Category: जनमत पार्टी

  • संघीय लोकतान्त्रिक मोर्चा- उपेन्द्रको पार्टी कार्यालयमा बस्ने बैठकमा सीके नजाने

    संघीय लोकतान्त्रिक मोर्चा- उपेन्द्रको पार्टी कार्यालयमा बस्ने बैठकमा सीके नजाने

    काठमाडौं । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा गठन भएको चार महिना पूरा नहुँदै विवादमा फसेको छ। मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन उद्देश्यले एकजुट भएका मधेशकेन्द्रित दल आफू अनुकूल स्वार्थमा केन्द्रित हुँदा विवादमा परेको हो।

    जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी मोर्चा चैत २१ गते घोषणा भएको थियो।

    तर, मोर्चामा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले औचित्यमाथि नै प्रश्न उठाएको छ। उद्देश्यभन्दा बाहिर गएर रुपन्देही ३ को उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि मोर्चाभित्र विवाद उत्पन्न भएको हो।

    कात्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही ३ मा नाउपाको उम्मेदवारलाई सघाउन मोर्चाले निर्णय गरेपछि जनमत बिच्किएको हो। यो निर्णयमा जनमतबाहेक अन्य ६ दल सहमति छन्। मोर्चामा सुरुआतदेखि नै जनमतले आफ्नो दाबी कायम राखेको थियो।

    तर, अन्य दल नाउपालाई समर्थन गर्ने पक्षमा उभिएपछि जनमतले औचित्यभन्दा बाहिर गएको भन्दै असन्तुष्टि जनाएर बैठकमा पनि जान छाडेको छ।

    मोर्चामा बस्ने कि नबस्ने भन्नेबारे पनि आफूहरूले पुनर्विचार गर्ने जनमतका प्रवक्ता डा. शरद यादवले बताए। मोर्चाको बैठक आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कार्यालय बालकुमारीमा बस्दै छ।

    तर, आफूहरू यो बैठकमा नजाने उनले बताए। मोर्चाको बैठक आबद्ध दलको पार्टी कार्यालयमा आलोपालो बस्दै आएको छ।

    मोर्चाप्रति जनमतको असन्तुष्टि कहाँ ? प्रवक्ता यादवको भनाइ जस्ताको तस्तै:

    दुई ठुला दल मिलेर सरकार बनाएपछि उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको थियो। संविधान संशोधनको कुरा उठेपछि मधेशी, आदिवासी जनजाति, सीमान्तकृत जनताको पक्षमा धेरै कुरा संशोधन आवश्यक छ।

    त्यसका लागि हामी सबै एक ठाउँमा आउनुपर्‍यो, सांसददेखि सडकसम्म हामीले दबाब सिर्जना गर्नुपर्‍यो भनेर मोर्चा गठन गरिएको हो। संविधान संशोधनका लागि दबाब सिर्जना गरेर हाम्रो बाँकी अधिकारलाई संरक्षण र सुरक्षित गर संविधानभित्र भन्ने हाम्रो उद्देश्य हो।

    तर त्यसलाई छाडेर कसलाई सांसद बनाउने, कसलाई मन्त्री बनाउने, कसलाई उम्मेदवार बनाउने भन्नेमा केन्द्रित हुन थाल्यो। त्यो हाम्रो उद्देश्य होइन। त्यसमा हाम्रो असहमति छ। मोर्चाको औचित्यअनुसार काम भइरहेको छैन।

    अर्को कुरा मोर्चामै भएका दलहरू जनमत सरकारबाट बाहिरिए हामी जान पाउँथ्यौँ भनेर दिनरात खटिरहेका छन्। त्यो सबैले बुझेकै कुरा हो। त्यसैले मोर्चाको उद्देश्यप्रति केन्द्रित नभएर एकले अर्कालाई सिद्ध्याउनतिर लागिरहेका छन्।

    रुपन्देही ३ को उपनिर्वाचनको विषयमा पनि हामीले हाम्रो पार्टी त्यहाँ सशक्त छ भनेका छौँ। विगतको चुनावमा हाम्रो पार्टीले राम्रो मत ल्याएको छ, जनमतको राम्रो पकड पनि छ। मोर्चाको निर्णय भनेर भएकोमा पनि हाम्रो असहमति छ। त्यसबारे ६ दल एकातिर जनमत बेग्लै छ। त्यसैले त्यहाँ हाम्रो उम्मेदवार हुन्छ।

    अर्को कुरा अशोक राईको पार्टीमा ७ सांसद छन्। मधेश केन्द्रित दलमा सबैभन्दा ठुलो सांसदको हिसाबले त्यही पार्टी हो। तर, उहाँहरूलाई मोर्चामा ल्याइएको छैन। यो पनि हाम्रो प्रश्न हो।

    एउटा उद्देश्यका लागि गठन भएको मोर्चालाई अर्को उद्देश्यमा प्रयोग गर्ने, सरकार गिराउने, कसलाई मन्त्री र सांसद बनाउने भन्ने विषयमा केन्द्रित भएकाले हामीले अब रहने वा नरहने भन्नेबारेमा पुनर्विचार गर्दैछौं।

    मोर्चाको उद्देश्यमा हिँड्यो भने हामी सँगै हुन्छौँ। मुख्य त संविधान संशोधनको कुरा हो हामीले उठाएको, यो चुनावी मोर्चा होइन।

  • लिचीबारी घुसकाण्ड- श्रीमती रञ्जितासँग जवाफ माग्दै रेशम चौधरी, बैठकमा आउन चुनौती (भिडिओ)

    लिचीबारी घुसकाण्ड- श्रीमती रञ्जितासँग जवाफ माग्दै रेशम चौधरी, बैठकमा आउन चुनौती (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ दिन माग गरेका छन्। उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका हुन् ।

    फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ। नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’

    उनले पार्टीलाई अगाडि बढाउन छलफल गर्न आवश्यक भएको भन्दै बैठकमा आउन आग्रह गरे । श्रेष्ठले अहिले बोलाइएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने चौधरीको भनाइ छ ।

    उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईँका कारण सिर्जना भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’

    उनले पार्टीलाई बन्धक वा निरंकूश बनाउन नपाइने भन्दै निकास दिन आग्रह गरेका छन् ।

  • जनमतका निष्कासित उपाध्यक्षको आरोप- ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै गुण्डा परिचालन गरियो

    जनमतका निष्कासित उपाध्यक्षको आरोप- ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै गुण्डा परिचालन गरियो

    बारा । जनमत पार्टीभित्रको आन्तरिक विवाद अब सडकमा आएर हिंसात्मक बनेको छ। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि बारामा प्रज्वलनशील पदार्थ प्रहारसहित मोसो छ्यापेर दुर्व्यवहार गरिएको छ । यो घटना पार्टीका अध्यक्ष डा. सीके राउतका निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको हो।

    निलम्बित नेताहरूले पार्टीभित्रको असन्तुष्टि र संघर्षलाई उजागर गर्न पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा सुरु गरेका छन्। आइतबार बिहान बाराको महागढीमाई नगरपालिका–३, दहियारमा उनीहरू कार्यकर्तासहित खाना खाएर संवाद कार्यक्रममा जाँदै गर्दा आक्रमण भएको थियो।

    इन्जिनियर साहले आफूहरूमाथि डा. सीके राउतले ‘ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही गुण्डाहरू परिचालन गरेको’ आरोप लगाएका छन्।

    उनले भने, ‘हामी सुरक्षित छौँ, त्यस्तो क्षति भएको छैन। हामी डराएर अभियानबाट भाग्ने छैनौं। हाम्रो मृत्युपश्चात् पनि अभियान जारी रहनेछ, किनभने हामीले मृत्यु दस्तबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केका छौँ । मृत्युदेखि परवाह छैन।’

    साहले आम जनतालाई डा. सीके राउतका कर्तुतहरू बुझ्न र थाहा पाउन अनुरोधसमेत गरेका छन् ।

    ‘संगठनको नेताकार्यकर्ता सहित खाना खाएर सम्वाद कार्यक्रममा जान लागेका बेला बिहान ११ बजे बारा जिल्लाको महागढीमाई नगरपालिका- ३, दहियारमा डा. सिके राउतका निकट विकास सिंहले उनीहरूमाथि प्रज्वलनशिल पदार्थ गाडीभित्रै फालेका छन् ।’ उनले भने, ‘ आफूहरुमाथि डा. सीके राउतले ज्यान मार्ने उदेश्यले पार्टीभित्रकै केही गुन्डाहरु परिचालित गरेका छन् ।’

    सार्वजनिक भएको एक भिडिओमा साह, यादव र सुनार चढेको गाडीलाई विकास सिंहको नेतृत्वमा गएका १०-१२ जना कार्यकर्ताहरूले घेरा हालेको देखिन्छ। उनीहरूले लुकाएर लगेको बोतलबाट कालो मोसो फालेका थिए। भिडिओमा ‘दीपक साह मुर्दावाद मुर्दावाद’ भन्दै चर्को नाराबाजीसमेत गरिएको सुनिन्छ।

    विकास सिंहले भने निष्कासित उपाध्यक्ष साह र कोषाध्यक्ष यादवले पार्टीविरुद्ध गतिविधि गरेको, पार्टीलाई भाँड्न खोजेको र नेता कार्यकर्ताहरूलाई गुमराहमा राख्ने काम गरेकोु भन्दै मोसो छ्यापिएको स्वीकार गरेका छन्।

  • सिके राउतले दाइ जयकान्तलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद

    सिके राउतले दाइ जयकान्तलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र विवाद देखिएको छ।

    गएको निर्वाचनबाट मधेशबाट नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीमा अध्यक्ष राउतको कार्यशैलीलाई लिएर एकपछि अर्को विवाद देखिएको हो।

    राउतले मङ्गलवार दाइ जयकान्त र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेका थिए। नयाँ पार्टीमा पुरानो झैँ गरेर परिवारवाद हाबी भएको भन्दै पार्टीका नेता कार्यकर्ता अध्यक्ष राउतको यो निर्णयबाट रुष्ट सुनिन्छन्।

    पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीले राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयको विरोध गरेका छन्।

    उनले विशेषतः पार्टी अध्यक्षद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्‍याएको आरोप लगाएका छन्।

    साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयले सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा। जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रस्ट भएको छ। विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्ष, र सङ्गठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो । यसले सङ्गठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ।’

    अध्यक्ष डा। राउतले पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित कोषाध्यक्ष सुरेन्द्र यादव लगायतलाई कारबाही गरेका थिए। त्यसो त पछिल्लो समयमा अध्यक्ष राउतमाथि पार्टीभित्र आफ्नो विरोध गर्नेहरूमाथि कारबाहीको डन्डा बर्साउने गरेको आरोप छ। अध्यक्ष राउतको यो निर्णय मात्रै‌ नभई कार्यशैलीमाथि नै प्रश्न उठाएर नेताहरूले असन्तुष्टि पोख्ने गरेका छन्।

    जनमतका प्रवक्ता डा। शरद यादवले भने अध्यक्षको दाइ मात्रै नभएर योगदानको आधारमा नै उपाध्यक्षमा पार्टीको मनोनीत गरेको दाबी गरे।

    उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले नबुझेर विरोध गरिराख्नुभएको छ। स्वतन्त्र मधेसको आन्दोलनबाट डाक्टर सावलाई मूलधारको राजनीतिमा ल्याउनेमै उहाँको दाइको हात छ। उहाँ जेल हुँदा होस् वा मुद्दा लाग्दा सबै उहाँकै दाइले नै हेर्नुहुन्थ्यो। उहाँको दाइ साइन्टीस पढेको मान्छे हुनुहुन्छ।’

    उनले उपाध्यक्षमा मनोनीत भएका राउतले गएको चुनावमा सप्तरी १ बाट लडेर २१ हजार ३ सय भोट ल्याएको पनि स्मरण गरे।

    उनले थपे, ‘पार्टीको हरेक सङ्गठनको काममा उहाँ खटिराख्नुभएको छ। उहाँ उपाध्यक्ष बन्नको लागि सबै मापदण्ड पुगेको छ। कसैको दाइ हो भन्दैमा उपाध्यक्ष बन्नै नपाउने भन्ने हुँदैन।’

    उनले मातृका, बिपी र गिरिजाप्रसाद कोइराला एउटै आमाबुबाको सन्तान देशको प्रधानमन्त्री भएको स्मरण गरे।

    प्रवक्ता यादवले थपे, ‘त्यसैले योग्यता र पार्टीभित्र योगदान छैन भन्ने बन्नु हुँदैन। तर उसको सङ्गठन बनाउने, चुनाव लड्ने क्षमता छ भने कसैको दाइ पदबाट बाहिर रहनुपर्छ भन्ने छैन।’

    उनले निर्णयको विरोध गरेका साहलाई पार्टीले ६ महिनाको लागि कुनै जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको बताए।

  • मधेशको बजेटप्रति रुष्ट सीके राउतको प्रश्न- मुख्यमन्त्री दिएको छ भनेर जे पनि हामीले मानिदिनुपर्ने ?

    मधेशको बजेटप्रति रुष्ट सीके राउतको प्रश्न- मुख्यमन्त्री दिएको छ भनेर जे पनि हामीले मानिदिनुपर्ने ?

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गरेका छन् । मधेशमा जनमतकै सतिशकुमार सिंह मुख्यमन्त्री छन् । तर, कांग्रेसबाट अर्थमन्त्री बनेका सुनिलकुमार यादवले मुख्यमन्त्रीलाई नै बाइपास गरेर बजेट ल्याएपछि जनमत रुष्ट छ ।

    मधेशको बजेटबारे अध्यक्ष राउतले भनेका छन्, ‘मधेश प्रदेशको सबभन्दा ठुलो योजना के हो ? बिचौलियाले राखेको ९७ करोड ६० लाख (झन्डै १ अर्ब) जसको ग्राउन्डमा कुनै प्रभाव देखिँदैन, कतै कार्यान्वयन भएको देखिँदैन, बस मिलीजुली बाँडेर खाने ।’

    त्यस्तै जनताले खोजेको २००० (१९६७ ) योजनाहरूमा नाम मात्रको ५-५ लाखका दरले छुट्ट्याइएको उनको भनाइ छ ।

    उनले थपेका छन्, ‘अर्थात् बिचौलियाको एउटै योजना बराबर जनताका २००० योजना ! अनि मुख्यमन्त्री हामीलाई दिएको छ भने जहिले पनि जे पनि मानिदिनु पर्ने ? त्यस्तै मेडिकल माफियाहरूले ४-५ वटा शीर्षकमा झन्डै १ अर्ब छुट्ट्याइएको छ ।’

    सिग्नेचर कार्यक्रमहरू मधेश विज्ञान केन्द्र र प्लेनेटेरियमको लागि ५ लाख, सामुदायिक समाजवाद भवनको लागि ५ लाख छुट्ट्याइएको उल्लेख गर्दै सबैले अहिले खोजिरहेको कमला पुलको लागि १ करोडमात्रै छुट्ट्याइएको राउतले बताएका छन् । जनमतले आफूहरूले सारेको गौरवको योजनामा बजेट नराखेको भन्दै असन्तुष्टि जनाइरहेको छ ।

    त्यसैले मधेश सरकारको नेतृत्व छाड्ने र केन्द्रमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पनि निर्णय गर्नको लागि आइतबार सचिवालय बैठक बोलाइएको छ । त्यसो त मधेशमा कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउने गरी गृहकार्य अघि बढाइसकेको बताइन्छ ।

  • लुम्बिनीकी सांसद रायमाझीले २ वर्षदेखि घर भाडा नबुझाएपछि सभामुखसमक्ष न्याय माग्दै घरभेटी

    लुम्बिनीकी सांसद रायमाझीले २ वर्षदेखि घर भाडा नबुझाएपछि सभामुखसमक्ष न्याय माग्दै घरभेटी

    रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको भन्दै उनका घरभेटीले न्यायको अपिल गरेका छन् ।

    बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं १ स्थित हेमलाल आचार्यको घरमा ०७९ माघ ४ गतेदेखि बसेकोमा हालसम्म एक पटक ८० हजार दिएर त्यसयता केही नदिएको भन्दै निवेदन दिएका छन् ।

    आचार्यले मासिक १० हजार दिने गरी भाडाको सहमति भएर आफ्नो घरको एक फ्याट लिए पनि धेरै पटक अनुरोध गर्दा पनि नपाएकाले निवेदन सार्वजनिक गर्नुपरेको र यो विषय प्रदेश सभा र सरकारलाई समेत जानकारी गराएको जनाएका छन् ।

    सांसदहरूले आफ्नो नियमित पारिश्रमिकबाहेक हरेक महिना १७ हजार रकम सरकारबाट घर भाडा पाउँदै आएका छन् ।

    रायमाझीले पनि प्रदेश सभाबाट त्यो रकम नियमित लिँदै आएकी छन् तर उता रकम बुझेर घरभेटीलाई नबुझाएको आचार्यको निवेदनले खुलेको छ ।

    ‘म अरू आम्दानीको स्रोत भएको मान्छे होइन, कानुन बनाउने र जनतालाई न्याय दिन जनप्रतिनिधिबाट यस्तो कल्पना गर्ने कुरा थिएन, मैले धेरै पटक फोन गर्दा पनि उठाउनुभएको छैन, धेरै पटक भोलि भोलि भनेर टार्नुभएको छ, अहिले त धेरै समय भयो यहाँ घरमा आउनुभएको पनि छैन, मोबाइल पनि स्वीचअफ छ’ आचार्यले भनेका छन् ।

    आचार्यले सभामुखलाई नै न्याय दिलाउन आग्रह गर्दै निवेदन दर्ता गराएका छन् । यसअघि जसपाबाट समानुपातिक सांसद भएर मन्त्री बनेकी रायमाझी ०७९ को निर्वाचनअघि जनमत प्रवेश गरेर समानुपातिक सांसद बनेकी हुन् ।

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनले घरभेटीले सभामुखलाई निवेदन दिएको भए पनि त्यो व्यक्तिगत विषय भएकाले प्रदेश सभाले रायमाझीले पाउने सेवा नियमित दिएको र काटेर दिन नमिल्ने बताए । रायमाझी यसअघि बुटवलमा रहँदा पनि घर भाडा नबुझाएको विषय बाहिर आएको थियो ।

    केही समयअघि सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी हाल फरार छन् । पार्टीको पनि सम्पर्कमा नरहेको संसदीय दलका नेता सिके गुप्ताले बताए ।

    पर्सा प्रहरीले असार ३ गते रायमाझीलाई पक्राउ गरी बर्दिया प्रहरीसमक्ष बुझाउन पत्राचार गरेको भए पनि सो पत्र अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बर्दिया नपुगेको दाबी बर्दिया प्रहरीले गरेको छ। रकम लेनदेनको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी भएको हो ।

  • चेक बाउन्सको मुद्दामा लुम्बिनीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

    चेक बाउन्सको मुद्दामा लुम्बिनीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

    दाङ । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् ।

    उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो ।

    अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ । यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।

    पर्साको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।

    जनमतकै नेतृ आशाकुमारीसँग सुमनाले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन । फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो ।

  • मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण

    मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण

    जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गरे । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

    मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    यसअघि जनमतले वन मन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकील अलि मियालाई बनाएको थियो । पार्टीको नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरेको जनमत पार्टीले जनाएको छ ।

    नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

    यादव सिरहाबाट निर्वाचित सांसद हुन् । उनी यसअघि कृषि राज्यमन्त्री बनेका थिए ।कुशवाहा समानुपातिक सांसद हुन् । उनी यसअघि कृषि मन्त्री भइसकेका छन् ।

