Category: नेपाली कांग्रेस

  • बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दाबी पेश

    बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दाबी पेश

    हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

    सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

    प्रदेश प्रमुख समक्ष पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि सँगै पुगेका थिए ।

    यसअघि प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

    मुख्यमन्त्री पदमा दाबी पेश भएसँगै मंगलबार मुख्यमन्त्री नियुक्त गरेर मंगलबार नै अपरान्ह ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

  • मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा

    मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।

    लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुखको प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका छन् ।

    प्रदेश प्रमुख दिपक देवकोटा उपचारपछि सोमबार हेटौँडा फर्केका छन् । उनी निवासमा आराम गरिरहेका छन् । मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

  • निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई निर्देशन दिएका छन् ।

    आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

    ‘निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु’, गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’

    सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।

    “प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।”

    प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोडदिए ।

    त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए ।

    वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका  थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।

     

  • लोकतन्त्र खतरामा छ : शेखर (भिडिओ)

    लोकतन्त्र खतरामा छ : शेखर (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरेका छ्न् ।

    आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताए ।

    कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको उनको जिकिर छ ।

    उनले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने कोइरालाले जोड दिए ।

    कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरियो ।

    यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मान पत्र प्रदान गरे ।

  • देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले भने- राजीनामा दिन्छु

    देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले भने- राजीनामा दिन्छु

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।

    दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

    दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने बताए ।

    उनले भने, ‘उहाँले सभापतिसँग हिजो कुरा गर्नुभएको छ। अब भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा हुनुहुन्छ ।’

    लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

  • मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह

    मुख्यमन्त्री लामालाई पद छाड्न बानियाँको आग्रह

    हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

    केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

    ‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ‘, उनले भने ।

    आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको बानियाँको प्रष्टोक्ति थियो ।

  • ‘कांग्रेस-एमालेको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दैछ’ (भिडिओ)

    ‘कांग्रेस-एमालेको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दैछ’ (भिडिओ)

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।

    विहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको जिकिर गरे ।

    ‘हामी सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति भएको हैन’, सिंहको प्रष्टोक्ति थियो ।

    कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिविधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको उनले दोहोर्‍याए ।

    सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने बताए ।

  • मन्त्री हेरफेरको चर्चाबीच कांग्रेस-एमालेका शीर्ष नेता छलफलमा

    मन्त्री हेरफेरको चर्चाबीच कांग्रेस-एमालेका शीर्ष नेता छलफलमा

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो।

    छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ।

    छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

  • बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित

    बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं आएका छन् ।

    अर्को सूचना प्रकाशन नभएसम्मका लागि अहिले शपथग्रहण कार्यक्रम स्थगन गरिएको उनले बताए ।

    विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’

    मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनी संसदीय दलको निर्वाचनमा पराजित भएका थिए । उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।

  • बागमती कांग्रेस : संसदीय दलका नेतामा विजयी बानियाँको एक मत बदर

    बागमती कांग्रेस : संसदीय दलका नेतामा विजयी बानियाँको एक मत बदर

    काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको चुनावी परिणाममा एक मत बदर पाइएको छ । र, त्यो बदर मत दलको नेतामा निर्वाचित इन्द्र बानियाँकै लागि दिइएको खुलेको छ ।

    कोठामा स्वस्तिक लगाउनु पर्नेमा बानियाँको नाममा लगाएकाले मत बदर भएको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

    मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज मतदान भएको थियो । मतदानमा बानियाँको पक्षमा २२ सांसद र लामाको पक्षमा १४ मत सांसद देखिएका छन् । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

    यसअघि समाचारमा तथ्य र भाव फरक पर्न गएकाले सखेद सच्याइएको छ
    सम्पादक

  • कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

    कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

    मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानिया २२ सांसदको मतसहित विजयी भए । लामा १४ मा रोक्किएका छन् ।

    एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

  • कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस्, सकेन भने एमाले विकल्पमा जान सक्छ : एमाले (भिडिओ)

    कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस्, सकेन भने एमाले विकल्पमा जान सक्छ : एमाले (भिडिओ)

    चितवन । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ ।

    कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने नेता जगन्नाथ थपलियाले बताए । निर्णय सुनाउँदै थपलियाले कुनै पनि पार्टीको आन्तरिक कारण संघीय सिष्टममा समस्या हुनु नहुने बताए ।

    ‘उहाँहरूको कलह छ । आन्तरिक विवाद छ । कुनै पनि पार्टीको आन्तरिक कारणले संघीय सिष्टममा समस्या हुन हुँदैन । चाँडोभन्दा चाँडो उहाँहरूले समस्या समाधान गर्नुपर्छ । यदि समाधान गर्नु हुन्न, सकिन्न अप्ठ्यारो छ भने नेकपा एमाले पनि वैकल्पिकरूपमा जान सक्छ’, उनले भने ।

    तर, उनले नेकपा एमाले कस्तो वैकल्पिक उपायमा जाने भन्ने चाहिँ प्रष्ट पारेनन् । कांग्रेससँग केन्द्रदेखि नै गठबन्धनको सरकार भएकोले व्यक्ति नभई कांग्रेस पार्टीको आधिकारिक निर्णयमा नेकपा एमालेले सहकार्य गर्ने पनि उनले बताए ।

    उनले कांग्रेससँग एमालेले सहकार्य गरेका हुनाले अहिले सरकारलाई अस्थिर बनाउने बाटोमा एमाले पनि नजाने र कांग्रेसले पनि आफूभित्रको विवाद छिटो मिलाउनुपर्ने बताए ।

    त्यसैगरि एमाले संसदीय दलले नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयलाई पनि अक्षरस: पालना गर्ने निर्णय गरेको उनले बताए ।

  • म सरकार फेर्ने खेलमा छैन : शेखर (भिडिओ)

    म सरकार फेर्ने खेलमा छैन : शेखर (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको प्रष्टीकरण दिएका छन् ।

    बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको, तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको बताए ।

    पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको कोइरालाले बताए ।

     

    कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी गरे । नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।

    कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।

  • सरकारले सात बुँदे सहमति कार्यान्वयन गरेन : डा. शेखर

    सरकारले सात बुँदे सहमति कार्यान्वयन गरेन : डा. शेखर

    विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

    विराटनगरमा कुरा गर्दै उनले सरकार सफल असफल भएको विषयमा टिप्पणी गर्ने बेला नभएको भन्दै प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको बताए ।

    उनले भने ‘हामीसँग भएका सात बुँदा मध्ये एउटा पनि बुँदा कार्यान्वयनमा जान सकेन ।’ उनले सरकारले आफ्नो काम जनतालाई पुष्टि गर्न सक्नुपर्ने बताए । उनले कामको पुष्टि गर्न सके मात्रै सरकार सफल मानिने बताए ।

