Category: लोसपा नेपाल

  • महोत्तरी ३ मा महन्थलाई डर, गठबन्धनमा आउँदा पनि जसपाले देला भर ?

    महोत्तरी ३ मा महन्थलाई डर, गठबन्धनमा आउँदा पनि जसपाले देला भर ?

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर ७४ को संसदीय निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट १८ हजार बढी मतान्तरले विजयी भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट ठाकुर २६ हजार ८४५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ६७६ मत पाएका थिए ।

    ठाकुरलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादीले सहयोग गरेको थियो । उनी मंसिर ४ को चुनावमा पनि यही क्षेत्रबाट लड्ने तयारीमा छन् । तर, यो पटक निर्वाचन जित्न ठाकुरका लागि सहज देखिन्न ।

    आफू र आफ्ना दलका शीर्ष नेताहरूको सीट सुरक्षित गर्न ठाकुर सत्ता गठबन्धनमा प्रवेश खोज्दै छन् । यो छलफलकै चरणमा छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई गठबन्धनमा सहभागी गराउन सकारात्मक छन् । दुई नेताबीच यस विषयमा पटकपटक छलफल भइसकेको छ ।

    ठाकुरविरुद्ध दीपेन्द्र र कृष्णाको चर्चा

    यो पटक ठाकुरविरुद्ध जसपाबाट दीपेन्द्र झा र नेपाली कांग्रेसबाट कृष्णा सिंहको चर्चा छ । झा मधेस प्रदेशका मुख्य न्यायधिवक्ता हुन् । सत्ता गठबन्धनको तर्फबाट महोत्तरी ३ जसपाको भागमा पार्ने र झालाई ठाकुरविरुद्ध उतार्ने उपेन्द्र यादवको रणनीति छ । झा पनि चुनावी तयारीमा लागिसकेका छन् ।

    सिंह केही महिनाअगाडि मात्र कांग्रेसमा प्रवेश गरेका हुन् । उनी लोसपाका प्रवक्ता थिए । महन्थ ठाकुरको विश्वास पात्रको रूपमा चिनिने सिंहलाई कांग्रेस सभापति देउवाले स्थानीय चुनावअघि नै पार्टी प्रवेश गराए ।

    एमालेबाट अहिलेसम्म कसैको चर्चा बाहिर आएको छैन ।

    महोत्तरी क्षेत्र नम्बर ३ मा एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र पिपरा गाउँपालिका पर्छ । जसमध्ये मटिहानीमा मेयर-उपमेयर लोसपाले जितेको छ । बाँकी तीनै पालिकामा जसपा विजयी भएको छ । यस क्षेत्रमा जसपा हाबी भएकाले महन्थलाई छाड्ने सम्भावना न्यून छ ।

    वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा यस क्षेत्रमा जसपा सबभन्दा बलियो देखिएको छ । पालिका प्रमुखहरूले ल्याएको मत अनुसार जसपाले २० हजार ६१ मत पाएको छ । यस्तै लोसपाले १४ हजार ८२१ मत, एमालेले ९ हजार ८१० र कांग्रेसले ६ हजार ४३३ मत पाएको छ । माओवादी, नेकपा एस र जनमत पार्टी यस क्षेत्रमा कमजोर छन् ।

    स्थानीय तहको मतपरिणाम हेर्दा ठाकुरले एमालेसँग गठबन्धन गरेर जाँदा पनि सफलता हासिल गर्ने सम्भव छैन । एमाले र लोसपाको मत जोड्दा २४ हजार ६५१ हुन्छ । जबकी सत्ता गठबन्धनमा रहेका जसपा र कांग्रेसको मत मात्र जोड्दा २६ हजार ४९४ पुग्छ ।

    यो क्षेत्रमा कमजोर रहेका माओवादीसँग पनि करिब साढे ३ हजार र नेकपा एससँग एक हजार बढी मत छन् । माओवादी र नेकपा एसको करिब चाढे ४ हजार मत सत्ता गठबन्धनमा जोड्दा ठाकुर झन कमजोर देखिन्छन् । सत्ता गठबन्धनमा सामेल नभए ठाकुरलाई चुनाव जित्न धौ धौ पर्नेछ ।

  • निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

    निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५-५०२ रहेको छ । दल दर्ताका लागि केशव झा र मनिष मिश्रलगायतका नेता आयोग पुगेका थिए ।

