Category: नेपाली कांग्रेस

  • राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार

    राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार

    काठमाडौं । २०७४ सालको संसदीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि संसदमा नेपाली कांग्रेसको उपस्थिति निकै कमजोर हुन पुगेको थियो ।

    प्रतिनिधिसभामा प्रत्यक्षका २३ र समानुपातिकका ४० गरी कांग्रेसका ६३ सांसद छन्। त्यस्तै राष्ट्रियसभामा संक्रमणीय प्रणाली अनुसार निर्वाचन गरिएकोले मात्रै कांग्रेसको प्रतिनिधित्व सम्भव भएको थियो ।

    ५९ सदस्यीय राष्ट्रियसभा गठन हुँदाको बखत कांग्रेसका १३ जना मात्रै सांसद थिए । उनीहरुमध्ये ७ जनाको कार्यकाल पहिलो २ वर्षमै सकिएको थियो । त्यसपछि राष्ट्रियसभामा कांग्रेसका सदस्यहरुको संख्या ६ जनामा सीमित हुनपुग्यो । उनीहरुमध्ये पनि २ जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।

    वाम गठबन्धन यथावत नै रहेको भए कांग्रेसका ४ जनाले मात्रै पूरा कार्यकाल राष्ट्रियसभाको सदस्यका रुपमा जिम्मेवारी वहन गर्ने थिए ।

    यद्यपि नेकपा विभाजन र पाँचदलीय गठबन्धनका कारण कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुँदैछ । जसबाट राष्ट्रियसभामा कांग्रेसले ६ सीट थप्दैछ ।

    प्रदेशगत मतभारको गणना गर्दा सबैजसो प्रदेशमा गठबन्धनका उम्मेदवारको जित निश्चित देखिन्छ । यस्तो अवस्थामा नेकपा एमालेका ८ जना राष्ट्रियसभा सदस्य गुमाउँदा कांग्रेस ६ जना थप्ने अवस्था बन्दैछ ।

    चार वर्षे कार्यकाल पूरा गरेर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीका ४—४ जना सदस्य बाहिरिँदा उनीहरुले माघ १२ को निर्वाचनबाट ५—५ जना सदस्य थप गर्ने देखिन्छ ।

    पाँचदलीय गठबन्धनमा कांग्रेसले ६, माओवादी र समाजवादीले ५—५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउने सहमति बनेको छ । मन्त्रिपरिषदबाट मनोनित हुने १ जना राष्ट्रियसभा सदस्य प्रधानमन्त्री देउवाले नै चयन गर्नेछन् ।

    कांग्रेसका उम्मेदवार को कस्ता ?

    नेपाली कांग्रेसले सोमबारको केन्द्रीय समिति बैठकबाट राष्ट्रियसभा सदस्यका ६ जना उम्मेदवारहरुको नाम टुंग्याएको छ । प्रदेश २ को सीट जसपाले पाएपछि अन्य ६ प्रदेशबाट कांग्रेसले उम्मेदवार तय गरेको छ ।

    प्रदेश १ बाट राष्ट्रिय सभा सदस्य बनेका गोपालकुमार बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । नेपाली कांग्रेस झापाका तत्कालीन सचिव बस्नेत सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा जिल्ला सभापति थिए । २०७४ सालमै देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएको थियो ।

    वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि कांग्रेसको उम्मेदवार बनेका कृष्णप्रसाद पौडेल कांग्रेसका मुख्यसचिव हुन् । सभापति देउवाका विश्वासपात्र मानिने पौडेल पनि राष्ट्रियसभा सदस्यमा सिफारिस भएर नेकपा सरकारको निर्णयका कारण रोकिएका थिए ।

    सभापति देउवाको पहिलो कार्यकालमा मुख्यसचिवका रुपमा दरिलो साथ दिएका पौडेल राष्ट्रियसभामा प्रवेश गरेपछि कांग्रेसले नयाँ मुख्यसचिव पनि पाउनेछ ।

    गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार रहेकी कमला पन्त १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेकी थिइन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट सम्बन्ध रहेकी पन्त गोरखाकी हुन् । उनी कांग्रेसको पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा संविधानसभा सदस्यसमेत हुन् ।

    लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार बनेका युवराज शर्मा बाँके कांग्रेसका पूर्वसभापति हुन् । विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय रहेका शर्माले लामो समयदेखि सभापति देउवालाई सघाउँदै आएका छन् ।

    कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस उम्मेदवार बनेकी दुर्गा गुरुङ शहीदपत्नी हुन् । उनका पति यज्ञ गुरुङ सुर्खेत कांग्रेसमा सक्रिय रहेका थिए । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकामा उपमेयरको प्रत्याशी रहेका यज्ञ माओवादी युद्धका क्रममा मारिएका थिए । वीरेन्द्रनगरस्थित घरमै माओवादीले गोली प्रहार गरी हत्या गरेका यज्ञकी पत्नीलाई राष्ट्रियसभामा टिकट दिएर कांग्रेस सहीद परिवारलाई समेटेको सन्देश दिएको छ ।

    सुदूरपश्चि प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका नारायणदत्त मिश्र १४औं महाधिवेशनमा प्रदेश सभापति पदमा पराजित भएका थिए ।

    संस्थापनइतर समूहबाट प्रतिस्पर्धा गरेका मिश्रलाई टिकट दिएर सभापति देउवाले राजनीतिक सन्देश दिन खोजेका छन् । मिश्र वरिष्ठ नेता पौडेल र नेता शेखर कोइरालासँग निकट मानिन्छन् । उनी कैलाली कांग्रेसका पूर्व सभापति हुन् ।

  • राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

    राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

    माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गाकुमारी गुरुङ र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    कांग्रेसले प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट गुरुङ र सुदूरपश्चिमबाट मिश्रलाई अघि सार्ने भएको हो ।

    कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्न सानेपामा केन्द्रीय समिति बैठक भर्खरै सुरू भएको छ ।

    आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो । जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच सिट पाउने सहमति भएको थियो । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सीट भागमा परेको छ ।

  • जिल्ला सभापतिलाई एसपीले गोली हान्न खोजेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा राजमार्ग अवरुद्ध

    जिल्ला सभापतिलाई एसपीले गोली हान्न खोजेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा राजमार्ग अवरुद्ध

    जनकपुरधाम । प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले सिरहाको जिरोमाइलमा राजमार्ग अवरुद्ध गरेका छन् ।

    एसपी पाण्डेले कांग्रेसका सिरहा सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने प्रयास गरेको भन्दै कांग्रेस कार्यकर्ताले राजमार्ग २ घण्टा अवरोध गरेका हुन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारलाई भेटेर पाण्डेलाई कारबाही गर्ने आश्वासनपछि राजमार्ग संचालमा ल्याइएको छ ।

    आन्दोलनमा उत्रेका कांग्रेस कार्यकर्ता सुरेन्द्र यादवले एसपी पाण्डे सोमबार राति सभापति यादवको जिरोमाइलस्थित घरमै आएर गोली हान्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘एसपी पाण्डेलाई निलम्बन गर्नुपर्छ, होइन् भने हामी कडा आन्दोलन गर्छौं ।’

    सरुवा गराइदिएको निहुँमा एसपी पाण्डे राति ७/८ जना प्रहरी लिएर सभापतिको घरमै गएको उनको दाबी छ । ‘तथानाम गालीगलोज गरे । सभापति यादव तल ओर्लिनुभएन । पछि सशस्त्रका एसपी र सीडीओ साहेबले एसपी पाण्डेलाई लिएर जानुभयो ‘, उनले भने ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेलाई आफूले फर्काएको कुरामा कुनै सत्यता नभएको बताए । उनले नेपाल प्रेससँग भने, ‘राति म जिरोमाइल गएकै छैन ।’ उनले एसपी पाण्डेमाथि लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको र थप कुरा पछि गर्ने बताए ।

    एसपी पाण्डेले आफ्नो चरित्रहत्याको प्रयास भएको प्रतिक्रिया दिए । उनले भने, ‘सभापति यादव घरको छेउछाउमा समेत गाको छैन । मविरुद्ध मनगढन्त कथा बुनिएको छ ।’

    पाण्डे आज बिहानै काठमाडौं हिँडिसकेका छन् ।

  • हारेका जिल्ला सभापतिकाे गाउँमा जितेका केन्द्रीय सदस्य बहिस्कार !

    हारेका जिल्ला सभापतिकाे गाउँमा जितेका केन्द्रीय सदस्य बहिस्कार !

    रूपन्देही । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका डा. गोविन्दराज पोखरेल जिल्लाकाे नाैबहिनी गाउँपालिकामा अमान्य भएका छन् ।

    नौबहिनी गाउँपालिका प्यूठानमा कांग्रेसले उनलाई बहिष्कार गर्ने निर्णय लिएको छ ।

    नेपाली कांग्रेस नौबहिनी गाउँपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

    जिल्ला अधिवेशनमा भएको झडपपछि कार्यकर्तालाई आतंककारीको संज्ञा दिएको, घाइते कार्यकर्ताको अस्पतालमा उपचार भइरहँदा मुकदर्शक बनिरहेको र झडपमा परी घाइते भएका कांग्रेसकै कार्यकर्तालाई सहानूभुति दिन नदिएको आरोप पोखरेलमाथि लगाइएको छ ।

    उनलाई गाउँपालिका क्षेत्रमा हुने कार्यक्रममा उपस्थित हुन नदिने गरी बहिष्कार गर्ने संस्थागत निर्णय भएको कांग्रेस नौबहिनी गाउँपालिकाका पार्टी सभापति देविराम पुनमगरले जानकारी दिए ।

    पोखरेल कांग्रेसकै हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । उनी यसअघिको निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा समेत उम्मेदवार थिए ।

    नौबहिनी गाउँपालिका काँग्रेसको जिल्ला सभापतिमा पराजित शिव रिजालको क्षेत्र हो । पोखरेल भने ऐरावती गाउँपालिका बासिन्दा हुन् ।

  • देउवाको सन्देशः शेखरलाई रोक्ने, बाँकीलाई बोक्ने !

    देउवाको सन्देशः शेखरलाई रोक्ने, बाँकीलाई बोक्ने !

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो २४ घण्टामा २ पटक कांग्रेसको केन्द्रीय समिति विस्तार गरे । दईपटकमा गरेर देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा एउटा स्पष्ट सन्देश दिएका छन्- त्यो हो शेखर कोइरालालाई पन्छाउने र बाँकी सबैलाई खुसी पार्ने ।

    १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले सबैलाई समेटेर जाने बताएका थिए । यद्यपि, दुई चरणको मनोनयनबाट प्रतिस्पर्धी खेमालाई ‘इग्नोर’ गरेर देउवा अघि बढ्न खोजेको देखिन्छ । निर्वाचनमा प्रत्यक्ष-अप्रत्यक्षरूपले सहयोग गर्नेदेखि आफ्नो समूहबाट पराजित पदाधिकारीका प्रत्याशीलाई देउवाले केन्द्रीय समितिमा ल्याएका देउवाले शेखरको समूहलाई बेवास्ता गरेका छन् ।

    केन्द्रीय समितिमा दुई तिहाईभन्दा बढी वर्चस्व भएका कारण देउवाको हरेक निर्णय बहुमतले सदर हुने अवस्था छ । यही कारण शेखर समूहलाई ‘साइज’ मा राख्ने रणनीति देउवाले अंगीकार गरेका हुन् । ‘सुरूदेखि नै भाउ दिन खोज्यो भनेपछि गार्‍हो पर्न सक्छ । केन्द्रीय समितिमा उपस्थिति हेर्दा शेखर पक्षलाई धेरै मिलाउनपर्ने देखिँदैन । त्यसैले सभापतिजी यसपटक सुरूदेखि नै प्रष्ट भएर हिँड्न खोज्नुभएको छ’, देउवानिकट एक नेताले भने ।

    कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् ।

    सभापति देउवाले आफ्नो टिमबाट उपसभापतिमा पराजित भएका विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र प्रदीप पौडेलसँगै सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीसम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनको चुनावी प्रक्रिया बहिष्कार गरेका रामचन्द्र पौडेल र चुनाव नलडी देउवाको प्रस्तावक बनेका कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    त्यस्तै पहिलो चरणमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि मनोनीत केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन् । सिंहको प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालादेखि प्रतिस्पर्धामै नउत्रिएका डा. नारायण खड्का, मीन विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

    कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् । उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाललाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छैनन् ।

    उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महेश आचार्यलाई पनि देउवाले मनोनीत गरेका छैनन् । आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरेकालाई मात्रै देउवाले २ चरणको मनोनयनमा समेटेका हुन् । देउवा पक्षका नेताहरूले यसलाई सभापतिले आफ्नो अधिकार प्रयोग गरेको रूपमा व्याख्या गरेका छन् भने कोइराला पक्षका नेताहरूले ‘गुटबन्दीको सुरूआत’ गरेको आरोप लगाएका छन् ।

    कांग्रेस नेता अर्जुनरसिंह केसी सभापतिले देउवाको निर्णयले ‘पहिलो गाँसमै झिँगा परेको’ टिप्पणी गर्छन् । पार्टीभित्रको प्रतिपक्षी शक्तिलाई पेलेर जाने नीति लिनु देउवाका लागि प्रत्युत्पादक हुनसक्ने केसीको भनाइ छ ।

    ‘महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा एक पक्षलाई निषेध गरेर जाने मनोवृत्ति सुरूमै देखिएको छ । कांग्रेसलाई एकताबद्ध बनाउने हो भने सभापतिजी त्यो मनोवृत्तिबाट बाहिर आउनुपर्छ । पार्टीभित्र फरक मत राख्नेहरूलाई पाखा लगाउने प्रयास गलत छ’, केसीले भने । उनले पदाधिकारीमा पराजित अरु नेताहरू केन्द्रीय सदस्य मनोनीत हुँदा महेश आचार्य, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई नजरअन्दाज गरिनु गलत भएको बताए ।

    सभापति देउवानिकट केन्द्रीय सदस्य जितजंग बस्नेतले भने निर्वाचित सभापतिले आफ्नो सहजता खोज्नु स्वभाविक भएको बताए । विधानले दिएको अधिकार प्रयोग गर्दा आलोचना गर्नुको औचित्य नभएको बस्नेतको भनाइ छ ।