    उनले संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्नसक्ने गरी पारित भएको विधेयक ‘खतरनाक’ भएको बताए ।

    उनले शक्ति पृथकीकरणको आधारमा संविधान बनाएको तर राष्ट्रियसभाले शक्ति पृथकीकरणको सिद्धान्तलाई नजर अन्दाज गरेको बताए । उनले भने ‘संविधानको स्प्रिटलाई नै समाप्त पारिएको छ । यो प्रजातन्त्रका लागि अत्यन्तै खतरनाक छ ।’

    डा. कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको भन्दै त्यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको बताए ।

    डा कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताएका छन् । संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने कुरामा उनले जोड दिए ।

    डा. कोइरालाले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई संविधानले राजनीतिमा फर्कन कुनै बाधा नगरेको बताएका छन् । उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्ने अधिकार दिएको बताए । उनले भने, ‘तर मलाई सोध्नु हुन्छ भने राजनीतिमा नफर्किएको राम्रो तर कसले रोक्छ ।’

  • कांग्रेस बागमती : दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा हुने

    कांग्रेस बागमती : दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा हुने

    चितवन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ ।

    लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निर्क्यौल गरेपनि संसदीय दलको नेताबाट आउट भएका मुख्यमन्त्री लामा भने प्रतिष्पर्धामा आउने नआउने बताएका थिएनन् ।

    उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए । तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् ।

    कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् ।

    सोही तालिका अनुसार सकेसम्म पाँचै जना मन्त्री टुङ्ग्याएर शपथ समेत खुवाएर मनोनयन दर्ता गर्न जाने तयारी मुख्यमन्त्री लामाले गरेका छन् ।

    संसदीय दलको नेतामा लामाका तर्फबाट उम्मेदवार बन्ने चर्चा रहेका सांसद रामकृष्ण चित्रकारले जित्ने निश्चित भएका कारण मुख्यमन्त्री लामा नै संसदीय दलको नेतामा उम्मेदवार बन्ने निर्णय भएको नेपाल प्रेसलाई बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘संसदीय दलको नेतामा म उठ्ने कि भन्ने थियो । तर, जित निश्चित भएका कारण फेरि मुख्यमन्त्री ज्यू नै उम्मेदवार बन्ने निश्चित भएको छ । उहाँले नै उम्मेदवारी दिनुहुन्छ ।’

    सांसद चित्रकारले सकेसम्म पाँच जना मन्त्री आजै टुङ्गो लगाउने नभए निश्चित भएका तीन जनाको शपथ आजै खुवाउने पनि जानकारी दिए । नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले आजै निर्वाचन र दलको नेता घोषणा गर्ने तालिका सार्वजनिक गरेको छ ।

  • कांग्रेस संसदीय दलको नेताबाट हटाइएपछि लामा भन्छन्- मुख्यमन्त्रीबाट कसैले हटाउन सक्दैन (भिडिओ)

    कांग्रेस संसदीय दलको नेताबाट हटाइएपछि लामा भन्छन्- मुख्यमन्त्रीबाट कसैले हटाउन सक्दैन (भिडिओ)

    चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीनामा नदिने बताएका छन् । संसदीय दलमा भएको मत विभाजनको क्रममा दलको नेताको हैसियत गुमाएका उनले आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने जिकिर गरे ।

    उनले गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने दाबी गर्दै भने, सरकार र दल फरक-फरक कुरा हो । मुख्यमन्त्री हुन संसदीय दलको नेताह हुन आवश्यक छैन । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने ?’

    पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुनु आवश्यक भएको उनको दाबी छ । यो बहुमत र गठबन्धनको सरकार भएकोले संसदीय दलको नेता हुन आवश्यक नभएको सिंहले दाबी गरे ।

    उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको आफूलाई हटाउन आफ्नै दलभित्र जाल बुनेको र आफ्नै नेताहरू लागेको आरोप लगाए । सबैलाई मिलाएर जाउँभन्दा आफ्नै मन्त्रीमाथि पनि जाल र प्रपञ्च रचिएको उनको भनाइ थियो ।

  • बागमती कांग्रेस- संसदीय दलको नेताबाट बहादुर ‘किकआउट’, पक्षमा १५ र विपक्षमा २२ मत

    बागमती कांग्रेस- संसदीय दलको नेताबाट बहादुर ‘किकआउट’, पक्षमा १५ र विपक्षमा २२ मत

    हेटौंडा । बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । भर्खरै सकिएको मत विभाजनमा बहादुरको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।

    शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बानियाको कित्तामा उभिए ।

    अविश्वासको प्रस्तावको हस्ताक्षर गरेकी माया श्रेष्ठ भने हस्ताक्षर कीर्ते भएको भन्दै बहादुरतिरै लागेकी थिइन् । भर्खरै सकिएको मत विभाजनमा बानियातर्फ १ सांसद थपिएका थिए ।
    नेपाली कांग्रेस बागमती प्रदेशका सचिव कृष्ण लामाले मत विभाजनको नतिजा घोषणा गरिसकेको बताए । उनका अनुसार अहिले संसदीय दलमा दर्ता भएको अविश्वासको मत पारित गराउन मात्रै संसदीय दलको बैठक भएको थियो ।

    बैठकले मुख्यमन्त्रीविरुद्ध आफ्नै सांसदहरुले पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले पारित गरेपछि अब संसदीय दलको नेताको लागि संसदीय दलको बैठक बस्नुपर्ने हुन्छ ।

    दुई-तीन दिनपछि मात्रै संसदीय दलको नेता चयनको प्रकृया अघि बढ्ने लामाले नेपाल प्रेसलाई जानकारी दिए । उनले केन्द्रीय समितिमा छलफल गरेर संसदीय दलको नेता चयनको मिति तय हुने बताए ।

  • खानेपानीमन्त्रीको राजीनामासँगै इन्द्र बानियाको २१ मत सुरक्षित, मुख्यमन्त्री बन्ने निश्चित

    खानेपानीमन्त्रीको राजीनामासँगै इन्द्र बानियाको २१ मत सुरक्षित, मुख्यमन्त्री बन्ने निश्चित

    चितवन । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरू भएको छ ।

    अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत सांसद लिन सफल भएसँगै लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

    शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये १ सांसद फर्किएर लामाको पक्षमा गएपनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नो कित्तामा उभ्याएका छन् ।

    राजीनामा पछि नेपाल प्रेससँग मन्त्री खड्काले भने, ‘प्रकृयाअनुसार मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने भयो । विपक्षमा मतदान गर्ने भएकोले मैले राजीनामा बुझाएको हुँ ।’

