Category: जनमत पार्टी

  • शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस

    शहीद परिवारले विथोले मधेश सरकारको सातौं बलिदानी दिवस

    जनकपुरधाम । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेश सरकारद्वारा आयोजित सातौं बलिदानी दिवस समारोह शहीदका परिवारले विथोलेका छन् ।

    कार्यक्रममा बोलाइएका शहीद परिवारले आफूहरुलाई अपमानपूर्वक एकएक हजार रुपैयाँ दिएको भन्दै दिवस विथोलेका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरु नै सहभागी कार्यक्रम उनीहरुले विथोलेका छन् ।

    रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर बेइज्जत गरेको भन्दै शहीद परिवारले आक्रोश पोखे ।

    अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरुको सम्बोधन गर्ने आश्वासन दिए ।

    उनले भने, ‘कर्मचारी साथीहरुलाई पनि समस्या छ । अहिले प्रक्रिया पुगेन भने आर्थिक वर्षको अन्त्यमा सबै बेरुजु ठहर भइहाल्छ । यहाँ व्यवस्थित तरिकाले यातायात खर्च वितरण गरेको भए यति ठूलो समस्या नै हुने थिएन । ठीक छ, तपाईंहरुको आक्रोशको पनि सम्बोधन हुन्छ ।’

    आन्दोलनका क्रममा घाइतेहरुको अवस्था हेरेर एक लाख, डेढ लाख र दुई लाखसम्म बैंक खातामा पठाउने तथा अन्य समस्याहरुको पनि सम्बोधन गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएका छन् ।

  • मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    मधेश केन्द्रित दलहरुको निष्कर्ष- संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठके आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।

  • संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    संयुक्त मोर्चाको तयारीमा मधेशवादी दल- धुम्वाराहीमा कार्यदलको पहिलो बैठक

    काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप गठित कार्यदलको पहिलो बैठक जारी छ ।

    धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बैठक चलिरहेको जनमतका प्रवक्ता शरद यादवले बताए ।

    बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्नेछ । सरकारले संविधान संशोधनको एजेण्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

    बैठकमा जसपाबाट रेणु यादव, लोसपाबाट जीतेन्द्र सोनल र सुरेन्द्र झा, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव र तमलोपाबाट वृषेशचन्द लाललगायत सहभागी छन् ।

  • मधेशकेन्द्रित दलहरूसँग सहकार्य पहल गर्न जनमतले बनायो कार्यदल

    मधेशकेन्द्रित दलहरूसँग सहकार्य पहल गर्न जनमतले बनायो कार्यदल

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग सहकार्यको पहल गर्न दुई सदस्यीय कार्यदल बनाएको छ ।

    आइतबार बसेको सचिवालय बैठकले मधेश केन्द्रित दलहरूबीच सहकार्यको पहल गर्न उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

    उनका अनुसार कार्यदलमा प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन् । पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् ।

    जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गर्न अभियान नै चलाएको बेलामा जनमतले पनि वार्ता समिति बनाएको हो ।

    मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास चलिरहेको बेलामा डा. सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको तहसम्म जानेगरी छलफल चलिरहेको चर्चा छ ।

  • सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म

    सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य गरिएको छ ।

    आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पदाधिकारीहरूलाई पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमनसमेत गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

    उनका अनुसार पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, एक्स, टिकटक आदि) मा गर्नु पर्नेछ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’

    पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।

    पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्ने/लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्न नपाइने भएको छ ।

    निर्णयमा भनिएको छ, ‘सो गरेमा पार्टीको विधानअनुसार कारवाही हुने प्रावधान छ। पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्तीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ।’

    पार्टीको सदस्य भएमा पार्टीबाट लाभ मात्रै खोज्ने होइन कि पार्टीप्रति आफ्नो जिम्मेबारी पनि निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ ।

    ‘पार्टीमाथि कुनै पनि तरिकाले आक्रमण भएमा सदस्यले प्रतिरक्षा पनि गर्नु पर्दछ । पार्टीको कुनै पदाधिकारी वा मन्तीप्रति तपाईंको गुनासो भएमा वा उहाँहरूले तपाईंको कार्य नगरिदिँदा आक्रोशित भएर पूरै पार्टीलाई नै बदनाम हुने गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सो किसिमका गतिविधि गर्ने कार्य गर्नु हुँदैन’ नेता कार्यकर्तालाई भनेको छ ।

    पार्टीका कुनै २-४ पदाधिकारी गलत भयो वा पार्टीका कुनै सांसद वा मन्त्रीले भनेअनुरूप काम नगर्दैमा पार्टी नै खराब भन्न नमिल्ने तर्क गरिएको छ ।

  • जनमतलाई सभामुखको जवाफ- कुनै विभेद भएको छैन, गोमा लाभबारे लिएको निर्णय कानूनअनुसार हो

    जनमतलाई सभामुखको जवाफ- कुनै विभेद भएको छैन, गोमा लाभबारे लिएको निर्णय कानूनअनुसार हो

    काठमाडौं । संघीय संसद सचिवालयले सांसद गोमा लाभ सापकोटाका सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति आपत्ति जनाएको छ । पार्टीको कारबाही सिफारिस गर्दा पनि सभामुखले रोकेको भन्दै जनमतका प्रवक्ता शरद यादवले सभामुखको राजीनामा माग्दै हिजो विज्ञप्ति निकालेका थिए ।

    त्यसको जवाफ दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले संघीय संसद सचिवालयबाट कुनै पनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्थालगायतका कुनै पनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पारेका छन् ।

    जनमतलाई सभामुखको तर्फबाट संसद सचिवालयले दिएको जवाफमा भनिएको छ, ‘जनमत पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटा)लाई पार्टीको विधानबमोजिम कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसदको महासचिवलाई सम्बोधन गरी पत्र लेखी आएपछि संघीय संसद सचिवालयले सो विषयमा नेपालको संविधान र सम्बन्धित कानूनहरु (प्रतिनिधिसभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३० का प्रावधानहरुको व्यवस्थाबमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानूनबमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

    सभामुखको निर्णयमा सबै विषयको व्यहोरा स्पष्टसमेत रहेको उल्लेख छ । संसद सचिवालय कानूनी राज्यमा हरेक कामकारबाहीहरु कानूनबमोजिम हुनुपर्दछ भन्ने विषयमा सदैव सजग रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

  • गोमा लाभलाई सांसद पदबाट हटाउन अस्वीकार गरेपछि जनमतले माग्यो सभामुखको राजीनामा

    गोमा लाभलाई सांसद पदबाट हटाउन अस्वीकार गरेपछि जनमतले माग्यो सभामुखको राजीनामा

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीकी समानुपातिक सांसद गोमा लाभलाई पदबाट हटाउन पटक-पटक लेखेको पत्रको सभामुख देवराज घिमिरले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

    जनमतका प्रवक्ता डा. शरद यादवले विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेतबाट हटाइसकेको लाभलाई सभामुखले बचाउन खोजेको आरोप लगाएका हुन् ।

    राजनैतिक दलसम्बन्धी ऐन २०७३ ले सभामुख वा संघीय संसद सचिवालयलाई कारबाहीसम्बन्धी दिएको अधिकार दलले निर्णयसहितको सूचना दिएपछि सचिवालयले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने हो वा अधिवेशन चालू नरहेको अवस्थामा सूचना टाँस गर्ने व्यवस्था रहेको उल्लेख छ ।

    जनमतले भनेको छ, ‘कारबाहीको प्रक्रिया मिले नमिलेको, आधार गम्भीर रहे नरहेको, कागजात सक्कली रहे नरहेको फोरेन्जिक जाँच’ गर्ने आदि अधिकार संघीय संसद सचिवालयलाई स्पष्ट रूपमा छैन ।’