    निर्वाचनमा सहभागी हुने दलका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

  • लोसपालाई गठबन्धनमा थप्नेबारे छलफल भयो : कार्की

    लोसपालाई गठबन्धनमा थप्नेबारे छलफल भयो : कार्की

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सत्ता गठबन्धनमा सहभागी गराउनेबारे गठबन्धनको कार्यदलमा छलफल भएको छ ।

    सोमबारको पहिलो बैठकमा लोसपालाई पनि गठबन्धनमा सामेल गर्नेबारे छलफल भएको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    गठबन्धनमा लोसपालाई समावेश गर्ने जिम्मेवारी शीर्ष नेताहरूको रहेको भन्दै उनले लोसपा गठबन्धनमा सहभागी हुने बताए ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरसहितको टोलीले आइतबार प्रधानमन्त्रीसँग भेटेर गठबन्धनमा सहभागी हुने र सरकारमा पनि भाग लिने चाहना व्यक्त गरेका थिए ।

  • प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल एजेण्डा

    प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल एजेण्डा

    काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।

    लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

    सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।

    आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने बताइएको छ ।

  • लोसपा नेताहरुले प्रधानमन्त्री भेटे, नागरिकता विधेयक पास गर्न दबाब

    लोसपा नेताहरुले प्रधानमन्त्री भेटे, नागरिकता विधेयक पास गर्न दबाब

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा लोसपाका नेताहरुले नागरिकता विधयेक तत्काल पारित गर्न देउवासँग आग्रह गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोसपा नेताहरुले बताएका छन् ।

    ‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ’, लोसपा नेता शरदसिंह भण्डारीले भने ।

    लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराएका छन् ।

    उनीहरुले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएकाे भण्डारीले बताए ।

    साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    तराई मधेस संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए ।

  • सरकारमा जान अनौपचारिक संवादमा रहेको लोसपाले प्रधानमन्त्रीलाई बुझायो औपचारिक माग (भिडिओ)

    सरकारमा जान अनौपचारिक संवादमा रहेको लोसपाले प्रधानमन्त्रीलाई बुझायो औपचारिक माग (भिडिओ)

    काठमाडौं । सरकारमा सहभागी हुनेबारे अनौपचारिक संवादमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ ।

    अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

    लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

    सो पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने सुनिश्चितता गर्नसमेत माग गरेको छ ।

    जसपाभित्र विवाद बढेर विभाजनको नजिक पुगेका र लोसपा सरकारमा जान अग्रसर भइरहेका बेला यो ज्ञापनपत्र बुझाइएको हो ।

  • जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार

    जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार

    बारा । स्थानीय निर्वाचनको माहाेलले सिङ्गाे देश तातिरहेको छ । राजनीतिक दलका उम्मेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् ।

    निर्वाचन आयोगले उम्मेदवार र दलहरूलाई स्पष्ट रूपमा आचारसंहिताको जानकारी गराउँदै पालना गर्न निर्देशनसमेत दिइसकेको छ । साथै आयोगलगायत विभिन्न सङ्घसंस्थाहरूले पनि उम्मेदवार र दलहरूले आचारसंहिता पालना गरे नगरेको स्वतन्त्र रूपले अनुगमन पनि गरिरहेका छन् ।

    तर, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार गरिरहेका छन् । मेयर, उपमेयरसहितका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत गाडी पुरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अङ्कित फ्लेक्स ब्यानर लगाएर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।

    लोसपाका जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स ब्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचारप्रसार गरिरहेका छन् ।

    अन्य दलका उम्मेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स ब्यानर प्रदर्शन गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उलङ्घन हुने गरी प्रचार गरेका हुन् ।

    निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ड) र (ढ) मा उम्मेदवारको वा दलको चुनाव चिन्ह वा झण्डा अंकित लोगो ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख छ ।

    आचारसंहिताकाे दफा १३ मा उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीसाधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिईमात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ ।

    त्यसैगरी ती सवारीसाधनको स्वरूप परिवर्तन गरेर वा ढाक्ने गरी प्रचार सामग्री राख्न नपाइने उल्लेख छ । यदि त्यसो गरेको पाइएमा सो कार्य निर्वाचन आचारसंहिता उलङ्घन गरेको ठहर हुने र तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रुद्द र जरिवाना हुने व्यवस्थासमेत उल्लेख छ ।