    अविश्वासको प्रस्तावको हस्ताक्षर सूचीमा रहेकी माया श्रेष्ठले हस्ताक्षर कीर्ते गरिएको बताएकी छन् । मायासँगै विज्ञप्तिमा नाम भएकी सांसद मीना पराजुली अन्तिममा बानियाकै समर्थनमा खुलेर विज्ञप्ति आफूले ननिकालेको दाबी गरेकी छिन् । अन्ततः लामा इतरकै समूह बलियो भएको छ ।

    बानियाँको पक्षमा २१ जनाकै समर्थन कायम रह्यो । कुल ३७ सांसदमध्ये लामातिर १६ जनामात्रै उभिएका छन् ।

    बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक केहीबेरअघि सुरू भएको छ ।

  • बहादुरको मुख्यमन्त्री पद धरापमा, २३ सांसदलाई एउटै होटलमा राखेका बानियाँको यस्तो छ तयारी

    बहादुरको मुख्यमन्त्री पद धरापमा, २३ सांसदलाई एउटै होटलमा राखेका बानियाँको यस्तो छ तयारी

    बागमती । संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ ।

    हालका संसदीय दलका नेता बहादुरसिंह लामाको विपक्षमा यस अघि २१ सांसदको हस्ताक्षर सहित बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर रहेका कांग्रेसका प्रदेश सांसदहरू मिना पराजुली र माया श्रेष्ठले आफूहरूको असहमतिकाबीचमा हस्ताक्षर गराइएको भन्दै आफुहरु लामाकै पक्षमा रहेको विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेका छन् । तर बानियाँले भने आफ्नो पक्षमा २३ सांसदहरू रहेको दाबी गर्दै आएका छन् । तर दुई सांसदको विज्ञप्ति संसदीय दलमा दर्ता नभएको संसदीय दलका सचिव कृष्ण तामाङले बताए ।

    कांग्रेसका २३ सांसदलाई बानियाँ समूहले रातभर हेटौँडाको एउटा होटेलमा सँगै राखेका छन् । ‘२३ जना सांसद हामीसँगै हुनुहुन्छ, रातभर हामीसँगै छौ अहिले १० बजेट संसदीय दलको कार्यालयमा सँगै जान्छौँ’ कांग्रेस बागमतीका एक पदाधिकारीले भने ।

    सांसदहरू यता उता हुन सक्ने भएले कांग्रेस सभापति बानियाँले २३ सांसदलाई राती सँगै राखेका हुन् । ‘हस्ताक्षर गर्ने सांसदहरु यता उता हुन सक्छन् तर बानियाँको पक्षमा २३ मत पक्का भएको छ ती पदाधिकारीले भने, ‘२३ भएन भने पनि लामाको भन्दा बढी मत आउँछ ।’

    लामा पनि आफ्नो पक्षमा बढी सांसद बनाउन अधिकतम प्रयास गरिरहेका छन् । बानियाँ र लामा दुवैले सांसदहरूलाई मन्त्री बनाउने आश्वासन दिएर सांसदहरूलाई आफ्नो पक्षमा पार्ने अधिकतम प्रयास गरेको कांग्रेस स्रोतको दाबी छ ।

    कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भने यतिबेला सम्म कसलाई सहयोग गर्ने भन्नेमा प्रष्ट खुलेका छैनन् । सिन्धुपाल्चोकबाट बस्नेत निकट दुई जना सांसद रहेका छन् ।

  • बागमतीमा सहजीकरणमा कांग्रेस केन्द्रबाट खटाइएका नेता केसीको भूमिका शंकास्पद

    बागमतीमा सहजीकरणमा कांग्रेस केन्द्रबाट खटाइएका नेता केसीको भूमिका शंकास्पद

    हेटौडा । नेपाली कांग्रेसले बाग्मती प्रदेश संसदीय दल र त्यसका कारण सरकारमा उत्पन्न संकट समाधानका लागि सहजीकरण गर्न खटाइएका केन्द्रीय सदस्य राजन केसी आफै विवादमा फसेका छन् । पार्टीको विवाद मिलाउन आइतबार हेटौडा आएका केसीको अपारदर्शी व्यवहारका कारण कांग्रेसको एक पक्षले उनको भूमिकामाथि प्रश्न उठाएको छ ।

    सरकार सञ्चालनमा कमजोर भूमिका र विवादित आचरणका कारण बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि कांग्रेसका ३७ मध्ये २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । संसदीय दलको नेता परिवर्तन गरी इन्द्र बानियाँलाई दलको नेता बनाउने र मुख्य मन्त्री बनाउने योजना उनीहरूको छ । तर, लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिएका कारण कांग्रेसमा समस्या उत्पन्न भएको छ । यही विषयमा कांग्रेसले सांसद राजन केसीलाई सहजीकरणको जिम्मेवारी दिएको हो ।

    सांसद केसीले हेटौडा पुगेर बहादुर सिंह लामासँग अपारदर्शी सम्बन्ध बढाउँदै लगेको र उनलाई नै मुख्यमन्त्री कायम गर्ने भूमिका निर्वाह गर्न थालेको सरकारबाट भर्खरै राजीनामा दिएका एक मन्त्रीले बताएका छन् । आजै संसदीय दल र प्रदेश कार्यसमितिको संयुक्त बैठक बोलाइएको छ ।

    कांग्रेसका एक नेताले भने, ‘केन्द्रबाट तोकिएका सांसद केसीको भूमिका शंकास्पद देखिएको छ । उहाँ व्यक्तिगत स्वार्थका मामलामा चाडै प्रभावित हुने मानिस हो । हाम्रा मुख्यमन्त्री पनि यस विषयमा पोख्त व्यक्ति हो । दुई जनाले आफ्ना स्वार्थ मिलाइसके भन्ने हेटौडामा चर्चा छ । हामीलाई पनि यस्तै लागेको छ ।’

    सांसद केसीले बाहिर एउटा कुरा गर्ने तर भित्रभित्रै लामाको सरकार टिकाउन भूमिका खेल्न सक्ने आशंका इतर पक्षको छ । पार्टीभित्र उनी प्रकाशमान सिंह खेमाको भनिए पनि पछिल्लो समय उनी प्रकाशमानका कारण मन्त्री बन्न नपाएपछि जता मल्खु उतै ढल्कुको अवस्थामा छन् ।

    कांग्रेसका एक मन्त्रीले भने, ‘सुनिँदै छ, उहाँले कांग्रेसका केही सांसदलाई खरिद गर्ने र मन्त्री बनाउने सल्लाह दिनु भएको छ भन्ने । यसका लागि केसीले सम्बन्धित सांसदहरूसँग समेत छलफल गरेको खबर आइरहेको छ । उहाँ पात्र अनुसार आफ्नो स्वार्थ पुरा गर्न माहिर व्यक्ति हो । लामाबाट यस्ता स्वार्थ पुरा गर्न सम्भव छ भन्ने उहाँले बुझिसक्नु भएको छ । आफ्नो फाइदाका लागि उहाँ पार्टीलाई बदनाम गर्न तयार हुने व्यक्ति हो । गएको कीर्तिपुर नगरपालिकाको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवारलाई हराउन उहाँले खेलेको भूमिका ताजै छ ।’

    कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा आफ्नो पक्षका हिमाल कार्कीलाई मेयरको उम्मेदवार नबनाइएपछि सांसद केसीमाथि कृष्णमान डंगोललाई हराउन भित्रभित्रै भूमिका निर्वाह गरेको आरोप छ । २०७८ को निर्वाचनको तुलनामा उपनिर्वाचनमा कांग्रेसका मेयरको उम्मेदवारलाई ४१ प्रतिशत कम मत आएको थियो ।

    हालका मुख्यमन्त्री लामा र इन्द्र बानियाँ दुवै शेरबहादुर देउवा पक्षधर हुन् । तर, सत्ताको खेलमा उनीहरु दुईतिर बाँडिएका छन् । सांसद केसी भने देउवा विरोधी खेमामा रहँदै आएका छन् । बाग्मती प्रदेश सरकारमा थप भाँडभैलो ल्याएर देउवालाई बदनाम गराउने उनको षडयन्त्र रहेको हुन सक्ने आशंका पनि व्याप्त छ ।

    मुख्यमन्त्रीका रूपमा लामाको एक वर्षे कार्यकाल बागमती प्रदेशको अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको टिप्पणी उनकै सरकारमा सहभागी मन्त्रीहरूको छ । सरकार प्रभावकारी हुन नसकेको, कमजोर निर्णय क्षमता र अनुचित लाभमा फस्दै गएका मुख्यमन्त्री लामाका कारण प्रदेश सरकार नै बदनाम भएपछि कांग्रेसकै सांसदहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनको सरकारमा सहभागी कांग्रेसकै चार मन्त्रीले पदबाटै राजीनामा दिइसकेका छन् ।

    ‘मुख्यमन्त्रीको कार्यक्षमतामाथि सुरुमै आशंका नभएको त होइन, तर पनि अनुभव गर्दै जाँदा सिकिँदै जान्छ भन्ने हाम्रो बुझाइ थियो’, मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने, ‘तर एक वर्षसम्म उहाँले काम गर्नै सक्नुभएन । न त काम गर्ने मन्त्रीहरूलाई सहयोग गर्नुभयो । सरकारमा टाँसिएर बस्नुभन्दा विकल्प खोज्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको उनको भनाई छ । मन्त्री बनिरहन त के समस्या थियो तर सरकारकै बेइज्जत हुन थाल्यो । उहाँमा काम गर्ने न त ढंग थियो न अनुभव देखियो, त्यसपछि उहाँको विकल्प खोजेनौँ भने प्रदेश सरकार नै दुर्घटना पर्ने अवस्था आयो ।’

    कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री बनेका हुन् लामा । तर विगतमा उनलाई साथ दिएका सांसदहरू नै मुख्यमन्त्रीविरुद्ध उभिएका छन् । जसले मुख्यमन्त्रीको कार्यक्षमतामाथि व्यापक प्रश्न उठेको हो ।

    ‘बागमती प्रदेशको बजेटमा गण्डकीका लागि बजेट छुट्याइयो, यो कतिसम्मको लाजमर्दो अवस्था भयो होला’, कांग्रेसकै अर्का प्रदेशमन्त्रीले भने, ‘यो सबैको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्दछ । उहाँले न त कर्मचारी प्रशासन चलाउन सक्नुभयो न कुनै कार्यकुशलता देखियो । उहाँलाई जति पदमा राख्यो,त्यति समस्या देखिने भयो । अनि हटाउने निष्कर्षमा पुगेका हौं ।’

    बागमती प्रदेशमा कांग्रेसका ३७ सदस्य छन् । बहुमतका लागि १९ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेश अध्यक्ष बानियाँलाई दलको नेता समर्थन गर्दै २१ प्रदेश सभा सदस्यले हस्ताक्षर दलको कार्यालयमा दर्ता गरिसकेका छन् । तर, सांसद केसीको भूमिकाले सांसदहरूको खरिदबिक्री शुरु हुन सक्ने चिन्ता पनि हेटौडामा व्याप्त छ ।

  • बागमतीमा किन बिच्किए देउवा ? बजेट कब्जादेखि गोली हान्ने धम्कीसम्मका अनेक कारण

    बागमतीमा किन बिच्किए देउवा ? बजेट कब्जादेखि गोली हान्ने धम्कीसम्मका अनेक कारण

    काठमाडौं ।  पार्टी सभापति शेरबहादुर देउवा रिसाउने खालका गतिविधि मुख्यमन्त्री र अर्थमन्त्रीले लगातार जारी राखेपछि बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता परिवर्तनको प्रयास सफलतानजिक पुगेको छ ।

    आज संसदीय दलको नेता परिवर्तनबारे छलफल गरेर मतदानबाटै टुंगो लगाउने गरी हेटौँडामा कांग्रेसको प्रदेश समिति र दलको संयुक्त बैठक बस्दैछ । त्यसका लागि केन्द्रीय प्रतिनिधि राजन केसी हेटौँडा पुगिसकेका छन् । सहमति भएन भने वा नेतृत्वले निर्णायक हस्तक्षेप गरेर रोकेन भने मुख्यमन्त्री बहादुर लामा दलको नेताबाट हट्नेछन् ।

    पार्टीका उपसभापति पूर्णबहादुर खड्काले विशेष पहल लिएपछि बानिया अघि बढे पनि देउवासमेत सहमत हुने अवस्था भने मुख्यमन्त्री लामाकै कारण भएको आरोप छ । पछिल्लो समय बागमतीको नेतृत्व परिवर्तन गर्न पूर्णबहादुरले गगन थापाको समेत साथ लिएको कांग्रेस वृत्तमा चर्चा छ । बरु एकाएक बहादुर जोगाउने पक्षमा शेखर कोइराला र कृष्ण सिटौला देखिएका छन् ।

    सभापति देउवाकै साथ सहयोग भएपछि प्रदेश सभापति इन्द्र बानियालाई पराजित गरेर संसदीय दलको नेता बनेका बहादुर सिंह लामा पछिल्लो समय बुढानीलकण्ठको ‘गुड लिस्ट’ मा छैनन् । उनलाई ‘ब्ल्याक लिस्ट’ सम्म पुर्‍याउन भने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेका गतिविधि मुख्य देखिएका छन् ।

    बागमतीको बजेट निर्माण प्रक्रियादेखि विनियोजनसम्मका घटनामा अर्थमन्त्री काफ्लेले गरेको हर्कतबाट कांग्रेसका प्रदेश सांसदहरू आजित भइसकेका थिए । उनीहरूले बजेट विनियोजन नभएर बिक्री भएको सार्वजनिकरुपमै बताएका थिए ।