    तर संघीय संसद सचिवालयले अन्य दल तथा निकायको प्रभावमा तथा सभामुखको आफ्नो नातेदार वा समुदायको मान्छे कारबाहीमा पर्न लाग्यो भन्दैमा सो अधिकार क्षेत्र मिच्दै हदभन्दा बाहिर गएर निर्णय गरेको ठहर जनमत पार्टीको रहेको छ ।

    संसद सचिवालयले दलको सर्वोच्चतालाई हनन गरेको प्रवक्ता यादवले जिकिर गरे ।

    विज्ञप्तिमा भनिएको छ, ‘सभामुखले कुनै पार्टी विशेषको एउटा कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा धेरै बाहिर गएर गैरकानूनी, गैरसंवैधानिक, बहुदलीय संसदीय व्यवस्था तथा लोकतन्त्रमाथि नै आँच आउने गरी आपराधिक कार्य गरेको छ । यदि सभामुखलाई आफ्नो अधिकार क्षेत्र बाहिर गएर स्वेच्छाचारिता गर्न दिइयो भने यो एउटा नजिर कायम हुन्छ र यो लोकतन्त्रकै लागि ठूलो खतरा साबित हनेछ ।’

    जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पु र्‍याई कारबाही सदर गरिसकेको सदस्यलाई गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

    उसले संघीय संसद सचिवालयले मधेशीहरूप्रति देखाएको रंगभेदी र नश्लवादी व्यवहार र नीतिको विरोध गर्दै सभामुखले निर्णय नसच्चाए संसद अवरूद्ध गर्ने चेतावनी दिएको छ ।

  • सिके राउतको दल जनमत पार्टीकी सांसद गोमालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

    सिके राउतको दल जनमत पार्टीकी सांसद गोमालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

    काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट नहटाइने भएको छ ।

    पार्टी अध्यक्ष राउतले सांसद पदबाट हटाउनका लागि सिफारिस गरेकोमा सभामुख देवराज घिमिरेले पदबाट नहटाउने निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

    सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएकाले उनलाई पदमुक्त नगरिएको सचिवालयले जनाएको छ ।

    जनमत पार्टीले सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गरेका हुन् ।

    ‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन’, सभामुख देवराज घिमिरेले भने, ‘तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुर्‍याउँछ ।’

     

     

  • सांसद गोमालाई पदमुक्त गर्न किन पटक-पटक ताकेता गर्दै छन् सिके राउत ?

    सांसद गोमालाई पदमुक्त गर्न किन पटक-पटक ताकेता गर्दै छन् सिके राउत ?

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयमा पठाएको पत्र आठ महिनादेखि अलपत्र परेको छ।

    पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनपछि सांसद पदबाट पनि हटाउन पठाएको पत्रको सभामुख देवराज घिमिरेले चासो नदिएको जनमतको आरोप छ।

    अध्यक्ष राउतले हालै मात्रै चौथो पटक सांसद सापकोटालाई पदमुक्त गर्नको लागि पत्र पठाएका छन् । यसअघि पनि पत्र पठाएको भएपछि प्रक्रिया नपुगेको भन्दै सचिवालयले गोमालाई पदमुक्त गर्न अस्वीकार गरेपछि फेरि ताकेता गरेका हुन्।

    तर, जनमतका प्रवक्ता डा. शरद यादवले आफ्नो पार्टीले गोमालाई प्रक्रिया पूरा गरेर पत्र लेख्दा पनि अस्वीकार गरेको दाबी गरे।

    उनले भने, ‘दलको सर्वोच्चता बहुदलीय व्यवस्थामा संसदमा हुन्छ। दलको आफ्नै विधान हुन्छ। जसरी समानुपातिक सांसद बनाउनको लागि दलले आफ्नो प्रक्रिया पूरा गरेको हुन्छ, तर त्यो सांसदले नै पार्टीको हक हितविपरीत विधानको उलङ्घन गर्‍यो, ह्वीप उल्लङ्घन गर्‍यो भने त्यो समानुपातिक सांसदले दलले आफ्नो अधिकार प्रयोग गरेर हटाउनसक्छ।’

    उनले विगतमा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ, जसपाकी सांसद सरिता गिरीलाई पनि पार्टीको सिफारिसमा हटाएको उदाहरण भएको बताए।

    प्रवक्ता यादवले थपे, ‘हामीले हटाउनको लागि पत्र पठाएको आठ महिनासम्म सभामुखले हामीलाई टेर्नुभएको छैन।’

    दल त्याग गरे वा अर्को पार्टी प्रवेश गरेमा, भ्रष्टाचार वा आर्थिक अनियमितता गरेमा र दलले निष्कासन गरेमा समानुपातिक सांसद पदमुक्त हुने उनको भनाइ छ।

    उनले भने, ‘हामीले केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेका छौँ। पार्टीको पत्र पुगेपछि सभामुखले १५ दिनभित्र सूचना टाँस गर्नुपर्ने हो। तर, अहिलेसम्म हामीलाई झुलाइराख्नुभएको छ। हामीले सबै प्रक्रिया पुर्‍याएका छौँ। यो अहिले ठूला दलले साना दललाई हेप्ने प्रवृत्तिको उपज हो जस्तो लाग्छ।’

    सांसद सापकोटालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन हटाइयो ? भन्ने जिज्ञासामा उनले भने, ‘आर्थिक अपचलन, पार्टीले खटाएको कुनै काम नगर्ने, पार्टीको बैठकमा बोलाउँदा पनि नआउने, पार्टीले स्पष्टीकरण सोध्दा पनि जवाफ नदिने, महोत्तरीमा ठेकेदारहरूसँग पैसा उठाएको कुरा छ।’

    गोमाले सांसद बनाउनको लागि अध्यक्षलाई पैसा बुझाएको आरोप लगाएको भन्दै पार्टीले सोध्दा पुष्टि गर्न नसकेको सुनाए।

    उनले भने, ‘पार्टीले स्पष्टीकरण पटकपटक सोधे पनि वास्ता नगर्ने भएपछि गैरजिम्मेवार सांसद ठहर्‍याएर कारबाही गरेको हो, पार्टीको अधिकारमा सभामुखले अंकुश लगाउन खोज्नुभएको हो।’

    यता, संसद सचिवालयले भने आएको पत्रमा सभामुखले अध्ययन गरेर निर्णय लिने जनाएको छ।

  • समानुपातिक सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतको ताकेता

    समानुपातिक सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतको ताकेता

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई ताकेता गरेको छ ।

    गोमालाई अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । यसअघि दुईपटक पत्र पठाए पनि प्रक्रिया नपुगेको भन्दै सचिवायले गोमालाई पदमुक्त गर्न अश्वीकार गरेको थियो ।

    पार्टी अध्यक्ष तथा संसदीय सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको लगायतका आरोप लगाइएको छ ।

    जनमत पार्टीका प्रतिनिधि सभामा ६ सांसद छन् ।

  • जनमत र कांग्रेस कार्यकर्ताबीच प्रहरी कार्यालयमै झडप, पूर्वमन्त्रीको गाडी ताेडफाेड

    जनमत र कांग्रेस कार्यकर्ताबीच प्रहरी कार्यालयमै झडप, पूर्वमन्त्रीको गाडी ताेडफाेड

    रूपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा संसदीय दलका नेता सिके गुप्तामाथि प्रहरी कार्यालय अगाडि कांग्रेस कार्यकर्ताले हातपात गरेका छन् ।

    इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रांगणमा शनिबार पुगेका उनलाई कांग्रेस निकट युवाहरुको समूहले हातपात गरेका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि दुई समूहको विवादमा पुगेका गुप्तामाथि युवाहरुको समूहले हातपात गरेको हो ।

    हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै प्रहरी कार्यालयभित्रै डेढ घण्टादेखि बस्दै आएको उनले जानकारी दिए । उनले कांग्रेस नेता फकुरूद्दिन खानको भतिज एजान खान, वचन खानसहितको समूहले आक्रमण गरेको गुप्ताले बताए ।

    इलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक दिपक मगरातीका अनुसार दुई समुहबीच उत्पन्न विवादका बीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरुको समूहले हातपाको प्रयास गरेपछि प्रहरीले उद्धार गरी आफ्नो कार्यालयभित्र पुर्याएको उनले बताए । उनका अनुसार गेट अगाडि अहिले पनि डेढर२ सय जना युवाहरुको समूह रहेका छन् ।

    पूर्व सांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए । ‘प्रहरी कार्यालयको गेट अगाडि नै ममाथि हातपातको प्रयास भयो, मसँगै रहेका २ जना साथीहरुमध्ये एक जनालाई उनीहरुले बाहिर निकालेरै कुटपिट गरे ।’–घटनाको विवरण सुनाउँदै गुप्ताले भने, ‘सायद म पनि गाडिबाट बाहिर निस्किएको भए उनीहरुले ज्यान नै लिने थिएहोला । मुस्किलले ज्यान बचाएर अहिले प्रहरी कार्यालयभित्र बसिरहेको छु । बाहिर निस्कन सक्ने अवस्था छैन ।’

    ईप्रका लुम्बिनीका प्रमुख मगरातीका अनुसार भैसहियामा युवाहरुबीच विवाद उत्पन्न भएको थियो उक्त विवादमा पूर्व सांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद सिके गुप्ता समर्थक बीचको समूह आपसमा भिडेका थिए ।

    ‘सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यो अवस्थासम्म आएको भन्ने हामीले बुझेका छौं ।’–उनले भने, थप बुझ्न र समस्या समाधानका लागि दुबै पक्षका व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने तयारी भएको छ ।’

    मर्चवार क्षेत्रमा गुप्ता र खानको समूहबीच विवाद रहँदै आएको छ । अहिले दुवै समूहले इलाका प्रहरी कार्यालय घेरेर राखेका छन् ।

  • जनमतले ५ केन्द्रीय सदस्यसहित ९ नेतासँग सोध्यो स्पष्टीकरण

    जनमतले ५ केन्द्रीय सदस्यसहित ९ नेतासँग सोध्यो स्पष्टीकरण

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ। शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको भन्दै ५ केन्द्रीय नेतासहित ९ जनालाई स्पष्टीकरण सोधेको हो।

    उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्य दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधेका हुन्।

    जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डललाई पनि स्पष्टीकरण साधेको पत्रमा उल्लेख छ ।

    पार्टीभित्र गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने काम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ ।

  • संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँ : सिके राउत (भिडिओ)

    संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँ : सिके राउत (भिडिओ)

    काठमाडौं । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरू संविधान संशोधन पश्चगामी हुने बताइरहेका छन् ।

    सरकारले संविधान संशोधनलाई आफ्नो सात बुँदे सहमतिअनुसार न्यूनतम साझा कार्यक्रममा पनि प्राथमिकताका साथ राखेको छ । सबै दललाई साथमा लिएर संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन् । कांग्रेस-एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको छ ।

    संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरू संशोधन गर्ने बेला आएको कांग्रेस-एमाले नेताहरूले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षमाबीच संसदमा सवाल जवाफ छ ।

    प्रस्तुत छ संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँग गरेको कुराकानीको सम्पादित अंश ।

    संविधान संशोधनको अवस्था कस्तो छ ?

    नेपालको संविधान २०७२ जुन जारी भएको थियो । त्यो परिस्थितिमा देशमा दुई वटा वातावरण थियो । आधि जति जनसंख्याले यसलाई स्वागत गरेका थिए भने आधि जनताले यसप्रति आक्रोश व्यक्त गरेका थिए । विरोध गरेका थिए र कालो दिवसको रूपमा पनि मनाएको अवस्था थियो । यति भन्दाभन्दै पनि यो संविधान अहिलेसम्मको प्रगतिशील संविधान हो । यसमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको संविधान हो ।

    समानुपातिक, समावेशिता संस्थागत भएको संविधान हो । यो भन्दा अगाडीको संविधान यस्तो थिएन । यसले हामीलाई संघीयताको अधिकार दिएको छ । प्रदेशहरू बनेको अवस्था छ । प्रदेशमा सरकार रहेको अवस्था छ । प्रदेश सभा रहेको अवस्था छ । र त्यसरी नै स्थानीय तहमा पनि अधिकार राम्ररी पुगेको अवस्था छ । स्थानीय, प्रदेश र संघीय सरकार बिचमा शक्तिको बाँडफाँटको विषयमा संविधानले नै अनुसूचीमा छुट्टाइदिएको अवस्था पनि छ । त्यो एकदम सकारात्मक पक्ष हो ।

    त्यस्तै महिलाको अधिकारको सम्बन्धमा र दलितको अधिकारका सम्बन्धमा अहिलेको संविधानले उचित व्यवस्था नै गरेको छ । धेरै पाश्चात्य मुलुकहरू भन्दा प्रगतिशील पनि भन्न सकिन्छ खास गरी महिलाको अधिकारको सम्बन्धमा जुन एकतिहाई राख्नै पर्ने प्रतिनिधि सभामा पनि, अरू ठाउँमा पनि राख्नै पर्ने जुन प्रावधान छ, त्यो महत्त्वपूर्ण पाटो हो हाम्रो संविधानको । यति हुँदाहुँदै पनि संविधानले प्रदत्त गरेका अधिकारहरू संविधानले ९ वर्ष पूरा गरेर १० औँ वर्षमा लागि सक्दा पनि कतै न कतै सत्तापक्षबाट, खास गरी ठूला पार्टीहरूबाट त्यसमा इमानदारिता देखिएन । यसले कार्यान्वयन गर्नुपर्दछ । अधिकारको बाँडफाँट गर्नुपर्दछ ।

    शक्तिलाई विकेन्द्रीकरण गर्नुपर्दछ भन्नेमा उहाँहरूको असहमति नै रहँदै आएको छ । त्यही भएर उहाँहरूले त्यसलाई कार्यान्वयन गर्नका लागि त्यति तदारुकता अहिलेसम्म देखाउनुभएको छैन । उदाहरणको रूपमा हेर्न सकिन्छ, निजामती सेवा ऐन यत्रो वर्ष भइसक्यो अहिलेसम्म पनि ल्याउन सकिएको छैन । प्रहरी समायोजनको ऐन ल्याइएको छ, तर त्यो कार्यान्वयन गर्न सकिएको छैन । यस्ता थुप्रै कुराहरू छन्, जसमा अहिले पनि संघीय सरकारले प्रदेशको सचिवहरू तोकेर पठाउने । प्रमुख जिल्ला अधिकारी राखिदिएको छ, जसले मुख्यमन्त्रीलाई पनि टेर्ने कुरा गर्दैनन् । एसपी संघको मातहतमा राखिएको छ, त्यस्तो खालको द्वेध देखिन्छ । त्यस कारणले खास गरी ठुला पार्टी र सत्तापक्षको इमानदारिताको अभावका कारणले गर्दाखेरि कार्यान्वयनमा हामी चुकेका छौँ । सुस्त गतिमा भएको छ तर अगाडी बढिराखेको अवस्था चाहिँ छ ।

    कार्यान्वयनको अवस्था हेर्दा संविधान सफलताको दिशामा छ अथवा असफलताको ?