  • मधेशमा दुई मन्त्री फेर्दै जनमत

    मधेशमा दुई मन्त्री फेर्दै जनमत

    काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ । पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो ।

    जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउँदैछ ।

  • संघीय लोकतान्त्रिक मोर्चाको बैठक- जनमतको कार्यालयमा पुगे उपेन्द्र पनि

    संघीय लोकतान्त्रिक मोर्चाको बैठक- जनमतको कार्यालयमा पुगे उपेन्द्र पनि

    काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक अहिले जारी छ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बैठक बसिरहेको प्रवक्ता डा. शरद यादवले बताए।

    उनका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, मोर्चाका आगामी कार्यक्रमलगायतको विषयमा छलफल चलिरहेको छ।

    बैठकमा जनमतका अध्यक्ष राउतसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी छन्।

    उपेन्द्र र सिके राउतबीच पार्टी बाराबारको स्थिती थियो। तर, मधेशकेन्द्रित दलहरुबीच मोर्चा बनाउँदैगर्दा उनीहरुबीच केही सम्बन्धमा सुधार आएको बताइन्छ। आज बैठकमा सहभागी हुने उपेन्द्र जनमतकै कार्यालयमा पुगेका छन्।

  • संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलायो, भोलि जनमतको कार्यालयमा बस्ने

    संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलायो, भोलि जनमतको कार्यालयमा बस्ने

    काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक भोलि बस्दैछ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा भोलि बैठक बस्ने तय भएको जनमतका प्रवक्ता डा.शरद यादवले बताए।

    उनका अनुसार बैठक दिउँसो १ बजे जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बस्नेछ।

    समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको आगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुने उनले बताए।

    मोर्चाको बैठक यसअघि लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो।

  • गीता गुरुङको राजीनामापत्र नै शंकास्पद ! प्रदेशसभामा शरीर उपस्थित नभए स्वीकृत नगरिने

    गीता गुरुङको राजीनामापत्र नै शंकास्पद ! प्रदेशसभामा शरीर उपस्थित नभए स्वीकृत नगरिने

    रुपन्देही । वैशाख ३० गते मंगलबार जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङको नामबाट सार्वजनिक भएको राजीनामा पत्रको आधिकारिकतामै प्रदेश सभाले शंका गरेको छ । उनको नामबाट सभामुख तुलाराम घर्ती मगरलाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्र उनकै श्रीमान कैलाश गुरुङले प्रदेश सभामा दिनुअगावै पत्रकार र सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

    गीता हाल बेलायत भएको र उनकै नामबाट हस्तलिखित निवेदन आएको भन्दै कैलाशले सबै पत्रकारलाई बाँडेका हुन् । समाचार आएको भोलिपल्ट गीताको नामबाट दाङ देउखुरीस्थित प्रदेश सभामा इमेल पठाइएको थियो । तर, प्रदेशसभामा यसअघि गीताले उपलब्ध गराएको इमेल ठेगाना र अहिले राजीनामा पठाएको इमेल ठेगाना नमिलेको, हस्ताक्षरसमेत फरक रहेको र पत्रको व्यहोरा पनि नमिलेको भन्दै प्रदेशसभाले शंका गरेको हो । प्रदेशसभा सचिवालयले पत्रको आधिकारिकतामा प्रश्न उठाउँदै गीता स्वयम् शशरीर उपस्थित नभएसम्म अघि नबढाउने जनाएको छ ।

    सार्वजनिक भएको राजीनामा पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख छ ।

    ‘देशको हालको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला,’ सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ । राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजैको मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

    तर, गीताले वैशाख महिनासम्मको सबै सेवासुविधा लगिसकेकी छन् । सत्ता साझेदार दल रहेको जनमत पार्टीका सांसद गुरुङको राजीनामा पहिले मिडियामा आएपछि प्रदेश सभा सचिव दुर्लभकुमार पुन, सभामुख तुलाराम घर्ती, जनमतका संसदीय दलका नेता सिके गुप्ता सबै आश्चर्यमा परेका थिए । उनी नेपाल नरहेको र बेलायतबाटै राजीनामा पठाएको बताउने उनका श्रीमान कैलाशले पनि सबै कुरा खुलाएका छैनन् ।

    जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता, संसदीय दलका नेता सिके गुप्ता दुवैले गुरुङले पटक पटक मन्त्री मागेको तर दिन नसकेको बताएका छन् । कैलाशले भने मन्त्री नपाएर राजीनामा दिएको भनेर गलत चर्चा चलाइएको दावी गर्दै आएका छन् ।

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनले पत्रमा गौरवका साथ राजीनामा दिइएको शब्द लेखेपछि व्यक्ति आफै आएर बुझाउन केही समस्या नहुने बताए । गीताले यसअघि उपलब्ध गराएको इमेल ठेगाना, हस्ताक्षर र पत्रको व्यहोरा पनि नमिलेकोले प्रकृयामा अघि नबढेको उनी बताउँछन् ।

    ‘हामीलाई समाचार आएको धेरैपछि इमेलमा राजीनामा पत्र प्राप्त भयो । उहाँकै लेटरप्याडमा हस्तलिखित तर स्क्यान गरेको पत्र आएको छ । उहाँले यसअघि दिएको इमेल र अहिले आएको इमेल ठेगाना पनि मिल्दैन । हस्ताक्षर पनि फरक छ । अनि पत्रको व्यहोरा पनि नमिलेकोले प्रकृयामा नगएको हो,’ उनले भने ।

    सभामुखले केही आशंका देखिएकाले व्यक्ति नै उपस्थित गराएर सनाखत गराउन भनेको पुनले बताए ।

    ‘जुन इमेलबाट आएको थियो, त्यही इमेलमा पत्राचार गरेर शरीर आउन भनेका छौं, केही जवाफ आएको छैन । अरु सम्पर्क पनि केही भएको छैन,’ उनले भने ।

    सांसद गुरुङ आफैले इमेल गरेको भए जवाफ आउने र सम्पर्क गर्ने पुन बताउँछन् ।

    ‘बेनामे चिठ्ठीजस्तो देखिएको छ, सभामुखलाई गरिएको सम्बोधन र कुन पदबाट राजीनामा दिएको भन्ने नै खुलेको छैन,’ उनले भने ।

    राजीनामा पत्र सार्वजनिक भएपछि प्रायः पत्रकारसँग पनि खुलेर नबोलेका कैलाश गुरुङ लामो प्रयासपछि शुक्रबार नेपाल प्रेसको सम्पर्कमा आए । उनले सांसद गुरुङको राजीनामा उनकै स्वकीय सचिव शारदा चौधरीको इमेलबाट प्रदेश सभामा पठाएको तर त्यसपछिको प्रकृया आफूलाई जानकारी नभएको बताए ।

    ‘मेडमले उताबाट पठाउनुभयो, त्यसैलाई स्वकीयको इमेलबाट उता पठाएको हो, राजीनामा पत्रमा सबैकुरा प्रष्ट लेखिएको छ,’ उनले भने, ‘जनमतका केही नेताहरुले गलत आरोप लगाए । मन्त्री नपाएर राजीनामा दिएको होइन । बस्न मन नलागेर हो । अरु वास्तविकता पछि भेटमा गरौंला, म व्यस्त छु,’ उनले यति भनेर फोन राखिहाले ।

    कैलाशले स्वकीय शारदा चौधरीको इमेलबाट पठाएको भनिए पनि प्रदेश सभामा गीताको अर्को आइडीबाट इमेल गएको बुझिएको छ । यसअघि गीताले Gita Gurung नामको इमेल उपलब्ध गराएकोमा अहिले Geeta gurung इमेलबाट आएको प्रदेश सभाले जनाएको छ ।

    जनमतका संसदीय दलका नेता सिके गुप्ताले गीताले पार्टीमा कुनै सल्लाह नगरी राजीनामा मिडियामा सार्वजनिक गरेको बताए । आफूहरुलाई गलत आरोप लगाएको, पार्टीको सम्पर्कमा लामो समय नरहेको विषयमा कारबाहीका लागि आजै दलको बैठक बसेर निर्णय लिने उनको भनाइ छ ।

    ‘यस्तो पनि हुन्छ ? समानुपातिक सांसद बनेको मान्छे पार्टीको सम्पर्कमा नरहने, दलको बैठकमा नआउने, नेताहरुलाई अनावश्यक आरोप लगाउने, राजीनामाको अनावश्यक हल्ला चलाउनेलाई तत्काल कारबाही गरिन्छ । आजै दलको बैठक बसेर पार्टीमा सल्लाह गरेर अघि बढ्छौं,’ उनले भने ।

    गीताले राजीनामा दिएको औपचारिक जानकारी नै पार्टीलाई नरहेको उनी बताउँछन् । बरु पार्टीले नै उनलाई पहिलेदेखि राजीनामा गर्न भनेको गुप्ताको भनाइ छ । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको तर त्यसको औपचारिक पत्र आफूसँग नआएको उनले बताए ।

    ‘गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो । सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो । विधिमा बस्नुपर्छ । उहाँलाई छनौट गर्दा नै गलत गरियो भन्ने लागेको छ’, उनले भने ।

    गुरुङका छिमेकीका अनुसार गीता केही समयअघि बेलायत गइसकेकी छन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् । जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ ।

    जनमतका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले कैलाशले श्रीमतीलाई मन्त्री बनाउन पटक पटक कुरा राखेको तर तीन सांसद रहेको पार्टीबाट कोही पनि मन्त्री नरहेकाले र अहिले ढुक्क भन्न नसकिने बताएपछि उनीहरु असन्तुष्ट भएको बताए । जनमतबाट लुम्बिनीमा ‘सिके गुप्ता, सुमन रायमाझी र गीता गुरुङ तीन जना सांसद छन् ।

  • जनताको करले तलब खान मनले नमानेको बताएकी गीताले वैशाखसम्मको सबै सुविधा लिइसकेको खुलासा

    जनताको करले तलब खान मनले नमानेको बताएकी गीताले वैशाखसम्मको सबै सुविधा लिइसकेको खुलासा