  • जसपा माओवादीको भाइ पार्टी हो : लोसपा

    जसपा माओवादीको भाइ पार्टी हो : लोसपा

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको ‘भाइ पार्टी’ भएको टिप्पणी गरेको छ ।

    लोसपाको स्थानीय निर्वाचन घोषणापत्रमा जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रूपमा चित्रण गरिएको छ ।

    ‘संविधानसभालाई निर्णायक मोडमा पुर्‍याउन भूमिका खेलेको र मधेस आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेसी जनाधिकार फोरम नेपालको साखलाई धुलीसात गर्दै अहिले मदेसको मुद्दालाई नै बिर्सिएर जसपा नेपाल नेकपा माओवादी केन्द्रको भाइ पार्टीको रूपमा देखिएको छ’, लोसपाको घोषणापत्रमा उल्लेख छ ।

    जसपाको उद्देश्य सत्ता प्राप्ति मात्रै रहेको भन्दै जसपाका कारण मधेस–थरुहट आन्दोलनको अवमूल्यन भएको दाबी घोषणापत्रमा गरिएको छ ।

  • लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो

    लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसको नाम ठूलो भए पनि काम सानो भएको टिप्पणी गरेको छ ।

    स्थानीय निर्वाचनका लागि लोसपा नेपालले सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले इतिहासमा महत्त्वपूर्ण योगदान गरे पनि समृद्धि र अग्रगमनको सवालमा कांग्रेस चुकेको टिप्पणी गरेको छ ।

    आफ्नो घोषणापत्रमा लोसपाले नेपालमा सक्रियमध्ये कांग्रेस र आफू मात्रै लोकतान्त्रिक पार्टी भए पनि नेपालमा कम्युनिस्टको संख्या बढ्नुमा कांग्रेस नै जिम्मेवार रहेको लोसपाको ठहर छ ।

    ‘केही सीमित ३–४ देशलाई छोडेर संसारबाट लगभग बिदा भइसकेका कम्युनिस्टहरू नेपालको संसदमा झण्डै दुई तिहाइ पुगेको अवस्थाको पछाडि कम्युनिष्टहरुको सामर्थ्यले भन्दा नेपाली कांग्रेसको अकर्मण्यताले बढी काम गरेको छ’, लोसपाको घोषणापत्रमा भनिएको छ ।

    लोसपाले कांग्रेसलाई राजनीतिक भ्रष्टाचार र विसंगतिको पहिलो अभ्यासकर्ताको रूपमा समेत आलोचना गरेको छ ।

    ‘नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद विक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिहरूको असंस्कारी र अलोकतान्त्रिक अवधारणा, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृत्तमा देखिएको व्यापक भ्रष्टाचार जस्ता विसंगतिहरुको पहिलो अभ्यासकर्ता पनि नेपाली कांग्रेस नै हो’, घोषणापत्रमा उल्लेख छ ।

    कांग्रेसले लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार ग्रहण गरे पनि सफल कार्यान्वयन गर्न नसकेको आरोपसमेत लोसपाले लगाएको छ ।

    घोषणापत्रमा लोसपाले अनेक कमजोरीका बाबजुद कांग्रेस सहज, विचारवान र व्यवहारिक भएको समेत उल्लेख गरेको छ ।

    कांग्रेसमा पटक–पटकको आन्दोलनबाट खारिएका नेताहरू भएको र राष्ट्रिय चुनौती सामना गर्नुपर्दा अरू दलभन्दा लचक रहेको लोसपाको भनाई छ ।

  • नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा

    नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विचार शून्य सत्ता लोलुप राजनीतिको उद्यमी भएको टिप्पणी गरेको छ ।

    स्थानीय निर्वाचनको घोषणापत्र मार्फत नेपालका राजनीतिक शक्तिहरूबारे धारणा दिने क्रममा लोसपा नेपालले नेपालमा कम्युनिस्ट पार्टीहरूको औचित्य साबित हुन नसकेको बताएको छ ।

    ‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण, व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्ता लोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने सङ्गठनहरू हुन्’, घोषणापत्रमा उल्लेख छ ।