    ‘सभापतिजीले वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरू सबैलाई समेट्नुभएको छ । एकताको सन्देश दिनुभएको छ । सबैजना अट्न सम्भव नहुन सक्छ । जितेको सभापतिले चलाउन पाउनुपर्यो नि । अहिलेदेखि नै विरोध गर्नुको अर्थ छैन,’ बस्नेतले नेपाल प्रेससँग भने ।

    विधानको प्रयोग भयो, तर विवेकको भएन : उपसभाति गुरुङ

    कांग्रेस उपसभापति धनराज गुरुङ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापति देउवालाई नै भएको बताउँछन् । विधानले दिएको अधिकार प्रयोग गरे पनि विवेकको प्रयोग गरे/नगरेको विषयमा चै मूल्यांकन हुनुपर्ने उनको भनाइ छ ।

    ‘उहाँले विधानले दिएको अधिकार प्रयोग गरेर आवश्यक ठानेका नेताहरूलाई मनोनीत गर्नुभयो । मनोनीत गर्दा एक पक्षलाई उहाँले वेवास्ता गर्नुभएको छ । विधानको पालना त भयो तर विवेकको पालना भएन कि ? यसलाई सबैले मूल्यांकन गर्नुपर्ला,’ गुरुङले नेपाल प्रेससँग भने । पार्टीलाई एकताबद्ध बनाएर लैजाने मूल जिम्मेवारी सभापतिकै हुने भन्दै उपसभापति गुरुङले आम नेता कार्यकर्ता र जनताले सभापतिको कामको मूल्यांकन गरिरहेको बताए ।

    विरोधीलाई बढी भाग दिनुभयो : सहमहामन्त्री यादव

    सभापति देउवानिकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव भने मनोनयन गर्दा प्रतिस्पर्धीलाई बढी महत्व दिइएको दाबी गर्छन् । देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सुजाता कोइराला र कल्याण गुरुङ देउवाको विकल्प खोज्ने नेताहरू रहेको यादवले बताए ।

    ‘देउवालाई हराउनैपर्छ भन्ने नेताहरूलाई नै उहाँले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । यसमा त बरु देउवाका मान्छेहरूलाई दुःख लाग्नुपर्ने हो । किनकी हिजोसम्म देउवाको विरोध गर्नेहरूलाई नै उहाँले मनोनित गर्नुभएको छ । सभापतिजीले सबैलाई समेट्न खोज्नुभएको होला’, यादवले भने ।

    मनोनीत गर्ने संख्या सीमित रहेकोले केही नेताहरू छुट्नसक्ने भन्दै यादवले सभापतिले उदारता देखाउँदा समेत विरोध गरिएको बताए ।

    ‘शेखरदाइले त सभापतिलाई धन्यवाद भन्नुपर्छ । सभापतिले सबैलाई समेट्न खोज्नुभएको छ । केही छुटेका नेताहरूलाई पनि छिट्टै समेट्नुहुन्छ होला । अहिले विरोध गर्नुपर्ने म केही देख्दिन’, यादवले नेपाल प्रेससँग भने ।

  • राष्ट्रियसभाको टिकट बाँड्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    राष्ट्रियसभाको टिकट बाँड्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट उम्मेदवार छनोट, संसदीय समिति लगायतका विषयमा छलफल हुने बताइएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस १९ गते मंगलबार मनोनयन दर्ताको कार्यसूची छ ।

    केन्द्रीय समिति बैठक बोलाउनुअघि सभापति देउवाले शनिबार र आइतबार गरी २ चरणमा १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    कांग्रेस विधानमा राष्ट्रियसभा सदस्यको उम्मेदवार संसदीय समितिबाट छनोट गर्नुपर्ने भएपनि समय अभावका कारण केन्द्रीय समिति बैठकबाट म्याण्डेट लिएर शीर्ष तहबाटै निर्णय गर्ने तयारी सभापति देउवाले गरेका छन् ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा निर्वाचन : टिकट बाँड्न कांग्रेसले बनाउला संसदीय समिति ?

  • कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

    कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।

    आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् । उनले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।

    प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् ।

    गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

  • सभापतिमा पराजित कल्याण गुरुङसहित थप तीनजना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    सभापतिमा पराजित कल्याण गुरुङसहित थप तीनजना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

    कांग्रेस विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) को अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    गुरुङ १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कृष्ण सिटौलानिकट मानिने पौडेल देउवा प्यानलबाट महामन्त्री उठेकोमा पराजित भएका थिए । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही पनि देउवा प्यानलबाट चुनाव लडेका थिए ।

    यसअघि हिजो देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

  • टिकट माग्न जानेलाई देउवाले भने- गाउँमा अझै एमाले बलियो छ, गठबन्धन तोड्ने कुरा छैन

    टिकट माग्न जानेलाई देउवाले भने- गाउँमा अझै एमाले बलियो छ, गठबन्धन तोड्ने कुरा छैन

    काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् ।

    आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएर पठाउने गरेका छन् ।

    पछिल्लो पटक रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए ।

    उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए । राष्ट्रियसभा निर्वाचनमात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिनँ, गाउँ गाउँमा एमाले बलियो छ, गठबन्धन छाड्ने कुरा छैन, भोलि वागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो । एमाले तल्लो तहमा फुटेकै छैन भन्ने उहाँको कुरा थियो ।’

    देउवालाई भेट्न कांग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्वसभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरु भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसीलगायतका नेता बालुवाटार पुगेका थिए ।

    देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै कांग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमाले कमजोर भएको छैन, पहिले कांग्रेसलाई गाउँमा बलियो बनाउँ अनि एक्लै लड्ने कुरा गरौं’ देउवाको भनाइ उदृत गर्दै ती नेताले भने ।

    देउवालाई सभापतिमा जितेपछि बधाई दिन भनेर गएको कांग्रेस रामेछापको टोलीले खड्कालाई टिकट मागेको हो । भेटपछि कांग्रेस नेताहरु जिल्ला कार्यसमिति बैठक बस्न शनिवार रामेछापको टोकरपुर पुगेका थिए ।

  • कांग्रेसमा मनोनयनको तरंग, देउवामाथि फेरि गुटबन्दी गरेको आरोप

    कांग्रेसमा मनोनयनको तरंग, देउवामाथि फेरि गुटबन्दी गरेको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको दफा उल्लेख गर्दै शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे । कांग्रेस विधानको दफा २१ मा केन्द्रीय सभापतिले समावेशी प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने उल्लेख छ । सभापति देउवाले पहिलो चरणमा १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपनि अझै २३ जनाको मनोनयन बाँकी छ ।

    दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित भएको प्रमाणपत्र लिएपछि सभापति देउवाले पार्टीभित्र सबैलाई समान व्यवहार गरिने बताएका थिए । ‘मलाई मत नदिनेलाई पनि समेटेर लैजान्छु’,देउवाले भनेका थिए । तर विहानीले दिनको संकेत गर्छ भनेझै देउवाको पहिलो कदमले नै गुटबन्दीलाई प्रश्रय दिएको आरोप खेप्नुपरेको छ ।

    देउवाले महाधिवेशनको निर्वाचनमा सहभागी नभएका र आफूलाई सहयोग गरेकाहरुलाई मात्रै मनोनयनमा समेटेका छन् । नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने घोषणा गरेका रामचन्द्र पौडेल, दोस्रो चरणमा देउवालाई समर्थन जनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, देउवाको प्रस्तावक बसेका कृष्णप्रसाद सिटौला, देउवाकै प्यानलबाट उपसभापतिमा पराजित विजयकुमार गच्छदार र महामन्त्रीमा पराजित डा.प्रकाशशरण महत केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

    प्रतिस्पर्धा नगरी देउवाको चुनावी अभियान हाँकेका नेताहरु डा.नारायण खड्का, मीनबहादुर विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भए । देउवाका निकटतम प्रतिस्पर्धी डा.शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका कसैलाई पनि मनोनयनमा समेटिएको छैन ।

    सिंह प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालालाई केन्द्रीय सदस्य मनोनित गर्दा शेखर प्यानलका उपसभापति पदका उम्मेदवार डा.चन्द्र भण्डारी र महामन्त्रीका उम्मेदवार डा.मिनेन्द्र रिजाललाई देउवाले समेटेका छैनन् । उपसभापतिमा स्वतन्त्र प्रतिस्पर्धा गरेका महेश आचार्य र देउवा प्यानलबाटै महामन्त्रीमा पराजित प्रदिप पौडेललाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएन ।

    ‘प्रथमगाँसे मक्षिकापात’

    देउवाले विधानको अधिकार प्रयोग गरे पनि राजनीतिक रुपमा प्रतिस्पर्धी समूहलाई ‘पेलेर जाने’ नीति अंगीकार गरेको आरोप लागेको छ । नेता अर्जुननरसिंह केसीले देउवाको निर्णयले पहिलो गाँसमै झिगाँ परेको टिप्पणी गरेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफूलाई सघाउनेलाई मात्रै समेटेर देउवाले पार्टीभित्र पूर्वाग्रह साँधेको केसीको आरोप छ ।

    ‘प्रत्यक्ष परोक्ष रुपमा आफूलाई सहयोग गरेकाहरुलाई केन्द्री सदस्य मनोनित गर्दा महेश आचार्य, मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, प्रदीप पौडेल लगायतका नेताहरुलाई छुटाउँदा प्रथमगाँसे मक्षिकापात भयो’, केसीको भनाई छ । उनले मनोनयनको व्यवस्थाले पार्टीभित्र सबै पक्षलाई समेटेर एकताको सन्देश दिने अवसर दिएको भएपनि सभापतिले गुटबन्दीकै अभ्यास गरेको आरोप लगाए । ‘विधानले उहाँलाई दिएको अधिकार आफ्नालाई मात्रै बनाउन होइन । पार्टीभित्र सबैलाई समेट्न र साझा कदम चाल्नका लागि पनि हो । उहाँको निर्णयले उहाँ कांग्रेस होइन गुट चलाउन इच्छुक भएको देखियो’, केसीले नेपाल प्रेससँग भने ।

    सामाजिक सञ्जालमा बहस

    सभापति देउवाले केन्द्रीय सदस्यमा १० जना मनोनयन गरेको विषयमा सामाजिक सञ्जालमा कांग्रेस नेता कार्यकर्ताबीच पक्ष विपक्षमै बहस चर्किरहेको छ । उपसभापतिमा पराजित नेता डा. चन्द्र भण्डारीले ‘प्रजातान्त्रिक संसारमा आफूसँग फरक मत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीका रुपमा सम्मान गरिन्छ । प्रजातन्त्र व्यवहार हो भाषण होइन’, भण्डारीले लेखेका छन् ।

    त्यस्तै पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले त महाधिवेशनको प्रक्रियाबाटै अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले मनोनयन अस्वीकार गर्नुपर्ने टिप्पणी गरेका छन् । ‘राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले आफू सामेल नै नभएको महाधिवेशनबाट चुनिएको सभापतिको मनोनयनलाई स्वीकार्न कसरी मिल्छ ? हामी सबै उहाँबाट मनोनयनको अस्वीकृतिको घोषणाको प्रतीक्षामा छौं’, घिमिरेले फेसबुकमा लेखेका छन् ।

    सभापति देउवानिकट कार्यकर्ताहरु पनि सामाजिक सञ्जालमार्फत निर्णयको प्रतिरक्षामा उत्रिएका छन् । उनीहरुले सभापतिले विधानप्रदत्त अधिकार प्रयोग गर्दा विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । केन्द्रीय सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विधानले दिएको अधिकार सभापतिले आफ्नो विवेकअनुसार प्रयोग गर्ने हो । प्रतिस्पर्धामा हारेकाहरुले धैर्य गर्नुको साटो सभापतिलाई असफल बनाउन अहिलेदेखि नै आलोचना गर्नुको अर्थ छैन’, देउवानिकट कांग्रेस कार्यकर्ताहरुको धारणा छ ।

  • देउवाले १० जना मनोनयन गर्दा को-को परे ? (सूचीसहित)

    देउवाले १० जना मनोनयन गर्दा को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

    विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन् ।

    त्यस्तै उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाश शरण मत र उपसभापतिमा प्रकाशमान सिंहको प्यानलबाट पराजित सुजाता कोइराला पनि मनोनित भएका छन् ।

    मनोनित हुनेमा कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा समेत छन् । देउवा प्यानलबाटै पराजित महामन्त्री प्रदिप पौडेल भने मनोनित भएका छैनन् ।

    यस्तै नारायण खड्का पनि मनाेनयनमा परेका छन् ।

    त्यस्तै शेखर कोइरालाको प्यानलबाट उम्मेदवार उठेर पराजित भएका पदाधिकारी मनोनयनमा परेका छैनन् ।

  • लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

    लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

    रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी सभापतिमा संस्थापनइतर समूहबाट निर्वाचित अमर पुनले प्रत्यासी भरत कुमार शाहलाई दोस्रो वरीयतामा राखेका छन् । समितिको पहिलो बैठकले सभापतिमा पराजित बनेका शाहलाई प्रदेश समितिको दोस्रो वरीयतामा राख्ने निर्णय गरेको हो।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो। सोही अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुँदा संस्थापन समूहका उम्मेदवार रुपन्देहीका शाह पराजित बनेका थिए।

    कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचित पहिलो कार्यसमितिको बैठकले शाहलाई प्रदेश समितिको दोश्रो वरीयतामा राख्ने निर्णय गरेको हो। शुक्रबार प्रदेश समितिको पहिलो बैठकका निर्णयहरु जानकारी गराउँदै सभापति पुनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा एकजना विजयी हुँदा अर्को प्रतिस्पर्धी पराजित हुनु स्वभाविक भए पनि नेतृत्व चयन भएपछि सबैको सहकार्य र सहमतिबाट पार्टीलाई अगाडि बढाउन शाहलाई दोश्रो वरीयतामा राख्ने निर्णय गरिएको जानकारी दिए।