    रुपन्देही । मङ्गलवार राजीनामा सार्वजनिक गरेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख महिनासम्मको तलब भत्तासहितका सेवा सुविधा सबै बुझिसकेकी छन् तर उनको राजीनामा पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै भावनात्मक शब्दहरू उल्लेख छ ।

    श्रीमान् कैलाश गुरुङमार्फत पार्टीमा पटक पटक मन्त्रीका लागि दबाब दिएकी उनले प्रदेश सभाबाट पाउने सबै सुविधाको रकम वैशाख महिनासम्मको सबै लिएको खुलेसँगै उनले सार्वजनिक गरेको भावनात्मक शब्द स्टन्ट मात्रै भएको सो पार्टीका नेताहरूले बताएका छन् । हाल बेलायतमा रहेकी गुरुङको खातामा पाउने सबै सुविधा गइसकेको छ ।

    मङ्गलवार उनका श्रीमान् कैलाश गुरुङमार्फत उनले हस्तलिखित राजीनामा पठाएको भन्दै सार्वजनिक भएको थियो । मङ्गलवार नै श्रीमान् कैलाशले प्रदेश सभामा त्यो पत्र पुराउन हिँडेको पत्रकारलाई बताए पनि साँझसम्म दर्ता भने भएको छैन ।

    प्रदेश सभा सदस्यले तलब बापत ५२ हजार २००, आवास १७ हजार, बिजुली एक हजार पाँच सय, सञ्चार दुई हजार गरी मासिक ७२ हजार ७ सय रुपैयाँ पाउने गरेकोमा उनले त्यो रकम वैशाखसम्म बुझेको प्रदेश सभाले जनाएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यमा चयन भएदेखि गुरुङले यो सुविधा बुझ्दै आएको जनाएको छ।

    त्यसबाहेक बैठक भत्ता भने एक हजार रुपैयाँ पाउने गर्दछन् तर उनी अधिकांश बैठकमा सहभागी नभएकोले यो रकम कम रहेको छ । बैठकमा सहभागी भएपछि मात्रै यो सुविधा पाउने गरेकी थिइन्। पाँच वटा अधिवेशनसम्म ८३ वटा बैठक बसेका छन्।

    जसमध्ये उनी जम्मा ३४ वटा बैठकमा सहभागी भएको पनि रेकर्डमा देखिएको जनमत पार्टी संसदीय दलका नेता सिके गुप्ताले जनाएका छन् । ‘दलको बैठकमा कहिले पनि आउनुभएन, सदनमा नि निकै कम सहभागिता छ, दुई महिनायता कुनै सम्पर्कमा हुनुहुन्न’ उनले भने ।

    गुरुङको हस्ताक्षरमा मङ्गलवार सार्वजनिक गरेको राजीनामा पत्रमा ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु,’ उल्लेख गरिएपछि प्रदेश संरचनाको विरोध गर्नेहरूले राम्रो काम भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरेका थिए ।

    लामो समय बेलायत बसेकी उनी निर्वाचनअघि त्यहाँबाट आएर जनमत पार्टीको समानुपातिक सांसदमा परेकी थिइन् ।

    निकटस्थका अनुसार उनी अहिले पनि बेलायतै रहेको त्यहीँबाट राजीनामा पठाएकी हुन् । उनको पार्टी जनमतका संसदीय दलका नेता सिके गुप्ता र पार्टी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले निर्वाचनको समयमा क्लष्टर मिलाउन गुरुङलाई राजनीतिक आधारबिना प्रदेश सभामा पठाएर ठूलो गल्ती भएको बताएका छन् ।

    गीताका श्रीमान् कैलाश गुरुङले केही समयअघि जनमत छाडेर जसपामा प्रवेश गरेसँगै उनलाई पार्टी छाड्न दबाब बढेको थियो । मङ्गलवार पनि कैलाशले नै उनको राजीनामा पत्र सार्वजनिक गरेका हुन् ।

    प्रदेशसभा सचिव दुर्लभ कुमार पुन र सभामुख तुलाराम घर्तीले मिडियाबाट सार्वजनिक भएको राजीनामाले केही नहुने र त्यो औपचारिक दर्ता भएपछि मात्रै प्रक्रिया अघि बढ्ने जनाएका छन् ।

    लुम्बिनीमा सरकारलाई समर्थन गरेको जनमत पार्टीमा तीन सांसद छन् । तर मन्त्री पाएको छैन । एमाले कांग्रेसबाट मात्रै मन्त्रिपरिषदमा सहभागिता रहेकाले एक मन्त्री साना दलमध्ये नाउपालाई दिने समझदारी यसअघि नै भएको छ । तर गुरुङले मन्त्री दाबी गरेपछि जनमतका नेताहरूलाई मिलाउन समस्या परेको हो ।

    जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार उनले मन्त्री माग गरे पनि अहिलेसम्म पार्टीले नपाएको अवस्थामा हुन्छ भन्ने अवस्था नरहेको बताए । सरकारमा रहेका एक सांसदले उनको राजीनामा मन्त्रीको लागि बार्गेनिङ हुनसक्ने आशंका गरेका छन् ।

    ‘राजीनामा भनेर प्रचार भएको छ, प्रदेश सभामा दर्ता छैन, राजीनामाको ढाँचा पनि मिलेको छैन, सम्बन्धित सांसद देखिएको अवस्था पनि छैन अनि उनकै पार्टीका नेताहरू छिटो गरिदिनुपर्छ भनिरहेको अवस्थाले आशंका बढाएको छ’, उनले भने ।

  • लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा

    लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा

    रुपन्देही । लुम्बिनीमा सत्ता साझेदार जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अहिले चर्चामा छ । सामाजिक सन्जालमा उनका श्रीमान कैलाश गुरुङले सार्वजनिक गरेको राजीनामा कतै दर्ता भएको छैन । गीता अहिले कहाँ छन् भन्ने पनि कसैलाई थाहा छैन ।

    उनका छिमेकीका अनुसार उनी केही साताअघि नै बेलायत गइसकेकी छन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् ।

    जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ । जनमतका नेताहरु गीता र कैलाशले पटक-पटक मन्त्री बनाउन दबाब दिएको बताउँछन् ।

    तर, पार्टीले सरकारलाई सहयोग गरेको भएपनि एउटा पनि मन्त्री नपाएकाले सम्भव नभएको नेताहरुले बताउँदै आएका थिए । कैलाश आफैंले मन्त्री पाउँदा पनि जनमतमा बस्ने वातावरण नभएकाले राजीनामा दिनुपरेको पत्रकारलाई बताएका छन् ।

    मंगलबार बिहान गीता गुरुङको राजीनामा आफूलाई उनैका श्रीमान कैलाशले म्यासेनजरमा पठाएको उनका छिमेकीसमेत रहेका भैरहवाका पत्रकार शंकर पाण्डेले बताए ।

    ‘राजीनामा पठाएपछि उहाँले आफै फोन गर्नुभयो’, पाण्डेले कैलाशको भनाइ उद्घृत गर्दै भने, ‘बस्ने वातावरण भएन, अब मन्त्री नै दिएपनि नबस्ने भनेर राजीनामा दिइएको छ ।’

    उनले पाण्डेलाई सो समाचार बनाइदिन अनुरोध पनि गरे । ‘दिउँसो सभामुखलाई बुझाउन जाने बताउनुभएको थियो, गीता त अहिले बेलायत नै गइसकेको सुनिएको छ’, उनले भने । ‘कैलाशले प्रदेशसभामा राजीनामा दर्ता गराउन हिँडेको बताउनुभएको हो, तर अहिले मोबाइल अफ रहेको छ, बिहान मेरो कुरा भएको हो’, उनले भने ।

    जनमतका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले कैलाशले श्रीमतीलाई मन्त्री बनाउन पटक पटक कुरा राखेको तर तीन सांसद रहेको पार्टीबाट कोही पनि मन्त्री नरहेकाले र अहिले ढुक्क भन्न नसकिने बताएपछि उनीहरु असन्तुष्ट भएको बताए ।

    ‘सिके गुप्ता, सुमन रायमाझी र गीता गुरुङ तीन जना सांसद हुनुहुन्छ, बेलायतमा बस्ने मान्छे क्लष्टर मिलाउँदा आएको केही समयमै सांसद हुनुभयो, उहाँले पार्टीमा काम गरेर पाएको पनि होइन, त्यस्तै भाग्य पर्यो निर्वाचनको कानूनले, यहाँ कति लामो समय पार्टीमा काम गरेकाहरुले केही पाएका छैनन्’, उनले भने, ‘त्यसपछि खाली मन्त्री बनाउनपर्यो भन्नुभयो, गीताले केही नभनेपनि कैलाशले पटक–पटक भन्नुभयो, दलको बैठकमा पनि पठाउनुभएन, कहिलेकाहीँ सदनमा सँगै लगेर जाने र हाजिर गराएर ल्याउन गर्नुभयो, यही मुख्य समस्या भयो ।’

    नेपाल प्रेसको सम्पर्कमा आएका कैलासले धेरै कुरा गरेनन् । राजीनामाको विषय के हो ? भनेर प्रश्न गर्दा बनिबनाऊ जवाफ दिए, ‘सबै विषय पत्रमै छ नि, अहिले म सानो कार्यक्रममा छु, पछि कलब्याक गर्छु है, राजनीतिमा उतारचढाब भइरहन्छ ।’

    कलब्याक गर्छु भनेर फोन राखेका कैलाशको त्यसयता मोबाइल अफ छ । उनले प्रदेश सभामा फोन गरेर राजीनामा बुझाउनु आउने बताएको त्यहाँका कर्मचारीले जनाएका छन् ।

    त्यसो त गुरुङले सार्वजनिक गरेको पत्रमा पार्टीलाई कतै आरोप लगाइएको छैन । गीता–कैलाशका छोरा र छोरी बेलायतमै बस्छन् भने उनीहरु पनि जाने आउने गरेका छन् । यहाँ सांसद हुनुअवावै गीताले बेलायतमै करिब ३ लाख मासिक तलब लिने काममा जोडिएकी थिइन् ।