    नेपालका कम्युनिस्ट पार्टीहरूमा केही जाति विशेषका पुरुषहरूको बाहुल्यता र वर्चस्व रहेको भन्दै लोसपाले ती पार्टीमा जातीय र नश्लीय सोच हाबी भएको आरोपसमेत लगाएको छ ।

    घोषणापत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाललाई ‘कम्युनिस्ट पार्टी’ का रूपमा चित्रण गर्दै लोसपाले यी पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने अग्रणी संगठन रहेको उल्लेख छ ।

    ‘नेपालका कम्युनिस्ट पार्टीहरू मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पार्दै आएका दुई जिब्रे सङ्गठनहरू हुन्’, घोषणापत्रमा भनिएको छ ।

    लोसपाले मुलुकको कुनै पनि तहको निर्वाचनमा कम्युनिस्ट पार्टीले प्राप्त गर्ने हरेक मत समावेशिता, विकास, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको विरोधमा स्वतः जाने दाबीसमेत गरेको छ ।

    ‘कुनै पनि तहको कुनै पनि निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको समर्थनमा दिएको हरेक मत समावेशिताको विरोधमा, विकासको विरोधमा, राष्ट्रियताको विरोधमा, राष्ट्रिय अखण्डताको विरोधमा र सामाजिक सद्भावको विरोधमा स्वतः जाने निश्चित छ’, लोसपाले भनेको छ ।

  • लोसपाको घोषणापत्र- चुरे जोगाऔं, मधेस बचाऔं

    लोसपाको घोषणापत्र- चुरे जोगाऔं, मधेस बचाऔं

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले विभिन्न २० वटा प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चूनावी घोषणापत्र सार्वजनिक सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

    त्यस्तै कृषिसेवा विस्तार, सिँचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेस बचाऔंलगायतका प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । लोसपाले पहिचानमा आधारित राज्य पुनसंरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ ।

    कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले मुलक संघीय राज्य भएपछि सवै क्षेत्रमा समान अधिकार दिने भनिएपनि त्यसो हुन नसकेकाले आफ्नो पार्टीले यसलाई प्रमुखका साथ उठाएको बताए । नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि जसपाले बिशेष ध्यान दिने उनको भनाइ छ । ठाकुरले मधेस क्षेत्रका खानेपानी , स्वास्थ्य र शिक्षाको क्षेत्रलाई विशेष जोड दिए ।

    त्यस्तै लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस, कम्युनिष्टहरू सत्ता र सरकारका लागि चूनाव लड्ने भएपनि लोसपा अधिकार र पहिचानका लागि चुनाव लड्ने बताए । चुनावलाई नै आन्दोलनको रूपमा लिँदै अधिकार प्राप्तीको आगामी संघर्षका लागि लोसपा तयार रहेको उनको भनाइ छ । महतोले निर्वाचनकै खिल्ली उडाउने गरी ठूला दलहरू गठबन्धन बनाएर चुनाव लड्न लागेको भन्दै लोसपा एक्लै चुनाव लड्ने बताए ।

    कांग्रेस ठूलो पार्टी भएपनि काम सानो र कम्युनिष्ट पार्टीहरु विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको उनको टीप्पणी थियो ।

  • मधेस आन्दोलनका अगुवालाई झूटा आरोप लगाइएको छ, अहिले पनि जेलमा छन् : महन्थ ठाकुर (भिडिओ)

    मधेस आन्दोलनका अगुवालाई झूटा आरोप लगाइएको छ, अहिले पनि जेलमा छन् : महन्थ ठाकुर (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अगुवाहरूलाई राज्य अहिलेपनि झूटो आरोपमा जेलमा राखेको बताएका छन् ।

    आसन्न स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले परिवर्तन र अधिकारका लागि गरिएको आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताए ।

    ‘संविधान जारी गर्दा सहमती गरेको कुरा पनि संविधानमा राखिएन् । अन्तिम बहस सुरू भयो । त्यसमा पनि हाम्रो कुरा सुनिएन् । त्यसपछि सडकमा आयौं । ६ महिनासम्म आन्दोलनमा रह्यौं,’ उनले भने,‘अहिले पनि जेलमा छन् । सांसद नै जेलमा छन् । झुठा आरोप लगाएको र फसाइएको छ ।’

