Category: नेपाली कांग्रेस

  • उपसभामुख हटाउने प्रस्तावका लागि कांग्रेसमा हस्ताक्षर सुरु

    उपसभामुख हटाउने प्रस्तावका लागि कांग्रेसमा हस्ताक्षर सुरु

    काठमाडौं । नेकपा एमालेपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन थालेको छ ।

    सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर धमाधम हस्ताक्षर गरिरहेका छन् । हस्ताक्षरअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

    प्रतिनिधिसभामा एमालेका कुल ८८ सांसदमध्ये मोहन बस्नेत निलम्बनमा छन् । अहिले कांग्रेस सांसदको संख्या ८७ रहेको छ ।

    उपसभामुख इन्दिरा रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

    उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

  • ८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा (भिडिओ)

    ८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

    पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताए ।

    उनले भने, ‘यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’

    उनले आज मुलुकको सबैभन्दा ठुलो पार्टी कांग्रेस नै रहेको भन्दै आगामी दिनमा पनि सबै मिलेर बलियो बनाउनुपर्ने बताए ।

     

  • जनतामा देखिएको असन्तुष्टिको आगो निभाउने तागत कांग्रेससँग मात्रै छ : गगन थापा (भिडिओ)

    जनतामा देखिएको असन्तुष्टिको आगो निभाउने तागत कांग्रेससँग मात्रै छ : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा देखिएको असन्तुष्टिको आगोको समाधान कांग्रेसले नै खोज्नुपर्ने बताएका छन् ।

    पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै केही तत्त्वहरूले असन्तुष्टिको आगोमा मट्टितेल खन्याइरहेको आरोप लगाए ।

     

    उनले भने, ‘हामीले असन्तुष्टिको आगोमा मट्टितेल खन्याएकाहरूलाई चिन्नुपर्छ । हामी संघ, प्रदेश र स्थानीय सरकारमा छौँ। हाम्रो हातमा सत्ता, शक्ति र नेतृत्व छ । हामीले कामबाट असन्तुष्टिको आगोलाई निभाउनुपर्छ । हामीमाथि लागेको अनावश्यक आरोपहरूबारे पनि बताउनुपर्छ। हाम्रो कारणले भइरहका पनि सच्याउनुपर्छ ।’

    उनले कांग्रेसभित्र शुद्धीकरण र जागरण आवश्यक रहेको बताए ।

    उनले थपे, ‘कांग्रेसमा अहिले देखिएको समस्याको हल दिन्छु भन्ने कुराको आत्मविश्वास चाहिएको छ । हाम्रो पार्टीभित्र ८ लाख सदस्य छ । यतिठूलो परिवार छ । त्यसैले हामीले कांग्रेसलाई पनि सफा गर्नुपर्छ ।’

  • कांग्रेसका असन्तुष्ट नेताहरूलाई प्रवक्ता महतले भने- गठबन्धन सरकारमा सबै कहाँ पाइन्छ ?

    कांग्रेसका असन्तुष्ट नेताहरूलाई प्रवक्ता महतले भने- गठबन्धन सरकारमा सबै कहाँ पाइन्छ ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकरणाशरण महतले अहिले पनि सिद्धान्त, नीति र समर्पणले हिसाबले कांग्रेसलाई चुनौती दिने अर्को पार्टी नभएको जिकिर गरेका छन् । कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ या अरू पार्टीको तुलनामा कांग्रेस नै बेस्ट भएको जिकिर गरे ।

    उनले भने, ‘कुनै दुविधा राख्न आवश्यक छैन । ढुक्क भएर लाग्नुस् । कांग्रेस अहिले पनि सान्दर्भिक छ । र भोलि पनि रहन्छ । अहिले पनि सिद्धान्त, नीति र समर्पणले चुनौती दिने अर्को पार्टी छैन । मिसन ०८४ एक्लै सफल पार्न लाग्नुपर्छ । व्यवहारिक रूपमा एक्लै बहुमत ल्याउन अफ्ठेरो छ। तर पनि सर्वाधिक लोकप्रिय पार्टी बनाउने उत्साहका साथ लाग्नुपर्छ। तर हामी संगठनको सवालमा कमजोर छौँ। हामी व्यक्तिवादी भएका छौँ ।’

    उनले अहिले सामाजिक सञ्जालमा कांग्रेससहित अन्य पार्टीहरू काम छैन भनेर भ्रम चलाइरहेको बताए । उनले सामाजिक सञ्जालमा भइरहेको झूटा कुराको प्रतिवाद गर्नको लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।

    उनले भने, ‘अहिले झूटो कुराको प्रचार भइरहेको छ। सत्य कुरा उल्टो गाली खाइन्छ भनेर बोल्दैनन् । अब सामाजिक सञ्जालमा होस् वा जनताको बीचमा जाँदा बोल्न थालौँ ।’
    उनले अहिले बाध्य भएर एमालेसँग मिलेर सरकार बनाउनुपरेको बताए ।

    उनले पार्टीका असन्तुष्ट नेताहरूलाई भने, ‘अरूसँग मिलेर सरकार बनाउन परेपछि सबै त कहाँ पाइन्छ। ५० प्रतिशत मात्रै भए पनि हुन्छ भनेर गएका हौँ नि। एक्लै बनाउने अवस्था छैन। त्यो कुरालाई आत्मसाथ गर्नुपर्छ। हामीले भनेजस्तो भएन भने नेतृत्वले अडान लिन्छ। लिइराखेको पनि छ।’

  • ‘राष्ट्रियसभामा बहुमत निश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ’ (भिडिओ)

    ‘राष्ट्रियसभामा बहुमत निश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ’ (भिडिओ)

    धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभामा सत्तारूढ दलहरूको बहुमत सुनिश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    नेपाल कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले चाँडै संविधान संशोधनको काम पनि अघि बढ्ने बताए ।

    सोमबार प्रेस चौतारी नेपालले कैलालीको अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हाल संविधान संशोधनको वातावरण तयार नभएको बताए ।

    उनले भने, ‘संविधान संशोधनजस्तो विषय एकैपटक अघि बढाउने कुरा होइन । त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ । अहिले राष्ट्रियसभामा सरकारमा रहेका दलहरूको बहुमत सुनिश्चित छैन। पाँच-छ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छन् । दुवै दल मिलेर सफलता प्राप्त गर्छौं, अनुकूलता निर्माण गर्छौं, त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’

    उनले संविधान संशोधनमार्फत मुलुकमा देखिएको अस्थिरताको चिन्ता हटाउने काम गरिने स्पष्ट पारे ।

  • डेडिकेटेड र ट्रंकलाइनमा प्राधिकरण अलमिलएको ऊर्जामन्त्रीको भनाइ, छिटो असुल्न निर्देशन

    डेडिकेटेड र ट्रंकलाइनमा प्राधिकरण अलमिलएको ऊर्जामन्त्रीको भनाइ, छिटो असुल्न निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटोभन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिए ।