    सो पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता भन्छन्, ‘बेलायमा सबै व्यवस्थापन भएको मान्छेलाई यहाँको सांसदको तलबले केही चलेनहोला, तर यहाँ उहाँले भाग्यले नै त्यो पद पाउनुभएको हो, हाम्रो निर्वाचन प्रणाली नै यस्तै बनाइएको छ, उहाँलाई त्यहाँ पठाउँदा नै ठूलो गल्ती भयो भन्ने पार्टीर्लाइ लागेको छ, पार्टीमा काम गरेको मानछे पठाएको भए यति हलुका बन्नुपर्दैनथ्यो जस्तो लागेको छ ।’

    गीताको नाममा सार्वजनिक राजीनामा पत्रमा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको भावनात्मक शब्दहरु उल्लेख छन् ।

    ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।

    जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् ।

    जनमत संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङलाई पहिलेबाट नै पार्टीले राजीनामा गर्न भनेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको तर त्यसको औपचारिक पत्र आफूसँग नआएको सुनाए ।

    ‘गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो, सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो, विधिमा बस्नुपर्छ, उहाँलाई छनौट गर्दा नै गलत गरियो भन्ने लागेको छ’, उनले भने ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुन र सभामुख तुलाराम घर्तीले राजीनामा मिडियाबाट सुनेको देखेको तर कार्यालय आइनसकेको बताएका छन् । औपचारिक केही आएको छैन, दलका नेता सिके गुप्ताले आउँदैछ भन्नुभएको छ तर आएको छैन, आएपछि अध्ययन गरेर अघि बढ्नेछौं’, उनीहरुको भनाइ छ ।

    सांसद गीताका श्रीमान कैलाश चैत ९ गते जनमत पार्टीमा प्रवेश गरेका थिए । कैलाशलाई उपेन्द्र यादव आफैले जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) मा प्रवेश गराएका थिए ।

  • लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाइन्

    लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाइन्

    दाङ । पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ ।

    समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् ।

    गीता अब बेलायतमै बस्ने मनसायमा रहेको निकट स्रोतले बतायो । उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले नेपाल प्रेसलाई बताए । उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन् ।

    भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन् । उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन् ।

    गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए ।

    ‘उहाँ बेलायत गइसक्नुभएको छ । अब राजनीतिमा आउनुहुन्न । उतै बस्नुहुन्छ`, ती आफन्तले भने ।

    गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिए ।

    गीताका पति कैलाशको पनि मोबाइल फोन स्वीचअफ छ ।

  • राजीनामा दिएकी गीताबारे जनमत दलका नेता- उहाँलाई सांसद बनाएर गल्ती गरियो

    राजीनामा दिएकी गीताबारे जनमत दलका नेता- उहाँलाई सांसद बनाएर गल्ती गरियो

    दाङ । जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ताले आज राजीनामा दिएकी सांसद गीता गुरूङ बेपत्ता भएको बताएका छन् ।

    समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा सभामुखसमक्ष राजीनामा दिएकी छन् । राजीनामा दिएर सांसद गुरूङ मोबाइल अफ गरेर बसेकी छन् ।

    दलका नेता चन्द्रकेशले गुरुङ २ महिनादेखि बेपत्ता भएको प्रतिक्रिया बताए ।

    ´उहाँ प्रदेशसभा बैठकमा पनि खासै उपस्थित हुनुहुन्न । दुई महिनादेखि बेपत्ता हुनुहुन्छ । हाम्रो सम्पर्कमा हुनुहुन्न`, उनले भने ।

    ‘सांसद त बनाइयो, तर उहाँले जिम्मेवारी पूरा गर्नसक्नु भएन । उहाँलाई सांसद बनाएर गल्ती गरियो`, गुप्ताले थपे ।

    गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको भन्दै उनले राजीनामा आए स्वीकृत गर्ने बताए ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन् ।

    ‘सभामुखसँग सम्पर्क गर्दैछु, उहाँ कार्यालय आउँदे हुनुहुन्छ, मिडियाबाट जानकारी पाएका छौं, ओपचारिक छैन’, उनले भने ।

  • अम्बेडर पार्क सलहेश फूलबारीबाट अन्यत्रै सार्न मधेशका मुख्यमन्त्रीसमक्ष ज्ञापन

    अम्बेडर पार्क सलहेश फूलबारीबाट अन्यत्रै सार्न मधेशका मुख्यमन्त्रीसमक्ष ज्ञापन

    जनकपुरधाम । सिरहाको लहान नगरपालिका- १२ स्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारी नजिकै निर्माण गर्न लागिएको भीमराव अम्बेडकर पार्क स्थानान्तरण गर्न सलहेश फूलबारी संरक्षण संघर्ष समितिले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

    समितिका मधेश प्रदेश संयोजक मोहन पासवान नेतृत्वको टोलीले मधेश भवन पुगेर मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको हो ।

    मुख्यमन्त्री सिंहलाई समितिले बुझाएको ज्ञापनपत्रमा सलहेश फूलबारीसँगै निर्माण गर्न लागिएको अम्बेडर पार्क सर्वस्वीकार्य ठाउँमा कम्तीमा १० कट्ठा बढी जग्गामा स्थानान्तरण गर्नुपर्नेसहितका ९ बुँदै माग राखेको छ ।

    सलहेश फूलबारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्न लागेको छ । जीतेन्द्रसिंह धामीले दान दिएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न मधेश सरकारले ८० लाख बजेट दिएको छ ।

    पार्कको शिलान्यास मधेशका मुख्यमन्त्री सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १५ मा गरेका थिए । अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध भएको थियो ।

    फाइल तस्बिर

    राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फुलबारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समुदायले गरेको छ । राजा सलहेश पासवान समुदायको कुल देवता हुन् । त्यसैले सो समुदाय सलहेश फूलबारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।

    समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य रहे पनि सलहेश फूलबारी जस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको ठहर गरेको छ ।

    समितिले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सलहेश फूलबारी पासवान समुदायको आस्था बोकेको स्थल नजिकै डा. भीमराव अम्बेडर पार्क बनाउनु हाम्रो संवैधानिक हकको हनन् भएको हाम्रो ठम्याइ छ ।’

    समितिले सलहेश फूलबारीमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको निर्माणमा पूर्ण रोक लगाउन र सलहेश फूलबारी, सलहेश अखडा, मानिक दह, पकडियागढ र महिसोथा गढ जोड्ने गरी सलहेश सर्किट निर्माण गर्न माग गरेको छ ।

    यस्तै सलहेशसँग जोडिएको सम्पूर्ण अतिक्रमित क्षेत्रलाई स्पष्ट नक्सासहित सीमांकन गरी सरकारी स्वामित्वको रुपमा अभिलेख गर्न र सलहेश क्षेत्र संरक्षण विकास कोष स्थापना गर्न पनि समितिको माग राखेको छ ।

    सलहेश फूलबारी क्षेत्रमा कुनै पनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने समितिले जनाएको छ । समितिले राखेको मागहरु पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिएको छ ।

  • आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह

    आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको पहलगाममा गरेको आतंकी हमलाको प्रतिकार आवश्यक रहेको बताएका छन् ।

    भारत-पाकिस्तानबीच तनाव बढेका बेला मुख्यमन्त्री सिंहले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन्, हामी सबैको साझा लडाइँ हो ।’

    आतंकवादको कुनै धर्म, जात, वा सिमाना नहुने गरेको भन्दै मुख्यमन्त्री सिंहले कायरता मानवताविरुद्धको अपराध हो र यसको प्रतिकार आवश्यक रहेको उल्लेख गरेका छन् ।

    ‘आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ । आतंककारीहरूलाई मौन साथ होइन्, खुलेर प्रतिकार चाहिन्छ,’ उनले भनेका छन्, ‘मधेश भारतको साथमा छ । आज पनि, भोलि पनि र सदैव ।’

  • नाउपा-जनमत एकता: सरेको कि टरेको ?

    नाउपा-जनमत एकता: सरेको कि टरेको ?

    कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीचको एकता तत्काललाई धकेलिएको छ ।

    बुधबार ९ बुँदे सहमतिसहित पार्टी एकता घोषणा गर्न दुवै दल तयार भएका थिए । तर, पार्टी एकता स्थलबाटै नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा भाँडियो । डिल्लीबजार कारागारबाट साढे पाँच घण्टामै रेशम छुटेपनि पूर्वनिर्धारित समयमा पार्टी एकता भएन । अहिले दुवै दलबीच पार्टी एकताको अर्को मिति तय भएको छैन ।

    रेशम रिहा भएपछि मध्यबानेश्वरको सनराइज क्याफेमा स्वागत र सम्मान कार्यक्रम राखियो । त्यहाँ जनमतका उपाध्यक्ष, प्रवक्तासहितका नेताहरू पुगेका थिए । चौधरीले आजसम्म दुई दलबीच छलफल हुने र शुक्रबारसम्म एकता हुने भन्दै नेता कार्यकर्ताहरूलाई आश्वस्त पारेका थिए ।

    नेता कार्यकर्ताहरूले रातिसम्मै भएपनि एकता गर्न दबाब दिएका थिए । जनतम पार्टीका अध्यक्ष नै नभएको कार्यक्रममा एकता हुने सम्भावना थिएन । नाउपाका नेताहरू संरक्षक रेशम रिहा भएपछि बधाई दिएर फर्किए । रेशमले आज दुई दलबीच छलफल हुने बताएका थिए । तर, अहिलेसम्म पनि नाउपा र जनतमबीच शीर्ष तहको छलफल भएको छैन ।

    यता नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी भएपछि एकता अझै लम्बिने सङ्केत देखिएको छ ।