    काफ्लेले बजेटको आकार बढाउने र नचाहिने योजनामा बजेट हाल्नेजस्ता कार्यमा सहयोग नगर्दा मन्त्रालयका सचिवलगायत कर्मचारीमाथि गुण्डागर्दी गरेको जानकारी पनि देउवाले लिइरहेका थिए । त्यसमाथि प्रिपेड रकम लिएर योजनामा बजेट पारेको विषय स्थानीय जनप्रतिनिधिबाटै कांग्रेस नेतृत्वले नोटिसमा लियो ।

    पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ललितपुरका सांसद तथा देउवानिकट नेता उदय शम्सेर जबराले कांग्रेसको एक आधिकारिक कार्यक्रममै बागमतीका अर्थमन्त्रीले कांग्रेसको शीर निहुराएको भन्दै बजेटमा सामान्य ज्ञान नभएका बाहुबलीहरुलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा आलोचना गरेका थिए ।

    मुख्यमन्त्री लामाले विभिन्न ठाउँमा आफूलाई हटाएर बानियालाई मुख्यमन्त्री बनाउन आरजु देउवा,पूर्ण खड्कादेखि बिनोद चौधरीसम्मका नेताहरु लागेको भन्दै हिडेपछि बुढानिलकण्ठ थप बिच्किएको छ ।

    कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले व्यक्तिगत र सामुहिकरुपमा समेत बजेटमा भएको बलजफ्तीबारे देउवालाई सविस्तार जानकारी गराएपछि उनी झस्किएको भेटमा सहभागीले बताए । अर्थमन्त्री काफ्लेले विरोधमा उभिने मन्त्रीलाई गोली हान्ने धम्की दिएकोसम्मका जानकारी बुढानीलकण्ठमा गराइएको थियो ।

    यसअघि नै लामालाई बानिया पक्षले पद छाड्न अल्टिमेटम दिइसकेको थियो । तर उनले बेलायतमा छोरीको दीक्षान्त समारोहबाट फर्किँदासम्मको समय मागेको एक नेताले बताए । बेलायतबाट फर्केपछि पनि लामाले पद छाड्ने संकेत नदिएपछि मन्त्रीहरूले देउवालाई सामूहिक रूपमा भेटेका थिए ।

    देउवाबाट सिग्नल पाएपछि उनीहरू हेटौँडा फर्केर सामूहिक राजीनामा दिए । मीनकृष्ण महर्जन, मदुकुमार श्रेष्ठ, सुरज लामिछानेलगायत ४ मन्त्रीले राजीनामा दिए पनि मुख्यमन्त्रीले अर्को पत्रबाट उनीहरूलाई पदमुक्त गरे । लामाले असन्तुष्ट समूहकै केही सांसदलाई मन्त्रीको अफर समेत गरेका थिए ।

    कांग्रेसका ३७ मध्ये २१ जना प्रदेश सभा सदस्यले दलका नेता तथा मुख्यमन्त्री लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले उनको प्रयास कमजोर भयो । अविश्वास प्रस्तावमा संस्थापन पक्ष र गगन थापाका पक्षका अधिक सांसदको हस्ताक्षर छ । प्रकाशमान सिंह पक्षधर रामकृष्ण चित्रकार र हरिप्रभा खड्गीबाहेक अरूले पनि सही गरेका छन् ।

    यसबीचमा बहादुर लामाको पक्षमा कांग्रेस नेता डा. शेखर कोइराला पक्ष भने नरम देखिन्छ । देउवा पक्षको समर्थनमा उनी दलको नेताबाट हटेमा स्वतः आफ्नो पक्षमा आउने शेखर समूहको विश्लेषण छ । मोहन बस्नेतलगायतको पङ्क्ति पनि शेखर समूहमै जोडिएकाले बागमतीमा तुलनात्मकरुपमा कमजोर शेखर पक्ष यस्तैलाई बटुलेर बलियो बन्ने दाउमा छ ।

    यता संस्थापन पक्षकै पनि प्रवक्ता प्रकाशशरण महत पक्ष इन्द्र बानियाँको धारमा प्रष्टरुपमा खुलेको छैन । महतको कोटाबाट मन्त्री बनेका श्याम खड्कादेखि अन्य सांसद बहादुरकै पक्षमा छन् । नुवाकोटको सभापति समेत रहेका रमेश महत जिल्लाकै मुख्यमन्त्रीको विपक्षमा उभिन नसक्नुलाई स्वभाविकरुपमा लिइएको छ ।

    विशेषगरी बानियाँको पक्षमा पूर्ण खड्काले माहौल बनाएका छन् । कांग्रेसका ७ प्रदेश सभापतिमध्ये बागमती र कर्णालीका सभापति खड्कानिकट मानिन्छन् । यसअघि सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाका कारण बानियाँ दलको नेता बन्नबाट वञ्चित भएका थिए । बानियाले डीनालाई चुनाव हराएको आरोप लागेको थियो ।

    पछिल्लो समय डीनाकै सम्बन्ध आरजु देउवालगायतसँग बिग्रेको चर्चाकाबीच बानिया बलियो बनेर आएका छन् । यदि पार्टीले अन्तिममा हस्तक्षेप गरेन भने बानिया दलको नेता बने र मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

  • ‘बागमतीको बगावत कांग्रेसको आन्तरिक समस्या हो, एमालेको सहयोग चाहिए ‘रेस्क्यु’ गर्न तयार छौँ’

    ‘बागमतीको बगावत कांग्रेसको आन्तरिक समस्या हो, एमालेको सहयोग चाहिए ‘रेस्क्यु’ गर्न तयार छौँ’

    चितवन । केन्द्रदेखि नेपाली कांग्रेस एमालेबीच सत्ता साझेदारीमा भएको सम्झौता अनुसार बागमती प्रदेशमा २० महिना नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । जसको वर्षदिन यही साउन महिनामा भएको छ । तर, सरकारको नेतृत्व गरेको आफ्नै मुख्यमन्त्री हटाउन नेपाली कांग्रेसका २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

    संसदीय दलको नेताबाट हटाएपछि मुख्यमन्त्री हट्ने भएकोले मुख्यमन्त्री बहादुर सिंह लामाको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेश सरकार अस्थिर भएको छ । यो घटनालाई कांग्रेसको सत्ता साझेदार दल नेकपा एमालेले कसरी लिएको छ ? नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियासँग गरिएको कुराकानी:

    बागमतीमा नेपाली कांग्रेसका सांसदले आफ्नै मुख्यमन्त्री विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमा सत्तासाझेदार दल नेकपा एमालेको धारणा के हो ?