    त्यो आन्दोलनबारे विभिन्न मानवअधिकारवादी संस्थाहरूको प्रतिवेदनमा समेत राज्यले ज्यादती गरेको उल्लेख गरिएको अध्यक्ष ठाकुरले बताए । उनले भने, ‘प्रतिवेदन आएका छन् । राज्यद्वारा ज्यादती भएको छ । निस्पक्ष अनुसन्धान भएको छैन । निर्दोष जेलमा परेका छन् । भनेर त्यसमा लेखिएका छन् ।’

    आन्दोलनको अध्ययन गर्न निष्पक्ष छानबिन गर्नका लागि आफूले माग गरेअनुसार आयोग बनेपनि त्यसको प्रतिवेदन नै सरकारले सार्वजनिक नगरिएको उनले गुनासो गरे ।

    ‘हामीले जुन आयोगको माग गरेका थियौं, लाल आयोग बन्यो, तर सार्वजनिक भएन् । ओलीजीले सार्वजनिक गर्नुभएन । अहिलेका प्रधानमन्त्रीलाई पनि पटकपटक भेटेका छौं,’ उनले भने ।

    घटनाका दोषीलाई मुद्दा चलाउने/नचलाउने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष ठाकुरले सर्वसाधारण जनतासमक्ष सत्य कुरा आओस् भन्ने चाहना अनुसार त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे ।

  • जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश

    जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश

    जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी-लोसपामा प्रवेश गरेका छन् ।

    जनता समाजवादी पार्टी-जसपाबाट मेयरमा पुन: टिकट नपाएपछि रुष्ट बनेका यादव आइतबार लोसपा प्रवेश गरेका हुन् ।

    उनलाई लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र मधेसका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले पार्टी प्रवेश गराएका छन् ।

    यादवले लोसपाबाट पुन: मेयरमा उम्मेदवारी दिने बताइएको छ । उनी गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

  • लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमाेहन चाैधरी लाेसपा प्रवेश

    लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमाेहन चाैधरी लाेसपा प्रवेश

    रुपन्देही । स्थानीय तह निर्वाचन नजिकैसँगै रुपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।

    उनलाई लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

    हाल भइरहेको पार्टीमा रहँदा फेरि नगर प्रमुखमा उम्मेदवारी दिन नपाइने भएपछि देशभर पार्टी प्रवेश र त्याग अभियान नै चलिरहेको छ । यसअघि प्रमुख चाैधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा रहेका थिए ।

    गत निर्वाचनको समयमा स्वतन्त्रबाट चुनाव जितेका चौधरीको यो तेस्रो पार्टी परिवर्तन हो ।

  • लोसपाका सबै उम्मेदवार पर्सिसम्म सिफारिस गर्न महन्थको निर्देशन

    लोसपाका सबै उम्मेदवार पर्सिसम्म सिफारिस गर्न महन्थको निर्देशन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरले २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसीमा तोकेका हुन् ।

    ‘२४-२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

    उनले २९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको बताए ।

  • लोसपासँग चुनावी गठबन्धन गर्न देउवा सकारात्मक

    लोसपासँग चुनावी गठबन्धन गर्न देउवा सकारात्मक

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।

    लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समेत छलफल भएको छ ।

    बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा देउवा लोसपासँग चुनावी गठबन्धन गर्न सकारात्मक भएको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

    ‘हामीले हाम्रा माग र मुद्दाका बारेमा प्रधानमन्त्रीलाई स्मरण गरायौं। उहाँले सकारात्म जवाफ दिनु भएको छ’ नेता भण्डारीले भने, ‘हाम्रो दलसँग गठबन्धन गर्न पनि उहाँ सकारात्मक हुनुहुन्छ ।’

    प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि यसबारे थप छलफल हुने उनले बताए । लोसपासँग पनि गठबन्धन भएमा महागठबन्धन हुने छ । लोसपा र एमालेबीच चुनावी गठबन्धन हुनसक्ने आकलन भइरहँदा प्रधानमन्त्री पनि तालमेलका लागि सकारात्म भएका हुन् ।

     

  • लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

    लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ ।

    बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायत मुख्य एजेण्डा छन् ।

    साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

    उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

    सदस्य केशव झाका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

    उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

    जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलि सुरू हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • लोसपाले डाक्यो पहिलो केन्द्रीय कार्यकारिणी बैठक