    २०७२ सालको संविधानले जुन परिवर्तन ल्याएको छ त्यो सानोतिनो परिवर्तन होइन । मानिसले यो गम्भीरताले बुझ्नुपर्छ । संघीयता भनेको के हो भने जुन शक्ति पूर्णरुपमा काठमाडौंमा केन्द्रित थियो । सिंहदरबारमा केन्द्रित थियो । त्यो अधिकारलाई सातै प्रदेश र स्थानीय तहमा वितरण गर्दै छौँ । स्वभाविक रूपमा यसमा प्रतिवाद हुन्छ नै । जसले २०० वर्षदेखि शक्तिको अभ्यास गर्दै आएका थिए, जुन वर्ग र समुदायले । जुन भूभाग वा जुन सिंहदरबारले । त्यो शक्ति त्यत्तिकै आफ्नो हातबाट जान दिने पक्षमा कहिल्यै पनि हुँदैनन् । खास गरी कर्मचारी, प्रहरी, सेना र स्थायी सत्ताका जुन पक्षहरू छन्, तिनीहरूले कहिल्यै पनि आफ्नो हातबाट अधिकार फुत्किएर जाओस्, जनताको बिचमा जाओस् । आम मान्छेको बिचमा जाओस् भन्ने चाहँदैनन् । त्यो अर्थमा त हामीकहाँ धेरै ठूलो विद्रोह वा प्रतिवाद नभएको हो । वा प्रतिगमन नभएको हो । उनीहरूले दिन चाहेका छैनन् । तर सुस्तरी–सुस्तरी दिनै पर्ने हुन्छ । उनीहरूले संघीयता र स्थानीय सरकारप्रति नकारात्मक भाष्य सिर्जना गरिदिने । उनीहरूलाई चलाउने म्यानपावर भएन । जनशक्ति भएन । चलाउन सक्दैनन् जस्ता कुराहरू ल्याइदिने र त्यसप्रति नकारात्मक भाष्य सिर्जना गरेर शक्तिलाई फेरि केन्द्रीकृत अवस्थामा ल्याउने प्रयास भइराखेको छ । तर जनताले संघीयताको लाभ बुझिसकेका छन् । स्थानीय सरकारमा शक्ति जानुको लाभ बुझिसकेका छन् । त्यो हुन अलि गाह्रै देख्छु ।

    संघीयताको कार्यान्वयन सही ढंगले भइरहेको छ त अहिले, संघीयताबारे प्रश्नहरू पनि त उठेका छन् नि ?

    धेरैले संविधान पुनः लेखन, संशोधन भन्छन् । पुनः लेखन अथवा पुनरावलोकन गर्नै पर्ने अवस्था अहिले म किन मान्दिन भने यो के हो भन्दाखेरि एकचोटी त्यो बहानामा संविधानमा हात हाल्ने अनि संविधानमा जुन अधिकार संस्थागत भइसकेका छन् । स्थानीय तह, प्रदेश तहका अधिकारहरू त्यो बहानामा खोस्ने षड्यन्त्र हुनसक्छ । नभए पहिला जति मात्रै अधिकार दिइएको थियो त्यसलाई पहिला कार्यान्वयन गरौँ न । जसरी प्रहरीलाई प्रदेश मातहत राख्नुपर्दछ । अन्य अधिकार दिनुपर्दछ । प्रदेशका आफ्नै कर्मचारी हुनुपर्दछ । त्यसमा संघले हस्तक्षेप गर्नुहुँदैन । संघले अनावश्यक विकासका काम पनि गर्नु हुँदैन । अहिले दुई लाखको बजेट पनि संघले छुट्याएर राखेको छ । त्यो त संघले गर्ने होइन । संघले त मौद्रिक नीति हेर्ने हो । राष्ट्र नीति, सुरक्षा नीति हेर्ने हो । त्यो तीनवटा मन्त्रालय मात्रै संघले राख्ने । अन्य अधिकारहरू प्रदेशलाई दिनुपर्छ । जुन अधिकार संविधानले दिएको छ । त्यसलाई पहिला कार्यान्वयन त गरौँ । कार्यान्वयन गर्नुहुन्न, अनि संविधानलाई संशोधन गर्नुपर्छ, परिमार्जन गर्नुपर्छ भनेर संविधानमा अनावश्यक रूपमा हात हाल्ने अनि भएका अधिकार खोस्ने षड्यन्त्र हो । जनताले बुझ्नुपर्दछ ।

    अहिले संविधान संशोधनमा हातै हाल्नु हुँदैन कि, केही बुँदाहरूमा मात्र संशोधन गरेर जानुपर्छ ?

    संविधानमा अहिले हात हाल्नुपर्ने अवस्था छ जस्तो लाग्दैन । धेरै कुराहरू ऐनलाई संशोधन गरे पुग्छ । संविधानअनुसार ऐनहरू परिमार्जन हुनुपर्ने थियो त्यो त हुन सकेको छैन । किन संविधानमा हात हाल्नुहुन्छ रु पहिले ऐन त परिमार्जन गर्नुस् । १७ वटा जति ऐन त परिमार्जन गर्नै बाँकी छ । अर्को कुरा हामीले पनि मिडियाहरूबाट सुनेका छौँ । संशोधन भन्ने कुरा आफैँमा ठूलो होइन । के को संशोधन रु पश्चगामी संशोधन हो कि अग्रगामी संशोधन हो रु त्यो कुरा ठूलो अर्थ राख्दछ । संशोधन भन्ने बित्तिकै सकारात्मक हो भनेर बुझ्नु हुँदैन । लौ समानुपातिक, समावेशिता खारेज भयो । त्यो समानुपातिक, समावेशिता टेकेर दलित, सीमान्तकृत वर्ग, महिला, मधेसी, मुस्लिमले बल्लतल्ल केही अधिकार पाएका छन् । त्यो अधिकार खारेज गरेर के गर्न खोजेको यो देशमा रु पाएको अधिकार पनि खोस्ने षड्यन्त्र प्रष्ट रूपमा देख्न सकिन्छ । यो कुरा जनताले प्रष्ट रूपमा बुझ्नुपर्छ । संविधान संशोधन भन्ने बित्तिकै हुरुक्क भइहाल्ने । सकारात्मक कुरा हो भन्ने बुझ्नु हुँदैन । त्यहाँ ठुलो पार्टीहरूको ठूलो षड्यन्त्र छ । ठूला पार्टीहरू मात्र कसरी बाँच्न सक्छ भन्नेतिर उहाँहरूको बढी ध्यान छ । ताकि अन्य दलहरूले आवाज नै उठाउन नपाउन् । अन्य वर्गहरूले आवाज नै उठाउन नपाउन् जस्तो व्यवस्था बनाउने षड्यन्त्र भएको मैले आभास पाएको छु ।

    राजनीतिक स्थायित्व र स्थिर सरकारका लागि संविधान संशोधन गर्नुपर्छ भन्ने ठूला दलहरूको कुरा छ नि ?

    स्थिर सरकार भनेको के हो रु राजाको पालामा स्थिर सरकार थियो । तीस÷चालिस वर्षदेखि एउटै हुन्थ्यो त । त्यसले के हामीलाई राम्रो गरेको हो त रु स्थिर सरकार भनेको उहाँहरूले काम गर्नुभएको भए, कुनै एउटा पार्टीले राम्रो काम गरेको भए त उहाँहरू आफैँले बहुमत ल्याउन सक्नुहुन्थ्यो । बहुमत नहुनाका कारण चाहिँ उहाँहरूले काम गर्न सक्नुभएन त्यही भएर जनताले अरू पार्टीलाई मत दिए । त्यसलाई चाहिँ जबरजस्त जनताको अभिमतलाई नै कटौती गर्ने, विकल्पै नछाड्ने समाधान होइन । त्यसको समाधान तपाई स्थिर सरकार चाहनुहुन्छ, कुनै एउटा पार्टीले बहुमत चाहन्छ भने जनता अनुकूल काम गरेर देखाउन सक्नुपर्‍यो । त्यसपछि हुन्छ । जबरजस्त एउटा मात्रै पार्टी बाँकी राख्ने, त्यसलाई भोट हालेर स्थिर सरकार, बहुमतको सरकार भन्न मिल्छ त रु मिल्दैन । त्यसको प्रमाण यहीँ पनि दिन्छु तपाईँलाई, यो भन्दा अगाडी झन्डै दुई तिहाइकै सरकार पनि बनेको थियो नेपालमा । त्यो दुई तिहाइको सरकार स्थिर रह्यो त ? रहेन । त्यो भएको हुनाले नेपालको सन्दर्भमा लागू हुँदैन । कुनै एउटा पार्टीले बहुमत ल्याइहालेता पनि नेपालको राजनीति कस्तो छ भने, यसमा बाह्य चलखेल धेरै हुन्छ । त्यो पार्टी एक महिनाभित्र फुट्छ । त्यो भएर यो परिवर्तन गरेपछि कुनै एउटा पार्टीले बहुमत ल्याउँछ कि भन्ने आशा नगरे हुन्छ । जनताको मन जितेर ल्याउन सके बल्ल हुन्छ । नभए अरू तरिकाबाट हुँदैन ।

    प्रतिनिधिसभाको यो कार्यकालमा संविधान संशोधन सम्भव होला त ?