    हामीले त यो विषय मिडियाबाट सुनेर थाहा पाएका हौँ । पहिला त हामी आफै अचम्मित भयौँ । सरकार यति चाँडो—चाँडो अस्थिरतामा जानु हुँदैन । हाम्रो दलको धारणा लिनुहुन्छ भने हामीले गरेको सम्झौता बमोजिम सरकार सञ्चालन हुनुपर्छ भन्ने मान्यता हो । तर, अहिलेको विषय नेपाली कांग्रेसको आन्तरिक समस्याबाट सिर्जित विषय हो । नेकपा एमालेले सरकार अस्थिर हुने क्रियाकलाप कतैबाट नहोस् भनेर कामना र सहयोग गर्ने हो । हामी अर्को मुख्यमन्त्रीको नेतृत्व भए पनि अवरोध गर्दैनौँ । समस्या हामी बाहेकको दलका भएको कारण उहाँहरूले सहयोग माग्नुभयो भने हामी सहयोग गर्छौँ ।

    नेकपा एमालेसँग सरकार आलोपालो चलाउने सहमति भए पनि कांग्रेस आफैभित्रको यो खिचलोले सरकार गठबन्धन सरकार अस्थिर देखिएको प्रष्ट त बनायो नि, यसले सरकारको काम कारबाहीमा असर पर्दैन ?

    अहिले सदनबाट बजेट पास भएको अवस्था छ । हामीले बजेट पास गर्न सहयोग पनि गर्‍यौँ । अब भदौबाट बजेट कार्यान्वयनमा जानुपर्छ । नेपाली कांग्रेसले २० महिना गर्ने नेतृत्वमा बाँकी भएको ८ महिनाका लागि कसलाई नेता छान्ने भन्ने उहाँहरूको विषय हो । तर, सरकार सञ्चालन साझेदार दल हामी भएकोले सल्लाहमा हुनुपर्छ । अब बजेट कार्यान्वयनमा जानुपर्ने समय आउन लागेको कारण कर्मचारीहरूमा पनि मानसिक रूपमा काम गर्ने वातावरण बनाउनुपर्छ । आन्तरिक समस्यामा सहयोग मागेमा गर्छौँ । त्यसैले हामीले यो विषय चाँडो टुङ्ग्याउन उहाँहरूलाई अनुरोध गरेका छौँ ।

    काँग्रेसका सांसदहरूले नै आफ्नै मुख्यमन्त्रीलाई आयोजना बिक्री गरेको, मनोमानी ढंगले बजेट विनियोजन गरेको आरोप लगाइरहेका छन् । तपाईँको दलबाट गएका मन्त्रीहरूले ती विषयमा संसदीय दलमा जानकारी गराएका थिएनन् ?

    हो, बजेटमा केही समस्या आएका हुन् । दलको नेताको हिसाबले मैले स्वयं अर्थमन्त्री ज्यूलाई राम्रो बजेट बनाउनु भनेर सुझाव पनि दिएको हो । तर, बजेटमा व्यवहारिक रूपमा धेरै समस्या आए । हामीसँग उहाँहरूको कार्यान्वयनका क्रममा मिलाउने सहमति पनि भएको छ । हामी सत्ता साझेदार दल भएकोले बजेट पास गर्न सहयोग गर्नु हाम्रो कर्तव्य थियो । हामीले सघायौँ । नमिलेका कुराहरू पनि भन्यौँ ।

    अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकारको विषयमा उहाँहरूसँग तपाईँको केही छलफल भएको छ ?

    मैले अघि पनि भनेँ, यो कांग्रेसको आन्तरिक विषय हो । उहाँहरूले संसदीय दलको नेता टुङ्गो नलगाउँदासम्म बहादुरसिंह जीले नै सरकार सञ्चालन गर्नुहुन्छ । भलै महत्त्वपूर्ण निर्णयहरू गर्न उहाँले मिलेन । यो लोकतन्त्रको अभ्यास पनि हो । सांसदहरूले आफूले मन पराएको नेता छान्न पाउनुपर्छ । त्यसैले हामीले उहाँहरूलाई छिटो यो विषय टुङ्गो लगाएर संसदमा ल्याउन भनेका छौँ । जतिसक्दो चाँडो काँग्रेसले आफ्नो संसदीय दलमा यो विषय टुङ्ग्याएर सरकार सञ्चालन गठबन्धनको स्प्रिटमा चल्ने वातावरण बनाउनुपर्छ । हामी उहाँहरूको आन्तरिक विषयमा हस्तक्षेप गर्दैनौँ । तर, केही सुझाव माग्नुभयो भने हामी सहयोगको लागि तयार छौँ ।

  • सिटौला भन्छन्- कांग्रेस महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुन्छ (भिडिओ)

    सिटौला भन्छन्- कांग्रेस महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुन्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।

    उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए ।

    उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे ।

    उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

  • चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री (भिडिओ)

    चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री (भिडिओ)

    काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।

    सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

    उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

     

    चितवनमा हिजो दैनिक ३-३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

  • रेडक्रसलाई फेरि गठबन्धनको भ्रातृ संगठन बनाइयो, कांग्रेस-एमालेले यसरी गरे भागबण्डा

    रेडक्रसलाई फेरि गठबन्धनको भ्रातृ संगठन बनाइयो, कांग्रेस-एमालेले यसरी गरे भागबण्डा

    काठमाडौं । आईएफआरसीको चेतावनीका बाबजुद कांग्रेस-एमालेको गठबन्धन सरकारले नेपाल रेडक्रसमा पुन: भागबन्डा गरेका छन् ।

    चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गरिएको जानकारीसहित ९ सदस्यीय तदर्थ कमिटी बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्र रेडक्रस केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।

    यो समितिलाई ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको छ ।

    तदर्थ समितिको अध्यक्षमा जनकपुर घर भएका कांग्रेसका विनोदकुमार शर्मा छन् । त्यस्तै एमालेबाट नेपालगञ्जका मीनबहादुर मल्ललाई महामन्त्री बनाइएको छ । मल्ल हाल एमाले जिल्ला कमिटी बाँकेका सचिवाल सदस्य छन् ।

    त्यस्तै कोषाध्यक्षमा कांग्रेसका लोकदर्शन श्रेष्ठलाई राखिएको छ । एमालेबाट पोखराका हरि बराल उपाध्यक्ष छन् । रेडक्रस कार्यालय उच्च स्रोतका अनुसार सदस्यहरूमा एमालेबाट ओखलढुंगाकी कान्तिराज भण्डारी, एमालेकी काठमाडौंकी सूर्यकुमारी श्रेष्ठ, कांग्रेसका हेमराज ओझा (गृहमन्त्री रमेश लेखक कोटा कैलाली), बागलुङका डा. गंगाधर अधिकारी र इन्जिनियर दोलखाका हरि दर्शनलाई पनि तदर्थ समितिमा राखिएको छ ।