    लोसपाले डाक्यो पहिलो केन्द्रीय कार्यकारिणी बैठक

    काठमाडौं । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

    ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने ।

    उनका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

    उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

    जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलि सुरू हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।

  • लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।

    कांग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।

  • एकडारा गाउँपालिका उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

    एकडारा गाउँपालिका उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

    महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका उपाध्यक्ष महजवी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीले कारबाही गरेको हो ।

    महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

    जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् तर, उनी पुनःजसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।

  • रुपन्देहीमा माओवादीका जिल्ला नेता नै लोसपामा प्रवेश

    रुपन्देहीमा माओवादीका जिल्ला नेता नै लोसपामा प्रवेश

    रुपन्देही । पछिल्लाे समय स्थानीय निर्वाचनकाे मिति नजिकिँदै गर्दा हरेक जिल्लामा पार्टी प्रबेशकाे  लहर चलीरहँदा रूपन्देहीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  जिल्ला सदस्य नै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा प्रवेश गरेका छन् ।

    गैडहवा गाउँपालिका उपाध्यक्ष कड्क बहादुर यादव (रामदयाल यादव)  माओवादी केन्द्र परित्याग गरी मंगलबार लोसपामा प्रवेश गरेका हुन् ।

    उनलाई लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्मा लगायतले पार्टीमा स्वागत गरेका लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए ।

  • लोसपाका जिल्ला अध्यक्षसहित धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा समाहित

    लोसपाका जिल्ला अध्यक्षसहित धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा समाहित

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का धादिङ जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समितिको सिंगो टिम राप्रपा नेपालमा समाहित भएको छ ।
    शनिवार आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धादिङको सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।
    थापाले राप्रपा नेपाल हिन्दू राज्यको एजेण्डा बोक्ने वास्तविक पार्टी भएकाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अघि बढ्न आग्रह गरेका थिए ।
    राप्रपाबाट बाहिरिएपछि कमल थापाले राप्रपा नेपालको संगठन विस्तारलाई तीब्रता दिएका छन् ।
  • लोसपा वीरगञ्ज अध्यक्षमा सर्राफ र जनकपुरधाम अध्यक्षमा चौधरी मनोनीत

    लोसपा वीरगञ्ज अध्यक्षमा सर्राफ र जनकपुरधाम अध्यक्षमा चौधरी मनोनीत

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशको दुई ठूलो स्थानीय तहमा अध्यक्ष मनोनीत गरेको छ ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरले वीरगञ्ज महानगरपालिका अध्यक्षमा ओमप्रकाश सर्राफ र जकपुरधाम उप-महानगरपालिकाका अध्यक्षमा मनोज चौधरीलाई मनोनीत गरेका हुन् ।

    देश, मधेश एवं पार्टीको हितमा दुवैजनाको कार्यकाल उपलब्धिमुलक हुने विश्वासका साथ अध्यक्ष ठाकुरले शुभकामना दिएका छन् ।

    जनकपुरधामका अध्यक्षमा मनोनीत चौधरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए । उनी जनकपुरधाम बस व्यावसायी संघका अध्यक्ष पनि हुन् ।

  • एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्छ : अध्यक्ष ठाकुर (भिडिओ)

    एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्छ : अध्यक्ष ठाकुर (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनु नेपालको हितमा हुने बताएका छन् ।

    नेपालको विकास र गरिबी निवारणका लागि आवश्यक ठूला परियोजना बनाउन अमेरिकी सरकारले अनुदान रकम दिनु सकfरात्मक रहेको भन्दै अध्यक्ष ठाकुरले सम्झौता पारित गर्न विलम्व गर्न नहुने बताए ।

    ‘अमेरिकाले नेपाललाई ७ दशकभन्दा लामो समयदेखि सहयोग गर्दै आएको छ । एमसीसी सहयोगले नेपालको गरिबी निवारण र आर्थिक वृद्धिदर बढाउन मद्दत गर्ने भएकोले म यो सम्झौताको पक्षमा छु’, ठाकुरले भने ।

    प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदै अध्यक्ष ठाकुरले नेपालकै आवश्यकता र मागअनुसार अमेरिकाले अनुदान उपलब्ध गराएको भन्दै अन्तर्राष्ट्रिय सहयोगको सदुपयोग गराउनुपर्ने बताए ।