    संविधान संशोधन उहाँहरूले भनेजस्तो म चाहँदिन । संविधान संशोधन नै गर्नु छ र स्थायित्वको कुरा गर्नुहुन्छ भने नि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔँ न । अहिलेको यो बिचौलिया प्रणाली किन रु त्यो त यो भन्दा बढी स्थायित्व हुन्छ । केन्द्र र प्रदेशको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरौँ । त्यो भएपछि पाँच वर्ष कसैले हटाउने भएन । त्यस्तो कुराको लागि संशोधन हुनुपर्दछ । मन्त्रीहरू राख्ने प्रावधान हटाऔँ । व्यवस्थापिका संसदबाट मन्त्री बनेर कार्यपालिकामा किन जानुपर्‍यो रु त्यो हटाऊँ । त्यसपछि पार्टी फुट्ने क्रम पनि रोकिन्छ । विकृति पनि रोकिन्छ र विज्ञहरू ल्याएर मन्त्रालय पनि चलाउने कुरा आउँछ । र संवैधानिक निकायका प्रमुखहरू पनि प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्‍यो । ताकि यिनीहरूले स्वतन्त्र भएर काम, कारबाही अगाडी बढाउन सकुन् । आर्थिक नीतिको ठाउँमा हामीले भन्दै आएका छौँ समाजवादको ठाउँमा सामाजिक लोकतन्त्र ल्याऊँ । यस्तो कुराको लागि संविधान संशोधन हुनुपर्छ, जुन अग्रगामी हुनेछ । यहाँ चाहिँ पाइसकेको अधिकार पनि खोस्नका लागि, अरू पार्टीलाई दमन नै गर्नका लागि, दलित, मुस्लिम र मधेशीहरुले, महिलाहरूले पाएको अधिकार नै खोस्नका लागि संविधान संशोधन आवश्यक हुँदैन ।

    राष्ट्रिय सभाको बारेमा यहाँको धारणा के छ ?

    हाम्रो पार्टीको धारणा छ, राष्ट्रिय सभा चाहिँदैन । प्रतिनिधि सभा भए हुन्छ । यो नेताहरूलाई व्यवस्थापन गर्ने थलोको रूपमा भयो । जुन नेताहरू प्रतिनिधि सभाको निर्वाचनमा हार्छन् अनि उही मनोनीत भएर राष्ट्रिय सभामा आउँछन् । शक्तिशाली मन्त्रालयमा जाने गरेका छन् । नेताहरू व्यवस्थापन गर्ने थलोको रूपमा परिणत भएको हुनाले यसको औचित्यता खासै म देख्दिन ।

    अन्य संविधानमा सुधार गर्नुपर्ने मुख्य–मुख्य विषयहरू केही छन् ?

    निर्वाचन क्षेत्रको पुनः निर्धारण गर्नुपर्दछ । निर्वाचन क्षेत्र भाषिक र जनसङ्ख्याको आधारमा छुट्याउनुपर्दछ । अहिले के भने नेताहरूले आफू अनुकूल गरिदिए । आफू कसरी जितिन्छ, आफ्नो जाति कतातिर छ रु आफ्नो भोट कतातिर छ रु ताल न बेताल गरी निर्वाचन क्षेत्र निर्धारण गरिदिएका छन् । त्यो नगरेर भाषिक सामीप्यता र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्दछ । मधेसमा ५४ प्रतिशत जनसङ्ख्या भइसक्यो । त्यो अनुपातमा निर्वाचन क्षेत्र छैन मधेसमा । त्यो नभएपछि हरेक कुरामा विभेद देखिने भयो तलदेखि माथिसम्म । जनसङ्ख्याको आधारमा र भाषिक सामीप्यताको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्दछ । केन्द्रमा परराष्ट्र नीति, मौद्रिक नीति र सुरक्षा नीति राखेर अन्य अधिकारहरू प्रदेशलाई दिल खोलेर दिनुपर्छ । संविधानको अनुसूचीमा रहेको अस्पष्टताहरू हटाउनुपर्दछ ।

  • मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा प्रेस युनियनका उपाध्यक्ष कर्ण नियुक्त

    मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा प्रेस युनियनका उपाध्यक्ष कर्ण नियुक्त

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।

    पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ‌। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।

  • मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : अध्यक्ष राउत (भिडिओ)

    मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : अध्यक्ष राउत (भिडिओ)

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए ।

    उनले मधेशीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेशीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।

    ‘राष्ट्रियता भनेको के हो ? म नेपाली हो भने मलाई किन मान्छेहरुले नेपाली भन्दैनन् । मधेसी मेरो राष्ट्रियता हो भने किन पहिचान पाएको छैन, यो कुरा सबैमा उठेको छ । राष्ट्रियताको खाँचो के छ त ? धेरै मानिसहरु भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको । धेरैले भन्छन्’, उनले भने, ‘ग्लोवल भिलेज भइसक्यो के मधेसी भनेको होला ? भन्छन् । तर तपाईं कुनै अर्को देशमा जानुस्, के सोध्छ ? होएर आर यु फ्रम सोध्छ । आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ ।’

    अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।

  • सिके राउतलाई बाबुरामको सुझाव- मधेशको मात्रै होइन, नेपालको नेता बन्नुस् (भिडिओ)

    सिके राउतलाई बाबुरामको सुझाव- मधेशको मात्रै होइन, नेपालको नेता बन्नुस् (भिडिओ)

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई मधेशको मात्रै नभएर नेपालको नेता बन्न सुझाव दिएका छन् ।

    अध्यक्ष राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै अब सिंगो नेपालको नेता बन्न सुझाएका हुन् ।

    उनले भने, ‘तपार्ईंले मधेशको मात्रै नेता हुने होइन, तपाईं त अब नेपालको नेता बन्नुपर्यो । नेपालको पुरानो शासकले नेपाली नै बन्न दिएनन् नि । नेपाली बन्न नदिएकाले न तपाईं मधेशी बन्नुभएको हो ।

    राजनीतिमा पढेलेखेका नैतिकवान मान्छेहरु नआएसम्म देश नबन्ने बताए ।

    उनले भने, ‘हाम्रो जस्तो जटिल भूराजनीति भएको जुन ठाउँ छ । यहाँ विभिन्न शक्तिहरु खेल्ने कोशिस त गरिहाल्छन् नि । त्यो स्वभाविक हो । त्यसमा अरुलाई दोष दिनु हुँदैन । जहाँ पनि हुन्छ, अहिले पनि भइरहेको छ । राजनीतिमा पढेलेखेका मान्छे, सादगी जीवन बिताउने मान्छेहरु र नैतिकवान मान्छेहरु नआउने हो भने देश बन्दैन ।’

