रो कुरा हो’, उनले भने ।

  • जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी

    जेन जी आन्दोलनमा माओवादीको समर्थन, बल प्रयोग नगर्न सरकारलाइ चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेन जीले भोलि गर्ने भनेको प्रदर्शनमा समर्थन रहेको जनाएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सामाजिक सञ्जाल रोक लगाउने सरकारको कदम गलत भएको उल्लेख गर्दै उक्त प्रदर्शनमा सरकारले बल प्रयोग गर्ने नगरोस् भन्दै चेतवानीसमेत दिएका छन् ।

    ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छु’, उनले लेखेका छन्, ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’

     

     

  • आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो, अदालतको आदेशको समेत अपव्याख्या गर्दैछ : प्रचण्ड

    आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो, अदालतको आदेशको समेत अपव्याख्या गर्दैछ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल नियन्त्रण नभई उचित नियमनको पक्षमा अडिग रहेको बताएका छन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको आरोप लगाए ।

    प्रचण्डले भनेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने र आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’

    सरकारको यो कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन/प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत गरेको दाबी गरे।

    ‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ’ प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ ।’

    संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम भएको बताए।

    उनले भनेका छन्, ‘अतः, म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु ।’

  • प्रचण्डबारे ओली- म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ

    प्रचण्डबारे ओली- म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग म्याजिक नम्बर रहेको भ्रम पर्न थालेपछि एमाले मुक्ति गरिएको बताएका छन्।

    पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए।

    उनले भने, ‘हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन। कि एउटा समर्थन गर्छ कि अर्काले। भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा। भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ।’

    उनले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताए। उनले देशलाई समृद्धि बनाउनेभन्दा ठुलो गन्तव्य अरू केही नभएको बताए।

  • माओवादीको निष्कर्ष- सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ (भिडिओ)

    माओवादीको निष्कर्ष- सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ ।

    पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपछि सरकारको गतिविधि हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेजस्तो देखिएको बताए ।

    उनले भने, ‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौं । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौँ । तर, हाम्रो प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको छ ।’

    उनले सामाजिक सञ्जाल नियमनको बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको बैठकले निष्कर्ष निकालेको बताए ।

  • माओवादीले फेरि भन्यो-पार्टीभित्र स्वार्थ समूह नरोकिए अनुशासनको कारबाही हुन्छ (भिडिओ)

    माओवादीले फेरि भन्यो-पार्टीभित्र स्वार्थ समूह नरोकिए अनुशासनको कारबाही हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै बसेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्नेबारे छलफल थालेको छ।

    पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘बैठकले स्वार्थ समूह रोक्ने, नरोकिए अनुशासनको दायरामा ल्याउने निर्णय गरेको छ। त्यसमा छलफल मात्रै भयो। बाँकी निर्णय पछि हुन्छन्।’

    उनले बैठकमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियानको बारेमा पनि छलफल भएको बताए।

  • पेरिसडाँडाबाट बाहिरिँदै जनार्दनले भने-मेरो बारेमा छलफल गर्नुपर्ने कारण छैन, बाँकी प्रवक्तालाई सोध्नु

    पेरिसडाँडाबाट बाहिरिँदै जनार्दनले भने-मेरो बारेमा छलफल गर्नुपर्ने कारण छैन, बाँकी प्रवक्तालाई सोध्नु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकबाट उपमहासचिव जनार्दन शर्मा बाहिरिएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकबाट शर्मा बाहिरिएका हुन्।

    पछिल्लो समय पार्टी उपमहासचिव शर्मा र अध्यक्ष प्रचण्डबीच अन्तरसंघर्ष चल्दै आएको थियो। प्रचण्डले शर्माबारे पार्टी बैठकमा छलफल हुने बताएका थिए।

    बैठकबाट बाहिरिने क्रममा शर्माले त्यसबारे भने, ‘सोध्नु न प्रवक्तालाई।’ उनले पार्टीको एजेन्डाबारे बैठकमा छलफल भएको भन्दै आफ्नोबारेमा कुनै छलफल गर्नुपर्ने कारण नभएको बताए।

    उनले भने, ‘मेरो विषयमा के हुने, पार्टीको एजेन्डाको विषयमा हुन्छ नि छलफल। मेरो विषयमा छलफल हुनुपर्ने के छ ररु केही पनि छैन। मैले केही अभिव्यक्ति दिएको छैन। अहिले प्रवक्तालाई सोध्नुहोला। त्यो एजेन्डा थिएन।’

  • माओवादी कोशी सचिवालय र सदस्यमा २०८ जना मनोनीत, विधान विपरीत भन्दै प्रचण्ड पक्षको विरोध

    माओवादी कोशी सचिवालय र सदस्यमा २०८ जना मनोनीत, विधान विपरीत भन्दै प्रचण्ड पक्षको विरोध

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा विधान विपरीत सचिवालय सदस्य र प्रदेश समिति सदस्य मनोनीत गरिएको छ ।