    ‘तत्काल एकता हुने जस्तो देखिएको छैन । संरक्षक ज्यूले भोलिसम्म एकता गर्ने भनेर हामीलाई आश्वस्त पार्नु भएको छ तर, भोलि एकता हुनेमा हामी नै ढुक्क छैनौँ’ नाउपाका एक नेताले भने, ‘हामीले बुझेअनुसार तत्काल अब एकता हुँदैन । ’

    नाउपाले अहिले नेता कार्यकर्ताहरूलाई घर फर्किन भनिसकेको छ । १७ गते एकता घोषणा सभामा सहभागी हुन काठमाडौँ गएकाहरू अहिले एकता नहुने देखिएपछि घर फर्किन थालेका हुन् ।

    ‘हामीलाई अहिले एकता हुँदैन तपाईँहरू घर जानुहोस् भन्ने सूचना आएको छ ’, अर्का एक नेताले भने, ‘ अब कहिले एकता हुन्छ भन्नेबारे कुनै टुङ्गो छैन । ’

    बुधबार पनि नागरिक उन्मुक्ति पार्टीले पूर्ण एकता गर्नु पर्ने बताउँदै आएको थियो । जनमत पार्टीले भने केही तयारी बाँकी रहेको भन्दै संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गरेर कमिटीलाई पछि टुङ्गाउने बताएको थियो । नाम घोषणाकै विवादका बिचमा एकता अघि नै किचलो सुरू भएको दुई पार्टीबीच तत्काल एकता हुने सम्भावना क्षीण रहेको दुवै दलका शीर्ष नेताहरू स्वीकार गर्दै छन् । यहीबीचमा रेशम पक्राउ, रञ्जिता बिरामी र संयुक्त बैठक नबसेको हुँदा एकतामा ढिलाइ हुने देखिएको हो ।

    नाउपाले मात्रै होइन जनमत पार्टीले पनि चाँडै एकता सम्भावना नरहेको बताएको छ ।

    ‘एकता कै दिन रेशम चौधरीलाई पक्राउ गरिएको विषय सामान्य होइन हामी यसको भर्त्सना गर्दै सत्यतथ्य छानबिनको माग गर्छौं ’, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव भन्छन्, ‘हामी सबै तयारी गरेर केही समयपछि एकता गर्ने पक्षमा छौँ । ’

    एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०-५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५-२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

    २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबीच छलफलमा सहमति भएको थियो । नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको थिएन ।

    नाउपाले सबै विषय टुंग्याएरमात्रै एकता गर्ने जनाएको थियो भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सह-अध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको थियो । तर, अहिले रेशम पक्राउपछि अहिले दलको संयुक्त बैठक पनि बस्न सकेको छैन । जसले गर्दा एकता नै अनिश्चित बनेको छ ।

  • प्रज्ञा भवनमा नाउपा र जनमतका कार्यकर्ता विलखबन्द, पैसा नतिर्दा हल पनि बन्द

    प्रज्ञा भवनमा नाउपा र जनमतका कार्यकर्ता विलखबन्द, पैसा नतिर्दा हल पनि बन्द

    काठमाडौं । रेशम चौधरी पक्राउसँगै आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता कार्यक्रम विथोलिएको छ । कार्यक्रमस्थल प्रज्ञा भवनबाटै प्रहरीले रेशमलाई उठाएपछि दुवै पार्टीपंक्तिमा आश्चर्य र अन्योल छायो ।

    कार्यक्रमको सबै तयारी पूरा भइसकेको थियो । रेशम पनि प्रज्ञा भवनमा आइसकेका थिए । तर, अचानक कार्यक्रम भाँडिएपछि नेता–कार्यकर्ताहरु बिलखबन्दमा परेका छन् । जनमतका अध्यक्ष सिके राउतले पक्राउको भत्र्सना गरेका छन् ।

    एकता कार्यक्रम रद्द भए पनि दिउँसोसम्म प्रज्ञा भवनमा दुवै पार्टीका कार्यकर्ताहरुको भिड थियो । उनीहरु भवन परिसरमै समूह-समूह भएर अनौपचारिक कुराकानी गरिरहेका थिए । आआफ्नै अनुमान र अड्कलवाजीहरु भइरहेका छन् ।

    बुझिएअनुसार कार्यक्रमका लागि बुक गरिएको हलको पैसा तिरिएको छैन । ६ घण्टाका लागि डेढ लाखमा हल बुक गरिएको स्रोतले बतायो । तर, पैसा नतिरेका कारण हल खोलिएन, जसले गर्दा कार्यकर्ताहरु बाहिरै बस्न वाध्य भए ।

  • रेशमको पक्राउले नाउपा-जनमतबीचको एकता घोषणा कार्यक्रम भाँडियो

    रेशमको पक्राउले नाउपा-जनमतबीचको एकता घोषणा कार्यक्रम भाँडियो

    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता नहुने भएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि आजको घोषणा भाँडिएको हो ।

    जनमतका अध्यक्ष सीके राउतले पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर डिल्ली बजार कारागार पठाएको बताए ।

    उनले भने, ‘यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’

  • एकता नहुँदै नाउपा र जनमतबीच किचलो, नाम घोषणामा मिलेन कुरो

    एकता नहुँदै नाउपा र जनमतबीच किचलो, नाम घोषणामा मिलेन कुरो

    कैलाली । उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित आज पार्टी एकता गर्ने तयारी गरिएको छ । तर, सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नामका विषयमा विवाद हुँदा तोकिएको समयमा एकता घोषणा नहुने निश्चित जस्तै बनेको छ ।

    आज ११ बजे प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने तयारी गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसम्मको तयारी भएको थियो । तर, अहिले दुई दलबिच सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्य समितिका विषयमा कुरो बाझिएको छ ।

    एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५–२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

    २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबिच छलफलमा सहमति भएको थियो । अहिले नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको छैन ।

    नाउपाले सबै विषय टुङ्गो लगाएर मात्रै एकता गर्ने जनाएको छ भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सहअध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको छ ।

    यसअघि नै नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सिके रावत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने सहमति भइसकेको थियो ।

    जनमतका प्रवक्ता शरदसिंह यादवले एकतामा संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा हुने बताए ।

    ‘आज संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गर्ने गरी तयारी गरिरहेका छौँ केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयका नामहरू पछि टुङ्गाउँछौँ’, उनले भने ।

    यता नाउपाले भने केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयको सबै नामहरू टुङ्गिएपछि मात्रै एकता गर्ने जनाएको छ ।

    ‘थारु समुदायलाई धोका दिन चाहन्न , कुनै पनि विषय उधारो राखेर एकता गर्दैनौँ’, नाउपाका संरक्षक रेशम चौधरीले भने, ‘हामी एकताको पक्षमा छौँ तर, सबै विषय टुङ्गो लगाएर मात्रै एकता हुन्छ ।’

    नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराइसकेका छन् । अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यसमा सहमत छिन् । तर, अहिले केही विवाद एकताका अधिकांश विषय टुङ्गो लागिसकेको छ पार्टीको नाम नागरिक जनमत राख्न दुवै पार्टी सहमत छन् ।

    नेता–कार्यकर्ताहरूले ’जय नागरिक’ भनेर सम्बोधन गर्न र चुनाव चिन्ह ढकिया राख्ने विषयमा सहमति भइसकेको छ । तर, मुख्य विषयमा कुरा नमिल्दा एकतामै धक्का लाग्ने सङ्केत देखिएको छ ।

  • नाउपासँग एकता गर्नुअघि जनमतले बोलायो बैठक

    नाउपासँग एकता गर्नुअघि जनमतले बोलायो बैठक

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। नागरिक उन्मुक्तिसँग पार्टी एकता गर्नेबारे छलफल गर्नको लागि बैठक बोलाइएको प्रवक्ता डा.शरद यादवले बताए।

    उनका अनुसार बैठक वैशाख १६ गते जनमत पार्टीको कार्यालय बानेश्वरमा बस्नेछ। बैठकमा सबै सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र लिएर अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ।

    १७ गते जनमत र नाउपाबीच पार्टी एकताको घोषणा हुँदैछ। एकीकरण घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश समन्वय समिति साथै भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरू सहित उपस्थित हुन सक्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आमन्त्रण गरिएको प्रवक्ता यादवले बताए।

    नाउपाले पनि १५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई मतदाता परिचयपत्र वा नागरिकता ल्याउन भनिएको छ ।

    नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन्। सीके रावत अध्यक्ष रहने र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमतिको खाका बनाइएको छ । चुनाव चिन्ह ढकिया र पार्टीको नाम नागरिक जनमत राख्ने सहमति भइसकेको छ।

  • जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

    जनमत र नाउपा एकताको ९ बुँदा सहमति नजिक, रेशम पहिलो सिके दोस्रो र रन्जितालाई तेस्रो वरीयता

    कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ । दुवै दलले बनाएको कार्यदलले निर्णायक छलफल जारी राखेका छन् । आइतबार बर्दियामा कार्यदलले संयुक्त रूपमा एकताको सबै प्रक्रिया पुरा गर्ने गरी छलफलमामा सहमति जुटाएका छन् ।

    एकताको लागि बनाइएको ९ बुँदे समझदारीमा करिब सहमति भइसकेको कार्यदलका सदस्य रामलाल डगौराले जानकारी दिए ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी एकतापछिको नयाँ दलको पनि पहिलो वरीयतासहित संरक्षक रहने गरी कार्यदलले सहमति गरेको छ ।दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष जनमत पार्टीका अध्यक्ष सीके राउत रहनेछन् ।तेस्रो वरीयतामा संघीय परिषद् अध्यक्षमा वा सह अध्यक्ष रहनेगर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई राख्ने कार्यदलमा छलफल भएको छ । रन्जिता भने आफ्नो वरियतामा सन्तुष्ट नभएको चर्चा चलिरहेको छ ।

    कार्यदलले चुनाव चिह्न ढकिया र पार्टीको नाम नागरिक जनमत रहने करिब टुङ्गो लगाइएको छ । कलेजी रङ्गमा ढकिया राख्नेगर पार्टीको झन्डामा कार्यदलले सहमति जुटाएको छ ।