    चुनाव जित्ने सरकारमा गइहाल्ने गरेर देश नबन्न उनको तर्क छ ।

    उनले थपे, ’राणाको कालमा पनि भएको थियो, पञ्चायत कालमा पनि भएको थियो । कांग्रेस र एमालेको पालोमा पनि भएको थियो र अहिले पनि भइरहेको छ । साँच्चै नै आधारभुत संरचनागत रुपान्तरण गर्ने, जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउने हो भने सक्षम मान्छे देशको नेतृत्व तहमा जानुपर्छ । सँगै इमान्दारिता चाहिन्छ।’

     

  • मधेशका मुख्यमन्त्री सिंह र मन्त्रीहरूबीच कार्यसम्पादन करार सम्झौता

    मधेशका मुख्यमन्त्री सिंह र मन्त्रीहरूबीच कार्यसम्पादन करार सम्झौता

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करार गरेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्रमा हस्ताक्षर गरेका हुन् ।

    मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिँह क्षेत्री, शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, अर्थमन्त्री सुनिलकुमार यादव, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियासँग करार सम्झौता गरेका छन् ।

    प्रादेशिक राजधानी जनकपुरधाम बाहिर रहेकाले श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायसँग भने पछि कार्यसम्पादन सम्झौता गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

    करारमा मन्त्रालयका नीतिगत विषयहरूलाई वार्षिक कार्यक्रमसंग आबद्ध गरेर कार्यसम्पादन सूचक र मूख्य नतिजा क्षेत्र सूचक खुल्नेगरी मन्त्रालयका संयन्त्रमार्फत भदौ १५ भित्र कार्यसम्पादनसहितको विवरण तयार गर्ने तथा स्वीकृत गर्नुपर्ने उल्लेख छ ।

    कार्यसम्पादन विवरणमा मन्त्रालयका कार्यक्रम, क्रियाकलापको सूची र कार्यान्वयनको समयसिमा समेत उल्लेख गरिएको छ ।

    कार्यसम्पादन सम्झौतासम्बन्धी करारपछि मुख्यमन्त्री सिंहले कार्यसम्पादन सम्झौताका कारण मन्त्रालयका काममा प्रगति, पारदर्शिता र समयवद्धता कायम हुने बताए । उनले सम्झौता कार्यान्वयनबाट मासिक, चौमासिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन हुने भन्दै त्यसबाट मन्त्रालयमा काम भएका वा नभएका र नभएका कारण तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न सकिने उल्लेख गरे ।

    ‘कार्यसम्पादन सम्झौताबाट कर्मचारीले दायित्वबोध गर्नेछ’, उनले भने, ‘यसबाट अधिकारीहरूको जिम्मेवारीसँगै पुस्कृत तथा कारबाही हुने आधार तय हुनेछ ।’

    प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालले भदौ १५ भित्र कार्यसम्पादनका मुख्य सूचक तथा मुख्य नतिजा क्षेत्र निर्धारणसहितको विवरण तयार तथा स्वीकृत भएपछि सम्झौताको प्रक्रिया पुरा भएको मानिने बताए ।

    उनले मन्त्रालयले गर्ने कामको स्पष्ट जानकारी जनतालाई हुने, मन्त्रालयलाई दिशाबोध हुने तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई कुन मन्त्रालयले कुन क्षेत्र केन्द्रित काम गरिरहेको र व्यवस्थित किसिमले काम भइरहेको वा नभइरहेको बारे अनुगमन गर्न सजिलो हुने जानकारी दिए ।

    प्रमुख सचिव पौड्यालले कार्यसम्पादन सम्झौताबाट समानुपातिक हिसाबले वितरण गरेर कुनै महिना काम नहुने र कुनै महिनामा धेरै काम हुने प्रवृत्ति निरुत्साहित हुने तथा भदौदेखि असारसम्म काम व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

     

  • आलोचनापछि मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

    आलोचनापछि मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका गरेका छन् ।

    जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ‌।

    साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।

    यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ ।

    पार्टीसँग सल्लाह नगरी राज्यमन्त्री थपेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जसपाका युवा-विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

  • जम्बो मन्त्रिपरिषद् बनाएपछि मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण

    जम्बो मन्त्रिपरिषद् बनाएपछि मधेशका मुख्यमन्त्री सिंहसँग जनमतले सोध्यो स्पष्टीकरण

    जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रीको संख्या २० पुर्‍याएको विषयमा जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण सोधेको छ ।

    साउन २२ मा मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए । यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ ।

    आलोचना हुन थालेपछि जनमतले मुख्यमन्त्री सिंहलाई आज स्पष्टीकरण सोधेको हो । जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।

    पार्टीले दिएका निर्देशनहरू किन बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागिएको छ । स्रोतका अनुसार सांसदलाई पाँच करोडको योजना दिने जस्ता विवादास्पद अभिव्यक्तिबारे पनि मुख्यमन्त्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।

    जम्बो मन्त्रिपरिषद्बारे जनमतका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्रीको बचाउ गरेका थिए । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले भनेका थिए, ‘यो गठबन्धनको सरकार हो । जनमत एक्लैले केही गर्न सक्दैन् ।’

  • जम्बो मन्त्रिपरिषद् बनाएका मुख्यमन्त्रीको बचाउमा सिके राउत : मन्त्रालय संख्या कांग्रेस-एमालेले निर्धारण गरेका हुन्

    जम्बो मन्त्रिपरिषद् बनाएका मुख्यमन्त्रीको बचाउमा सिके राउत : मन्त्रालय संख्या कांग्रेस-एमालेले निर्धारण गरेका हुन्

    काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको छ। मधेश सरकारको नेतृत्व जोगाउनकै लागि जनमतले कांग्रेस एमाले गठबन्धनको पक्षमा उभिएको छ।

    संघमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिए पनि सरकारमा पनि ठाउँ पाएको छैन। मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो ५ राज्यमन्त्रीको शपथ गराएसँगै मन्त्रीको संख्या २० पुगेको छ।

    संघमा २५ सदस्यीय मन्त्रिपरिषद् छ। तर प्रदेश संरचनाबारे चर्को आलोचना भइरहेको बेलामा मुख्यमन्त्री सिंहले पनि जम्बो मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना भइरहेको छ।

    तर, जनमत पार्टीका अध्यक्ष राउतले भने मधेश सरकार जनमतको मात्रै नभई, गठबन्धनको हो भन्ने बुझ्नुपर्ने तर्क गरेका छन्।

    उनले मुख्यमन्त्रीको बचाउमा भनेका छन्, ‘गठबन्धन र खासगरी दुई ठुला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने ? यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन।’

    अहिलेकै गठबन्धनमा पनि जनमत बिना नै मधेश सरकार बन्ने भएकाले आफूहरूले चाहेर मात्रै नहुने बताएका छन्।

  • जनमतले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको गर्‍यो समीक्षा, प्रभावकारी बनाउन चार बुँदे सुझाव

    जनमतले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारको गर्‍यो समीक्षा, प्रभावकारी बनाउन चार बुँदे सुझाव

    काठमाडौं । जनमत पार्टीले मधेश सरकारको ४५ दिनको कामकाजको समीक्षा गरेको छ । दुई दिनसम्म चलेको सचिवालय बैठकले मुख्यमन्त्री सतिश सिंह नेतृत्वको सरकारले गरेको कामको समीक्षा गरेको हो ।

    प्रदेश सरकारको आगामी दिनमा हुने कार्ययोजनाबारे पनि छ्लफल भएको जनमतका प्रवक्ता शरद यादवले बताए ।

    मधेश प्रदेशमा विगतका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्दै रोजगारीको कार्यक्रम ल्याउन बैठकले निर्देशन दिएको छ ।

  • त्रिशूलीमा बस र यात्रु बेपत्ता: मधेशका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्रीको घोषणा