    भदौ १२ गते बसेको माओवादी कोशी प्रदेशको सचिवालय बैठकले १४३ जना प्रदेश समिति सदस्य र ६५ जना सचिवालय सदस्य मनोनीत गरेको हो ।

    मनोनीत भएसँगै अव माओवादीको कोशी प्रदेश समिति ५३५ जनाको भएको छ । सचिवालय सदस्य मात्रै १६९ जना पुगेको नेकपा माओवादी केन्द्र कोशी प्रदेशले जनाएको छ ।

    नेकपा माओवादी केन्द्रको विधानको भाग ६ मा प्रदेश तथा स्थानीय समितिको व्यवस्था छ । विधानले माओवादीको भूगोलका आधारमा सात वटा प्रदेश समिति, जवस मोर्चा विशेष प्रदेश समिति र काठमाडौँ उपत्यकामा सम्पर्क समन्वय प्रदेश समिति गरेर नौ वटा प्रदेश समिति रहेन व्यवस्था गरेको छ ।

    विधानको धारा २४ उपधारा १ मा भौगोलिक प्रदेश समितिहरूको व्यवस्था गरिएको छ । सो धारामा भौगोलिक प्रदेश समिति १२५ जनाको हुने व्यवस्था रहेको छ । यस्तै हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट १० जनाका दरले प्रदेश समितिमा मनोनीत गर्न सक्ने व्यवस्था विधानले गरेको छ ।

    कोशी प्रदेशमा २८ वटा सङ्घीय निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्रबाट १० जना मनोनीत गर्दा कोशी प्रदेश समितिमा थप २८० जना प्रदेश सदस्य थपिने छन् । विधान अनुसार माओवादीको कोशी प्रदेश समिति ४०५ जनाको हुने व्यवस्था छ ।

    तर विधानमै नभएको व्यवस्था अनुसार प्रदेशको सचिवालयले प्रदेश समिति सदस्य मनोनीत गरेको भन्दै माओवादी भित्रैबाट तीव्र विरोध भएको छ । पछिल्लो समय पाटीमा देखिएको दुई लाइन सङ्घर्षका कारण पनि कोशी प्रदेश समितिमा विधानले गरेको व्यवस्था भन्दा बढी सदस्य मनोनीत गरेको असन्तुष्टहरूले बताएका छन् । आफू निकटकालाई सेटल गर्न विधान विपरीत मनोनयन गरेर समिति भद्रगोल बनाएका असन्तुष्टहरूको दाबी छ । यसरी असन्तुष्ट हुनेहरू अध्यक्ष प्रचण्ड पक्षधरहरू रहेका छन् ।

    ‘मलाई पनि प्रदेश समिति सदस्यमा मनोनीत गरिएको छ । यसमा म सन्तुष्ट छैन तर प्रचण्ड लाइन कमजोर हुने देखिएपछि मौन बसेको छु,’ भरखरै मनोनीत भएका एक प्रदेश सदस्यले भने, अहिले गुटका आधारमा मनोनीत गरिएको छ । यसले प्रदेश समिति भद्रगोल भएको छ । आगामी अधिवेशनमा मतदानको अवस्था हुँदा अध्यक्षको लाइन नै कमजोर हुने देखेपछि असन्तुष्टि हुँदा हुँदै प्रदेश समिति सदस्य स्वीकार गरेको छु ।’

    कोशी प्रदेशमा अध्यक्ष पुष्पकमल दाहाललाई जनार्दन समूहले टक्कर दिँदै आएको छ । उनको सचिवालयमा बसेर काम गरेका हर्क नेम्बाङ मिक्सो माओवादी प्रदेश समिति अध्यक्ष छन् । प्रदेशको अधिवेशन चल्दा कोशीमा उप महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माका बिचमा प्रतिस्पर्धा थियो । प्रदेशको अधिवेशन भएको साँढे तीन वर्ष बित्दा पाटी भित्र जनार्दन र अध्यक्ष प्रचण्डकै बिचमा दुई लाइन सङ्घर्ष चलेको छ । यसको असर केन्द्रीय समिति हुँदै प्रदेश र जिल्ला सम्म आइपुगेको छ ।

    अध्यक्ष प्रचण्ड र शर्मा एक अर्कालाई खुल्लम खुल्ला कटाक्ष गर्न थालेका छन् । यस्तो अवस्थामा कोशीमा भने शर्मा पक्षधरको पकड बढ्दै गएको र अध्यक्ष लाइन रक्षात्मक हुँदै गएको पाटीको भित्रका आन्तरिक कमिटी निर्माणहरूमा देखिएका छन् । प्रदेशको राजधानी विराटनगरमा माओवादीको महानगर कमिटीको अधिवेशनमा अध्यक्ष प्रचण्ड लाइनका उम्मेदवारको पराजय भएको थियो ।