    शनिवार राति सिके रावत र रेशम चौधरीको निर्णायक छलफलपछि दुवै पार्टीले बनाएको कार्यदलले आइतबार अधिकांश विषय टुङ्गो लगाएको हो । चितवनदेखि झापा सम्मको भूगोलको नेतृत्व सिके रावतले गर्ने र चितवनदेखि कञ्चनपुरसम्मको भूगोलको नेतृत्व रेशम चौधरीले गर्ने पनि सहमति गरिएको छ ।

    कार्यदलले आफ्नो जिम्मेवारीमा आएको विषय टुङ्गो लगाएपछि विधान प्रतिस्थापन समितिले बाकी काम टुङ्गो लगाउने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीले दामोदर पण्डितको नेतृत्वमा गीता चौधरी र सरोज बुढाथोकी रहनेगरी विधान प्रतिस्थापन समिति गठन गरिसकेको छ । जनमत पार्टीले भने अहिलेसम्म गठन गरेको छैन । दुवै दलले बनाएको विधान प्रतिस्थापन समितिले दुवै दलको विधानलाई संयोजन गरेर नयाँ विधान बनाउने छन् र निर्वाचन आयोगमा दर्ताको तयारी गर्ने छन् ।

    वैशाख १५ गते भित्रै एकता घोषणा गर्नेगरी दुवै दलले निर्वाचन आयोगमा संयोजन गरिरहेका छन् । महाधिवेशनमार्फत अध्यक्ष निर्वाचित भएका रेशम चौधरीलाई आयोगले अध्यक्ष स्वीकार गरेको थिएन । एकता पछि पहिलो वरीयतामा रहनेगरी संरक्षक हुने व्यवस्थामामा आयोगले कस्तो कदम चाल्छ त्यो भने अनिश्चित छ ।

    दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौँ ठूलो दल बन्नेछ । अहिले संसदमा रहेका १३ वटा दलमध्ये जनमत आठौँ र नागरिक उन्मुक्ति एघारौँ पार्टीको रूपमा छन् । अहिले प्रतिनिधि सभा तर्फ जनमत पार्टीका ६ र नाउपाका ४ सांसद छन् ।

  • राजा-महाराजा बन्न खोजेको भन्दै सीके राउतले गरे उपाध्यक्ष साहलाई निलम्बन

    राजा-महाराजा बन्न खोजेको भन्दै सीके राउतले गरे उपाध्यक्ष साहलाई निलम्बन

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपककुमार साहलाई निलम्बन गरेको छ । अनुशासन समितिका संयोजक समेत रहेका साहलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।

    उनीमाथि पार्टी अनुशासनविपरीत कार्य गरेको आरोप छ ।

    साहलाई पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारणले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

    उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ, ‘स्पष्टीकरण सोध्नेबित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ) सबै ऐन कानूनभन्दा माथि कुनै राजा/महाराज भएजस्तो आचारण देखाउनुभयो । फेसबुकसहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्षविरुद्ध लेख्न लगाउनुभयो । सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफैँलाई नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै शेयर गर्नुभयो ।’

    पत्रिकामा पार्टी र अध्यक्षविरुद्ध अन्तर्वार्ता दिनुका साथै कार्यकर्तालाई फोन र म्यासेज गरेर गुटबन्दी गरेको उनीमाथि आरोप छ ।

  • मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    मधेस केन्द्रित सात दलले भोलि संयुक्त मोर्चा घोषणा गर्ने

    काठमाडौं । मधेस केन्द्रित दलहरुले भोलि संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् । भोलि थापागाउँस्थित काठमाडौं ब्यांक्वेटबाट मोर्चा घोषणा गर्न लागिएको हो ।

    मोर्चामा सात दल सहभागी हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

    मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहनेछन् ।

    मोर्चाको नाम मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राख्ने तयारी छ । मधेशी दलहरुले यसअघि नै मोर्चा घोषणा गर्नको लागि कार्यदल बनाएर दस्तावेज तयारीमा जुटेका थिए ।

  • सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने

    सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने

    काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।

    कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’

    एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।

    यो पनि पढ्नुहोस्- नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए। उनले थपे, ‘पार्टीको नाम नागरिक जनमत राख्ने भन्ने कुरा भइरहेको छ। यसले दुवै पक्षलाई समेट्छ छलफलको चरणमा छौँ। चुनाव चिन्ह ढकिया रहन्छ। त्यो डाक्टरसाव (सिके राउत) ले पनि सार्वजनिक रूपमै स्वीकारिनसक्नुभएको छ।’

    उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए।

    जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान। डा। शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।

    त्यसो त जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन गरिसकेका छन्। उनले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताएका थिए।

    चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण सुनाएका थिए। उनले भनेका थिए, ‘अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ। हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ।’

  • नाउपाको बैठकमा मानुषी- सिके राउत र रेशम चौधरीसँगै मिसिँदैछन् बाबुराम ?

    नाउपाको बैठकमा मानुषी- सिके राउत र रेशम चौधरीसँगै मिसिँदैछन् बाबुराम ?

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय लियो । नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ ।

    जनमतले यसअघि नै कार्यदल बनाएर प्रक्रिया सुरु गरिसकेको छ । दुवै पार्टी एकताको लागि तयार भएपछि हिजो केन्द्रीय समितिको बैठकको समापनमा जनमतका अध्यक्ष डा. सिके राउत पुगेर सम्बोधन गरे ।

    दुई पार्टीबीच एकता निश्चित भएर राउत बैठकमा पुग्दै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्षमा मानुषी यमी भट्टराई नाउपाको बैठकमा देखिइन् ।

    मानुषी नाउपाको बैठकमा पुगेपछि बाबुराम पनि सिके र रेशमको एकता प्रक्रियामा मिसने चर्चा चल्यो । तर, त्यो चर्चालाई सत्यता नभएको मानुषीले बताएकी छन् ।

    उनले बैठकमा अध्यक्ष भट्टराईलाई बोलाइएको भएपनि अध्यक्ष र महासचिव दुवै जना जनकपुर पुगेकाले आफू गएको फेशबुकमार्फत् जानकारी गराएकी छन् ।

    उपाध्यक्ष मानुषी नाउपाको बैठकमा किन गइन्, हामीले नेसपा कार्यालयका प्रमुख रोशन पोखरेललाई सोध्यौं ।

    त्यसबारे उनले भने, ’एकताबारे त्यस्तो कुनै तयारी छैन । नयाँ पार्टीहरूले वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले नयाँ पार्टीहरूबीच शुभकामना आदान प्रदान हुनु र बैठकमा आमन्त्रित गर्नु स्वभाविक हुन्छ । त्यो पार्टी एकतासँग कुनै सम्बन्धित होइन ।’

    उनले तत्काल पार्टी एकताको सम्भावना नभए पनि मुद्दामा एकैठाउँमा रहेर काम गर्न सकिने बताए ।

    उनले भने, ‘सामान्य कुराकानी त हुने भइहाल्यो तर उहाँहरूले आफैँले आफूलाई वैकल्पिक भन्नुभएको छैन । हामी नयाँ वैकल्पिक शक्ति बन्नुपर्छ भन्ने अभियानमा छौँ । हाम्रो पार्टीको मान्यता उहाँहरू एकताबद्ध भएर जाँदा हुन्छ भन्ने मान्यता हो, हिजो त्यही अनुसार पार्टी उपाध्यक्षले गएर शुभकामना दिनुभएको हो ।’

    उनले नेसपाले अब तत्काल कुनै पार्टीसँग एकता गर्ने भन्ने कुरामा कुनै छलफल नै नगरेको बताए ।

    पोखरेलले थपे, ‘महाधिवेशनपछि नयाँ पार्टीहरूसँग संवाद गर्दै जाने भनेका छौँ । अस्ति हामीले गरेको कार्यक्रममा पनि नयाँ पार्टीहरूलाई बोलायौँ । हामीले अब मुलुकको आवश्यकता अनुरूपको कार्यदिशा, कार्यक्रम कसरी लैजाने जनताको इच्छा चाहना कस्तो छ ? भन्ने विषयमा चाहिँ सँगै बसेर छलफल बहस गर्दै जाऔँ भन्ने हाम्रो कुरा हो ।’

  • नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    नाउपाको बैठकमै बसे सीके राउत, रेशम र रञ्जिताबारे के भने ? (भिडिओ)

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा विशेष सम्बोधन गरेका छन्। दुई पार्टीबीच पार्टी एकताको अन्तिम तयारी चलिरहेको बेलामा रेशम चौधरी संरक्षक रहेको नाउपाको बैठकमा शनिवार पुगेर सम्बोधन गरेका हुन्।

    नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ रहेकी छन्। दुवै पक्षबीच पार्टी एकता गर्ने सहमति गरेपछि जनमतका अध्यक्ष राउतले नाउपाको बैठकमा पुगेर सम्बोधन गरे।

    उनको भनाइ जस्ताको त्यस्तै,

    हामी निर्वाचित भएर आएपछि रेशमजी त्यतिबेला जेलमा हुनुहुन्थ्यो। हामी पटक पटक भेट्न पनि गयौँ, बाहिर निकाल्न कसरी सकिन्छ भनेर हामीले कुराकानी गर्‍यौँ। हामी निर्वाचित भएपछि आएपछि माननीय रञ्जिताजी यही हुनुहुन्छ। गठबन्धनको बैठकमा उहाँहरूले चार सीट छ भन्न हामी हाम्रो १० सीट छ भन्थ्यौँ। उहाँलाई छुटाउनको लागि जहिल्यै पनि आवाज उठाउँथ्यौँ।