  • एमसीसीमा ठोस धारणा बनाउन लोसपाले बोलायो संसदीय दल बैठक

    एमसीसीमा ठोस धारणा बनाउन लोसपाले बोलायो संसदीय दल बैठक

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    उनका अनुसार आजको बैठकले एमसीसीबारे पार्टीको ठोस धारणा सार्वजनिक गर्नेछ । लोसपाको संसदीय दल १३ सदस्यीय छ ।

    एमसीसी सम्झौता सदनमा पेस भइसकेको अवस्थामा राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

    – रासस

  • राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन (भिडिओ)

    राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) बीच मधेस प्रदेशमा गठबन्धन हुने भएको छ । आउँदो १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

    आज जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गरेका छन् ।

    एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।

  • किसान आन्दोलनमा राजेन्द्र महतोको समर्थन, माग पूरा गर्न सरकारसँग अनुराेध

    किसान आन्दोलनमा राजेन्द्र महतोको समर्थन, माग पूरा गर्न सरकारसँग अनुराेध

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ट नेता राजेन्द्र महतोले किसान आन्दोलनको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन् ।

    धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनले विज्ञप्ती जारी गरेर आन्दोलनलाई समर्थन जनाउँदै माग पूरा गर्न आग्रह गरेका हुन् ।

    विगत दुई सातादेखि मलखाद, बीउवीजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना समेत गरेका छन् ।

    किसानहरु सडकमा उत्रिएपनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

    उनले किसान आन्दोलनका क्रममा पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गर्न र वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गरेका छन् ।

    साथै आन्दोलनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गरेका छन् ।

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

    जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ मा एमाले बाहेकका दलले मनाेनयन दर्ता गराएका छन् । अहिलेसम्म एमालेका उम्मेदवारले दर्ता गराएका छैनन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी जसपा र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

    लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका हुन् । सरदार प्रदेश २ दलित विकास समितिका सदस्य भएकाले उम्मेदवार बन्न नपाउने भनिएपनि उनी उम्मेदवारी दिएको बुझिएको छ ।

    यस्तै जसपाबाट सिरहाका खालिद सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरुले सिद्दिकीलाई लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले धेरै अन्तरले जित्ने पनि बताए ।

    माओवादीबाट पर्साकी उर्मिला अर्याल उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश २ मा भने काँग्रेसले उम्मेदवारी दिएनन् । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच गठबन्धन बनेको छ ।

    नेकपा एमालेको विवरण आउँन बाँकी छ ।

  • आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

    अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि जारी धर्नालाई आज पनि निरन्तरता दिइएको हो । लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्न नसकिने भन्दै सच्याउन माग गरे । ‘एक व्यक्ति एक पद’ को कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने आफूहरूको जोड रहेको उनको भनाइ छ ।

    ठाकुरले भने, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णय गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन ।’

  • धनुषा र महोत्तरीका कार्यकर्ता काठमाडौं पुगेर घेरे लोसपा पार्टी कार्यालय (भिडिओ)

    धनुषा र महोत्तरीका कार्यकर्ता काठमाडौं पुगेर घेरे लोसपा पार्टी कार्यालय (भिडिओ)

    जनकपुरधाम । गठन भएको ६ महिना नबित्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विवाद उत्पन्न भएको छ । अध्यक्ष महन्थ ठाकुरले विधि प्रक्रिया मिचेर प्रदेश र जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै विवाद उत्पन्न भएको हो ।

    पार्टी अध्यक्ष ठाकुरले प्रदेश २ अध्यक्षमा जीतेन्द्र सोनललाई मनोनीत गरेका छन् । प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री र संसदीय दलका नेता समेत रहेका सोनल ठाकुर निकट छन् । यस्तै जिल्लाहरुमा समेत आफ्ना निकट नेतालाई अध्यक्ष मनोनीत गरेपछि पार्टीमा विवाद सुरु भएको नेताहरु बताउँछन् ।