    गठबन्धन सरकारले रेडक्रसलाई भ्रातृ संगठन बनाउने तयारी गरेको समाचार हिजो नेपाल प्रेसले प्रकाशन गरेको थियो । ३३ सदस्यीय कमिटी भागबन्डा गर्ने तयारी भएपनि समाचार बाहिरिएपछि हाललाई ९ सदस्यीय मात्र बनाइएको हो । योबीचमा केही नामसमेत हेरफेर भएका छन् ।

    रेडक्रसलाई पुन: दलीय भागबन्डामा फसाउन लागिएकोमा चिन्ता व्यक्त गर्दै हिजो आईएफआरसी र सीएमसी टीमलाई समेत इमेलमार्फत् ‘अलर्ट’ समेत गराइएको थियो ।

    जेनेभाले गत जेठ अन्तिममा नेपाल रेडक्रस सोसाइटीलाई सुधार नगरे निलम्बन गर्ने चेतावनीसहित पत्राचार गरेको थियो । गभर्निङ बोर्डको १२ जुनको निर्णयअनुसार नेतृत्व परिवर्तन, विधान संशोधन र नयाँ कार्यसमिति चयनको लागि नेपाल सरकारको प्रतिबद्धता आग्रह स्वीकार्दै दिइएको मौका ७ दिनपछि सकिँदैछ ।

  • बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँलाई प्रश्न- देउवासँग सहमतिले अघि बढ्नुभएको हो ? (भिडिओ)

    बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँलाई प्रश्न- देउवासँग सहमतिले अघि बढ्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँले बहादुरसिंह लामामाथि अविश्वासको वातावरण बन्दै गएपछि दलको नेता फेर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

    बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले लामाको नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांशको ठहर भएपछि यो कदम चालिएको बताए ।

    लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। दलको नेता परिवर्तनपछि बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

    उनले भने, ‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले नेतृत्व दलको दल जुन विश्वासका आधारमा बहादुरजीलाई दलको साथीहरूको विश्वासमा दलको नेता बनाइयो, त्यसपछि राजनीतिक सहकार्यको सहकार्यको आधारमा दुई दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । त्यसैले विश्वासमाथि अविश्वास पैदा भएकाले हामीले यो दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।’

    उनले अविश्वासको प्रस्ताव दर्ता गर्दा नै दलको नेतामा आफूलाई चयन गर्नुपर्छ भन्ने उल्लेख भएको बताए ।

    केन्द्रीय सभापति शेरबहादुर देउवासँगकै सहमतिमा अघि बढ्नुभएको हो? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो तीन तहको संरचना छ । विधानले दिएको अधिकार अनुसार सबै स्वतन्त्र छन् आफ्नो निर्णय गर्नको लागि, केन्द्रीय सभापति अभिभावक हो । अभिभावकसँग परामर्श छलफल विभिन्न राजनीतिक विषयमा हुन्छन् तर सबै आफ्नो विधानअनुसार गर्ने हुनाले कांग्रेस स्वतन्त्रताको लागि लडेको पार्टी हो त्यसका लागि स्वतन्त्र छ ।’

    उनले संसदीय दलको नेता परिवर्तन हुने प्रक्रिया टुंगिएपनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

  • वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास, राजीनामा नदिएपछि मन्त्रीहरुले नै छोडे

    वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास, राजीनामा नदिएपछि मन्त्रीहरुले नै छोडे

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग असन्तुष्ट कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएका छन् । कांग्रेसले मुख्यमन्त्री फेर्ने प्रयासस्वरुप मन्त्रीहरुलाई राजीनामा गराएको खुलेको छ ।

    मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरु उनीसँग रुष्ट थिए । कांग्रेस नेतृत्व पनि उनलाई निरन्तरता दिने पक्षमा नरहेको बुझिएको छ । सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा गर्न सुझाव दिए पनि उनले नमानेको स्रोतले बतायो ।

    कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ । बानिया बाग्मती कांग्रेसका प्रदेश सभापति पनि हुन् ।

    २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बाग्मतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ । कांग्रेसका ३७ जना सांसद छन् ।

     

  • वागमतीमा कांग्रेसका ४ जना मन्त्रीले दिए राजीनामा

    वागमतीमा कांग्रेसका ४ जना मन्त्रीले दिए राजीनामा

    काठमाडौं । वागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

    शुक्रबार वागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

    उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् । उनीहरुको राजीनामाको कारण बताइएको छैन । केही दिन अघि मात्रै उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

  • रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं  (भिडिओ)

    रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे रास्वपा सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गरेर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका छन् ।

    रास्वपाले निरन्तर सदनमा भिजिट भिसाबारे छानबिन गर्न माग गर्दै विरोध जारी राखेपछि उनले यस्तो उदाहरण दिँदै धेरै चिन्ता नगर्न आग्रह गरे ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्‍याउलान् नि किन चिन्त्ता गर्नुहुन्छ ।’

    उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाकै कारणले अहिलेको उपलब्धि हासिल गरेको दाबी गर्दै त्यही भिसाप्रति बढी चिन्तित भएको बताए। उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, घरजम गर्न गलत कार्य भएको अन्तर्राष्ट्रिय कानुनले पनि भन्ने बताए।

  • मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा कांग्रेसलाई चुनौती पर्नसक्ने बूढानीलकण्ठमा विश्लेषण (भिडिओ)

    मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा कांग्रेसलाई चुनौती पर्नसक्ने बूढानीलकण्ठमा विश्लेषण (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष निकालेको छ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।

    उनले भने, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए। यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो। त्यसपछि मधेशवादी दलहरू थिए। अहिलेको पोजिसन के छ भन्न गाह्रो छ।’

    उनले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उनीहरूको देखिसक्नेबारे पनि चर्चा भएको बताए। उनले थपे, ‘तर, त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो। प्राविधिक रूपले चुनाव हारेका हौँ। भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ। उम्मेदवारबारे कुरा भएको छैन। प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उनीहरू पनि हुनसक्छन्।’

    उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने आकलन गरिएको पनि बताए। उनले सत्तामा सँगै भए पनि एमाले र कांग्रेस नै मिलेर जानेबारे अहिलेसम्म कुनै छलफल नभएको भन्दै पछिको कुरा भन्न नसकिने बताए।

    बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यहाँ कांग्रेसले बालकृष्ण खाँणलाई अघि सार्न खोजेको चर्चा छ।

    मधेस केन्द्रित सात दल सम्मिलित संयुक्त लोकतान्त्रिक मोर्चाले उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई सघाएर जाने निर्णय यसअघि नै गरिसकेको छ। यद्यपि, जनमतले भने केही विमति राख्दै आइरहेको छन्।

  • प्रधानमन्त्रीले गरे तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (तस्बिरहरू)

    प्रधानमन्त्रीले गरे तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (तस्बिरहरू)

    महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।

    नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

    वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

    प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

    तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय

     