    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासको योजना अगाडि सार्ने कांग्रेसको योजना रहेको सभापति पुनले बताए। पुनले पछिल्लो समय युवाहरुमा राजनीतिप्रति वितृष्णा देखिएको अवस्थामा उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडि सार्ने बताए।

  • संविधान पक्षधर शक्तिबीच मेलमिलाप हुनुपर्छ : महामन्त्री थापा

    संविधान पक्षधर शक्तिबीच मेलमिलाप हुनुपर्छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिबीच सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन् ।
    राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध कांग्रेस आवश्यक रहेको बताएका हुन् ।

    ‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो । सुदृढ र एकताबद्ध कांग्रेसले मात्र त्यो आवश्यकता अनुरूपको जिम्मेवारी पूरा गर्नसक्छ’, थापाले भनेका छन् ।

    उनले कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा दु:खेका मनहरूलाई टाल्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने समेत उल्लेख गरेका छन् ।

  • तुल्सीपुर खानेपानीमा कांग्रेसका गिरीबन्धुको भिडन्त, ९ दलले कांग्रेसलाई छाड्दा गेहेन्द्र पक्ष बागी

    तुल्सीपुर खानेपानीमा कांग्रेसका गिरीबन्धुको भिडन्त, ९ दलले कांग्रेसलाई छाड्दा गेहेन्द्र पक्ष बागी

    दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै त्यसका बाछिटा दाङको राजनीतिमा देखिन थालेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिका नवनिर्वाचित दुई केन्द्रीय सदस्य सहोदर दाजु भाइ भए पनि गुट फरक परेका कारण त्यसको असर तुल्सीपुर खानेपानीको निर्वाचनमा देखिएको हो । अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको अवस्थामा कांग्रेसभित्रका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छैनन् ।

    दीपक गिरी र गेहेन्द्र गिरी दाजुभाइ हुन् । तर, केन्द्रको निर्वाचनमा दिपक शेखर कोइराला प्यानलबाट खुला केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने गेहेन्द्र शेरबहादुर प्यानलबाट खसआर्य कोटाबाट जितेका थिए ।

    खानेपानीमा दीपक गिरी प्यानलको काउन्टरमा गेहन्द्र गिरीको समूह सक्रिय भएका छन । कांग्रेस दाङ भित्र गेहेन्द्र र दीपकबीच गुटको लडाइँ चर्को छ ।

    तुल्सीपुर खानेपानीको अध्यक्ष कांग्रेसको भाग परेको छ । त्यसमा दीपक गरी निकट मानिने यमकान्त भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । उनी यातायात व्यवसायी पनि हुन् । यातायात व्यवसायी सुरेश हमाल नै अध्यक्ष भएको कांग्रेस तुल्सीपुरले भण्डारीलाई नै अध्यक्षको आधिकारिक उम्मेदवार बनायो । अब उनी कांग्रेसका मात्रै उम्मेदवार रहेनन् । उनी तुल्सीपुरमा क्रियाशील ९ दलका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । तर, उनलाई सर्वसम्मत बन्न नदिन उनको काउन्टरमा यातायात व्यवसायीलाई नै अगाडि सारियो । उनी हुन्, कांग्रेसभित्र गेहेन्द्र गिरीनिकट मानिने पवन बुढाथोकी ।

    अब ९ दलका उम्मेदवार दीपक गिरी प्यानलनिकट मानिने यमकान्त भणडारीसँग उनकै पार्टीभित्रका (गेहेन्द्र गिरीनिकट मानिने) पवनराज बुढाथोकीको चुनावी प्रतिस्पर्धा हुनेछ । अध्यक्षका अर्का उम्मेदवार दीपक धिताल नेपाली कांग्रेस वीपीका नेता हुन् । उनी यसअघिको खानेपानीको निर्वाचनमा आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेसभित्रकै उम्मेदवारविरुद्ध बागी हालेका थिए । उनले उक्त निर्वाचनम हार व्यहोरेका थिए । त्यसपछि उनले काँग्रेस पार्टी नै परित्याग गरेका थिए ।

    उपध्यक्षमा पनि कांग्रेसभित्रको लडाइँ छताछुल्ल देखिएको छ । ९ दलको गठबन्धनबाट उपाध्यक्षमा माओवादीको भागमा पारेको थियो । माओवादीले आफ्नो तर्फबाट उपाध्यक्षमा सिताराम शर्मालाई उम्मेदवार बनाएको छ ।

    अर्को उपाध्यक्षमा कांग्रेसका गेहेन्द्र गिरीनिकट मानिने गिरीधारी न्यौपानेले उम्मेदवारी हालेका छन् । उनको काउन्टरमा पूर्ण प्रसाद धिताल दीपक गिरी निकट मानिनेले उम्मेदवारी हालेका छन् । गिरीधारीले उम्मेदवारी फिर्ता लिए मात्रै धितालले उम्मेदवारी फिर्ता लिने अडान राखेपछि दुवैले उम्मेदवारी फिर्ता लिएनन् ।

    सचिव एमालेको भागमा परेको थियो । एमालेका सेवकराम भण्डारीलाई ९ दलको आधिकारिक उम्मेदवारका रूपमा अघि सारियो । तर, उनको काउन्टरमा एमालेकै दामोदर लामिछानेले उम्मेदवारी दिए । कोषाध्यक्ष विप्लवनिकट नेकपाको भागमा परेको थियो । पार्टीले भद्रबहादुर वलीलाई उम्मेदवारका रूपमा पठाएको छ । उक्त पदमा पनि ४ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेसका मेघराज न्यौपाने, माओवादी केन्द्रका कर्णबहादुर वली, कांग्रेसमै भोला थापाको उम्मेदवारी परेको छ । थापा गेहेन्द्र गिरीपक्षीय हुन् ।

    त्यस्तै २ जनाको कोटा रहेको पुरुष सदस्यमा तीनजनाको उम्मेदवारी परेको छ । पदमबहादुर खड्का, लक्ष्मण केसी र शोविन्द्र चन्दको उम्मेदवारी परेको छ । उनीहरु तीनजनाबीच निर्वाचन हुनेछ । आधिकारिक उम्मेदवार राप्रपाका लक्ष्मण केसी र राप्रपाका पदमबहादुर खड्का रहेका छन् । तीनजना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । तीमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

  • कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजले दिए त्रिविको उपप्राध्यापकबाट राजीनामा

    कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजले दिए त्रिविको उपप्राध्यापकबाट राजीनामा

    चौतारा । नेपाली कांग्रेसको जिल्ला सभापति उम्मेदवार बन्न सिन्धुपाल्चोकका एक नेताले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजीनामा दिएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले विश्वविद्यालयमा राजीनामा बुझाएका हुन् । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।

    कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुस २७गते हुँदैछ । लामा शेरबहादुर देउवा पक्षबाट सभापतिका उम्मेदवार बनेका छन् । उनलाई मोहन बस्नेतको साथ छ ।

    लिसंखुपाखर गाउँपालिकाका लामाले महाधिवेशन प्रतिनिधिमा मोहन बस्नेतपछि दोस्रो लोकप्रिय मत पाएका थिए । उनले एक महिनाअघिमात्र त्रिविबाटै ह्योल्मो समुदायको संस्कृति र परिवतिृत आयाम विषयमा पीएचडी गरेका थिए ।

    हालै उच्च अदालत र निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, शिक्षक र प्रध्यापकलाई राजनीतिक दलको संगठनमा बस्न र महाधिवेशन प्रतिनिधि बनेमा कारवाही गर्ने चेतावनी दिएपछि लामाले राजिनामा दिएका हुन् ।

    यसअघि कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका प्रमोदहरी गुरागाईले पनि उपप्राध्यापकबाट राजीनामा गरेका थिए ।

  • ‘वीपी मरेकै दिन मेलमिलाप नीतिको पनि दाहसंस्कार गरियो’

    ‘वीपी मरेकै दिन मेलमिलाप नीतिको पनि दाहसंस्कार गरियो’

    काठमाडौं । नेपाली कांग्रेसभित्र ‘कोइराला परिवार’ को आफ्नै कथा छ । कोइराला परिवारभित्र संघर्ष र सहकार्यका अनेक किस्सा छन् । १४ औं महाधिवेशनमा कोइराला परिवारभित्रको संघर्ष सतहमा आयो । सक्रिय राजनीतिमा रहेका तीन कोइराला तीनतिर लागे ।

    कांग्रेस सभापतिमा डा. शेखर कोइराला टिमसहित प्रतिस्पर्धा गरे । दाजु शेखरको टिममा नबसेर सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा प्रतिस्पर्धा गरिन् । सभापतिको रेस छाडेका डा. शशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवार बने र कुनै पनि समूहमा खुलेनन् ।

    २०७५ सालमा वीरगञ्ज पुगेका शेखर, सुजाता र शशांकलाई कांग्रेस कार्यकर्ताहरूले १ सय २१ किलोको एउटै माला पहिर्‍याइदिएका थिए । सक्रिय राजनीतिमा रहेका तीनै कोइरालाले एकैस्वरमा भने – अबको महाधिवेशनमा हामी एकताबद्ध रहन्छौं , नेतृत्व फेर्छौं ।

    प्रजातन्त्र पुनःस्थापना नहुँदै भारतीय भूमिकाको कडा आलोचना गरेका प्रकाश प्रजातन्त्र पुनःस्थापनापछि लामो समय निर्णायक भूमिकामा रहन पाएनन् । २०४८ को आमनिर्वाचनमा २ क्षेत्रबाट जितेर प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले छोडेको सुनसरीमा भएको उपनिर्वाचनमा प्रकाश उम्मेदवार बनेका थिए । उपनिर्वाचन जिते पनि सरकारमा रहेर काम गर्ने अवसर भने प्रकाशले पाएनन् ।

    न कोइरालाहरू एकताबद्ध रहे, न कांग्रेसमा नेतृत्व परिवर्तन भयो । शेखर, सुजाता र शशांकका समेत अभिभावक मानिने वीपीपुत्र प्रकाश कोइराला कांग्रेस महाधिवेशनबारे खासै गम्भीर देखिएनन् । कांग्रेसको प्रत्यक्ष राजनीतिबाट डेढ दशकअघि नै अलग्गिएका प्रकाश कांग्रेसमा कोइरालाहरू प्रतिस्पर्धाको कुनै औचित्य नै देख्दैनन् ?

    आफ्ना भाइबहिनीहरूको प्रतिस्पर्धाबारे लामो टिप्पणी गर्न उनले चाहेनन् । ‘हैन लडेको चैँ के को लागि हो ? कांग्रेसकै औचित्यमाथि प्रश्न उठेको बेला शेखर, सुजाता र शशांकको लडाइँको के अर्थ ?’, प्रकाशले प्रश्न गरे ।

    ०००

    पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको माहोल बन्दै थियो । २०४५ चैततिरको कुरा हो भारतले नेपालविरुद्ध नाकाबन्दी लगायो । भारतीय पक्षबाट आवागमन अवरोध गरिएपछि नेपालमा राजनीतिक वातावरण पनि खल्बलिँदै थियो । प्रजातन्त्र पुनःस्थापना माग गरेका दलहरूले नाकाबन्दीको विरोध गरेनन् । पञ्चायती व्यवस्थालाई गलाउन नाकाबन्दी उपयुक्त नै हुने नेपाली कांग्रेससमेतको बुझाइ देखियो ।

    त्यहीबीचमा कांग्रेस नेतासमेत रहेका वीपीपुत्र प्रकाशले बीबीसीमा अन्तर्वार्ता दिए । ‘भारतले नेपालसँग सार्वभौम राष्ट्रको व्यवहार गरेन । नाकाबन्दी गलत छ र सम्पूर्ण हिसाबले भत्सर्नायोग्य छ’, प्रकाशको टिप्पणी थियो ।

    प्रजातन्त्र पुनःस्थापना नहुँदै भारतीय भूमिकाको कडा आलोचना गरेका प्रकाश प्रजातन्त्र पुनःस्थापनापछि लामो समय निर्णायक भूमिकामा रहन पाएनन् । २०४८ को आमनिर्वाचनमा २ क्षेत्रबाट जितेर प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले छोडेको सुनसरीमा भएको उपनिर्वाचनमा प्रकाश उम्मेदवार बनेका थिए । उपनिर्वाचन जिते पनि सरकारमा रहेर काम गर्ने अवसर भने प्रकाशले पाएनन् ।

    २०५६ को निर्वाचनमा रौतहटबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । कांग्रेसले बहुमतको सरकार बनायो तर प्रकाशले मन्त्री बन्ने अवसर पाएनन् । कोइराला परिवारको आन्तरिक शक्ति संघर्षकै कारण प्रकाशले अवसर नपाएको बुझाइ कांग्रेस वृत्तमा छ ।

    ‘आजको राजनीतिमा वीपीको मेलमिलाप नीतिको सान्दर्भिकता कस्तो देख्नुहुन्छ ?’, यो प्रश्नमा प्रकाश अलि गम्भीर देखिए । वीपीसँगै मेलमिलापको नीति सकिएको उनको दाबी रह्यो । वीपीका राजनीतिक सहकर्मीहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसमेतले मेलमिलापको नीतिको अन्तर्यलाई नबुझेको महसुस प्रकाशले गरेका छन् ।

    आफ्नै काका गिरिजाप्रसादको समेत कडा आलोचकका रूपमा चिनिने प्रकाशलाई धेरैले भावी नेतृत्वका रूपमा आँकलन गरेका थिए । यद्यपि नेपाली राजनीतिमा भारतीय प्रभावको सधैँ विरोध गर्ने र राजासहितको प्रजातन्त्रको वकालत गर्ने गरेका कारण उनी विस्तारै ‘कर्नर’ मा परे ।

    नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउनुपर्नेमा दृढ निश्चयी भए पनि त्यसका लागि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूलाई चलखेल गर्न दिन नहुने प्रकाशको अडान थियो । २०४६ साल माघ ५ गते चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा कांग्रेसको राष्ट्रिय सम्मेलन भयो । सोही सम्मेलनले जनआन्दोलनको महत्वपूर्ण निर्णय लिएको थियो ।

    भारतका समाजवादी नेता चन्द्रशेखरसहित केही भारतीय नेताहरू उद्घाटन समारोहमा सहभागी थिए । नेपालमा प्रजातन्त्र पुनःस्थापना गर्ने सन्दर्भमा चन्द्रशेखरले दिएको मन्तव्य वीपीपुत्र प्रकाशलाई चित्त बुझेन । चन्द्रशेखरले नेपालको राजसंस्थाबारे गरेको टिप्पणीपछि असन्तुष्ट रहँदै प्रकाश मञ्चबाट उठेर हिँडे ।

    ‘नेपालमा प्रजातन्त्र आवश्यक थियो तर त्यसका लागि चन्द्रशेखरले नेपालको राष्ट्रप्रमुखलाई लाञ्छना लगाउनु स्वभाविक थिएन । उनको भाषण चित्त नबुझेपछि म मञ्चबाट ओर्लिएँ । मसँगै केही साथीहरू चाक्सीबारीबाट बाहिरियौं’, प्रकाश सम्झन्छन् ।

    ४६ सालको जनआन्दोलमा भारतीय सद्‍भावमात्रै नभएर कम्युनिष्टहरूसँगको सहकार्यप्रति पनि प्रकाशको फरक मत रही नै रह्यो ।

    ०००

    पिता वीपी कोइरालाको गहिरो राजनीतिक प्रभाव छोरा प्रकाशमा देखिन्छ । यद्यपि प्रकाशले वीपीलाई जुनरूपमा बुझेका छन्, कांग्रेसले त्यहीरूपमा बुझ्न सकेन ।

    तत्कालीन राजा वीरेन्द्र र वीपीबीचको भेटको एक प्रसंग प्रकाश अझै सम्झन्छन् ।

    राजा वीरेन्द्रले वीपीलाई सोधे – वीपी के तिम्रो पार्टी तिम्रो पकडमा छ ?