    प्रदेश र जिल्ला अध्यक्षहरु मनोनीत गरेको निर्णय सच्याउन धनुषा र महोत्तरीका धेरै नेताहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी अध्यक्ष ठाकुरको ध्यानाकर्षण गरेको थियो । तर निर्णय सच्याउन चासो नदेखाएपछि धनुषा र महोत्तरीका सयौं नेता कार्यकर्ता काठमाडौं पुगेर बरबरमहलमा रहेको लोसपा केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

    धनुषा अध्यक्षमा प्रमेश्वर साह र अन्य जिल्ला अध्यक्षहरु अलोकतान्त्रिक तरिकाले गठन गरेपछि पार्टी कार्यालय घेराउ गर्न जनकपुरबाट आएको नेता दिपेन्द्र साहले बताए । जनकपुरधाम ३ का वडाध्यक्ष समेत रहेका उनले यो आन्दोलनलाई पनि बेवास्ता गरे अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

    ‘पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी हो’, जनकपुरबाट पार्टी केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका मनोज साह भन्छन्, ‘तर लोकतान्त्रिक पद्धतिलाई नमानेर प्रदेश र जिल्ला अध्यक्षहरु मनोनित गरिएको छ । त्यसकै विरोधमा हामी डेलिकेशन लिएर आएका छौं ।’ पार्टीमा सामुहिक निर्णय हुनुपर्ने उनको माग छ ।

    धनुषा र महोत्तरीबाट लोसपाका नेता कार्यकर्ताहरु तीनवटा बस भाडा गरेर काठमाडौं पुगेका छन् । उनीहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय घेराउन गरे । तर पार्टी अध्यक्ष ठाकुर भने उनीहरुको माग सम्बोधन गर्न पुगेनन् । अध्यक्ष ठाकुरले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

  • प्रचण्डलाई अनिल झाको प्रश्न- संविधानमा खोइ त मधेश आन्दोलनको उपलब्धी ? (भिडिओ)

    प्रचण्डलाई अनिल झाको प्रश्न- संविधानमा खोइ त मधेश आन्दोलनको उपलब्धी ? (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले माओवादी र मधेश आन्दोलनको बाटो फरक भए पनि लक्ष्य एउटै भएको बताएका छन् ।

    माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै झाले माओवादी नेताहरू ज्यान दिन तयार भएका एजेण्डा अझै पूरा नभएको बताए ।

    ‘माओवादीले सशस्त्र युद्धको बाटो लियो । हामीले शान्तिपूर्ण राजनीति गर्‍यौं । संघीयता, समावेशीता र पहिचानको एजेण्डा समान थियो तर आजसम्म किन पूरा भएन ? माओवादीले समीक्षा गर्नुपर्छ’, झाले भने ।

    उनले प्राप्त उपलब्धीको रक्षा गर्न भन्दै प्रचण्डले संविधान जारी गराए पनि ६ वर्षसम्म मधेश आन्दोलनको माग पूरा हुन नसकेको बताए ।

    ‘संविधान जारी नगरे प्राप्त उपलब्धी पनि गुम्छ भनेर प्रचण्डजी भन्नुहुन्थ्यो तर खै त मधेश आन्दोलनको उपलब्धी संविधानमा लेखिएको ?’, झाले प्रश्न गरे ।

    उनले संविधान निर्माणपछि धेरै विषयमा दलहरूबीच छलफल र सहमति भएपनि मधेशको विषय प्राथमिकतामा नपरेको बताए ।

  • प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलले प्रदेशको नामाकरण र राजधानीमा लागि सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँग वार्ता गर्ने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्न लोसपाको प्रस्ताव छ ।

    लोसपाको वार्ता टोली संयोजकमा सांसद रानी शर्मा छिन् । ७ सदस्यीय टोलीमा सांसदहरू परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

    पार्टीको निर्णय बमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतीका लागि वार्ता टोली गठन गरेको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।

    अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेस गर्ने तयारी छ । राजधानी जनकपुरधाम तोक्न सबै दल सहमत छन् । तर, प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । नेकपा एसले समेत मधेस प्रदेशमा सहमत हुने सम्भावना रहेको प्रमुख सत्तारुढ दल जसपाका नेताहरूको दाबी छ ।

    कांग्रेस र नेकपा एमाले भने मधेश प्रदेश नामको विपक्षमा छन् ।

  • एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

    एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ ।

    एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो ।

    लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ´ कर्णले भने ।

    यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ ।

    यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए ।

    प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो ।

    त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।