    कोशीमा पूर्व मन्त्रीहरू सुदन किराँती र शिवकुमार मण्डल खुलेर शर्माको पक्षमा बोलिरहेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो समेत मौन रूपमा शर्माको पक्षमा देखिन्छन् । आदिवासी जनजाति ‘फ्याक्टरमा’ शर्मा पक्ष हाबी हुँदा प्रदेश समितिमा पनि उनैको पकड बलियो हुँदै आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई सचिवालय बैठक मार्फत प्रदेश समितिमा मनोनीत गरेर शक्ति देखाएको अध्यक्ष पक्षधरको दाबी छ ।

    ‘अहिले शर्माका भन्दा पनि सुदन किराँती, शिवकुमार मण्डल, हर्क नेम्वाङ, इन्द्र आङ्वो निकटकाहरु प्रदेश समितिमा आएका छन् । उनीहरू सबै जनार्दनका होइनन् । एक सचिवालय सदस्यले भने, ‘शर्माका भन्दा पनि तलका नेताहरूको कुरा मान्नेहरू छन् ।’

    माओवादी केन्द्र कोशी प्रदेश समितिका उपाध्यक्ष शिव डाँगीले बाहिर भने जस्तो लाइन नभएको दाबी गरे । उनले भने,‘ माओवादीमा सबै प्रचण्ड लाइन हो । सबै प्रचण्डको नीतिमा हिँड्ने हो ।’

    म्याद सकिएको समितिले मनोनयन

    २०७८ साल मङ्सिर २५ गते माओवादी कोशी प्रदेशको अधिवेशन भएको हो । माओवादी केन्द्रको विधानले प्रदेश समितिको सम्मेलन हरेक तीन तीन वर्षमा गर्ने व्यवस्था गरेको छ ।

    विधानको धारा २३ उपधार २ मा भनिएको छ, ‘प्रदेशहरूमा प्रत्येक तीन वर्षमा, स्थानीय पालिकामा प्रत्येक २ वर्षमा र वडाहरूमा प्रत्येक वर्ष सम्बन्धित तहको कार्यसमितिले अधिवेशन गर्ने छ । ’ विधान अनुसार प्रदेश समिति गएको मङ्सिर मै आयोजक समितिमा परिणत भएको हो ।

    नेकपा माओवादी केन्द्र कोशी प्रदेश कार्यालय सचिव मातृका बरालले समय सकिए पनि स्थायी समितिको बैठकले अधिवेशन गर्ने म्याद नतोकिएको अवस्था सम्म आयोजक समिति नहुने भनेर सर्कुलर पठाएकाले यो समिति आयोजक समितिमा परिणत नभएको बताए ।

    उनले भने, ‘मङ्सिर मै अधिवेशन हुनु पर्ने हो । तर अधिवेशन नभएपछि पुसमा बसेको स्थायी समितिले प्रदेश समितिको अधिवेशन गर्ने मिति नतोकिन्जेल सम्म आयोजक समिति नहुने भन्ने निर्णय गरेको छ । त्यसैले यो समिति आयोजक समिति होइन ।’

    उनले विधानमा तोकिएको व्यवस्था भन्दा बढी सदस्य मनोनीत भएको स्वीकार गरे । उनले भने हाम्रो विधानमा वैकल्पिक प्रदेश सदस्यको पनि व्यवस्था गरेको छ । अधिवेशन आउन लाग्दा साथीहरूलाई किन वैकल्पिक भन्ने भनेर सदस्य नै भनिएको होला ।

    यस्तो छ सूची

  • सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनाएको सांसद मोदीको आरोप

    सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनाएको सांसद मोदीको आरोप

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनाएको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारमा आबद्ध दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएर संविधान विपरीत काम गरेको बताए।

    उनले भने, संसद् सचिवालयले सरकारसँग बहुमत छ भनेर अदालतलाई चिठ्ठी लेखेको छ। यसरी सचिवालयबाट पत्र पठाउन मिल्छ ? सरकारसँग दुई तिहाइ, बहुमत छ कि अल्पमतमा छ भन्ने कुरा संसद्ले गर्ने कुरा हो नि। तपाईँले त्यसरी चिठ्ठी पठाउन मिल्छरु सरकारको स्वेच्छाचारीमा संसद्ले समर्थन गर्न हुँदैन।

    उनले विश्वासको मत नलिएकै कारणले सरकारमाथि नै प्रश्न उठेको बताए।

  • पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक

    पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक अहिले जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ।

    बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, फेरि सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्व चयन, नेताहरूको कार्य विभाजन लगायतको विषयमा छलफल चलिरहेको छ।

    यस्तै, बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माका पछिल्ला अभिव्यक्तिबारे पनि छलफल हुनेछ। प्रचण्ड र शर्माबीच पछिल्लो समय सार्वजनिक रूपमै अन्तरसंघर्ष चलिरहेको छ।

  • माओवादीको एकता प्रस्तावमा विप्लव नेतृत्वको नेकपाको स्थायी समिति बैठकले के गर्‍यो निर्णय ?