    त्रिशूलीमा बस र यात्रु बेपत्ता: मधेशका मृतक परिवारलाई एक लाख दिने मुख्यमन्त्रीको घोषणा

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले त्रिशूली नदीमा बेपत्तामध्ये मधेशका नागरिकको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

    मृत्यु भएको पुष्टि भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सम्बन्धित परिवारलाई १-१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा मुख्यमन्त्री सिंहले गरेका हुन् ।

    असार २८ मा चितवनको सीमलतालमा खसेको पहिरोले दुइटा बसलाई त्रिशूली नदीमा बगाएको थियो । बसका ५६ यात्रु बेपत्ता भएका थिए । जसमध्ये १२ जनाको शव फेला परेको छ ।

    प्रहरीका अनुसार बेपत्तामध्ये धेरै यात्रु पर्सा र रौतहटका छन् ।

    मुख्यमन्त्री सिंहले दुर्घटना अत्यन्त दुःखद रहेको भन्दै बेपत्ता यात्रुलाई खोज्न दक्ष गोताखोर परिचालन गर्न र प्रविधिको प्रयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।

  • मधेश प्रदेशसभामा बजेट पुनर्लेखनको माग, सहमति नजुट्दा बैठक २६ गतेसम्मका लागि स्थगित

    मधेश प्रदेशसभामा बजेट पुनर्लेखनको माग, सहमति नजुट्दा बैठक २६ गतेसम्मका लागि स्थगित

    जनकपुरधाम । मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखनको अडान प्रतिपक्षी दलले राखेपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    आजको प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू अबरोध गरेका थिए ।

    बैठकमा जसपा नेपालका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक भएको कुरा सरकारले नै स्वीकार गरेकाले छानविन गर्न समिति गठन गर्नुपर्ने माग राखेका थिए ।

    त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेर सहमती जुटाउन छलफल राखे । तर सहमती नजुट्दा उनले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

    जसपा नेपालका सांसद गुप्ताले आजको छलफलमा सहमती नजुटेको र सत्ता पक्षले दुई दिनभित्र माग पुरा गर्ने जनाएपछि सभामुखले बैठक २६ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए ।

    उनले भने, ‘सिस्टम ह्याक गरेर बजेटमा गडबड गरिएको कुरा मुख्यमन्त्री र तत्कालीन अर्थमन्त्रीले स्वीकार्नु भएको छ । यदि त्यस्तो भएको छ भने छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्छ । र, बजेट पुनर्लेखन गर्नुपर्छ ‌।’

     

  • मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

    मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

    जनकपुरधाम । केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन् । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे ।

    आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए । विपक्षमा ३४ मत परेको हो ।

    मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

    गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

    छ दलीय सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याए । तर बजेट पारित नहुँदै सत्ता समिकरण उलटफेर भयो । जसका कारण विश्वासको मत लिनु केहिघण्टा अघाडी मात्रै मुख्यमन्त्रीलज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

    राजनीति परिस्थिति बदलिएपछि सिंहलाई मुख्यमन्त्री बनाउन अहम भूमिका खेलेका नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि विश्वासको मत दिएनन् ।

    विश्वासको मत पाएका मुख्यमन्त्री सिंहले सम्भवतः आजै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

  • मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)

    मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेका बताएका छन् ।

    जनमत पार्टीका सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सत्ता समीकरण उलटफेर भएपछि उनले आज माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

    मन्त्रीहरुलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन गएका मुख्यमन्त्री सिंहले भने, ‘नयाँ सत्ता समीकरण अनुसार चार दलका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थिए । उहाँहरुले बर्खास्त नै गरिदिनुस् भन्नुभो । त्यसपछि सहमतिमै बर्खास्त गरेको हुँ ।’

    ुसरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरु पूर्णरुपमा सहयोग गर्नु भएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’

    उनले अब नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्ने जानकारी दिए । स्रोतका अनुसार कांग्रेस र लोसपालाई आजै सरकारमा सहभागी गराउने उनको तयारी छ । उनी आज विश्वासको मत पनि लिदैछन् ।

  • मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त

    मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त

    जनकपुरधाम । केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । नेकपा एमाले-नेपाली कांग्रेससंग भएको सहमती अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको बुझिएको छ ।

    अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बािणज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएकी छन् ।

    मुख्यमन्त्री सिंह अहिले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनले मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन लागेको बुझिएको छ ।

    ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले विश्वासको मत लिदैछन् । त्यसअघि नै चार दलका छ मन्त्रीलाई हटाएका उनले सम्भवतः आजै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

  • मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : सीके राउत (भिडिओ)

    मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : सीके राउत (भिडिओ)

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।

    विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्येक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

    नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरुपमा परिवर्तन गरेर अघि बढन उपयुक्त हुने धारणा राखे । उनले संसदलाई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने बताए ।

    ‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठूलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरुलाई हामी धन्यवाद पनि दिन्छौं । तर देशले अहिले के भोगीराखेको छ भने एउटा अस्थिरताको शिलशिला सुरु भयो । म पटकपटक भन्ने गर्छु-प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री होकि होइन भनेर सोच्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यति धेरै अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरु पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातारण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं । संसदमा ह्वीप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन ।’

    अध्यक्ष राउतले संसदमा ह्वीप लागू गर्ने कुराले सांसदहरुलाई स्वविकीय ढंगले कानून निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क समेत गरे ।

     

  • मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा- निर्वाचित सांसदलाई ५ कराेड र समानुपातिकलाई डेढ करोड बाँड्ने (भिडिओ)

    मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा- निर्वाचित सांसदलाई ५ कराेड र समानुपातिकलाई डेढ करोड बाँड्ने (भिडिओ)

    जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बन्धित मन्त्रालयमार्फत् सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।

    उनले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    उनले भने, ‘संसदीय क्षेत्र विकासका लागि सम्बन्धित मन्त्रालयमार्फत् रकम पठाउँछौं ।’

    संघमा संसदीय विकास कोष खारेज भइसकेको छ । मधेशसहितका केही प्रदेशले संसदीय विकास कोषको निरन्तरता दिएको थिए, तर अदालतमा मुद्दा परेकाले चालू आर्थिक वर्षमा मधेशमा पनि सांसदहरूले सो रकम खर्च गर्न पाएका छैनन् ।

    मुख्यमन्त्री सिंहले भने घुमाउराे ढंगले सांसदलाई रकम बाँड्न खोजेका छन् ।

    जनमत पार्टीका एक सांसदले भने, ‘संसदीय विकास कोषको नाममा बजेट विनियोजन गरिने छैन । सम्बन्धित मन्त्रालयमार्फत् क्षेत्रमा बजेट पठाउँदा समस्या हुँदैन ।’

    मधेश प्रदेशमा १०७ सांसदमध्ये ६४ निर्वाचित छन् । जसमध्ये लोसपाका एक सांसद अभिराम शर्मा निलम्बित छन् । ४३ समानुपातिक सांसद छन् ।

  • मधेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त, केहीबेरमा शपथ

    मधेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त, केहीबेरमा शपथ

    जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गरेको थियो ।

    प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । उनलाई केहिबेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

  • बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री ! सिके राउतको निर्णयले पार्टीमा असन्तुष्टि

    बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री ! सिके राउतको निर्णयले पार्टीमा असन्तुष्टि

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।

    सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

    ०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका थिए । तर पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए ।

    सतिशका परिवार पुरानो धनी भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ ‌। गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।

    सतिशका बुवा शेखर ०३५ सालदेखि राजनीतिमा लागेका छन् । तर ०६९ मा शरत सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका थिए । जीत भने हासिल गने सकेन ।

    मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका शेखर मधेशवादी पार्टीहरू एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

    पार्टीमा असन्तुष्टि बढ्यो

    दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरी सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय अध्यक्ष राउतले एकलौटी ढंगले गरेको एक सांसदले बताए ।