  • कुलिङ पिरियड हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति कांग्रेसको आपत्ति (भिडिओ)

    कुलिङ पिरियड हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति कांग्रेसको आपत्ति (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेको निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति आपत्ति जनाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले एमालेलेका सांसदहरूले संसदीय दलको निर्णय प्रस्ताव दर्ता गरेको भनेकाले गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले बताए।

    उनले भने, ‘सांसदहरू आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ, तर संशोधन प्रस्ताव राख्ने एक जनाले हामीले संसदीय दलको निर्णय अनुसार राखेको भन्नुभएको छ। त्यसमा आपत्ति छ। सरकारले संयुक्त छलफल गरेर ल्याएको कुलिङ पिरियडसम्बन्धी प्रावधान छ। त्यहाँ कसरी कसको कमजोरी भयो त्यो छानबिन हुँदैछ। त्यसमा पनि दलको निर्णय अनुसार हो भने भारी आपत्तिजनक कुरा हो। यो गठबन्धन सरकार हो गम्भीरतापूर्वक हेर्नुपर्छ।’

    उनले भूमि विधेयकमा मतभेद पहिलादेखि रहेको भन्दै अब समितिले छलफल गरेर निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे।संवैधानिक विधेयक फेरि अध्ययन गर्नको लागि राष्ट्रपतिले फिर्ता पठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

  • बूढानीलकण्ठमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल, मन्त्री फेरबदलबारे के भन्छ कांग्रेस ?

    बूढानीलकण्ठमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल, मन्त्री फेरबदलबारे के भन्छ कांग्रेस ?

    काठमाडौं । नेपाली कांग्रेसले आजको बैठकमा मन्त्री फेरबदलको विषयमा कुनै छलफल नै नभएको जनाएको छ ।

    सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले मन्त्री फेरबदलको विषयमा कुनै कुरा नभएको बताए ।

    उनले कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक रूपमा छलफल भएको उनले बताए ।

    रुपन्देही ३ मा बालकृष्ण खाणको सम्भावनाबारे उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’

    बैठकमा जिल्ला सभापति, प्रदेश सभापति र नेता खाणले पनि वस्तुस्थितबारे जानकारी गराएको बताए ।

     

  • कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ।’

    उनले सरकारका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको बताए। उनले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा पनि कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको बताए ।

    उनले भने ‘भिजिट भिसामात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन् । ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ । त्यस बेलामा सम्म हाम्रो विरोध जारी राख्छौँ ।’

    उनले सदनमा सङ्ख्याको बलले पेलिरहे सडकबाट टुङ्गो लगाउनेतिर जाने सरकारलाई चेतावनी दिए ।

  • संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

    संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

    काठमाडौं । नेपाली कांग्रेस संस्थापन सात भाइका पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी थालेका छन्।

    सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा १५ औँ महाधिवेशनमा आफूभित्रबाटै नेतृत्व हुनुपर्ने निष्कर्ष निकालेर आज सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन्।

    हिजो भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेका थिए। सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए। तर आज कोइराला र निधि गएनन्।

    बुढानीलकण्ठ पुगेका नेता श्रेष्ठले सभापतिलाई आफूहरूलाई अन्याय नगर्न आग्रह गरेको बताए। नेता श्रेष्ठले नेपाल प्रेससँग भने, ‘तपाईँले कुनै पनि निर्णय गर्दा हामीलाई पनि बोलाएर परामर्श गर्नुस्। तपाईँ भनेर लागेका साथीहरूको संरक्षण गर्ने जिम्मा पनि तपाईँकै हो।’

    उनले देउवासँगको भेटमा गच्छदार पुरानो कुरा पनि कोटाएकाे पनि बताए। उनले भने, ‘विजयजीले पार्टी फुट्दा र राजा ज्ञानेन्द्र हस्तक्षेप गरेर सङ्कट परेर उहाँ जेल परेको बेलामा साथ दिएको, ११ औँ महाधिवेशन सम्पन्न गरेर निर्विरोध सभापति पनि बनाएको कुरा पनि उठ्यो।’

    पछि देउवाबाट आफूलाई न्याय नभएको कुरा पनि राखेको श्रेष्ठले बताए। उनले थपे, ‘१५ औँ महाधिवेशनको नेतृत्वबारे पनि छलफल भयो। हामीले तपाईँले कसैलाई ग्रीन सिंगल दिनुभयो भनेर कोही हिँडिरहेका छन्, के हो ? भनेर कुरा उठायौँ। तर, उहाँले मैले कसैलाई ग्रीन सिंगल दिएको छैन भन्नुभयो।’

    त्यही प्रसङ्गमा आफूले १४ औँ महाधिवेशनमा आकाङ्क्षा राख्दा बालुवाटार बोलाएर १५ औँ महाधिवेशनमा सहयोग गर्ने बाचा गरेको स्मरण गरेको पनि बताए।

    उनले थपे, ‘उहाँले १४ औँ महाधिवेशनमा अहिले मलाई सघाउनुस्, १५ औँ मा तपाईँलाई सहयोग गर्छु भन्नुभएको थियो। त्यस बेला भाउजू पनि सँगै हुनुहुन्थ्यो। उहाँलाई १० औँ महाधिवेशनदेखि नै सहयोग गर्दै आएको हुँ। पार्टी फुट्दा होस् वा अन्य सङ्कटमा उहाँलाई कफन बाँधेर सहयोग गरेँ।’

    उनले आफूहरूको भेलाले इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि महत्त्व दिन लायक नभएको निष्कर्ष निकालेको पनि बताए।

    उनले भने, ‘उहाँले सफल हुने काम गरिराख्नुको भएको छैन। सभापति र शेरखबीच आज एक कार्यक्रममा भेट भएको थियो पार्टीमा यस्ता गतिविधि भइरहन्छ। उहाँका मान्छेहरूले बोल्दा पनि मर्यादित ढङ्गले बोल्नुपर्‍यो।’

    कांग्रेसको १५ औँ महाधिवेशन अझै अनिश्चित छ। तर नेताहरूले महाधिवेशन लक्षित गरेर नेतृत्वको दौड थालिसकेका छन्। देउवालाई अर्को कार्यकाल नेतृत्वमा आउन विधानले छेक्ने भएकाले संस्थापन पक्षका नेताहरूले आफूभित्रबाटै उत्तराधिकारी तोक्न दबाब दिइरहेका छन्।

    यसअघि पनि यी सातसहित ११ भाइ बुढानीलकण्ठ पुगेर उत्तराधिकारी तोक्न दबाब दिएका थिए। तर, देउवाले अहिलेसम्म मुख खोलेका छैनन्। इतर पक्षबाट नेतृत्वको लागि डा। शेखर कोइराला र महामन्त्री गगन थापाले पनि आआफ्नै तयारी गरिरहेका छन्।