    माओवादीको एकता प्रस्तावमा विप्लव नेतृत्वको नेकपाको स्थायी समिति बैठकले के गर्‍यो निर्णय ?

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावलाई स्वागत गरेको छ। हालै बसेको नेकपाको स्थायी कमिटी बैठकले एकताको प्रस्तावलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व हुनुपर्ने शर्त अघि सारेको हो।

    यसबारे थप छलफल पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा हुनेछ। अहिले केन्द्रीय कार्यालय कपिलवस्तुमा पोलिटब्युरो बैठक जारी छ। स्थायी कमिटीको बैठकले आगामी भदौ २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको नेकपा स्थायी समिति सदस्य अनिल शर्माले बताए।

    केन्द्रीय समितिपछि भदौ ३० गतेदेखि केन्द्रीय प्रतिनिधि समितिको बैठक पनि बस्दैछ। हालै बसेको माओवादी केन्द्रको बैठकले नेकपासँग पार्टी एकता गर्ने र प्रक्रिया अघि बढाउनको लागि कार्यदल बनाएर छलफल थाल्ने निर्णय गरेको थियो।

    यो निर्णयको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव निवासमै पुगेर जानकारी गराएका थिए। यसअघि पनि माओवादी र नेकपाबीच एकता गर्ने चर्चा भइरहेपनि ठोस रूप लिन सकेको छैन।

    पछिल्लो समय माओवादीले नेकपासहित समाजवादी मोर्चामा आबद्ध रहेको नेकपा एकीकृत समाजवादी र महेन्द्रराय यादव नेतृत्वको नेसपासँग पनि एकता प्रक्रिया अघि बढाइरहेको छ।

  • सुदन किरातीले भने-जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्‍यो

    सुदन किरातीले भने-जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्‍यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नै प्रश्न उठाएका छन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर प्रचार गरे जस्तै चीन र भारतबीच लिपुलेकबारे भएको सहमति चीनले फिर्ता लिन्छ ? भन्दै प्रश्न गरे।

    उनले भनेका छन्, ‘तपाईँको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार मार्फत तपाईँलाई भगवान् बनाउने गलत प्रयास भएको थियो तर क्रमशःआइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भइरहेको छ । यदि त्यस्तो हो भने कूटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सीमा भित्र मात्रै सीमित हुँदैन रहेछ।’

    उनले राष्ट्रियता र लिपुलेक सम्बन्धमा इमान्दर भए नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नु हुन्छ ? भन्दै प्रश्न उठाए।

    ‘सैन्य गठबन्धन जीएसआईलाई समर्थन गरेको कुरा चिनियाँ सरकारले भन्यो के साँच्चै तपाई संविधानकोविरुद्ध जानु भएको हो रु प्रस्ट्याउनु पर्‍यो’ उनले भनेका छन्।

  • टिपाइएको विषय नबोलेपछि आकस्मिक समयमा सभामुखले काटे माओवादी सांसद छिरिङल्यामु लामाको माइक (भिडिओ)

    टिपाइएको विषय नबोलेपछि आकस्मिक समयमा सभामुखले काटे माओवादी सांसद छिरिङल्यामु लामाको माइक (भिडिओ)

    काठमाडौं । सभामुख देवराज घिमिरेलाई आकस्मिक समयमा बोल्नका लागि टिपाइएको विषय भन्दा बाहिर गएर बोलेपछि सभामखु देबराज घिमिरेले नेकपा माओवादी केन्द्रका सांसद छिरिङल्यामु लामालाई बोल्न रोकेका छन्।

    उनले कर्णाली विकासमा सरकारले ध्यान नदिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले झापालाई मात्रै नेपाल देखिरहेको आरोप लगाइन । लगत्तै उनले केहि दिन अघि सिस्नोपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको जुरुक्क कर्णाली कार्यक्रमको प्रसंग जोडिन् । लगत्तै सभामुख घिमिरेले आफ्नो आकस्मिक समयलाई ध्यानमा राखेर बोल्न आग्रह गरे । घिमिरले जुन विषयमा बोल्नका लागि समय माग गरिएको हो, त्यसै विषयमा जानका लागि निर्देशन दिए ।

    सांसद लामाले आफु त्यसै विषयमा आइरहेको बताईन । उनले संसदका सबै बैठकमा प्रधानमन्त्रीको अनिवार्य उपस्थित रहनुपर्ने बताउदैँ फेरी पनि सिस्नुपोनी नेपालले प्रज्ञा प्रतिष्ठानमा केहि दिन अघि गरेको कार्यक्रम जुरुक्क कर्णालीकै प्रसंग जोडेपछि सभामुखले सांसद लामाको बोलिरहेको माइक काटीदिए । त्यसपछि सभामुखले घिमिरले मागेको समय र बिषय नमिलेको भन्दै लामालाई बस्न आग्रह गर्दै शून्य समयको कार्यक्रम प्रारम्भ गरे ।

  • एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर

    एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । आज पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महासचिव देव गुरुङ लिएर नेकपा एसको कार्यालय आलोकनगर पुगे ।

    बैठकमा नेकपा एसका तर्फबाट अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी थिए। दुई पार्टीका शीर्ष नेताहरुबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले बताए ।

    उनले भने, ‘समाजवादी मोर्चाको कामलाई व्यवस्थित बनाउने, दुई पार्टी वैचारिक दृष्टिकोणलाई एकमत बनाएर अघि बढ्नेलगायतको विषयमा कुराकानी भयो ।’

    उनले दुई पार्टीबीच मात्रै नभएर मोर्चामा आबद्ध रहेका दलहरूबीच वैचारिक एकता गर्नमा आफूहरू केन्द्रित रहेको बताए ।

    माओवादीसँगको एकताको चर्चाबारे उनले भने, ‘दुई पार्टीबीच मात्रै होइन, मोर्चामा रहेका पार्टीहरूका बीचमा वैचारिक छलफल गर्ने र विचारमा एकरूपता पहिला गर्ने भन्नेमा छलफल केन्द्रित छ ।’

    पछिल्लो समय प्रचण्ड र माधव नेपाल पार्टी एकतालाई केन्द्रित बनाएर निरन्तर संवादमा छन् । अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न नरम भएपछि सम्मानित नेता खलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनी पक्षधर नेताहरू विपक्षमा छन् ।

  • जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डको ब्रिफिङ-आफूले देखेको कुरा खुला रूपमा सबैले राख्न पाउँछन्

    जनार्दनसँगको अन्तरसंघर्षबारे प्रचण्डको ब्रिफिङ-आफूले देखेको कुरा खुला रूपमा सबैले राख्न पाउँछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

    पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र उठेका विभिन्न बहस, सङ्गठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे।

    उनले भने, ‘पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको छ। तर, यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि हुन सक्दैन। दसैँपछि मध्य पहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर पनि प्रत्यक्ष संवाद गर्नेछु।’

    सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र साङ्गठनिक सुधार देखिएको भन्दै अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न आग्रह गरे।

    पार्टीभित्र आत्मसमीक्षा र आलोचना आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए। पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए।

    पछिल्लो समय प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे बैठकमा प्रस्ट पार्दै भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’

  • प्रचण्डको जिकिर- गल्ती सच्याउँछौँ भनेर जनतामा जान आँट गर्ने पार्टी माओवादी मात्रै हो (भिडिओ)

    प्रचण्डको जिकिर- गल्ती सच्याउँछौँ भनेर जनतामा जान आँट गर्ने पार्टी माओवादी मात्रै हो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाध्यताले शान्ति प्रक्रियामा आउनुपरेको बताएका छन्।
    नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संविधान सभापति आफ्नो वर्ग र समुदायको हितमा आफूहरूले सक्दो काम गरेको बताए।

    उनले भने, ‘हामीले अहिले पनि क्रान्तिका अधुरा काम पूरा गर्नेबारे दलितहरूको पूर्ण मुक्तिको लागि आन्दोलन गर्ने ठाउँमा, महिला होस् वा अरू समुदायको लागि लड्ने ठाउँ त हामीले अझै बाँकी राखेकै छौँ। बोल्नै नहुने नाम निसानै नरहने अवस्था हुन त दिएनौँ। यो पक्ष पनि हामीले विचार गर्न जरुरी छ। क्रान्ति र आन्दोलनको मूल नेतृत्व जिउँदै रहँदा बीचमा छाडेर हिँड्नेहरूले जेजे बोले पनि खासै फरक पर्दैन। जेजे गरे पनि हुन्छ। जति बकवास गर्न पनि छुट छ। तर क्रान्तिले पैदा गरेको नेतृत्वको टीमलाई त्यो छुट छैन।’

    पछिल्लो समय आफ्नो वर्गसँगको सम्बन्ध लुज भएको बताए। उनले भने, ‘माओवादी यस्तो पार्टी हो। जसले आफ्नो विगतका कमीकमजोरीबारे आत्मसमीक्षा गर्ने आँट गर्‍यो। वर्ग र समुदायप्रति इमानदार भएको पार्टीले मात्रै आत्मालोचना गर्न सक्छ। गल्ती भयो भनेर। सरकारको नेतृत्व गर्दा होस् वा हटाइएपछि विभिन्न कार्यक्रममा होस्। माओवादी मात्रै हो हामीबाट गल्ती भयो हामी सच्याउँछौँ भन्ने। रूपान्तरण भएर जनतामा जाने आँट गर्‍यो।’

  • माओवादी मुख्यालयमा शिक्षकहरुको धर्ना (तस्बिरहरु)

    माओवादी मुख्यालयमा शिक्षकहरुको धर्ना (तस्बिरहरु)

    काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा पेरिसडाँडामा आज धर्ना दिएका छन। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

    सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ । शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय र आज माओवादीको कार्यालयमा धर्ना बसेका हुन् ।