    तपाईँहरूले टीआरसी विधेयक ल्याउन हुने उहाँलाई किन छुटाउन नहुने भन्दै हामी झगडा गर्थ्यौँ। पछि उहाँ निस्किनुभयो। उहाँ जेलमा हुँदा पनि हामीबीच संवाद हुन्थ्यो। म खुलेर भन्छु, त्यतिबेला पनि हामी मिलेर जाऔँ भन्ने कुरा गर्थ्यौँ। हामीलाई थाहा छ हामी एक्लै हिँड्न गर्न सक्दैनौँ। हामी मिलेर गयौँ भने मात्रै हामीले हाम्रो माग पूरा गराउन सक्छौं। त्यसबेला म कहिलेकाहीँ मात्रै काठमाडौं आउने गर्थे। त्यतिबेला नै एक हुने प्रयास सफल भएन।

    हामीले त मिलेर जाऔँ भनेर प्रस्ताव गरेका हौँ। हामीले त्यसबेला त्रृटि गर्‍यौँ। हामी त्यतिबेलै मिलेर गएको भए हाम्रो प्रत्यक्षमा १५ समानुपातिकमा १५ गरी ३० सीट त्यसैपनि हुन्थ्यो। त्यसो गर्न सकेको भए अझै जनलहर पैदा हुन सक्थ्यो। त्यसबेला त जनताले कस्तो हुन्छ ? यो राष्ट्रिय पार्टी बन्छ कि बन्दैन केही थाहा नहुँदा पनि भोट दिएको हो नि। यहाँ ३२ सीटले देश चलाइरहेको बेलामा एउटा थारु, मधेसी, दलितको छोराले एउटा इतिहास लेख्नसक्ने अवसर आउनसक्थ्यो।

    हामीबाट त्यतिबेला त्यो भूल भयो त्यो स्विकार्छौँ। त्यही गल्तीलाई सच्याउनको लागि हामी अहिले यहाँ उपस्थित भएका छौँ। हामीले व्यक्तिगत आकांक्षा राखेर भएन नि। हामीले जनताको अधिकारलाई प्राथमिकतामा राख्नुपर्‍यो। त्यसैले अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ।

    हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ। हामी मिल्नलाग्दा देश नै हल्लिएको छ। हामीलाई मिल्न नदिनको लागि अनेक षड्यन्त्र हुनसक्छ। भइराखेका छन् पर्दापछाडि। हामी सचेत भएर अघि बढ्नुपर्छ। हामी राष्ट्रिय शक्तिको रूपमा सम्पूर्ण दलित, उत्पीडित, थारु, मधेसी सबै वर्गको हक अधिकारको लागि सबैजना लागौँ।

  • जनमत र नाउपाबीच पार्टी एकताको अन्तिम गृहकार्य- सिके राउत अध्यक्ष, रेशम चौधरी संरक्षक

    जनमत र नाउपाबीच पार्टी एकताको अन्तिम गृहकार्य- सिके राउत अध्यक्ष, रेशम चौधरी संरक्षक

    काठमाडौं । डा. सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ। तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन्।

    अहिले दुवै पार्टी एकताको लागि आन्तरिक तयारीमा केन्द्रित छन्। जनमतसँग एकताबारे निर्णय लिनको लागि नाउपाको केन्द्रीय समितिको बैठक हिजोदेखि जारी छ।

    बैठकले जनमतसँग एकता गर्ने निर्णय र तयारीको लागि कार्यदल बनाउने जनाइएको छ। नाउपासँग एकता गर्ने मोटामोटी सहमति भइसकेको जनमतका प्रवक्ता डा। शरद यादवले बताए।

    उनले भने, ‘हामी पार्टी एकता गर्न दुवैतिर सहमत भइसकेका छौं। उहाँ ९नाउपा०हरुले आज सकिने बैठकबाट कार्यदल बनाएपछि अन्तिम रुप दिइन्छ।’उनले दुई पार्टी सहमति भइसकेकाले अब चाँडै एकता प्रक्रियामा आउने बताए।

    पार्टी एकतापछि जनमत पार्टीका अध्यक्ष राउतलाई अध्यक्ष मान्न नाउपा सहमत भइसकेको जनमतका एक नेताले बताए।
    ती नेताले भने, ‘उहाँहरु बैठकमा छलफल भइरहेको होला। तर डाक्टर सावलाई अध्यक्ष बनाउने कुरामा रेशमजीहरु पनि सहमत हुनुहुन्छ। उहाँलाई संरक्षक र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने कुरामा सहमति भइसकेको छ। अब औपचारिक रुपमा कार्यदलले सबै टुंग्याउँछ।’

    जनमतले यसअघि नै नाउपासँग एकताको लागि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाइसकेको छ। कार्यदलमा प्रवक्ता यादव र सचिव बालगोविन्द चौधरी सदस्य छन्।

    यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ। संसद्मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ।

    तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो। जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।

  • नाउपा बैठक- जनमतसँग एकता गर्ने औपचारिक निर्णय हुँदै

    नाउपा बैठक- जनमतसँग एकता गर्ने औपचारिक निर्णय हुँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरू भएको छ । बैठकमा पार्टीका संरक्षक रेशम चौधरी पनि उपस्थित छन् ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न केन्द्रीय कार्यसमिति बैठक डाकिएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरूलाई औपचारिक जानकारी गराउँदै सुझाव लिइने वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

    बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए । केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको पण्डितले प्रष्ट्याए ।

    बैठकमा सवै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, संस्थापक केन्द्रीय सदस्य उपस्थित छ्न् ।

  • मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

    मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।

    बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।

    भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।

    त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असङ्ख्य पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आदि विषयमा छलफल भएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

  • काठमाडौं महानगरले कवाड व्यवसायीमाथि ज्यादती गरेको जनमतको आरोप, आतंक रोक्न सरकारको ध्यानाकर्षण

    काठमाडौं महानगरले कवाड व्यवसायीमाथि ज्यादती गरेको जनमतको आरोप, आतंक रोक्न सरकारको ध्यानाकर्षण

    काठमाडौं । सीके राउत नेतत्वको जनमत पार्टीले काठमाडौं महानगरपालिकामा कवाड व्यवसायीप्रति गरेको ज्यादतीको आपत्ति जनाएको छ ।

    जनमतका प्रवक्ता डा. शरद यादवले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको दाबी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने, व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतङ्क मच्चाउने काम हुँदै आएको छ । कुनै पनि स्थानीय तहद्वारा ल्याइएको ऐन, कानून, नियमावली वा मापदण्ड देशको संविधानभन्दा माथि हुन सक्दैन र नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरासमेत स्मरण गराउन चाहन्छौं ।’

    उनले काठमाडौं महानगरपालिकाद्वारा नगर प्रहरी लगाएर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हनन रोक्न सरकारको ध्यानाकर्षणसमेत गरेका छन् ।

  • मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    मधेश केन्द्रित ८ दलको प्रष्टीकरण- यो मोर्चा सरकारविरुद्ध होइन (भिडिओ)

    काठमाडौं । मधेश केन्द्रित ८ दलको बैठकमा समान मुद्दाहरुलाई मोर्चाले संसद र सरकारसँग साझा ढंगले उठाउने विषयमा छलफल भएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चाको आगामी रणनीतिबारे छलफल भएको नागरिक उन्मुक्तिका संयोजक रेशम चौधरीले बताए ।

    उनले भने, ‘यो मोर्चाको विषयमा विभिन्न प्रश्न उठिरहेका छन्, यो समान मुद्दाहरुलाई एकै ठाउँबाट उठाउन बनाइएको हो । यो कसैको विरुद्धको बैठक होइन । सरकारविरुद्ध पनि होइन । हामी सरकारमै छौं । उठाउनैपर्ने भए सरकारमै उठाइहाल्छौं ।’

    नेता चौधरीले मोर्चालाई आजको बैठकमा आफ्नो पार्टीको तर्फबाट केही एजेण्डा उठाउन सुझाव दिएको बताए ।

    उनले भने, ‘हिजो टीकापुर घटनाको विषयमा बैठकमा राख्यो । अहिले पनि ५८ जनामाथि झूटा मुद्दा लगाइएको छ । ५८ जनामछि हामी २८ जना जेलमा बस्यौं, ३० जना अझै फरारको सूचीमा हुनुहुन्छ । ३०० जनाको नाम र ठेगाना मिलेन भनेर तामेलीमा छ । नाम र ठेगाना मिल्यो भने अझै जुनसुकै बेला पक्राउ गर्न सक्छन् ।’

    नेता चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, सरकारले ल्याएको अध्यादेशबारे धारणा, मोर्चाको नामको विषयमा पनि छलफल भएको बताए ।

    सरकारले अघि बढाएको संविधान संशोधनको मुद्दा, थ्रेसहोल्ड, समाजिक सञ्जालसम्बन्धी अध्यादेशलगायतको विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

    उनले केही कांग्रेस र एमालेका सांसदरुले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भनेर राखेको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

    नेता चौधरीले भने, ‘यो कुरा संसदमा बोल्नुभएको छ । लुम्बिनी प्रदेशमा पनि कुरा आएको छ, तर त्यो त्यति सहज छैन । सम्भव छैन । यो विनानिर्देशन उठाइएको छैन । यस विषयमा सचेत रहनुपर्छ ।’

  • जनमतले बोलायो केन्द्रीय समिति बैठक, पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि छलफल गर्ने

    जनमतले बोलायो केन्द्रीय समिति बैठक, पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि छलफल गर्ने

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    आगामी फागुन २५ र २६ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

    उनका अनुसार बैठकको बस्ने स्थान तय भएको छैन । केन्द्रीय समिति बैठकअघि आगामी शुक्रबार केन्द्रीय कार्यकारिणी समिति भर्चुअल माध्यबाट बस्ने र शनिबार पार्टीबाट निर्वाचित वडाध्यक्ष, पालिका अध्यक्ष, प्रमुख, उपाध्यक्षको बैठक भौतिक उपस्थितिमा हुने बताए ।

    बैठक केन्द्रीय कार्यालय काठमाडौंमै हुनेछ ।

    भौतिक उपस्थितिमा केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि आइतबार भर्चुअल माध्यमबाट बैठक बस्ने मण्डलले बताए ।