    उद्योगीहरूले उपयोग गरेको विद्युत बापतको महशुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने भन्दै खड्काले विद्युत उत्पादनसँगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्नुपर्नेमा जोड दिए ।

    सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पत्ति ६ दशमलब २ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए ।

    आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको साथै गत आर्थिक वर्षमा प्राधिकरणको प्रणालीमा कूल ४३४ मेगावाट थप भएको शाक्यले जानकारी दिए ।

    गत आर्थिक वर्षमा देशभरका ग्राहकमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ थियो ।

  • शेखरको आरोप- राजा वीरेन्द्रको सम्पत्तिमा समेत एमालेको आँखा छ, खाली जग्गा त देख्ने नहुने रहेछ

    शेखरको आरोप- राजा वीरेन्द्रको सम्पत्तिमा समेत एमालेको आँखा छ, खाली जग्गा त देख्ने नहुने रहेछ

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल एमालेबाटै भएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले छलकपटबाहेक केही नगरेको बताए।

    उनले भने, ‘हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भनेर विधेयक बनायौँ तर त्यसलाई समाप्त गर्ने खेल एमालेबाट सुरु भयो। अहिलेसम्म त हामीले लुकायौँ अब लुकाउनुपर्ने छैन। अब लुकाउनुपर्ने आवश्यकता छैन। राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियडको पक्षमा संशोधन प्रस्ताव हालेको छ, माथिको निर्देशन भन्दै, एमाले त छलकपट गर्दो रहेछ। त्यसमा पनि विमति छैन।’

    उनले अहिले भूमि सम्बन्धी विधेयक खाली जग्गा मास्ने गरी एमालेले ल्याएको आरोप लगाए।

    उनले थपे, ‘जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस्। पोखराको लिचीबारी हेर्नुस्। गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ। संघीय मामिला मन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती पदमा बसिराख्नुभएको छ।’

    कास्की एमालेको जिल्ला कमिटीले नै भूमि मन्त्रीको राजीनामा माग समेत कांग्रेसले बोल्न नसकेको बताए।

    उनले थपे, ‘अर्को रेशम चौधरीजीको पार्टीको अध्यक्ष पनि बिचौलिया हुनुहुँदो रहेछ। सांसद पनि बिचौलिया भएपछि देशको हालत के हुन्छ होलारु कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमि मन्त्रीले स्विकारिराख्नुभएको छैन। आज बैठक नै बस्न सकेन।’

    सरकारले ७ बुँदे सहमति अनुसार काम नगरेको भन्दै देशको नेतृत्व अब पनि कांग्रेसले झन् भद्रगोल बन्दै जाने टिप्पणी गरे।

  • देउवा र विश्वप्रकाशले कांग्रेस प्रवेश गराएका फरार अभियुक्त यादवको सदस्यता भोलिपल्टै खारेज

    देउवा र विश्वप्रकाशले कांग्रेस प्रवेश गराएका फरार अभियुक्त यादवको सदस्यता भोलिपल्टै खारेज

    काठमाडौं । नेपाली कांग्रेसले हिजो मात्रै पार्टी प्रवेश गराएका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त भएको नेपाल प्रेसले खुलासा गरेपछि सदस्यता खारेज गरिएकाे हाे

    हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए।

    कांग्रेस मुख्यसचिव पौडेलले भने, ‘निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’

    यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ ।

    पढौँ, यो पनि– असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

  • बागमती सरकारले पायो पूर्णता, बहादुरले सिफारिस गरेका ३ जना परेनन्

    बागमती सरकारले पायो पूर्णता, बहादुरले सिफारिस गरेका ३ जना परेनन्

    काठमाडौं । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छ्न् । कांग्रेसको भागमा परेका ५ मन्त्रालयमा मन्त्री नियुक्तिसहित उनले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

    बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राखेका छैनन् । एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिइसकेका छन् ।

    नवनियुक्त मन्त्रिहरूको शपथ भर्खरै सकिएको छ ।

    यस्तो छ बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजन

    (१) इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    (२) मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    (३) शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

    (४) किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय

    (५) उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

    (६) कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय

    (७) डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

    (८) प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

    (९) भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय

    (१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय

    (११) जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय

    (१२) कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय

    (१३) विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

    (१४) विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

  • असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

    असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

    दाङ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका छन् । एक कार्यक्रमबीच देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

    यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी थिए । यस्तै, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवको उपस्थिति रहेको थियो ।

    यादव लामो समयदेखि प्रहरीको फरार सुचीमा रहेका छन् । उनको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुल्तवीमा छ । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि मुद्दामा सुनवाइ हुने जिल्ला अदालत महोत्तरीका रजिस्टार नुतन झाले बताए ।

    उनले भने, ‘उहाँ थम्मन विक हत्याको अभियुक्त हो । पक्राउ नपरेकाले फैसला हुन सकेको छैन । पक्राउपूर्जी जारी भएको धेरै अगाडि हो । प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि उहाँको मुद्दामा सुनुवाइ हुन्छ ।’

    प्रहरी पक्राउ गरेर अदालतमा नबुझाएकाले मुद्दा मुतलवीमा राखिएको उनको भनाइ छ ।

    महोत्तरीका काँग्रेस सभापति नागेश्वर यादवले देवेन्द्र यादव हत्या अभियुक्त भएको बारेमा आफूलाई जानकारी नभएको दावी गरेका छन् ।

    ‘उहाँ हाम्रो पार्टीमा प्रवेश गरेको साँचो हो, हत्या अभियोग लागेको बारेमा मलाई केही जानकारी छैन,’ उनले भने ।

    मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

  • लोसपाका पूर्वमहामन्त्री यादवलाई देउवाले कांग्रेसमा भित्र्याए

    लोसपाका पूर्वमहामन्त्री यादवलाई देउवाले कांग्रेसमा भित्र्याए

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव कांग्रेस प्रवेश गरेका छन्।

    कांग्रेसको केन्द्रीय कार्यालय पुगेर यादव कांग्रेस प्रवेश गरेका हुन्। यादवलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड दिँदै पार्टीमा भित्र्याए।

    नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपाको महामन्त्री बनेका यादव पछिल्लो समय निष्क्रिय बसेका थिए।

  • गृहमन्त्रीमाथि रास्वपाको आरोप- उहाँकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो (भिडिओ)

    गृहमन्त्रीमाथि रास्वपाको आरोप- उहाँकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो (भिडिओ)

    काठमाडौं । रास्वपाकी सांसद चन्दा कार्कीले नैतिकता जागेर राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएको भएपनि गृहमन्त्री रमेश लेखकको नैतिकता जगाउन नसकेको बताएकी छन्।

    प्रतिनिधि सभाको बैठकलाई बोल्दै गृहमन्त्रीले अदालतमा समेत हस्तक्षेप गरेको आरोप लगाइन्।