    महास‌ंघका अनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

    महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।

    प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरु अझै पनि सम्बोधन हुन नसकेको बताइन् ।

    विधेयकमा रहेका असहमतिका बुँदाहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरुले सहयोग गर्ने विश्वास महासंघले गरेको उनले बताइन् ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

     

     

  • खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन

    खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको पहिचान उच्च बनाएको बताएका छन् ।

    ‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरु मुलुकको गौरब हुन्’, पुनले भने, ‘कुनै दल, आस्था, जाती र क्षेत्रको होइन, खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ ।’

    उनले समाजको सबै क्षेत्रले खेलाडीहरुलाई रोल मोडलका रुपमा लिने गरेको बताए । पछिल्लो समय क्रिकेट, फुटबल, मार्सल आर्ट र बुद्धिचालजस्ता खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको उनको भनाइ थियो। शारीरिक र मानसिक रुपले तन्दुरुस्त नागरिक तयार गर्न खेल क्षेत्रको भूमिकालाई सरकारले उच्च प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा खेलाडीको व्यवसायिकता वृद्धि गर्नुपर्नेमा पुनले जोड दिए ।

    पुनले विद्यालय र क्याम्पसमा विद्यार्थी हुँदा आफू पनि फुटबल र भलिवल खेलाडी रहेको स्मरण गरे । पुनले भक्त राना नेपालको गणतान्त्रिक आन्दोलनका योद्धा तथा बुद्धिचालका उत्कृष्ट खेलाडीका साथै खेल प्रेमीसमेत रहेको उल्लेख गरे ।

  • सरकारले उखुको समर्थन मूल्य घटाएकोप्रति माओवादीको आपत्ति, किसानको माग पूरा नगरे संर्घषमा जाने चेतावनी

    सरकारले उखुको समर्थन मूल्य घटाएकोप्रति माओवादीको आपत्ति, किसानको माग पूरा नगरे संर्घषमा जाने चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

    विज्ञप्तिमा भनिएको छ, बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ । हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ ।
    वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी अनुदान मूल्य घटाएर ३५ बनाएको उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ । हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौं ।’

    सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गरेको आरोप छ। सरकारले किसानहरुका माग बेवास्ता गरेमा किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पारे।

  • प्रचण्डलाई जनार्दनको अर्को झटारोः के गर्छस् मंगले आफ्नै ढंगले भनेजस्तो भयो

    प्रचण्डलाई जनार्दनको अर्को झटारोः के गर्छस् मंगले आफ्नै ढंगले भनेजस्तो भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्।

    वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।

    उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्‍यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेृषलाई कुनै दोष दिन चाहन्नँ।’

    उनले आज निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताए।

    उनले थपे, ‘समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाइयो। कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाइयो। कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको छ।’ ०७९ को चुनावमा गठबन्धन गरेर लड्दा पनि अवसर पाएको सुनाए।

    उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो। तर आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’

    कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउन आवश्यक रहेको बताए।

    उनले थपे, ‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्नेगरी, इगोकै कारणले नेकपा टुट्यो। अब नेताहरुलाई गाली गर्ने होइन। उहाँहरुलाई धारे हात लगाउने होइन। उहाँहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उहाँहरुले गरेका गल्तीबाट सिक्ने, ती गल्तीहरुबाट सिकेर पार्टीलाई लोकतान्त्रिकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकुल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’

  • प्रचण्डको गुनासो- माओवादी जनयुद्धबारे पाठ्यक्रममा राखेर विद्यार्थीलाई चेतना दिनुपर्नेमा आतंककारी भन्छन्

    प्रचण्डको गुनासो- माओवादी जनयुद्धबारे पाठ्यक्रममा राखेर विद्यार्थीलाई चेतना दिनुपर्नेमा आतंककारी भन्छन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा यति ठूलो परिवर्तन माओवादी जनयुद्धले नै ल्याएको भन्दै त्यसबारे पाठ्यक्रममा राखेर विद्यार्थीहरूलाई चेतना दिनुपर्ने बताएका छन् ।

    नवराज पुडासैनीको संघर्षमा सिरानचोक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यो व्यवस्था माओवादीले नै ल्याएको भएपनि कांग्रेस एमालेले स्वीकार्न नचाहेको बताए।

    उनले भने, ‘देशमा यतिठूलो परिवर्तन ल्याउने कारक जनयुद्ध नै हो। कांग्रेस, एमालेसहित अरूलाई पनि यो कुरा थाहा छ। तर यो कुरालाई स्वीकार गरेर त्यसलाई पाठ्यक्रममा राख्नुपर्ने, देश निरङ्कुश राजतन्त्रबाट समानुपातिक समावेशी गणतन्त्रमा आइसकेपछि यसको प्रमुख बाहकको बारेमा विद्यालयदेखि विश्वविद्यालयसम्म चेतना दिन हामी सबैको दायित्व हो।’