    राजाको प्रश्नलाई व्यंग्यको झटारोका रूपमा लिएका वीपीले तत्काल जवाफ दिए- सरकार के यो व्यवस्था (पञ्चायत) तपाईंको पकडमा छ ?

    यही संवादलाई आजपनि प्रकाश वीपीको मेलमिलाप नीतिको सान्दर्भिकतासँग जोड्छन् । ‘राजाले त्यतिबेलै व्यवस्थामा आफ्नो नियन्त्रण नरहेको स्वीकार गरिसकेका थिए । त्यसो भए कांग्रेस र पञ्चायतमा कसको प्रभाव थियो त ? यही प्रश्नको उत्तर मेलमिलापको नीतिले दिनुपर्थ्यो’, प्रकाश भन्छन् ।

    वीपीको मेलमिलाप नीतिबारे कांग्रेसमा निरन्तर बहस भइ नै रहन्छ । हरेक वर्ष पुस १६ मा वीपीको योगदान र मेलमिलापको नीतिबारे चर्चा हुन्छ । वामपन्थी दलहरूसँगको सहकार्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्ममा कांग्रेसले योगदान गरिसकेको छ । वीपी विचारलाई हेर्ने दृष्टिमा कांग्रेसभित्र मात्रै नभइ अन्य दलहरूका पनि भिन्न धारणा रहेका छन् ।

    मेलमिलापको नीतिलाई साँघुरो अर्थबाट बुझिएका कारण वीपीप्रति अन्याय भएको प्रकाशको दाबी छ । नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न लागेको पृष्ठभूमीमा राष्ट्र बचाउने नीति वीपीले लिएको प्रकाश बताउँछन् ।

    ‘वीपीले पहिले राष्ट्र जोगाउने अनि प्रजातन्त्र ल्याउने कुरा गर्नुभयो । कांग्रेसले राष्ट्रभन्दा प्रजातन्त्रलाई प्राथमिकता दियो । कांग्रेसले प्रजातन्त्रलाई यत्ति धेरै महत्व दियो कि राष्ट्रियता ओझेलमा पर्‍यो’, प्रकाशको भनाइ छ ।

    ‘आजको राजनीतिमा वीपीको मेलमिलाप नीतिको सान्दर्भिकता कस्तो देख्नुहुन्छ ?’, यो प्रश्नमा प्रकाश अलि गम्भीर देखिए । वीपीसँगै मेलमिलापको नीति सकिएको उनको दाबी रह्यो । वीपीका राजनीतिक सहकर्मीहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसमेतले मेलमिलापको नीतिको अन्तर्यलाई नबुझेको महसुस प्रकाशले गरेका छन् ।

    ‘वीपीको मेलमिलापको नीतिलाई साँचो मानेमा कसैले बुझेन । वीपीकै समकालीन नेताहरू गणेशमान सिंह र किसुनजीले समेत अन्तरमनबाट बुझ्न सक्नुभएन । गिरिजाप्रसादले बुझ्ने कुरै थिएन । मेलमिलापको एसेन्स बुझेकी शैलजाको के हालत भयो ? मेरो हालत यस्तै छ । म त भन्छु वीपी मरेकै दिन मेलमिलापको नीतिको पनि दाहसंस्कार गरियो’, प्रकाशले भने ।

    ०००

    वीपीको मेलमिलाप नीतिबारे कांग्रेसमा निरन्तर बहस भइ नै रहन्छ । हरेक वर्ष पुस १६ मा वीपीको योगदान र मेलमिलापको नीतिबारे चर्चा हुन्छ । वामपन्थी दलहरूसँगको सहकार्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्ममा कांग्रेसले योगदान गरिसकेको छ । वीपी विचारलाई हेर्ने दृष्टिमा कांग्रेसभित्र मात्रै नभइ अन्य दलहरूका पनि भिन्न धारणा रहेका छन् । राजासहितको प्रजातन्त्र नै मेलमिलापको नीति हो भन्ने धारणा राख्ने प्रकाश कोइरालासहितका धेरै नेताहरू अहिले कांग्रेसमा छैनन् ।

    शाही घोषणालाई समर्थन गरेका प्रकाश राजाको नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री नै बने । कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो । अहिले उनी स्वतन्त्र दैनिकी बिताइरहेका छन् । जसलाई उनी ‘रिटायर्ड लाइफ’ भन्न रुचाउँछन् ।

    वीपी कोइरालाको निधन भएको ४० वर्ष बितिसकेको छ । वीपीले मेलमिलापको नीति लिएर नेपाल फर्केको पनि ४६ वर्ष भइसकेको छ । कांग्रेसले अहिले पनि छिटपुटरूपमा मेलमिलाप दिवस भनेर पुस १६ गतेको कर्मकाण्ड गरिनै रहेको छ ।

    अहिले कोइराला परिवारबाट शेखर, शशांक र सुजातामात्रै होइनन् , प्रकाशपुत्र सिद्धार्थ पनि कांग्रेस राजनीतिमा सक्रिय छन् । यद्यपि छोरी मनिषालाई कांग्रेसको राजनीतिमा सक्रिय नहुन प्रकाशको सुझाव छ । ‘मनिषाले अन्तर्राष्ट्रियरूपमै छवि बनाएकी छिन् । कांग्रेसभित्रको विकृत राजनीतिमा नलाग्न मेरो सुझाव रहन्छ । तर निर्णय त उसैको हुन्छ’, प्रकाशले भने । मनिषाले पनि अहिलेसम्म कांग्रेसको राजनीति गर्ने संकेतसम्म गरिसकेकी छैनन् ।

    हालै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भयो । कोइराला परिवारका तीन नेता तीनतिर भए । यसलाई सामान्यरूपमा लिएका प्रकाश कांग्रेसले आफूलाई ‘रिभ्यू’ गर्नुपर्ने बताउँछन् । ‘यही कांग्रेसमा कसले नेतृत्व गर्छ भन्ने विषय गौण हो । कांग्रेसले आफूलाई रिभ्यू गरोस् । वीपीलाई सही ढंगले बुझोस् । राजनीतिमा सक्रिय मेरा भाइबहिनी र छोरालाई मेरो यत्ति सुझाव छ’, यति भन्दै प्रकाशले भनाइ बिट मारे ।

    वीपी कोइरालाको निधन भएको ४० वर्ष बितिसकेको छ । वीपीले मेलमिलापको नीति लिएर नेपाल फर्केको पनि ४६ वर्ष भइसकेको छ । कांग्रेसले अहिले पनि छिटपुटरूपमा मेलमिलाप दिवस भनेर पुस १६ गतेको कर्मकाण्ड गरिनै रहेको छ । तर, मेलमिलाप दिवसको मर्म सायद प्रकाशले जति कोइराला परिवारकै अरुले बुझे वा बुझेनन् ? यो प्रश्न चाहिँ अनुत्तरित नै रहनेछ ।

  • कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

    कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

    मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

    बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

    मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुकै नीतिको जगमा लोकतान्त्रिक परिवर्तन सम्भव भएको उल्लेख गरेका छन् ।

  • कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औं वरियतामा रहेका छन् । उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् । निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औं वरीयतामा रहेकी छिन् ।

    हेर्नुस् कांग्रेस केन्द्रीय समितिको वरीयतासहितको सूची:

  • कांग्रेसले संसदीय बोर्ड नबनाइ राष्ट्रियसभाको टिकट बाँड्ने

    कांग्रेसले संसदीय बोर्ड नबनाइ राष्ट्रियसभाको टिकट बाँड्ने

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि विधानबमोजिम संसदीय समिति गठन नगर्ने भएको छ ।

    कांग्रेसवृत्तमा ‘संसदीय बोर्ड’ का रूपमा परिचित समितिमार्फत राष्ट्रियसभा सदस्यको उम्मेदवारको टुंगो लगाउनुपर्ने व्यवस्था विधानमा रहेको छ । यद्यपि सभापति शेरबहादुर देउवाले महाधिवेशन भर्खरै सम्पन्न भएको, केन्द्रीय समितिलाई नै पूर्णता दिन बाँकी रहेको लगायतका कारण देखाउँदै संसदीय समिति गठन नगरी उम्मेदवार छान्न प्रस्ताव गरेका हुन् ।

    कांग्रेस पदाधिकारीहरूलाई देउवाले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै संसदीय समिति गठन नभए पनि प्रदेश समितिको सिफारिस लगायतका वैधानिक व्यवस्था भने कार्यान्वयन हुने जनाएका छन् । ‘सभापतिजीले संसदीय समिति तत्काल बनाउन सम्भव छैन । विधानका अरु व्यवस्था चाहीँ कार्यान्वयन गरेर जाऔं भन्नुभएको छ’, एक पदाधिकारीले नेपाल प्रेससँग भने ।

    कांग्रेस विधानको दफा ३१ को ‘घ’ मा केन्द्रीय संसदीय समिति सम्बन्धी प्रावधान छ । संसदीय समितिमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य रहने प्रावधान छ । सभापति देउवाले केही सिनियर नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत गर्नै बाँकी रहेकोले संसदीय समितिलाई पूर्णता नदिइ शीर्ष तहबाटै राष्ट्रियसभाको टिकट बाँड्ने तयारी गरेका हुन् ।

    ‘यसमा अन्यथा मान्नुपर्ने केही छै । संसदीय समितिमा पदाधिकारीहरु रहने व्यवस्था छ । समिति गठन नहुँदा पदाधिकारीसहितका नेताहरुको सहमतिबाट निर्णय हुनेछ’, सभापति देउवानिकट एक नेताले भने ।

    निर्वाचन आयोगले माघ १२ गते १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचन गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते उम्मेदवारहरुको मनोनयन कार्यक्रम रहेको छ । कांग्रेसले विधानकै व्यवस्था अनुसार प्रदेश समितिलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउनुपर्ने व्यक्तिहरूको नाम सिफारिस गर्न परिपत्र गरिसकेको छ ।

    कांग्रेस विधानमा प्रदेश समितिले १ सिटका लागि कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । प्रदेश समितिले सिफारिस गरेका नामहरु मध्येबाटै राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी छ । राष्ट्रियसभाका निर्वाचन हुने १९ मध्ये १० सिटमा कांग्रेसको दाबी रहेको छ ।

  • कैलाली कांग्रेस नेतृत्वका लागि देउवा पक्षकै ६ जनाको लबिङ

    कैलाली कांग्रेस नेतृत्वका लागि देउवा पक्षकै ६ जनाको लबिङ

    कैलाली । नेपाली कांग्रेस कैलालीको आगामी २७ गते जिल्ला अधिवेशन हुने भएको छ । यस अघि प्रदेश अधिवेशनका करण जिल्ला अधिवेशन हुन सकेको थिए ।

    कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेसको दाबी छ । जिल्ला अधिवेशनमा लागि कैलालीमा २ हजार ५ सय ७२ जना प्रतिनिधि छानिएका छन् ।

    जिल्ला अधिवेशनको मिति पटक पटक सरेपनि आकांक्षीहरू भने कम भएका छैनन् । अहिले सम्म पार्टी जिल्ला सभापतिको लागि छ जनाले लबिङ गरिरहेका छन् ।

    को हुन् सभापतिमा लबिङ गर्ने छ जना

    कैलालीका सभापति नरनारायण शाह मनु यस अघि दुई कार्यकाल सभापति भइसकेको हुँदा उनी यस अघि नै ‘रिङ आउट’ भइसकेका थिए । जिल्ला सभापति हुन विधान बाधक हुने भएपछि उनी प्रदेश महामन्त्रीमा लडे र जिते पनि ।

    जिल्ला सभापति मनु प्रदेश महामन्त्री भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी प्रकाश बहादुर बमले पाएका छन् । उनी १३ औँ जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका उनी १२ औँ महाधिवेशनमा मार्फत जिल्ला सचिव भएका थिए । उनले पनि अहिले कैलाली सभापतिमा लबिङ गरिहरेका छन् ।

    कैलालीको सभापतिको लागि लबिङ गरिरहेका अर्का आकाङ्क्षी हुन् नारायण भट्ट उनी पूर्व जिल्ला उपसभापति हुन् । उनी ११ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । । दीर्घ राज भाट सभापति हुँदा उनी कार्यवाहक सभापतिको जिम्मेवारी पनि पाइरहेका थिए । भट्ट हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । कुनै समय जिल्लाको उपसभापति भइसका भट्ट यस सभापतिको लागि तीव्र लबिङमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

    १३ औ अधिवेशनमा सभापतिका लागि होमिएका भीम बडूवाल फेरी सभापतिको दौडमा छन् । १३ औँ अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए । नेपाल विद्यार्थी संघ कैलालीका सभापति समेत भइसकेका उनी यस पटक पार्टी सभापतिको लागि लबिङ गरिरहेका छन् ।