    उनले भनिन्, ‘मानव तस्करीको विषय मात्रै होइन न्यायालयमा हस्तक्षेप भएको कुरा पनि पूर्वन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति सार्वजनिक नै छ। रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारेको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट पठाइएको सूचनाहरू आइरहेका छन्। जुन दिन पेसी चढेको छ उही दिन योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ।’

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरिन्। उनले भनिन्, ‘उहाँले केही दिनअघि भन्नुभएको थियो अदालतमा आफ्नै पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाउँछौँ। र निर्णय बफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुभएको छ।’

  • ‘डिजिटल प्लेटफर्मबाट नागरिक असुरक्षित भइरहेकाले समाधानमा सरकारले ध्यान दिनुपर्छ’

    ‘डिजिटल प्लेटफर्मबाट नागरिक असुरक्षित भइरहेकाले समाधानमा सरकारले ध्यान दिनुपर्छ’

    काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकारले ध्यान आवश्यक रहेको बताएका छन् ।

    कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा बिहीबार सानेपामा आयोजित डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर बिषयक कार्यक्रममा सभापति देउवाले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएपनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्या‍एको भन्दै त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

    उनले सवै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको धारणा राखे । डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको उनले बताए ।
    सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले अहिले नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको जिकिर गरे । यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरु अझै गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

    सभापति देउवाले डिजिटल प्लेटफर्मको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पु¥याउन सक्ने र सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताए । कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको सभापति देउवाले बताए ।

  • म राज्यव्यवस्था समितिको सभापतिको दौडमा छैन, समितिमै रहेका सदस्यहरूबाट चाँडै टुंग्याउँछौं : विश्वप्रकाश शर्मा

    म राज्यव्यवस्था समितिको सभापतिको दौडमा छैन, समितिमै रहेका सदस्यहरूबाट चाँडै टुंग्याउँछौं : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सरकारमा छ भन्दैमा नराम्रो कुराको विरोध गर्न नछाड्ने बताएका छन् ।

    नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गदै सरकार बाहिर हुँदा पनि राम्रो कामको कांग्रेसले समर्थन गर्ने गरेको जिकिर गरे ।

    उनले भने, ‘हामी सरकारमा नरहँदा पनि राम्रा कुराको समर्थन गर्छौँ। सरकारमा रहँदा पनि कमजोरीका बारेमा हामी प्रहार गर्छौँ। संसदमा बोल्दै गर्दा होस् वा बाहिर बोल्दा पनि। अहिले हामी सरकारमा छौँ। सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुनुपर्छ भन्नेसँग हाम्रो प्रस्ट विमति छ। संसदमा पनि बोलेका छौँ बाहिर पनि बोलेका छौँ।’

    उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर जाने कुनै पनि कुरालाई कांग्रेसले स्वीकार नगर्ने बताए । फोन ट्यापिङसम्बन्धी पनि विधेयक ल्याउँदा पनि दुरुपयोग हुने भएकाले सरकार गम्भीर हुनुपर्ने बताए । उनले आफूले सदनमा ३८ मिनेट बोल्दा २५ वटा विषयमाथि प्रश्न उठाएको भएपनि रास्वपामाथि केन्द्रीय भएको भन्दै प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए ।

    उनले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको पनि बताए । उनले भने, ‘मलाई सभापति बन्नु थियो भने त रामहरि खतिवडा बनेपछि पालो पुर्‍याउन मात्रै बन्दिनँ थिए होला नि, पहिल्यै बन्थे । मन्त्री बन्न लाग्थे होला नि । कसैले गलत लेखेर प्रचार गरिदिनुभयो । छलफल गर्दै गर्दा रामहरिजीले छाड्नुपर्छ भनेकै हो। उहाँले राजीनामा दिँदा राम्रो सन्देश गएको पनि छ ।’

    उनले समितिको सभापति समितिमै रहेका सदस्यहरूबाट हुने र चाँडै पार्टीले टुङ्ग्याउने बताए ।

  • रामहरिले सभामुखलाई बुझाए राजीनामा

    रामहरिले सभामुखलाई बुझाए राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् ।

    हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

    निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

    उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

  • राजीनामापछि रामहरिकाे प्रतिक्रिया- पार्टी सभापतिजीले पर्दैन भन्नुभएको थियो, मनले नमानेपछि छाडेको हुँ

    राजीनामापछि रामहरिकाे प्रतिक्रिया- पार्टी सभापतिजीले पर्दैन भन्नुभएको थियो, मनले नमानेपछि छाडेको हुँ

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टीको दबाबको कारणले प्रतिनिधि सभाबाट राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा नदिएको बताएका छन् ।

    राजीनामा घोषणापछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामाको लागि दबाब नदिएको बताए ।

    उनले भने, ‘मैले समिति बनेको सुरुकै दिनमा गाडी फिर्ता गरिसकेको थिएँ । पार्टीले मलाई दबाब दिएको थिएन, बस्नुपर्छ भनेको थियो हिजोसम्म, सभापतिजीले पनि बस्नुस् भन्नुभएको थियो। मनले नमानेपछि राजीनामा दिएको हुँ ।’

  • राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

    राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

    निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका हुन्।

    उनले आफू दाेषी नभए पनि राजीनामा दिएकाे उनले बताए ।

    उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

  • रविमाथि कांग्रेस-एमालेको आक्रोश: सहकारी ठगेको स्वीकारेर पनि सरकारमाथि दोष थुपार्ने ?

    रविमाथि कांग्रेस-एमालेको आक्रोश: सहकारी ठगेको स्वीकारेर पनि सरकारमाथि दोष थुपार्ने ?

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी गरेको स्वीकार गरिसकेको दाबी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो भागमा परेको बिगो बिगो फैसला अघि नै तिर्न तयार हुनुले अपराध स्वीकारेको पुष्टि हुने उनीहरूको दाबी छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौँला सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भनेर रास्वपाले चलाइरहेको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए।

    उनले भने, ‘६२/६३ लाख संकलन गर्नुभएछ सँगै हस्ताक्षर पनि। जसका नाममा हस्ताक्षर संकलन भइरहेको छ तीनै व्यक्ति बिगो स्वीकार गरेर जमानतमा छुटिपाऊ भनेर निवेदन दिए, म सोध्न चाहन्छु सत्य के होरु बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकार गर्ने कुरा होइनरु तपाईँको दलले घुमाउरो तरिकाले बिगो स्वीकार गरेर अभियोग स्वीकार गर्ने तहमा पुगिसकेपछि राजनीतिक प्रतिशोध भनेर लगाइएको आरोप नाटक हो भन्ने कुरा प्रमाणित भएन र?’

    कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि रास्वपाका सांसदहरूले आफूहरूलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिएको भन्दै आक्रोश पोखिन्।

    उनले भनिन्, ‘उहाँको सभापतिको विषयमा भर्खरै हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ। उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ– २ करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो। अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन त्यसमा धेरै कुरा थियो होला।’

    बिगो बापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ ? भन्दै प्रश्न गरिन्। उनले थपे, ‘कसरी शब्दमा खेलेर जालझेल गरिन्छ, हिजो मात्रै त्यहाँ देखियो। अदालतले धेरै निर्णय गरेको छ। अनि उहाँहरू दोष सरकारलाई लगाइराख्नुभएको छ।’

    उनले अदालतमा विचाराधीन मुद्दाको विषयमा क्युआर कोडसहित हस्ताक्षर अभियान चलाएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘पैसा पनि दिनुपर्ने हस्ताक्षर पनि गर्नुपर्ने, यो विषयले अदालतको अपहेलन गरेको मानिन्छ कि मानिँदैन?’

  • सदनमा बोल्न रामहरिले मागे समय, राज्य व्यवस्थाबाट राजीनामा घोषणा गर्न सक्ने

    सदनमा बोल्न रामहरिले मागे समय, राज्य व्यवस्थाबाट राजीनामा घोषणा गर्न सक्ने

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभामा बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका छन् ।

    सदन बस्नुअघि उनले सभामुख देवराज घिमिरेसँग भेटेर बोल्न समय मागेको स्रोतले बताएको छ ।

    निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएको थियो । चौतर्फी दबाबपछि सम्भवत: आज उनले सदनमार्फत् राजीनामाको घोषणा गर्न लागेको स्रोतको भनाइ छ ।

    प्रतिनिधि सभा बैठकभित्र रहेका खतिवडाले नेपाल प्रेससँग कुरा गर्दै आफू सरसल्लाहमा रहेको बताए ।

    खतिवडाले भने–संसदीय विशेष छानवीन समितिले त्यसखालको रिपोर्ट दिएको छ । राजनीतिक नैतिकताको विषय पनि छ । कसै न कसैले त त्यो गल्तिको जिम्मेवारी लिनुपर्ला । यदि यसमा संलग्न र गलत नियतसाथ काम गर्ने कसैले जिम्मा लिदैनन् भने के गर्ने त ? एकछिन पख्नुस् न त ।

  • गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन नगरेको रास्वपाको जिकिर (भिडिओ)

    गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन नगरेको रास्वपाको जिकिर (भिडिओ)

    काठमाडौं । रास्वपाका शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लाने जिकिर गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूलको कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि अधिकार जमाउन खोज्छन् ।’

    उनले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदा समेत कारबाही नभएको भन्दै आपत्ति जनाए ।

    उनको भनाई जस्ताको तस्तै-

    Steven Levitsky र Daniel Ziblatt द्वारा लिखित “How Democracies Die” भन्ने पुस्तकमा लेखक भन्छन् 

    “आज लोकतन्त्र माथि सबैभन्दा ठुलो खतरा सैन्य “कु” होइन – निर्वाचित नेताहरू हुन् जसले बिस्तारै विधिको शासनलाई भत्काउँछन्।”
    उनीहरू भन्छन् लोकतन्त्रलाई खतरा बढ्दै गरेको चार वटा सङ्केतहरू हुन्छन्

    १. लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने: संविधानलाई कमजोर पार्ने: संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने।

    २. राजनीतिक विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्ने: विपक्षीहरूलाई वैध नमान्ने।राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दुस्मनको रूपमा चित्रण गर्ने। असहमतिलाई अवैध ठहर्‍याउने।असहयोग गर्‍यो भन्ने । छलफल नगर्ने ।

    ३. हिंसालाई सहन वा प्रोत्साहन गर्ने: हिंसात्मक कार्यहरूलाई मौन समर्थन गर्ने वा उक्साउने।

    ४. नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न तत्परता: प्रेस स्वतन्त्रता वा प्रदर्शन गर्ने अधिकारमाथि प्रहार गर्ने ।

    यो सँगै जब भ्रष्टाचार र बिचौलिया को संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लग्दछ। हामी दुई महिना भन्दा लामो समय देखि “भिजिट भिसा” को नाम मा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराख्दा, “लिचीबारी” बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो, कुलिंङ पिरियडको बदमासी को जिम्मेवारी लिनु पर्ने निष्कर्ष निस्कियो। र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज लाई निस्तेज पार्न प्रयास हुन्छ । केही दिन अगाडि एयरपोर्टको अध्यागमन मा गृह मन्त्रालयका कर्मचारी ले अझै घुस लिइरहेको सूचना प्रहरी का पुग्छ तर गृह मन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।

    लोकतन्त्र मास्न खोज्नेहरू:

    • आफू अनुकूलका निर्वाचन कानुन बनाउँछन्।
    • न्यायपालिका को स्वतन्त्रलाई कुण्ठित पार्छन् ।
    • कार्यकारी अधिकार बलियो बनाउँछन्।
    • मिडिया माथि नियन्त्रण गर्न खोज्छन्।

    र पनि प्रधानमन्त्री ज्यू भन्नु हुन्छ लोकतन्त्र विरोधी शक्ति हरू संसद् अवरुद्ध गरिराखेका छन्।
    प्रधानमन्त्री ज्यूलाई मेरो अनुरोध “How Democracies Die” एक पटक पढनुहोस , अनि आफू र आफ्नो सरकारले ले एक वर्ष देखि गरेका कामगरुसँग मूल्याङ्कन गर्नुहोला ।

    हामी त सु-शासन होस, छानबिन होस, भ्रष्टाचारी हरू मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौ। तपाई के चाहनुहुन्छ?
    हाम्रो आन्दोलन जारी छ।

  • बानियाले विश्वासकाे मत माग्दा कांग्रेसका १४ सांसद लिएर बहादुर काठमाडौंमा

    बानियाले विश्वासकाे मत माग्दा कांग्रेसका १४ सांसद लिएर बहादुर काठमाडौंमा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनले अपराह्न ४:०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

    तर, निवर्तमान मुख्यमन्त्री बहादुर लामा पक्षले आफ्नो अडान नछाड्दा मुख्यमन्त्री बानियाँ अप्ठ्यारोमा परेका छन् । लामासहित कांग्रेसका १४ सांसद यतिबेला काठमाडौंमै छन् ।

    लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने बताएपछि लामाले राजीनामा दिएका थिए ।

    तर, बानियाँले सहमति कार्यान्वयन नगरेपछि लामा समूह रुष्ट छ । लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

    बानियाँले सहमति लत्त्याएको भन्दै सभापति देउवाको निर्देशन समेत नमानी लामा समूह अहिलेसम्म काठमाडौंमै छ । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भए पनि आफूहरू काठमाडौंमा रहेको लामा समूहका सांसद गोविन्द लम्सालले बताए ।

    उनले भने, ‘हामी अहिलेसम्म काठमाडौंमै छौँ । पार्टी सभापति देउवासँग सम्पर्क भइरहेको छ । हामीले कुराकानी गरिरहेका छौँ ।’

    तपाईँहरूले काठमाडौं बसेर विश्वासको मत लिने मिति सार्न प्रस्ताव गर्नुभएको हो ? भन्ने जिज्ञासा उनले भने, ‘हामी अहिलेसम्म काठमाडौंमै छौँ भनेपछि आफैँ बुझ्नुस् न। हाम्रो माग सबै तपाईंहरुलाई थाहा छँदैछ ।’

    कांग्रेस र एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।

    लामा पक्षले यसअघि नै सभापति देउवालाई नै भेटेर आफ्नो माग सम्बोधन नभए सामूहिक राजीनामा दिनेसम्मको चेतावनीसमेत दिइसकेका छन् ।

  • कांग्रेसभित्रको किचलोले विश्वासको मतको कार्यसूची सर्न सक्छ : मन्त्री थापा

    कांग्रेसभित्रको किचलोले विश्वासको मतको कार्यसूची सर्न सक्छ : मन्त्री थापा

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपाली कांग्रेसको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारक भएको बताएका छन् ।

    मंगलबार नेपाल प्रेस सोसाइटी भक्तपुरको साक्षात्कार कार्यक्रममा थापाले कांग्रेसभित्र दश-दश महिनामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सोही अनुसार बहादुर सिंह लामाको सरकार विस्थापित भई इन्द्रबहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको बताए ।

    थापाले भने, ‘स्थायित्व भएकै कारण भारतमा विकास सम्भव भएको हो । मोदीले गुजरातलाई विकासको मोडल बनाएपछि नै प्रधानमन्त्री बन्न सफल भए ।’

    कांग्रेसभित्रको मतभेद अझै नटुंगिएकाले आज हुने भनिएको विश्वासको मत अर्को दिन सारिन सक्ने सम्भावना बढेको थापाले बताए । बागमतीमा बारम्बार सरकार परिवर्तनका खेल चलिरहेकाले जनतामा प्रदेशप्रति नै नकारात्मक सन्देश गएको र प्रदेश सरकारले गरेका राम्रा काम पनि ओझेलमा परेको उनको जिकिर छ ।

  • सरकारसँग बिच्किएका दुई महामन्त्रीसँग मेरियटमा गृहमन्त्रीको ‘डिनर मिटिङ’

    सरकारसँग बिच्किएका दुई महामन्त्रीसँग मेरियटमा गृहमन्त्रीको ‘डिनर मिटिङ’

    काठमाडौं । सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र विमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले कांग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ बेग्लै संवाद गरेका छन् ।

    होटल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग गृहमन्त्रीले लामो छलफल गरेका छन् । छलफलका एजेण्डाबारे दुवै पक्षले सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र भनेका छन् ।

    पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ । यद्यपि गृहमन्त्रीनिकट स्रोतले भने उक्त छलफललाई ‘डिनर मिटिङ’ भनेको छ ।

    गृहमन्त्री र महामन्त्रीद्धयबीच मेरियटमा करिब तीन घण्टाको छलफलपछि राति साढे १० बजे बाहिरिएका थिए । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा रहेका महामन्त्री थापा पछिल्लो समय बालुवाटार बैठकमा जान छाडेका छन् ।

    निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्ने संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि कांग्रेस नेतृत्व दबाब छ ।

    सभापति देउवाले महामन्त्रीद्धयसँग छलफल गर्नुअघि गृहमन्त्रीले उनीहरूसँग भेटेर समग्र विषयमा कुराकानी गरेको बताइएको छ ।

  • वीपी प्रतिष्ठानबाट एमाले उम्मेदवार आउट, कांग्रेसका दाबेदारबीच मात्रै आज प्रतिस्पर्धा

    वीपी प्रतिष्ठानबाट एमाले उम्मेदवार आउट, कांग्रेसका दाबेदारबीच मात्रै आज प्रतिस्पर्धा

    काठमाडौं । दलीय भागबन्डाका आधारमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने क्रममा आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छनौट अन्तर्वार्ता (प्रस्तुतीकरण) हुँदैछ ।

    एमालेले उपकुलपति बनाउनका निम्ति तयार पारेको उम्मेदवार प्रा.डा सञ्जीव शर्मा संक्षिप्त सूची (सर्टलिष्ट) बाटै बाहिरिएपछि कांग्रेस समर्थक उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । त्यसका निम्ति डा रामेशराज कोइराला, प्रा.डा विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा पशुपति चौधरी, प्रा.डा रोहितप्रसाद यादव, प्रा.डा कृष्णकुमार राई र प्रा.डा प्रल्हाद कार्कीबीच प्रतिष्पर्धा छ ।

    प्रतिष्पर्धीमध्ये मुटुका वरिष्ठ शल्य चिकित्सक डा.रामेशराज कोइराला शुरुमा बलिया दाबेदार मानिएका थिए । तर, सामाजिक सञ्जालमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका विषयमा नकारात्मक टिप्पणी गरेका कारण उनको स्थिति खस्किएको स्रोतले जनाएको छ ।

    उनको पक्षमा कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेल सकारात्मक थिए ।  यसअघि उनले गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा पनि आवेदन दिएका थिए । तर कांग्रेस संस्थापनकै अरुचीका कारण नियुक्ति पाएनन् । उनी कांग्रेसभित्र गगन प्रदिप र विश्व प्रकाश पक्षधर मानिन्छन् ।

    त्यसैले सन् २००० देखि त्यहीँ कार्यरत प्रा.डा विक्रमप्रसाद श्रेष्ठको स्थिति बलियो देखिएको छ । उनले सन् २०१२ देखि २०१७ सम्म शिक्षाध्यक्षको रूपमा काम गरिसकेका छन् । स्वास्थ्य मन्त्रीको लागेमा डा.कोइरालाको सम्भावना बढी हुनेछ । डा.कोइराला प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक मानिन्छन् ।

    अर्का प्रतिष्पर्धी प्रा.डा पशुपति चौधरी पनि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै अर्थोपेडिक प्रोफेसरका रूपमा काम गरेका व्यक्ति हुन् । पछि उनी रामराज स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण समितिको अध्यक्षका रूपमा नियुक्त भए । एक वर्षदेखि उनी बीपीको जिम्मेवारीबाट अलग छन् ।

    प्रा.डा प्रल्हाद कार्की अवकाश भइसकेका र विगतमा अत्यधिक विवादमा मुछिएका व्यक्ति हुन् । उनी ८ महिनाका लागि कायममुकायम उपकुलपति हुँदा प्रतिष्ठानमा दुईपटक हडताल भयो । एक एक महिनाका दरले दुईपटक हडताल हुँदा प्रतिष्ठानलाई २५ करोड घाटा लागेको थियो । हजारौं सेवाग्राही त्यसबाट प्रभावित भएका थिए ।

    डा रोहित यादव सबभन्दा जुनियर प्रतिष्पर्धी हुन् । प्रशासनिक अनुभवको अभावका कारण उनी छनौट हुने सम्भावना न्यून छ । प्रा.डा कृष्णकुमार राई हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर हुन् ।

    नियुक्तिका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी बनाइएको छ । त्यसमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य रहेका छन् ।

  • कांग्रेस सांसद गौतमको चेतावनी- सरकारविरुद्ध सत्याग्रह बस्छु (भिडिओ)

    कांग्रेस सांसद गौतमको चेतावनी- सरकारविरुद्ध सत्याग्रह बस्छु (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्दियाको आयोजना सुटुक्क पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पु¥याइएको भन्दै सत्याग्रहको बस्ने घोषणा पनि गरे ।

    उनले भने, ‘अन्याय भयो सभामुख महोदय, सरकार सुन्दा पनि सुन्दैन, देख्दा पनि देखेन । बर्दियामा भएको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेलधुरा पु¥याइयो ।’

    उनले आफूले पटक पटक भनेपनि सरकारले नसुनेको दुखेसो पोखे ।

    उनले थपे, ‘मैले बारम्बार सदनमा भनेँ, तर सरकार सुन्दैन, यो के गर्न खोजेको ? सरकारले मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारका विरुद्धमा आफ्नै सांसद पुनः सत्याग्रहको रूपमा उभिन्छु। म घोषणा पनि गर्न चाहन्छु ।’

     

  • शेखरको प्रश्न- सञ्चारमन्त्री मातहत राख्नेगरीको मिडिया काउन्सिल किन चाहियो ?

    शेखरको प्रश्न- सञ्चारमन्त्री मातहत राख्नेगरीको मिडिया काउन्सिल किन चाहियो ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारमन्त्रीको मातहत रहने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको भन्दै यसको कुनै औचित्य नरहेको बताएका छन् ।

    स्याङ्जामा आयोजित कार्यक्रममा उनले यो विधेयक केही स्वार्थ समूहको चलखेलमा ल्याउन लागेको टिप्पणी समेत गरे ।

    ‘अहिले मिडिया विधेयकहरू आउँदैछ । यो सबै सरकारको नेतृत्वमा जकडिएको छ । सञ्चारमन्त्रीको मातहतमा ल्याउने भए मिडिया काउन्सिल नराखे हुन्छ, किन चाहियो ?’

    प्रजातान्त्रिक समाजवाद नभए देश अधोगतितिर जाने उनको भनाइ छ ।

    बहुविवाहसम्बन्धी कानूनबारे भइरहेको चर्चा र बहसप्रति पनि उनले ध्यानाकर्षण गराए ।

    ‘सबैभन्दा पहिले लोकतन्त्र अत्यन्तै महत्वपूर्ण छ । समाजवादमात्र भनेर पुग्दैन, त्यो कम्युनिष्टले भन्ने कुरा हो । हामीले बहुलवादको कुरा गरेका थियौं संविधानमा लेख्न माओवादीले मानेनन्’, कोइरालाको भनाइ थियो ।

    टिकटक र रिल्स हेरेर बनाउने विचारले बिगार्ने भन्दै उनले थपे, ‘विचार त अखबारहरू पढेर पो बनाउने हो त । एक मिनेटको कुरा, आधा मिनेटको कुरा हुन्छ त्यसले विचार बनाउन थाल्यो भने कस्तो विचार बन्छ ? सामाजिक सञ्जालमा नलेख्नुस् भन्दिनँ लेख्नुस्, हेर्नुस् । आजकाल इन्टरटेन्मेन्टको स्रोत पनि हो ।’

  • संसदबाट कानूनमन्त्रीको प्रष्टोक्ति- बहुविवाहलाई अनुमति दिने कुनै विधेयक आउँदैन

    संसदबाट कानूनमन्त्रीको प्रष्टोक्ति- बहुविवाहलाई अनुमति दिने कुनै विधेयक आउँदैन

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर चौरसियाले बहुविवाहलाई अनुमति दिने खालको कुनै पनि विधेयक सरकाबाट संसदमा पेश नहुने स्पष्ट पारेका छन् ।

    प्रतिनिधिसभाको शून्य, आकस्मिक र विशेष समयमा सांसदले उठाएको बहुविवाहसम्बन्धी चासोबारे जवाफ दिँदै उनले समाजलाई नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारको विधेयकमा स्थान नदिने प्रतिबद्धता जनाए ।

    मुलुकी अपराध संहिता लगायतका संहितामा देखिएका कठिनाइ समाधान गर्न सरकारले संशोधनको पहल गर्दा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘बहुविवाह गर्न पाउने’ भन्दै समाचार आएको भन्दै मन्त्री चौरसियाले त्यस्तो दाबी गलत भएको बताए ।

    ‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आम मानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ । तर, समाजलाई नकारात्मक असर पार्ने बहुविवाह लगायतका कुनै पनि विधेयक संसदमा पेश हुँदैन’, उनले भने ।

    मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि संहिता, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, देवानी संहिता र देवानी कार्यविधि संहितामा समयानुकूल सुधारका लागि सुझाव संकलन भएपछि मस्ष्यौदा तयार गरिएको उनले जानकारी दिए ।

    उनका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा.आनन्द मोहन भट्टराई संयोजकत्वको अध्ययन समिति र तत्कालीन महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल संयोजकत्वको कार्यदलका प्रतिवेदनलाई आधार मानेर संशोधन अघि बढाइएको हो ।

    मन्त्री चौरसियाले सरकारले तयार गरेको मस्यौदा मन्त्रिपरिषदको विधेयक समितिमा हालै छलफल भएको उल्लेख गर्दै त्यही समितिबाट बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने माफीजस्ता विषयमा थप अध्ययन आवश्यक ठहरिएको बताए ।

    उनका अनुसार त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ, जसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि छन् ।

    ‘माननीय सांसदहले राखेका सुझावकै आधारमा परिमार्जन हुनेछ । समाजलाई प्रतिकूल असर गर्ने कुनै विधेयक नआउने कुरा स्पष्ट पार्न चाहन्छु ।’

    मन्त्री चौरसियाले भने । उनले संशोधन प्रक्रियामा सांसद र सरोकारवालाको सुझावलाई गम्भीरताका साथ लिइएको बताउँदै विधेयकलाई थप परिष्कृत गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

     

  • रविकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् : विश्वप्रकाश

    रविकै पालामा सबैभन्दा धेरै भिजिट भिसामा गएका रहेछन् : विश्वप्रकाश

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे ।

    पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको शर्माले बताए ।

    उनले रास्वपालाई भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ?’

    उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे ।

  • राजीनामा माग्दै रामहरिलाई रास्वपाको प्रश्न- यो नालायकीपनको जिम्मा कसले लिने ? (भिडिओ)

    राजीनामा माग्दै रामहरिलाई रास्वपाको प्रश्न- यो नालायकीपनको जिम्मा कसले लिने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समितिको प्रतिवेदनपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा अब पदमा बस्न नमिल्ने बताएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले प्रतिवेदनमा नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने बताए।

    उनले भने, ‘कुलिङ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ कसले दिने ? यो जिम्मेवारीपनको जवाफ कसले दिने ?’

    उनले नाम लेखिएको छैन भनेर उम्किन नमिल्ने भन्दै अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने भनेर प्रश्न समेत गरे।

  • माओवादीपीडित भन्दै पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरी अमेरिका पुगेकामाथि कांग्रेसको निगरानी

    माओवादीपीडित भन्दै पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरी अमेरिका पुगेकामाथि कांग्रेसको निगरानी

    रूपन्देही । नेपाली कांग्रेसले नक्कली द्वन्द्व पीडितको नाममा फाइदा लिने गरी रोल्पामा पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको भन्दै सचेत गराएको छ ।

    कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र विभिन्न तहको नक्ली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी आफू कांग्रेसको सदस्य भएको तथा कांग्रेसको गतिविधिमा संलग्न भएको कारण माओवादी कार्यकर्ताले दु:ख र धम्की दिएकाले नेपालमा बस्न नसक्ने भन्दै अमेरिकालगायतका देशमा आउनुपरेको भनी सिफारिस बनाएको र बनाउने प्रक्रियामा रहेको बुझिएको कांग्रेस रोल्पाले जनाएको छ ।

    जिल्ला सभापति किशोरकुमार आचार्यले विज्ञप्ति जारी गर्दै यसरी नक्कली सिफारिस बनाइएका वा प्रक्रिया अघि बढाइएकाहरूको विवरणहरू पत्ता लगाई आवश्यक कारबाही थाल्ने बताएका छन् ।

  • रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

    रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमन्त्री छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।

    हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।

    ‘हिजो समयाभावका कारणले यो विषयमा छलफल गर्न भ्याइएन । अर्को वैठकमा थप छलफल गरेर विधान संसोधन हुन्छ,’ उनले भने ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।

    बैठकले रुपन्देहीमा उपचुनाव लड्ने हेतु पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गर्‍यो ।

  • मुख्यमन्त्री बानियाँले लिए शपथ : यस्तो बन्यो बागमती सरकार

    मुख्यमन्त्री बानियाँले लिए शपथ : यस्तो बन्यो बागमती सरकार

    हेटौँडा । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् ।

    सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ ।

    नेपाली कांग्रेसबाट शपथ भएका मुख्यमन्त्री र मन्त्रीहरू

    १. इन्द्रबहादुर बानियाँः मुख्यमन्त्री

    २. कृष्णकुमार तामाङः खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय

    ३. शिवराज अधिकारीः बिना विभागीय मन्त्री

    नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू

    १. मधुसुदन पौडेलः कृषि तथा पशुपंछी विकास मन्त्री

    २. डा. दिनेश चन्द्र देवकोटाः भौतिक पूर्वाधार विकासमन्त्री

    ३. जयराम थापाः श्रम रोजगार तथा यातायात मन्त्री

    ४. भरतबहादुर केसीः वन तथा वातावरणमन्त्री

    ५. किरण थापाः स्वास्थ्य मन्त्री

    ६. बिन्दु श्रेष्ठः उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री

  • संसदीय समितिमा रामहरिको बयान: त्रुटि भएको हो, तर मबाट होइन

    संसदीय समितिमा रामहरिको बयान: त्रुटि भएको हो, तर मबाट होइन

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको छेडखानीमा त्रुटि भएको स्वकारेका छन्। संसदीय छानबिन समितिलाई दिएको बयानमा त्रुटि भएपछि आफू सुरुदेखि नै पक्षमा रहेको भन्दै आफूबाट त्रुटि नभएको दाबी गरेका छन्।

    उनले विशिष्ट र प्रथम श्रेणीका कर्मचारी कुलिङ पिरियड हटाउन बिन्ती गरेको भएपनि जेठ २ गतेको समितिको बैठकमा राजीनामा भन्ने शब्द समेत थप गरी कुलिङ पिरियडको व्यवस्था पारित गरेको बताएका छन्।

    उनको बयान जस्ताको तस्तै-

    ‘निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा आइसकेपछि यो कानुन देशको संविधान पछिको अति नै महत्त्वपूर्ण कानुनको रूपमा लिइएको हुँदा छिटो र राम्ररी निर्माण गरौँ भन्ने भई २०८१ भदौ २० गतेको दिनदेखि नै यसलाई छलफल सुरुवात गयौँ। दफावार छलफलका लागि उपसमितिलाई नै जिम्मेवारी दिएका थियौँ।

    कुलिङ अफ पिरियड किन राखुपर्‍यो भन्ने सम्बन्धमा व्यापक छलफल भई राजनीतिक नेतृत्वसँग विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीले व्यक्तिगत फाइदाका निम्ति बार्गेनिङ गर्ने राजनीतिक व्यक्तिलाई प्रभाव पारी अवकाश पछि नियुक्ति हुने परिपाटीलाई रोक्न आवश्यक सम्झेको हो।

    विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरू समितिको छलफल बैठकमा उपस्थित भई यति बिन्ती छ यो कुलिङ पिरियड चाहिँ हटाइदिनुहोस् यति अनुरोध गयौँ। भनेर अन्तिम मिटिङ जुन दिन समितिले प्रतिवेदन पारित गर्ने दिन थियो त्यसबेलासम्म मुख्य सचिव तथा सचिवहरू, विशिष्टहरू विरोधमै हुनुहुन्थ्यो। जेठ २ गतेको समितिको बैठकमा राजीनामा भन्ने शब्द समेत थप गरी कुलिङ पिरियडको व्यवस्था पारित गरेको हो।
    जेठ ६ गते अनौपचारिक बैठकमा माननीय मन्त्री रघुजी पन्त माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता माननीय लीलानाथ श्रेष्ठ र माननीय दिलेन्द्र बडू समेत बस्यौँ। त्यही समयमा माननीय रघुजी पन्तकोमा एउटा फोन आयो र त्यसपछि त्यो दिन हस्ताक्षर नभई रोकिएको अवस्था हो।

    राज्य व्यवस्था समितिबाट उपसमितिले पेस गरेको प्रतिवेदनमा एक वर्षको सट्टा २ वर्ष थप गरी कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्था पारित गरिएको हो। परिमार्जित सहित भएका कुराहरूको लेखे जिम्मा र त्यसको प्रभाव एउटा दफा थपेपछि त्यसको कुन दफामा असर पर्छ भन्ने सम्बन्धमा कानुन र सम्बन्धित मन्त्रालयले समेत हेर्नु पर्ने हुन्छ। निजामती र सरकारी भन्ने दुवै कुलिङ् अफ पिरियडमा राख्नुको कारण सरकारको सुविधा लिएकाहरू सबैलाई समेट्न खोजिएको हो।

    निश्चय नै त्रुटि नभएको भन्ने होइन तर मबाट होइन। म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु, भोलि पनि राष्ट्रिय सभाले यो राखे प्रावधान ल्यायोस् भन्ने पक्षमा छु। मस्यौदामा कुलिङ अफ पिरियड को व्यवस्था राखेपछि त्यसपछि पर्ने असर र प्रभावका विषयमा सम्बन्धित मन्त्रालयले हेर्ने हो भन्ने समेत बेहोराको मिति २०८२ असार ३२, साउन १ र ६ मा समिति समक्ष उपस्थित भई व्यक्त गर्नु भएको भनाई।”

  • मकवानपुरमा कांग्रेसलाई ब्युँताएका बानियाँ- व्यवसायीदेखि मुख्यमन्त्रीसम्मको यस्तो छ यात्रा

    मकवानपुरमा कांग्रेसलाई ब्युँताएका बानियाँ- व्यवसायीदेखि मुख्यमन्त्रीसम्मको यस्तो छ यात्रा

    हेटौँडा । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री भएका इन्द्रबहादुर बानियाँ पूर्वी मकवानपुरबाट राजनीतिमा उदाएका व्यावसायिक घरानाका सदस्य हुन् । तर, उनको राजनीतिक भूगोल भने पश्चिम मकवानपुर बनेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट दोहारिएर प्रदेशसभा सदस्य निर्वाचित बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

    उनी २०७४ को प्रदेशसभामा पनि मकवानपुर-२ को ‘ख’ बाटै निर्वाचित भएका थिए । २०७४ सालमा नेकपा एमालेका नेता राजाराम स्याङ्तान र २०७९ मा एमालेकै नेता लालबहादुर थापालाई पराजित गरेर प्रदेशसभामा प्रवेश गरेका बानियाँ बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका पहिलो र तेस्रो नेता हुन् । बीचमा बहादुरसिंह लामाले उनलाई पराजित गरे पनि साउनको दोस्रो साता उनी फेरि लामालाई पराजित गरेर संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका लागि पक्का भएका हुन् ।

    २०१५ सालको आमनिर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको १ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकसम्म संसदीय निर्वाचनमा मकवानपुरमा परिणाम ल्याउन नसकेको अवस्थामा बानियाँ मकवानपुरमा विजयी हुने पहिलो कांग्रेसी अनुहार हुन् ।

    नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य बनेर पार्टी राजनीतिमा होमिएपछि बानियाँले ५५ वर्षपछि मकवानपुर-१ मा २०७० को निर्वाचनमा आफूलाई विजित गराए भने त्यसयता उनी लगातार प्रदेश सभा झरेर विजित हुँदै मुख्यमन्त्रीको दौडमा प्रथम भएका छन् ।

    २०७४ मा मकवानपुर २ (ख) बाट उनी वामपन्थी गठबन्धनका उम्मेदवार नेकपा एमालेका राजाराम स्याङ्तानलाई १ हजार ४ सय ११ मतले हराउँदै प्रदेशसभा सदस्य बनेका थिए । उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरेका थिए । स्याङ्तान संविधानसभा सदस्य भएर २०७० सालको निर्वाचनमा मकवानपुर-२ (ख) मा प्रदेश सभामा झरेका थिए भने बानियाँ मकवानपुर-१ बाट निर्वाचित भएर प्रदेश सभामै झरेर स्याङतानकै क्षेत्रमा होमिएर विजयी भए ।

    प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ एक सफल व्यवसायी हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा बुबा क्षेमबहादुर बानियाँ र आमा प्रेम कुमारी बानियाँको कोखबाट जन्मिएका उनी ३५ वर्ष भन्दा बढी समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    २०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति रहेका बानियाँ २०५१ सालमा नेविसंघ जिल्ला सहसचिव, २०५३ मा तरुण दल मकवानपुरको सचिव, २०५६ मा तरुण दल मकवानपुरको सभापति र २०५१ देखि निरन्तर कांग्रेस महासमिति सदस्य छन् । २०७२ मा नेपाली कांग्रेस मकवानपुरको सभापति निर्वाचित भएका उनी २०७० मा मकवानपुर-१ बाट निर्वाचित भएपछि २०७३ मा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन राज्यमन्त्री र २०७४ मा गृहराज्यमन्त्री बनेका थिए ।

    नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले २०७९ को निर्वाचनमा बागमती प्रदेशमा कांग्रेसलाई ठूलो दल बनाएका थिए । तर उनी संसदीय दलको नेता बन्न रोकिएका थिए र मुख्यमन्त्री हुने चाहना केही पर सरेको थियो । अन्ततः बानियाँ २०८२ चैत ७ गतेसम्मका लागि ७ महिना १९ दिन बागमती प्रदेशको मुख्यमन्त्री हुने भएका छन् । चैत ७ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले पाउने केन्द्रीय सहमति छ ।

  • कांग्रेसबाट मुख्यमन्त्री र एउटा मन्त्रीको मात्रै शपथ हुने सम्भावना

    कांग्रेसबाट मुख्यमन्त्री र एउटा मन्त्रीको मात्रै शपथ हुने सम्भावना

    हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

    दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका हुँदा कांग्रेसबाट मन्त्रीहरूको सूची तयार पार्न हम्मे भएको छ ।

    निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अल्पमतमा परेपछि गरेको ३ मन्त्री नियुक्तिमा रोकिएको शपथमा उनीहरू मन्त्री कायम रहने भनेर सहमति भएको भनिए पनि उनीहरूको आज शपथबारे कांग्रेस निधोमा पुगेको छैन । मुख्यमन्त्री र ७ मन्त्रालय भागमा परेको कांग्रेसमा बहादुर सिंह लामाका ३ मन्त्री राख्दा अरू मन्त्रीका आकांक्षी रोकिने भएकाले टुंगोमा पुग्न नसकेको हो ।

    दिउँसो ४ बजे हुने शपथमा मुख्यमन्त्री बानियाँ र धादिङका शिवराज अधिकारीको शपथ हुने पक्कापक्की हुँदा बहादुर सिंह लामाले नियुक्त गरेकामध्ये कुनै एक मन्त्री र अरू केही मन्त्री थप्ने या दुई जनाको मात्रै शपथ गर्ने भन्नेबारे कांग्रेसमा छलफल छलिरहेको छ । अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी छ । यो मन्त्रालय नै प्रदेश सरकारको प्रवक्ता हुने प्रचलन छ ।

    एमालेले पनि संसदीय दलको बैठक बसेर ६ वटा मन्त्रालयमा जाने मन्त्रीहरूको टुंगो लगाउँदैछ ।