    उनले माओवादी आन्दोलनलाई आतंककारी भनेर प्रचार गरिएको भन्दै त्यो भ्रम चिर्नुपर्ने बताए।

    उनले थपे, ‘तर यहाँका जसले आफूलाई मूलधार र संस्थापन ठान्नेछन्। तिनीहरू जनयुद्ध र माओवादी आन्दोलनलाई आतंककारी भनेर पढाउँछन्। यो परिवर्तनको कारक माओवादी हो भन्न चाहिँ चाहँदैनन्। त्यसैले यो चिजलाई चिर्न आवश्यक छ। त्यसैले कांग्रेस एमालेसहित अरू पार्टीका विद्वान नेताहरू, बुद्धिजीवीहरूलाई यो कुरा अपिल गर्छु।’

  • कांग्रेस-एमालेको गलत सोचविरुद्ध लिएको अडानका कारण लाखौँ शिक्षकहरूले हामीप्रति समर्थन देखाए : प्रचण्ड

    कांग्रेस-एमालेको गलत सोचविरुद्ध लिएको अडानका कारण लाखौँ शिक्षकहरूले हामीप्रति समर्थन देखाए : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित भएको बताएका छन्। कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए।

    उनले भने, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ। तर, पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको छ।’

    पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादीनिकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रष्ट भएको बताए।

    उनले थपे, ‘स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको हो। हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।’

    शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको बताए। उनले थपे, ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्।’

    प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए।

    कर्णाली प्रदेशका नेताकार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गरे।

  • पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

    पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

    पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

  • फेसबुकबाट राजनीति छोडेको घोषणा गर्दै वडाध्यक्ष विदेश पलायन

    फेसबुकबाट राजनीति छोडेको घोषणा गर्दै वडाध्यक्ष विदेश पलायन

    पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका-६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी हानिएका हुन् ।

    वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेसिएको बताएका छन् ।

    ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।

    लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए । ‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने ।

    लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

  • सीटीईभीटीसमक्ष क्रान्तिकारीको ११ बुँदे ज्ञापनपत्र, ७ दिनको अल्टिमेटम

    सीटीईभीटीसमक्ष क्रान्तिकारीको ११ बुँदे ज्ञापनपत्र, ७ दिनको अल्टिमेटम

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को व्यवस्थापनमा गम्भीर समस्या देखिएको भन्दै विभिन्न ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । संगठनको विश्वविद्यालय प्रदेश समितिले परिषद्का सदस्य-सचिव महेश भट्टराईसमक्ष मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

    संगठनले परिषद् र मातहतका संस्था व्यापारीकरण र मुनाफाखोरीको दलदलमा फसेको, जसका कारण लाखौं विद्यार्थीको भविष्य बर्बाद हुन लागेको आरोप लगाएको छ ।

    एक हप्ताभित्र आफ्ना माग सम्बोधन नभएमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी परिषद् स्वयंले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

  • हरिसिद्धी पुगेर नेकपासँग एकता गर्ने पार्टीको निर्णय प्रचण्डले जानकारी गराए, विप्लवले के दिए जवाफ ?

    हरिसिद्धी पुगेर नेकपासँग एकता गर्ने पार्टीको निर्णय प्रचण्डले जानकारी गराए, विप्लवले के दिए जवाफ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताबारेको निर्णय जानकारी गराएका छन्।

    विप्लव निवास हरिसिद्धी पुगेका प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकबाट एकताबारे गरेको निर्णय जानकारी गराएका हुन्।

    माओवादीले विप्लवसँग एकता गर्ने र त्यसअघि कार्यदल बनाएर वार्ता गर्ने निर्णय हालैको स्थायी कमिटी बैठकले गरेको थियो। तर, विगतमा पनि एकता गर्ने भनिए पनि प्रचण्डबाटै असफल भएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि जनाएका थिए।

    आज प्रचण्ड र विप्लवबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेगरी सकारात्मक वार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ। विप्लवले आफू पनि सकारात्मक रहेको भन्दै पार्टीबाट निर्णय गराउने बताएका जवाफ दिएका थिए। नेकपाको केन्द्रीय समिति बैठक भदौ २२ मा गते बस्दैछ।

    यसबाहेक पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनेबारे पनि छलफल भएको छ। माओवादी, नेकपा एस, नेकपा र नेसपा सम्मिलित ४ दलीय मोर्चाको विप्लव संयोजक पनि हुन्।

  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव निवासमा पुगेका छन्। विप्लवलाई भेट्न निवास हरिसिद्धि पुगेका हुन्।

    दुई नेताबीच अहिले छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ। भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चादेखि पार्टी एकताको विषयमा केन्द्रित रहेको जनाइएको छ।

    माओवादीले हालै बसेको स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो।

    यसअघिदेखि नै चर्चामा रहे पनि वार्ताबिना माओवादीले निर्णय गरेपछि नेकपाका नेताहरूले असन्तुष्टि जनाइरहेका थिए। एकता वार्तालाई अगाडि बढाउने उद्देश्यले प्रचण्ड आज विप्लव निवासमै पुगेको बताइन्छ।