    उनले भने, ‘सत्ता गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ताहरू खुशी थिए । जनताले मुख्यमन्त्रीको रूपमा यादवलाई बधाई पनि दिन भ्याए । तर, आज अध्यक्षजीबाट सिंहलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन आयो ।’

    दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय नगरेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सिंहलाई दलका नेता बनाउने खोजिएको छ । दलका नेता यादव र मुख्यमन्त्री सिंह बनेपछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले यादवलाई हटाएर अध्यक्ष राउतले सिंहलाई नै दलको नेता बनाउन खोजेका छन् ।

    मधेशमा जनमतका १३ सांसद छन् । सिंहलाई दलका नेता बनाउने विषयमा छलफल चलिरहेको एक सांसदले पुष्टि गरे ।

    उनले भने, अहिले निर्णय भएको छैन । सिंहलाई दलका नेता बनाउन अध्यक्षजीले दबाब आइरहेको छ ।’

    एकलौटी ढंगले दलका नेता सिंहलाई बनाउने निर्णय गरिए पार्टीमा अझ विवाद बढ्ने उनले सुनाए ।

  • जनमतबाट मधेशका मुख्यमन्त्री सिंह बन्दै

    जनमतबाट मधेशका मुख्यमन्त्री सिंह बन्दै

    जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो ।

    जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।

    ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएका थियौं । अध्यक्षजीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुभएको छ ।’

    जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने बुझिएको छ ।

    नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् ।

  • सिके राउतले उद्घोष गरेको ‘नौलो गणतन्त्र’ कस्तो हुन्छ ? यी हुन् मुख्य तीन विशेषता

    सिके राउतले उद्घोष गरेको ‘नौलो गणतन्त्र’ कस्तो हुन्छ ? यी हुन् मुख्य तीन विशेषता

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले संविधान संशोधन गरी आर्थिक नीतिको रूपमा सामाजिक लोकतन्त्रको संविधानमै व्यवस्था गरिने बताएका छन्।

    पार्टीका अध्यक्ष डा‍. सीके राउत गणतन्त्र दिवसको अवसरमा उद्घोष गरेको ‘नौलो गणतन्त्र’ आन्दोलनबारे प्रतिनिधिसभाको बैठकमा बोल्दै नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको विचार नयाँ नभएको बताए।

    यस्तो छ उनको भनाइ छ:

    हाम्रो देश चरम आर्थिक, राजनीतिक, भुमरीमा फसेको बेला जताततै जनतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाप्रति आघात असन्तुष्टि र अविश्वासको अवस्थामा जनमत पार्टी र अध्यक्ष डा सिके राउतले देश विकास र निकासको निम्ति यही ज्येष्ठ १५ गते नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको अवधारणा अघि सारी देशमा निकासको लागि मार्ग प्रशस्तको उद्घोष काठमाडौंको भृकुटीमण्डपबाट गर्नुभएको छ।

    नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको विचार नयाँ होइन, नेपालमा पनि विभिन्न कालखण्डमा भिन्न भिन्न नेताहरूले नीतिका रूपमा कुनै न कुनै रूपमा ई विचारहरूलाई अघि सारेका छन्।

    -नेपाली कांग्रेसको चौधौँ महाअधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले सामाजिक लोकतन्त्रलाई आधार मान्दै समुन्नत नेपालका लागि सैद्धान्तिक रूप रेखा १५ बुँदाहरूमा चर्चा गर्दै नेपाली कांग्रेसलाई नवउदारवाद बाट रूपान्तरणका प्रस्ताव अघि सारेका थिए।

    -एमाले पाँचौँ महाअधिवेशनमै सी।पी। मैनालीको नौलो जनवाद र रघुजी पन्तको सामाजिक जनवाद अर्थात् (सामाजिक लोकतन्त्रकै) विचार पनि अघि सारिएको थियो।

    -माओवादी आन्दोलनका नेतृत्व गरेका र वैचारिक आधारशिला तयार गरेका डा। बाबुराम भट्टराई नेतृत्वले नेपालमा साम्यवादी आन्दोलनको सान्दर्भिकता सकिएको घोषणा गर्दै नेपाल समाजवादी पार्टी गठन गरेर बस्नुभएको छ। यस पार्टीले अबको निकास आर्थिक विकास र अबको राष्ट्र सङ्कल्प नयाँ समाजवादी विकल्प जस्ता नारा राख्दै समुन्नत समाजद्वारा निर्देशित शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिँदै उज्यालो समतामूलक भविष्यको निर्माणको लक्ष्य लिइएको छ।

    -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०८० ज्येष्ठ १ गते पेश गरेको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कल्याणकारी राज्य, निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यसहितका विषयहरू राखेको छ। तसर्थ मुलुकको समृद्धि, रोजगारी र हितको निम्ति नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको विकल्प छैन।

    सामाजिक लोकतन्त्र एउटा संशोधनवादी विचारधारा हो जसले जनताको स्वतन्त्रता र समानतालाई प्रदान गर्ने सामूहिक प्रयास हो। यसले नत पूर्णरूपमा पुँजीवाद र नतपूर्ण रूपमा समाजवादलाई अंगिकार गर्दछ। यसले अहिंसात्मक मार्गबाट समाजवादी मूल्य र मान्यताहरूलाई स्थापित गर्न चाहन्छ।

    मुख्य विशेषता:

    १. लोक कल्याणकारी योजनाहरू प्रदान गरिने।

    २. आर्थिक क्षेत्रहरूलाई गम्भीर राज्यको नियन्त्रणमा राखिने।

    ३. आय र व्ययमा सन्तुलन कायम गरी सामाजिक न्याय प्रदान गरिने।

    संविधान संशोधन गरी आर्थिक नीतिको रूपमा सामाजिक लोकतन्त्रलाई व्यवस्था गरी समाजवाद उन्मुख व्यवस्था हटाउने।

  • मधेश प्रदेशसभा बैठकमा जनमतको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

    मधेश प्रदेशसभा बैठकमा जनमतको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

    जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ ।

    सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।

    तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै जनमतका सांसदहरु बैठक अबरुद्ध गरे । बैठक अबरुद्ध भएपछि सभामुख मण्डलले १० मिनेटका लागि स्थगित गरेका छन् ।

    बैठकमा जनमतका सांसद संजय यादवले कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानविन गर्न पटक पटक माग राख्दा पनि वेवास्ता गर्दा बाध्य भएर सदन अबरुद्ध गर्नुपरेको बताएका थिए ।

     

  • मधेशमा जनमत पार्टीले सदन अबरुद्ध गर्ने

    मधेशमा जनमत पार्टीले सदन अबरुद्ध गर्ने

    जनकपुरधाम । करिब डेढ महिनापछि आज बस्न लागेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अबरुद्ध गर्ने भएको छ ।

    प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बस्दैछ । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि अबरुद्ध गर्ने जनमत पार्टी संसदीय दलको बैठकले निर्णय गरेको हो ।

    सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद बैठक जनमतले अबरुद्ध गर्ने बुझिएको छ ।

    जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानविन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौं ।’

     

  • मटिहानीका आगलागी प्रभावित १०४ परिवारलाई सीके राउतले दिए ग्यास सिलिण्डर

    मटिहानीका आगलागी प्रभावित १०४ परिवारलाई सीके राउतले दिए ग्यास सिलिण्डर

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् ।

    आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए ।

    मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो । अहिले पीडितहरु प्रचण्ड गर्मीमा त्रिपालमुनी रातदिन काट्न बाध्य छन् ।

    जनमतका अध्यक्ष डा. राउत आगलगी प्रभावित व्यक्तिहरुसंग भलाकुसारी गरे । उनीहरुले भोगिरहेको पीडा सुनाएपछि डा। राउत र जनमतका नेताहरु घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।