    १३ औँ अधिवेशनमा नरनारायण शाह मनुसँग पराजित भएका बडूवाल १२ औँ अधिवेशनमा उनकै टिमबाट सचिवमा लडेका थिए । त्यहाँ पनि उनी राम चरण चौधरीसँग पराजित भएका थिए ।

    सभापतिका अर्का आकांक्षी गणेश देउवा पनि यस अघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए । नरनारायण शाह मनुसँग निर्वाचनमा होमिएका देउवा र अर्का उम्मेदवार बडूवालको समान मत आएको थियो । त्यसपछि देउवाले बडूवाललाई समर्थन गरेका थिए । देउवाको समर्थन पाएपछि पनि बडूवालले शाहलाई भने हराउन सकेनन् ।

    कैलाली क्षेत्र नम्बर ४ वाट दोस्रो संविधान सभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको लागि दौडमा छन् । उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापति समेत भएका थिए ।

    संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो । त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए । क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन् ।

    अर्का आकांक्षी नवराज रावल हुन् । उनी सामाजिक सङ्घसंस्थाहरूमा सक्रिय छन् । तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन् । यस अघि उनी जेसिस टिकापुर, टीकापुर उद्योग वाणिज्य सङ्घ र टीकापुर खानेपानी संस्थाका पनि अध्यक्ष थिए ।

    दुई आकांक्षी घटे

    एक पदको सभापतिमा अहिले कैलालीमा छ जना आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्यमा दुई जना निर्वाचित भएपछि आकांक्षीको संख्या केही कम भएको हो ।

    यस अघि तथा सुदूरपश्चिममा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड पनि सभापतिको दौडमा रहेको चर्चा थियो ।

    रावल भूगोलको कोटाबाट र वड दलितको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनीहरू दुवै जना जिल्ला सभापतिको दौडबाट बाहिरिएका हुन् ।

    अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै

    सभापतिको एक पदमा छ जना आकांक्षी भएजस्तै सभापति बाहेकका पदहरूमा पनि आकांक्षी धेरै देखिएका छन् ।

    उपसभापतिमा अहिले सम्म लोकराज पाण्डे आगो र प्रकाश देउवा को चर्चा छ । सभापति पछि धेरैको रोजाइमा सचिव परेको छ । सचिवमा नृप सुनार, केशव मिश्र, अमृत बिसी र कृष्ण पाण्डेय रहेका छन् । सह सचिवमा भने आकांक्षी देखिएका छैनन् ।

    कैलालीमा १३ स्थानीय तह छन् । ती मध्ये छ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन् ।

    छ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुने छन् । त्यस्तै छ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुने छन् ।

    उपमहानगरपालिकाबाट दुई महिला सहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुने छन् । त्यसको दुई तिहाइ समावेशी सदस्य सङ्ख्या निर्वाचित हुने छन् ।

  • राष्ट्रियसभा निर्वाचन : टिकट बाँड्न कांग्रेसले बनाउला संसदीय समिति ?

    राष्ट्रियसभा निर्वाचन : टिकट बाँड्न कांग्रेसले बनाउला संसदीय समिति ?

    काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि एक महिनाको समय बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते अर्थात १ सातापछि उम्मेदवारहरूको मनोनयन दर्ता गर्नुपर्नेछ ।

    भर्खरै १४ औं महाधिवेशन सम्पन्न गरेको सत्तारुढ दल नेपाली कांग्रेसले एमालेविरुद्ध राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने निर्णय गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार पुस १७ गते निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गर्नेछन् ।

    सत्तारुढ गठबन्धनबीच औपचारिकरूपमा राष्ट्रियसभाको सिट बाँडफाँट नभए पनि अनौपचारिक संवादका क्रममा नेताहरूले निर्वाचन हुने १९ मध्ये १० सीट नेपाली कांग्रेसले पाउँने बताउँदै आएका छन् । माओवादी र नेकपा एसले ४-४ जना राष्ट्रियसभा सदस्य पाउँदा जनता समाजवादी पार्टीले पनि १ जना पाउँनेछ ।

    संविधानतः राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहने प्रावधान रहेको छ । प्रदेशसभा सांसदको मतभार ४८ रहनेछ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

    पुस १९ मा अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि निर्वाचन आयोगले पुस २० मा उम्मेदवारहरूको मनोनयन दर्ता गर्नेछ । पुस २५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगले माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरूमा मतदान हुने जनाएको छ ।

    गठबन्धनमा कसरी हुँदैछ सीट बाँडफाँट ?

    राष्ट्रियसभाका २० सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिँदैछ । जसमध्ये नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ४-४ जना तथा कांग्रेसका ३ जना रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने १ जना राष्ट्रियसभा सदस्यको पनि अवधि सकिँदैछ ।

    संविधानतः जुन समूहको प्रतिनिधित्व रिक्त हुने हो सो समूहका लागि नै निर्वाचन हुने व्यवस्था छ । यहीकारण रिक्त हुने २० मध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा पूर्ति गरिनेछ ।

    सत्तारुढ गठबन्धनबीच औपचारिकरूपमा राष्ट्रियसभाको सिट बाँडफाँट नभए पनि अनौपचारिक संवादका क्रममा नेताहरूले निर्वाचन हुने १९ मध्ये १० सीट नेपाली कांग्रेसले पाउँने बताउँदै आएका छन् । माओवादी र नेकपा एसले ४-४ जना राष्ट्रियसभा सदस्य पाउँदा जनता समाजवादी पार्टीले पनि १ जना पाउँनेछ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भएको यो सहमतिलाई केहीदिनमै औपचारिकता दिइनेछ ।

    ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति पहिले नै बनिसकेको छ । कुन पार्टीले कति संख्या राख्ने भन्नेमा पनि सहमत छौं तर कुन समूहमा कुन पार्टीको उम्मेदवार बनाउने भन्नेमा केही दिनमा निर्णय लिन्छौं’, सत्तारुढ गठबन्धनका एक नेताले बताए ।

    कांग्रेसको तयारी के छ ?

    विगतमा राष्ट्रियसभामा कमजोर उपस्थिति रहेको नेपाली कांग्रेसले आगामी निर्वाचनबाट आफ्नो उपस्थिति मजबुत बनाउने तयारी गरेको छ । गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनका उम्मेदवारले जित हासिल गर्ने लगभग निश्चित भएकोले कांग्रेसभित्र राष्ट्रियसभा सदस्य बन्न आन्तरिक दौडधुप सुरू भइसकेको छ ।

    १४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई आधिकारिक पत्र (टिकट) प्रदान गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई प्रदान गरिसकेको छ ।

    आधिकारिक उम्मेदवारको प्रमाणीकरण सभापतिले गरे पनि कांग्रेस विधानमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार संसदीय समितिले सम्बन्धित प्रदेश समितिको परामर्शका आधारमा तय गर्ने उल्लेख छ ।

    कांग्रेस विधानको दफा ३२ को ९ मा प्रदेश कार्यसमितिले राष्ट्रियसभा सदस्यका लागि मातहतका जिल्लाबाट प्राप्त नाममध्ये एक सीटका लागि कम्तीमा ३ जनाको नाम सहमति वा बहुमतबाट केन्द्रमा सिफारिस गर्नुपर्ने उल्लेख छ । प्रदेश समितिबाट प्राप्त नाममा केन्द्रीय संसदीय समितिले सहमति वा बहमतबाट उम्मेदवारको नाम टुंगो लगाइ केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ ।

    विधानमा उम्मेदवार छनोटका लागि प्रष्ट व्यवस्था भए पनि कांग्रेसले संसदीय समिति बनाइसकेको छैन । सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिनसमेत बाँकी छ ।

    कांग्रेस विधानको दफा ३१ को ‘घ’ मा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी प्रावधान रहेको छ । केन्द्रीय संसदीय समितिमा सभापतिसहित पदाधिकारीहरू र सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्यहरू रहनेछन् ।

    संसदीय समितिमा जुन प्रदेशको उम्मेदवारबारे निर्णय लिनुपर्ने हो त्यो प्रदेशको सभापतिलाई पनि आमन्त्रित गर्नुपर्ने व्यवस्था रहेको छ ।

    सभापति देउवाले संसदीय समिति गठनबारे छलफल गरिसकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय समितिबाहिरै रहेकाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि मात्रै संसदीय समिति बनाउने देउवाको तयारी छ ।

    यद्यपि १ साताको समयमात्रै बाँकी रहेकोले पदाधिकारीमा छलफल गरेरै उम्मेदवार टुंग्याउन पनि देउवालाई सुझाव छ । ‘विधानमा रहेको व्यवस्था कार्यान्वयन गर्न समस्या छैन । केही सिनियर नेताहरू पनि समेटेर जानुपर्ने हुन्छ । सकेसम्म संसदीय समिति नभए पदाधिकारी बैठकबाट निर्णय लिन्छौं’, सभापतिनिकट एक पदाधिकारीले भने ।

    कांग्रेस महामन्त्री गगन थापा विधानको पालना गरेरै राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाइने बताउँछन् । ‘विधानले संसदीय समितिमा पदाधिकारी स्वतः रहने व्यवस्था गरेको छ । थप ११ जना सदस्यसमेतको पूर्णसंसदीय समितिबाट उम्मेदवार टुंगो लगाउने तयारी छ । सम्बन्धित प्रदेशबाट नाम माग्ने र पर्याप्त छलफलबाट मात्रै उम्मेदवार टुंगो लगाउने काम हुनेछ’, थापाले नेपाल प्रेससँग भने ।

  • कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित गिरीलाई दाङमा ११ किलो मालाले भव्य स्वागत

    कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित गिरीलाई दाङमा ११ किलो मालाले भव्य स्वागत

    तुलसीपुर, १३ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले जिल्लामा अव एकतावद्ध र बलियो काँग्रेस गराउनतर्फ सवै लाग्नुपर्ने बताएका छन् ।

    नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि गृह जिल्ला आएका गिरीले तुलसीपुरको वीपी चोकमा रहेको वीपीको शालिकमा माल्यापर्ण पछि बोल्दै अव काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।

    उनले विगतका तिता मिठाकुराहरुलाई आत्म साथ गदै सवै एक हुने बेला आएको बताए । उनले हिजोको तिक्ततालाई मेटायर अब सवै एक ठाउँमा आउनुपर्ने बताए ।

    ‘हिजो पार्टीको निर्वाचनको बेला केहि मिठा नमिठा काम र कुराहरु भएहोलान अव सवैले त्यसलाई सच्याउदै एक हुने समय आएको छ’–गिरीले भने ।

    उनले नजिकै आएरहेको निर्वाचनलाई मध्यनजर गदै अव पार्टीलाई एकतावद्ध बनायर काँग्रेसलाई पहिलो पार्टी बनाउतर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

    ‘अव हामी एकआपसमा लडेर पार्टी बलियो हुदैन, पार्टीको आन्तरीक चुनावमा लडेहौला अव बिपक्षसंग लडर्ने समय आएको छ, सवै एक हुनुपर्छ उनले भने ।’

    उनले अव आगामी निर्वाचनमा दाङमा सवै क्षेत्र जित्ने गरि लाग्नुपर्ने बताए । ‘हिजो खुमबहादुर खड्का हुने बेला कस्तो थियो काँग्रेस, अव त्यस्तै गराउनुपर्छ उनले भने ।’ गिरीले आफुहरुको लडाई अव बामपन्थीसंग भएको समेत बताए ।

    ‘अवको चुनावी लडाई अन्यदलहरु संग हो त्यसैले सवै अव तयारी हुनुपर्छ हाम्रो नजिक चुनाव आइ सकेको छ उनले भने ।’ त्यस्तै उनले अव वडा, नगर, जिल्लामा पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।

    गिरीले मतदाता नावली संकलन भई रहेको भन्दै सवैले त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे । ‘मत दाता नामवली दर्ता भई रहेका छन् त्यसमा सवै नागरिकलाई सहभागी गराउन नेता कार्यकर्ताहरु लाग्नुहोस उनले भने ।

    गिरीले आफुलाई निर्वाचनमा जिताउन भुमिका खेल्ने सवै नेता कार्यकर्ता सुवेच्छुकलाई धन्यवाद समेत दिएका थिए । ‘यो जित मेरोमात्र होइन सवै दङ्गालीको हो, अव काँग्रेस कता जाने भन्ने बेला मेरा जित भएको छ उनले भने ।’

    उनले आफु निर्वाचन लडदै गर्दा धेरैले निर्वाचन जितोस भनेर विभिन्न भाकल गरेको भन्दै आफुले मतदाता र आम कार्यकताको भावनालाई बझेर अगाडी बढने बताए । ‘कतिले ममलाई चुनाव जितोस भनेर भाकल गर्नुभएको छ कतिले सहयोग सवैलाई म धन्यवाद दिन चाहान्छु गिरीले भने ।

    ठुलो संख्यामा युवाहरुको मोटरसाइकल ¥याली सहित तुलसीपुर आएका गिरीलाई वीपी चोकमा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । सो अवसरमा सहिद पुत्र तरुण दलका जिल्ला सदस्य नविन योगीले केन्द्रिय सदस्य गिरीलाई ११ किलोको माला लगायर स्वागत गरेका थिए ।

    उनले ११ बर्ष पछि फेरी गेहेन्द्र गिरी केन्द्रियमा पुगेको र महाधिवसेनबाट निर्वाचित भएको भन्दै ११ किलोको मालाले स्वागत गरेको बताए ।

    त्यस्तै केन्द्रिय सदस्य गिरीलाई नेपाली काँग्रेस तुलसीपुर ५ ले पनि बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा विभिन्न नेताहरुले गिरीलाई बधाई ज्ञापन गरेका थिए ।

  • समावेशीको कसीमा कांग्रेस- मधेसी ८ प्रतिशतमात्र, ५५ प्रतिशत खसआर्य निर्वाचित

    समावेशीको कसीमा कांग्रेस- मधेसी ८ प्रतिशतमात्र, ५५ प्रतिशत खसआर्य निर्वाचित

    काठमाडौं । भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिमा सबैभन्दा बढी ५५ प्रतिशत खस आर्यकाे बर्चस्व कायम भएको छ ।

    निर्वाचित केन्द्रीय समितिमा ७५ जनाले खस आर्यबाट प्रतिनिधित्व गरेका छन् । पदाधिकारी, महिला, खुला, पिछडिएको क्षेत्र, प्रदेश र खसआर्यकै कोटाबाट भए पनि खस आर्यले बर्चस्व कायम गरेका छन् ।

    १३ सदस्यीय पदाधिकारीमा पनि ४५ प्रतिशत खसआर्यकै उपस्थिति छ । जसमा सभापति शेरबहादुर देउवा आफैं खसआर्यबाटै प्रतिनिधित्व गर्छन । २ उपसभापतिमध्ये धनराज गुरुङले आदिवासी जनजातिबाट प्रतिनिधित्व गर्छन् भने पुर्णबहादुर खड्काले खसआर्यबाटै प्रतिनिधित्व गर्छन । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुवै जनाले खस आर्यकै प्रनितिधित्व गर्छन् ।

    सहमहामन्त्रीमा समावेशी कोटा छुट्याइएको छ । त्यहाँ पनि खसआर्य, महिला र पिछडिएको क्षेत्रका क्लस्टरबाट तीन जना सहमहामन्त्रीले खसआर्यबाटै प्रतितिधित्व गर्छन् । जसमा खसआर्यबाट किशोरसिंह राठौर, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे खसआर्य हुन् ।

    आफूलाई सबैभन्दा बढी समावेशी दावी गर्ने पार्टी नेपाली कांग्रेसले बैधानिक व्यवस्था बाहेक एक जना पनि सीमान्तकृत समुदाय तथा वर्गबाट प्रतिनिधित्व गराउन सकेन् । सीमान्तकृत समुदायको प्रतितिधित्व गर्ने तर खुला बाटसमेत निर्वाचित भएर आउन सक्ने नेतालाई समेत कांग्रेस महाधिवेशनमा उत्रिएको सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित शेखर कोइराला प्यानलले चुनावी प्रतिस्पर्धामा उठाउन सकेन ।

    यतिमात्र नभई सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने नेताले पनि आफूलाई खुला निर्वाचनमा उभ्याउन सकेनन् ।

    प्रमुख पाँच पदमा महिला र सीमान्तकृत भिडेनन्

    पार्टीका प्रमुख पाँच पदमा एक जना पनि महिला अटाउन सकेनन् । निर्वाचित हुने मात्र होइन प्रतिस्पर्धामासमेत एक जना पनि महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्र आउन सकेन । एक उपसभापतिमा मात्र आदिवासी जनजातिबाट धनराज गुरुङ निर्वाचित भए ।

    यस्तै पार्टीमा सभापतिपछि निर्णायक र कार्यकारी मानिएको २ महामन्त्री पदमा पनि २ जना खस आर्यबाटै नेतृत्वमा आएका छन् । जसमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । महामन्त्री पदमा ५ जना प्रतिस्पर्धामा आए पनि एक जना पनि सीमान्तकृत समुदायबाट प्रतिपर्धामा आएनन् ।

    महिला एक जना, त्यो पनि समावेशीबाट

    आदिवासी तथा जनजातिबाट एक उपसभापतिलाई छोडेर हिसाव गर्दा सिमान्तकृत समुदायको प्रतिनिधित्व बल्ल आएर सहमहामन्त्रीमा मात्र भएको छ । सीमान्तकृत समुदाय भित्र पनि सबै पुरुष मात्रै नेतृत्वमा आएका छन् ।

    सीमान्तकृत समुदायबाट ८/८ जना सहमहामन्त्री निर्वाचित हुदाँ एक जना सहमहामन्त्री महिला डीना उपाध्यायाय निर्वाचित भएकी छन्, त्यो पनि महिलाका लागि सुरक्षित गरिएको कोटाबाट मात्रै ।

    सीमान्तकृत समुदायमा पनि आदिवासी जनजाती, दलित, खसआर्य, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट पनि महिला आउन सकेनन् । महिला कोटाबाट ७ जना सबै पुरुष मात्रै सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

    जसमा आदिवासी जनजातीबाट भीष्मराज आङदेम्बे, दलितबाट जीवन परियार, खसआर्यबाट किशोरसिंह राठौर, मधेसीबाट महेन्द्र यादव, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, थारुबाट उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

    एकमात्र दलित महिला प्रतिस्पर्धामा, तर पराजित

    सीमान्तकृत समुदाय अन्तरगत आदिवासी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, र पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा महिलालाई कुनै पनि प्यानलले उम्मेदवार बनाएनन् ।

    दलित सहमहामन्त्रीतर्फ गंगा सुनारले उम्मेदवारी दिए पनि उनी कसैको प्यानलमा अटाउन सकिनन् र उनले पराजय व्यहोर्नुपर्‍याे । तर पनि उनले आँट गरेर उम्मेदवारी दिएपछि २३२ मत भने प्राप्त गर्न सफल भइन् ।

    पदाधिकारीमा महिला सात प्रतिशतमा सीमित

    अब पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित एक जनालाई कोषाध्यक्षको जिम्मेवारी दिन भने बाँकी छ । कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा महिला पुरुष को ल्याउने भन्ने टुंगो लागिसकेको छैन ।

    यदि ल्याइएछ भने १४ सदस्यीय पदाधिकारीमा महिलाको सहभागिता १४ प्रतिशत अर्थात २ जना पुग्नेछ । यदि कोषाध्यक्षमा पनि महिला ल्याइएन भने सात प्रतिशत अर्थात एक जनामा मात्रै सीमित हुनेछ ।

    पदाधिकारीमा सीमान्तकृत

    कोषाध्यक्ष चयन गरीनसकेको हुनाले अहिले १३ सदस्यीय पदाधिकारीमा हिसाव गर्दा ५३ प्रतिशत अर्थात ७ जना खस आर्यकै बर्चस्व कायम भएको छ । यस्तै दोस्रोमा आदिवासी जनजातिको १५ प्रतिशत अर्थात दुई जना पदाधिकारीमा पुगेका छन् । त्यो बाहेक दलित, मधेशी, महिला, मुस्लिम र थारुको भने सात/सात प्रतिशत मात्र सहभागिता भएको छ ।

    खुला केन्द्रीय सदस्यमा शून्य

    खुलातर्फको ३५ केन्द्रीय सदस्यमा शतप्रतिशत पुरुष निर्वाचित भएका छन् । महिला निर्वाचित हुनु त टाढाकै कुरा भयो, ३५ जना खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका ९९ जनामध्ये एक जना महिला बाहेक कोहि कसैले केन्द्रीय सदस्यमा न त प्यानलबाट न स्वतन्त्रबाट नै उम्मेदवारी दिने आँट गरे ।

    महाधिवेशनअघि सभापतिदेखि उपसभापति, महामन्त्री र सममहामन्त्रीमा उम्मेदवारी दिने दाबी गर्दै आएका महिला नेतृत्वले खुला केन्द्रीय सदस्यमासमेत उम्मेदवारी दिने आँट गर्न सकेन्न ।

    आफ्ना लागि जुन ठाउँ सुरक्षित छ त्यहि ठाउँमा जाने महिला नेतृत्वले पराजित हुनकै लागि उम्मेदवारी दिनु पनि चुनौति हो । जे जहाँबाट भए पनि सुरक्षित हुनका लागि भए पनि महिला नेतृत्व पनि खुलामा उम्मेदवारी दिन आँट नगरेको उनिहरुकै भनाई छ ।

    खुला केन्द्रीय सदस्यमा ८२ प्रतिशत खस आर्य

    ३५ केन्द्रीय सदस्य निर्वाचित हुँदा ८२ प्रतिशत अर्थात २९ जना खस आर्यबाटै छन् । जसमा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, र कृष्णकिशोर घिमिरे रहेका छन् ।

    दोस्रोमा ११ प्रतिशत अर्थात ४ जना मात्रै आदिवासी जनजातीबाट निर्वाचित भएका छन् । जसमा जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, मदनबहादुर अमात्य र गणेश लामा हुन् ।

    सबैभन्दा कम थारु समुदायबाट ५ प्रतिशत अर्थात २ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पद्मनारायण चौधरी र गोपाल दहित छन् ।

    तर, महिला र दलित, मधेशी तथा मुस्लिम समुदायबाट भने एक जना पनि निर्वाचित हुन सकेनन् ।

    केन्द्रीय सदस्य महिलामा शतप्रतिशत खसआर्य

    महिला केन्द्रीय सदस्य खुल्लामा ९ जना निर्वाचित हुँदा शतप्रतिशत खसआर्यबाट निर्वाचित भएका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणासमेत महिला खुला केन्द्रीय सदस्यबाटै निर्वाचित भएकी छन् भने यस अघि पदाधिकारीमा दाबी गर्दै आएकी डा. डिला संग्रौला, पूर्व मन्त्रीसमेत भइसकेकी अम्बिका बस्नेत, पूर्व राज्यमन्त्री सरिता प्रसाइँ खुला महिला केन्द्रीय सदस्यबाटै निर्वाचित भएका छन् ।

    यस्तै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि खुला महिलातर्फबाटै केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा ईश्वरी न्यौपाने, रमा कोइराला, सुशीला ढकाल र रंगमती शाही छन् । खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्यमा निर्वाचित हुँदा आदिवासी जनाजाति, दलित, मधेशी, थारु, मुस्लिम समुदायबाट एक जना महिला पनि अटाउन सकेनन् ।

    प्रदेशबाट ८५ प्रतिशत खस आर्य नै

    सात प्रदेशबाट २१ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा ८५ प्रतिशत अर्थात १८ जना खस आर्य नै नेतृत्वमा आएका छन् । जसमा प्रदेश एकबाट अमृत अर्याल र राजीव कोइराला प्रदेश दुइबाट रमेश रिजाल र आनन्द ढुंगाना र बागमती प्रदेशबाट राजेन्द्रकुमार केसी र उर्मिला नेपाल, गण्डकी प्रदेशबाट ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल, लुम्बिनी प्रदेशबाट देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा, कर्णाली प्रदेशबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह तथा सुदूरपश्चिम प्रदेशबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला भट्ट निर्वाचित भएका छन् ।

    आदिवासी जनजातितर्फबाट नौ प्रतिशत अर्थात दुइ जना निर्वाचित भएका छन् । जसमा प्रदेश एकबाट महेन्द्रकुमारी लिम्बू र बाग्मती प्रदेशबाट ध्यानगोविन्द रञ्जित निर्वाचित भएका छन् । दुइ जना जनजातिबाट निर्वाचित हुदाँ पनि बराबर एक महिला र एक पुरुष निर्वाचित भएका छन् । सबैभन्दा कम मधेशीबाट चार प्रतिशत अर्थात एक जना मात्र निर्वाचित भएका छन् । जसमा प्रदेश दुईबाट एक जना त्यो पनि महिला चित्रलेखा यादव निर्वाचित भएकी छन् । तर, सात वटै प्रदेशबाट २१ जना निर्वाचित हुँदा दलित, थारु र मुस्लिमबाट भने एक जना पनि निर्वाचित भएनन् ।

    प्रदेशबाट ३३ प्रतिशत महिला

    हरेक प्रदेशबाट एक/एक महिला गरेर ३३ प्रतिशत अर्थात सात जना महिला भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यो पनि बिधानमा नै प्रदेश प्रदेशबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित गर्दा एक जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएकाले ३३ प्रतिशत अनिवार्य सहभागिता भएको हो ।

    जसमा प्रदेश १ बाट महेन्द्रकुमारी लिम्बु, प्रदेश २ बाट चित्रलेखा यादव, बागमती प्रदेशबाट उर्मिला नेपाल, गण्डकी प्रदेशबाट सरस्वती अर्याल, लुम्बिनी प्रदेशबाट शीला शर्मा, कर्णाली प्रदेशबाट जानकी सिंह र सुदूरपश्चिमबाट सुशीला भट्ट निर्वाचित भएका छन् ।

    आदिवासी १८ प्रतिशत प्रतिनिधित्व

    १४ औं महाधिवेशनबाट निर्वाचित एक सय ३४ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातिको १८ प्रतिशत अर्थात २५ जनाको प्रतिनिधित्व भएको छ । जसमा १३ सदस्यीय निर्वाचित पदाधिकारीमा भने तीन प्रतिशत घटेर १५ प्रतिशत अर्थात एक उपसभापति र एक जना सहमहामन्त्रीमा प्रतिनिधित्व भएको छ ।

    बाँकी खुला केन्द्रीय सदस्यमा २ जना, प्रदेशबाट निर्वाचित हुनेमा २ जना, आदिवासी जनजातिबाट नै सबैभन्दा बढी १५ जना, अल्पसंख्यकबाट १ जना र अपांगता भएका व्यक्तिको क्षेत्रबाट पनि एक जना अटाउन सफल भएका छन् ।

    २५ जनामा केन्द्रीय समितिमा आदिवासी जनजातिबाट अटाउँदा महिला भने ३२ प्रतिशत मात्रै अटाएका छन् । त्यसमा पनि एक जना प्रदेश एकबाट निर्वाचित हुनेमा महिला आउन सफल भए पनि बाँकी ७ जना महिला भने समावेशी महिलाबाट मात्रै आएका हुन् ।

    मधेसीको सहभागिता ८ प्रतिशत

    कांग्रेसको निर्वाचित केन्द्रीय समितिमा मधेसी समुदायको ८ प्रतिशत अर्थात ११ जनाको मात्रै सहभागिता भएको छ । पदाधिकारीमा भने केन्द्रीय समितिभन्दा १ प्रतिशत घटेर ७ प्रतिशत अर्थात सहमहामन्त्रीमा मात्रै सीमित भएको छ ।

    खुला केन्द्रीय सदस्यमा एक जना पनि अटाउन नसक्दा प्रदेशबाट १ जना निर्वाचित भएका छन् । मधेस वाहुल्य प्रदेश-२ बाट समेत दुवै केन्द्रीय सदस्य खसआर्य समुदायका रमेश रिजाल र आनन्द ढुंगाना निर्वाचित भए, त्यो पनि निर्विरोध ।

    बाँकी ९ जना भने समावेशीतर्फबाट नै निर्वाचित भएका हुन् । आदिवासी जनजाति समुदायबाट खुला, अल्पसंख्यक, अपांगता भएको व्यक्तिको क्षेत्रबाट पनि प्रतिनिधित्व भइरहदाँ मधेसी समुदायबाट भने खुलातर्फ एक जनाको पनि सहभागिता हुन सकेन । प्रदेशबाट भने आदिवासी जनजातिजस्तै एक जना अटाउन सफल भएका छन् ।

    ११ जना केन्द्रीय सदस्य मधेशी समुदायबाट प्रतिनिधित्व गर्दा मधेसी समुदायका महिलाको सहभागिता भने ४५ प्रतिशत देखिएको छ । नौ जना समावेशीतर्फ केन्द्रीय सदस्य निर्वाचित हुनेमा ४ जना मधेसी महिलाबाट र १ जना प्रदेशबाट पनि महिला नै निर्वाचित भएका हुन् ।

    दलितको सहभागिता ७ प्रतिशत मात्रै

    १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायको प्रतिनिधित्व भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा ७ प्रतिशत अथात १० जना मात्रै पुगेका छन् । पदाधिकारीमा एक महामन्त्री पुगेपछि सात प्रतिशत पुगेको दलितको सहभागिता केन्द्रीय समितिमा पनि ७ प्रतिशतमा नै सीमित हुन पुगेको हो ।

    आदिवासी जनजाति समुदायबाट खुला, प्रदेश, अल्पसंख्यक, अपांगता भएको व्यक्तिको क्षेत्रबाट पनि प्रतिनिधित्व भइरहँदा दलित समुदायबाट भने समावेशीबाहेक कुनै पनि क्षेत्रबाट एक जना पनि केन्द्रीय समितिमा जान सकेनन् । पदाधिकारीमा समेत खुलामा प्रतिस्पर्धा गर्न सक्ने नेता भइरहदाँ पनि उनीहरुले प्यानलमा नपरे पछि अर्को प्यानलमा वा स्वतन्त्र रुपमा खुलामा उम्मेदवारी दिने आँट गर्न सकेनन् ।

    १० जनामा पदाधिकारी एक जना, दलित खुलामा ५ जना पुरुष नै र दलित महिलामा ४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । समग्रमा १० जना केन्द्रीय समितिमा जाँदा ४० प्रतिशत दलित महिला केन्द्रीय समितिमा पर्न सफल भएका छन् ।

    थारुको सहभागिता

    कांग्रेस केन्द्रीय समितिमा थारु समुदायको सहभागिता केन्द्रीय समितिमा भन्दा पदाधिकारीमा २ प्रतिशतले बढी देखिएको छ । १३ सदस्यीय पदाधिकारीमा थारु समुदायबाट एक जना सहमहामन्त्रीले प्रनितिधित्व गर्दा सात प्रतिशत पुगेको छ भने केन्द्रीय समितिमा भने ७ जनाको सहभागिता हुदाँ ५ प्रतिशत मात्रै सहभागिता भएको छ । जसमा १ जना समावेशीबाट पदाधिकारीमा, २ जना खुलाबाट केन्द्रीय सदस्यमा र ४ जना समावेशीतर्फबाट केन्द्रीय समितिमा पुगेका हुन् ।

    ७ जना थारु समुदायको केन्द्रीय समितिमा प्रतिनिधित्व हुँदा महिलाको सहभागिता भने २८ प्रतिशत अर्थात २ जनाको मात्रै भएको छ । ती पनि दुवै जना महिला समावेशीतर्फको थारु महिलाबाट निर्वाचित भएका हुन् ।

    मुस्लिमको सहभागिता २ प्रतिशत

    थारु जस्तै मुस्लिम समुदायको पार्टीको पदाधिकारीमा सात प्रतिशत सहभागिता भए पनि केन्द्रीय समितिमा भने सबैभन्दा कम २ प्रतिशत अर्थात ४ जनाको मात्रै सहभागिता भएको छ । जसमा पदाधिकारीमा १ जना, खुलातर्फ ४ जना गरेर ४ जना निर्वाचित भएका हुन् । चार जनामा महिलाको सहभागिता भने २५ प्रतिशत अर्थात १ जनाको मात्र भएकाे छ ।

    कांग्रेसको १४औं महाधिवेशनमा १३४ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । पार्टीको विधान अनुसार एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुने भए पनि ३३ जना केन्द्रीय सदस्यलाई भने समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखेर ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ ।

    यसै व्यवस्था अनुसार ३३ जना सदस्य मनोनित गर्न भने बाँकी नै रहेकाले सदस्य मनोनित गर्दा विधानले व्यवस्था गरे अनुसार नै पार्टीले सीमान्तकृत समुदायबाट कति संख्यामा थप्न सक्छ । त्यसले पार्टीमा समावेशी सहभागितामा बढाउने वा अहिलेकै कायम रहने निर्धारण गर्नेछ ।

    हेर्नुहाेस् देउवा टिम

  • ‘अधिनायकवादको अस्त्र’ देउवाकै हातमा, विरोधी तह लगाउन ‘टप टू हन्ड्रेड’मा हेरफेर

    ‘अधिनायकवादको अस्त्र’ देउवाकै हातमा, विरोधी तह लगाउन ‘टप टू हन्ड्रेड’मा हेरफेर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बनेको ६ महिना पुग्दैछ । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै देउवाले आफू प्रधानमन्त्री भएपछि ‘जनताले ओलीको त्रासबाट मुक्ति पाएको महसुस गरेको’ बताएका थिए ।

    सो क्रममा देउवाले पटक–पटक आफू हारे ‘ओली शासन’ र ‘अधिनायकवाद’ आउने डर देखाए । कार्यकर्तालाई डर देखाएर देउवा दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित त भए तर ओलीप्रति लक्षित उनको ‘अधिनायकवादी’ आरोप भने अब देउवाप्रति नै तेर्सिएको छ । किनकी ओलीलाई जेजति कारणले ‘अधिनायकवाद’ को अभियोग लगाइयो देउवा पनि ती ‘कारण’ बाट मुक्त हुन सकेका छैनन् ।

    सर्वोच्च अदालतको परमादेशबाट देउवा सरकार गठन हुनुअघि र पछि पाँच दलीय गठबन्धनले अघिल्लो सरकारका कामहरु ‘सच्याउने’ दावी गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा विभिन्न ६ वटा शक्तिशाली निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याए ।

    ओलीको यही कदम देखाएर उनीबारे ‘अधिनायकवादी’ को भाष्य निर्माण गरिएको थियो । अहिले प्रधानमन्त्री देउवा ती ६ निकायलाई पुरानै अवस्थामा फर्काउन उद्यत छैनन् बरु व्यक्तिगत लाभका लागि ती निकायको दुरुपयोग बढेको छ ।

    देउवा मातहत ‘अधिनायकवादी’ अस्त्र

    गृहमन्त्रालयबाट तानिएको राष्ट्रिय अनुसन्धान विभाग होस् वा अर्थ मन्त्रालयबाट तानिएको सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री देउवाकै मातहतमा रहेका छन् । अर्कोतिर राजस्व अनुसन्धान विभाग पनि प्रधानमन्त्री कार्यालय मातहतमै रहेको छ ।

    तत्कालीन प्रधानमन्त्री ओलीले यी विभागहरु प्रधानमन्त्री कार्यालय मातहत ल्याउँदा नेपाली कांग्रेसले सार्वजनिक रुपमै विरोध जनाएको थियो । ती निकाय प्रधानमन्त्री मातहत ल्याइनुलाई कांग्रेसले ‘प्रधानमन्त्रीको शक्ति मोह’ र ‘अधिनायकवादको अभ्यास’ का रुपमा अर्थ्याएको थियो ।

    ओली प्रधानमन्त्रीबाट हटेको ६ महिना पुग्न लाग्दासमेत ती निकाय देउवाकै मातहत रहनुले कांग्रेसको राजनीतिक अडानप्रति नै प्रश्न उठेको छ । प्रतिपक्षमा हुँदा विरोध गरेका विषय सत्तामा पुगेपछि सच्याउनुको सट्टा प्रधानमन्त्री देउवा त्यसैबाट लाभ लिने प्रयत्नमा देखिएका छन् ।

    ओली सरकारको पालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको व्यवस्थापन र अनुगमन प्रधानमन्त्री कार्यालयबाटै हुने प्रबन्ध गरेको थियो । देउवा सरकारले यो निर्णयलाई पनि निरन्तरता दिइ नै रहेको छ । नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन गरी तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई शक्तिशाली बनाएका थिए । देउवा सरकारले सो नियमावलीलाई पुरानै अवस्थामा फर्काउन चाहेका छैनन् ।

    टप टू हन्ड्रेडमा हेरफेर

    ओली नेतृत्वको सरकारले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणको सन्दर्भमा तयारी पारेको सूची हो, टप टू हन्ड्रेड । उच्च राजनीतिक र कर्मचारी संयन्त्रमै गोप्य राखिएको यो सूचीमा नेपालका राजनीतिज्ञ, उद्यमी, व्यवसायी, कानून व्यवसायी लगायतका लब्ध प्रतिष्ठित व्यक्तिहरुको नाम रहेको बताइन्छ ।

    सो सूची रहेका व्यक्तिहरुको गतिविधिलाई राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले सुक्ष्म अनुसन्धान गरिरहेका हुन्छन् । प्रारम्भमा राजस्व छली, गैरकानूनी आर्जन र अकूत सम्पत्तिका विषयमा अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन ‘टप टु हन्ड्रेड’ तयार गरिएपनि अहिले त्यसमा हेरफेर गरिएको छ ।

    अघिल्लो सरकारले तयार पारेको सूचीमा वर्तमान प्रधानमन्त्री देउवापत्नी आरजु राणा देउवा, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतको नाम रहेको उच्च स्रोतको दावी छ । अहिले ती नाम हटाएर नयाँ नामहरु समावेश गरिएको बताइन्छ ।

    ‘टप टु हन्ड्रेड राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान भइरहेका व्यक्तिहरुको सूची हो । अनुसन्धानकै आधारमा केही नाम हेरफेर भएका हुन् । यसको कार्यसम्पादन अति गोप्य छ’, राजस्व अनुसन्धान स्रोतले भन्यो ।

    हाल सूचीबाट केही कांग्रेसनिकट व्यक्तिहरुको नाम हटाइएको छ भने एमाले निकट व्यवसायीहरुको नाम थपिएको छ । अर्कोतिर प्रधानमन्त्री देउवाप्रति अनुदार कांग्रेसकै केही नेता, व्यापारीको नाम समेत सूचीमा थप गरिएको छ ।

    उनीहरुलाई औपचारिक भन्दा अनौपचारिक माध्यमबाट सम्पर्क गर्ने, उजुरी परेको बताउने, अनुसन्धानको हवाला दिने र मोलमोलाई गर्ने क्रम चलिरहेको बताइन्छ । ‘बेनामे उजुरी परेको छ फलानालाई भेटेर मिलाउनुहोला नत्र गार्हो पर्ला भनेका छन्’, एक व्यवसायीले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्री मातहत रहेका यी विभागहरु हेर्ने जिम्मा विनाविभागीय मन्त्री उमेश श्रेष्ठले पाएको र उनले प्रधानमन्त्री पत्नी आरजु देउवाको प्रत्यक्ष मार्गदर्शनमा काम गरिरहेको बताइन्छ ।

    छलफल समेत भएको छैन

    अघिल्लो सरकारलाई अधिनायकवादी करार गर्न लगाइएका आरोप सुधार्नेबारे प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा मात्रै होइन सत्तारुढ गठबन्धनमा समेत छलफल गरेका छैनन् । आन्दोलनका दौरान पाँचदलीय गठबन्धनले पत्रकार र नागरिक समाजका प्रतिनिधिलाई बोलाएरै नयाँ सरकार बनेपछि विगतका कमजोरी सुधार्ने वाचा गरेको थियो ।

    यदि ओली सरकारले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने सन्दर्भमा गरेका निर्णय साँच्चै नै गलत थिए भने अहिलेको सरकारले किन फिर्ता गर्दैन ? यसबारे जानकारी लिन नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सम्पर्क गर्दा उनले ‘कल रिसिभ’ गरेनन् ।

    सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रधानमन्त्री मातहतका शक्तिशाली निकाय फिर्ता गर्नेबारे कुनै छलफल नभएको बताउँछन् । ‘सरकार बनेदेखि आजसम्म यस्ता विषयमा छलफल नै भएको छैन । छलफल नहुनु भनेको प्रधानमन्त्रीको प्राथमिकतामा परेको छैन भन्ने नै त होला’, गठबन्धनमा आवद्ध एक दलका नेताले भने ।

     

  • माओवादी मञ्चबाट देउवाले भने – एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ (भिडि‌ओ)

    माओवादी मञ्चबाट देउवाले भने – एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ (भिडि‌ओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए ।

    ‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त कतै राष्ट्रघात देखिनँ त’, देउवाले भने ।

    उनले आफू राष्ट्रिय र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएकोले राष्ट्रघाती सम्झौता हनु नदिनेमा सचेत रहेको समेत उल्लेख गरे ।

    ‘राष्ट्रियता र प्रजातन्त्रका लागि लडेर आएको मान्छे मै हुँ । मै प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौला त रु एमसीसी राष्ट्रघाती छदै छैन । सित्तैमा आको पैसा पनि लिन्न भन्ने हो त ?’, उनले भने ।

    देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने बताए । उनले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताए ।

    देउवाले नेपालमा संविधानसभाको एजेण्डा ब्यूताउँन र संविधान बनाउना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

    फरक सन्दर्भमा देउवाले पाँच दलको गठबन्धन कसैका विरुद्ध नभएको बताए । उनले गठबन्धन पूरा समय टिक्ने र आवश्यक परे अझै अगाडिसम्म जाने बताए ।

    ‘गठबन्धन कसैको विरुद्ध होइन । हामी मिल्न त पाइन्छ नि । गठबन्धन पुरै समय टिक्छ । अझ म त चाहन्छु अझ अगाडिसम्मै मिलेर जानुपर्छ’, देउवाले भने ।

  • गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नभएपनि पुस्तान्तरणको सन्देश गएको अधिकांशको आँकलन छ । खासगरी पदाधिकारी र केन्द्रीय समितिमा युवा नेताहरूको वर्चस्वले कांग्रेस रुपान्तरणको प्रक्रिया प्रारम्भ भएको दाबी गर्नेहरूलाई बल पुगेको छ ।

    पुस्तान्तरण र रुपान्तरणको चर्चाको केन्द्रभागमा कांग्रेसका नवनिर्वाचित २ जना महामन्त्री रहेका छन् । कांग्रेसबाहिर पनि चर्चा कमाएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको जितले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ । यद्यपि मिडिया, नागरिक समाज र सामाजिक सञ्जालमा ‘टक अफ दी टाउन’ बनेका महामन्त्रीद्वयको कार्यसम्पादनको वास्तविक परीक्षण भने अब सुरू हुनेछ ।

    गगन-विश्वको परीक्षा

    आजसम्म मूल नेतृत्वलाई प्रश्न गर्ने भूमिकामा रहेका २ युवा नेता कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन् । कांग्रेसको आन्तरिक जीवनमा महामन्त्रीलाई प्रभावशाली र कार्यकारी पदका रूपमा लिइन्छ । निर्वाचित दुवै महामन्त्री चुनावी प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवाविरुद्धको प्यानलमा थिए । निर्वाचित भएपछि दुवैले सभापतिसँग सहकार्य गरेर कांग्रेसलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    राजनीतिक वृत्तमा कांग्रेसले मात्रै नभएर समाजले नै अपेक्षा गरेका नेतामध्येमा गगन-विश्व पर्दछन् । उनीहरूले राजनीतिमा निर्माण गरेको भाष्यप्रति आम नागरिकको चासो बढेको पाइन्छ । राजनीति नरुचाउने मात्रै होइन कांग्रेस नै नरुचाउनेले पनि गगन-विश्वको कामलाई धैर्यताका साथ मूल्यांकन गर्नेछन् । यसर्थ गगन-विश्व दुवैले कांग्रेस महामन्त्रीका रुपमा अबका ४ वर्ष व्यक्तिगत र पार्टी दुवैको राजनीतिक जीवनलाई उपलब्धीपूर्ण बनाउने गरी काम देखाउनुपर्नेछ ।

    के गर्न सक्छन् गगन-विश्वले ?

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    कांग्रेस विधानले दिएका १२ काम, कर्तव्य र अधिकार नै महामन्त्रीद्वयको जिम्मेवारीको वैधानिक आधार हो । कांग्रेस विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था गरेको छ । त्यस्तै महाधिवेशन, महासमिति, केन्द्रीय समिति र कार्यसम्पादन समितिलगायतको निर्णय कार्यान्वयन गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

    त्यस्तै दैनिक कार्यसञ्चालमा सभापतिलाई सघाउने र आवश्यक जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो । कांग्रेस विधानले महामन्त्रीलाई संगठनसँग सम्बन्धित बढी जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय समिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव पेश गर्ने दायित्व पनि महामन्त्रीकै हो ।

    कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    यो अर्थमा पार्टीको आन्तरिक समीक्षा र राजनीतिक धार निर्माणमा महामन्त्रीले योगदान गर्न सक्छन् । विधानले महामन्त्रीद्वयलाई पार्टीको केन्द्रीय निकायका निर्णयहरू प्रमाणित गर्ने अधिकार दिएको छ भने क्रियाशील सदस्यताबारे विशेष अधिकार दिएको छ ।

    कांग्रेस विधानमा सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा तीनजना केन्द्रीय सदस्य सम्मिलित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ रहने व्यवस्था गरेको छ । सो समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने विधानमा उल्लेख छ । मुख्यतः यसबाहेकका अधिकारहरू तोकिएबमोजिम हुने व्यवस्था कांग्रेस विधानले गरेको छ ।

    विधानले दिएका अधिकारहरुको कार्यान्वयनले कांग्रेसको आन्तरिक व्यवस्थान, सदस्यता प्रणाली र संगठ सुदृढीकरणमा महामन्त्रीद्वयले योगदान गर्न सक्छन् । त्यसबाहेक कांग्रेसको पदाधिकारीका हैसियतले उनीहरूले राष्ट्रिय राजनीतिक र सार्वजनिक जीवनमा प्रस्तुत गर्ने व्यवहारले पनि पार्टीप्रति जनताको ‘छवि’ निर्माण हुन मद्दत पुग्दछ ।

    सभापति नरिझाइ सुखै छैन

    कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् । सामुहिक नेतृत्व भनिए पनि सभापतिको तजविजी अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मुख्य अधिकार नै सभापतिमा निहित रहेको छ । कांग्रेस विधानको दफा २५ को ४ मा ‘केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने अधिकार’ सभापतिलाई दिइएको छ ।

    जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकारहरू गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापति देउवामै निहित छ ।

    यसकारण ‘पर्फमेन्स’ देखाउन महामन्त्रीले सभापतिलाई रिझाउनुको विकल्प छैन ।

    अघिल्लो कार्यसमितिमा सभापति देउवाले निर्वाचित महामन्त्री डा. शशांक कोइरालालाई भन्दा मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई बढी जिम्मेवारी प्रत्यायोजन गरेका थिए । यसपटक दुवै महामन्त्री निर्वाचनबाट आएकाले जिम्मेवारी लिनकै लागि पनि सभापतिलाई रिझाउन जरुरी छ ।

    महामन्त्रीमा मात्रै होइन उपसभापतिमा पनि त्यस्तै अवस्था छ । कांग्रेस विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारसमेत उल्लेख छैन । उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख २ मध्ये कुन उपसभापतिलाई तोक्ने भन्ने अधिकार सभापतिमै छ ।

    गगन-विश्व सहकार्य कि टकराव ?

    १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित दुवै युवा नेतालाई भविष्यमा कांग्रेस हाँक्ने नेताको रुपमा कांग्रेस वृत्तमा चित्रण गर्ने गरिन्छ । विद्यार्थी राजनीतिदेखि नै अघिपछि गर्दै आएका दुईमध्ये को पहिले पार्टी सभापति बन्लान् ? भन्नेमा धेरैको चासो छ ।

    दुवै नेतालाई १५ औं महाधिवेशनमा सभापतिको आकांक्षीका रूपमा हेरिएको छ । दुवैले अलग-अलग गुटको अगुवाइसमेत गर्दै आइरहेका छन् । महामन्त्री भएपछि दुवै नेताले एक-अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका त छन् तर त्यसमा ढुक्क हुनसक्ने अवस्था छैन ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    अन्त्यमा, कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    ‘पब्लिक एटेन्सन’ भन्दा माथि उठेर कांग्रेस र राष्ट्रिय राजनीतिमा योगदान गर्ने अवसरलाई महामन्त्रीद्वय गगन-विश्वले सदुपयोग गरेमात्रै गगनले भनेझैं ‘कांग्रेसमा पुनर्जागरण’ वा विश्वले भनेझैं ‘राजनीतिमा रुपान्तरण’ हुनसक्छ ।

  • कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील

    कांग्रेस केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व, १६ जिल्ला नील

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ६१ जिल्लाको प्रतिनिधित्व सुनिश्चित भएको छ । महाधिवेशनअन्तर्गत निर्वाचनबाट सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरु गरी १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ । जसमा ६१ जिल्लाका नेता समेटिदा १६ जिल्लाको प्रतिनिधित्व भने शून्य रहेको छ ।

    कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ । काठमाडौंबाट महामन्त्री गगन थापासहित केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, नानु बास्तोला र हरिशरण नेपालीले केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका छन् ।

    त्यस्तै कैलालीबाट ७ जना नै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । डडेलधुराबाट महाधिवेशन प्रतिनिधि भए पनि डा. आरजु राणा देउवाको राजनीतिक कार्यथलो कैलाली ५ हो । उनीसहित डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, राजनम चौधरी, नृपबहादुर वड, सुशिला मिश्र भट्ट र जीवन राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    काठमाडौं र कैलालीपछि केन्द्रीय समितिमा धनुषा, झापा र चितवनको प्रतिनिधित्व बढी छ । धनुषाबाट सहमहामन्त्री महेन्द्र यादवसहित ५ जना केन्द्रीय समितिमा छन् । आनन्दप्रसाद ढुंगाना, मुक्ताकुमारी यादव, मिनाक्षी झा र डा.चन्द्रमोहन यादव धनुषाबाट केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै झापाबाट महामन्त्री विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू सरिता प्रसाइँ, केशवकुमार बुढाथोकी, महेन्द्रकुमारी लिम्ब र सुशिला ढकाल आचार्य निर्वाचित भएका छन् ।

    कांग्रेस केन्द्रीय समितिमा काठमाडौं र कैलालीबाट सबैभन्दा धेरै ७-७ जनाको प्रतिनिधित्व भएको छ ।

    चितवनबाट टेकप्रसाद गुरुङ, दिनेश कोइराला, अञ्जनी श्रेष्ठ, उमेश श्रेष्ठ र शान्ति परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । परियार चितवन क्षेत्र नम्बर २ की हुन् भने बाँकी ४ जना चितवन क्षेत्र नम्बर ३ का हुन् ।

    कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चत नभएका जिल्लाहरु भने १६ वटा छन् । रामेछाप, पर्वत, पाल्पा, रौतहट, रोल्पा, लमजुङ, कालीकोट, डोटी, ताप्लेजुङ,पूर्वी रुकुम, बैतडी, मुगु, मुस्ताङ, म्याग्दी, सर्लाही र सल्यानबाट कांग्रेस केन्द्रीय समितिमा शून्य प्रतिनिधित्व रहेको छ । ती जिल्लाबाट प्रतिनिधित्व गराउन अब सभापति देउवाले केन्द्रीय सदस्यमा ती जिल्लाका महाधिवेशन प्रतिनिधिबाट छनोट गर्नुपर्ने हुन्छ ।

    कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ । विगतको परम्परा हेर्दा मनोनयनपछि पनि केही जिल्लाबाट कोही पनि केन्द्रीय सदस्य नबन्ने सम्भावना धेरै छ ।

  • कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै

    कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ ।

    पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।

    आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो । यसैगरी बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ ।

    यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

    यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णयसमेत गरेको उनले बताए ।

  • डा. शेखर कोइराला २० औं वरियतामा !

    डा. शेखर कोइराला २० औं वरियतामा !

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम २० औं वरियतामा राखिएको छ ।

    शनिबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा गरिएकाे निर्णयको माइन्युटमा कोइरालाको नाम २० औं वरियतामा उल्लेख छ ।

    सभापति शेरबहादुर देउवाले गरेको निर्णयको माइन्युटमा सभापति, पदाधिकारी र पूर्वपदाधिकारीपछि उनको नाम राखेका हुन् ।

    डा. कोइराला बैठकमा सहभागी भएका छैनन् ।

    १४ औं महाधिवेशनमा कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए ।

  • सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

    सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सकिएको छ ।

    पार्टी कार्यालय सानेपामा बसेको बैठक धन्यवाद ज्ञापन गर्दै सकिएको हो । बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । यसकाे जिम्मा पार्टी मुख्य सचिवलाई दिइएकाे छ ।

    बैठकले राष्ट्रियसभा निर्वाचनबारे छलफल र गठबन्धनमा परामर्श गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

  • पहिलो बैठकमा शेखर सहभागि नहुने

    पहिलो बैठकमा शेखर सहभागि नहुने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित हुने भएका छन् ।

    सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार बोलाएका छन् ।

    पूर्व निर्धारित कार्यक्रमका लागि चितवन पुगेका कारण शेखर पहिलो बैठकमा सहभागि हुन नसक्ने भएका हुन् ।

    कांग्रेस विधान अनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् ।

    कांग्रेस विधानको दफा ६५ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’, प्रावधान रहेको छ । यही प्रावधान अनुसार शेखर स्वतः कांग्रेस केन्द्रीय सदस्य हुन् ।

  • मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

    मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

    केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए ।

    ‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’, देउवाले भने ।

    उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताए ।

    सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित , मुस्लि, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको देउवाले बताए ।

  • देउवाले दिए पौडेल र सिंहलाई भाग, शेखरलाई सोधेनन्

    देउवाले दिए पौडेल र सिंहलाई भाग, शेखरलाई सोधेनन्

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भाग दिएका छन् ।

    शुक्रबार वागमती प्रदेशको मन्त्रिपरिषद विस्तार हुँदा १४ औं महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका पौडेल र दोस्रो चरणमा देउवालाई सघाएका सिंहले १–१ जना मन्त्री पाएका हुन् । पौडेलको सिफारिसमा चितवनका बलराम पौडेललाई भूमि व्यवस्थामन्त्री बनाइएको हो । त्यस्तै सिंहको सिफारिसमा उनकै निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेशसभा क्षेत्रबाट निर्वाचित दीपेन्द्र श्रेष्ठलाई संस्कृति तथा पर्यटनमन्त्री बनाइएको छ ।

    मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसबाट ३ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए । कांग्रेसबाट सभापति देउवानिकट चितवनका मिलनबाबु श्रेष्ठ उद्योग वाणिज्य मन्त्री बनेका छन् ।

    वागमतीमा प्रदेश सरकार विस्तारका क्रममा पौडेल र सिंहलाई भाग दिइएपनि महाधिवेशनमा निकटतम प्रतिस्पर्धी रहेका डा।शेखर कोइराला पक्षसँग भने देउवाले परामर्श गरेनन् । कोइरालाले सभापतिमा ४० प्रतिशत मत पाएका थिए । कोइराला पक्षले पार्टीभित्र भागबण्डा नखोज्ने बताउँदै आएको छ ।

  • सभापति देउवासहित पदाधिकारी र सदस्यले पाए निर्वाचित प्रमाणपत्र (तस्बिर/भिडिओ)

    सभापति देउवासहित पदाधिकारी र सदस्यले पाए निर्वाचित प्रमाणपत्र (तस्बिर/भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

    सो क्रममा निर्वाचन समितिका सदस्यहरुले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए ।

    कांग्रेसको प्रमाणपत्र वितरण समारोहका थप तस्बिरहरु हेर्नुहोस् –