  • प्रचण्डले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित

    प्रचण्डले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित

    काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ ।

    दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

    शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तकका सन्दर्भमा वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए ।

    प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए ।

    त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए । बैठक स्थगितको कारण नखुलेपनि अध्यक्षलक्षित शर्माको पछिल्लो भनाइपछि हेडक्वार्टरको केही तयारी रहेको स्रोतले बतायो ।

    कार्यालय सचिव गणेशमान पुनले बैठक तय भएपनि व्यस्त सेड्युलका कारण अहिले स्थगित गरिएको बताए ।

    ‘बस्ने कि भन्ने थियो । तर, टाइट सेड्युलका कारण आज नबस्ने भयो’, उनले बताए ।

    यसअघिको माओवादी बैठकले उपमहासचिव जनार्दनको गतिविधि लक्षित गर्दै पार्टीभित्रको गुट उपगुट नै समस्याको रूपमा रहेको निचोड निकाल्दै स्वार्थ समूह चलाए कारबाही गर्ने निर्णय निकालिएको थियो ।

    बैठकपछि अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्माले आत्मालोचना नगरेको भन्दै गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउनू निर्देशन गरिएको लेखेका छन् ।

  • शिक्षा विधेयकमा माओवादीले राखेका ५ बुँदे फरक मतमा के छ ?

    शिक्षा विधेयकमा माओवादीले राखेका ५ बुँदे फरक मतमा के छ ?

    काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि संसदीय समितिबाट पारित हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का चार जना सांसदले फरक मत पेश गरेका छन् ।

    पूर्वमन्त्री देवेन्द्र पौडेल, रेखा शर्मा, महेन्द्र राय यादव र सांसद ज्ञानु बस्नेतले संयुक्त रूपमा समितिबाट बिहीबार पारित विधेयकमा फरक मत राखेका हुन् ।

    उनीहरूले पेश गरेको ५ बुँदे फरक मतमा सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयलाई विधेयकमा नै उल्लेख गर्न माग गरिएको छ ।

    सांसदले उपसमितिमा लामो समय छलफल भए पनि विद्यालय शिक्षा सुधारका लागि आफूहरूले उठाएका केही महत्वपूर्ण विषय सम्बोधन हुन नसकेको भन्दै फरक मत राख्नुपरेको बताएका छन् ।

    फरक मतका प्रमुख ५ बुँदा

    १. बालविकास शिक्षकको भविष्यबारे चिन्ताः हाल कार्यरत बालविकास सहयोगीहरूलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने र अनुत्तीर्ण हुनेलाई सेवा अवधिका आधारमा आर्थिक सहुलियत दिएर बिदा गर्नुपर्ने माग गरिएको छ ।

    २. नयाँ नियुक्ति र वृत्तिविकासः यो ऐन लागू भएपछि नियुक्त हुने प्रारम्भिक बाल विकासका शिक्षकलाई बालविकास शिक्षककै रूपमा उल्लेख गर्नुपर्ने र उनीहरूको वृत्तिविकासको व्यवस्था विधेयकले नै सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

    ३. निजी विद्यालयको छात्रवृत्ति र सामाजिक दायित्वः निजी लगानीका विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको व्यवस्था उपसमितिले गरेको निर्णयबमोजिम नै हुनुपर्ने र शहीद, बेपत्ता, घाइते तथा विपन्न परिवारका विद्यार्थीलाई आवास र पोसाकको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यस्तो व्यवस्थाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ ।

    ४. राष्ट्रसेवक र जनप्रतिनिधिका लागि अनिवार्य सरकारी स्कुलः सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न राज्यकोषबाट तलब खाने सबै (बुवा वा आमामध्ये एक वा दुवै)का छोराछोरीलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने कानुनी व्यवस्था गरिनुपर्ने ।

    ५. नेपाल सरकारले नेपाल शिक्षक महासंघसँग सहमति गरी विगतमा गरेका सम्झाैताहरु पालन गरिने गरी विधेयकमा आवश्यक विषयहरु समावेश गरिनुपर्ने । 

     

  • लिपुलेकबारे भारत र चीनबीचको सहमतिबारे माओवादीले माग्यो सरकारको धारणा (भिडिओ)

    लिपुलेकबारे भारत र चीनबीचको सहमतिबारे माओवादीले माग्यो सरकारको धारणा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिको आपत्ति जनाउँदै नेपाल सरकारको धारणा मागेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सम्झौतापछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरे।

    उनले भने, ‘यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै नेपालको हितमा एकजुट हुनको लागि हाम्रो दलको तर्फबाट अनुरोध गर्छौँ।’

    नेपाललाई जानकारी नै नगराई भएको सम्झौता र नेपालको भूमिमाथि भारतको दाबी चिर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताए।